शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७५५ - अंश चलन

भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७३।०७।११

०७०-NF-००१६ 

 

मुद्दाः अंश चलन

 

निवेदक / वादी : जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने खगेन्द्रध्वज जोशी

विरूद्ध

विपक्षी / प्रतिवादी : जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ बस्ने चण्डिमानध्वज जोशीको मु.स. गर्ने अनिलध्वज जोशीसमेत

 

अंशबापत चल र अचल सम्पत्ति पनि लिने पुनः अंश नभएको भन्ने जिकिर कानूनसम्मत मान्न मिल्दैन । लिखतमा उल्लेख व्यहोराको व्याख्या गर्दा कुनै शब्द वा वाक्यको मात्र आधारमा अर्थ निकाल्न मिल्दैन । समुच्चा लिखतमा उल्लेख व्यहोराको समष्टिगत अध्ययनबाट सोको निष्कर्ष निकाल्नु पर्छ र समुच्चा लिखतको अध्ययनबाट मानोसम्म छुट्टिएको अंश लिई नसकेको भन्ने निष्कर्ष निकाल्न नसकिने । 

(प्रकरण नं. ८)

प्रत्यर्थीले मिलापत्र गरी छोरालाई दिएको घर जग्गामा यी वादी पुनरावेदकको नाममा धारा बत्ती जडान भएको छ, मर्मत संहार आफैँ गर्दै आएको छु भनी लिएको जिकिर ठोस एवं वस्तुनिष्ठ प्रमाणको अभावमा पुष्टि हुन सक्तैन । यसरी उक्त लिखतमा अंशबापत भनी लिखतको प्रयोजन खुलेको र छोडपत्र गरी दिनुस् भनी माग गरेको तथा छोडपत्र गरिदियौं भन्ने शब्द एवं वाक्य परेको स्थितिमा पुनरावेदक वादीले मिति २०३०।७।२० को र.नं. १५४९ को उक्त लिखतबाट आफूले पाउने अंशबापत जग्गा बुझिलिएको तथ्य स्थापित हुन आउने ।

(प्रकरण नं. १०)

 

निवेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू जगतबहादुर कार्की, जयनारायण पौडेल, अर्जुन खनाल

विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता राजु बस्नेत, अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता केदार ढकाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री बाबुराजा कार्की

पुनरावेदन तहमा फैसला गर्नेः 

मा. न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा

मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

यस अदालतमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री कमलनारायण दास

 

फैसला

न्या. दीपककुमार कार्की : यस अदालतको संयुक्त इजलासको मिति २०६८/३/२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११ (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

पिता हरिमान र आमा पूर्ण देवीबाट हामी ६ भाइ छोराहरूको जायजन्म भएको हो । जसमा जेठा विपक्षी चण्डीमान, माइला जनक, साइला दामोदर, काइला खगेन्द्र, ठाइला योगेन्द्र र कान्छा गोपुजेन्द्र हौं । माइला जनक र साइला दामोदरको अविवाहित अवस्थामा र माता पिताको समेत परलोक भइसकेको छ । अब अंशियारहरूमा ४ जना मात्र छौं । आजसम्म हामीहरूको अंशबन्डा भएको छैन । म फिरादी मिति २०३०।७।२० मा र.नं.१५४९ बाट मानो छुट्टिई भिन्न बसेको छु । विपक्षी दाजु चण्डीमानलाई अब सधैँ अंशबन्डा नगरी बस्नु उचित हुँदैन अंशबन्डा गरौं भन्दा मेरो नामको जग्गा दिन्न भनी जवाफ दिई अंश दिन इन्कार गरेकोले मिति २०३०।७।२० लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई ४ भागको १ भाग अंश छुट्टयाई चलनसमेत  चलाई पाउँ साथै साबिक कलंकी गा.वि.स. वडा नं. ६ कि.नं. २८ हाल काठमाडौं महानगरपालिका वडा नं. १४ कि.नं. ५५ को क्षेत्रफल ००६९७.०० वर्गमिटर जग्गा र सो जग्गामा अवस्थित घरका सम्बन्धमा विपक्षीहरूले मिलापत्र गरेउपर यसै अदालतमा मिलापत्र बदर मुद्दा दायर गरेको छु सोसमेत साथै राखी पाउँ भन्नेसमेत व्यहोराको वादी खगेन्द्रध्वज जोशीको फिराद पत्र । 

विपक्षीले फिरादमा उल्लेख गरेको नातामा कुनै विवाद छैन । अन्य कुरा झुठ्ठा हुन् । मैले भाइहरूलाई अंश दिनुपर्ने होइन, भाइहरूले मलाई अंश दिनुपर्ने हो तर दिएका छैनन् । मेरो एकलौटी हक भोगको काठमाडौं महानगरपालिका वडा नं. १४ कि.नं. ५५ को जग्गा मैले छोरा अनिललाई दिएको हुँ । अतः विपक्षीको झुठ्ठा फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चण्डीमानध्वज जोशीको प्रतिउत्तर पत्र । 

मैले पिताउपर अंश मुद्दा दायर गरेकोमा मेरो पिताको एकलौटी हक भोगको काठमाडौं महानगरपालिका वडा नं. १४ को कि.नं. ५५ को घरजग्गा पिताको रू. पाँच लाख ऋण तिर्ने र बाँचुन्जेल हेरचाह गर्ने गरी मुद्दा मिलापत्र गरी मलाई दिनुभएको हो । विपक्षी काकाले मउपर अंश मुद्दा दायर गर्ने हक दैयासमेत नहुँदा फिराद पत्र खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अनिलध्वज जोशीको प्रतिउत्तर पत्र । 

वादीका साक्षी शान्तराम थापा र प्रतिवादीको साक्षी नविन श्रेष्ठले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेछ । 

वादी खगेन्द्र भाइ र अनिल भतिजो नाताका 

हुन् । वादीले देखाएको नातामा विवाद छैन । अंशियारमध्ये जीवित अंशियार हामीहरूको बीच हालसम्म अंशबन्डा भएको छैन । हामी ४ अंशियार बाँकी रहेको छ । अंश लाग्ने सम्पत्ति दाजुहरू चण्डिमान र खगेन्द्रध्वजको जिम्मामा छ । मैले पनि ४ खण्डको एक खण्ड अंश पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिममा बुझिएका गोपुजेन्द्रध्वज जोशीको बयान । 

वादीले देखाएको नातामा विवाद छैन । हाल हामी जीवित अंशियारमा ४ जना क्रमशः जेठा चण्डिमानध्वज, खगेन्द्रध्वज, म योगेन्द्रध्वज र गोपुजेन्द्रध्वज छौं । खगेन्द्रध्वजले २०३० सालमा अंशबापत भनी केही जग्गा लिएको छ । सबैको अंशबन्डा भएको छैन, सबैले बराबर अंश पाउनुपर्छ भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं.बमोजिम बुझिएका योगेन्द्रध्वज जोशीको बयान । 

वादी प्रतिवादी एवं बुझिएका व्यक्तिहरूको भनाइबाट वादी प्रतिवादीहरू बीच अंशबन्डा भएको नदेखिएको हुँदा मिति २०३०।७।२० लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादी र अ.बं. १३९ नं.बमोजिम बुझिएका योगेन्द्रध्वज तथा गोपुजेन्द्रध्वजबाट अंशबन्डाको २०, २१, २२, २३ र २४ नं.बमोजिम दाखेल गराउनु भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।५ को आदेशानुसार वादी प्रतिवादीहरूबाट तायदाती फाँटवारी पेस भई मिसिल सामेल रहेको ।

वादी प्रतिवादी अंशियार रहे भएकोमा विवाद नरहेको र प्रतिवादीले देखाएको सम्पत्तिहरू मध्ये वादी खगेन्द्रध्वज जोशीको नाममा रहेको भनिएको कि.नं. ५६ को जग्गा वादीले मिति २०३०।७।२० को छोडपत्रबाट प्राप्त गरेको देखिँदा सो जग्गा बन्डा गर्नुपर्ने देखिएन । सोबाहेकको सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।१०।१० को फैसला । 

वादी खगेन्द्रध्वजले मिति २०३०।७।२० को पारित लिखतबाट पाएको सम्पत्ति हामी सबै अंशियारको सम्पत्ति हो । उक्त जग्गा हामी सबैको सगोलको पैतृक सम्पत्ति बन्डा लाग्ने हो भनी अर्का अंशियार गोपुजेन्द्र तथा मसमेतले दाबी गरेकोमा सो जग्गा बन्डा नलाग्ने भनी सुरूले गरेको फैसला सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भई त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चण्डिमानध्वज र अनिलध्वजले पुनरावेदन अदालत, पाटनमा गरेको दे.पु.नं. १८८१ को संयुक्त पुनरावेदन पत्र । 

२०३० सालमा मानो छुट्टिएको मात्र हो अंश भएको होइन भन्ने तथ्य वादीले स्वीकार गरेको अवस्थामा पैतृक सम्पत्ति नै बन्डा गर्नुपर्ने होइन भन्न मिल्दैन । उक्त जग्गासमेत बन्डा हुनु नपर्ने कुनै आधार र कारण नभएकोमा सम्पूर्ण पैतृक सम्पत्ति बन्डा गर्नुपर्नेमा सुरूबाट कि.नं. ५६ को जग्गा बन्डा नलाग्ने ठहर गरी सुरूले गरेको फैसला कानून र नजिरसमेतको प्रतिकूल भई त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी योगेन्द्रध्वजको पुनरावेदन अदालत, पाटनमा गरेको दे.पु.नं. ३०३७ को पुनरावेदन पत्र । 

तायदातीमा उल्लिखित जग्गा पैतृक सम्पत्ति देखिएको, निजी आर्जनको बन्डा नलाग्ने भनी पुष्टि नभएको, सगोलकै अंशियारबाट छोडपत्र गरी पाएको जग्गासमेत बन्डा लाग्ने जग्गा हो । विपक्षी खगेन्द्रध्वजको २०३० सालमा बुझिलिएको कि.नं. ५६ को जग्गामध्ये कित्ताकाट गरी छोरीलाई दिएको कि.नं. २०१ को जग्गासम्म मैले नालिस नगरी चित्त बुझाई बसेको छु । सोबाहेक बाँकी कि.नं. २०२ बाट बाँकी अंशियार जना ३ ले अंश पाउनु पर्नेमा सो नगरी कि.नं. ५६ को जग्गा वादीले छोडपत्रबाट प्राप्त गरेको देखिँदा बन्डा गर्नुपर्ने देखिएन भनी भएको सुरू फैसला सो हदसम्म उल्टी गरी यी विपक्षीबाहेक मसमेतका अंशियारहरू बीच मात्र बन्डा गरी ३ खण्डका १ खण्ड अंश हक ठहर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गोपुजेन्द्रध्वजले पुनरावेदन अदालत, पाटनमा गरेको दे.पु.नं. २०३९ को पुनरावेदन पत्र ।

यसमा प्रत्यर्थी वादी खगेन्द्रध्वज जोशी बाबुआमा र दाजुभाइहरू समेतसँग २०३०।७।२० मा अंश छोडपत्र गरी छुट्टी भिन्न बसेको मिसिल संलग्न लिखतबाट देखिई रहेको अवस्थामा छुट्टी भिन्न भएको व्यक्तिले दिएको नालिसबाट अंश पाउने ठहर गरी भएको सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्याङ्कनको रोहमा नमिली फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।२१ को आदेश । 

यसमा प्रत्यर्थी वादी खगेन्द्रध्वज जोशी २०३०।७।२० मा नै अंश छोडपत्रको लिखत रजिस्ट्रेसन पारित गरी छुट्टी भिन्न भई बसेको देखियो । तसर्थ निजबाहेकका अन्य अंशियारहरू चण्डिमानध्वज, योगेन्द्रध्वज, गोपुजेन्द्रध्वज गरी ३ अंशियार मात्र सगोलमा रहेको देखिन आएकाले बन्डा गर्नुपर्ने संख्या ३ जना कायम भई पुनरावेदक प्रतिवादी चण्डिमानध्वज जोशीले ३ भागको एक भाग अंश पाउने ठहरी लगाउका मुद्दाहरूमा आजै फैसला भएको हुँदा सो हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।१०।१० को फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ भन्नेसमेत व्यहोराको प्रतिवादी चण्डिमानध्वज र अनिलध्वज जोशीले दिएको दे.पु.नं. १८८१ को पुनरावेदनमा पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६६।२।५ को फैसला । 

यसमा मिति २०३०।७।२० मा भएको लिखतमा अंशबापत भन्ने प्रयोजन खुलेको र यी पुनरावेदकसमेतले छोडपत्र गरिदिएको देखिँदा पुनरावेदन दाबी युक्तिसङ्गत देखिन आएन । खगेन्द्रध्वजले अंश प्राप्त गरिसकेको हुनाले ४ भागको १ भाग अंश पाउँ भन्ने उल्लेख गर्दैमा अन्यथा परिणाम निस्कने हुँदैन । फिराद र प्रतिउत्तर पत्रमा उल्लिखित व्यहोराबाट २०३०।७।२० को लिखतले स्थापित गरेको मान्यता विस्थापित हुने किसिमको अर्थ गर्न मनासिब देखिन आएन । प्रत्यर्थी वादी खगेन्द्रध्वज जोशी मिति २०३०।७।२० मा नै अंश छोडपत्रको लिखत रजिस्ट्रेसन पारित गरी आफ्नो अंश बुझी भिन्न भएको तथ्य प्रमाणित भएको देखिँदा निजसमेतबाट अंश पाउँ भन्ने निजको दाबी पुग्न सक्दैन । सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।१०।१० को फैसला उल्टी हुने ठहर्छ भन्ने  व्यहोराको पुनरावेदक गोपुजेन्द्रध्वज जोशीले दिएको दे.पु.नं. २०३९ को पुनरावेदनमा पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६६।२।५ को फैसला ।

यसमा यसै लगाउको दे.पु.नं. २०३९ को अंश चलन मुद्दामा विवेचना गरिएका आधार कारणबाट प्रत्यर्थी वादी खगेन्द्रध्वज जोशी २०३०।७।२० गते नै लिखत अंश रजिस्ट्रेसन पारित गरी आफ्नो अंश भाग लिई छुट्टी भिन्न भएको अवस्था देखिँदा पहिले नै छुट्टी भिन्न भएका वादी खगेन्द्रध्वजसँग अंश पाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिरअनुसार अंशमा दाबी पुग्न सक्दैन । सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।१०।१० को फैसला उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको योगेन्द्रध्वज जोशीले दिएको दे.पु.नं. २०३७ को पुनरावेदनमा पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६६।२।५ को फैसला । 

म पुनरावेदक / वादी खगेन्द्रध्वज जोशीले २०३०।७।२० गते सम्पूर्ण अंशियारहरूको मन्जुरीमा कालिमाटी २(ख) कि.नं. ५६ क्षे.फ. १-१-२-० जग्गा र चल सम्पत्ति बुझी लिई अन्य सम्पत्ति दामासाहीले पछि सम्पूर्ण अंशियारबीचमा बन्डा गर्ने गरी मानो छुट्टी भिन्न बसेको हुँ । उक्त कुरालाई विपक्षीहरूले अन्यथा भनी भन्न सकेको अवस्था छैन । उक्त जग्गा मेरो एकलौटी हुने गरी दिन र अन्य सम्पत्ति पछि दामासाहीले भाग बन्डा गर्नसमेत सबै अंशियार मन्जुर भई लिखतसमेत गरी र.नं. १५४९ मिति २०३०।७।२० मा रजिस्ट्रेसनसमेत पारित गरिदिएको विषयलाई अहिले यसो होइन भन्ने अधिकार उक्त लिखतमा सहिछाप गर्ने अंशियार र अदालतसमेतलाई नहुने प्रस्ट हुँदाहुँदै उक्त लिखतको व्यहोरालाई अतिरञ्जित तरिकाबाट गलत व्याख्या गरी म वादी पुनरावेदकले अंश पाइसकेको भन्ने अर्थ निकाली दाबी जिकिर र प्रतिउत्तर जिकिरभन्दा बाहिर गई सुरू फैसला उल्टी हुने ठहर गरी भएको पुनरावेदन अदालतको फैसलामा गम्भीर त्रुटि भएको छ । उक्त लिखतमा तपसिलमा लेखिएको हामीहरूको नाउँमा दर्ता भएको जग्गा मेरो हक एकलौटी गर्न पाउने गरी छोडपत्र गरिदिनुहोस् पछि दामासाहीले लाग्ने अंश दिनुहोस् भन्ने वाक्य प्रयुक्त भएकाले पनि मैले अंश पाउन बाँकी नै छ । प्रतिवादी चण्डिमानध्वजले निजका छोरा अनिलध्वजलाई मिलापत्र गरी दिएको घर जग्गामा मेरै नाउँमा धारा बत्ती मेरै नाममा जडान भएकोले पनि सगोलमा नै रहेको पुष्टि हुन्छ । उक्त लिखतको उचितरूपमा अध्ययन गरी पुनरावेदन अदालतको फैसला उल्टी गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरिपाउँ भन्नेसमेत व्यहोराको एकै मिलानको खगेन्द्रध्वज जोशीले पुनरावेदन अदालत, पाटनबाट दे.पु.नं. २०३९, १८८१ र २०३७ को पुनरावेदनमा भएका फैसलाउपर यस अदालतमा गरेको ०६६-CI-०१५४, ०६६-CI-०१५५, ०६६-CI-०१५६ नं. का छुट्टाछुट्टै पुनरावेदन पत्र । 

पैतृक सम्पत्ति बन्डा गर्नुपर्ने होइन भन्न मिल्दैन । अंशबन्डाको १८ नं. अनुसार कसैले आफ्नो ज्ञान, सीप वा प्रयासबाट निजीरूपमा आर्जन गरेको, निजी तवरले दान बकस पाएको, अपुताली परेको र स्त्री अंश धनको ५ नं.बमोजिम पाएको सम्पत्ति मात्र बन्डा गर्नु नपर्ने हो । उपर्युक्त कुनै पनि तरिकाबाट विपक्षीले कि.नं. ५६ को जग्गा पाएका होइनन् । २०३४।९।२७ गतेभन्दा अघि निजी तवरले बकस पाएको वा आर्जेको सम्पत्ति पनि सगोलको हुन्छ, बन्डा लाग्छ भनी विभिन्न मुद्दामा यसै सम्मानित अदालतबाट सिद्धान्त कायम भएका छन् । पैतृक सम्पत्ति भएको तथ्य निर्विवाद रहँदा रहँदै आँखा चिम्लेर प्रमाण ऐन, २०३१ को दफा ३, ६(क) र ५४ विपरीत बन्डा गर्नु नपर्ने गरी पुनरावेदन अदालतबाट फैसला भएकोले सोको परिणाम स्वरूप पैतृक सम्पत्तिमाथिको अंश हकबाट म वञ्चित भएको छु । मुलुकी ऐन, अंशबन्डाको १९ नं. को देहाय ४ बमोजिम आफ्नो अंश हकको जति आफूखुसी गर्न पाउने भएकोले विपक्षीले निजकी छोरीलाई हक छोडी हालैदेखिको बकसपत्र गरिदिएको कि.नं. २०१ (उक्त साबिक कालीमाटी वडा नं. २ख कि.नं. ५६ को नयाँ नापीबाट कायम भएको कि.नं. ४४ मध्ये कित्ताकाट भई कायम भएको) को हदसम्म मैले नालिस उजुर नगरी चित्त बुझाई बसेको छु । बाँकी कि.नं. २०२ बाँकी अंशियारहरू जना ३ ले बन्डा पाउनुपर्नेमा मेरो पुनरावेदन जिकिरतर्फ पुनरावेदन अदालत, पाटनको फैसला मौन रहेकोले कि.नं. २०२ बन्डा गर्ने ठहर गर्नुपर्नेमा नगरेको हदसम्म सो फैसला उल्टी गरी कि.नं. ५६ मध्ये हाल विपक्षीका नाउँमा कायम काठमाडौं महानगरपालिका वडा नं. १३ सिट नं. १०२।११४३-०१ कि.नं. २०२ क्षेत्रफल ००३८०.९३ वर्गमिटर जग्गा यी विपक्षीबाहेक मसमेतका ३ अंशियारहरू बीच मात्र बन्डा गरी मैले ३ खण्डको १ खण्ड अंशहक पाउने ठहर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गोपुजेन्द्रध्वज जोशीले दे.पु.नं. २०३९ को पुनरावेदनमा पुनरावेदन अदालत, पाटनबाट भएको फैसलाउपर यस अदालतमा गरेको ०६६-CI-०३२२नं. को र यसै व्यहोराको मिलान प्रतिवादी योगेन्द्रध्वज जोशीले दे.पु.नं. २०३७ को पुनरावेदनमा पुनरावेदन अदालत, पाटनमा भएको फैसलाउपर यस अदालतमा गरेको ०६६-CI-०३२१ को पुनरावेदन पत्र । 

यसमा मिति २०३०।७।२० मा सगोलको सम्पत्तिमध्ये चल सबै र अचलमध्ये उक्त मितिको लिखतमा लेखिएको जग्गासम्म लिने गरी छुट्टीभिन्न भएको र उक्त मितिसम्म कायम रहेको सगोलको सम्पत्तिमध्येबाट अंश पाउँ भन्ने वादीको दाबी भएकोमा उक्त मितिमा यी वादी पूर्णरूपले अंश लिई छुट्टी भिन्न भएको भन्ने प्रतिउत्तर जिकिरसमेत नभएको तथा उक्त मितिसम्मको सम्पत्तिमा सबै अंशियारबीच अंशबन्डा भइसकेको भन्ने पनि प्रतिउत्तर जिकिरसमेत नभएको अवस्था देखिनुका अतिरिक्त मिति २०३०।७।२० मा र.नं. १५४९ को पारित लिखतको भाषा र प्रकृति हेर्दा पनि पूर्णरूपले अंश लिई यी वादी अन्य अंशियारहरूबाट छुट्टी अलग हुने गरी अंश छोडपत्र गरेको नदेखिएकोले उक्त मितिको लिखतलाई अंश छोडपत्रको लिखतको संज्ञा दिई अंश नपाउने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको फैसला प्रमाणको मुल्याङ्कन तथा लिखतको व्याख्याको सन्दर्भमा त्रुटिपूर्ण हुनुका अतिरिक्त तल्लो अदालतबाट भएको एउटा मुद्दाको एउटै फैसलाउपर वादी प्रतिवादीहरूको जतिवटा पुनरावेदन परे पनि पुनरावेदन सुन्ने अदालतले एउटै फैसला गर्नुपर्नेमा सोको विपरीत एउटै फैसलाउपर परेको अलग अलग पुनरावेदन पत्रमा भिन्दाभिन्दै फैसला गर्नु प्रक्रियागतरूपमा त्रुटिपूर्ण फैसला भएको लगाउको मुद्दाहरू समेतबाट देखिएकोले अ.बं. २०२ नं. अनुसार प्रत्यर्थीहरू झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत यस अदालतको मिति २०६७।९।२८ को आदेश । साथै यसै आधारमा विपक्षी झिकाउनु भन्ने लगाउका ०६६-CI-०३२२, ०६६-CI-०१५५, ०६६-CI-०१५६ र ०६६-CI-०३२१ का पुनरावेदनमा सोही मितिमा भएको आदेश ।

पुनरावेदक वादी खगेन्द्रध्वज जोशी मिति २०३०।७।२० को छोडपत्रबाट १-१-२-० जग्गा लिई आफ्नो भागको अंश पाई छुट्टी भिन्न भई बसेको देखिएको, उक्त जग्गा निजको एकलौटी हुने भनी अन्य सबै अंशियार उपस्थित भई छोडपत्र गरिदिएको देखिई उक्त जग्गा खगेन्द्रध्वजको एकलौटी अन्यको अंश लाग्ने नदेखिएको स्थितिमा काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी पुनरावेदक वादी खगेन्द्रध्वज जोशीले प्रतिवादीहरूबाट अंश नपाउने र निजले छोडपत्रबाट पाएको कि.नं. ५६ को जग्गा बन्डा नलाग्ने सोबाहेकको अन्य सम्पत्ति प्रतिवादीहरू चण्डिमानध्वज, योगेन्द्रध्वज र गोपुजेन्द्रध्वजका बीचमा बन्डा लाग्ने भन्नेसमेत ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको मिति २०६६।२।५ को प्रस्तुत मुद्दासँग सम्बन्धित फैसलाहरू मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन गर्ने वादी खगेन्द्रध्वज जोशीको प्रतिवादीहरूबाट चार भागको एक भाग अंश पाउँ भन्ने जिकिर एवं योगेन्द्रध्वज जोशी र गोपुजेन्द्रध्वज जोशीको खगेन्द्रध्वज जोशीले २०३०।७।२० को लिखतबाट प्राप्त कि.नं. ५६ को जग्गामध्येबाट निजले छोरीलाई दिई बाँकी रहेको कि.नं. २०२ जग्गासमेतबाट तीन भागको एक / एक भाग अंश पाउनु पर्छ भन्ने पुनरावेदन जिकिरहरूसमेत पुग्न सक्दैन भन्नेसमेत व्यहोराको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला ।

मिति २०३०/७/२० मा पारित छोडपत्र गराई लिएको कि.नं. ४० बाट फोड भएको कि.नं. ५६ को जग्गाको लिखत भनेको राजीनामा, बकसपत्र सरहको छोडपत्रको लिखत हो । एउटै लिखतबाट चल सम्पत्ति बुझिलिएको व्यहोरा परेकाले चल हाँडाभाँडा लिई चुलो भान्छा अलग गरिने हुनाले मानो छुट्टिएको कुरामा विवाद नै छैन । विपक्षीहरूले पनि २०३०/७/२० को लिखतलाई मानो छुट्टिएको लिखत भन्नुभएको छ । अंश पाएका हुन् भनेकै छैनन् । मैले अंश छोडपत्र नभई मानोसम्म छुट्टिई बसेकोलाई स्वीकारै गरेको अवस्था छ । मिति २०५४/९/१६ मा सबै अंशियारको संयुक्त नाउँमा नामसारी दर्ता भएको जग्गा निवेदकका हकमा बन्डा नहुने ठहर भएको छ जुन मिलेको छैन । मिति २०४८/९/१६ मा काठमाडौं महानगरपालिकाबाट नक्सा पास हुँदा मसमेतका नाउँमा नक्सा पास भएको जग्गा हाल मैले नै नपाउने गरी फैसला भएको छ । मैले २०३० सालमा मानो छुट्टिँदाका अवस्थामा मेरो जग्गा खाल्डोमा पर्ने जग्गा थियो हाल पनि उक्त जग्गा खाल्डोमा नै पर्दछ र यसको बिक्री मूल्य एकदम कम छ । विपक्षीहरूका नाममा रहेका जग्गाहरू बहुमूल्य छन् । सडकसँग जोडिएका छन् सोतर्फ पनि कुनै विचार गरिएको छैन । अंश घटिबढी भयो भन्ने दाबी नै छैन तर अदालतबाट फैसला हुँदा अंशबन्डा भएको बढी अंश पाएको भन्ने ठहर फैसला गरिएको छ । तसर्थ ने.का.प. २०५० अंक १, पृ. ५, नि.नं. ४६७९, ने.का.प. २०५२ अंक ८, पृ. ७४१, नि.नं. ६०६० मा यस अदालतबाट स्थापित कानूनी सिद्धान्तको प्रतिकूल हुने गरी संयुक्त इजलासबाट फैसला भएकोले उक्त फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम हुने गरी निर्णय गरिपाउँ भन्नेसमेत व्यहोराको खगेन्द्रध्वज जोशीले यस अदालतमा मिति २०६८/१०/१७ मा चढाएको पुनरावलोकनको निवेदन पत्र ।

यसमा मिति २०३०/७/२० को छोडपत्र लिखतमा "...... हाल म खगेन्द्रध्वजको तपाइँ आमा दाजु भाइसँग बस्न मन्जुर नभएको हुँदा मैले पाउने अंशबापत चल धनमाल र तपसिलमा लेखिएको हामीहरूको नाउँमा दर्ता भएको जग्गा मेरो हक एकलौटी गर्न पाउने गरी छोडपत्र गरी दिनुहोस् पछि दामासाहीले लाग्ने अंश दिनुहोस् भनी भन्दा चल जति आजकै मितिमा दिएकोले लिइसकेको हुँदा यसमा लेखिरहन परेन । अचलका हकमा तपाइँ आमा दाजु भाइले तपसिलमा लेखिएको जग्गा मात्र हालैदेखि तपाइँ छोरा, भाइ, दाजु खगेन्द्रध्वज जोशीलाई छोडपत्र गरिदियौं । उक्त जग्गा आफ्नो एकलौटी जानी भोगचलन गर्न जानु भनी हामीहरूको मनोमानी खुसीराजीसँग जग्गा छोडपत्रको कागज तपाइँ छोरा, दाजु, भाइ खगेन्द्रध्वजलाई दियौं...." भनी सर्तसहितको व्यहोरा उल्लेख भई पछि दामासाही हिसाब किताब मिलान गर्ने व्यहोरा उल्लेख भइरहेको अवस्था, विपक्षीसमेतको सो छोडपत्र लिखतमा चित्त नबुझी फिराद परेको र छोडपत्रअनुसार गरिरहेको भोगको सम्पत्तिमा समेत विवाद परी खिचोला मुद्दा चलिरहेको प्रमाणमा आएको मिसिलबाट देखिएकोले अंश नैसर्गिक हक भएको र जुनसुकै सगोलको अंशियारका नाउँमा रहेको सगोलको सम्पत्तिबाट सबै अंशियारले बाँडी लिन पाउने (ने.का.प. २०६२, अंक २, नि.नं. ७४९३ पृ. १५२) भनी सिद्धान्त प्रतिपादन भइरहेको परिप्रेक्ष्यमा उक्त सिद्धान्तविपरीत हुने गरी यस अदालतबाट मिति २०६८/३/२० मा भएको फैसलामा उपर्युक्त नजिर सिद्धान्तसमेतको व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) को अवस्था विद्यमानता देखिँदा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिदिएको छ । सम्बन्धित मिसिल झिकाई विपक्षीहरूलाई सोको सूचना दिई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको पूर्ण इजलासबाट मिति २०७०/८/२१ मा भएको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी खगेन्द्रध्वजको तर्फबाट उपस्थित हुनु भएका विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू श्री जगतबहादुर कार्की, श्री जयनारायण पौडेल, श्री अर्जुन खनालले वादी चण्डिमानध्वजसमेतका अन्य अंशियारहरूले गरिदिएको मिति २०३०।७।२० को पारित लिखत मानो छुट्टिएको लिखत हो र अंशियार ४ जना भएको भन्ने कुरा वादी चण्डिमानध्वजको प्रस्तुत मुद्दाको फिरादपत्र एवं खगेन्द्रध्वजले दायर गरेको अंशचलन मुद्दामा प्रतिवादी रहेका चण्डिमानध्वजको प्रतिउत्तरबाट स्पष्ट भएको 

छ । साथै अ.बं. १३९ नं.बमोजिम उक्त मुद्दामा बुझिएका योगेन्द्रध्वज, गोपुजेन्द्रध्वज जोशीले समेत अंशियार चारजना बाँकी रहेको हुँदा चार भागको एक भाग अंश पाउनु पर्दछ भनी गरेको बयानसमेतबाट देखिई रहेको अवस्थामा सो लिखतलाई अंश छोडपत्रको लिखत भनी नामाकरण गर्न र वादी खगेन्द्रध्वजले अंश छोडपत्र गरी छुट्टिसकेको भनी अर्थ गर्न मिल्ने होइन । लिखतमा रहेको व्यहोराभन्दा बाहिर गएर फैसला गर्न 

मिल्दैन । वादी प्रतिवादीले नबोलेको कुरामा अदालत प्रवेश गर्न मिल्दैन । वादी प्रतिवादीहरू सगोलमा नै रहेको कुरा विपक्षी वादी चण्डिमानध्वजले निजको छोरा अनिलध्वजलाई मिलापत्र गरी दिएको घरजग्गामा धारा बत्ती खगेन्द्रध्वजको नाममा जडान भएको तथ्यले पनि पुष्टि गर्दछ । साबिकदेखि नै लागू रहेको अंशबन्डाको १९(५) नं. अनुसार सबै अंशीले खुसीराजीसाथ खगेन्द्रलाई दिएको सम्पत्ति भएकोले निजले नै एकलौटी खान पाउने हो । जग्गाको क्षेत्रफललाई आधार लिएर फैसला गर्न मिल्दैन लिखतमा भएको व्यहोरालाई विश्लेषण गर्नुपर्दछ । अंश लिइसकेको भनी खगेन्द्रध्वजलाई बाहेक गरी अन्य अंशियारलाई मात्र बाँकी सम्पत्ति बन्डा गर्न मिल्दैन संयुक्त इजलासको फैसला उल्टी गरिपाउँ भन्नेसमेत बहस प्रस्तुत 

गर्नुभयो ।

विपक्षी वादीहरूका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, अधिवक्ता श्री राजु बस्नेत, अधिवक्ता श्री राजकुमार श्रेष्ठ, अधिवक्ता श्री केदार ढकालले निस्सा दिँदा उल्लेख गरिएको आधार नै गलत छ तथ्यसँग 

मिल्दैन । निस्सा दिँदाको कानून हेर्नुपर्ने हुन्छ र जुन आधारमा निस्सा दिइएको हो सोही व्यहोरामा सीमित रहनु पर्दछ । मिति २०३०।७।२० मा अंश छोडपत्रको कागज गर्ने मानो छुट्टिएको अर्थ गरी शब्दमा खेलेर अंश पाउनुपर्छ भन्न मिल्दैन । लिखतमा लेखिएको भाषाको अर्थ निकाल्दा समुच्चा लिखतको व्यहोराबाट अर्थ निकाल्नु पर्छ । निश्चित शब्दको अर्थ गरेर समुच्चा लिखतको अर्थ निकाल्न मिल्दैन । खगेन्द्रध्वज जोशी अन्य अंशियारसँग बस्न नचाहेको र अन्य अंशियारहरूले पनि अंश छोडपत्र गरी लिएमा मन्जुर भएको भन्ने लिखतबाट देखिन्छ । जग्गाको क्षेत्रफल हेर्दा पनि प्रत्येक अंशियारको भागमा ०-६-३-३ मात्र पर्ने हुन्छ । विपक्षी खगेन्द्रध्वजले सोभन्दा निकै बढी १-२-०-० जग्गा मिति २०३०।७।२० को छोडपत्र लिखतबाट एक्लै प्राप्त गरेका हुँदा सोसमेतका आधारमा यस अदालतको संयुक्त इजलासको फैसला कानूनसम्मत हुँदा सदर हुनुपर्दछ भन्नेसमेत बहस जिकिर प्रस्तुत गर्नुभयो । 

विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिरसमेत सुनी मिसिल संलग्न यस अदालतको संयुक्त इजलासबाट भएको फैसला पुनरावलोकनको लागि परेको निवेदन र यस अदालतको पूर्ण इजलासबाट भएको पुनरावलोकन गरी हेर्ने गरी प्रदान गरिएको निस्साको आदेशसहितका मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ छैन ? पुनरावलोकन भई वादी खगेन्द्रध्वज जोशीको निवेदन जिकिरबमोजिम हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा वादी खगेन्द्रध्वज जोशीले प्रतिवादी चण्डिमानध्वज जोशीसमेतबाट अंश पाउँ भनी सुरू काठमाडौं जिल्ला अदालतमा फिरादपत्र दायर गरेकोमा मिति २०३०/७/२० मा नै खगेन्द्रध्वजले अंश छोडपत्र गरी भिन्न भएका हुँदा अंश दिनुपर्ने होइन भनी चण्डिमानध्वज जोशीसमेतको प्रतिउत्तर जिकिर रहेको र अ. वं. १३९ नं.बमोजिम बुझिएका योगेन्द्रध्वज जोशी र गोपुजेन्द्रध्वज जोशीले हाल हामी ४ अंशियार छौं । बन्डा गर्नुपर्ने सम्पत्ति चण्डिमानध्वज जोशी र केही जग्गा खगेन्द्रमानध्वज जोशीसँग रहेकोले ४ भाग लगाई अंश पाउनुपर्छ भन्ने जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा खगेन्द्रध्वजको नाममा रहेको कि.नं. ५६ को जग्गाबाहेकको सम्पत्तिबाट वादी खगेन्द्रध्वजले ४ भागको १ भाग अंश पाउने ठहर्‌याएको फैसलाउपर पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परी पुनरावेदन अदालत, पाटनबाट फैसला हुँदा सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी खगेन्द्रध्वज जोशीले अंशबापत मिति २०३०/७/२० मा कि.नं. ५६ को जग्गा लिई छोडपत्रको कागजसमेत भएकोले वादीको दाबी पुग्न नसक्ने र अन्य अंशियारहरू चण्डिमानध्वज योगेन्द्रध्वज गोपुजेन्द्रध्वज जोशीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्‌याई पुनरावेदन अदालत, पाटनबाट मिति २०६६/२/५ मा फैसला भएउपर यस अदालतमा वादी खगेन्द्रध्वज जोशीको पुनरावेदन परी यस अदालतको संयुक्त इजलासबाट मिति २०६८/३/२० मा फैसला हुँदा पुनरावेदन अदालत, पाटनकै फैसला सदर हुने ठहरी फैसला भएउपर वादी खगेन्द्रध्वज जोशीले पुनरावलोकन गरिपाउँ भनी यस अदालतमा दिएको निवेदनउपर यस अदालतको पूर्ण इजलासबाट मिति २०७०/८/२१ मा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

३. पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी खगेन्द्रध्वज जोशीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्रमा मैले मिति २०३०।७।२० मा केही जग्गा लिई मानो छुट्टिई बसेको मात्र हुँ, अंश लिएको 

हैन । कि.नं. ५६ को जग्गा अंशबापत लिएको होइन, मैले अंश लिएको नहुँदा ४ भागको एक भाग अंश पाउनुपर्छ । मसमेतले अंश पाउने मेरो नाममा धारा बिजुली जडान भएको घर जग्गा छोरा अनिलध्वजलाई मिलापत्र गरी दिएउपर मिलापत्र बदर मुद्दासमेत दिएको छु भन्नेसमेत व्यहोरा उल्लेख गरेको देखिन्छ भने प्रतिवादीहरू योगेन्द्रध्वज जोशी र गोपुजेन्द्रध्वज जोशीले खगेन्द्रध्वजसँग रहेको कि.नं. ५६ को जग्गासमेत पैतृक सम्पत्ति हो उक्त जग्गाबाट बन्डा नलाग्ने गरी फैसला भएको मिलेको छैन । उक्त फैसला बदर गरी कि.नं. ५६ को जग्गा कित्ताकाट गरी खगेन्द्रध्वजले छोरीलाई दिएको कि.नं. २०१ को जग्गाबाहेक कि.नं. २०२ को जग्गासमेतबाट बाँकी अंशियारहरू जना ३ ले बन्डा पाउनुपर्ने ठहर हुनुपर्नेमा सो नगरेको हदसम्म उक्त फैसला उल्टी गरिपाउँ भन्ने पुनरावेदन जिकिर लिएको तथा झिकाइएका चण्डिमानध्वज जोशीले वादीले २०३० सालमा नै बढी जग्गा लिई छुट्टिभिन्न भएको हुँदा निजले अंश पाउने होइन भन्ने व्यहोरा फिरादपत्रमा नै उल्लेख गरेको देखिन्छ । 

४. खासगरी पिता हरिमान र आमा पूर्ण देवीबाट जम्मा ६ भाइ छोराहरूको जायजन्म भएकोमा जेठा चण्डीमान, माइला जनक, साइला दामोदर काइला खगेन्द्र, ठाइला योगेन्द्र र कान्छा गोपुजेन्द्र रहेको र माइला जनक र साइला दामोदरको अविवाहित अवस्थामा नै मृत्यु भएको र पिता हरिमान र आमासमेत परलोक भइसकेको र ४ जना अंशियारहरू मात्र बाँकी रहेको र नातामा समेत दुवै पक्षको मुख मिलेको र सो मा विवाद देखिँदैन । तत्काल ७ जना अंशियार कायम रहेको अवस्थामा खगेन्द्रध्वज जोशी मिति २०३०।७।२० मा र.नं. १५४९ को लिखत पारित गरी कि.नं. ५६ को क्षेत्रफल १-१-२-० जग्गा लिई भिन्न बसेको भन्नेमा समेत दुवै पक्षको मुख मिलेकै देखिन्छ । यद्यपि उक्त लिखतलाई खगेन्द्रध्वजले मानो छुट्टिएको लिखत हो, अंश भरपाई होइन भन्ने जिकिर लिएको देखिन्छ भने अन्य अंशियारहरू मध्ये चण्डिमानध्वजले खगेन्द्रध्वजले पाउनेभन्दा बढी जग्गा लिएको हुँदा अंश पाउने होइन भनी र अन्य अंशियारहरूले उक्त लिखतलाई यसै हो भनी स्पष्टरूपमा नभनी खगेन्द्रध्वजका नाममा गएको कि.नं. ५६ को जग्गा पैतृक हो, सोबाट समेत अंश पाउनुपर्ने हो भनी दाबी लिएको देखिन्छ । उक्त लिखत कुन प्रकृतिको लिखत हो उक्त लिखतको व्यहोरालाई विश्लेषण गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ । 

५. मिति २०३०।७।२० मा भएको लिखतको व्यहोरा हेर्दा.... हाल म खगेन्द्रध्वजको तपाइँ आमा दाजुभाइसँग बस्न मन्जुर नभएको हुँदा मैले पाउने अंशबापत चल धनमाल र तपसिलमा लेखिएको हामीहरूको नाउँमा दर्ता भएको जग्गा मेरो हक एकलौटी गर्न पाउने गरी छोडपत्र गरिदिनुहोस् पछि दामासाहीले लाग्ने अंश दिनुहोस् भनी भन्दा चल जति आजैका मितिमा दिएकोले लिइसकेको हुँदा यसमा लेखि रहन परेन । अचलका हकमा तपाइँ आमा दाजु भाइले तपसिलमा लेखिएको जग्गा मात्र हालैदेखि तपाइँ छोरा, भाइ, दाजु खगेन्द्रध्वज जोशीलाई छोडपत्र गरी 

दियौं । उक्त जग्गा आफ्नो एकलौटी जानी भोग चलन गर्न जानु भनी हामीहरूको मनोमान खुसी राजीसँग जग्गा छोडपत्रको कागज तपाइँ छोरा दाजुभाइ खगेन्द्रध्वज जोशीलाई दियौं... भन्ने उल्लेख भएको र जग्गा काठमाडौं जिल्ला कालिमाटी २ख को कि.नं. ४० को १-९-२-० मध्येबाट १-१-२-० भन्ने उल्लेख भएको देखिन्छ । 

६. उल्लिखित लिखतमा उल्लेख भएको व्यहोराबाट खगेन्द्रध्वज जोशी आमा, दाजु र भाइहरूसँग सँगै बस्न नचाही अलग हुन चाहेको कुरा स्पष्टरूपमा देख्न सकिन्छ भने निजले आफूले पाउने अंशबापत चल धनमाल र तपसिलमा उल्लिखित जग्गा एकलौटी गर्न पाउने गरी छोडपत्र गरिदिनुहोस् भनी माग गरेको र तत्काल कायम सबै अंशियारहरू उक्त जग्गा वादी पुनरावेदक खगेन्द्रध्वजले एकलौटी गर्न पाउने गरी छोडपत्रको कागज गरिदिन मन्जुर भई कागज गरिदिएको भन्ने लिखतको व्यहोराबाट स्पष्ट नै देखिन आउँछ ।  यसरी लिखतको व्यहोराबाट वादी खगेन्द्रध्वज जोशीले कि.नं. ४० को जग्गामध्येबाट क्षेत्रफल १-१-२-० जग्गा लिई आफूले पाउने अंशबापत अंश छोडपत्र गरेको भन्ने उक्त लिखतको व्यहोराबाट स्पष्ट हुन आयो ।

७. त्यसैगरी उक्त लिखतमा लेखिएको व्यहोरालाई सूक्ष्म ढंगले अवलोकन गर्दा वादी पुनरावेदक खगेन्द्रध्वजले छोडपत्र गरिदिनुहोस् भन्ने माग गरेको र पुनरावेदक विपक्षीहरूले छोडपत्र गरिदियौं भन्ने शब्दको प्रयोग भएको देखिन्छ । मानो छुट्टिएको भन्ने शब्द उल्लेख नै नहुनुको साथै मानो छुट्टिएको कागजमा लेखिने खतिउपति भन्ने शब्दावलीको प्रयोगसमेत भएको पाइँदैन । यसप्रकार उक्त कागज वादी पुनरावेदकले दाबी लिएझैं मानो छुट्टिएको कागज मान्न मिल्ने देखिएन । मानो छुट्टिनु र अंशबन्डा हुनु अलग अलग विषय हो । अंशबन्डा गर्दा जहिले मानो छुट्टिएको मिति निर्धारण गरिन्छ । लिखतको व्यहोराबाट मानो छुट्टिएको भन्ने कुनै शब्दावलीको प्रयोग नभएको र वादी खगेन्द्रध्वज अन्य अंशियारासँग सँगै बस्न नचाहेको कारणले अंश छोडपत्रको कागज गरी अंश छुट्याई अलग भएको र अन्य अंशियारले निजलाई अंशबापतमा केही जग्गा एकलौटी गर्न पाउने गरी छोडपत्र गरिदिएको देखियो ।

८. उक्त लिखतमा तपसिलमा लेखिएको हामीहरूको नाउँमा दर्ता भएको जग्गा मेरो हक एकलौटी गर्न पाउने गरी छोडपत्र गरिदिनुहोस् पछि दामासाहीले लाग्ने अंश दिनुहोस् भनी भन्दा भन्ने वाक्य प्रयुक्त भएकाले मैले अंश पाउन बाँकी नै छ विपक्षीहरूबाट मानोसम्म छुट्टिएको हो अंश लिएको छैन भन्ने निजको भनाइ उक्त लिखतको व्यहोराबाट नै खण्डन भइरहेको छ । अंशबापत चल र अचल सम्पत्ति पनि लिने पुनः अंश नभएको भन्ने जिकिर कानूनसम्मत मान्न मिल्दैन । लिखतमा उल्लेख व्यहोराको व्याख्या गर्दा कुनै शब्द वा वाक्यको मात्र आधारमा अर्थ निकाल्न मिल्दैन । समुच्चा लिखतमा उल्लेख व्यहोराको समष्टिगत अध्ययनबाट सोको निष्कर्ष लिकाल्नु पर्छ र समुच्चा लिखतको अध्ययनबाट मानोसम्म छुट्टिएको अंश लिई नसकेको भन्ने निष्कर्ष निकाल्न 

सकिँदैन । त्यसैगरी विपक्षी चण्डिमानध्वजले निजको छोरा अनिलध्वजलाई दिएको घरजग्गासमेत मेरो नामबाट धारा बत्ती जडान भएकोले तथा साबिक कालिमाटी गा.वि.स. वडा नं. २ख कि.नं. ५५ क्षेत्रफल ०-८-०-० हाल नापीमा कायम काठमाडौं महानगरपालिका वडा नं. १३ कि.नं. ४५ क्षेत्रफल ०-८-०-० जग्गा आमाको मृत्युपश्चात् नामसारी हुँदा मेरोसमेत नाममा नामसारी भई हालसम्म मेरो नाममा समेत कायम रहेको छ । तसर्थ पनि मैले अंश पाउन बाँकी रहेको पुष्टि हुन्छ भन्ने पुनरावेदक वादीको जिकिरतर्फ विचार गर्दा उक्त लिखत भएको समयमा सगोलमा कि.नं. २८ र ४० गरी दुई कित्ता मात्र जग्गा रहेको देखिन्छ भने उक्त कि.नं. का जग्गाहरूको क्षेत्रफल क्रमशः १-७-०-० र १-९-२-० समेत जम्मा ३-०-२-० रहेको भन्ने पेस भएका तायदाती विवरणबाट देखिन्छ । सोमध्ये कि.नं. ४० को १-९-२-० जग्गामध्येबाट यी पुनरावेदक वादीले १-१-२-० जग्गा उक्त मिति २०३०।७।२० को लिखतबाट प्राप्त गरेको पाइन्छ । उक्त लिखतअनुसार यी वादी पुनरावेदक खगेन्द्रध्वजको सगोलमा रहेको सम्पत्तिबाट कित्ताकाट गरी लिएको समेत हुँदा यसरी सगोलमा रहेको सम्पत्तिबाट कित्ताकाट नै गरेर लिएको अवस्थासमेतले गर्दा पनि उक्त जग्गा अंशबापतमा नै लिएको हो भन्ने पुष्टि हुन आएको देखिन्छ । 

९. वादी खगेन्द्रध्वजले पाएको जग्गाको क्षेत्रफलसमेत हेर्दा तत्काल कायम रहेका ७ अंशियार एवं हाल कायम रहेका ४ अंशियार प्रत्येकले पाउन सक्ने बराबर जग्गाभन्दा बढी नै जग्गा निज प्रतिवादी खगेन्द्रध्वजले मिति २०३०।७।२० को छोडपत्रको लिखतबाट उक्त समयमा प्राप्त गरेको देखिन्छ भने अन्य अंशियारले भन्दा बढी जग्गा यी वादी पुनरावेदकले पाउनुपर्ने कुनै तर्कसङ्गत आधारसमेत निजले पेस गर्न सकेको देखिँदैन । यसैगरी निज खगेन्द्रध्वजले मैले प्राप्त गरेको उक्त जग्गा कमसल वा अन्य जग्गाभन्दा कम मूल्यको भएकाले बढी जग्गा लिएको भनी स्पष्ट आधार दिन सकेको समेत देखिँदैन । उक्त कि.नं. ५६ को जग्गा पैतृक हो सोबाट समेत हामीहरूले अंश पाउनुपर्छ भनी जिकिर लिने पुनरावेदक प्रतिवादीहरू योगेन्द्रध्वज र गोपुजेन्द्रध्वजले निजहरूसमेत आफैँ उपस्थित भई दाबीको कि.नं. ५६ को जग्गा पुनरावेदक वादी खगेन्द्रध्वजको एकलौटी हक हुने गरी छोडपत्र गरिदिएको देखिँदा वादी खगेन्द्रध्वजले हामीहरूले भन्दा यो यस आधारमा बढी जग्गा पाउनुपर्ने हो भनेको समेत देखिँदैन । पुनरावेदक वादी खगेन्द्रध्वज जोशीले दामासाहीले पाउनेभन्दा बढी जग्गा पाएको देखिएको र निजले अन्य अंशियारको तुलनामा बढी नै जग्गा प्राप्त गरेको स्थितिमा सो लिखतमा प्रयुक्त उक्त दामासाही भन्ने शब्दकै आधारमा मात्र यी पुनरावेदकको अंश बाँकी रहेको भनी तर्क गर्न न्यायसङ्गत हुने देखिएन । 

१०. प्रत्यर्थी चण्डिमानध्वजले मिलापत्र गरी छोरा अनिलध्वजलाई दिएको घर जग्गामा यी वादी पुनरावेदकको नाममा धारा बत्ती जडान भएको छ, मर्मत संहार आफैँ गर्दै आएको छु भनी लिएको जिकिर ठोस एवं वस्तुनिष्ठ प्रमाणको अभावमा पुष्टि हुन 

सक्तैन । यसरी उक्त लिखतमा अंशबापत भनी लिखतको प्रयोजन खुलेको र छोडपत्र गरी दिनुस् भनी माग गरेको तथा छोडपत्र गरिदियौं भन्ने शब्द एवं वाक्य परेको स्थितिमा पुनरावेदक वादी खगेन्द्रध्वज जोशीले मिति २०३०।७।२० को र.नं. १५४९ को उक्त लिखतबाट आफूले पाउने अंशबापत जग्गा बुझिलिएको तथ्य स्थापित हुन आयो ।

११. त्यसैगरी मिति २०३०।७।२० भन्दा पछाडि यी पुनरावेदक वादी प्रतिवादीहरू बीच पुनः सगोलमा रहेबसेको भन्ने तथ्यसमेत कहीँकतैबाट खुल्न आएको देखिँदैन भने अंश फिर्ता गरी सगोलमा रहेबसेको भन्ने प्रमाणसमेत पेस भएको देखिँदैन । यसर्थ पुनरावेदक वादीले २०३० सालमा नै अंशबापत कि.नं. ५६ को जग्गा बुझी भिन्न भई बसेको पुष्टि हुन आएकाले प्रतिवादीहरू चण्डिमानध्वज, योगेन्द्रध्वज र गोपुजेन्द्रध्वज जोशीसमेत ३ जना मात्र अंशियार कायम रहेको र निजहरूका बीचमा रीतपूर्वकको बन्डा भएको भन्ने नदेखिएको र सो हदसम्म निजहरूको मुख मिलेकै देखिँदा निजहरू एकासगोलमा नै रहे भएको र निजहरूबीच मात्र बन्डा हुनुपर्ने देखिएको यस स्थितिमा यी पुनरावेदक वादी खगेन्द्रध्वजले प्रतिवादीहरू चण्डिमानध्वज, योगेन्द्रध्वज, गोपुजेन्द्रध्वज जोशीबाट अंश पाउने भनी निष्कर्षमा पुग्न मिल्ने नदेखिई यस अदालतबाट पुनरावलोकनको निस्सा दिँदा उल्लेख आधारसँग सहमत हुन सकिएन । 

१२. मिति २०३०।७।२० को र.नं. १५४९ लिखतबाट यी पुनरावेदक वादीले पाएको कि.नं. ५६ को १-१-२-० जग्गा योगेन्द्र र गोपुजेन्द्रसमेतको बन्डा लाग्ने हो होइन, सो जग्गाबाट अन्य पुनरावेदक प्रतिवादीहरूले अंश पाउने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा उक्त लिखतमा अन्य पुनरावेदक प्रतिवादीहरूको समेत दस्तखत परेको र सो लिखतको व्यहोराबाट उक्त लिखतमा अचलका हकमा तपाइँ आमा दाजुभाइले तपसिलमा लेखिएको जग्गा मात्र हालैदेखि तपाइँ छोरा, भाइ, दाजु खगेन्द्रध्वज जोशीलाई छोडपत्र गरिदियौं । उक्त जग्गा आफ्नो एकलौटी जानी भोग चलन गर्नु जानु भनी हामीहरूको मनोमान खुसी राजीसँग जग्गा छोडपत्रको कागज तपाइँ छोरा दाजुभाइ खगेन्द्रध्वज जोशीलाई दियौं भन्ने व्यहोरा उल्लेख गरी सहिछाप गरेको देखिन्छ भने उक्त जग्गा पुनरावेदक वादी खगेन्द्रध्वजलाई १-१-२-० जग्गा एकलौटीरूपमा भोग गरी खान मनोमान राजीखुसीसँग खानु भनी छोडपत्रको लिखत गरिदिएको देखिँदा हाल आएर त्यसो होइन, बन्डा लाग्छ भनी भन्नलाई प्रतिवादी पुनरावेदक योगेन्द्रध्वज, गोपुजेन्द्रध्वज जोशीसमेतलाई प्रमाण ऐन, २०३१ को दफा ३४ ले विवन्धित गरेको 

देखिन्छ । यसरी अन्य सबै अंशियार उपस्थित भई मनोमानी राजीखुसीसँग एकलौटीरूपमा भोगचलन गर्नु भनी छोडपत्र गरी पुनरावेदक वादी खगेन्द्रध्वज जोशीलाई छाडिदिएको जग्गा पुनरावेदक वादीले आफूखुस गर्न पाउने नै देखिँदा सो जग्गासमेत बन्डा गरिपाउँ भन्ने जिकिर युक्तिसङ्गत देखिन आएन । 

१३. पुनरावेदक प्रतिवादीहरू योगेन्द्रध्वज र गोपुजेन्द्रध्वजले वादी खगेन्द्रध्वजका नाउँमा छोडपत्रबाट गएको कि.नं. ५६ को जग्गा कित्ताकाट गरी छोरीलाई गरिदिएको कि.नं.२०१ को जग्गा खगेन्द्रध्वजको अंशभाग हुँदा सोबाहेक बाँकी कि.नं. २०२ को सम्पूर्ण जग्गा बाँकी ३ हामी अंशियारका बीचमा समेत बन्डा हुनुपर्छ भनी लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा निजहरूलाई काठमाडौं जिल्ला अदालतबाट अ.बं. १३९बमोजिम झिकाइएकोमा निजहरू अदालतमा उपस्थित भई बयान गर्दा यी वादी खगेन्द्रध्वजसमेत चार जना अंशियार हुँदा ४ भागको एक भाग अंश पाउनु पर्छ भनी उल्लेख गरेको र पुनरावेदन गर्दा अंश लिन बाँकी तीन अंशियार भएकोले तीन भागको एक भाग अंश पाउनुपर्छ भनी विरोधाभासपूर्ण व्यहोरा उल्लेख गरी दाबी नै परिवर्तन गरेको अवस्था देखिन्छ । पुनरावेदन गर्दा दाबी परिवर्तन गर्नु निजहरूको सफा मनसाय नदेखिनुका अतिरिक्त निजहरूले नै छोडपत्रको लिखतबाट एकलौटी हुने भनी छोडिदिएको जग्गा खगेन्द्रध्वजले आफूखुसी गर्न पाउने नै हुँदा निजले छोरीलाई बकस गरी दिई बाँकी रहन गएको कि.नं. २०२ को जग्गा सबैमा अंशहक कायम गरिपाउँ भन्ने निजहरूको दाबी निरर्थक एवं आधारहीन देखियो । यसर्थ खगेन्द्रध्वज जोशीका नाउँमा बाँकी रहेको कि.नं. २०२ को जग्गासमेतबाट अंश पाउनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीहरू योगेन्द्रध्वज, गोपुजेन्द्रध्वज जोशीको पुनरावेदन जिकिर मनासिब मान्न मिलेन । 

१४. माथि विश्लेषण गरिएका आधार, कारण र प्रमाणबाट पुनरावेदक वादी खगेन्द्रध्वज जोशीले २०३० सालमा नै आफ्नो अंशभाग बुझी छोडपत्र गरेको र प्रतिवादीहरू चण्डिमानध्वज, योगेन्द्रध्वज र गोपुजेन्द्रध्वज जोशी मात्र सगोलमा रहेका अंशियार भई निजहरू बीच बन्डा हुन बाँकी नै रहेको पुष्टि हुन आएकाले खगेन्द्रध्वज जोशीको नाममा हाल कायम रहेको कि.नं. ५६ बाट कित्ताकाट भई बाँकी रहेको कि.नं. २०२ बाहेक तायदातीमा उल्लिखित अन्य सम्पत्ति अन्य अंशियारहरू चण्डिमानध्वज, योगेन्द्रध्वज र गोपुजेन्द्रध्वज जोशीका बीच मात्र बन्डा हुने देखियो । पुनरावेदक वादी खगेन्द्रध्वज जोशी मिति २०३०।७।२० को छोडपत्रबाट १-१-२-० जग्गा लिई आफ्नो भागको अंश पाई छुट्टी भिन्न भई बसेको देखिएको, उक्त जग्गा निजको एकलौटी हुने भनी अन्य सबै अंशियार उपस्थित भई छोडपत्र गरिदिएको देखिई उक्त जग्गा खगेन्द्रध्वजको एकलौटी भई अन्यको अंश लाग्ने नदेखिएको स्थितिमा काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी पुनरावेदक वादी खगेन्द्रध्वज जोशीले प्रतिवादीहरूबाट अंश नपाउने र निजले छोडपत्रबाट पाएको कि.नं. ५६ को जग्गा बन्डा नलाग्ने सोबाहेकको अन्य सम्पत्ति प्रतिवादीहरू चण्डिमानध्वज, योगेन्द्रध्वज र गोपुजेन्द्रध्वजका बीचमा बन्डा लाग्ने भन्नेसमेत ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको मिति २०६६।२।५ को फैसला सदर गर्ने ठहर्‌याएको यस अदालतको संयुक्त इजलासको मिति२०६८/३/२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । कि.नं. ५६ को जग्गाबाहेकको बाँकी जग्गाबाट ४ भागको १ भाग अंश पाउँ भन्ने पुनरावेदक वादी खगेन्द्रध्वज जोशीको पुनरावेदन जिकिरसमेत पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. सारदाप्रसाद घिमिरे

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृतः रामप्रसाद बस्याल 

इति संवत् २०७३ साल कात्तिक ११ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु