निर्णय नं. ९६७७ - मानव बेचबिखन ओसारपसार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७३।२।२४
मुद्दा : मानव बेचबिखन ओसारपसार ।
०६८-CR-१२०३
पुनरावेदक / प्रतिवादी : धनमाया नागवंशीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला झापा, चन्द्रगढी गा.वि.स. वडा नं. ४ घोडामारा घर भई हाल जिल्ला कारागार भद्रपुर झापामा थुनामा बस्ने सोमबहादुर तामाङ
०६८-CR-१२२५
प्रत्यर्थी / वादी: जिल्ला झापा, चन्द्रगढी गा.वि.स. वडा नं. ४ घोडामारा घर भई हाल जिल्ला कारागार भद्रपुर झापामा थुनामा बस्ने सोमबहादुर तामाङ
विरूद्ध
पुनरावेदक / प्रतिवादी : धनमाया नागवंशीको जाहेरीले नेपाल सरकार
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ हेर्दा यस ऐनको दफा ३ ले मानव बेचबिखन र ओसार पसार गर्नु गराउनु हुँदैन भनी मानव बेचबिखन र ओसार पसार गर्ने कार्यलाई आपराधिकीकरण (Criminalization) गरेको पाइन्छ भने सोही ऐनको दफा ४(१) मा मानव बेचबिखन गरेको मानिने कार्य तोकिएको र दफा ४(२) मा मानव औसार पसार गरेको मानिने कार्यसमेत अलग अलग गरी तोकिदिएको अवस्था छ । त्यस्तै दुवैमा फरक फरक सजाय हुने पनि दफा १५ मा व्यवस्था छ । यसरी कस्तो कार्यबाट मानव ओसार पसार हुने र के कस्तोबाट बेचबिखन हुने भनी कानूनले अलग अलग गरी तोकिदिएबाट मानब बेचबिखन र मानव ओसारपसारलाई दुई भिन्न आपराधिक कार्यका रूपमा राखिएको प्रस्ट हुन्छ । यी दुवै अलग आपराधिक कार्य भएकाले यी दुवैको छुट्टै अस्तित्व हुन
जान्छ । प्रायः सँगसँगै यी दुवै अपराध हुने भएपनि एकको अभावमा अर्को नहुने परिपुरक भने होइनन् । ओसारपसारको उद्देश्यमा रूपमा किन्ने वा वेच्ने वा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने नै ऐनले राखेको भएपनि सबै अवस्थामा त्यो उद्देश्य पूरा भई किन्ने बेच्ने वा वेश्यावृत्तिमा लगाएकोनै भन्न सकिँदैन तापनि सो उद्देश्यले लगेमा ओसार पसार भने गरेको नै मानिने ।
प्रस्तुत वारदातमा पनि प्रतिवादीले बेचिबखन गर्ने उद्देश्यले नै पीडितलाई भारत लगेको र बेच्न नपाउँदै भारतमा अलपत्र छोडेकोमा निज पीडितमाथि यौन शोषण भएको पुष्टि भएपनि बेचबिखन गरिसकेको भने मिसिलबाट पुष्टि हुन सक्दैन । यस्तो पीडितलाई भारतसम्म पुर्याई चरम यौन शोषणसमेत भएको पुष्टि भइरहेको अवस्थामा अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरेको सुरू फैसला सदर गर्नु पर्नेमा सो नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन
नसकिने ।
(प्रकरण नं.१०)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमा पराजुली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहबाट फैसला गर्नेः-
मा.जि.न्या. श्री शम्भुराम कार्की
पुनरावेदन तहबाट फैसला गर्ने :-
मा.न्या. श्री हरिप्रसाद घिमिरे
मा.न्या. श्री उदयप्रकाश चापागाई
फैसला
न्या. देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
जिल्ला झापा भद्रपुर न.पा.–४ बस्ने सुरेश नागवंशीकी श्रीमती वर्ष २४ की धनमाया नागवंशीलाई मिति २०६७।१।३१ गते विवाह गरी सोमबहादुर तामाङले भारतमा काम गरी बस्ने भनी भारतको पूरानो दिल्लीस्थित चाँदनी चोकमा लगी बेचेको भन्ने कुरा खुल्न गएकोले निज अभियुक्तलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको साना हातहरू नेपाल नामक संस्थाको मिति २०६७।२।३१ गतेको पत्र ।
सोमबहादुर तामाङले मलाई मिति २०६७।१।३१ गते विवाह गरी भारतमा काम गरी बस्ने भनी लगी भारतको पूरानो दिल्लीस्थित चाँदनी चोकमा लगी बेचेर फरार भई नेपाल आएछ । म भाग्न सक्षम भई नेपाल आई साना हातहरू नेपालमार्फत निजलाई कार्वाही गरिपाउँ भनी निवेदन पेस गरेको छु भन्नेसमेत व्यहोराको धनमाया नागवंशीको निवेदन ।
मिति २०६७।१।३१ गते सोमबहादुर तामाङले मलाई विवाह गरी भारतमा काम गरी बस्ने भनी भारतको पूरानो दिल्लीस्थित चाँदनी चोकमा लगी बेची फरार भई नेपाल आएछ । म पनि भाग्न सक्षम भई काँकडभिट्टा नेपाल आएँ । मलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले झुक्काई भारतमा लगी बिक्री गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ विपरीतको कसुर गरेकोले निज प्रतिवादीलाई सजाय गरी क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत व्यहोराको धनमाया नागवंशीको जाहेरी दरखास्त ।
प्रतिवादी सोमबहादुर तामाङले मलाई जागिर लगाई दिने र मलाई विवाह गरी दिल्लीमै बसोबास गर्ने आश्वासन दिई विवाह गर्छु भनी शारीरिक सम्पर्कसमेत गरेपछि म मिति २०६७।१।३१ गते पति छोराछोरीलाई छोडी बजारका मान्छे, माइती नेपाल र सुरक्षाकर्मीले समेत शंका गर्छन् भनी म अगाडि गई पछि प्रतिवादी आई गल्लीको बाटो रिक्सामा बसपार्क पुगी भारतको गलगलियाबाट गाडीमा चढी इस्लामपुरसम्म
पुग्यौँ । त्यहाँबाट नयाँ दिल्लीमा साँझको समयमा पुगेका हौँ । प्रतिवादी मलाई नयाँ दिल्लीमा रेल्वे स्टेशनमा छाडी पिसाब फेर्न जान्छु भनी १ घण्टा हराए । पछि प्रतिवादी फर्की आएपछि खाना खाई पहिलेको ठाउँमा छाडी रातको ३.१५ बजे दिसा गर्न जान्छु भनी हिँडेकोमा आउँदै नआएकोले एउटा बुढी महिलाले घरमा लगी झ्याल नभएको कोठामा
राखिन् । ती बुढी महिलाको छोराले मादकपदार्थ सेवन गरी मेरो कपडाहरू सबै खोली जबरजस्ती यौन सम्पर्क गर्यो । निजले तिमीलाई किनी सकेका छौँ, तिमीले सहनै पर्छ, तँ वेश्या होस भनी धम्काउथ्यो । पछि इशा नाम गरेकी महिलाले ढोका खोली दिएपछि म रेल्वे स्टेशनमा पुलिसमा गई नेपाल जाने ट्रेनमा चढी भागी नेपाल आउन सफल भएकी हुँदा प्रतिवादीलाई हदैसम्म सजाय होस् भन्नेसमेत व्यहोराको पीडिता धनमाया नागवंशीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
जाहेरवाली र मेरो घर नजिकै पर्छ । मैले उनीलाई विबाहको प्रस्ताव राख्दा इन्कार गरेकीले भारतको नयाँ दिल्लीमा बस्नुपर्छ भनी फकाई शारीरिक सम्पर्क गरी मिति २०६७।१।३१ गते भद्रपुरबाट भारतको गलगलिया हुँदै भारतको इस्लामपुर गई अनि दिल्ली ट्रेनबाट गयौं । ट्रेनबाट जाने क्रममा ट्रेनको डिब्बाको सिटमा बस्ने एक मानिसले कहाँ जाने भनी सोधेकोमा काम गर्न हिँडेका हौँ भन्दा निजले चाँदनी चोकमा मेरो घर छ भनी होटलमा पुर्याएको हो । मलाई डर लागेकोले फेरी रेल्वे स्टेशनमा फर्केर आयौँ । म एकछिन दिसा गर्न जान्छु भनेर जाहेरवालीलाई भनी अलिक पर पुग्ने बित्तिकै ४ जना इन्डियन व्यक्तिहरूले समातेर तपाइँले ल्याएको केटी कहाँ छ हामीलाई दिनुहोस् भनी चाँदनी चोकमा पुर्याई कोठामा थुनी राखे । मिति २०६७।२।१ गते म भाग्न सफल भई रेल्वे स्टेशनमा आई जाहेरवालीलाई खोजतलास गर्दा फेला नपरेकोले सिलगढी हुँदै मिति २०६७।२।२ गते काँकडभिट्टाबाट घरमा आएको हुँ । मैले बेच्ने उद्देश्यले लगेको होइन । मैले कसैलाई जानकारी नगराएकोले मलाई शंका गरेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी सोमबहादुर तामाङले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वारदातको दिन जाहेरवाली, भद्रपुर नाकामा आएकी थिइन् । भोलिपल्ट जाहेरवालीको पतिले श्रीमती हराइन् भनी हाम्रो सानाहातहरू नामक संस्थामा जानकारी गराउनुभएको थियो । प्रतिवादी सोमबहादुर तामाङले विवाह गर्छु भनी भारतको नयाँ दिल्लीमा लगी बेचेको कुरा स्पष्ट खुल्न आएकोले निज प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार ऐनबमोजिम कडाभन्दा कडा कार्वाही होस् भन्ने व्यहोराको सानाहातहरू नेपाल नामक संस्थामा काम गर्ने विश्वास तामाङसमेतले करिब एकै मिलान हुने गरी मौकामा लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
पीडित नेपाल आएर मेची अञ्चल अस्पतालमा आफ्नो स्वास्थ्य स्थिति चेक जाँच गराउँदा Provisional diagnosis मा PTD(Pelvic Inflammantory disease) STD-sexually transmitted disease) रोग देखिएको, सोको असरले गर्दा Lower abdominal pain, foul smelling p/w discharge with itching burning micluration history of contact+ve देखिएकोले औषधि किन्नु भनी मेची अस्पताल आकश्मिक कक्षको पत्रमा लेखिएको व्यहोरा ।
प्रतिवादी सोमबहादुर तामाङले जाहेरवाली पीडितालाई ललाई, फकाई प्रलोभनमा पारी नेपालको भद्रपुर नाकाबाट भारतको गलगलिया, इस्लामपुर हुँदै ट्रेनमा चढाई भारतको नयाँ दिल्लीमा पुर्याई बेचेको पीडितको मौकाको बयान, जाहेरी दरखास्तसमेतबाट पुष्टि भएकोले निज प्रतिवादी सोमबहादुर तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ३ र दफा ४ को उपदफा १ को खण्ड (क) को कसुर अपराध गरेकामा सोही ऐनको दफा १५ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी जाहेरवालीलाई सोही ऐनको दफा १७ बमोजिम क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मिति २०६७।१।३१ गते जाहेरवाली पीडित धनमाया नागवंशीलाई विवाह गरी भारतमा लगी बिक्री गरेको होइन । जाहेरवाली पहिला पनि २।३ चोटि हराएकी हुन् । म भारत नगई घरमै छु । मौकामा भएको बयानको व्यहोरामा कुटपिट गरी जबरजस्ती सहिछाप गराएको हो । मैले जाहेरवालीको बुढालाई पिटी दिएकोले पोल गरेको होला । मैले जाहेरवालीलाई नलगेकाले सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सोमबहादुर तामाङले अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं.११८ को देहाय २ नं. बमोजिम प्रतिवादीलाई पूर्पक्षको निमित्त थुनामा राख्नु भन्ने मिति २०६७।३।२५ को आदेश ।
प्रतिवादी सोमबहादुर तामाङले आफूलाई भारतको नयाँ दिल्लीमा लगी बेचेको र त्यहाँ आफूलाई अनैतिक कार्य गर्न लगाएको पीडितले बताएकी
हुन् । वस्तुस्थिति मुचुल्काको व्यहोरा र सहिछाप मेरै हो भन्नेसमेत व्यहोराको करूणा खत्रीले अदालतमा गरेको बकपत्र ।
वस्तुस्थिति मुचुल्काको व्यहोरा पढी बाची सुनेँ । सो कागजमा भएको सहिछाप र व्यहोरा मेरो
हो । पीडितको अवस्था नाजुक थियो । निजको मेडिकल जाँचसमेत गराएको र डाक्टरको रिर्पोटसमेत अनुसार बेचिएको भनी शंका लाग्छ भन्नेसमेत व्यहोराका विश्वास तामाङले अदालतमा गरेको बकपत्र ।
वस्तुस्थिति मुचुल्काको व्यहोरा पढी बाची सुनेँ, सो व्यहोरा र सहिछाप मेरो हो । पीडिताले दिएको जाहेरी र बयानले दिल्लीमा बेचिएको भन्ने कुरा थाहा भयो भन्नेसमेत व्यहोराको सन्तकुमार सेलिङ्ग सुब्बाले अदालतमा गरेको बकपत्र ।
अभियोग र जाहेरी झुट्ठा हो । ललाई फकाई भारतमा लगेर प्रतिवादीले बेचेको होइन । उक्त दिन सोमबहादुर तामाङ नेपालभित्रै छन भन्नेसमेत व्यहोराका प्रतिवादीको साक्षी धर्म राईको अदालतमा गरेको बकपत्र ।
यसमा यी प्रतिवादी सोमबहादुर तामाङले पीडिता जाहेरवालीलाई भारतको नयाँदिल्ली पुर्याई मानव बेचबिखन ओसार पसार गरेको हो भनी बकपत्रमा उल्लेख गरेको, पीडिता जाहेरवालीलाई यी प्रतिवादी सोमबहादुर तामाङले भारतको नयाँ दिल्लीमा पुर्याई अलपत्र पारी छाडी आफूले यौन शोषणको सिकार हुनु परेको कुरा पीडितले लेखाएकोबाट समेत अभियोग दाबी पुष्टि भइरहेको देखिँदा निज प्रतिवादी सोमबहादुर तामाङले अभियोग दाबी अनुसारको कसुर गरेको
ठहर्छ । तसर्थ निज प्रतिवादी सोमबहादुर तामाङलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन,२०६४ को दफा १५ को उपदफा (१) को खण्ड(क) अनुसार २० (बीस) वर्ष कैद र रू.२,००,०००।– (दुई लाख) जरिवाना हुने र ऐ.ऐनको दफा १७(१) बमोजिम पीडिताले रू.१,००,०००।– (एक लाख) क्षतिपूर्ति प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतबाट मिति २०६८।१।१३।३ मा भएको फैसला ।
जाहेरी र जाहेरवालीको बयान अत्यन्त बनावटी र काल्पनिक मात्र हो । वस्तुस्थिति मुचुल्काका मानिसले समेत अदालतमा बकपत्र गर्दा प्रतिवादीले जाहेरवालीलाई मानव बेचबिखन ओसारपसार गरेको भनी लेखएको पनि झुठ्ठा हो । निजहरूले किटानको रूपमा यस प्रकारले यसरी यस ठाउँबाट लगी बेचबिखन गरेको भनी लेखाउन सकेको छैन । यो अवस्थामा म निर्दोष पुनरावेदकलाई कैद र जरिवानासमेत गर्ने गरी भएको सुरू झापा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सोमबहादुर तामाङको पुनरावेदनपत्र ।
यसमा मुख्य गबाहको रूपमा रहेकी जाहेरवाली एवं पीडित धनमाया नागवंशीलाई प्रमाणका तवरबाट बुझ्दै नबुझी प्रस्तुत मुद्दामा सुरू झापा जिल्ला अदालतबाट मिति २०६८।१।१३।३ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिन आएकोले मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुन पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई पेसीको सूचना दिई नियमबमोजिम गरी पेस गर्नु भन्ने मिति २०६८।९।३ मा यस अदालतबाट भएको आदेश ।
प्रतिवादी सोमबहादुर तामाङले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्याई निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम २० वर्ष कैद र रू.२,००,०००।– (दुई लाख) रूपैयाँ जरिवाना गर्ने गरी सुरू झापा जिल्ला अदालतबाट भएको मिति २०६८।१।१३।३ को फैसला मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भई निज प्रतिवादी सोमबहादुर तामाङले ऐ. ऐनको दफा ४(२)(ख) बमोजिमको कसुरसम्म गरेको देखिँदा निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) बमोजिम १० (दश) वर्ष कैद र रू.१,००,०००।- (एकलाख मात्र) जरिवाना हुने
ठहर्छ । पीडितलाई प्रतिवादीबाट ऐ.ऐनको दफा १७(१) बमोजिम क्षतिपूर्तिबापत रू. १,००,०००।- (एकलाख) भराई दिने गरेको सुरूको फैसला सदर कायम रहने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६८।११।१६ को फैसला ।
प्रतिवादीले पीडितलाई बिक्री गर्न दिल्ली पुर्याई बिक्रीसमेत गरी पीडितलाई चरम यौन शोषणसमेत भएको पुष्टि भइरहेकोमा निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरेको सुरू फैसला केही उल्टी गरी गरेको पुनरावेदन अदालत, इलामको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेतको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
तथ्ययुक्त ठोस सबुद प्रमाणको अभावमा केवल शंकाजनक जाहेरी एवं अनुमानको भरमा प्रतिवादीउपर आरोपित कसुर ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तसमेतको विपरीत भएकाले मैले सफाइ पाउनु पर्नेमा मलाई कसुरदार ठहराई भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सोमबहादुर तामाङको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री रमा पराजुलीले पीडितको किटानी जाहेरी दरखास्त दिई सोको समर्थनमा अदालतमा बकपत्र गरिदिएको, प्रतिवादी स्वयम्ले कसुर स्वीकारी मौकामा बयान गरिदिएको, अन्य बुझिएका व्यक्तिले जाहेरीकै व्यहोराको समर्थनमा लेखाइदिएको अवस्थामा पीडितलाई बेच्ने उद्देश्यले भारत लगे पनि बेच्न नसकेको भनी सुरू फैसला केही उल्टी गरी गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसरी बहससमेत सुनी प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नको निरूपण गरी निर्णयमा पुग्नु पर्ने देखियो ।
१. प्रतिवादीले जाहेरवाली धनमाया नागवंशीलाई बिक्री गर्ने उद्देश्यले भारत लगी गएका हुन् वा होइनन् ? तथा भारत लगेको होइन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ?
२. यदि बिक्री गर्ने उद्देश्यले भारत लगेको हो भने बिक्रि गरेको हो होइन? तथा बिक्री गरेको हो भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन?
३. सुरू फैसला केही उल्टी हुने ठहराई गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ?
२. यसमा प्रतिवादी सोमबहादुर तामाङले जाहेरवालीलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीमा पुर्याई बेचेको पुष्टि भएकोले निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ३ र दफा ४ को उपदफा १ को खण्ड (क) को कसुरमा सोही ऐनको दफा १५ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी जाहेरवालीलाई ऐ. को दफा १७ बमोजिम क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने अभियोगपत्र माग दाबी भएकोमा सुरू जिल्ला अदालतबाट अभियोग दाबी पुग्ने गरी फैसला भएको पाइन्छ । सो फैसलाउपर फैसला त्रुटिपूर्ण भएकाले बदर गरी सफाइ पाउँ भनी प्रतिवादीको पुनरावेदन अदालत इलाममा पुनरावेदन परी पुनरावेदन अदालतले सुरू फैसला केही उल्टी गरी निज प्रतिवादीले ऐ. ऐनको दफा ४(२)(ख) बमोजिमको कसुरसम्म गरेको ठहराई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) बमोजिम १० (दश) वर्ष कैद र रू.१,००,०००।- (एकलाख मात्र) जरिवाना हुने गरी र पीडितलाई प्रतिवादीबाट ऐ. ऐनको दफा १७(१) बमोजिम क्षतिपूर्ति बापत रू. १,००,०००।- (एकलाख) भराई दिने गरेको सुरूको फैसला सदर गरी फैसला गरेको पाइयो । सो फैसलाउपर अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने भनी वादी नेपाल सरकारको र सफाइ पाउँ भनी प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा निर्णयका लागि सर्वप्रथम प्रतिवादीले जाहेरवाला धनमाया नागवंशीलाई बिक्री गर्ने उद्देश्यले भारत लगी गएका हुन् वा होइनन् ? तथा भारत लगेको होइन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने पहिलो प्रश्न सम्बन्धमा विचार गर्दा सोम तमाङले मलाई अनेक आश्वासन दिई विवाह गरी सँगै सिलगुडीमा बसौँला भनी निजले मलाई सिलगुडीबाट नयाँ दिल्लीको चाँदनी रेल्वे स्टेसनमा पुर्याई आफू दुई घण्टा बेपत्ता भई पुनः आई त्यहीँ होटेलमा खाना खुवाई रातको ३.०० बजे डर धाक देखाई मलाई रेल्वे स्टेसनमा छाडी गई त्याहाँ पुनः फर्की नआएकोले म रोई कराई गर्दा एक जना महिलाले लगी निजको घरमा राखेकोमा निजको छोराले तँलाई हामीले किनेको भनी शारीरिक मानसिक पीडा दिई जबरजस्ती यौन सम्पर्कसमेत गर्ने गरेकोले पछि इसा नाम गरेकी बहिनीले त्याहाँबाट भगाएकोले भारतीय प्रहरीको सहयोगमा काँकडभिट्टासम्म आई बाँच्न सफल भएकोले निजलाई कारवाही गरिपाउँ भनी पीडित धनमाया नागवंशीले जाहेरी दिएको देखिन्छ । सोही जाहेरी दरखास्तको समर्थन हुने गरी पीडिलले अनुसन्धान अधिकृतसमक्ष बयान गरिदिएको
पाइन्छ । प्रतिवादीले आफ्नो अनुसन्धान अधिकृतसमक्षको बयानमा पीडित र आफ्नो घर नजिकै भएकाले आउने जाने गर्दा गर्दै माया प्रेम बसी आफूले जबरजस्ती शारीरिक सम्पर्कसमेत गरी पछि भारत जाने र विवाह गर्ने प्रस्ताव राखी २०६७।१।३१ गतेका दिन हामी दुवै दिल्लीतर्फ गएका हौँ । जेठ १ गते राति १२ बजे दिल्लीमा पुगियो । रेलबाट ओर्लिदा एक जना अपरिचित व्यक्तिले चाँदनी चोकमा मेरो होटेल छ खान बस्न सुविधा छ चिन्ता लिनु पर्दैन भनी हामीलाई होटेलमा लग्यो । त्याहाँ ७।८ जना इन्डियन आई याहाँ खाना बस्नको सुविधा छ भनी भन्दा मलाई डर लागी हामी खाना नखाई पुनः रेल स्टेसनमा आयौँ । त्याहाँ म पानी लिन एक घण्टा जति बाहिर गएको र पछि खाना खाई दुवै बसिरहेको अवस्थामा त्यहाँ मानिस हाम्रो वरिपरि घुम्न थालेपछि म अलि पर दिशा गर्न भनी जाँदा ४ जना व्यक्तिले मलाई समाती तपाईले ल्याएको केटी हामीलाई दिनुपर्छ भनी मलाई फेरि चाँदनी चोकमा पुर्याई केटी दिएमा मात्र छोड्ने नत्र मारिदिने भनी मलाई एउटा कोठामा थुनी राखेकोमा पछि घर धनी बाहिर गएको मौका छोपी भागी रेल स्टेसनमा गई निज जाहेवालीलाई खोज तलास गर्दा फेला नपरेपछि म २०६७।२।२ गते साँझ घरतिर फर्केको हुँ । घरमा मलाई कसैले केही नसोधेकोले चुपचाप बसेको हुँ भनी जाहेरी दरखास्त र पीडितको बयानसँग मिल्ने भिड्ने व्यहोरा आफ्नो बयानमा लेखाई दिएपनि निजले पीडितले भने जस्तो बेच्न लगेको नभई विवाह गरी उतै काम काज गरी बस्ने भनी लगेको भनी लग्नुको उद्देश्य भने फरक पारी लेखाइदिएका छन् ।
४. यसरी जाहेरीको व्यहोरा, सोही व्यहोराको समर्थनमा गरी दिएको पीडितको मौकाको बकपत्र र प्रतिवादीको मौकाको बयान हेर्दा प्रतिवादीले यी पीडितलाई नयाँ दिल्ली लगी निजलाई त्यहीँँ छोडी आफू घर फर्केको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा भारत लगेको कुरालाई इन्कारी गरी अनुसन्धानमा आफूलाई कुटपिट गरी जबरजस्ती बयानमा सही गराएको भनी लेखाए पनि के कसरी जबरजस्ती गराएका हुन् भनी भन्न नसकेको र कुटपिट गरी जबरजस्ती गरेको कुनै चोटपटक पनि केही देखाउन सकेको अवस्थासमेत छैन । त्यसै गरी यी पीडित भारत गएको कुराको पुष्टि साना हातहरू नेपाल नामक संस्थामा काम गर्ने विश्वास तामाङ, सन्तकुमार सेलिङ्ग सुब्बा, जोन सिंह बि.क.,करूणा खत्री र सन्तबहादुर लिम्बूले अनुसन्धानका क्रममा वस्तुस्थिति मुचुल्कामा लेखाइदिएकोबाट र सोकै समर्थनमा अदालतमा समेत बकपत्र गरिदिएबाट पनि थप पुष्टि हुन जान्छ । निजहरूले करिब एकै मिलान हुने गरी जाहेरवाली सञ्चो नभएकोले उपचार गर्न ठाकुरगञ्ज जाने भनी मेची भञ्सार नाकाबाट गएकीमा भोलिपल्ट निजको श्रीमान् खोज तलास गर्दै आएकोमा प्रहरी कार्यालयमा उजुरी दिन भनेको हो । पछि बुझ्दै जाँदा प्रतिवादीले ललाई फकाई गरी जाहेरवालीलाई दिल्ली पुर्याई अलपत्र पारी बेची आएको भन्ने सुनेको हो । सो कुराको पुष्टि जाहेरवाली स्वयम् हाम्रो संस्थामा आई जानकारी गराएकीले यकिन भएको
हो । निज पीडितको अवस्था दयनीय छ भनी लेखाई अदालतमा समेत सोही व्यहोराको समर्थनमा बकपत्र गरिदिएको देखिन्छ । साना हातहरू नामक संस्था सीमामा बसी महिला बेचबिखन विरूद्ध अभियान चलाउने र पीडितलाई संरक्षण गर्ने संस्था भएकोले यो संस्थामा काम गर्ने यी व्यक्तिहरू सीमामा बसी निगरानी गरीरहने हुँदा सिमानाका गतिविधिसम्बन्धमा थाहा हुने हुन्छ । यिनीहरूले भारत जान देखेको, दोस्रो दिन खोज तलासमा यी पीडितका पति आएर निजहरूसँग सोधपुछ कुराकानीसमेत भएको र पछि पीडित स्वयम्ले नै उक्त संस्थामा जानकारी गराएकोबाट निजहरूको अनुसन्धानमा र अदालतको भनाइलाई अन्यथा भन्न मिल्दैन । निजहरूले नभएको कुरा भन्नु पर्ने अवस्था पनि केही देखिँदैन ।
५. यसरी पीडितलाई प्रतिवादीले भारत लगि छोडेर आएको पुष्टि भएपश्चात् प्रतिवादीले अनुसन्धानमा बयान गर्दा बिक्री गर्न लगेको नभई विवाह गर्न लगेको हुँ भनी लेखाएतर्फ हेर्दा यी प्रतिवादीले अनुसन्धानमा विवाह गर्न लगेको भनेपनि अदालतमा भारत लग्दै नलगेको भनी बयान गरिदिएबाट प्रतिवादीको आफ्नै भनाइ एक आपसमा बाझिएको छ र भारत नलगेको भनाइ अन्य कागज प्रमाण र वस्तुगत प्रमाणबाट समर्थन पनि भएको देखिँदैन । यस्तो आपसमा बाझिने भनाइलाई अन्य प्रमाणबाट समर्थनसमेत नभएको अवस्थामा सत्य मान्न सकिँदैन । पीडितलाई भारत लगेको पुष्टि भइरहेको अवस्थामा भारत लग्नुको उद्देश्य सम्बन्धमा यी प्रतिवादी घरमा श्रीमती केटाकेटी भएका व्यक्ति र यी पीडितको पनि श्रीमान् र केटाकेटी भएको देखिएको छ । यस्तो अवस्थामा अर्काकी केटाकेटीसमेत भएकी श्रीमतीलाई नै विवाह गर्न र त्यसमा पनि भारतनै लैजानु पर्ने अवस्था रहे भएको केही देखिँदैन । पारिवारिक वातावरण बिग्रिई तथा अन्य कुनै कारणले अर्को विवाह नै गर्नु पर्ने अवस्था रहेको पनि केही देखिँदैन । विवाह नै गर्न लगेको हो भने सो कुरालाई प्रतिवादीले अदालतमा भन्न सक्नु पर्नेमा अदालतमा लग्दै नलगेको भनी बयान गरिदिएको तथा यस अदालतमा र पुनरावेदन अदालतमा समेत विवाह गर्न लगेको सम्बन्धमा केही जिकिर नलिई लग्दै नलगेको भनेरमात्र जिकिर लिएको पाइएको छ । प्रतिवादीले यी पीडितलाई सिलगुडी बस्ने भनेर लगेको, लग्दा अरूले देख्लान् र शंका गर्लान् भन्ने आशंका गरी अलग अलग लुकी छिपी सहायक बाटोबाट गएको, दिल्ली पुर्याई दिल्ली रेलवे स्टेसनमा पनि बेलाबखत यी पीडितलाई छोडी हराउने जस्ता शंकास्पद व्यवहार गरेको र पछि निजलाई एक्लै छोडी आफू नेपाल फर्केर आएको पीडितको जाहेरी, निजको मौकाको बयान र प्रतिवादी स्वयम्को मौकाको भनाइबाट नै देखिन्छ । यदि विवाह गर्न नै लगेको भए निजले एक ठाउँ भनी अर्कोतिर लैजानु पर्ने, शंकास्पद व्यवहार देखाउनु पर्ने र त्यसरी अलपत्र छोडी आफू नेपाल फर्कनु पर्ने थिएन । आफूले दुःख पाएर पनि पीडितलाई बचाउनु पर्ने हुन्थ्यो । ४।५ जना व्यक्ति आई वरिपरि घुमिरहेकोमा डर लागि अलिपर दिसा गर्न भनी जाँदा ती व्यक्तिहरूले समाते भनी प्रतिवादीले भनेकोमा विवाह गर्न भनी पीडितलाई लगेको भए डर लागी आफू पर जाँदा दिसा गर्ने भनी ढाँटी जानु पर्ने र एक्लै छोडी जानु पर्ने थिएन । निजलाई पनि सँगै लैजानु पर्दथ्यो । सामान्यतया एउटा लोग्ने मानिसले अर्काकी श्रीमतीलाई एक्लै विदेश लैजानुको अन्य कारण पनि केही हुँदैन । त्यस्तै भारतबाट नेपाल फर्की आएपछि पीडितको अवस्था नाजुक भएकाले साना हातहरू नेपाल नामक संस्थाले उपचार गर्न मेची अञ्चल अस्पतालमा पठाई निजको स्वास्थ्य स्थिति चेक जाँच गराउँदा Provisional diagnosis मा PID (Pelvic Inflammantory disease) STD-sexually transmitted disease) रोग देखिएको, सोको असरले गर्दा Lower abdominal pain, foul smelling p/w discharge with itching burning micluration history of contact+ve देखिएकोले औषधि किन्नु भनी लेखिएको पाइन्छ । यसबाट पनि पीडितलाई भारत लगी अलपत्र छोड्दा निजमाथि चरम यौन शोषण भएको पुष्टि हुन जान्छ । यसरी मिसिल संलग्न यी प्रमाणहरू हेर्दा प्रतिवादीले विवाह गर्न भनी ललाई फकाई पीडितलाई बिक्री गर्ने उद्देश्यले नै भारत लगेको प्रस्ट हुन्छ ।
६. यी प्रतिवादीले पीडितले दिल्ली गएको आएको टिकट पेस गर्न नसकेको, दिल्लीमा कहाँ के भएको भनी यथार्थ भन्न नसकेको अवस्थामा र पीडिलाई अदालतमा बुझ्दै नबुझी गरेको फैसला त्रुटिपूर्ण छ भन्ने पुनरावेदन जिकिर लिएको सम्बन्धमा हेर्दा यी पीडित भारत कहिल्यै नगएकी, एक अवला अप्ठ्यारोमा परेकी महिलाले दिल्ली गए आएको टिकट राख्नुपर्छ भनी जान्ने तथा होस पुर्याउने पर्ने अवस्था नै रहेको देखिँदैन साथै कहिल्यै नगएको दिल्ली जस्तो सहरको यथार्थ विवरण भन्न सक्ने अवस्था पनि रहँदैन । त्यस्तै मानव बेचबिखन तथा ओसार पसार जस्तो गम्भिर मुद्दामा पीडितलाई प्रलोभनमा पारी, डर त्रास देखाई तथा अन्य कुनै कारणले प्रतिकूल (Hostile) मा बोल्न बाध्य पारिन सक्छ तथा प्रतिवादी आफ्नै शारीरिक मानसिक अवस्थाका कारण र बदनाम तथा लोक लज्जाका कारण पनि अदालतमा उपस्थित भई बकपत्र नगर्न सक्छन् भनेर मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा ६ मा पीडित आफैँले उजुरी दिएमा प्रहरी कार्यालयले निजको तुरून्त बयान गराई बयान नजिकको अदालतबाट प्रमाणित गराउनु पर्ने र यसरी प्रमाणित गराएकोमा त्यस्तो पीडित मुद्दा कारवाहीको सिलसिलामा अदालतमा उपस्थित नभएपनि त्यसलाई अदालतले प्रमाणमा लिन सक्ने भन्ने व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा पनि पीडितको मौकाको बयान अदालतबाट प्रमाणित भइसकेको देखिँदा प्रतिवादी अदालतमा आई बकपत्र नगरी दिएपनि अदालतले प्रमाणमा लिन सक्ने नै देखिन्छ ।
७. सामान्यतः सरकार वादी भई चल्ने फौजदारी कसुरमा प्रतिवादीको कसुर शंकारहित तवरले प्रमाणित गर्ने भार वादी नेपाल सरकारको हुने भए तापनि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ मा “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ” भन्ने उल्लेख भएबाट यदि आफूले कसुर गरेको नभए सोको विश्वासयोग्य प्रमाण यी प्रतिवादीले पुर्याउनु पर्नेमा सो पुर्याएको देखिँदैन । प्रतिवादीको आफ्नै भनाइको व्यहोरा आपसी बाझिरहेको छ । प्रतिवादीका साक्षीले प्रतिवादी उक्त दिन नेपालमै भएको र पीडिललाई भारत नलगेको भनी अदालतमा गरेको प्रतिवादीको बयानलाई समर्थन गरे पनि सो कुरा अन्य कहीँ कतैबाट समर्थित भएको पाइँदैन ।
८. तसर्थ पीडितलाई भारत लगेको पुष्टि भइरहेको अवस्थामा साना हातहरू नामक संस्थाको मिति २०६७।२।३१ को पत्र, जाहेरी दरखास्त र सो सो पत्र र जाहेरी दरखास्तकै समर्थन हुने गरी प्रतिवादीले गरिदिएको मौकाको बयान, वस्तुस्थिति मुचुल्काका व्यक्तिले मौकामा र अदालतमा गरिदिएको बकपत्रबाट भारत लगेर शंकास्पद व्यवहार गरी अलपत्र छोडी आफू नेपाल फर्की आएको कुरा पुष्टि भइरहेको, भारत लग्नुको अन्य उद्देश्य केही नदेखिएको र प्रतिवादी आफूले बेच्न नलगेको प्रमाण शंकारहित तरिकाले पुर्याउन नसकेकोबाट प्रतिवादी सोमबहादुर तामाङले यी पीडित धनमाया नागवंशीलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको देखिन आयो । यस्तो अवस्थामा पुनरावेदक प्रतिवादीको भारत लगेको होइन भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. बिक्री गर्ने उद्देश्यले भारत लगेको देखिएको यस अवस्थामा भारत लगी बिक्री गरेको हो होइन ? तथा बिक्री गरेको हो भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ
सक्दैन ? भन्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्नु पर्ने हुन आयो । यससम्बन्धमा विचार गर्दा प्रतिवादीले पीडितलाई छोडी भागेपछि यी पीडितको बुढी मानिससँग कुरा भई बुढी मानिसले आफ्नो घरमा लगेको र त्याहाँ सोही घरको मानिसले निजको यौन शोषण गरेको पीडितको भनाइबाट देखिए पनि यी प्रतिवादी अगाडि नै भागी सकेकाले ती बुढी मानिसलाई भेटेको, कुराकानी गरेको, पैसा लिएको तथ्य मिसिलबाट खुलेको
देखिँदैन । साथै अन्य कुनै ठाउँमा गई मोलमोलाई गरी पीडितलाई बेचेको र सो बेचेबापत यति पैसा लिएको भनेर पुष्टि हुन सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा बिक्री गर्न प्रतिवादीले पीडितलाई भारत लगेको भए पनि बिक्री नै गरिसकेको भनी भन्न
सकिँदैन ।
१०. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ हेर्दा यस ऐनको दफा ३ ले मानव बेचबिखन र ओसार पसार गर्नु गराउनु हुँदैन भनी मानव बेचबिखन र ओसार पसार गर्ने कार्यलाई आपराधिकीकरण (Criminalization) गरेको पाइन्छ भने सोही ऐनको दफा ४ (१) मा मानव बेचबिखन गरेको मानिने कार्य तोकिएको र दफा ४(२) मा मानव ओसार पसार गरेको मानिने कार्यसमेत अलग अलग गरी तोकिदिएको अवस्था छ । त्यस्तै दुवैमा फरक फरक सजाय हुने पनि दफा १५ मा व्यवस्था छ । यसरी कस्तो कार्यबाट मानव ओसार पसार हुने र के कस्तोबाट बेचबिखन हुने भनी अलग अलग गरी तोकिदिएबाट मानब बेचबिखन र मानव ओसारपसारलाई दुई भिन्न आपराधिक कार्यका रूपमा राखिएको प्रस्ट हुन्छ । यी दुवै अलग आपराधिक कार्य भएकाले यी दुवैको छुट्टै अस्तित्व हुन जान्छ । प्रायः सँगसँगै यी दुवै अपराध हुने भएपनि एकको अभावमा अर्को नहुने परिपूरक भने होइनन् । ओसारपसारको उद्देश्यमा रूपमा किन्ने वा बेच्ने वा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने नै ऐनले राखेको भएपनि सबै अवस्थामा त्यो उद्देश्य पूरा भई किन्ने बेच्ने वा वेश्यावृत्तिमा लगाएको नै भन्न सकिँदैन तापनि सो उद्देश्यले लगेमा ओसार पसार भने गरेको नै मानिन्छ । प्रस्तुत वारदातमा पनि प्रतिवादीले बेचिबखन गर्ने उद्देश्यले नै पीडितलाई भारत लगेको र बेच्न नपाउँदै भारतमा अलपत्र छोडेकोमा निज पीडितमाथि यौन शोषण भएको पुष्टि भए पनि बेचबिखन गरिसकेको भने मिसिलबाट पुष्टि हुन सक्दैन । यस्तो पीडितलाई भारतसम्म पुर्याई चरम यौन शोषणसमेत भएको पुष्टि भइरहेको अवस्थामा अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरेको सुरू फैसला सदर गर्नु पर्नेमा सो नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।
११. अतः माथि विवेचित आधार प्रमाणबाट पुनरावेदक प्रतिवादी सोमबहादुर तामाङले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहराई निजलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २,००,०००। जरिवाना गर्ने गरी भएको सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादीले ऐ. ऐनको दफा ४ (२)(ख) बमोजिमको कसुर गरेको ठहराई निजलाई ऐ. ऐनको दफा १५ (१) (ङ) (१) बमोजिम १० (दश) वर्ष कैद र रू.१,००,०००।- (एकलाख) मात्र जरिवाना र पीडित धनमाया नागवंशीले यी प्रतिवादीबाट ऐ. ऐनको दफा १७ (१) बमोजिम क्षतिपूर्ति बापत रू. १,००,०००।- (एक लाख) भराई दिने गरी भएको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी सोमबहादुर तामाङको सफाइ पाउँ भन्ने र वादी नेपाल सरकारको अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृतः यदुराज शर्मा
इति संवत् २०७३ साल जेठ २४ गते रोज २ शुभम् ।