शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७४८ - कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

फैसला मिति : २०७३।४।२७

०७१-CR-०२९४

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक प्रतिवादी : दाङ जिल्ला, बाघमारे गा.वि.स.वडा नं.१ घर भई हाल कारागार कार्यालय घोराही, दाङमा थुनामा रहेको गोवर्धन सार्की

विरूद्ध 

प्रत्यर्थी वादी : लेखत सार्कीको जाहेरीले नेपाल सरकार

दाउरा जस्तो कडा वस्तुले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्ने कुरा जो सुकै सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिन्छ । प्रतिवादी पनि त्यस्तो जानकारी राख्न नसक्ने तथा सोको पूर्वानुमान गर्न नसक्ने अवस्थामा रहे भएको थिए भनी भन्न सकिने देखिँदैन । यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको पूर्व रिसइवी रही सो अनुसारको तयारी तथा योजना बनाएको नदेखिए पनि यस्तो परिणामको पूर्व जानकारी रहन सक्ने प्रशस्त अवस्था रहेको स्थितिमा गरेको कार्यलाई मनसाय नभएको मान्न सकिँदैन । यस्तो परिणामको पूर्व जानकारी भएको प्रमाणित हुने अवस्थाले नै तत्काल मात्र भए पनि यी प्रतिवादीमा मार्नेसम्मको मनसाय तत्त्वको सिर्जना भएको स्वतः प्रमाणित हुन जाने ।

(प्रकरण नं. ५)

वारदात सांयोगिकरूपमा वा होस पुर्‌याई कुनै अरू कार्य गर्दा अकस्मात लाग्न गई भएको भए के काम सावधानीपूर्वक गर्दा कसरी अर्कोलाई लाग्न गएको हो भन्ने स्पष्ट देखिनुपर्ने हुन्छ । त्यस्तो कुनै अवस्था नदेखिई मृतकलाई रिसको आवेशमा टाउकैमा दुई चोटी हिर्काएको देखिएबाट भवितव्य ज्यानको कसुर मान्न सकिँदैन । त्यस्तै कुनै पनि कसुरजन्य कार्य प्रमाणित हुन सो कार्यको उद्देश्य के रहेको थियो भन्दा पनि कुनै कार्यको परिणाम के भयो अर्थात् कार्यबाट कसुरजन्य कार्य हुन गयो वा गएन भन्ने महत्त्वपूर्ण हुन जाने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता विश्वप्रकाश भण्डारी

प्रत्यर्थी वादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री विश्वमङ्गल आत्रेय

पुनरावेदन तहमा फैसला गर्नेः

मा.का.मु.मुख्य न्या. डा.आनन्दमोहन भट्टराई 

माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई

 

फैसला

न्या. देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः-

दाङ जिल्ला, तुलसीपुर नगरपालिका वडा नं.५ स्थित राप्ती अञ्चल अस्पतालको कम्पाउन्डमा रहेको दक्षिण मोहडा भएको एक तले टिनको छाना भएको २ कोठाको पोस्टमार्टम गृहमा रहेको स्ट्रेचरमाथि उत्तर खुट्टा, दक्षिण टाउको गरी मृतक शोभाखर नेपाली (सार्की) को मृत लास रहेको र लासको टाउको निधारमाथि धारिलो हतियारले काटेको घाउ रहेको । उक्त घाउचोटमा टाँका लगाएको, पछाडि भागमा घाउचोट रहेको, मृतकको नाकबाट फिँज रगत निस्किएको, मुखबाट निलो फिँज निस्किएको, खुट्टा हात तन्किएको अवस्थामा रहेको, मृतकको शरीरको पछाडि भागमा निलो भएको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।

मिति २०७०/०५/२२ गते अं.१९:०० बजेको समयमा मेरो भाइ वर्ष ४० को शोभाखर भन्ने कर्णबहादुर सार्कीलाई आफ्नै सहोदर छोरा वर्ष १८ को गौरव भन्ने गोवर्धन सार्कीले दाउरोले टाउकोमा हानी सख्त घाइते बनाई उपचारको क्रममा मिति २०७०/०५/२४ गते राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा मृत्यु भएकोले कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेतको जाहेरी दरखास्त ।

दाङ जिल्ला बाघमारे गा.वि.स.वडा नं.१ स्थित मृतकको घरको तल्लो तलाको दक्षिणतर्फको ढोका नजिक मृतकको छोरा गोवर्धन नेपालीले दाउराले टाउकोमा हानेको भन्ने मिति २०७०/०५/२५ को घटनास्थल प्रकृति मुचुल्का ।

The cause of death is due to intra cranial hemorrhage भन्ने मिति २०७०/०५/०५ को शव परीक्षण प्रतिवेदन ।

मिति २०७०/०५/२२ गते अं.१९:०० बजेको समयमा मेरो बुबा शोभाखर भन्ने कर्णबहादुर सार्कीले बाहिरबाट मादक पदार्थ (रक्सी) सेवन गरी आमासँग झगडा गरिरहेको अवस्थामा छुट्याउन जाँदा बुबा मसँग झगडा गर्न लाग्नुभयो । बुबा मसँग झगडा गर्न थालेपछि आमाले छुट्याउन जाँदा बुबा पुनः आमासँग झगडा गर्न थाल्नुभयो । यसरी बुबाले पटकपटक झगडा गर्न लाग्दा मैले बुबालाई दुई पटक दाउरोले टाउकोमा हानेको हुँ । मैले दाउरोले हानिसकेपछि बुबा आँगनको भुइँमा लड्नुभयो । बुबा भुइँमा लडिसकेपछि आमा र म त्यहाँबाट भागेका हौं । मैले जानीजानी बुबालाई मार्ने भनी हानेको होइन । बुबा घाइते भई उपचारको क्रममा मिति २०७०/०५/२४ मा राप्ती अञ्चल अस्पताल, तुलसीपुर, दाङमा मृत्यु भएको हो भन्ने प्रतिवादी गोवर्धन सार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७०/०५/२२ गते म मृतककै घरमा थिएँ । मृतक शोभाखर भन्ने कर्णबहादुर सार्कीले मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा विवाद गरी श्रीमतीलाई कुटपिट गर्दा छोरा गौरव भन्ने गोवर्धन सार्की आई छुट्याउन खोज्दा उल्टै छोरासँग झगडा गर्नुभयो । पुनः बाबु छोरा झगडा गर्न लाग्दा श्रीमती आई छुट्याई छोरा त्यहाँदेखि भागी श्रीमतीसँग झगडा हुँदा छोराले पछाडिबाट दाउराले बाबुको टाउकोमा हानी बुबा भुइँमा लडिसकेपछि आमा छोरा त्यहाँबाट भागेका हुन् । घाइतेलाई उपचारको लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याई उपचारको क्रममा मिति २०७०/०५/२४ मा मृत्यु भएको हो भन्ने कूलबहादुर दर्लामीको घटना विवरण कागज ।

मिति २०७०/०५/२२ गते मृतक शोभाखर भन्ने कर्णबहादुर सार्की र निजकी श्रीमती दिलकुमारी सार्कीको घरझगडा हुँदा छोरा गौरव भन्ने गोवर्धन सार्कीले उक्त झगडा छुट्याउने क्रममा बाबुले निज गोवर्धन सार्कीसँग समेत झगडा गर्दा निजले आफ्नो बाबुको टाउकोमा दाउराले हानी सख्त घाइते बनाई आमा छोरा उक्त स्थानबाट भागी गए र गाउँलेले घाइतेलाई उपचारको लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याई उपचारको क्रममा मिति २०७०/०५/२४ गते मृत्यु भएको भन्ने करिब एकै मिलानको रञ्जु वि.क., तुलसीराम बुढा, तुला नेपाली, यज्ञबहादुर बुढा, तुलाबहादुर नेपाली र दिलकुमार नेपालीसमेतको घटना विवरण कागज ।

प्रतिवादी गौरव भन्ने गोवर्धन सार्कीले दाउरा खोजी ल्याई मर्मस्थल टाउकोमा पटकपटक प्रहार गरी सोही घाउचोटका कारण शोभाखर नेपालीको मृत्यु भएको भन्ने देखिन आई प्रतिवादी गौरव भन्ने गोवर्धन सार्कीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.विपरीत ऐ.१३(३) नं.को कसुर गरेकोले निजलाई सोही महलको सोही नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

मिति २०७०/०५/२२ गते बेलुका अं.७:३० बजेको समयमा हामी आमा छोरालगायत घरका सबै परिवार घरमा बसिरहेको अवस्थामा बुबा गाउँबाट रक्सी खाई आउनुभयो । साँझ खाना खाने समयमा रक्सीको नसाको जोशमा बुबाले पस्केको भात फालिदिनुभयो र फेरि मलाई भात ले भनी भन्न थाल्नुभयो । आमाले पुनः भात थालमा दिएपछि अरू ले भन्दै कराउन थाल्नुभयो । आमाले त्यो भात खानुहोस् दिन्छु भन्दा बुबाले आमालाई गाली गलौज गर्दै कुटपिट गर्न थाल्नु भएपछि मैले आमा र बुबाको झगडा छुट्याउन लाग्दा बुबाले म माथि झम्टी कुटपिट गर्न थाल्नुभयो । आमाले मलाई छुट्याई दिएपछि म भागी अलि पर गएँ । बुबाले आमालाई तेरो पोइलाई भगाइस् भन्दै कुटपिट गर्न थाल्नुभयो । मैले छुट्याउने कोसिस गर्दा छुट्याउन नसकेपछि छुट्याउनको लागि बुबालाई नजिकै रहेको दाउराले १/२ पटक हिर्काएको हुँ । कहाँ चोट लाग्यो थाहा भएन । मैले बुबालाई मार्छु भनेर रिसइवी हानेको नभई छुट्याउने उद्देश्यले हानेको हुँ । मैले हानेको उक्त चोटले लडेपछि तुलसीपुर राप्ती अञ्चल अस्पताल ल्याई उपचार गराउँदा गराउँदै २ दिनपछि निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी गोवर्धन सार्कीले सुरू अदालतसमक्ष गरेको बयान ।

उक्त मितिमा निज प्रतिवादीले बाबुलाई मार्ने उद्देश्यले लाठीले हानेको होइन । आमा बुबाको झगडा छुट्याउनको लागि हानेको हो । मैले उक्त घटना आफैँले देखेको होइन, सुनेको हुँ । झगडा गरेको देखी रिस उठी हिर्काएको पनि हुन सक्छ भनी प्रतिवादीका साक्षी तुलसीराम बुढाले गरेको बकपत्र ।

उक्त समयमा हामी सबै घरमा थियौं। घटनाका सम्बन्धमा  मृतक रक्सी खाई आई मसँग झगडा गरी कुटपिट गर्न लाग्दा प्रतिवादी मेरो छोराले छुट्याउन खोजी सानो दाउराले हान्दा घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । निज ढोकाको चौकसमा ठोक्किन गई त्यही चोटको कारणले पनि मृत्यु भएको भन्नेसमेत व्यहोराको वादी पक्षका साक्षी दिलकुमारी नेपाली (सार्की) ले गरेको बकपत्र ।

मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी गोवर्धन सार्कीले ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिमको कसुर गरेको पुष्टि हुन आएको देखिँदा निजलाई ऐ.नं.बमोजिम १० वर्ष कैदको सजाय हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०/११/०८ को फैसला ।

जाहेरवाला प्रत्यक्षदर्शी नभएको र निज घटना बारे दुई दिनपछि अरूले भनेको सुनी थाहा पाएका मानिस हुन् । मैले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा समेत बयान गर्दा मादक पदार्थ सेवन गरी घरमा आएका बाबुले पटकपटक आमासँग झगडा गर्ने र आमालाई कुटपिट गर्ने गरेको हुँदा उक्त दिन पनि कुटपिट गर्दा छुट्याउन नसकेपछि छुट्याउने र तर्साउने उद्देश्यले सानो लाठीले हिर्काएको हुँ । मार्ने उद्देश्यले हानेको होइन र मेरो बाबुसँग कुनै रिसइवीसमेत 

थिएन । मैले हिर्काएको चोटकै कारणले बाबुको मृत्यु नभई छुट्याउने क्रममा ढोकाको संघारमा लडी निधारमा चोट लागी मृत्यु भएको हो भनी लेखाएको छु । मेरो उक्त बयान मेरो साक्षीको बकपत्रबाट पुष्टि भएको छ । मौकामा कागज गर्ने मानिसहरूले समेत बुबाले आमालाई कुटपिट गर्दा छुट्याउन नसकेपछि तर्साउनलाई सानो दाउराले हिर्काएको हो, मार्ने उद्देश्यले हिर्काएको होइन भनी कागज गरिदिएका छन् । तसर्थ आफूलाई जन्म दिने पालनपोषण गर्ने बाबुलाई बाबुकै जिद्दीका कारण संयोगले आफूले गरेको कार्यले मानिस मर्न सक्ने जस्तो नदेखिएको अवस्थामा सामान्य लाठी जस्तो दाउराले हिर्काई दुर्घटनावश भएको मृत्यु नितान्त ज्यानसम्बन्धीको महलको ५ र ६ नं.को कसुर अपराधअन्तर्गत पर्ने भएकाले सो कुरालाई बेवास्ता गर्दै ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिम सजाय गरेको सुरू फैसला त्रूटिपूर्ण हुँदा बदर उल्टी गरी ज्यानसम्बन्धीको महलको ५ र ६ नं.बमोजिम न्यूनतम सजाय गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत, तुलसीपुरमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीउपर किटानी जाहेरी परेको, लास जाँच मुचुल्काबाट टाउकोमा घाउचोट देखिएको, शव परीक्षण प्रतिवेदनमा The Cause of Death is Due to Intracranial Hemorrhage भन्ने उल्लेख भएको, प्रतिवादीले अनुसन्धान र अदालतमा गरेको बयानमा समेत आफूले हानेको चोटका कारण उपचार गराउँदा गराउँदै मृत्यु भएको हो भनी साबिती बयान गरेको, मृतकको टाउको जस्तो मर्मस्थलमा कडा दाउराले प्रहार गरेको, बेहोस भई ढलेपछि पनि उपचार नगरी भारततर्फ गएको र मरेको खबर पाएपछि मात्र आएको समेतका आधार प्रमाणहरूबाट प्रतिवादीले ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम कसुर गरेको पुष्टि भएकोमा अभियोग दाबीभन्दा कम सजाय गरेको सुरू फैसला त्रूटिपूर्ण हुँदा उल्टी गरी दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, तुलसीपुरमा परेको पुनरावेदन पत्र ।

प्रतिवादी गोवर्धन सार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्‌याएको सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०/११/०८ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०७१/०३/०३ को फैसला ।

जाहेरवाला घटनाको प्रत्यक्षदर्शी 

होइनन् । आमासँग बारम्बार झगडा गरेको अवस्थामा मार्ने मनसायले नभई मैले छुट्याउन नसक्दा तर्साउनका लागि मात्र हानेको हुँ । मैले हिर्काएको चोटले मृत्यु भएको नभई छुट्याउने क्रममा ढोकामा लागी मृत्यु हुन गएको हो । सो कुरा मौकामा घटना विवरण कागज गर्नेको व्यहोराबाट समेत प्रस्ट 

हुन्छ । निज बुबालाई मर्ने सम्मको चोट लागेको छ भन्ने थाहा नहुँदा हामी भागेर गएकोमा मृत्यु भएको खबर सुन्दा फर्की आएका हौं । त्यसैले संयोगवश आफूले गरेको कार्यबाट मानिस मर्न सक्ने जस्तो नदेखिएको अवस्थामा सानो लाठीले हिर्काउँदा दुर्घटनावश भएको मृत्यु मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. र ६ नं. अन्तर्गतको कसुर भएकोले सोहीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गोवर्धन सार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान् अधिवक्ता विश्वप्रकाश भण्डारीले मृतकले मार्ने मनसाय नलिई झगडा छुट्याउन मात्र सानो दाउराले हानेको देखिएको अवस्थालाई भवितव्य ज्यान मानी सजाय गर्नुपर्नेमा आवेश प्रेरित हत्याको कसुरमा सजाय  गर्ने गरी गरेको फैसला त्रूटिपूर्ण भएकोले बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । यसरी बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा सुरू फैसला सदर हुने ठहर्‌याई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ, छैन? तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? भन्ने निर्णयमा पुग्न प्रस्तुत वारदात आवेशप्रेरित हत्याअन्तर्गत पर्दछ वा भवितव्य हत्याअन्तर्गत पर्दछ भन्ने विषयको निरूपण गर्नुपर्ने देखिन आयो ।

यसमा प्रतिवादी गौरव भन्ने गोवर्धन सार्कीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ.१३(३) नं.को कसुर गरेकोले निजलाई सोही नं.बमोजिम सजाय गरिपाउँ भनी अभियोग पत्र दायर भएकोमा सुरू जिल्ला अदालतबाट प्रतिवादीलाई आवेशप्रेरित हत्याको कसुरमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहरी फैसला भएको पाइयो । सो फैसलाउपर प्रतिवादीको वारदात भवितव्यवश भएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ र ६ नं. अनुसार सजाय गरिपाउँ भनी र वादी नेपाल सरकारको अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी पुनरावेदन परी पुनरावेदन अदालतबाट सुरू फैसला सदर हुने ठहरी फैसला भई सो फैसलाउपर प्रतिवादीको भवितव्य ज्यानमा सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन पर्न आई आज इजलाससमक्ष पेस हुन आएको देखियो ।

२. निर्णयार्थ विचार गर्दा, यसमा यी प्रतिवादी गौरव भन्ने गोवर्धन सार्कीले आफ्नो बुबा शोभाखर भन्ने कर्णबहादुर सार्कीको टाउकोमा दाउराले हानी सख्त घाइते बनाई उपचारको क्रममा निजको मृत्यु भएको भनी यी प्रतिवादीउपर किटानी जाहेरी परेको छ । जाहेरीमा उल्लेख भएअनुसार दाउराले टाउकोमा प्रहार गरेको कुरा टाउको निधारमाथि घाउ रही उक्त घाउचोटमा टाँका लगाएको, पछाडि भागमा घाउचोट रहेको, मृतकको नाकबाट फिँज रगत निस्किएको, मुखबाट निलो फिँज निस्किएको भन्नेसमेतको घटनास्थल लासजाँच प्रकृति मुचुल्का उल्लेख भएको र The cause of death is due to intra cranial hemorrhage भन्ने शव परीक्षण प्रतिवेदनबाट समेत देखिन आएको छ । मृतक लासमा देखिएको यी लक्षणबाट मृतकको मृत्यु टाउको तथा शरीरका अन्य भागमा प्रहार गरेकोबाट भएको भन्ने पुष्टि हुन 

आउँछ । त्यस्तै यी प्रतिवादीले अनुसन्धानमा र अदालतमा बयान गर्दा मेरो बुबा शोभाखर भन्ने कर्णबहादुर सार्कीले बाहिरबाट रक्सी सेवन गरी आमासँग झगडा गरिरहेको अवस्थामा छुट्याउन जाँदा बुबा मसँग झगडा गर्न लाग्नुभयो । आमाले छुट्याउँदा पुनः आमासँग झगडा गर्न थालेपछि मैले बुबालाई दुई पटक दाउरोले टाउकोमा हानेको हुँ र मैले दाउरोले हानिसकेपछि बुबा आँगनको भुइँमा लड्नुभयो । मैले जानीजानी बुबालाई मार्ने भनी हानेको होइन भनी कसुर गरेको स्वीकारी बयान गरिदिएको पाइन्छ । यी प्रतिवादीले उल्लेख गरेको व्यहोरासँग मिल्ने गरी घटना विवरण कागज गर्ने प्रत्यक्षदर्शी कूलबहादुर दर्लामी, रञ्जु वि.क., तुलछी राम बुढासमेतका व्यक्तिहरूले लेखाइदिएका छन् । सोही व्यहोरासँग मिल्ने गरी वादी पक्षको साक्षी वारदातको प्रत्यक्षदर्शीसमेत रहेकी यी प्रतिवादीको आमा दिलकुमारी नेपाली (सार्की) ले र प्रतिवादीका साक्षीले अदालतमा बकपत्र गरिदिएको पाइन्छ ।

३. यसरी किटानी जाहेरीको व्यहोरा, प्रतिवादीको अनुसन्धान र अदालतको बयान, मौकामा बुझिएका व्यक्तिहरूको भनाइ, वादी र प्रतिवादीको साक्षीको बकपत्र व्यहोरा, घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्काको व्यहोरा, शव परीक्षण प्रतिवेदनलगायतका मिसिल संलग्न कागज प्रमाणहरूबाट यी मृतकले रक्सी सेवन गरी घरमा आई आफ्नो श्रीमतीसँग झगडा गर्दा मृतकको छोरा प्रतिवादी गोवर्धन सार्कीले झगडा छुट्याउन लागेकोमा मृतकले उल्टै यी प्रतिवादीसँग झगडा गर्दा निजको आमाले छुट्याएको र सो छुट्याएकोमा मृतकले पुनः प्रतिवादीको आमासँग झगडा गर्न लागेको देखी यी प्रतिवादीले रिसको आवेशमा मृतकको टाउकोमा दाउराले हान्दा मृतक लडी सोही चोटको कारण मृतकको उपचारको क्रममा मृत्यु भएको तथ्य स्थापित हुन आएको छ । यस तथ्यको सम्बन्धमा मिसिल संलग्न उपर्युक्त कागज प्रमाणहरूको व्यहोरा एक आपसमा समर्थित भई निर्विवादसमेत रहन गएको पाइन्छ ।

४. उपर्युक्तानुसारको तथ्य रही वारदात हुन गएको सन्दर्भमा वारदात हुँदाको परिस्थिति, कारण, सन्दर्भ, प्रतिवादीमा निहीत आपराधिक मानसिकताको मात्रा तथा आपराधिक कार्य सम्पन्न गर्दाको समग्र स्थितिउपर समेत विश्लेषण गरी हाम्रो कानूनी व्यवस्थाको आधारमा प्रस्तुत वारदात भवितव्य हो वा आवेशप्रेरित हो भनी निष्कर्षमा पुग्नुपर्ने हुन 

आयो । यसउपर विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा “ज्यान लिने इवीलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ।” भन्ने व्यवस्था र ऐ.को ६ नं. मा विभिन्न प्रकारले हुने भवितव्य ज्यानमा हुने सजाय सम्बन्धको व्यवस्था छ । यस कानूनी व्यवस्था अनुसार भवितव्य ज्यानसम्बन्धी कसुर हुन मुख्यतः ज्यान मार्ने कुनै इवीलाग वा मनसाय नभएको हुनुपर्ने, आफूले गरेको कामबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको वा परिमाणको पूर्व ज्ञान वा इच्छा नभएको हुनुपर्ने, यस्तो ज्यान मर्न सक्छ भन्ने पूर्व ज्ञान तथा इच्छासमेत नभएको अवस्थामा कुनै काम सावधानीपूर्वक गर्दा अरूलाई लाग्न गई अप्रत्यासितरूपमा मानिस मर्न गएको देखिएको अवस्थामा मात्र भवितव्य ज्यान हुन जान्छ ।

५. उल्लिखित कानूनी व्यवस्थाको आधारमा भवितव्य ज्यान हुन आवश्यक पर्ने उपर्युक्त अवस्थाको अन्तर्निहितता प्रस्तुत वारदातमा छ छैन भनी हेर्दा मृतकले रक्सी खाई घरमा श्रीमती दिलकुमारी नेपालीलाई कुटपिट गर्दा यी प्रतिवादीले छुट्याएको अवस्थामा उल्टै प्रतिवादीसँग झगडा गरेको र फेरि पनि निज मृतकले दिलकुमारिसँग झगडा गरेको देखिन्छ । यसरी आफ्नो आमा समेतसँग पुनः विना कारण झगडा गर्दा प्रतिवादी गोवर्धन सार्कीले दाउराले टाउकोमा हानी मृतकलाई लडाएको पाइएको छ । दाउरा जस्तो कडा वस्तुले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्ने कुरा जो सुकै सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै 

देखिन्छ । प्रतिवादी पनि त्यस्तो जानकारी राख्न नसक्ने तथा सोको पूर्वानुमान गर्न नसक्ने अवस्थामा रहे भएको थिए भनी भन्न सकिने देखिँदैन । यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको पूर्व रिसइवी रही सो अनुसारको तयारी तथा योजना बनाएको नदेखिए पनि यस्तो परिणामको पूर्व जानकारी रहन सक्ने प्रशस्त अवस्था रहेको स्थितिमा गरेको कार्यलाई मनसाय नभएको मान्न सकिँदैन । यस्तो परिणामको पूर्व जानकारी भएको प्रमाणित हुने अवस्थाले नै तत्काल मात्र भए पनि यी प्रतिवादीमा मार्नेसम्मको मनसाय तत्त्वको सिर्जना भएको स्वतः प्रमाणित हुन जाने 

हुन्छ । विना कारण घरमा झगडा गर्नुले प्रतिवादीमा यी मृतकउपर रिस तथा आक्रोश उठेको पनि सहजै देखिन जान्छ । टाउको जस्तो संवेदनशील अङ्गमा दाउरा जस्तो कडा वस्तुले एक पटकभन्दा बढी हिर्काएको देखिएकोबाट प्रतिवादीले कुनै कार्य सावधानीपूर्वक गर्दा अप्रत्यासितरूपमा लाग्न गएको भनेर पनि मान्न सकिने देखिँदैन । यसरी वारदातको सन्दर्भ, परिस्थिति तथा आपराधिक कार्य गर्दाको समग्र स्थिति हेर्दा यी प्रतिवादीबाट भएको कार्यलाई भवितव्य ज्यानको कोटीमा राख्न मिल्ने देखिएन ।

६. प्रतिवादीले आफूमा मार्ने मनसाय नभई केबल झगडा भइरहेकोमा तर्साई झगडा छुट्याउन मात्र दाउराले प्रहार गरेको भनी पुनरावेदन जिकिर लिए पनि माथि विवेचना गरे अनुरूप यी प्रतिवादीमा मार्नेसम्मको मनसाय तथा मृतकप्रति रिस मृतककै क्रियाको कारण र तत्काल भए पनि सिर्जना भएको नै देखिन 

आउँछ । यदि त्यस्तो मनसाय सिर्जना नभएको भए निजले टाउकोमा ताकी दाउरा जस्तो कडा वस्तुले एक पटकभन्दा बढी प्रहार गर्ने नै थिएनन् । तर्साई झगडा छुट्याउनलाई मात्र अन्य उपाय पनि अपनाउन सकिने हुन्थ्यो । वारदात सांयोगिकरूपमा वा होस पुर्‌याई कुनै अरू कार्य गर्दा अकस्मात लाग्न गई भएको भए के काम सावधानीपूर्वक गर्दा कसरी अर्कोलाई लाग्न गएको हो भन्ने स्पष्ट देखिनुपर्ने हुन्छ । त्यस्तो कुनै अवस्था नदेखिई मृतकलाई रिसको आवेशमा टाउकैमा दुई चोटी हिर्काएको देखिएबाट भवितव्य ज्यानको कसुर मान्न सकिँदैन । त्यस्तै कुनै पनि कसुरजन्य कार्य प्रमाणित हुन सो कार्यको उद्देश्य के रहेको थियो भन्दा पनि कुनै कार्यको परिणाम के भयो अर्थात् कार्यबाट कसुरजन्य कार्य हुन गयो वा गएन भन्ने महत्त्वपूर्ण हुन जान्छ । त्यसैले परिणामको पूर्व जानकारी रहेको स्पष्ट देखिएको प्रस्तुत अवस्थामा मृतकलाई मार्ने मनसाय नभई केबल तर्साउन प्रहार गरेकोले भवितव्य ज्यानको कसुर मात्र कायम गरिपाउँ भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।

७. यसरी वारदात भवितव्य ज्यानको वारदात नदेखिएपश्चात् वारदातलाई आवेशप्रेरित हत्याको कसुर कायम गरेको सुरू तथा पुनरावेदनको फैसला मिलेको छ, छैन भनी हेर्नुपर्ने देखियो । आवेशप्रेरित हत्याको सम्बन्धमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा "ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खुवाएकोबाहेक साधारण लाठा ढुङ्गा लात मुक्का आदिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा १० (दश) वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ ।" प्रस्तुत कानूनी व्यवस्था हेर्दा आवेशप्रेरित हत्या हुन मार्नुपर्ने पूर्व रिसइवी तथा मनसाय देखिनु नपर्ने, मार्ने योजना बनाएको पनि देखिनु नपर्ने, लुकी चोरी हानेको पनि नदेखिनुपर्ने र मौकामा केही कारणले रिस उठी सो रिस नियन्त्रण गर्न नसकी साधारण लाठा, ढुङ्गा, लात मुक्काले मात्र हानेको देखिनुपर्ने हुन्छ । प्रस्तुत वारदातका सन्दर्भमा हेर्दा पनि यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको रिसइवी रहेको र मार्ने पूर्व योजना बनाई आएको मिसिलबाट देखिँदैन । त्यस्तै मृतकलाई लुकी चोरी र कुनै सांघातिक हतियारले नै हानेको पनि देखिएको छैन । मृतक रक्सी खाई घरमा आई भातसमेत फ्याँकिदिई विना कारण आफ्नो आमासँग र आफूसँगसमेत झगडा गरेको देखिएको अवस्थामा यी प्रतिवादी मृतकप्रति रिस तथा आवेशमा आएको देखिन्छ । सोही आवेश तथा रिसको कारण यी प्रतिवादीले नजिक फेला परेको दाउराले आत्म नियन्त्रणसमेत गुमाई यी मृतकलाई कुनै सोच विचार नै नगरी दुई चोटी हिर्काएको देखिन आएको छ । यसरी हिर्काएको चोटको कारणबाट प्रतिवादीको मृत्यु भएको देखिएकोलाई उपर्युक्त कानूनी व्यवस्थाको आधारमा आवेशप्रेरित हत्याकै कसुर भएको मानिन्छ । त्यसैले आवेशप्रेरित हत्या ठहर्‌याई १० वर्ष कैद सजाय गर्ने गरी भएको फैसला मिलेकै देखिन आएको छ ।

८. अतः माथि विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी गौरव भन्ने गोवर्धन सार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार आवेशप्रेरित हत्याको कसुरमा ऐ.नं. अनुसार १०(दश) वर्ष कैद हुने ठहर्‌याई सुरू दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०७०/११/०८ मा भएको फैसला सदर हुने ठहर्‌याई पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०७१/०३/०३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको  पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशमान सिंह राउत

 

इजलास अधिकृत:- यदुराज शर्मा

इति संवत् २०७३ साल साउन २७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु