शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६७६ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति: २०७३।२।२४

 

मुद्दा : कर्तव्य ज्यान ।

 

०६८-CR-१०९०

पुनरावेदक/वादी : नरेन्द्र ओडको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला कञ्चनपुर भीमदत्त न. पा. वडा नं. १० बस्ने वीरबहादुर लुहारसमेत

 

०७१-RC-००४८

पुनरावेदक/वादी : नरेन्द्र ओडको जाहेरीले नेपाल सरकार

विरूद्ध 

प्रत्यर्थी/प्रतिवादी : जिल्ला कञ्चनपुर भीमदत्त न. पा. वडा नं. १० बस्ने दिपक विष्ट

 

प्रतिवादीहरूसमेत उपर किटानी जाहेरी परे तापनि उक्त जाहेरी जाहेरवालाको बकपत्रबाट नै खण्डित भइरहेको अवस्थामा जाहेरी व्यहोरा केवल आवेशमा आई शंकाका भरमा मात्र दिएको प्रस्ट हुन्छ । त्यसमा पनि जाहेरी आफैँमा प्रमाण हुन सक्दैन । यो घटना भएको, घटनाको सम्भावना रहेको जस्ता अवस्थामा प्रारम्भिकरूपमा सूचित गर्ने (First Information Report) का रूपमा मात्र दिइने हो जसलाई सत्य नै हुन्छ भनी भन्न सकिँदैन । यी प्रतिवादीको समेतको संलग्नता रहेको भनी दिएको जाहेरी अन्य कुनै प्रमाणबाट पुष्टि नभएको र स्वयम्‌ जाहेरवालाको बकपत्रबाट समेत समर्थित नभएको अवस्थामा यसको प्रामाणिक मूल्य रहेको मान्न नसकिने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता किरण पौडेल

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहबाट फैसला गर्नेः- 

मा.जि.न्या. श्री भोजराज शर्मा

पुनरावेदन तहबाट फैसला गर्ने :-

मा.मु.न्या. श्री दुर्गाप्रसाद उप्रेती

मा.न्या. श्री कोमलनाथ शर्मा

 

फैसला

न्या. देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) र १० (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । 

मिति २०६७।८।२४ गते बेलुका मृतक बुबा व्रम्हदेवतर्फ गइरहेको अवस्थामा जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका, वडा नं. १० ठूलो खोला भन्ने ठाउँमा पुग्दा प्रतिवादी दिपक विष्ट, वीरबहादुर लुहार, धनबहादुर विष्टसमेतका जना ३ ले कुटपिट गरी मेरो बुबा मृतक नारायण ओडको घटनास्थलमा नै मृत्यु भएकोले निजहरूलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको मृतकका छोरा नरेन्द्र ओडले दिएको जाहेरी दरखास्त ।

जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका, वडा नं. १० ठूलो खोला भन्ने ठाउँमा चार किल्ला खुलाइएको मृतक नारायण ओडको मृत लासको वरिपरि ढुंगाहरूमा रगत जस्तो पदार्थका छिटाहरू रहेको दायाँ आखाँ फुटी रगत निस्किरहेको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच मुचुल्का ।

मिति २०६७।८।२४ गते म राति सुतेको अवस्थामा उठाई दिपक विष्टको टाउकोमा चोट लागेको छ । अस्पताल पुर्‍याई दिनु पर्‍यो भनी भन्दा दिपक र धनबहादुरलाई मैले मोटरसाइकलमा अस्पताल पुर्‍याएको हुँ । सोपश्चात् मात्र दिपकको झगडाको बारेमा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मोहन लुहारले गरिदिएको घटनास्थल विवरण कागज ।

मिति २०६७।८।२४ गते हामी जोगबुढातर्फ जान लाग्दा धनबहादुर र वीरबहादुरले मादक पदार्थ सेवन गरेका थिए । सोही समयमा तिलाचौरबाट व्रम्हदेवतर्फ गइरहेका व्यक्तिहरूलाई को हो भन्दा निजहरूसँग विवाद भई निजहरूमध्ये कोही १ जनाले मलाई ढुंगाले हान्दा मैले पनि ढुंगा प्रहार गर्दा मृतकलाई लागेको हो । सोपछि म उपचारको लागि अस्पताल गएको हुँ । मैले प्रहार गरेको ढुंगाले मृतक नारायण ओडको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक विष्टको अनुसन्धान अधिकृतसमक्षको बयान ।

मिति २०६७।८।२४ गते जोगबुढातर्फ जान लाग्दा मैले र वीरबहादुरले मादक पदार्थ सेवन गरेका थियौँ । घटनास्थल नजिक पुग्दा वीरबहादुर लुहार चुरे जंगलमा लगाएको तारबारभित्र हराएपश्चात् निजलाई खोज्ने क्रममा नारायण ओडलाई भुइँमा पल्टेको देखेको हुँ । निजको अलि अलि सास थियो । उक्त स्थानमा अन्य व्यक्तिहरूसमेत थिए । मृतकको शरीरबाट रगत बगिरहेको थियो । दिपक विष्टको पनि टाउकोबाट रगत बगिरहेको थियो । निजलाई मैले अस्पताल लगी गएको हुँ । दिपक विष्टकै कुटपिटका कारण नारायण ओडको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर विष्टको अनुसन्धान अधिकारीसमक्ष गरी दिएको बयान ।

मिति २०६७।८।२४ गते हामी धनबहादुरसमेत मेला हेर्न जोगबुढातर्फ जानेबेला दिपक विष्टले म पनि जान्छु भनी गएको हो । दिपक र धनबहादुर आउँदै होला भनी सोची अगाडि जाँदै गर्दा मलाई रक्सी बढी भएका कारण बाटोमै सुतेको रहेछु । २ घण्टापछि होसमा आएपछि मैले कसैलाई नदेखेपछि खोलातर्फ जाँदा लाले ओडसमेतलाई भेटी के भयो भन्दा नारायण ओडलाई लास बनाएको छ भन्दा प्रहरीमा फोन गर्न पठाएको हुँ । पछि बुझ्दा दिपक विष्टले ढुंगाले हानी घाइते बनाई नारायण ओडको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी वीरबहादुर लुहारको बयान कागज ।

मिति २०६७।८।२४ गते जोगबुढाबाट मेरो मामा बज्यै आउन लाग्दा निजहरूलाई ल्याउन व्रम्हदेवतर्फ मसमेत जान लाग्दा तिलकेनी ठूलो खोलो भन्ने ठाउँमा सामुदायिक जङ्गलबाट २।३ ढुंगाहरू हामीहरूतर्फ आएपश्चात्‌ मैले टर्च लगाई हेर्दा २ जना व्यक्तिहरू रहेछन् । टर्च बन्द गर भनी हामीलाई आमा चकारी गाली गरेपश्चात् दिपक विष्ट हामी भएतर्फ आई मामा फकिरेलाई मुक्काले हानी मेरो बुबा नारायण ओडले छुट्याउन जाँदा दिपक विष्ट र धनबहादुर विष्ट आई हामीलाई पनि कुटपिट गर्न लागेपछि हामीहरू भागी गएका हौं । सोही समयमा एक जना अर्को व्यक्ति सोही ठाउँमा आई तीनै जनाले बुबा नारायण ओडलाई कुटपिट गरी मारेको हुन् भन्नेसमेत व्यहोराको भरत ओडले गरिदिएको घटना विवरण कागज ।

२०६७।८।२४ गतेका दिन बेलुका ५ बजेको समयमा मेरो भाइ रोसनले आमालाई डडेल्धुराबाट ल्याई रहेकोमा निजले फोन गरी श्रीमान नारायण ओडलाई साइकल ल्याई ब्रह्रमदेव आउनु भनेको हुँदा श्रीमान्‌ र छोरा भरत ओडसमेत घरबाट गएका 

हुन् । सोपश्चात्‌ छिमेकी पुस्पा वड मेरो घरमा आई दाजु नारायण ओडको मृत्यु भयो । निजलाई क कसले मारे भनी मलाई फोन आयो भनेकाले म अचेत भएँ । त्यसपछि पानी छर्की मलाई होसमा ल्याई ८।१० जना व्यक्तिहरू घटनास्थलमा गएका हुन् । मेरो श्रीमान्‌ नारायण ओडलाई दिपक विष्ट, धनबहादुर विष्ट र विरबहादुर लुहारले मारेका हुन् र निजबाहेक अन्यको संलग्नता छैन । निजहरूले के कुन कारणले कर्तव्य गरी मारेका हुन् मलाई थाहा भएन । निजहरूसँग पूर्व रिसइवी, चिनाजन केही थिएन भन्नेसमेत व्यहोराको मृतककी श्रीमती चन्द्रादेवी ओडले गरेको घटना विवरण कागज ।

मृतक नारायण ओड मेरो भिनाजु 

हुन् । २०६७।८।२४ गते बेलुकी जोगबुढाबाट भाइ, आमासमेत हाम्रो घर तिलाचौड आउँदै गर्दा निजहरूले मृतक भिनाजुलाई फोन गरी हामीहरूलाई लिन आउनु भनेका रहेछन् । मलाई पनि जाउँ भन्दा हामी त्याहाँ जान भनी गयौँ । जाँदा तिल्केनी खोलामा हिँड्दै गर्दा बाटोमाथि जंगलबाट २।३ वटा ढुङ्गा हान्यो सोपछि भरत ओडले टर्च लगाएकोमा माथिबाट एकजनाले आमा चाकरी गाली गरी प्रतिवादी दिपक विष्ट हामीहरू भएको ठाउँमा आई सबभन्दा पहिला मलाई मुक्काले हानी भुइँमा लडायो र सोपछि छुट्टयाउन आएका मेरो भिनाजु नारायण ओडलाई त्याहाँ भएको दिपक विष्ट र माथि जंगलबाटबाट धनबहादुर विष्ट आई  दुवैले नारायण ओडलाई कुटपिट गरे । भान्जा भरत ओडलाई हातले तल फालेका हुन् । मलाई पुनः धनबहादुर ओडले एक मुक्का हानेपछि म भागी गएँ । म भाग्दा पछाडि हेर्दा प्रतिवादी ३ जनाले मृतक भिनाजुलाई कुटपिट गरिरहेका थिए । मृतक भिनाजुलाई निज प्रतिवादीले कुटपिट गरी ढुंगा प्रहार गरी मारेका हुन भनी फकिर लुहारले गरिदिएको कागज ।

मैले घटनाका बारेमा थाहा पाई घटनास्थलमा जाँदा गाउका सम्पूर्ण मान्छेहरू घटनास्थलमा 

थिए । निजलाई क कसले के कसरी मारेका हुन् सो कुरा मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको राजमती देवी ओडको घटना विवरण कागज ।

२०६७।८।२४ गतेका दिन बेलुका मसमेत नरे ओडको घरमा धामीझाँक्री गरिरहेको अवस्थामा फगिर लुहार सोही ठाउँमा आई नारायण ओडलाई मारेको छ भनी भन्दा मसमेत अन्य व्यक्तिहरू गएका थियौँ । घटनास्थलमा निज नारायण ओडलाई मृत अवस्थामा देखेका हौँ । निज मृतकलाई प्रतिवादीहरू दिपक विष्टसमेतले कर्तव्य गरी मारेको हो भन्ने कुरा गाउँ समाजबाट सुनी थाहा पाएको हुँ । घटना के कसरी भयो को कसले कसरी मारे थाहा छैन भन्नेसमेत व्यहोराको गजी ओड, धनविर महर र कल्यान ओडले करिब एकै मिलान हुने गरी मौकामा गरिदिएको कागज ।  

घटनास्थलमा जाँदा मृतक नारायण ओडको लास देखेका हौं । पछि सोधपुछ गर्दा दिपक विष्टसमेतले कुटपिट गरी नारायण ओडलाई मारेका हुन् भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको जनकबहादुर लुहारसमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीमध्येका दिपक विष्ट, धनबहादुर विष्ट, वीरबहादुर लुहारसमेतले हात मुक्काले कुटपिट गरी टाउकोमा ढुंगासमेत प्रहार गरी कर्तव्य गरी मारेको भन्ने पुष्टि हुन आएकोले निजहरूको उक्त कार्य ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. बमोजिमको कसुर भएकाले निज प्रतिवादीहरू दिपक विष्ट, धनबहादुर विष्ट र वीरबहादुर लुहारसमेत तीनै जनालाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

मृतकसमेत ३।४ जना गइरहेको अवस्थामा दिपक विष्टले को हो भनी सोधेको र मृतक समूहबाट टर्च बाली मुखमा लगाएकाले दिपकले टर्च मुखमा किन लगाएको भन्दा टर्च लगाउने निजहरूले नै गाली गर्दा झगडा भएको हो । मैले मृतकलाई मारेको होइन । दिपकसँग मृतकको झगडा भएकोले दिपकले नै हानेर मारेको हो । म वारदात स्थलमा पछि पुगेको हुँ । म पुग्दा नारायण छटपटाई रहेको थियो । म प्रतिवादी दिपक विष्ट र वीरबहादुर लुहार सँगै घरबाट गएकाले हामीलाई दोष लगाएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर विष्टले अदालतमा गरेको बयान ।

म वारदातस्थलमा २।३ घण्टापछि गाउँलेहरूको हल्ला सुनी आएको हुँ । मैले धेरै रक्सी सेवन गरेकोले बढी नसा लागि उठ्न नसकी बेहोस थिएँ । मसमेत उपर दिएको किटानी जाहेरी झुट्ठा हो । धनबहादुरले मलाई जोरसँग बोलाएका कारण यो पनि सँगै थियो होला भनी शंका लागी किटानी कागज गरेका होलान् भन्नेसमेत व्यहोराको प्रतिवादी वीरबहादुर लुहारको बयान ।

मसमेत धनबहादुर र वीरबहादुर मेला हेर्न जाँदै गर्दा बाटोमा व्रम्हदेवतिर जाने व्यक्तिहरूले टर्च मेरो आँखामा लगाएको र नलगाउ भन्दा गाली गरेपछि मैले पनि गाली गर्दा निजहरू मध्येका फकिरे लुहारले मलाई हातले हान्यो । मृतकले मेरो टाउकोमा ढुंगाले हान्यो । मैले पनि ढुंगा समाती हानेँ कि हानिन म बेहोस जस्तो भएकोले थाहा भएन । मृतकको मृत्यु कसको चोटको कारणबाट भयो मलाई थाहा 

भएन । धनबहादुर र वीरबहादुर झगडा हुँदासम्म आएका थिएनन् भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक विष्टले अदालतमा गरेको बयान ।

मृतकको मृत्यु भएको खबर सुनी घटनास्थलमा गई हेर्दा मृतकको टाउकोमा चोट लागी रगत मुखभरि लतपतिएको थियो । फकिरे लुहारले प्रतिवादीहरू जना ३ ले हानेको भनी बताएका थिए भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्काका मानिस कल्याण ओडले गरेको बकपत्र । 

सो दिन म हल्ला सुनी घटनास्थल गएको थिएँ । दिपक विष्टलाई त्याहाँ देखेन । क कसको बीचमा झगडा भयो थाहा भएन । आर्मीका केटाहरूले ढुंगा प्रहार गरेको सुनेको हो भन्नेसमेत व्यहोराको दिपक विष्टका साक्षी लोकबहादुर विष्टको बकपत्र ।

२०६७।८।२४ गते साँझ मेरो बज्यै नाता पर्ने फकिरे लुहारको आमालाई ल्याउन भनी मामा फकिरे लुहार, बुबा मृतक नरायण लुहार र मसमेत ३ जना घरबाट ब्रह्मदेव गएका हौँ ।बाटोमा खोलानजिक पुग्दा माथिबाट ३ वटा ढुंगा प्रहार भए । म र फकिरे भागेर गयौँ । पछि बुबा पनि भाग्न लाग्दा लडेको जस्तो आवाज आएको थियो । ढुंगा हान्नेलाई हामीले 

चिनेनौं । ३।४ जना आर्मी कटिंग गरेका जस्ता थिए । माथिबाट आएको ढुंगा लागेर हो वा भाग्ने बेला चोट लागेको हो मलाई थाहा भएन । यी प्रतिवादीले मारेको भन्ने थाहा छैन । प्रहरीमा मलाई जबरजस्ती सही गराएको हो भन्नेसमेत व्यहोराको वादी पक्षका गवाह भरत ओडले गरेको बकपत्र ।

सो दिन मेरो आमालाई ल्याउन भनी म, भरत ओड र मृतक नारायण ओड ब्रह्मदेव गइरहेको अवस्थामा माथिबाट ढुंगा आउँदा म र भरत ओड त्याहाँबाट दगुर्‍यौँ । मृतक त्यहीँनेर थिए । मृतक लामो समयसम्म नआउँदा त्याहाँ जाँदा मृत्यु भइसकेको थियो । निजको मृत्यु लडेर भयो वा ढुंगा लागेर भयो थाहा भएन । कसले किन हाने थाहा भएन भन्नेसमेत व्यहोराको वादी पक्षका गवाह फकिरे लुहारले गरेको बकपत्र ।

मृतक बुबा  ब्रह्मदेवतर्फ जान लाग्दा खोलाको माथिबाट ढुंगा आएको ढुंगा लागी बुबाको मृत्यु भयो भनेको सुनेको हो । मृत्यु ढुंगा लागि भयो वा आफैँ लडी भएको मलाई थाहा छैन । मैले घटना घटेको देखेको होइन । भरत ओड, फकिरे लुहारको भनाइअनुसार जाहेरी गरेको हुँ भन्नेसमेत व्यहोराको जाहेरवाला नरेन्द्र ओडले गरेको बकपत्र ।

म वडा नं. १० र ८ को वोर्डरको पसलमा थिएँ । सामुदायिक बनको किनारानेर आर्मी जस्ता केटाहरूले ढुंगा हिर्काएकोले दिपकसमेत घाइते भएको सुनी त्याहाँ पुग्दा दिपकलाई बेहोस अवस्थामा हिर्काएर फालेको अवस्थामा र मृतकलाई अर्कोतर्फ फालेको देखेको हो । दिपकलाई निजका आफन्तहरूले अस्पताल लगेका हुन् । ती आर्मी केटाहरूले हिर्काएको ढुंगा लागेर हो वा आफैँ लडेर चोट लागेको हो यकिन भएन । यी प्रतिवादीहरू निर्दोष हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक विष्टका साक्षी हर्कबहादुर नेगीले गरेको बकपत्र ।

प्रतिवादी दिपक विष्टले ढुंगाले टाउकोमा प्रहार गरेको कारण मृतकको मृत्यु भएको प्रमाणित हुन आएकोले निजलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहर्छ । तर घटनाको अवस्था परिस्थिति विचार गर्दा पूर्व रिसइवी केही नहुनु, तत्कालको रिसबाट ढुंगा प्रहारबाट मृतकको टाउकोमा चोट लागी मृतकको मृत्यु भएको देखिँदा निज प्रतिवादीलाई हदैसम्मको सजाय गर्दा चर्को पर्न गई घटी सजाय गर्न उपयुक्त देखेकोले निजलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजाय हुने राय व्यक्त गरिन्छ । अन्य प्रतिवादी वीरबहादुर लुहार र धनबहादुर विष्टको हकमा विचार गर्दा यी प्रतिवादीहरूको पनि संलग्नता भएको भन्ने मिसिल कागजबाट नदेखिँदा निजहरूले दाबीबमोजिमको अपराध गरेको प्रमाणित हुन नआएकोले निजहरू वीरबहादुर लुहार र धनबहादुर विष्टले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको कञ्चनपुर जिल्ला अदालतबाट भएको फैसला ।

प्रतिवादीहरूको इन्कारी बयानको आधारमा मात्र प्रतिवादीहरू वीरबहादुर लुहार र धनबहादुर विष्टलाई कसुर अपराधबाट सफाइ दिने गरी भएको प्रस्तुत फैसलामा मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन तथा विश्लेषण गरिएको नदेखिएकोले उक्त सुरू कञ्चनपुर जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, महेन्द्रनगरमा दायर भएको पुनरावेदन पत्र ।

मैले कर्तव्य गरी मार्नु पर्ने कुनै कारण वा प्रयोजन र घटनाक्रमसमेतको अभाव रहेको, म प्रहरीमा र अदालतमा कसुरमा इन्कार रहेको, मैले बाटोमा हिँडिरहेको अवस्थामा आँखामा टर्च नलगाउन भनेका कारण म माथि नै सांघातिक आक्रमण भई म बेहोस भई मलाई नै अस्पताल लगेको अवस्थाबाट मैले नारायण ओडको हत्या नगरेको प्रमाणित भइरहेकोमा ढुंगा प्रहारमा निरन्तरता प्रदान गर्ने तेस्रो पक्षलाई खोजी गर्ने बुझ्ने प्रयत्नसम्म नगरी अधुरो अनुसन्धानका आधारमा मलाई अभियोग दाबी बमोजिम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक विष्टको पुनरावेदन अदालत, महेन्द्रनगरमा दर्ता गरेको पुनरावेदन पत्र ।

प्रतिवादी दिपक विष्टलाई अभियोग मागदाबी अनुसार ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ अनुसार सर्वश्वसहित जन्म कैदको सजाय हुने र प्रतिवादीहरू धनबहादुर विष्ट र वीरबहादुर लुहारले अभियोग दाबीबाट सफाइ पाउने ठहराएको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०६८।२।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । निज प्रतिवादी दिपक विष्टलाई कानूनबमोजिम हदैसम्मको सजाय गर्दा चर्को पर्न जाने भएकाले घटी सजाय गर्न मनासिब देखी अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजाय गर्ने सुरू जिल्ला अदालतबाट व्यक्त राय न्यायोचित देखिँदा सो रायसमेत सदर गरिदिएको छ । साथै निज प्रतिवादी दिपक विष्टलाई १० वर्षमात्र कैद सजाय गर्नु न्यायोचित देखिएकाले अ.बं. १८८ नं. बमोजिम छुट्टै रायसमेत व्यक्त गरिएको छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६८।८।२५ को फैसला ।

तीनै जना प्रतिवादी एकसाथ मेला हेर्न गएका र तीनवटा ढुंगा प्रहार भएको पुष्टि भइरहेको अवस्थामा प्रतिवादीले ढुंगा प्रहार गरी सोले मृतकको टाउकोमा चोट लागी मृतकको मृत्यु भएको स्पष्ट हुन्छ । जाहेरी दरखास्त र अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागजबाट समेत तीनै जना प्रतिवादीको सामूहिक कार्यबाट मृतकको मृत्यु भएको तथ्य स्थापित हुन आएकोमा प्रतिवादीहरू धनबहादुर विष्ट र वीरबहादुर लुहारले सफाइ पाउने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दा यस अदालतको मिति २०७१।८।२३ गतेका आदेशानुसार प्रतिवादी दिपक विष्टका हकमा साधकमा समेत दर्ता हुन आएको । 

नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता किरण पौडेलले जाहेरी दरखास्त, अनुसन्धानमा बुझिएका व्यक्तिहरूको कागजको व्यहोरा जस्ता मिसिल संलग्न कागजबाट तीनै जना प्रतिवादी एकसाथ मेला हेर्न गएका र तीनवटा ढुंगा प्रहार भई तीनै जना प्रतिवादीको सामूहिक कार्यबाट मृतकको मृत्यु भएको तथ्य स्थापित हुन आएकोमा प्रतिवादीहरू धनबहादुर विष्ट र वीरबहादुर लुहारले सफाइ पाउने गरी भएको फैसला त्रुटिपूर्ण छ । सो फैसला बदर गरी निजहरूलाई समेत अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

यसरी बहससमेत सुनी प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नको निरूपण गरी निर्णयमा पुग्नु पर्ने देखियो ।

१. प्रतिवादीहरू धनबहादुर विष्ट र वीरबहादुर लुहारले सफाइ पाउने ठहराएको सुरू फैसला सदर गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ? तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ?

२ प्रतिवादी दिपक विष्टको हकमा साधक सदर हुन्छ वा हुँदैन ? 

३ प्रतिवादी दिपक विष्टको हकमा १० वर्ष कैदको लागि सुरू अदालतबाट व्यक्त राय सदर गरेको पुनरावेदन अदालतको राय मनासिब छ वा छैन ?

 

निर्णयार्थ मिसिल अध्ययन गरी हेर्दा यसमा प्रतिवादीमध्येका दिपक विष्ट, धनबहादुर विष्ट र वीरबहादुर लुहारसमेतले मृतक नारायण ओडलाई हात मुक्काले कुटपिट गरी टाउकोमा ढुंगासमेत प्रहार गरी कर्तव्य गरी मारेको भन्ने पुष्टि हुन आएकोले निजहरूलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग पत्र माग दाबी लिएकोमा  सुरू कञ्चनपुर जिल्ला अदालतले प्रतिवादी वीरबहादुर लुहार र धनबहादुर विष्टले अभियोग दाबीबाट सफाइ पाउने र प्रतिवादी दिपक विष्टलाई अभियोग दाबीअनुसार सजाय हुने ठहराई निजको हकमा १० वर्ष कैद सजायको समेत राय व्यक्त गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर सफाइ पाउँ भनी प्रतिवादी दिपक विष्टको र सफाइ पाएका प्रतिवादीहरूलाई अभियोग दाबी अनुसार सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट सुरू फैसला सदर हुने ठहरी फैसला भएको पाइन्छ । उक्त पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादी दिपक विष्टको हकमा यस अदालतमा साधक दर्ता हुन आएको र सफाइ पाएका प्रतिवादीहरूको हकमा वादी नेपाल सरकारको पुनरावेदनसमेत दर्ता हुन आएको पाइयो ।

२. निर्णयतर्फ विचार गर्दा मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्य मिसिल संलग्न शव परीक्षण प्रतिवेदन, लास जाँच प्रकृति मुचुल्का लगायतका मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि भई निर्विवादसमेत रहेको अवस्थामा प्रस्तुत मुद्दामा निर्णयका लागि सर्वप्रथम पहिलो प्रश्नमा नै  केन्द्रित हुनुपर्ने देखियो । सो प्रश्नका सम्बन्धमा हेर्दा सफाइ पाएका यी प्रतिवादीहरू धनबहादुर विष्ट र वीरबहादुर लुहारउपर कुटपिट गरी मृतकलाई मारेको भनी मृतकका छोरा नरेन्द्र ओडले किटानी जाहेरी गरेको भए तापनि निजले अदालतमा बकपत्र गर्दा आफूले सुनेको आधारमा मात्र जाहेरी गरेको र कर्तव्यबाट मृत्यु भएको जस्तो नलाग्ने तथा यी प्रतिवादीहरूको संलग्नता सम्बन्धमा केही भन्न नसक्ने भनी लेखाएका छन् । अभियोग दाबीअनुसार सजाय पाएका प्रतिवादी दिपक विष्टले आफ्नो अनुसन्धानको बयानमा आफूले मात्र मृतकलाई ढुंगा हानेको र ढुंगा हान्दा यी प्रतिवादीहरू जना २ उक्त स्थानमा नरहेको पछिमात्र घटनास्थलमा आएका भनी मौकामा र अदालतमा गरेको बयानमा लेखाई दिएको पाइन्छ । यी प्रतिवादी धनबहादुर विष्टले प्रतिवादीहरू तीनै जना डडेल्धुरा मलास भन्ने ठाउँमा मेला हेर्न भनी सँगै गई बाटोमा रक्सी खाई गइरहेको अवस्थामा तिल्केनीस्थित सामुदायिक वन नजिक पुग्दा वीरबहादुर लुहार अगाडि गएका हुन् । अँध्यारो भई हामी पछाडि हुँदा निजलाई खोज्न भनी म र दिपक विष्ट अलग अलग गएकोमा निजलाई नभेटाई म फर्की तिल्केनी खोलामा फर्केर आउदा धेरै मानिस बोलेको हल्ला सुनी घटनास्थलमा जादाँ मृतकको शरीरबाट रगत बगी भुइँमा ढलेको अवस्थामा देखेको हुँ र प्रतिवादीमध्येका दिपक विष्टलाई पनि टाउकोमा चोट लागी रगत बगिरहेकोले निजलाई अस्पताल लगेको 

हो । मृतक नारायण ओड र दिपक विष्टको झगडा भई एक आपसमा हातपात गरेका हुन् भन्नेसम्म थाहा पाएको हुँ । मार्ने कार्यमा मेरो कुनै संलग्नता नभई दिपक विष्ट सँगसँगै गएकाले मलाई शंका गरी जाहेरी दिएको होला भनी कसुरमा इन्कार रही अनुसन्धानमा र अदालतमा समेत बयान गरेको पाइन्छ । अर्का प्रतिवादी वीरबहादुर लुहारले प्रतिवादी धनबहादुर विष्टको भनाइलाई समर्थन गर्दै आफू अगाडि गई रक्सी बढी भएकाले बाटोमा पल्टेको र सोपछि आफूलाई केही थाहा नभएको, १।२ घण्टापछि होस आउँदा हल्ला भएको सुनी सो स्थानतर्फ गई सोधपुछ गर्दामात्र घटनाबारे थाहा पाई खड्के लुहारलाई जि. प्र. का. फोन गर्न लगाई घर गएको र भोलिपल्ट लास भएको ठाउँमा जाँदा प्रहरीले समातेका भनी आफू र धनबहादुर विष्टले कसुर नगरेको तथा थाहा पाएअनुसार टर्च लगाएको विषयमा झगडा भई दिपक विष्टले ढुंगाले हानेर घाइते बनाई मृतकको मृत्यु भएको हो भनी अनुसन्धानमा र अदालतमा समेत बयान गरिदिएको पाइन्छ । मौकामा घटना विवरण कागज गर्ने रोशन लुहार, मृतककी श्रीमती चन्द्रादेवी ओड, सर्जमिन मुचुल्काका जनकबहादुर लुहार, हरि ओड, जोगी दमाई लगायतकाले पनि यी प्रतिवादीहरू तीनै जनाले झगडा गरी मृतकलाई ढुंगाले प्रहार गरी मारेको भनी भने तापनि सो कुरा अरूले भनेको सुनी थाहा पाएको हो भनी अरूले भनेको सुनेको आधारमा प्रतिवादीहरू माथि शंका गरेको बुझिन्छ । 

३. घटना विवरण कागज गर्ने घटनाका प्रत्यक्षदर्शी मृतकका छोरा भरत ओड र फकिरे लुहारले उक्त दिन मृतकसँग आफूसमेतका मानिस ब्रह्मदेवतर्फ गइरहेको अवस्थामा तिल्केनी सामुदायिक जंगलको तारबार माथिबाट तीनवटा ढुंगा हामीहरूतिर हानेकोले मैले ढुंगा हानेतर्फ टर्च लगाई हेर्दा तारबारभन्दा माथि एक जना मानिस लुकी छिपी बसेको र तारबार तल भएको दिपक विष्टले टर्च नलगाउ भनी आमा चकरी गाली गरेको हो । गाली नगर भनी मामाले भन्दा निज हामी भएको ठाउँमा आई मामा फकिरे लुहारलाई मुक्काले हान्दा मृतक बुबा नारायण ओड छुट्याउन जादाँ निजको मुख बन्द गरी पिट्न थालेको हो । सोही समयमा तारबार माथिबाट धनबहादुर विष्ट आई दुवै मिली बुबालाई कुटपिट गर्न लाग्दा पछि अर्कोसमेत आई तीनै जनाले कुटपिट गरी कर्तव्य गरी मारेका हुन् भनी लेखाए तापनि निजले आफूले प्रतिवादीलाई नचिन्ने भनेको र अर्को व्यक्ति आइ कुटपिट गरेको मात्र भनी सो अर्को व्यक्ति को हो केही भन्न नसकेको देखिन्छ । यसमा पनि निजहरूले अदालतमा बयान गर्दा ढुंगा हान्ने व्यक्तिलाई आफूले नचिनेको आर्मी जस्ता थिए, मृत्यु माथिबाट आएको ढुंगा लागी भयो वा भाग्न लाग्दा लडेर भयो आफूहरूलाई थाहा नभएको र आफूले अनुसन्धानमा लेखाएको कुरा सत्य नभएको भनी परस्पर विरोधाभाषपूर्ण भनाइ लेखाएबाट पनि निजहरूले अनुसन्धानमा गरेको बयानलाई सत्य मान्न सकिँदैन । घटना विवरण कागज गर्ने राजमती देवी ओड, गजी ओड, धनबिर महरसमेतले घटनामा यी प्रतिवादीहरू वीरबहादुर लुहार र धनबहादुर विष्टको संलग्नता सम्बन्धमा केही भन्न सकेको छैन । घटना विवरणका धन विर महर, कल्यान ओडले घटनास्थलमा आफूसँगै वीरबहादुर लुहार पुगेको बताएबाट पनि निज वीरबहादुर लुहार अगाडिदेखि नै घटनास्थलमा रही घटना घटाउने कार्यमा संलग्न रहेको भन्न सकिँदैन ।

४. यसरी मृतकलाई कर्तव्य गरी मार्ने कार्यमा यी प्रतिवादीहरूमध्येका वीरबहादुर लुहार र धनबहादुर विष्टको संलग्नता सम्बन्धमा जाहेरी दरखास्तमा उल्लेख भए तापनि उक्त जाहेरी दरखास्त अन्य कुनै प्रमाणबाट समर्थित हुन सकेको देखिँदैन । सुरू र पुनरावेदन तहबाट दोषी ठहर भएका दिपक विष्टले पनि यी प्रतिवादीहरू उपर पोल नगरेको र यी प्रतिवादीहरू जना २ को घटनामा संलग्नता सम्बन्धमा निजको अनुसन्धानको र अदालतको बयान कागजमा एकरूपता नै देखिएको पाइन्छ । साथै यी दुई प्रतिवादीहरूले अनुसन्धान र अदालतको बयानमा इन्कार रही लेखाएको र घटनाका सम्बन्धमा पनि आफ्नो दुवैतर्फको बयानको व्यहोरामा र दिपक विष्टसमेतको बयान व्यहोरामा एकरूपता नै रहेको देखिएबाट निजहरूको बयान लाई झुट्ठा मानी यी प्रतिवादीहरूको घटनामा संलग्नता रहेको भनी भन्न सकिँदैन । जाहेरवाला स्वयम्‌ले जाहेरी सुनेको आधारमा मात्र दिएको भनी अदालतमा बकपत्र गर्दा लेखाई दिएको साथै मौकामा कागज गर्ने व्यक्तिहरूले आफूहरूले सुनेको आधारमा मात्र शंका गरी निजहरूको संलग्नता रहेको हुन सक्ने लेखाइदिएको पाइन्छ । यस आधारमा मात्र यी प्रतिवादीहरूको संलग्नता रहेको ठहराउनु न्यायोचित हुँदैन । सुनी जान्ने प्रमाणको सत्यता जाँच्न नसकिने, भन्ने मानिसले सही भन्यो वा गलत भन्यो यकिन हुन नसक्ने, एउटाले भनेर अर्कोले सुन्दा कुरामा फरक पर्न सक्ने जस्ता कारणबाट सुनि जान्ने प्रमाण प्रमाण होइन भन्ने सिद्धान्त प्रमाण कानूनमा विकास भएको छ । सोही अनुसार प्रमाण ऐनको दफा ३७ (२) मा मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्छ अर्थात्‌ देख्न, सुन्ने वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यससम्बन्धमा मौखिक प्रमाण दिएको हुनुपर्छ भनी भनेको सन्दर्भमा पनि देख्ने मानिसले नभई बाहिरी हल्लाको आधारमा वारदातमा संलग्नताका सम्बन्धमा बताएको साथै अन्य प्रमाणबाट समेत पुष्टि नभएको उक्त भनाइलाई प्रमाणमा ग्रहण गर्न सकिँदैन । त्यस्तै यी प्रतिवादीहरूसमेत उपर किटानी जाहेरी परे तापनि उक्त जाहेरी जाहेरवालाको बकपत्रबाट नै खण्डित भइरहेको अवस्थामा जाहेरी व्यहोरा केवल आवेशमा आई शंकाका भरमा मात्र दिएको प्रस्ट हुन्छ । त्यसमा पनि जाहेरी आफैँमा प्रमाण हुन सक्दैन । यो घटना भएको, घटनाको सम्भावना रहेको जस्ता अवस्थामा प्रारम्भिकरूपमा सूचित गर्ने (First Information Report) का रूपमा मात्र दिइने हो जसलाई सत्यनै हुन्छ भनी भन्न 

सकिँदैन । यी प्रतिवादीको समेतको संलग्नता रहेको भनी दिएको जाहेरी अन्य कुनै प्रमाणबाट पुष्टि नभएको र स्वयम्‌ जाहेरवालाको बकपत्रबाट समेत समर्थित नभएको अवस्थामा यसको प्रामाणिक मूल्य रहेको मान्न सकिँदैन । निजहरूको संलग्नता सम्बन्धमा कसैले आफूले देखेको भनी यकिन गरी भन्न सकेको देखिँदैन । वारदातको परिस्थिति हेर्दा पनि यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भन्न सकिँदैन । तीनै जना प्रतिवादीहरू जाँदा सँगै गएको देखिए पनि पछि गएर यी तीनै जना अलग अलग भएको अवस्थामा वारदात भएको मिसिलबाट देखिन्छ । यसरी यी प्रतिवादीहरूको संलग्नता अन्य वस्तुगत तथा परिस्थितिजन्य प्रमाणबाट समेत समर्थन हुन नसकेको यस्तो अवस्थामा केवल प्रतिवादीहरू तीनै जना सँगै गएको, सँगै मादक पदार्थ सेवन गरेको, माथिबाट ३ वटा ढुंगा प्रहार भएको र किटानी जाहेरीसमेत परेकै आधारमा मात्र यी दुई जना प्रतिवादीहरूको समेत घटनामा संलग्नता रहेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन । 

५. अब प्रतिवादी दिपक विष्टलाई सर्वश्वसहित जन्म कैद हुने गरी भएको फैसला साधक सदर हुन्छ हुँदैन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा मृतकको मृत्युका सम्बन्धमा शव परीक्षण प्रतिवेदनमा मृत्यु टाउकोको चोटको कारण भएको हो भनी उल्लेख हुनुका साथै लास प्रकृति मुचुल्कामा मृतकको निधार फुटी रगत निस्केको, टाउकाको पछाडि बायाँ साइडमा अर्ध गोलाकार एक इन्च गहिरो घाउ चोट परेको भन्नेसमेत उल्लेख भएबाट मृतकको मृत्यु ढुंगाको चोटबाट भएको प्रमाणित हुन्छ । अब ढुंगा प्रहार गरेको सम्बन्धमा हेर्दा यी प्रतिवादी दिपक विष्ट स्वयम्‌ले अनुसन्धानका क्रममा आफूले हानेको ढुंगाको चोटले मृतकको मृत्यु भएको भनी कसुर स्वीकार गरी बयान गरी दिएको पाइन्छ । निजले अदालतको बयानमा मैले ढुंगा हाने वा हानेन थाहा छैन भने तापनि आफ्नो मृतक पक्षसँग झगडा र हानाहान भएको कुरालाई स्वीकार गरी ढुंगा नहानेको भन्न सकेको देखिँदैन ।त्यस्तै वारदात हुँदा मृतकसंगै रहेका प्रत्यक्षदर्शी फकिरे लुहार र भरत ओडले टर्च लगाएको विषायमा दिपक विष्टलगायतले गाली गरेको र गाली नगर भन्दा उल्टै हामी भएको ठाउँमा आई हामीसँग कुटपिट झगडा गरी ढुंगाले हानी नारायण ओडलाई मारेका हुन् भनी अनुसन्धानका क्रममा लेखाई दिएकाबाट पनि दिपक विष्टले ढुंगाले प्रहार गर्दा मृतकको मृत्यु भएको पुष्टि हुन जान्छ । सहअभियुक्तहरू वीरबहादुर लुहार र धनबहादुर विष्टको बयानबाट पनि प्रतिवादीहरू तीन जना राति मेला हेर्न सँगै गएका, तीनै जनाले रक्सी सेवन गरेका, रक्सी खाई तीनै जना अलग भएका, वारदात पछि हल्ला सुनि हल्ला भएको ठाउँमा आउँदा मृतकक पल्टि रहेको देखेको, प्रतिवादी दिपक विष्टको टाउकोमा चोट लागी रगत बगिरहेको देखेको र मृतकलाई दिपक विष्टले ढुंगाले प्रहार गरी  मारेको हो भनी लेखाएबाट तथा अन्य मौकामा कागज गर्नेले पनि दिपक विष्ट वारदात स्थलमा रहेको र निजलाई त्यहीँबाट अस्पताल लगेको भनेबाट पनि यी प्रतिवादी दिपक विष्ट र मृतक पक्षबीच झगडा हानाहान भई झगडाको क्रममा दिपक विष्टले टाउकोमा हानेको ढुंगाको चोटका कारण मृतकको मृत्यु भएको पुष्टि हुन जान्छ । 

६. यसरी यी प्रतिवादी दिपक विष्टको कसुरमा साबिती बयान, सहअभियुक्तको बयान, घटनाका प्रत्यक्षदर्शीको मौकाको कागजको व्यहोरालगायतका मिसिल संलग्न कागज प्रमाण एक आपसमा समर्थित रही शव परीक्षण प्रतिवेदन, लास जाँच प्रकृति मुचुल्का वारदातस्थलको प्रकृति जस्ता वस्तुगत प्रमाणबाट समेत समर्थित भइरहेको स्थितिमा यी प्रतिवादीका साक्षी र मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा के कसरी मृत्यु भयो थाहा भएन भनी लेखाइदिएका आधारमा मात्र यी प्रतिवादी दिपक विष्टलाई निर्दोष मान्न सकिँदैन ।

७. अतः प्रतिवादी वीरबहादुर लुहार र धनबहादुर विष्टलाई सफाइ दिने गरी र प्रतिवादी दिपक विष्टलाई अभियोग मागदाबीअनुसार ज्यानसम्बन्धी महलको १३ नं को देहाय ३ अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहराई सुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने गरी पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको मिति २०६८।८।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी दिपक विष्टको हकमा प्रस्तुत भएको साधकसमेत सदर हुने ठहर्छ ।

८. अब निर्णयार्थ प्रस्तुत तेस्रो प्रश्न प्रतिवादी दिपक विष्टको हकमा १० वर्ष कैदको लागि सुरू अदालतबाट व्यक्त राय सदर गरेको पुनरावेदन अदालतको राय सदर हुन्छ वा हुँदैन ? भन्ने सम्बन्धमा विचार गर्दा यी प्रतिवादी दीपक विष्ट अभियोग दाबी अनुसार कसुरदार ठहरिए पनि निजको मृतकसँग चिनजानसमेत नभएको देखिएको र मृतकलाई मार्नु पर्ने कुनै पूर्व रिस इबी रही मार्नलाई योजना तथा षडयन्त्र गरेको, मार्नलाई घातक हतियारको प्रयोग गरेकोसमेत मिसिल संलग्न कागजबाट देखिँदैन । रातिको समयमा प्रतिवादीले रक्सी खाई हिँडिरहेको अवस्थामा मृतक पक्षबाट टर्च लगाएको विषयलाई लिएर झगडा भई ढुंगाले हिर्काउँदा टाउकोमा चोट लाग्न गई मृतकको मृत्यु भएको जस्ता घटनाको परिस्थिति, अवस्था तथा प्रतिवादीको मानसिक स्थितिसमेत हेर्दा यी प्रतिवादी दीपक विष्टलाई ऐन अनुसारको सजाय गर्दा चर्को पर्ने देखिएकाले कैद वर्ष १० मात्र गर्नु न्यायोचित हुने भनी मुलुकी ऐन अ. बं. १८८ नं. अनुसार सुरू अदालतबाट व्यक्त राय सदर हुने गरी पुनरावेदन अदालत, महेन्द्रनगरबाट व्यक्त राय सदर हुन्छ र निजलाई १० (दश) वर्षमात्र कैद सजाय हुने ठहर्छ । सो ठहरेकाले अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

प्रतिवादी दीपक विष्टलाई १० (दश) वर्षमात्र कैद सजाय हुने ठहरी फैसला भएकाले निजलाई सुरू र पुनरावेदन अदालतबाट सर्वश्वसहित जन्म कैद हुने गरी भएको फैसला अनुसारको सर्वश्वसहित जन्म कैदको लगत संसोधन गरी १० वर्ष कैद सजायको मात्र लगत कायम गरी सोही अनुसार सम्बन्धित कारागार कार्यालयलाई जानकारी दिई निज प्रतिवादीलाई कैदी पुर्जीसमेत दिनु भनी सुरू कञ्चनपुर जिल्ला अदालतमा लेखी पठाई दिनू ............................................................१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू .............................१

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृतः श्री यदुराज शर्मा

इति संवत् २०७३ साल जेठ २४ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु