शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६७५ - कर्तव्य ज्यान र अपहरण

भाग: ५८ साल: २०७३ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७३।२।२४

०६९-CR-०४६१

 

मुद्दा : कर्तव्य ज्यान र अपहरण

 

पुनरावेदक / वादी : पन्नालाल साह सोनारको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा वैरिया विर्ता गा.वि.स. वडा नं. ९ बस्ने विकाउ भन्ने रामस्वरूप मुखिया विनसमेत

०६९-CR-०४३२

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वैरियाविर्ता गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय, पर्सामा थुनामा रहेका विकाउ भन्ने रामस्वरूप मुखिया विनसमेत 

विरूद्ध

प्रत्यर्थी / वादी : पन्नालाल साह सोनारको जाहेरीले नेपाल सरकार

 

प्रहरी आफैँले वा जबरजस्ती गरी लेखाएको बयानमा घटनाको वस्तुस्थितिसँग मेल खाने किसिमले घटनाको सिलसिलेवार चित्रण पनि हुन सक्दैन र त्यस्तो बयान अन्य मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइसँग पनि हुबहु नमिल्न सक्छ । यसरी घटनाको वस्तुस्थिति तथा परिवेशसँग र मौकामा कागज गर्नेहरूको भनाइसँग मेल खाने गरी आप्नो स्वेच्छाले गरेको मौकाको बयानलाई अन्यथा पुष्टि नभएसम्म अदालतमा इन्कार गरेकै आधारमा असत्य भन्न नमिल्ने ।

(प्रकरण नं.५)

वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले मौकामा कागज गर्दा यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भनी लेखाएकोमा अदालतमा बकपत्र गर्दा मौकाको बकपत्र आफूले लेखाएको नभई लेखेर ल्याएकोमा सही गराएको भने तापनि सो कुराको पुष्टि गर्न नसकेकोले सो भनाइलाई विश्वासयोग्य मान्न सकिँदैन । अनुसन्धानका क्रममा तयार भएका तथा संग्रहित मिसिल संलग्न प्रमाणहरू एक आपसमा समर्थित भई वारदातलाई र वारदातमा प्रतिवादीहरूको संलग्नताका सम्बन्धमा पुष्टि गरिराखेको अवस्थामा मौकामा संकलित प्रमाणहरूलाई अन्यथा मानी प्रमाणमा अग्राह्य गर्न नसकिने ।

कुनै काम, घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने व्यक्ति वा सो काम, घटना वा अवस्थाबाट पीडित भएको व्यक्तिले कुनै काम वा घटनाका सम्बन्धमा मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था प्रमाण ऐन, २०३१ को दफा १० मा भएअनुसार पनि घटनाका पीडित र प्रत्यक्षदर्शी दुवै रहेका यी पीडितहरूको मौकाको भनाइलाई अदालतमा आइ बकपत्र नगरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्न नमिल्ने । 

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल

प्रत्यर्थी / वादीका तर्फबाट : रामप्रसाद अर्याल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहबाट फैसला गर्नेः-

मा.जि.न्या. श्री कृष्णकमल अधिकारी

पुनरावेदन तहबाट फैसला गर्ने :-

मा.न्या. श्री आनन्दमोहन भट्टराई

मा.न्या. श्री शारङ्गा सुवेदी

 

फैसला

न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दुवै पक्षबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

मिति २०६५।५।२० गते राति ८।२० बजेको समयमा हतियारधारी व्यक्तिहरूले जिल्ला पर्सा उदयपुर धुर्मी गा.वि.स. वडा नं. २ बस्ने पन्नालाल साह सोनारलाई अपहरण गरी लग्दा अपहरणकारीहरूको प्रतिकारमा आएका घर परिवारलाई गोली हानी घाइते बनाई भागी फरार भएको भन्ने सूचनाअनुसार तत्काल खटी जाँदा निज पन्नालालको श्रीमती देवमती देवी, छोरा सुरेन्द्र साह, दिपेन्द्र साह, भतिजा जितेन्द्र साह, रविन्द्र साह र भतिजी पुजा साहसमेत लाई घाइते अवस्थामा फेला पारी उपचारको लागि वीरगंजतर्फ पठाएकोमा घाइतेमध्ये देवमती देवीको बाटैमा मृत्यु भएको छ । अपहरणकारी तथा पीडित पन्नालाल साह सोनारलाई सम्भावित एरियामा खोजतलास भइरहेको भन्नेसमेत व्यहोराको प्रहरी नायब निरीक्षक गोपीचन वि.क. को मिति २०६५।५।२१ को प्रतिवेदन ।

जिल्ला पर्सा उदयपुर धुर्मी गा.वि.स. वडा नं. २ स्थित पन्नालाल साह सोनारको घरको दक्षिण पूर्वपट्टि घरको शुर देवालबाट १० फिट ८ इन्चको दुरीमा दक्षिण सडक छेउमा बिजुलीको पोलको १ फुट पश्चिम सडकमा रगत जस्तो रातो दाग देखिएको, सो दागदेखि १९ फिट पश्चिमको दुरीमा बासुदेव महतको घर भएको सो घरको पूर्व उत्तर सडकसँग सटेको घरको सुर देवालसँगै सटेको सडकको भुईं माडिई माडिएको छेउमा १२ के. एफ.लेखिएको टोटा गोलीको खोका ३ र सोमा प्रयोग हुने प्लाष्टिक कभर २ सडकमा छरिएको अवस्थामा रहेको, सोदेखि पश्चिम ५० मि. को दुरीमा तेजनारायण साहको घर भएको सो घरको उत्तरपट्टि गोबर थुपारी राखेको छेउमा पनि १२ के. एफ. लेखेको टोटा गोलीको खोका १ समेत फेला परेको भन्नेसमेत व्यहोराको मिति २०६५।५।२१ को घटनास्थल मुचुल्का । 

जिल्ला पर्सा, वीरगंज उपमहानगरपालिका वडा नं. ३ स्थित नारायणी उपक्षेत्रीय अस्पतालको शवगृहमा निज देवमती देवीको लास रहेको, लासको दूधमाथि आधा इन्च गोलाईको छर्रा लागेको ३ वटा प्वाल, दुवै दूध मुनी साढे एक इन्च गोलाइको गोली लागेको प्वाल, सो प्वालबाट रगत निस्की कपडा भिजेको, दायाँ दूधमा आधा इन्च गोलाइको छर्रा लागेको प्वाल, दूधमुनि आधा इन्च गोलाइको छर्रा लागेको प्वाल देखिएको भन्नेसमेत व्यहोराको मृतक देवमती देवीको मिति २०६५।५।२१ को लासजाँच मुचुल्का ।

२०६५।५।२० गते घटना घट्नुभन्दा अगाडि पर्सा जिल्ला उदयपुर धुर्मी गा.वि.स. वडा नं. ३ बस्ने हरिशंकर मुखिया विन गाउँ टोलतिर घुम्दै बाहिरबाट मान्छे आउँदैछन् सबै घरमा सुरक्षित बस्नु भन्दै हिँडेको १५। २० मिनेटपछि घटना घटेको हो । निज हरिशंकरसमेत वारदातपश्चात्‌ भागी फरार भएकोले र निजका भिनाजु रामस्वरूप केही दिन अगाडिबाट निजकै घरमा आई बसेको हुँदा निज हरिशंकर र रामस्वरूपसमेतको संलग्नतामा वारदात भएको हो भन्नेसमेत व्यहोराको हिरा भन्ने चौकि साह, टोनी गिरी, कपिलदेव महतोसमेतले मौकामा गरेको कागज ।  

मिति २०६५।५।२० गते राति ८:२० बजेको समयमा मेरो दाइ पन्नालाल साह सोनारलाई अपहरण गरी लगेको र प्रतिकारमा आएका घर परिवारलाई गोली हानी घाइते बनाएकोमा घाइतेमध्ये भाउजू देवमतीको उपचारको लागि ल्याउँदा मृत्यु भएको हो । भतिजाहरू सुरेन्द्र साह, दिपेन्द्र साह, मेरो छोराहरू रविन्द्र, जितेन्द्र, छोरी पुजा साहसमेत गोली लागि घाइते अवस्थामा उपचार भइरहेको छ । सो घटना घटाउनेमा जिल्ला पर्सा, उदयपुर धुर्मी वडा नं. ३ बस्ने हरिशंकर मुखिया, अम्बिका मुखिया, ललन गिरी, ऐ. वैरियाविर्ता वडा नं. ९ बस्ने विकाउ भन्ने रामस्वरूप मुखिया, जिल्ला बारा, गा.वि.स. वतरा-३ बस्ने उजर भन्ने रामजी मुखिया विन, जिल्ला पर्सा, गा.वि.स. महुवन बलुवागाउ बस्ने प्रेम गिरीसमेत नाम थर वतन थाहा भएका र अन्य नाम थर वतन थाहा नभएका १०/१२ जना हतियारधारी व्यक्तिहरूको संलग्नता रहेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जयलाल साह सोनारको मिति २०६५।५।२२ को जाहेरी दरखास्त ।

फरार अभियुक्तहरूमध्ये अम्बिका मुखिया विन, बिकाउ भन्ने रामस्वरूप मुखिया विन र उजर भन्ने रामजी मुखिया विनलाई पक्राउ गरी पेस गरेको छु भन्नेसमेत व्यहोराको प्र.स.नि. सलाम सिंह तामाङको २०६५।५।२३ को प्रतिवेदन ।

मिति २०६५।५।२० मा अपहरण गरी लगेका पन्नालाल साह सोनारलाई खोज तलासका क्रममा २०६५।५।२३ गते राति पर्सा जिल्लाको झख्डा मसियानी गाउँबाट सकुशल मुक्त गराउन सफल भएकोले निजलाई यसै प्रतिवेदनसाथ उपस्थित गराएको छु भन्नेसमेत व्यहोराको प्र.स.नि. सलाम सिंह तामाङको मिति २०६५।५।२४ को प्रतिवेदन ।

यसमा छुट्टाछुट्टै समूहमा मलाई देखाइएका व्यक्तिहरूमध्ये पहिलो समूहको दोस्रो नम्बरमा देखाइएका जिल्ला पर्सा, वैरिया विर्ता वडा नं. ९ घर भएका विकाउ भन्ने रामस्वरूप मुखिया विन-१, दोस्रो समूहमा देखाइएका तेस्रो नम्बरका जिल्ला पर्सा उदयपुर धुर्मी कुहडी गाउँ घर भएका अम्बिका मुखिया विन-१ र तेस्रो समूहमा देखाइका पहिलो नम्बरको जिल्ला बारा, वतरा गा.वि.स. वडा नं. ३ घर भएका उजर भन्ने रामजी मुखिया विनसमेतलाई देखी चिनेँ । यिनै तीन जना मिति २०६५।५।२० गते राति ८:२० बजे मलाई अपहरण गरी मेरो श्रीमती तथा छोराहरूलाई गोली हान्ने वारदातमा संलग्न रहेका व्यक्तिहरू हुन् । यिनीहरूलाई मैले बिजुली बत्तीको उज्यालोबाट प्रस्ट देखी चिनको हो भन्नेसमेत व्यहोराको पन्नालाल साह सोनारले मौकामा मिति २०६५।५।२४ मा गरेको सनाखत कागज ।

मिति २०६५।५।२० गते राति ८:२० बजेको समयमा मलाई अपहरण गरी लाने क्रममा प्रतिकार गर्दा अपराधीहरूले गोली हानी श्रीमती तथा छोराहरूलाई घाइते बनाई मलाई अपहरण गरी लगेकोमा गोली हानेबाट श्रीमती देवमती देवीको उपचार हुन नपाउँदै मृत्यु भएको हो । छोराहरू मूलेन्द्र साह, दिपेन्द्र साह, भतिजो जितेन्द्र साह, रविन्द्र साह, भतिजी पुजाकुमारीसमेत घाइते भई उपचार भइरहेको रहेछ । मलाई अपराधीहरूले अपहरण गरी घरदेखि १ घण्टाको दुरी बाटोमा पुर्‍याई आँखा कान नाक मुखमा पट्टी बाँधी हात खुट्टासमेत बाँधी बन्दी बनाई राखी फिरौतीबापत दुई लाख रूपैयाँ माग गर्दै शारीरिक तथा मानसिक यातना दिँदै राखेकोमा सो ठाउँबाट मिति २०६५।५।२१ गते राति ११:०० बजे रातभरी हिँडाई अन्यत्र लिई गई एउटा घरमा हात खुट्टा बाँधी बन्दी बनाई राखेकोमा मिति २०६५।५।२३ गते दिसा लागेको बहानामा दिसा गर्न चौरमा लगेको अवस्थामा भाग्न सफल भई आएको हुँ । सो घटनामा जिल्ला पर्सा गा.वि.स उदयपुर धुर्मी वडा नं. ३ बस्ने हरिशंकर मुखिया विन, अम्बिका मुखिया विन, ललन गिरी, फुलमती देवी, अनिलादेवी गिरी, कृष्णवती देवी मुखिया विन, ऐ. वैरियाविर्ता वडा नं. ९ बस्ने विकाउ भन्ने रामस्वरूप मुखिया विन, ऐ. महुवन गा.वि.स. बलुवागाउँ बस्ने प्रेम गिरी, जिल्ला बारा गा.वि.स. वतरा वडा नं. ३ बस्ने उजर भन्ने रामजी मुखिया विनसमेतका अन्य निजहरूका साथी मतियारहरूको संलग्नता रहेको र महिलाहरू कृष्णावती देवी, अनिला देवी र फुलमती देवीसमेतले अपराधीहरूलाई खानपानको व्यवस्था गरी योजना बनाउने कार्यमा संलग्न भइरहेको हुँदा सो घटनामा संलग्न रहेका सबै अभियुक्तहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको पीडित पन्नालाल साह सोनारको मिति २०६५।५।२४ गतेको जाहेरी दरखास्त ।

फरार रहेका अभियुक्तहरूलाई खोजतलास पक्राउ गरी दाखिल गर्ने भनी खटाई पठाएकोमा खटिई गई खोजतलास गर्दा कृष्णावती मुखिया विन, फुलमती विन र अनिला देवी गिरीलाई पक्राउ गरी यसै प्रतिवेदनसाथ पेस गरेको छु भन्ने व्यहोराको प्र.स.नि. सलाम सिंह तामाङसमेतको मिति २०६५।५।२४ को प्रतिवेदन ।

उक्त दिन पन्नालाल साह सोनारलाई अपहरण गरी प्रतिकारमा आएका निजका श्रीमतीसमेतलाई गोली हानी घाइते बनाएकोमा देवमतीदेवीको हामीहरूले हानेको गोलीबाट मृत्यु भएको हो । उक्त घटना घटाउन पूर्वयोजना दुई दिन अगाडि हरिशंकर मुखिया विनको घरमा बनाउदा डाँका गर्न भनी कुरा भएकोमा डाँका गर्न असजिलो हुने हुँदा अपहरण गरी फिरौतीबापतको रकम लिएपछि छोडी दिने भन्ने पूर्वयोजनासाथ साथीहरू हरिशंकर मुखिया, ललन गिरी, अम्बिका मुखया, रामजी मुखिया, मन्जु यादव, ध्रुव चमार, विक्रम यादव, प्रेम गिरी र अन्य ३ जनासमेत भई घटना घटाएको हो । घटना घटाउन आवश्यक हतियार गोली सालो हरिशंकरसमेतले तयार पारी ल्याएको हो । उक्त हतियार गोली उनीहरूले नै लिई गएको छ । अपहरण गरी राखिएको पन्नालाल साह पनि साथीहरूको आँखा छली फरौतीबापतको रकम लिन नपाउँदै भागी आएका हुन् भन्नेसमेत व्यहोराको अभियुक्त रामस्वरूप मुखिया विनले अनुसन्धान अधिकृतसमक्ष मिति २०६५।५।३० मा गरेको बयान कागज ।

उक्त दिन पन्नालाल साह सोनारलाई अपहरण गरी निजको श्रीमतीलाई गोली हानी मार्ने वारदातमा मेरो संलग्नता छ । सो वारदात ३ दिन अगाडि दाजु हरिशंकर मुखियाको घरमा साथीहरू सबै बसी डाँका गर्ने योजना बनाई डाँका गर्न असजिलो भई भनी अपहरण गरी लगी बन्दी बनाई राखी फिरौतीबापतको रकम लिई छाड्ने भन्ने योजनासाथ सो घटना घटाएको हो । देवमती देवीको हामीहरूले हानेको गोली लागि मृत्यु भएको र निजको छोराहरू पनि हाम्रो गोली लागि घाइते भएका हुन् । अपहरण गरी बन्दी बनाएका पन्नालाल पनि फिरौतीबापतको रकम लिन नपाउँदै भागी आएछन् । मसमेतका मेरो दाजु हरिशंकर मुखिया, भेना रामस्वरूप मुखिया, रामजी मुखिया, साथीहरू विक्रम यादव, प्रेम गिरी, ललन गिरी, ध्रुव चमार, मञ्जु यादव र अन्य ३ जनासमेत गरी १२ जनाको संलग्नतामा सो घटना घटाएको हो भन्नेसमेत व्यहोराको अभियुक्त अम्बिका मुखिया विनले अनुसन्धान अधिकृतसमक्ष मिति २०६५।५।३० मा गरेको बयान कागज ।

उक्त दिन पन्नालाल साह सोनारलाई अपहरण गरी निजका छोराहरू, श्रीमतीसमेतलाई गोली हानी घाइते बनाएकोमा देवमतीको हामीहरूले हानेको गोलीबाट मृत्यु भएको हो । पन्नालाललाई बन्दी बनाई राखेकोमा फिरौतीको रकम लिन नपाउँदै भागी आएछन् । हामीहरूको पूर्व सल्लाह डाँका गर्ने भएकोमा २ दिन अगाडि योजना बनाउँदा डाँका गर्न असजिलो हुने हुँदा अपहरण गरी बन्दी बनाई राखी फिरौती रकम लिई छाड्ने भनी योजना गरी उक्त दिन जेठान हरिशंकर मुखिया, सालो अम्बिका मुखिया, साथीहरू प्रेम गिरी, ललन गिरी, विक्रम यादव, ध्रुव चमार, मन्जु यादव, साढु दाई रामस्वरूप र अन्य ३ जनासमेत १२ जना भई सो घटना घटाएको हो भन्नेसमेत व्यहोराको अभियुक्त उजर भन्ने रामजी मुखिया विनले अनुसन्धान अधिकृतसमक्ष मिति २०६५।५।३० मा गरेको बयान कागज ।

Wound of entry over chest, the cause of death is due to shock as a result of massive hemorrhage by gun shot injury भन्नेसमेत व्यहोराको देवमती सराफको मिति २०६५।५।२१ को शव परीक्षण प्रतिवेदन ।

मिति २०६५।५।२० गते राति म आफ्नो घरमा थिएँ । सो बेला घटनास्थलमा गोली फायर भएको र हल्लाखल्ला गरेको आवाज सुनेको हो । मेरो लोग्ने अम्बिका मुखिया पनि घरमा थिएनन् । साँझ खानपिन गरी गाउँतिर काम छ भनी गएका थिए । भोलिपल्ट बिहान मात्र घरमा आउनु भएको हो । पछि बुझ्दा सो घटना घटाउन मेरो लोग्ने गएको कुरा थाहा भएको 

हो । जेठाजु हरिशंकर मुखिया तथा जाहेरीमा उल्लिखित अन्य व्यक्तिहरूको सल्लाहअनुसार सो घटना भएको हो । सो घटना घटाउनमा मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको अभियुक्त फुलमती देवीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागज ।

पन्नालाल अपहरण गर्ने घटनामा मेरो संलग्नता छैन । हाल थुनामा रहेका रामस्वरूप मुखिया, रामजी मुखिया मेरो श्रीमान्‌का ज्वाइँ भिनाजु नाताका हुन् । उनीहरू घटनाको ३।४ दिन अगाडिदेखि जेठाजु हरिशंकर मुखिया, देवर अम्बिका मुखियासमेत आई बसी सल्लाह गरे अनुसार पन्नालाल साह सोनारलाई अपहरण गरी निजको श्रीमती देवमतीलाई गोली हानी मारी छोराहरूलाई गोली हानेका हुन् । मेरो देवर अम्बिका मुखिया विन, जेठाजु हरिशंकर मुखिया विन, रामस्वरूप मुखिया, रामजी मुखियासमेतले घटना घटाएका हुन् । ती व्यक्तिहरूलाई मैले खाना खुवाई सहयोग पुर्‍याएको भनी ठानी मउपर जाहेरी दिएको होला भन्नेसमेत व्यहोराको अभियुक्त कृष्णवती देवीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागज ।

जाहेरवाला पन्नालाल साह सोनारलाई अपहरण गरी उसको श्रीमती देवीलाई गोली हानी मार्ने तथा छोराहरूलाई गोली हानी घाइते बनाएको वारदातमा मेरो लोग्ने ललन गिरीसमेतको संलग्नतामा रहेको कारण मेरो नाम किटान गरी जाहेर दिएको 

होला । सो घटना घटाउन मैले कुनै सहयोग गरेको छैन र सो घटनामा मेरो संलग्नतासमेत छैन भन्नेसमेत व्यहोराको अनिला देवी गिरीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागज ।

जिल्ला पर्सा, गा.वि.स. उदयपुर धुर्मी-३ बस्ने हरिशंकर मुखिया, अम्बिका मुखिया विन र ललन गिरीको घर खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत व्यहोराको मिति २०६५।६।६ मा भएको खानतलासी मुचुल्का ।

यस कार्यालयको पत्र आदेशानुसार खटी गई बुझ्दा मिति २०६५/५/२० गते पन्नालाल साह सोनारलाई अपहरण गर्ने तथा निजको श्रीमतीलाई गोली हानी मार्नेमा जिल्ला पर्सा, गा.वि.स. उदयपुर धुर्मी-३ बस्ने हरिशंकर मुखिया विन, अम्बिका मुखिया विन, ललन गिरी, ऐ. वडा नं. ४ बस्ने गामा राउत, ऐ. वडा नं. ५ बस्ने विक्रम यादव, मन्जु यादव, ऐ. वडा नं. ६ बस्ने ध्रुव चमार, ऐ. गा.वि.स. महुवन-७ बस्ने प्रेम गिरी, ऐ. वैरियाविर्ता वडा नं. ९ बस्ने विकाउ भन्ने रामस्वरूप मुखिया, जिल्ला बारा, गा.वि.स. वतरा वडा नं. ३ बस्ने उजर भन्ने रामजी मुखियासमेत अन्य दुईजना नाम थर वतन नखुलेका समेतका १२ जनाको समूहले सो घटना घटाएको भन्ने बुझिएको हो । उल्लिखित अभियुक्तहरूमध्ये रामस्वरूप मुखिया विन पूर्व आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्ने बुझिएको र प्रेम गिरी पनि गत मिति २०५७।५।१२ गते देवेन्द्र यादवलाई गोली हानी मारी धनमाल डाँका गरी फरार भई गत २०५९।९।२६ गते हतियारसहित पक्राउ परी धरौटीमा छुटेको र पहिलाको खुन डाँका मुद्दामा समेत कारागार थुनामा बसी गत वर्षतिर छुटी गई आपराधिक गतिविधिमा संलग्न भई हिँडी रहेको भन्ने बुझिएको भन्नेसमेत व्यहोराको प्रहरी सहायक निरीक्षक राधेमोहन प्रसाद कुशवाहाको मिति २०६५।६।६ को प्रतिवेदन ।

पन्नालाल साह सोनारलाई अपहरण गर्ने, देवमती देवीलाई गोली हानी मार्ने, हामीहरूलाई गोली हानी घाइते बनाउनेमा जाहेरीमा लेखिएका हरिशंर मुखिया, अम्बिका मुखिया, ललन गिरी, प्रेम गिरी, रामस्वरूप मुखिया, मन्जु यादव, विक्रम यादव, गामा राउत, ध्रुव चमार, रामजी मुखियासमेतको संलग्नता छ । निजहरूलाई बिजुली बत्तीको उज्यालोबाट प्रस्ट देखी चिनेको हो । निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको घटनामा पीडित घाइतेहरू सुरेन्द्र भन्ने सुलेन्द्र साह, दिपेन्द्र साह, जितेन्द्र साह, रविन्द्र साह र पुजाकुमारीसमेतले गरी दिएको घटना विवरण कागज ।

हरिशंकर मुखिया विन, अम्बिका मुखिया विन, ललन गिरी, गामा राउत, मन्जु यादव, विक्रम यादव, ध्रुव चमार, रामस्वरूप मुखिया विन, रामजी मुखिया विनसमेतको संलग्नतामा पन्नालाल साह सोनारलाई अपहरण गरी लगेको, निजको श्रीमती देवमतीदेवीलाई गोली हानी मारेको, निजका छोराहरूसमेतलाई गोली हानी घाइते बनाएको हो । अनुसन्धानको क्रममा थुनामा रहेका महिलाहरू कृष्णावती, फुलमती र अनिला गिरीको वारदातमा संलग्नता छैन भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका वस्तुस्थिती मुचुल्काका चौकी साह तेली, धनेश्वर कुशवाहा र तेजनारायण साहले गरेको कागज ।

जाहेरी दरखास्त, मौकाको प्रतिवेदन, घटनास्थल मुचुल्का, अपहरणमा परेका पन्नालाल साहको सनाखत तथा घाइते पुजाकुमारी, सुलेन्द्रसमेतको कागजबाट मिति २०६५।५।२० गते प्रतिवादीहरू अम्बिका मुखिया विन, रामस्वरूप मुखिया विन, रामजी मुखिया विन, हरिशंकर मुखिया विन, ललन गिरी, मञ्जु यादव, ध्रुव चमार, विक्रम यादव, गामा यादव, प्रेम गिरीले  पन्नालाललाई अपहरण गरी लगेको र प्रतिकारमा आएका पन्नालालको श्रीमती तथा छोराछोरीउपर समेत गोली प्रहार गर्दा पन्नालालको श्रीमती देवमतीको मृत्युसमेत भएको र अन्य घाइते भएकाले निज प्रतिवादीहरूले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. र ज्यानसम्बन्धी महलको १ नं. ले निषेधित कसुर अपराध गरेको देखिँदा प्रतिवादीहरूलाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम सजाय गरी ७ नं. बमोजिम थप सजाय गरी १२ नं. बमोजिम क्षतिपूर्तिसमेत भराई पाऊँ । सो घटनामा देवमतीको मृत्यु भएको तथ्य स्थापित भएको हुँदा गोली हान्न आदेश दिने प्रतिवादी रामस्वरूप, घटना सम्बन्धमा प्रमुख योजना बनाउने हरिशंकर, बन्दुक प्रहार गर्ने प्रेम गिरी, ललन गिरी तथा घटनास्थलमा उपस्थित भई ज्यान मार्नलाई संयोग पार्ने अम्बिका मुखिया, रामजी मुखिया, मन्जु यादव, विक्रम यादव, ध्रुव चमार, गामा राउतसमेतले गरेको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसुर अपराध भएकाले प्रेम गिरी र ललन गिरीलाई १३(१) नं. बमोजिम र अन्य प्रतिवादीहरूलाई ऐ. १३(४) नं. अनुसार सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको मिति २०६५।६।१२ को अभियोग मागदाबी ।

ज्वाइँको खुट्टा भाँचिएकोले उपचारको लागि मिति २०६५।५।२० गते राति ८:३० बजेको समयमा म भिखर मियाँको घरमा पैसा माग्न गएको थिएँ । पन्नालाल साहको अपहरणको बारेमा मलाई केही थाहा छैन । मैले आपराधिक कार्य गरेको छैन । मलाई अभियोग दाबी बमोजिम सजाय हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामस्वरूप मुखिया विनले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

उक्त दिन र समयमा म आफ्नो ससुराली गाउँ जिल्ला पर्सा, गाविस उदयपुर धुर्मी वडा नं. ३ मा नै थिएँ । पन्नालाल साहको अपहरण र घटनास्थलप्रकृति मुचुल्का बारे मलाई थाहा छैन, मेरो श्रीमतीको पेटको अपरेसन भएको थियो । म औषधि लिएर गएको थिएँ । म पक्राउ पर्ने बेलामा आफ्नो ससुराली घरमा सुतिरहेको थिएँ । करिब ९:०० बजेको समयमा प्रहरीहरूले सोधपुछ गर्नु छ भनी भनेका थिए । २०६५।५।२४ गतेको सनाखत कागज र पान्नालाल साह सोनारको जाहेरी दरखास्त व्यहोरा झुट्ठा हो । अभियोग दाबीबमोजिमको कार्य नगरेकाले सजाय हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी उजर भन्ने रामजी मुखिया विनले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६५।५।२० गते राति ८:३० बजेको समयमा मझलको घरमा किर्तन भएकोले म त्यहीँ थिएँ । पन्नालालको अपहरणबारे थाहा छैन तर ८:३० बजेको समयमा हो-हल्ला हुँदा पन्नालालको अपहरण भई गोली चल्यो भन्ने हल्ला सुनेको हुँ । घटनास्थल मुचुल्काको बारेमा मलाई थाहा छैन र घटना विवरणको सबै व्यहोरा झुट्ठा हुन् । मेरो दाजु हरिशंकर र पन्नालालको रक्सी खाने भट्टीमा झगडा भएकोले यस्तो गरेका हुन् । सनाखत व्यहोरा झुट्ठा हो । मैले अभियोग दाबीबमोजिमको कार्य नगरेकाले दाबीअनुसार मलाई सजाय हुनुपर्ने होइन । मिति २०६५।५।२० गते राति करिब ९:३० बजेको समयमा घरमा सुतिरहेको बेलामा घरबाट मलाई र रामजी मुखिया विनलाई प्रहरीले पक्रेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बिका मुखिया विनले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

तत्काल प्राप्त प्रमाण कागजहरूबाट यी प्रतिवादीहरू कसुरदार होइनन् भन्ने विश्वास गर्न सकिने मनासिब आधार अवस्थाको अभावमा निजहरूलाई थुनामा राखी मुनाको पूर्पक्ष गर्नुपर्ने अवस्था देखिँदा पछि थप सबुद प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल अ.बं. ११८ को देहाय २ नं. अनुसार निज प्रतिवादीहरू रामस्वरूप मुखिया विन, रामजी मुखिया विन र अम्बिका मुखिया विनलाई पुपर्क्षका लागि थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिनु भनी पर्सा जिल्ला अदालतबाट मिति २०६५।६।१३ मा भएको आदेश ।

फरार प्रतिवादीहरू म्यादभित्र हाजिर नभई सुरू म्याद गुजारी बसेको ।

हामी घटनास्थलमा पुग्दा पन्नालालको श्रीमतीलाई गोली लागी बेहोस अवस्थामा रहेकोले हामीले वीरगञ्ज नारायण उपक्षेत्रीय अस्पतालमा पठायौं र पन्नालाललाई अपहरण गरी लगिसकेका रहेछन् । मृतक देवमतीलाई अस्पताल लाँदा लाँदै बाटोमा मृत्यु भएको सुनियो । हत्या र अपहरण कसले गर्‍यो सो मलाई थाहा छैन भन्ने प्रतिवेदक गोपीचन वि.क.ले मिति २०६६।२।११ मा पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६५।६।९ गतेको वस्तुस्थिती मुचुल्कामा के लेखाई सहीछाप गराए मलाई थाहा छैन । पढ्न नदिई जबरजस्ती सही गराएका 

हुन् । कसले गोली चलाएको हो मैले देखिँन तर गोली चलेको र पन्नालाललाई अपहरण गरेको सुनेको हुँ । देवमती अस्पताल लाँदालाँदा मरेको पनि सुनी थाहा पाएको हुँ, मौकाको व्यहोरा मैले लेखाएको होइन तर अदालतको बकपत्र व्यहोरा मैले लेखाएको हुँ । अभियोग दाबीबमोजिमको कर्तव्य ज्यान र अपहरण घटनामा प्रतिवादीहरू अम्बिका मुखिया विन, रामस्वरूप मुखिया विन र उजर भन्ने रामजी मुखिया विनसमेतको संलग्नता छैन । यिनीहरू त्यस्ता खालका व्यक्तिहरू होइनन् भन्नेसमेत व्यहोराको घटनास्थल तथा वस्तुस्थिती मुचुल्काका धनेश्वर कुशवाहा, तेजनारायण साह तेली र चौकी साह तेलीले करिब एकै मिलान हुने गरी पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

वारदातको समयमा रामस्वरूप मुखिया विन जिल्ला पर्सा, गाविस वैरियाविर्ता वडा नं. ९ स्थित आफ्नै घरमा थिए । पन्नालाल साहलाई अपहरण गरी देवमतीदेवीलाई गोली हान्ने घटनामा निज छँदै थिएनन् ।  जाहेरी दरखास्त वस्तुस्थिती मुचुल्का, प्रहरी प्रतिवेदन र अभियोग दाबीसमेत सबै झुट्ठा हो । यी प्रतिवादी स्वच्छ, इमान्दार, खेतीपाती गर्ने किसान हुन् । निज डाँका ज्यान मार्ने र अपहरण गर्ने खालका मानिस होइनन् । निज प्रतिवादीलाई सजाय हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विकाउ भन्ने रामस्वरूप मुखिया विनको साक्षी खैरूल्लाह मियाँले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी अम्बिका मुखिया विनको घटनामा संलग्नता छैन । वस्तुस्थिति मुचुल्का, जाहेरी दरखास्त तथा प्रहरीहरूको प्रतिवेदन र अभियोग दाबीसमेत सबै झुट्ठा हो । यिनी राम्रो चालचलन भएका व्यक्ति हुन् । यिनी डाँका, अपहरण तथा मानिस मार्ने खालको व्यक्ति होइनन् । कुनै अपहरण या अपराध नगरेकाले यिनलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बिका मुखिया विनको साक्षी पवन साह गोढले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी उजर भन्ने रामजी मुखिया विनसमेतले अपहरण पनि गरेको छैनन् र देवमतीलाई मारेका पनि छैनन् । जयलाल, पन्नालाल साहसमेतको दरखास्त, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू तथा प्रहरीहरूको र अभियोग दाबीसमेत सबै झुट्ठा हो । यी प्रतिवादीहरू अम्बिका मुखिया र उजर भन्ने रामजी मुखिया विन राम्रो चालचलन भएका व्यक्ति हुन् । उनी डाँका, अपहरण तथा मान्छे मार्ने जस्ता मानिस होइनन् । कुनै अपराध नगरेकाले सजाय हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी उजर भन्ने रामजी मुखिया विनको साक्षी रामविजु मुखिया विनले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीमध्येका हरिशंकर मुखिया विन, ललन गिरी, मन्जु राउत यादव, ध्रुव चमार, विक्रम यादव, गामा राउत, प्रेम गिरीका नाममा जारी भएको म्याद निजहरूले गुजारी बसेको देखिँदा निजहरूका हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मूल्तबी रहने ठहर्छ । प्रतिवादीहरू अम्बिका मुखिया विन, विकाउ भन्ने रामस्वरूप मुखिया विन र उजर भन्ने रामजी मुखिया विनलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १ र १३ नं. कसुरमा ऐ.१३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । निजहरूउपर मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुरमा ऐ. ३ र ७ नं. बमोजिम सजाय गरी १२ नं. बमोजिम क्षतिपूर्तिको माग दाबी भएकोमा सो कुरा मिसिलबाट स्थापित हुन नसकेकाले त्यसतर्फको अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पर्सा जिल्ला अदालतबाट मिति २०६८।१।१२ मा भएको फैसला ।

सुरू फैसलामा कार्यविधि कानून तथा सारभूत कानूनको पूर्ण बेवास्ता भएको, संकलित एवम् बुझिएका सबुदप्रमाणको कानूनसम्मत तथा न्यायपरक विश्लेषण नभई फौजदारी न्यायशास्त्रका सर्वमान्य एवम् स्थापित सिद्धान्तसमेतको गम्भीर उल्लङ्घन भएको हुँदा पर्सा जिल्ला अदालतद्वारा हामीलाई कसुरदार ठहर्‍याई गरिएको फैसला जाँची अभियोग मागदाबीबाट पूरै सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू रामस्वरूप मुखिया विन, अम्बिका मुखिया विन र उजर भन्ने रामजी मुखिया विनको पुनरावेदन अदालत, हेटौंडामा परेको संयुक्त पुनरावेदन पत्र ।

विरूद्ध खण्डका प्रतिवादीहरूउपर जाहेरवालाका भाइ जयलाल सोनारले घटना लगत्तै २२ गते किटान गरी जाहेरी दिएका र सोही जाहेरी व्यहोराबमोजिम जाहेरवालाले पनि अपहरण मुक्त पछि यी प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको, प्रतिवादीहरूको इन्कारी बयान र निजहरूका साक्षीको बकपत्र झुट्ठा हो भन्ने पुष्टि भई यी प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको कसुरमा मागदाबीबमोजिम नै सजाय भएको अवस्थामा सोही वारदातमा मानिस अपहरण गरी बन्धक बनाएको अपराधमा निजहरूलाई सजायबाट उन्मुक्ति दिनुपर्ने होइन । तसर्थ प्रतिवादी रामस्वरूप मुखिया विनसमेतलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअन्तर्गतको कसुर ठहर नगरी सफाइ दिइएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

प्रतिवादीहरूमध्येका रामस्वरूप मुखिया विन, अम्बिका मुखिया विन र उजर भन्ने रामजी मुखिया विनको पुनरावेदन परेको र वादी नेपाल सरकारको तर्फबाट पनि प्रतिवादी विकाउ भन्ने रामस्वरूप मुखिया विन र उजर भन्ने रामजी मुखिया विनउपर पुनरावेदन परी दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम छलफलका निमित्त प्रत्यर्थी झिकाई नेपाल सरकारबाट परेको पुनरावेदनको प्रतिलिपिसमेत राखी पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, हटौंडाको मिति २०६८। १२।१४ मा भएको आदेश ।

प्रतिवादीमध्येका हरिशंकर मुखिया विन, ललन गिरी, मन्जु राउत यादव, ध्रुव चमार, विक्रम यादव, गामा राउत, प्रेम गिरीका हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मूल्तबी रहेकोले हाल केही बोली रहनु 

परेन । प्रतिवादीमध्येका अम्बिका मुखिया विन, विकाउ भन्ने रामस्वरूप मुखिया विन र उजर भन्ने रामजी मुखिया विनको हकमा निजहरू अपहरण र कर्तव्य ज्यानको वारदातमा संलग्न देखिँदा दुवैमा सजाय गर्नुपर्नेमा ज्यानसम्बन्धीको १ नं. को कसुरमा सोही महलको १३(४) नं. बमोजिम सजाय गरेको अपहरणतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६८।१।१२ मा भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरू अम्बिका मुखिया विन, विकाउ भन्ने रामस्वरूप मुखिया विन र उजर भन्ने रामजी मुखिया विनलाई ज्यानसम्बन्धीको १ नं. कसुरमा सोही महलको १३(४) नं. बमोजिम जनही जन्मकैदको सजाय र अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. कसुरमा सोही महलको ३ र ७ नं. बमोजिम जनही ९ वर्ष कैदको सजाय भई सोही महलको १२ नं. बमोजिम दामासाहीको दरले रू.२,०००/- क्षतिपूर्ति पीडित पन्नालाललाई भराई दिने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हटौंडाको मिति २०६९।३।५ गतेको फैसला ।

पन्नालाललाई अपहरण गरी लग्दा प्रतिकारमा आएका परिवारका मानिसहरूउपर गोली प्रहार गर्दा देवमती देवीलगायतलाई गोली लागी देवमती देवीको मृत्यु भएको हो भन्ने बुझिन आएको हो भन्ने जस्तो अनिश्चित प्रतिवेदन, जाहेरी दरखास्त, घटना विवरण कागज तथा प्रतिवादीहरूको बयानमात्र हामीलाई कर्तव्य ज्यान र अपहरण जस्तो गम्भिर मुद्दामा सजाय गर्ने आधार हुन सक्दैन । जाहेरवाला जयलाल साह सोनार घटनाका प्रत्यक्षदर्शी 

होइनन् । निजले अदालतमा आई बकपत्रसमेत गरेको छैन । मौकामा कागज गर्ने चौकी साह तेलीले अदालतमा बकपत्र गर्दा पीडितलाई कसले अपहरण गरे र कसले गोली हाने मलाई थाहा छैन भनी आफ्नो मौकाको बयानको कागजमा आफूले भनेबमोजिम नलेखेको भनी लेखाई दिएबाट पनि निजले मौकामा गरेको बयानलाई सही मान्न सकिँदैन । हामीले कसुर गरेको देख्ने मानिस वादी नेपाल सरकारले देखाउन सकेको छैन । यस्तो अवस्थामा केवल शंकाका आधारमा हामीलाई कसुरदार कायम गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू रामस्वरूप मुखिया विन, अम्बिका मुखिया विन र रामजी मुखिया विनको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।

मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई ७ वर्षदेखि १५ वर्षसम्म कैद र पचास हजार रूपयाँदेखि दुई लाख रूपयाँसम्म जरिवाना हुन्छ भन्ने व्यवस्था भएकोमा कैदमात्र गर्ने र जरिवानातर्फ केही नबोली भएको फैसला उक्त हदसम्म त्रुटिपूर्ण हुँदा उक्त हदसम्म बदर गरी जरिवानासमेत गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादीको पुनरावेदन पत्रको जानकारी प्रत्यर्थी प्रतिवादीलाई गराउनु र प्रतिवादीको पुनरावेदनको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०७२।८।१४ मा यस अदालतबाट भएको आदेश ।

नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले यी प्रतिवादीहरूले उपहरण र ज्यान मार्ने कसुर गरेको मिसिल संलग्न कागज प्रमाणहरूबाट पुष्टि भएको अवस्थामा पुनरावेदन अदालत, हटौंडाले दुवै कसुर गरेको ठहराएकोमा  मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई ७ वर्षदेखि १५ वर्षसम्म कैद र पचास हजार रूपयाँदेखि दुई लाख रूपयाँसम्म जरिवाना हुन्छ भन्ने व्यवस्था हुँदाहुँदै कैद मात्र गर्ने गरी फैसला गरेकोले सो हदसम्म उक्त फैसला बदर गरी जरिवानासमेत गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री रामप्रसाद अर्यालले यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको देख्ने प्रत्यक्षदर्शीको अभाव रहेको, मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा आई यी प्रतिवादीहरू कसुरदार हुन भन्ने पुष्टि गर्न सक्नु पर्नेमा सो नगरी वारदातका बारेमा केही थाहा नभएको भनी लेखाएको जस्ता अवस्थामा प्रतिवादीहरूले सफाइ पाउनु पर्नेमा नपाई अभियोग दाबीअनुसार कसुरदार ठहर गरिएको पुनरावेदन अदालतको फैसला नमिलेकाले बदर गरी प्रतिवादीहरूलाई सफाइ दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो । 

यसरी दुवै पक्षको बहससमेत सुनी प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नको निरूपण गरी निर्णयमा पुग्नु पर्ने देखियो ।

१. यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको अपहरण र ज्यान मार्ने कार्य गरेको ठहर्‍याई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन तथा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन् ?

२. यदि प्रतिवादीहरूले अभियोग दाबीअनुसारको कसुर गरेको ठहर्‍याई गरेको फैसला मिलेको देखिएमा पुनरावेदन अदालतबाट अपहरण तथा शरीर बन्धकको कसुरमा कैदमात्र गरी जरिवाना नगर्ने गरी भएको पुनरावेदन फैसला मिलेको छ वा छैन? तथा वादी नेपाल सरकारको जरिवानासमेत गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन?

 

यसमा प्रतिवादीहरूले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. र ज्यानसम्बन्धी महलको १ नं. ले निषेधित कसुर अपराध गरेको देखिँदा प्रतिवादीहरूलाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम सजाय गरी ७ नं. बमोजिम थप सजाय गरी १२ नं. बमोजिम क्षतिपूर्तिसमेत भराई र प्रेम गिरी र ललन गिरीलाई १३(१) नं. बमोजिम र अन्य प्रतिवादीहरूलाई ऐ. १३(४) नं. अनुसार सजायसमेत गरिपाउँ भन्ने अभियोग माग दाबी रहेकोमा सुरू अदालतबाट प्रतिवादीमध्येका हरिशंकर मुखिया विन, ललन गिरी, मञ्जु राउत यादव, ध्रुव चमार, विक्रम यादव, गामा राउत र प्रेम गिरी म्याद गुजारी बसेकाले निजहरूका हकमा अ.बं. १९० नं. बमोजिम मूल्तबी राखी प्रतिवादीहरू अम्बिका मुखिया विन, रामस्वरूप मुखिया विन र रामजी मुखिया विनलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ४ बमोजिम जन्मकैद हुने र अपहरण तथा शरीर बन्धकतर्फको अभियोग दाबी पुग्न नसक्ने ठहराई फैसला भएको पाइन्छ । सो फैसलाउपर प्रतिवादीहरूको सफाइ पाउँ भनी र वादी नेपाल सरकारको अभियोग दाबीअनुसार अपहरण तथा शरीर बन्धकको कसुरमा समेत सजाय गरिपाउँ भनी पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट अभियोग दाबीअनुसार ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ४ अनुसार जन्मकैद र अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको १ नं. को कसुरमा सोही महलको ३ र ७ नं. बमोजिम जनही ९ वर्ष कैद र ऐ. को १२ नं. बमोजिम दामासाहीका दरले रू.२०००।- क्षतिपूर्ति पीडित पन्नालाललाई भराई दिने ठहराई फैसला भएको पाइयो । सो फैसलाउपर सफाइ पाउनु पर्ने भनी प्रतिवादीहरूको र अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा जरिवानासमेत गर्ने व्यवस्था रहेकोमा जरिवाना नगरी फैसला भएकाले जरिवानासमेत गरी फैसला गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन परेको पाइन्छ ।

२. निर्णयका लागि सर्वप्रथम यसमा मिति २०६५।५।२० गते राति ८।२० बजेको समयमा हतियारधारी व्यक्तिहरूले पन्नालाल साह सोनारलाई अपहरण गरी लगेको र प्रतिकारमा आएका घर परिवारउपर गोली चलाई पन्नालालको श्रीमती देवमती देवी, छोरा सुरेन्द्र साह, दिपेन्द्र साह, भतिजा जितेन्द्र साह, रविन्द्र साह र भतिजी पुजा साहसमेत लाई घाइते बनाएको अवस्थामा फेला पारी उपचारको लागि वीरगंजतर्फ पठाएकोमा घाइतेमध्ये देवमती देवीको बाटैमा मृत्यु भएको र अपहरणकारी तथा पीडित पन्नालाल साह सोनारलाई सम्भावित एरियामा खोजतलास भइरहेको भन्नेसमेत व्यहोराको प्रहरी नायब निरीक्षक गोपीचन वि.क. को मिति २०६५।५।२१ को प्रतिवेदन देखिन्छ । वारदात भएको स्थान पन्नालाल साह सोनारको घरको नजिक सडक छेउमा रगत जस्तो रातो दाग देखिएको, सो दाग नजिकको सडकको भुई माडिई सोको छेउमा १२ के.एफ. लेखिएको टोटा गोलीको खोका ३ र सोमा प्रयोग हुने प्लाष्टिक कभर २ सडकमा छरिएको अवस्थामा रहेको भन्नेसमेतको मिति २०६५।५।२१ को घटनास्थल मुचुल्का रहेको पाइन्छ । दूधमाथि आधा इन्च गोलाईको छर्रा लागेको ३ वटा प्वाल, दुवै दूध मुनी साढे एक इन्च गोलाइको गोली लागेको प्वाल, सो प्वालबाट रगत निस्की कपडा भिजेको, दायाँ दूधमा आधा इन्च गोलाइको छर्रा लागेको प्वाल, दूधमुनी आधा इन्च गोलाइको छर्रा लागेको प्वाल देखिएको भन्नेसमेत मृतकको लासजाँच मुचुल्कामा उल्लेख भएको छ । यसरी २०६५। ५।२१ को प्रहरी प्रतिवेदनको व्यहोरासँग घटनास्थल मुचुल्का र लास जाँच प्रकृति मुचुल्काको व्यहोरा मिल्न भिड्न आई प्रहरी प्रतिवेदनको व्यहोरा समर्थितसमेत भएको अवस्था छ । साथै अपहरण गरी लगिएका पन्नालालका भाइ जयलाल साह सोनारले मिति २०६५।५।२२ मा दिएको जाहेरी दरखास्तबाट समेत उल्लिखित कुराहरू समर्थित भइरहेको पाइन्छ । यसबाट बन्दुक जस्तो घातक हतियारसमेत देखाई बल प्रयोग गरी जबरजस्ती पन्नालाललाई अपहरण गरी लगी अपहरण गर्दा प्रतिकारमा आएका व्यक्तिहरूउपर गोलीसमेत चलाएको देखिएको प्रस्तुत कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. मा परिभाषित कसुरजन्य आपराधिक कार्य भएको प्रस्ट हुन्छ । त्यस्तै अपहरण गरी लग्दा गोली चली प्रतिकारमा आएका व्यक्तिहरू घाइते भई सोही गोली लागेको कारणबाट देवमती देवीको मृत्यु भएको कार्य ज्यानसम्बन्धी महलको १ नं. ले परिभाषित अपराध भएकाले प्रस्तुत वारदातमा अपहरण तथा कर्तव्य ज्यानको आपराधिक कार्य भएको पुष्टि हुन जान्छ ।

३. यसरी आपराधिक कार्य पुष्टि भएको अवस्थामा यी प्रतिवादीहरू अम्बिका मुखिया विन, रामस्वरूप मुखिया विन र राम जी मुखिया विन जना ३ ले अभियोग दाबीबमोजिमको अपहरण गर्ने र ज्यान मार्ने कार्य गरेको ठहर्‍याई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन तथा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन् ? भन्ने निर्णयार्थ प्रस्तुत पहिलो प्रश्न सम्बन्धमा हेर्दा हरिशंकर मुखिया विन गाउँ घुम्दै बाहिरबाट मान्छे आउँदैछन् सुरक्षित भएर बस्नु भन्दै हिँडेको १५।२० मिनेटपछि घटना घटेको, वारदातपश्चात्‌ निज हरिशंकरसमेत भागी फरार भएको र रामस्वरूप मुखिया विन केही दिन अगाडिबाट निजकै घरमा आई बसेको हुँदा निज हरिशंकर र यी प्रतिवादी रामस्वरूपसमेतको संलग्नतामा वारदात भएको हो भन्ने हिरा भन्ने चौकि साह, टोनी गिरी, कपिलदेव महतोसमेतले मौकामा गरेको कागजमा उल्लेख भएको पाइन्छ । त्यस्तै जाहेरवाला जयलाल साह सोनारले आफ्नो जाहेरीमा सो घटना घटाउनेमा यी प्रतिवादीहरू अम्बिका मुखिया विन, विकाउ भन्ने रामस्वरूप मुखिया विन, उजर भन्ने रामजी मुखिया विनलगायतका १०/१२ जना हतियारधारी व्यक्तिहरूको संलग्नता रहेको भनी यी प्रतिवादीहरू उपरसमेत किटानी जाहेरी दिएको पाइन्छ । अपहरण गरिएका पन्नालाल साह सोनारले अपहरण मुक्त भएपछि यी प्रतिवादीहरू अम्बिका मुखिया विन, रामस्वरूप मुखिया विन र राम जी मुखिया विनलाई मैले बिजुली बत्तीको उज्यालोबाट प्रस्ट देखी चिनेको तथा निजहरूपनि अपहरण गर्ने कार्य र गोली चलाउने कार्यमा संलग्न रहेका थिए मौकामा निज प्रतिवादीहरू जना ३ लाई चिनेको भनी सनाखत कागज गरी दिएको र आफूलाई अपहरण गरी लगि राख्नेमा यी तीनै जना प्रतिवादीसमेतको संलग्नता रहेको भनी किटानी जाहेरीसमेत दिएको देखिन्छ । यी प्रतिवादी अम्बिका मुखिया विन, रामस्वरूप मुखिया विन र रामजी मुखिया विनले अपहरण र कर्तव्य ज्यान दुवै कसुरमा साबित भई उक्त दिन पन्नालाल साह सोनारलाई अपहरण गरी प्रतिकारमा आएका निजका श्रीमतीसमेतलाई गोली हानी घाइते बनाएकोमा देवमती देवीको हामीहरूले हानेको गोलीबाट मृत्यु भएको, उक्त घटना घटाउन दुई दिन अगाडि हरिशंकर मुखिया विनको घरमा डाँका गर्न भनी पूर्व योजना बनाएकोमा डाँका गर्न असजिलो हुने हुँदा अपहरण गरी फिरौती रकम लिएपछि छोड्ने योजनाका साथ साथीहरूसमेत भई घटना घटाएको, अपहरण गरी राखिएको पन्नालाल साह पनि साथीहरूको आँखा छली फिरौतीबापतको रकम लिन नपाउँदै भागी आएका भन्नेसमेतका घटनासँग सम्बन्धित तथ्यलाई सिलसिलाबद्ध रूपमा उल्लेख गरी उल्लिखित व्यहोरा एक आपसमा समर्थित हुने गरी अनुसन्धानको क्रममा बयान गरी लेखाई दिएको पाइन्छ । अम्बिका मुखिया विनकी श्रीमती फुलमती देवीले वारदात भएको दिन राति आफ्नो घरमा भएको समयमा घटनास्थलमा गोली फायर भई हल्लाखल्ला गरेको आवाज आएको, लोग्ने अम्बिका मुखिया साँझ खानपीन गरी गाउँतिर काम छ भनी गई भोलि पल्ट बिहान मात्र घरमा आएको र पछि बुझ्दा सो घटनामा लोग्ने अम्बिका विनसमेतको संलग्नता भएको थाहा भएको भनी अनुसन्धानको क्रममा लेखाई दिएको पाइन्छ । त्यस्तै कृष्णावती देवीले पनि यी तिनै जनाको समेतको संलग्नतामा वारदात भएको भनी मौकामा लेखाई दिएको पाइन्छ । यी ३ जना लगायत १२ जनाको उक्त वारदातमा संलग्नता रहेको भन्ने बुझिन आएको भनी प्रहरी सहायक निरीक्षक राधेमोहन प्रसाद कुशवाहाले मिति २०६५।६।६ मा दिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै  घटनामा पीडित घाइतेहरू सुरेन्द्र भन्ने सुलेन्द्र साह, दिपेन्द्र साह, जितेन्द्र साह, रविन्द्र साह र पुजाकुमारीसमेतले र वस्तुस्थिती मुचुल्काका चौकी साह तेली, धनेश्वर कुशवाहा र तेजनारायण साहले पनि यी प्रतिवादीहरूको समेत वारदातमा संलग्नता रहेको भनी मौकामा गरेको कागजमा उल्लेख गरी दिएका छन् । 

४. यसरी यी प्रतिवादीहरू उपरको घटनाका प्रत्यक्षदर्शी पीडितका भाइ जयलाल सोनारको किटानी जाहेरी दरखास्त, पीडित पन्नालालको सनाखत कागज र जाहेरी दरखास्त, यी प्रतिवादीहरूको मौकाको बयान, पीडित घाइतेहरूले मौकामा गरिदिएको कागजको व्यहोरा, अन्य मौकामा कागज गर्नेहरूको भनाइ, वारदातपश्चात्‌ परिचालित भएका प्रहरीले आफ्नो सूचना संयन्त्र र सुराकीसमेतका आधारमा यी प्रतिवादीहरूको समेत वारदातमा संलग्नता रहेको भनी दिएका प्रतिवेदनसमेतका मिसिल संलग्न कागज प्रमाणहरूको व्यहोरा यी तीन जना प्रतिवादीहरूको समेत संलग्नतामा पन्नालालको अपहरण भई प्रतिकारमा आएका व्यक्तिहरू उपर गोली चली गोली लागी घाइते भएकी पन्नालालकी श्रीमती देवमतीको मृत्यु भएको तथ्य सम्बन्धमा एक आपसमा मिल्न भिड्न गई परस्पर समर्थितसमेत भएको अवस्था विद्यमान छ । 

५. यी प्रतिवादीहरूले किटानी जाहेरी दिने जयलाल साह सोनार घटनाका प्रत्यक्षदर्शी नभएको, जाहेरवालाले आफ्नो जाहेरीका सम्बन्धमा अदालतमा आई जाहेरीको व्यहोरालाई समर्थन नगरेको, कर्तव्य ज्यान मुद्दामा प्रमाण लाग्ने कुनै चिज वस्तु दशि बरामद नभएको, हामी प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू लगायतकाले हामीले कसुर नगरेको भनी अदालतमा बकपत्र गरी दिएको जस्ता अवस्थामा हामीहरू उपरको अभियोग दाबी स्वतन्त्र एवं वस्तुनिष्ट प्रमाणबाट शंकारहित तवरबाट पुष्टि हुन नसक्ने हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । सोतर्फ विचार गर्दा यी प्रतिवादीहरूले अदालतमा बयान गर्दा वारदात समयमा आफू वारदातस्थलमा नभई अन्यत्र रहेको भनी कसुरमा इन्कार रही बयान गरी निजहरूका साक्षीहरूले उक्त कुरामा समर्थन जनाएपनि सो कुरा अन्य प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । आफू अन्यत्र रहेको प्रमाण निजहरू स्वयम्‌ले पुर्‌याउनु पर्नेमा सो पुर्‌याउन नसकेको र वारदात भएको भन्ने कुरामा समेत निजहरूले अन्यथा केही भन्न नसकेको अवस्था छ । साथै निजहरूको आफ्नो मौकाको र अदालतको बयानसमेत एक आपसमा बाझिएको छ । प्रतिवादीले मौकामा कसुरमा साबित रही जाहेरी दरखास्त, मौकामा तयार भएका कागजहरू, दिइएका प्रतिवेदनहरू तथा घटनाको समग्र वस्तु स्थितिसँग मिल्ने भिड्ने गरी र घटनाको सिलसिलेवार चित्रण हुने गरी बयान गरी दिएका देखिन्छ । प्रतिवादी आफ्नो मौकाको बयान स्वेच्छाले नलेखाएको भने पनि के कसरी उक्त बयान स्वेच्छाविपरीत भयो निजहरूले भन्न नसकेको र सो पुष्टि हुन सक्ने अवस्था रहे भएको समेत केही 

देखिँदैन । प्रहरी आफैँले वा जबरजस्ती गरी लेखाएको बयानमा घटनाको वस्तुस्थितिसँग मेल खाने किसिमले घटनाको सिलसिलेवार चित्रण पनि हुन सक्दैन र त्यस्तो बयान अन्य मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइसँग पनि हुबहु नमिल्न सक्छ । यसरी घटनाको वस्तुस्थिति तथा परिवेशसँग र मौकामा कागज गर्नेहरूको भनाइसँग मेल खाने गरी आफ्नो स्वेच्छाले गरेको मौकाको बयानलाई अन्यथा पुष्टि नभएसम्म अदालतमा इन्कार गरेकै आधारमा असत्य भन्न मिल्दैन । प्रमाण ऐन २०३१ को दफा ९ (२) (क) हेर्दा अभियुक्तले सचेत अवस्थामा व्यक्त गरेको कुरा र निजलाई कुनै बाध्यतमा पारी वा यातना दिई वा दिने धम्कि दिई वा इच्छा विरूद्ध कुनै कुरा व्यक्त गर्ने स्थितिमा पारी कुनै कुरा व्यक्त गरेको होइन भने अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा पनि अदालतले प्रमाणमा लिन हुने नै 

हुन्छ । यसबाट पनि मौकामा यी प्रतिवादीहरूले आफ्नै स्वइच्छाले गरिदिएको बयानको व्यहोरालाई प्रमाणमा लिन सकिने नै हुन्छ । यसमा निजहरूको अदालतको इन्कारी बयान मिसिल संलग्न प्रमाणसँग मिल्न भिड्न नआएको तथा अन्य प्रमाणबाट समर्थित हुन नसकेको अवस्था विद्यमान रहेको छ ।

६. त्यस्तै वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले मौकामा कागज गर्दा यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भनी लेखाएकोमा अदालतमा बकपत्र गर्दा मौकाको बकपत्र आफूले लेखाएको नभई लेखेर ल्याएकोमा सही गराएको भने तापनि सो कुराको पुष्टि गर्न नसकेकोले सो भनाइलाई विश्वासयोग्य मान्न 

सकिँदैन । अनुसन्धानका क्रममा तयार भएका तथा संग्रहित मिसिल संलग्न प्रमाणहरू एक आपसमा समर्थित भई वारदातलाई र वारदातमा यी प्रतिवादीहरूको संलग्नताका सम्बन्धमा पुष्टि गरिराखेको अवस्थामा मौकामा संकलित यी प्रमाणहरूलाई अन्यथा मानी प्रमाणमा अग्राह्य गर्न सकिँदैन । यसमा पीडित पन्नालाल स्वयम्‌ले यी प्रतिवादीहरूसमेतको आपराधिक कार्यमा संलग्नता रहेको हो देखे चिने भनी अपहरण मुक्त भई सकेपछि मौकामा सनाखत कागज गरिदिएको र सोही अनुसार किटानी जाहेरीसमेत दिएको पाइन्छ । त्यस्तै वारदातमा घाइते भएका व्यक्तिहरूले पनि यी प्रतिवादीहरूको संलग्नता रहे भएको कुरा उल्लेख गरी मौकामा लेखाई दिएको देखिन्छ । कुनै काम, घटना, वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने व्यक्ति वा सो काम, घटना वा अवस्थाबाट पीडित भएको व्यक्तिले कुनै काम वा घटनाका सम्बन्धमा मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था प्रमाण ऐन २०३१ को दफा १० मा भए अनुसार पनि घटनाका पीडित र प्रत्यक्षदर्शी दुवै रहेका यी पीडितहरूको मौकाको भनाइलाई अदालतमा आई बकपत्र गरी नदिएको आधारमा मात्र प्रमाणमा नलिन सकिँदैन । 

७. त्यस्तै प्रस्तुत मुद्दामा दिएका दुवै जाहेरीको व्यहोरा अन्य प्रमाणहरूबाट समर्थित भइरहेको छ । यस्तो अवस्थामा जाहेरवाला अदालतमा आई आफ्नो जाहेरीको समर्थनमा बकपत्र गरी दिएमा मात्र जाहेरी सत्य हुने र समर्थनमा बकपत्र गरी नदिएमा झुठ्ठा हुने भनी सबै मुद्दामा गोश्वारारूपमा अर्थ गर्न मिल्दैन । जाहेरी अपराध भएको, हुन लागेको वा हुने आशंका देखिएको अवस्थामा प्रहरीलाई दिने जानकारी भएकाले यसका आधारमा प्रहरीले आफ्नो अनुसन्धानको तहकिकातको कार्य अगाडि 

बढाउँदछ । अनुसन्धान तहकिकातका क्रममा संकलित प्रमाणहरूलाई न्यायको रोहमा परीक्षण गरी अदालतले न्याय सम्पादन गर्ने हुँदा जाहेरी दरखास्तको समर्थनमा गरिने बकपत्रले प्रमाणको भुमिका खेल्ने भएपनि अन्य प्रमाण भई वारदात तथा सोमा संलग्नता पुष्टि भइरहेको अवस्थामा जाहेरी दरखास्तको समर्थन हुने गरी जाहेरवालाले बकपत्र नगरी दिएकै आधारमा वारदातको संलग्नतालाई अन्यथा भन्न सकिँदैन । यसरी मिसिल संलग्न प्रमाण कागजहरूबाट यी प्रतिवादीहरू जना ३ अभियोग दाबीअनुसारको कसुरमा संलग्न रहेको पुष्टि हुन गएकाले पुनरावेदन अदालतले अपहरण तथा कर्तव्य ज्यानको कसुरमा यी प्रतिवादीहरूको संलग्नता रहेको भनी ठहर गरेको मिलेकै देखिन्छ । अभियोग दाबीबाट सफाइ पाउँ भनी यी प्रतिवादीहरूले आफ्नो पुनरावेदनमा लिएका आधार तथा जिकिरहरूसँग सहमत हुन सकिँदैन ।

८. यसरी यी प्रतिवादीहरूले अभियोग दाबीअनुसारको कसुर गरेको देखिएको अवस्थामा  पुनरावेदन अदालतबाट अपहरण तथा शरीर बन्धकको कसुरमा कैद मात्र गरी जरिवाना नगर्ने गरी भएको पुनरावेदन फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकारको जरिवानासमेत गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा अपहरण गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुन्छ भन्ने स्पष्ट व्यवस्था रहे भएको पाइन्छ । यसरी अपहरणको कसुरमा कैद र जरिवाना दुवै गर्ने गरी स्पष्टरूपमा कानूनी व्यवस्था भएको अवस्थामा प्रतिवादीहरूलाई कैदमात्र तोकी जरिवाना नगरेको फैसला सो जरिवाना नगरेको हदसम्म मिलेको देखिँदैन र प्रतिवादीहरूलाई जनही रू.५०,०००।- जरिवाना हुन्छ । 

९. अतः सुरू जिल्ला अदालतले यी प्रतिवादीहरू रामस्वरूप मुखिया विन, अम्बिका मुखिया विन र रामजी मुखिया विनलाई अभियोग दाबीअनुसार कर्तव्य ज्यानमा कसुरदार ठहराई र अपहरणको कसुरमा सफाइ दिने गरी गरेको फैसला पुनरावेदन अदालत, हटौंडाबाट केही उल्टी भई प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार कर्तव्य ज्यान तथा अपहरणमा कसुरदार ठहराई अपहरणको कसुरमा जरिवानाको सजाय नगरी भएको फैसला सो जरिवानासम्म नगरेको हकमा केही उल्टी भई प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. १३ नं. को देहाय ४ अनुसार जनही जन्म कैदको सजाय र अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुरमा ऐ. को ३ र ७ नं. बमोजिम जनही ९ (नौ) वर्ष कैद, जनही रू. ५००००।- (पचास हजार) जरिवानासमेत हुने र ऐ. को १२ नं. बमोजिम दामासाहीका दरले रू. २,०००।- (दुई हजार) क्षतिपूर्तिसमेत पीडित पन्नालाललाई भराई दिनेसमेत ठहर्छ । सो ठहर्नाले अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

पुनरावेदन अदालत, हटौंडाको फैसला अपहरणको कसुरमा जरिवाना नगरेको हकमा सम्म केही उल्टी भई प्रतिवादीहरूलाई जनही रू.५०,०००।- जरिवानासमेत हुने ठहरी यस अदालतबाट फैसला भएकोले सोअनुसार प्रतिवादीहरूको नाममा जरिवानाको समेत लगत कसी असुलउपर गर्नु भनी सुरू पर्सा जिल्ला अदालतमा लेखि पठाई दिनू .............................................१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ..............................१

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत: यदुराज शर्मा 

इति संवत् २०७३ साल जेष्ठ २४ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु