निर्णय नं. ९६८८ - गुठी धर्मलोप, गुठी कायम

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।६।६
०६९-NF-००१२
मुद्दा : गुठी धर्मलोप, गुठी कायम
निवेदक/वादी : काठमाडौंं जिल्ला काठमाडौंं महानगरपालिका वडा नं. २० बस्ने योग्यरत्न ताम्राकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : ऐ.ऐ. बस्ने पुण्यरत्न ताम्राकारसमेत
वस्तुतः विवादित कि.नं. १८७ को जग्गाको प्रकृति (गुठी र रैकर) के हो भन्ने प्रमाणबाट विवेचना नै नगरी प्रथम दृष्टिमा नै कुन हदम्याद आकर्षित हुने भनी पूर्वअनुमान गर्न मिल्दैन । अर्थात् गुठी वा रैकर के रहेछ भनी जाँचबुझ प्रमाण मूल्याङ्कन नै नभई प्रारम्भिकरूपमा नै हदम्यादको प्रश्न हेर्न मिल्ने यो मुद्दाको तथ्यबाट देखिन नआउने ।
(प्रकरण नं. ५)
मुलुकी ऐन, गुठीको महलको ३(२) को कानूनी व्यवस्थाबाट गुठीको घर जग्गा बेचबिखन दान दातब्यसमेत केही गरी दिन र गुठीको दानपत्र शिलापत्रसमेतको लिखतबमोजिमको काम नचलाई धर्मलोप गर्न हुँदैन भनी स्पष्ट कानूनी व्यवस्था गरेको पाइयो । पिता पुर्खाले गुठीमा राखेको जग्गा प्रतिवादी पुण्यरत्नले रैकर भनी आफ्नो नाउँमा दर्ता गरी आफ्नै श्रीमती तथा भाइलाई हक हस्तान्तरणसमेत गरेको देखिन्छ । सो गुठी दानपत्र शिलापत्रसमेतको लिखत गरी राखेको देखिँदैन ।
“धर्मलोप गरेको" भन्ने देखिन आएको अवस्थामा गुठीको महलको १६ नं. को हदम्यादसम्बन्धी खुला (Open Space) व्यवस्था नै आकर्षित हुने भई धर्मलोप गरेको अवस्थामा जहिले सुकै हकदारले नालिस दिन सक्ने गरी हदम्यादको अवधारणालाई नियन्त्रण गरेको भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. ३२)
गुठी जस्तो मौलिक पहिचान भएको संस्कृति परम्परा सभ्यतालाई नै लोप गर्ने कार्यको लागि नियन्त्रित हदम्यादको व्यवस्था नराख्ने विधायिकी मनसाय रहेको स्पष्ट छ । त्यसैले प्रस्तुत फिराद गुठीको १६ नं. को हदम्यादभित्र रहेको पाइने ।
(प्रकरण नं. ३३)
निजी गुठीको जग्गा प्रतिवादीले एकलौटी दर्ता गराएको सो दर्ता तथा सो दर्ताको आधारमा प्रतिवादी तारादेवी र केशरत्नको नाउँमा हस्तान्तरण भई गएको लिखत दर्तासमेत बदर भई वादीको समेत हक रहने गरी सो हदसम्मको जग्गाको निजी गुठी कायम गर्नुपर्ने देखिन आएको छ । मुलुकी ऐन, गुठीको ३(२) नं. मा घर गुठी राखेकोमा धर्मलोप गर्नेले पनि शेष बाँकी ऐनबमोजिम बन्डा गरी खान पाउने हुँदा र प्रतिवादी पुण्यरत्नले आफ्नो नाउँमा दर्ता गरी आफ्नै श्रीमती, भाइलाई सम्म हस्तान्तरण गरेको अंशियारबाहेक अन्यत्र जग्गा दिएको नदेखिई प्रतिवादीमध्ये पुण्यरत्नले धर्मलोप गरेको देखिए पनि शेष बाँकी बन्डा गरी खान पाउने ।
(प्रकरण नं. ३६)
निवेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता इश्वरीप्रसाद भट्टराई
विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता हिरा रेग्मी र मनुबहादुर गुरूङ
अवलम्बित नजिर :
नेकाप २०४३, अंक ९, नि.नं.२८५६
नेकाप २०५२, अंक १, नि.नं.५०३७
सम्बद्ध कानून :
गुठीको महलको ३, ४ र १६ नं.
पुनरावेदनमा फैसला गर्ने :
मा.न्या. श्री अली अकवर मिकरानी
मा.न्या. श्री हरिबहादुर बस्नेत
सर्वोच्च अदालतमा फैसला गर्ने :
मा.न्या. श्री ताहिर अली अन्सारी
मा.न्या. श्री भरतराज उप्रेती
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः
हाम्रा पुर्खाले धर्म किर्ती परम्परालार्इ जीवन्त कायम राख्नको लागि विभिन्न कार्य पूजा, देवको लागि वा देवताको नाममा गुठी जग्गा राखी आएका छन् । यी विपक्षीहरू पुण्यरत्न ताम्राकार र केशरत्न ताम्राकार फिरादीका काका नाताका हुन् । पुर्खाको गुठी राखेको जग्गा सोहीबमोजिम देव पूजा गरी आउनु पर्ने र गुठी आलो–पालो चलाई सोको शेष नियमबमोजिम गरि खानुपर्नेमा चोकमा अवस्थित भगवानको नाउँमा राखेको साबिक उजुरी १..=..=३२ को जग्गा नापीमा काठमाडौंं जिल्ला, बालाजु गाउँ विकास समिति वडा नं. १ कि.नं. १८७ को क्षेत्रफल १–९–२ को जग्गा मालपोत कार्यालय काठमाडौंंबाट मिति २०३९।९।१३ मा रैकर दर्ता गरी विपक्षी पुण्यरत्नले आफ्नै रैकर भनी मिति २०४४।१२।२१ मा न्हुच्छेनारायणलाई, मिति २०५५।१।१७ मा श्रीमती तारादेवी ताम्राकारलाई तथा मिति २०५५।१।२४ मा केशरत्नलाई गरेको हक हस्तान्तरण गुठीको ३ नं. र ४ नं. को आधारमा दूषित तथा धर्मलोप हुने हुनाले मिति २०३९।९।१३ को दर्तालाई धर्मलोपको आधारमा बदर गरी काठमाडौंं जिल्ला, बालाजु गाउँ विकास समिति वडा नं. १ कि.नं. १८७ को जग्गालाई यथावत् गुठी कायम गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत व्यहोराको मुख्य फिराद दाबी ।
फिराद माग दाबी झुठ्ठा हो । मेरो उक्त विवादित जग्गा कामरू ल.नं. ३०५, ३०६ हा.नं. १६९२ उजुरी ..=.. उजुरी १ जग्गा १..=.. बाट भिडी दर्ता हुन आएको हो । जुन कुरा मालपोत कार्यालयको लगत शाखाबाट मिति २०३८।१२।२९ मा भिडाएकोबाट पनि स्पष्ट हुन्छ । तसर्थ, अ.बं. १८० अनुसार सुरूदेखि नै फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पुण्यरत्न र तारादेवी ताम्राकारको संयुक्त प्रतिउत्तर जिकिर ।
फिराद माग दाबी झुठ्ठा हो । उक्त जग्गा कुनै पनि हालतमा गुठी होइन । कि.नं. १८७ को जग्गा साबिक लगत स्रेस्ता हा.नं. १२९२ को साबिक लगत हेरिएमा पनि उक्त जग्गा गुठी होइन रैकर हो भन्ने तथ्य निर्विवादरूपमा पुष्टि हुन्छ । उक्त जग्गा हा.नं. १२९२ को रसिद एवं मोठ स्रेस्ता हेरिएमा पनि कहीँकतै गुठी जनाउने कुनै शब्द छैन । २००२ सालको लिखत हेरे देखेमा सद्दे, किर्ते जालसाजीमा नामाकरण गर्ने छौं भन्नेसमेत व्यहोराको प्रतिवादी केशरत्न ताम्राकारको प्रतिउत्तर जिकिर ।
मैले मिति २०४४।१२।२१ मा र.नं. ५५२५(क) अन्तर्गत पाएको मोही छोडपत्र लिखत गैरकानूनी नभई कानूनसम्मत हुँदा उक्त लिखतलाई यथावत् कायम राखी पाउँ भन्ने प्रतिवादी न्हुच्छेनारायण महर्जनको मुख्य प्रतिउत्तर जिकिर ।
वादी दाबीको कि.नं. १८७ को जग्गा भगवानको पूजा चलाउनको लागि राखिएको निजी गुठी रहेछ भन्ने पुष्टि हुन आएकोले सो जग्गामा मोहीको हैसियतले प्रतिवादीमध्येका न्हुच्छेनारायण महर्जनले प्रतिवादी पुण्यरत्नबाट २०४४ सालमा मोही भागको जग्गा छोडपत्रबापत प्राप्त गरेको मिसिल संलग्न छोडपत्र लिखतको फोटोकपीबाट देखिँदा सो जग्गामा २०४५ सालमै काठमाडौंं उपत्यका नगर विकास योजनाबाट घर बनाउन नक्सा पाससमेत भएको र कि.नं. ५८८ को ०–७–२ जग्गाको हकमा न्हुच्छेनारायणकै हुने सोबाहेक प्रतिवादी पुण्यरत्नको नाममा बाँकी रहेको कि.नं. ११९४ को क्षेत्रफल ०–५–० जग्गा र तारादेवीको नाममा गएको कि.नं. ११८८ को ०–६–० जग्गासमेत निजी गुठीकै देखिएको, प्रतिवादी केशरत्नको नाममा गएको ०–५–० जग्गा अन्यत्र हक हस्तान्तरण गरी सकेको हुँदा दे.नं. ४९३५ को लिखत बदर मुद्दाको हकमा पछि ठहरेबमोजिम हुने नै हुँदा प्रतिवादी पुण्यरत्नको नाममा रहेको, प्रतिवादी तारादेवीको नाममा गएको जग्गा र प्रस्तुत दे.नं. १११२/४२०२ को मुद्दामा दाबी लिएको प्रतिवादी केशरत्नको नाममा उल्लिखित तीन कित्ता जग्गासम्ममा भगवानको पूजाआजा चलाउने निजी गुठी कायम भई मिति २०३९।९।१३ मा प्रतिवादी पुण्यरत्नले आफ्नो नाममा दर्ता गराएको जग्गामध्ये प्रतिवादी केशरत्न, तारादेवीको नाममा गराएको जग्गा र प्रतिवादी पुण्यरत्नको नाममा बाँकी रहेको उल्लिखित जग्गासम्म निजी गुठी कायम भई प्रतिवादी पुण्यरत्नको नाममा भएको एकलौटी दर्ता तथा सो दर्ताको आधारमा प्रतिवादी केशरत्न तथा तारादेवीको नाममा हक हस्तान्तरण भई गएको दर्ता समेत बदर भई वादीको समेत गुठी जग्गामा हक रहने गरी सो हदसम्मको जग्गा वादी दाबीमा उल्लेख भएअनुसार भगवानको पूजा सञ्चालनसमेतको लागि निजी गुठी कायम हुने ठहर्छ । गुठीको ३ र ४ नं. अनुसार गुठियारसमेत राखी गुठी खाने वा गुठी राख्नेका सन्तान हकदारले गुठीको सम्बन्धमा यसो यसो गर्नु भन्ने कुनै लिखत, दानपत्र शीलापत्रसमेत रहे भएको नपाइनुका साथै लिखतबमोजिमको काम नभई गुठी चलाउनेले लिखतबमोजिमको काम चलाएन भन्ने अवस्थासमेत नहुँदा प्रस्तुत मुद्दामा धर्मलोप गरेको भन्ने मिल्ने अवस्था नहुँदा धर्मलोप गरे भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू काठमाडौंं जिल्ला अदालतको मिति २०६१।११।२४ को फैसला ।
काठमाडौंं जिल्ला अदालतको मिति २०६१।११।२४ को इन्साफमा चित्त बुझेन । उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा २६, अ.बं. ८२ नं. जग्गा पजनीको १७ नं.र जग्गा मिच्नेको १८नं. विपरीत छ । फिराद दाबी हकदैयाविहीन छ । म पुनरावेदकको नाममा दर्ता रहेको काठमाडौंं जिल्ला,बालाजु १(क) कि.नं. ११९३ को ०–५–० जग्गा साबिक दर्तावाला पुण्यरत्न ताम्राकारका नाममा २०३९ सालमा रैकर दर्ता रही तह तह हक हस्तान्तरण हुँदै कि.नं. ११८९ को ०–१०–० जग्गा सो जग्गामध्येबाट कित्ताकाट हुँदै कि.नं.११९३ को ०–५–० जग्गा मिति २०५५।१।२४ मा म केशरत्न ताम्राकारले हालैको बकसपत्रको लिखत पारित गरिलिई आएको एकलौटी हकभोग दर्ताको जग्गामा निज विपक्षीको हकदैया छैन । सो जग्गाको केवल ल.नं. ३०६ हा.नं. १२९२ बाट भिड्ने पारिवारिक गुठी जग्गा हो भन्ने आधारमा एकको जग्गा अर्काको हकमा जान रहन सक्दैन । तसर्थ, उक्त त्रुटिपूर्ण फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी केशरत्न ताम्राकारले पुनरावेदन अदालत, पाटनमा लिएको पुनरावेदन जिकिर ।
काठमाडौंं जिल्ला अदालतको मिति २०६१।११।२४ को फैसला कानून र न्यायको दृष्टिमा समेत त्रुटिपूर्ण छ । प्रचलित कानूनले लाग्न नसक्ने फिराद पत्र खारेज गर्नुपर्नेमा सो नगरी कि.नं. १८७ नं. को जग्गामध्ये कित्ताकाट भएका कि.नं. ११९४, ११८८ र ११९३ समेतका ३ कित्ता जग्गालाई निजी गुठी कायम गरेको काठमाडौं जिल्ला अदालतको उक्त फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तारादेवी ताम्राकार र पुण्यरत्न ताम्राकारले पुनरावेदन अदालत, पाटनमा दिएको संयुक्त
पुनरावेदन ।
काठमाडौंं जिल्ला अदालतले गुठी जग्गालाई गुठी ठहर नगरेको तथा लिखतसमेत बदर नगरेको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो फिराद दाबीबमोजिम काठमाडौंं जिल्ला, काठमाडौंं महानगरपालिका वडा नं. १(क) कि.नं. १८७ बाट कित्ताकाट भई हक हस्तान्तरण भएको तह तहको सम्पूर्ण दर्ता तथा लिखतहरू बदर गरी सम्पूर्ण विपक्षीहरूले गुठी धर्मलोप गरेको ठहर गरी सम्पूर्ण जग्गा मेरा नाउँमा मात्र गुठी कायम दर्ता हुने गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको बादी योग्यरत्न ताम्राकारले पुनरावेदन अदालत, पाटनमा लिएको पुनरावेदन जिकिर ।
यसमा अलग अलग लगतको भन्ने दाबीसमेत नभएको अवस्थामा एउटै कित्ताको केही भाग गुठी र केही भाग रैकर कायम हुने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसला फरक पर्न सक्ने भएकोले छलफलको निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई लगाउको अरू मुद्दा साथै राखी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६२।११।४ को आदेश ।
प्रचलित कानून लाग्न नसक्ने विपक्षीको फिरादपत्र ठाडै खारेज गर्नुपर्नेमा सो नगरी कि.नं. १८७ को जग्गामध्ये केही जग्गालाई रैकर र केहीलाई गुठी कायम गर्ने गरेको काठमाडौंं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । मोहीले लिएको भाग जति रैकर हुने र अन्य भाग गुठी कसरी हुन्छ । उल्लिखित कि.नं. १८७ को जग्गाको म मोही न्हुच्छेनारायणले मालपोत कार्यालयमा गई मिति २०३९।९।२२ मा दिएको मन्जुरीनामाको कागजमा पुण्यरत्नको नाउँमा दर्ता गरी दिएमा मन्जुरी छ भनी राखेको स्थितिलाई बुझ्दै नबुझी गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुँदा प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोरा प्रतिवादी न्हुच्छेनारायणले पेस गरेको लिखित प्रतिवाद ।
यसमा पूर्व आदेशानुसार विवादित कि.नं. १८७ को जग्गा पुण्यरत्न ताम्राकारको नाउँमा रैकर दर्ता गरी दिने भनी मिति २०३९।९।१३ मा भएको निर्णयसहितको मिसिल प्राप्त भएको नदेखिएकोले अब सो मिसिल संलग्न कागज प्रमाणको प्रमाणित प्रतिलिपि वादी प्रतिवादीहरूसँग जे जति छ, सो दुवै पक्षबाट पेस गर्न लगाउनू । मिसिल प्राप्त नभएकोतर्फ मालपोत कार्यालयले पठाएको मिति २०६४।५।२३ को पत्रको प्रतिलिपिसमेत राखी त्यसको आधारमा तत्काल खोजतलास गरी ७ दिनभित्र पठाउनु भनी पुनः काठमाडौंं जिल्ला अदालतका स्रेस्तेदारका नाउँमा पत्र लेखी पठाउनु भन्नेसमेत पुनरावेदन अदालत, पाटनको मिति २०६४।९।२३ को आदेश ।
विवादित जग्गा गुठीको भनी वादीले दाबी लिए पनि गुठी नै हो भन्ने ठोस लिखत प्रमाणबाट पुष्टि गर्न सकेको देखिन आएन । विवादको जग्गाको मोहीले प्राप्त गरेको जोताहाको अस्थायी निस्सामा पनि गुठी भन्ने उल्लेख नभएको र फिराद गर्दा वादीले गुठी कायम गरी आफ्नो नाउँ दर्ता गरिपाउँ भनी उल्लेख गरेबाट गुठी कायम भए गुठियार सबैको नाउँमा गुठी जनाई दर्ता गरिपाउँ भनी माग गर्नुपर्नेमा एकलौटी दर्ता गरिपाउँ भन्ने व्यहोरा ऐन कानूनसम्मत
देखिएन । साबिक लगत १६९२ बाट भिड्ने जग्गा हो भन्ने व्यहोरामा दुवै पक्षको मुख मिलेको र सो लगत रैकर परिणत भइसकेको अवस्था हुँदा गुठी भन्न मिल्ने भएन । जहाँसम्म मोहीले गरिदिएको भरपाईबाट गुठी भन्ने जनिएको भन्ने जिकिर छ । २०४४ सालमा ०–७–० जग्गा लिई मोही छोडपत्र गरेपश्चात् निजले गरिदिएको भरपाईको व्यहोरा प्रमाणयोग्य मान्न
मिलेन । अतः कि.नं. १८७ को १–९–२–० जग्गामध्ये मोही न्हुच्छेनारायण महर्जनले प्राप्त गरेको कि.नं. ५८८ को ०–७–२–० को जग्गाबाहेक अन्य तह तह हक हस्तान्तरण भएको जग्गा निजी गुठी कायम गरेको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६१।११।२४ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई निजी गुठी कायम गरी धर्मलोप ठहर गरिपाउँ भन्ने वादी दाबी र पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।६ को फैसला ।
विवादित साबिक बालाजु १क कि.नं. १८७ को १–९–२ जग्गा सगोलको पारिवारिक निजी गुठीको जग्गा भएकोमा विपक्षी पुण्यरत्नले रैकर जग्गा भनी एकलौटी दर्ता गरी मोही छुट्याई आफ्नो श्रीमती तारादेवी, भाइ केशरत्न र केही जग्गा उनाउ व्यक्तिलाई हस्तान्तरण गरी गुठी धर्मलोप गरेको तथ्यमा विवाद छैन । विवादित जग्गाको निजी गुठी राखेको कुनै लिखत नभए पनि पुर्खा ज्ञानमुनिका पालादेखि हामी दुवै पक्षको साझा चोकमा रहेको भगवान बुद्धको प्रतिमामा पूजा गर्न निजी गुठीको रूपमा राखिएको र निज पुर्खाको शेषपछि विपक्षी पुण्यरत्न तथा केशरत्नका पिता निलमुनी एवं मेरो बाजे चिढीरत्न र वहाँहरूको पनि शेषपछि विपक्षी पुण्यरत्न तथा मेरा पिता लक्ष्मीरत्नको हक हुन आई आलोपालो गुठी चलाई आएको तथ्यमा समेत कुनै विवाद छैन । लिखतै नभए पनि पुर्खाले जुन कार्यका लागि गुठी राख्नु भएको हो, सो कार्य निरन्तर चलाउनकै लागि सो जग्गा बन्डा नगरी अबन्डा राखी निरन्तर आलो पालो गुठी चलाई आएको हो । यसरी गुठी निरन्तर चलाउनका लागि राखिएको गुठी जग्गा शेरमान महर्जनलाई कमाउन दिइएको र निजले समेत गुठी चलाउनेलाई आलो पालो बाली बुझाई आउने क्रममा गुठी जग्गाको कुतबाली बुझाई भरपाई लिनुदिनु गरेको अवस्था विद्यमान छ । उक्त भरपाईहरू विपक्षी पुण्यरत्नले जालसाजी हो भनी नामाकरण गरेकोमा विशेषज्ञको जाँच गराउँदा सद्दे ठहर भई आएको छ । यसरी साबिकदेखि निजी गुठीको रूपमा रही दाजुभाइहरूले आलोपालो गरी गुठी चलाई अबन्डा गोश्वारा राखिएको जग्गा एउटै हाँगातर्फका व्यक्तिले दर्ता गरी आफूखुशी हकहस्तान्तरण गरेको कार्यलाई गुठी धर्मलोप ठहर नगरिएको र परापूर्वकालदेखि चलिआएको गुठी परम्परा र गुठियारका सन्तानहरूको हकसमेत समाप्त हुने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबी एवं पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादी योग्यरत्न ताम्राकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।
यसमा यसै लगाउको ०६५-CI-३०८ को गुठी धर्मलोप मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले यसमा पनि सोही कारण र आधारबाट अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६६।८।७ को आदेश ।
प्रतिवादी पुण्यरत्न ताम्राकारले विवादित जग्गा मालपोत कार्यालय, काठमाडौंंबाट मिति २०३९।९।१३ मा रैकर दर्ता गराएउपर यी वादीको समेत हक भए उसैबेला यी वादीले नालेस गर्न सक्नुपर्नेमा सो गरेको मिसिलबाट देखिन आउँदैन । यी वादीले गुठीको ५ नं. अन्तर्गतको हदम्यादभित्र नालेस गरेको भनी भन्न सकेको पाइँदैन । यस्तो अवस्थामा उल्लिखित दर्ता एवं हक हस्तान्तरणउपर उजुर नगरी चित्त बुझाई बसेको अवस्थामा सो जग्गा गुठीको भएकोले उल्लिखित हक हस्तान्तरणबाट धर्मलोप भयो भनी हाल आएर गुठीको १६ नं. ले हदम्याद उल्लेख नगरेको भनी अ.बं. ३६ नं. बमोजिम फिराद दायर गरेको अवस्थालाई गुठीको १६ नं. भित्र फिराद परेको भनी मान्न मिल्ने अवस्था देखिन आएन । गुठीसम्बन्धी कुनै लिखत छैन भनी वादीले स्वीकार गरेको देखिन्छ । वादी र प्रतिवादीमध्ये पुण्यरत्न ताम्राकारका बाबुहरू दाजुभाइ भएको नाताले मात्र तिनका पुर्खाले यो विवादित जग्गा निजी गुठीको रूपमा पूजा–आजा चलाउनका लागि राखेका हुन् र त्यसमा वादी प्रतिवादी सबैको हक लाग्छ भनी स्वभाविक निष्कर्ष निकाल्ने वा अनुमान गर्ने स्थिति रहेन । हदम्याद स्पष्टरूपमा ऐनले निर्धारित गरेको हुनुपर्छ । जुन कुराको लागि ऐनले हदम्याद निर्धारित गरेको छ, सोहीसँग सम्बन्धित विवादसम्बन्धी नालेस गर्न सो हदम्याद प्रयोग गर्न सकिन्छ । तानतून गरी वा अप्रत्यक्षरूपले हदम्याद कायम गराउने गरी गरिएको नालेस वा उजुरीलाई अनुमानको आधारमा कुनै पक्षको सुविधाअनुसार हदम्यादभित्रको उजुरी छ भनी व्याख्या गर्न मिल्ने होइन । धर्मलोपतर्फ नालेस गर्न गुठीको १६ नं. ले हदम्याद खुला राखेको भएपनि विवादित जग्गा प्रतिवादीले आफ्नो नाममा रैकर दर्ता गराएको र सो दर्ता गरिएको जग्गाको पटक–पटक हक हस्तान्तरणसमेत गरेको कार्यलाई अहिले आएर एकमुष्ट गुठी धर्मलोप गरिएको भनी परेको फिराद पत्र गुठीको १६ नं. ले तोकेको हदम्यादभित्र पर्न आएको
देखिएन । यसको अतिरिक्त दर्ता बदरतर्फ सम्बन्धित ऐनले छुट्टै हदम्याद निर्धारण गरेकोले सोसम्बन्धी विवादको हकमा गुठीको महल टेकेर अ.बं. ३६ नं. अनुसार खुला हदम्याद लागू हुन सक्दैन । तसर्थ, उल्लिखित आधार, कारणबाट प्रतिवादी पुण्यरत्नले २०३९ सालमा गराएको दर्ता, २०४४ सालमा गरिदिएको लिखत र मिति २०५५।१।१७ एवम् मिति २०५५।१।२४ मा गरिदिएको हक हस्तान्तरणसम्बन्धी लिखतहरू समेत बदरको माग गर्दै यी पुनरावेदक वादीले सुरू जिल्ला अदालतमा मिति २०५५।७।२९ मा दर्ता गराएको फिराद पत्र गुठीको १६ नं. बमोजिमको हदम्यादभित्र परेको नदेखिँदा यसको तथ्यभित्र प्रवेश गरी अन्य प्रमाणहरूको मूल्याङ्कन र विवेचना गरी ठहर इन्साफ गर्नुपर्ने देखिन आएन । हदम्याद नाघी दायर भएको प्रस्तुत फिराद पत्र खारेज गर्नुपर्नेमा तथ्यमा प्रवेश गरी फैसला गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।६ को फैसला नमिलेकाले सो फैसला उल्टी भई प्रस्तुत मुद्दामा यी पुनरावेदक वादीको फिराद दाबी नै खारेज हुने ठहर्छ भन्ने यस अदालतको मिति २०६७।८।१३ को फैसला ।
विवादित साबिक बालाजु १क को कि.नं. १८७ को क्षे.फ. १-९-२ जग्गा सगोलको पारिवारिक निजी गुठीको जग्गा भएकोमा विपक्षी पुण्यरत्नले रैकर जग्गा भनी एकलौटी दर्ता गरी मोही छुट्याई केही जग्गा आफ्नो श्रीमती र भाइको नाउँमा राख्ने गरी हक हस्तान्तरण गरी गुठी धर्मलोप गरेकोले फिराद दायर भएको हो । विवादित जग्गा विपक्षी पुण्यरत्न तथा केशररत्नका पिता निलमुनी र लक्ष्मीरत्नबीच मिति २००२/८/२३ मा बन्डापत्र हुँदा घर बगैँचा मात्र बन्डा गरी अन्य बिर्ता गुठी जग्गाहरू गोश्वारा कायम राखिएको कुरा उक्त बन्डापत्रबाट पनि स्पष्ट हुन्छ । उक्त कुरालाई २०१२/३/२७ को काठमाडौंं देवानी अदालत दोस्रो फाँटको फैसलाबाट पनि पुष्टि गरिएको अवस्था विद्यमान छ । विवादित जग्गा पुर्खाले जुन कार्यको लागि गुठी राख्नु भएको हो सो कार्य निरन्तर चलाउनको लागि सो जग्गा बन्डा नगरी अबन्डा नै राखी निरन्तर आलोपालो गुठी चलाई आएको हो । यसरी निरन्तर गुठी चलाउने प्रयोजनको लागि राखिएको गुठी जग्गा कमाउन शेरमान महर्जनलाई दिइएको र निजले समेत गुठी चलाउनेलाई आलोपालो बाली बुझाई आउने क्रममा गुठी जग्गा भनी प्रस्ट उल्लेख गरी कुत बुझाई भरपाई लिनु दिनु गरेको अवस्थामा उक्त भरपाईलाई किर्ते भनी विपक्षीले बयान गरेपछि विशेषज्ञ जाँच हुँदा सद्दे ठहर भई जग्गा गुठीको होइन भन्ने विपक्षीको प्रतिवाद जिकिर खण्डित भएको छ । यसरी विवादित जग्गा गुठीको जग्गा भएको कुरा निर्विवादरूपमा स्थापित भएको र त्यस्तो निजी गुठीको जग्गालाई रैकरमा दर्ता गरी हक हस्तान्तरणसमेत गरेबाट गुठीको सम्पत्ति हिनामिना भई गुठी सञ्चालन अवरूद्ध हुन पुगेको अवस्थामा गुठी धर्मलोप भएको स्पष्ट आधार र प्रमाण मिसिलमा छँदा छँदै धर्मलोपबाहेकको अन्य विषयमा उजुर गर्ने हदम्याद आकर्षित हुने भनी गुठीको १६ नं. को गलत अन्य व्याख्या गरी भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प.२०५२ अंक १ पृष्ठ ५९ (अशोक वीर सिंह वि. स्वयम्भुरत्न तुलाधर) नजिरसमेतको प्रतिकूल रहेको छ ।
साथै विवादित जग्गा विपक्षीले मिति २०३९/९/१३ मा आफ्नो नाउँमा रैकर दर्ता गरी मिति २०४४/१२/२१ मा न्हुच्छेनारायणलाई मोही हकबापत दिएको र मिति २०५५/१/१७ मा आफ्नै श्रीमती तारादेवीलाई र मिति २०५५/१/२४ मा भाइ केशरत्न ताम्राकारलाई हस्तान्तरण गरेको कुरा मिति २०५५/६/२६ मा थाहा पाई आवश्यक कागजातको नक्कल लिई सो कार्यलाई बदर गर्न मिति २०५५/७/२९ मा फिराद दर्ता गरेको अवस्था विद्यमान रहेको छ । उल्लिखित जग्गा पैतृकबाहेक अन्य स्रोत विपक्षीले देखाउन नसकेको उल्लिखित पैतृक सम्पत्ति निज विपक्षीको अंश भागमा परेको प्रमाणसमेत आउन नसकेको अवस्थामा जग्गा रैकर जग्गाको हकमा नालिस गर्न तत्काल प्रचलित कानून ज.प. १७ र ज.मि. को १८ नं. ले पनि थाहा पाएको मितिले मात्र छ महिनाभित्र नालिस गर्ने हदम्याद आकर्षित हुने र विपक्षीले आफ्नो श्रीमती र भाइको नाउँमा दिएको लिखतसमेत लेनदेन व्यवहारको महलको ४० नं. समेतको हदम्यादभित्रै रहेको अवस्थामा गुठीको १६ नं. को २ वर्षको हदम्याद व्यतित भयो भन्ने अर्थ गर्न कदापि मिल्ने अवस्था विद्यमान छैन भने यथार्थतामा जग्गा गुठी नै हुँदा गुठी जग्गा रैकर परिणत गरी हक हस्तान्तरण गर्ने कार्य माथि उल्लिखित नजिर सिद्धान्तको आधारमा गुठी धर्मलोप मानिने हुँदा त्यस्तो अवस्थामा गुठीको १६ नं. को हदम्याद व्यतित भएको भनी भएको फैसला पुनरावलोकनयोग्य रहेको छ । उपर्युक्तबमोजिम यस मुद्दाको निर्णय सर्वोच्च अदालतद्वारा नै प्रतिपादित पूर्व नजिरसँग बाझिई न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरी यस अघिको फैसला बदर गरिपाउँ भन्ने निवेदक वादी योग्यरत्न ताम्राकारले यस अदालतमा दिएको निवेदन ।
यसमा वादीका पिता लक्ष्मीरत्न ताम्राकार र प्रतिवादी पुण्यरत्न ताम्राकारका पिता निलमुनी ताम्राकारका बीच २००२/८/२३ मा भएको बन्डापत्रमा बिर्ता गुठी जग्गा गोश्वारामा राखी अन्य सम्पत्ति मात्र बन्डा गरेको देखिएको र मुलुकी ऐन, गुठीको महलको १६ नं. मा धर्मलोप गरेकोबाहेक अरू कुरामा भए गरेको मितिले दुई वर्षभित्र नालिस दिनुपर्ने गरी धर्मलोप गरेकोमा हदम्याद नलाग्ने कानूनी व्यवस्था रहेको अवस्थामा फिरादपत्र गुठीको १६ नं. को हदम्यादभित्र नपरेको भनी मुद्दाको तथ्यभित्र प्रवेश गरी अन्य प्रमाणहरूको मूल्याङ्कन र विवेचना नगरी इन्साफ गर्नु नपर्ने भनी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला उल्टी गरी फिराद दाबी खारेज गरेको यस अदालतको फैसलामा मुलुकी ऐन, गुठीको १६ नं. को व्याख्यात्मक त्रुटि तथा सनातनदेखि चलिआएको आँगन देवताको गुठीको जेथामा गुठियारको हक गुठीको सनातनदेखि चली आएबमोजिम धर्म पूजाआजा चलाई राखी सामुहिकरूपले स्थिति बन्देजअनुसार भोग चलन गर्न पाउनेसम्म मात्र हो । एकलौटी कसैको हक हुने कुरा हुँदैन । मास्न नास्न कसैको हक छैन भन्नेसमेत कान्छा रत्न तुलाधरसमेत विरूद्ध मायादेवी तुलाधरको मुद्दामा निर्णय भई प्रतिपादित सिद्धान्तको (ने.का.प. २०४३, नि.नं. २८५६, पृ. ९१५) प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६९/७/१७ को
आदेश ।
नियमानुसार दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक वादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री इश्वरी प्रसाद भट्टराईले साबिक बालाजु १क को कि.नं. १८७ को क्षे.फ. १-९-२ जग्गा सगोलको पारिवारिक निजी गुठीको जग्गा हो । विवादित जग्गा २००२ सालमा बन्डापत्र हुँदा घर बगैंचासम्म बन्डा गरी अन्य बिर्ता गुठी जग्गा गोश्वारै कायम भएको थियो । २०१२ सालको फैसलासमेतबाट ३ रोपनी जति जग्गा गुठी कायमै रहेको देखिन्छ । विवादित जग्गा गुठीको भएको जानकारी हुँदा हुँदै विपक्षीहरूले निवेदकलाई जानकारी नदिई २०३९ सालमा आफ्नो नाउँमा रैकर दर्ता गरी २०४४ सालमा न्हुच्छेनारायणलाई मोही हकबापत २०५५।१।१७ मा तारादेवीलाई र २०५५।१।२४ मा केशरत्न ताम्राकारलाई हस्तान्तरण गरी गुठी धर्मलोप गरेको अवस्था छ । उक्त जग्गा पैतृक जग्गाबाहेकको निजी जग्गा हो भन्ने स्रोत विपक्षीले देखाउन नसकेको अवस्था र यस अदालतबाट ने.का.प. २०४३ नि.नं. २८५६ पृष्ठ ९१५ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल हुने गरी गुठीको १६ नं. बमोजिमको हद म्यादभित्र नभएको भनी यस अदालत संयुक्त इजलासबाट भएको फैसला बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी विपक्षी तर्फबाट विद्वान् अधिवक्ता श्री हिरा रेग्मी र श्री मनुबहादुर गुरूङले वादी प्रतिवादीहरूबीच भएको २०१२ सालको बन्डापत्रमा बन्डा भएको सम्पत्तिबाहेक अन्य सम्पत्ति भएमा देखाउनेले खानु भन्ने उल्लेख भएको छ । कि.नं. १८७ को विवादित जग्गा गुठीको भन्ने कुनै लिखतबाट पुष्टि हुन सकेको छैन । साबिक लगत हा.नं. १२९२ को मोठ स्रेस्ता र रसिदबाट उक्त जग्गा गुठी होइन भन्ने प्रस्ट
छ । २०३९ सालमा विवादित जग्गा रैकरमा परिणत हुने मालपोत कार्यालयको निर्णय बदर गराउन नसकेको अवस्थामा लामो समयपछि रैकर जग्गालाई गुठी हो भनी नालेस गर्न निवेदक वादीलाई कुनै अधिकार कानूनले दिएको नदेखिएकोले यस अदालतको संयुक्त इजलासको मिति २०६७।८।१३ को फैसला यथावत् कायम होस् भनी गर्नुभएको बहस सुनियो ।
विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर सुनी हेर्दा यस अदालतको मिति २०६७।८।१३ गतेको फैसला मिलेको छ, छैन र निवेदक वादीको निवेदन जिकिर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय गर्नुपर्ने देखियो ।
यसमा काठमाडौंं जिल्ला बालाजु वडा नं. १(क) कि.नं. १८७ को १-९-२ को निजी गुठी जग्गा विपक्षीमध्येका पुण्यरत्नले आफ्नो रैकर भनी दर्ता गरी मोही न्हुच्छे महर्जन, तारादेवी र केशरत्नलाई हस्तान्तरण गरेकोले गुठीको ३ र ४ नं.बमोजिम दूषित तथा धर्मलोप गरेको हुँदा सो बदर गरी यथावत् गुठी कायम गरिपाउँ भन्ने फिराद दाबी रहेकोमा सुरू काठमाडौंं जिल्ला अदालतबाट प्रतिवादी न्हुच्छे महर्जनले छोडपत्रबाट प्राप्त गरेको कि.नं. ५८८ को ०-७-२ जग्गाबाहेक पुण्यरत्नको नाममा रहेको ०-५-० तारादेवीको नाउँमा हक हस्तान्तरण भई गएको ०-६-० जग्गा र केशरत्नको नाउँमा हस्तान्तरण गरेको ०-५-० जग्गाको लिखत बदर भई निजी गुठी कायम हुने गरी भएको फैसलामा निवेदक र विपक्षीहरूको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परी पुनरावेदन अदालत, पाटनबाट कि.नं. १८७ को पूरै जग्गा रैकर हुने ठहर गरी फैसला भएकोमा सो फैसलाउपर निवेदक वादीको सर्वोच्च अदालतमा पुनरावेदन परी सर्वोच्च अदालतबाट हदम्याद नाघी दायर भएको फिराद दाबी खारेज हुने ठहर्याई फैसला भएको देखियो ।
सर्वोच्च अदालतबाट मिति २०६७।८।१३ मा फिराद दाबी खारेज हुने गरी भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) बमोजिम पुनरावलोकन गरिपाउँ भनी निवेदक योगरत्न ताम्राकारको निवेदन परी यस अदालतका मिति २०६९।७।१७ का आदेशअनुसार प्रस्तुत मुद्दा पुनरावलोकन हुने निस्सा प्रदान भई निर्णयार्थ पेस भएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।८।१३ मा प्रस्तुत फिराद गुठीको १६ नं. बमोजिम हदम्यादभित्र परेको नदेखिँदा तथ्यभित्र प्रवेश गरी अन्य प्रमाणहरूको मूल्याङ्कन र विवेचना गरी ठहर इन्साफ गर्नुपर्ने देखिन नआएकोले फिराद दाबी खारेज हुने ठहर्छ भनी फैसला भएको देखिन्छ ।
३. वस्तुतः यस अदालतको संयुक्त इजलासबाट हदम्याद (Limitation) को आधारमा फिराद दाबी खारेज गरेको हुँदा सो हदम्याद सम्बन्धमा नै विवेचना गर्नपर्ने देखिन्छ । सोतर्फ विचार गर्दा कि.नं. १८७ को क्षे.फ. १-९-२ को जग्गाको आयस्ता बाली मोही शेरमानले आलोपालो बुझाउने गरेको आयस्ता बाली बुझी आयस्ताबाट बहालमा रहेको भगवान बुद्धको प्रतिमा पूजा गरी आएका छौं । का.जि. बालाजु साबिक कि.नं. १२९२ को उजुरी १॥-॥ जग्गा चोकमा अवस्थित भगवानको मन्दिरमा गुठियारहरूले आलोपालो कोजाग्रत पूर्णिमाको दिन भगवानको मन्दिरमा सफा गर्ने रङ्ग चुना गरी पूजा अर्चनालगायतको कार्य गरी सम्पूर्ण चोकबासीहरूलाई समय बजी खुवाउने प्रचलन रहेको छ । गुठी सञ्चालन गर्नका लागि पिता पुर्खाले विवादित जग्गालाई गुठीअन्तर्गत राखी साबिक पिता पुर्खाको पालादेखि गुठी सञ्चालन भई आएको गुठी जग्गा हुँदा गुठीको महलको ३, ४ र १६ नं. अनुसार मिति २०३९।९।१३ को दर्ता बदर गरी कि.नं. १८७ को जग्गालाई यथावत् गुठी कायम गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने फिराद दाबी रहेको छ ।
४. प्रतिवादी पुण्यरत्नको प्रतिउत्तरमा कि.नं. १८७ को जग्गा गुठीको जग्गा होइन रैकर जग्गा हो गुठी भन्ने कुनै लगत प्रमाणबाट पुष्टि छैन । हदम्यादभित्र फिराद नहुँदा खारेज गरिपाउँ भन्ने रहेछ ।
५. प्रस्तुत मुद्दामा वादी र प्रतिवादीबीचमा मुख नमिलेको मुख्य कुरा विवादित कि.नं. १८७ को जग्गा रैकर हो वा गुठीको हो भन्ने देखिन्छ । सो कि.नं. १८७ को जग्गा गुठीको जग्गा भए हदम्यादसम्बन्धी कानूनी व्यवस्थाले के हुने र रैकरको जग्गा भए हदम्याद कुन आकर्षित हुने भन्ने निष्कर्षमा पुगिन सक्ने हो । वस्तुतः विवादित कि.नं. १८७ को जग्गाको प्रकृति (गुठी र रैकर) के हो भन्ने प्रमाणबाट विवेचना नै नगरी प्रथम दृष्टिमा नै कुन हदम्याद आकर्षित हुने भनी पूर्वअनुमान गर्न मिल्दैन । अर्थात् गुठी वा रैकर के रहेछ भनी जाँचबुझ प्रमाण मूल्याङ्कन नै नभई प्रारम्भिकरूपमा नै हदम्यादको प्रश्न हेर्न मिल्ने यो मुद्दाको तथ्यबाट देखिन आउँदैन ।
६. त्यसैले गुठीको महलको १६ नं.को हदम्यादभित्र परेको नदेखिँदा तथ्यभित्र प्रवेश गरी प्रमाणको मूल्याङ्कन र विवेचना गरी इन्साफ गर्नुपर्ने देखिन नआएकोले फिराद खारेज हुने ठहर्छ भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।८।१३ मा भएको फैसला गुठी जग्गाको सम्बन्धमा रहेकोको हदम्यादलाई हेर्ने दृष्टिकोण (Angle) नै कानूनीरूपमा मिलेको देखिएन ।
७. यदि विवादित कि.नं. १८७ को जग्गा गुठीको जग्गा भए हदम्यादको आधार छुट्टै हुन्छ । रैकर भए छुट्टै हुन्छ । अतः प्रस्तुत मुद्दामा पहिलो प्रश्न गुठी वा रैकर के हो भन्ने विवादको निपटारा नगरी हदम्यादसम्बन्धी प्रश्नमा प्रवेश गर्न सकिने आधार देखिएन ।
८. अब विवादित कि.नं. १८७ को क्षे.फ. १-९-२-० जग्गा वादी दाबीअनुसार गुठीको जग्गा हो वा प्रतिउत्तर जिकिरअनुसार रैकर जग्गा हो भन्ने मूल प्रश्नको निरूपण गर्नुपर्ने भएको छ । प्रथमतः प्रतिवादी न्हुच्छेनारायण महर्जनबाहेक यी वादी र अन्य प्रतिवादीहरूको पुस्तेवारी स्पष्ट हुनपर्ने देखिएकोले पुस्तेवारी यसप्रकार रहेको पाइन्छ ।
९. प्रतिवादी पुण्यरत्नका पिता निलमुनी र वादी योग्यरत्नका बाजे चिढीरत्न दाजुभाइ नाताका व्यक्ति भएको तथ्यमा विवाद छैन । चिढीरत्नका छोरा लक्ष्मीरत्न भएको र लक्ष्मीरत्नका छोरा यी वादी योगरत्न ताम्राकार भएको तथ्यमा पनि विवाद छैन । त्यस्तै निलमुनिका छोराहरू प्रतिवादीहरू पुण्यरत्न, केशरत्न, भएकोमा पनि विवाद छैन । त्यसैले मूल पुर्खा ज्ञानमनीका दुई छोरा जेठा निलमुनिका सन्तान प्रतिवादीहरू र कान्छा छोरा चिढी मुनिका सन्तान यी वादी भएको भन्ने तथ्यमा कुनै विवाद रहेको पाइएन ।
१०. वादीले पेस गरेको मिति २००२।८।२३ को बन्डापत्र हेर्दा ४८ वर्षका नीलमुनि र भाइ चिढीरत्न मरी सकेकोले भतिजा २४ वर्षको लक्ष्मीरत्नका बीच बन्डापत्र कागज भएको रहेछ । सो बन्डापत्रमा अंशियार २ जना कायम गरी "श्री सम्पत्तिमध्ये बिर्ता गुठी जग्गा गोश्वारै कायम राखी" अन्य घर जग्गा बन्डा गरेको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ ।
११. चिढीरत्नको श्रीमती देवप्रभा ताम्राकारले प्रतिवादीहरूका पिता निलमुनी ताम्राकारउपर नाउँसारी बाली मुद्दा दायर गरी तत्कालिन काठमाडौंं देवानी अदालत दोस्रो फाँटबाट मिति २०१२।३।२७ मा फैसला भएको प्रमाण वादीले पेस गरेका रहेछन् । सो फैसला हेर्दा-
सगोलको बिर्ता जग्गा ५२। । ।- । मध्ये गुठी रहेको ३। । कट्टी गरी बाँकी ४८। । ।२ मध्ये ३ खण्डको १ खण्ड १६।- । । । को धान स.चा., कोदो, गहुँ, परालसमेत ४ सालदेखि बाली अन्यायवालाले मोहीबाट मेरो भागको उठाई लिएको निजले खाएको बाली भराई जम्मा रू. २७०५।१७ भराई ९ सालको बालीको हकमा मुद्दा किनारा नभएसम्म बाली रोक्का गरिपाऊँ । जग्गाको पोता र रसिद पुर्जा भएको कागज मोहीको कबुलियत निजैसँग भएकोले मोहीको नाम नामसारी जग्गाको नं. किल्ला कित्ता यो यसले कमाएको छ भन्नेसमेत मलाई याद नभएकोले निजैबाट खुलाई मेरा नाममा नामसारी गरिपाउँ भन्नेसमेत वादीको दाबी भन्ने सो फैसलाको टिपोटमा उल्लेख छ ।
१२. सो १२ सालमा फैसला भएको मुद्दामा मोहीहरूलाई बुझिएको र निजहरूले गुठीको पालो पर्नेलाई बाली बुझाई आएको भनी बयान गरेको पनि टिपोटमा उल्लेख छ । सो फैसलाको ठहर खण्डमा "दर्ताको जग्गामा गुठी भनेको जति साबिकबमोजिम गोश्वरामा राखी भन्ने वाक्यांश उल्लेख छ । तपसिल खण्डको ४ दफामा मरू ३३७/२१९ नं. लगत दर्तामध्ये धील्कोट रोपनी २। । मध्ये १। ।४, चवुना रोपनी २। । मध्ये १।, पोडे २ मध्ये रोपनी १ समेत जम्मा रोपनी ३। । ।४ गुठी रहेको फैसलाबाट देखिनाले गुठी जतिमा साबिकबमोजिम गोश्वारा राखी" भन्ने उल्लेख छ । साथै सो मुद्दामा वादीले बाली बिगो मो. रू. ११६२।४१।३ भरी पाउने र गुठी जग्गा गोश्वारामा राख्ने र बाँकी जग्गाबाट ३ खण्डको १ खण्ड वादीले नामसारी गरिपाउने गरी फैसला भएको रहेछ ।
१३. उक्त २००२ सालको बन्डापत्रबाट बन्डा गर्नुपर्ने श्री सम्पत्तिमध्ये बिर्ता र गुठी जग्गा गोश्वारैमा राखेको भन्ने स्पष्ट छ । सो २००२ सालका बन्डापत्रमा केवल बसोबास गरेको घरसम्म बन्डा छुट्टयाएको भन्ने देखिन आएको छ । सो बन्डापश्चात् वादीका बज्यै देवप्रभाले प्रतिवादीका पिता निलमुनीउपर बाली नामसारी मुद्दा दायर गरी सो मुद्दामा पनि गुठी रहेको जग्गा साबिकबमोजिम नै गोश्वरामा राख्ने गरी १२ सालमा फैसला भएको रहेछ । सो बाली नामसारी मुद्दामा मोहीहरूले पनि गुठीको पालो पर्ने लाई बाली बुझाई रहेको भनी बयान गरेको पनि देखिन आएको छ ।
१४. त्यसैले वादी र प्रतिवादीका पिता पुर्खाले आफ्ना नाउँमा रहेको जग्गामध्ये केही जग्गा गुठीमा राखेको रहेछ भन्ने तथ्य उक्त प्रमाणहरूबाट स्पष्ट भएको छ ।
१५. विवादित कि.नं. १८७ को जग्गाको फिल्डबुक हेर्दा कैफियत महलमा का.ई. मरू पिगननी बस्ने पूर्ण ताम्राकारलाई र अरूको भाइसमेत जबान २ लाई तिरी आएको छु भनी मोही शेरमानले जनाएको भन्ने देखिन्छ । सो जग्गा पुण्यरत्नको मात्र हक लाग्ने भए अरूको भाइसमेत जबान २ जनालाई मोहीले कुत बुझाउन जरूरी हुँदैन । नापी हुँदा नै खास मोही शेरमानले उल्लेख गरेको सो व्यहोरालाई मोही नामसारी गरी हक प्राप्त गर्ने निज शेरमानका छोरा न्हुच्छेनारायणले आफ्नो पिताले नापीकै समय उल्लेख गरेको सो व्यहोराको बारेमा अन्यथा हुने गरी अहिले आफू खुसी अर्थ निकाल्न मिल्ने होइन । सो जग्गाको कुत वादीलाई समेत बुझाउँदै आएको भनी वादीले भरपाई पेस गरेका छन् ।
१६. बालाजु गा.पं. मा रहेको भगवान गुठी खेतको २०३३ सालको कुत धान १० पाथी वादी योगरत्नलाई बुझाई मिति २०३३।८।१६ मा शेरमानको छोरा कुलबहादुरले भरपाई गरिदिएको प्रमाण वादीले पेस गरेका छन् । त्यस्तै कि.नं. १८७ को जग्गामध्ये मेरो भागको २०४० सालको धान बाली वादी योगरत्नलाई प्रतिवादी न्हुच्छेनारायण महर्जनले मिति २०४०।१२।११ मा र मिति २०४१।७।२४ मा बाली बुझाई भरपाई गरिदिएको प्रमाण पनि पेस छ । सो प्रमाणहरू अ.बं. ७८ नं.बमोजिम प्रतिवादीलाई सुनाई बयान गर्दा सो भरपाई जालसाजीबाट खडा गरेको भनी बयान गरेको रहेछ ।
१७. २०४० र २०४१ सालको कुत बालीको भरपाई भएको हस्ताक्षरसँग प्रतिवादी न्हुच्छेनारायणको हस्ताक्षर मिल्न भिड्न आएको भन्ने विशेषज्ञबाट राय प्राप्त भएको देखिन्छ । सो आफूले दिएको राय समर्थन गर्दै विशेषज्ञबाट अदालतमा बकपत्रसमेत गरेको पाइन्छ । त्यसैले मोही शेरमानका छोरा प्रतिवादी न्हुच्छेनारायण महर्जनले ०४०, ०४१ सालमा कि.नं. १८७ को जग्गामध्ये वादीको भाग जतिको कुतबाली बुझाएको भन्ने पुष्टि हुन आयो । वादीलाई समेत मोहीले विवादित जग्गाको कुतबाली बुझाउँदै आएको देखिनाले नापी हुँदा फिल्डमा मोहीले २ जना भाइलाई कुत तिरी आएको छु भन्ने व्यहोराको समर्थन भएको छ ।
१८. २०१२ सालको फैसलामा उल्लिखित मरू ३३७/२१९ नं. को लगत दर्तामध्ये गोश्वारा गुठीमा राखिएको धील्को, चवुना, पोडे जग्गाहरू यो यस ठाउँमा गुठीकै रूपमा गोश्वारामा छ भनी वादीका काका नाता पर्ने प्रतिवादी पूर्णरत्नले देखाउन लेखाउन सकेको छैन । प्रतिवादी पुण्यरत्नका पिता निलमुनीसमेतले पितापुर्खाले साबिकदेखि नै केही जग्गा गुठीमा राखेको छ भन्ने तथ्यलाई २००२ सालको बन्डापत्र र २०१२ सालको फैसलासमेतबाट स्वीकार गरी रहेको पाइन्छ ।
१९. प्रतिवादी पुण्यरत्नका पिता निलमुनी जेठा छोरा भएका र भाइ चिढीरत्न स्वर्गीय भइसकेको स्थितिमा भाइका श्रीमती देवप्रभाले निजउपर मुद्दा दिई २०१२ सालमा निज निलमुनीबाट बाली बिगो भराई पाउने ठहरी फैसला भइरहेको पाइयो । यसप्रकार वादीका बज्यैले जेठाजु निलमुनीउपर मुद्दा गरी आफ्नो हक प्राप्त गर्न परेको तथ्य रहेको हुँदा परापूर्वकालदेखि नै वादी पक्षबाट आफ्नो हकको लागि कानूनी प्रयास गरी रहन परेको देखिन्छ ।
२०. २०१२ सालको फैसलामा उल्लिखित वादीको व्यहोरा हेर्दा पनि जग्गाको पोता रसिद पुर्जा निलमुनीसँग भएको, जग्गाको किल्ला कित्ता यो यसले कमाएको भन्ने पनि थाहा नभएको भनी उल्लेख छ । यसप्रकार बिर्ता जग्गा ५२। ।. । मध्ये गुठी रहेको ३। । रहेको भन्ने तथ्य उक्त प्रमाणहरूबाट पुष्टि हुन आएको र भाइ चिढीरत्न परलोक भइरहेको भन्ने २००२ सालको बन्डापत्रबाट देखिन आएकोले सो गुठी जग्गाको लगत निजै निलमुनीको जिम्मा रहेको वादीतर्फका हागालाई थाहा जानकारी हुन सक्ने स्थिति रहेको पाइँदैन । त्यसैले जेठा छोरा निलमुनीतर्फका हाँगाले बाबु बाजेले राखेको गुठीको जग्गा यो यस ठाउँमा रहेको छ दर्ता छ भनी देखाइ दिन सक्नुपर्छ ।
२१. प्रतिवादी पुण्यरत्नले विवादित कि.नं. १८७ को जग्गा दर्ता गर्दा साबिक मौजा बालाजु हा.नं. १६९२ बाट भिडाई दर्ता गरेको पाइन्छ । सो हा.न. १६९२ मरू ३०६ र ऐ. ३०५ नं. पोताबाट आएको लगत उतारबाट देखिन्छ । का मरू ३०५ नं. को २००५ सालको पोत निलमुनीले बुझाएको र खेत उजुरी १- ।३२ जनिएको रसिदको उतारबाट देखिन आएको छ । अरू ३०६ नं. लगतको १५ सालको पोत पूर्णरत्नले बुझाएको र खेत उजुरी १- ।.३२ भन्ने जनिएको सो रसिदको प्रतिलिपिबाट देखिन्छ । सोही ३०५ र ३०६ को पोता लगतबाट हा.नं. १६९२ कायम भएको देखिन्छ ।
२२. १२ सालको फैसलामा उजुरी भन्ने खेतको नाम उल्लेख छैन । २००५ सालमा पोता लगत ३०५ नं. बाट पोत बुझाएकोमा पनि १२ सालको फैसलामा सो पोता लगतको जग्गा नपर्नु रहस्यमय नै रहेको पाइन्छ । त्यसैले सो पोता लगत ३०५ प्रतिवादीको निजी हो भन्ने प्रमाण निजै प्रतिवादीले गुजार्न सक्नुपर्छ ।
२३. तसर्थ २००२ सालको बन्डापत्र, २०१२ सालको फैसला, फिल्डबुकमा जनिएको व्यहोरा तथा मोहीले बाली बुझाएको भरपाईमा उल्लिखित व्यहोरासमेतबाट साबिकदेखि नै वादी प्रतिवादी पुण्यरत्न ताम्राकारका पिता पुर्खाले गुठी जग्गा छुट्टयाई राखेको प्रमाणित हुन आएको छ । सो गुठीको जग्गा अयन्त्र रहेको छ भनी प्रतिवादीले प्रमाण दिन सकेको छैन । मोहीले वादीलाई पनि विवादित कि.नं. १८७ जग्गाको बाली यो मुद्दा पर्नुभन्दा धेरै अघि ०३३, ०४०, ०४१ सालमा बुझाउँदै आएको देखिँदा गुठी साझा गोश्वारामा राख्ने भनी २००२ सालको बन्डापत्र २०१२ सालको फैसलामा उल्लिखित जग्गा कि.नं. १८७ नै रहेको देखियो । अन्यथा २००२ साल छुट्टी भिन्न भएका वादीको हाँगातर्फ सो जग्गाको बाली बुझाई रहनुपर्ने थिएन ।
२४. फिराद लेखमा जग्गाको चोकमा भगवानको मन्दिर अवस्थित छ । गुठियारहरूले भगवानको मन्दिर सफा गर्ने रङ्ग चुना लाउने पूजा अर्चना गर्ने गर्दछन भनी उल्लेख गरेका छन । प्रतिवादी पुण्यरत्नले सो फिरादमा उल्लेख गरेको तथ्यलाई प्रतिउत्तरमा कुनै खण्डन गर्न सकेको छैन । जग्गाको चोकमा भगवानको मन्दिर नै छैन भनी प्रतिवाद गर्न सकेको पाइएन ।
२५. अतः उपर्युक्त प्रमाणहरूको विवेचनाबाट विवादित कि.नं. १८७ को जग्गा वादी प्रतिवादीका पिता पुर्खाले राखेको निजी गुठीको जग्गा भन्ने नै पुष्टि हुन आयो ।
२६. धर्म किर्ती राख्न परापूर्वकालदेखि नै जग्गा जमिनहरू गुठीमा राख्ने परम्परा रहेको छ । गुठीमा जग्गा जमिन राखी सोको आयस्ताले धार्मिक, सामाजिक कार्यहरू अनवरतरूपमा चिरकालसम्म सञ्चालन भई रहोस् भन्ने इच्छा, भावना सो जग्गा सम्पत्ति गुठी राख्ने पुर्खाको रहेको हुन्छ । त्यसैले गुठी राखेको सम्पत्ति कुनै किसिमबाट नास्न मास्न नपाइने कानूनी व्यवस्था रहेको छ ।
२७. यस्तै प्रकृतिको प्रश्न समावेश भएको कान्छारत्न तुलाधरसमेत वि. मायादेवी तुलाधर भएको दर्ता गरिपाउँ भन्ने मुद्दामा सनातनदेखि चलिआएको आँगन देवताको गुठीको जेथामा गुठियारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजा आजा चलाई राखी सामुहिकरूपले स्थिति बन्देजअनुसार भोगचलन गर्न पाउनेसम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन मास्न नास्न कसैलाई हक छैन भनी ने.का.प. २०४३ अंक ९ नि.नं. २८५६ मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । त्यसै गरी अशोकविर सिंह विरूद्ध स्वयम्भुरत्न तुलाधर भएको गुठी हटक (ने.का.प.२०५२ अंक १ नि.नं.५०३७) लगायत विभिन्न मुद्दामा सबैको सामुहिक हक लाग्ने गुठीको जग्गामा गुठियारमध्येका कुनै कसैले रैकर परिणत दर्ता गराएको छ भन्ने आधारमा अरू गठियारको हक जान्छ भन्न मिल्दैन भन्ने सिद्धान्त स्थापित भइसकेको छ ।
२८. उपर्युक्त कानूनी सिद्धान्तसमेतको सन्दर्भमा "गुठी" धार्मिक भावना, परोपकारी भावना सामाजिक शैक्षिकक्षेत्रका हितको दृष्टिबाट राख्ने प्रचलन नेपालमा रहेको र गुठी नेपालको आफ्नै मौलिक पहिचानयुक्त परम्पराको रूपमा रहिआएको देखिन्छ । जुन नेपालको संस्कृति सभ्यतासँग अभिन्न अंगको रूपमा जोडिएको छ । त्यसैले मुलुकी ऐनमा गुठीको महलको कानूनी व्यवस्थाले त्यस्तो परम्परा संस्कृतिलाई सदैव जीवन्त राखी राख्नु पर्ने, मेट्न मास्न नमिल्ने गरी कानूनी संरक्षण प्रदान गरी रहेको छ । यस्तो महत्त्वपूर्ण गुठीको जग्गा कसैले दर्ता गरी निजी प्रयोग गर्न मिल्ने देखिँदैन । यस्तो स्थितिमा कि.नं. १८७ को जग्गा रैकर जग्गा हो भन्ने विपक्षी कानून व्यवसायीहरूको जिकिरसँग सहमत हुन सक्ने अवस्था देखिएन ।
२९. अब विवादित कि.नं. १८७ को जग्गा निजी गुठीको भन्ने देखिसकेको अवस्थामा प्रस्तुत फिराद हदम्यादभित्र छ, छैन भनी हेर्नपर्ने हुन्छ । सोतर्फ हेर्दा गुठीको १६ नं. मा यो महलमा अन्यत्र हद म्याद लेखिएको कुरामा र धर्म लोप गरेको वा राख्न नहुने गुठी राखेकोबाहेक अरू कुरामा भए गरेका मितिले २ वर्षभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था छ ।
३०. गुठीको महलको ३ नं. को अवलोकन गर्दा २ प्रकारसँग गुठी राख्न सकिने व्यवस्था देखिन्छ-
१. गुठियारसमेत राखी आफ्नो हक छाडी राखेको गुठी
२. गुठियार नराखी घर गुठी राख्ने गुठी
३१. प्रस्तुत मुद्दामा गुठियार राखी जग्गाको हक छोडी गुठी राखेको नदेखिए पनि गुठीको ३(२) मा व्यवस्था गरेअनुसार गुठियार नराखी घर गुठी राखेको भन्ने देखिन आएकोले उक्त कानूनी व्यवस्थाको अवलोकन गर्न सान्दर्भिक हुन आउँछ । गुठीको महलको ३(२) को कानूनी व्यवस्थाको बारेमा हेर्दा-
गुठियार नराखी घर गुठी राख्दा त्यसै सालका दर भाउले सयकडा दशभन्दा बढ्ता खान पाउने गरी राखेको गुठीमा गुठी राख्ने वा उसको सन्तानले गुठीको दानपत्र शीलापत्रसमेतको लिखतबमोजिमको काम चलाई आफूले खान पाउने शेष बाँकीसम्म धितो बन्धक राख्न हुन्छ । खान पाउने शेष बाँकी पनि बेखबिखन दान दातब्य र लेखिएबाहेक अरू गुठीको घर जग्गा धितो बन्धक र बेचबिखन दान दातब्यसमेत केही गरी दिन र गुठीको दानपत्र शिलापत्रसमेतको लिखतबमोजिमको काम नचलाई धर्मलोप गर्नु हुँदैन । धर्मलोप गर्नेले त्यस गुठीको पालो पाउँदैन । ऊदेखि पछिका हकदारले चलाउन पाउँछ । खान पाउने भएको शेष बाँकी भने धर्मलोप गर्नेले पनि ऐनबमोजिम बन्डा गरी खान पाउँछ भन्ने देखिन्छ ।
३२. उक्त कानूनी व्यवस्थाबाट गुठीको घर जग्गा बेचबिखन दान दातब्यसमेत केही गरी दिन र गुठीको दानपत्र शिलापत्रसमेतको लिखतबमोजिमको काम नचलाई धर्मलोप गर्न हुँदैन भनी स्पष्ट कानूनी व्यवस्था गरेको पाइयो । पिता पुर्खाले गुठीमा राखेको जग्गा प्रतिवादी पुण्यरत्नले रैकर भनी आफ्नो नाउँमा दर्ता गरी आफ्नै श्रीमती तथा भाइलाई हक हस्तान्तरणसमेत गरेको देखिन्छ । सो गुठी दानपत्र शिलापत्रसमेतको लिखत गरी राखेको देखिँदैन । तर गुठीको जग्गा नासमास हुने गरी रैकर भनी दर्ता गरेको क्रिया र प्रतिवादी पुण्यरत्नले पुर्खाको भावना इच्छाविपरीत गुठीमा राखेको जग्गालाई गुठीको जग्गा नै होइन भनेको हुँदा निजले धर्मलोप गर्ने नियतले सो कार्यहरू गरेको देखियो । "धर्मलोप" को अर्थ गर्दा गुठी राख्ने उद्देश्यविपरीत काम गर्नु, गुठीको जग्गा कुनै तरहले नास्नु वा मास्नु, परम्परानुसार गुठी सञ्चालन नगर्नु भन्ने बुझिन्छ । "धर्मलोप गरेको" भन्ने देखिन आएको अवस्थामा गुठीको महलको १६ नं.को हदम्यादसम्बन्धी खुला (Open Space) व्यवस्था नै आकर्षित हुने भई धर्मलोप गरेको अवस्थामा जहिले सुकै हकदारले नालिस दिनसक्ने गरी हदम्यादको अवधारणालाई नियन्त्रण गरेको भन्न मिल्ने देखिएन ।
३३. गुठी जस्तो मौलिक पहिचान भएको संस्कृति परम्परा सभ्यतालाई नै लोप गर्ने कार्यको लागि नियन्त्रित हदम्यादको व्यवस्था नराख्ने विधायिकी मनसाय रहेको स्पष्ट छ । त्यसैले प्रस्तुत फिराद गुठीको १६ नं. को हदम्यादभित्र रहेको पाइयो ।
३४. अब उपर्युक्त विवेचना गरिएका आधार प्रमाणहरूबाट विवादित कि.नं. १८७ को जग्गा वादी र प्रतिवादी न्हुच्छेनारायणबाहेकका अन्य प्रतिवादी हरिका पिता पुर्खाले भगवानको पूजा आजा चलाउनको लागी निजी घर गुठी राखेको पुष्टि हुन आएको छ । प्रतिवादी पुण्यरत्नले गुठीको जग्गालाई रैकर भनी ०३९।९।१३ मा दर्ता गरी आफ्नै श्रीमती र भाइलाई केही जग्गा हस्तान्तरण गरेको देखियो । निज प्रतिवादी पुण्यरत्नबाट सो कि.नं. १८७ मध्ये मोहीको भागको जग्गा प्रतिवादी न्हुच्छेनारायणले प्राप्त गरी कि.नं. ५८८ को क्षे.फ. ०-७-२ जग्गामा निज मोहीले घर बनाउन ०४५ सालमा नक्सा पास गरीसकेको
देखिन्छ । मोहीको हकबापत प्राप्त गरेको जग्गा र घरसमेत निर्माण हुने देखिन आएकोले अब सो व्यवहारलाई खलबल्याउनु मनासिब र न्यायोचित देखिन आउँदैन । गुठीको जग्गामा पनि मोही हक प्राप्त गर्न सक्ने नै हुन्छ ।
३५. साबिक कि.नं. १८७ बाट मोही भाग छुट्टिएको जग्गाबाहेक अरू प्रतिवादीहरू र पुष्परत्नका नाममा बाँकी रहेको र निजले प्रतिवादीहरू केशरत्न तारादेवीलाई हक हस्तान्तरण गरेको जग्गासम्म भगवानको पूजा आजा चलाउने गरी निजी गुठी कायम हुने देखियो ।
३६. यसरी निजी गुठीको जग्गा प्रतिवादी पुण्यरत्नले एकलौटी दर्ता गराएको सो दर्ता तथा सो दर्ताको आधारमा प्रतिवादी तारादेवी र केशरत्नको नाउँमा हस्तान्तरण भई गएको लिखत दर्तासमेत बदर भई वादीको समेत हक रहने गरी सो हदसम्मको जग्गाको निजी गुठी कायम गर्नुपर्ने देखिन आएको छ । मुलुकी ऐन, गुठीको ३(२) नं. मा घर गुठी राखेकोमा धर्मलोप गर्नेले पनि शेष बाँकी ऐनबमोजिम बन्डा गरी खान पाउने हुँदा र प्रतिवादी पुण्यरत्नले आफ्नो नाउँमा दर्ता गरी आफ्नै श्रीमती, भाइलाई सम्म हस्तान्तरण गरेको अंशियारबाहेक अन्यत्र जग्गा दिएको नदेखिई प्रतिवादीमध्ये पुण्यरत्नले धर्मलोप गरेको देखिए पनि शेष बाँकी बन्डा गरी खान पाउने देखिन्छ ।
३७. अतः माथि विवेचित तथ्य प्रमाण र प्रतिपादित कानूनी सिद्धान्तसमेतको आधारमा सुरू काठमाडौं जिल्ला अदालतबाट निजी गुठी कायम गर्ने गरि भएको फैसला उल्टी गरी वादी दाबी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।६ को फैसला र सो पुनरावेदन अदालत, पाटनको फैसलासमेत उल्टी गरी गुठीको महलको १६ नं. को हदम्यादभित्र नालिस नपरेको भनी फिराद खारेज गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।८।१३ मा भएको फैसला मिलेको देखिन नआएकोले सो फैसला उल्टी भई प्रतिवादी पुण्यरत्नले कि.नं. १८७ को जग्गा ०३९ सालमा रैकर भनी गराएको दर्ता तथा निजले हक हस्तान्तरण गरेको प्रतिवादी तारादेवी ताम्राकार र केशरत्न ताम्राकारका नाउँका कि.नं.११८८ र ११८९ तथा पुण्यरत्न ताम्राकारको नाउँमा बाकी रहेको कि.नं. ११९४ का जग्गासम्ममा वादी योग्यरत्न ताम्राकारसमेतको हक हिस्सा हुने गरी भगवान पूजा आजा चलाउने निजी गुठी कायम हुने ठहर्याई कि. नं. ५८८ र गुठी धर्मलोपतर्फको दाबी पुग्न सक्दैन भनी सुरू काठमाडौंं जिल्ला अदालतबाट मिति २०६१।११।२४ मा भएको फैसला सदर हुने ठर्हछ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.डा. आनन्दमोहन भट्टराई
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत: दिलीपराज पन्त
इति संवत् २०७३ साल असोज ६ गते रोज ५ शुभम् ।