निर्णय नं. ९७७६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७३।१।२०
०७२-RC-०१६०
मुद्दाः कर्तव्य ज्यान
वादी : पेम्बा लामाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : जिल्ला इलाम, एकतप्पा गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला इलाम, इलाम नगरपालिका वडा नं. ६ बस्ने भई हाल कारागार कार्यालय, इलाममा रहेका विशेष राई, मनोज राई भन्ने यामबहादुर राई
कुनै विशेष परिस्थितिमा गरिएको कार्यबाट ज्यान मरेकोमा बात नलाग्ने गरी कानूनमा उल्लेख गरिएका उन्मुक्तिका आधारहरू पूर्वयोजनाबमोजिम आपराधिक मानसाय राखी गरिएको कार्यमा समेत लागू हुने र त्यस्ता आधारहरूको साहारा लिन पाउने भन्ने हुँदैन । सो परिस्थिति प्रमाणबाट पुष्टि हुनुपर्ने ।
(प्रकरण नं. ७)
वादीको तर्फबाट :
प्रतिवादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः
मा.जिल्ला न्यायाधीश श्री प्रकाश ढुंगाना
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल
माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य
फैसला
स.का.मु.प्र.न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधकको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थित पूर्वमा मेची राजमार्ग, पश्चिममा मोहनप्रसाद सिंजालीको चियाबारी, उत्तरमा मेची राजमार्ग, दक्षिणमा कर्णबहादुर कटुवालको घर, यति चार किल्लाभित्र भएको टिनको छानो टाटी र टिनको बेरा भएको कृष्णबहादुर कटुवाल भन्ने किशोर कटुवालको तिनकोठे भुइँ घर, उक्त घरको उत्तरतर्फको कोठामा पश्चिम ढोका भई रहेको भान्साघरको ढोकाभित्र मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा हाल जिल्ला इलाम, इलाम नगरपालिका वडा नं.६ बस्ने विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले आफ्नो झड्केलो छोरा टासी लामा र सँगै काम गर्ने जंगबहादुर राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको र निज प्रतिवादीले उक्त धारिलो हतियार आफैँले बोकी लगी घटनास्थलबाट भागी फरार भएका, घटनास्थलमा रगत जस्तो रातो पदार्थका छिटाहरू लागी सुकेको अवस्थामा रहेको, घटनास्थलमा भएको काठको पिरा र बाँसको भाटाको टुक्रामा रगत जस्तो रातो पदार्थ लागेकोले सो पिरा र बाँसको टुक्रासमेत प्रहरीले बरामद गरी लगेको हो भन्नेसमेत व्यहोराको मिति २०७१।२।२८ को घटनास्थल मुचुल्का ।
प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईसँग हाम्रो आमाले दोस्रो विवाह गरी आउनु भएकोमा हामीहरूसमेत निज हाम्रा झड्केला बाबुसँगै बस्दै आएका थियौ । यस्तैमा प्रतिवादी मेरो दाजु टासी लामा र मसमेत भई निमा शेर्पाको बौद्ध निर्माण सेवाले निर्माण गरी रहेको जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थित मेची राजमार्गको नाली मर्मत गर्ने काम गर्दथ्यौं । सो क्रममा हामी ऐ. स्थितमा भएको कृष्णबहादुर कटुवालको घरमा कोठा बसी काम गर्दै आएकोमा मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा मेरो दाजु टासी लामालाई प्रतिवादी यामबहादुर राईले धारिलो हतियार सिक्कलले एक्कासी टाउकोमा पछाडिपट्टिबाट प्रहार गरी सख्त घाइते बनाएकोमा सँगै काम गरी बस्ने जंगबहादुर राई तथा मसमेत छुट्याउन गएकोमा निज जंगबहादुर राईसमेतलाई निज प्रतिवादीले टाउकोमा ताकी धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा तत्काल उपचारको लागी इलाम अस्पतालतर्फ लाने क्रममा घाइतेमध्येका मेरो दाजु टासी लामाको बाटैमा मृत्यु भएकोले प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राइले मेरो दाजु टासी लामालाई सिक्कलले काटी मारेको हुँदा प्रतिवादीलाई कानूनबमोजिम कारवाही सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको पेम्बा लामाको जाहेरी दरखास्त ।
मृतक टासी लामाको जिल्ला अस्पताल इलामको शव गृहमा रहेको लासको लास जाँच मुचुल्का गर्दा मृतक लासको टाउकोमा लम्बाई ७ ईन्च चौडाई १ ईन्चको चोट भएको, टाउकोको छाला र हाडसमेत काटिएको, रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा रहेको देखिएको भन्नेसमेत व्यहोराको मृतक टासी लामाको लास जाँच मुचुल्का ।
मृतक टासी लामाको मृत्यु sharp force injury head को कारण भएको हो भन्नेसमेत व्यहोराको इलाम अस्पतालबाट भएको पोष्टमार्टम रिर्पोट ।
घाइते जंगबहादुर राईको बायाँ हातमा र टाउकोमा धारिलो हतियारले काटेका चोटहरू छन् भन्नेसमेत व्यहोराको इलाम अस्पतालबाट भएको घाउ जाँच केस फारम ।
मृतक टासी लामा मेरो झड्केलो छोरा हुन् । म टासी लामा र घाइते जंगबहादुर राई वारदात मितिभन्दा ६-७ दिन अगाडिदेखि गोदक-५ स्थित कृष्णबहादुर कटुवाल भन्ने किशोर कटुवालको घरमा बसी उक्त स्थानमा भएको मेची राजमार्गको नाली मर्मत गर्ने काम गर्दथ्यौं । यस्तैमा मिति २०७१।२।२७ गते दिउँसो नाली मर्मत गर्न जाँदा मैले मेरो झड्केलो छोरा टासी लामालाई हामी दुवै बाबु छोराले काम गरेको पैसासँगै राखौं भन्दा निजले मैले भनेको कुरा नमानी मसँग झगडा गरेको थियो । सोही कारणले गर्दा मलाई रिस उठी निजलाई मार्ने योजना बनाई मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थित कृष्णबहादुर कटुवाल भन्ने किशोर कटुवालको भान्साघरमा टासी लामा बसिरहेको अवस्थामा मैले किशोर कटुवालको घर बाहिर टाटीमा सिउरी राखेको धारिलो हतियार सिक्कल बोकी ल्याई टाउकोमा पछाडिबाट प्रहार गरेको हुँ । पछि जंगबहादुर राई छुट्याउन आएकोले निजलाई पनि उक्त मैले बोकेको सिक्कलले नै हानी मार्नुपर्यो भनी टाउको तथा बायाँ हातमा प्रहार गरेपछि निज जंगबहादुर राई घटनास्थलबाट भागेकाले बाँच्न सफल भएको हो । कृष्णबहादुर भन्ने किशोर कटुवालले हल्लाखल्ला गर्न थालेपछि मैले वारदातमा प्रयोग गरेको धारिलो हतियार सिक्कल साथमा लिई वारदातस्थानबाट भागी गएकोले उक्त वारदातमा प्रयोग गरेको सिक्कल मैले मोहन सिन्जालीको मकैबारीमा लुकाई राखेको छु । मलाई साथमा लिई गएमा देखाउन सक्छु । टासी लामाको मृत्यु मैले हानेको धारिलो हतियार सिक्कलको चोटको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थित पूर्वमा ईन्द्रमाया पिठाकोटीको बारी, पश्चिममा मोहन सिंजालीको घर, उत्तरमा मेची राजमार्ग, दक्षिणमा मोहन सिंजालीको गाई गोठ यति चार किल्लाभित्र रहेको मोहन सिंजालीको मकैबारीको बीचमा प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले मृतक र घाइतेलाई प्रहार गरेको काठको बिडदेखि काँजोसम्मको लम्बाई ९ (नौ) ईन्च, काँजोदेखि टुप्पोसम्मको लम्बाई १० (दश) ईन्च भई जम्मा लम्बाई १ (एक) फिट ७ (सात) ईन्च भएको धारिलो हतियार सिक्कल थान-१ प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले देखाएबमोजिम नै हाम्रो सामुन्नेमा प्रहरीले फेला पारी बरामद गरी लगेको हो भन्नेसमेत व्यहोराको सिक्कल बरामद भएको मुचुल्का ।
प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राई, टासी लामा र जंगबहादुर राई मेरो घरमा मिति २०७१।२।२७ गतेभन्दा एक हप्ता अगाडिदेखि बसी मेची राजमार्गको नाली मर्मत गर्ने काम गर्दथे । यस्तैमा मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा म तथा मेरो श्रीमती बिकमाया थापा भान्सा कोठामा बसी खाना खाँदै थियौं । मृतक टासी लामा पनि मेरै भान्सा कोठामा बसी हामीसँग कुराकानी गर्दै थिए । सोही समयमा प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राई के कहाँबाट आई मेरो घर बाहिर टाटीमा सिउरी राखेको धारिलो हतियार सिक्कल बोकी ल्याई एक्कासी टासी लामाको टाउकोमा प्रहार गरे । त्यसपछि छुट्याउन आएका जंगबहादुर राईलाई पनि सोही सिक्कलले टाउको तथा बायाँ हातमा प्रहार गरेकोले जंगबहादुर राई घटनास्थलबाट भागी बच्न सफल भए । मैले गाउँघरमा हल्ला गरी घटनास्थलमा घाइते अवस्थामा रहेका टासी लामाको स्याहार गर्न लाग्दा निज प्रतिवादी घटनास्थलबाट आफूले घटना घटाउन प्रयोग गरेको धारिलो हतियार सिक्कल बोकी घटनास्थलबाट भागी फरार भएका हुन् । मसमेत भई तत्काल निज घाइते टासी लामालाई उपचारको लागी इलाम अस्पतालतर्फ लगेकोमा बाटैमा टासी लामाको मृत्यु भएको हो । यसरी टासी लामालाई कर्तव्य गरी मार्ने प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईउपर कानूनबमोजिम कारवाही र सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको कृष्ण भन्ने किशोर कटुवालले गरेको घटना विवरण कागज ।
प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राई, टासी लामा र जंगबहादुर राई मेरो घरमा मिति २०७१।२।२७ गतेभन्दा एक हप्ता अगाडिदेखि बसी मेची राजमार्गको नाली मर्मत गर्ने काम गर्ने गर्दथे, मिति २०७१।२।२७ गते बेलुकी अ.७.३० बजेको समयमा म तथा मेरो श्रीमान् कृष्ण भन्ने किशोर कटुवाल भान्सा कोठामा बसी खाना खाँदै थियौं । मृतक टासी लामा पनि मेरै भान्सा कोठामा बसी हामीसँग कुराकानी गर्दै थिए । सोही समयमा प्रतिवादी यामबहादुर राई के कहाँबाट आई मेरो घर बाहिर टाटीमा सिउरी राखेको धारिलो हतियार सिक्कल बोकी ल्याई एक्कासी टासी लामाको टाउकोमा प्रहार गरे त्यसपछि छुट्याउन आएका घाइते जंगबहादुर राईलाई पनि सोही सिक्कलले टाउको तथा बायाँ हातमा प्रहार गरेकोले जंगबहादुर राई घटनास्थलबाट भागी बच्न सफल
भए । त्यसपछि मेरो श्रीमान्ले आत्तिई गाउँघरमा हल्ला गरी घटनास्थलमा घाइते अवस्थामा रहेका टासी लामाको स्याहार गर्न लाग्दा निज प्रतिवादी घटनास्थलबाट आफूले घटना घटाउन प्रयोग गरेको धारिलो हतियार सिक्कल बोकी भागी फरार भएका हुन् । मेरो श्रीमान् समेत भई तत्काल निज घाइते टासी लामालाई उपचारको लागी इलाम अस्पतालतर्फ लगेकोमा बाटैमा टासी लामाको मृत्यु भएको हो । प्रतिवादी विशेष राई मनोज राई भन्ने यामबहादुर राईउपर कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको बिकमाया थापाले गरेको घटना विवरण कागज ।
मिति २०७१।२।२७ गतेभन्दा एक हप्ता अगाडि म, मृतक टासी लामा र प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राई जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थितमा रहेको किशोर कटुवालको घरमा बसी ऐ. स्थितमा भएको मेची राजमार्गको नाली मर्मत गर्ने काम गर्दै थियौं । यस्तैमा घटना मितिको दिन बेलुकी अं.७.३० बजेको समयमा घरधनी किशोर कटुवाल तथा निजको श्रीमती भान्सा कोठामा बसी बेलुकीको खाना खाँदै थिए । मृतक टासी लामा पनि उनीहरूकै भान्सा कोठामा नै बसी कुराकानी गरी रहेका थिए । म खाना पकाउने क्रममा तरकारी काट्दै
थिएँ । सोही समयमा प्रतिवादी के कहाँबाट आई किशोर कटुवालको घर बाहिर टाटीमा सिउरी राखेको धारिलो हतियार सिक्कल बोकी ल्याई एक्कासी टासी लामाको टाउकोमा प्रहार गरी घाइते बनाएपछि म दौडेर आई निज प्रतिवादीलाई छुट्याई निजको साथमा भएको सिक्कल खोस्न खोज्दा मलाई पनि निज प्रतिवादीले सोही सिक्कलले मेरो टाउको तथा बायाँ हातमा प्रहार गरेकोले म ज्यान जोगाउन घटनास्थलबाट भागें । म घटनास्थलबाट नभागेको भए प्रतिवादीले मेरोसमेत ज्यान मार्ने थिए । घरधनी तथा स्थानीय मानिसहरूले हामीलाई उपचारको लागि इलाम अस्पतालतर्फ लाँदै गर्दा घाइते टासी लामाको बाटैमा मृत्यु हुन गएको
हो । म पनि उक्त घटनामा घाइते भई उपचारपश्चात् ठीक भएको छु । हालको अवस्था सामान्य रहेको छ । यसरी घटना घटाउने प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईउपर कानूनबमोजिम कारवाही सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको घाइते जंगबहादुर राईले गरेको घटना विवरण कागज ।
मृतक टासी लामा, घाइते जंगबहादुर राई र प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राई घटना मितिभन्दा एकहप्ता अगाडिदेखि गोदक–५ स्थितमा भएको किशोर कटुवालको घरमा बसी ऐ. स्थितमा रहेको मैले ठेक्का लिएको मेची राजमार्गको नाली मर्मत गर्ने काममा निज प्रतिवादी मृतक तथा घाइतेलाई ज्याला दिई काम गर्न लगाएको थिएँ । यस्तैमा मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा किशोर कटुवालको घरको भान्सा कोठामा मृतक टासी लामा बसिरहेको अवस्थामा निज प्रतिवादी यामबहादुर राईले धारिलो हतियार सिक्कल प्रहार गरी घाइते बनाएपछि छुट्याउन आएका जंगबहादुर राईलाई पनि सिक्कलले टाउको तथा बायाँ हातमा प्रहार गरेकोमा मृतक टासी लामालाई उपचारको लागि इलाम अस्पतालतर्फ लाँदै गर्दा टासी लामाको बाटैमा मृत्यु भएको हो भन्ने कुरा सुनी थाहा पाएको हुँ । यसरी घटना घटाउने प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईउपर कानूनबमोजिम कारवाही हुनुपर्दछ भन्नेसमेत व्यहोराको निमा लामा शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थितमा भएको कृष्ण भन्ने किशोर कटुवालको घरको भान्सा कोठामा टासी लामा बसी रहेको अवस्थामा प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले धारिलो हतियार सिक्कलले प्रहार गरेको भन्ने कुरा हल्ला भएपछि हामीहरूले थाहा पाई तत्काल घटनास्थलमा गई हेर्दा टासी लामाको टाउकोबाट रगत बगी घटनास्थलमा लडी रहेका थिए । टासी लामालाई प्रतिवादीले धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरेपछि छुट्याउन गएका जंगबहादुर राईलाई पनि निज प्रतिवादीले टाउको तथा बायाँ हातमा प्रहार गरी घाइते बनाएकोमा जंगबहादुर राई तत्काल घटनास्थलबाट भागेकोले बच्न सफल भएका रहेछन् । हामीहरूले घाइते टासी लामालाई घटनास्थलबाट उठाई उपचारको लागि अस्पतालतर्फ लाने क्रममा टासी लामाको बाटैमा मृत्यु हुन गएको
हो । यसरी मान्छे मर्छ भन्ने जानीजानी धारिलो हतियार सिक्कलले प्रहार गरी टासी लामालाई कर्तव्य गरी मार्ने प्रतिवादीउपर कानूनबमोजिम कारवाही र सजाय हुनुपर्दछ भन्नेसमेत व्यहोराको दलबहादुर मगरसमेतका मानिसहरूले गरेको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मिसिल संलग्न कागज प्रमाणबाट मिति २०७१।२।२७ गते बेलुकी अं.७:३० बजेको समयमा प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले मृतक टासी लामाको टाउकोमा धारिलो हतियार सिक्कलले प्रहार गरी घाइते भई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको देखिँदा प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं. बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग पत्र ।
मिति २०७१।२।२७ गते मेरै झड्केलो छोरो टासी लामाबाट मलाई मार्नेलगायतका विभिन्न कुराहरू सुनेकोले मलाई मार्ने रहेछ भन्ने लागेर वारदातस्थानमा टाटीमा सिउरी रहेको सिक्कल निकालेर मैले टासीको टाउकोमा हानेको हो । सोही चोटको कारणले टासीको मृत्यु भएको हो । मलाई जंगबहादुरले पछाडिबाट कुट्न आएकोले मैले निजलाई खेदाएको हो । जाहेरीको व्यहोरा ठीक साँचो हो । पेम्बालाई मैले खेदाएको होइन । पैसाको विवादले यस्तो घटना भएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले सुरू अदालतमा गरेको बयान ।
पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११८(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने सुरू अदालतको मिति २०७१।३।१५ को आदेशानुसार निज प्रतिवादी थुनामा रही मुद्दा पुर्पक्ष भएको ।
मृतक टासी लामालाई निजकै झड्केलो बाबु मनोज भन्ने यामबहादुर राईले हामी खाना खाँदै गरेको अवस्थामा एक्कासी आई हतियारले टाउकोमा प्रहार गरेपछि हारगुहार गर्दा भागेका हुन् । जंगबहादुरलाई पनि काटेछन् र टासी लामाको उपचार गर्न लाँदा बाटोमा मृत्यु भएछ भन्नेसमेत व्यहोराको बुझिएका मानिस विकमाया थापाले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।२।२७ गते टासी लामा हाम्रो भान्साघरमा आएका थिए । गफ गर्ने सिलसिलामा आएको थियो । त्यसै बेला सिक्कल लिई आई मृतकको टाउकोमा प्रहार गर्यो । म र श्रीमती तत्काल भान्साघरबाट निस्की हारगुहार गर्दा जंगबहादुरसमेत प्रतिकारको लागि आएको हुँदा जंगबहादुरलाई समेत काटेछन भन्नेसमेत व्यहोराको बुझिएका मानिस कृष्ण भन्ने किशोर कटुवालले सुरू अदालतमा गरेको
बकपत्र ।
यसमा मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादीको मौकाको बयान, बुझिएका मानिसहरूको बकपत्र, घटनास्थल मुचुल्का, मृतकको छायाँचित्र (फोटो), बरामदी मुचुल्का, वस्तुस्थिति मुचुल्का, अधिकारप्राप्त अधिकारसमक्ष गरेको कागज, पोष्टमार्टम रिर्पोटसमेतका तथ्य एवम् आधार प्रमाणसमेतबाट प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं. को कसुर गरेको पुष्टि हुँदा निज प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भन्ने इलाम जिल्ला अदालतबाट मिति २०७१।५।१९।५ मा भएको फैसला ।
म पुनरावेदकले अदालतमा बयान गर्दा मृतकले मलाई मार्नेलगायतका कुराहरू सुनेकोले मृतकले मलाई मार्ने नै रहेछ भन्ने लागेकोले मैले टासी लामाको टाउकोमा सिक्कलले प्रहार गरेको हो भनी बयान गरेको, म र मृतक एकै कोठामा बस्ने गरेकोले मृतकले कुनै दिन मलाई मार्ने नै भो भनी रातको समयमा भाग्न उम्कन नपाउने गरी निजको ज्यान लिने अवस्था महसुस भएकोले उसै मौकामा उठेको रिस थाम्न नसकी प्रहार गरेकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिम मलाई बात नलाग्ने कुरा प्रस्ट हुँदाहुँदै सोतर्फ ध्यानै नदिई सुरू अदालतले मलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी वादी दाबीबाट सफाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू इलाम जिल्ला अदालतबाट मिति २०७१।५।१९।५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको फैसला ।
नियमानुसार पेसी सूचीमा चढी साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, इलामबाट मिति २०७२।२।३१ मा भएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
यसमा प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राई (यसपछि यामबहादुर राई भनिने छ) ले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. बमोजिमको कसुर गरेकोले निज प्रतिवादीलाई ऐ. महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा, प्रतिवादी यामबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भनी इलाम जिल्ला अदालतबाट मिति २०७१।५।१९ मा भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, इलामको मिति २०७२।२।३१ को फैसलाउपर प्रतिवादीको पुनरावेदन नपरी प्रस्तुत मुद्दा साधकको रोहमा दर्ता भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीउपरको किटानी जाहेरी, मृतकको टाउकोमा ७ इन्च लम्बाई, १ इन्च चौडाईको चोट र टाउकोको छाला र हाडसमेत काटिएको भन्ने लास जाँच मुचुल्का, मृतक टासी लामाको मृत्यु sharp force injury on head को कारण भएको भन्ने शव परीक्षण प्रतिवेदनसमेतका कागज प्रमाणहरूबाट टासी लामाको मृत्यु कर्तव्यबाट भएको तथ्यमा विवाद देखिएन ।
३. अब प्रस्तुत वारदातमा प्रतिवादी यामबहादुर राईको संलग्नता रहे नरहेको सम्बन्धमा हेर्दा प्रतिवादीसँग हाम्रो आमाले दोस्रो विवाह गरेकीले हामीसमेत प्रतिवादी यामबहादुर राई (झड्केला बुबा) सँगै बस्दै आएका थियौं । मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा प्रतिवादी यामबहादुर राईले मेरो दाजु टासी लामालाई धारिलो हतियार सिक्कलले एक्कासी टाउको पछाडिपट्टि प्रहार गरी घाइते बनाएकोमा अस्पताल लाने क्रममा दाजु टासी लामाको बाटैमा मृत्यु भएको हो । प्रतिवादी यामबहादुर राईलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्ने निज प्रतिवादीउपर पेम्बा लामाको किटानी जाहेरी परेको देखिन्छ ।
४. प्रतिवादी यामबहादुर राईले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा “झड्केलो छोरा टासी लामालाई हामी दुवै बाबु छोराले काम गरेको पैसासँगै राखौंभन्दा नमानेकोले रिस उठी सोही कारणले मार्ने योजना बनाई टाटीमा सिउरी राखेको सिक्कलले पछाडिबाट टाउकोमा प्रहार गरेपछि टासी लामाको मृत्यु भएको हो” भनी र अदालतमा बयान गर्दा “मेरो झड्केलो छोरो टासी लामाले मलाई मार्ने योजना बनाएको छ भन्ने कुरा सुनेकोले मलाई मार्ने रहेछ भनी टाटीमा सिउरी राखेको सिक्कल निकालेर टासीको टाउकोमा हानेको हो । सोही चोटको कारण टासीको मृत्यु भएको हो” भनी कसुरमा साबित रही बयान गरेको देखिन्छ ।
५. मृतकको शव परीक्षण प्रतिवेदनबाट मृतक टासी लामाको मृत्यु sharp force injury on head को कारण भएको हो भन्ने र लास जाँच मुचुल्काबाट मृतकको टाउकोमा लम्बाई ७ इन्च, चौडाई १ इन्चको चोट र टाउकोको छाला र हाडसमेत काटिएको भन्नेसमेतका मिसिल संलग्न प्रमाण कागजहरूबाट प्रतिवादीको बयान कथन र निजउपरको किटानी जाहेरी व्यहोरा समर्थित हुन आई मृतक टासी लामाको मृत्यु यी प्रतिवादी यामबहादुर राईको कर्तव्यबाट भएको र निजको वारदातमा प्रत्यक्ष संलग्नता रहेको भन्ने तथ्य स्थापित हुन आयो । त्यसैगरी वारदातस्थलमा रहेका कृष्ण भन्ने किशोर कटुवालले अदालतमा बकपत्र गर्दा प्रतिवादीले मृतकको टाउकोमा सिक्कलले प्रहार गरेको भनी र बुझिएका मानिस विकमाया थापाले मृतक टासी लामालाई निजकै झड्केलो बाबु यामबहादुर राईले प्रहार गरेको कारण निजको मृत्यु भएको हो भनी गरेको बकपत्रबाट प्रतिवादीउपरको अभियोग दाबी पुष्टि हुन आयो ।
६. जहाँसम्म प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. को जिकिर लिएको देखिन्छ सो सम्बन्धमा उक्त कानूनी व्यवस्था हेर्दा कसैले हातहतियार लिई वा नलिई आफ्नो ज्यान लिनासम्मको जोरजुलम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पन्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन फुर्सत नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने विश्वास भई ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेकोमा ज्यानमाराको बात लाग्दैन भन्ने रहेको देखिन्छ । प्रस्तुत वारदातमा मृतक छोरासँग काम गरेको पैसा सँगै राखौंभन्दा नमानेकोले रिस उठी सोही कारणले मार्ने योजना बनाई टाटीमा सिउरी राखेको सिक्कलले पछाडिबाट टाउकोमा प्रहार गरेपछि मृतकको मृत्यु भएको हो भनी प्रतिवादीले बयान गरेको अवस्था छ । निजको बयान व्यहोरालाई समर्थन हुने गरी मौकामा कागज गर्ने मानिस विकमाया थापासमेतका व्यक्तिहरूले बकपत्र गरेको देखिन्छ । छोरालाई मार्ने मनसाय राखी सोहीअनुसार पूर्वयोजना बनाएको भन्ने प्रतिवादीको बयानबाट पुष्टि भएको देखिन्छ । मिसिल सामेल कागज प्रमाणबाट प्रतिवादीले आफ्नो ज्यान बचाउनका खातिर केही गर्दा मृतकको मृत्यु भएको भन्ने देखिँदैन । मिसिल संलग्न सबुत प्रमाणहरूबाट प्रतिवादीले केही नगरे आफ्नो ज्यान रहँदैन वा मर्न सक्छ भन्ने विश्वासमा परी मृतकलाई प्रहार गरेको भन्ने देखिँदैन । मृतकले हातहतियार लिई वा नलिई प्रतिवादीको ज्यान लिनासम्मको जोरजुलम गर्न लागेको भन्ने तथ्य सिद्ध हुने कुनै प्रमाण प्रतिवादीले प्रस्तुत गर्न नसकेको स्थितिमा त्यसरी जिकिर लिएकै भरमा ज्यानसम्बन्धीको महलको ७ नं. आकृष्ट हुन्छ भन्न मिल्ने देखिएन ।
७. कुनै विशेष परिस्थितिमा गरिएको कार्यबाट ज्यान मरेकोमा बात नलाग्ने गरी कानूनमा उल्लेख गरिएका उन्मुक्तिका आधारहरू पूर्वयोजनाबमोजिम आपराधिक मानसाय राखी गरिएको कार्यमा समेत लागू हुने र त्यस्ता आधारहरूको साहारा लिन पाउने भन्ने हुँदैन । सो परिस्थिति प्रमाणबाट पुष्टि हुनु पर्दछ । यसरी प्रतिवादीले वस्तुनिष्ठ प्रमाणबाट आफ्नो जिकिर पुष्टि गर्न सकेको नदेखिएको र घटनाको समग्र अवस्था, प्रकृति र परिणामबाट प्रतिवादीको सो जिकिर पुष्टि हुने कुनै पनि आधारहरूको विद्यमानता नरहेको स्थितिमा वादी दाबीबाट सफाई पाउनु पर्छ भन्ने प्रतिवादीको जिकिर कानूनसङ्गत एवं विश्वासयोग्य नदेखिँदा पुनरावेदन अदालत, इलामबाट भएको फैसला अन्यथा नभई मनासिब रहेको देखियो ।
८. अतः माथि उल्लिखित तथ्य, प्रमाण र कानूनी व्यवस्थासमेतबाट प्रतिवादी यामबहादुर राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू इलाम जिल्ला अदालतबाट मिति २०७१।५।१९ मा भएको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत, इलामबाट मिति २०७२।२।३१ मा भएको फैसला मिलेको देखिँदा साधक सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको साधक दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इजलास अधिकृतः दिलीपराज पन्त
इति संवत् २०७३ साल वैशाख २० गते रोज २ शुभम् ।