निर्णय नं. ९७०४ - लागु औषध खैरो हिरोइन ।

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।५।१६
मुद्दा:- लागु औषध खैरो हिरोइन ।
०७०-CR-०५६३
पुनरावेदक/प्रतिवादी : भारत, उत्तर प्रदेश बाह्रवंकी जिल्ला ठाना असन्दरा पोष्ट सिद्दौर ग्राम सिसवाई घर भई हाल कारागार कार्यालय, (नख्खु सुधार गृह) ललितपुरमा बन्दी जीवन बिताइरहेको मोहम्मद जावेद मुसलमान
विरूद्ध
विपक्षी/वादी : प्र.ना.नि. मान सिंह एरीको जाहेरी प्रतिवेदनले नेपाल सरकार
०७०-CR-०५६७
पुनरावेदक/प्रतिवादी : जिल्ला कविलवस्तु शिवानगर गा.वि.स. वडा नं. ८ घर भई हाल कागारग कार्यालय, बर्दियामा थुनामा रहेको महन्त ठाकुर भन्ने प्रभु नाउँ
विरूद्ध
विपक्षी/वादी : प्र.ना.नि. मान सिंह एरीको जाहेरी प्रतिवेदनले नेपाल सरकार
०७०-CR-१३४८
पुनरावेदक/प्रतिवादी : भारत, उत्तर प्रदेश बाह्रवंकी जिल्ला ठाना असन्दरा पोष्ट सिद्दौर ग्राम सिरावाई घर भई हाल कारागार कार्यालय, पर्सा, वीरगञ्जमा बन्दी जीवन बिताइरहेको मोहम्मद सफवान मुसलमान
विरूद्ध
विपक्षी/वादी : प्र.ना.नि. मान सिंह एरीको जाहेरी प्रतिवेदनले नेपाल सरकार
लागु औषध मुद्दामा प्रमाणको भार (Burden of Proof) प्रतिवादीमा नै रहेको हुन्छ । सामान्यतः प्रमाणको भार वादीमा रहने भए तापनि कतिपय मुद्दाहरूमा विषयगत अपराधको गाम्भिर्यतालाई विचार गरी कानूनले निषेध गरेको वस्तु प्रतिवादीबाट बरामद भएमा सो तथ्यलाई कसुर मान्ने कानूनी प्रावधान भई सो आपराधिक कार्य (Corpus Delicit) स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा राख्ने गरेको
पाइन्छ । यसरी कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य गरेको मानिने प्रकृतिको अपराधलाई Possessory Crime भनिन्छ र त्यस प्रकारको आपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुने ।
मौकामा कागज गर्ने व्यक्तिहरू तथा मुद्दाका प्रतिवेदक प्रहरी कर्मचारीहरूसमेत अदालतमा उपस्थित भई सुरू अनुसन्धानमा उल्लेख गरेको व्यहोरालाई समर्थन गरी बकपत्र गरेको अवस्थामा प्रतिवादीहरूले कसुर गरेको कुरा स्थापित हुन आउँछ । प्रमाणको भार प्रतिवादीहरूमा हस्तान्तरण हुने प्रस्तुत मुद्दामा प्रतिवादीहरूले आफ्नो निर्दोषिताको प्रमाण प्रस्तुत गर्न सक्नु पर्छ । केवल निर्दोष हौं भन्ने कथन मात्र निर्दोषिता पुष्टि गर्नको लागि पर्याप्त हुन नसक्ने ।
(प्रकरण नं. ८)
पुनरावेदक/प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः-
मा. जिल्ला न्यायाधीश श्री रामकृष्ण खनाल
पुनरावेदन तहमा फैसला गर्नेः-
मा. न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा
मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
मिति २०६७।११।२९ गते १८:०० बजे मोहमद जावेद मुसलमान, मोहमद सफवान मुसलमान, बर्मा भन्ने रघुवर सिंह र महन्त ठाकुर भन्ने प्रभु नाउँसमेतको साथबाट जिल्ला कपिलवस्तु शिवानगर गा.वि.स.वडा नं. ८ स्थित प्रहरीले चेकजाँच गर्ने क्रममा १/१ पोका लागु औषध खैरो हेरोइन बरामद भएको र सोको तौल गर्दा ५०० ग्राम भएकोले निजहरूलाई पक्राउ गरी कारवाहीको लागि पेस गरेको छु भन्नेसमेत व्यहोराको प्र.ना.नि. मानसिंह ऐरीको प्रहरी प्रतिवेदन ।
जिल्ला कपिलवस्तु शिवानगर गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा कुकुर भुकवा जाने ग्रामिण सडक एवं शिवानगर गा.वि.स. कार्यालय भवन, पश्चिम सार्वजनिक पोखरी, उत्तर दक्षिण कृष्णनगर–चन्द्रौटा सडक यतिचार किल्लाभित्र शंकास्पदरूपमा हिँडेका पछि नाम, थर खुलेका रघुविर सिंहले लगाएको खैरो रंगको पाइन्टको अगाडिको दायाँ खल्तीभित्र पहेँलो रंगको प्लाष्टिकमा प्याक गरेको अवस्थामा रहेको ११५ ग्राम, मोहमद जावेद मुसलमानले लगाएको निलो रंगको जिन्स पाइन्टको अगाडिको दायाँ खल्तीभित्र प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा १५० ग्राम, मोहमद सफवानले लगाएको कालो रंगको पाइन्टको अगाडिको बायाँ खल्तीभित्र प्लाष्टिकभित्र प्याक भएको अवस्थामा ११५ ग्राम र महन्त ठाकुरले लगाएको निलो रंगको पाइन्टको अगाडिको दायाँ खल्तीभित्र प्लाष्टिकका प्याक भएको अवस्थामा १२० ग्राम गरी ४ पोका तौल गर्दा ५०० ग्राम भएको लागु औषध (खैरो हेरोइन) बरामद भएको भन्नेसमेत व्यहोराको मिति २०६७।११।२९ को खानतलासी तथा बरामदी मुचुल्का ।
बरामद भएको लागु औषध परीक्षणसमेतको लागि नमूना लिई बाँकी नष्ट गरिएको भन्नेसमेत व्यहोराको मुचुल्का ।
बरामद भएको लागु औषध परीक्षणको लागि पठाइएको भन्नेसमेत व्यहोराको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको पत्र ।
प्रतिवादी मोहमद सफवान, मोहमद जावेद मुसलमान, बर्मा भन्ने रघुबिर सिंह, महन्त ठाकुर भन्ने प्रभु नाउको साथबाट बरामद भएको धुलो चिजवस्तु परीक्षण गर्दा ४ वटै नमूनामा हेरोइन पाइएको भन्नेसमेत व्यहोराको परीक्षण प्रतिवेदन ।
करिब ४/५ महिना पहिला बसमा यात्राको क्रममा भारत बाह्रवंकी बस्ने ईमरान मुसमालनसँग चिनजान भएको र निजले मसँग एउटा काम छ जुन काम गर्यो भने मालामाल पैसा कमाउन सकिन्छ भने पछि उक्त काम के हो भनी भन्दा लागु औषधको कारोबार हो भनेपछि करिब १५/२० दिन पछाडि ईमराइन मुसलमानको घरमा गएको र निजको घरमा पुगेपछि मोहमद जावेद मुसलमान र मोहमद सफवान मुसलमानलाई परिचय गराउँदै यिनीहरूले भारत बढनी बस अड्डासम्म खैरो हेरोइन ल्याउँछन् तिमीले नेपालमा बिक्री गर भनी ईमरान मुसलमानले भनेको र मोहमद सफवान मुसलमान, मोहमद जावेद मुसलमानले हामी बढनीसम्म आई खैरो हेरोइन ल्याउँछौं, तपाइँले नेपालमा बिक्री गर्नुपर्छ भनेपछि मैले म नेपालमा यस प्रकारको काम गर्ने मानिसको खोजी गरी छिट्टै आउँछु भनी त्यहाँबाट नेपाल आई पूर्व परिचित साथी महन्त ठाकुर भन्ने प्रभु नाउँसँग भेटी लागु औषधको कारोबार गरौं भनी निजले समेत सहमति जनाएपछि म पुनः भारत बाह्रवंकीस्थित इमराइन मुसलमानको घरमा पुगी तपाइँले यहाँबाट लागु औषध खैरो हेरोइन पठाउनुहोस् मैले नेपालमा बिक्री गर्ने व्यवस्था मिलाएको छु । नेपाल बोडरसम्म तपाइँले ल्याउनुस् म त्यहाँ लिन आउँछु भन्ने सल्लाहअनुसार मार्च १३ तारिख २०११ अर्थात् २०६७।११।२९ गतेका दिन साथी मोहमद जावेद र मोहमद सफवान मुसलमानले भारत बाह्रवंकीबाट लागु औषध खैरो हेरोइन लिई आएका र म तथा महन्त ठाकुर भन्ने प्रभु नाउँ भई निजहरूलाई लिन भारत बढनी बस अड्डा बोर्डरसम्म गएका थियौं, निज साथीहरूबाट भेट भएपछि निजहरूले चारपोकामा जम्मा ५०० ग्राम लागु औषध खैरे हेरोइन लिई आएका रहेछन् । सो लागु औषध खैरो हेरोइन हामी ४ जनाले १।१ पोका बाँडी आफ्नो पाइन्टको खल्तीमा राखी नेपालको शिवानगर चोकमा भेट हुने गरी २।२ जना छुट्टा छुट्टै अलग अलग बाटो गई नेपाल प्रवेश गरी हामी चारैजना नेपालको शिवानगर चोकमा भेट भई एकआपसमा सरसल्लाह गरिरहेको अवस्थामा अचानक प्रहरीले हामीहरूलाई समाती हाम्रो शरीर तलासी गर्दा मैले लगाएको खैरो रंगको पाइन्टको अगाडिको दायाँ खल्तीमा मैले राखेको पहेलो रंगको प्लाष्टिकमा प्याक भएको लागु औषध खैरो हेरोइन प्रहरीले फेला पारी बरामद गरेको हो । मेरो साथबाट बरामद भएको लागु औषध तौल गर्दा ११५ ग्राम थियो । उक्त लागु औषध बिक्री वितरण गर्ने उद्देश्यले ल्याएकोमा बिक्री गर्न नपाउँदै पक्राउमा परेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी बर्मा भन्ने रघुवर सिंहको अनुसन्धानमा गरेको बयान ।
प्रतिवादी महन्त ठाकुर भन्ने प्रभु नाउँको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिज वस्तु फेला नपरेको भन्ने घर खानतलासी मुचुल्का ।
ईमरान मुसलमानसँग बर्मा भन्ने रघुविर सिंहको परिचय भई लागु औषधको कारोबार गर्ने सहमति भएपछि मैले र मोहमद सफवानले भारत बाह्रवंकी बस्ने ईमरान मुसलमानले दिएको चार प्याकेट (५०० ग्राम) लागु औषध खैरो हेरोइन लिई आएकोमा नेपाल भारत बोर्डर भारत बढनी बस अड्डामा आई पुगेपछि बर्मा भन्ने रघुविर सिंह र पछि परिचित महन्त ठाकुर भन्ने प्रभु नाउसँग भेट भई हामी चारै जनाले १।१ प्याकेट लागु औषध खैरो हेरोइन लिई नेपालको शिवानगर चोकमा भेट हुने गरी २।२ जना छुट्टाछुट्टै बाटो भई नेपाल प्रवेश गरी शिवानगर चोकमा भेट भई बिक्रीको लागि एक आपसमा सरसल्लाह गरिरहेको अवस्थामा अचानक प्रहरीले हामीहरूलाई समाती हाम्रो शरीर तलासी गर्दा मैले लगाएको निलो रंगको जिन्स पाइन्टको अगाडिको दायाँ खल्तीमा राखेको सेतो रंगको प्लाष्टिकमा प्याक भएको लागु औषध खैरो हेरोइन प्रहरीले फेला पारी बरामद गरेको हो । मेरो साथबाट बरामद भएको लागु औषध तौल गर्दा १५० ग्राम थियो उक्त लागु औषध बिक्री वितरण गर्ने उद्देश्यले ल्याएकोमा बिक्री गर्न नपाउँदै पक्राउमा परेको हो , हामी चारै जनाबाट बरामद भएको लागु औषध तौल गर्दा ५०० ग्राम थियो । उक्त लागु औषध बिक्री भइसकेपछि प्रतिव्यक्ति रू.१०,०००।- (दशहजार) लिने पाउने कुरा भएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी मोहमद जावेद मुसलमानले दिएको अनुसन्धानको बयान ।
मैले र मोहमद जावेद मुसलमान भई भारत बाह्रवंकीबाट ईमरान मुसलमानले दिएको चार पोका लागु औषध खैरो हेरोइन २।२ पोका बोकी नेपाल भारत बोर्डर भारत बढनीसम्म लिई आएकोमा बढनी बस अड्डामा बर्मा भन्ने रघुविर सिंह र महन्त ठाकुर भन्ने प्रभु नाउँ भेट भएपछि हामी चारै जनाले अलग अलग १।१ प्याकेट लागु औषध खैरो हेरोइन लिई नेपालको शिवानगर चोकमा भेट हुने गरी २।२ जना छुट्टाछुट्टै बाटो भई नेपाल प्रवेश गरी शिवानगर चोकमा भेट भई एक आपसमा के कसरी बिक्री गर्ने भन्ने विषयमा छलफल गर्दा गर्दै एक्कासी नेपाल प्रहरी आई हामीहरूलाई पक्राउ गरी मैले लगाएको कालो रंगको पाइन्टको अगाडिको बायाँ खल्तीमा मैले राखेको पहेँलो रंगको प्लाष्टिकमा प्याक भएको लागु औषध खैरो हेरोइन प्रहरीले फेला पारी बरामद भएको हो । मेरो साथबाट बरामद भएको लागु औषध तौल गर्दा ११५ ग्राम थियो । हामी चारै जनाबाट बरामद भएको लागु औषध तौल गर्दा ५०० ग्राम थियो । उक्त लागु औषध ईमरान मुसलमानले कम्तिमा भा.रू. ३,५०,०००।– (तीन लाख पचास हजार) मा बिक्री गर्न भनेका र बिक्री गरिसकेपछि मैले भा.रू. १०,०००।– (दशहजार) पाउने भन्ने कुरा भएको थियो । हामीहरूले उक्त लागु औषध भा.रू.५,००,०००।– (पाँच लाख) मा बिक्री गरी बाँकी रकम बाँडी लिने सल्लाह गरेका थियौं भन्नेसमेत व्यहोराको प्रतिवादी मोहमद सफवान मुसलमानले अनुसन्धानमा गरेको बयान ।
सहप्रतिवादी बर्मा भन्ने रघुविर सिंह प्रायः मसँग दाह्री कपाल बनाउन आउने गरेको र सोही कारणले निजले लागु औषधको कारोबार गरौं भनेकोमा मैले सहमति जनाएपछि २०६७।११।२९ गते म र बर्मा भन्ने रघुविर सिंह भारत बढनी बस अड्डामा पुगेपछि परिचित मोहमद जावेद मुसलमान र मोहमद सफवान मुसलमानलाई भेटी निजहरूले ल्याएको चार पोका लागु औषध खैरो हेरोइन हामीले १।१ पुरिया चारै जनाले बाँडी २।२ जना अलग अलग बाटो भई नेपालको शिवानगर चोकमा भेट हुनेगरी नेपाल आएकोमा शिवानगर चोकमा भेट भई उक्त लागु औषध खैरो हेरोइन बिक्री गर्ने विषयमा छलफल हुँदाहुँदै एक्कासी प्रहरी आई हामीलाई नियन्त्रणमा लिई चारै जनालाई तलासी गर्दा मैले लगाएको निलो रंगको कपडाको पाइन्टको अगाडिको दायाँ खल्तीबाट पहेँलो रंगको प्लाष्टिकमा प्याक भएको एक प्याकेट लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको हो म बाट बरामद भएको लागु औषध तौल गर्दा १२० ग्राम भएको र चारै जनाको साथबाट बरामद भएको लागु औषध तौल गर्दा आधा किलो भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी महन्त ठाकुर भन्ने प्रभु नाउँले अनुसन्धानमा दिएको बयान ।
घटना मिति र समयमा शिवानगर ८ पुगेकोमा उक्त स्थानमा प्रहरीले चारजना मानिसहरूलाई चेकजाँच गरिरहेको अवस्थामा देखी मसमेत सोही ठाउँमा पुगी हेर्दा पछि सोधपुछको क्रममा नाम, थर खुलेका रघुविर सिंह, मोहमद सफवान मुसलमान, मोहमद जावेद मुसलमान, महन्त ठाकुर भन्ने प्रभु नाउलाई चेक जाँच गर्ने क्रममा निजहरूको साथबाट १।१ पोका लागु औषध खैरो हिरोइन बरामद भएकोमा निजहरूसमेतको रोहबरमा तौल गर्दा १/२ के.जी. (आधा के.जी.) भएको ठिक साँचो हो भन्नेसमेत व्यहोराको पाँचु पासीले गरेको कागज ।
मिति २०६७।११।२९ गते जिल्ला कपिलवस्तु शिवानगर ८ मा बर्मा भन्ने रघुविर सिंहसमेतका ४ जनालाई प्रहरीले चेक गर्दा निजको साथबाट १।१ पोका लागु औषध खैरो हेरोइन बरामद भएकोमा निजहरू समेतको रोहबरमा तौल गर्दा १/२ केजी (आधा केजी) भएको ठिक साँचो हो र निजहरूलाई प्रहरीले पक्राउ गरेको हो भन्ने व्यहोराको महेश रैदासले गरेको कागज ।
मिति २०६७।११।२९ गते १८:०० बजे बजारतर्फ गई घर फर्कने क्रममा जिल्ला कपिलवस्तु शिवानगर ८ मा प्रहरीले पछि नाम, थर वतन खुलेका बर्मा भन्ने रघुविर सिंहलाई चेकजाँच गरिहेको देखी के कुन कसुर अपराध गरेका रहेछन् के भएछ ? भनी उक्त स्थानमा जाँदा निजहरूको साथबाट प्रहरीले १।१ पोका गरी ४ पोका (१/२ के.जी.) लागु औषध खैरो हेरोइन बरामद गरेको ठिक साँचो हो भन्नेसमेत व्यहोराको पारसनाथ चौधरी, राजाराम पासी र दुखाराम कोरीले गरेको वस्तुस्थिति मुचुल्का ।
यसमा मिसिल संलग्न प्रहरी प्रतिवेदन, खान तलासी तथा बरामदी मुचुल्का, प्रतिवादीहरू मोहमद जावेद, मोहमद सफवान, रघुवर सिंह र महन्त ठाकुरको बयान, लागु औषध परीक्षण प्रतिवेदन, बुझिएका मानिसहरूको कागज एवं वस्तुस्थिति मुचुल्काका मानिसहरूको लेखाई व्यहोरासमेतका प्रमाणहरूबाट प्रतिवादीहरू बर्मा भन्ने रघुविर सिंह, मोहमद जावेद मुसलमान, मोहमद सफवान मुसलमान, महन्त ठाकुर भन्ने प्रभु नाउँ र मोहम्मद इमराइन मुसलमानसमेतले मिति २०६७।११।२९ गते भारतबाट नेपालमा लागु औषध खैरो हेरोइन ५०० ग्राम आयात, ओसार पसार तथा सञ्चय गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (ङ) र (च) को कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरू बर्मा भन्ने रघुविर सिंह, मोहमद जावेद मुसलमान, मोहम्मद सफवान मुसलमान, महन्त ठाकुर भन्ने प्रभु नाउ र मोहमद इमराइन मुसलमानलाई उक्त ऐनको दफा १४ को उपदफा (१) खण्ड (छ) को उपखण्ड (३) बमोजिम हदैसम्म सजाय हुने र सूचना दिने व्यक्तिलाई उक्त ऐनको १८(ख) बमोजिम तथा अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूलाई उक्त ऐनको दफा १८घ बमोजिम पुरस्कार दिलाई भराई पाउन मागदाबी लिई दर्ता हुन आएको अभियोग पत्र ।
मबाट लागु औषध बरामद भएको होइन । रघुविरलाई २ वर्षदेखि चिनेको छु । मैले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज सुनाउँदा सुनेँ प्रहरीले उक्त कागज सुनाएका थिएनन् सही गर भनेको हुँदा सही गरेको हो के के लेखेका हुन् मलाई थाहा
भएन । आज अदालतमा बयान गर्दा थाहा पाएँ । व्यहोरा गलत हो । रघुविर दिसा गर्न गएको समयमा निजलाई प्रहरीले समाती म बगैँचामा बसेको ठाउँमा लिएर आएका हुन् । रघुविरलाई प्रहरीले समाती ल्याउँदा एउटा झोला साथमा थियो । झोला बगैँचामा खोलेका थिएनन् । तत्काल मलाईसमेत साथमा लिई प्रहरी कार्यालय कृष्णनगरमा लगेका थिए, झोलामा के थियो मलाई जानकारी गराएका थिएनन् भन्नेसमेत व्यहोराको प्रतिवादी महन्त ठाकुर भन्ने प्रभु नाउले सुरू अदालतमा गरेको बयान ।
मबाट कुनै लागु औषध खैरो हिरोइन बरामद भएको होइन । खाली चोकमा कृष्णनगर जाउँ भनी लिई गएका हुन् । प्रहरीमा मैले त्यस्तो बयान गरेको छैन । अनुसन्धान अधिकारीसमक्ष गरेको बयान झुठो हो । बयानको ल्याप्चे सहिछाप मेरो हो सहिछाप लगाउभन्दा मात्र सहिछाप लगाएको हुँ । सह प्रतिवादीहरूको बयान झुठो हो मबाट कुनै चिज वस्तु बरामद नभएको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मोहम्मद जावेद मुसलमानले सुरू अदालतमा गरेको बयान ।
म र प्रभु नाउ दिसा गर्नका लागि कृष्णनगर बजारदेखि पूर्व उत्तर जाँदा दिसा गरी फर्कने क्रममा प्रहरी आई हामीसँग कोही यता आएका थिए कि भनी सोध्दा हामीले एउटा महिला आई खेतमा एउटा झोला राखी फर्केर गएको हो भनी भन्दा प्रहरी र हामीहरू खेतमा गई हेर्दा एउटा झोलामा बदाम र सेतो प्लाष्टिक कागजमा पाउडर थियो । प्रहरीले हामीहरूलाई तपाइँहरूको सामुन्नेमा यो सामान बरामद भएको
हो । थानामा गई यो सामान अरहरको खेतमा बरामद भएको हो भनी बताई दिनुहोस् भनी हामीलाई प्रहरी कार्यालयमा ल्याई पक्राउ गरी सोही दिन १ देखि डेढ घन्टापछि अरू प्रतिवादीलाई पक्राउ गरी ल्याएको हो मबाट लागु औषध बरामद भएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बर्मा भन्ने रघुविर सिंहले सुरू अदालतमा गरेको बयान ।
म घुम्न आएको अवस्थामा कृष्णनगरबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रतिवेदन झुठो हो मबाट कुनै लागु औषध खैरो हिरोइन बरामद भएको होइन । मैले लागु औषध बरामद भएको कुनै बयान गरेको छैन । पुलिस चौकीमा सहिछाप लगाउनुहोस् भन्दा सहिछाप लगाएको हुँ । म निर्दोष छु भन्नेसमेत व्यहोराको प्रतिवादी मोहमद सफवान मुसलमानले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी मोहमद सफवान मुसलमान, बर्मा भन्ने रघुवर सिंह, मोहम्मद जावेद मुसलमान र महन्त ठाकुर भन्ने प्रभुनाथ सुरू अदालतका आदेशानुसार थुनामा रहँदै आएका रहेछन् ।
उक्त मिति समयमा मसमेत ७।८ जना घुम्नको लागि कृष्णनगर गएका थियौं । सो समयमा हामीहरू भन्सारनजिक खाजा खान थाल्यौं प्रतिवादी अगाडि गए । त्यहाँ प्रहरी थिए । प्रहरीले निजउपर तलासी लिँदा केही चिजवस्तु फेला नपरेपछि मसमेतले छाडी दिनुभन्दा प्रहरीले केही बुझ्न छ भनी लगेका हुन् । यी प्रतिवादीसँग लागु औषध बरामद भएको भन्ने अभियोग दाबी झुठा छ भन्नेसमेत व्यहोराको प्रतिवादी सफवान मुसलमानका साक्षी मोहम्मद अलिमले सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादी कृष्णनगरस्थित विद्युत् अफिसको पछाडि रक्सी पिएर बसिरहेका थिए । त्यसै बखत त्यहाँ प्रहरी आई निजलाई पक्राउ गरेका हुन् । निजको साथबाट कुनै चिजवस्तु लागु औषध बरामद भएको होइन । यिनी निर्दोष हुँदा सफाइ पाउनु पर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रभु नाउका साक्षी चिनकन नाउले सुरू अदालतमा गरेको बकपत्र ।
हामी ६।७ जना भई भारतदेखि कृष्णनगर बजार गर्न आएका थियौं । होटलमा चिया पियौं । यी प्रतिवादी गुडका खान बाटो क्रस गरि गए । त्यहाँ प्रहरी थिए । निजलाई प्रहरीले खोजतलास गरे । तर निजलाई खानतलासी गर्दा केही चिजवस्तु मिलेको थिएन तापनि निजलाई प्रहरीले थानामा लिई गएका हुन् भन्नेसमेत व्यहोरा प्रतिवादी मोहम्मद जावेद मुसलमानका साक्षी मोहम्मद मेराजले सुरू अदालतमा गरेको बकपत्र ।
साँझको बेला बहादुरगंजबाट कृष्णनगर घरतर्फ गइरहेको थिएँ । शिवनगरमा पुगेपछि प्रहरीसमेतका अन्य ४ जना मानिसहरू थिए । त्यहाँ धुलो पिठो प्रहरीले देखाई मलाई कागजसमेत गराएका थिए । अरू केही थाहा भएन । उक्त धुलो प्रहरीले मलाई हिरोइन हो भनेका थिए भन्नेसमेत व्यहोराको खानतलासी मुचुल्काका साक्षी सलमान खाँनले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।११।२९ गतेका दिन गोप्य सूचनाको आधारमा चेकजाच गर्ने क्रममा शंकास्पदरूपमा आइरहेका प्रतिवादी मो. जावेदले लगाएको निलो रंगको जिन्स पाइन्टको अगाडि पट्टीको खल्तीबाट १५० ग्राम, प्रतिवादी मो. सफवानले लगाएको कालो पाइन्टको अगाडिको बायाँ खल्तीबाट ११५ ग्राम, प्रतिवादी रघुविर सिंहले लगाएको खैरो रंगको पाइन्टको अगाडिको दाइने खल्तीबाट ११५ ग्राम र प्रतिवादी महन्त ठाकुरले लगाएको निलो रंगको पाइन्टको अगाडिपट्टीको दायाँ खल्तीबाट १२० ग्राम लागु औषध खैरो हिरोइन बरामद गरी आवश्यक कारवाहीको लागि पेस गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवेदन प्र.ना.नि. मानसिंह ऐरीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवेदकको कमाण्डमा मसमेत गस्ती गएका थियौं । गस्तीको क्रममा जिल्ला कपिलवस्तु शिवनगर ८ मा पुग्दा रघुविर बर्मासमेतका ४ जना प्रतिवादीहरूका साथबाट बरामदी मुचुल्कामा उल्लिखित जम्मा जम्मी ५०० ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको थियो । त्यसपछि निजहरूलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रतिवेदकले पेस गर्नु भएको थियो भन्नेसमेत व्यहोराको काम तामेल गर्ने प्र.ह. इश्वरीबहादुर भण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।
मैले कथ्था रंगको धुलो देखेको थिएँ । प्रहरीमा कागज गरी व्यहोरा लेखाई दिएको हो । प्रतिवादीहरूको साथबाट बरामद भएको देखिन भन्नेसमेत व्यहोराको बुझिएका राजाराम पासीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रहरीले ४ जनालाई पक्राउ गरी ४ प्याकेट हिरोइन धुलो देखाएका थिए सोही कुराको कागज गर्न भनी कागजको व्यहोरा लेखाई सहिछाप गरि दिएको थिए भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने महेश रैदासले सुरू अदालतमा गरेको बकपत्र ।
प्र.ना.नि.मानसिंह ऐरीको कमाण्डमा मसमेत गस्ती जाँदै गरेको अवस्थामा शिवनगर ८ मा भारतबाट नेपालतर्फ हिँडी आइरहेको अपरिचित व्यक्तिहरू नेपालतर्फ आउँदै गर्दा निजहरूलाई चेक जाँच गर्ने क्रममा ४ जनाबाट ५०० ग्राम लागु औषध खैरो हिरोइन ३ जनाले लगाएको पाइन्टहरूको दाहिने गोजीबाट र एक जनाको बायाँ गोजीबाट फेला परेको हो भन्नेसमेत व्यहोराको काम तामेल गर्ने प्र.ज. बुद्धि लामिछानेले सुरू अदालतमा गरेको बकपत्र ।
फरार प्रतिवादी मोहम्मद इमराइन मुसलमानको हकमा अ.बं. १९० नं. बमोजिम मुल्तबीमा रहने ठहर्छ । बरामदी मुचुल्का, प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान, मौकामा कागज गर्ने तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइसमेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीहरूले लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को खण्ड (ङ) र (च) को कसुर अपराध गरेको देखिन आएकोले प्रतिवादीहरू बर्मा भन्ने रघुविर सिंह, मोहमद जावेद मुसलमान, मोहम्मद सफवान मुसलमान र महन्त ठाकुर भन्ने प्रभु नाउँलाई सोही ऐनको दफा १४ को उपदफा (१) को खण्ड (छ) को उपखण्ड (३) बमोजिम जनही १७ वर्ष कैद र जनही रू.२१,००,०००।– जरिवाना हुने, सूचना दिने व्यक्तिलाई सोही ऐनको दफा १८ख बमोजिम तथा अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूलाई सोही ऐनको दफा १८घ बमोजिम पुरस्कार पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६८।१२।१५ को फैसला ।
सुरू जिल्ला अदालतको फैसलामा चित्त बुझेन । अनुसन्धानमा भएको बयान व्यहोरा हाम्रो इच्छाविपरीत जबरजस्ती गराइएको हो । अदालतसमक्ष सत्य साँचो व्यहोरा लेखाएका छौं । हामीहरूको साथबाट नभई खेतबाट लागु औषध बरामद भएको छ । निर्दोष हामीहरूलाई निकै चर्कोरूपमा कैद जरिवानाको सजाय गरिएको छ । तसर्थ, सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला प्रमाणको उचित मूल्याङ्कन बिना नै गरिएको हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू मोहम्मद सफवान मुसलमान र मोहम्मद जावेद मुसलमानको संयुक्त पुनरावेदन पत्र ।
सुरू अदालतको फैसलामा चित्त बुझेन । अनुसन्धान अधिकारीसमक्ष गरिएको भनिएको बयान हाम्रो इच्छाविपरीत भएको हो । बरामदी लागु औषध हाम्रो साथबाट नभई खेतमा फ्याकिएको झोलाबाट बरामद भएको हो । सहप्रतिवादीहरू मोहम्मद जावेद र मोहम्मद सफवानले हामीहरूलाई चिन्दैनौं भनी अदालतमा बयान गरेका छन् । हामीहरूलाई कैद र जरिवाना गर्दा न्यायिक विवेकको प्रयोग नगरी निकै चर्को गरिएको छ । तसर्थ, सुरू फैसला मिलेको नदेखिँदा उल्टी गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू बर्मा भन्ने रघुविर सिंह र महन्त ठाकुर भन्ने प्रभु नाउको संयुक्त पुनरावेदन पत्र ।
मोहम्मद सफवान मुसलमानसमेतले अदालतमा बयान गर्दा बरामदी तथ्यमा प्रश्न उठाई प्रहरीसमक्षको बयान स्वेच्छाले गरेको होइन भनी उल्लेख गरेकोसमेतका मिसिल संलग्न प्रमाण कागजसमेतका सन्दर्भमा हेर्दा, प्रतिवादीहरूलाई जनही १७ वर्ष कैद र रू. २१,००,०००।– जरिवाना हुने ठहर गरेको सुरू फैसला विचारणीय देखिएकाले छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी श्री पुनरावेदन सरकारी वकिल कार्यालय, बुटवललाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालतको मिति २०६९।६।१४ को आदेश ।
प्रतिवादीहरू चारजनाबाट लागु औषध हिरोइन ५०० ग्राम बरामद भएको भन्ने कुरा स्थापित भएको छ । चारैजना प्रतिवादीले इमरान मुसलमानमार्फत् लागु औषध कारोबार गरेको अवस्था देखियो । प्रतिवादी रघुविर सिंह ११५ ग्राम, प्रतिवादी जावेद मुसलमानबाट १५० ग्राम, प्रतिवादी मोहमद सफवानबाट ११५ ग्राम तथा महन्त ठाकुर भन्ने प्रभु नाउँबाट १२० ग्राम हिरोइन बरामद भएको छ । यसप्रकार प्रतिव्यक्ति १०० ग्रामभन्दा बढी नै बरामद भएको अवस्था रहेको र समूहगतरूपमा कुनै स्थानमा केही व्यक्तिले पुर्याएको र सो ठाँउबाट अर्को व्यक्ति समूहले अघि बढाउने गरी लागु औषधको कारोबार गरेको देखिँदा बढी सजाय भयो भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन अभियोग दाबीबमोजिम लागु औषध ऐनको दफा १४ को उपदफा (१) को खण्ड (छ) को उपखण्ड (३) बमोजिम जनही १७ वर्ष कैद र जनही रू.२१,००,०००।– जरिवाना हुने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६९।७।१९ को फैसला ।
बरामदी मुचुल्का तयार गर्दा कानूनी त्रुटि रहेको छ । मलाई परिवन्दमा पारी मेरो मानव अधिकारसमेत हनन् गरी कथित बरामदी मुचुल्कामा सहिछाप गर्न लगाइएको हो । परीक्षण गरिएको परीक्षण प्रतिवेदन के कुन नमूनामा के कति प्रतिशत लागु पदार्थ थियो भन्ने यकिन हुन सकेको छैन । म बाट कुनै प्रकारको लागु औषध बरामद भएको होइन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले जसको साथमा लागु औषध बरामद भएको हो निजले दायित्व वहन गर्ने र अन्य अवस्थामा प्रतिवादीको लागु औषधको कारोबारसँग क्रियात्मक सम्बन्ध स्थापित भएको अवस्थामा बाहेक यस्तो जघन्य अपराधको कसुरक कायम गरी कसुरदार ठहराउन मिल्दैन । मबाट लागु औषध बरामद नभएको र लागु औषध कारोबारसँग क्रियात्मक सम्बन्ध कायम नभएको अवस्थामा मलाई यस प्रकारको जघन्य अपराधमा सजाय गर्न
मिल्दैन । सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला र सो फैसलालाई बदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसलामा कानूनी त्रुटि भएकोले बदर गरी उक्त मुद्दाबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी मोहमद सफवान मुसलमानको यस अदालतमा परेको पुनरावेदन ।
प्रतिवेदकले आफूले गरेको उजुरीलाई अन्य वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको अवस्था छैन । बकपत्र गरी समर्थन गरेको आधारमा मात्र प्रतिवेदकको उजुरी प्रमाणित हुन सक्दैन । म पुनरावेदक प्रतिवादीको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिज वस्तुसमेत बरामद हुन सकेको अवस्था छैन । म पुनरावेदकको उक्त कार्यमा संलग्न नरहेको अवस्थामा म बगैँचामा बसेको व्यक्तिलाई समेत प्रहरीसम्म जाउँ झोलामा के छ हेरी त्यसमा भएको कुरामा तपाइँ साक्षी बसिदिनु होला भनी विश्वास दिलाई लगेर अन्य व्यक्तिहरू सरह मलाई पनि प्रतिवादी कायम गरी फसाउने उद्देश्यबाट गरिएको कार्यलाई समेत वेवास्ता गरी सुरू कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी इन्साफ पाउँ भन्नेसमेत व्होराको प्रतिवादी महन्त ठाकुर भन्ने प्रभुले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
बरामदी मुचुल्का कानूनीरूपमा त्रुटिपूर्ण रहेको छ । कथित बरामदी मुचुल्कामा उल्लेख गरेजस्तो लागु औषध मबाट बरामद भएको होइन । मलाई परिबन्धमा पारी बरामदी मुचुल्कामा सहिछाप गराइएको
हो । मिसिल संलग्न खडा भएको खान तलासी तथा बरामदी मुचुल्कामा पनि मबाट कुनै प्रकारको धनराशी उल्लेख नहुनु, खरिद कर्ताको उपस्थित नभएको तथा लागु औषध मापन गर्ने कुनै ढक तराजु यन्त्र बरामद नभएको अवस्थामा मउपर लगाइएको आरोप प्रमाणित हुन सक्दैन । सुरू कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मोहम्मद जावेद मुसलमानले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, बुटवलले गरेको फैसला मिलेको छ वा छैन सोही सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६७/११/२९ गते कपिलवस्तु जिल्ला शिवानगर गा.वि.स. वडा नं ९ मा मोहम्मद जावेद मुसलमान, मोहमद सफवान मुसलमान, महन्त ठाकुर भन्ने प्रभु र बर्मा भन्ने रघुविरसिंहसमेतको साथबाट प्रहरी चेकजाँच गर्ने क्रममा ५०० ग्राम लागु औषध खैरो हेरोइन फेला परेको हुँदा लागु औषधसहित निजहरूलाई कारवाहीको लागी पेस गरेको छु भन्ने प्रहरी नायब निरिक्षक मानसिंह ऐरीको प्रतिवेदन र रघुविरसिंहको साथबाट ११५ ग्राम, मोहम्मद जावेद मुसलमानको साथबाट १५० ग्राम, मोहमद सफवान मुसलमानबाट ११५ ग्राम र महन्त ठाकुरबाट १२० ग्राम गरी जम्मा ४ पोका तौल गर्दा ५०० ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको भन्ने खानतलासी तथा बरामदी मुचुल्काबाट प्रस्तुत मुद्दाको अनुसन्धान एवं तहकिकात प्रारम्भ भएको दखिन्छ । यसरी प्रतिवादीहरूको साथबाट बरामद भएको धुलो चिजवस्तु परीक्षण गर्दा ४ वटै नमुनामा हेरोइन पाइएको भन्ने व्यहोरा परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन्छ भने चारै जना प्रतिवादिहरूले आफूहरूको साथबाट उल्लिखित परिमाणको लागु औषध बरामद भएको कुरालाई स्वीकार गरी भारतमा रहेका इमराइन मुसलमानसँग सम्पर्क राखी सो लागु औषध नेपालमा बिक्री वितरण गर्ने योजना मुताबिक मोहम्मद जावेद मुसलमान र मोहमद सफवान मुसलमानले भारतबाट नेपाल ल्याएको र अन्य दुईजना प्रतिवादीहरू बर्मा भन्ने रघुविरसिंह र महन्त ठाकुर भन्ने प्रभु सँग बढनी बस अड्डामा भेटी नेपालतर्फ आउँदै गर्दा सो लागु औषधसहित पक्राउ परेको हौ भनी अधिकारप्राप्त अधिकारीसमक्ष एकै मिलानको बयान गरेका देखिन्छ ।
३. मौकामा कागज गर्ने पाँचु पासी र महेश रैदास तथा वस्तुस्थिति मुचुल्काका पारसनाथ चौधरी र राजारामसमेतले उक्त परिमाणको लागु औषध यी प्रतिवादीहरूबाटै बरामद भएको भन्ने व्यहोरा जनाई अदालतमा बकपत्र गरेको देखिन्छ भने मुद्दाका प्रतिवेदक प्रहरी नायब निरीक्षक मानसिंह ऐरी र बरामदी मुचुल्काका ईश्वरीबहादुर भण्डारीसमेतले अदालतमा उपस्थित भई सुरू व्यहोरालाई समर्थन गर्दै बकपत्र गरेका देखिन्छ । चारैजना प्रतिवादीले अदालतमा इन्कार गरी बयान गरेको भए तापनि सुरू कपिलवस्तु जिल्ला अदालतले लागु औषध ऐनको दफा १४ को उपदफा (१) को खण्ड (छ) को उपखण्ड (३) बमोजिम जनही १७ वर्ष कैद र जनही रू.२१,००,०००।– जरिवाना हुने गरी फैसला गरेको रहेछ भने पुनरावेदन अदालत, बुटवलले पनि सुरू अदालतको सोही फैसला सदर हुने गरी फैसला गरेको रहेछ । यसरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसलाउपर चित्त नबुझाई यी पुनरावेदकहरूले यस अदालतमा प्रस्तुत पुनरावेदन पत्र दायर गरेका रहेछन् भने प्रतिवादीमध्येका बर्मा भन्ने रघुविरसिंहले आफैँले मिति २०७०/२/२९ मा बुझेको पुनरावेदनको म्यादभित्र पुनरावेदन नगरी पुनरावेदन अदालत, बुटवलको फैसलाउपर चित्त बुझाएको देखिन्छ ।
४. पुनरावेदन पत्रमा उल्लिखित पुनरावेदनको जिकिरको अध्ययन गरी हेर्दा प्रतिवादी पुनरावेदकहरूले मुख्यतः बरामदी मुचुल्का कानूनको रितपूर्वक तयार गरिएको छैन । बरामदी मुचुल्कामा कुनै पनि स्थानिय व्यक्तिलाई रोहवरमा राखिएको
छैन । स्थानिय व्यक्तिलाई साक्षी नराख्दाको अवस्थामा कम्तिमा प्रहरी सहायक निरिक्षक पदका दुईजना प्रहरी कर्मचारीलाई साक्षी राख्नुपर्नेमा सोसमेत राखिएको छैन । न त स्थानिय जनप्रतिनिधी नै राखिएको छ । कानूनको रितविपरीत तयार गरिएको बरामदी मुचुल्काको आधारमा अभियोग स्थापित हुन
सक्दैन । हामीहरू निर्दोष हौ र लागु औषधको कारोबारमा संलग्न छैनौं । प्रहरीले जबरजस्ती सहिछाप गराएको हो भन्ने जिकिर लिएको देखिन्छ । यसरी प्रस्तुत मुद्दामा पुनरावेदकको जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने प्रश्नको निरूपण गर्दा बरामदी मुचुल्का कानूनबमोजिम तयार पारिएको छ वा छैन र निज पुनरावेदकहरू निर्दोष हुन् वा होइनन् सो सम्बन्धमा विवेचना गरिनु पर्ने देखियो ।
५. कुनै पनि अपराधको अनुसन्धान र अभियोजन गर्दा बरामदी मुचुल्काको महत्त्वपूर्ण भूमिका रहन्छ । कानूनी शासनमा अपराधको अनुसन्धान र अभियोजनका हरेक चरणमा कानूनले निर्दिष्ट गरेको प्रक्रियाको अनिवार्य अवलम्बन गरिनु पर्छ । बरामदी मुचुल्का तयार गर्दा अपनाउनु पर्ने प्रक्रिया र पुरा गर्नुपर्ने सर्तहरूको सम्बन्धमा पनि विभिन्न नेपाल कानूनहरूले व्यवस्था गरेको देखिन्छ । मुलुकी ऐनको अ.बं. १७२ मा अपराधसँग सम्बन्धित वस्तुसमेत रहेको घर र ठाँउको खानतलासी लिँदा पुरा गर्नुपर्ने विधिहरूको सम्बन्धमा व्यवस्था गरिएको छ । सोबमोजिम तलासी लिँदा गाँउ विकास समिति वा नगरपालिकाको प्रतिनिधि वा सदस्य‚ २ जनामा नघटाई भलाद्मीहरू ...साक्षी राख्नु पर्ने भनी व्यवस्था गरिएको छ । त्यसै गरी सरकारी मुद्दासम्बन्धी ऐन‚ २०४९ को दफा ८ मा समेत तलासी लिँदा साक्षी राख्नु पर्ने व्यक्तिहरूको सम्बन्धमा व्यवस्था गरेको देखिन्छ भने दफा १० मा तलासी लिँदा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्था गरिएको छ । त्यसै गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३को दफा ८ मा समेत बिना वारेण्ट खानतलासी कब्जा र गिरफ्तार गर्न सक्ने अधिकार तथ साक्षी राख्नु पर्ने व्यक्तिहरूको सम्बन्धमा व्यवस्था गरिएको छ । यसरी विभिन्न ऐनमा खानतलासी र बरामद गर्दा अपनाउनु पर्ने प्रक्रियाको सम्बन्धमा व्यवस्था गरेको भए तापनि सामान्य कानून र विशेष कानूनका प्रावधानमध्ये विशेष कानूनले गरेको व्यवस्था अवलम्बन गरिनुपर्छ भन्ने कानून व्याख्यासम्बन्धी आधारभूत सिद्धान्त हो भने मुलुकी ऐनको प्रारम्भिक कथनको दफा ४ मा पनि विषय विषयमा छुट्टाछुट्टै बनेका कानूनमा लेखिए जतिमा सोही कानूनबमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐनबमोजिम गर्नुपर्छ भन्ने उल्लेख भएको
छ । यस अवस्थामा मुलुकी ऐन र सरकारी मुद्दासम्बन्धी ऐन प्रस्तुत मुद्दाको सन्दर्भमा सामान्य कानून हुन् भने लागु औषध (नियन्त्रण) ऐन विशेष कानून हो । अतः प्रस्तुत मुद्दामा बरामदी मुचुल्का कानूनबमोजिम छ वा छैन भन्ने कुराको परीक्षण लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ८ ले गरेको व्यवस्थाको आधारमा गरिनु पर्छ । लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ८ मा निम्न लिखित व्यवस्था गरेको पाइन्छ ।
(८) बिना वारेन्ट खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार : (१) यस ऐनअन्तर्गतको बिना वारेन्ट कुनै अपराध कुनै घर, जग्गा, सवारी वा ठाउँमा भइराखेको छ र तुरून्तै केही कारवाही नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायब हुने सम्भावना देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तिमा प्रहरी सहायक निरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी जुनसुकै बखत देहायका कामहरू गर्न सक्नेछन्-
(क) त्यस्तो घर, जग्गा, सवारी वा अन्य ठाउँमा प्रवेश गर्नू,
(ख) त्यसरी प्रवेश गर्दा कुनै बाधा विरोध भएमा ढोका फोरी प्रवेश गर्न वा त्यस्तो बाधा विरोध हटाउन आवश्यक कारवाही गर्ने,
(ग) अपराधसित सम्बन्धित लागु औषध र अन्य सामानहरू तथा प्रमाणको लागी काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्ने, र
(घ) अपराध गरेको भनी शंका लागेको व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तारसमेत गर्ने ।
(२) उपदफा (१) बमोजिम कुनै, घर, जग्गा, सवारी वा अन्य कुनै ठाँउमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सदस्य वा त्यस ठाउँको एक जना भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्षी राखी गर्नु पर्नेछ ।
तर नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहवरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि त्यस्ता व्यक्तिहरू उपलब्ध नभएको उचित आधार भएमा कम्तिमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तिमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारी रोहवरमा मुचुल्का तयार गर्न सकिनेछ ।
६. यसरी लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा ८ को व्यवस्था हेर्दा बरामदी मुचुल्कामा भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सदस्य वा त्यस ठाउँको एकजना भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयका एकजना कर्मचारीलाई रोहवरमा राख्नुपर्ने उल्लेख गरेको
देखिन्छ । तर उपर्युक्त व्यक्तिहरू उपलब्ध नभएको अवस्थामा कम्तिमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तिमा दुईजना प्रहरी सहायक निरिक्षक दर्जासम्मको कर्मचारीलाई रोहवरमा मुचुल्का तयार गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा बरामदी मुचुल्कामा सोही जिल्लाको सोही गा.वि.स. शिवानगर को निवर्तमान गा.वि.स. अध्यक्ष त्रिवेणीप्रसाद चौधरीलाई रोहवरमा राखेको देखिन्छ । विगतमा गा.वि.स. अध्यक्षको जिम्मेवारी सम्हालिसकेको निज त्रिवेणी प्रसाद चौधरीलाई स्थानिय भलाद्मीको रूपमा लिन सकिन्छ । प्रतिवादीहरूले पुनरावेदन पत्रमा बरामदी मुचुल्का खडा गर्दा वडा नं. ८ को व्यक्तिलाई रोहवरमा नराखेको भन्ने जिकिर लिई बरामदी मुचुल्काको वैधानिकतामा प्रश्न उठाएका रहेछन् । सो सम्बन्धमा विचार गर्दा ऐनको उल्लिखित व्यवस्थामा सो ठाँउको स्थानिय भलाद्मीलाई रोहवरमा राख्नु पर्ने भन्नेसम्म व्यवस्था गरेको देखिन्छ । सोही वडाको हुनुपर्ने भनी बाध्यात्मक व्यवस्था गरेको देखिँदैन । रोहवरमा राखिएका त्रिवेणीप्रसाद चौधरी पनि बरामदी मुचुल्का तयार परिएको शिवानगर गा.वि.स.कै स्थायी निवासी भएको र सो गा.वि.स. को अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेको व्यक्ति भएको अवस्थामा निजलाई स्थानिय भलाद्मीको रूपमा रोहवरमा राखेको कार्यलाई अन्यथा भन्न मिल्ने देखिँदैन ।
७. प्रतिवादीहरूले बरामदी मुचुल्कामा दुई जना प्रहरी सहायक निरीक्षक पदका कर्मचारीलाई रोहवरमा राख्नुपर्नेमा नराखेको भनी समेत जिकिर लिएको पाइन्छ । सो सम्बन्धमा हेर्दा ऐनको दफा ८ को उपर्युक्त व्यवस्थाअनुसार पहिलो प्राथमिकतामा सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सदस्य वा त्यस ठाउँको एकजना भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयका एकजना कर्मचारीलाई राख्नु पर्ने र सो नहुँदा औषध अनुसन्धान अधिकारी वा कम्तिमा दुइजना प्रहरी सहायक निरिक्षक दर्जासम्मको कर्मचारीलाई राख्नु पर्ने भनी प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख गरेको देखिन्छ । स्थानिय भलाद्मीको रूपमा पूर्व गा.वि.स. अध्यक्ष त्रिवेणीप्रसाद चौधरीलाई राखिसकेको अवस्थामा प्रतिवादिहरूले जिकिर लिएजस्तो प्रहरी सहायक कर्मचारीलाई रोहवरमा राख्नुपर्ने आवश्यकता नै परेन । बरामदी मुचुल्का कानूनबमोजिम नै रहेको पाइयो ।
८. प्रस्तुत मुद्दामा प्रतिवादी पुनरावेदकहरू मोहमद सफवान मुसलमान,महन्त ठाकुर भन्ने प्रभु र मोहम्मद जावेद मुसलमानले आफूहरू निर्दोष भएको र आफूहरूबाट लागु औषध बरामद नभएको तर प्रहरीले जबरजस्ती सहिछाप गर्न लगाएको भन्नेसमेत जिकिर लिएको देखिन्छ । पुनरावेदक प्रतिवादीहरूले सुरू जिल्ला अदालतमा पनि सोही व्यहोराको बयान गरेको देखिन्छ । यद्यपी निजहरूले सो जिकिरलाई शंकारहित तवरमा वस्तुनिष्ठ स्वतन्त्र प्रमाणको आधारमा पुष्टि गर्न सकेको देखिँदैन । लागु औषध मुद्दामा प्रमाणको भार (Burden of Proof) प्रतिवादीमा नै रहेको
हुन्छ । सामान्यतः प्रमाणको भार वादीमा रहने भए तापनि कतिपय मुद्दाहरूमा विषयगत अपराधको गाम्भिर्यतालाई विचार गरी कानूनले निषेध गरेको वस्तु प्रतिवादीबाट बरामद भएमा सो तथ्यलाई कसुर मान्ने कानूनी प्रावधान भई सो आपराधिक कार्य (Corpus Delicit) स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा राख्ने गरेको पाइन्छ । यसरी कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य गरेको मानिने प्रकृतिको अपराधलाई Possessory Crime भनिन्छ र त्यसप्रकारको आपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुन्छ । लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ को दफा १२ ले पनि कसैबाट लागु औषध बरामद भएको अवस्थामा कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने प्रमाणित गर्ने भार निजमा रहने र सो प्रमाणित गर्न नसके यस ऐनबमोजिम सजाय पाउने कार्य गरेको मानिने भन्ने स्पस्ट व्यवस्था गरी प्रमाणको भार प्रतिवादीमा हस्तान्तरण गरेको छ । यस अवस्थामा माथि नै विवेचना भई बरामदी मुचुल्का कानूनबमोजिम नै तयार भएको भन्ने प्रमाणित भइसकेको अवस्थामा प्रतिवादीहरूको साथबाट लागु औषध बरामद भएको भन्ने कुरामा विवाद रहेन । सो तथ्यलाई निज प्रतिवादीहरूले समेत अधिकारप्राप्त अधिकारीसमक्ष स्वीकार गरेको अवस्था छ भने प्रतिवादीबाट बरामद भएको धुलो चिजवस्तु हेरोइन हो भनी केन्द्रिय विधि विज्ञान प्रयोगशालाको च.नं. २२२५ मिति २०६७।१२।९ को पत्रसाथ प्राप्त हुन आएको प्रतिवेदनबाट देखिन्छ । मौकामा कागज गर्ने व्यक्तिहरू तथा मुद्दाका प्रतिवेदक प्रहरी कर्मचारीहरू समेत अदालतमा उपस्थित भई सुरू अनुसन्धानमा उल्लेख गरेको व्यहोरालाई समर्थन गरी बकपत्र गरेको अवस्थामा प्रतिवादीहरूले कसुर गरेको कुरा स्थापित हुन आउँछ । प्रमाणको भार प्रतिवादीहरूमा हस्तान्तरण हुने प्रस्तुत मुद्दामा प्रतिवादीहरूले आफ्नो निर्दोषिताको प्रमाण प्रस्तुत गर्न सक्नु पर्छ । केवल निर्दोष हौ भन्ने कथन मात्र निर्दोषिता पुष्टि गर्नको लागि पर्याप्त हुन सक्दैन ।
९. अतः माथि उल्लेखत आधारमा लागु औषधको प्रकृति, बरामद भएको परिमाण तथा भारतबाट ल्याई नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले संगठित भई ४ जनाको समूह बनाई योजनाबद्धरूपमा गरेको कसुरको मात्राहरूलाई विचार गरी ऐनको दफा १४ को उपदफा (१) को खण्ड (छ) को उपखण्ड (३) बमोजिम पुनरावेदक प्रतिवादीहरूलाई जनही १७ वर्ष कैद र जनही रू.२१,००,०००।– जरिवाना हुने ठहराई सुरू कपिलवस्तु जिल्ला अदालतले गरेको मिति २०६८।१२।१५ को फैसलालाई सदर गर्ने गरी गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६९।७।१९ को फैसला मिलेकै हुँदा सदर हुने
ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत: सन्देश श्रेष्ठ
इति संवत् २०७३ साल भदौ १६ गते रोज ५ शुभम् ।