निर्णय नं. ९७१५ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७३।०३।२९
०७०-CI-०४४६
मुद्दा: अंश चलन
पुनरावेदक प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ बस्ने दिपक सिंह
विरूद्ध
विपक्षी वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ बस्ने दिनेश सिंह
एक पटक यी पुनरावेदक प्रतिवादीले विवादित कित्ता जग्गाहरू प्रत्यर्थी वादी निजको भाइ दिनेश सिंहको स्वआर्जनको हो भनी लिखितरूपमा नै स्वीकारी बसेको अवस्थामा पछि मुद्दा पर्दा आफ्नो प्रतिकुल हुने देखेपछि सो होइन भन्न मिल्ने हुँदैन । यसो भन्नमा यी पुनरावेदक विबन्धित हुने ।
(प्रकरण नं. ३)
कुनै सम्पत्ति स्वआर्जन तथा सगोलको के हो भनी छुट्याउने विषय कानूनी प्रश्न समाहित विषय नभई तथ्यसम्बन्धी प्रश्न मात्र हो । कुनै कुरा के र कस्तो हो भनी निर्क्यौल गर्ने विषयमा तथ्यसम्बन्धी प्रश्न नै निहित रहेको मानिन्छ । सो तथ्यसम्बन्धी विषय निराकरण भइसकेपछि सोको कानूनी हैसियत तथा अस्तित्व के हुने भन्ने विषय सम्बन्धमा कानूनले केही सर्त र अवस्था तोकेको भएमा वा सो सम्बन्धमा कानूनको व्याख्या गर्नुपर्ने अवस्था भएमा मात्र त्यसमा कानूनी प्रश्नको सन्निहितता रहेको मानिने ।
विवादित जग्गाहरू यसरी प्राप्त भएको हो भन्ने तथ्यको निरूपण भएपछि त्यसरी प्राप्त सम्पत्तिको अस्तित्व के हुन्छ तथा सो सम्पत्तिमा कसको हक रहन्छ भन्ने निर्क्यौल गर्ने विषय मात्र कानूनी प्रश्न समाहित विषय हुन्छ । यसमा एक पटक स्वआर्जन भनी स्वीकारेकोमा पछि आएर होइन भनेको नितान्त तथ्यसम्बन्धी विषयमा सुरू तथा पुनरावेदन अदालतले बिबन्धन आकर्षित गरेको देखिएबाट पुनरावेदक प्रतिवादीको कानूनी प्रश्न भएकोले विवन्धन लागू हुने होइन भनी लिएको जिकिरसँग सहमत हुन नसकिने ।
(प्रकरण नं. ४)
अंश बन्डाको महलमा भएको कानूनी व्यवस्थाहरू हेर्दा आफ्नो अंश हक जतिको सम्पत्ति अंश बन्डा नहुँदै वा जस्तोसुकै अवस्थामा पनि आफू खुसी गर्न पाउने र पछि अंशबन्डा गर्दा त्यसरी दिएको सम्पत्तिको बन्डा गर्नु नपर्ने स्पस्ट हुन्छ । साथै अरूको भाग लाग्ने सम्पत्ति बकसपत्र वा लिनुदिनु गरेमा मात्र सगोलका अरू अंशियारको मन्जुरी लिनुपर्नेमा नलिएमा बदर हुने भएपनि आफ्नो अंश हक लाग्ने सम्पत्ति आफूखुस लिनु दिनु गर्दा अन्य अंशियारलाई साक्षी राख्नुपर्ने वा मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहे भएको समेत नपाइने ।
अंश हक एक जन्म सिद्ध तथा नैसर्गिक हक भएकाले सगोलको सम्पत्तिमा सगोलका सबैको जुनसुकै समयमा पनि अंश हक निहित रहेको नै हुन्छ । यी वादी प्रतिवादीको आमा जिउँदै रहेको समयमा सगोलको सम्पत्तिमा निजको पनि अंश हक निहित रहने र आफ्नो अंश हकजति मुलुकी ऐन, अंशबन्डाको महलमा रहेको कानूनी व्यवस्थाका आधारमा आफूखुसी गर्न पाउने ।
(प्रकरण नं. ६)
पुनरावेदक प्रतिवादीको तर्फबाट :
विपक्षी वादीको तर्फबाट :
अवलम्बित नजिर :
नेकाप २०६६, अंक ८, पृ.१३८८
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
मा.जि.न्या. श्री खडानन्द तिवारी
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री सत्यराज गुरूङ
मा.न्या. श्री रामेश्वरनाथ अमात्य
फैसला
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ ।
विपक्षी दिपक सिंह मेरा दाजु भएको र पिता विष्णुबहादुर सिंह तथा आमा सुचित्रादेवी सिंहको क्रमशः मिति २०६२।९।३ र २०६५।३।१२ मा स्वर्गवास भइसकेकोले हाल अंशियारमा हामी २ दाजुभाइ मात्र रहेको छौं । म फिरादी बेलायतको कराई रेष्टुरेन्टमा सन् १९८९ देखि १९९५ सम्म कार्य गर्दै आई वि.सं. २०५५ सालमा नेपाल फर्की आउँदा ल्याएको रकम स्व. पिता माता तथा विपक्षी दाजुले तैंले कमाएको रकम घरमा खर्च गर्नु पर्दैन, जेमा लगानी गर्न इच्छा छ गरे हुन्छ भनेबाट मैले नगर ५, कि.नं. १६२ र १६३ को जग्गा र सोमा बनेको घर मिति २०५५।३।२१ मा खरिद गरी लिई पिता माता तथा विपक्षी दाजुसहित पैतृक घरमा बसोबास गर्दै आएको थिएँ । मेरोसमेत विवाह भइसकेकोले पिताजीको जीवनकालमा नै अंशबन्डा गरिदिने पिताको इच्छा हुँदाहुँदै स्वर्गे हुनुभएकोले अंश बन्डा हुन सकेन । मैले पिताको काजक्रियासमेतका लागि दिदीसँग रू.२,००,०००।- कपाली तमसुक गरी लिएको रूपैयाँ तिर्न बाँकी नै रहेको छ । पछि विपक्षीले एकलौटी मनलागी तरिकाले घर व्यवहार चलाई आउनुभएकोले मैले बालबच्चा र आमालाई समेत लिई मैले खरिद गरेको हाँडीगाउँको घरमा बसेको अवस्थामा आमा मेरो सेवाबाट अत्यन्त खुसी भई म बाँचुन्जेल मेरो हेरचाह र शेषपछि मेरो काजक्रिया पिण्डपानीसमेत गर्नु भनी मिति २०६४।९।१३ मा शेषपछिको बकसपत्र गरिदिनु भएकोमा आमाको मिति २०६५।३।१२ मा मृत्यु भयो । निजको मृत्युपश्चात् हिन्दु परम्परानुसार सम्पूर्ण कार्यसमेत मैले नै गरी आएकोले आमाको एक मात्र हकदार म भएकोले मैले पाउनुपर्ने अंश भाग दिनुहोस् भनी विपक्षी दाजुलाई भन्दा तँलाई अंश दिनुपर्ने होइन, सकेको गर् भनी भन्नु भएकोले बाध्य भई फिराद गर्न आएको छु । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी मेरो स्वःआर्जनको उल्लिखित हालको कि.नं. १६२ र १६३ को सम्पत्तिबाहेक सम्पूर्ण चल अचल सम्पत्तिलाई ३ भाग लगाई ३ भागको २ भाग (१ भाग म फिरादीको र १ भाग आमाको) छुट्याई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको वादीको फिराद पत्र ।
फिरादीले उल्लेख गरेका तथ्यहरूमध्ये बुबाआमाको मृत्यु भएको र अंशियार २ जना मात्र भएको भन्ने कुराहरू बाहेक सबै बनावटी मात्र हुन् । निज मसँग अंश चाहियो भनी माग्न आएका छैनन् । आमालाई मैले नै हेरविचार गरी मृत्युपश्चात् सम्पूर्ण कामहरूसमेत मैले नै गरेको हो । विपक्षीले आफ्नो छोराको पास्नीमा बिरामी आमालाई लिएर गएकोमा घरमा डोर बोलाएर ल्याई शेषपछिको बकसपत्रको कागज पारित गराएको कुरा हाल जानकारी पाएको हुँ । उल्लिखित लिखतमा म साक्षी नबसेको हुँदा सो लिखतले कानूनी मान्यता पाउन सक्दैन । उक्त लिखत बदरउपर मैले कानूनी प्रक्रिया अगाडि बढाउने नै छु । साथै विपक्षीको नाममा खरिद गरेको घरजग्गा निजको निजी आर्जनको नभई पैतृक घर ACC फाइनान्समा धितो राखी लिएको रू.१० लाख र मेरो कान्छो सालोसँग लिएको रू.१५ लाखसमेतको रूपैयाँले खरिद गरिलिएको हो । उल्लिखित ऋण म आफैँले तिरिसकेको छु । उक्त जग्गा खरिद गर्दा मेरो नाममा राखिदिनु पर्यो भनी भनेकाले निजका नाममा खरिद भएको र उक्त लिखतमा साक्षी बसिदिनु पर्यो भनी भनेकाले म साक्षी बसेकोसम्म हुँ । लिखतमा के व्यहोरा लेखे मलाई जानकारी नभए पनि उल्लिखित घरजग्गासमेतमा मेरो आधी हक लाग्छ र आमाको मृत्यु भइसकेको अवस्थामा निजको अंश भाग लाग्न सक्ने अवस्था नभएकोले विपक्षी वादीको नाममा रहेभएकोसमेत सम्पूर्ण सम्पत्तिलाई २ भाग लगाई सोको १ भाग अंश म प्रतिवादीलाई समेत दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक सिंहको प्रतिउत्तर पत्र ।
वादीले आफ्नो फिरादमा निजी आर्जन भनी उल्लेख गरेको घर जग्गा निजको निजी आर्जन नै भएकाले बन्डा लाग्ने होइन । साथै निजको आमाले शेषपछिको बकसपत्र गरिदिनु भएकोले वादीले ३ भागको २ भाग बन्डा पाउनु पर्ने हो भन्नेसमेत व्यहोराको वादीका साक्षी रामबाबु पाठकले अदालतमा गरिदिएको बकपत्र ।
वादीले निजी आर्जन भनेको घर जग्गा निजहरूले कर्जा लिएर किनेकोले पैतृक सम्पत्तिकारूपमा सबैको अंश लाग्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी हेमराज जोशीले अदालतमा गरिदिएको बकपत्र ।
यसमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । उक्त दिनसम्मको बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी अंशबन्डाको महलबमोजिम वादी प्रतिवादीहरूबाट दाखिल गर्न लगाई नियमानुसार गर्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको आदेशबमोजिम तायदाती फाँटवारी पेस भई मिसिल संलग्न रहेको ।
वादी प्रतिवादी दुई दाजुभाइ मात्र जीवित अंशियार रहेको र दुवै दाजुभाइबिच बन्डापत्र पारित नभएकोमा मुख मिलेकै पाइँदा वादी प्रतिवादीबीच बन्डा हुने नै देखिन आयो । तायदातीमा उल्लिखित दिनेश सिंहका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नं. ५ हालको कि.नं. १६२ र १६३ को घरजग्गा वादी दिनेश सिंहको निजी आर्जनको मान्नुपर्ने भई निजी ठहरी अंशबन्डाको महलको १८ नं. ले बन्डा लाग्ने अवस्था देखिन आएन । तायदातीमा उल्लिखित ऋणका हकमा साहुका उजुर परेका बखत ठहरेबमोजिम हुने नै हुँदा तायदातीमा उल्लिखित सम्पत्तिका हकमा माथि उल्लिखित कि.नं. १६२ र १६३ बाहेकका अन्य दर्ता स्रेस्ता मिले भिडेका कि.नं. २१८१, रूपन्देहीको कि.नं. २२५ को सम्पत्ति, बा.१.च. ६३८५ नं. को कार, नबिल बैंक र हिमालयन बैंकको मौज्दात र मैत्री बचत तथा ऋण सहकारी संस्थाको शेयरसमेत बराबर भाग लाग्ने गरी नरमगरम मिलाई २ भाग गरी १ भाग वादीले अंश छुट्याई चलनसमेत चलाई लिन पाउने ठहर्छ । २ भाग अंश पाउँ भन्ने वादीदाबी पुग्न सक्तैन भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६९ ।८।१८ को फैसला ।
विपक्षी भाइ दिनेश सिंहका नाममा रहेको कि.नं. १६२ र १६३ को घरजग्गा एस. फाइनान्समा आमाको नामको घरजग्गा राखी कर्जा लिएको रकम, म पुनरावेदकका सालो निर्मल बस्नेतसँग लिएको सापटी र घरको सगोलको नगद रूपैयाँबाट खरिद गरी लिएकोले सगोलको सम्पत्ति हो । उक्त घरजग्गा निजका नाममा दर्ता स्रेस्ता रहँदैमा निजी आर्जन भन्न मिल्ने होइन । त्यसैले उक्त घरजग्गामा म पुनरावेदकको आधा अंशहक लाग्नेमा मलाई सोको अंशहकबाट वञ्चित गर्नेगरी वादीको निजी आर्जनको ठहर गरी गरेको सुरू फैसला प्रमाण ऐन, २०३१ को दफा ६(क) तथा सम्मानित सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको विपरीत भई बदरभागी हुँदा उक्त फैसला बदर गरी हाल कि.नं. १६२ र १६३ को घरजग्गामा म पुनरावेदकसमेत दुवै दाजुभाइको अंशहक लाग्ने गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक सिंहको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
मेरी आमाको हकको सम्पूर्ण श्रीसम्पत्ति अष्टलोहसमेत आमाले म फिरादी पुनरावेदकलाई मालपोत कार्यालय काठमाडौंको र.नं. ४२१३ख मिति ०६४।९।१३ को पारित शेषपछिको बकसपत्र लिखतबमोजिम हक हस्तान्तरण गर्नुभएको र सोको ६ महिनापछि मिति २०६५।३।१७ मा आमा परलोक हुनुभएकोले आमाको मृत्युपश्चात् उहाँको काजकिरिया, पिण्डपानी, श्राद्धसमेत मैले नै गरेको हुँदा उहाँको कानूनतः हकखाने एक मात्र हकदार म भएको अवस्थामा सुरू अदालतले त्यसतर्फ कुनै विचारै नगरी कानूनबमोजिम पारित शे.ब.को लिखतलाई मान्यता नदिई सोबमोजिम अंश दिलाई दिन इन्कार गर्नेगरी भएको सुरू फैसला सो हदसम्म नमिलेको हुँदा उल्टी गरी मेरो सुरू फिराद दाबीबमोजिम ३ भागको २ भाग अंश दिलाई चलनसमेत चलाइ पाउँ भन्नेसमेत व्यहोराको वादी दिनेश सिंहको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा वादी तथा प्रतिवादी दुवैपक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. प्रयोजनार्थ परस्परमा सुनाई नियमानुसार साथै राखी पेस गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०७०।४।२४ को आदेश ।
सुरू काठमाडौं जिल्ला अदालतबाट कि.नं. १६२ र १६३ को घरजग्गा वादीको निजी आर्जनको ठहर्याई बन्डा नहुने गरी गरेको फैसला मिलेकै देखिन्छ र पुनरावेदक वादी दिनेश सिंहले आमा सुचित्रा देवीबाट मिति २०६४।९।१३ मा आफ्नो अंश शेषपछिको बकसपत्र पाएको देखिँदा वादीले २ खण्डको १ खण्ड मात्र अंश पाउने ठहरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।८।१८ को फैसला सो हदसम्म मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी गरी वादी दाबीबमोजिम पुनरावेदक वादीले ३ खण्डको २ खण्ड अंश पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०७०।५।२ को फैसला ।
निजी आर्जन भएको प्रमाण नपुर्याई सगोलमा रहेको अवस्थामा खरिद गरेको जग्गा आफ्नो नाममा खरिद गर्दैमा र लिखतको कैफियत महलमा निजी आर्जन उल्लेख गर्दैमा निजी आर्जन भन्न
मिल्दैन । अंश बन्डाको १८ नं. अनुसार निजी आर्जन हुने नहुने विषय कानूनी प्रश्नको विषय भएकोले साक्षीसम्म बसेको कारणले मात्र त्यस्तोमा बिबन्धन लाग्न
सक्दैन । तसर्थ उक्त कि.नं. १६२ र १६३ को जग्गामा बन्डा नलाग्ने ठहर्याएको फैसला प्रमाण ऐनको दफा ३४, मुलुकी ऐन अंशबन्डाको महलको १८ नं. तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत छ । यस मुद्दामा २०६८।१।१५ मा फिराद दायर भएको र सोको अघिल्लो दिन २०६८।१।१४ गते मानो छुटेको मिति कायम भई २०६८।९।२४ मा काठमाडौं जिल्ला अदालतबाट आदेश भएको
छ । मानो छुट्टिएको मिति कायम हुँदा अंशियार नरहेको व्यक्तिले पहिले नै अर्थात् मिति २०६४।९।१३ मा पछि म जीवित रहे अंशियार कायम हुन वा अंश पाउन सक्छु भन्ने अनुमानबाट शेष पछिको बकसपत्र गरिदिएकोमा सोले कानूनी मान्यता प्राप्त गर्नु न्यायोचित हुँदैन । यस सम्बन्धमा यस अदालतबाट मानो छुट्टिएको कायम मिति २००५।३।१७ गतेभन्दा अगाडि २००५।१।२२ गते आमा परलोक भई आमाको बकसपत्रबाट वादीले पाएको सम्पत्तिसमेतमा सगोलका अंशियार वादी प्रतिवादी दुवैको भाग लाग्ने भनी सिद्धान्तसमेत कायम भएको छ । मुलुकी ऐन अंश बन्डाको १ नं. मा समेत जियजियको अंश गर्नुपर्छ भन्ने व्यवस्था रहेकोबाट पनि मानो छुट्टिएको मितिसम्म कायम अंशियारबीचमात्र बन्डा लाग्ने प्रस्ट छ । तसर्थ मिति २०६८।१।१४ गते मानो छुट्टेको मितिभन्दा अगावै मिति २०६४।९।१३ को शेष पछिको बकसपत्र लिखतबाट पछि परेको मुद्दामा अंशियार हुने गरी स्व. आमाको भाग लगाई ३ भागको २ भाग अंश पाउने ठहर गरेको फैसलामा प्रतिपादित सिद्धान्त, उक्त अंशबन्डाको १ नं. को त्रुटि भएकोले बदर गरी सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्ड मात्र भाग लाग्ने गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिपक सिंहको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा यसमा आफ्नो स्वआर्जनको कि.नं. १६२ र १६३ को सम्पत्तिबाहेक आमाले आफ्नो अंश भाग लाग्ने सम्पत्ति आफूलाई शेष पछिको बकसपत्र लेखिदिएकाले सम्पूर्ण चल अचल सम्पत्तिलाई ३ भाग लगाई ३ भागको २ भाग (१ भाग म फिरादीको र १ भाग आमाको) अंश भाग पाउँ भन्ने फिराद दाबी रहेकोमा सुरू जिल्ला अदालतबाट कि.नं. १६२ र १६३ को जग्गा वादी दिनेश सिंहको स्वआर्जनको भएकोले बन्डा नलाग्ने र २०६४।९।१३ को बकसपत्रको आधारमा ३ भागको २ भाग बन्डा पाउँ भन्ने वादी दाबी नपुग्ने भई वादीले सम्पूर्ण सम्पत्तिको २ भागको १ भागमात्र बन्डा पाउने ठहराई फैसला भएको पाइयो । सो फैसलाउपर स्वआर्जनको सम्पत्तिबाहेकको सम्पत्तिमा ३ भागको २ भाग बन्डा पाउँ भनी वादीको र सुरूले स्वआर्जन ठहराएको सम्पत्ति वादीको स्वआर्जन नभई बन्डा लाग्ने सगोलको सम्पत्ति हो भनी प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । पुनरावेदन अदालतबाट सुरू फैसला केही उल्टी भई सुरूले स्वआर्जन ठहराएको जग्गा स्वआर्जन नै ठहराई र अन्य सम्पत्तिमा वादी दाबीबमोजिम पुनरावेदक वादीले ३ खण्डमा २ खण्ड अंश पाउने ठहराई फैसला भएको पाइयो । सो फैसलाउपर प्रतिवादीको सबै सम्पत्तिमा २ खण्डको १ खण्ड अंश मात्र वादीले पाउनु पर्ने हो भनी यस अदालतमा पुनरावेदन पर्न आई निर्णयार्थ आज यस इजलासमा पेस हुन आएको देखिन्छ ।
निर्णयतर्फ विचार गर्दा यसमा सुरू फैसला केही उल्टी हुने ठहराई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन ? तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णयमा पुग्न प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा जिकिर लिएका तथ्यसमेत मनन गर्दा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियो ।
१. प्रत्यर्थी वादी दिनेश सिंहका नाममा दर्ता भएको कि.नं. १६२ र १६३ को जग्गा निजको निजी आर्जनको जग्गा हो वा बन्डा लाग्ने सगोलको जग्गा हो ?
२. आमाले आफ्नो अंश भागको जग्गा वादी दिनेश सिंहलाई शेष पछिको बकसपत्र गरी लेखिदिएको सदर हुन्छ वा हुँदैन ?
३. वादीले ३ खण्डको २ खण्ड सम्पत्ति अंश भाग पाउने हो वा पुनरावेदन जिकिरअनुसार २ खण्डको १ खण्डमात्र अंश भाग पाउने
हो ?
२. सर्वप्रथम प्रत्यर्थी वादी दिनेश सिंहका नाममा दर्ता भएको कि.नं. १६२ र १६३ को जग्गा निजको निजी आर्जनको जग्गा हो वा बन्डा लाग्ने सगोलको जग्गा हो ? भन्ने पहिलो प्रश्न सम्बन्धमा विचार गर्दा विपक्षी वादी दिनेश सिंहले उक्त कि.नं. का जग्गाहरू आफूले बेलायत बस्दा आर्जन गरेको पैसाबाट किनेको स्वआर्जनको जग्गा भनी फिरादमा दाबी लिएको
पाइन्छ । यी जग्गाहरू राजीनामा गरिलिँदाको राजीनामाको लिखत हेर्दा सम्पत्ति दिनेश सिंहको स्वआर्जनको आय स्रोतबाट खरिद गरेको भन्ने व्यहोरा उल्लेख गरी पुनरावेदक दिपक सिंह साक्षी बसेको देखिएको छ । सो साक्षी बसेको कुरालाई यी पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दासमेत स्वीकारेको पाइन्छ । निजले सही गरेको तर व्यहोरा के लेखे थाहा भएन भनी उल्लेख गरे पनि एउटा पढे लेखेको सचेत तथा सक्षम व्यक्तिले सही गरिसकेपछि व्यहोरा के लेखेको रहेछ थाहा भएन भनी भन्न पाउने अवस्था रहँदैन ।
३. उक्त लिखतहरू किर्ते जालसाजी भनी नामाकरण गर्दै पुनरावेदक प्रतिवादीले सुरू जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा सो मुद्दा हदम्याद नाघेका आधारमा खारेज भई पुनरावेदन अदालतबाट सो सदर भई यस अदालतबाट समेत सो मुद्दामा आजै दोहर्याई हेर्ने निस्सा प्राप्त नभई अन्तिम भएको
देखिन्छ । यदि उक्त राजीनामा लिखतमा निजको सहिछाप तथा व्यहोरा फरक पारी कुनै किसमले किर्ते जालसाज गरेको भए निजले सो सम्बन्धमा हदम्यादभित्रै नालेस गरी सोलाई किर्ते तथा जालसाज घोषित गराउनु सक्नु पर्दथ्यो । सो गर्न नसकेबाट उक्त लिखतमा भएको निजको सहिछाप तथा व्यहोरालाई अन्यथा भन्न सक्ने अवस्था हुँदैन । उक्त लिखतमा भएको व्यहोरा र सहिछाप निजको नै देखिन
आउँछ । सो देखिएबाट एक पटक यी पुनरावेदक प्रतिवादीले उल्लिखित कित्ता जग्गाहरू प्रत्यर्थी वादी निजको भाइ दिनेश सिंहको स्वआर्जनको हो भनी लिखितरूपमा नै स्वीकारी बसेको अवस्थामा पछि मुद्दा पर्दा आफ्नो प्रतिकुल हुने देखेपछि सो होइन भन्न मिल्ने हुँदैन । यसो भन्नमा यी पुनरावेदक विबन्धित हुने हुन्छन् । प्रमाण ऐन २०३१ को दफा ३४ हेर्दापनि एक चोटि कुनै व्यहोराले स्वीकार गरिसकेको कुरालाई पछि मुद्दा चल्दा सो कुरा त्यस्तो होइन वा थिएन भनी खण्डन गर्न नपाउने नै देखिन्छ ।
४. उक्त दफामा कानूनी बुँदामा यो दफा लागू हुने छैन भन्ने उल्लेख भएकोले स्वआर्जनको विषय हो वा होइन भन्ने विषय पनि कानूनी प्रश्नको विषय भएकोले सो बिबन्धनको सिद्धान्त तथा सोअनुसारको उक्त कानूनी व्यवस्था यसमा आकर्षित हुने होइन भनी प्रतिवादीले पुनरावेदन जिकिर लिएपनि कुनै सम्पत्ति स्वआर्जन तथा सगोलको के हो भनी छुट्याउने विषय कानूनी प्रश्न समाहित विषय नभई तथ्यसम्बन्धी प्रश्न मात्र हो । कुनै कुरा के र कस्तो हो भनी निर्क्यौल गर्ने विषयमा तथ्यसम्बन्धी प्रश्न नै निहित रहेको
मानिन्छ । सो तथ्यसम्बन्धी विषय निराकरण भइसकेपछि सोको कानूनी हैसियत तथा अस्तित्व के हुने भन्ने विषय सम्बन्धमा कानूनले केही सर्त र अवस्था तोकेको भएमा वा सो सम्बन्धमा कानूनको व्याख्या गर्नुपर्ने अवस्था भएमा मात्र त्यसमा कानूनी प्रश्नको सन्निहितता रहेको मानिन्छ । प्रस्तुत विवादमा पनि विवादित कित्ता के कसरी आएको हो भन्ने विषयको निर्क्यौल गर्ने विषय तथ्यसँग नै सम्बन्धित रहेको विषय हो र यसमा विबन्धनको सिद्धान्त लागू हुने नै हुन्छ । यी जग्गाहरू यसरी प्राप्त भएको हो भन्ने तथ्यको निरूपण भएपछि त्यसरी प्राप्त सम्पत्तिको अस्तित्व के हुन्छ तथा सो सम्पत्तिमा कसको हक रहन्छ भन्ने निर्क्यौल गर्ने विषय मात्र कानूनी प्रश्न समाहित विषय हुन्छ । यसमा एक पटक स्वआर्जन भनी स्वीकारेकोमा पछि आएर होइन भनेको नितान्त तथ्यसम्बन्धी विषयमा सुरू तथा पुनरावेदन अदालतले बिबन्धन आकर्षित गरेको देखिएबाट पुनरावेदक प्रतिवादीको कानूनी प्रश्न भएकोले विवन्धन लागू हुने होइन भनी लिएको जिकिरसँग सहमत हुन सकिँदैन ।साथै सो साक्षी बसेको लिखतको सद्दे किर्ते सम्बन्धमा मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं. अनुसारको प्रक्रिया नअपनाई र सोमा भएको सहीछाप विशेषज्ञद्वारा यकीन नगराएर भएको फैसला त्रुटिपूर्ण रहेको पुनरावेदक जिकिर भएपनि सो सम्बन्धमा निजले प्रतिउत्तर पत्रमा केही कुरा उठाउन नसकि साक्षी बसेको कुरालाई स्वीकार नै गरेको देखिन्छ ।
५. यस्तो राजीनामाको लिखतमा वादीको निजी आर्जनको जग्गा हो भनी आफैँ खुलाई हस्ताक्षर गरी दिएको अवस्थामा र वादी दिनेश सिंहले आफूले लण्डनमा रहेको KARAHI TANDOORI RESTURANT मा काम गरेकोलगायतका कागज प्रमाणसमेत पेस गरेको अवस्थामा निजी सम्पत्ति भनी वादीले प्रमाण पुर्याउन नसकेको भन्ने प्रतिवादीले लिएको जिकिरसमेत उचित मान्न सकिँदैन । वादीले बेलायतमा नियमानुसार वर्क परमिट लिई काम गरी कमाएको रकम बैध तरिकाले बैंक खातामार्फत पठाएमा मात्र निजले निजी आर्जन गरेको हुने, नभए नहुने भन्ने हुँदैन । जे जसरी कमाएको र पठाएको भएपनि निजी आर्जन ठहराउने सन्दर्भमा आफ्नो निजी ज्ञान सिप तथा श्रमबाट कमाएको सम्पत्ति अंशबन्डाको १८ नं. को प्रयोजनका लागि निजी सम्पत्ति नै मान्नु पर्ने हुन्छ । वर्क परमिट र बैंकमार्फत पैसा आएको देखाउन नसकेको भन्ने पुनरावेदकको जिकिरलाई आधार लिएर मात्र निजी आर्जन भन्न नमिल्ने हुँदैन । साथै सो समयमा आफूहरूले सगोलमै विभिन्न व्यक्ति तथा संस्थाबाट कर्जा लिई उक्त जग्गा किनेको भनी प्रतिवादीले जिकिर गरेपनि सो कर्जा लिएको पैसा सोही जग्गा खरिदमा खर्च भएको देख्न सकिने कुनै प्रमाण यी पुनरावेदक प्रतिवादीले पेस गर्न सकेको
पाइँदैन । तसर्थ कि.नं. १६२ र १६३ को जग्गा वादीको निजी आर्जनको बन्डा नलाग्ने जग्गा ठहर्याई सुरू र पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नै देखिन्छ तथा सगोलको बन्डा लाग्ने सम्पत्ति हो भनी प्रतिवादीले लिएका जिकिर आधारहरूसँग सहमत हुन सकिँदैन ।
६. अब आमाले आफ्नो अंश भागको जग्गा वादी दिनेश सिंहलाई शेषपछिको बकसपत्र गरी लेखिदिएको सदर हुन्छ वा हुँदैन ? भन्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा यसमा यी वादी प्रतिवादीको आमा सुचित्रा देवी सिंहले आफूले अंश भागबापत पाउने सम्पूर्ण चल अचल सम्पत्ति आफ्नो शेष पछि लालान पालन र काजकिरिया गरेबापत यी वादी दिनेश सिंहले खान पाउने गरी मिति २०६४।९।१३मा शेष पछिको बकसपत्र पारित गरिदिएको पाइन्छ । सो बकसपत्रको लिखतमा आफ्नो अंश भागको सम्पत्तिमात्र भनी उल्लेख भएको र फिराद दाबीमा समेत सो हदसम्मको सम्पत्तिमा मात्र वादीले दाबी लिएको देखिँदा अन्य सम्पत्ति तथा अरू अंशियारको अंश लाग्ने सम्पत्ति बकसपत्र गरिदिएको तथा सोमा फिरादीले दाबी गरेको देखिँदैन । मुलुकी ऐन अंश बन्डाको १९ नं. को देहाय ४मा माथि दफा दफामा लेखिएबमोजिम आफूखुसी गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंशजति भने आफूखुसी गर्न पाउँछ भन्ने व्यवस्था भएको
देखिन्छ । त्यस्तै ऐ. को देहाय ५ मा माथि लेखिएबमोजिम दिन पाउने जति अंश बन्डा नहुदै कुनै स्वास्नी छोरा, अविवाहित छोरी वा वुहारीलाई लिखत गरिदिएको जति पछि अंशबन्डा गर्दा बन्डा गर्नु पर्दैन जसले पाएको हो उसले एकलौटी गरी खान पाउँछ । दिन नपाउने दिएको रहेछ भने पछि बन्डा गर्दा सोसमेत सबै मिसाई बन्डा गरिदिनु पर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । अंश बन्डाको महलमा भएको उपर्युक्त कानूनी व्यवस्थाहरू हेर्दा आफ्नो अंश हक जतिको सम्पत्ति अंश बन्डा नहुदै वा जस्तोसुकै अवस्थामा पनि आफू खुसी गर्न पाउने र पछि अंश बन्डा गर्दा त्यसरी दिएको सम्पत्तिको बन्डा गर्नु नपर्ने स्पस्ट हुन्छ । साथै अरूको भाग लाग्ने सम्पत्ति बकसपत्र वा लिनुदिनु गरेमा मात्र सगोलका अरू अंशियारको मन्जुरी लिनु पर्नेमा नलिएमा बदर हुने भएपनि आफ्नो अंश हक लाग्ने सम्पत्ति आफूखुस लिनु दिनु गर्दा अन्य अंशियारलाई साक्षी राख्नु पर्ने वा मन्जुरी लिनु पर्ने कानूनी व्यवस्था रहे भएकोसमेत पाइँदैन । अंश हक एक जन्म सिद्ध तथा नैसर्गिक हक भएकाले सगोलको सम्पत्तिमा सगोलका सबैको जुनसुकै समयमा पनि अंश हक निहित रहेको नै हुन्छ । यी वादी प्रतिवादीको आमा जिउँदै रहेको समयमा सगोलको सम्पत्तिमा निजको पनि अंश हक निहित रहने र आफ्नो अंश हकजति माथि उल्लिखित कानूनी व्यवस्थाका आधारमा आफूखुसी गर्न पाउने नै हुन्छ । यस सम्बन्धमा यस अदालतबाट कुनै पनि व्यक्तिले आफ्नो अंशबापतको सम्पत्ति अन्य व्यक्तिलाई वैधानिकरूपमा हस्तान्तरण गरिसकेपछि त्यस्तो सम्पत्तिमा तोकिएको सर्त पूरा भएपछि दाताको हक समाप्त भई सम्पत्ति प्राप्त गर्नेको अधिकार स्वतः सिर्जना हुने । अंशबन्डाको महलले आफ्नो हक पुग्ने सम्पत्ति मात्रै आफूखुसी गर्न पाउने प्रस्ट कानूनी व्यवस्था गरेको अवस्थामा अरू अंशियारहरूको समेत हक लाग्ने पैतृक सम्पत्ति अन्य अंशियारहरूको सहमतिबिना हक हस्तान्तरण गरी दिन नपाउने भनी सिद्धान्त (ने.का.प. २०६६, अंक ८ पृ. १३८८) समेत प्रतिपादित भएबाट आफ्नो अंश हक लाग्ने जति सम्पत्ति जुनसुकै समयमा पनि बकसपत्र गरिदिन पाउने र सो गरेअनुसार पाउनेले सर्त पुरा गरी सकेपछि सम्पत्तिमा स्वतः पाउनेको हक सिर्जना हुने देखिन्छ । यसरी उक्त शेष पछिको बकसपत्र गरी दिएको सदर नै हुने देखिन्छ । अंश बन्डाको सम्बन्धमा विवाद हुने समयमा अंशियार कायम नरहेको व्यक्ति अंशियार हुन नसक्ने र सोभन्दा अगाडि पछि अंश पाउने कल्पना गरी आफ्नो अंश हक जति शेष पछिको बकस पत्र गरेको सदर नहुने भनी लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।
७. यी पुनरावेदकले किर्ते जालसाजी मुद्दा काठमाडौं जिल्ला अदालतमा फिराद गर्नु भएकोमा उक्त फिराद हदम्याद नाघी आएको कारणबाट खारेज भई निजले सोउपर पुनरावेदन गर्नसकेको पाइँदैन । यसरी यदि कुनै कारणले सो शेष पछिको बकसपत्र किर्ते जालसाजी पूर्ण तरिकाले भएको हो भने कानूनले तोकेको हदम्यादभित्र फिराद गरी बदर गराउनु सक्नु पर्नेमा सो गराउन सकेको नदेखिएबाट समेत सो लिखतलाई अन्यथा भनी भन्न मिल्दैन ।
८. अन्त्यमा वादीले ३ खण्डको २ खण्ड सम्पत्ति अंश भाग पाउने हो वा पुनरावेदन जिकिरअनुसार २ खण्डको १ खण्ड मात्र अंश भाग पाउने हो ? भन्ने तेस्रो प्रश्न सम्बन्धमा हेर्दा माथी विवेचित आधार प्रमाणबाट कि.नं. १६२ र १६३ को जग्गा वादी दिपक सिंहको स्वआर्जनको देखिएकोले सो जग्गाहरू सगोलका अंशियारको बन्डा नलाग्ने भई यी वादीको एकलौटी हक कायम हुने देखिन्छ । सोबाहेकको अन्य सम्पत्तिमध्ये आफ्नो अंश भाग लाग्ने ३ खण्डको १ खण्ड सम्पत्ति वादी प्रतिवादीको आमा सुचित्रा देवी सिंहले यी वादीलाई मात्र आफ्नो लालन पालन गर्न र मृत्यु पछि काजकिरियासमेत गर्न भनी शेषपछिको बकसपत्र पारित गरी लेखिदिएकोमा पुनरावेदक प्रतिवादीको प्रतिउत्तर जिकिर र वादी प्रतिवादीको साक्षीहरूको बकपत्र हेर्दासमेत निज आमाको लालन पालन र काजकिरियासमेत गरी वादी दिनेश सिंहले लिखतमा उल्लिखित सर्त पुरा गरेको नै देखिन्छ । सो देखिएबाट आफ्नो आमाको सो बकसपत्रअनुसारको भाग र आफ्नो अंश भागसमेत मिलाई सम्पूर्ण सम्पत्तिको ३ भागको २ भाग अंश यी वादी दिनेश सिंहले पाउने नै देखिन्छ । तसर्थ सम्पूर्ण सम्पत्तिमा आमाको भागसमेत ३ भाग लगाई आफ्नो र आमाको भागसमेत वादी दिनेश सिंहले पाउने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला कानूनसम्मत नै भएकोले सम्पूर्ण सम्पत्तिको २ भागको १ भागमात्र वादीले पाउनु पर्ने हो भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।
९. अतः यसरी माथि विवेचित आधार प्रमाणहरूबाट वादी दाबीको कि.नं. १६२ र १६३ का जग्गाहरू निजी आर्जनको देखिएकोले बन्डा नलाग्ने र सोबाहेकका अन्य सम्पत्तिमा २ भागको १ भाग वादी दिनेश सिंहले पाउने ठहर्याई सुरू जिल्ला अदालतले गरेको मिति २०६९।८।१८ को फैसला केही उल्टी गरी उक्त कि.नं. १६२ र १६३ को जग्गाहरू निजी आर्जनको बन्डा नलाग्ने सम्पत्ति नै ठहर्याई र सोबाहेकको अन्य सम्पत्तिमा ३ भागको २ भाग सम्पत्ति यी वादी दिनेश सिंहले पाउने ठहर्याई भएको पुनरावेदन अदालत, पाटनको मिति २०७०।५।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इजलास अधिकृत:- यदुराज शर्मा
इति संवत् २०७३ साल असार २९ गते रोज ४ शुभम् ।