शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६९७ - अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत

भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ 

फैसला मिति : २०७३।०२।०५

०६७-CI-०३६५

 

मुद्दाः अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत

 

पुनरावेदक/प्रतिवादी : जिल्ला उदयपुर सुन्दरपुर गाउँ विकास समिति वडा नं ६ बस्ने भोलानाथ चौधरीसमेत

विरूद्ध 

प्रत्यर्थी/वादी : ऐ ऐ वडा नं ७ बस्ने साधु दास चौधरी

 

एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको पाइन्छ । अंशियारहरू जहाँसुकै रहेबसे पनि ती अंशियारहरू विधिवत् छुट्टिभिन्न भएका हुन्, होइनन् र तिनिहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो होइन भन्ने तथ्यगत विश्लेशणबाट निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अलग अलग घर हुनुलाई नै छुट्टिभिन्न भएका हुन् भनी अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं. ३)

 

पुनरावेदक प्रतिवादका तर्फबाट : विद्वान्‌ अधिवक्तात्रय श्यामप्रसाद पाण्डे, सुरेन्द्र थापा र श्रवणकुमार चौधरी

प्रत्यर्थी वादीका तर्फबाट : अधिवक्ता ओमप्रकाश चौधरी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.

प्रमाण ऐन, २०३१ को दफा ६(क)

 

सुरू तहमा फैसला गर्ने: 

माननीय न्यायाधीश श्री शिवप्रसाद पराजुली

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

माननीय न्यायाधीश श्री शिवनारायण यादव 

 

फैसला

न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।

हाम्रो मूल पुर्खा लोदरको छोरा मोहनलाल, मोहनलालको छोरा जेठो नथरू, माइलो विपक्षीमध्येको तेजनारायण र कान्छो म फिरादी साधु दास 

हौं । पिता मोहनलाल र आमाको पहिले नै कालवस परलोक भएको, जेठो नथरू बाबु आमा जीवित छँदै आफूले पाउन अंशको सम्पत्ति बुझी आआफ्नो खति उपती बेहोरी २०१५ सालमै छुट्टि भिन्न भएको र म फिरादी तथा विपक्षी तेजनारायण एकासगोलमै बसी आएकोमा परिवार संख्या ठूलो भई व्यवहार गर्न गाह्रो परेकोले छुट्टि भिन्न हौं भनी बारम्बार अनुरोध गर्दा हुन्छ भन्दै टार्दै आएको र सम्पूर्ण चल अचल सम्पत्ति विपक्षी तेजनारायण कै जिम्मा रहेको हुँदा २०६० साल फाल्गुण १६ गतेका दिन समाज राखीभन्दा म तँलाई अंश दिन्न, मेरो नामको सम्पत्ति मैले आफ्ना छोराहरूलाई बन्डा लगाई दिई सकेँ, तैलेँ अब मबाट अंश पाउँदैनस् भनी भनेकाले मालपोत कार्यालय, उदयपुरमा आई हेर्दा म मूल अंशियारलाई कुनै थाहा जानकारी नै नदिई विपक्षी तेजनारायणले आफ्ना छोराहरू मेरा भतिजा विपक्षीहरू भोलानाथ, शिवनाथ र विशेश्वरलाई र.नं. १२६६ मिति २०६०।१०।१९ मा जालसाजी तवरबाट मेरो भाग नै नराखी आफूहरूलाई फाइदा र मलाई घाटा हुने गरी अंश बुझेको भरपाई लिखत खडा गरी सम्पत्ति पारित गरी दिनु लिनु गरी मलाई अन्याय गरेकाले विपक्षी तेजनारायण चौधरी जिम्माको सम्पूर्ण चल अचल सम्पत्तिमा मेरो आधा अंश हक लाग्ने हुँदा विपक्षीहरूले जालसाजी प्रक्रियाबाट पारित गराएको उक्त मिति २०६०।१०।१९ को र.नं. १२६६ को अंश भरपाई लिखत बदर गरी उक्त लिखतबाट भएका विपक्षीहरू भोलानाथ, शिवनाथ र विशेश्वर चौधरीका नामको जग्गा दर्ता बदर गरी बाँकी चल अचल सम्पत्तिको समेत तायदाती फाँटवारी लिई मेरो अंशमा पर्ने २ खण्डको १ खण्ड मलाई दिलाई अचल सम्पत्ति दर्तासमेत गरिपाउँ भन्ने व्यहोराको मिति २०६०।११।२८ को फिराद दाबी । 

पिता मोहनलाल र आमाको २००७ सालभन्दा अगाडि नै परलोक भएकोले २०१५ सालमा बाबुबाट जेठो दाजु नथरूले आफ्नो अंश भागको सम्पत्ति लिई छुट्टि भिन्न भएका हौं । हामी प्रतिवादीहरूले झोरा जग्गा फँडानी गरी भोग कायम गरेकाले पुनर्वास विभाग र सुकुम्बासी समस्या समाधान आयोगबाट समेत हक भोगको आधारमा जग्गाको प्रमाण पत्र प्राप्त गरेकाले हामी प्रतिवादीहरूसँग अहिले प्रशस्त जग्गा भएको हुँदा सो जग्गा हत्याउन सकिन्छ कि भनी यो झुट्ठा फिराद दिएको हो । अदालत प्रवेश गर्दा विपक्षी आफू सुन्दरपुर बस्ने र हामी प्रतिवादी बसाहा बस्ने भनी लेखाई आएबाट वतन फरक परेको देखिएको कुरासमेतबाट सो कुराको पुष्टि हुन्छ । अतः एक पटक अंश दिइसकेको फिरादीलाई फेरी अंश दिनु नपर्ने हुँदा झुट्ठा फिराददाबी खारेज भागी हुँदा खारेज गरिपाऊँ । खारेज नभई मुद्दाको कारवाही हुने भए यो प्रतिउत्तर वादीको फिरादसँग जोडी न्यायिक इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिउत्तर जिकिर । 

ससुरा मोहनको तिन भाइ छोरामा जेठा नथरू माहिला तेजनारायण र कान्छा मेरा पति साधु दास 

हुन । तीन जनाको अंशबन्डा भएका थाहा छैन । अंशबन्डा भएको नहुँदा अंशबन्डा हुनुपर्ने हो । मेरो नाउँमा दर्ता भएको जग्गा मैले खरिद गरेको हुँ सो जग्गा अंशबन्डाको जग्गा होइन भन्ने व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका अनुपादेवी चौधरीले सुरू अदालतमा गरेको बयान । 

अ.बं १३९ नं. बमोजिम बुझिएका व्यक्ति श्रीमती हसनवति चौधरीका नाउँको ७ दिने म्याद मिति २०६२।५।३० मा तामेल भएकोमा म्यादै गुजारी बसेको ।

वादी प्रतिवादीहरू तीन अंशियार हुन् । तिनिहरूमध्ये एक अंशियार छुट्टिई सकेको छन् । तिनिहरूबीच अंशबन्डा भएको छैन । साधुदासलाई कुनै अंश दिई अंशबन्डा गरी दिएको छैन । बसोबासबाट प्राप्त गरेको जग्गाबाट अंश पाउने हो । लिखत बदर दर्ता बदर हुने हो भन्ने वादीका साक्षी बालकृष्ण चौधरीले अदालतमा गरेको बकपत्र । 

२०१५ सालमा नै यिनीहरूबीच अंशबन्डा भएको हो । वादी प्रतिवादी ३ अंशियार हुन् । जेठा नथरू चौधरीको मृत्युपछि उसको छोराको पनि मृत्यु भई उनको श्रीमतीको नाममा जग्गा छ । उक्त जग्गा सुन्दरपुरमा छ । बसोबासबाट प्राप्त जग्गा वादीको अंश हक लाग्ने होइन र वादीले पाउने अंश २०१५ सालमा नै भाग बन्डा भएको हो भन्नेसमेत प्रतिवादीका साक्षी डिकबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्र । 

वादी र प्रतिवादीमध्येका तेजनारायण चौधरीसमेतको बीचमा अंशबन्डाको ३० नं. अनुसार बन्डापत्र खडा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई बेगल बसी आआफ्नो हिसाब भागशान्तिबमोजिम लिई पाई दर्तासमेत गराई सकेको र बन्डाबमोजिम छुट्टा छुट्टै भोगसमेत गरेको भई व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुराको पुष्टि भएको हुँदा २०६०।१०।१९ को अंश भरपाई लिखत र दर्ता बदर गरी तायदाती फाँटवारीसमेत लिई २ खण्डको १ खण्ड अंश दिलाई दर्तासमेत गरिपाउँ भन्नेसमेत वादीको दाबी पुग्न नसक्ने ठहर्छ भन्ने व्यहोराको सुरू उदयपुर जिल्ला अदालतको मिति २०६३।१।२१ को फैसला ।

अंशियारमा विवाद नभएको, अंशबन्डा भएकोमा पनि मुख मिलेको, म वादीको श्रीमतीको नाउँमा ०-९-१३ र तेजनारायण नाउँमा ०-१०-७ जग्गा रहनुबाट व्यवहार प्रमाणबाट अलग अलग रहेको अर्थ गर्न मिलेन । अंशियारको नाउँमा जग्गा रहँदैमा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम भिन्न भएको भन्न मिल्दैन । अंशबन्डाको ३० नं को गलत व्याख्या गरी त्रुटिपूर्ण व्याख्या भएको हुँदा अंशबन्डाको लिखत नै अंशबन्डा भएको मान्न नमिल्ने हुँदा सुरू उदयपुर जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबी ठहर गरिपाउँ भन्ने व्यहोराको वादीले पुनरावेदन अदालत, राजविराजमा दिएको पुनरावेदन पत्र ।

यसमा अंशियारहरूको नाममा छुट्टा छुट्टै जग्गा दर्ता भएको कारणले मात्र अंशबन्डा भएको भनी सुरू उदयपुर जिल्ला अदालतबाट भएको फैसलामा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने मिति ०६३।८।२१ को पुनरावेदन अदालत, राजविराजको आदेश । 

वादी मेरो पति नै हो । कानूनबमोजिम अंशबन्डा भएकै छैन । वादी दाबीबमोजिम अंश दिन म तयार नै छु भन्ने अनुपादेवीको लिखित जवाफ । 

भिन्न भएको कुराको लिखित नभए पनि अंशबन्डाको ३० नं. को ब्याख्या गरी व्यवहार प्रमाणबाट भिन्न भएको प्रमाणित गरी भएको सुरू उदयपुर जिल्ला अदालतको फैसला मिलेकै देखिँदा उल्टी गर्नु परेन भन्ने व्यहोराको प्रत्यर्थीको लिखित जवाफ ।   

यसमा सम्बन्धित मिसिल अध्ययन गर्दा दुवै पक्षबीच अंशबन्डाको लिखत खडा भएको 

देखिँदैन । आआफ्नो भागको अचल छट्टाछुट्टै भोग बिक्री व्यवहार पनि भएको देखिँदैन । अंशको अचल सम्पत्ति दाखिल खारेज भएको पनि पाइँदैन । यस्तो अवस्थामा अंशबन्डा महलको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट दुवै पक्षबीच अंशबन्डा भएको देखिन नआई दुवै पक्ष सगोलकै अंशियार भएको देखिन आउँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिको फाँटवारी अंशबन्डाको २०, २१, २२ र २३ नं. बमोजिम दुवै पक्षबाट लिई फाँटवारीमा उल्लिखित जग्गाको दर्ता बुझी नपुग कोर्ट फीसमेत वादी पक्षबाट दाखिला गराई पेस गर्नु भन्ने मिति ०६४।२।२७ को पुनरावेदन अदालत, राजविराजको आदेश ।

वादी प्रतिवादी पक्षबाट तायदाती फाँटवारी पेस हुन आएको । दुवै पक्षले पेस गरेको तायदाती फाँटावारीमा उल्लेख गरेका जग्गा बिक्री भएका छन् छैनन्, बिक्री भएको भए के कति बिक्री भए र हाल के कति जग्गा बाँकी रहेका छन सोको स्रोतसमेत खुलाई अ.बं १३३ नं. बमोजिम दुवै पक्षको कागज गराई जग्गा बिक्री भएको भए बिक्री भएर बाँकी रहेको जग्गाको प्रमाणित प्रतिलिपि दुवै पक्षबाट पेस गर्न लगाई लगाउको जालसाज मुद्दा साथै पेस गर्नु भन्ने मिति ०६६।९।१६ को पुनरावेदन अदालत, राजविराजको आदेश । 

मालपोत कार्यालयको मिति ०६४।८।१९ को पत्रमा स्रेस्ता कायम रहेको जग्गामध्येको जग्गासमेत मालपोत कार्यालय उदयपुरको च.नं १६५२ मिति ०६६।२।१ को पत्रबाट माथि उल्लिखित भोलानाथ चौधरी नाम दर्तामा कि.नं. ३०९ र शिवनाथ चौधरी नाम दर्ताको कि.नं. ३०७ जग्गा अन्यत्र गइसकेको भन्ने व्यहोरा उल्लेख भएको देखिएकोले उक्त कित्ता जग्गासमेत बन्डा गर्न मिल्ने अवस्था देखिन आएन । 

तायदाती फाँटवारीमा उल्लिखित जग्गामध्ये स्व. तेजनारायण चौधरी नाम दर्ताको कि.नं. १७२, १७३ भोलानाथ चौधरी नाम दर्ताको कि.नं. ३०६ फोड भई कायम कि.नं. ३९४ शिवनाथ नाउँ दर्ताको कि.नं. ३०३ अनुपादेवी नाउँ दर्ताको कि.नं. १२० साधु दास नाम दर्ताको कि.नं. २८९ पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीको बीचमा अंशबन्डा लाग्ने सम्पत्ति देखिएकोमा उक्त सम्पत्ति प्रत्यर्थी प्रतिवादी तेजनारायण चौधरीले मिति ०६०।१०।१९ मा आफ्नो छोरा भोलानाथसमेतको अंश भरपाई पास गरिदिएको देखिँदा वादी दाबीबमोजिम उक्त मिति ०६०।१०।१९ को अंश भरपाई बदर दर्ता बदर गरी पुनरावेदक वादीले २ भागको १ भाग अंश दिलाई दिनुपर्नेमा वादी दाबी नपुग्ने गरी भएको उदयपुर जिल्ला अदालतको मिति ०६३।१।२१ को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबीबमोजिम प्रत्यर्थी प्रतिवादीहरूले एक आपसमा जग्गा तिन भाग गरी मिति ०६०।१०।१९ मा गरेको अंश भरपाई लिखत बदर भई सोअनुरूपको दर्तासमेत बदर भई वादी प्रतिवादीको नाउँमा हाल कायम रहेको तायदातीमा उल्लेख जग्गाहरूमध्येबाट पुनरावेदक वादीले फिराद दाबीबमोजिम २ भागको १ भाग अंश पाई उक्त सम्पत्ति दर्तासमेत हुने ठहर्छ भन्ने मिति २०६६।६।२१ मा भएको पुनरावेदन अदालत, राजविराजको फैसला ।

पैतृक सम्पत्तिको हकमा हाम्रा पिता तेज नारायण चौधरी अंश भागमा परेको सुन्दरपुर वडा नं. ६(ख) कि.नं. १७२ को ०-१-७ र कि.नं. १७३ को ०-९-० जग्गा भूमिसुधार लागू हुँदा छुट्टै ७ नं. फाँटवारी २०२८ सालको सर्वे नापीमा छुट्टै नापी दर्ता भयो । त्यस्तै बाँकी सम्पूर्ण सम्पत्ति विपक्षी साधुदासको भागमा परी सो सम्पत्ति २०२८ सालको सर्वे नापी हुँदा विपक्षी वादीको एकासगोलको पत्नी अनुपादेवी चौधरीको नाउँमा सुन्दरपुर ८(छ) कि.नं. १५१ को क्षेत्रफल ०-९-१३ जग्गा नापी दर्ता भई छुट्टाछुट्टै तिरो भोग गरी आई रहेकोमा पछि सुन्दरपुर ७(क) कि.नं. २८७ को ०-१-० ७(ख) कि.नं. १८९ को ०-१-०, ऐ. ८(घ) कि.नं. १७१ को ०-२-४ जग्गा साधुदास चौधरीको खरिद भई विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरिसकेको छ । त्यस्तै ऐ. कि.नं. ९ को ०-११-१४, ऐ. कि.नं. २२ को ०-६-६१/२ , ऐ. कि.नं. १२० को ०-०-११ र ऐ. ८(घ) कि.नं. १५१ को ०-९-१३ जग्गा साधुदास चौधरीको सगोलको पत्नी अनुपादेवी चौधरी नाउँमा खरिद गरी विभिन्न व्यक्तिहरूलाई बिक्रीसमेत गरी व्यवहार गर्दै आइरहेको छ र हामी पनि छुट्टाछुट्टैरूपमा भोग व्यवहार गर्दै आएका छौं । 

यसप्रकार हामी धेरै पहिले नै छुट्टि भिन्न भएको र भोग बिक्री व्यवहार छुट्टा छुट्टै गर्दै आएको कुनै विवाद छैन । साधुदास चौधरी आफ्नो नाम दर्ताको सुन्दरपुर वडा नं. ७(ख) कि.नं. २८७ को ०-१-० जग्गा र.नं. ३४१ बाट लोकबहादुर राई लाई बिक्री 

गरेको । सुन्दरपुर ७(क) कि.नं. २२२ को ज.वि ०-६-३१/२ जग्गा अनुपादेवीबाट हाल सर्दै लोकबहादुर राईमा गएको, त्यस्तै ऐ. ७(क) कि.नं. ९ को ०-११-१४ जग्गा अनुपादेवीले गोविन्द थापाबाट शुभकुमारी राईमा सर्दै गएको साथै अनुपादेवीले आफ्नो नाम दर्ताको सुन्दरपुर ८(छ) कि.नं. १५१ को ०-९-१३ जग्गा र.नं. ३७६९ बाट अनुजा राईलाई बिक्री गरेको प्रस्ट छ सो प्रमाणहरू यसै साथ छ ।

यसप्रकार भूमि सुधार लागू हुँदा र २०२८ सालको सर्वे नापीमा छुट्टाछुट्टै नापी दर्ता गराई छुट्टाछुट्टै गाउँ विकास समितिमा बसोबास गरी छुट्टाछुट्टै भोग बिक्री व्यवहारसमेत गरेकाबाट व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुरा स्थापित हुँदाहुँदै प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत बुझ्नु पर्ने प्रमाण नबुझी नबुझ्ने प्रमाण बुझी अंशबन्डाको ३० नं. को गलत व्याख्या गरी पुनरावेदन अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको प्रस्ट छ । मुलुकी ऐन, अंशबन्डा महलको ३० नं. मा “यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डा पत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भागशान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराई सकेको वा बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ” भनी प्रस्ट व्यवस्था रहेको छ ।

व्यवहार प्रमाणबाट पुर्खौली सम्पत्ति बन्डा लिई छुट्टिएको ठहर्छ भनी नेकाप २०५०, अंक १०, पृष्ठ ६०८, नि.नं ४८०८ पुण्यप्रसाद खनाल विरूद्ध भवानी शंकर खनाल भएको मुद्दामा नजिर रहेको छ । त्यस्तै आआफ्नो नाउँमा सर्वे नापीमा दर्ता गरी तिरो भरो गरी भोग आएकोमा व्यवहार प्रमाण अंशबन्डा देखिन आएमा त्यस्ता बन्डापत्र अंशबन्डाको ३० नं. ले रजिस्ट्रेसन पारित गरिनु पर्ने अनिवार्यता देखिँदैन भनी नेकाप २०४१, अंक ५, पृष्ठ ४७७, नि.नं. २००५ भवानी राई विरूद्ध हजारमाया राईसमेत भएको मुद्दामा सिद्धान्त कायम भएको छ । त्यस्तै विधिवत् अंशबन्डा नभएको भन्ने जिकिर लिए पनि नापीमा आआफ्नो नाममा जग्गा दर्ता प्रमाणित भई आआफ्नो भोग बिक्री व्यवहारसमेत गरी आएको मिसिल संलग्न लिखित प्रमाणहरू समेतबाट प्रमाणित भइरहेको देखिँदा अंशबन्डाको लिखत कै अभावको कारणले मात्र वादी प्रतिवादीबीच अंशबन्डा नभएको भनी मान्न नमिल्ने भनी नेकाप २०६२, अंक ४, पृष्ठ ४७९, नि.नं ७५२९ लक्ष्मीमाया महिरनी विरूद्ध देवकी अहिरनीसमेत भएको अंशदर्ता मुद्दामा प्रतिपादित सिद्धान्त समेतलाई लत्याई न्यायिक मनको अभावमा भएको फैसला बदरभागी छ । तसर्थ वादी र हामी पुनरावेदक ०१३ सालमै अलग भिन्न भई २०२८ सालमा छट्टाछुट्टै नापी दर्ता गराई तिरो भोग बिक्री व्यवहार गरी अंशबन्डाको ३० नं. बमोजिम व्यवहारबाट प्रमाणबाट अंशबन्डा भइसकेको कुरा पुष्टि भइरहेको अवस्थामा प्रचलित कानून एवं प्रतिपादित सिद्धान्तविपरीत गरे भएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी सुरू उदयपुर जिल्ला अदालतको फैसला सदर कायम गरी न्याय निसाफ गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी भोलानाथ चौधरीसमेतले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

यसमा वादीकी श्रीमती अनुपा चौधरीको नाममा क्षेत्रफल ०-९-१३ जग्गा रही प्रतिवादीमध्येका तेजनारायणका नाममा क्षेत्रफल ०-१०-७ जग्गा दर्ता रही लगभग बराबर जग्गा दर्ता रहेको देखिनुका अतिरिक्त अलग अलग घर बसोबास तथा वादी प्रतिवादीबीच आआफ्नो भोग दर्ता व्यवहार प्रमाणबाट देखिएको स्थितिमा अंशबन्डाको ३० नं. बमोजिम बन्डा भएको ठहर्‌याउनु पर्नेमा सोतर्फ विचार नगरी सुरूको फैसला उल्टी हुने गरी पुनरावेदन अदालत, राजविराजबाट भएको मिति २०६६।६।२१ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७०।१०।८ मा भएको यस अदालतको आदेश । 

अंशबन्डाको ३० नं. बमोजिम अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम छुट्याई बन्डापत्रको कागज गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । पुनरावेदकले लिएको जिकिर सरासर भ्रमित झुठ्ठा हो हामी अंशियारहरूको बीचमा अंशबन्डा भएको छैन । मेरो अंश हक लाग्ने जग्गा पुनरावेदककै नाममा रहेको हुँदा पुनरावेदकहरूले म फिरादीको अंशहक मार्ने अंशियारहरूले आपसमा अंश भरपाई गरी लिए दिएको हो । प्रस्तुत मुद्दामा अंश मार्नलाई प्रतिवादी तेज नारायण चौधरीले मिति २०६०।१०।१९ मा आफ्ना छोराहरू विपक्षी प्रतिवादीहरूलाई गरिदिएको अंश भरपाई पूर्णरूपले असान्दर्भिक भए गरेको प्रस्ट छ । पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला सदर गरी वादी दाबीबमोजिम न्याय इन्साफ गरिपाऊँ । 

म वादीको नाममा जग्गा दर्ता नभई मेरा श्रीमती अनुपा चौधरीको नाममा क्षेत्रफल ०-९-१३ जग्गा रही प्रतिवादीमध्येका तेजनारायण नाममा क्षेत्रफल ०-१०-७ जग्गा दर्ता रही लगभग बराबर जग्गा दर्ता रहेको देखिनुका अतिरिक्त अलग अलग घर बसोबास तथा वादी प्रतिवादीबीच आआफ्नो भोग दर्ता व्यवहार प्रमाणबाट देखिएको स्थितिमा अंशबन्डाको ३० नं. बमोजिम बन्डा भएको ठहर्‌याउनु पर्ने आधार लिई गरेको झ.झि.को आदेश बिल्कुलै कानूनसङ्गत देखिएको अवस्था छैन । अंशबन्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट अंश लिई अलग भिन्न हुनको लागि आपसमा लेनदेन, जग्गा खरिद बिक्री जस्ता घरायसी व्यवहार भएको हुनु पर्दछ । प्रस्तुत मुद्दामा अंशियारहरूबीच त्यस्तो किसिमको काम कुरा भए गरेको छैन । वादी प्रतिवादीको घर अलग गाउँ विकास समिति हुँदैमा नापीको बखत आआफ्नो नाउँमा दर्ता गराउँदैमा व्यवहार प्रमाणबाट अलग छ भनी अंशबन्डाको ३० नं. को गलत आधार लिई भए गरेको झ.झि.को आदेश त्रुटिपूर्ण हुँदा फिराद दाबीबमोजिम गरिपाऊँ । 

प्रमाण ऐन, २०३१ को ६(क) बमोजिम एकासगोलमा रहेको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति सगोलकै हुने भन्ने कुरा अदालतले अनुमान गर्ने विषयअन्तर्गत पर्दछ । पैतृक सम्पत्ति होइन, मेरो निजी आर्जनको अंश नलाग्ने सम्पत्ति हो भन्ने जसले दाबी लिन्छ प्रमाण ऐनको दफा २७ बमोजिम सो जिकिर प्रमाणित गर्ने भार पनि सोही पक्षमा नै निहित हुन्छ । निज विपक्षीले सुकुम्बासी आयोगबाट जग्गा प्राप्त गरेको कुरा कुनै पनि लिखत कागजबाट प्रमाणित गर्न सकेको अवस्था छैन । यदि वादी प्रतिवादीबीच अंशबन्डा भएको भए सोको निर्क्यौल अदालतले मिसिल संलग्न प्रमाणको आधारमा गर्नुपर्छ । अलग अलग बस्दै गरेको भरमा मात्र छुट्टि भिन्न भएको भनी अनुमान गर्नु न्यायोचित हुँदैन । कुलदीप राई विरूद्ध डुण्डुराज राई (नेकाप २०५१, अंक १, नि.नं ४८५१, पृ. ३९); मु.स. गर्ने दुःखराम थारूसमेत विरूद्ध भुरे थारू (नेकाप २०५१, अंक ३, नि.नं ४८७९, पृ.१७५); झिग्मी पलवर विष्ट विरूद्ध मु.स. गर्ने कर्साङ लावाङ (नेकाप २०६७, नि.नं ८३५९, पृ. ६६७) भएको मुद्दामा कुनै घरायसी लिखतको कार्यान्वयन भए नभएको निर्क्यौल गर्नुपर्दा अदालत अति संवेदनशील हुनुपर्दछ । अकाट्य ठोस प्रमाणको अभावमा अनुमानको आडमा अंशबन्डाको ३० नं. प्रयोग गरी बन्डा भइसकेको निष्कर्ष निकाल्न मिल्दैन । घर व्यवहारबाट छुट्टि भिन्न भएको स्थापित हुन लिखतबमोजिम बन्डामा परेको सम्पत्ति बन्डा पाउने व्यक्तिहरूको नाममा नरम गरम मिलेको हुनुका अतिरिक्त नामसारी दाखेल खारेज बिक्री व्यवहार भएको हुनुपर्ने । आफूबाहेक अरू हकवालाको सम्पत्ति हकलाई निजहरूको मन्जुरी बिना तिलाञ्जलि दिने अधिकार परिवारको मुख्यलाई पनि हुँदैन । मुख्यले नै सम्पत्ति छाडेपछि निजको हकवालाको पनि हक गएको अर्थ निकाल्न न्यायोचित नहुने भएको प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएको हुँदा वादी दाबीबमोजिम अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँट गराई दर्तासमेत गरी न्याय इन्साफ गरिपाउँ भन्ने व्यहोराको साधुदासको मु.स. गर्ने ननुप्रसाद चौधरीले यस अदालतमा दिएको लिखित जवाफ ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।

प्रतिवादी पुनरावेदकतर्फबाट उपस्थित विद्वान्‌ अधिवक्तात्रय श्री श्यामप्रसाद पाण्डे, श्री सुरेन्द्र थापा र श्री श्रवणकुमार चौधरीले वादी र प्रतिवादीमध्ये तेजनारायण ०१३ साल मै अलग भिन्न भई बसेका; २०२८ सालमा छट्टाछुट्टै नापी दर्ता गराई तिरो भोग बिक्री व्यवहार गरी आएका; घरबास नै अलगै रहेको; नथरूको नामको जग्गा निजको छोराको नाममा नामसारी भएको; वादी साधुदासले विभिन्न जग्गा बिक्री गरेको हुँदा अंशबन्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुरा पुष्टि भइरहेको अवस्थामा प्रचलित कानून एवं प्रतिपादित सिद्धान्तविपरीत भएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी सुरू उदयपुर जिल्ला अदालतको फैसला सदर गरिपाउँ भनी र प्रत्यर्थी वादीतर्फबाट उपस्थित अधिवक्ता श्री ओमप्रकाश चौधरीले अंशबन्डाको एक मात्र आधार पारीत लिखत हो । लिखत नभएको अवस्थामा सुरू उदयपुर जिल्ला अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी भएको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै हुँदा सदर होस् भनी गर्नुभएको तर्कपूर्ण बहस सुनियो ।

अब पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ छैन र पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

विपक्षी तेजनारायण चौधरी जिम्माको सम्पूर्ण चल अचल सम्पत्तिमा मेरो आधा अंश हक लाग्ने हुँदा विपक्षीहरूले जालसाजी प्रक्रियाबाट पारित गराएको मिति २०६०।१०।१९ र.नं. १२६६ को अंश भरपाई लिखत बदर गरी उक्त लिखतबाट भएको विपक्षीहरू भोलानाथ, शिवनाथ र विशेश्वर चौधरीका नामको जग्गा दर्ता बदर गरी बाँकी चल अचल सम्पत्तिको समेत तायदाती फाँटवारी लिई मेरो अंशमा पर्ने २ खण्डको १ खण्ड दिलाई अचल सम्पत्ति दर्तासमेत गरिपाउँ भन्ने फिराद दाबी रहेकोमा वादी दाबी पुग्न नसक्ने ठहर्‌याई सुरू उदयपुर जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सोउपर वादीले पुनरावेदन गर्दा सुरूको फैसला उल्टी भई वादी दाबीबमोजिम मिति ०६०।१०।१९ मा गरेको अंश भरपाई लिखत बदर भई वादी प्रतिवादीको नाउँमा हाल कायम रहेको तायदातीमा उल्लिखित जग्गाहरूमध्येबाट वादीले २ भागको १ भाग अंश पाई दर्तासमेत हुने भनी भएको पुनरावेदन अदालत, राजविराजको फैसलाउपर प्रतिवादीहरूले उक्त फैसलामा चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।

२. यसमा निर्णयतर्फ विचार गर्दा अंशबन्डाको महलको ३० नं. मा अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । ... भन्ने प्रावधान रहेको 

छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरू छुट्टिभिन्न भएको भन्ने तथ्य समर्थित हुने पारीत लिखतको अभाव देखिन्छ । व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुरा पुष्टि भइरहेको अवस्थामा यसै नं. को व्यवस्थाले पारीत लिखत नभए पनि अंशबन्डा भएको मान्यता पाउनुपर्छ भन्ने प्रतिवादीपक्षको जिकिरसँग सहमत हुन सकिएन । 

३. वादी प्रतिवादीहरूको अलग अलग घरबास भएकोले छुट्टिभिन्न भएको तथ्य समर्थित भएको भनी प्रतिवादीपक्षले जिकिर लिएकोमा त्यसतर्फ विचार गर्दा एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको 

पाइन्छ । अंशियारहरू जहाँसुकै रहेबसे पनि ती अंशियारहरू विधिवत् छुट्टिभिन्न भएका हुन् होइनन् र तिनिहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो होइन भन्ने तथ्यगत विश्लेषणबाट निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अलग अलग घर हुनुलाई नै छुट्टिभिन्न भएका हुन् भनी अर्थ गर्न मिल्दैन । 

४. हाम्रो नाममा झोडा फाँडी र सुकुम्बासी आयोगबाट प्राप्त आफूखुश गर्न पाउनेसमेतका जग्गा भएको भनी प्रतिवादीहरूले जिकिर लिए पनि सो को कुनै तथ्यगत सबुत प्रमाण प्रतिवादी पक्षले गुजार्न सकेको मिसिलबाट नदेखिँदा उक्त भनाई पनि प्रतितलायक छैन । 

५. यसरी वादी प्रतिवादीबीच अंशबन्डाको महलको ३० नं. बमोजिम पारीत अंशबन्डाको लिखत नभएको र वादीले अंश पाएको कुनै आधारभूत प्रमाण प्रतिवादी पक्षको तर्फबाट पेस नभएको स्थितिमा अंशबन्डा भएको निष्कर्षमा पुग्नु कानून र न्यायसम्मत नभएकोले वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला प्रमाण र तथ्यमा आधारित रहेको देखियो ।   

६. अतः तायदाती फाँटवारीमा उल्लिखित जग्गामध्ये स्व. तेजनारायण चौधरी नाम दर्ताको कि.नं. १७२, १७३; भोलानाथ चौधरी नाम दर्ताको कि.नं. ३०६ फोड भई कायम कि.नं. ३९४; शिवनाथ नाउँ दर्ताको कि.नं. ३०३; अनुपादेवी नाउँ दर्ताको कि.नं. १२०; साधुदास नाम दर्ताको कि.नं. २८९ का जग्गाहरू वादी र प्रतिवादीको बीचमा अंशबन्डा लाग्ने सम्पत्ति देखियो । उक्त जग्गाहरू प्रतिवादी तेजनारायण चौधरीले मिति ०६०।१०।१९ मा आफ्नो छोरा भोलानाथसमेतको अंश भरपाई पास गरी दिएको देखिँदा वादी दाबीबमोजिम उक्त मिति ०६०।१०।१९ को अंश भरपाई बदर दर्ता बदर गरी वादीले २ भागको १ भाग अंश दिलाई दिनुपर्नेमा वादी दाबी नपुग्ने गरी भएको सुरू उदयपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबीबमोजिम प्रतिवादीहरूले एक आपसमा जग्गा तीन भाग गरी मिति ०६०।१०।१९ मा गरेको अंश भरपाई लिखत बदर भई सोअनुरूपको दर्तासमेत बदर भई वादी प्रतिवादीको नाउँमा हाल कायम रहेको तायदातीमा उल्लेख जग्गाहरूमध्येबाट वादीले फिराद दाबीबमोजिम २ भागको १ भाग अंश पाई उक्त जग्गाहरू दर्तासमेत हुने ठहर्‌याई भएको मिति २०६६।६।२१ को पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिति २०७०।१०।८ मा यस अदालतबाट अ.बं २०२ नं. बमोजिम विपक्षी झिकाउँदा लिएको आधार प्रमाण मूल्याङ्कनको रोहमा मिलेको 

देखिएन । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृत: इन्द्रकुमार खड्का

इति संवत् २०७३ साल जेष्ठ ५ गते रोज ४ शुभम् 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु