शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७१३ - लेनदेन

भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी 

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७३।०२।२७

०७०-CI-०१७४

 

मुद्दाः लेनदेन

 

पुनरावेदक वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ ज्याठा बस्ने पुरूषोत्तमभक्त प्रधानाङ्ग

विरूद्ध

विपक्षी प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने केशव श्रेष्ठसमेत

 

विवादको पक्षले उठान नगरेको विषयमा प्रवेश गरी निर्णय गर्नु अगाडि न्याय निरूपण गर्ने निकायबाट गम्भीररूपमा विचार गर्नुपर्ने हुन्छ । वादीले सुरू फैसलाउपर चित्त नबुझाई पुनरावेदन गरेको अवस्थामा पुनरावेदन सुन्ने अदालतबाट पुनरावेदकले उठाएको प्रश्नहरूमा सम्बोधन नगरी प्राविधिक आधारमा मुद्दामा ठहर गर्नुपर्ने अवस्थामा त्यसको अन्तरवस्तुलाई विचार गर्नु अनिवार्य हुन्छ । मुद्दा खारेजी नै हुने प्राविधिक पक्ष मुद्दामा समावेश भएको खण्डमा मुद्दाको सम्बन्धित पक्षले त्यसलाई नै बढी जोड दिई दाबी खण्डन गर्नका लागि मुख्य आधार प्रमाणको रूपमा विषय उठाउने सम्भावना बढी हुने ।

सामान्यतया २०५५।१२।१६ को कपाली तमसुक लिखितको १० वर्षे अन्तिम हदम्याद २०६५।१२।१५ हुनेमा विवाद हुन सक्दैन । यस्तो स्वाभाविकरूपले अनुमान गर्न सकिने विषयमा प्रतिवादीले कुनै प्रश्न नउठाएको र सुरू अदालतले समेत निर्णयका क्रममा त्यसतर्फ प्रवेश गरेको नदेखिँदा पुनरावेदकीय अधिकारक्षेत्र प्रयोग गरी तल्लो निकायको निर्णयलाई नै परिवर्तन गर्न सक्ने अधिकार भएको अदालतबाट निर्णय गर्दा त्यस्तो विषयलाई सतही र हल्कारूपमा प्रमाणको रूपमा ग्रहण गरी निर्णय गर्नु उचित र तर्कसङ्गत मान्न नसक्ने ।

(प्रकरण नं. ३)

 

पुनरावेदक वादीको तर्फबाट : विद्वान् अधिवक्ता विष्णुप्रसाद भुसाल

विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता कृष्णप्रसाद भण्डारी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः

मा.जिल्ला न्यायाधीश श्री लिप्तबहादुर थापा

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

 

फैसला

न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनको मिति २०६८।४।१२ को फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम यस अदालतमा निवेदन परी दोहोर्‌याई हेर्न निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा टोल बस्ने बलराम श्रेष्ठले घर खर्च गर्न भनी मिति २०५५।१२।१६ मा रू. १,००,०००।– रूपैयाँ एक वर्षभित्र साँवा ब्याज तिर्ने सर्तमा निजका छोरा विपक्षी केशव श्रेष्ठलाई साक्षी राखी तमसुक गरी ऋणबापत रकम लिनु भएको थियो । म्यादभित्र उक्त रकमको साँवा ब्याज नबुझाएको र बुझाउनको लागि पटक पटक अनुरोध गर्दा खेत बेचेर दिनेछु भन्दै वचन दिई रहनु भएकोमा निज ऋणी बलराम श्रेष्ठ २०६३ सालमा आफ्नो कालगतीले परलोक हुनुभयो । ऋणी बलरामको मृत्यु भएपश्चात्‌ निजको अंशहक खाने छोराहरू केशव श्रेष्ठ, दिपक श्रेष्ठ र ऋणीको श्रीमती समेत ३ जनासँग तपाइँको बाबु श्रीमान्‌ले खाएको ऋण तिर्नु पर्‌यो भन्दा तीनै जनाले एकमुष्ठरूपमा सबै रकम तिरौला भनी झुट्ठा आश्वासन दिई आलटाल गर्दै आएकोले मिति २०५५।१२।१६ गते ऋणी बलराम श्रेष्ठले लिनु भएको साँवा रू. १,००,०००।– (एकलाख) र सोको १० वर्षमा हुने ब्याज रू. १,००,०००।– (एकलाख) समेत जम्मा साँवा ब्याज रू. २,००,०००।– (दुइलाख) ऋणी बलराम श्रेष्ठको हकखाने विपक्षी छोराहरू केशव श्रेष्ठ, दिपक श्रेष्ठ र श्रीमतीसमेत जना तीनको घर घरानाबाट असुलउपर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी पुरूषोत्तमभक्त प्रधानाङ्गको तर्फबाट परेको फिराद पत्र ।

पिताजीको पालामा भएको लेनदेनको रकम तिर्न हामीसँग तत्काल रकम नभएकोले विपक्षीसँग समय माग गरेका थियौं । सोही क्रममा मिति २०६५।१२।११ मा सो समयसम्म बाँकी रहेको सबै ब्याज चुक्ता गरी साँवा रू. १,००,०००।– को अर्को तमसुक भाइ दिपक श्रेष्ठलाई साक्षी राखी म केशव श्रेष्ठले निज धनीलाई नयाँ तमसुक गरिदिएको थिएँ । हिसाब मिलान भई नयाँ कागज भएको हुँदा निजलाई पुरानो कागज च्याती दिनुहोला विश्वासमा छाडेकोमा भाखा नै सकिन लागेको छ म च्याती दिन्छु ढुक्क भएर जानुहोस् भनेको हुँदा म सोबारे विश्वासघात नहुनेमा ढुक्क थिएँ । बाबुको शेषपछि घरको जेठो छोरा भएको नाताले म केशव श्रेष्ठले विपक्षीलाई अर्को कागज गरी दिइसकेको हुँदा दाबीको लिखतबाट रकम बुझाउने गरी फैसला गर्न मिल्ने अवस्था छैन विपक्षीको झुट्ठा दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी केशव श्रेष्ठ र दिपक श्रेष्ठसमेत जना २ को सुरू अदालतमा पेस भएको प्रतिउत्तर पत्र ।

मिति २०६६।३।१ को आदेशानुसार मिति २०५५।१२।१६ र २०६५।१२।९ मा भएका सक्कल लिखत प्राप्त भई मिसिल सामेल रहेको ।

पति बलराम श्रेष्ठको हकखाने हकदारहरूमा २ छोराहरू केशव श्रेष्ठ, दिपक श्रेष्ठ, छोरी दिव्यश्वरी श्रेष्ठ र म दिलकुमारी श्रेष्ठसमेत ४ जना छौं । वादीसँग पतिले लिनु भएको ऋण तत्काल हामीले तिर्न नसकेकोले सो ऋण चुक्ता गर्न वादीसँग समय माग गरी वादीले भनेबमोजिम ब्याज बुझाई छोरा केशव श्रेष्ठले बाँकी साँवाको सम्बन्धमा अर्को तमसुक गरिदिएको 

हो । निज धनीले पुरानो तमसुक नच्याती सोही तमसुकको आधारमा प्रस्तुत नालेस गरेछन् । यो तमसुकको हिसाब गरी हालसम्मको ब्याज बुझाई साँवाको हकमा अर्को तमसुक गरिदिएकोले दाबीबमोजिमको रकम तत्काल बुझाउनु पर्ने होइन भनी अ.बं. १३९ नं. बमोजिम बुझिएकी दिलकुमारी श्रेष्ठले बयान गरी मिति २०६६।७।२२ को आदेशले प्रतिवादी कायम भई तारेखमा रहेको देखिएको ।

पिता बलराम श्रेष्ठको हकखाने हकदारहरूमा २ छोरा मेरा दाजुहरू केशव श्रेष्ठ र दिपक श्रेष्ठ म दिव्यश्वरी श्रेष्ठ र आमा दिलकुमारी श्रेष्ठसमेत ४ जना अंशियार छौं । वादीसँग पिताले लिनु भएको ऋण तत्काल हामीले तिर्न नसकेकोले वादीसँग समय माग गरी वादीले भनेबमोजिमको ब्याज बुझाई दाजु केशव श्रेष्ठले साँवाको अर्को तमसुक गरिदिनुभएको हो । अर्को तमसुक गरी दिँदा पुरानो तमसुक च्याती दिन्छु भनी वादीले विश्वासमा पारेको हुँदा दाजुले पुरानो तमसुक लिनु भएन । सोही पुरानो तमसुक छलकपटपूर्वक आफैँले राखी वादीले यो नालेस गरेका हुन् । यो तमसुकको हिसाब गरी ब्याज बुझाई साँवाको अर्को तमसुक गरिदिएको हुँदा दाबीबमोजिमको रकम बुझाउनु पर्ने होइन भनी अ.बं. १३९ नं. बमोजिम बुझिएकी दिव्यश्वरी श्रेष्ठले बयान गरी मिति २०६६।११।२५ को आदेशले प्रतिवादी कायम भई तारेखमा रहेको देखिएको ।

अदालतको मिति २०६६।१०।२७ को आदेशानुसार वादीबाट धनी पुरूषोत्तमभक्त प्रधानाङ्ग ऋणि केशव श्रेष्ठ भएको २०६५।१२।९ को सक्कल लिखत पेस भएको, सो लिखतको लिखत र लेखक साक्षीलाई बुझ्न म्याद जारी हुँदा लिखत “मेरो रोहवरमा कारोबार भई आएको र म लिखत साक्षी बसेको हुँ” भनी लिखतका साक्षी राजु खतिवडाले बयान गरेको, लिखत साक्षी दिपक श्रेष्ठ र लेखक साक्षी मनोजकुमार श्रेष्ठले तामेल भएको म्यादभित्र उपस्थित भएको नदेखिएको ।

२०५५ सालमा भएको कागजको १० वर्षे म्याद समाप्त हुन लागेको अवस्थामा सो कागजको म्याद अध्यावधिक गर्ने प्रयोजनले २०६५ सालमा दोस्रो कागज भएको देखिएको र सो पछिल्लो मितिको तमसुकअनुसारको रकम तिर्न बुझाउन प्रतिवादीहरू सहमत रहेको देखिएको अवस्थासमेतबाट वादीले लिएको वादी दाबी पुग्न सक्ने अवस्था देखिँदैन । तसर्थ दाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।५।३ मा भएको फैसला ।

उक्त फैसलामा मेरो चित्त बुझेन । विपक्षीहरूका पिताले २०५५।१२।१६ मा गरिदिएको कपाली तमसुक लिखतको दायित्व विपक्षीमध्येको केशव श्रेष्ठले बहन गरी २०६५।१२।९ मा गरिदिएको लिखतमा सारेको अवस्था होइन । मिति २०५५।१२।१६ को लिखतलाई विपक्षीहरूले अन्यथा भन्न सकेका छैनन् । १० वर्ष अवधि पुग्न लागेको अवस्थामा अघिल्लो व्यवहारलाई अध्यावधिक गर्नको निमित्त मिति २०६५।१२।९ को पछिल्लो तमसुक लिखत गरिदिएको भनी अनुमानको भरमा काठमाडौं जिल्ला अदालतबाट दाबी नपुग्ने गरी ठहर गरेको फैसला मुलुकी ऐन, लेनदेन व्यवहारको १ र ५ नं. विपरीत भई त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी मिति २०५५।१२।१६ मा लगेको ऋण रकम रू. १,००,०००।– (एकलाख) र सोको कानूनबमोजिमको ब्याजसमेत भराई पाउँ भन्नेसमेत व्यहोराको वादीको तर्फबाट पुनरावेदन अदालत, पाटनमा पेस भएको पुनरावेदन पत्र ।

प्रतिवादीका बाबु बलराम श्रेष्ठले वादीबाट रू. १,००,०००।– (एक लाख रूपैयाँ) लिई छोरा केशव श्रेष्ठलाई साक्षी राखी मिति २०५५।१२।१६ मा रकम लिएको कुरामा विवाद छैन । २०५५।१२।१६ को लिखतको साँवा ब्याज भराई पाउन वादीले मिति २०६५।१२।१६ मा फिराद दर्ता गरेको र मुलुकी ऐन, लेनदेन व्यवहारको २ नं. अनुसार लिखत भएको मितिले १० वर्षभित्र फिराद दर्ता गरिसकेको हुनुपर्ने अर्थात्‌ मिति २०६५।१२।१५ सम्ममा फिराद दायर गर्नुपर्नेमा सो मितिभित्र दायर हुन नआएको पुनरावेदकको फिराद दाबी खारेज गर्नुपर्नेमा वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसलाले दाबीका सम्बन्धमा तात्त्विक असर पर्ने नदेखिँदा सुरू फैसला सदर हुने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।४।१२ मा भएको फैसला ।

मुलुकी ऐन, लेनदेन व्यवहारको २ नं. को हदम्यादअनुरूप मिति २०५५।१२।१६ मा रकम लिनुदिनु गरेको व्यवहारका सम्बन्धमा मिति २०६५।१२।१५ भित्र फिराद दर्ता गर्नुपर्ने भएपनि उक्त दिन सार्वजनिक बिदा परी अड्डा तातिल परेको हुँदा उक्त दिन फिराद दर्ता हुन नसकेको हो । मुलुकी ऐन, अ.बं. ४५ नं. को कानूनी व्यवस्थालाई नजरअन्दाज गरी फैसलाको निर्णयाधार कायम गर्न मिल्दैन । विपक्षीका पिताले मसँग ऋण लगेको रू. एकलाख तिरे बुझाएको कुनै भरपाई विपक्षीले पेस गर्न सक्नुभएको छैन । २०६५।१२।११ मा सो मितिसम्मको हुने ब्याज भुक्तान गरी साँवा रू. एकलाखको अर्को तमसुक गरिदिएको भनी विपक्षी केशव श्रेष्ठले उल्लेख गरेको सम्पूर्ण व्यहोरा झुट्ठो हो । यदि सो कागज मैले गरेको भए प्रस्तुत मुद्दामा हदम्यादको प्रश्न सिर्जना हुने 

थिएन । २०५५ साल र २०६५ सालमा भएका लिखतको एक आपसमा कुनै सम्बन्ध नै छैन । सो सम्बन्ध नै कायम नभएको लिखतलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । पुनरावेदन अदालत, पाटनबाट हदम्यादको प्रश्न उठाई फिराद दाबी खारेज गर्ने फैसलामा सर्वोच्च अदालतबाट ने.का.प. २०५२ अंक १ – नि.नं. ५०३१, ने.का.प. २०५३ अंक ११ नि.नं. ६८१५ र ने.का.प. २०६८ अंक १ नि.नं. ८५३२ समेतमा प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत भई त्रुटिपूर्ण हुँदा उक्त फैसला दोहोर्‌याई हेर्ने गरी निस्सा प्रदान गरी वादी दाबीबमोजिमको रकम विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी पुरूषोत्तमभक्त प्रधानाङ्गको तर्फबाट यस अदालतसमक्ष पेस भएको मिति २०६९।४।१४ को दोहोर्‌याई पाउँ भन्ने निवेदन ।

यसमा वादी प्रतिवादीका बीच मिति २०५५।१२।१६ मा लिखत भई मिति २०६५।१२।१५ मा फिराद दर्ता गर्नुपर्ने भएपनि २०६५ सालको क्यालेण्डर हेर्दा उक्त दिन अर्थात्‌ मिति २०६५।१२।१५ को दिन शनिबार परेको भन्ने निवेदन जिकिर रहेको भई सो दिन शनिबार नै परेको देखिएको अवस्थामा हदम्यादविहीन भन्न नमिल्नेमा हदम्याद विहीन भनी फिराद नै खारेज हुने ठहर्‌याएको सुरू काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, पाटनको इन्साफमा मुलुकी ऐन, लेनदेन व्यवहारको २ नं. र अ.बं. ४५ नं. को त्रुटि विद्यमान भएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‌याई हेर्ने गरी यस अदालतबाट मिति २०७०।३।२५ मा भएको निस्सा आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री विष्णुप्रसाद भुसालले पुनरावेदक र विपक्षीका बीच पहिले र पछि भएको कागज एउटै कागजको निरन्तरता होइन । कानूनतः एउटै व्यक्तिसँग फरक-फरक मितिमा फरक-फरक लिखत कागज गर्न सकिने नै हुन्छ । सोहीअनुसार पछिल्लो मिति २०६५।१२।९ मा रकम लेनदेन भई अर्को कागज भएको हो । पहिलो लिखत अनुसारको हदम्याद २०६५।१२।१५ सम्म भएकोमा उक्त दिन सार्वजनिक बिदा परेको हुँदा बिदा पछि अड्डा खुलेको पहिलो दिन अर्थात्‌ २०६५।१२।१६ मा फिराद दायर गरेको अवस्थामा हदम्याद नाघेको भनी फैसला गर्न मिल्ने अवस्था नहुँदा मागबमोजिम सुरू फैसला उल्टी गरी दाबीअनुसार साँवा ब्याजसमेत भरी पाउने गरी फैसला हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । 

त्यसैगरी विपक्षी केशव श्रेष्ठसमेतका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले हदम्यादको विषय सुरू अदालतमा हामीले उठाएका थिएनौं, सुरूले दाबी नपुग्ने र पुनरावेदनले सदर गर्दा दाबी खारेज गरिदिएको अवस्था हो । दोहोर्‌याउने निस्साको आधार मुद्दाको विषयसँग सान्दर्भिक नै नहुँदा सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा कानूनको कुनै व्याख्यात्मक त्रुटि विद्यमान छैन, सो फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

मिसिल संलग्न कागजातहरू अध्ययन गरी, विद्वान्‌ कानून व्यवसायीको बहस जिकिरसमेत सुनी निर्णयतर्फ विचार गर्दा हदम्यादको आधारमा दाबी खारेज गरी सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन ? निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा मिति २०५५।१२।१६ मा घर खर्च गर्नका लागि केशव श्रेष्ठका बाबु बलराम श्रेष्ठले लिएको रू. एकलाख समयमा चुक्ता नगरेको हुँदा साँवा ब्याजसमेत भराई पाउन माग दाबी लिई पेस भएको फिरादका सम्बन्धमा सुरू जिल्ला अदालतबाट २०५५ सालमा भएको कागजको १० वर्षे म्याद समाप्त हुने अवस्थामा सो कागजको म्याद अध्यावधिक गर्ने प्रयोजनको लागि २०६५ सालमा दोस्रो कागज भएको देखिएको र दोस्रो कागजमा भएको रकम तिर्न बुझाउन प्रतिवादीहरू सहमत नै रहेको अवस्थामा वादीले लिएको दाबी पुग्न सक्दैन भनी फैसला भएको 

देखिन्छ । सो फैसलाउपर वादीको तर्फबाट परेको पुनरावेदनमा पुनरावेदन अदालत, पाटनबाट लेनदेन व्यवहारको महलको २ नं. अनुसारको लिखतको हदम्यादभित्र फिराद दर्ता नभएको अवस्थामा दाबी खारेज हुने हुँदा वादी दाबी पुग्न नसक्ने गरी भएको फैसलाले खारेजी फैसलामा तात्त्विक असर पर्ने नदेखिँदा सुरू फैसला सदर हुने ठहरी फैसला भएकोमा वादीले उक्त फैसला चित्त नबुझाई सो फैसलाउपर दोहोर्‌याई पाउँ निवेदन पेस गरेकोमा यस अदालतबाट निस्सा प्रदान भई प्रस्तुत मुद्दा सुनुवाइको लागि पेस भएको देखिन आयो ।

३. सुरू अदालतमा वादी दाबी पेस भएपश्चात्‌ प्रतिवादीले फिराएको प्रतिउत्तरमा हदम्यादको प्रश्न उठाएको देखिँदैन । सुरू काठमाडौं जिल्ला अदालतबाट समेत फैसला हुँदा सो सम्बन्धमा विचार गरेको 

देखिँदैन । यसरी विवादको पक्षले उठान नगरेको विषयमा प्रवेश गरी निर्णय गर्नु अगाडि न्याय निरूपण गर्ने निकायबाट गम्भीररूपमा विचार गर्नुपर्ने हुन्छ । वादीले सुरू फैसलाउपर चित्त नबुझाई पुनरावेदन गरेको अवस्थामा पुनरावेदन सुन्ने अदालतबाट पुनरावेदकले उठाएको प्रश्नहरूमा सम्बोधन नगरी प्राविधिक आधारमा मुद्दामा ठहर गर्नुपर्ने अवस्थामा त्यसको अन्तरवस्तुलाई विचार गर्नु अनिवार्य 

हुन्छ । मुद्दा खारेजी नै हुने प्राविधिक पक्ष मुद्दामा समावेश भएको खण्डमा मुद्दाको सम्बन्धित पक्षले त्यसलाई नै बढी जोड दिई दाबी खण्डन गर्नका लागि मुख्य आधार प्रमाणको रूपमा विषय उठाउने सम्भावना बढी 

हुन्छ । सामान्यतया २०५५।१२।१६ को कपाली तमसुक लिखितको १० वर्षे अन्तिम हदम्याद २०६५।१२।१५ हुनेमा विवाद हुन सक्दैन । यस्तो स्वाभाविक रूपले अनुमान गर्न सकिने विषयमा प्रतिवादीले कुनै प्रश्न नउठाएको र सुरू अदालतले समेत निर्णयका क्रममा त्यसतर्फ प्रवेश गरेको नदेखिँदा पुनरावेदकीय अधिकारक्षेत्र प्रयोग गरी तल्लो निकायको निर्णयलाई नै परिवर्तन गर्न सक्ने अधिकार भएको अदालतबाट निर्णय गर्दा त्यस्तो विषयलाई सतही र हल्कारूपमा प्रमाणको रूपमा ग्रहण गरी निर्णय गर्नु उचित र तर्कसङ्गत मान्न सकिँदैन । 

४. विवादको विषय २०५५ सालको लेनदेन लिखत र २०६५ सालको लिखतको सार्थक सम्बन्ध रहेको वा दुवै लिखतको छुट्टाछुट्टै अस्तित्व रहेको हो भन्ने सन्दर्भमा निर्णय हुनुपर्ने भई सुरू अदालतबाट सोही विषयमा केन्द्रित भई ठहर निर्णय भएको देखिन्छ । तर पुनरावेदन अदालतबाट लिखतको हदम्यादलाई प्रमुखताका साथ उठान गरी ठहर खण्डमा सोही विषयलाई  केन्द्रित गरी लिखतको म्याद २०६५।१२।१५ मा नै १० वर्ष समाप्त भइसकेको भनी दाबी नै खारेज हुने गरी ठहर भएको देखिन्छ । पुनरावेदन अदालतबाट प्रस्तुत मुद्दाको फैसलामा अन्तिम हदम्याद मिति २०६५।१२।१५ मानिएको भएपनि वार्षिक नेपाली पात्रोमा उक्त दिन सार्वजनिक बिदा शनिबार परेको देखिन्छ । अन्तिम हदम्यादमा बिदा परेका भए पक्षको नालेस गर्न हदम्याद नजाने बिदापछिको पहिलो दिनसम्म स्वतः हदम्याद कायम हुनेमा विवाद हुन सक्दैन । यसै विषय सम्बोधन हुने गरी मुलुकी ऐन, अ.बं. ४५ नं. मा “हदम्याद पुग्ने वा म्याद तारेखमा हाजिर हुनुपर्ने वा कुनै कागज दाखिल गर्नुपर्ने दिन अड्डा तातिल परे तातिलपछि अड्डा खुलेको पहिलो दिनमा हाजिर हुने दाखिल गर्नेको हदम्याद वा म्याद तारिख गुज्रन सक्दैन ।” भन्ने कानूनी व्यवस्था देखिँदा अड्डा तातिल (बन्द) भएको कारण मुद्दाको हदम्याद वा म्याद तारेख समाप्त नहुने सम्बन्धमा कुनै द्विविधा वा अडचन देखिँदैन । यस्तो अवस्थामा शनिबारको सार्वजनिक बिदाको दिनलाई अन्तिम हदम्याद कायम गरी दाबी नै खारेज हुने भनी गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्लिखित अ.बं. ४५ नं. को कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा मिलेको देखिन आएन ।

५. तसर्थ माथि विवेचित आधार र कारणबाट हदम्यादको आधारमा फिराद दाबी खारेज हुने ठहर गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।४।१२ मा भएको फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब पुनरावेदकले पुनरावेदन जिकिरमा लिएको मुद्दाको तथ्यभित्र प्रवेश गरी जो जे बुझ्नुपर्ने हो बुझी निर्णय गर्नु भनी पुनरावेदन अदालत, पाटनमा फैसलाको जानकारीसहित मुद्दाको सक्कल मिसिल फिर्ता पठाइ दिनू । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृत : चन्द्रप्रकाश तिवारी

इति संवत् २०७३ साल जेठ २७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु