शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६९१ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय  न्यायाधीश श्री बैद्यनाथ उपाध्याय 

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७२।१२।२८

०७१-RC-००७४

 

मुद्दा : कर्तव्य ज्यान

 

वादी : खड्गबहादुर वलीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला बर्दिया, बर्दिया नगरपालिका वडा नं. ५ बस्ने तुलबहादुर रोकाय

 

मृतकले लगाएको गहनाहरू निजको लाससँग नरहनु र प्रतिवादीको आकस्मिक आर्थिक गतिविधिले पनि प्रस्तुत वारदातमा यी प्रतिवादीको संलग्नता थप पुष्टि हुन गएको पाइने ।

(प्रकरण नं. ८)

अपराध हुँदाहुँदैको अवस्था देख्ने चस्मदिद्‌ गवाह मुद्दामा नहुन पनि 

सक्दछ । चस्मदिद्‌ गवाह नभएको अवस्थामा पनि अपराधी यही नै हो भनी ठम्याउन वस्तुनिष्ठ र परिस्थितिजन्य प्रमाणबाट पनि सकिन्छ । घटित अपराधको प्रकृति अपराध हुनुअघि र पछिका घटना र प्रतिवादीको हाउभाउसहितको व्यवहार आदि सबैतर्फबाट अपराधी को हो भनी देखाई रहेको अवस्था चश्मदिद गवाह छैन वा अदालतमा अपराधमा इन्कारी बयान गरेकै कारणले मात्र सफाइ दिनु न्यायोचित नहुने ।

(प्रकरण नं. १२)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट :

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं.

 

सुरू तहबाट फैसला गर्नेः- 

माननीय जि. न्यायाधीश श्री धनसिंह महरा

पुनरावेदन तहबाट फैसला गर्नेः-

मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा

माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव

 

फैसला

न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १०बमोजिम साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

म टप्पर महिला सामुदायिक वनको बनपाले हुँ । म काम विशेषले वनको रेखदेख गर्न जान नसकेको अवस्थामा मेरी श्रीमती सेती ओली वनको रेखदेख गर्न जाने गर्दथिन । यस्तैमा मिति २०६८।११।२४ गते मेरी श्रीमती वनको रेखदेख गर्न गएकीमा सो दिन बेलुकीसम्म घर फर्की नआएकीले जंगलमा खोजतलास गर्दै जाने क्रममा मिति २०६८।११।२५ गते बिहान घाँटी रेटी मरेको अवस्थामा जंगलमा भेटीएकीले कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको खड्गबहादुर ओलीको जाहेरी दरखास्त । 

जिल्ला बर्दिया गुलरीया नगरपालिका ५ टप्पर महिला सामुदायिक वनस्थित पूर्व सिसमको ठूलो रूख, पश्चिममा सिसमको ठूलो रूख र झाडी, उत्तरमा सिसमको रूख, दक्षिणमा ससाना बुट्यान झाडी यति चार किल्लाभित्र रहेको बनमाराको झाडीभित्र लुकाई राखेको मृतकको लास, उत्तर टाउको, दक्षिण खुट्टा, बायाँ हात तल, दायाँ हात माथि खुम्चिएको, पूर्वतर्फ अनुहार पारी अर्ध घोप्टो अवस्थामा रहेको मृतकको लास उल्टाई पल्टाई हेर्दा घाँटीको अगाडिको भाग धारिलो हतियारले श्वास नलीसमेत काटिएको ठूलो घाउ रहेको सो घाउबाट रगत बगी भुईंमा रगत लागेकोसमेत भन्ने व्यहोराको घटनास्थल लास जाँच मुचुल्का ।

Cause of Death “Most Probably due to hemorrhagic shock and asphyxia due to cut trachea” भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।

मेरी श्रीमती सेती वली टप्पर महिला सामुदायिक वनको चौकीदारको रूपमा काम गर्न गएको अवस्थामा मिति २०६८।११।२४ गते जिल्ला बर्दिया गुलरिया नगरपालिका ५ बस्ने तुलबहादुर रोकायाले मेरी श्रीमतीले नाक र कानमा लगाएको सुन लगी खाने नियतबाट धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेकोले कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको खड्गबहादुर ओलीको किटानी जाहेरी दरखास्त ।

मिति २०६८।११।२४ गते म आफ्नै काम विशेषले टप्पर महिला सामुदायिक वन हुँदै गुलरिया बजारतर्फ आइरहेको अवस्थामा दिनको १०:३० बजेको समयमा सोही वनको घाँस काट्ने फाँटभन्दा माथि रहेको बाटोमा प्रतिवादी तुलबहादुर रोकाय र मृतक सेती ओली गफ गरेर बसिरहेको अवस्थामा देखेको थिएँ । प्रतिवादी तुलबहादुर रोकाया प्रायः रक्सी सेवन गरी गाउँ घरमा झैझगडा गरिरहने व्यक्ति भएकाले निज प्रतिवादीले नै सेती ओलीलाई धारिलो हतियार प्रयोग गरेर घाँटी काटी मारी मृतकले लगाएको कान र नाकको सुनको गहना कहीँकतै बेची रू.१०,०००।- प्राप्त गरी गाउँकै खली भण्डारीलाई दिएको हुनुपर्छ भन्नेसमेत व्यहोराको शंकर शाहीको घटना विवरण कागज ।  

मिति २०६८।११।२४ गते बिहान अं. ९:३० बजेको समयमा म आफ्नो घरबाट बालापुरमा रहेको भान्जी मनकुमारी चौधरीको घरमा जानको लागि टप्पर महिला सामुदायिक वनको बाटो भएर जाँदै गर्दा जंगलको घाँस काट्ने फाँटनजिक रहेको निउरोको साग टिप्ने ठाउँमा जिल्ला बर्दिया धधवार–८ बस्ने बाजे भन्ने मधुसुधन चौधरीको श्रीमती र छोरी साथै निमा चौधरीको छोरी र श्रीमतीलाई समेत भेटेको थिएँ । निजहरू चिनेका मानिसहरू भएकाले म उक्त जंगलको बाटोमा बसी निजहरूमध्येकी मधुसुधन चौधरीकी श्रीमती रानी थरूनीसँग आधा घण्टा कुरा गरेर बसेको थिएँ । सो समयमा गाउँकै महिलाहरू जंगलको बाटोमुनी रहेको निउरोको साग टिपिरहेका थिए । सो अवस्थामा मलाई शंकर भण्डारीसमेतले देखेका 

थिए । रानी थरूनीसँग कुराकानी गरेपश्चात् बालापुरतर्फ गई बालापुरको स्कुल नजिक रहेको खुशिराम चौधरीको रक्सी भट्टीमा गई उक्त दुकानमा एक गिलास लोकल रक्सी खाएको थिएँ । त्यसपछि मैले त्यही दोकानबाट २ क्वाटर सौफी भन्ने रक्सीसमेत किनेर अं.३:३० बजेको समयमा म भान्जी मनकुमारी चौधरीको घरमा पुगेको थिएँ । भान्जीको घरमा जाँड र रक्सी मिलाएर खाएपछि धेरै बेर नबसी आफ्नो घरतर्फ फर्कि आएको हुँ । अं.४:०० बजेतिर म आफ्नो घर आई पुगेको 

थिएँ । घरमा आई एक क्वाटर सौफी रक्सी खाई श्रीमती उषा रोकायसँग बारीमा घाँस काट्न गई अं. ५:०० बजे घरमा आए । म र श्रीमती खली भण्डारीलाई तिर्नुपर्ने रू.१०,०००।– लिएर निजको घरमा गई खली भण्डारीलाई तिरेको थिएँ । मिति २०६८।११।२४ गते मैले सेती वलीलाई भेटेको थिएन । निजलाई मैले घाँटी काटेर मारी निजका कानका सुनका रिंग र नाकको फुली लिएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी तुलबहादुर रोकायले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

म तुलबहादुर रोकायकी श्रीमती हुँ । मेरो श्रीमान्‌ २०६८।११।२४ गते बालापुरमा रहेकी भान्जीको घर जान्छु भनी बिहानै घरबाट निस्किएका थिए । निज उक्त दिन साँझ एकैचोटी बेलुका अ.४:०० बजेको समयमा जाँड रक्सी सेवन गरी घरमा आएका थिए । मैले दार बेचेको पैसा रू.१०,०००।– ल्याएको छु, खली भण्डारीको रूपैयाँँ तिर्न जाउँ भनेकाले म र प्रतिवादी तुलबहादुर खली भण्डारीको घरमा गई रू.१०,०००।– तिरेका हौं । मेरो श्रीमान्‌ले २४ गतेभन्दा अगाडि मलाई पैसा राख्न दिएका छैनन् । निजले मिति २०६८।११।२४ गते बेलुकी ४:०० बजेतिर मात्र रू.१०,०००।– देखाएका हुन् भन्नेसमेत व्यहोराको उषा रोकायले गरेको घटना विवरण कागज । 

म मिति २०६८।११।२४ गते जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ बालापुरस्थित आफ्नो पसलमा थिएँ । पसलमा अन्य सामानहरू सहित रक्सीसमेत बेच्न राखेको छु । मिति २०६८।११।२४ गते दिउँसो प्रतिवादी तुलबहादुर रोकाय मेरो पसलमा आई जाँड रक्सी सेवन गरी सौफीलगायतका रक्सीहरू किनेका होइनन् भन्नेसमेत व्यहोराको खुशिराम थारूले गरेको घटना विवरण कागज ।

मिति २०६८।११।२४ गते प्रतिवादी तुलबहादुर रोकाय अ. ४:०० बजेको समयमा म काम गरी रहेको स्थानमा आई मलाई रक्सी खान जाउँ भनेकोमा म र तुलबहादुर रोकाय निजको घरमा गई सौफी नामक रक्सी खाएका थियौं । सो अवस्थामा निज तुलबहादुर रोकायले मसँगै गएको छोरालाई रू.१००।– समेत दिएका थिए । हामीहरूले रक्सी खाइरहेको अवस्थामा निज प्रतिवादीले आफ्नो सर्टको खल्तीबाट रू.१,०००।– को अं.१०।१५ हजार जति रहेको पैसा कहिले भुईंमा कहिले आफ्नो सर्टको खल्तीमा राख्ने गरेका थिए । रक्सी खाइसकेपश्चात् म आफ्नो घरतर्फ लागेँ । सोही दिन निज प्रतिवादीले खली भण्डारीलाई रू.१०,०००।– तिर्नु र प्रतिवादीसँग कुराकानी गरेर बसेको, सेती वली सोही समयबाट हराई सोको भोलिपल्ट मिति २०६८।११।२५ गते बिहान सोही जंगलमा घाँटी रेटेर मारिएको अवस्थामा फेला पर्नु जस्ता कारणहरूले मृतक सेती वलीलाई प्रतिवादी तुलबहादुर रोकायले नै घाँटी काटी कर्तव्य गरी मारेर मृतकका सुनका गरगहना लगेको पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको धनबहादुर खत्रीको घटना विवरण कागज ।

मिति २०६८।११।२५ गते म जिल्ला बर्दिया धधवार–८ बेलभारस्थित आफ्नै घरमा थिएँ । तुलबहादुर रोकायलाई म चिन्दिन् । उक्त दिन निजसँग मेरो भेटघाटसमेत भएको छैन । उल्लिखित मितिमा म गुलरियाको टप्पर महिला सामुदायिक वनमा निमा चौधरीको श्रीमती र छोरीसँग साग टिप्न गएको समेत छैन भन्ने व्यहोराको रानी थरूनीको घटना विवरण कागज । 

म तुलबहादुर रोकायलाई राम्रोसँग 

चिन्दछु । निज मेरो मामा हुन् । मिति २०६८।११।२४ गते दिउँसो अ.२:०० बजेको समयमा निज मामा मेरो घरमा साथमा सौफी रक्सी बोकी आएका थिए । मैले मामालाई जाँड खाने हो भनी सोधेकोमा निजले जाँड खान्न । यो सौफी गिलासमा हाल्देउ यही खान्छु भनेका थिए । निजले आलुको तरकारी देखेपछि उक्त सौफी नखाई फेरी बोतलमा नै हाल्न लगाई अ.२:१५ बजेको समयमा मेरो घरबाट गएका थिए भन्नेसमेत व्यहोराको मनकुमारी चौधरीको घटना विवरण कागज । 

मिति २०६८।११।२५ गते म आफ्नो घरमा थिएँ । प्रतिवादी तुलबहादुर रोकायलाई म चिन्दिन । उल्लिखित मितिमा म टप्पर महिला सामुदायिक वनमा साग टिप्न गएको छैन । मैले उक्त जंगलको साग टिप्ने स्थानसमेत देखेकी छैन । उल्लिखित मितिमा मैले प्रतिवादी तुलबहादुर रोकायलाई भेटेको पनि 

छैन । प्रतिवादीले जाहेरवालाको श्रीमतीलाई घाँटी काटेर हत्या गरेको अभियोगबाट उम्कनको लागि मलगायत रानी थरूनीसमेतलाई भेटेको भनी बहाना बनाएका हुन् भन्नेसमेत व्यहोराको फुदनिया चौधरी र रूपमती चौधरीले गरिदिएको करिब एकै मिलानको अलग अलग घटना विवरण कागज । 

मिति २०६८।११।२४ गते म र सासू खली भण्डारी आफ्नै घरमा बसिरहेको अवस्थामा अन्दाजी साँझ ५:०० बजेको समयमा गाउँका तुलबहादुर रोकाय र निजको श्रीमती उषा रोकाय हाम्रो घरमा आई निजले पहिले नै लगेको रू.१०,०००।– ऋण तिरेका थिए । रू.४,०००।– हजार अझै बाँकी नै छ । प्रतिवादीले पैसा बुझाउँदा मेरो सासूले यत्रो पैसा कहाँबाट ल्याएका हौँ भनी सोधेकोमा निजको श्रीमतीले दार बेचेर ल्याएको हुँ भन्थे खोई कहाँबाट ल्याए मलाई थाहा भएन भनी जवाफ दिएकी थिइन् । जाहेरवालाको श्रीमती हराएको हामीले निजको मृत शव मिति २०६८।११।२५ गते भेटिएपश्चात् मात्र थाहा पाएका हौं । प्रतिवादी तुलबहादुर रोकाय रक्सी सेवन गर्ने, केही काम नगर्ने, गाउँ घरमा झगडा गरी रहने व्यक्ति हुन् । मिति २०६८।११।२४ गते दिनको १०:३० बजेको समयमा मृतक सेती वली र प्रतिवादी गफगाफ गरेर बसेको देखिनु र सोही समयदेखि सेती ओली हराई मिति २०६८।११।२५ गते मृत अवस्थामा भेटिनु, मृतकका कान र नाकका सुनका गर गहनासमेत नहुनुलगायतका कारणले प्रतिवादीले नै सेती वलीलाई कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने व्यहोराको धनसरा भण्डारी र खली भण्डारीले गरी दिएको करिब एकैमिलानको छुट्टाछुट्टै घटना विवरण कागज । 

मिति २०६८।११।२४ गते बिहान म र गाउँमा पवित्रा खत्री, देवी खड्का, रूपा खत्रीसमेत भई टप्पर महिला सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा अं.१०:३० बजेको समयमा प्रतिवादी तुलबहादुर रोकाय र सेती वली उक्त जंगलको घाँस काट्ने फाँटभन्दा माथि रहेको जंगलको बाटोमा बसेर कुराकानी गरिरहेको हामीले प्रत्यक्ष देखेका हौं । हामी घाँस काटेर अं.१२:०० बजेको समयमा आफ्नो घरतर्फ फर्कि आउँदा सोही जंगलको बाटोमा प्रतिवादी तुलबहादुर रोकाय हस्याङ फस्याङ गर्दै हतार हतार जंगलबाट बाहिर निस्केको हामीले देखेका थियौं । उक्त समयमा निजको हातम हँसिया जस्तो वस्तु पनि 

थियो । हामीहरूले घासको डोको बोकेर हिँडीरहेको र निज गाउँकै चिनजानको व्यक्ति भएकोले नियालेर हेरेनौं भन्नेसमेत व्यहोराको कमला खत्री, पवित्रा खत्री, देवी खड्का र रूपा खत्रीसमेतले गरी दिएको करिब एकै मिलानको अलग अलग घटना विवरण कागज ।

मिति २०६८।११।२४ गते म आफ्नै घर जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ स्थित बालापुरमा थिएँ । प्रतिवादी तुलबहादुर रोकायलाई म राम्रोसँग चिन्दछु । निज प्राय: सधैँ रक्सी सेवन गरिरहने व्यक्ति हुन् । मिति २०६८ सालको मंसिर महिनामा काठ दिन्छु भनी मसँग ४,७००।- लगेकोमा सोही महिनामा पुराना खाँवालगायतका काठहरू दिएका थिए भन्नेसमेत व्यहोराको जन्तरबहादुर थारूको घटना विवरण कागज ।

प्रतिवादी तुलबहादुर रोकायलाई 

चिन्दछु । निज कहिले काहीँ रक्सी सेवन गरी म काम गर्ने सोहेलवाको इट्टा भट्टामा आउने गर्दछन् । इट्टा भट्टामा म लेखापालको समेत काम गर्दै आइरहेकोले मानिसहरूले दाउरा काठ बिक्री गर्न ल्याउँदा म आफैँले जोखेर पैसा दिने गरेको छु । प्रतिवादी तुलबहादुर रोकायले हाम्रो इँट्टा भट्टामा काठ दाउरा हालसम्म बेच्न ल्याएका छैनन् र निजलाई एक पैसा पनि दिइएको छैन भन्नेसमेत व्यहोराको कोटही इट्टा उद्योगका सञ्चालक रामप्रसाद यादवले गरी दिएको घटना विवरण कागज ।

मेरी श्रीमती सेती वली हत्या हुनुअगाडि कानमा आठ आनाको सुनको रिङ र नाकमा २३ लालको सुनको फुली लगाएको उक्त सुनको मुल्य अं. रू. २८,०००।– बराबरको रहेको भनी मृतकको श्रीमान्‌ खड्गबहादुर वलीले गरेको कागज ।

मिति २०६८।११।२४ गते म आफ्नो कामले बुवा शंकर शाहीसँग टप्पर महिला सामुदायिक जंगलको बाटो हुँदै गुलरिया बजारतर्फ गइरहेको अवस्थामा प्रतिवादी तुलबहादुर रोकाय र जाहेरवालाको श्रीमती सेती वली सोही जंगलको बाटोमा बसेर कुराकानी गरेको देखेको हुँ । मिति २०६८।११।१५ गते बिहान सेती वलीको उक्त जंगलमा रहेको वनमाराको झारीभित्र मृत अवस्थामा लास फेला परेपश्चात् घटनाको बारेमा थाहा पाएको हुँ । निज प्रतिवादी तुलबहादुर रोकायले मृतक सेती वलीको नाक, कानमा रहेका सुनको रिङ र फुली लिने खाने नियतले धारिलो हतियार प्रयोग गरी घाँटी काटी मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको गगन शाहीले गरेको घटना विवरण कागज ।

मिति २०६८।११।२५ गते जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ स्थित टप्पर महिला सामुदायिक वनमा प्रतिवादी तुलबहादुर रोकायले सेती वलीलाई धारिलो हतियार प्रयोग गरी घाँटी रेटी कर्तव्य गरी मारी वनमारा झारले लास छोपी राखी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निजलाई ऐ. ज्यानसम्बन्धी महलको १३(१)बमोजिम सजाय गरी निज प्रतिवादीले मृतक सेती वलीले लगाएको आठ आनाको सुनको रिङ्ग र सुनको फुलीसमेत लुटी लगेकोले मुलुकी ऐन, चोरीको महलबमोजिम सजाय गरी ऐ. १० र २१ नं.बमोजिम प्रतिवादीबाट जाहेरवालालाई बिगोसमेत दिलाई भराई पाउँ भन्ने व्यहोराको अभियोग पत्र ।

मैले मृतक सेती वलीलाई मारी सुनका गहनासमेत लिएको हैन । मैले कुनै कसुर नगरेकाले आफ्नै घरमा बसेको थिएँ । पछि सबै गाउँलेहरू मिली मलाई फसाउने उद्देश्यले जाहेरी हाल्न लगाई कारवाही चलाएका हुन् । मैले अभियोग दाबीबमोजिमको कुनै कसुर नगरेको हुँदा दाबीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तुलबहादुर रोकायले अदालतमा गरेको बयान ।

सेती वलीले सुनका गहना लगाएकी थिइन् । तिनै सुनका गहना लिने खाने उद्देश्यबाट प्रतिवादीले हत्या गरेको हुनुपर्दछ भन्नेसमेत व्यहोराको आदेशानुसार बुझिएका शंकर शाहीले गरेको बकपत्र ।

प्रतिवादी तुलबहादुरको आय स्रोत केही नभएकोले निजले सेती वलीलाई कर्तव्य गरी मारी निजले लगाएका गरगहना बेचेको कुरामा मलाई विश्वास लाग्छ भन्नेसमेत व्यहोराको बुझिएका रूपा खत्रीले गरेको बकपत्र ।

सेती वलीको कर्तव्यबाट मृत्यु भएको हो । को कसले मारे मलाई थाहा छैन । म भन्न सक्दिन भन्नेसमेत व्यहोराको बुझिएकी खली भण्डारीले गरेको बकपत्र ।

मिसिल संलग्न प्रमाण कागजातहरूबाट प्रतिवादी तुलबहादुर रोकायाले मृतकको गहना चोरी गरी खाने मनसायले सेती ओलीको हत्या गरेको देखिन आएको र हत्यापश्चात् गहना लगी बिक्री गरी खली भण्डारीको ऋण तिरेकोसमेत देखिँदा प्रतिवादी तुलबहादुर रोकायले अभियोग दाबीबमोजिम सेती वलीको निर्मम तरिकाले घाँटी रेटी हत्या गरेकोले ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । चोरीतर्फ रू. २८,०००।- को धनमाल चोरी गरी खाएकोले चोरीको १४(३) नं.बमोजिम ६ वर्ष तीन महिना कैद सजाय गरी चोरी गरी खाएको धनमालको बिगो प्रतिवादीबाट जाहेरवालाले भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको बर्दिया जिल्ला अदालतको मिति २०६९।३।२० को फैसला । 

मैले मृतकलाई मार्ने योजना बनाएको 

छैन । मार्ने मनसाय राखी कुनै कार्य गरेको वा मृतक तथा उसको परिवारसँग रिसइवी राखेको पनि छैन । सोहीअनुरूप वारदात घटाएको भन्ने कुरा कहीँ कतैबाट पुष्टि हुन सकेको छैन । मैले आफ्नो जग्गा र सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको रकमबाट खली भण्डारीलाई ऋण बुझाएको हुँ । रूपैयाँँको स्रोत नखुलेको भनी कर्तव्य ज्यान जस्तो संगिन फौजदारी अभियोगमा कसुरदार ठहर्‌याई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी तुलबहादुर रोकायको पुनरावेदन पत्र । 

प्रतिवादीले कसुर गरेकोमा इन्कार रही बयान गरेको र प्रत्यक्ष प्रमाणको अभावमा प्रतिवादीलाई कसुर ठहर गरी भएको सुरू बर्दिया जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सकिने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगञ्जलाई पेसीको जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने मिति २०७०।१।२९ मा भएको आदेश ।

प्रतिवादी तुलबहादुर रोकायले मृतक सेती वलीले लगाएका गहना लिने खाने नियतबाट मिति २०६८।११।२४ गते जिल्ला वर्दिया गुलरीया नगरपालिका वडा नं. ८ स्थित टप्पर महिला सामुदायिक वनमा धारीलो हतियारले घाँटी रेटी कर्तव्य गरी मारी निजले लगाएका सुनका गहनासमेत लुटी लगेको तथ्य मिसिल संलग्न शव परीक्षण प्रतिवेदन तथा वारदात मितिमा यी प्रतिवादी मृतकको साथमै रहेको देख्ने व्यक्तिहरूको बकपत्रलगायतका प्रमाण कागजातहरूबाट पुष्टि हुन आएको देखिएको र निज अन्यत्र रहेको भन्ने तथ्य पुष्टि हुन सकेको नदेखिँदा प्रतिवादी तुलबहादुर रोकायलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र मृतकले लगाएको रू.२८०००।– को गहनासमेत चोरी गरेको देखिँदा ऐ. चोरीको १४(३) नं.बमोजिम ६ वर्ष ३ महिना २० दिन कैद हुने र चोरीको बिगो प्रतिवादीबाट जाहेरवालाले भरी पाउने ठहर्‍याई भएको सुरू बर्दिया जिल्ला अदालतको मिति २०६९।३।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७०।८।२३ को फैसला ।

प्रतिवादी तुलबहादुर रोकायलाई बर्दिया जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैद गर्ने गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७०।८।२३ को फैसलाउपर प्रतिवादीका नाउँमा जारी भएको पुनरावेदनको म्याद मिति २०७१।१२।१० मा तामेल भएकोमा कानूनका म्यादभित्र निजको यस अदालतमा पुनरावेदन नपरी साधकको रोहमा पेस हुन आएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मिति २०६८।११।२४ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ स्थित टप्पर महिला सामुदायिक वनमा प्रतिवादी तुलबहादुर रोकायले सेती वलीलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निजलाई ऐ. १३(१) नं. बमोजिम सजाय गरी मृतक सेती वलीले लगाएको सुनको रिङ र फुलीसमेत चोरी गरेको हुँदा चोरीमा समेत सजाय गरी बिगो भराई पाउँ भनी अभियोगपत्र पेस भएको देखिन्छ ।

३. मिति २०६८।११।२४ गते मृतक सेती वली टप्पर महिला सामुदायिक वनको रेखदेख गर्न गएकी तर बेलुकीसम्म फर्की नआएकोले जंगलमा खोजतलास गर्दै जाने क्रममा मिति २०६८।११।२५ गते बिहान घाँटी रेटेर मारेको अवस्थामा श्रीमती सेती वलीको लास भेटिएकोले कानूनबमोजिम कारवाही गरिपाउँ भनी मिति २०६८।११।२६ मा हुलीया जाहेरी परेको देखिन्छ । मिति २०६८।१२।७ गते अर्को जाहेरी दिँदै मृतकले नाकमा लगाएको फुली र कानमा लगाएको सुनको रिङसमेत लगी सेती वलीलाई घाँटीमा धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको अवस्थामा लास फेला परेको र मिति २०६८।११।२४ गते बिहान १०:३० बजे मृतक सेती वली र प्रतिवादी तुलबहादुर रोकाय मृतकको लास भएको ठाउँको नजिक एकसाथ बसेको भनी शंकर शाहीले बताएको हुँदा सेती वलीलाई सुनका गहना लुटेर खाने नियतले तुलबहादुर रोकायले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको हुँदा सजाय गरिपाउँ भनी प्रतिवादीउपर किटानी जाहेरी दिएको देखिन्छ ।

४. मृतक सेती वलीको घाँटी धारिलो हतियारले स्वास नलीसमेत काटिने गरी ६ इन्च लम्बाई, ५ से.मी. गहिराइको घाउ चोट रहेको भन्ने मिति २०६८।११।२५ मा घटनास्थल लासजाँच मुचुल्का र Cause of Death “Most Probably due to hemorrhagic shock and asphyxia due to cut trachea” भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिँदा मृतक सेती वलीको मृत्यु स्वभाविक नभई कर्तव्यबाट भएको तथ्यमा विवाद रहेन । 

५. अब को कसको कर्तव्यबाट सेती वलीको मृत्यु भएको रहेछ भनी संकलित सबुत प्रमाणहरूको विश्लेषण गरी हेर्दा प्रतिवादी तुलबहादुर रोकाय विरूद्ध किटानी जाहेरी परेको देखिन्छ । तर, निज आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । घटना हुँदाको बखत वारदात देख्ने चश्मदिद गवाह प्रस्तुत मुद्दामा कोही देखिँदैन । तथापि, मृतकसँग साँझ जंगल छेउमा प्रतिवादी गफ गरेर बसिरहेको देख्ने गगन शाही र शंकर शाही गवाह रहेको देखिन्छ । निजले बकपत्रको क्रममा आफू गुलरिया बजार जाँदै गर्दा टप्पर महिला सामुदायिक वनमा सेती वली र तुलबहादुर रोकाय गफ गरी बसिरहेका थिए । मलाई देखेपछि सेती वलीले नमस्कार गरेकी थिइन् । तुलबहादुर फटाहा खालको मानिस भएकोले आर्थिक प्रलोभनको कारण सेती वलीको हत्या गरी निजले लगाएको गहना बन्दकी राखी खली भण्डारीलाई रू.१०,०००/- ऋण तिरेको देखिँदा निजैले सेती वलीलाई हत्या गरेकोमा विश्वास लाग्दछ भनी शंकर शाहीले आफ्नो व्यहोरा लेखाएको पाइन्छ ।

६. प्रतिवादी तुलबहादुर रोकायाले अनुसन्धान र अदालतमा समेत बयान गर्दा मिति २०६८।११।२४ गते बिहान भान्जी मनकुमारी चौधरीको घरमा टप्पर महिला सामुदायिक वनको बाटो भएर गएको थिएँ । रानी थरूनीसँग बाटोमा भेट भएको थियो । त्यसपछि बालापुरस्थित भान्जी मनकुमारी चौधरीको घरमा गई सोझै घर फर्किएको हुँ । साँझ ५ बजे श्रीमतीसमेत भई खली भण्डारीको रू.१०,०००/- रूपैयाँँ तिरेर आएका हौं । उक्त दिन मृतक सेती वलीसँग भेट भएको छैन । मैले खली भण्डारीलाई दिएको रूपैयाँँ मेरै घरको र सामुदायिक वनको काठ चोरी गरी बिक्री गरी ल्याएको रूपैयाँँ हो । रू.४,०००/- जन्तर थारूसँग मिति २०६८।११।१८ मा र रू.६,०००/- सोहेल बाको इँट्टाभट्टाबाट फाल्गुनमा लिएको थिएँ भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको 

देखिन्छ । प्रतिवादी तुलबहादुरले रानी थरूनीसँग बाटोमा भेट भएको र कुराकानी गरेको भनेका छन्, तर रानी थरूनीलाई बुझ्दा उनले प्रतिवादीलाई नभेटेको र चिन्दा पनि नचिनेको भनी कागज गरी दिएको देखिन्छ । त्यसैगरी प्रतिवादीले निगुरो टिप्न गएका व्यक्तिहरूलाई देखेको भनी बयान व्यहोरा लेखाएकोमा कसैले पनि प्रतिवादीलाई देखेको भनेर भन्दैनन् । अपितु आफूहरू निगुरो टिप्न नै नगएको व्यहोरा लेखाई दिएको 

देखिन्छ । यसरी प्रतिवादीले आफू अन्यत्र जाँदा देखेको गफ गरेको भनेका व्यक्तिहरूले नै उक्त कुरा खण्डित गरिदिएको यस अवस्थामा निज वारदात समयमा अन्यत्र थिए भन्न मिलेन ।

७. यसरी वारदातस्थलमा उक्त दिन निजको उपस्थिति रहेको तथ्य शंकर शाहीसमेतका व्यक्तिहरूको बकपत्रबाटबाट पुष्टि भएको देखिन्छ । सोही दिनको १० बजे प्रतिवादी मृतक सेती वलीसँग बातचित गरेको आफूहरूले देखेको र सोही दिन १२:०० बजे यी प्रतिवादी हातमा हँसिया बोकी हस्याङ फस्याङ गरी जंगलबाट बाटोतर्फ निस्केको देखेको भनी पवित्रा खत्री, रूपा खत्रीसमेतका व्यक्तिहरूले घटना विवरण कागज गरी खुलाएका र सोही व्यहोरालाई समर्थन गरी बकपत्रसमेत गरिदिएको देखिन्छ ।

८. मृतकले लगाएका गहनाहरू निजको लाससँग नरहनु र प्रतिवादीको आकस्मिक आर्थिक गतिविधिले पनि प्रस्तुत वारदातमा यी प्रतिवादीको संलग्नता थप पुष्टि हुन गएको पाइन्छ ।

९. मृतक सेती वली वनमा गएको अवस्थामा निजले लगाएको सुनको गहनाहरू लिने खाने नियतले प्रतिवादीले धारिलो हतियारले घाँटी काटी कर्तव्य गरी मारी निजले लगाएको गहना लिई गएको र सोही दिन निजले रू.१०,०००/- खली भण्डारीलाई दिएको तथ्यसमेत खुल्न आएको छ । प्रतिवादीले उक्त रूपैयाँँको स्रोत देखाउन सकेको देखिँदैन । आफ्नो बारीमा रहेका रूख काटी बिक्री गरेको भनी प्रतिवादीले जिकिर लिएपनि मिसिल संलग्न सर्जमिन मुचुल्कामा निजको बारीमा रूख काटिएका ठूटाहरू नदेखिएको र काठ किन्ने व्यक्तिहरूलाई बुझ्दा प्रतिवादीले उल्लेख गरेको मितिमा कुनै काठ खरिद बिक्री नभएको भनी मुचुल्का भई आएकाले प्रतिवादीको उक्त जिकिर खण्डित हुन आएको देखिन्छ ।

१०. वारदात मितिमा यी प्रतिवादी मनकुमारीको घरमा दिउसो २:०० बजे मात्र पुगेको र २:१५ मा त्यहाँबाट हिँडेको भनी मनकुमारीले लेखाएको व्यहोरासँग प्रतिवादीले बयान गर्दा खुलाएको विवरण फरक पर्न गएको देखिन्छ । यी प्रतिवादीले आफूले खाएको ऋण रकम तिर्न बुझाउन जाँदा कसैलाई नभन्नु भनी अनुरोधसमेत गरेको मिसिल संलग्न खली भण्डारीको कागजसमेतबाट देखिन्छ । यसरी आफूले खाएको ऋण चुक्ता गरेपछि गोप्य राख्नुको कारण प्रतिवादीले खुलाउन सकेको देखिँदैन ।

११. यसरी प्रतिवादीले गरेको इन्कारी बयानका आधार र कारणहरू एकपछि अर्को खण्डित तथा झुठ्ठा र बनावटी देखिन आएको छ भने वारदात मितिमा प्रतिवादी वारदातस्थलमा रहेको देख्ने साक्षीको बकपत्र एवं निजले सोही मितिमा ऋण चुक्ता गरेको विवरण गोप्य राख्न गरेको अनुरोध गरेको र लाससँग रहेका गहनाहरू हराएको तथ्यहरूबाट  प्रतिवादी तुलबहादुर रोकायले सेती वलीले लगाएका गहना लिने खाने मनसायबाट निजलाई कर्तव्य गरी मारी गहनाहरूसमेत लिइ गएको तथ्य मिसिल संलग्न कागज प्रमाणहरूबाट शंकारहित रूपमा पुष्टि भइरहेको देखिन्छ । 

१२. अपराध हुँदाहुँदैको अवस्था देख्ने चश्मदिद गवाह मुद्दामा नहुन पनि सक्दछ । चश्मदिद गवाह नभएको अवस्थामा पनि अपराधी यही नै हो भनी ठम्याउन वस्तुनिष्ठ र परिस्थितिजन्य प्रमाणबाट पनि सकिन्छ । घटित अपराधको प्रकृति अपराध हुनुअघि र पछिका घटना र प्रतिवादीको हाउभाउसहितको व्यवहार आदि सबैतर्फबाट अपराधी को हो भनी देखाई रहेको अवस्था चश्मदिद गवाह छैन वा अदालतमा अपराधमा इन्कारी बयान गरेकै कारणले मात्र सफाइ दिनु न्यायोचित हुँदैन । मृतकको मृत्यु पूर्व यी प्रतिवादीसँग जंगल छेउमा गफ गरी बसेको देख्ने व्यक्तिहरू छन् । जंगलबाट हँसिया लिई हस्याङ फस्याङ गरी प्रतिवादी आइरहेको देख्ने मानिसहरू पनि छन् । प्रतिवादीले आफू अन्यत्र रहेको दाबी लिँदा निजले बाटोमा कुरा गरेका भनिएका मानिसहरू त्यो होइन भनी आफ्नो व्यहोरा लेखाएका छन् । मृतकको गहना लासमा 

छैन । प्रतिवादीसँग अस्वभाविक तवरबाट बढी रकम रहेको तथ्य प्रमाणित छ । निजले काठ बेचेर ल्याएको भने तापनि निजको छेउछाउ कतै रूख काटेका ठुटाहरू नभएको भनी सर्जमिन मुचुल्का भएको छ । यी तथ्यको रोहबाट निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गरेको सुरू बर्दिया जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत, नेपालगञ्जबाट मिति २०७०।८।२३ मा भएको फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । 

१३. प्रतिवादीउपर चोरीको १ र ५ नं.बमोजिमको कसुरमा सोही महलको १४(३) नं. बमोजिम सजाय हुन र ऐ. १० र २१ नं. बमोजिम बिगोसमेत भराई पाउन दाबी लिई अभियोग पेस भएको सन्दर्भमा विचार गर्दा मिसिल संलग्न कागजातहरूबाट सेती वलीको मृत्यु हुनका कारण नै निजले लगाएका सुनका गहना लिने खाने मनसायले भएको पुष्टि भइरहेको र निजले लगाएका गहनाहरू लासको साथमा रहे भएको नदेखिएको, सोही वारदातको दिन यी प्रतिवादीले खली भण्डारीको बाँकी रू.१०,०००/- भुक्तानी गरेको, सोको स्रोत खुलाउन नसकेकोसमेतका आधार प्रमाणहरूबाट अभियोग दाबीबमोजिम प्रतिवादी तुलबहादुर रोकायले कसुर गरेको पुष्टि हुन आएकोले निजबाट बिगो भराई रहजनी चोरीतर्फ मुलुकी ऐन चोरीको १४(३) नं.बमोजिम ६ वर्ष ३ महिना २० दिन कैद हुने ठहर गरेको फैसला अन्यथा देखिँदैन । तर प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नंबमोजिम सर्वस्वसहित जन्मकैदको सजायसमेत ठहर भएको हुँदा दण्ड सजायका ४१ नं. बमोजिम चोरीको महलबमोजिमको थप सजाय हुन सक्ने देखिएन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु । 

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत (शा.अ.): तीर्थराज भट्टराई

इति संवत् २०७२ साल चैत २८ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु