शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७१२ - ठगी

भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७२।१२।२२

०७०-CR-०२१८

 

मुद्दाः ठगी

 

पुनरावेदक प्रतिवादी : प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं. ७ बस्ने चित्रबहादुर जि.सी.

विरूद्ध

प्रत्यर्थी वादी : जिल्ला प्रशासन कार्यालय, प्युठानसमेतको जाहेरीले नेपाल सरकार

 

कुनै काम कुरालार्इ कानूनले सम्बोधन गरिसकेको  अवस्थामा कानूनको प्रस्ट व्यवस्थाबेगर यस्तो व्यवहारलार्इ भिन्नै प्रयोजनको लागि बनेको कानूनभित्र जबरजस्ती पार्ने काम गर्नु कानूनको अनुचित प्रयोग हुन्छ । कानूनले कसुर भनी परिभाषित नगरेको काम कुरा गरेको विषयलाई लिएर कसै उपर मुद्दा चलाउनु र ठहर गर्नु दुवै अनुचित हुने ।

(प्रकरण नं. ३)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट : 

प्रत्यर्थी वादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री शम्भुराम कार्की

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी

माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर

 

फैसला

न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- 

प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं.७ बस्ने तनसरा विश्वकर्मालाई २०५० सालमा घर खर्चको लागि रू.१०,०००।- दिएको उक्त रूपैयाँको ब्याज जोडी २०५३ सालमा रू.२३,०००।- भएको थियो । उक्त रू.२३०००। को सावाँ ब्याज हिसाब गर्दा रू.४८,४००।- भएकोले प्रहरीको रोहवरमा मिति २०६४।२।२० मा जग्गा भोग गर्ने गरी रू.४८,४००।- को बन्धकी कागज बनाएको हुँ । जग्गा भोगचलन गर्न पाएको छैन । २०५८ सालमा गोरबहादुर वि.क.सँग रू.५,८००।- र मिति २०६७/५/२४  मा रू. १,०००।-  ब्याज बापत बुझेको हुँ भनी चित्रबहादुर जि.सी.ले मिति २०६७।६।५ मा जिल्ला प्रशासन कार्यालय प्युठानमा गरेको बयान । 

प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं.७ बस्ने चित्रबहादुर जि.सी.ले ऐ. बस्ने तनसरा विश्वकर्मालाई २०५० सालमा रू.१०,०००।- दिएकोमा उक्त रकमको दोब्बर / तेब्बर ब्याज जोडी तमसुक बनाउँदै दलित अशिक्षित महिलासँग २०६४ सालमा रू.४८,४००।- को बन्धकी कागज गराई समय समयमा ब्याज खाँदै ठगी गरेको हुँदा निज चित्रबहादुर जि.सी.लाई कारवाही गर्नु हुन भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय, प्युठानको च.नं.८०५ मिति २०६७/६/५ को पत्र जाहेरी ।

प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं.७ बस्ने चित्रबहादुर जि.सी.बाट २०५० सालमा घर खर्चको लागि रू.१०,०००।-  रूपैयाँ लिएकोमा २०५३ सालमा साँवा ब्याज जोडी रू.२३,०००।-  बनाई तमसुक गराएका हुन् । ब्याज घटाउन भनी २०५८ सालमा रू.५,८००।- दिएको थिएँ । ब्याज नघटाई २०६४ सालमा रू.४८,४००।- बनाई ५ रोपनी जग्गाको बन्धकी कागज गराई लिएका र २०६७ सालमा पनि ब्याज स्वरूप रू.१,०००।- लिई मलाई ठगी गरेको हुँदा निज चित्रबहादुर जि.सी.लाई आवश्यक कानूनी कारवाही गरिपाउँ भन्ने तनसरा विश्वकर्माको मिति २०६७।६।६ को जाहेरी दरखास्त । 

तनसरा विश्वकर्मालाई २०५० सालमा घरखर्चको लागि रू.१०,०००।- दिएको हुँ । गाउँघरको चलनचल्तीको ब्याज जोडी २०५३ सालमा रू.२३,०००।-  बनाई तमसुक गराएको हुँ । २०५८ सालमा गोर बहादुर विश्वकर्माले मलाई ब्याज रकम रू.५,८००।-  दिएका हुन् । उक्त रू.२३,०००।- को म्याद नाघेपछि कोही कसैले थाहा पाउँदैनन् भन्ने सोचले सयकडा वार्षिक ३० प्रतिशत जोडी २०६४ सालमा रू.४८,४००।- (अठ्चालिस हजार चार सय) थैली बनाई तनसरा विश्वकर्माको जग्गा भोग्ने गरी बन्धकी तमसुक बनाएको हुँ । पछि २०६७ सालमा ब्याज स्वरूप कोही कसैले थाहा नपाउने गरी गोर बहादुर वि.क.सँग रू.१,०००।- (एक हजार) मागेको हुँ । गाउँघरमा थाहा हुँदैन भन्ने हिसाबले ठगी गर्ने मनसायले समय समयमा ब्याज माग्दै बन्धकी कागजको समेत ब्याज मागी लिने खाने गर्दथें । तमसुकको १० वर्ष हदम्याद भए तापनि म्याद नाघेपछि तमसुक भएको हो । कानून बाहिर गई भएको व्यवहार ठगी हो । ठगी गर्ने मनसायले उक्त रकम माग्दै खाँदै गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी चित्रबहादुर जि.सी.ले मौकामा गरेको बयान ।

चित्रबहादुर जि.सी.बाट तनसरा विश्वकर्माले २०५० सालमा रू.१०,०००।- लिएकी रहिछन् । चित्रबहादुर जि.सी.ले सो रकमको ब्याज के, कसरी, कुन हिसाबले जोडी २०५३ सालमा तनसरा वि.क.संग रू.२३,०००।-  को तमसुक गरार्इ सोही रकमको चक्रवृद्धि ब्याज जोडी २०६४ सालमा रू.४८,४००।– बनार्इ जग्गा भोग गर्ने बन्धकी तमसुक गराएका र तमसुक गराएपछि पनि समय समयमा ब्याज  मागी आएको र २०६७ सालमा समेत ब्याज भनी निजले तनसरा विश्वकर्मासँग रू.१,०००।-  लिर्इ ठगी गरेछन् । गाउँ समाजमा समेत निज खराब आचरणका व्यक्ति हुन् भन्ने व्यहोराको केशबराज आचार्य, दीपक सिंह रायमाझी र ऋषिराम रायमाझीले गरेको  मिति २०६७।६।१५ को मौकाको एकै मिलानको कागज । 

चित्रबहादुर जि.सी.ले तनसरा विश्वकर्मालाई २०५० सालमा रू.१०हजार दिएकोमा ब्याजबापत भनी २०५३ सालमा रू.२३,०००।- र २०६४ सालमा रू.४८,४००।– थैली कायम गरी तनसरा विश्वकर्मातर्फबाट पटक पटक गरी रू.६,८००।-  ब्याज बुझाउँदा पनि रकम घटनुको सट्टा बढाई ब्याजको हिसाब राखेकोसमेत देखिँदैन । कानूनले दश प्रतिशत मात्र ब्याज पाउने व्यवस्था गरेको छ । कपाली तमसुकको म्याद दश वर्षभन्दा बढी नहुने व्यवस्थालाई पनि अनुसरण नगरेको देखिन्छ । भोगबन्धकी तमसुक रजिस्ट्रेसन हुन अनिवार्य हुन्छ । सो भए गरेकोसमेत छैन । अभियुक्तबाट भएको यी क्रियाकलाप मुलुकी ऐन, ठगीको १ नं. को दुष्कार्य देखिँदा सोही महलको १ र ४ नं.को कसुरमा अभियुक्त चित्रबहादुर जि.सी.लाई ठगीको ४ नं. अनुसार हदैसम्म सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोगपत्र । 

तनसरा वि.क.लाई दिएको रू.१०,०००।- बाट बढाएको नभई मैले मिति २०५३/४/६ मा रू.२३,०००।- साँवा र मिति २०६४/२/२० गते रू. २५,४००।- थपी जम्मा रू.४८,४००।- को भोगबन्धकी कागज गराए तापनि जग्गाको आयस्ता असामी तनसरा वि.क.ले खाने र मलाई गाउँघरको ब्याज मासिक सयकडा २ प्रतिशतका दरले बुझाउने सर्त थियो । तनसरा वि.क.ले आयस्ता वा ब्याज नदिएको हुँदा तमसुक रू.४८,४००।-  असुल गरिपाउँ भनी निवेदन दिएकोमा उल्टो यस्तो आरोप लगाएका हुन । मैले ठगी गरी खाने उद्देश्य लिएको होइन । मैले अनियमित ब्याज लिएको छैन । ब्याजबापतमा पटक पटक गरी रू.६,८००।- लिएको भन्ने भनाई झुट्ठा हो । अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी चित्रबहादुर जि.सी.ले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादी चित्रबहादुर जि.सी.ले २०५० सालमा तनसरा वि.क.लाई रू.१०,०००।- दिनु भएकोमा २०५३ सालमा ब्याज रू.१३,०००।-  जोडी रू.२३,०००।- को तमसुक गराएकोमा जाहेरवाला तनसरा वि.क.को छोरा गोरबहादुर वि.क.ले पटक पटक रूपैयाँ बुझाउन खोज्दा निजले बुझ्न इन्कार गरी चक्रवृद्धि ब्याज खाने उद्देश्य राखेका हुन् । २०६४ सालमा इलाका प्रहरी चौकी बरौलामा साँवा ब्याजको रकम बुझाउन खोज्दा बुझ्न नमानी जाहेरवाली तनसरा वि.क.को जग्गा भोगबन्धकी लिने गरी रू.४८,०००।- को भोगबन्धकी तमसुक गराएका हुन् । २०५८ सालमा रू.५,८००।- र २०६७ सालमा रू.१,०००।-  ब्याजबापत भनी बुझी लिएको रकम तमसुकमा दरपीठ नगरी जाहेरवाली तनसरा वि.क.लाई ठगी गर्ने कार्य गरेको हो भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने दीपक सिंह रायमाझीले सुरू अदालतमा गरेको बकपत्र । 

मैले घर व्यवहार चलाउन भनी प्रतिवादी चित्रबहादुर जि.सी.बाट रू. १०,०००।- लिएकी हुँ । २०५८ सालतिर रू.५,८००।-  बुझाएको हुँ । प्रतिवादी चित्रबहादुर जि.सी.ले मेरो छोरालाई ऋण तिर भनी चौकीमा लगी थुनेको हुँदा २०६४ साल जेठ महिनामा जग्गाको भोगबन्धकी कागज गराई छोरा छुटाएको हुँ । पछि छोराहरूले रकम पठाएकाले तिम्रो रूपैयाँ रू.४८,४००।-  बुझ्न आउ भन्दा नमानी जिल्ला प्रशासन कार्यालयमा जानुपर्छ भनी मलाई यहाँ ल्याएका हुन् । मैले पटक पटक रू.५२,०००।-  बुझाउन खोज्दासमेत बुझ्न नमानी धेरै ब्याजको लोभ गरेको हुन् । म अनपढ महिलालाई झुक्यानमा पारी त्यति धेरै रकमको कागज गराएका रहेछन् । मुद्दा परेपछि मात्र जानकारी पाएँ । मलाई प्रतिवादीले ठगी गरेको हुँदा सजाय गरिपाउँ भन्ने व्यहोराको जाहेरवाली तनसरा वि.क.ले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी चित्रबहादुर जि.सी. गाउँघरमा केही रूपैयाँ लगानी गरी चक्रवृद्धि ब्याज असुल गर्ने व्यक्ति हुन् । प्रतिवादीले २०५० सालमा रू.१०,०००।-  लगानी गरी २०५३ सालमा रू.२३,०००।- को कागज गराए र २०६४ सालमा त्यही रू.२३,०००।- को रू.४८,०००।- को कागज गराएका हुन् । यसमध्ये २ पटक गरी रू.६,८००।-  बुझेकोमा सोको हिसाब नगरी जाहेरवाला तनसरा वि.क.लाई ठगी गरेका हुन् भन्ने व्यहोराको घटना विवरण कागज गर्ने केशवराज आचार्यले सुरू अदालतमा गरेको बकपत्र ।    

२०५० सालमा  लिएको रू.१०,०००।- को कानूनबमोजिमको ब्याज र साँवाले  हुन आउने रूपैयाँमा जाहेरवालाले दिएको रू.६,८००।- कटाई सोभन्दा बढी लिने गरी गरिएको व्यवहार कागजमा उल्लिखित बढी रकमसम्म प्रतिवादीले ठगी गरेको ठहरेकाले त्यति बिगोसम्म प्रतिवादीलाई जरिवाना र प्रहरी हिरासतमा बसेको अवधिलाई कैदमा परिणत गरी त्यत्ति नै दिन कैद हुने ठहर्छ भन्ने सुरू प्युठान जिल्ला अदालतको फैसला । 

मसँग तनसरा वि.क.ले २०५० सालमा रू.१०,०००।- कर्जा लिएको सोको दस वर्षसम्म साँवा ब्याज नबुझाएकोले दोब्बर भइरहेको लेनदेन व्यवहारलाई अर्को कागज गरी दिएकोमा निजको छोरा गोर बहादुर वि.क.ले गाउँघरका व्यक्तिहरू समेत लगाई कुटपिट गर्ने, ज्यान मार्ने कुरा गरी शान्ति सुरक्षा खलबल्याउने सम्भावना भएकोले जिउ ज्यानको सुरक्षा गरी विपक्षीले लिएको रकम असुलउपर गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय प्युठानमा निवदेन दिएको र उक्त निवेदनको बारेमा कारवाही अगाडि बढाई दिनु पर्‌यो भन्दा उल्टै ममाथि नै ठगी मुद्दा चलाएको 

मिलेन । मुलुकी ऐन, ठगीको १, २ नं. अनुसार नभए नगरेको काम कुरा भए गरेको भनी प्रतिवादीको धन सम्पत्ति खाएको छैन । यस अवस्थामा दायर भएको मुद्दा खारेज गर्नुपर्नेमा नगरी मलार्इ  सजाय गरेको सुरू फैसला बदर गरिपाउँ भनी पुनरावेदक प्रतिवादी चित्रबहादुर जि.सी.ले पुनरावेदन अदालत, तुलसीपुरमा दिएको पुनरावेदन पत्र ।

प्रतिवादी चित्रबहादुर जि.सी. ले तनसरा वि.क. लाई २०५० सालमा रू.१०,०००।- कर्जा दिएको नदेखाई निज तनसरासँग २०६४ साल जेष्ठ २० गते गराएको तमसुकमा तनसराले रू.४८,४००।- कर्जा लिएको र सोबापत चित्रबहादुरले ५ रोपनी जग्गा भोगबन्धकीमा भोगचलन गरी खानु भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । जाहेरीवाली र घटना विवरण कागज गर्ने मानिसहरूले प्रतिवादी चित्रबहादुर जि.सी.ले २०५० सालमा तनसरालाई दिएको रू.१०,०००।- को चक्रवृद्धि ब्याज जोडी २०५३ सालमा रू.२३,०००।- र त्यसको पनि चक्रवृद्धि ब्याज जोडी २०६४ सालमा रू.४८,४००।- को भोगबन्धकी कागज गरार्इ जाहेरवाली तनसरा वि.क. लाई ठगी गर्ने कार्य गरेको लेखाई बकपत्र गरेको र प्रतिवादीले आफ्ना साक्षी र लिखत साक्षी उपस्थित गराउन सकेको पाइँदैन । तनसराले २०५० सालमा प्रतिवादी चित्रबहादुर जि.सी. सँग लिएको रू.१०,०००।- को साँवा ब्याजमा तनसराले २०५८ सालमा दिएको रू. ५,८००।- र २०६७ सालमा दिएको रू.१,०००।- गरी जम्मा रू.६,८००।- कटाई बाँकी रकम पाउने र २०६४ सालमा गराएको रू.४८,४००।- भोग बन्धकी कागज ठगी गर्ने मनसायबाट गराएकोले ठगीको महलको ४ नं. बमोजिम प्रतिवादीलार्इ १ महिना ११ दिन कैद र रू.४१,६००।- जरिवाना गरेको फैसला सदर हुने ठर्हछ भन्ने पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६९/११/१३ को फैसला । 

ठगीको परिभाषाभित्र नपरेको र लेनदेन व्यवहारको ६ नं. ले मान्यताप्राप्त कार्यमा ठगीको कसुरदार ठहर गरी सजाय गरेको फैसलाहरूबाट ठगीको १, २ नं. र लेनदेन व्यवहारको ६ नं. को कानूनी व्यवस्थाको गम्भीर त्रुटि भएको छ । लिखत फट्टा गरेको वा थैली बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्‌याउनु पर्नेमा सोको तथ्ययुक्त लिखत प्रमाण पेस गर्न सकेको नदेखिँदा रूपैयाँ बुझी वादीले फट्टा दिएको भन्न नमिल्ने भनी सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प. ०४६, नि.नं. ३८७१ को नजिरविपरीत भएको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‌याई हेरी पाउँ भन्ने प्रतिवादी चित्रबहादुर जि.सी. ले यस अदालतमा दिएको निवेदन ।

जाहेरवाला र प्रतिवादीबीच मिति २०६४/२/२० मा तमसुक गरी कर्जा लेनदेन भएको र सो तमसुकउपर जाहेरवालीको कुनै चुनौती भएको पाइएन । यस्तो अवस्थामा यति लामो समयपछि पर्न आएको जाहेरीको आधारमा उक्त लिखतलाई अन्यथा भन्न मिल्ने हुँदैन । लेनदेनको जरियालाई ठगीको वारदात तथा कसुर कायम गर्न मिल्ने नदेखिँदा पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६९/११/१३ मा भएको फैसलामा मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ४, ५ र ६ नं. अदालती बन्दोबस्तको ७८ र १८४क नं. को व्याख्यामा गम्भीर कानूनी त्रुटि भई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उप-दफा १ को खण्ड (क) अवस्था विद्यमान देखिँदा मुद्दा दोहर्‌याई हेर्ने निस्सा प्रदान गरी दिएको छ भन्ने यस अदालतको मिति २०७०/४/१७ को 

आदेश । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिलको अध्ययन भयो । आजको पेसीमा दुवैतर्फबाट कानून व्यवसायी अनुपस्थित रहनु भयो ।

प्रतिवादी चित्रबहादुर जि.सी. ले तनसरा विश्वकर्मालाई २०५० सालमा सापटी रू.१०,०००।- दिएकोमा ब्याज बापत भनी प्रचलित कानूनको सीमा नाघी आफ्नो प्रभावमा पारी  २०५३ सालमा रू.२३,०००।- र २०६४ सालमा रू.४८,४००।– थैली कायम गरी उक्त रकम असुल्न दबाब दिई तनसरा विश्वकर्मालाई ठगी गरेकोले ठगीको महलको १ नं. र ४ नं. को कसुरमा चित्रबहादुर जि.सी. लाई सोही महलको ४ नं. अनुसार हदैसम्म सजाय गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी विरूद्धको अभियोग दाबी देखिन्छ ।

जाहेरवाली र घटना विवरण कागज गर्ने मानिसहरूले अदालतमा आई प्रतिवादी चित्रबहादुर जि.सी. ले  २०५० सालमा रू.१०,०००।- लगानी गरी सोको चक्रवृद्धि ब्याज जोडी २०५३ सालमा रू.२३,०००।- र २०६४ सालमा रू.४८,४००।- को भोगबन्धकी कागज गरार्इ तनसरा वि.क. लाई ठगी गरेको भनी लेखाई बकपत्र गरेको र प्रतिवादीले आफ्ना साक्षी र लिखत साक्षी पनि उपस्थित गराउन नसकेको भनी प्रतिवादी विरूद्धको अभियोग दाबी पुग्ने ठहर्‌यार्इ सुरू प्युठान जिल्ला अदालतले प्रतिवादीलाई ठगीको महलको ४ नं. बमोजिम १ महिना ११ दिन कैद र रू.४१,६००।- जरिवाना गरेको फैसला पुनरावेदन अदालत, तुलसीपुरबाट समेत सदर भएको 

देखियो । त्यसमा चित्त नबुझाई प्रतिवादीले यस अदालतमा पुनरावेदन गरेको पाइन्छ । २०६४/२/२० मा भएको तमसुकउपर जाहेरवालीको कुनै चुनौती नभएको अवस्थामा लामो समयपछि पर्न आएको जाहेरीको आधारमा उल्लिखित लेनदेन व्यवहारलाई ठगीको कसुर कायम गर्न नमिल्ने भन्ने आधार लिई यस अदालतले मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान गरेको देखिन्छ ।

अब पुनरावेदन अदालतको फैसला मिले नमिलेको र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भयो । 

२. प्रस्तुत ठगी र लेनदेन दुवै मुद्दाको मिसिलको अध्ययनबाट प्रतिवादीले जाहेरवाली तनसरा वि.क. र निजको छोरा गोरबहादुर वि.क. लाई रू.१०,०००।- दिएको र निजहरूले २०५३ सालमा रू.५,८००।- तथा २०६७ सालमा रू.१,०००।- समेत फर्काएकोमा ती रकमहरूलाई नघटाई चक्रवृद्धि ब्याजको हिसाब गरी  २०५३ सालमा रू. २३,०००।- को कपाली तमसुक र  पुनः २०६४/२/२० मा उक्त रू. २३,०००।- समेत मिलाई रू.४८,४००।- को कपाली तमसुक गराएको कार्य ठगी भएको भन्ने अभियोगदाबी र फैसला देखिन्छ ।

३. ठगीको महलको १ नं. मा "कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलार्इ वा जसका जिम्मामा रहेको छ उसलार्इ ललार्इ फकार्इ वा जाल परिपञ्च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनार्इ  दिर्इ वा पेस गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्यार्इ वा झुठो कुरालार्इ सद्दे हो भनी झुक्यार्इ वा अरू जुनसुकै व्यहोरासँग धोका दिर्इ गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए बिक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ" भनी उल्लेख भएको 

पाइन्छ । उक्त १ नं. मा ललाउने फकाउने, जाल परिपञ्च गर्ने, किर्ते  कागज बनाउने वा पेस गर्ने, झुक्याउने वा अरू जुनसुकै व्यहोरासँग धोका दिई वा गफलतमा पारी भन्ने जस्ता शब्दहरू प्रयोग भएबाट उक्त कानूनले अरू किसिमको जोर जुलुम अन्याय अत्याचारलाई समेटेको नभई प्रतिवादीले पीडितलाई झुठ, फरेब र झुक्याउने लगायतको कार्य गरी पीडितलार्इ विश्वास दिलाउनसमेत सफल भई पीडितको सहमतिबाटै प्रतिवादीबाट पीडित विरूद्ध ठगीको कसुर भएको देखिनु अपरिहार्य हुन्छ । पीडितको सहमतिको मुख्य कारण नै यी प्रतिवादीको झुक्यान deceit हुन्छ । तर प्रस्तुत विवादमा प्रतिवादीले पीडितलार्इ ललाएको फकाएको समेतको कार्य गरी दाबीको लिखतमा पीडितको सहिछाप गराएको वा पीडितले सहिछाप गरेको कुनै प्रमाण गुज्रन आएको छैन । प्रतिवादीले पीडितलार्इ दिएको रू.१० हजारको चर्को ब्याज थैलीमा गाभी बढी थैलीको लिखतलार्इ ठगी गरेको भन्ने अभियोगदाबी छ तर कानूनले तोकेको दश प्रतिशतको सीमा नाघी चर्को ब्याजदर जोडी लेनदेन गर्ने गराउने प्रचलन धेरै पहिलादेखि रही आएको प्रचलन हो । नेपाल भारतलगायतका मुलुकमा जताततै व्याप्त यो व्यवहारलाई सूदखोरी पनि 

भनिन्छ । यो व्यवहार कानूनद्वारा अमान्य भए पनि नेपालको कानूनले यसलाई कसुर ठहर गरी दण्डनीय बनाएको पाइँदैन । सो रहे भएको भए सो कानून उल्लेख गरी प्रतिवादी विरूद्ध अभियोगदाबी लिन सक्नु 

पर्थ्यो । यस्तो व्यवहार सदर नहुने भनी मुलुकी ऐन, लेनदेन व्यवहारको ६ नं.ले प्रस्ट बोलेको देखिन्छ । कुनै काम कुरालार्इ कानूनले सम्बोधन गरिसकेको  अवस्थामा कानूनको प्रस्ट व्यवस्थाबेगर यस्तो व्यवहारलार्इ भिन्नै प्रयोजनको लागि बनेको कानूनभित्र जबरजस्ती पार्ने काम गर्नु कानूनको अनुचित प्रयोग हुन्छ । कानूनले कसुर भनी परिभाषित नगरेको काम कुरा गरेको विषयलाई लिएर कसैउपर मुद्दा चलाउनु र ठहर गर्नु दुवै अनुचित हुन् । यस्तो विषयवस्तुमा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारीले यी प्रतिवादीको बयान गराई सो बयानका साथ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि पठाएको प्रस्तुत मुद्दाको प्रारम्भिक उठान नै पूर्वाग्रहग्रस्त छ । यो एक किसिमको दबाब देखिन्छ जसलाई थेग्न नसकी प्रतिवादी विरूद्ध ठगीको अभियोग दायर भएको पाइन्छ । ठाडै कानूनविपरीत देखिने विवादित अभियोगदाबीलाई कैफियतसहित खारेज गर्नुपर्नेमा सुरू जिल्ला अदालत र पुनरावेदन अदालतसमेतले अभियोगदाबी पुग्ने ठहर्‌याएको फैसलाबाट अदालतको निष्पक्षता, क्षमता र कानूनको शासनप्रतिको प्रतिबद्धतासमेतमा असर पुगेको भन्ने यो इजलासको धारणा छ । अत: प्रतिवादी र जाहेरवालीबीचमा भएको उल्लिखित तमसुक लिखत कारोबारलाई मुलुकी ऐन ठगीको महलको १ नं. ले समेट्न सक्ने  नदेखिँदा प्रतिवादीले उक्त १ नं. को कसुर गरेको ठहर्‌याई निजलाई ठगीको ४ नं. बमोजिम १ महिना ११ दिन कैद र रू.४१,६००।- जरिवाना हुने ठहर्‌याएको सुरू प्युठान जिल्ला अदालतको मिति २०६८/१०/२५ को फैसला सदर गरेको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६९/११/१३ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी चित्रबहादुर जि.सी. ले अभियोगदाबीको कसुरबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्ने ।

तपसिल

प्रतिवादी चित्रबहादुर जि.सी. ले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकोले प्रतिवादी चित्रबहादुरको नाममा कसेको जरिवानाको  लगत कायम हुन नसक्ने हुँदा सो लगत कट्टा गर्नु भनी सुरू अदालतमा लेखी पठाउनेे ----------------------------------------------१

प्युठान जिल्ला अदालतको च.नं. २८७, मिति २०६७/७/१७ र पुनरावेदन अदालत, तुलसीपुरको च.नं. १११, मिति २०६९/४/९ को पत्रबमोजिम प्रतिवादी चित्रबहादुर जि.सी. को नाममा दर्ता रहेको प्युठान जिल्ला बरौला गाउँ विकास समिति वडा नं. ७, कि.नं. ४२ को क्षेत्रफल १-६-३-३ को जग्गा रोक्का रहेकोमा उल्लिखित जग्गाको रोक्का फुकुवा गर्नु भनी मालपोत कार्यालयमा पत्रचार गर्नु भनी प्युठान जिल्ला अदालतलार्इ लेखी पठाउनू--------------------------१

दायरी लगत कट्टा गरी प्रस्तुत मिसिल नियमानुसार बुझाई दिनू -------------------------------------------१

 

उक्त रायमा सहमत छु ।

न्या. गोपाल पराजुली

 

इजलास अधिकृतः- हर्कबहादुर क्षेत्री

इति संवत् २०७२ साल चैत २२ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु