शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५२७ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

भाग: २४ साल: २०३९ महिना: बैशाख अंक:

निर्णय नं. १५२७    ने.का.प. २०३९ अङ्क १

 

फुलबेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३७ सालको रि.फु.नं. ५३

आदेश भएको मिति  : २०३८।१२।३ मा

निवेदक      : का.न.पं.वडा नं.२४ जुद्ध सडक दुगंवहिल बस्ने इच्छाहर्ष बज्राचार्य

विरुद्ध

विपक्षी : ऐ.वडा नं.२२ का.जि.दुगंवहिल बस्ने नाती महर्जन

बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)                किलास गारोतर्फ तेरो मेरोको प्रश्नमा हक बेहक हुने गरी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) को विरुद्ध काठमाडौं नगर पञ्चायत बैठकबाट निर्णय गरेकालाई यस अदालत डिभिजन बेञ्चबाट ०३५।८।७।४ मा रिट जारी गरेको बेगल बेगल रुपको मुद्दा भई हक बेहककै प्रश्न निर्णय गर्नुपर्ने प्रस्तुत मुद्दामा निवेदकको हक नभएको भनी ठहर हुन जाँदा यस अधिकार क्षेत्रबाट हक बेहकको निर्णय हुने हुँदा रुलिङ बाझिएको भनी ठहर गर्न नमिल्ने ।

(प्रकरण नं. ९)

आदेश

न्या.हेरम्बराज

१.     २०३७।७।८।५ मा भएको निर्णयमा रुलिङ बाझियो भनी निवेदकको निवेदन परेकोमा स.अ. नियमावली, ०२१ को नियम ३३(ख) अनुसार निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ ।

२.    उक्त नातीचा महर्जनको घर समेतको ४ किल्ला भित्रको का.जि.जुद्ध सडक नछेटोलको ब्लक नं ६/३५८ को घर छाना भत्काई तथा थपी नक्सा बमोजिम बनाउन पाउँ भन्ने समेत विपक्षी इच्छाहर्षको नक्सा दर्खास्त, विपक्षीको घरदेखि उत्तरपट्टिको मेरो किलास ६।। इन्च मिच्ने गरी नक्सा दर्खास्त दिएको, ०२६।११।११।१ मा मुद्दा पर्दा पर्दै न.पा.बेगर बनाई मेरो पाखा काट्ने गरी किलास मिची घर बनाई ल्याएको रोकी पाउँ भनी प्र.पं.ज्यूमा निवेदन दिएकोमा आवश्यक कारवाही गरी दिनु भन्ने आदेश भएको थियो । उजुरी दिई सकेपछि दिइएको नक्सा दर्खास्त खारेज गरी पाउँ भन्ने समेत निवेदक नाती महर्जनको उजुरी र बनाउने भनेको घर म समेतको हक भन्ने समेत अष्टमानको सरजमिनमा उजुरी परेकोमा बनाउने घरमा हक बेहक पर्न आएको चित्त नबुझ्नेले अदालतमा नालेस गरी हक बेहक गर्न जानु भनी सुनाउनु भन्ने ०२८।४।१० को नक्सा मुद्दा फाँटको पर्चा उपर विपक्षी इच्छाहर्षको पुनरावेदन परेकोमा अष्टमान समेतसँगको लिखत बदर मुद्दा वादी इच्छाहर्षले बनाउन नक्सा दर्खास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गार्‍हो इच्छाहर्षको घरसँग मिलन भई गएको भन्ने लेखिएकोले नक्सा पारित हुने ठहर्छ । हक बेहकमा पठाउने भन्ने सुरु नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्ने समेत विपक्षी काठमाडौं नगर पञ्चायत बैठकको मिति ०३५।८।७।४ को फैसला रहेछ।

३.    रिट निवेदन जिकिर यस प्रकार छ : मेरो उजुरीमा विपक्षीको घरदेखि उत्तरपट्टि मेरो किलास ६।। इन्ची मिचिने गरी नक्सा दर्खास्त गरे भन्ने समेत प्रष्ट लेखिएकोमा सो ६ इन्ची मिचिएकोमा हक बेहक गरी नक्सा पास गर्ने भनी ठहर फैसला भएको छ । सो नगरपञ्चायत ऐन, ०१० को दफा  १७ को (ढ)  र उक्त ऐनको दफा ४९ को विरुद्ध छ । अ.बं.३५ नं.ले बदरभागी छ । सो फैसलाले मेरो कानूनी हकमा आघात भएको छ, का.न.पं.बैठकको ०३५।८।७।४ को निर्णय उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ, आज्ञा आदेश वा पूर्जि जारी गरी मेरो मौलिक हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन जिकिर ।

४.    निवेदकको घरदेखि दक्षिण तर्फ ६ इन्ची किलास मिच्ने गरी र पास भन्दा बढी घर नबनाएको हकबेहक गर्नपर्ने देखिन नआएकोले नक्सा पास गरी दिने फैसला गरिएको हो । निवेदकको मौलिक हकमा आघात नपर्ने गरी गरेको फैसला बदर हुनु पर्ने कुनै हक बेहकको अवस्था विद्यमान नभएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी काठमाडौं नगर पञ्चायतको लिखितजवाफ ।

५.    मेरो घरको उत्तर पट्टि निज नातिचाको किलास छैन । विपक्षीको किलास नभएकोमा हक बेहक गर्नु पर्ने प्रश्नै आउँदैन । न.पं.ऐनको दफा ४७ मा हक पुगेको निस्सा दाखिल गर्नु पर्ने भन्ने लेखिएको विपक्षीले आफ्नो कुनै सबूत दिन नसकेको, बिना सबूत प्रमाणको उजुर कायम हुन्छ भने कसैले घर बनाउन नपाउने हुन्छ । विपक्षीको कुनै संवैधानिक हक हनन नभएकोले निवेदन खारेज गरियोस् भन्नेसमेत विपक्षी इच्छाहर्ष बज्राचार्यको लिखितजवाफ ।

६.    विपक्षी इच्छाहर्षले बनाउन पाउँ भनी दिएको नक्सा दर्खास्तमा मेरो ६।। इन्च किलास मिचिने गरी नक्सा दर्खास्त दिएको भनी निवेदकले उजुर दिई तेरो मेरो प्रश्न उपस्थित गराएको देखिन आएको, त्यस्तो तेरो मेरोको प्रश्न उपस्थित भएकोमा अष्टमानसँगको लिखत बदर मुद्दामा वादी इच्छाहर्षले बनाउने नक्सा दर्खास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गार्‍हो इच्छाहर्षको घरसँग मिलान भई गएको भन्ने देखिएकोले नक्सा पारित हुने ठहर्छ । हक बेहकमा पठाउने भन्ने सुरु नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्दै निवेदक नाती महर्जनको हकमा किलास गार्‍हो तर्फ तेरो मेरोको प्रश्नमा हक बेहक हुने गरी उक्त नगर पञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) को विरुद्ध विपक्षी काठमाडौं नगर पञ्चायत बैठकबाट मिति ०३५।८।७।४ मा त्रुटिपूर्ण निर्णय फैसला गरेको देखिन आयो ।

७.    अतः उपरोक्त उल्लेख भए अनुसार विपक्षी काठमाडौं नगर पञ्चायत बैठकबाट मिति ०३५।८।७।४ मा निवेदक नाती महर्जनको हकमा भएको त्रुटिपूर्ण निर्णय फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत ०३६।७।८।५ को डिभिजनबेञ्चको फैसला ।

८.    यसमा निवेदक ईच्छाहर्ष बज्राचार्य र विपक्षी नाती महर्जन र का.न.पं.को वा.शिवध्वजलाई ०३८।११।८ गते रोहवरमा राखी निवेदक ईच्छाहर्षको र विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा र निवेदक शंकरमाया मानन्धरको र विपक्षी भूमि प्रशासन कार्यालय सर्लाही समेत भएको उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने मुद्दामा ०३१।२।३।५ मा भएको निर्णयसँग रुलिङ बाझियो बाझिएन भन्ने नै सर्वप्रथम निर्णय दिनु पर्ने देखिन्छ ।

९.    उत्तर नातीचा महर्जनको घर समेतको ४ किल्ला भित्रको का.जि.जुद्ध सडक नछेटोलको ब्ल्क नं.६/३५८ को घर छाना भत्काई तल्ला थपी नक्सा बमोजिम बनाउन पाउँ भन्ने निवेदक इच्छाहर्षको नक्सा दर्खास्त परेकोमा उत्तर पट्टीको मेरो किलास ६।। इन्ची मिच्ने गरी नक्सा दर्खास्त परेकोमा उत्तर पट्टिको मेरो किलास ६।। मिच्ने गरी नक्शा दरखास्त दिएको भन्ने समेत नाती महर्जनको प्रतिवाद भएको प्रस्तुत मुद्दामा का.न.पं.सभाबाट विपक्षीको सबूत केही नहुँदा किलास इच्छाहर्षकै नक्साबाट देखिन आएकोले पास हुने ठहर्छ भनी फैसला गरेकोमा डिभिजनबेञ्चबाट बदर हुने ठहरी निर्णय भयो । निवेदकको हकदैया पुगेको सबूत छैन । हकदैया नै नभएको व्यक्तिको रिट जारी भएको हुँदा ०३१।२।३।५ मा निर्णय भएको निवेदक शंकरमायाँ मानन्धर विपक्षी भूमिप्रशासन कार्यालय सर्लाही समेत भएको मुद्दासँग रुलिङ बाझियो भन्ने निवेदकको निवेदनपत्र परेकोमा उक्त ०३१।२।३।५ मा निर्णय भएको मुद्दामा जग्गा दर्ता नभएको र जग्गाधनी प्रमाणपुर्जा पाइसकेको देखिन नआएकोले निवेदकको हक कायम भइसकेको भन्न नमिल्ने भन्ने ठहर गरेको र प्रस्तुत मुद्दामा नातीचा महर्जनको हकमा किलास गार्‍होतर्फ तेरो मेरोको प्रश्नमा हक बेहक हुने गरी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९ (२) को विरुद्ध काठमाडौं नगर पञ्चायत बैठकबाट ०३५।८।७।४ मा निर्णय गरेकोलाई यस अदालत डिभिजनबेञ्चबाट ०३५।८।७।४ मा रिट जारी गरेको देखिन्छ । यसबाट बेगल बेगल रुपको मुद्दा भई हक बेहककै प्रश्न निर्णय गर्नुपर्ने प्रस्तुत मुद्दामा निवेदकको हक नभएको भनी ठहर हुन जाँदा यस अधिकार क्षेत्रबाट हक बेहकको निर्णय हुने हुँदा रुलिङ बाझिएको भनी ठहर गर्न नमिल्ने हुँदा डिभिजनबेञ्चकै मनासिव देखिन्छ । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरुको सहमती छ ।

 

न्या.बब्बरप्रसाद सिंह

 न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् ०३८ साल चैत्र ३ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु