शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७६१ - कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७३।०३।१७

०६९-CR-०७२९

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, गा.वि.स. बसविट्टी वडा नं. ३ घर भई हाल कारागार कार्यालय राजविराजमा थुनामा रहेको सिकीलाल यादव 

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला सप्तरी, गा.वि.स. बसविट्टी वडा नं. २ बस्ने लालुप्रसाद यादवको जाहेरीले नेपाल सरकार

 

मृतकको टाउकोमा सबैभन्दा ठूलो चोट परेकोले सो चोट मृत्युको मुख्य कारण देखिए तापनि यी प्रतिवादीहरूले छोडेका अन्य चोटहरू मृतकको शरीरमा देखिएको र सो चोटहरूको मृत्यु हुने घटनामा सहायक नहुने भन्ने देखिँदैन । अर्थात् कुटपिट गर्दा परेका सामूहिकमध्ये मुख्य चोट र सहायक चोटको एकीकृत परिणाम वा सहसम्बन्धात्मक प्रभाव (cumulative effect) का कारण मृतकको मृत्यु भएको देखिने ।

मृतकको शरीरमा रहेका धेरै घाउहरू मध्ये टाउको तथा अन्य शरीरमा भएका घाउहरू के कुन कसुरदारले हानेको भनी यकिन भएको छ र घाउहरू ठूला साना भएकोमा ठूलो र गम्भिर प्रकृतिका घाउहरू जसले मृतकको मरण कार्यलाई leading गरिरहेको छ साथै यो घाउको चोटले मानिस मरेको भनी विशेषज्ञद्वारा पुष्टि भएको र सो तथ्यलाई मिसिल संलग्न अन्य तथ्य एवं प्रमाणबाट अन्यथा देखिँदैन भने त्यस किसिमका leading injury को चोट छाड्ने अभियुक्त मुख्य अभियुक्त हो भनी छुट्टाउन कठिनाई नहुने । त्यस्तै चोट प्रहारमध्ये जुन leading injury को कारणले मर्ने कुरामा मुख्य भूमिका रहे पनि अन्य सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहसम्बन्धात्मक प्रभाव (correlated effect) रहने हुँदा त्यस्ता सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहायक तत्त्व हुँदैन भनी अनुमान गर्न नमिल्ने । 

(प्रकरण नं. ६)

पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद ढुङ्गेल

प्रत्यर्थी वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता  चन्द्रकुमार पोखरेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः 

मा.जिल्ला न्यायाधीश श्री योगेन्द्रप्रसाद साह

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री बलराम विष्ट

माननीय न्यायाधीश श्री प्रेम बहादुर के.सी.

 

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

मिति २०६१।५।३१ गते स-साना बच्चाहरूको बीचमा झगडा हुँदा जिल्ला सप्तरी बसविट्टी गा.वि.स. वडा नं. ३ बस्ने मेरो छिमेकी अं. ५० वर्षकी लक्ष्मी खिडहर यादव र निजका भाइ अच्छेलाल यादव र लक्ष्मी खिडहर यादवकै बुहारी पावती देवी (अमेरिका)समेतले हामी निवेदकहरू सिकीलाल यादव, श्रीमती एकावरी देवी यादव, मुखीलाल यादवलाई लाठी, फट्टा, रड, धारिलो हतियारसमेतले कुटपिट गरी घाइते बनाउनुका साथै श्रीमती एकावरी देवीको हातसमेत भाँची दिई सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ रहेकोले घाजाँच केस फारम गरिपाउँ भन्ने मिति २०६१।६।२ मा परेको संयुक्त निवेदन ।

मिति २०६१।५।३१ गते अपराह्न ४ बजेको समयमा स-साना केटाकेटीहरूको विषयमा झगडा हुँदा सिकीलाल यादव, निजको श्रीमतीसमेतले निजकै घरमा कुटपिट गर्न लाग्दा त्यहाँबाट उम्की घरमा आउँदासमेत प्रतिवादीहरू आक्रोषित हुँदै हातहातमा लाठी, भाटा, इँटा, ढुङ्गा लिएर हाम्रो घरमा आई विपक्षी मध्येको सिकीलालले मेरो बुबा लक्ष्मी खिडहर यादवलाई भाटाले मरणासन्न स्थान बायाँ कञ्चटमा प्रहार गरी बुबा ढलेपछि निजकी श्रीमतीले भाटाले बुबाको कोखामा हिर्काउनुको साथै अन्य प्रतिवादीहरूसमेतले मेरो काका अच्छेलाल, मेरो बुबा लक्ष्मी खिडहर यादव र मेरो श्रीमतीसमेतलाई लाठी, भाटा, इँटा, ढुङ्गा, लात्ती बक्सिङसमेतले जत्रतत्र कुटपिट गरी घाइते बनाएकोले सगरमाथा अञ्चल अस्पतालमा ल्याई उपचार गराई घर फर्काई लिइ गएकोमा झन् सिरियस हुनु भएकोले पुनः अस्पतालमा आई नपुग्दै बुबा लक्ष्मी खिडहर यादवको मिति २०६१।६।३ गते साँझ १८:०० बजे मृत्यु भएकोले सिकीलाल यादव, निजकी श्रीमती एकावरी देवी यादव, मुखीलाल यादव, सैनीदेवी यादव, आसिसलाल यादव, केवल खिडहर यादव, मुसहरू यादव, सिताराम यादवसमेतले मेरो बुबा वर्ष ५५ को लक्ष्मी खिडहर यादवसमेतलाई कुटपिट गरी घाइते बनाएकोमा सोही चोटको असरबाट मिति २०६१।६।३ गते मेरो बुबा लक्ष्मी खिडहर यादवको मृत्यु भएकोले आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको लालुप्रसाद यादवको जाहेरी दरखास्त ।

जिल्ला सप्तरी बसविट्टी गा.वि.स. वडा नं. ३ स्थित खिरहैर टोल पूर्व सिताराम यादवको घर पश्चिम मुसहरू यादवको घर उत्तर नजिकै धानखेती दक्षिण सिकीलाल यादवको घर जग्गा उल्लिखित ४ किल्लासमेतमा लक्ष्मी खिडहर यादवको घर र सिकीलाल यादवको घर आँगनमा मिति २०६१।५।३१ गते लक्ष्मी खिडहर यादव, सिकीलाल यादव पक्षमा मानिसहरू बीच झगडा कुटपिट भएको सुरू घटनास्थल गई उक्त घटनास्थलमा ३ फिट ३ इन्च लम्बाइ ३ इन्च चौडाइ चार पाटे काठको फट्टा फेला परी सो काठको फट्टाले लक्ष्मी खिडहर यादवलाई सिकीलाल यादवले सो वारदातमा कुटपिट गरेको भनी मृतककी श्रीमतीले बताएअनुसार बरामद गरी ल्याएको घटनास्थल मुचुल्का ।

सगरमाथा उञ्चल अस्पतालको मुर्दाघरमा रहेको जिल्ला सप्तरी बसविट्टी गा.वि.स. वडा नं. ३ बस्ने वर्ष ५५ को लक्ष्मी खिडहर यादवको लासको टाउकोमा पछाडि भागमा सामान्य टुटुल्को उठेको बायाँ काँधमा खकालीमा आधा इन्च छाला पिल्सिएको दाहिने आँखा पूरै फुटेको दाहिने कानको लोती चुँडिएको बायाँ गालाको तल्लो भागमा १ इन्च चौडाइ पिल्सिएको बायाँ साइड घाँटी गर्दनको भागमा ६ वटा खाटा बस्न लागेको स-साना दागहरू देखिएको भन्ने घटनास्थल लासजाँच प्रकति मुचुल्का ।

मिति २०६१।५।३१ गते दिउसो स-साना केटाकेटीहरूको निहुँलाई लिई सिकीलाल यादव र मेरो दाजु लक्ष्मी खिडहर यादवसमेत मसँग दुवै पक्षबीच कुटपिट हुँदा सिकीलाल यादव, निजकी श्रीमती एकावरी देवी यादव, मुखीलाल यादव, सैनीदेवी यादव, आसिरलाल यादव, मुसहरू यादव, सिताराम यादव, केवल यादवसमेतका मानिसहरूले लाठी ढुंगा इँटा भाटासमेत लिएर मेरो दाजु लक्ष्मी खिडहर यादवलाई कुटपिट गर्नुका साथै सो झगडामा काठको भाटाले दाजु लक्ष्मी खिडहर यादवको कञ्चट र आँखासमेतमा सिकीलाल यादवले हिर्काई घाइते बनाएकोमा सोही चोटको असरबाट मिति २०६१।६।३ गते सगरमाथा अञ्चल अस्पतालमा चेक अप गराई फर्की घरतर्फ लिई जाँदै गर्दा बाटैमा निज लक्ष्मी खिडहर यादवको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको अच्छेलाल यादवको कागज । 

जाहेरीमा उल्लिखित प्रतिवादीमध्ये पक्राउ परी आएका सिकीलाल यादवको विभिन्न शारीरिक अंगमा विभिन्न घा चोट पर्नुको साथै बायाँ हात भाँचिएको पुष्टि हुने घाजाँच केस फारम रिपोर्ट ।

मिति २०६१।५।३१ गते दिउँसो अं. ४ बजेतिर लक्ष्मी खिडहर यादवकी नातिनी र मेरो नातीबीच झगडा भएको विषयमा हामी दुवै थरीबीच झगडा कुटपिट हुँदा लक्ष्मी खिडहरले फलामको रडले हिर्काई मेरो हात भाँची दिनुका साथै अच्छेलाल यादवले मेरो श्रीमान्‌को टाउकोसमेतमा हिर्काई सख्त घाइते बनाएका हुन् । उक्त झगडामा म, मेरो श्रीमान्‌, देवर मुखीलाल यादवबाहेक जाहेरवालाको जाहेरीमा उल्लिखित अन्य प्रतिवादीहरू कोही थिएन । हामीले निज लक्ष्मी खिडहर यादवबाट विवादको क्रममा सामान्य लछारपछारबाहेक अन्य कुनै हतियार उठाई कुटपिट गरेका छैनौं । वारदातपश्चात पनि साधारण अवस्थामा रहेका निज लक्ष्मी खिडहर यादव मिति २०६१।६।३ गते अस्पताल हिँडेर आई फर्की घरतर्फ जाँदै गर्दा बाटोमा एक्कासी ढली मृत्यु भएको भन्ने सुनी थाहा पाएको र पहिलादेखि नै लक्ष्मी खिडहर यादव रोगी भएकोले सोही कारणले निजको मृत्यु हुन सक्छ भन्ने व्यहोराको प्रतिवादी एकावरी देवी यादवको बयान कागज ।

मिति २०६१।५।३१ गते मेरी श्रीमती एकावरी देवी यादव र जाहेरवालाकी श्रीमतीबीच झगडा परेकोले म बाहिर निस्कँदा तत्काल आवेशमा आई जाहेरवालाको काका अच्छेलाल यादवले लाठीले मेरो टाउकोमा हिर्काई हामी दुवै थरीबीच सामान्य कुटपिट झगडा भएको, सो वारदातमा लक्ष्मी खिडहर यादवले मेरो श्रीमती एकावरी देवी यादवलाई फलामको रडले हिर्काई हातसमेत भाँची सख्त घाइते भएकोले तत्काल सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार गर्न ल्याई बेड भर्ना गराई उपचार भइरहेकोमा मिति २०६१।६।३ गते दिउसो लक्ष्मी खिडहर यादवसमेत चेकअप गराउन उक्त अस्पतालमा आई चेकअप गरी फर्की घरतर्फ जाँदै गर्दा बाटोमा एक्कासी बेहोस भई लडेपछि सोही स्थानमा निजको मृत्यु भएको भन्ने थाहा पाएकोले निजको मृत्यु कुटपिट गरेको कारणबाट नभई निज पहिलादेखि नै ब्लड प्रेसरको रोगी भएकोले सोही रोगको कारण मृत्यु भएको हुनुपर्छ । हामीले निजलाई त्यसरी मरणासन्न हुने गरी कुटपिट नगरेको कारण कुटपिटको कारण निजको मृत्यु भएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सिकीलाल यादवको बयान कागज ।

टाउको समेतमा चोट परेको कारण मृत्यु भएको पुष्टि हुने मृतक लक्ष्मी खिडहर यादवको लासजाँच पोष्टमार्टम रिपोर्ट ।

शरीरको विभिन्न भागमा सामान्य चोट परेको पुष्टि हुने अच्छेलाल यादवको घाजाँच केस फारम रिपोर्ट ।

मिति २०६५।५।३१ गते दिउसो अं. ४ बजेतिर स-साना केटाकेटीहरूको विषयमा छिमेकी लक्ष्मी खिडहर यादव र अच्छेलाल यादवसमेत सँग मेरो बुबाआमा र काका मुखीलाल यादवको झगडा भई सो झगडामा लक्ष्मी खिडहर यादवले मेरी आमा एकावरी देवी यादवलाई फलामे रडसमेतले कुटपिट गरी हातसमेत भाँचिदिएका उक्त घटनामा लक्ष्मी खिडहर यादवको शारीरिक अंग तथा आँखासमेतमा कुनै घाचोट नपरी वारदातपछि समेत हिँडडुल काम गरिरहेका थिए । सोही वारदातमा घाइते भएका मेरो बुबाआमा अस्पतालमै बेड भर्ना भएकोले आफूलाई घाउचोट परेको बहाना बनाई सगरमाथा अञ्चल अस्पतालमा  जँचाउन भनी २०६१।६।३ गते हिँडेरै गएकोमा फर्की आउँदासमेत ५ किलो भन्ने ठाउँबाट बसविट्टीतर्फ हिँडेर आइरहेकोमा रायपुर-१ पौवा टोलस्थित सुधिर खंगको घरअगाडि बाटोमा रहेको आँपको छहारीमा बसेको अवस्थामा एक्कासी बेहोस भई ढली सोही स्थानमा निज लक्ष्मी खिडहर यादवको मृत्यु भएको भन्ने सुधिर खंगसमेतबाट सुनी थाहा पाएको हुँदा निजको मृत्यु कुटपिटबाट भएको नभई अन्य कारणबाट भएको हो भन्नेसमेत व्यहोराको राधादेवी यादवको घटना विवरण कागज ।

मिति २०६१।६।३ गते दिउँसो ५ किलोतर्फबाट बसविट्टीतर्फ हिँडेर आइरहेका जिल्ला सप्तरी बसविट्टी गा.वि.स. वडा नं. ३ बस्ने लक्ष्मी खिडहर यादव र निजका भाइ अच्छेलाल यादव जिल्ला सप्तरी रायपुर गा.वि.स. वडा नं. १ स्थित मेरो घरअगाडि आँपको छहारीमा बसेकोमा निजहरू मध्ये लक्ष्मी खिडहर यादव एक्कासी बेहोस भएर ढली तत्काल सोही स्थानमा मृत्यु भएकोले मृतक लास शुभलालसहितले बोकी बसविट्टीतर्फ लिई गएका 

हुन् । मैले देखेसम्म निज लक्ष्मी खिडहर यादवका दुवै आँखा राम्रै अवस्थामा थिए । अगाडिको झगडा आफूले नदेखेको हुँदा खुलाई भन्न सक्दिन भन्ने बुझिएका सुधिर खंगको कागज ।

जाहेरी दरखास्तमा तत्काल लक्ष्मी खिडहरको स्थानीय उपचार गराएको, अस्पतालको इमरजेन्सी वार्डमा मिति २०६१।६।३ गते ल्याई उपचार गराएको भनी उल्लेख गरेकोमा  सगरमाथा अञ्चल अस्पतालबाट इमरजेन्सी वार्डमा उक्त दिन लक्ष्मी खिडहर यादव उपचारार्थ भर्ना नभएको सो दिन ओ.पि.डी.बाट पुर्जा काटी चेकअप गराई निज लक्ष्मी खिडहर स्थानीय उपचार गराएको अस्पतालको इमरजेन्सी वार्डमा मिति २०६१।६।३ गते ल्याई उपचार गराएको भनी उल्लेख गरेकोमा सगरमाथा अञ्चल अस्पतालबाट इमरजेन्सी वार्डमा उक्त दिन लक्ष्मी खिडहर यादव उपचारार्थ भर्ना नभएको सो दिन ओ.पि.डी.बाट पुर्जा काटी चेकअप गराई निज लक्ष्मी खिडहर यादव फर्की गएको भन्ने व्यहोरा उल्लिखित भई तत्सम्बन्धी पुनः जाहेरवालाको कागज गराउँदा मिति २०६१।६।३ गते ओ.पि.डि. पुर्जी काटी बाबु लक्ष्मी खिडहर यादवको सगरमाथा अञ्चल अस्पतालमा चेकअप गराएको उक्त झगडापश्चात् अन्य कुनै क्लिनिकमा लगी उपचार नगराएको अस्पताल आउँदा र जाँदासमेत निज लक्ष्मी खिडहर यादव आफैँ हिँडी गएको मृत्युपश्चात् पनि निजका दुवै आँखा सद्दे नै देखे हेरेको छु भन्ने जाहेरवाला लालु प्रसाद यादवले गरेको कागज ।

मिति २०६१।५।३१ गते साना केटाकेटीको विषयलाई लिई सिकीलाल यादव, एकावरी देवी यादव, मुखीलाल यादव, आशिषलाल यादव, केवल यादव, मुसहरू यादव, सिताराम यादव र मेरो ससुरा निजका भाइ अच्छेलाल यादवबीच झगडा कुटपिट हुँदा सो कुटपिटको चोटबाट ससुरा लक्ष्मी खिडहर यादवको गर्धन टाउकोलगायतका शारीरिक अंगहरूमा घा चोट पर्नुका साथै दाहिने आँखासमेत रातो भएको र छातीसमेतमा असर परी मिति २०६१।६।३ गते सोसम्बन्धी चेकअपको लागि अञ्चल अस्पताल, राजविराज जानु भएकोमा सो दिन बेलुका निज ससुराको मृत्यु मिति २०६१।५।३१ गते प्रतिवादीहरूले गरेको कुटपिटको कारणले नै मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने श्रीमती अमेरिका देवी यादवको कागज ।

मिति २०६१।५।३१ गते अं. ४ बजे बेलुका जाहेरवालाको घरमा होहल्ला भई हेर्न आउँदा सिकीलाल यादव र जाहेरवालाको घरको आँगनको बीचमा लगाएको बार भत्काई सिकीलाल यादव, निजको श्रीमती एकावरी देवी यादव, मुखीलाल यादव र सैनीदेवी यादव आ-आफ्ना हातमा लाठी, फट्टा, इँटा, पत्थरसमेत बोकी लिई जाहेरवालाको घर आँगनमा गई हाल मृतक लक्ष्मी खिडहर यादवसँग झगडा कुटपिट गर्दै रहेका, त्यसबेला लक्ष्मी खिडहर यादवको हातमा लाठी र अच्छेलाल यादवको हातमा समेत भाटा बोकेको देखेको हुँ । छुट्टाउन खोज्दा दुवै पक्ष आवेशमा आई झगडा गरी रहेकोले अन्य मानिसहरू र जाहेरीमा उल्लिखित अन्य प्रतिवादीहरूसमेत सोही स्थानमा आइपुगेपछि म आफ्नो घरतर्फ फर्की गएको हुँ । मिति २०६१।६।३ गते राजविराजबाट फर्की घरतिर जाँदै गर्दा जिल्ला सप्तरी रायपुर गा.वि.स. वडा नं. १ स्थित पौवा टोलमा पुग्दा हाल मृतक लक्ष्मी खिडहर यादव सोही स्थानमा ढली मृत्यु भएको र अच्छेलाल यादवले उक्त स्थानबाट निज मृतकलाई घरसम्म लगी दिन भनेकोले एक साइडमा बोकी उक्त लास निजको घरसम्म पुर्‌याई दिएको हुँदा मृतकको कारणबारे खुलाई भन्न सक्दिन भन्ने बुझिएका शुभलाल यादवको कागज ।

मिति २०६१।५।३१ गते जाहेरवालाको घरमा होहल्ला झगडा भएको थाहा पाई हेर्न जाँदा सिकीलाल यादव, निजकी श्रीमती एकावरी देवी, मुखीलाल यादव, लक्ष्मी खिडहर यादव र अच्छेलाल यादवबीच झगडा कुटपिट भइरहेको थियो । दुवै थरीका मानिसहरूले आ-आफ्नो हातमा लाठी ढुंगा बोकी हानाहान कुटपिट गरी रहेका थिए। जाहेरवालाको जाहेरीमा उल्लिखित अन्य प्रतिवादीहरूलाई सो वारदातमा संलग्न भएको मैले देखिन । झगडाले उग्ररूप लिएपछि म आफ्नो घरतर्फ गएँ । पछि बुझ्दा दुवैथरीका मानिस घाइते भएको थाहा पाएकोमा लक्ष्मी खिडहर यादव मिति २०६१।६।३ गते उपचारको लागि राजविराज गई अस्पतालमा चेकअप गराई घर फर्की आउँदै गर्दा बाटोमा मृत्यु भएको भन्ने सुनेको हुँदा निजको के कसरी मृत्यु भएको खुलाई भन्न सक्दिन भन्ने व्यहोराको बुझिएका विहारी यादवको कागज ।

मिति २०६१।५।३१ गते उल्लिखित जाहेरवालाको बाबु र प्रतिवादीहरू बीच भएको झगडासम्बन्धी अच्छेलाल यादवले मिति २०६१।६।१ मा अ.न.प्र. राजविराजमा निवेदन दिँदा विपक्षी सिकीलाल यादव, मुखीलाल यादव, एकावरी देवी यादव, निजकी छोरी राधादेवी यादव, रेखाकुमारी यादव, मुखीलालकी छोरीसमेत भई कुटपिट गरेको भनी निवेदन दिएकोमा मिति २०६१।६।४ गते घटना विवरण गर्दा उल्लिखित विपक्षीमध्येका राधादेवी यादव, रेखाकुमारी यादव, मुखीलालकी छोरिसमेत भई कुटपिट गरेको भनी निवेदन दिएकोमा मिति २०६१।६।४ गते घटना विवरण कागज गर्दा उल्लिखित विपक्षीमध्येका राधादेवी यादव, रेखाकुमारी यादवको नाउँ उल्लेख नगरी अन्य आशिषलाल यादव, मुसहरू यादव, सिताराम यादव, केवल यादव र सैनीदेवी यादव सो घटनामा संलग्न थिए भनी बताएकोले तत्सम्बन्धी पुनः बुझ्दा उल्लिखित झगडामा राधादेवी यादव, रेखाकुमारी यादव संलग्न थिइनन् । जाहेरीमा उल्लिखित प्रतिवादीहरूले उल्लिखित घटना गरेका हुन् भनी अच्छेलाल यादवले गरी दिएको घटना विवरण कागज ।

मिति २०६१।५।३१ गते अपराह्न ४ बजे स-साना केटाकेटीहरूको विषयलाई लिई प्रतिवादी सिकीलाल यादव, एकावरी देवी यादव, मुखीलाल यादव, जाहेरवालाका बाबु लक्ष्मी खिडहर यादवसमेत तथा निजको भाइ अच्छेलाल यादवबीच कुटपिट झगडा भएको कुरालाई पुष्टि गर्दै मिति २०६१।६।३ गते तत्सम्बन्धी चेकअप गराउन राजविराज गएका लक्ष्मी खिडहर यादव जिल्ला सप्तरी रायपुर गा.वि.स. वडा नं. १ स्थित पौवा टोलमा अस्पतालबाट फर्की घरतर्फ आउँदै गरेको अवस्थामा एक्कासी बेहोस भई ढली सोही स्थानमा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्राय: एकै मिलानको घटनास्थल वस्तुस्थिति 

मुचुल्का ।

यसमा उल्लिखित तत्त्वहरूबाट मृतकको भाइ अच्छेलाल र अभियुक्तमध्येका मुसहरू यादवबीच जग्गा मुद्दा चली पूरानो रिसइवी भएको बीचबीचमा सानासाना बच्चाहरूको झगडाको विषयमा पनि विवाद हुने गरेको समेतबाट दुवै पक्ष विपक्षबीच ज्यान मार्नुपर्ने इवी विद्यमान रहेको स्थितिमा आ-आफ्नो नाती नातिनाको झगडाको विषयलाई लिएर मिति २०६१।५।३१ गते जाहेरवाला र प्रतिवादीहरू बीच झगडा परेको 

देखिन्छ । घटनाको चश्मदिद् व्यक्तिको रूपमा रहेका जसोधिया देवी (मृतककी श्रीमती) र अच्छेलाल यादवको घटना विवरण कागज गर्दा सबै अभियुक्त झगडामा सामेल भई लाठी, फट्टा, लात बक्सिङसमेतले प्रहार गर्दा परेको चोटको कारणबाट मृतक मरेको भन्ने लेखिएबाट सबै अभियुक्तको वारदातमा संलग्नता रहेको देखिन्छ । वारदात हुँदा अभियुक्त सिकीलाल, एकावरी देवी बसी घाइते भएकोले अस्पताल भर्ना गराएको विद्यमान स्थितिमा सोही झगडाबाट मृतकको पनि टाउकोको पछाडिपट्टी चोट लागी टुटुल्को उठेको भन्ने लासजाँच प्रकृति मुचुल्काबाट देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको मृत्यु टाउकोमा परेको चोटको कारणबाट भएको भन्ने उल्लिखित भएबाट प्रतिवादीहरूसँग मिति २०६१।५।३१ गते भएको झगडा कुटपिटको कारणबाट मृतक लक्ष्मी खिडहर यादवको मिति २०६१।६।३ गते मृत्यु भएको देखिँदा अभियुक्तहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर गरेको पुष्टि हुन आयो । मृतक लक्ष्मी खिडहर यादवलाई प्रहार गर्दामा अग्रसर हुने सिकीलाल यादव, एकावरी देवी, मुखीलाल यादवको प्रत्यक्ष संलग्नता रहेको भन्ने किटानी जाहेरी, मौकामा कागज गर्ने व्यक्तिको भनाइ र चश्मदिद् व्यक्तिहरूको भनाइ देखिँदा अभियुक्तमध्येका सिकीलाल यादव, एकावरी देवी यादव, मुखीलाल यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम र अन्य सैनीदेवी यादव, आशिषलाल यादव, केवल खिडहर यादव, मुसहरू यादव र सिताराम यादव वारदातमा संलग्न देखिए पनि निजहरूले यो यस्तो हात हतियार वा हात घुस्साले प्रहार गरे भन्ने कुरा मौकाका व्यक्तिहरूले किटानसाथ लेखाउन नसकेको र मृतक मर्नु अघिसम्म पनि मरणासन्न अवस्थामा नदेखिएको र घरबाट हिँडेर बस स्ट्याण्डसम्म आई आफैँ बस चढी राजविराज आई उपचार गरी घर फर्कंदा बाटोमा मृत्यु भएकोबाट र यी अभियुक्तहरूले मृतकको शरीरमा छोई कुटपिट गरेको नदेखिँदा निजहरूलाई मार्ने मतलबमा पसी वारदातमा संलग्नसम्म रहेको कसुरमा ऐ. को १७(३) नं. बमोजिम सजाय गरी पाउन मागदाबी लिई पक्राउ परेको अभियुक्त सिकीलाल यादव र एकावरी देवी यादवलाई अभियोग पत्र साथ प्रस्तुत गरिएको छ । फरार रहेका मुखीलाल यादव, सैनीदेवी यादव, आशिषलाल यादव, केवल खिडहर यादव, सिताराम यादव र मुसहरू यादवलाई सम्मानित अदालतबाटै कानूनबमोजिम म्यादी पुर्जी र वारेन्ट जारी गरी उल्लिखित दाबीबमोजिम सजाय गरी पाउन अनुरोध गर्दछु भन्नेसमेत व्यहोराको २०६१।६।२७ को अभियोग पत्र ।

मिति २०६१।५।३१ गते दिनको ४:३० बजेको समयमा मेरी नातिनी रिंकु तथा मृतक लक्ष्मी यादवकी नातिनी आरती बाटोमा खेलिरहेका, तिनीहरू बीच झै-झगडा भइरहेको थियो । मृतक लक्ष्मी यादवले मेरो नातिनी रिंकु यादवलाई आएर पिट्न थाल्यो । यसरी नपिट्नु भनी अनुरोध गर्दा उल्टै मलाई मृतक लक्ष्मीले मेरो हातमा दबियाले काटी दिए भने लक्ष्मीको जेठो भाइ अच्छेलालले बाँसले मेरो टाउकोमा हिर्काए । म बेहोस भएछु । त्यही दिन मलाई सगरमाथा अञ्चल अस्पतालमा ल्याई उपचार गरिएको 

थियो । लक्ष्मी यादव मरे भनी अस्पतालबाट मैले सुनेँ । म अस्पतालमा रहेका अवस्थामा मृतक लक्ष्मी यादवलाई अस्पताल ल्याएका थिए । मैले निज मृतकलाई कुटपिट गरेको छैन । निजको मृत्यु के कारणले भएको हो भन्न सक्दिन । उक्त २०६१।५।३१ गते म अस्पताल मै थिएँ । मसमेत भई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा घा जाँचको लागि निवेदन दिएका हौं । उक्त निवेदनमा लागेको ल्याप्चे छाप मेरो हो । मुखीलाल यादव मेरो भाइ नाताका हुन् । निजलाई पनि लक्ष्मी यादवसमेतले कुटपिट गरी हात भाँची दिएका थिए । सुनाएको घटनास्थल मुचुल्का ठीक छ । सो मुचुल्कामा लेखिएको काठको फट्टा मेरो होइन । अच्छेलालले गरिदिएको कागज व्यहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । निजले मसमेत भई मृतक लक्ष्मी यादवलाई कुटपिट गरिएको व्यहोरा लेखाएका रहेछन्, सो गलत हो । निजको व्यहोरा झुठा हो । २०६१।६।७ गते अधिकारप्राप्त अधिकारी समक्षको बयान व्यहोरा मेरो हो । मैले लेखाएको र सो बयानमा लागेको ल्याप्चे छाप मेरो नै हो ।  हामीलाई मृतकसमेत भई कुटपिट गरेका छन् तर हामीहरूले निजहरूलाई कुटपिट गरेका छैनौं । मृतक लक्ष्मी यादवलाई क कसले कुटपिट गरे भन्न सक्दिन । निजको मृत्यु के भएर भएको हो भन्न सक्दिन । मैले त सुनेको सम्म हो । अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सिकीलाल यादवले २०६१।६।२७ मा सुरू अदालतमा गरेको बयान ।

मिति २०६१।५।३१ गतेका दिन मेरी नातिनी र जाहेरवालाकी छोरी, मृतककी नातिनीबीच झगडा भएकोमा जाहेरवालाकी श्रीमतीले मेरी नातिनीलाई कुटपिट गर्न लागिन् । मैले बच्चाहरूको झगडा हो आफैँ मिल्छन् भनी सम्झाउँदा नमानी जथाभावी गाली गलौज गर्न लाग्दा मेरो श्रीमान्‌ मृतक लक्ष्मी, अच्छेलालसमेतका मानिस पनि जम्मा भए । त्यसबेला अच्छेलाल यादवले म, मेरा श्रीमान्‌समेतलाई गाली गलौज गर्दै निजले मेरो श्रीमान्‌लाई उचाली पछाडि लगी लात्तीसमेतले हिर्काए । त्यसैगरी निजको साथमा रहेका जाहेरवाला लालु यादव, निजकी श्रीमती पारो देवी, मृतक लक्ष्मी यादव र अच्छेलाल यादवसमेतले म र मेरा श्रीमान्‌ सिकीलाललाई लाठी ढुंगासमेतले टाउको हात फुटाई जीउको जत्रतत्र कुटपिट गरी बेहोस बनाई दिए । त्यसै दिन गाउँका रामप्रसाद, बासुदेव लगायतका मानिसहरूले अस्पतालमा ल्याई उपचारका लागि भर्ना गराई दिए । त्यसपूर्व उनीहरूले हामीहरूलाई कुटपिट गरेकोमा त्यसको उजुरी गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा गएका थिए । हामी अस्पतालमै रहेका बखत बासुदेव यादव (गाउँले) ले लक्ष्मी यादवको मृत्यु भएको कुरा भनेपछि लक्ष्मीको मृत्यु भएको थाहा पाएको हुँ । के कसरी मरे त्यस सम्बन्धमा थाहा छैन । मृतकलगायतका मानिसहरूले हामीलाई कुटपिट गरी बेहोस बनाएको 

हो । मैले मृतकलाई कुटपिटसमेत नगरेको हुँदा जाहेरी व्यहोरा झुठा हो । मृतकको मृत्यु भएको भनिएको दिनमा समेत हामी सगरमाथा अञ्चल अस्पताल तथा प्रहरीमा थियौं । २०६१।६।३ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन हामीले दिएको हो । सो मा भएको ल्याप्चे छापसमेत मेरो नै हो । मुखीलाल यादव मेरो छिमेकी देवर हुन् । हामीहरूलाई कुटपिट गरेको हल्ला सुनी भैंसी चराई रहेका उनी त्यहाँ के भएछ भनी हेर्न आएका बखत विपक्षीहरूले उनको हात भाँचिने गरी कुटपिट गरेछ । २०६१।६।४ को घटनास्थल लासजाँच मुचुल्का ठीक हो । सोही स्थानमा विपक्षीले हामीलाई कुटपिट गरेका छन् । काठको फट्टा हाम्रो होइन लक्ष्मी यादवको हो । लासजाँच मुचुल्काको सम्बन्धमा मलाई थाहा छैन । मिति २०६१।६।४ को अच्छेलाल यादवको कागज व्यहोराअनुसार हामीहरूले कुटपिट गरेको नभई उल्टै हामीहरूलाई नै निजहरूले कुटपिट गरेका हुन् । मृतकलाई साधारण लछारपछार गरेको भन्ने कुराबाहेक अन्य बयान व्यहोरा र सहीछाप मेरो हो । मैले मृतकलाई लछारपछारसमेत गरेको 

थिइँन । प्रतिवादी सिकीलालको प्रहरीसमक्षको बयान व्यहोरा साँचो हो । राधादेवी यादव र सुधिर खंगको कागज व्यहोरा ठीक साँचो हो । जाहेरवालाको कागज व्यहोरा पनि ठीकै होला किनकि लक्ष्मी यादव गाउँबाट हिँड्दै अस्पताल आउनु जानु गरेका थिए । अमेरिका देवीको कागज व्यहोरा झुठा हो । हामीहरूलाई कुटपिट गरी अङ्गभङ्ग गरी दिएकोमा उजुर गर्छन भनी त्यस्तो व्यहोरा लेखाएका हुन सक्छ । लक्ष्मी यादवलाई कसैले कुटपिट गरेको छैन । जाहेरीमा उल्लेख भएअनुसारको कसुर मैले गरेको नहुँदा सोअनुसार सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी एकावरी देवी यादवले मिति २०६१।६।२७ गते सुरू अदालतमा गरेको बयान ।

२०६१।५।३१ गते म सिताराम यादव, दर्पी यादव, महेन्द्र खंगसमेत २ बजे राजविराज सामान खरिद गर्नसमेत आएका थियौं । २०६१।५।३१ गते घर फर्केपछि सिकीलालकी नातिनी र लक्ष्मीको नातीसमेतमा झगडा भएको भन्ने थाहा भयो । राजविराजबाट फर्केपछि लक्ष्मी मरेको भन्ने सुनेँ । दुवै मितिमा कसैसँग भेट भएन । म कुटपिटमा थिइन । कोको थिए भन्न सक्दिन । मृतकको भाइ अच्छेलालसमेतसँग हक सफा मुद्दा मैले चलाएको थिएँ, सो कारणबाट पोलेको हुनुपर्छ । लक्ष्मी कसरी मरे भन्न सक्दिन । मैले कुटपिट नगरेकोले भन्न सक्दिन । जाहेरवाला तथा लक्ष्मीसँग मेरो झगडा थिएन । अच्छेलालसमेतको कागज व्यहोरा सुनेँ । मैले दिएको हक सफा मुद्दाको रिसइवीबाट निजले पोल गरी दिएको हुनुपर्छ तर झगडामा म संलग्न छैन । वस्तुस्थिति मुचुल्कासमेतको कागज सुनेँ । अन्य वस्तुस्थितिका मानिसले पोल नगरेको भए पनि रामप्रसाद यादवले मेरो र निजको खेत एकै ठाउँ भएकोले खेतको आली छाटछुट भएको कारणले झगडा भएकोले निजले घटनामा म थिएँ भनी पोलेको मात्र हो । तर म घटनामा छैन । मैले कसुर नगरेको हुँदा अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी आशिषलाल यादवले सुरू अदालतमा मिति २०६१।१०।११ मा गरेको बयान ।

मिति २०६१।५।३१ गतेका दिन २ बजेतिर म, आशिषलाल यादव, महेन्द्र खंग, दर्पी यादव राजविराज आएका थियौं। महेन्द्र इम्पोरियम बिजुली घरमा केही सामानसमेत खरिद गरी ५:३० बजे राजविराजबाट हिँडी ६:३० बजेतिर घर पुगेका थियौं । सो दिनभरी मृतक तथा अन्य लेखिएकाबाहेक कसैसँग भेट 

भएन । सिकीलालको नाती र लक्ष्मीको नातिनीबीचमा झगडा भएको भन्ने सुनेको हुँ । २०६१।६।३ गतेका दिन म राजविराज मै थिएँ । सो दिन लक्ष्मी मरेको भन्ने सुनेको थिएँ । जाहेरवालासँग कुनै रिसइवी छैन । मैले लक्ष्मी र केवल खिडहरको छोरा बसन्त कुमारसँग जग्गा मुद्दा चलेकोले म एक्लै सगोलै भएकोले दिएको होला । अच्छेलाल, लक्ष्मी, लालुप्रसाद, जसोधिया देवी, बुब्ली देवी, अमेरिकासमेत जाहेरवालाकै परिवार भएकोले जाहेरवालातर्फ बयान कागज गरेको हो । म कुटपिटमा सामेल छैन । लक्ष्मी, सिकीलालबीच झगडा भएको सुनेको हुँ । मैले कसुर गरेको छैन । अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको सिताराम यादवले सुरू अदालतमा गरेको बयान ।

मसमेतले कुटपिट गरी निज मृतक लक्ष्मी यादवको मृत्यु भएको होइन छैन । कसले कसरी मारे भन्न सक्दिन थाहा छैन । २०६१।५।३१ गतेका दिन रात म गाउँमा थिइन । छोराको ससुराली विषहरिया गा.वि.स. वडा नं. १ मा हुँदा फुलेश्वर यादव सम्धी भएकोले भगवानको पूजाको निम्तो आउँदा भाद्र ३० गते गई अश्विन १ गते घर फर्केको हुँ । अन्य प्रतिवादीलाई भेट भएन । विषहरिया जाँदा देवनाथ यादव साथमा थियो । २०६१।६।३ गतेका दिन मेरो साला दिघवा गा.वि.स. हुँदा गोरू बिरामी भएकोले हेर्न गएको 

थिएँ । ४ गते फर्की आएँ । घरमा आएपछि रायपुरमा लक्ष्मी मरे भन्ने सुनेँ । जग्गा घर भाडा दिलाई घर खाली मुद्दा चलेको थियो । सोही कारण किटान गरेको 

हुनुपर्छ । मैले कुटपिट गरेको होइन । अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन छैन भन्नेसमेत व्यहोराको प्रतिवादी केवल खिडहर यादवले सुरू अदालतमा गरेको बयान ।

मिति २०६१।५।२८ गते म मौलीमा छु । त्यतै भैंसी खरिद बिक्री गर्छु । धनेश्वर कापैर साथमा छ । अन्यसँग भेट भएन । मौली बकधुवा गा.वि.स. मा पर्छ, मेरो घरदेखि ४/५ कोष टाढा छ । १५ दिनमा घर फर्केपछि लक्ष्मी यादव मरे भन्ने सुधिर खंगले भन्दा थाहा भयो । मैले लक्ष्मी यादवलाई कुटपिट गरेको छैन । म गाउँघरमा छैन । मउपरको जाहेरी झुठा 

हो । कसले कुटपिट गरे भन्न सक्दिन । भाइ केवलसँग जग्गाको  बारे मुद्दा चलेको छ, सो कारण र गाउँको गुटबन्दी कारणसमेतले पोल गरेको हुनुपर्छ । मैले कुटपिट गरेको छैन । अभियोग दाबी झुठा भएकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मुसहरू यादवले मिति २०६१।११।२४ मा सुरू अदालतमा गरेको बयान ।

मिति २०६१।५।३१ गतेका दिन गाउँमै भैसी चराई रहेको थिएँ । दिनमा कसैलाई भेटिन । साँझमा फर्की आएँ । क-कससँग भेट भयो याद छैन । लक्ष्मी यादवलाई कुटपिट गरेको होइन छैन । कसले कुटपिट गरे गरेन थाहा छैन । बिरामी पहिलेदेखि नै थिए । सो बिरामीको कारण लडी मृत्यु भएको भन्ने खबर मेरो छोरा किशन यादवले भनेकोले पछि हेर्न गएँ । किन झगडा भएको भनी सोध्दा मलाई नै अच्छेलालले बाँसको लाठीले हातको नाडीमा हिर्काएकोले देव्रे हातको हड्डीमा चोट लागेको छ । इलाज गाउँघरमै गराएँ । सोही कारणबाट मलाई समेत जाहेरवालाले पोल गरेका हुन् । म झगडामा सामेल छैन । झगडा खतम भइसकेको थियो । मैले दुवैलाई सम्झाएकोमा मलाई हिर्काएको हो । निवेदन प्रहरीमा दिएका 

हौं । एकावरीले मुद्दा चलाएको छ तर मैले कतै मुद्दा चलाइन । मैले कसुर गरेको होइन । म कुटपिटमा सामेल छैन । पछिबाट मात्र आएको हुँ । मैले लक्ष्मी खिडहरलाई कुटपिट गरेको छैन । गाउँको गुटबन्दीबाट फसाएको हुँदा अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन छैन भन्नेसमेत व्यहोराको अभियोग पत्रमा मुखिलाल यादव भनी लेखिएको प्रतिवादी मुखा खिडहर यादवले सुरू अदालतमा गरेको बयान ।

मिति २०६१।५।३१ गतेका दिनमा ससुराली घर रायपुर-४ मा छु । सो जाहेरीअनुसार म कुटपिटमा सामेल थिइन । कुटपिट भयो भएन थाहा छैन । कसरी लक्ष्मी मरे, एक महिनापछि मात्र थाहा भयो । मैले कुटपिट झगडा गरेको छैन । मेरो नाउँ सैनी होइन फुलकुमारी यादव हो । म वारदात भनी लेखाएको मितिमा माइती घरमा नभई ससुराली घरमा छु । अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सैनी भन्ने फुलकुमारी यादवले सुरू अदालतमा मिति २०६४।६।६ मा गरेको बयान ।

प्रतिवादी केवलको साक्षी फुलेश्वर यादव, प्रतिवादी एकावरी देवीको साक्षी शुभक यादव, प्रतिवादी मुसहरू यादवको साक्षी दलबहादुर पोखरेलले र लिला प्रसाद निरौलाले, प्रतिवादी फुलकुमारीको साक्षी असर्फी यादव र महन्थी यादवसमेतले, प्रतिवादी मुखा खिडहर यादवको साक्षी श्रीलाल यादवले, वैद्यनाथ यादवले, प्रतिवादी सिताराम र आशिषलालको साक्षी महेन्द्र मण्डल खत्वेले, रूपचन्द दुगडले २०६४।७।२७ गते सुरू अदालतमा बकपत्र गरेको मिसिल सामेल रहेछ ।

बुझिएका व्यक्ति शुभलाल यादवले सुरू अदालतमा बकपत्र गरेको मिसिल सामेल रहेछ ।

वस्तुस्थितिका मानिस जसोधिया देवी यादवले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेछ ।

सरजमिनका मानिस कपल यादवले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।

जाहेरवाला लालुप्रसाद यादवले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको छ ।

प्रहरीमा कागज गर्ने अच्छेलाल यादवले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको छ ।

पोष्टमार्टम दिने डाक्टर टेकनारायण मण्डलले सुरू अदालतमा बकपत्र गरेको मिसिल सामेल रहेको छ ।

पोष्टमार्टम गर्ने चिकित्सक डा. तिर्थनारायण लाल कर्णले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको देखिन्छ ।

प्रतिवादी सिकीलाल यादवले यो यस कारणले परिबन्द परी रिस थाम्न नसकी हिर्काएको भन्ने कुरा स्वीकार नगरी कुटपिट गरेकोमा इन्कार रही बयान गरेको देखिन्छ । इन्कारी बयान गरे तापनि मिसिल प्रमाणबाट प्रतिवादी सिकीलालले मृतकलाई कञ्चटमा हानेको र टाउकोको चोटले मृत्यु भएको कुरा शव परीक्षण प्रतिवेदनसमेतबाट पुष्टि हुन आएकोले प्रतिवादी सिकीलाल मुख्य ज्यानमारा देखिएकोले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादी एकावरी र मुखालालको सम्बन्धमा विचार गर्दा लास प्रकृति मुचुल्कामा मृतकका शरीरमा थुप्रै घा चोट दागहरू देखिएको छ । दोहोरो कुटपिटमा सकेसम्म दुवै पक्षले कुटपिट गर्ने हुन्छ । कुटपिट वारदातमा एकावरी र मुखिलालसमेतले कुटाई खाएको कुरा निजहरूले घाउजाँच गराएको निवेदनबाट पुष्टि भइरहेको छ । वारदातस्थलमा आफू रहे भएको कुरामा प्रतिवादीहरू साबिती रहेका छन् । लासजाँच मुचुल्का हेर्दा धेरै घा चोट देखिन्छ । कसुर क कसले कुन कुन मात्रामा गरेका हुन् भनी ठहर गर्न मृतकको टाउकोमा सबैभन्दा ठूलो चोट परेको नै मृत्युको कारण हो भनी ठहर गर्न अरूले समेत कुटपिट गर्दा समूहरूपमा परेको वेदना कै एकीकृत हुन गई सोको Cumulative effect कारणबाट मृत्यु भएको देखिन्छ । मर्नेको शरीरमा भए परेको देखिएको घाखत अरू नै किसिमबाट भएको भन्ने सबुद प्रमाणको अभाव छ । एक जनाले मात्र कुटपिट नगरी प्रतिवादी एकावरी र मुखालालसमेतले कुटपिट गरेको भनी किटानीसाथ वादी पक्षका गवाहहरूले लेखाइदिएको 

छ । मृतकको शरीरमा परेका अन्य घाखतहरू एकै जनाकै कुटाईबाट पर्न नसक्ने भई सामूहिकरूपमा कुटपिट गरेको घा खतहरू देखिन्छ । कानूनको म्यादभित्रै मृत्युभएको देखिँदा थप वेदनाबाट मृत्यु भएको अवस्था हुँदा प्रतिवादी एकावरी र प्रतिवादी मुखिलाल कसुरदार नै देखिँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्छ । ज्यानसम्बन्धीको महलको १७(३) दाबी भएको प्रतिवादीहरूको हकमा विचार गर्दा यी प्रतिवादीहरूले कसुरमा इन्कार रही बयान गरेको र निजहरूको बयानलाई समर्थन हुने गरी निजहरूका साक्षीहरूले बकपत्र गरेको देखिन्छ । यी प्रतिवादीहरूले मृतकलाई मार्न मत सल्लाह गरेकोमा वा अरू किसिमले मतलबमा परेको भन्ने मिसिल संलग्न प्रमाण वादीका गवाहहरूले भन्न सकेका छैनन् । वारदातस्थलमा प्रतिवादीले उपस्थित भई यो यसरी सहयोग गरेको स्थिति देखिन आएको छैन । प्रतिवादीहरू कसुरदार हुन् भन्ने कुराको तथ्ययुक्त सबुद प्रमाण वादी पक्षबाट प्रस्तुत भएको देखिँदैन । केवल अभियोग लगाउनु मात्र कसुरदार स्थापित गर्ने आधार हुन सक्दैन । अभियोग प्रमाणित हुने आधार प्रमाणको अभावमा प्रतिवादीहरू केवल, मुसहरू, सिताराम, आशिषलाल र सैनी भन्ने फुलकुमारीसमेत कसुरदार नदेखिँदा निजहरूउपरको अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६६।१०।५ को फैसला ।

लास शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Head Injuries उल्लेख भएको छ । सरकारी पक्षको साक्षी सुधिर खंग, महेन्द्र यादव, रामप्रसाद यादवसमेतले एक्कासी लडी ढल्दा मृत्यु भएको हो । लक्ष्मी खिडहर पहिलेदेखि बिरामी रहेको र एक्कासी लड्दा निजको टाउकोमा चोट लागेको, सो कारणबाट External haematoma हुन गएको हो । हामीले मृतकलाई कुटपिट गरेको छैन । डा. तीर्थनारायण लाल कर्णले बकपत्रको स.ज. १३ मा सवालअनुसारको समय दुई वा तीन घण्टाभित्र मृतकको शरीरमा कुटपिट गर्दा चिह्न हुन सक्छ र रगत जस्तो पनि निस्कन सक्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ । त्यस्तो चोटपटक सन्दर्भमा सरकार पक्षको गवाह सरधादेवी यादव, सुधिर खंग, अमेरिका देवी यादव, बिहारी यादव, कमल यादव, बासुदेव यादव, जसोधिया देवीसमेतका व्यक्तिले मृतकको शारीरिक अवस्था सभ्य थियो, आँखा दुरूस्त ठीक थियो, फुटेको थिएन भन्ने प्रस्टरूपमा उल्लेख गर्नुभएको छ । यसरी चोटै नभएको चोट लासजाँच मुचुल्कामा देखी रहेकोले सो लासजाँच मुचुल्का र पोष्टमार्टममा उल्लेख चोट षड्यन्त्रपूर्वक बनाई मसमेतलाई फसाउनको लागि गरिएको हो । यसरी विरोधाभाष प्रमाणको आधारमा गर्नुभएको सुरू फैसला फौजदारी कानूनको सर्वमान्य सिद्धान्तविपरीत रहेकाले मसमेतलाई सफाई दिलार्इ पाउँ भन्नेसमेत व्यहोराको सिकिलाल यादवले पुनरावेदन अदालत, राजविराजमा लिएको पुनरावेदन जिकिर ।

यस वारदातको अवस्थालाई विचार गर्दा सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. र पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७बमोजिम प्रत्यर्थी झिकाई साथै अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदक सिकीलाल यादवको पुनरावेदनमा र पुनरावेदन नगर्ने प्रतिवादीहरूका हकमा मुद्दा साधकमा पेसीको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय राजविराजलाई दिई प्रत्यर्थी हाजिर भए वा म्याद गुजारे नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०६८।१०।४ को आदेश ।

प्रतिवादीमध्येका सिकीलालले मृतकलाई कञ्चटमा प्रहार गरेको तथ्य मिसिलबाट देखिन आएको अवस्थामा टाउको जस्तो संवेदनशील अंगमा प्रहार गरेको देखिएकोले ज्यान मार्ने मनसायले प्रहार गरेको भन्ने देखिन आउँछ । साथै बरामद भएको भाटा प्रयोग भएको भन्ने अभियोग दाबी रहेको र अदालतमा बकपत्र गर्ने शुभलाल यादव, जसोधिया देवीसमेतले मृतक लक्ष्मी खिडहर यादव, सिकीलाल, एकावरी देवीबीच कुटपिट हुँदा मृतक लक्ष्मी खिडहरको मृत्यु भन्ने बकपत्र गरी दिएको देखिन्छ । प्रतिवादीहरू मध्ये सिकीलालले मृतकलाई कञ्चटमा प्रहार गरेको र टाउकोको चोटको कारण मृत्यु भएको भन्ने कुरो Autopsy reportसमेतबाट पुष्टि हुन आएको अवस्था हुँदा प्रतिवादी सिकीलाल मुख्य कसुरदार देखिएकोले निजलाई मुख्य ज्यानमारा ठहराएको सप्तरी जिल्ला अदालतको फैसला मिलेकै देखियो । मर्नेको शरीरमा भए देखिएको घा खत अरू नै किसिमबाट भएको भन्ने प्रमाणको अभाव रहेको, एकजनाले मात्र कुटपिट नगरी प्रतिवादी एकावरी र मुखिलालसमेतले कुटपिट गरेको भनी वादी पक्षका गवाहले लेखाई दिएको, मृतकको शरीरमा परेका घा खतहरू एकजनाकै कुटाईबाट पर्न नसक्ने भई सामूहिकरूपमा कुटपिट गरेको घाखतहरू देखिन्छ । प्रतिवादी एकावरी र प्रतिवादी मुखालालसमेतले मृतकलाई कुटपिट गरेको पुष्टि भएको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहराएको सुरू सप्तरी जिल्ला अदालतको फैसला मिलेकै देखियो । ज्यानसम्बन्धीको १७(३) नं. को दाबी लिएका प्रतिवादीहरूले कसुरमा इन्कार रही बयान गरेको र निजहरूको बयानलाई समर्थन हुने गरी निजहरूका साक्षीहरूले बकपत्र गरेको, यी प्रतिवादी मार्न मत सल्लाह गरेको वा अरू किसिमले मतलबमा पसेको भन्ने कुराको तथ्ययुक्त सबुद प्रमाण वादी पक्षबाट प्रस्तुत नभएको र अभियोग प्रमाणित हुने आधार प्रमाणको अभावमा प्रतिवादी केवल खिडहर यादव, मुसहरू यादव, सिताराम यादव, आशिषलाल यादव, सैनी भन्ने फुलकुमारी यादवसमेत कसुरदार नदेखिँदा निजहरूलाई सफाई दिने गरी भएको सुरूको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ  भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६८।३।१३ को फैसला ।

म सिकीलाल यादव र मेरो पत्नी एकावरी देवी यादव अनुसन्धानको सिलसिलामा इलाज गर्दाको अवस्थामा पक्राउ गरी अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा इन्कारी बयान गरेको, सो कुरालाई समर्थन हुने गरी हाम्रो साक्षीसमेतले बकपत्र गरेको दृष्टिकोणबाट समेत कसैको कर्तव्यबाट लक्ष्मी खिडहर यादवको मृत्यु नभएको र निज आफ्नो कालगतिले गर्दा लडी खसी निजको मृत्यु भएको हो । सो कुरा प्रस्टसँग सुधिर खंगले २०६१।७।१७ गते घटना विवरण कागज र वस्तुस्थिति मुचुल्कामा रामप्रसाद यादव, महेन्द्र यादवसमेतले हाम्रो प्रहारबाट मृतकको मृत्यु भएको भन्न सक्नु भएको छैन । पौवा टोलमा बेहोस भई लडी मृत्यु भएको मिसिलबाट देखिएकोमा यस्ता महत्त्वपूर्ण प्रमाणको मुल्याङ्कन नगरी सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले उल्टी गरी मसमेतलाई सफाई दिलाई पाउँ भन्ने सिकीलाल यादवले यस अदालतमा लिएको पुनरावेदन जिकिर ।

पुनरावेदन नगर्ने प्रतिवादीहरू एकावरी यादव र मुखालाल यादवको हकमा साधकको रोहबाट दर्ता हुन आएको देखियो ।

यसमा मिति २०६१।५।३१ को वारदातको ३ दिनपछि मृतकको मृत्यु भएको अवस्थामा दोहोरो कुटपिटको क्रममा हात भाँचिएकी प्रतिवादी एकावरी यादवसमेतलाई जन्मकैद हुने ठहर्‌याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको फैसला प्रमाण मुल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।७।१२ को आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेलले पुनरावेदक / प्रतिवादी सिकीलाल यादव  अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा इन्कारी बयान गरेको, सो कुरालाई समर्थन हुने गरी निजका साक्षीसमेतले बकपत्र गरेकोसमेतका मिसिल प्रमाणबाट कसैको कर्तव्यबाट लक्ष्मी खिडहर यादवको मृत्यु नभएको बरू मृतक दीर्घरोघी भएकोले आफ्नो कालगतिले गर्दा हिँडडुलको क्रममा लडी मरेको अवस्था हुँदा प्रमाणको मुल्याङ्कन नगरी सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले उल्टी गरी प्रतिवादीको पुनरावेदन जिकिर बमोजिम सफाई दिलाई पाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकुमार पोखरेलले मृतक र प्रतिवादीहरू सिकिलाल,मुखिलाल, एकावरीसमेत बीच दोहोरो हानहान भएको निजहरूको मौकाको बयानसमेतबाट देखिएको र मृत्युको कारण head injury देखिएको तथा मृतकको शरीरमा विभिन्न किसिमका धेरै घाउ खतहरू देखिएबाट समेत एकजनाले मात्र कुटपिट गरेको भन्ने 

देखिँदैन । प्रतिवादीहरूले कुटपिट गरेकोमा ऐनका म्यादभित्र मरेको देखिँदा यी प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम सजाय हुने ठहर गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

मृतक लक्ष्मी खिडहर यादवलाई प्रहार गर्न अग्रसर हुने सिकीलाल यादव, एकावरी देवी, मुखीलाल यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम र अन्य प्रतिवादीहरू सैनीदेवी यादव, आशिषलाल यादव, केवल खिडहर यादव, मुसहरू यादव र सिताराम यादव वारदातमा संलग्न देखिए पनि निजहरूले यो यस्तो हात हतियार वा हात घुस्साले प्रहार गरे भन्ने कुरा मौकाका व्यक्तिहरूले किटानसाथ लेखाउन नसकेकोबाट र यी अभियुक्तहरूले मृतकको शरीरमा छोई कुटपिट गरेको नदेखिँदा निजहरूलाई मार्ने मतलबमा पसी वारदातमा संलग्नसम्म रहेको कसुरमा ऐ. को १७(३) नं.बमोजिम सजाय गरी पाउन अभियोग मागदाबी लिएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू सैनीदेवी भन्ने फुलकुमारी यादव, आशिषलाल यादव, केवल खिडहर यादव, मुसहरू यादव र सिताराम यादवलार्इ सफार्इ दिने ठहर गरेको सुरू अदालतको फैसला पुनरावेदन अदालतले सदर गरेकोमा वादीको पुनरावेदन नपरेकोले त्यसतर्फ केही बोली रहनु परेन । प्रतिवादी सिकीलाल यादवलार्इ मुख्य ज्यानमारा ठहरार्इ ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद र प्रतिवादीहरू एकावरी देवी र मुखिलाल यादवलार्इ ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादी सिकीलाल यादवले यस अदालतमा पुनरावेदन गरेको पुनरावेदनको रोहबाट र पुनरावेदन नगर्ने प्रतिवादीहरू एकावरी देवी र मुखिलाल यादवको हकमा साधकको रोहबाट हेर्नुपर्ने देखिएको प्रस्तुत मुद्दामा अब सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादी सिकीलाल यादवको पुनरावेदन जिकिर पुग्ने हो होइन ? भनी निर्णय दिनुपर्ने देखिन आयो ।

मिति २०६१।५।३१ गते अपराह्न ४ बजेको समयमा स-साना केटाकेटीहरूको विषयमा झगडा हुँदा सिकीलाल यादव, निजको श्रीमतीसमेतले निजकै घरमा कुटपिट गर्न लाग्दा त्यहाँबाट उम्की घरमा आउँदासमेत प्रतिवादीहरू आक्रोषित हुँदै हातहातमा लाठी, भाटा, इँटा, ढुङ्गा लिएर हाम्रो घरमा आई विपक्षीमध्येको सिकीलालले मेरो बुबा लक्ष्मी खिडहर यादवलाई भाटाले मरणासन्न स्थान बायाँ कञ्चटमा प्रहार गरी बुबा ढलेपछि निजकी श्रीमतीले भाटाले बुबाको कोखामा हिर्काउनुको साथै अन्य प्रतिवादीहरूसमेतले मेरो काका अच्छेलाल, मेरो बुबा लक्ष्मी खिडहर यादव र मेरो श्रीमतीसमेतलाई लाठी, भाटा, इँटा, ढुङ्गा, लात्ती बक्सिङसमेतले जत्रतत्र कुटपिट गरी घाइते बनाएकोले सगरमाथा अञ्चल अस्पतालमा ल्याई उपचार गराई घर फर्काई लिई गएकोमा झन् सिरियस हुनु भएकोले पुनः अस्पतालमा आई नपुग्दै बुबा लक्ष्मी खिडहर यादवको मिति २०६१।६।३ गते साँझ १८:०० बजे मृत्यु भएकोले सिकीलाल यादव, निजकी श्रीमती एकावरी देवी यादव, मुखीलाल यादव, सैनीदेवी यादव, आसिसलाल यादव, केवल खिडहर यादव, मुसहरू यादव, सिताराम यादवसमेतले मेरो बुबा लक्ष्मी खिडहर यादवसमेतलाई कुटपिट गरी घाइते बनाएकोमा सोही चोटको असरबाट मृत्यु भएकोले आवश्यक कारवाही गरिपाउँ भनी लालुप्रसाद यादवले जाहेरी दिएकोमा निजले अदालतमा बकपत्र गर्दा सो कुरालार्इ पुष्टि गर्दै प्रतिवादीहरूले कुटपिट गरेको काठको भाटाले आँखा घोची रगत जमेको कारणबाट रातो भई देख्न नसक्ने भएको थियो सोही कारणबाट आँखा फुटेको विश्वास छ । बुबालार्इ २०६१।५।३१ गते राजविराज साधारण Clinic मा देखार्इ औषधि लिएको र घर पठाएको,२०६१।६।३ गते सगरमाथा अञ्चल अस्पतालमा देखाउँदा डा. सत्यदेव गिरीसँग देखाउदा बिरामीलार्इ टाउकोमा चोट छ, सिटिस्क्यान यहाँ नभएकोले धरान लानुपर्छ भनेकोले रूपैयाँ पैसा जम्मा गर्न घरतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भयो भनी घटनाक्रमसमेत खुलाएको पाइन्छ । लास प्रकृति मुचुल्का हेर्दा लासको दाहिने आँखा पूरै फुटी भित्र पसेको, बायाँ खुट्टाका गोली गाँठाहरूमा एक चौथाई से.मी. को छाला पिल्सिएको घाउ देखिएको, दाहिने काँधको छाला पिल्सी कालो दाग परेको, टाउकोको पछाडी बायाँ साइडमा सामान्य टुटुल्को उठेको चोट देखिएको, बायाँ काँधको खकालीको भागमा आधा इन्चको छाला पिल्सी खाटा बस्न थालेको चोट परेको, पछाडी ढाडको बायाँ साइडको भागमा आधा इन्च लम्बाइको छाला पिल्सी दागी परेको, बायाँ साइड गालाको तल्लो भागमा १ इन्च लम्बाइ चौडाइको छाला पिल्सी दाग भएको, बायाँ साइड घाँटी र गर्दनको भाग छाला पिल्सी स-साना ६ वटा खाटा बस्न थालेका दागी रहेको, दाहिने कानको लोती चुँडिएको भन्ने तथा मृतकको जीउमा अनेक प्रकारका घाउहरू रहेको भन्ने लासजाँच मुचुल्कामा उल्लेख भएको पाइँदा मृतकको शरीरमा पटक पटकको चोट परेको देखिन्छ । शव परीक्षण प्रतिवेदनको External Examination मा Right eye ball picked with torsion of all extra ocular muscles. Extra cranial haematoma ४"×३" present over right parieto temporal region भन्ने उल्लेख भएको तथा सोही शव परीक्षण प्रतिवेदनको मृत्युको कारणमा टाउकोको चोटको कारण मृत्यु भएको (cause of death is shock because of head injuries) भनी उल्लेख भएको पाइन्छ । शव परीक्षण गर्ने डा. तिर्थ नारायण लाल कर्ण एवं डा. टेकनारायण मण्डलसमेतले अदालतमा बकपत्र गर्दा टाउकोमा चोट लागी shock भई मृत्यु भएको भनी उल्लेख गरिदिएका छन् । मिसिल संलग्न उपर्युक्त लास प्रकृति मुचुल्कासमेतबाट मृतकको शरीरमा यत्रतत्र घाउहरू देखिएको, टाउकोमा चोट लागि shock भई मृतकको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन एवं चिकित्सकहरूको बकपत्रसमेतबाट मृतक लक्ष्मी खिडहरको मृत्यु स्वाभाविक नभई कर्तव्यबाट भएको देखिन आउँछ ।

२. अब को कसको के कस्तो संलग्नतामा यी मृतक लक्ष्मी खिडहर यादवको मृत्यु भएको हो भन्नेतर्फ हेर्दा मिति २०६१।५।३१ मा बच्चाहरूको झगडाको विषयमा विवाद भई यी मृतकसमेत बीच कुटपिटको वारदात भएको कुरालाई प्रस्तुत मुद्दासँग लगाउमा रहेको यिनै प्रतिवादी सिकीलाल र एकावरी देवीले दायर गरेको फौ.नं. ३५७ को कुटपिट मुद्दाको फिराद लेखमा समेत स्वीकार गरेको पाइन्छ । अ.बं. ११५ नं. बमोजिम बुझिएकी अमेरिका देवी यादवले यी प्रतिवादीहरू सिकिलाल यादव, एकावरी देवी र मुखिलाल यादवसमेतले फटा इँटा लाठीसमेतले हिर्काएर मारेका हुन् भनी बकपत्र गरेको पाइन्छ । त्यस्तै प्रहरीमा कागज गर्ने अच्छेलाल यादवले अदालतमा बकपत्र गर्दा सिकिलाल मुखिलाल एकावरीसमेत अर्थात् सबै प्रतिवादीहरूले कुटपिट  गरी लक्ष्मीलार्इ मारेका हुन् । प्रतिवादीहरूकै चोटबाट मृतकको आँखा फुटेको हो भनी बकपत्र गरेको पाइन्छ । मौकामा कागज गर्ने शुभलाल, जसोधिया देवीसमेतले मृतक र यी प्रतिवादीबीच कुटपिट वारदात भएको भनी बकपत्र गरिदिएको अवस्थासमेतबाट मिति २०६१।५।३१ मा भएको कुटपिटको कारणबाट मृतकको मृत्यु भएको भन्ने पुष्टि हुन आउँछ ।

३. बच्चाको विवादलाई लिएर जाहेरवाला एवं प्रतिवादीहरूसमेत बीच दोहोरो कुटपिटको वारदात भएको तथ्य उल्लिखित कुटपिट मुद्दाबाट देखिएको र मिति २०६१।५।३१ गते मेरी श्रीमती एकावरी देवी यादव र जाहेरवालाकी श्रीमतीबीच बाझाबाझ होहल्ला हुँदा म घरबाहिर निस्कँदा जाहेरवालाको काका अच्छेलाल यादव र जाहेरवालाकी श्रीमतीसमेतले मेरो श्रीमतीसमेतलाई कुट्न छोप्दै जथाभावी गाली गरेकोमा मैले श्रीमतीलाई घरतर्फ लिएर जान लाग्दा अच्छेलाल यादव यी बुढाबुढीलाई ठीक पार्नुपर्छ भन्दै एक्कासी म भएको ठाउँमा आई बीचमा बारेको टाटी भत्काई लाठी लिएर आई अच्छेलाल यादवले मेरो टाउकोमा प्रहार गरी घाइते भएपछि सामान्य कुटपिट झगडा भएको र सो वारदातमा लक्ष्मी खिडहर यादवले मेरी श्रीमती एकावरी देवी यादवलाई फलामको रडले हिर्काई हातसमेत भाँची सख्त घाइते भएकाले तत्काल सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार गर्न ल्याई भर्ना गराई उपचार भइरहेकोमा मिति २०६१।६।३ गते दिउसो लक्ष्मी खिडहर यादवसमेत हिँडेर चेकअप गराउन उक्त अस्पतालमा आई चेकअप गरी फर्की घरतर्फ जाँदै गर्दा बाटोमा एक्कासी बेहोस भई लडेपछि सोही स्थानमा निजको मृत्यु भएको भन्ने थाहा पाएकोले निजको मृत्यु हामीले कुटपिट गरेको कारणबाट नभई निज पहिलादेखि नै टि.बी. को बिरामी र मुख बाङ्गो हुने र मुख बाएको बाए हुने रोगको बिरामी भएकोले सोही रोगको कारण मृत्यु भएको हो । उक्त झगडामा हामी बुढाबुढी खाली हातमा भएका कारण निजहरूले कुटपिट गर्दा सामान्य हातले घचेट्ने लछार पछार गर्ने, एक दुई मुक्का हिर्काएको हुन सक्छौं । मानिस मर्ने गरी कुटपिट गरेको होइन भनी प्रतिवादी सिकीलाल यादवले मौकामा बयान गरे तापनि मृतकसँग दोहोरो कुटपिट वारदातको घटना भएको तथ्य स्वीकार नै गरेको पाइन्छ । त्यस्तै मिति २०६१।५।३१ गते दिउसो अं. ४ बजेतिर लक्ष्मी खिडहर यादवकी नातिनी र मेरो नातीबीच झगडा भएको विषयमा हामी दुवैथरी बीच झगडा कुटपिट हुँदा लक्ष्मी खिडहरले फलामको रडले हिर्काई मेरो हात भाँची दिनुका साथै अच्छेलाल यादवले मेरो श्रीमान्‌को टाउको समेतमा हिर्काई सख्त घाइते बनाएका हुन् । उक्त झगडामा म, मेरो श्रीमान्‌, देवर मुखीलाल यादवबाहेक जाहेरवालाको जाहेरीमा उल्लिखित अन्य प्रतिवादीहरू कोही थिएनन् । हामीले निज लक्ष्मी खिडहर यादवबाट विवादको क्रममा सामान्य प्रतिकारबाहेक अन्य कुनै हतियार उठाई कुटपिट गरेका छैनौं भन्ने व्यहोरा उल्लेख गरी प्रतिवादी एकावरी देवी यादवले मौकामा बयान गरे तापनि दोहोरो कुटपिट भएको तथ्य स्वीकार नै गरेको देखिन्छ । निज प्रतिवादीहरू सिकिलाल र एकावरी देवीले अदालत गरेको बयानमा आफूहरूले मृतकलाई कुटपिट नगरेको बरू जाहेरवाला, निजकी श्रीमती, मृतकसमेत भई हामीलाई कुटपिट गरेको हुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भनी इन्कारी बयान गरे तापनि वारदातको समयमा वारदातस्थलमा रहेको स्वीकार नै गरेको पाइयो । त्यस्तै अर्का प्रतिवादी मुखा खिडहर (अभियोगपत्रमा मुखिलाल भनिएको) ले अदालतमा गरेको बयानमा मैले मृतक लक्ष्मी खिडहरलाई कुटपिट गरेको होइन । कसले कुटपिट गरे नगरेको थाहा 

छैन । मृतक पहिलेदेखि बिरामी भएकोले सो बिरामीको कारण लडी मरेको सुनेको हुँ । म कुटपिटमा सामेल छैन । झगडा खतम भएपछि मात्र गएकोमा दुवैलाई सम्झाएकोमा अच्छेलालले मलाई बाँसको लाठीले हिर्काएको हो भनी अदालतमा बयान गरेको देखिँदा निज वारदातस्थलमा नै रहेको देखिन आउँछ । 

४. बरामद भएको भनिएको ३ फिट ३ इन्च लम्बाइ ३ इन्च चौडाइ भएको काठको फट्टाले प्रतिवादी सिकीलाल यादवले कुटपिट गरेको हो भन्नेसमेतको वादी पक्षको कथन र सोहीबमोजिमको अभियोग रहेकोमा घटनास्थलबाट सोहीबमोजिम भाटा (काठ) बरामद भएको, मिसिल संलग्न शव परीक्षण प्रतिवेदनसमेतका कागजातहरूबाट मृतकको मृत्यु टाउको जस्तो संवेदनशील अंगमा प्रहार गरेको चोटको कारणबाट भएको भन्ने देखिएको, जाहेरवाला तथा मौकामा कागज गर्ने अच्छेलाल यादव, अमेरिका देवीसमेतका साक्षीहरूको बकपत्रसमेतबाट यी प्रतिवादीहरू सिकिलाल, एकावरी देवी र मुखिलालले हानेको कुटपिटको चोटबाट मृतकको मत्यु भएको भन्ने देखिएको र प्रतिवादीहरू सिकीलाल यादव र एकावरी देवीले हातले धकेल्ने, कुटपिट गरेको तथ्यमा आफू साबित भई वारदातमा प्रतिवादी मुखिलालसमेत सामेल भएको भनी पोल गरी बयान गरेको र दोहोरो कुटपिट भएको तथ्य खम्बीर भएको अवस्था र प्रतिवादीको कथनबाट मृतक कुनै रोगको कारण मरेको भनी लेखाए तापनि शव परीक्षण गर्ने विशेषज्ञको अदालतको बकपत्रबाट सो तथ्य समर्थित हुन नआएबाट यी प्रतिवादीहरू सिकिलाल, एकावरी देवी र मुखिलाल कसुरदार देखिन आएको छ । 

५. मृतकको कञ्चटसमेतका संवेदनशील अंगमा प्रहार गरेको तथ्य मिसिलबाट देखिन आएको र उक्त चोटहरू प्रतिवादीहरू सिकीलाल यादव, एकावरी देवी, मुखीलाल यादवले प्रहार गरेको अवस्थामा टाउको जस्तो संवेदनशील अंगमा प्रहार गरेको देखिएको, समूहगतरूपमा प्रहार भएकोले ज्यान मार्ने मनसायले प्रहार गरेको भन्ने देखिन आउँछ । प्रतिवादीहरू मध्येको सिकीलाल यादवले मृतकलाई कञ्चटमा भाटाले प्रहार गरेको भन्ने जाहेरी व्यहोरासमेतबाट देखिएको र सोही टाउकोको चोटको कारण मृत्यु भएको भन्ने तथ्यलाई Autopsy report समेतबाट पुष्टि हुन आएको अवस्था हुँदा प्रतिवादी सिकीलाल मुख्य कसुरदार देखिन 

आउँछ । यसरी टाउकोको चोट छाड्ने कसुरदार र कुन चोटको कारण मृतकको मृत्यु भएको हो भन्नेसमेत यकिन भर्इ प्रतिवादी सिकिलाल यादव मुख्य ज्यानमारा देखिन आएकाले निज प्रतिवादी सिकीलाल यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ र १३(३) नं.को कसुरमा सोही १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको सुरू जिल्ला अदालतको फैसलालार्इ सदर गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको देखिन आयो ।

६. अब प्रतिवादी एकावरी र मुखीलाल भन्ने मुखा खिडहर यादवलाई के कुन कसुरमा सजाय हुने हो भनी हेर्दा, लासजाँच प्रकृति मुचुल्कामा मृतकको शरीरमा थुप्रै घाउचोट देखिएको छ । एक जनाले मात्र कुटपिट नगरी प्रतिवादी एकावरी र मुखालालसमेतले कुटपिट गरेको भनी किटानीसाथ वादी पक्षका गवाहहरूले लेखाई दिएको छ ।  मृतकको टाउकोमा सबैभन्दा ठूलो चोट परेकोले सो चोट मृत्युको मुख्य कारण देखिए तापनि यी प्रतिवादीहरूले छोडेका अन्य चोटहरू मृतकको शरीरमा देखिएको र सो चोटहरूको मृत्यु हुने घटनामा सहायक नहुने भन्ने देखिँदैन । अर्थात् कुटपिट गर्दा परेका सामुहिकमध्ये मुख्य चोट र सहायक चोटको एकीकृत परिणाम वा सहसम्बन्धात्मक प्रभाव (cumulative effect) का कारण मृतकको मृत्यु भएको देखिँदा यी प्रतिवादीहरू एकावरी र मुखीलाल पनि मृतकलार्इ मार्नमा प्रत्यक्ष संलग्न हुने ज्यानमारा देखिन आएको छ । मर्नेको शरीरमा भए परेको देखिएको घा खत अरू नै किसिमबाट भएको भन्ने सबुद प्रमाणको अभाव छ । साथै मृतकको शरीरमा परेका घाखतहरू एक जनाकै कुटाईबाट परेको भन्ने नदेखिइ सामूहिकरूपमा कुटपिट गरेको कारण परेको भन्ने देखिन्छ । मृतकको शरीरमा रहेका धेरै घाउहरू मध्ये टाउको तथा अन्य शरीरमा भएका घाउहरू के कुन कसुरदारले हानेको भनी यकिन भएको छ र घाउहरू ठूला साना भएकोमा ठूलो र गम्भिर प्रकृतिका घाउहरू जसले मृतकको मरण कार्यलाई leading गरिरहेको छ साथै यो घाउको चोटले मानिस मरेको भनी विशेषज्ञद्वारा पुष्टि भएको र सो तथ्यलाई मिसिल संलग्न अन्य तथ्य एवं प्रमाणबाट अन्यथा देखिँदैन भने त्यस किसिमका leading injury को चोट छाड्ने अभियुक्त मुख्य अभियुक्त हो भनी छुट्टाउन कठिनाई नहुने । त्यस्तै चोट प्रहारमध्ये जुन leading injury को कारणले मर्ने कुरामा मुख्य भूमिका रहे पनि अन्य सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहसम्बन्धात्मक प्रभाव (correlated effect) रहने हुँदा त्यस्ता सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहायक तत्त्व हुँदैन भनी अनुमान गर्न नमिल्ने । वस्तुतः प्रतिवादी एकावरी यादव र प्रतिवादी मुखिलाल भन्ने मुखा खिडहर यादवसमेतले मृतकलाई मृतकको शरीरमा हात हाली कुटपिट गरेको पुष्टि हुन आएको र cumulative effect देखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहराएको सुरू सप्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिन आयो । 

७. प्रतिवादीहरू सिकीलाल यादव, एकावरी देवी र मुखीलाल यादव भन्ने मुखा खिडहर यादवलाई अ.बं. १८८ नं.बमोजिम कम सजाय हुने हो, होइन? भनी हेर्दा, यसमा मृतकलाई मार्ने पूर्वयोजना बनाई मारेको देखिँदैन । बालबालिकाको विषयमा उठेको झगडामा तत्काल भनाभन तथा हात हालाहाल भई दोहोरो कुटपिट भएकोमा सोही कुटपिटको चोटको कारणले मरेको भन्ने देखिए तापनि मृतकको मृत्यु तत्कालै भएको नदेखिएको र हिँडडुल गर्ने लक्ष्मी यादव बाटोमा मरेको भन्ने प्रतिवादीहरूको कथनलाई जाहेरी व्यहोरासमेतबाट अन्यथा नदेखिँदा भवितव्य हो कि भन्नेसम्मको अवस्था पनि देखिन आएकोले ऐनबमोजिमको पूरा सजाय गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम १२ वर्ष कैद गर्दा पनि कानून र न्यायको मकसद पूरा हुने देखिँदा पुनरावेदक/प्रतिवादी सिकीलाल यादव र पुनरावेदन नगर्ने प्रतिवादीहरू एकावरी देवी र मुखीलाल यादव भन्ने मुखा खिडहर यादवलाई कैद वर्ष १२ (बाह्र) हुन मनासिब देखिन्छ ।

८. तसर्थ प्रतिवादी सिकीलाल यादवले ज्यानसम्बन्धीको १ र १३(३) नं.विपरीतको कसुर मुख्य कसुरदार भई गरेको देखिन आएकोले निजलाई सोही ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादीहरू एकावरी देवी यादव र मुखीलाल यादव भन्ने मुखा खिडहर यादवलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहराएको सुरू सप्तरी जिल्ला अदालतको मिति २०६६।१०।५ को फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६८।३।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । कैदको हकमा पुनरावेदन गर्ने प्रतिवादी सिकीलाल यादव र पुनरावेदन नगर्ने साधकको रोहबाट हेर्नुपर्ने प्रतिवादीहरू एकावरी देवी यादव, मुखीलाल यादव भन्ने मुखा खिडहर यादवलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १२ (बाह्र) हुने ठहर्छ । सफाई पाउँ भन्नेसमेतको प्रतिवादी सिकीलाल यादवको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी सिकीलाल यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादीहरू एकावरी देवी यादव र मुखीलाल यादव भन्ने मुखा खिडहर यादवलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहरी कैदको हकमा अ.बं. १८८ नं.बमोजिम निज प्रतिवादीहरू सिकीलाल यादव, एकावरी देवी यादव र मुखीलाल यादव भन्ने मुखा खिडहर यादवलाई कैद वर्ष १२ (बाह्र) हुने ठहरेकोले सोहीबमोजिमको लगत जनाई संशोधित कैदी पुर्जी दिनु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाइदिनू ----------------------------------१

यो मिसिलको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ---------------२

 

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृतः हर्कबहादुर क्षेत्री

इति संवत् २०७३ साल असार १७ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु