निर्णय नं. ९६८४ - मानव बेचबिखन तथा ओसारपसार जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।५।१६
मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार जबरजस्ती करणी ।
०७०-CR-०५२४
पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा मत्स्यपोखरी गा.वि.स. वडा नं. ४ बस्ने घर भई हाल कारागार कार्यालय संखुवासभामा थुनामा बस्ने लाक्पा शेर्पा
विरूद्ध
विपक्षी/वादी : परिवर्तित उपनाम यमूना राईको जाहेरीले वादी नेपाल सरकार
०७०-CR-०८९४
विपक्षी/वादी : परिवर्तित उपनाम यमूना राईको जाहेरीले वादी नेपाल सरकार
विरूद्ध
पुनरावेदक/प्रतिवादी : जिल्ला संखुवासभा मत्स्यपोखरी गा.वि.स. वडा नं. ४ बस्ने घर भई हाल कारागार कार्यालय संखुवासभामा थुनामा बस्ने लाक्पा शेर्पासमेत
कुनै महिलाले नाम, थर, लिङ्ग, हुलिया, ढाँटी धोका दिई नक्कली लोग्ने मानिस भएको अनुभूति दिलाई नक्कली लिङ्ग प्रयोग गरी कसैलाई जबरजस्ती करणी गर्छ भने उसलाई महिला भएकै कारणले उन्मुक्ति दिनु न्यायोचित हुन नसक्ने ।
(प्रकरण न. ९)
अदालतले कानूनको व्याख्या गर्दा अपराधको प्रकृतिमा आएको परिवर्तनलाई समेत दृष्टिगत गर्नुपर्छ । यस अवस्थामा कृत्रिम लिङ्गको प्रयोग गरी महिलाले अर्को महिलालाई जबरजस्ती करणी गर्न सक्दैन भन्ने निष्कर्ष निकाली कसैलाई उन्मुक्ति दिनु न्यायोचित हुन सक्दैन । एउटा महिलाले अर्को महिलालाई sexual object को प्रयोग गरी जबरजस्ती करणी गर्न सक्ने नै देखिन्छ । महिलाले महिलालाई जबरजस्ती करणी गर्नमा मानसिक‚ मनोवैज्ञानिक तथा सामाजिक कारणहरू रहेका हुन सक्छन् । जस्तो कुनै व्यक्ति शारीरिकरूपमा महिला भए तापनि मानसिक र मनोवैज्ञानिकरूपमा महिलाप्रति नै आकर्षित हुन सक्छ र आफ्नो मनोवैज्ञानिक सन्तुष्टिको लागि महिला माथि जबरजस्ती करणी गर्न सक्छ । त्यसै गरी कोही व्यक्तिले यौन रोमान्चकताको लागिसमेत यस प्रकारको कार्य गर्न सक्छ भने सामाजिक परिवेश र सम्बन्धको कारणले पनि मानिसमा यस प्रकारको मानसिकताको विकास भएको हुन सक्छ । यस्तो सम्बन्ध वा अनुभूतिभित्र पनि असहमति वा जबरजस्ती करणी हुन सक्छ । जसलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक हुने ।
(प्रकरण न. १३)
सुरू तहमा फैसला गर्नेः-
मा.जिल्ला न्या. श्री शालिग्राम कोइराला
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का
माननीय न्यायाधीश श्री बिदुर बिक्रम थापा
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय दीपक राई र दिपेन्द्रकुमार राई
विपक्षी/वादीका तर्फबाट : िवद्वान् उपन्यायाधिवक्ता दशरथ पंगेनी
अवलम्बित नजिर :
नेकाप २०६७, नि.नं.८४६६, पृ.१५८८
सम्बद्ध कानून :
मानव बेचबिखत तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
फैसला
न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
मेरो प्रतिवादी लाक्पा शेर्पासँग फोनबाट चिनजान भएको हो र सो क्रममा निजले म अजय जिमी हुँ, घर उर्लाबारीमा पर्छ, म ड्राइभिङ्ग पेसा गर्छु भनी बताएको हुँदा मैले पनि आफ्नो सत्य परिचय दिएँ । यस्तै क्रममा कहिले निजले गर्ने कहिले मैले फोन गर्ने क्रम बढ्दै जाँदा देखभेट नभएपनि हामी दुवैजनाबीच प्रेम सम्बन्ध भई विवाह गर्नेसम्मका कुराहरू भएपछि म लिन आउँछु भनेकाले मैले पनि हुन्छ भनी बोलाएको थिएँ । यस्तैमा मिति २०६७/११/२२ गते दिनको अं.४ बजेतिर म सेदुवाको स्कुलमा आई पुगेको छु भनी हुलियासमेत बताएकोले म उक्त स्थानमा गई भेटघाट भयो । निजले मसँग एकजना विजय भाइ पनि छ भनी बताएकोले निजहरू दुवैजनालाई लिएर मेरो मामा बुद्धिमान राईको घरमा लगी बेलुकाको खाना खुवाई दुवै जनालाई एउटै कोठामा अलग अलग खाटमा सुताएँ । म घरधन्दा सकी आफ्नो कोठामा सुतेँ । रातको अं १० बजेतिर निज अजय जिमीले मेरो मोवाइलमा एस.एम.एस गरी एकछिन मसँग आउ गफ गरौं भनेकोले म निजको कोठा बेडमा आई निजसँग गफ गरे । गफ गर्ने क्रममा के गर्दै छौ ? पढाई कस्तो छ ? म तिमीलाई लिन आएको विवाह गर्नु पर्छ भनी मलाई भन्दा मेरो परीक्षा आई सकेको छ, परीक्षा नदिई म जान्न भनी मैले भनेँ । निजले पनि उक्त कुरालाई स्वीकार गरी ठीकै छ, म पछि लिन आउँछु, भोलि बिहान जान्छु भनेपछि निजले मलाई यही सँगै सुतौंभन्दा मैले सो कुरा इन्कार गर्दा नकराउ भाइले थाहा पाउँछ भन्दै निजले समाती निजसँग सुताए । मैले पनि प्रेम सम्बन्ध भइसकेको हुँदा धेरै प्रतिकार गरिन । सुतेपछि निजले मेरो स्तनमा हात राखी करणी गर्नमा उत्तेजित गराउने गरेकाले स्वाभाविकरूपमा मैले स्वीकारेँ । निजले २ पटक करणी गरे । तर हालसम्म मलाई कोही कसैले करणी नगरेको हुँदा मेरो योनिमा पस्यो वा पसेन थाहा भएन । त्यसपछि हामी दुवै जना निदायौं । बिहान अं.३ बजेतिर ब्युँझिई माइजुले थाहा पाउँछ भनी उठी आफू सुतेको कोठामा गई सुतेँ । बिहान गाउँका बुद्धिमान राई, दिलबहादुर राईसमेत आई निजहरूको घर, पेसा सोधपुछ गर्दै हुनुहुन्थ्यो । सो क्रममा अजय राई जिमी र विजय जिमीले हामी दुवै जनाको घर उर्लाबारी भनी भन्दै गर्दा मेरो छेमा नाता पर्ने सुकमाया राईले यो त केटा होइन केटी हो भनी भन्दा निजहरूले हामी दुवैजना केटा हौं भन्दा दिलबहादुर राई र बुद्धीमान राईले हामी चेक गछौं भनी अजय राईलाई चेक गर्दा निज अजय भन्ने केटी जाति भएको र निजले पेन्टीमा नक्कली (कृत्रिम) लिङ्गसमेत लुकाई राखेको अवस्थामा फेला परेको हुँदा सोही लिङ्गबाट मलाई राति करणी भएको हुनसक्ने र नाम, थर, वतनसमेत ढाँटी मलाई वेश्यावृत्तिमा लगाउने, शोषण गर्ने उद्देश्यले जालसाज गरी प्रपन्च मिलाई झुक्याई केटा हुँ भनी कहीँकतै लगी बेचबिखन गर्ने उद्देश्य रहेको हुँदा उल्लिखित प्रतिवादी लाक्पा शेर्पा र निजका सहयोगी सागर शेर्पालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐनअन्तर्गत हदैसम्मको सजाय गरिपाउँ साथै उक्त कार्यमा संलग्न अन्य कोही भए निजहरूबाटै खुलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली परिवर्तित उपनाम यमुना राईको मिति २०६७।११।२७ गतेको जाहेरी दरखास्त ।
जसबहादुर बानियाँको घरले पूर्व, चन्द्रबहादुर गुरूङको घरले पश्चिम, नुमतिर आउने मूल बाटोले उत्तर र बुद्धिमान राईकै घरबारीले दक्षिण यती ४ किल्लाभित्र जस्ताको छाना भई दक्षिण मोहडा भएको ढुङ्गा र माटोले बनेको तीनतल्ले बुद्धिमान राईको घर, सोही घरको आँगनमा प्रतिवादी लाक्पा शेर्पाको शरीर तलासी लिँदा निजले लगाएको कालो पेन्टीभित्र पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाई ५.५ इन्च गोलाई भएको भित्र कपडा जस्तो बस्तु र बाहिर अस्थाई साधन कण्डमले बेरेर लगाई बनाएको कृत्रिम लिङ्ग बरामद भएको भन्नेसमेत व्यहोराको मिति २०६७/११/२३ गतेको घटनास्थल बरामदी
मुचुल्का ।
जाहेरवालीसँग मेरो चिनजान मोबाइल फोनबाट भएको हो । मैले निजलाई ढाँटेर केटा भनेको कारणले निज र मबीचमा मोवाइल फोनबाट प्रेम सम्बन्ध भई विवाह गर्नेसम्मको कुराकानी
भयो । हामी भेट हुनुपर्छ, मलाई भेट्न आउ भनी निजले भनेकाले मिति २०६७।११।२१ गते मेरो बडा बाबुको छोरीको छोराको नुम गा.वि.स.मा विवाह भएको हुँदा विवाहको निम्तो मान्न म र मेरो फुपूको छोरो हाल पक्राउ परी आएको सागर शेर्पासमेत गएका थियौं । जाहेरवालीले फोन गरी जसरी भएपनि भेट्न आउनु भनेकोले २०६७/११/२२ गतेका दिन म र मेरो भाइ जाहेरवालीले दिएको ठेगाना तिर गयौं । निज हामी भएको ठाउँमा आई पुगिन । त्यसपछि गफगाफ गर्दै तीनै जना निजको मामाको घरमा गयौं । बेलुकाको खाना खाई सकेपछि निजले मलाई र मेरो भाइलाई तीनवटा खाट भएको कोठामा सुत्नको लागि व्यवस्था मिलाइन् । भाइ एउटा खाटमा सुत्यो । म एउटा खाटमा सुतेकी थिएँ । रातको अं.२२ बजेको समयमा मैले निज जाहेरवालीलाई म सुतेको कोठामा बोलाएँ । त्यसपछि म र निज बीचमा परीक्षासम्बन्धीका सामान्य गफगाफ भयो । मैले हातले निजको कम्मरमा समाउँदा निजले मेरो हात आफ्नो स्तन माथि राखिन र थिच्न थालिन । सोही क्रममा मैले पनि निजको स्तन चलाउन खेलाउन थाले, त्यसपछि निज अमिसा राई यौन तृष्णा उत्तेजित
भइन् । मैले आफ्नै लागि प्रयोग गर्न भनी कपडा र कण्डमले बनाएको कृत्रिम लिङ्ग निजको योनिमा छिराई दुई तीन पटक तलमाथि गरी दिएँ । त्यसपछि हामी दुवैजना एउटै खाटमा सुत्यौं । त्यसपछि रातको २ बजेतिर निज ब्युझिएर आफ्नो कोठातिर
गइन । भोलिपल्ट बिहान हामी उठेर चिया खाई रहेको अवस्थामा एकजना आइमाई मानिसले मलाई देखाउँदै यो लोग्ने मानिस होइन, आइमाई मानिस हो भनेपछि त्यहाँ भेला जम्मा भएका मानिसहरूले मलाई समाती केही पर लगी मैले लगाएको कपडा खोल्दा मैले पेन्टीभित्र बाँधेर लुकाई राखेको कृत्रिम लिङ्ग फेला पारेका
हुन । सो लिङ्ग विगत ३ महिना अगाडि आफैँलाई प्रयोग गर्नको लागि बनाएकी थिएँ । जाहेरवालीसँग फोन गर्दा केटा हुँ भनेको र निजसँग भेट गर्न जाँदा केटा मानिसको अनुभूती दिलाउनको लागि त्यसरी कृत्रिम लिङ्ग लुकाएर लगेकी हुँ । मैले मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले सो कार्य पीडितउपर गरेको होइन । उक्त कार्य गर्नमा मेरो कोही कसैसँग संलग्नता छैन । जाहेरवालीसँग मोबाइलमा फोनमा कुरा हुँदा मैले छोरा मानिस हुँ भनी ढाँटेको कारण पछि प्रेम सम्बन्ध बढ्दै गएपछि मैले सोसम्मको कार्य गरेकी हुँ । मेरो भाइ प्रतिवादी सागर शेर्पाले जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन । निजलाई मैले मेरो साथीको घरमा घुम्न जाउँ भनी लिएर मात्र गएकी हुँ । जाहेरवालीलाई मैले मात्र कृत्रिम लिङ्गले जबरजस्ती करणी गरेको
हो । जाहेरवालीलाई मानव बेचबिखन तथा ओसारपसार कार्य गर्नको लागि नाम ढाँटेको होइन । मोबाइलमा सुरूमा सम्पर्क हुँदा नै हामीले सोही नाम बताएका थियौं भन्नेसमेत व्यहोराको प्रतिवादी अजय भन्ने लाक्पा शेर्पाले मिति २०६७/१२/३ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
हाल मसँग पक्राउ परी आएकी लाक्पा शेर्पा मेरो माहिलो मामा शेरबहादुर शेर्पाकी जेठी छोरी
हुन् । मिति २०६७/११/२१ गते मेरो मामा नाता पर्नेको विबाहको निम्तो मान्न भनी म र लाक्पा शेर्पा गएका थियौं । बाटोमा जाँदा लाक्पा शेर्पाले मलाई मेरो नाम अजय भनेको छु । तिमीले तिम्रो नाम विजय भन्नु र घर सोध्यो भने उर्लाबारी भन्नु भनी सिकाएकी हुँदा हामी दुवै जना निजको साथीको घरतिर गयौं । मकालु गा.वि.स. स्थित सेदुवा स्कुलमा पुग्दा दिनको १६ बजेको समय भएको थियो होला, जाहेरवाली त्यहाँ आइन् । जाहेरवाली र लाक्पा शेर्पा गफगाफ गर्न
थाले । त्यसपछि केहीबेर जाहेरवालीले हामीहरूलाई निजको मामाको घरमा लगी खानासमेत खुवाई कोठामा लगिन् । म गलेको, ज्वरो र टाउकोसमेत दुखेको हुँदा एउटा खाटमा सुती हालेँ । भोलिपल्ट बिहान हामी चिया खाएर बसी रहेको अवस्थामा गाउँका दुई तीन जना लोग्ने मानिस र आईमाई मानिसहरू आए र हामीहरूसँग परिचय माग्दा लाक्पाले अजय जिमी र मैले विजय शेर्पा, घर उर्लाबारी–३ भन्यौं । त्यसपछि एकजना आईमाई मानिसले लाक्पालाई देखाउँदै यो त आइमाई मानिस हो भनेपछि त्यहाँ आएका मानिसहरूले लाक्पालाई केही परतिर लगेपछि निजले लगाएको कपडा खोल्न लगाउँदा निज लाक्पाले लगाएको पेन्टीभित्र लुकाई राखेको कृत्रिम लिङ्ग फेला परेको हो । जाहेरवालीलाई मैले मानव बेचबिखन तथा ओसार पसारको कार्य गरेको होइन । निजसँग उक्त मिति समयमा मेरो बोलचालसमेत भएको थिएन । सोभन्दा अगाडि पीडितलाई मैले देखेको पनि थिइँन । म र लाक्पा शेर्पा एउटै कोठामा भएका अलग अलग खाटमा सुतेका थियौं । राति जाहेरवाली र लाक्पा शेर्पा लाक्पा शेर्पा सुतेकै खाटमा खासखुस कुरा गरेको सुने । मलाई ज्वरो आई टाउकोसमेत दुःखेको हुँदा के के गरे मलाई थाहा भएन । मैले जाहेरवालीलाई कुनै परिबन्दमा पारी झुक्याई प्रलोभनमा पारी शरीर बन्धक बनाई मानव बेचबिखन तथा ओसार पसारको कार्य गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विजय भन्ने सागर शेर्पाले मिति २०६७/१२/३ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवालीलाई लाक्पा शेर्पाले करणी गरेको प्रत्यक्ष नदेखेको कारण भन्न सक्दिन । सामान्यतया अवस्था हेर्दा लाक्पा शेर्पाले पीडितलाई बेचबिखन गर्ने उद्देश्यले त्यस्तो अपराध गर्न सक्नेसम्मको शंका लाग्छ । लाक्पा शेर्पाको साथबाट मानव लिङ्ग जस्तो आकारको कृत्रिम वस्तुसमेत बरामद भएको हो । के कुन उद्देश्यबाट त्यस्तो अपराध गरे अनुसन्धान गरिपाउँ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने बुद्धिमान राईको मिति २०६७/१२/८ गतेको मौकाको कागज ।
लाक्पा शेर्पाले नाम वतन लिङ्गसमेत ढाँटी विवाह गर्छु भन्ने बाहानामा कहीँकतै लगि बिक्री वितरण गर्ने वा यौन शोषण गर्न लान लागेको हुन
पर्छ । प्रतिवादी सागर शेर्पासमेत लाक्पा शेर्पाकै साथमा लागि सहयोगीको रूपमा गएको बुझिएको हुँदा निजहरू दुवै जनाको मिलेमतोबाट मानव बेचबिखन तथा ओसार पसारको अपराध गरेको विश्वास लाग्छ । सागर शेर्पाले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने सम्बन्धमा केही थाहा छैन । हाल पक्राउ परी आएका लाक्पा शेर्पा र सागर शेर्पाबाहेक अन्य कोही कसैको संलग्नता भएको थाहा छैन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने दिलबहादुर राईसमेत ५ जनाको एकै मिलानको मिति २०६७/१२/९ गतेको वस्तुस्थिति मुचुल्का ।
मेरो छोरी प्रतिवादी लाक्पा शेर्पा र सागर शेर्पा गाउँ घरमा समान्य मजदुरी गरी खाने मानिसहरू
हुन् । हालसम्म कोही कसैलाई निजहरूले बिक्री वितरण गरेको छैन र मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य प्रकृतिको अपराध गरेको होइन छैन । यसमा सत्यतथ्य बुझी न्याय दिलाई पाऊँ । छोरी लाक्पा शेर्पा छोरी भएर जन्मे पनि छोराको जस्तो व्यवहार गर्ने गर्थिन् भन्नेसमेत व्यहोराको शेरबहादुर शेर्पाको मिति २०६७/१२/९ गतेको कागज ।
मिति २०६७/११/२२ गते मकालु गा.वि.स. वडा नं. ७ स्थित सेदुवा भन्ने ठाउँमा गई आफ्नो साथमा भाइ नाता पर्ने सागर शेर्पासमेतलाई लिई गई सागर शेर्पासमेतले आफ्नो नाम थर वतन ढाँटी पीडिता बालिकालाई बेचबिखन तथा ओसार पसार गरी बुद्धिमान राईको होटल घरमा राखि लाक्पा शेर्पाले जाल प्रपन्च रची पुरूष हुँ भनी कृत्रिम लिङ्गले जबरजस्ती करणी गरी अर्का सँगसाथमा भएका सागर शेर्पासमेतले जबरजस्ती करणी गरी प्रतिवादीहरू दुवैले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३, ४(२)(ख) तथा मुलुकी ऐन जबरजस्ती करणीको १, ३(३) र ३(क)नं. विपरीतको कसुर गरेको हुँदा प्रतिवादीहरू लाक्पा शेर्पा र सागर शेर्पासमेतलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा १५(१)(ङ)(२) र मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. अनुसार सजाय गरी सामूहिकरूपमा प्रतिवादीहरूले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको दफा ३(क) नं.अनुसार थप सजाय गरी पीडितलाई मानव बेचबिखन तथा ओसार पसार ऐन, २०६४ को दफा १७नं. अनुसार प्रतिवादीहरूको अंश रोक्का गरी क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय चैनपुरको मिति २०६७/१२/२० को अभियोग पत्र ।
यी पीडित जाहेरवालीसँग मोवाइलबाट चिनजान भई मोबाइलमै प्रेम सम्बन्धसमेत भएको हो । मलाई जसरी भएपनि भेट्न आउनु भनी पटक पटक कर गरेको हुँदा मेरो फुपूको छोरा भाइ नाता पर्ने सागर शेर्पालाई साथी लिई मकालु गा.वि.स. को सेदुवा भन्ने ठाउँको स्कुलमा पुगी बसेको बेला निज पीडित हामीलाई लिन स्कुलमा आई निजको मामा घरमा जाउँ भनी कर लगाएकोले मामा घरमा गई बस्यौं । रातको अं. ११ बजेतिर निज जाहेरवाली मेरो खाटमा आई मसँगै ढल्किई । निज मसँगै सुत्यो । मैले निजलाई केही पनि गरिन । कतिखेर उठेर निज गइन् मलाई थाहा भएन । भोलिपल्ट बिहान उठी खाना खाई बाहिर बसिरहेको अवस्थामा पीडितका मामासमेत आई मलाई समाती तानी लगि कुटपिट गरी तँ केटा कि केटी भनी
सोध्यो । म केटी हुँ भनेँ । त्यसपछि थानामा लगी कुट्दै मैले लगाएको कपडा खोल्दा मसँग भएको बनावटी लिङ्गसमेत फेला पारेको हुँदा उक्त नभएको जिउ मास्ने बेच्ने र जबरजस्ती करणीसमेतमा कृत्रिम लिङ्ग फेला पारेपछि शंकाका भरमा उजुर जाहेरी गरेका
हुन् । मेरो श्रीमान्ले मलाई छाडी अर्को विवाह गरी बसेको हुँदा म आफूलाई आवश्यक भएको बखत आफैँले प्रयोग गर्न कपडाको कृत्रिम लिङ्ग बनाई बोकेकी हुँ । प्रतिवादी सागर शेर्पा र यी पीडितबीच बोलचालसमेत नभएको हुँदा निजले पीडितलाई जबरजस्ती करणी गरेको होइन । मलाई सबैले समलिङ्गी नै भन्छन् । मसमेत भई पीडितलाई मानव बेचबिखन तथा ओसार पसार तथा जबरजस्ती करणीसमेत केही गरेको होइन । जाहेरवालीलाई केटा हुँ भनी नाम थर वतन ढाँटको हुँ । सोबाहेक अन्य कुनै कसुर मैले गरेकी छैन भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा शेर्पाले मिति २०६७/१२/२० गते सुरू अदालतमा गरेको बयान ।
म र दिदी २०६७/११/२२ गते बिहान ९ बजेतिर नुमबाट बाटो लागि बेलुकी अं. ५ बजे सेदुवा स्कुलमा पुग्यौं । स्कुलमा पुगेपछि दिदीको साथीले फोन गरिन् । केहीबेर पछि केटी सो स्कुलमा आइपुगी । दुईजनाबीच कुराकानी भयो । म बिसन्चो भएको कारण स्कुलको बेन्चमा सुती रहेको थिएँ । रात परेकोले जाहेरवालीले आफ्नो मामाको घरमा जाऔं भनी दिदीलाई भनिन् । निजहरू दुवैजना गफ गर्दै अगाडि हिँडे । म पछिपछि गएँ । खाना खाई सकेपछि पुनः सुत्न गयौं । केही समयपछि जाहेरवाली हामी सुतेको कोठामा आई ढोका बन्द गरी दिदीसँग गफ गरी बस्यो । म निदाएँ । त्यसपछि के के भयो मलाई थाहा भएन । मैले नाम थर, वतन ढाँटी प्रलोभनमा पारी जाहेरवालीउपर जबरजस्ती करणी गरी मानव बेचबिखन तथा ओसार पसारको कार्य गरेको होइन । मसँग जाहेरवालीको दोहोरो बोलचालसम्म भएन । मैले जाहेरवालीलाई कुनै प्रपन्च मिलाई प्रलोभनमा पारी जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसार पसारसमेतको कार्य गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सागर शेर्पाले मिति २०६७/१२/२० गते सुरू अदालतमा गरेको बयान ।
लाक्पा शेर्पा केटी भएको र कृत्रिम लिङ्ग साथमा राखि नामसमेत ढाँटी केटीलाई फकाउने कार्य गरेको हुँदा निजले र अर्का प्रतिवादी सागर शेर्पाले निजसँगै मिलेमतो गरी हिँडेको हुँदा निजहरूले मानव बेचबिखन तथा ओसार पसार गरेकोमा मलाई विश्वास लाग्छ । साथै एकै कोठामा पीडितसमेत तीनैजना सुतेको हुँदा जबरजस्ती करणी पीडिताउपर दुवै प्रतिवादीले गरेको शंका लाग्छ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने बुद्धिमान राईले मिति २०६८/१/२८ गते सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादी सागर शेर्पा र लाक्पा शेर्पा गाउँ घरमै बसी बनिबुतो गरी अलैंचीको व्यापारसमेत गरी खाने साधारण परिवारका किसान हुन् । बानी व्यहोरा सबै ठीक छ । मानिस ओसार पसार गरी बेचबिखन गर्ने खालका मानिस होइनन् । प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसार पसारको झुट्टा आरोप मात्र लगाएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा शेर्पाका साक्षी सुनाभुटी शेर्पाले मिति २०६८/१/२८ गते सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीहरूले पीडित वर्ष १५ की लाई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसार पसारको कसुर अपराध गरेको भन्ने कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने रामबहादुर राईले मिति २०६८/१/२८ मा सुरू अदालतमा गरेको बकपत्र । यी प्रतिवादीहरू गाउँ घरमा खेती किसानी गरी खाने मानिस हुन् । सागर शेर्पा पढ्दै गरेको केटा पनि हो । मलाई थाहा भएसम्म यी प्रतिवादीहरू मानव बेचबिखन गर्ने मानिस होइनन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने श्यामबहादुर शेर्पाले मिति २०६८/१/२८ गते सुरू अदालतमा गरेको बकपत्र ।
पीडितले जबरजस्ती करणी गरेका हुन् भनेकीले जबरजस्तीको कुरामा मलाई विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने सुकमाया राईले मिति २०६८/१/२८ गते सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू घर छाडी मधेससम्म नगएको, गाउँ घरमा नै बस्दै आएको, खेती किसान गर्ने राम्रो आचरण गर्ने खालका मानिस हुन् भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने सन्देश शेर्पाले मिति २०६८/१/२९ गते सुरू अदालतमा गरेको बकपत्र ।
मैले जबरजस्ती करणी गरेको देखेको
होइन । पीडित उपनाम यमुना राईले सुनाउँदा सुनी थाहा पाएको हुँ । एक नारीमाथि नारीले नै कृत्रिम लिङ्ग प्रयोग गरेको हुनाले प्रतिवादी लाक्पा शेर्पाको नियत ठीक नभएको, प्रतिवादीहरूले आफ्नो स्थायी ठेगाना लुकाए छुपाएको र पीडितलाई जागिरको प्रलोभन देखाई आफ्नो वास्तविक नामसमेत ढाँटेकाले बेचबिखन गर्न सक्छन् भन्नेसमेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने भक्तबहादुर राईले मिति २०६८/१/२९ गते सुरू अदालतमा गरेको बकपत्र ।
वस्तुस्थिति मुचुल्कामा लेखाएको व्यहोरा मैले नै लेखाएको हुँ प्रतिवादीहरूमध्ये लाक्पा शेर्पालाई कानूनबमोजिम मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा सजाय हुनुपर्छ, छुट दिनु हुँदैन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने दिलबहादुर राईले मिति २०६८/१/२९ गते सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७/११/२७ गते मा दिएको जाहेरी दरखास्तमा लेखिएको व्यहोरा र त्यसमा भएको सहीछाप साथै मिति २०६७/११/२९ गते मैले मौकामा गरेको बयानको व्यहोरासमेत मैले नै लेखाएको हो र त्यसमा भएको सहीछाप पनि मेरै
हो । मैले निजहरूलाई म बस्ने मामा घरमा लगि खाना खुवाई पाहुना सुत्ने कोठामा ओछ्यान लगाई रहेकै ठाउँमा सुत्न दिई लाक्पा शेर्पाले एकछिन आउनु भनी भनेकाले जाँदा मलाई निजहरू मध्ये लाक्पा शेर्पाले जबरजस्ती निज सुतेको खाटमा लडाई मैले लगाएको सुरूवाल र पेन्टी खोली मलाई उत्तानो पारी सुताई म माथि चढ्यो । मैले लिङ्ग देखिन । मेरो योनिमा लिङ्ग पसाउन खोज्दा मैले इन्कार गरेकोले प्रवेश
गराएनन् । लाक्पालाई करणी गर्न नदिएपछि प्रतिवादी लाक्पा आफैँ उठी अर्को खाटमा गए । त्यसपछि सागर मलाई पहिले लाक्पाले सुताएको खाटमा आई स्तन समाउन खोज्दा मैले दिइँन । निजले लिङ्ग निकाली म माथि चढी मेरो योनिमा लिङ्ग प्रवेश गराई दुई तीन पटक तल माथि गरायो । त्यसपछि मैले निजलाई ओरालेँ र आफ्नो कोठामा सुत्न गएँ । सागर शेर्पाले करणी गर्दा मलाई असहज र अफ्ठयारो र दुःखेको महसुस भएको थियो । निज प्रतिवादी लाक्पा शेर्पा र सागर शेर्पाले मलाई जागिर लगाई दिन्छौ, नकराउ भनेको हुँदा कुनै प्रतिकार नगरेको हुँदा कसैले थाहा नपाएको हो । यसरी आफ्नो नाम थर वतन लिङ्गसमेत ढाँटी म माथि मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीको कसुर प्रतिवादी दुवैले गरेका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाली परिवर्तित उपनाम यमुना राईले मिति २०६८/१/२९ गते यस अदालतमा गरेको बकपत्र ।
नदेखे नसुनेको हुँदा प्रतिवादीहरूले जाहेरवालीलाई मानव बेचबिखन गर्ने उद्देश्यले जबरजस्ती करणी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादीहरूका साक्षी तेम्बा शेर्पाले मिति २०६८/१/२९ गते सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको १ र ३(३) नं. एवं ३(क) नं. बमोजिम जबरजस्ती करणीको कसुर अपराध पीडितउपर गरेको ठहर्छ । दुवै जना प्रतिवादीहरूलाई जनही जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ६ वर्ष कैद सजाय हुने ठहर्छ र साथै सामूहिक रूपमा जबरजस्ती करणीको वारदात भएको देखिँदा ऐ. महलको ३(क) नं बमोजिम जनही थप वर्ष ५ कै हुने ठहर्छ । साथै पीडितले प्रतिवादीहरूबाट जनही रू.५०,०००/– क्षतिपूर्तिसमेत भराई लिन पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू संखुवासभा जिल्ला अदालतको मिति २०६९/३/२० को फैसला ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ दफाको ३ र ४(२) ख मा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई प्रलोभनमा पारी झुक्याई जालसाज गरी प्रपञ्च मिलाउने सम्मको काम गरेमा मानव बेचबिखन तथा ओसापसार गरेको अपराध हुने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै कानूनी व्यवस्थालाई ग्रहण नगरी केवल मानव बेचबिखन ओसार पसार गरेकै तथ्य स्थापित नभएको भनी गरेको फैसला त्रुटिपूर्ण छ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा प्रमाणको भार प्रतिवादीमा निहित छ । प्रतिवादीहरूले निर्दोषिताको प्रमाण पुर्याउन सकिरहेको अवस्था नहुँदा मिसिल संलग्न प्रमाणको मूल्याङ्कन नगरी गरिएको फैसला त्रुटिपूर्ण भई बदर भागी हुँदा सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, धनकुटामा दायर भएको पुनरावेदन पत्र ।
पीडित र हामी प्रतिवादीहरूबीच भएको कार्यहरू सहमतिबाट भएको पुष्टि हुन्छ अतः हाम्रो इन्कारी बयान‚ साक्षीहरूको बकपत्र, पीडित र म सागरको स्वास्थ्य परीक्षण प्रतिवेदनले हामीले आरोपित कसुरबाट सफाइ पाउने प्रमाण पुष्टि भइरहेको हुँदाहुँदै हामीलाई जबरजस्ती करणीको कसुरदार ठहर्याई सुरू संखुवासभा जिल्ला अदालतबाट भएको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा शेर्पा र सागर शेर्पाको पुनरावेदन अदालत, धनकुटामा परेको संयुक्त पुनरावेदन पत्र ।
प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गतको कसुर गरेको पुष्टि हुन नसकेकोले सो तर्फको अभियोग दाबीबाट प्रतिवादीहरूलाई सफाइ दिने गरी सुरू संखुवासभा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सो हदसम्म सुरू फैसला सदर हुने ठहर्छ । प्रतिवादी सागर शेर्पाले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी प्रमाणित हुन सकेको नदेखिएको तथा प्रतिवादी लाक्पा शेर्पाले नाबालक पीडितलाई अप्राकृतिक मैथुन गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९(क) बमोजिमको कसुर गरेको देखिन आएकोले यी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(३) नम्बर बमोजिमको कसुर गरेको ठहर्याई ए. ३(२) नम्बर तथा ३(क) नं. बमोजिम सजाय गर्ने गरी सुरू संखुवासभा जिल्ला अदालतबाट भएको मिति २०६९।३।२० को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सागर शेर्पाले अभियोग दाबीबमोजिम सफाइ पाउने तथा प्रतिवादी लाक्पा शेर्पालाई जबरजस्ती करणीको महलको ९(क) नं. बमोजिम ७ वर्ष कैदको सजाय हुने र पीडितलाई प्रतिवादी लाक्पा शेर्पाबाट रू.५०,०००।- क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ । अन्य पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।२।२१ को फैसला ।
प्रस्तुत मुद्दामा जबरजस्ती करणीको मुद्दा नै होइन । मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गतका मुद्दा विशेष ऐन र मुलुकी ऐनअन्तर्गतका कसुरलाई एउटै विशेष ऐनअनुसार अभियोग लगाइएकोले प्रस्तुत मुद्दाको अभियोगमा कार्यविधिगत त्रुटिसमेत रहेको स्पष्ट छ । जहाँसम्म जबरजस्ती करणीतर्फको अभियोग दाबी छ सो सम्बन्धमा महिलाले महिलालाई जबरजस्ती करणी गर्न नसक्ने तथा सो सम्बन्धमा हालसम्म कानूनले नसमेटिएको साथै कृत्रिम लिङ्गलाई जबरजस्ती करणीको महलअनुसार अपराध कायम गर्न नमिल्ने भएकोले मलाई अभियोग दाबीबाट फुर्सद दिएको हदसम्मको पुनरावेदन अदालत, धनकुटाको फैसला सदर गरी अप्राकृतिक मैथुनतर्फ अदालतले परिभाषा गरी सजाय गरेको हदसम्म फैसला बदर गरी मलाई फुर्सद दिलाई पाउँ भन्ने व्यहोराको प्रतिवादी लाक्पा शेर्पाको यस अदालतमा परेको मिति २०७०।५।२१ को पुनरावेदन पत्र ।
नाबालकलाई अप्राकृतिक मैथुन गरेको वारदातलाई समेत मुलुकी ऐन जबरजस्ती करणीको महलको ९(क) नं. ले जबरजस्ती करणी नै मानेको अवस्थामा नाबालकलाई एक जनाले प्राकृतिक रूपले जबरजस्ती करणी गरेको तथा अर्कोले अप्राकृतिक मैथुन गरेको अवस्थालाई समेत सामूहिकरूपमा जबरजस्ती करणी गरेको मानिने अवस्था हुँदा प्रत्यर्थी प्रतिवादी लाक्पा शेर्पालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजाय हुनुपर्नेमा निज प्रत्यर्थी प्रतिवादी लाक्पा शेर्पाले मात्र जबरजस्ती करणी मानिने अप्राकृतिक मैथुन गरेको ठहर्याई निज प्रत्यर्थी/प्रतिवादी लाक्पा शेर्पालाई जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप कैद नगरेको पुनरावेदन अदालत, धनकुटाको फैसला सो हदसम्म त्रुटिपूर्ण रहेको हुँदा प्रत्यर्थी/प्रतिवादी लाक्पा शेर्पालाई जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप कैदसमेत गरिपाऊँ । त्यसैगरी एउटी महिलाले प्रेमको नाटक गरी अर्की बालिकालाई फकाई लैजाने कार्य वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरेको स्पष्ट नै देखिएको अवस्थामा प्रत्यर्थी/प्रतिवादीहरूको कार्य मानव बेचबिखन तथा ओसारपसारअन्तर्गतको कसुरको परिधिभित्र नै नपर्ने भनी उक्त अभियोगबाट प्रतिवादीहरूलाई उन्मुक्ति दिएको पुनरावेदन अदालत, धनकुटाको फैसला त्रुटिपूर्ण एवं बदरयोग्य रहेकोले बदर गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको मिति २०७०।८।२३ को पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागी यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादी लाक्पा शेर्पाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री दीपक राई र श्री दिपेन्द्र कुमार राईले जबरजस्ती करणीको ३(३) र ३(क) को अभियोग दाबी रहेकोमा पुनरावेदन अदालत, धनकुटाले सो अभियोग दाबीबाट सफाइ दिएकोमा अभियोग दाबीविपरीत अदालत आफैँले अभियोजन पक्ष बनी जबरजस्ती करणीको ९(क) अनुसार सजाय गर्न मिल्दैन । प्रस्तुत मुद्दा जबरजस्ती करणीको मुद्दा नै होइन । नेपालको विद्यमान कानूनले महिलाले महिलालाई जबरजस्ती करणी गर्न सक्ने कुराको परिकल्पना गरेको छैन । सो विपरीत कृत्रिम लिङ्ग (artificial organ) को प्रयोग लाई जबरजस्ती करणीको महलअनुसार अपराध कायम गर्न मिल्दैन । पीडित जाहेरवालीले जाहेरी दरखास्त तथा अदालतको बकपत्रमा १७ वर्षको भनी उल्लेख गरेको अवस्थामा निजलाई नाबालक भन्न मिल्दैन । यस अवस्थामा अदालतले अनुसन्धानकर्ता र अभियोजन पक्षभन्दा पनि माथि उठेर वादी दाबीविपरीत जबरजस्ती करणीको ९(क) बमोजिम प्रतिवादीलाई सजाय गर्नु मिल्दैन । पुनरावेदन अदालत, धनकुटाको उक्त फैसला बदर गरी प्रतिवादीलाई सफाइ दिनुपर्छ भनी बहस गर्नुभयो ।
वादी पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले प्रतिवादी सागर शेर्पाले आफ्नी दिदी नाताकी लाक्पा शेर्पा पुरूष बनी पीडितलाई गरेको हर्कतमा कुनै हस्तक्षेप नगरेको र वारदात समयमा वारदातस्थलमा नै रहेको कुरा स्वीकार गरेको अवस्थामा निजउपरको मागदाबी पुष्टि भइरहेको अवस्था छ । यस अवस्थामा निजलाई जबरजस्ती करणीको महलको ३(३) नं. र ३(क) नं. बमोजिम सजाय हुनुपर्नेमा निजलाई सफाइ दिने पुनरावेदन अदालत, धनकुटाको फैसला सो हदसम्म बदर भागी छ । प्रतिवादी लाक्पा शेर्पाले मुलुकी ऐन जबरजस्ती करणीको महलको ९(क) नं. बमोजिम जबरजस्ती करणी गरेको मानेको अवस्था तथा प्रतिवादी सागर शेर्पाले पनि जबरजस्ती करणी गरेको कारणले सामूहिक रूपमा जबरजस्ती करणी गरेको मानिने अवस्था रहेको छ । तसर्थ प्रतिवादी लाक्पा शेर्पालाई समेत जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप कैद हुनुपर्छ । त्यसैगरी प्रतिवादी लाक्पा शेर्पा आफू महिला हुँदाहुँदै पुरूष हुँ भनी प्रेमको नाटक रची सागर शेर्पासँग मिली बालिकालाई फकाई लैजाने कार्य गरेका हुन् । यस अवस्थामा प्रतिवादीहरूको कार्य मानव बेचबिखन तथा ओसारपसारअन्तर्गतको कसुरको परिधिभित्र नपर्ने भनी प्रतिवादीहरूलाई पूर्णतः उन्मुक्ति दिएको पुनरावेदन अदालत, धनकुटाको फैसला त्रुटिपूर्ण छ । अतः उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस गर्नुभयो ।
उपर्युक्त बहस जिकिर सुनी मिसिलसाथ संलग्न प्रमाणहरूको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
१. प्रतिवादी लाक्पा शेर्पाउपर जबरजस्ती करणीको कसुर स्थापित हुन्छ वा हुँदैन ?
२. प्रतिवादीहरूले पीडित जाहेरवालीलाई अभियोग मागदाबीबमोजिमको मानव बेचबिखन तथा ओसारपसार गर्ने काम गरेका हुन, वा होइनन् ?
३. प्रतिवादी सागर शेर्पाले पीडितलाई जबरजस्ती करणी गरेको ठहर्छ वा ठहर्दैन ?
४. प्रतिवादी लाक्पा शेर्पा र वादी नेपाल सरकार दुवैको पुनरावेदन परेकोमा पुनरावेदन जिकिर पुग्छ वा पुग्दैन ?
२. उपर्युक्त प्रश्नहरूको सम्बन्धमा विचार गर्नुपूर्व प्रस्तुत मुद्दाको तथ्यहरूको संक्षिप्त चर्चा गर्नु वान्छनिय हुने देखिन्छ । प्रस्तुत मुद्दामा पीडित यमुना राई (परिवर्तित नाम) र प्रतिवादी लाक्पा शर्पाको बीचमा मोबाइलबाट चिनजान भएको र चिनजानको क्रममा प्रतिवादी लाक्पा शेर्पाले आफ्नो परिचय अजय जिमि भनी बताएको रहेछन् । मोबाइलबाट सुरू भएको चिनजान बढ्दै जाँदा दुवै बीचमा भेटघाट गर्ने सहमति भई सोबमोजिम प्रतिवादी लाक्पा शेर्पा आफ्नो भाइ नाता पर्ने सागर शेर्पाको साथमा भेट्नको लागी पुगेको रहेछन् । भेटघाट भई कुराकानी भएपश्चात् भेट्नको लागि लाक्पा आउँदा पीडितले नै आफ्नो मामा बुद्धिमान राईको घरमा राति बास बस्ने व्यवस्था मिलाएको देखिन्छ । राति यमुना राई गफ गर्न आएकी र प्रेमसम्बन्ध कायम भएको कारणले निज प्रतिवादीले यमुना राईलाई २ पटक करणी गरेको भन्ने यमुना राईको कथन रहेको छ । भोलिपल्ट बिहान गाउँका अन्य मानिसहरू भेला भई प्रतिवादी लाक्पा शेर्पा स्वास्नी मानिस हो भन्ने शंका गरी प्रश्न गरेकोमा प्रतिवादीले आफू अजय जिमि भएको र आफू लोग्ने मानिस नै भएको जिकिर गरेतापनि उपस्थित अन्य मानिसहरूले शरीर जाँच गर्दा निजको साथबाट कृत्रिम लिङ्ग फेला परेको रहेछ । यसरी स्वास्नी मानिसले आफूलाई लोग्ने मानिस भनी यमुना राईलाई झुक्याई प्रेम सम्बन्ध बनाई विवाह गर्छु भनी कृत्रिम लिङ्गद्धारा करणीसमेत गरेको आधार र कारण देखाई प्रतिवादीहरू उपर प्रस्तुत मुद्दा पर्न आएको रहेछ ।
३. अभियोग मागदाबी हेर्दा प्रतिवादी लाक्पा शेर्पाले आफ्नो नाम, थर, वतन ढाँटी प्रलोभन देखाई आफ्नो भाइ नाता पर्ने सागर शेर्पासमेतलाई लिएर गई पीडित बालिकालाई बेचबिखन तथा ओसारपसार गरी बुद्धिमान राईको होटलमा घरमा लगी आफू महिला हुँदा हुँदै पुरूष हुँ भनी कृत्रिम लिङ्गले जबरजस्ती करणी गरी प्रतिवादी लाक्पा शेर्पा र सागर शेर्पाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३,४(२)(ख) तथा मुलुकी ऐन जबरजस्ती करणीको महलको २,३(३) र ३(क) नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीहरू लाक्पा शेर्पा र सागर शेर्पासमेतलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) र मुलुकी ऐन जबरजस्ती करणीको दफा ३(३) नं. अनुसार सजाय गरी सामूहिकरूपमा प्रतिवादीहरूले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादी लाक्पा शेर्पा र प्रतिवादी सागर शेर्पालाई मुलुकी ऐन, जबरजस्ती करणीको दफा ३(क) नं. अनुसार सजाय थप गरी पीडितलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ नं. अनुसार प्रतिवादीहरूको अंश रोक्का गरी क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने अभियोग मागदाबी लिइएको रहेछ । यसरी अभियोग माग दाबी लिइएकोमा सुरू संखुवासभा जिल्ला अदालतबाट प्रतिवादीहरूले जबरजस्ती करणीको १ र ३(३) एवं ३(क) नं. बमोजिम जबरजस्ती करणीको कसुर अपराध गरेको ठहर्याई तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा अभियोग दाबी पुग्न नसक्ने भनी फैसला भएको रहेछ ।
४. सुरू जिल्ला अदालतको फैसलाउपर दुवै पक्षले पुनरावेदन अदालत, धनकुटामा पुनरावेदन गरेकोमा सो अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुर पुष्टि नहुने तथा प्रतिवादी लाक्पा शेर्पाको कसुर जबरजस्ती करणीको महलको ९(क) बमोजिमको कसुर गरेको देखिन आएकोले प्रतिवादीहरूलाई जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिमको कसुर गरेको ठहर्याई ऐ. ३(३) नम्बर तथा ३(क) नं. बमोजिम सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला केही उल्टी भई प्रतिवादी सागर शेर्पाले अभियोग दाबीबाट सफाइ पाउने तथा प्रतिवादी लाक्पा शेर्पालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९(क) नं. बमोजिम ७ वर्ष कैद सजाय र पीडितले प्रतिवादी लाक्पा शेर्पाबाट रू.५०,०००।- क्षतिपूर्ति भराई लिन पाउने ठहर्याई फैसला भएको रहेछ ।
५. यसरी फैसला भएकोमा प्रतिवादी लाक्पा शेर्पाले पुनरावेदन अदालत, धनकुटाले अभियोग मागदाबीविपरीत जबरजस्ती करणीको महलको ९(क) नं. लगाई ७ वर्ष कैद र पीडितलाई रू.५०,०००।- क्षतिपूर्ति भराउने गरी फैसला गरेको नमिलेको भनी यस अदालतमा पुनरावेदन गरेको रहेछन् भने वादी नेपाल सरकारले प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारको अभियोगबाट सफाइ दिएको, प्रतिवादी सागर शेर्पालाई सामूहिक रूपमा जबरजस्ती करणीको अभियोगबाट सफाइ दिएको तथा प्रतिवादी लाक्पा शेर्पालाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको कारणले थप हुनु पर्ने सजाय नभएकोमा चित्त नबुझाई यस अदालतमा पुनरावेदन दायर गरेको रहेछ ।
६. अब, प्रतिवादी लाक्पा शेर्पाले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको हो वा होइन भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी लाक्पा शेर्पा आफू महिला भए तापनि सुरूबाट नै पीडितलाई पुरूष हुँ भन्ने भ्रममा राखी कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको अवस्था रहेको छ । यसरी प्रस्तुत मुद्दामा एउटा महिलाले अर्को महिलालाई जबरजस्ती करणी गर्न सक्छ वा सक्दैन तथा हाम्रो वर्तमान कानूनी व्यवस्थाले सो कुराको परिकल्पना गरेको छ वा छैन भन्ने सैद्धान्तिक प्रश्नको पहिला निरूपण हुनुपर्ने देखियो । जसको लागि जबरजस्ती करणी कस्तो प्रकारको अपराध हो, यस बारेमा हाम्रो कानूनले कस्तो व्यवस्था गरेको छ र यो स्थापित हुनको लागि आवश्यक तत्त्वहरू के के हुन् सोको विवेचना हुन वाञ्छनिय देखिन्छ ।
७. परम्परागतरूपमा हेर्दा जबरजस्ती करणी अपराध स्थापित हुनको लागि मूलतः २ वटा तत्त्व आवश्यक पर्दछ । पहिलो यौन समागम (Sexual Intercourse) र दोस्रो ईच्छाविपरीत वा सहमतिको अभाव (Against will) । के हुँदा sexual penentration भएको मान्ने र यसको मात्रा कति हुनु पर्छ भन्ने सम्बन्धमा विभिन्न देशहरूमा अलग अलग व्यवस्था र व्याख्या हुँदै आएको छ र एकरूपता भेटिँदैन । यद्दपि जबरजस्ती करणीको अपराधको आपराधिक कार्य (Actus Reus) को दायरा निकै फराकिलो भइसकेको छ । जुनसुकै प्रकृतिको sexual penentration लाई यसको सिमाभित्र समेट्नु पर्छ भन्ने मान्यताको विकास हुँदै गएको छ । त्यसैगरी जबरजस्ती करणी भएको हो वा होइन भन्ने निर्धारण गर्नको निमित्त सहमति (Consent) थियो वा थिएन भन्ने अर्को महत्त्वपूर्ण आधार हो । फेरी कतिपय अवस्थामा सहमति (Consent) भए तापनि सहमति थियो भनी मान्न मिल्दैन किनकि सहमति पनि स्वतन्त्ररूपमा कुनै डर‚ धम्की, दबाब र प्रभावबिना दिएको हुनुपर्छ ।
८. मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा १ (ख) मा डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोर जुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भनी व्यवस्था गरेको देखिन्छ । कस्तो अवस्थामा दिइएको सहमतिलाई मान्यता दिने हो सो सम्बन्धमा R vs. Ewanchuk (१९९९) १ S.C.R.३३० भएको मुद्दामा क्यानडाको सर्वोच्च अदालतले यदि सहमति डर, धम्की वा चोरी ढाँटी प्राप्त गरिएको छ भने त्यस प्रकारबाट प्राप्त गरिएको सहमतिलाई सहमति भएको भनी मान्न मिल्दैन । त्यसैगरी लोग्ने नभए तापनि आफू लोग्ने हो भनी झुक्याई उक्त सहमति प्राप्त गरिएको छ भने वा सहमति दिने व्यक्तिको उक्त सहमति दिदाको अवस्थामा मानसिक अवस्था ठीक रहेनछ भने वा लागु औषधको सेवनको कारणले आफूले गरेको कामको परिणाम थाहा नहुने अवस्थामा रहेको भएमा पनि सो प्रकारले प्राप्त गरेको सहमतिलाई सहमति दिएको भनी मान्न मिल्दैन भनी व्याख्या गरेको देखिन्छ । त्यसैले उमेर नपुगेकोले दिएको सहमतिलाई पनि सहमति नमान्ने विधिशास्त्रको विकास भएको देखिन्छ ।
९. एउटा महिलाले अर्को महिलालाई जबरजस्ती करणी गर्न सक्छ वा सक्दैन भन्ने प्रश्नको विवेचना गरी हेर्दा आज समाजमा विपरीत लिङ्गी सम्बन्ध राख्ने (Hetro Sexual) मात्र हैन समलिङ्गी यौन सम्बन्ध राख्ने (Homo Sexual) र दुवै लिङ्गीमा सम्बन्ध राख्ने (Biosexual) मानिसहरू पनि रहेका छन् । यस अवस्थामा सहमतिपुर्ण सम्बन्धसँगै असहमतिपूर्ण / जबरजस्ती सम्बन्धहरू हुन सक्दैनन् भन्न सकिँदैन । कुनै महिलाले धोकापुर्ण रूपमा लिङ्गको रूपमा अन्य चिजवस्तु प्रयोग गरी यौन करणीको अनुभूति प्राप्त गर्दछ भने त्यसलाई यौन समागमको रूपमा लिनु पर्छ । विज्ञान र प्रविधिको विकासक्रम सँगसँगै विभिन्न प्रकारका सामग्री ( Sex Toy) हरूलाई यौन चाहना पूर्ती गर्ने काममा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । यौन शोषणका नयाँ नयाँ तरिकाको पनि विकास गरेको छ । यस अवस्थामा केवल प्राकृतिक लिङ्ग हुने मानिसले मात्र जबरजस्ती करणी गर्न सक्छ भन्ने मान्यताले पछिल्लो समयमा विकसित चुनौतीहरूलाई सम्बोधन गर्न सक्दैन । कुनै महिलाले नाम, थर, लिङ्ग, हुलिया, ढाँटी धोका दिई नक्कली लोग्ने मानिस भएको अनुभूति दिलाई नक्कली लिङ्ग प्रयोग गरी कसैलाई जबरजस्ती करणी गर्छ भने उसलाई महिला भएकै कारणले उन्मुक्ति दिनु न्यायोचित हुन सक्दैन । जबरजस्ती करणीमा गरिने भनेको Sexual Penentration हो । जसमा प्राकृतिक लिङ्गको नै प्रयोग गरिनु पर्छ भन्ने छैन । जबरजस्ती करणीको अपराध स्थापित हुनको लागि Penile penentration लाई मात्र आधार बनाउनु हुँदैन र कुनै पनि वस्तु (Object) बाट Sexual Intention राखी गरिने Vaginal/Oral/Anal Penentration लाई समेत जबरजस्ती करणीसम्बन्धी कानूनको दायरामा ल्याउनु पर्छ भन्ने मान्यताको पछिल्लो समयमा विकास हुँदै गएको छ । यस सम्बन्धमा हेर्दा कृत्रिम लिङ्गको प्रयोग गरी कुनै महिलाउपर सहमतिबेगर Sexual Penentration गरिन्छ भने सो कार्य पनि जबरजस्ती करणीको परिधिभित्र पर्छ भनी बेलायतको Sexual Offence Act २००३ को Section २ ले पनि व्यवस्था गरेको देखिन्छ । उक्त व्यवस्थामा निम्न कुरा उल्लेख छ ।
A person (A) commits an offence if - (a) he intentionally penetrates the vagina or anus of another person (B) with a part of his body or anything else, (b) the penetration is sexual, (c) B does not consent to the penetration, and (d) A does not reasonably believe that B consents.
१०. त्यसैगरी भारतीय अपराध संहिता (Indian penal code) ले जबरजस्ती करणीको सम्बन्धमा गरेको परिभाषालाई सन् २०१३ मा फौजदारी कानून संशोधन ऐन, २०१३ (The Criminal Law (Amendment) Act, 2013) मार्फत संसोधन गरी जबरजस्ती करणीको आपराधिक कार्यको (Actus reus) दायरालाई फराकिलो बनाउँदै गएको छ । विद्यमान भारतीय अपराध संहिता (Indian penal code) को दफा ३७५ मा जबरजस्ती करणीलाई निम्नअनुसार परिभाषित गरको छ ।
३७५- A man is said to commit ‘rape’ if he-
Penentrates his pennis, to any extent, into the vagina, mouth, urthera or anus of a woman or makes her to do so with him or any other person; or
inserts, to any extent, any object or a part of the body, not being the penis, into the vagina, the urethra or anus or a woman or makes her to do so with him or any other person;
manipulates any part of the body of a woman so as to cause penentration into the vagina, urethra, anus or any other part of body of such woman or makes her to do so with him or any other person:or;
applies his mouth to the vagina, anus, urethra of a woman or makes her to do so with him or any other person…
यसरी भारतको फौजदारी संहिताले पनि जबरजस्ती करणी स्थापित हुनको लागि केवल प्राकृतिक लिङ्गको मात्र नभई अन्य अङ्ग र वस्तुको समेत प्रयोग हुन सक्ने मान्यतालाई स्वीकार गरेको देखिन्छ ।
११. हाम्रो सन्दर्भमा हेर्दा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन, २०७२ बाट थप भई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १(घ) मा गुदद्धार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ भन्ने व्यवस्था भएको देखिन्छ । यसबाट जबरजस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुन सक्छ भन्ने अवधारणालाई हाम्रो कानूनले पनि स्वीकार गरेको देखिन्छ । तर प्रस्तुत मुद्दाको वारदात मुलुकी ऐन, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल संशोधन ऐन,२०७२ पूर्व नै भएको देखिन्छ । तत्कालीन अवस्थामा विद्यमान जबरजस्ती करणीको ९(क) को अप्राकृतिक मैथुनको परिभाषाभित्र पर्ने देखिन्छ ।
१२. माथि वर्णन गरिएका कानूनी व्यवस्थाहरूले शरीरको कुनै अङ्ग वा अन्य कुनै वस्तुबाट गरिएको veginal / oral / anal penentration लाई समेत Rape को दायरामा राखेको छ । यद्यपि उक्त कानूनी व्यवस्थाहरूमा जबरजस्ती करणी कसले गर्ने भन्ने सम्बन्धमा कुनै देशको कानूनले 'he' अर्थात् पुरूष जनाउने शब्दको प्रयोग गरेको छ भने कुनै देशको कानूनले 'any person' भन्ने शब्दको प्रयोग गरेको छ जसभित्र महिला, पुरूष वा फरक लिङ्गी पनि पर्न सक्दछ । यो व्यवस्थाले प्राकृतिक लिङ्गको प्रयोग नगरी अन्य कुनै वस्तु वा अङ्गको प्रयोग गरी जबरजस्ती करणी गर्न सकिन्छ भन्ने तथ्यलाई पनि स्वीकार गरेको देखिन्छ ।
१३. समाजको गतिशिलतासँगै अपराधको परिभाषा र प्रकृति पनि परिवर्तन हुँदै जान्छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तन तथा सामाजिक मान्यता र सम्बन्धमा भएको बदलाव सँगै अपराध गर्ने शैलीमा समेत परिवर्तन आएको छ भने अपराधको प्रकृतिमा समेत जटिलता थपिन पुगेको छ । जबरजस्ती करणीसम्बन्धी अपराधकै सन्दर्भमा हेर्दा पनि समाजको परिवर्तनसँगै यसको सैद्धान्तिक अवधारणामा समेत व्यापक परिवर्तन भई यसको क्षेत्र र पहिचान फराकिलो बन्दै गएको छ जुन समयको आवश्यकतासमेत हो । उदाहरणको लागि १९ औ शताब्दीतिर बनेका प्रायः सबै कानूनले जबरजस्ती करणी अपराध हुनलाई Unlawful sexual intercourse हुनुपर्ने अवस्थालाई स्वीकार गरी वैवाहिक बलत्कार लाई जबरजस्ती करणीको परिधिभन्दा बाहिर राखेको थियो । तर आजको दिनसम्म आइपुग्दा लगभग सबै Common law countries र Civil law countries ले कानून बनाई वैवाहिक बलत्कारलाई जबरजस्ती करणीको परिधिभित्र राखेको पाइन्छ । त्यसैगरी जबरजस्ती करणीअन्तर्गत Vaginal intercourse को साथसाथै Anal intercourse लाई समेत समावेश गरेको
पाइन्छ । अझ बेलायतको Sexual Offence Act, २००३ को Section २ ले त शरीरको कुनै अङ्ग वा अन्य कुनै वस्तुबाट गरिएको veginal / anal penentration लाई समेत Rape को दायरामा राखेको छ । अदालतले कानूनको व्याख्या गर्दा अपराधको प्रकृतिमा आएको परिवर्तनलाई समेत दृष्टिगत गर्नु पर्छ । यस अवस्थामा कृत्रिम लिङ्गको प्रयोग गरी महिलाले अर्को महिलालाई जबरजस्ती करणी गर्न सक्दैन भन्ने निष्कर्ष निकाली कसैलाई उन्मुक्ति दिनु न्यायोचित हुन सक्दैन । एउटा महिलाले अर्को महिलालाई sexual object को प्रयोग गरी जबरजस्ती करणी गर्न सक्ने नै देखिन्छ । महिलाले महिलालाई जबरजस्ती करणी गर्नमा मानसिक‚ मनोवैज्ञानिक तथा सामाजिक कारणहरू रहेका हुन सक्छन् । जस्तो कुनै व्यक्ति शारीरिकरूपमा महिला भए तापनि मानसिक र मनोवैज्ञानिकरूपमा महिला प्रतिनै आकर्षित हुन सक्छ र आफ्नो मनोवैज्ञानिक सन्तुष्टिको लागि महिला माथि जबरजस्ती करणी गर्न सक्छ । त्यसै गरी कोही व्यक्तिले यौन रोमाञ्चकताको लागिसमेत यस प्रकारको कार्य गर्न सक्छ भने सामाजिक परिवेश र सम्बन्धको कारणले पनि मानिसमा यस प्रकारको मानसिकताको विकास भएको हुन सक्छ । यस्तो सम्बन्ध वा अनुभूतिभित्र पनि असहमति वा जबरजस्ती करणी हुन सक्छ । जसलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ ।
१४. हाम्रो कानूनी व्यवस्थाले महिलाले महिलालाई जबरजस्ती करणी गर्न सक्छ भन्ने परिकल्पना गरेको छ वा छैन भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं. मा "कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले करणी गरेको ठहर्छ ।" भन्ने व्यवस्था गरिएको छ । उल्लिखित व्यवस्था हेर्दा जसलाई करणी गरिन्छ सो व्यक्ति महिला हुनुपर्ने भनी प्रस्ट उल्लेख गरिएको छ र यो व्यवस्था लैङ्गिक विशेष (Gender Specific) रहेको छ । तर जसले करणी गर्छ सो व्यक्तिको हकमा कसैले भन्ने शब्दको प्रयोग गरिएको छ । जसबाट पीडक महिला वा पुरूष वा तेस्रो लिङ्गी को हुने भनी प्रस्टसँग किटान नगरी केवल कसैले भन्ने शब्दको मात्र प्रयोग गरेको छ । यस अर्थमा पीडकको हुन सक्छ भन्ने सम्बन्धमा उक्त व्यवस्था लैङ्गिक तटस्थ (Gender Neutral) रहेको देखिन्छ । यस व्यवस्थाको विगतको पृष्ठभूमि हेर्दा लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ बाट संशोधन हुनुपूर्व जबरजस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरूद्धमा गर्ने‚ गराउने र गर्न सक्ने अपराधको रूपमा राखेको थियो । यसरी लोग्ने मानिसले स्वास्नी मानिसको विरूद्धमा गर्ने अपराध भनी प्रस्ट उल्लेख गरी कानूनी व्यवस्था भएकोमा उक्त संशोधनले यसको दायरालाई फराकिलो बनाउदै कसैले भन्ने शब्दको प्रयोग गरेको अवस्थामा जबरजस्ती करणीको पीडक केवल पुरूष मात्र हुन्छ भन्ने उक्त व्यवस्थाको मनसाय हुने
देखिँदैन । केवल पुरूष मात्र पीडक हुने भन्ने विधायिकाको मनसाय हुन्थ्यो त उक्त संशोधनको आवश्यकता नै पर्ने थिएन । कानूनको व्याख्या गर्दा कानूनको हरेक शब्दमा अर्थ रहन्छ भन्ने मान्यतामा आधारित रही गर्नुपर्छ । तसर्थ उक्त व्यवस्थाले जबरजस्ती करणीको पीडकमा केवल पुरूष मात्र हुन्छन् भनी अर्थ गर्न मिल्ने देखिँदैन । अतः जबरजस्ती करणीको महलको १ नं. मा मिति २०६३।७।१७ मा संशोधन भएपश्चात् यसले कुनै लिङ्गभेद नगरी जोसुकै व्यक्तिले उक्त अपराध गरे जबरजस्ती करणी हुने फराकिलो प्रावधान कायम गरेको पाइन्छ ।
१५. जबरजस्ती करणीमा पीडकको सम्बन्धमा कतिपय देशमा समेत जबरजस्ती करणीको अपराधमा पीडक कुन लिङ्गको हुने हो सो स्पष्ट किटान नगरी लैङ्गिक तटस्थ (Gender Neutral) प्रावधान राखेको पाइन्छ । Canada को Criminal Code ले Rape को सट्टा Sexual Assualt भन्ने शब्दको प्रयोग गरेको छ । उक्त Code को Section २७१ ले Sexual Assualt लाई Sexual contact with another person without that other person’s consent भनी व्यवस्था गरेको छ । त्यसैगरी France को Penal Code ले Rape लाई Any act of sexual penentration, whatever its nature, committed against another person by violence, constraints, threat or surprise, is rape भनी परिभाषित गरेको छ भने Greece को Penal Code को Article ३३३६ ले Rape भन्नाले Whoever with physical violence or with threat of grave and direct danger forces another to intercourse or to tolerate or action of an indecent act, is punishable with incarceration भनी व्यवस्था गरेको छ । यसरी विभिन्न देशहरूको जबरजस्ती करणीसम्बन्धी कानूनी प्रावधानमा समेत जबरजस्ती करणी गर्ने व्यक्ति पुरूष हुने भनी स्पष्ट किटान नगरी कुनै व्यक्ति भन्ने उल्लेख गरेको पाइन्छ । अतः यी परिभाषाहरू हेर्दा कोहीबाट कोही पनि बलात्कृत हुन सक्छ भन्ने बुझ्न सकिन्छ ।
१६. जबरजस्ती करणी एक जघन्य अपराध हो । सिङ्गो मानव सभ्यताकै कलंकको रूपमा रहेको यस प्रकारको अपराधमा महिलाले महिलालाई गरिने जबरजस्ती करणीलाई प्रस्टरूपमा कानूनमा उन्मुक्ति प्रदान नगरेको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को व्याख्या अपराधिलाई छुट र उन्मुक्ति नहुने किसिमबाट गर्नु पर्छ । सोही कार्य पुरूषले गर्दा अपराध हुने तर महिलाले नाम, थर, लिङ्ग, हुलिया, ढाँटी धोका दिई नक्कली लोग्ने मानिस भएको अनुभूति दिलाई नक्कली लिङ्ग प्रयोग गरी गरेको अवस्थामा महिला भएकै कारणले अपराध नहुने अर्थ गर्दा भेदभावपूर्ण परिणाम निस्कन पुग्दछ । अपराधकर्ताको लैङ्गिक स्थिति वा कुनै भिन्नतालाई आधार बनाई अपराधको दायित्वबाट उन्मुक्ति दिनु न्यायको मान्य सिद्दान्तविपरीत त हुन्छ नै पीडितको अधिकारविपरीतसमेत हुन पुग्दछ । प्रस्तुत मुद्दाकै सन्दर्भमा हेर्दा पनि यो घटना असन्तुलित शक्ति संरचनामा आधारित रहेको छ । एकातर्फ एकजना उमेर पुगेको महिला र अर्कोतर्फ नाबालिका महिला रहेको अवस्था छ । अदालतले फौजदारी अपराधलाई अक्षरश: एवं कठोररूपमा व्याख्या गर्नुपर्छ । यसको व्याख्या गर्दा कठोर संरचनाको सिद्धान्त Principal of strict construction लागू हुन्छ र त्यही अनुरूप व्याख्या गरिनुपर्छ ।
१७. अतः माथि विवेचित आधारमा महिलाले महिलालाई जबरजस्ती करणी गर्न सक्ने तथा सोको परिकल्पना मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं. ले गरेको देखिन्छ । यो सैद्धान्तिक प्रश्नको निरूपण गरेपछि अब प्रस्तुत मुद्दाको तथ्यहरूको आधारमा प्रतिवादी लाक्पा शेर्पाले पीडितलाई जबरजस्ती करणी गरेको स्थापित हुन्छ वा हुँदैन सो सम्बन्धमा विचार गरिनु पर्छ । सो सम्बन्धमा विचार गर्दा जाहेरवाली पीडितले यी प्रतिवादी लाक्पा शेर्पाले दुईपटक करणी गरेको भनी जाहेरी दरखास्तमा उल्लेख गरेकी छन् । वारदात भएको भनिएको दिनको भोलिपल्ट यी प्रतिवादी पक्राउ परी शरीरको खानतलासी हुँदा यीनको शरीरबाट पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाई र ५.५ इन्च गोलाई नाप भएको कृत्रिम लिङ्ग बरामदसमेत भएको छ । यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा समेत आफूले पेन्टीभित्र लुकाएर राखेको कृत्रिम लिङ्गको प्रयोग गरी पीडितको योनिभित्र दुई तीनपटक तल माथि गरिदिएको भनी स्वीकार गरेका छन् भने अर्का अभियुक्त सागर शेर्पाले पनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा दिदी लाक्पा शेर्पा र पीडित एउटै खाटमा सुतेको र खासखुस कुरा गरेको सुनेको भनी बयान गरेका छन् । प्रतिवादीले अदालतमा गरेको बयानमा पीडितलाई जबरजस्ती करणी गरेको कुरालाई इन्कार गरेको भए तापनि रातको करिब ११ बजेतिर जाहेरवाली आफ्नो खाटमा आई सँगै ढल्केको कुरालाई सम्म स्वीकार गरेका छन् । यसरी प्रतिवादी लाक्पा शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्यमा अदालतमा इन्कार गरेको भए तापनि अधिकारप्राप्त अधिकारीसमक्ष उक्त तथ्यमा समेत साबित भई बयान गरेको‚ निजको सँगसाथबाट कृत्रिम लिङ्ग बरामद भएको र पीडित स्वयम्ले दिएको जाहेरी‚ मौकामा गरेको बयान तथा अदालतसमेतमा बकपत्र गर्दा प्रतिवादी लाक्पा शेर्पाले आफूलाई करणी गरेको हो भनी किटान गरेकोसमेतबाट पुष्टि भइरहेकोले प्रतिवादी लाक्पा शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्य निर्विवादरूपबाट स्थापित हुन आएको देखियो । जिल्ला स्वास्थ्य कार्यालय, खाँदबारी अस्पताल, संखुवासभाले दिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको योनि वरिपरि कुनै घाउ चोटपटक नभएको र निजको कन्या जाली पहिल्यै च्यातिएको अवस्थामा रहेको भनी उल्लेख भएको देखिन्छ । पीडितको योनि वरिपरि घाउचोट नभएको तथा वीर्य स्खलन भएको नदेखिएको भन्ने आधारमा मात्र जबरजस्ती करणी भएको थिएन भनी भन्न मिल्दैन । यसै सन्दर्भमा नेपाल सरकार विरूद्ध मुवारक मिल मुसलमान‚ ने.का.प. २०६७‚ नि.नं. ८४६६‚पृ.१५८८ भएको जबरजस्ती करणी मुद्दामा यसै अदालतबाट नाबालिकालाई सुताएको र निजमाथि आपराधिक कार्य गरेको देखिइसकेपछि पीडितको योनिभित्र प्रतिवादीले पुरै लिङ्ग प्रवेश गरेको‚ नगरेको र योनिभित्र वीर्य स्खलन भयो वा भएन भन्ने कुराले कुनै महत्त्व राख्दैन । संवेदनशील ठाउँमा अर्थात् योनि क्षेत्रमा लिङ्गको घर्षण पनि जबरजस्ती करणी प्रमाणित हुन पर्याप्त हुन्छ भनीसमेत व्याख्या भएको देखिन्छ ।
१८. जबरजस्ती करणीको अपराध स्थापित हुनको लागि आवश्यक दोस्रो तत्त्व भनेको सहमतिको अभाव हो । अर्थात् करणी गर्ने मानिसले पीडितको सहमति बिना करणी गरेको हुनुपर्छ । यद्यपि नाबालकउपर गरेको करणीमा सहमतिको मतलब हुँदैन र नाबालकउपर सहमति मै करणी गरेको भए तापनि उक्त कार्य जबरजस्ती करणी नै मानिन्छ । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी (Statutory rape) गरेको ठहर्छ भनी व्यवस्था गरिएको छ । सहमतिको लागि उमेर आवश्यक पर्ने (Age of Consent) कानूनी अवधारणा हो र विश्वका धेरै देशले यस अवधारणालाई अङ्गिकार गरेका
छन् । प्रस्तुत मुद्दामा पीडित नाबालक भएको जिकिर वादी पक्षले लिएको छ भने प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूले पीडित १६ वर्ष भन्दा माथिको भएको जिकिर लिएको भए तापनि प्रस्तुत मुद्दामा अस्पतालले पीडितको परीक्षण गर्दा सोह्र तलमाथि हुन सक्ने (From the physical, dental and radiological examination of Yamuna Rai, I am of the opinion that the age of individual is around १६ + or - ) भनी उल्लेख गरेको छ तर विद्यालयको भर्ना रजिस्ट्रर र District level examination board ले जारी गरेको प्रमाणपत्रमा पीडितको जन्ममिति २०५३।४।२ नै भनी उल्लेख भएको देखिन्छ । बाल न्याय (कार्यविधि) नियमावली, २०६३ को नियम १५ ले बालकको उमेरसम्बन्धी विवाद उत्पन्न भएको अवस्थामा बालकको जन्म हुँदा अस्पतालबाट जारी भएको जन्ममिति‚ पन्जाधिकारीबाट जारी भएको जन्मदर्ता‚ विद्यालय भर्ना अभिलेख र सरकारी अस्पतालबाट प्रमाणित उमेरलाई क्रमशः प्राथमिकरण गरेको
देखिन्छ । यस अवस्थामा अस्पतालको परीक्षणले अस्पष्ट प्रतिवेदनभन्दा विधालयको भर्ना अभिलेखले मान्यता पाउनु पर्ने देखिन्छ । सो आधारमा हेर्दा घटना भएको मिति २०६७।११।२२ मा पीडितको उमेर १४ वर्ष ७ महिना भएको देखिन्छ । तसर्थ वारदात भएको मितिमा पीडित नाबालक रहेको कुरा पुष्टि हुन
जान्छ । अतः माथि विवेचित आधारमा प्रतिवादी लाक्पा शेर्पाले पीडितलाई जबरजस्ती करणी गरेको
देखिन्छ । नाबालकको ईच्छासहितको वा सहमतिसहितको सम्बन्ध हो वा होइन भन्ने कुराको कुनै अर्थ रहँदैन ।
१९. अब प्रतिवादीहरूले पीडित जाहेरवालीलाई अभियोग मागदाबीबमोजिमको मानव बेचबिखन तथा ओसारपसार गर्ने काम गरेका हुन्, वा होइनन् ? भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा वादी नेपाल सरकारले प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३,४(२)(ख) विपरीतको कसुर गरेको भनी जिकिर लिएका छन् । उपर्युक्त ऐनको उल्लिखित दफामा निम्न बमोजिमको व्यवस्था गरेको देखिन्छ ।
दफा ३ " मानव बेचबिखन र ओसारपसार गर्न नहुनेः
(१) कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्न गराउन हुँदैन ।
(२) कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐनबमोजिमको कसुर गरेको मानिनेछ ।"
(३) दफा ४(२)(ख) "वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिलाई छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने ।"
२०. यसरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को उल्लिखित व्यवस्था हेर्दा प्रस्तुत मुद्दामा पीडित जाहेरवालीलाई कानूनले परिभाषा गरेबमोजिम प्रतिवादीहरूद्धारा बेचिएको, ओसारपसार गरिएको वा वेश्यावृत्तिमा लगाइएको भन्ने तथ्य स्थापित हुन सकेको छैन । त्यस्तै दफा ४ को २ (ख) मा भएको वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले पीडितलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने काम प्रतिवादीहरूबाट भएको भनी खुल्न र पुष्टी हुन आएको देखिँदैन । पीडित र प्रतिवादी लाक्पा शेर्पाबीच मोबाइलमा भएको सल्लाहअनुसार प्रतिवादीहरू पीडितको ठाउँमा पुगेकोसम्म देखिन्छ तर प्रतिवादीहरूले पीडितलाई बेचबिखन गर्ने नियतले एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गरेको देखिँदैन । वादीले पेस गरेको अभियोगपत्रमा अभियोग दाबीलाई पुष्टि गर्नको लागी जाहेरी दरखास्त, पीडितको प्रमाणित बयान र बकपत्रहरू पेस भएका हुन् । तर ति कागजातहरू केवल शंका र अनुमानमा आधारित रहेको देखिन्छ । त्यसैगरी प्रतिवादीहरूले अनुसन्धान अधिकारी समक्षको बयान तथा अदालतको बयानमा मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको होइन भनी इन्कारी बयानसमेत गरेका छन् । प्रतिवादीहरू पीडितको मामाघरमा पुगेको र सोही स्थानमा भोलिपल्ट पक्राउ परेको अवस्था रहेको हुँदा पीडितलाई कहिँकतै लगेको वा ओसारपसार गरेको देखिँदैन । अपराध हुनको लागि आपराधिक मनसाय (Mens Rea) र आपराधिक कार्य (Actus Reus) बाट समर्थित भएको हुनुपर्छ । कसैको शंका वा अनुमानको आधारमा वारदात स्थापित हुन सक्दैन । प्रतिवादीहरूले पीडितलाई फकाउने उद्देश्यले कुनै चिजवस्तु ल्याएको, उपहारमा दिएको वा लैजाने बन्दोबस्तको व्यवस्था गरेको लगायतका प्रमाणहरू र आधारहरूसमेत नदेखिएको अवस्थामा प्रतिवादीहरूले अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको भन्ने अभियोग शंकारहित तवरबाट पुष्टि हुन आएन । यस अवस्थामा प्रतिवादीहरू उपरको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको अभियोग दाबी पुग्न नसक्ने ठहर्याई सुरू संखुवासभा जिल्ला अदालतले गरेको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेकै देखिन्छ । प्रतिवादीहरूले पीडित जाहेरवालीलाई अभियोग माग दाबीबमोजिमको मानव बेचबिखन तथा ओसारपसार गर्ने काम गरेको देखिँदैन ।
२१. अब प्रतिवादी सागर शेर्पाले पीडितलाई जबरजस्ती करणी गरेको हो वा होइन भन्ने तेस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा सुरू जिल्ला अदालतबाट निज प्रतिवादीलाई जबरजस्ती करणी गरेको ठहर्याई सजाय भएको रहेछ भने पुनरावेदन अदालत, धनकुटाबाट निजले जबरजस्ती करणी गरेको नठहरिने गरी सुरू जिल्ला अदालतको फैसला उल्टी गरेको रहेछ । फौजदारी मुद्दाको उठान जाहेरी दरखास्तबाट हुन्छ जसमा अपराधको सम्बन्धमा पहिलो सूचना दिइन्छ । प्रस्तुत मुद्दामा पीडित स्वयम्ले दिएको मिति २०६७।११।२७ को जाहेरी दरखास्तमा प्रतिवादी सागर शेर्पाले करणी गरेको भनी उल्लेख गरिएको छैन । जाहेरवालीसँग अनुसन्धान अधिकृतले मिति २०६७।११।२९ मा गराएको बयान कागजमा पनि सागर शेर्पाले करणी गरेको भनी उल्लेख गरिएको छैन । केवल बयान प्रमाणित गराउने प्रयोजनको लागि निजसँग गराइएको बयानमा प्रतिवादी सागर शेर्पाले पनि करणी गरेको भन्नेसम्म उल्लेख भएको छ । सुरू जिल्ला अदालतले पीडितले अदालतमा आई बकपत्र गर्दा सागर शेर्पाले करणी गरेको भनी उल्लेख गरेकै आधारमा निज प्रतिवादीलाई जबरजस्ती करणी गरेको ठहर्याई सजाय गरेको देखिन्छ । निश्चय नै जबरजस्ती करणी जस्तो संवेदनशील मुद्दामा पीडितको भनाइलाई अदालतले गम्भिरताका साथ लिनु पर्छ । तर त्यस्तो गर्दा पीडितको भनाइलाई अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणले पनि पुष्टि गरेको हुनुपर्छ । शंकारहित तवरबाट पुष्टी भए मात्र आरोपित कसुरदार ठहरिने (Guilty should be proved reasonable doubt) प्रतिवादीको अधिकार जुनसुकै मुद्दामा सुरक्षित रहेको हुन्छ । प्रस्तुत मुद्दामा पीडितले मौकामा दिएको जाहेरी तथा प्रहरीसमक्ष गरेको बयानमा प्रतिवादी सागर शेर्पाले जबरजस्ती करणी गरेको भनी कहिँकतै उल्लेख नगरेको अवस्थामा अदालतमा बयान सनाखत गर्दा सागर शेर्पाले जबरजस्ती करणी गर्यो भनी लेखाइदिएको कारणले मात्र प्रतिवादीलाई जबरजस्ती करणीजस्तो गम्भिर फौजदारी अभियोगमा दोषी ठहर्याउन न्यायसङ्गत हुने देखिँदैन । मुद्दाको वस्तुगत तथ्य तथा अन्य वैज्ञानिक प्रमाणहरूबाट पनि प्रतिवादी सागर शेर्पाले जबरजस्ती करणी गरेको पुष्टि हुन सकेको छैन । केवल पीडितले अदालतसमक्ष बयान सनाखतको क्रममा दोष लगाउनुलाई पर्याप्त प्रमाण र आधार मान्न सकिँदैन ।
२२. अब वादी नेपाल सरकार र प्रतिवादी लाक्पा शेर्पाको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन सो सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालत, धनकुटाले जबरजस्ती करणीको महलको ९(क) नं. लगाई ७ वर्ष कैद र पीडितलाई रू.५०,०००।- क्षतिपूर्ति भराउने गरी फैसला गरेको उपर वादी प्रतिवादी दुवैको पुनरावेदन परेको छ । यस सम्बन्धमा पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी लाक्पा शेर्पालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. बमोजिम सजाय गरेको रहेछ । मुलुकी ऐन, जबरजस्ती करणीको ९क तत्कालीन व्यवस्थामा कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं बमोजिम हुने सजायमा थप १ वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिब माफिकको क्षतिपूर्तीिमेत भराई दिनुपर्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त ९क नं. को संरचनाले नाबालकलाई अप्राकृतिक मैथुन गरेमा थप १ वर्ष कैद हुने भन्ने देखिन्छ । सजाय भने जबरजस्ती करणीको ३ नं. अनुसार गर्नुपर्ने भन्ने उक्त ९क मा प्रयुक्त वाक्यांशले नै स्पष्ट पारेको छ । सर्वप्रथम जबरजस्ती करणीको ३ नं. अनुसार सजाय गरी ९क अनुसार थप सजाय र क्षतिपूर्ति भराई दिनुपर्ने भन्ने देखियो । पीडितको उमेर १४ वर्ष ७ महिना देखिन आएकोले प्रतिवादी लाक्पा शेर्पालाई जबरजस्ती करणीको ३(३) नं. अनुसार ६ वर्ष कैद र ऐ.को ९क अनुसार थप १ वर्ष कैदसमेत गरी ७ वर्ष कैदको सजाय हुने देखिन्छ । उक्त ९क नं. मा उल्लेख भएको "यसै महलको ३ नं. बमोजिम हुने सजाय" भन्ने वाक्यांशले गर्दा पुनरावेदन अदालत, धनकुटाले सो ३ नं. र ९क नं. लाई एकमुष्टरूपमा मिलान गरी ९क नं. बमोजिम प्रतिवादी लाक्पा शेर्पालाई ७ वर्ष कैदमा सजाय निर्धारण गरेको पाइयो । सो निर्धारण भएको कैदको सजाय घटीबढी नपरेको हुँदा पुनरावेदन अदालत, धनकुटाको फैसला कानून प्रयोगको दृष्टिकोणले पनि तात्विक फरक पर्न जाने देखिन आएन ।
२३. प्राकृतिकरूपमा यौन सम्बन्ध एउटा आयाम हो । जँहा स्वइच्छा वा सहमति बिना जबरजस्ती करणीमा अपराध केन्द्रित हुन्छ । विपरीत लिङ्ग बीच असहमति र नाबालकसँग सहमतिको सम्बन्धलाई अपराधको दायरामा ल्याइन्छ । तर आज प्रविधिको विकाससँगै यौनलाई वस्तुकरण (Commodification) गर्ने गराउने स्थिति आएको
छ । यहाँ पुरूषले महिलालाई बलात्कार गर्नेभन्दा माथि महिलाले आफ्नो लिङ्ग र पहिचान ढाँटी कृत्रिम यौन साधनको प्रयोग गरी नाबालिकाको शरीर विरूद्ध हिंसा गरिएको देखिन्छ । यस्तो क्रिया कानून, व्यवहार र न्यायको दृष्टिमा सह्य नहुने अपराधजन्य कार्य हुँदा पुनरावेदन अदालत, धनकुटाको फैसला सदर हुने ठहर्छ ।
२४. त्यसैगरी प्रतिवादीहरू मानव बेचबिखन कार्यमा संलग्न भएको नदेखिँदा प्रतिवादीहरू उपरको मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको अभियोग दाबी पुग्न नसक्ने ठहराई सुरू संखुवासभा जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला मिलेकै देखिन्छ ।
२५. प्रतिवादी सागर शेर्पालाई जबरजस्ती करणीको अभियोगमा सफाइ दिने गरी पुनरावेदन अदालत, धनकुटाले गरेको फैसलाको हकमा हेर्दा प्रतिवादी सागर शेर्पालाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(३) बमोजिम ६ वर्ष र ऐ.को ३(क) बमोजिम थप ५ वर्ष कैदको सजायसमेत गर्ने गरी सुरू संखुवासभा जिल्ला अदालतबाट भएको फैसला उल्टी हुने गरी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला मिलेकै देखिन्छ ।
२६. अतः संखुवासभा जिल्ला अदालतको मिति २०६९।३।२० को फैसला केही उल्टी हुने गरी पुनरावेदन अदालत, धनकुटाले गरेको मिति २०७०।२।२१ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी लाक्पा शेर्पाको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत:- सन्देश श्रेष्ठ
इति संवत् २०७३ साल भदौ १६ गते रोज ५ शुभम् ।