शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७०७ - बहुविवाह

भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७२।०४।२८

०६७-CF-००१०

 

मुद्दा: बहुविवाह

 

पुनरावेदक वादी : रमिला थापाको जाहेरीले नेपाल सरकार

विरूद्ध 

प्रत्यर्थी प्रतिवादी : काठमाडौं जिल्ला मातातिर्थ गा.वि.स. वडा नं. १ बस्ने राजु थापासमेत

 

फौजदारी न्यायको उद्देश्य प्रचलित कानूनले अपराध घोषित गरेको कार्य गर्ने व्यक्तिलाई कानूनबमोजिम दण्ड सजाय गरी समाजमा अपराध नियन्त्रण गर्नु पनि हो । मुलुकी ऐन, बिहावरीको महलको ९ नं. बमोजिम कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नभई वा अंशबन्डाको महलको १० नं. बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेको अवस्था नभई अर्को विवाह गर्न पाउने नदेखिने ।

(प्रकरण नं. ५)

प्रतिवादीहरूबीच दोस्रो विवाह भइसकेको अवस्था रहेमा वारदात घटित भइसकेको मान्नुपर्छ । दोस्रो विवाह गरेपछि हाल सो दोस्रो वैवाहिक सम्बन्ध कायम नरहेको भन्ने कुराले सम्पन्न भइसकेको दोस्रो विवाह (बहुविवाह) नभएको मान्न 

मिल्दैन । सम्पन्न भइसकेको कार्य नभएको हुन सक्दैन र नभएको बनाउन पनि सकिँदैन । बहुविवाह स्थापित भइसकेको अवस्थामा कानूनको परिणाम तत्काल सिर्जित भएको देखिन्छ । सोबाट लामो समयपछिबाट गरिएको सम्बन्ध विच्छेदले मद्दत गर्न सक्ने नदेखिने ।

(प्रकरण नं. ६)

बहुविवाह फौजदारी कसुर भएको र फौजदारी कानूनको अक्षरश: लागू गर्नुपर्ने हुन्छ । कुनै वस्तुस्थिति देखाएर वा जाहेरवाला वा पीडितको आक्रोश वा क्षमा वा सहनशीलता जस्ता कुराले फौजदारी दायित्वबाट मुक्त गर्न सकिँदैन । यसबाट फौजदारी कानूनको कार्यान्वयनमा अपवाद खोज्ने अवस्था निम्त्याउँछ, जुन कानूनले अनुमति दिँदैन । दुष्कृतिलाई रोक्ने प्रयोजनका लागिसमेत यस्तो दृष्टिकोणलाई स्थान दिन नमिल्ने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक वादीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री किरण पौडेल

प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता पुरूषोत्तम उदास

अवलम्बित नजिर :

नेकाप २०६४, पौष, नि.नं.७८८४, पृ.१२६८

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जि. न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की

मा.न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती

यस अदालतमा फैसला गर्नेः 

माननीय न्यायाधीश गिरीशचन्द्र लाल

माननीय न्यायाधीश श्री सुशीला कार्की

 

फैसला

स.प्र.न्या.श्री कल्याण श्रेष्ठ : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (ख) र (घ) बमोजिम पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-

म जाहेरवालीको राजु थापासँग ०५० साल वैशाख महिना २ गते हिन्दु परम्पराअनुसार विवाह भई एक छोरीको जायजन्मसमेत भई राम्रोसँग बस्दै आएकोमा ०५९ साल मङ्सिर २० गते निज पति घरबाट निस्की गएकोले खोजी गर्दै हेटौंडामा जाँदा २०५९।९।१६ गते निज श्रीमान्‌ले मन के.सी. लाई दोस्रो विवाह गरी साथमा राखेकोले जेठी श्रीमती भएको अवस्थामा किन अर्कों विवाह गर्नु भएको भनी सोध्दा मैलै कान्छी श्रीमती विवाह गरेको हो जे गर्छेस् गर् भन्ने धम्की दिएको र निज पतिले मन के.सी लाई काठमाडौं ल्याई राखी सँगै साथमा बसी बहुविवाह गरेकोले दुवै जनालाई बिहावरीको १० न. अनुसार सजाय गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।

मेरी जेठी श्रीमती छँदाछँदै मन के.सी. र मेरो राम्रो सम्बन्ध भएकोले सो कुरा गाउँ घरमा समेत हल्ला चलेको हुँदा मिति २०५९।८।२३ गते घरबाट भागी हामी दुवैको सरसल्लाहअनुसार बालाजुस्थित म्हेपी मन्दिरमा गई मन के.सी.सँग दोस्रो विवाह गरेको हो । मन के.सी.लाई म विवाहित भन्ने कुरा थाहा थियो भन्ने व्यहोराको प्रतिवादी राजु थापाले अनुसन्धान अधिकारीसमक्ष  गरेको बयान । 

राजु थापा र मेरोबीच एक आपसमा राम्रो सम्बन्ध भई भेटघाट भइरहेको कुरा जाहेरवाला र घर परिवारमा समेत थाहा हुन गएको हुँदा हामी दुवैको छलफलबाट विवाह गर्ने कुरा घर परिवारलाई थाहा नदिई मिति २०५९।८।२३ गते भागी बालाजुस्थित म्हेपी मन्दिरमा गई भगवानलाई साक्षी राखी सिन्दुर पोते लगाई मैले राजु थापासँग दोस्रो विवाह गरेकी हुँ । निजकी अर्को श्रीमती छन् भन्ने थाहा थियो भन्ने व्यहोराको प्रतिवादी मन के.सी. अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

जाहेरवाला जेठी श्रीमती र निजको छोरी छँदाछँदै प्रतिवादी राजु थापाले मन के.सी.सँग दोस्रो विवाह गरी घरमा भित्र्याइ सँगसाथ बसी बहुविवाह गरेको हो भन्ने व्यहोराको बद्री बहादुर थापा, जमुना पुरी, शारदा थापाले अनुसन्धानको क्रममा लेखाई दिएको कागज ।

प्रतिवादी राजु थापाले मुलुकी ऐन बिहावरीको महलको ९ नं. विपरीत र प्रतिवादी मन के.सी.ले ऐ.को १० नं. विपरीत कसुर गरेकोले निजहरू दुवै जनालाई सोही महलको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोग माग दाबी ।

मेरो जेठी श्रीमती रमिला थापासँग ०५० सालमा विवाह  भएको थियो । विवाहपश्चात् घरमा असमझदारी भएकोमा सो हुँदाहुँदै निजबाट १ छोरीको जायजन्म भएको थियो । निज घर छाडी आफ्नो मनलागी हिँडने गरेकी र घर परिवारका सदस्यलाई पनि मन नपराउने गरेकीले तथा मेरो ७० वर्षको बुबा आमाको हेरविचारसमेत नगरेकीले बाबु आमाको हेरविचार गर्नको लागि मैले कान्छी श्रीमती मन के.सी सँग बाध्य भई दोस्रो विवाह गर्नु परेको हो । ०५९।३।५ गते बालाजुको म्हेपी मन्दिरमा गई विवाह गरेको हो । अभियोग दाबीबमोजिम मिति २०५९।८।२३ मा विवाह गरेको होइन भन्ने व्यहोराको प्रतिवादी राजु थापाले काठमाडौं जिल्ला अदालतमा गरको बयान ।

मेरो माइतीघर र राजु थापाको घर करिब १५।२० मिनेट जतिको फरकमा छ । राजु थापाकी अर्की जेठी श्रीमती छ भन्ने कुरा मलाई थाहा छैन । म सानैदेखि बाबुको स्वर्गे भएपछि मामाघरमा बस्दै आएको थिएँ । राजु थापाले मेरो विवाह गरेको छैन भनेकोले मैले निजसँग २०५९।३।५ गते बालाजुस्थित म्हेपी मन्दिरमा विवाह गरेकी हुँ । मलाई श्रीमान्‌ले ०५९।८।२४ गते घरमा लगेकोमा घरमा झै झगडा भएकोले ०५९।८।२६ गते हामी दुवैजना हेटौंडा गएका हौं । बहुविवाह गरेमा सजाय हुन्छ भन्ने कुरा थाहा थियो अर्की श्रीमती थियो भन्ने कुरा मलाई थाहा थिएन भन्ने व्यहोराको प्र.मन के.सी ले काठमाडौं जिल्ला अदालतमा गरेको बयान । 

मेरो श्रीमान् २०५९।८।२० गते घरबाट निस्केपछि मैले २०५९।९।१६ गते हेटौंडामा फेला पारी निजले पछि दोस्रो विवाह गरेकोले सो जाहेरी दिएको 

हुँ । २०५९।९।१७ गते पति र म सँगै घरमा आएका हौं । मैले श्रीमान्‌लाई विवाह गर्ने अनुमति दिन्छु भनेको 

छैन । प्रतिवादी मन के.सी. सँग प्रेम भएको थाहा पनि छैन । घरमा म जेठी श्रीमती छँदाछँदै अर्को श्रीमती ल्याएकोले जाहेरी दिएकी हुँ भन्ने व्यहोराको जाहेरवाला रमिला थापाले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

रमिला थापा र प्रतिवादी राजु थापाबीच लोग्ने स्वास्नीको सम्बन्ध छ । मन के.सी. पहिला गाउँले अहिले राजु थापाको दोस्रो श्रीमती नाताकी हुन् भन्ने व्यहोराको प्रतिवादी मन के.सी. को साक्षी राजु थापाले गरको बकपत्र ।

प्रतिवादी राजु थापाले मन.के.सी. लाई दोस्रो विवाह गरी ल्याएको हो । राजु थापाले मिति २०५९।८।२० गतेदेखि २०५९।९।१६ गते बीचमा विवाह भएको हो भन्ने व्यहोराको प्रहरीमा कागज गर्ने जमुना पुरी, शारदा थापा, बद्रीबहादुर थापासमेतले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी राजु थापाले मन के.सी.सँग दोस्रो विवाह गरेको हो भन्ने प्रतिवादी राजु थापाको साक्षी रेणु थापाको बकपत्र ।

प्रतिवादी राजु थापाले जेठी श्रीमती छँदाछँदै प्रतिवादी मन के.सी. सँग विवाह गरेको र प्रतिवादी मन के.सी. ले जेठी श्रीमती छ भन्ने कुरा थाहा हुँदाहुँदै राजु थापासँग विवाह गरेको देखिँदा प्रतिवादी राजु थापा र मन के.सी लाई मुलुकी ऐन, बिहावरीको १० नं. ले १ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।५।९ मा भएको फैसला । 

जेठी श्रीमती रमिला थापाको सहमतिमा नै मिति २०५९।३।५ मा दोस्रो विवाह भएको हो । अनुसन्धान अधिकारीसमक्षको बयानलाई आधार लिई मिति ०५९।३।५ मा भएको विवाहलाई आत्मपरकरूपमा मिति २०५९।८।२० कायम गरी मुलुकी ऐन ११ औं संशोधनबाट आएको कानूनी व्यवस्था लगाई सजाय गर्ने गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादीहरूले पुनरावेदन अदालत, पाटनमा दिएको संयुक्त पुनरावेदन पत्र ।

प्रतिवादी पुनरावेदकले मिति ०५९।३।५ मा नै विवाह गरेको भनी जिकिर लिई रहेको र सो मितिमा विवाह भएको अवस्थामा सुरूले गरेको सजायमा नै फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६१।१२।२६ को आदेश ।

दोस्रो विवाह गर्ने पक्षहरूबीच सम्बन्ध विच्छेद हुने गरी मिलापत्र भई लोग्ने स्वास्नीको सम्बन्ध नरहेको अवस्थामा प्रतिवादीहरूलाई सजाय गर्नु न्यायोचित देखिएन । अतः  राजु थापा र मन के.सी. लोग्ने स्वास्नीको नाताभित्रको नरहेको अवस्थामा दोस्रो विवाह गरेको मानी बहुविवाहमा कसुर कायम गर्न नमिल्ने भएकोले अभियोग दाबीबमोजिम प्रतिवादीहरूले बहुविवाह गरेको ठहर भएको काठमाडौं जिल्ला अदालतको मिति २०६०।५।९ मो फैसला मिलेको नहुँदा उल्टी भई प्रतिवादीहरूले सफाइ पाउने ठर्हछ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६२।४।२४ को फैसला ।

जिल्ला अदालतको मिति २०६०।५।९ गतेको फैसलाबमोजिम कसुर ठहर गरी सजायसमेत भएपश्चात् पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गरिसकेपछि मात्र जिल्ला अदालतबाट सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गरी आफू अनुकूलको प्रमाण सिर्जना गरी आपराधिक कार्यको कसुर र सजायबाट उन्मुक्ति हुन खोजेको देखिएकोले पुनरावेदन अदालतबाट प्रतिवादीहरूलाई  सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसाला बदर गरी अभियोग दाबीबमोजम सजाय गरिपाउँ भन्ने व्यहोराको यस अदालतमा परेको पुनरावेदन पत्र ।

मिलापत्रबाट नै विवाह भएको भन्ने तथ्य पुष्टि भएको हुँदा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला फरक पर्न सक्ने भएबाट अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त विपक्षी झिकाई पेस गर्नु भन्ने मिति २०६४।४।१८  गतेको यस अदालतको आदेश ।

ने.का.प. २०६४ अंक ९ पृ. १२६८ को मुद्दामा प्रतिपादित सिद्धान्तअनुसार प्रतिवादीहरूलाई एकातिर सजाय गर्नुपर्ने अवस्था देखिन्छ भने प्रत्यर्थीहरूले नै पेस गरेको मिसिल संलग्न माथि उल्लिखित मिति २०५६।२।२४ मा फैसला भएको २०५१ सालको फौ.पु.नं. ९२५ को मुद्दामा प्रतिपादित सिद्धान्तअनुसार सम्बन्ध विच्छेद भइसकेको अवस्था दोस्रो विवाह गरेको भनी सजाय गर्नु न्यायोचित हुन नसक्ने भनी फैसला भएको देखिन आएकोले प्रस्तुत मुद्दामा कानूनको व्याख्या एवं कानूनी सिद्धान्तको सम्बन्धमा दुई इजलासको राय भिन्न भिन्न भएको अवस्था देखिनुका साथै प्रस्तुत मुद्दामा समावेषित जटिल कानूनी प्रश्नको निर्णय पूर्ण इजलासबाट हुन उपयुक्त देखिन आयो । त्यसकारण सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (ख) र (घ) बमोजिम प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।१।१६ को फैसला ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट विद्वान्‌ सहन्यायाधिवक्ता श्री किरण पौडेलले प्रतिवादी राजु थापाकी पहिलो श्रीमती रमिला थापा हुँदाहुँदै प्रतिवादी राजु थापा र मन के.सी. ले मिति २०६८।८।२३ मा विवाह गरेको देखिएको छ । प्रतिवादी राजु थापा र मन के.सी. बीच लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने गरी मिति २०६१।११।१२ मा मिलापत्र भएको भए पनि दोस्रो विवाह गरी कसुर अपराध गरिसकेपछि सम्बन्ध विच्छेद गरेको कारणले निजहरूले कसुरबाट उन्मुक्ति पाउने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी बहस गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान्‌ अधिवक्ता पुरूषोत्तम उदासले प्रतिवादी राजु थापा र मन के.सी. बीच मिति २०५९।८।२३ मा विवाह भएको नभई मिति २०५९।३।५ मा विवाह भएको देखिएको 

छ । निजहरूले विवाह गरेपश्चात् सम्बन्ध विच्छेद पनि गरिसकेका हुँदा हाल निजहरूबीच लोग्ने स्वास्नीको नाता नै नरहेको हुँदा प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‌याएको पुनरावेदन अदालतको फैसलामा कुनै त्रुटि छैन भनी बहस गर्नुभयो ।

प्रतिवादीहरू राजु थापा र मन के.सी. उपर मुलुकी ऐन, बिहावरीको महलको ९ र १० नं. को कसुरमा सोही महलको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम १ वर्ष कैद र रू. ५०००।– जरिवाना हुने ठहर्‌याई काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।५।९ मा फैसला भएकोमा पुनरावेदन अदालत, पाटनले काठमाडौं जिल्ला अदालतको सो फैसला उल्टी गरी दुवैजना प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‌याई मिति २०६२।४।२४ मा फैसला गरेको देखिन्छ । पुनरावेदन अदालत, पाटनको सो फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेकोमा ने.का.प. २०६४, अंक ९, पृष्ठ १२६८ को मुद्दामा प्रतिपादित सिद्धान्त र २०५१ सालको फौ.पु.नं. ९२५ को मुद्दामा प्रतिपादित सिद्धान्तमा दुई इजलासको राय भिन्न भिन्न भएको अवस्था देखिनुका साथै प्रस्तुत मुद्दामा समावेषित जटिल कानूनी प्रश्नको निर्णय पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (ख) र (घ) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भनी मिति २०६७।१।१६ मा फैसला भएअनुसार निर्णयार्थ पेस हुन आएको 

देखिन्छ ।

सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ मा पूर्ण इजलासबाट हेरिने मुद्दासम्बन्धी व्यवस्था रहेको देखिन्छ । सो नियमको उपनियम (१) मा देहायका मुद्दाहरू पूर्ण इजलासबाट हेरिनेछन् भन्ने व्यवस्था रहेको र सोको खण्ड (ख) मा “कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तको विषयमा दुई संयुक्त इजलासको राय वा निर्णय भिन्ना भिन्नै भई संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दा” भन्ने र खण्ड (घ) मा कुनै मुद्दामा समावेश भएको कुनै जटिल कानूनी प्रश्नको निर्णय पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने कुरा सो मुद्दा हेर्ने संयुक्त इजलासलाई लागि सो इजलासले सो कानूनी प्रश्न र पूर्ण इजलासबाट त्यसको निर्णय हुनुपर्ने कारण उल्लेख गरी पूर्ण इजलासमा पेस गर्न आदेश दिएको मुद्दा भन्ने उल्लेख भएको पाइन्छ ।

ने.का.प. २०६४, अंक ९, पृष्ठ १२६८ को मुद्दामा प्रतिपादित सिद्धान्त र संवत् २०५१ सालको फौ.पु.नं. ९२५ को मुद्दामा प्रतिपादित सिद्धान्तमा भएको व्याख्या एवं कानूनी सिद्धान्तमा दुई इजलासको राय भिन्नभिन्न हुनुका साथै प्रस्तुत मुद्दामा जटिल कानूनी प्रश्न समावेश भएको भनी यस अदालतको संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको देखिए तापनि ती दुई मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तमध्ये कुन कानूनी सिद्धान्त कायम हुनुपर्ने हो भनी आफ्नो खास राय संयुक्त इजलासले दिएको देखिँदैन । तथापि प्रस्तुत मुद्दाको विषयवस्तु र मुद्दा लामो समयसम्म चलेको अवस्थासमेतलाई दृष्टिगत गर्दा यस पूर्ण इजलासबाट निर्णय गर्दा मुद्दाको किनारा समयमा नै हुन सक्ने भई मुद्दाको प्रक्रिया अगाडि बढ्ने अवस्था देखिन आएकोले यस इजलासबाट निर्णय हुन वाञ्छनीय देखिन आउँछ ।

२. अब संवत् २०५१ सालको फौ.पु.नं. ९२५ को मुद्दामा कायम भएको रूलिङ्ग र ने.का.प. २०६४, अंक ९ पृष्ठ १२६८ मा प्रकाशित रूलिङ्गमध्ये कुन रूलिङ्ग कायम हुने हो भन्ने सम्बन्धमा विचार गर्दा हिराकुमारी खाँडको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी अशोककुमार खाँड भएको २०५१ सालको फौ.पु.नं. ९२५ को बहुविवाह मुद्दामा “प्रतिवादी अशोककुमार खाँडले जो सँग दोस्रो विवाह गरेको भनी कारवाही चलेको हो निजै उजेली भन्ने होमकुमारी खाँडले चलाएको सम्बन्ध विच्छेद मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सम्बन्ध विच्छेद हुने ठहरी अन्तिम भई बसेको अवस्थामा अशोककुमार खाँड र उजेली भन्ने होमकुमारी खाँड पनि लोग्ने स्वास्नी रहेछन् भनी मान्न मिलेन । यसर्थ दोस्रो विवाह गरेको भनी सजाय गर्नु न्यायोचित हुनसक्ने देखिएन” भन्ने रूलिङ्ग कायम भएको देखिन्छ भने संवत् २०५७ सालको फौ.पु.नं. २७४४ को नरेन्द्रकुमार कटुवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुमार थपलिया भएको बहुविवाह मुद्दामा (ने.का.प. २०६४ पौष, नि.नं. ७८८४ पृ. १२६८) मा “घरमा जेठी श्रीमती हुदाहुँदै दोस्रो विवाह गरी बिहावरीको ९ नं. को कसुर गरेको भनी अंश मुद्दा दायर गरेकोलाई भिन्न बसेको भनी व्याख्या गरी सुरू जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ दिएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने” भन्ने रूलिङ्ग कायम भएको देखिन्छ ।

३. बहुविवाह मुद्दामा कायम भएका उपर्युक्त रूलिङ्गमध्ये अशोककुमार खाँडको मुद्दामा भएको व्याख्याबाट बहुविवाहको कसुर गरेपछि बहुविवाहको कसुर गर्ने पक्षहरूले सम्बन्ध विच्छेद गरेमा कसुरबाट सफाइ पाउने भन्ने देखिन्छ भने प्रतिवादी कुमार थपलियाको मुद्दामा बहुविवाहको कसुर गरिसकेपछि जेठी श्रीमतीले अंश मुद्दा दिई अंशसमेत पाउने ठहरे पनि बहुविवाहको कसुरबाट उन्मुक्ति पाउने अवस्था हुँदैन भन्ने रूलिङ्ग कायम भएको देखिन्छ ।

४. मुलुकी ऐन, बिहावरीको महलको ९ नं. मा कुन अवस्थामा अर्को विवाह गर्न हुन्छ र कुन अवस्थामा हुँदैन भन्ने उल्लेख भई सम्बन्ध विच्छेद भएमा वा अंश लिई छुट्टिभिन्न भएको अवस्थामा लोग्ने मानिसले अर्को विवाह गर्न पाउने भन्ने देखिन्छ । माथि उल्लिखित दुवै मुद्दामा कायम भएका रूलिङ्ग लोग्ने मानिसले अर्को विवाह गर्न पाउने वा नपाउने अवस्थासँग सम्बन्धित रहेको देखिन्छ ।

५. फौजदारी न्यायको उद्देश्य प्रचलित कानूनले अपराध घोषित गरेको कार्य गर्ने व्यक्तिलाई कानूनबमोजिम दण्ड सजाय गरी समाजमा अपराध नियन्त्रण गर्नु पनि हो । मुलुकी ऐन बिहावरीको महलको ९ नं. बमोजिम कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नभई वा अंशबन्डाको महलको १० नं. बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेको अवस्था नभई अर्को विवाह गर्न पाउने देखिँदैन ।

६. तर प्रतिवादी राजु थापाले निजकी श्रीमती रमिला थापा हुँदाहुँदै मन के.सी. सँग अर्को विवाह गरेको देखिएको छ । प्रतिवादी राजु थापा र निजकी जेठी श्रीमती रमिला थापाबीच सम्बन्ध विच्छेद भएको देखिँदैन भने रमिला थापा अंश लिई छुट्टी भिन्न भएको अवस्था पनि देखिँदैन । प्रतिवादीहरूबीच दोस्रो विवाह भइसकेको अवस्था रहेमा वारदात घटित भइसकेको मान्नुपर्छ । दोस्रो विवाह गरेपछि हाल सो दोस्रो वैवाहिक सम्बन्ध कायम नरहेको भन्ने कुराले सम्पन्न भइसकेको दोस्रो विवाह (बहुविवाह) नभएको मान्न मिल्दैन । सम्पन्न भइसकेको कार्य नभएको हुन सक्दैन र नभएको बनाउन पनि सकिँदैन । बहुविवाह स्थापित भइसकेको अवस्थामा कानूनको परिणाम तत्काल सिर्जित भएको देखिन्छ । सोबाट लामो समयपछिबाट गरिएको सम्बन्ध विच्छेदले मद्दत गर्न सक्ने देखिँदैन ।

७. बहुविवाह फौजदारी कसुर भएको र फौजदारी कानूनको अक्षरश: लागू गर्नुपर्ने 

हुन्छ । कुनै वस्तुस्थिति देखाएर वा जाहेरवाला वा पीडितको आक्रोश वा क्षमा वा सहनशीलता जस्ता कुराले फौजदारी दायित्वबाट मुक्त गर्न सकिँदैन । यसबाट फौजदारी कानूनको कार्यान्वयनमा अपवाद खोज्ने अवस्था निम्त्याउँछ, जुन कानूनले अनुमति दिँदैन । दुष्कृतिलाई रोक्ने प्रयोजनका लागिसमेत यस्तो दृष्टिकोणलाई स्थान दिन मिल्दैन ।

८. यसरी बहुविवाहको कसुर गरिसकेपछि सम्बन्ध विच्छेद गरेको वा अंश लिई छुट्टिभिन्न भएको भन्ने आधारमा बहुविवाहको कसुरबाट उन्मुक्ति पाउने भन्न मिल्ने नदेखिँदा संवत् २०५१ सालको फौ.पु.नं. ९२५ को मुद्दामा कायम भएको रूलिङ्गसँग सहमत हुन सकिएन । उक्त रूलिङ्ग अमान्य गरी दिएको छ ।

९. अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी राजु थापाले आफ्नो पहिलो पत्नी रमिला थापासँग सम्बन्ध विच्छेद नगरी र निजले अंश लिई छुट्टिभिन्न नभई प्रतिवादी मन के.सी. सँग मिति २०५९।८।२३ मा दोस्रो विवाह गरेको भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष आरोपित कसुरमा साबित रहेको देखिन्छ । तर प्रतिवादीहरूले आफूहरू बीच मिति २०५९।८।२३ मा विवाह गरेको नभई मिति २०५९।३।५ मा विवाह गरेको भनी अदालतमा बयान गरेको पाइन्छ । यसरी प्रतिवादी राजु थापाले प्रतिवादी मन के.सी. सँग दोस्रो विवाह गरेको भन्ने कुरामा विवाद नरहेको भए पनि निजहरू बीच कुन मितिमा विवाह भएको भन्ने विषयमा विवाद रहेको देखिँदा सो सम्बन्धमा विचार गर्नुपर्ने देखिन आयो ।

१०. त्यस सम्बन्धमा विचार गर्दा जाहेरवाला रमिला थापाको जाहेरी दरखास्त र निजले अदालतमा गरेको बकपत्रबाट मिति २०५९।८।२० गते पति निस्की गएकोले खोजी गर्दै हेटौंडा जाँदा मिति २०५९।९।२६ मा निज श्रीमान्‌ले मन के.सी. लाई दोस्रो विवाह गरी साथमा राख्नु भएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ भने अनुसन्धानको क्रममा कागज गर्ने जमुना पुरीले प्रतिवादी राजु थापा घरबाट भागी गएको मिति २०५९।८।२० देखि २०५९।९।१६ गतेको बीचमा निजहरू बीच विवाह भएको हो । सो कुरा जाहेरवालाले हेटौंडाबाट फोन गरेकीले थाहा पाएको हुँ भनी अदालतमा बकपत्र गरेको देखिन्छ । यस्तै प्रहरीमा कागज गर्ने शारदा थापा र बद्री थापाले अदालतमा बयान गर्दा प्रतिवादी राजु थापा २०५९।८।२० गते घरबाट निस्की गएको र मिति २०५९।९।१६ मा निजहरूलाई फेला पारी काठमाडौं ल्याइएको हुँदा निजहरूको विवाह सोही समयमा भएको हुनुपर्छ भनी बकपत्र गरेको देखिन्छ ।

११. यसरी जाहेरवाला रमिला थापा, प्रहरीमा कागज गर्ने जमुना पुरी, शारदा थापा, बद्री थापासमेतले गरेको बकपत्रबाट प्रतिवादी राजु थापा मिति २०५९।८।२० गते घरबाट निजलाई र प्रतिवादी मन के.सी. समेतलाई मिति २०५९।९।१९ मा काठमाडौंमा ल्याएको भन्ने देखिनुका साथै मिति २०५९।९।१६ गते निज प्रतिवादीहरूलाई हेटौंडामा फेला पारेको देखिएको हुँदा प्रतिवादी राजु थापाले आफ्नो घर छोडी हिँडेको मिति २०५९।८।२० भन्दा पूर्व मिति २०५९।३।५ मा नै प्रतिवादी मन के.सी. सँग विवाह गरिसकेको रहेछ भन्न मिल्ने देखिएन ।

१२. प्रतिवादी मन के.सी. का साक्षी राजु थापा र प्रतिवादी राजु थापाका साक्षी रेणु थापाले प्रतिवादीहरूबीच मिति २०५९।३।५ मा विवाह भएको भन्ने कुरा सुनेको हो भनी अदालतमा बकपत्र गरी दिएका छन् । निज साक्षीहरूले विवाह भएको आफूहरूले नदेखेको र सो विवाहमा सामेल पनि नभएको भन्ने व्यहोरा पनि सो बकपत्रमा लेखाई दिएका छन् । प्रमाण ऐन, २०३१ को दफा ३७(२) बमोजिम प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले व्यक्त गरेको कुरालाई मात्र प्रमाणमा लिन हुने देखिन्छ । प्रतिवादीका साक्षीहरूले मिति २०५९।३।५ मा विवाह भएको प्रत्यक्ष देखेको सुनेको वा थाहा पाएको नभई अरू व्यक्तिबाट सुनेको भन्ने देखिँदा निज साक्षीहरूले गरेको बयानलाई विश्वासनीय मान्न सकिएन ।

१३. प्रतिवादी राजु थापाले अदालतमा बयान गर्दा मिति २०५९।३।५ मा दोस्रो विवाह गरेको भनेको भए पनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मिति २०५९।८।२३ मा विवाह गरेको भन्ने व्यहोरा लेखाएको पाइन्छ । अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा के कारण वा परिस्थितिले गर्दा मिति २०५९।८।२३ मा विवाह गरेको भन्ने व्यहोरा लेखाएको नदेखिएकोले निजले गरेको बयानको सो व्यहोरा पनि विश्वासनीय देखिन आएन ।

१४. यसरी प्रतिवादी राजु थापा र मन के.सी. ले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान, जाहेरवाला, अनुसन्धानको क्रममा कागज गर्ने जमुना पुरी, शारदा थापा, बद्री थापासमेतका व्यक्तिले अदालतमा गरेको बकपत्रसमेतका प्रमाणबाट प्रतिवादी राजु थापाले मन के.सी. सँग मिति २०५९।८।२३ मा नै दोस्रो विवाह गरेको पुष्टि हुन आयो ।

१५. अब प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‌याएको पुनरावेदन अदालतको फैसला मिले नमिलेको भन्ने विचार गर्दा पुनरावेदन अदालतबाट संवत् २०५१ सालको फौ.पु.नं. ९२५ को मुद्दामा प्रतिपादित सिद्धान्तअनुसार प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‌याई फैसला भएको देखिन्छ । उक्त फौ.पु.नं. ९२५ मा कायम भएको राय अमान्य हुने र ने.का.प. २०६४ मा प्रकाशित रूलिङ्ग कायम हुने भनी माथिका प्रकरणहरूमा विवेचना भइसकेको छ । प्रतिवादी राजु थापाले निजकी पहिलो पत्नी रमिला थापा हुँदाहुँदै प्रतिवादी मन के.सी. सँग दोस्रो विवाह गरेको भन्ने निज प्रतिवादी स्वयम्‌ले अनुसन्धान अधिकारी र अदालतमा गरेको बयान तथा जाहेरवाला, मौकामा बुझिएका व्यक्ति र प्रतिवादीका साक्षीको बकपत्रसमेतबाट देखिएकोले निज प्रतिवादी राजु थापालाई मुलुकी ऐन बिहावरीको महलको १० नं. बमोजिम १ वर्ष कैद र रू.५,००० जरिवाना हुने देखिन आएकोले निज प्रतिवादीको हकमा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको देखिएन ।

१६. अर्का प्रतिवादी मन के.सी. को हकमा विचार गर्दा प्रतिवादी मन के.सी. ले प्रतिवादी राजु थापासँग विवाह गरेको कुरालाई स्वीकार गरेकी भए पनि निज राजु थापाकी जेठी श्रीमती भएको कुरा थाहा थिएन भनी अदालतमा बयान गरेको देखिएको र निजलाई प्रतिवादी राजु थापाकी पहिलो श्रीमती रहेको थाहा भएको भन्ने कुरा पुष्टि हुने प्रमाण अभियोगबाट पुष्टि हुन आएको नदेखिँदा निज प्रतिवादी मन के.सी. ले अभियोग दाबीबाट सफाइ पाउने देखिन आएकोले निज प्रतिवादीको हकमा पुनरावेदन अदालतबाट भएको फैसलामा कुनै परिवर्तन गरी रहनु परेन ।

१७. तसर्थ माथि विवेचित आधार र कारणहरूबाट प्रतिवादी राजु थापा र मन के.सी. लाई सफाइ दिने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको मिति २०६२।४।२४ को फैसला केही उल्टी भई प्रतिवादी राजु थापालाई १ वर्ष कैद र रू. ५,०००।– जरिवाना हुने र प्रतिवादी मन के.सी. ले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६२।४।२४ को फैसला केही उल्टी भई प्रतिवादी राजु थापालाई १ वर्ष कैद र रू. ५,०००।– जरिवाना हुने ठहरी फैसला भएकोले निज प्रतिवादीलाई ठहर भएको कैद र जरिवानाको लगत राखी असुल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू .................................१

यस फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ...................................२

 

उक्त रायमा हामी सहमत छौँ ।

न्या. गोविन्दकुमार उपाध्याय

न्या. जगदीश शर्मा पौडेल

 

इजलास अधिकृतः विश्वनाथ भट्टराई

इति संवत् २०७२ साल साउन २८ गते रोज ५ शुभम् 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु