शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७०० - अंश दर्ता ।

भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सारदा प्रसाद घिमिरे 

माननीय न्यायाधीश श्री  विश्वम्भरप्रसाद श्रेष्ठ 

फैसला मिति : २०७३।०५।१५

०७०-CI-०५६०

 

मुद्दाः अंश दर्ता ।

 

पुनरावेदक/वादी : विहारी साह तेलीकी पत्नी  जिल्ला पर्सा गाउँ विकास समिति लखनपुर वडा नं.२ बस्ने हंसरजियादेवी तेलिन

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : स्व.शालिक साहकी पत्नी जिल्ला पर्सा गाउँ विकास समिति लखनपुर घर भई हाल ऐ. गाउँ विकास समिति नगरदाहा वडा नं.२ बस्ने शिवदुलारी तेलिनसमेत

 

एकपुस्ता मुनिका व्यक्तिले अंश मुद्दा दायर गर्दैमा मूल अंशियारका बीचमा अंश मुद्दा चल्न नसक्ने भन्ने हुँदैन । अंश मुद्दाको कारवाहीयुक्त अवस्था नराखी लामो समयसम्म तामेली राखी मुद्दामा अल्झाई राख्ने कार्यसम्म हुन गएको 

छ । एक अंशियारले अंश मुद्दा दायर गरी तामेलीमा राखी बसिरहने अवस्थामा पछि दायर भएका मूल अंशियारहरूको बीचको अंश मुद्दामा कानूनी प्रक्रिया बढाई कानूनबमोजिम फैसला एवं फैसला कार्यान्वयन गर्ने जस्ता कार्य गर्न कुनै कानूनले बाधा पुर्‌याएको देखिँदैन । अदालतमा उपस्थित रहि आफ्नो हक प्रति जागरूक रहने व्यक्तिहरूको बीचमा परेको अंश जस्तो मुद्दामा छिटो कारवाही किनारा गर्नु अदालतको कर्तव्य पनि हुने ।

(प्रकरण नं. ८)

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे

पुनरावेदन तहमा फैसला गर्ने :

मा.का.मु. मुख्य न्या. श्री जगदीश शर्मा पौडेल

माननीय न्यायाधीश श्री  सरोजप्रसाद गौतम

 

पुनरावेदक/वादीको तर्फबाट : अधिवक्ता प्रसन्न कृष्ण दासले

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अधिवक्ता कृष्णप्रसाद पाण्डे

अवलम्बित नजिर :

सम्बद्ध कानून :

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।५।३ को फैसलाउपर यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-

ससुरा स्व.शालिक साहकी पत्नी विपक्षी शिवदुलारीदेवी तेलिन भई निजहरूको दाम्पत्य जीवनबाट एकमात्र छोरा विपक्षी विहारी साह तेलीको जायजन्म भएको छ । प्रतिवादी विहारी साहको पत्नी म फिरादी हुँ । विपक्षी पति विहारी साह तथा म फिरादीको दाम्पत्य जीवनबाट छोरीहरू क्रमशः गिताकुमारी तथा अनिताकुमारीको जायजन्म भएको छ । निजहरूको विवाह भइसकेको छ । हामी सम्पूर्ण परिवार एकसाथ सगोलमा बसी आउँदा विपक्षीहरूले मतर्फ कुनै छोरा सन्तानको जायजन्म नभएको भन्दै २०५५ साल वैशाखदेखि नै मलाई हेला गर्नेगरेको र मलाई  खानलाउनमा समेत दुःख तकलिफ दिनेगरेको तथा घरबाट समेत निकाला गरेकोले मिति २०६२।१।४ गते गाउँघरका पञ्चभलाद्‌मीलाई बसाई इज्जत आमदअनुसार खानलाउन दिनुपर्‌यो होइन कि मेरो अंशहक छुट्याई दिनुपर्यो भनी विपक्षीहरूलाई भन्दा विपक्षीहरूले सो कुरा नमानी मेरो अंशहक छुट्याई दिनबाट इन्कार गरेकोले हाम्रो बीचमा मानो छुटेको कुनै लिखत प्रमाण नभएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटेको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण चलअचल सम्पत्तिको तायदाती फाँटवारी विपक्षीहरूसँग माग गरी सो सम्पूर्ण चलअचल सम्पत्तिको २ खण्डको १ खण्डमध्ये २ खण्डको १ खण्ड मेरो अंश छुट्याई मेरो नाउँमा दर्ता गरी लागेको कोर्टफी तथा अन्य दस्तुरसमेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।

वादी दाबीबमोजिम अंशहक हुनुपर्ने होइन छैन । वादी दाबी झुठ्ठा हो । प्रतिवादीले आफ्नो अंशहक नै माग गरेको छैन । विपक्षीले आफ्नो फिरादपत्रमा उल्लेख गर्नुभएको पुस्तेवारी नै गलत छ । हाम्रो पुस्तेवारी यसप्रकार छ । म प्रतिवादीको बाजे नकछेद साह तेली भई उहाँको दाम्पत्य जीवनबाट एकमात्र छोरा म प्रतिवादीको पिता शालिक साह हुन् । पिता शालिक साह तेली र आमा शिवदुलारीदेवी तेलिनको दाम्पत्य जीवनबाट एकमात्र छोरा म प्रतिवादी विहारी साह तेलीको जायजन्म भएको छ । म प्रतिवादीको दुई पत्नीमा जेठी पत्नी विपक्षी हंसरजियादेवी भई हामीहरूको दाम्पत्य जीवनबाट २ छोरीहरू क्रमशः गितादेवी र अनितादेवीको जायजन्म भएको छ । निजहरूको विवाहसमेत भइसकेको छ । म प्रतिवादीको कान्छी पत्नी कान्तीदेवी भई हामीहरूको दाम्पत्य जीवनबाट एक मात्र छोरा ओमशंकर साह तेली र तीन छोरीहरू क्रमशः भागमतीदेवी, सनैचनाकुमारी र सुनिताकुमारीको जायजन्म भएको छ । छोरीहरूमध्ये भागमती र सनैचनाकुमारीको विवाह भइसकेको र सुनिताकुमारीको विवाह गर्न बाँकी छ । बाजे नकछेद साह तेली र पिता शालिक साह तेली आ-आफ्नो कालगतिले अघिपछि गरी परलोक भइसक्नुभएको छ । सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्डमध्ये २ खण्डको १ खण्ड अंशहक विपक्षीले पाउनुपर्ने अवस्था नै छैन । सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्ड गरी १ खण्डलाई ६ खण्ड गरी सो ६ खण्डको १ खण्ड अंश विपक्षीले प्राप्त गर्नसक्नेसम्मको अवस्था रहेकोमा विपक्षीले छलकपटपूर्ण तरिकाले दायर गरेको प्रस्तुत फिराद खारेजभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादी विहारी साह तेलीको प्रतिउत्तर पत्र । 

विपक्षीको पति विहारी साह तेलीले म प्रतिवादीको अंशहक नदिएको हुँदा यसै सम्मानित अदालतमा निजउपर दे.नं.९७० को अंशदर्ता मुद्दा दायर गरेकी छु । सो मुद्दासमेतबाट विपक्षीलाई म प्रतिवादीले अंशहक दिनुपर्ने होइन । विपक्षीले आफ्नो फिरादपत्रमा उल्लेख गर्नुभएको पुस्तेवारी नै गलत 

छ । मेरो पुस्तेवारी यसप्रकार छ । म प्रतिवादीको ससुरा नकछेद साह तेली भई उहाँको दाम्पत्य जीवनबाट एकमात्र छोरा म प्रतिवादीको पति शालिक साह हुन् । म प्रतिवादी र पति शालिक साहको दाम्पत्य जीवनबाट एकमात्र छोरा प्रतिवादी विहारी साह तेलीको जायजन्म भएको छ । छोरा विहारी साहको दुई पत्नीमा जेठी पत्नी विपक्षी हंसरजियादेवी तेलिन हुन् । विपक्षी हंसरजियादेवीको कोखबाट २ छोरीहरू क्रमशः गितादेवी र अनितादेवीको जायजन्म भएको छ र निजहरूको विवाहसमेत भइसकेको छ । छोरा विहारी साहको कान्छी पत्नी कान्तीदेवी भई उनीहरूको दाम्पत्य जीवनबाट एकमात्र छोरा ओमशंकर साह तेली र तीन छोरीहरू क्रमशः भागमतीदेवी, सनैचनाकुमारी र सुनिताकुमारीको जायजन्म भएको छ । छोरीहरूमध्ये भागमती र सनैचनाकुमारीको विवाह भइसकेको र सुनिताकुमारीको विवाह गर्न बाँकी छ । म प्रतिवादीको ससुरा नकछेद साह तेली र पति शालिक साह तेली आ-आफ्नो कालगतिले अघिपछि गरी परलोक भइसक्नुभएको छ । सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्ड गरी सो १ खण्डलाई ६ खण्ड गरी सो ६ खण्डको १ खण्ड अंश विपक्षीले प्राप्त गर्नसक्ने सम्मको अवस्था रहेकोमा विपक्षीले छलकपटपूर्ण तरिकाबाट दायर गरेको प्रस्तुत फिराद खारेजभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादी शिवदुलारी तेलिनको प्रतिउत्तर पत्र । 

प्रस्तुत मुद्दामा वादीले मिति २०६२।११।१८ गतेको तारेख तोकी पाएकोमा सो तारेखमा हाजिर नभई म्यादै गुजारी थाम्ने थमाउने म्यादसमेत व्यतित भइसकेकोले प्रस्तुत मुद्दा मिति २०६३।१।११ मा तामेलीमा रही सुरू पर्सा जिल्ला अदालतको मिति २०६५।११।२५ को आदेशानुसार तामेलीबाट जागी पुनः दायर भएको ।

सासू बुहारीको नाता पर्छ, सगोलका अंशियार हुन्, स्व.शालिक साह र शिवदुलारीको दाम्पत्य जीवनबाट एक छोरा विहारी साहको जन्म भएकोमा निजको २ जना श्रीमतीमा जेठी हंसरजिया र कान्छी कान्तीदेवी हुन् । हंसरजियाबाट २ जना छोरीको जन्म भई विवाह भइसकेको छ भने कान्तीदेवीबाट तीनजना छोरी र एकजना छोराको जायजन्म भएकोमा २ जना छोरीको विवाह भइसकेको छ भने एक जना छोरा र एकजना छोरीको विवाह हुन बाँकी छ भन्ने व्यहोराको प्रतिवादी वारेस ओमशंकर साहले सुरू पर्सा जिल्ला अदालतमा अ.बं.८० नं. बमोजिम नातामा गरेको 

बयान ।

श्रीमान्‌ र श्रीमतीको नाता पर्छ, सगोलका अंशियार हो, स्व.शालिक साह र निजको पत्नी शिवदुलारी तेलिन भई निजको दाम्पत्य जीवनबाट एकमात्र छोरा म विहारी साहको जन्म भई मेरो २ जना श्रीमतीमा जेठी वादी हंसरजिया र कान्छी श्रीमती कान्तीदेवी भई हंसरजियाबाट २ जना छोरीको जायजन्म भई निजहरूको विवाह भइसकेको छ भने कान्तीदेवीको तर्फबाट १ जना छोरा र तीनजना छोरीको जायजन्म भई २ जना छोरीको विवाह भइसकेको छ भने एक छोरा र एक छोरीको विवाह हुन बाँकी छ, पिता शालिक साह परलोक भइसक्नुभएको छ भन्ने व्यहोराको प्रतिवादी विहारी साहले सुरू पर्सा जिल्ला अदालतमा अ.बं. ८० नं. बमोजिम नातामा गरेको बयान ।

प्रतिवादी शिवदुलारी मेरो सासू र प्रतिवादी विहारी साह मेरो श्रीमान्‌ हुन्, हामी अंशियार हौं, हाम्रो बीचमा अंशबन्डा भएको छैन, स्व.ससुरा शालिक साह तथा निजको पत्नी शिवदुलारीको दाम्पत्य जीवनबाट एकमात्र छोरा विपक्षी पति विहारी साह तेली हो, निजको श्रीमती म वादी हंसरजियादेवी हुँ, कान्तीदेवीको बारेमा थाहा छैन, २०५५ सालदेखि नै मलाई प्रतिवादीहरूले खानलाउन नै नदिई घरबाट निकाला गरेकोले मलाई केही पनि थाहा जानकारी छैन, सर्जमिन बुझी पाउँ भन्ने व्यहोराको वादी हंसरजियादेवी तेलिनले सुरू पर्सा जिल्ला अदालतमा नातातर्फ गरेको बयान ।

एकासगोलका अंशियार हुन्, ३ खण्डको १ खण्ड अंश पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको वादीका साक्षी लालबाबु साहले सुरू पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

विहारी साहको २ जना श्रीमती हुन्, जेठी हंसरजिया र कान्छीको नाम कान्तीदेवी हो, वादी दाबीअनुसार अंश पाउनुपर्ने होइन, ५ खण्डको १ खण्ड अंश लाग्नुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी विहारी साह तेलीका साक्षी शिवप्रसाद पंडितले सुरू पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

म र वादी  अंशियार हुँ, नियम कानूनबमोजिम पाउनुपर्ने जति पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएकी सुनिताकुमारीले सुरू पर्सा जिल्ला अदालतमा गरेको बयान ।

वादीले प्रतिवादीमध्येका विहारीसँग मात्र अंश पाउनुपर्ने हो र हामीले पनि विहारीसँग अंश पाउनुपर्ने हो, ५ खण्डको १ खण्ड मैले पनि विहारीसँग अंश पाउनुपर्ने हो, अंशबन्डा भएको छैन भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएकी कान्तीदेवीको वारेस भई आफ्नो हकमा समेत ओमशंकरप्रसाद साहले सुरू पर्सा जिल्ला अदालतमा गरेको बयान ।

सुरू पर्सा जिल्ला अदालतको आदेशानुसार वादी प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारी मिसिल संलग्न रहेको । 

प्रतिवादीमध्येका विहारी साह तेलीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित तथा निजले बकसपत्रबाट पाएकोसमेतको सम्पूर्ण सम्पत्ति ५ भाग लगाई सोको १ भाग अंश वादीले पाई निजको नाउँमा दर्तासमेत हुने ठहर्छ । अन्यथा लिएको वादी दाबी सो हदसम्म पुग्न सक्दैन भन्ने सुरू पर्सा जिल्ला अदालतको फैसला । 

प्रतिवादीमध्येका शिवदुलारी सगोलको सासूआमा भई निजसँग मेरो अंशबन्डा भएको छैन । प्रत्यर्थीहरूले एकआपसमा मिलोमतो गरी दे.नं.९७० को अंशदर्ता मुद्दा दिई दिलाई फैसला गराई असल तथा बढी मोल जाने घडेरी जग्गाहरू छानीछानी आफूले लिई कमसल तथा सरेहका धानखेती जग्गा छाडी बन्डा छुट्याई प्रतिवादी शिवदुलारीले आफ्नो नाउँमा दाखिल खारेज दर्ता गराई असल र घडेरी जग्गाबाट मेरो अंशहक मार्नको लागि जालसाजी तवरबाट उक्त जग्गाहरू हक हस्तान्तरणसमेत गरिसकेकीमा सम्पूर्ण कुरा दर्शाई अन्य मुद्दाहरू दिएकोमा सो सम्पूर्ण मुद्दा समेतउपर कुनै विचार नगरी गर्नुभएको फैसला बदरभागी छ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन पत्र । 

जिल्ला पर्सा गा.वि.स.लखनपुर वडा नं.२ कि.नं.९ र ऐ. कि.नं.५० को जग्गाको स्रेस्ता मेरो नाउँमा भए तापनि दे.नं.९७० को अंश मुद्दामा भएको फैसलाअनुसार मिति २०६७।५।२४ मा छुट्टाइएको बन्डाअनुसार आमा शिवदुलारीदेवीको अंशभागमा परेको जग्गा हो भनी फाँटवारीमा उल्लेख गरेकोमा अर्काको अंशमा परेको जग्गा समेत र कि.नं.२६६ को जग्गा बकसपत्रबाट प्राप्त गरेकोमा सो जग्गासमेत बन्डा लाग्नेगरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विहारी साह तेलीको पुनरावेदन पत्र । 

हामी बीच चलेको दे.नं.९७० को अंश मुद्दाको फैसलाअनुसार मिति २०६७।५।२४ मा बन्डा छुट्याई बन्डा मुचुल्काअनुसार कि.नं.९ र ५० को जग्गा म शिवदुलारीदेवीको अंशभागमा परेको जग्गासमेतबाट विपक्षीले अंश पाउने गरी भएको फैसला सो हदसम्म उल्टि गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी शिवदुलारी तेलिन र ओमशंकरप्रसाद साहको संयुक्त पुनरावेदन पत्र ।

यसमा मिति २०६७।५।२४ को बन्डामुचुल्का अनुसार जिल्ला पर्सा गा.वि.स. लखनपुर वडा नं.२ कि.नं.९ र ऐ. कि.नं.५० को जग्गा शिवदुलारीको भागमा परेको जग्गासमेत प्रस्तुत मुद्दामा बन्डा लाग्नेगरी सुरू अदालतबाट भएको फैसला विचारणीय देखिएको र दुवै पक्षको पुनरावेदन परेको सन्दर्भमा सुरू फैसला फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत, नियमावली‚ २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन गर्ने पक्षहरूलाई एकअर्काको पुनरावेदन सुनाई पुनरावेदन नगर्ने पक्षका नाउँमा छलफलको लागि म्याद जारी गरी म्यादभित्र उपस्थित भए वा अवधि व्यतित भएपछि लगाउका मुद्दा साथै राखी नियमानुसार गरी पेस गर्नू भन्ने पुनरावेदन अदालत, हेटौंडाको आदेश ।

प्रतिवादी शिवदुलारीतर्फको वादी दाबी खारेज हुने र पुनरावेदक हंसरजियादेवी र प्रतिवादी विहारी साह तेलीका हकमा सम्पत्तिबाट ५ भागको १ भाग अंश पाउने ठहर गरी भएको फैसला सो हदसम्म मिलेको देखिए तापनि पुनरावेदक प्रतिवादी शिवदुलारी तेलिन र पुनरावेदक प्रतिवादी विहारी साह तेलीको बीचमा चलेको सा.दे.नं.९७० को अंश मुद्दाबाट पुनरावेदक शिवदुलारी तेलिनले २ भागको १ भाग अंश पाउने ठहरी मिति २०६३।६।३० मा फैसला भई मिति २०६७।५।२४ मा बन्डा छुट्याउँदा लखनपुर वडा नं.२ कि.नं.९ को ज.वि.०-०-१५ र कि.नं.५० को ज.वि.०-१-४ जग्गा पुनरावेदक शिवदुलारी तेलिनको अंशभागमा परेको देखिएकोमा उक्त जग्गासमेतबाट पुनरावेदक हंसरजियादेवी तेलिनले अंश पाउने ठहराएको हकमा पर्सा जिल्ला अदालतको मिति २०६८।१०।१७ को फैसला मिलेको नदेखिँदा केही उल्टी हुन्छ । पुनरावेदक प्रतिवादी विहारी साह तेलीले कि.नं.२६६ को क्षेत्रफल ०-०-१० जग्गा हालैको बकसपत्रबाट प्राप्त गरेको हुँदा बन्डा हुनु नपर्ने भनी दाबी गरे पनि यी पुनरावेदक फिरादी हंसरजियादेवी निजको श्रीमती हुँदा लोग्नेको नाउँको उक्त जग्गा निजको पैतृक सम्पत्तिसरहको हुँदा सो कि.नं.२६६ बाट समेत वादीको अंश लाग्ने देखिँदा पुनरावेदक प्रतिवादी विहारी साह तेलीले पेस गरेको तायदाती फाँटवारीमा देखाएको सम्पत्तिमध्ये पुनरावेदक शिवदुलारी तेलिनको अंशभागमा परेको कि.नं.९ र ५० को जग्गाबाहेक गरी निज विहारी साह तेलीले बकसपत्र पाएकोसमेतको सम्पूर्ण सम्पत्तिबाट पुनरावेदक वादी हंसरजियादेवी तेलिनले ५ भागको १ भाग अंश पाई निजका नाउँमा दर्तासमेत हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, हेटौंडाको फैसला ।

प्रतिवादीमध्येका शिवदुलारी सगोलको सासू आमा भई निजसँग मेरो अंशबन्डा भएको छैन । हामीहरू बीच चलेको विपक्षी विहारी साह तथा शिवदुलारी तेलिन बीच चलेको देवानी नम्बर ९७० को अंश दर्ता मुद्दाको फैसला गराई असल तथा बढी मोल जाने राम्रा घडेरी जग्गाहरू छानीछानी आफूले मिति २०६७।५।२४ मा भएको बन्डा मुचुल्काबमोजिम लिएकोमा विवाद छैन । यसरी शिवदुलारीका नाउमा असल जग्गामध्येको लखनपुर वडा नं. २ कि.नं. ५० को जग्गा विपक्षी विहारी साहले सौतेनी छोरा ओमशंकर साहको नाउँमा दर्ता गराई ववितादेवी साहलाई हालैको बकसपत्र दर्ताबदर दर्ता मुद्दासमेत साथमा रहेकोमा त्यसको वास्तविक तथ्य अवलोकन नै नगरी हचुवाको आधारमा त्रुटिपूर्ण फैसला भएको छ । अतः म पुनरावेदकले पहिले नै दर्ता गराएको अंश दर्ता मुद्दाको मानो छुट्टिएको मितिबाट तायदाती झिकाई सो बमोजिम २ खण्डको १ खण्ड आधी सम्पत्ति अंशबापत बन्डा गरिदिनुपर्नेमा सोको प्रमाण मूल्याङ्कन नगरी हचुवाको भरमा भएको पुनरावेदन अदालतको फैसला बदर गरी फिराद दाबीबमोजिम अंश हक छुट्टाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादी हंसरजियादेवी तेलिनको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा विहारी साहकी पत्नी हंसरजियाले सासू शिवदुलारी तेलिन र पति विहारी साहउपर मिति २०६२।२।२९ मा दे.नं. ६९६ को अंश मुद्दा दायर गरिसकेपछि शिवदुलारी तेलिनले छोरा विहारी साहउपर मिति २०६२।५।६ मा दायर गरेको दे.नं. ९७० को अंश मुद्दाको आधारमा शिवदुलारी देवीले पाएको अंश भागबाट प्रस्तुत मुद्दाको वादी हंसरजियाले दायर गरेकी अंश मुद्दामा शिवदुलारीले दे.नं. ९७० बाट अंश पाएको भनिएको भागलाई सगोलको नमानी हंसरजियाले आफ्नो लोग्नेबाट मात्र अंश पाउने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।५।३ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०७२।५।४ मा भएको यस अदालतको आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी हंसरजियादेवी तेलिनको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री प्रसन्न कृष्ण दासले प्रतिवादीहरू आपसमा मिलि असल र घडेरी जग्गा अन्य अंशियारहरूको अंश भागमा पर्ने गरी अंशबन्डा गरेका छन । वादी दाबीको कि.नं. ९ र ५० को जग्गामा समेत यी वादीको अंश हक लाग्ने जग्गाहरू भएकोले उक्त जग्गाबाट समेत वादीले अंश पाउनु 

पर्दछ । अन्य मुद्दाहरू समेत दिएकोमा उक्त मुद्दाहरूको उचित मूल्याकङ्न नगरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय इन्साफ गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद पाण्डेले पुनरावेदक वादीले आफ्नो पतिको भागबाट अंश पाउने हो । दाबीको कि.न. ९ र ५० को जग्गामा यी वादीको अंश हक लाग्ने होइन । पुनरावेदन अदालतबाट भएको फैसलाबमोजिम वादीले अंश पाउने नै हुँदा उक्त फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

उल्लिखित कानून व्यवसायीहरूको बहस जिकिर र पुनरावेदनसहितको मिसिल कागजातहरू अध्यन गरी हेर्दा विपक्षीहरूले खानलाउन नदिएकाले मेरो अंशहक छुट्याई दिनुपर्यो भनी विपक्षीहरूलाई भन्दा सो कुरा नमानी मेरो अंशहक छुट्याई दिनबाट इन्कार गरेकोले हाम्रोबीचमा मानो छुटेको कुनै लिखत प्रमाण नभएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटेको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण चलअचल सम्पत्तिको तायदाती फाँटवारी विपक्षीहरूसँग माग गरी सो सम्पूर्ण चलअचल सम्पत्तिको २ खण्डको १ खण्डमध्ये २ खण्डको १ खण्ड मेरो अंश छुट्याई मेरो नाउँमा दर्ता गरी लागेको कोर्टफी तथा अन्य दस्तुरसमेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादी दाबी, सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्डमध्ये २ खण्डको १ खण्ड अंशहक विपक्षीले पाउनुपर्ने अवस्था नै छैन । सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्ड गरी १ खण्डलाई ६ खण्ड गरी सो ६ खण्डको १ खण्ड अंश विपक्षीले प्राप्त गर्न सक्नेसम्मको अवस्था रहेकोमा विपक्षीले छलकपटपूर्ण तरिकाले दायर गरेको प्रस्तुत फिराद खारेजभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादी विहारी साह तेलीको समेतको प्रतिउत्तरपत्र जिकिर भएकोमा तायदाती फाँटवारीमा उल्लिखित तथा निजले बकसपत्रबाट पाएकोसमेतको सम्पूर्ण सम्पत्ति ५ भाग लगाई सोको १ भाग अंश वादीले पाई निजको नाउँमा दर्तासमेत हुने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई दाबीको कि.नं.९ र ५० को जग्गाबाहेक गरी निज विहारी साह तेलीले बकसपत्र पाएकोसमेतको सम्पूर्ण सम्पत्तिबाट पुनरावेदक वादी हंसरजियादेवी तेलिनले ५ भागको १ भाग अंश पाई निजका नाउँमा दर्तासमेत हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर वादी हंसरजियादेवी तेलिनले चित्त नबुझाई सो फैसलाउपर पुनरावेदन दर्ता हुन आएको देखियो ।

यसमा पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको छ छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? सोसम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक हंसरजियादेवी तेलिनले सासू शिवदुलारी तेलिन र पति विहारी साहउपर मिति २०६२।२।२९ मा दे.नं. ६९६ को अंश मुद्दा दायर गरेको देखियो । सो अंश मुद्दा निज वादी हंसरजियाले मिति २०६२।११।१८ को तारेख गुजारी थाम्ने थमाउने अवधिसमेत नभएकोले बाँकी कारवाही गरिपाउँ भनी भन्न आएका बखत जगाई कारवाही गर्ने गरी तामेलीमा राखी दिने गरी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६३।१।११ मा आदेश भएको रहेछ । वादी हंसजियाले प्रस्तुत मुद्दा तामेलीबाट जगाई पाउँ भनी निवेदन दिई पर्सा जिल्ला अदालतको मिति २०६५।११।२५ को आदेशानुसार जागी कारवाही सुरू भएको पाइन्छ । 

३. प्रतिवादीमध्ये सासू शिवदुलारी र निजका छोरा विहारी साह तेलीको बीचमा दे.नं. ९७० को अंश मुद्दा परी सासू शिव दुलारीले २ भागको १ भाग अंश पाउने ठहरी मिति २०६३।६।३० मा फैसला भई मिति ०६७।५।२४ मा बन्डा मुचुल्कासमेत भई अंश छुट्याई अलग बसेको भन्ने सो दे.न. ९७० को प्रमाणको मिसिलबाट देखिन आएको छ । 

४. प्रतिवादी शिव दुलारीले अंश मुद्दा गरी अंश छुट्याई अलग रहेको हुँदा निज प्रतिवादीबाट प्रस्तुत मुद्दामा तायदाती फाँटवारी माग्न परेन वादीका पति विहारी साह तेलीबाट फाँटवारी माग्ने गरी पर्सा जिल्ला अदालतबाट मिति २०६८।६।५ मा आदेश भएको देखिन्छ । 

५. प्रस्तुत अंश मुद्दा वादी हंसरजिया देवीले मिति ०६२।२।२९ मा दर्ता गरेपछि सासू शिव दुलारीले छोरा विहारी साहउपर मिति २०६२।५।६ मा अंश मुद्दा दर्ता गराएको तथ्य रहेको छ । उक्त तथ्यहरूबाट यी वादी हंसरजिया देवीले मिति २०६२।२।२९ मा प्रस्तुत अंश मुद्दा दर्ता गराए तापनि निज वादीले मिति २०६२।११।१८ मा तारेख गुजारी प्रस्तुत मुद्दा तामेलीमा रही मिति ०६५।११।२५ मा मात्र जागी कारवाही भएको रहेछ । वादी हंसरजिया देवीले ०६२।२।२९ मा अंश मुद्दा दिए तापनि निज वादी स्वयम्‌ले आफूले दिएको मुद्दामा चासो नदिई उदासिन भई लामो समयसम्म वसी रहेको देखिँदा यो अंश मुद्दामा तायदाती फाँटवारी मिति २०६८।६।५ र मिति २०६८।८।२५ मा मात्र माग गर्ने आदेश भएको  

देखिन्छ । अंश मुद्दा दायर गरिसकेपछि तायदाती फाँटवारी माग नगर्दै वादीले तारेख गुजारी बसेको अवस्था छ । तायदाती फाँटवारी नै माग नभएको हुँदा केवल अंश मुद्दा दायर गरेको आधारले मूल अंशियार आमा र छोराको बीचमा अंश बन्डा नभई सगोलमा रहेको भनी मान्न सकिँदैन । 

६. आफ्नो अंश हकतर्फ जागरूक रही अदालतमा दायर गरेको मुद्दामा चासो चिन्ता देखाई आफ्नो हक प्राप्त गर्नतर्फ वादी कै जिम्मेवारी र दायित्व पनि हो । निज वादीले अंश मुद्दा दायर गरिरहेकोमा सो अंश मुद्दामा अंशियार संख्या र तायदाती फाँटवारी माग्ने यकिन हुने कार्य नै नभई तामेलीमा रहेको छ । सो अंश मुद्दा दायर हुँदैमा अरू अंशियारहरूको बीचमा अंश मुद्दा लाग्नै नसक्ने भन्ने पनि हुँदैन । मूल अंशियारहरू सासू शिवदुलारी र निजका छोरा विहारी साह रहेको भन्ने तथ्यमा विवाद छैन । वादी हंसरजियादेवीले आफ्नो पति विहारी साहबाट अंश पाउने हो ।

७. बुहारी हंशरजिया देवी एकपुस्ता मुनिका व्यक्ति भएको र निजले अघि अंश मुद्दा दायर गरेको भएपनि सो मुद्दा कारवाहीयुक्त अवस्थामा नरही लामो समयसम्म Pending रहिरहेको स्थिति छ । यस्तो स्थितिमा मूल अंशियारका बीचमा अंश मुद्दा परी फैसला भई फैसलाअनुसार बन्डा मुचुल्कासमेत भई फैसला कार्यान्वयनको कार्यसमेत सम्पन्न भइसकेको 

देखिन्छ । अदालतबाट मूल अंशियारको बीचमा उक्तअनुसारको सम्पूर्ण कार्य सम्पन्न भइसकेपछि मात्र प्रस्तुत मुद्दामा तायदाती फाँटवारी माग गर्ने कार्य भएको देखिन्छ । 

८. एकपुस्ता मुनिका व्यक्तिले अंश मुद्दा दायर गर्दैमा मूल अंशियारका बीचमा अंश मुद्दा चल्न नसक्ने भन्ने हुँदैन । अंश मुद्दाको कारवाहीयुक्त अवस्था नराखी लामो समयसम्म तामेली राखी मुद्दामा अल्झाई राख्ने कार्यसम्म हुन गएको छ । एक अंशियारले अंश मुद्दा दायर गरी तामेलीमा राखी बसिरहने अवस्थामा पछि दायर भएका मूल अंशियारहरूको बीचको अंश मुद्दामा कानूनी प्रक्रिया बढाई कानूनबमोजिम फैसला एवं फैसला कार्यान्वयन गर्ने जस्ता कार्य गर्न कुनै कानूनले बाधा पुर्‌याएको देखिँदैन । अदालतमा उपस्थित रहि आफ्नो हक प्रति जागरूक रहने व्यक्तिहरूको बीचमा परेको अंश जस्तो मुद्दामा छिटो कारवाही किनारा गर्नु अदालतको कर्तव्य पनि हो । 

९. प्रस्तुत अंश मुद्दाको पुस्तेवारी हेर्दा मूल पुरूष स्व. सालिक साहको पत्नी शिवदुलारी साह निजको एक मात्र छोरा विहारी साह भई निजका दुई श्रीमतीहरूमा जेठी हंसरजियादेवी र कान्छी कान्तीदेवी भएकोमा कान्तीदेवीतर्फका छोरा ओमशंकरप्रसाद एवं छोरी सुनिताकुमारी रहेभएकोमा पुस्तावारीमा विवाद भएन ।

१०. शिवदुलारी र निजका छोरा विहारी साह मूल अंशियार रहेको देखिन्छ । विहारी साहका दुई पत्नी जेठी वादी हंसरजिया देवी र कान्छी पत्नी कान्तीदेवी रहेको भन्ने देखिन्छ । कान्छी पत्नी कान्तीदेवीबाट एकछोरा ओमशंकर प्रसाद र छोरी सुनीता कुमारीको जायजन्म भएको देखिन्छ । मूल अंशियार आमा शिवदुलारी र छोरा विहारी साह दुई जना रहेको 

पाइयो । वस्तुतः मूल अंशियार दुई जनाको  एकभाग बन्डा भएर वादीका पति विहारी साहले प्राप्त गर्ने एक भागबाट वादीका सौता, सौतेनी छोरा छोरीसमेत पाँच भागमध्ये एक भाग अंश प्राप्त गर्ने देखिन्छ ।

११. वादीका पति विहारीबाट सम्म वादीले अंश हक पाउने हुन आउँछ । मूल अंशियारका बीचमा अंशबन्डाको अंशहक छुट्याई अनिमात्र वादीले अंश हक पाउने हो । मूल अंशियारहरूको बीचमा मिति २०६३।६।३० को फैसला अनुसार मिति २०६७।५।२४ मा बन्डा मुचुल्का भएकोमा सो बन्डा मुचुल्का हेर्दा तायदाती देखाइएको सम्पत्तिबाट क्षेत्रफलको हिसाबले अन्यायपूर्ण हुने गरी ज्यादै ठूलो कम बेसी रहेको भन्ने देखिन आउँदैन । 

१२. प्रस्तुत मुद्दामा आएको तायदाती फाँटवारीमध्ये पर्सा लखनपुर वडा नं. २ कि.नं. ९ को क्षे.फ. ०-०-१५ र ऐ. ऐ. को कि.नं. ५० को क्षे.फ. ०-१-४ जग्गा मूल अंशियारहरूको बीचमा मिति २०६७।५।२४ मा भएको बन्डा मुचुल्कामा शिवदुलारी देवीको अंश भागमा परेको देखिन्छ । वादी हंसरजियादेवीका पति विहारी साहका नाउँमा दर्ता रहेको कि.नं. २६५ समेतको १२ कित्ता जग्गाबाट वादीले अंश पाउने अवस्था रहेकै छ । वादीले आफ्नो अंश हकबाट वञ्चित हुने अवस्था रहेको छैन । 

१३. प्रतिवादी विहारी साहले प्रस्तुत मुद्दामा मिति २०६८।६।३० मा तायदाती फाँटवारी पेस गर्दा उक्त पर्सा लखनपुर वडा नं. २ कि.नं. ९ र ५० को जग्गा मेरो नाउँमा कायम भए तापनि मिति २०६७।५।२४ को बन्डा मुचुल्काबमोजिम आमा शिव दुलारीको भागमा परी रोक्का रहेकोले दा.खा. हुन बाँकी रहेको भनी खुलाई दिएको पाइन्छ । उल्लिखित कि.नं. ९ र ५० को जग्गा फुकुवा भइसकेकोले मिति २०६७।५।२४ को बन्डा मुचुल्काले शिवदुलारी तेलिनको अंश मागमा परेकोले निज शिवदुलारीको नाउँमा दा.खा. हुनेगरी मालपोत कार्यालय, पर्सा वीरगञ्जबाट मिति २०६८।१०।१३ मा दा.खा.  निर्णय पर्चासमेत भएको देखिन्छ । सो दा.खा. निर्णय पर्चा भएपछि प्रस्तुत मुद्दा पर्सा जिल्ला अदालतबाट मिति ०६८।१०।१७ मा फैसला हुँदा शिवदुलारीको अंश भागमा परेको बन्डा नलाग्ने भनी तायदातीमा उल्लेख भएको उक्त कि.नं. ९ र ५० को जग्गासमेत बन्डा लाग्ने भई फैसला भएको देखिन्छ । 

१४. तसर्थ फैसलाबमोजिम भएको बन्डा मुचुल्काबाट उक्त कि.नं. ९ र ५० को जग्गा शिवदुलारीको अंशभागमा परेको स्पष्ट छ । सो जग्गाहरू रोक्का रहेका कारणबाट तत्काल दा.खा. हुन नसकेको भन्ने 

देखिन्छ । तायदाती फाँटवारीमा सो जग्गाहरू अदालतबाट भएको बन्डा मुचुल्काअनुसार आमा शिवदुलारीको अंशभागमा परेको भनी उल्लेख छ । साथै जग्गा फुकुवा भई पर्सा जिल्ला अदालतबाट यो मुद्दामा फैसला हुनुभन्दा अघि नै बन्डा मुचुल्काअनुसार शिवदुलारीको नाउँमा दा.खा. हुने गरी मालपोत कार्यालय, पर्साबाट निर्णयसमेत भइसकेको पनि देखियो । 

१५. वस्तुतः उक्त कि.नं. ९ र ५० को जग्गा प्रतिवादी विहारी साह तेलीको नाउँमा जाने र दर्ता हुने अवस्था नै नरहेको हुँदा र सो जग्गाहरू छुट्टी भिन्न भइसकेको शिवदुलारीको नाउँमा दा.खा. भइसकेकोले उल्लिखित २ कित्ता जग्गाबाट पुनरावेदक वादीले अंश पाउने देखिन आएन । 

१६. अतः उपर्युक्त विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी शिवदुलारी अदालतको फैसला र बन्डा मुचुल्काबाट छुट्टी भिन्न भइसकेको 

देखियो । निज शिवदुलारी र वादी हंसरजिया देवी सगोलको अंशियार रहेको पाइएन । वादी हंसरजिया देवीले प्रतिवादी पति विहारी साहबाट सम्म अंश पाउने देखिन आयो । उक्त कि.नं. ९ र ५० को जग्गा शिवदुलारी देवीको अंश हकमा परेको देखिँदा सो जग्गासमेतबाट वादी हंसरजिया देवी तेलिनले अंश पाउने ठहर्‌याएको पर्सा जिल्ला अदालतको मिति २०६८।१०।१७ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने अरू तायदाती फाँटवारीमा उल्लिखित श्री सम्पत्तिबाट वादीले ५ भागको १ भाग अंश पाउने ठहर्‌याई पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७०।५।३ मा भएको फैसला मिलेकै देखिँदा यस अदालतबाट मिति २०७२।५।४ मा भएको झगडिया झिकाउने आदेशसँग सहमत हुन सकिएन । पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।५।३ को फैसला सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।   

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुने ठहरी फैसला भएकोले पुनरावेदक वादीले पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रू ३५०।– जफत हुने हुँदा केही गर्नु परेन --------------------------------------------------१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ---------२

 

उक्त रायमा सहमत छु ।

न्या. सारदाप्रसाद घिमिरे 

 

इजलास अधिकृत: कोशलेश्वर ज्ञवाली

इति संवत् २०७३ साल भदौ १५ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु