शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७१४ - गैंडा मारी खाग बिक्री व्यवसाय गरेको ।

भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत,  संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर जबरा

फैसला मिति : २०७३।०१।१६

 

मुद्दाः  गैंडा मारी खाग बिक्री व्यवसाय गरेको ।

 

०७०-CR-०४५८

पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन पदमपुर १ को हाल मकवानपुर जिल्ला हाडखोला गाउँ विकास समिति वडा नं. ७ घर भई हाल क्षेत्रीय कारागार भिमफेदी मकवानपुरमा थुनामा रहेको मुन्ना प्रजा

विरूद्ध

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालसमेतको जाहेरीले नेपाल सरकार

 

०७०-CR-०४५७

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन पदमपुर गाउँ विकास समिति वडा नं. १ बस्ने कविराज मगरसमेत

 

कुनै कसुरमा एकभन्दा बढी प्रतिवादीहरूलाई तत्सम्बन्धी ऐनको एउटै दफाको सजायको माग गरिएको भएपनि कानूनले निर्णयकर्तालाई विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थामा मिसिल संलग्न कागज प्रमाणहरूको विष्लेषण गरी वारदातमा व्यक्तिपिच्छे प्रतिवादीको संलग्नता, भूमिका जस्ता विषयहरू पहिचान गरी वारदात घटाउन नेतृत्व लिएको, सहायकको भूमिकामा रहेको, आफैँ प्रहार गरेको, गौँडा कुरेको, सुराकीको भूमिका निर्वाह गरेको, लाभ लिने कार्यमा सहभागी भए नभएको, हातहतियारको बन्दोबस्त आदि गरे नगरेको लगायतका थुप्रै विषयहरूका आधारमा अमुक कसुर घटाउनमा कुनै प्रतिवादीको के कति भूमिका र हिस्सा छ त्यही आधारमा कसुरको मात्राअनुसार सजाय निर्धारण हुने हुँदा एउटै किसिमको अभियोगदाबी भएका सबै प्रतिवादीहरूलाई समान सजाय हुनुपर्छ भनी मान्न नमिल्ने । 

(प्रकरण नं. ५)

फौजदारी कानूनको उल्लङ्घनका लागि सजाय निर्धारण गर्दा विभिन्न सिद्धान्त र अवधारणाहरूको प्रयोग हुँदै आएको पाइन्छ । Mitigating factors भन्नाले कुनै व्यक्तिलाई अदालतले कसुरदार ठहर्‌याएपछि निजलाई कम सजाय गर्न लिने आधारहरूलाई बुझिन्छ भने Aggravating factors भन्नाले कसुरको गम्भीरता बढाउने र अधिकतम सजाय गर्ने आधारहरूलाई बुझिन्छ । Mitigating factors  का लागि जो विरूद्ध अपराध भएको छ । उसैको उक्साहटको कारण अपराध घटाउन कसुरदार प्रेरित भएको अवस्था, कसुरदारको मानसिक अवस्था, उमेर, उक्त अपराध घटाउन कसुरदारको अत्यन्त कम भूमिका, कसुरदारको पूर्व आपराधिक रेकर्डको अभाव, अपराध घटाउन पीडितको संलग्नतासमेत रहेको अवस्था, अपराध गर्दाको अवस्था र परिस्थिति आदिको आधारमा विधायिकाले न्यूनतम सजाय गर्ने गरी कानूनमा नै व्यवस्था गरिदिएको वा निर्णयकर्ता (Judge) लाई तत्सम्बन्धी विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थाहरू पर्दछन् । जबकी Aggragating factors पटके अपराधी, पीडितलाई पुगेको क्षतिको गम्भीरता, कसुर घटाउन कसुरदारको नेतृत्वपूर्ण भूमिका, सामाजिकरूपमा अत्यन्त निकृष्ठ र अनैतिक मानिने कसुर, पदको आडमा गरिने कसुर र क्रूर तथा यातनापूर्ण तवरले गरिएको अपराध, अपराधमा घातक हतियारको प्रयोग आदि जस्ता आधारमा विधायिकाले अधिकतम सजाय गर्ने भनी कानूनमा नै व्यवस्था गरिदिएको वा निर्णयकर्तालाई तत्सम्बन्धमा विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थाहरू पर्दछन्, हाम्रो प्रचलित नेपाली फौजदारी कानूनमा पनि कसुरदारलाई कुनै कसुरका लागि दायित्व वहन गराउनेसम्बन्धी विभिन्न सिद्धान्तहरूको व्यवस्था भएको पाइने ।

कतिपय कसुरका लागि सजाय निर्धारणमा न्यायाधीशलाई विवेक प्रयोग गर्न कुनै स्थान नै दिइएको पाइँदैन भने कतिपय कसुरका लागि कसुरको मात्राअनुसार सजाय निर्धारण गर्ने गरी विवेक प्रयोग गर्ने अधिकार न्यायाधीशलाई प्रदान गरिएको पनि पाइन्छ । के कस्तो अवस्थामा Aggragating factors अपनाउने र के कस्तो अवस्थामा Mitigating factors अनुशरण गर्ने भनी हामी कहाँ छुट्टै कानून नभएपनि विभिन्न कानूनमा एउटै कसुरका लागि सजायको न्यूनतम र अधिकतम हदको सजायसम्बन्धी व्यवस्थालाई सोहीरूपमा बुझ्न सकिने ।

मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. को व्यवस्थालाई Mitigating factors को अनुसरणका लागि विधायिकाले न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको रूपमा बुझ्न सकिन्छ । Mitigating  factors को अनुशरण गर्दा कुनै कसुरमा संलग्न व्यक्तिलाई माथि उल्लिखित विभिन्न आधारमा कम सजाय निर्धारण गर्ने हो भने त्यही कसुरका लागि Aggragating factors अनुशरण गर्ने माथि उल्लिखित आधारहरू देखिन आएमा सजायको मात्रा बढाउने हो । यसबाट Mitigating वा Aggravating factors सजाय निर्धारणमा न्यायाधीशलाई प्राप्त विवेकाधिकारसित सम्बन्धित छ भन्ने बुझिन आउने ।

कसुरको मात्राअनुसार सजाय हुने भन्ने कुरा कुनै न कुनैरूपमा Mitigating वा Aggravating factors सित सम्बन्धित विषय हो । कसुरको मात्रा भनेको तथ्य र प्रमाणबाट कुनै कसुर घटाउन कुनै व्यक्तिको के कस्तो संलग्नता र भूमिका छ भन्ने कुरा निर्धारण गर्ने हो । कुनै वारदातमा मुख्य भई भूमिका निर्वाह गर्ने, सहयोगसम्म गर्ने, लाभ लिने, योजना बनाउने, वातावरण तयार गरिदिने आदि विभिन्न भूमिकाहरूका लागि कानूनले छुट्टाछुट्टै भार तय गरेको अवस्थामा एउटै कसुरमा एकभन्दा धेरै कसुरदारहरूको संलग्नता रहेको परिप्रेक्ष्यमा तीमध्ये प्रत्येक कसुरदारको उक्त वारदात घटाउन के कस्तो र के कति भार पर्छ त्यही कसुरको मात्रा हुन आउने ।

(प्रकरण नं. ८)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट :

प्रत्यर्थी वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता पुण्यप्रसाद पाठक

अवलम्बित नजिर :

सम्बद्ध कानून :

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

 

पुनरावेदन तहमा फैसला गर्नेः

मा.का.मु.मुख्य न्या.श्री जगदीश शर्मा पौडेल

माननीय न्यायाधीश श्री सत्यमोहन जोशी थारू 

 

फैसला

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने चितवन जङ्गल लज भन्दा २.५ कि.मि. पश्चिममा गैंडा मरी मृत अवस्थामा फेला परेको र उक्त गैंडाको हाड जोर्नी बाहेक शरीरका अन्य अंगहरू कुहि सडिगली गएको अन्दाजी २०-२५ दिन अगाडि मरेको अनुमान गरिएको र गैंडाको खाग धारिलो हतियारले काटी चोरी लगेको भन्ने व्यहोरा खुलाई चितवन जङ्गल लजका सुपरभाइजर बुद्धिलाल जोशीसमेतका व्यक्तिहरूले मिति २०५६।५।३० गते गरिदिएको घटनास्थल प्रकृति मुचुल्का ।

जिल्ला चितवन, टाँडिखोला गाउँ विकास समिति वा.नं. ७ बस्ने मुन्ना प्रजाको घरबाट गैंडा मार्ने काममा प्रयोग हुने भरूवा बन्दुकको नाल-१ र गैंडाको खाग काट्न प्रयोग हुने गरेको खुकुरी थान-३ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट खटि आएको डोरले बरामद भएको साँचो हो भन्ने जगतराम वि.क. समेतले गरी दिएको मिति २०६४।१।१८ को बरामदी मुचुल्का । निज मुन्ना प्रजाले देखाई दिएअनुसार निजको घरबाट २०० मीटर टाढा बाँसको घारीमा निजैले लुकाई छिपाई राखेको गैंडा मार्न प्रयोग गर्ने गरेको भरूवा बन्दुक थान-१ बरामद भएको भन्ने ठाकुर वि.क. समेतका व्यक्तिहरूले मिति २०६४।१।२० को बरामदी मुचुल्का ।

मैले २०५६ सालमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चितवन जङ्गल लजभन्दा करिब २.५ कि.मि. पश्चिममा खगेन्द्र मल्ली क्षेत्रमा मसहित डम्बरे भन्ने बुद्धिबहादुर थिङ, मुसे माइला तामाङ भएको ३ जनाको टोलीले गैंडा मारी खाग काटी पोखरामा बिक्री गरेको हो । निज बुद्धिबहादुर थिङ हाल गैंडासम्बन्धी मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसलाबमोजिम कारागारमा कैदी जीवन बिताइरहेका छन् । डम्बरेको भरूवा बन्दुकले निजले नै गोली हानी खाग काटी आफ्नो झोलामा हालेको हो । म र मुसे माइला साथी मात्र भएका थियौँ । खाग बिक्री गरी मलाई रू १७,०००।– दिए । सो बाहेक सो क्षेत्रमा पटक पटक गरी ३ वटा गैंडा मार्न हाम्रो टोली सफल भयो । हाम्रो टोलीमा कमल प्रजा, रिसिङ्ग प्रजा र ठूलो भाइ भन्ने वीरबहादुर प्रजा पनि संलग्न थिए । पछिल्लो पटक ३ वटा गैंडा मारी खाग काठमाडौं लगेर बिक्री गरेको हो । उक्त ३ वटा खाग बिक्री गर्ने जिम्मा बिरभान प्रजाले लिएकोमा मलाई जम्मा रू.५०,०००।– प्राप्त भएको थियो । बरामद भएको बन्दुकको नाल हामीले २०५६ सालमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र खगेन्द्र मल्लीको बनेला भन्ने स्थानमा गैंडा मार्न प्रयोग गरेको बन्दुकको नाल हो । बन्दुक जंगलमा नै फाली आगो फुक्न हुन्छ भनी नाल मात्र बोकेर ल्याएको हो भन्नेसमेत व्यहोराको मुन्ना प्रजाले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

मुन्ना प्रजा, राजन प्रजा, कुन्दन तामाङ, गोरे अधिकारीसमेतको टोलीसँग म पनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैंडा मार्नको लागि एक पटक गएको थिएँ । एक वटा गैंडा भेटी भरूवा बन्दुकले मैले १ गोली हानेको हुँ । गोलीले गैंडा मरेन । त्यस दिनबाट म उक्त टोलीमा सामेल पनि भइन, त्यसैले मबाट गैंडा मार्ने अपराध भएको छैन । राजन प्रजा अहिले गैंडा मारेको मुद्दामा जेलमा छ । भरूवा बन्दुक मुन्ना प्रजाकै हो भन्नेसमेत व्यहोराको प्रतिवादी कविराज मगरले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

मैले मुन्ना प्रजासँग मिलेर गैंडाको सिकार गरी खागको बिक्री व्यवसाय गरेको होइन । हाल म गैंडा मारेको कसुरमा ठेकिएको कसुरमा कैदी जीवन बिताइरहेको छु भन्नेसमेत व्यहोराको डम्बरे भन्ने बुद्धिबहादुर थिङले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

२०५६ सालमा चितवन राष्ट्रिय निकुञ्जमा मलगायत मुन्ना प्रजा, रिसिङ्ग प्रजा र ठूलो भाइ भन्ने वीरबहादुर प्रजा मिलि गैंडा मार्न गएको हो । मुन्ना प्रजाले आफ्नै भरूवा बन्दुकबाट गैंडालाई गोली हानी मारेको हो । उक्त टोलीमा मैले झोला बोक्ने र भात पकाउने कार्य गरेको हो । मुन्नाले खाग कहाँ कसलाई बेचेको हो मलाई थाहा भएन । मुन्नाले मलाई रू.१५,०००।– दिएको हो । रिसिङ्ग प्रजा हाल गैंडा मारेको कसुरमा कारागारमा छन् भन्नेसमेत व्यहोराको प्रतिवादी कमल प्रजाले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने चितवन जङ्गल लजभन्दा करिब २.५ कि.मि. पश्चिम खगेन्द्रमल्ली क्षेत्रमा चोरी शिकारीले संरक्षित वन्यजन्तु गैंडा मारी खाग काटी लगेको हुँदा मिति २०५६।५।३० गते तत्कालीन स.सं.अ. टिकाराम अधिकारीसमेत गई मृतक गैंडाको प्रकृति मुचुल्का गरेको भन्ने थाहा पाएको हुँ । हाल पक्राउ परेका प्रतिवादीहरूबाट बन्दुकको नालसमेत बरामद भएको र चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको हुँदा निज प्रतिवादीहरू कसुरदार हुनुपर्दछ भन्नेसमेत व्यहोराको दण्डपाणी अर्यालसमेतले गरिदिएको मिति २०६४।२।१० को कागज ।

प्रतिवादीहरू मुन्ना प्रजा, कविराज मगर, कमल प्रजा, ठुलोभाइ भन्ने वीरबहादुर प्रजा, गोरे अधिकारी, कुन्दन तामाङ र मुसे माइला तामाङसमेत ७ जनाले मिति २०५६।५।३० मा गरेको मृतक गैंडाको प्रकृति मुचुल्कामा उल्लेख भएको गैंडालाई मारी सोही गैंडाको खाग काटी बिक्री व्यवसाय गरेको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसुर अपराध भए गरेको देखिएकोले सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाउन र बरामदी मुचुल्कामा उल्लिखित दसी सामान ऐ. ऐनको दफा २८ बमोजिम जफत गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।२।१३ को अभियोग पत्र ।

मैले ५ पटकसम्म गैंडा मारी खाग बिक्री व्यवसाय गरी आर्थिक लाभ लिइसकेको छु । पहिलो पटक २०५२ जेठ महिनातिर राष्ट्रिय निकुञ्जको खगेन्द्रमल्लीदेखि दक्षिणपट्टि एरियामा मसमेत मुसे माइला तामाङ, हाल जेलमा भएको डम्बरे थिङ जना ३ भएर डम्बरे थिङले ल्याएको भरूवा बन्दुकले गोली हानी गैंडा मारी खाग काटी डम्बरे थिङले बिक्री गरी सोबापत मलाई रू. १७,०००।– दिएको हो । दोस्रो पटक २०५४ साल असार महिनातिर निकुञ्जको भवानीपुर पोष्टको एरियामा वीरमान प्रजा (हाल जेलमा भएको) ले ल्याएको भरूवा बन्दुकले वीरमानले नै गोली हानी गैंडा मारी खाग वीरमानले नै काटेर ल्याएको र उक्त खाग मसहित राजन प्रजा, डम्बरे थिङ, वीरमान भएर काठमाडौंमा लिएर गएकामा वीरमानले बिक्री गरी मलाई रू.१५,०००।– दिएको हो । राजन प्रजा पनि हाल जेलमा नै छ । तेस्रो पटक २०५४ सालको चैत्र महिनातिर निकुञ्जको अमृते पोष्टदेखि पूर्वपट्टी रातपानी भन्ने ठाउँमा मङ्गलबहादुर प्रजा (हाल जेलमा), शङ्कर प्रजा (हाल जेलमा) र मसमेत मङ्गलबहादुर प्रजाले ल्याएको भरूवा बन्दुकले गोली हानी गैंडा मारी खाग काटेर मङ्गलबहादुर प्रजाले लगेर बिक्री गरी मलाई रू.१५,०००।– दिएका हुन् । चौथो पटक २०५६ सालको श्रावण महिनामा निकुञ्जको बगई माथि पर्ने दबुवा खोला एरियामा मैले लगेको भरूवा बन्दुकले हाल पक्राउ भई आएको कविराज मगरले गैंडालाई गोली हानेकोमा गैंडालाई गोली लागेन, गैंडा भाग्यो, पानी परेको हुँदा हामी त्यसै फर्कियौं । सोबखत गैंडा मार्न जानेमा कविराज मगर, जरिङ्गे कान्छा प्रजा, गोरे अधिकारी र कुन्दन तामाङ भएर गएका थियौँ । अन्य पटक मार्नेमा कविराज मगर, कुन्दन तामाङ र गोरे अधिकारीको कुनै संलग्नता छैन । त्यसपछि पाँचौ पटक २०५६ सालको भाद्र महिनातिर मसमेत हाल पक्राउ परी आउने कमल प्रजा, जेलमा परेका रिसिङ्गे भन्ने गोपाल प्रजा र ठूलोभाइ प्रजा भएर निकुञ्जभित्र पर्ने अमृतेदेखि पूर्वपट्टी रातपानी भन्ने ठाउँमा गई मेरै बन्दुकले म आफैँले गोली हानी गैंडा मारी खाग काटी ल्याएको हो । मैले उक्त खाग वीरमान प्रजालाई दिएको हुँ । वीरमान प्रजाले खाग कतिमा बेच्यो, सो थाहा भएन । त्यसपछि मलाई रू २५,०००।– दिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मुन्ना प्रजाले राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।

म २ पटक गैंडा मार्ने कार्यमा संलग्न भएको 

छु । पहिलो पटक २०५६ वैशाख महिनाको अन्तिमतिर म समेत ठूलोभाइ प्रजा, गोपाल प्रजा र मुन्ना प्रजा भएर अमृतेदेखि पूर्वपट्टी रातपानी भन्ने ठाउँमा गएका 

थियौँ । त्यसबखत जङ्गल घुम्दा गैंडा नपाएर त्यसै फर्किएर आयौं । मलाई खाना पकाउने भनी लिई गएका हुन् । दोस्रो पटक २०५६ सालको भाद्र महिनातिर होला, मसमेत भएर ठूलो भाइ प्रजा, रिसिङ्गे भन्ने गोपाल प्रजा, मुन्ना प्रजा भएर निकुञ्जको अमृते पोष्टदेखि पूर्वपट्टी पहिले खोज्न गएको ठाउँमा रातपानी भन्ने ठाउँमा गई मुन्ना प्रजाले ल्याएको भरूवा बन्दुकले निजले नै गोली हानी गैंडा मारेको हो । खाग पनि उसैले काटी राप्ती खोला किनारामा उसिनेर हाडमासु छुट्याई निजले नै बिक्री गरी मलाई रू.१५,०००।– दिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कमल प्रजाले राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।

२०५६ सालको कुरा हो, हाल पक्राउ परी आएका मुन्ना प्रजा, ऐ.ऐ. बस्ने गोरे अधिकारी, राजन प्रजा (हाल कारागारमा रहेका), कुन्दन तामाङ र मसमेत भई निकुञ्जको बगईदेखि माथि दबुवा खोलामा मुन्ना प्रजाले ल्याएको बन्दुकसमेत बोकी गैंडा मार्न गएकोमा दबुवा खोलाभन्दा माथि झाडीमा गैंडा फेला पारी मैले गोली हान्दा गैंडालाई नलागेकोले गैंडा 

भाग्यो । त्यसपछि हामी फर्केर घर आएका हौं । त्यसपछि गैंडा मार्न गएको छैन र त्यस्ता मानिसहरूसँग सङ्गत पनि गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी कविराज मगरले राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।

२०५६ सालमा मेरै गाउँमा बस्ने मुन्ना प्रजा, कमल प्रजासमेत मेरो घरमा आई मलाई गैंडा मारी खाग बेचेबापतको भाग भनी रू.५,०००।– दिएका हुन् । मैले पैसा लिएँ, गैंडा मार्न सहयोग गरेबापत पैसा दिएको भनेका थिए । त्यो कुरा मैले हालसम्म कसैलाई भनेको थिइनँ भन्नेसमेत व्यहोराको प्रतिवादी वीरबहादुर प्रजाले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।

प्रतिवादी कविराज मगरको साक्षी रूक्मांगत पौडेल र टेकनाथ आचार्यले गरेको बकपत्र मिसिल सामेल रहेको ।

३।४ वर्ष पहिला चितवन राष्ट्रिय निकुञ्जको रातापानी भन्ने ठाउँमा विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडु काले बानियाँ क्षेत्री, यामबहादुर बानियाँ, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, माइला न्यौपाने, साइँला न्यौपाने, चन्द्रे प्रजा, पुते तामाङ, राजु थापा क्षेत्री, ठूलो भाइ भन्ने वीरबहादुर प्रजा र मसमेत भई गैंडा मार्न खाल्डो खनेको हो र खाल्डोमा गैंडा परेपछि मारेर खाग काटी बेचेको हो । साथीहरूले खाग कहाँ लगेर कतिमा बेचे मलाई थाहा भएन । मैले आफ्नो भागमा रू. १०,०००।– मुन्ना प्रजाबाट लिएको हुँ । मैले साथीहरूको लहैलहैमा लागेर पहिलोपटक यस्तो कार्य गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी जरिङ्गे भन्ने गञ्जसिंह प्रजाले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

गन्जसिंह प्रजा र वीरबहादुर प्रजालाई गैंडा मारी खाग बिक्री व्यवसाय गरेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीहरूले पक्राउ गरी लगेका छन् भन्ने सुनेको हुँ । यसबाहेक अरू थाहा छैन भन्नेसमेत व्यहोराको टिकाबहादुर प्रजासमेतले गरेको मिति २०६४।७।११ को कागज ।

प्रतिवादी मुन्ना प्रजासमेत भएको गैंडामारी खाग बिक्री व्यवसाय गरेको मुद्दाको अनुसन्धानमा नखुलेको तर प्रतिवादी जरिङ्गे भन्ने गञ्जसिंह प्रजाको इजलाससमक्षको बयानबाट उक्त गैंडा मार्ने कार्यमा जरिङ्गे भन्ने गञ्जसिंह प्रजा, विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडु काले बानियाँ क्षेत्री, यामबहादुर बानियाँ क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइँला, चन्द्रे चेपाङ, पुते माइला, राजु थापा क्षेत्री, राजुथापाको भाइ स्याने थापासमेत संलग्न भएको खुल्न आएको हुँदा निजहरूको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) मा निषिद्ध कसुर गरेकोले निजलाई सोही ऐनको दफा २६(१) बमोजिम हदैसम्मको दण्ड सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।७।१२ को पुरक अभियोग पत्र ।

करिब ३।४ वर्ष पहिला चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र निकुञ्जभित्र पर्ने रातपानी भन्ने ठाउँमा मेरो गाउँका विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडु काले बानियाँ क्षेत्री, यामबहादुर बानियाँ, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजेको छोरा न्यौपाने माइला, न्यौपाने साइला, चन्द्रे प्रजा, पुते तामाङ, राजु थापा क्षेत्री, ठूलोभाइ भन्ने वीरबहादुर प्रजा र मुन्ना प्रजासमेत भएर उक्त क्षेत्रमा गैंडा मार्न भनी ६ हात लम्बाई र ३ हात चौडाई भएको खाल्डो खनेर ३।४ दिन अगाडि छोडेका थियौँ । त्यसै खाल्डोमा एउटा भाले गैंडा परेपछि बन्चरोले ढाडमा र टाउकोमा हानेर खाग काटी लिएर भागेँ, गैंडा रगतपच्छे भएर मर्‌यो । मुन्ना प्रजा, विष्णु कार्की, न्यौपाने साइँला, मिने साइँला र यामबहादुर थापाले उक्त गैंडाको खाग कहाँ लगेर बेचे थाहा भएन । त्यसको १ महिनापछि मुन्ना प्रजाले मलाई  रू.१०,०००।– ल्याएर दियो । त्यसपछि म गैंडा मार्ने कार्यमा गएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी जरिङ्गे भन्ने गञ्जसिंह प्रजाले राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।

मिति २०५५।७।२८ मा अमृते भन्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैंडा मार्ने खाल्डो खनेको कसुरमा मिति २०५५।८।६ देखि मिति २०५७।१०।२९ सम्म कैदमा बसी मलाई लागेको रू.५०,०००।– जरिवानासमेत चुक्ता गरी म वैदेशिक रोजगारमा गएको हुँ भन्नेसमेत व्यहोराको वीर बहादुर अधिकारीले राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनमा गरेको बयान ।

मेरो नाम रामलाल तामाङ हो चन्द्रे होइन । चन्द्रे प्रजा भन्नेलाई म चिन्दैन । म गैंडा मार्ने काममा संलग्न छैन भन्नेसमेत व्यहोराको रामलाल तामाङले राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।

मिति २०६४।२।१३ मा दायर भएको गैंडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाको जाहेरीमा प्रतिवादी मुन्ना प्रजासमेतका मानिसहरू कुख्यात गैंडाका चोरी शिकारीहरू हुन भन्ने प्रतिवेदक स.स.अ. अणनाथ बरालले गरेको बकपत्र मिसिल सामेल रहेको ।

प्रतिवादी मुन्ना प्रजा र प्रतिवादी कमल प्रजाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), १९(१) र २६(१) को कसुर अपराध गरेको पुष्टि भएकोले सोही ऐनको दफा २६(१) बमोजिम निज प्रतिवादी मुन्ना प्रजा र कमल प्रजालाई जनही १५ वर्ष कैद र रू. १,००,०००।– जरिवाना हुने, प्रतिवादी ठूलो भाइ भन्ने वीरबहादुर प्रजाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), १९(१) र २६(१) को कसुर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २६(१) बमोजिम ८ वर्ष कैद र रू. ५०,०००।– जरिवाना हुने, प्रतिवादी कविराज मगरले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र २६(१) को कसुर अपराधमा संलग्न भएको पुष्टि भएकोले निजलाई सोही दफा २६(१) बमोजिम रू. १,००,०००।– जरिवाना हुने ठहर्छ । फरार प्रतिवादीहरू मुसे माइला तामाङ, गोरे अधिकारी, कुन्दन तामाङको स्पष्ट नाम ठेगाना खुली पक्राउ परी आएका बखत प्रस्तुत मुद्दा जगाई कारवाही अघि बढाउने र मौकामा बरामद भएको खुकुरी थान–३, बन्दुकको नाल–१ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत गर्ने, पुरक अभियोगमा प्रतिवादी बनाइएका जरिङ्गे भन्ने गञ्जसिंह प्रजासमेत विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडुकाले बानियाँ क्षेत्री, यामबहादुर बानियाँ क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइँला, चन्द्रे चेपाङ्ग, पुते माइला, राजु थापा क्षेत्री, राजु थापाको भाइ स्याने थापासमेत १४ प्रतिवादीहरू सबै मु.नं. २२।०५५ मिति २०५७।१०।२५ मा भएका फैसलाका प्रतिवादीहरू भएको र यस वारदातमा संलग्न भएको नदेखिएकाले हाल पक्राउ परेका जरिङ्गे भन्ने गञ्जसिंह प्रजासमेत प्रस्तुत पुरक अभियोगमा प्रतिवादी भई थुनामा रहेको देखिएकोले मिति २०५७।१०।२५ मा भएको फैसलाबमोजिम कार्यान्वयन गर्नु भन्ने सुरू राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट मिति २०६७।७।८ मा भएको फैसला । 

म विरूद्ध पर्याप्त प्रमाण नभएको अवस्था, मेरोतर्फबाट कानून व्यवसायीको प्रतिनिधित्व नै नभई स्वच्छ सुनुवाइको हकको उल्लङ्घन गर्दै सुनुवाइमा मेरो उपस्थितिबिना नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मलाई दोषी ठहर गरी गरेको फैसला अन्यायपूर्ण भएको हुँदा बदर गरी मलाई सफाइ हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडामा पर्न आएको प्रतिवादी वीरबहादुर प्रजाले मिति २०६७।८।२२ मा दायर गरेको पुनरावेदन पत्र । 

प्रस्तुत मुद्दामा सह–अभियुक्तहरूको पोल स्वतन्त्र प्रमाणहरूद्वारा पुष्टि भएको छैन । हामी पुनरावेदकहरूलाई गैंडा मारी खाग खरिद बिक्री गरेको कुरा पूर्णरूपमा पुष्टि नभएको, गैंडा मार्ने कार्यमा योजना बनाउने, सहयोग गर्ने वा मद्दत पुर्‌याउने षड्यन्त्र नगरेको, कुनै पनि दशी प्रमाणित नभएको अवस्थामा समेत हामीहरूलाई जनही १५ वर्ष कैदको सजाय र रू. १,००,०००।– रूपैयाँका दरले जरिवानासमेत गर्ने गरी भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको मिति २०६७।७।८ को फैसला कानूनविपरीतको भएकोले बदर गरी झुठ्ठा अभियोग दाबीबाट सफाइ दिलाई हक इन्साफ पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडामा मिति २०६७।९।१४ मा पर्न आएको प्रतिवादीहरू कमल प्रजा र जारिङ्गे भन्ने गञ्जसिंह प्रजाको पुनरावेदन पत्र ।

अनुसन्धान अधिकारीसमक्ष भएको बयान तथा मुद्दा हेर्ने अधिकारीसमक्ष भएको बयान मेरो स्वेच्छाले भएको नभई मलाई लेखी राखेको कागजमा बाध्य पारी सहिछाप गराइएको सम्म हो । मबाट बन्दुकलगायत कुनै हतियार बरामद भएको छैन । मलाई पोल गर्ने सह–अभियुक्तको पोललाई पुष्टि गर्ने स्वतन्त्र प्रमाणको अभाव छ । मलाई केवल ल्याप्चे छाप लगाउन वादी सफल भएको कारणले सोही प्रमाणलाई मूल प्रमाण मानी दोषी ठहर गरी भएको सुरू चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको मिति २०६७।७।८ को फैसला बदर गरी झुठ्ठा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।१०।२६ मा पुनरावेदन अदालत, हेटौंडामा पर्न आएको प्रतिवादी मुन्ना प्रजाको पुनरावेदन पत्र ।

समान तथ्यका आधारमा केहीलाई कम सजाय गरिएको फैसला त्रुटिपूर्ण छ । पुरक अभियोगमा प्रतिवादी कायम भएका १४ जना प्रतिवादीहरूको हकमा अघिल्लो वारदातमा संलग्न रहेको भनी कुन आधारमा भनेको हो सोमा स्पष्टता छैन । निज प्रतिवादीहरूका हकमा कसुर ठहर हुने वा नहुने के हो सुरूले फैसला गर्दा स्पष्ट बोलेको अवस्थासमेत नदेखिएको हुँदा उक्त फैसला त्रुटिपूर्ण छ । प्रतिवादी वीरबहादुर प्रजा र कविराज मगरलाई कम सजाय गर्ने र अन्य प्रतिवादीहरूको प्रस्तुत वारदातमा संलग्नता नरहेको भनी सुरू राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडामा मिति २०६८।४।११ मा वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दामा प्रतिवादी वीरबहादुर प्रजा, मुन्ना प्रजा, कमल प्रजासमेतको र नेपाल सरकारको समेत पुनरावेदन परेको देखिँदा प्रमाण मूल्याङ्कनको रोहमा सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि प्रत्यर्थीहरूलाई झिकाउनु भन्ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।८।२७ मा भएको आदेश ।

मिति २०६४।७।१२ मा पुरक अभियोग पत्र दायर भई प्रतिवादी कायम भएका जरिङ्गे भन्ने गञ्जसिंह प्रजासमेत विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडुकाले बानियाँ क्षेत्री, यमबहादुर बानियाँ क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइँला, चन्द्रे चेपाङ्ग, पुते माइला, राजु थापा क्षेत्री, स्याने थापा समेत १४ जना प्रतिवादीहरूको हकमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतबाट मिति २०६७।७।८ मा भएको निर्णय अ.बं.१९२ नं. बमोजिम रित नपुगेकोले बदर भई पुरक अभियोग पत्र दायर भएका प्रतिवादीहरूलाई प्रस्तुत मुद्दामा गडाउ वा सफाइ के हुने हो कानूनबमोजिम पुनः निर्णय गर्नु भनी मिसिल राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा 

पठाउनु । अन्य प्रतिवादीहरू वीरबहादुर प्रजा, कमल प्रजा, जरिङ्गे भन्ने गन्जसिंह प्रजा, मुन्ना प्रजा र कविराज मगरसमेतको हकमा एकै साथ निर्णय गर्नुपर्ने स्थिति रहेकोले सो पुनरावेदनहरू हाल अ.बं. १२ नं. बमोजिम मुल्तबीमा राखी दिएको छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६९।१।५ मा भएको फैसला । 

यसमा मिति २०६४।७।१२ मा पेस भएको पुरक अभियोगपत्रमा प्रतिवादी बनाइएका जरिङ्गे भन्ने गञ्जसिंह प्रजा, विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडुकाले बानियाँ क्षेत्री, यमबहादुर बानियाँ क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइँला, चन्द्रे चेपाङ्ग, पुते माइला, राजु थापा क्षेत्री, राजु थापाको भाइ स्याने थापासमेत १४ जना मिति २०५५।९।१ मा दायर भई मिति २०५७।१०।२५ मा फैसला भएको मु.नं.२२।०५५ का प्रतिवादीहरू भएको र सोही फैसलाबमोजिम उक्त वारदातमा निजहरूलाई दण्ड सजाय ठहर भइसकेको हुँदा निज प्रतिवादीहरूले मिति २०५६।५।३० को गैंडा मारी खाग बिक्री व्यवसाय गरेको प्रस्तुत मुद्दाको वारदातमा मिति २०६४।७।१२ मा दायर भएको पुरक अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६९।८।७ मा भएको फैसला । 

प्रतिवादी गञ्जसिंहबाहेक अन्य प्रतिवादीहरूले आफ्नो सफाइ पेस गर्न सम्बन्धित निकायमा उपस्थितसम्म नभएको अवस्थामा निजहरू कसुरदार होइनन् भनी भन्न सक्ने अवस्था नै छैन । यी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण एवं बदरभागी रहेको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको मिति २०७०।१।४ को पुनरावेदन पत्र । 

यसमा प्रतिवादीमध्येका जरिङ्गे भन्ने गञ्जसिंह प्रजा, मिने साइला थापा क्षेत्री, विष्णु कार्की, हरी कार्की, ढेडु काले बानिया क्षेत्री, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माईला, न्यौपाने साइला, चन्द्रे चेपाङ, पुते माइला, राजु थापा क्षेत्री, राजु थापाको भाइ स्याने थापा र यम बहादुर बानियाको हकमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६७।७।८ मा भएको फैसला बदर भई निजहरूको हकमा पुनः ईन्साफको लागि सुरू मिसिल चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएकोमा निज प्रतिवादीहरूको हकमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६९।८।७ मा फैसला भई मिसिलसमेत प्राप्त भइसकेको देखिँदा प्रस्तुत मुद्दा मुलतबीबाट जगाई दिएको छ भन्ने मिति २०६९।११।३ मा पुनरावेदन अदालत, हेटौंडाबाट भएको आदेश ।

यसमा प्रतिवादीहरू मुन्ना प्रजा, कमल प्रजा, ठूलो भाइ भन्ने वीरबहादुर प्रजा, कविराज मगरले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, २०२९ को दफा ५(क) १९(१) र २६(१) को अपराध गरेको पुष्टि भएको देखिँदा कसुरको मात्राअनुसार ऐ.ऐनको दफा २६(१) अनुसार प्रतिवादी मुन्ना प्रजा र प्रतिवादी कमल प्रजालाई जनही १५ वर्ष कैद र रू.१,००,०००।– जरिवाना हुने, ऐ. ऐनअनुसार प्रतिवादी वीरबहादुर प्रजालाई ८ वर्ष कैद र रू.५०,०००।– जरिवाना हुने, प्रतिवादी कविराज मगरलाई रू.१,००,०००।– जरिवाना हुने गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६७।७।८ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । 

त्यस्तै प्रतिवादीहरू जरिङ्गे भन्ने गञ्जसिंह प्रजा, विष्णु कार्की, साइला थापा क्षेत्री, ढेडु काले बानिया क्षेत्री, यम बहादुर बानिया, हरि कार्की, वीरबहादुर अधिकारी,  न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइला, चन्द्रे चेपाङ्ग, पुते माइला, राजु थापा क्षेत्री, स्याने थापासमेतका १४ जना प्रतिवादीहरूले मिति २०५६।५।३० को घटनास्थल लास प्रकृति मुचुल्काअनुसारको गैंडा मारी खाग बिक्री व्यवसाय गरेको भन्ने वारदातमा संलग्न भएको प्रमाणित भएको नदेखिँदा प्रस्तुत मुद्दाको वारदातमा मिति २०६४।७।१२ मा दायर भएको पुरक अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्‌याई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६९।८।७ मा भएको फैसला निजहरूको हकमा मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७०।२।१४ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा मैले अधिकारप्राप्त अधिकारी तथा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान स्वेच्छाको नभई मलाई लेखी राखेको कागजमा बाध्य पारी सहीछाप गराएकोसम्म हो । गैंडाको लास मुचुल्कामा सुब्बा खहेरू चमारको लजभन्दा करिब २१/२ कि.मि. पर लास फेला परेको व्यहोरा उल्लेख छ । उक्त गैंडा मरेको समय कहिले हो खुलेको देखिँदैन । सुब्बा खहेरू चमारको लज र बयानमा उल्लिखित चितवन जङ्गल लज एउटै हो भन्ने पुष्टि हुन नसकेको हुँदा यस्तो विवादास्पद प्रमाणलाई आधिकारिक प्रमाण भनी भन्न मिल्दैन ।

प्रस्तुत मुद्दामा म पुनरावेदक प्रतिवादीको साबिती बयानमा मैले एक गैंडा मारेको स्वीकार गरेको अन्य ४ वटा गैंडा मार्नमा सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख छ । मुद्दा अनुसन्धान गर्ने अधिकारी र मुद्दामा निर्णय गर्ने अधिकारी एउटै कार्यालय प्रमुख र सहायक कर्मचारी रहने प्रकृतिको कार्यविधि रहेको प्रस्तुत विवादमा अन्य फौजदारी मुद्दामा हुने अनुसन्धान गर्ने छुट्टै निकायले गरेको अनुसन्धान समान दृष्टिकोणबाट हेरिन मिल्ने होइन । 

प्रतिवादीमध्येका वीरबहादुर प्रजासमेत गैंडा मारी हिस्सा लिनेमा साबित छन् । निज पनि रा.नि. तथा व.ज.संरक्षण ऐन, २०२९ को दफा २६(१) को सजायको अभियोग लागेका पक्ष हुँदा दुई प्रतिवादीबीच के कारणले सजायमा फरक परेको हो फैसलामा कहीँकतै उल्लेख छैन । कानूनका नजरमा सबै समान रहने अवधारणालाई समेत यो फैसलाले अस्वीकार गरेको छ । मबाट बन्दुकलगायतका कुनै हतियार बरामद भएको छैन । मलाई पोल गर्ने सहअभियुक्तको पोललाई पुष्टि गर्ने स्वतन्त्र प्रमाणको अभाव छ । वादीदाबी पुष्टि गर्ने दशीलगायतको स्वतन्त्र प्रमाण वादीले पेस गर्न नसकेको अवस्थामा पनि मलाई केवल ल्याप्चे छाप लगाउन वादी सफल भएको कारणले सो प्रमाणलाई मूल प्रमाण मानी स्वतन्त्र प्रमाणको अभावमा दोषी ठहर गरी अधिकतम सजाय गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनको फैसलालाई नै यथावत् सदर गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।२।१४ को फैसला बदर गरी झुट्ठा अभियोग दाबीबाट सफाइ पाउने गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मुन्ना प्रजाको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरू संगठितरूपमा गैंडा मारी खाग बिक्री गर्ने आपराधिक कार्यमा संलग्न व्यक्तिहरू हुन् भन्ने तथ्य स्थापित भएको 

देखिन्छ । सुरू फैसलाले प्रतिवादीमध्येका ठूलो भाइ भन्ने वीरबहादुर प्रजा र कविराज मगरसमेतको वारदातमा संलग्नता रहेको स्वीकारी निजहरूलाई कसुर ठहर भएका अन्य प्रतिवादीभन्दा कम सजाय गरेको छ तापनि निजहरूलाई के कुन आधारमा कम सजाय हुने हो फैसलामा स्पष्ट छैन । यी प्रतिवादीहरू पनि मुन्ना प्रजासँगै राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गई गैंडा मारी खाग बिक्री व्यवसाय जस्तो गम्भीर प्रकृतिको कसुरमा संलग्न रहेको देखिँदा देखिँदै त्यस्ता कसुरदारलाई तल्लो हदको सजाय ठहर गरेको फैसला त्रुटिपूर्ण छ । वन्यजन्तुसँग सम्वद्ध अपराधलाई गम्भीर एवं संगीन प्रकृतिको अपराधका रूपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानून तथा सन्धि सम्झौताहरू समेतले स्वीकार गरेको छ । प्रतिवादीहरू संगठितरूपमा गैंडा जस्तो संरक्षित लोपोन्मुख वन्यजन्तु मारी खाग तस्करी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको अवस्थामा प्रतिवादीमध्ये सजाय निर्धारण हुँदा केहीका हकमा Mitigating factors र केहीका हकमा Aggravating factors प्रयोग हुने अवस्था हुँदैन । प्रतिवादीमध्येका जरिङगे भन्ने गञ्जसिंह प्रजासमेतले अनुसन्धानको सिलसिलामा र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दासमेत गैंडा मार्ने कार्यमा आफूसमेत विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेकुलाले बानिया क्षेत्री, यामबहादुर बानिया, हरि कार्की, वीरबहादुर अधिकारीसमेत संलग्न रहेको किटानी पोल गरेको देखिन्छ । यसैगरी प्रतिवादीहरू मिली संरक्षित वन्यजन्तु सिकार गरी त्यसको अंगहरू निकाली बिक्री गरी आएको रकम बाँडी खाने गरेको भन्ने कुरा सह अभियुक्तहरूको बयानबाट समेत देखिएको अवस्थामा यी प्रतिवादीहरूलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण 

छ । २०५६ साल भाद्र महिनाको अन्तिमतिर गैंडा मारेको वारदातमा यी प्रतिवादीहरू समेतको संलग्नता रहेको मौकाको प्रतिवेदनसमेतबाट देखिएको सन्दर्भमा फरक अभियोग प्रस्तुत गरिएकोमा प्रतिवादी गन्जसिंहबाहेक अन्य प्रतिवादीहरूले आफ्नो सफाइ पेस गर्न उपस्थित हुन नआई कसुर स्वीकार गरी बसेको अवस्थासमेतबाट पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी उल्लिखित प्रतिवादीहरूलाई समेत अभियोग मागदाबीबमोजिम नै सजाय गरी पाउन अनुरोध छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू तथा पुनरावेदन मिसिलसमेत अध्ययन गरियो ।

पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले कुनैपनि फौजदारी मुद्दामा कसुरदार ठहर भई सजाय कायम गर्दा आधार र कारण स्पष्ट उल्लेख हुनुपर्छ पुनरावेदन अदालतको फैसलामा समान प्रकृतिका कसुरदारहरूलाई कम बढी सजाय निर्धारण हुँदा त्यसको स्पष्ट आधार खुलाएको छैन । वन्यजन्तुसँग सम्बन्धित कसुर गम्भीर र संगीन प्रकृतिको त्यसमाथि पनि संगठितरूपमा गरिएको अवस्था हुँदा सबै प्रतिवादीहरूको कसुर प्रमाणित भइरहेको स्थितिमा केही प्रतिवादीहरूलाई सफाइ दिने ठहर भएको फैसलासमेत त्रुटिपूर्ण छ भनी बहस प्रस्तुत गर्नुभयो । पुनरावेदक प्रतिवादी तर्फबाट कुनैपनि कानून व्यवसायी उपस्थित हुन आउनु भएन ।

यसमा प्रतिवादीहरू मुन्ना प्रजा, कविराज मगर, कमल प्रजा, ठूलो भाइ भन्ने वीरबहादुर प्रजा, गोरे अधिकारी, कुन्दन तामाङ र मुसे माइला तामाङले मिति २०५६।५।३० मा गरिएको मृत गैंडाको प्रकृति मुचुल्कामा उल्लेख भएको गैंडालाई मारी सोही गैंडाको खाग काटी बिक्री व्यवसाय गरेको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसुर अपराध भए गरेको देखिएकोले सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी देखियो । गैंडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाको अनुसन्धानमा तत्काल खुल्न नआएको तर पछि मुन्ना प्रजासमेतको इजलाससमक्षको बयानपश्चात्‌को थप अनुसन्धानबाट जरिङ्गे भन्ने गन्जसिंह प्रजा, विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडुकाले बानिया क्षेत्री, यामबहादुर बानिया क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइला, चन्द्रे चेपाङ्ग, पुते माइला, राजु थापा क्षेत्री र स्थाने थापासमेतको उक्त कसुरमा संलग्नता रहेको भन्ने खुल्न आएको हुँदा निजहरूको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९)१) को कसुरमा सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाउँ भन्ने मागदाबी भएको पुरक अभियोग देखिन 

आउँछ । प्रतिवादी मुन्ना प्रजा र प्रतिवादी कमल प्रजालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) १९(१) र २६(१) को कसुरमा सोही ऐनको दफा २६ (१) बमोजिम जनही १५ वर्ष कैद र रू.१,००,०००।- जरिवाना, प्रतिवादी ठूलो भाइ भन्ने वीरबहादुर प्रजालाई ऐ. ऐनको दफा २६(१) बमोजिम ८ वर्ष कैद र रू.५०,०००।- जरिवाना र प्रतिवादी कविराज मगरलाई ऐ. ऐनको दफा ५(क) र २६(१) को कसुरमा सोही ऐनको दफा २६(१) बमोजिम रू.१,००,०००।- जरिवाना हुने ठहर गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतबाट भएको फैसलाउपर पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन पर्दा पुरक अभियोगमा भएका प्रतिवादीहरूको हकमा मुलुकी ऐन अदालती बन्दोबस्तको १९२ नं.को रित नपुगेकोले उक्त फैसला बदर भई निज प्रतिवादीहरूको हकमा समेत जो जे बोल्नुपर्ने बोली पुनः निर्णय गर्नु भनी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६९।१।५ मा फैसला भएको देखियो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६९।८।७ मा पुनः निर्णय हुँदा प्रतिवादीहरू जरिङ्गे भन्ने गन्जसिंह प्रजा, विष्णु कार्की, मिने साइला थापा क्षेत्री, ढेडुकाले बानिया क्षेत्री, यामबहादुर बानिया क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइला, चन्द्रे चेपाङ, पुते माइला, राजु थापा र स्थाने थापासमेत पुरक अभियोगमा कायम भएका निज प्रतिवादीहरूको प्रस्तुत वारदातमा कुनै संलग्नता नदेखिएको हुँदा सफाइ पाउने भनी ठहर भएको देखिन आयो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको उपर्युक्त मिति २०६७।७।८ र मिति २०६९।८।७ मा भएको फैसला सदर हुने ठहर भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।२।१४ को फैसलाउपर प्रतिवादी मुन्ना प्रजा तथा वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन पर्न आएको देखियो ।

प्रतिवादी मुन्ना प्रजाको पुनरावेदन जिकिर हेर्दा निजले मुख्यरूपमा अधिकारप्राप्त अधिकारी तथा मुद्दा हेर्ने अधिकारीसमक्षको बयान आफ्नो स्वइच्छाले नभई बाध्य पारी सहिछाप गर्न लगाएको, गैंडा मरेको मिति नै यकिन नभएको, प्रतिवादी वीरबहादुर प्रजासमेत गैंडा मारी हिस्सा लिनेमा साबित हुँदाहुँदै निज र मलाई सजायमा के कारणले फरक पर्‌यो फैसलामा केही उल्लेख नभएको, मबाट कुनै हतियारसमेत बरामद नभएको अवस्थामा पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण रहेको भनी व्यहोरा उल्लेख गरेको पाइन्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिरमा सुरू फैसलाले प्रतिवादीमध्येका ठूलो भाइ भन्ने वीरबहादुर प्रजा र कविराज मगरलाई कसुर ठहर भएको अन्य प्रतिवादी भन्दा कम सजाय गरेको आधार स्पष्ट नखुलाएको, फैसला गर्दा प्रत्येक मुद्दाका सन्दर्भमा अलगअलग विष्लेषण गरी ठहरमा पुग्नुपर्नेमा अर्को मुद्दाको सन्दर्भ उल्लेख गरी ठहरमा पुगिएको, सफाइ पेस गर्न नआई कसुर स्वीकार गरी बस्ने गन्जसिंह प्रजासमेतले अनुसन्धानको सिलसिलामा बयान गर्दा सफाइ पाउने अन्य प्रतिवादीहरूले कसुरमा संलग्न रहेको भनी पोल गरेकोसमेतबाट कसुर ठहर भएका प्रतिवादीहरूलाई कम सजाय गरेको र अन्य प्रतिवादीहरूलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण भएको भनी व्यहोरा उल्लेख गरेको पाइन्छ ।

मिसिल संलग्न कागज प्रमाण, पुनरावेदकहरूको पुनरावेदन जिकिर तथा विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिरसमेतका आधारमा प्रस्तुत मुद्दामा सुरू चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ वा छैन र पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने प्रश्नमा सीमित रही निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी मुन्ना प्रजाले आफूले गैंडा मार्ने कार्य नगरेको, आफू निर्दोष रहेको भएपनि सुरू तथा पुनरावेदन अदालतले आफूलाई दोषी ठहर गरेको भनी पुनरावेदन जिकिर लिएको पाइन्छ । निजको उक्त पुनरावेदन जिकिर सम्बन्धमा सर्वप्रथम विष्लेषण गर्नुपर्ने देखिन आयो ।

३. मिति २०५६।५।३० का दिन शाही चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र चितवन जंगल लजभन्दा करिब २१/२ कि.मी. पश्चिममा गैंडा मृत अवस्थामा भेटिएको भन्ने मिति २०५६।५।३० को घटनास्थल एवं लास प्रकृति मुचुल्का देखिन्छ । प्रतिवादी मुन्ना प्रजाले इजलाससमक्ष गरेको बयानमा निजले २०५२ साल जेठ, २०५४ साल असार, २०५४ सालको चैत्र, २०५६ सालको भाद्र महिना गरी चार पटक गैंडा मारी खाग निकाली बिक्री गरेको र सोबापत क्रमशः रू.१७०००।-, १५०००।-, १५०००।- र रू.२५,०००।- आर्थिक लाभ लिएको तथा २०५६ साल श्रावणमा पनि गैंडा मार्न भनी प्रहार गरेको गोली नलागेकोले सफल हुन नसकेको भन्ने उल्लेख गरिदिएको देखिन्छ । निजको उक्त भनाई मिति २०५६।५।३० को मृत गैंडाको प्रकृति मुचुल्का, निजबाट बन्दुकको नाल तथा खुकुरी बरामद भएको भन्ने मिति २०६४।१।१८ र मिति २०६४।१।२० को बरामदी मुचुल्काबाट समर्थित भएको छ । प्रतिवादी कमल प्रजाले इजलाससमक्ष बयान गर्दा उक्त गैंडा मार्ने कार्यमा मुन्ना प्रजाले आफैँले ल्याएको बन्दुकबाट गोली प्रहार गरेको र खाग पनि निजले नै काटी राप्ती खोला किनारमा उसिनेर हाड मासु छुट्याई निजले नै बिक्री गरी आफूलाई रू.१५०००।- दिएको भन्ने व्यहोरा उल्लेख गरेको र अन्य प्रतिवादीहरू कविराज मगर, वीरबहादुर प्रजासमेतले इजलाससमक्ष गरेको बयान व्यहोरासमेत सोही व्यहोरासँग मिल्दोजुल्दो देखिन आउँछ । उपर्युक्त प्रत्यक्ष एवं परिस्थितिजन्य प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादी मुन्ना प्रजा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सुरक्षितरूपमा रहनु पर्ने गैंडा मारी खाग बिक्री गर्ने कार्यमा सक्रिय रही प्रस्तुत मुद्दाको मिति २०५६।५।३० मा मृत फेला परेको गैंडा मारी खाग बिक्री गरी आर्थिक लाभ लिएको देखिन आएको हुँदा निज चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र अभियोग दाबीबमोजिमको कसुरमा संलग्न रहेको देखियो । 

४. अब पुनरावेदक प्रतिवादी मुन्ना प्रजा तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरमा कसुर ठहर भएका प्रतिवादीहरूबीच सजायमा फरक पारेको आधार सुरू तथा पुनरावेदन फैसलाहरूले स्पष्ट नखुलाएको भनी जिकिर लिएको सन्दर्भमा विचार गर्नुपर्ने हुन आयो । 

५. कुनै कसुरमा एकभन्दा बढी प्रतिवादीहरूलाई तत्सम्बन्धी ऐनको एउटै दफाको सजायको माग गरिएको भएपनि कानूनले निर्णयकर्तालाई विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थामा मिसिल संलग्न कागज प्रमाणहरूको विश्लेषण गरी वारदातमा व्यक्तिपिच्छे प्रतिवादीको संलग्नता, भूमिका जस्ता विषयहरू पहिचान गरी वारदात घटाउन नेतृत्व लिएको, सहायकको भूमिकामा रहेको, आफैँ प्रहार गरेको, गौँडा कुरेको, सुराकीको भूमिका निर्वाह गरेको, लाभ लिने कार्यमा सहभागी भए नभएको, हातहतियारको बन्दोबस्त आदि गरे नगरेकोलगायतका थुप्रै विषयहरूका आधारमा अमुक कसुर घटाउनमा कुनै प्रतिवादीको के कति भूमिका र हिस्सा छ त्यही आधारमा कसुरको मात्राअनुसार सजाय निर्धारण हुने हुँदा एउटै किसिमको अभियोगदाबी भएका सबै प्रतिवादीहरूलाई समान सजाय हुनुपर्छ भनी मान्न मिल्दैन ।

६. यी पुनरावेदक प्रतिवादी मुन्ना प्रजाले अनुसन्धानको क्रममा तथा इजलाससमक्ष बयान गर्दा आफूले ५ पटकसम्म गैंडा मारी खाग बिक्री व्यवसाय गरी आर्थिक लाभ लिइसकेको छु । पाँचौ पटक २०५६ सालको भाद्र महिनातिर मसमेत हाल पक्राउ परी आउने कमल प्रजा, जेलमा परेका रिसिङ्गे भन्ने गोपाल प्रजा र ठूलोभाइ प्रजा भएर निकुञ्जभित्र पर्ने अमृतेदेखि पूर्वपट्टी रातपानी भन्ने ठाउँमा गई मेरै बन्दुकले म आफैँले गोली हानी गैंडा मारी खाग काटी ल्याएको र सोबापत रू.२५,०००।– प्राप्त गरेको भनी उल्लेख गरेको पाइन्छ । निजबाट भरूवा बन्दुकको नाल र खुकुरी बरामद भएको अवस्था विद्यमान 

देखिन्छ । अन्य प्रतिवादीहरू कमल प्रजा र कबिराज मगरले अनुसन्धानको क्रममा एवं इजलाससमक्ष बयान गर्दा मुन्ना प्रजाले आफैँले ल्याएको बन्दुकले गोली हानी गैंडा मारेको भनी व्यहोरा उल्लेख गरिदिएको पाइन्छ । यसबाट प्रस्तुत गैंडा मारी खाग बिक्री गरेको कसुरमा अन्य प्रतिवादीहरूभन्दा यी पुनरावेदक प्रतिवादी मुन्ना प्रजाको भूमिका फरक र मुख्य प्रकृतिको रहेको कुरामा कुनै आशंका रहेन । 

७. प्रतिवादी वीरबहादुर प्रजाको इजलाससमक्षको बयानमा निजले आफू गैंडा मार्न मुन्ना प्रजा र कमल प्रजासँग गएको र पछि निजहरूले घरमा आई रू.५०००।- दिएको भनी लेखाएको पाइन्छ । प्रतिवादी कविराज मगरले आफ्नो बयानमा आफू एकपटक मात्र गैंडा मार्न भनी गएकोमा गोली अन्यत्रै लागि गैंडा भागेको हो भनी गैंडा मार्ने कार्यको उद्योगसम्ममा साबित रहेको देखिन्छ । प्रतिवादीहरू कमल प्रजा र मुन्ना प्रजाको इजलाससमक्षको बयानमा पनि यी दुवै प्रतिवादीहरू मुख्य भई गैंडा मारी खाग बिक्री कार्यमा सहयोगीभन्दा बढी भूमिकामा थिए भनी उल्लेख भएको अवस्था छैन । मुन्ना प्रजाले इजलाससमक्षको बयानमा कबिराज मगर एकपटकभन्दा बढी गैंडा मार्ने कार्यमा संलग्न नभएको भनी उल्लेख गरेको छन् । यी प्रतिवादीहरूबाट अपराध घटाउन प्रयोग हुने कुनै दशी बरामद हुन सकेको अवस्था विद्यमान छैन । यसबाट गैंडा मारी खाग बिक्री कार्यमा प्रतिवादीहरू वीरबहादुर प्रजा र कविराज मगरको संलग्नता पुष्टि भएको अवस्था देखिन आएपनि पुनरावेदक प्रतिवादी मुन्ना प्रजा र निजहरूको उक्त वारदात घटाउन समान भूमिका र सक्रियता देखिन आउँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको विना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पचास हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था रहेको पाइन्छ । प्रस्तुत ऐनअन्तर्गतको कसुरमा कसुरको मात्राअनुसार घटिबढि सजाय हुन सक्ने विधायिकी मनसाय उक्त दफामा रहेको देखिन आउँछ । उपर्युक्त कानूनी व्यवस्थाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले प्रतिवादीहरूको हकमा निर्धारण गरेको सजाय अन्यथा देखिन आएन । अन्य प्रतिवादीलाई भन्दा आफूलाई बढी सजाय भएको फैसला मिलेको छैन भन्ने यी पुनरावेदक प्रतिवादी मुन्ना प्रजाको तथा प्रतिवादीहरू वीरबहादुर प्रजा र कविराज मगरलाई कसुर ठहर भएका अन्य प्रतिवादीभन्दा कम सजाय भएको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. त्यसै गरी प्रतिवादीमध्ये केहीका हकमा सजाय निर्धारण हुँदा Mitigating factors र केहीका हकमा Aggravating factors प्रयोग भएको मिलेन भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा पनि केही विवेचना हुनु आवश्यक देखिन आउँछ । फौजदारी कानूनको उल्लङ्घनका लागि सजाय निर्धारण गर्दा विभिन्न सिद्धान्त र अवधारणाहरूको प्रयोग हुँदै आएको पाइन्छ । Mitigating factors भन्नाले कुनै व्यक्तिलाई अदालतले कसुरदार ठहर्‌याएपछि निजलाई कम सजाय गर्न लिने आधारहरूलाई बुझिन्छ भने Aggravating factors भन्नाले कसुरको गम्भीरता बढाउने र अधिकतम सजाय गर्ने आधारहरूलाई बुझिन्छ । Mitigating factors  का लागि जो विरूद्ध अपराध भएको छ । उसैको उक्साहटको कारण अपराध घटाउन कसुरदार प्रेरित भएको अवस्था, कसुरदारको मानसिक अवस्था, उमेर, उक्त अपराध घटाउन कसुरदारको अत्यन्त कम भूमिका, कसुरदारको पूर्व आपराधिक रेकर्डको अभाव, अपराध घटाउन पीडितको संलग्नतासमेत रहेको अवस्था, अपराध गर्दाको अवस्था र परिस्थिति आदिको आधारमा विधायिकाले न्यूनतम सजाय गर्ने गरी कानूनमा नै व्यवस्था गरिदिएको वा निर्णयकर्ता (Judge) लाई तत्सम्बन्धी विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थाहरू पर्दछन् । जबकी Aggragating factors पटके अपराधी, पीडितलाई पुगेको क्षतिको गम्भीरता, कसुर घटाउन कसुरदारको नेतृत्वपूर्ण भूमिका, सामाजिकरूपमा अत्यन्त निकृष्ठ र अनैतिक मानिने कसुर, पदको आडमा गरिने कसुर र क्रूर तथा यातनापूर्ण तवरले गरिएको अपराध, अपराधमा घातक हतियारको प्रयोग आदि जस्ता आधारमा विधायिकाले अधिकतम सजाय गर्ने भनी कानूनमा नै व्यवस्था गरिदिएको वा निर्णयकर्तालाई तत्सम्बन्धमा विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थाहरू पर्दछन्, हाम्रो प्रचलित नेपाली फौजदारी कानूनमा पनि कसुरदारलाई कुनै कसुरका लागि दायित्व वहन गराउनेसम्बन्धी विभिन्न सिद्धान्तहरूको व्यवस्था भएको पाइन्छ । कतिपय कसुरका लागि सजाय निर्धारणमा न्यायाधीशलाई विवेक प्रयोग गर्न कुनै स्थान नै दिइएको पाइँदैन भने कतिपय कसुरका लागि कसुरको मात्राअनुसार सजाय निर्धारण गर्ने गरी विवेक प्रयोग गर्ने अधिकार न्यायाधीशलाई प्रदान गरिएको पनि पाइन्छ । के कस्तो अवस्थामा Aggragating factors अपनाउने र के कस्तो अवस्थामा Mitigating factors अनुशरण गर्ने भनी हामी कहाँ छुट्टै कानून नभएपनि विभिन्न कानूनमा एउटै कसुरका लागि सजायको न्यूनतम र अधिकतम हदको सजायसम्बन्धी व्यवस्थालाई सोहीरूपमा बुझ्न सकिन्छ । मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. को व्यवस्थालाई Mitigating factors को अनुसरणका लागि विधायिकाले न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको रूपमा बुझ्न 

सकिन्छ । Mitigating  factors को अनुशरण गर्दा कुनै कसुरमा संलग्न व्यक्तिलाई माथि उल्लिखित विभिन्न आधारमा कम सजाय निर्धारण गर्ने हो भने त्यही कसुरका लागि Aggragating factors अनुशरण गर्ने माथि उल्लिखित आधारहरू देखिन आएमा सजायको मात्रा बढाउने हो । यसबाट Mitigating वा Aggravating factors सजाय निर्धारणमा न्यायाधीशलाई प्राप्त विवेकाधिकारसित सम्बन्धित छ भन्ने बुझिन आउँछ । कसुरको मात्राअनुसार सजाय हुने भन्ने कुरा पनि कुनै न कुनैरूपमा Mitigating वा Aggravating factors सित सम्बन्धित विषय हो । कसुरको मात्रा भनेको तथ्य र प्रमाणबाट कुनै कसुर घटाउन कुनै व्यक्तिको के कस्तो संलग्नता र भूमिका छ भन्ने कुरा निर्धारण गर्ने हो । कुनै वारदातमा मुख्य भई भूमिका निर्वाह गर्ने, सहयोगसम्म गर्ने, लाभ लिने, योजना बनाउने, वातावरण तयार गरिदिने आदि विभिन्न भूमिकाहरूका लागि कानूनले छुट्टाछुट्टै भार तय गरेको अवस्थामा एउटै कसुरमा एकभन्दा धेरै कसुरदारहरूको संलग्नता रहेको परिप्रेक्ष्यमा तीमध्ये प्रत्येक कसुरदारको उक्त वारदात घटाउन के कस्तो र के कति भार पर्छ त्यही कसुरको मात्रा हुन आउँछ । प्रस्तुत मुद्दाका सन्दर्भमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को माथि उल्लिखित दफा २६(१) लाई हेर्दा गैरकानूनी तरिकाले उक्त दफामा उल्लिखित कसुर गर्ने व्यक्तिलाई पचास हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था देखिन्छ । जसअनुसार सो कसुरमा संलग्नहरूको हकमा अधिकतम र न्यूनतम सजायको व्यवस्था भएको अवस्था छ । प्रतिवादी कायम भएकामध्ये कसुर ठहर भएका जति सबैलाई एउटै सजाय हुनुपर्ने भन्ने विधायिकाको मनसाय नभई माथि उल्लिखित विश्लेषणसमेतका आधारमा कसुरको मात्राअनुसार कानूनले निर्धारण गरेको अधिकतम र न्यूनतम सजायको सीमाभित्र रही प्रतिवादीहरूलाई सजाय कायम गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला न्यायसङ्गत देखिन आयो ।

९. मिति २०६४।७।१२ को पुरक अभियोगमा कायम भएका अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहर भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा प्रतिवादीहरू गञ्जसिंह प्रजा, विष्णु कार्की, साईला थापा क्षेत्री, ढेडुकाले बानिया क्षेत्री, यामबहादुर बानिया क्षेत्री, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइला, चन्द्रे चेपाङ, पुते माइला, राजु थापा क्षेत्री र स्याने थापासमेत १४ जनाका हकमा मिति २०५६।५।३० को प्रस्तुत वारदातमा संलग्नता रहेको भन्ने कुरा कहीँकतैबाट पुष्टि हुन आउँदैन । पक्राउ परी इजलाससमक्ष बयान गर्ने मुन्ना प्रजालगायत अन्य प्रतिवादीहरूले पनि उक्त वारदातमा निज प्रतिवादीहरूको संलग्नता थियो भनी पोल गरेको अवस्थासमेत विद्यमान देखिँदैन । उल्लिखित १४ जना प्रतिवादीहरूका हकमा प्रतिवादी कान्छा भन्ने गञ्जनसिंह प्रजाले अनुसन्धानको क्रममा तथा इजलाससमक्ष बयान गर्दा निजहरूलाई पोल गरेको भन्नेबाहेक निजहरू कसुरदार हुन् भन्ने अन्य कुनै स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण पेस भएको उक्त पुरक अभियोगमा समेत उल्लेख गर्न सकेको नदेखिँदा एक जना व्यक्तिको भनाईलाई मात्र आधार मानी अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नहुँदासम्म कसुरदार मान्न न्यायोचित नहुने हुँदा निज १४ जना प्रतिवादीहरूले सफाइ पाउने ठहर भएको फैसला कानूनसङ्गत देखिन आयो ।

१० .तसर्थ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम कसुरको मात्राअनुसार प्रतिवादी मुन्ना प्रजालाई १५ वर्ष कैद र रू.१,००,०००।– जरिवाना, प्रतिवादी वीरबहादुर प्रजालाई ८ वर्ष कैद र रू.५०,०००।– जरिवाना र प्रतिवादी कविराज मगरलाई रू.१,००,०००।- जरिवाना हुनेगरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६७।७।८ मा भएको फैसला र प्रतिवादीहरू जरिङ्गे भन्ने गञ्ज सिंह प्रजा, विष्णु कार्की, साइला थापा क्षेत्री, ढेडु काले बानिया क्षेत्री, यमबहादुर बानिया, हरि कार्की, वीरबहादुर अधिकारी, न्यौपाने बाजे, न्यौपाने माइला, न्यौपाने साइला, चन्द्रे चेपाङ्ग, पुते माइला, राजु थापा क्षेत्री, स्याने थापाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‌याई राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६९।८।७ मा भएको फैसला सदर हुने ठहर्‌याएको पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७०।२।१४ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी मुन्ना प्रजा र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृतः आत्मदेव जोशी

इति संवत् २०७३ साल वैशाख १६ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु