निर्णय नं. ९६९८ - अङ्ग भङ्ग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।०५।१४
०७२-CR-०१६३
मुद्दाः अङ्ग भङ्ग
पुनरावेदक/प्रतिवादी : झापा जिल्ला, दमक नगरपालिका वडा नं. १४ घर भई हाल कारागार कार्यालय, झापामा कैदमा रहेको रामकृष्ण राई
विरूद्ध
विपक्षी/वादी : निशा भन्ने चन्द्रकला राईको जाहेरीले नेपाल सरकार
जाहेरवालीको बाध्यात्मक कारणले परिवर्तित बयानलाई स्वतन्त्ररूपमा खण्डन गर्नुपर्ने अवस्था रहन्छ । आफैँ पतिबाट अङ्गभङ्ग भएकी पीडित जाहेरवाली आफ्नै हित विरूद्ध किन बकपत्र गरिन् होला, कुन सामाजिक, सांस्कृतिक र आर्थिक कारणले वा के कारणले पीडित एकाएक परिवर्तन भइन सोच्नुपर्ने हुन्छ । पीडितले आफैँ अँध्यारोलाई किन स्वीकार्नु पर्यो होला त्यो पनि आँखा जस्तो शरीरको लागि सर्वाधिक नभई नहुने त्यस्तो शरीरको अंग जसबिना जीवन अत्यन्त चुनौतिपूर्ण बन्न पुगेको छ । स्वयम्लाई पराजित गर्ने परिकल्पना न्यायमा गरेको हुँदैन । न्यायकर्ताले प्रतिकूल बयानको बाध्यात्मक परिस्थितिलाई मध्यनजर राख्नु पर्दछ । प्रतिकूल बयानलाई न्यायको कसीमा हेर्न आवश्यक हुने ।
(प्रकरण नं. ६)
फौजदारी कानून र न्यायको एउटा महत्त्वपूर्ण उद्देश्य भनेको कसुरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसुरदारलाई सजाय तोक्दा दण्ड गरेजस्तो मात्र देखिनु हुँदैन । कसुरको मात्रा र गाम्भीर्यताअनुसार दण्ड पाएको अनुभूति गरी पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने ।
(प्रकरण नं. ७)
पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विकाश दाहाल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, कुटपिटको महलको २ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल
माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य
फैसला
न्या. सपना प्रधान मल्ल : पुनरावेदन अदालत, इलामको मिति २०७०।१२।२६ को फैसलाउपर यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई सोही ऐनको दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-
जिल्ला झापा दमक न.पा.वा.नं.१४ स्थित पूर्वमा देशु निरौलाको घर, पश्चिममा सीता थापाको घर, उत्तरमा श्याम कुमालको खाली जग्गा, दक्षिणमा मानबहादुर राईको घर यति चार किल्लाभित्र उत्तर मोहडा भएको टिनको छाना, बाँसको टाटी भएको प्रतिवादी रामकृष्ण राईको घर, सो घर बरण्डामा बसिरहेकी चन्द्रकला राईलाई प्रतिवादीले बक्सिङ प्रहार गरी आँखा फुटाई दिएको, सो स्थान वरपर रगतको टाटा रहेको र घाइते चन्द्रकला राईलाई उपचारार्थ लगेको हो भन्नेसमेत व्यहोराको मिति २०६९।२।८ को घटनास्थल मुचुल्का ।
प्रतिवादी रामकृष्ण राई म जाहेरवालाको श्रीमान् हुन् । निजले मलाई विवाह गरी घरमा ल्याएको केही महिना अगाडिदेखि कुटपिट गर्ने तथा हेलाहिंसा गर्ने गर्नु भएको भए तापनि सहेरै बसेकी थिएँ । निजले मादकपदार्थ सेवन गरी आई तेरो दायाँ आँखा फुटेर अन्धी छस् अब बायाँ आँखा फुटाई दिन्छु भनी धम्की दिने गरेकोमा मिति २०६९।२।८ गते बिहान ५.०० बजेको समयमा म दलानमा बसिरहेको अवस्थामा मेरो कपालमा समाती प्रतिवादी रामकृष्ण राईले बक्सिङ प्रहार गरेको र म रून कराउन थाल्दा मेरो बायाँ आँखामा प्रहार गर्दा बेहास भई छिमेकीको सहायताले वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराई रहेको छु । मेरो दायाँ आँखा जन्मजात अन्धो रहेको र बायाँ आँखा विपक्षीले बक्सिङ प्रहार गरी फुटाई दिएको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको चन्द्रकला राईको जाहेरी दरखास्त ।
जाहेरवाला चन्द्रकला राईको पहिलेदेखि दायाँ आँखा अन्धो भएको र बायाँ आँखा सामान्य देख्ने भएकोले आँखा अस्पताल बिर्तामोडमा उपचार भई सुधार भइरहेको थियो । यस्तैमा मिति २०६९।२।८ गते बिहान अन्दाजी ५ बजेको समयमा मेरी श्रीमती आफ्नै घरको दलानमा बसी रहेकी र घर व्यवहारको कुरा गरी सम्झाई बुझाई गर्दा मलाई गालीगलौज गरेकीले मैले एक झापड हान्दा बायाँ आँखामा लाग्न गएकोले निजलाई तत्काल वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गर्न लगेको र चिकित्सकले अब आँखा ठीक नहुने सुझाब दिएकाले निजलाई घरमा ल्याई राखेको हो । मैले जानीजानी अन्धी होस् भनी कुटपिट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामकृष्ण राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
घाइते चन्द्रकला राईको पहिलेदेखि दायाँ आँखा देख्न नसक्ने (अन्धी) भएकी थिइन् । प्रतिवादीले बायाँ आँखा फुटाई दिन्छु भनी हल्ला गर्दथे । यस्तैमा मिति २०६९।२।८ गते प्रतिवादीले रामकृष्ण राईले जाहेरवालीलाई बक्सिङ प्रहार गरी बायाँ आँखा फुटाई दिएको हुँदा निजलाई तत्काल एम्बुलेन्स बोलाई वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गर्न पठाएको हो । चिकित्सकले आँखा बिग्रियो भनी घाइतेलाई डिस्चार्ज गरेको हो । प्रतिवादी रामकृष्ण राईले जानीजानी बक्सिङ प्रहार गरी जाहेरवालीको बायाँ आँखा फुटाई अङ्गभङ्ग गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको रूपा राईसमेतले लेखाई दिएको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मेरो बहिनी जाहेरवाली चन्द्रकला राईलाई प्रतिवादी रामकृष्ण राईले पहिलादेखि नै कुटपिट गर्ने र तेरो आँखा फुटाई दिन्छु भनी धम्काउने गर्थे । मिति २०६९।२।८ गते मेरो बहिनी चन्द्रकला राईलाई बक्सिङ प्रहार गरी आँखा घाइते बनाएकोले धरानमा उपचार गराएको र चिकित्सकले आँखा बिग्रियो भनेको हो । प्रतिवादीले आँखा फुटाई अन्धी बनाई अङ्गभङ्ग बनाएको हुँदा कानूनबमोजिम सजाय होस् भन्नेसमेत व्यहोराको जीतबहादुर राईले लेखाई दिएको घटना विवरण कागज ।
प्रतिवादी रामकृष्ण राईलाई आफ्नी श्रीमतीको एउटा आँखा पहिलादेखि नै अन्धो छ भन्ने जान्दाजान्दै पटकपटक तेरो अर्को आँखा फोरी अन्धो पारी दिन्छु भन्दै आएकोमा वारदातको मिति समयमा पीडित चन्द्रकला राईलाई कुटपिट गरी बायाँ आँखासमेत फोरी पूर्णरूपमा अन्धो बनाई दिएकाले निज प्रतिवादी रामकृष्ण राईलाई मुलुकी ऐन, कुटपिटको महलको २ (१) नं.को कसुर अपराधमा सोही महलको ६ नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको अभियोग पत्र ।
मेरो श्रीमतीको दायाँ आँखा मैले विवाह गर्नु अगाडि नै बन्द थियो । जलविन्दु भएको कारण बन्द भएको भन्दथे । बायाँ आँखा पनि कमजोर थियो । बारम्बार आँखाको उपचार गर्न लगिरहेको थिएँ । घरायसी सामान्य कुरामा मेरो भाइलाई सम्झाई देउ, तिमीले भनेको मान्दछकी भनी श्रीमतीलाई भनेकोमा मेरो श्रीमती अली झर्केर तपाइँको भाइ तपाइँले भनेको त मान्दैनन् मैले भन्दा के मान्छन् भन्दै झर्की रहेको थिइन । मैले बाहिर नकराउ घरभित्र जाउ भन्दै सामान्य झापड हानेको थिएँ । त्यही बेला उनी पनि मतिर फर्किछन् र मैले मुखमा हानेको तर आँखामा पर्न गएको हो । निजको आँखा पनि कमजोर भएकाले डाक्टरकोमा औषधि गर्दा पनि आँखा देख्न नसकेको हो । अहिले मेरो श्रीमती दुवै आँखा देख्न सक्दिनन् । सँगै मिलेर बसेको श्रीमतीको आँखा फुटाई दिउँ भनेर हानेको त थिइन, सन्जोगवश यस्तो घटना हुन पुगेको हो । अचानक त्यस्तो दुर्घटना हुन पुगेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामकृष्ण राईले सुरू अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल प्रतिवादी रामकृष्ण राईलाई अ.बं.११८(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु र प्रतिवादी चुक्ता हुँदा बादी प्रतिवादीका साक्षीसमेत बुझी पेस गर्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको आदेश ।
जाहेरवाली र प्रतिवादी श्रीमान् श्रीमती हुन् । उनीहरू बीचमा सामान्य विवाद भएको हुँदा प्रतिवादी घर बाहिर निस्कँदा कहाँ गएको किन घरबाट बाहिर निस्केको भनी श्रीमान्लाई फर्काउन घरबाहिर निस्कँदा ढोकाको छेउमा ठोकिन पुगी जाहेरवालीको आँखा फुटेको हुनुपर्छ । जाहेरवालीको एउटा आँखा पहिलादेखि ड्यामेज थियो । अर्को आँखा पनि एकदमै कमजोर थियो । घटना हुनुभन्दा केही समयअगाडि मेरो जाहेरवालीसँग भेट भई गफ हुँदा मेरो त अर्को आँखा पनि एकदमै देख्न छाडी सके अली अली देख्छु, कहिले राम्रो देख्दिन भन्थिन । बुढाबुढीको झगडा त एउटा निहुँ मात्र हो । प्रतिवादीले गरेको कारणबाट जाहेरवालीको आँखा फुटेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी नमकुमार चेम्जोङले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्तको व्यहोरा मैले रिसको झोकमा हालेको हो । यो मैले लगाएको आरोप झुठ्ठा
हो । दाहिने आँखा पहिलेदेखि नै बन्द थियो । देब्रे आँखा पनि जलबिन्दु भएको डाक्टरले भनेको थियो । आँखा कमजोर भई औषधि गर्दै थिएँ । भद्रपुरबाट काठमाडौंको अस्पतालमा गएर दुवै आँखा फेर्नुपर्छ भनेको थियो । घरमा मेरो श्रीमान्सँग सामान्य विवाद हुँदा मेरो श्रीमान् मलाई दङ्गाएर राति बाहिर निस्कन खोज्नुभयो । मैले राति कहाँ जानु हुन्छ भनी समाउन जाँदै थिएँ, श्रीमान् केही पर पुग्नु भएको रहेछ । अँध्यारो भएकाले म ठोक्किएर हुत्तिन गई मेरो घरको टाटी बेराको किलाछेउमा लड्न पुग्दा किलामा मेरो आँखा पर्न गई आँखा फुटेको हो भन्नेसमेत व्यहोराको जाहेरवाली निशा भन्ने चन्द्रकला राईले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवाली चन्द्रकला राईलाई घर व्यवहारको विषयमा सम्झाई बुझाई गर्दा निजले मलाई मुख फर्काई गालीगलौज गरेपछि मैले हल्ला नगर भनी एक झापड आँखामा हानिदिएको हो । मैले हानेको झापड बायाँ आँखामा लाग्न गई बायाँ आँखाको नानी फुटेर अन्धी भएकी हुन् भनी लेखाएको देखिन्छ भने अदालतमा समेत आफूले हानेको झापडबाट जाहेरवालीको बायाँ आँखा फुटेको हो भनी साबित रही बयान गरेको देखिन्छ । निजको उक्त साबिती बयानलाई मौकाको जाहेरी दरखास्त, मौकामा कागज गर्ने जीतबहादुर राईले लेखाइदिएको कागज, वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइसमेतले पुष्टि गरेको हुँदा जाहेरवालीले अदालतमा उपस्थित भई प्रतिवादीले कुटेर मेरो आँखा फुटेको होइन भनी गरेको बकपत्रसँग यो इजलास सहमत हुन सकेन । तसर्थ प्रतिवादीले जाहेरवालीलाई हानेको झापडले जाहेरवालीको बायाँ आँखा फुटी अङ्गभङ्ग भएको भन्ने पुष्टि हुँदा प्रतिवादी रामकृष्ण राईलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम ८ (आठ) वर्ष कैद र १०,०००।– (दशहजार) जरिवाना हुने ठहर्छ भन्ने झापा जिल्ला अदालतबाट भएको फैसला ।
मैले जाहेरवालीलाई मनसायपूर्वक आँखा फुट्ने गरी झापड हानेको होइन, सम्झाउन, तर्साउनमात्र खोजेको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेकोमा सोलाई बढाई चढाई गरी लेखिएको, जाहेरवालीको पहिलादेखि नै एउटा आँखा नदेख्ने गरी अन्धो भएको र दोस्रो आँखा पनि कमजोर भएकोले औषधि गर्दै गरेको भएपनि आँखा देख्न नसकेको
हो । मैले हानेको झापडले आँखा फुटी अन्धो नभएको, जाहेरवालीले अदालतमा बकपत्र गर्दा मलाई कुटेको कारण अन्धो नभई म दैलोबाट बाहिर निस्कने क्रममा लडेर किल्लामा आँखा पर्न गई फुटेको हो भनी बकपत्र गरेको र मेरो साक्षीसमेतले जाहेरवालीको एउटा आँखा पहिलेदेखि नै अन्धो भएको र एउटा आँखा दैलोमा लडेर फुटेको भनी बकपत्र गरेकोमा सोतर्फ ध्यान नै नदिई सुरू अदालतले मलाई सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टाई सफाइ पाउँ भन्नेसमेतको व्यहोराको प्रतिवादी रामकृष्ण राईको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी रामकृष्ण राईको प्रहारबाट पीडित चन्द्रकला राईको बायाँपट्टिको एउटा आँखामात्र फुटी अङ्गभङ्ग भएको सन्दर्भमा निज प्रतिवादी रामकृष्ण राईलाई कुटपिटको ६ नं. बमोजिम ८ (आठ) वर्ष कैद र दशहजार रूपैयाँँ जरिवाना सजाय गरेको सुरू झापा जिल्ला अदालतको मिति २०६९।१०।१७।४ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, इलामबाट भएको आदेश ।
एउटा अङ्ग बेकम्मा भइरहेको अवस्थामा प्रतिवादीले अर्को अङ्ग पनि काम नलाग्ने बनाइदिने कार्यले उक्त अङ्ग पूर्णरूपमा काम नलाग्ने भई सो अङ्गको पूर्ण रूपमा अङ्गभङ्गका रूपमा रहन जाने अवस्था भएबाट आँखा नदेख्ने गरी आँखा फुटाली दिएको देखिन गएकाले सुरू झापा जिल्ला अदालतको मिति २०६९।१०।१७ को फैसला मिलेकै देखिँदा सुरू सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको फैसला ।
पुनरावेदन अदालत, इलामले फैसला गर्दा मिसिल संलग्न कागज प्रमाणको विश्लेषण नगरी भएको फैसलामा चित्त बुझेको छैन । मैले वारदातपूर्व कहिल्यै आँखा फोरिदिन्छु भनेको थिइन । जाहेरवालीलाई मनसायपूर्वक आँखा फुट्ने गरी झापड हानेको होइन, सम्झाउन, तर्साउनमात्र खोजेको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेकोमा सोलाई बढाई चढाई गरी लेखिएको, जाहेरवालीको पहिलादेखि नै एउटा आँखा नदेख्ने गरी अन्धो भएको र दोस्रो आँखा पनि कमजोर भएकोले औषधि गर्दै आएको हो । मैले हानेको झापडले आँखा फुटी अन्धो भएको होइन । अज्ञानता पूर्वक उक्त घटना हुन गएकोमा श्रीमतीको बाचुन्जेल स्यारसुसार गर्न पाउँ बालक छोरीहरूको पनि बिजोग भएको छ भनी पश्चताप गरेको छु । पुनरावेदन अदालतले कुटपिटको ६ नं. को (एउटै किसिमको काम लिने एउटाभन्दा बढी अंग हुनेमा सोमध्ये एउटा अंग मात्र बेकम्बा पारी दिएको भए मलाई भएको सजायमा आधा सजाय गर्नुपर्छ) गलत व्याख्या भएको छ । सोतर्फ ध्यान नै नदिई सुरू अदालतले मलाई सजाय गर्ने गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टाई सफाइ पाउँन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिपाउँ भन्नेसमेतको व्यहोराको प्रतिवादी रामकृष्ण राईको यस अदालतमा दर्ता हुन आएको निवेदन पत्र ।
यसमा पीडित जाहेरवाली स्वयम्ले अदालतमा आई बकपत्र गर्दा लडेर किलामा आफ्नो आँखा परी फुटेको भनी बकपत्र गरेकोमा सोलाई प्रमाणमा ग्रहण नगरी प्रतिवादी रामकृष्ण राईलाई कसुरदार ठहर गरी सजाय गरेको पुनरावेदन अदालत, इलामको मिति २०७०।१२।२६ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी ऐन, अ.बं. १८४क र १८५ नं. को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने मिति २०७२।०२।२१ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विकाश दाहालले जाहेरवाली पीडित र प्रतिवादी लोग्ने स्वास्नी हुन, दुवै पक्षबीच विवाद हुँदा भवितव्य भई आँखामा लाग्न गएको हो । जाहेरवालाले अदालतमा बकपत्र गर्दा किटानी साथ आफैँ लडी आँखा फुटेको भनेकी छन । समान काम गर्ने २ अङ्गमध्ये एउटा अङ्गभङ्ग भएमा आधा मात्र सजाय गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ, जलबिन्दुले गर्दा एउटा आँखा बिग्रेको हो, विवादका क्रममा मात्र भवितव्य पर्न गएको हो भनी गर्नुभएको बहस सुनियो ।
उल्लिखित बहस जिकिर, पुनरावेदनसहितको मिसिल संलग्न प्रमाण कागजातसमेत अध्ययन गरी हेर्दा यी पुनरावेदक प्रतिवादीले पीडित जाहेरवालीलाई कुटपिट गरी दायाँ आँखा जन्मजात अन्धो रहेकोमा बायाँ आँखा प्रतिवादीले बक्सिङ प्रहार गरी फुटाइदिएकोले निज प्रतिवादीलाई कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्तसमेतको आधारमा प्रतिवादीलाई मुलुकी ऐन, कुटपिटको महलको २(१) नं. को कसुरमा सोही महलको ६ नं.बमोजिम सजायसमेतका लागि अभियोगपत्र पेस भएकोमा प्रतिवादीलाई ८ वर्ष कैद रू. १०,०००।- जरिवाना हुने ठहर्छ भनी सुरू झापा जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसलाउपर पुनरावेदक रामकृष्ण राईले चित्त नबुझाई मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन दर्ता भई पुनरावेदनको निस्सा प्रदान गर्ने आदेश भई पुनरावेदन दर्ता हुन आएको देखियो ।
यसमा पुनरावेदन अदालत, इलामले गरेको फैसला मिलेको छ, छैन् र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गरी हेर्दा प्रतिवादी रामकृष्ण राईले गरेको मुक्का प्रहारबाट जाहेरवाला चन्द्रकला राईको आँखा फुटेको कुरामा कुनै विवाद देखिँदैन । जिल्ला झापा दमक न.पा.वा.नं.१४ स्थित पूर्वमा देशु निरौलाको घर, पश्चिममा सीता थापाको घर, उत्तरमा श्याम कुमालको खाली जग्गा, दक्षिणमा मानबहादुर राईको घर यति चार किल्लाभित्र उत्तर मोहडा भएको टिनको छाना, बाँसको टाटी भएको प्रतिवादी रामकृष्ण राईको घर, सो घर बरन्डामा बसिरहेकी चन्द्रकला राईलाई प्रतिवादीले बक्सिङ प्रहार गरी आँखा फुटाइदिएको, सो स्थान वरपर रगतको टाटा रहेको र घाइते चन्द्रकला राईलाई उपचारार्थ लगेको हो भन्नेसमेत व्यहोराको मिति २०६९।२।८ को घटनास्थल मुचुल्का देखिन्छ । पीडित निशा राईलाई उपचारको लागि २१/०५/२०१२ मा B.P.Koirala Institute Of Health Sciences, Ghopa, Dharan मा भर्ना गरेको उक्त अस्पतालको Emergency Lab Report बाट देखिन्छ । निशा भन्ने चन्द्रकला राईको बायाँ आँखा अङ्गभङ्ग भएको भनी B.P.Koirala Institute Of Health Sciences, Dharan को च.न. ४७७५ मिति २०६९।०३।०८ को पत्रसाथ प्राप्त घा जाँच प्रतिवेदनसमेतबाट देखिँदा जाहेरवाला निशा भन्ने चन्द्रकला राईको बायाँ आँखा तत्कालिन चोटबाट अङ्गभङ्ग भएको पुष्टि हुन आयो ।
३. अब यी प्रतिवादी रामकृष्ण राईको मुक्का प्रहारबाट जाहेरवालाको बायाँ आँखा अङ्गभङ्ग भएको हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा मेरा पति प्रतिवादी रामकृष्ण राईले मलाई विवाह गरी घरमा ल्याएको केही महिनादेखि कुटपिट गर्ने तथा हेलाहिंसा गर्ने गरेको भए तापनि सहेरै बसेकी थिएँ । निजले मादकपदार्थ सेवन गरी आई तेरो दायाँ आँखा फुटेर अन्धी छस् अब बायाँ आँखा फुटाई दिन्छु भनी धम्की दिने गरेकोमा मिति २०६९।२।८ गते बिहान ५.०० बजेको समयमा म दलानमा बसिरहेको अवस्थामा मेरो कपालमा समाती बक्सिङ प्रहार गरेको र म रून कराउन थाल्दा मेरो बायाँ आँखामा प्रहार गर्दा बेहोस भई छिमेकीको सहायताले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहेको
छु । मेरो दायाँ आँखा जन्मजात अन्धो रहेको र बायाँ आँखा विपक्षीले बक्सिङ प्रहार गरी फुटाइदिएको हुँदा निजलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको स्वयम् पीडित चन्द्रकला राईको किटानी जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ ।
४. पुनरावेदक / प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा जाहेरवाला चन्द्रकला राईको पहिलेदेखि दायाँ आँखा अन्धो भएको र बायाँ आँखासमेत सामान्य देख्ने भएकोले आँखा अस्पताल बिर्तामोडमा उपचार भई सुधार भइरहेको थियो । यस्तैमा मिति २०६९।२।८ गते बिहान अन्दाजी ५ बजेको समयमा मेरी श्रीमती आफ्नै घरको दलानमा बसी रहेकी र घर व्यवहारको कुरा गरी सम्झाई बुझाई गर्दा मलाई गालीगलौज गरेकीले मैले एक झापड हान्दा बायाँ आँखामा लाग्न गएकोले निजलाई तत्काल वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गर्न लगेको र चिकित्सकले अब आँखा ठीक नहुने सुझाब दिएकाले निजलाई घरमा ल्याई राखेको हो । मैले जानीजानी अन्धी होस् भनी कुटपिट गरेको होइन भने तापनि आफ्नो मुक्का प्रहारबाट आँखा फुटेको कुरामा साबित भई बयान गरेको देखियो ।
५. आफ्नो मुक्का प्रहारबाट आँखा फुटेको कुरालाई प्रतिवादीले स्वीकारै गरी केवल आँखा फुटाउने गरी हानेको होइन भन्नेसम्म जिकिर लिएको देखिन्छ । यसरी प्रतिवादीको प्रहारबाट आँखा फुटेको कुरामा विवाद भएन । अब नियतबश प्रहार गरेको होइन भन्ने कुरा र एउटामात्र आँखा फुटाएको हुँदा सजाय हुने भएको खण्डमा के कति सजाय हुनुपर्ने हो भन्ने पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा जाहेरवाली पीडितले जाहेरीमा नै प्रतिवादीले तेरो दायाँ आँखा फुटेर अन्धी छस् अब बायाँ आँखा फुटाई दिन्छु भनी धम्की दिने गरेको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी निजले आँखा फुटाई दिन्छु भनी वारदात घटनाभन्दा पहिलेदेखि नै बारबार धम्की दिँदै आउनु, प्रहार पनि आँखामा नै हुनु र आँखा फुटने गरी नै प्रहार गर्नुलाई संयोगमात्र मान्न नसकी प्रतिवादीले निर्दयताका साथ आँखा फुटाउने नै सुनियोजित तवरबाट प्रहार गरेको देखिन्छ । आँखा फुटाउने तवरले प्रहार गरेको नभई सामान्यरूपमा प्रहार गरेको भन्ने प्रतिवादीको बयान एवं पुनरावेदन जिकिर हेर्दा सामान्यरूपमा प्रहार गरेको भए आँखाबाहेक शरीरको अनुहारको अन्यत्र भागमा लाग्नु पर्नेमा अन्यत्र लागेको नभई केवल आँखामा नै ताकी प्रहार गरेको मुक्काले आँखा फुटेको कुरा जाहेरी दरखास्त, प्रतिवादीको अदालत तथा अधिकारप्राप्त अधिकारीसमक्षको बयान, घा जाँच प्रतिवेदनसमेतका प्रमाण कागजातले समेत एक अर्कोमा समर्थित गरेको देखिँदा प्रतिवादीले मुक्का प्रहार गरी आँखा फुटाई दिएको प्रमाणित हुन आयो ।
६. जहाँसम्म पीडित जाहेरवाली स्वयम्ले अदालतमा आई बकपत्र गर्दा लडेर किलामा आफ्नो आँखा परी फुटेको भनी बकपत्र गरेकोमा सोलाई प्रमाणमा ग्रहण नगरी प्रतिवादी रामकृष्ण राईलाई कसुरदार ठहर गरी सजाय गरेको भन्ने आधारमा निस्सा दिइएको छ सोतर्फ विचार गर्दा जाहेरवालीको बाध्यात्मक कारणले परिवर्तित बयानलाई स्वतन्त्ररूपमा खण्डन गर्नुपर्ने अवस्था रहन्छ । आफैँ पतिबाट अङ्गभङ्ग भएकी पीडित जाहेरवाली आफ्नै हित विरूद्ध किन बकपत्र गरिन् होला, कुन सामाजिक, सांस्कृतिक र आर्थिक कारणले वा के कारणले पीडित एकाएक परिवर्तन भइन सोच्नपर्ने हुन्छ । पीडितले आफैँ अध्यारोलाई किन स्वीकार्नु पर्यो होला त्यो पनि आँखा जस्तो शरीरको लागि सर्वाधिक नभई नहुने त्यस्तो शरीरको अंग जसबिना जीवन अत्यन्त चुनौतिपूर्ण बन्न पुगेको छ । स्वयमलाई पराजित गर्ने परिकल्पना न्यायमा गरेको हुँदैन । न्यायकर्ताले प्रतिकूल बयानको बाध्यात्मक परिस्थितिलाई मध्यनजर राख्नु पर्दछ । प्रतिकूल बयानलाई न्यायको कसीमा हेर्न आवश्यक छ । प्रतिवादी रामकृष्ण राई स्वयम्ले पीडितलाई हिर्काएको कुरामा स्वीकारोक्ति रहेको छ । साथै सम्पूर्ण वस्तुगत प्रमाणले प्रतिवादीले हिर्काएको कुरालाई स्थापित गरेको छ । वस्तुगत प्रमाणलाई खण्डित गर्न नसकेको अवस्थामा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरेको मिति २०७२।०२।२१ को आदेशमा निस्सामा दिइएको कारणसँग सहमत हुन सकिएन ।
७. प्रतिवादीलाई के कति सजाय हुने भन्नेसम्बन्धमा विचार गर्दा अब एउटासम्म आँखा फुटाएकोमा एउटै काम गर्ने दुई अङ्गमध्ये एक अङ्गभङ्ग गराएको मानी सो अनुरूप सजाय निर्धारण गर्नुपर्ने हो वा एउटा आँखा पहिले नै काम नलाग्ने भएका कारण अङ्गभङ्गबापतको पुरै सजाय गर्नुपर्ने हो सोसम्बन्धमा विचार गर्नुपर्ने देखियो । फौजदारी कानून र न्यायको एउटा महत्त्वपूर्ण उद्देश्य भनेको कसुरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसुरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र देखिनु हुँदैन । कसुरको मात्रा र गाम्भीर्यताअनुसार दण्ड पाएको अनुभूति गरी पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने हुन्छ । यी पुनरावेदक र पीडित पतिपत्नी नाताका भई सँगै बसोबास गरेको तथ्यमा विवाद छैन । पतिपत्नीको सम्बन्ध पूर्णत माया, विश्वास र सम्मानमा अडेको हुन्छ र यसमा एउटाले अर्काको विरूद्धमा कुनै आपराधिक घटना घटाउन सक्ने परिकल्पनासमेत गरेको हुँदैन । पत्नीसँग कुनै कारणले बेमेल हुँदैमा संवेदनशील अङ्ग आँखामा प्रहार गर्नुपर्ने अवस्था र कारण हुँदैन । समानता तथा आत्म सम्मानका साथ बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो । कुनै पनि बहानाबाजी, कारण, अवस्था वा परिस्थितिले पनि सो अधिकार हनन् हुनु हुँदैन । आफ्नो संरक्षकत्वमा रहेकी, आफूले सदैव रक्षा गर्नुपर्ने पत्नीलाई अन्धो बनाएको अवस्थामा निजलाई कम सजाय गरी सजाय घटाउने अवस्था र कारण हुँदैन । घर र पति जसबाट जहाँ आफू बढी सुरक्षित अनुभूति गर्दछन् कि सोही ठाउँमा र व्यक्तिबाट हिंसित हुनु बढी डर लाग्दो अवस्था हो । यस्तोमा लोग्ने पीडक भएकै आधारमा सजाय घटाउँदा न्यायोचित नहुनुका साथै घरेलु हिंसा नियन्त्रण र रोकथाममा बाधकसमेत हुन सक्दछ । नाताले अपराधबाट उन्मुक्ति वा Concession पाउन सक्दैन ।
८. यी पीडितको एउटा अङ्ग पहिले नै पूर्ण रूपमा काम नदिने छ । सो कुराको प्रतिवादीलाई पूर्ण जानकारी छ । त्यस्तो एउटा अङ्ग बेकम्मा भइरहेको अवस्थामा अर्को अङ्ग पनि काम नलाग्ने बनाई दिने कार्यले उक्त अङ्ग पूर्णरूपमा काम नलाग्ने भई सो अङ्गको पूर्ण रूपमा अङ्गभङ्गका रूपमा रहन जाने अवस्था हुन्छ । जसको परिणाम स्वरूप एउटै काम दिने दुई अङ्गमध्ये एक अङ्गमात्र अङ्गभङ्ग भएको भन्ने अवस्था प्रस्तुत मुद्दाको पीडितको अवस्था रहेको छैन् । सो भएबाट आँखा नदेख्ने गरी आँखा फुटाली शक्तिहीन गरिदिएको देखिन गई सोही मुताबिक सजाय निर्धारण हुने देखियो ।
९. मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा अङ्गभङ्गको खत ठहर्छ भन्ने कानूनी व्यवस्था रहेको छ । त्यसै गरी सोही महलको ६ नं. मा दृष्टिविहीन बनाएको खतमा सो गर्नेलाई ३ लाख जरिवाना गरी ८ वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था हुँदा एउटा अङ्ग बेकम्मा भइरहेको अवस्थामा अर्को अङ्ग पनि काम नलाग्ने बनाई दिने कार्यले आँखा जस्तो शरीरको महत्त्वपूर्ण अङ्ग पूर्णरूपमा काम नलाग्ने भई सो अङ्गको पूर्णरूपमा अङ्गभङ्गका रूपमा रहन जाने अवस्था हुँदा यी प्रतिवादीले आफ्नी श्रीमतीलाई पूर्णरूपमा दुवै आँखा नदेख्ने गरी दृष्टिविहीन बनाएको प्रमाणित हुन आयो ।
१०. अतः माथि उल्लिखित आधार, कारण प्रमाणको विवेचनाबाट प्रतिवादी रामकृष्ण राईले दायाँ आँखा नदेख्ने पीडित जाहेरवाला निशा भन्ने चन्द्रकला राईलाई कुटपिट गरी निजको बायाँ आँखा फोरी दृष्टिविहीन बनाई मुलुकी ऐन, कुटपिटको महलको २ नं. अन्तर्गतको कसुर गरेको निर्विवादरूपमा पुष्टि भएकोले कुटपिटको महलको ६ नं. बमोजिम प्रतिवादी रामकृष्ण राईलाई ८ (आठ) वर्ष कैद र रू.१०,०००।– (दश हजार) जरिवानाको सजाय हुने ठहर्याई सुरू झापा जिल्ला अदालतले मिति २०६९।१०।१७ मा गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको मिति २०७०।१२।२६ को फैसला मिलेकै देखिँदा यस अदालतबाट मिति २०७२।०२।२१ मा प्रदान गरिएको निस्सासँग सहमत हुन सकिएन । झापा जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, इलामको मिति २०७०।१२।२६ को फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ओमप्रकाश मिश्र
इजलास अधिकृत: कोशलेश्वर ज्ञवाली
इति संवत् २०७३ साल भदौ १४ गते रोज ३ शुभम् ।