शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७१६ - अंश चलन

भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे 

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ 

फैसला मिति : २०७२।०५।०१

 

मुद्दा : अंश चलन

 

०६४-CI-०८८१

पुनरावेदक प्रतिवादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ वस्ने सूर्यप्रसाद श्रेष्ठसमेत

विरूद्ध

प्रत्यर्थी वादी : ऐ.ऐ वडा नं. ७ बस्ने दिलबहादुर कोजु

 

०६४-CI-०९५७

पुनरावेदक वादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ बस्ने दिलबहादुर कोजु

विरूद्ध

प्रत्यर्थी प्रतिवादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ मूल घर भई हाल दधिकोट गाउँ  विकास समिति वडा नं. ७ बस्ने बक्कलाटो मदन कोजुको हकमा संरक्षक भई आफ्नो हकमा समेत ऐ. ऐ. बस्ने विश्वराम कोजुसमेत

 

०६४-CI-१०२०

पुनरावेदक प्रतिवादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ वस्ने मदन कोजुको हकमा संरक्षक भई आफ्नो हकमा समेत ऐ. ऐ. बस्ने विश्वराम कोजुसमेत

विरूद्ध

प्रत्यर्थी वादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ वस्ने दिलबहादुर कोजु

 

वस्तुतः घरसारमा भएको अंश छोडपत्रको लिखतबाट स्वतः मानो छुट्टिएको मिति यकिन हुन सक्तैन । कुनै न कुनैरूपमा त्यस्तो घरसारको लिखत वास्तविक व्यवहारबाट नै कार्यान्वयन भएको औपचारिक रूपबाट देखिनु पर्ने । 

(प्रकरण नं. ११)

सामान्यतया अंश हुँदा चल सम्पत्तिको हकमा हात हातै बुझी लिए भन्ने व्यहोरा उल्लेख गर्ने गरिन्छ । अंश गर्दा लेखिने त्यस्तो कुराले औपचारिक ढाँचासम्म निभाउनको लागि पनि व्यक्त गरिने 

हुन्छ । चल सम्पत्तिको यथार्थ विवरण नाप, तौल, गन्ति गरी छुट्याइएको र त्यस्तो लिखत निर्विवाद रहेको अवस्थामा त्यस्तो लिखतको प्रमाणिकता छुट्टै हुन जान्छ । वस्तुतः पारित नभएको घरसारमा भएको अंश बुझेको भरपाईमा उल्लिखित सम्पत्ति हात हातै बुझी लिएको भन्ने व्यहोराबाट सो अंश भरपाई कार्यान्वयन भइसकेको भन्न नमिल्ने । 

(प्रकरण नं. १२)

मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलअनुसार पारित भएको हुनु 

पर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको घरायसी अंश छोडपत्रको लिखतले मानो छुट्टिएको मिति निर्धारण गर्न सक्तैन । घरसारको अंश बुझेको भरपाई अनुसार कार्यान्वयन भई अंशबन्डा भई गएको घर जग्गा दर्ता भएको र दुवै पक्षले स्वीकार गरेको अवस्थामा त्यस्तो घरायसी लिखतबाट मानो छुट्टिएको मितिको बारेमा निष्कर्षमा पुग्न मद्दत गर्न सक्ने । 

(प्रकरण नं. १३)

व्यवहारमा अंश प्राप्त गर्न नसकेको घरायसी लिखतले अंश जस्तो मुद्दामा मानो छुट्टिएको विषयमा महत्त्वपूर्ण प्रमाणको रूप लिन सक्दैन । घरायसी लिखत अनुसार कार्यहरू नभएपछि सो लिखत गर्नुभन्दा अघिको स्थितिमा कुनै परिवर्तन नभई पूर्ववत् अवस्थामा नै रहन जाने । 

(प्रकरण नं. १४)

 

वादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव, विद्वान्‌ अधिवक्ताहरू शेरबहादुर कार्की र सानु सुवाल

प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू प्रविणता वस्ती, नन्दप्रसाद अधिकारी, नरप्रसाद थापा र मातृका निरौला

अवलम्बित नजिर :

नेकाप २०५२, अंक २, नि.नं.५०४७

नेकाप २०६८, अंक ९, नि.नं.८६७९

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः

माननीय जिल्ला न्यायाधीश श्री मिरा खड्का

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती

माननीय न्यायाधीश श्री बुद्धिप्रसाद रेग्मी

 

फैसला

न्या. सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६४।१।४ को फैसलाउपर वादी प्रतिवादी दुवै तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

पिता कृष्ण दासको २ श्रीमतीमा जेठी कृष्णमायातर्फबाट ५ छोरा र कान्छी बुद्धलक्ष्मीतर्फबाट म फिरादीको जायजन्म भएको हो । माता पिता परलोक भइसकेकोले जम्मा ६ अंशियार भएका र विवाह गर्न बाँकी नहुँदा भान्सा अलग खानपिन गरी आएतापनि हालसम्म कुनै लिखत नगरी आ-आफू अलग बसी आएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा अघिसम्मको श्रीसम्पत्ति तायदाती फाँटवारी लिई ६ भागको १ भाग अंश छुट्याई चलन पाउँ भन्नेसमेत व्यहोराको फिरादी दाबी ।

वादी कै जिम्मा पैतृक सम्पत्ति भएकोले मैले अंशबन्डा गर्न मन्जुर नगरेको छैन । वादीले मेरो पिता विष्णुभक्तको स्व-आर्जनको सम्पत्ति पाउन सक्छु कि भनी फिराद दिएको हो । सम्पूर्ण पुर्ख्यौली सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेतको विवरण विपक्षीसँगै रहे भएबाट निजबाट तायदाती दाखिल गराई अंश छुट्याई दिएमा मन्जुर छु भन्नेसमेत प्रतिवादी मदन कोजु र विश्वराम कोजुको प्रतिउत्तर पत्र । 

विपक्षी भान्सा छुट्टिई अलग खानपान गरी आएको स्वीकारेको, २०३३।८।२६ लाई मानो छुट्टिएको मिति कायम गरी मिति २०५४।१२।१६ मा खडा भएको बन्डा पत्रमा रेखात्मक र लेखात्मक सहिछापसमेत परेकोले उक्त बन्डा पत्रअनुसार आ-आफ्नो भागमा परेको घर जग्गा विपक्षीलगायत हामी सबैले अलग अलग आ-आफ्नो नाउँमा दर्ता हुने गरिपाउँ भन्नेसमेत प्रतिवादी चन्द्रप्रसाद, सूर्यमाया, भगलक्ष्मी, कुमार श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठसमेतको संयुक्त प्रतिउत्तर जिकिर । 

फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीबाट फाँटवारी दाखिल गराउनु भन्ने भक्तपुर जिल्ला अदालतको आदेश ।

कि.नं. १३३ र ५७९ को जग्गाहरू बन्डा लाग्ने सम्पत्ति होइन । मिति २०४८।११।३० मा राजीनामा गराई लिएको मेरो निजी आर्जनको सम्पत्ति हो भन्नेसमेत व्यहोराको अ.बं. १३९ बमोजिम बुझाएकी नानीमाया मास्केले गरेको बयान ।

पहिला बुबाको नाममा आएपछि मात्र मैले अंश पाउने हो । कि.नं. ५७४, ५८२, ५५९, ५५५, ५८१, १३३ र ५७९ को जग्गाहरू सगोलको 

होइन । ति जग्गाहरू मेरो नितान्त व्यक्तिगत आर्जनको कमाइबाट खरिद गरिएकोले बन्डा लाग्ने जग्गा होइन भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका महेन्द्रप्रसाद मास्केले गरेको बयान । 

प्रतिवादी चन्द्रप्रसादबाट पेस भएको मिति ०३३।११।१६ को लिखत सद्दे हो । उक्त कागजमा उल्लिखित जग्गाहरू मैले हालसम्म पाएको नहुँदा र दर्ता प्रमाणितसमेत नभएकोले उक्त कागज कानूनले समेत अमान्य हुँदा कुनै औचित्य छैन भन्नेसमेत व्यहोराको वादी दिलबहादुर कोजुले गरेको सद्देकिर्ते तर्फको बयान ।

कि.नं. १५२९ को जग्गा प्रतिवादी विश्वरामको श्रीमती सुककुमारीले मिति २०४९।१२।२६ मा हालैदेखिको बकसपत्र प्राप्त गरेको निजी आर्जनको सम्पत्ति हुँदा सो घर जग्गाबाहेक तायदातीमा उल्लिखित वादी प्रतिवादी र निजहरूका पिताका नाममा दर्ता बाँकीको हकमा दर्ता भएको बखत यी वादीले ६ भागको १ भाग अंश पाउने हुंदा दर्ता भएको घर जग्गाबाट ६ भागको १ भाग अंश वादीले प्रतिवादीहरूबाट छुट्याई लिई चलन चलाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भक्तपुर जिल्ला अदालतको फैसला । 

नापी दर्ता मोठ स्रेस्ता कायम नरहेको सम्पत्ति पनि बन्डा हुने भनी ठहर गरेको सुरू अदालतको फैसला प्रमाण ऐन कानूनसमेतको त्रुटिपूर्ण हुँदा उल्टी गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विश्वराम कोजुसमेतको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

फिराद पर्नुभन्दा अघि मिति २०३३।११।१६ को घरसारको लिखतले मानु छुट्टिएको देख्दा देख्दै फिराद परेको दिनलाई मानु छुट्टिएको मान्नेसमेत गरी भएको सुरू फैसला सर्वोच्च अदालतबाट (ने.का.प. २०५०, पृष्ठ ५, नि.नं. ४६७९) प्रतिपादित नजिर समेतको विपरीत भई बदर भागी छ भन्ने समेत व्यहोराको प्रतिवादी नानीमाया मास्केसमेतको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन ।

मिति २०३३।११।१६ को अंश छोडपत्रको लिखतलाई वादीले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा अन्यथा नभनेको स्थितिसमेतमा फिराद गरेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरेको पैतृकबाहेक निजी सम्पत्तिसमेत बन्डा लाग्ने गरी भएको सुरू फैसला कानून एवं नजिरको त्रुटिपूर्ण हुँदा बदर गरी पुनरावेदन जिकिरबमोजिम न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सूर्यप्रसाद श्रेष्ठसमेतले पुनरावेदन अदालत, पाटनमा दायर भएको पुनरावेदन पत्र ।

मिति २०३३।८।२६ मा नै वादी प्रतिवादीबीच चल सम्पत्ति परस्पर बुझी घरसारमा लिखत खडा गरी मानो छुट्टिएको एकातर्फ देखिन्छ भने अर्कोतर्फ वादीले नै पैतृक सम्पत्तिको मात्र माग दाबी लिएको अवस्थामा वादी दाबीभन्दा बाहिर गई भएको सुरू फैसला फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।

वादी र प्रतिवादी पक्षको बीचमा मिति २०३३।११।१६ मा चल सम्पत्ति हातहातै बुझी लिने गरी लिखत भएको अवस्था देखिन्छ । सो मिति २०३३।११।१६ को घरसारको बन्डापत्र वादी पक्षलाई अ.बं. ७८ नं. बमोजिम सनाखत गराउँदा सो लिखत सद्दे हो भनी सनाखत बयान गरेको अवस्था देखिएबाट सम्मानित सर्वोच्च अदालतबाट नि.नं. ४६७९ को अंश मुद्दामा पूर्ण इजलासबाट भएको व्याख्यासमेतका आधारमा प्रस्तुत मुद्दाका वादी दिलबहादुर कोजु र अन्य मूल प्रतिवादीहरूको बीचमा मिति २०३३।११।१६ मा मानो छुट्टिएको मिति कायम गर्नुपर्ने अवस्था विद्यमान देखिँदा यी वादी र अन्य प्रतिवादी मूल अंशियारहरूको बीचमा मिति २०३३।११।१६ मा मानो छुट्टिएको मिति कायम हुने ठहर्छ । सो मानो छुट्टिएपछि पुनरावेदक प्रतिवादी महेन्द्र मास्केले विभिन्न व्यक्तिबाट राजीनामा पारित गरी लिएको कि.नं. ५५५, ५५८, ५८२ र कि.नं. ५७४  र नानीमाया मास्केले राजीनामा गरी लिएको कि.नं. १३३ र ५७९ का जग्गाहरू सगोलको सम्पत्ति ठहर गरी बन्डा गर्ने गरेको सुरूको फैसला सो हदसम्म मिलेको देखिएन । उक्त जग्गाहरू पुनरावेदक प्रतिवादीहरू महेन्द्रप्रसाद मास्के र नानीमाया मास्केको निजी ठहरी बन्डा नहुने ठहर्छ । साथै पुनरावेदक प्रतिवादीमध्येको विश्वराम कोजुको बाबु विष्णुभक्तले सुकुम्बासीको हैसियतले हाल आवादीमा प्राप्त गरेको कि.नं. २३२ को  क्षे.फ. ०-०-८ (आठ धुर) सगोलको सम्पत्ति कायम गरी अंशियारहरूको बन्डा गर्ने गरेको पनि मिलेको देखिएन । उक्त जग्गा पुनरावेदक प्रतिवादी विश्वराम कोजुको एकलौटी हक स्वामित्वको जग्गा ठहरी बन्डा नहुने ठहर्छ । अतः वादी र मूल प्रतिवादीको बीचमा मानो छुट्टिएको मिति २०३३।११।१६ कायम भएको लिखतमा उल्लेख भएको र प्रतिवादीको बीचमा बन्डा गर्ने भनी मिति २०५४।१२।१६ को लिखतमा उल्लेख भएको घर जग्गाहरूबाट वादीले ६ भागको १(एक) भाग अंश पाउने ठहरी सुरू भक्तपुर जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६४।१।४ को फैसला ।

पुनरावेदन अदालत, पाटनबाट भएको फैसलामा कि.नं. २३२ को जग्गा विश्वराम कोजुको एकलौटी स्वामित्वको ठहरेकोले सोमा बन्डा नलाग्ने ठहरेकाले सोमा हाम्रो चित्त बुझेको छैन । सोबाहेक अन्य जग्गाका सम्बन्धमा पुनरावेदनको फैसला मनासिब भएपनि उक्त जग्गा सगोलमा हुँदाको बखत २०१९ सालमा खरिद गरिएको हो । सुकुम्बासीको हैसियतले प्राप्त भएको भन्ने निजको तर्क निराधार छ किनकी सो जग्गा विष्णुभक्त कोजु र जयबहादुर सुवालले संयुक्तरूपमा खरिद गरिलिएको आधार स्वामित्व भएको, जयबहादुर सुवालले २०१९ सालमा संयुक्तरूपमा खरिद गरिलिएका हौं भनी नापीका बखत १ नं. नापी गोश्वारा ६ नं. नापी टोलीमा निवेदनसमेत दिएका छन् । तत्काल मुलुकी ऐनमा २०३४ सालमा संशोधनपूर्व सगोलका परिवारका सदस्यमध्ये जोसुकैका नाममा जेसुकै व्यहोराबाट आर्जन गरेको जग्गामा बन्डा लाग्ने कानूनी व्यवस्था रहेको हुँदा उक्त कि.नं. २३२ को क्षे.फ.०-०-८ को जग्गा पनि बन्डा लाग्ने सम्पत्ति भएकाले बन्डा लगाउने नपर्ने ठहर भएको हदसम्म पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी सूर्यप्रसाद श्रेष्ठसमेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

मिति २०३३।११।१६ लाई मानो छुट्टिएको मिति कायम गरी सोपश्चात्‌ महेन्द्रप्रसाद मास्के र नानीमाया मास्केको नाउँमा राजीनामाबाट आएको भनी कि.नं. ५५५, ५५८, ५५९, ५७४, ५८२, १३३ र ५७९ को सम्पत्ति पनि बन्डा लाग्ने सम्पत्ति हो । निजहरूका पिता एवं पति चन्द्रप्रसाद टाठाबाठा र हर्ताकर्ता भएकाले पैतृक सम्पत्ति बिक्री गरी आफ्नो छोरा र श्रीमतीका नाउँमा राजीनामाबाट उक्त सम्पत्ति आर्जन गरेका हुन्, निजको निजी आर्जन होइन । त्यसैले सो सम्पत्ति पनि बन्डा लगाउनु पर्नेमा बन्डा लगाउनु नपर्ने ठहर्‌याएको हदसम्मको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विश्वराज कोजुसमेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

मुलुकी ऐन रजिस्ट्रेसनको १ नं. ले मानो छुट्टिएको र बन्डापत्रको लिखत रजिस्ट्रेसन गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको छ । सोअनुसार उक्त लिखत रजिस्ट्रेसन भएको छैन भने सो लिखतमा साक्षीको सहिछाप नहुनुका अतिरिक्त सो लिखतबमोजिम दाखिल खारेज नामसारी पनि भएको छैन । मैले सद्दे किर्तेतर्फ बयान गर्दा पनि सो लिखत भएकोमा सहमत भएपनि सोको कार्यान्वयन नभएको भन्ने बयान गरेको छु । मुलुकी ऐन सातौं संशोधन मिति २०३४।९।२७ पूर्व घरसारमा भएको लिखतको कानूनी मान्यता पाउने भएपनि सोबमोजिम दा.खा. समेत हुनुपर्ने अंशबन्डाको ३० नं. को प्रावधान रहेको छ । उल्लिखित कानूनी व्यवस्था, पारित नभएको लिखत र मेरो बयानविपरीत मिति २०३३।११।१६ मा कागज भएको भन्ने आधारमा सो मितिलाई मानो छुट्टिएको मिति कायम गरी सोपश्चात्‌ आर्जन गरेको भनी नानीमाया र महेन्द्रप्रसादका नाउँमा रहेको कि.नं. ५५५ समेतका ७ कित्ता जग्गा र सकुम्बासीका हैसियतले प्राप्त गरेको भनी विष्णुभक्तका नाउँको कि.नं. २३२ को जग्गा बन्डा नलाग्ने ठहर्‌याएको हदसम्मको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरिपाउँ भन्ने वादी दिलबहादुर कोजुको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा वादी प्रतिवादी दुवै पक्षबाट पुनरावेदन परेको देखिँदा वादीबाट परेको पुनरावेदन प्रतिवादीहरूलाई र प्रतिवादीहरूबाट परेको पुनरावेदन वादीलाई सुनाई दे.पु.नं. ०८८१ र दे.पु.नं. १०२० का मुद्दाहरू साथै राखी नियमानुसार पेस गर्नु भन्ने मिति २०६६।७।४ को यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी दिलबहादुर कोजुको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान्‌ अधिवक्ताहरू श्री शेरबहादुर कार्की र श्री सानु सुवालले मिति २०३३।११।१६ को कागज रजिस्ट्रेसन नभएको र अंशबन्डाको ३० नं. बमोजिम सो लिखतअनुसार दा.खा. नभएकोले मानो छुट्टिएको मान्न मिल्दैन । यस अवस्थामा कि.नं. २३२ लगायतका सबै सम्पत्ति बन्डा लगाउनु पर्नेमा बन्डा नगरिएको हदसम्म पुनरावेदन अदालत, पाटनको फैसला नमिलेकाले उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

पुनरावेदक प्रतिवादी विश्वराम कोजु र मदन कोजुको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री प्रविणता वस्ती र श्री नन्दप्रसाद अधिकारीले कि.नं. २३२ को घर जग्गा पनि सगोलकै सम्पत्तिबाट खरिद गरिएकाले सो पनि बन्डा लगाउँनु पर्नेमा बन्डा नलगाउने ठहराएको हदसम्म पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्म उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

पुनरावेदक प्रतिवादी चन्द्रप्रसाद मास्के र सूर्यप्रसाद मास्केसमेतका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान्‌ अधिवक्ताद्वय श्री नरप्रसाद थापा र श्री मातृका निरौलाले २०३३।११।१६ पूर्वको सम्पत्ति भएकाले कि.नं. २३२ मा बन्डा लगाउनु पर्नेमा नलगाएको हदसम्म पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । महेन्द्रप्रसाद र नानीमायाले खरिद गरेको निजहरूका नाउँको कि.नं. ५५५ लगायतको जग्गाहरू मानो छुट्टिएको मितिपछिको खरिद भएकाले बन्डा नलाग्ने हुँदा सो हदसम्म पुनरावेदन फैसला मिलेकाले सदर हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

उपरोक्तानुसारको बहस जिकिर सुनी मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी हेर्दा सुरू भक्तपुर जिल्ला अदालतको फैसला केही उल्टी गरी कि.नं. २३२ र मिति २०३३।११।१६ पछिका सम्पत्ति बन्डा नलाग्ने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ वा छैन र वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्नसक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

निर्णयतर्फ विचार गर्दा बुवा कृष्णदासको दुईवटी श्रीमतीमध्ये जेठीबाट ५ वटा छोरा र कान्छीबाट म एक्लो छोराको जायजन्म भएको र आमा बुबासमेत परलोक भइसकेका र हामी एकासगोल मै रहेकोले तायदाती माग गरी ६ भागको १ भाग बन्डा छुट्याई पाउँ भन्ने वादी पक्षको फिराद दाबी रहेको पाइन्छ । हामी वादी प्रतिवादीबीच २०३३।११।१६ मा बन्डा गर्ने गरी लिखत भएकाले सो मितिलाई मानो छुट्टिएको मिति कायम गरी सोपश्चात्‌को सम्पत्तिबाहेक अन्य सम्पत्ति बन्डा गरिनु पर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको पाइन्छ ।

सुरू भक्तपुर जिल्ला अदालतले फिराद परेको दिनलाई मानु छुट्टिएको मिति कायम गरी कि.नं. १५२९ को जग्गाबाहेक तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिको ६ भागको १ भाग बन्डा छुट्याई पाउने ठहर्‌याई फैसला गरेकोमा मिति २०३३।११।१६ लाई मानो छुट्टिएको मिति कायम गरी चितवन नारायणगढको कि.नं. २३२ र महेन्द्रप्रसाद र नानीमाया मास्केको नाउको कि.नं. ५५५ लगायतका जग्गाबाहेक अन्यमा बन्डा लाग्ने ठहराई सुरू फैसला केही उल्टी हुने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको फैसलाउपर चित्त नबुझी वादी प्रतिवादी दुवैतर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।

सर्वप्रथम प्रस्तुत मुद्दाको पुस्तेवारीतर्फ विश्लेषण गर्दा मूलपुर्खा कृष्णदास भएकोमा निजका दुईवटा श्रीमती कृष्णमाया र बुद्धलक्ष्मीमध्ये कृष्णमायाको कोखबाट जेठा हरिभक्त, माहिला विष्णुभक्त, साहिला रामभक्त, काँहिला चन्द्रप्रसाद र कान्छा सूर्यप्रसाद गरी ५ छोरा र कान्छी बुद्धलक्ष्मीबाट फिरादी दिलबहादुर कोजुको जायजन्म भएको रहेछ । यी वादी प्रतिवादीहरूका बुवा आमाको मृत्यु भइसकेको र बहिनीहरूको विवाह भइसकेकोले हाल ६ जना मात्र अंशियार रहेको भन्ने देखिएको छ । उपर्युक्त तथ्यमा वादी प्रतिवादीबीच मुख मिलेको देखिएकाले पुस्तावली र नातातर्फ कुनै विवाद रहेको देखिँदैन ।

प्रस्तुत मुद्दामा पुस्तावली एवम् नातातर्फ कुनै विवाद नरही प्रतिवादीहरूले समेत वादी आफ्ना अंशियार भएकाले अंश पाउने पर्ने तथ्यलाई स्वीकार गरेको अवस्था छ । प्रतिवादीहरूको प्रतिउत्तर पत्रमा मुख्यरूपमा वादीले मिति २०३३।११।१६ मा आफ्नो भागको अंश बुझी सकेकोले अब अंश पाउनुपर्ने होइन भन्ने जिकिर रहेको सन्दर्भमा प्रस्तुत पुनरावेदनको रोहमा निम्न लिखित प्रश्नहरूको निरूपण हुनपर्ने देखिन आएको छ ।

१. मिति ०३३।११।१६ मा वादीले अंश बुझिलिई गरिदिएको भनिएको लिखतको कानूनी हैसियत के हो र सो लिखतले वादी प्रतिवादीबीच मानो छुट्टिएको मिति निर्धारण गर्न सक्ने अवस्था छ वा छैन ?

२. वादीले कुन कुन सम्पत्तिबाट अंश पाउने हो? 

३. पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ वा छैन र वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ?

 

२. यस सम्बन्धमा सर्वप्रथम निर्णय निरूपणको लागि तय गरिएको पहिलो प्रश्नतर्फ विचार गर्दा मूलतः मिति २०३३।११।१६ मा यी वादीले अंश दाबी छाडी दिने गरी कागज खडा भएकाले सो मितिमा नै मानो छुट्टी भिन्न भएको हुँदा सो पूर्वको पैतृक सम्पत्तिमा मात्र वादीले अंश पाउने भन्ने प्रतिवादीको जिकिर रहेको र पुनरावेदन अदालतले पनि सोही लिखतलाई मुख्य निर्णयाधार मानी मिति २०३३।११।१६ लाई मानो छुट्टिएको मिति कायम गरी फैसला गरेको हुँदा सर्वप्रथम वादी र प्रतिवादीहरूबीच मानो छुट्टिएको मिति फिरादपत्र परेको अघिल्लो दिन कायम हुने हो वा प्रतिवादीहरूले जिकिर गरेबमोजिम ०३३।११।१६ को मानो छुट्टिएको मिति कायम हुने हो भने प्रश्नको निरूपण गर्नुपर्ने देखिन आयो ।

३. यस सम्बन्धमा मिसिल संलग्न मिति ०३३।११।१६ मा दिलबहादुर कोजुले गरिदिएको भनिएको घरसारको लिखत व्यहोरा हेर्दा बुद्धिलक्ष्मीलाई जीउनीबापत जग्गा छुट्याई आमाको परलोकपछि उक्त जीउनी सबैले बाडी खाने सर्त उल्लेख हुनुका साथै बाँकी जग्गामा ६ दाजुभाइलाई ६ अंश लगाई हाल मानु छुट्टिएको हुँदा मेरो भागमा पर्न आएको चल अचल श्री सम्पत्ति धन, द्रव्य, सुन, चाँदी, कुटो कोदाली सबै हातहातै पातपातै गरी बुझी लिई घरको हकमा पूर्व कृष्ण कुमारको घर, उत्तर काजीलालको जग्गा, पश्चिम कृष्णकुमारको जग्गा, दक्षिण बाटो यति ४ किल्लाभित्रको ३ तले २ नाले पक्की घर १ र उत्तर बाटो, पूर्व बाटो, दक्षिण माहिला माकजुको रहकर, पश्चिम राम जी खुलीमूलीको जग्गा यति ४ किल्लाभित्रको २ नाले २ तले कच्ची घर १ समेत तपाइँहरू ५ दाजुभाइको भागमा परेको, सो घर २ तपाइँहरूलाई छाडी सोही घरको अनुपात पूर्व उत्तर बाटो, पश्चिम सूर्यविरको जग्गा, दक्षिण निजकै घर यति ४ किल्लाभित्रको दसपन्ध्र हाते १ तले २ नाले कच्ची घर मलाई परेकोले उक्त २ घर तपाइँ दाजुभाइहरूलाई परेकोले सो घरको पञ्चकिर्ते मूल्यबाट मेरो भागमा परेको घरमा थप रू. २५००।– असुली गरी बुझी लिएँ र जग्गाको हकमा ६ भागको १ भाग मैले पाउने निम्न कित्ता हुन भनी कि.नं. ६७१, ३१५, ३२०, ०७२, ०७३, ३५४ मध्येका जग्गाको विभिन्न क्षेत्रफल पाउने व्यहोरा उल्लेख भएको देखिन्छ ।

४. यस्तो अवस्थाको लिखतको कानूनी हैसियत के हुने भन्ने सम्बन्धमा हेर्दा अंशबन्डाको महलको ३० नं. मा उल्लेख भएको कानूनी व्यवस्थाको उल्लेखन हुन उपयुक्त देखिन्छ । उक्त व्यवस्था देहायबमोजिम रहेको छ । 

३०॥ ॥ अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्नु पर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारिजसमेत गराई सकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिस्ट्रेसन नभएपनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जीउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ । 

 

५. उक्त कानूनी व्यवस्थाअनुसार मुलुकी (सातौं संशोधन) ऐन, २०३४ द्वारा संशोधित उक्त व्यवस्था प्रारम्भ हुनुपूर्व बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल सम्पत्ति अंशबन्डा गरी छुट्टिएको रहेछ भने निम्नअनुसारको अवस्था प्रमाणित भएमा रजिस्ट्रेसन नभए पनि बन्डा भएको मानिने देखिन आउँछ । 

१. आफ्नो आफ्नो हिसाव भागशान्तिबमोजिम लिई पाई दाखिल खारेज गराई सकेको वा, 

२. बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा ।

 

६. उपर्युक्त कानूनी व्यवस्थाको पृष्ठभूमिमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्थालाई हेर्दा मिति २०३३।११।१६ मा भएको भनिएको उक्त लिखतमा उल्लेख भएबमोजिमका अंशियारहरूले आ-आफ्नो अंशभाग प्राप्त गरी दाखिल खारेज गराएको वा बन्डाबमोजिम आ-आफ्नो अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको मिसिलबाट देखिएको छैन । सो लिखतबमोजिमको सम्पत्ति बन्डा पनि नभएको अवस्था एकातिर छ भने अर्कोतर्फ घरसारमा भएको उक्त लिखतमा अन्य अंशियारको सहीछाप परेको पनि छैन । त्यसका अतिरिक्त सो लिखतमा रोहवर साक्षी जनिएका झलकबहादुर समेतका दुईजना साक्षीहरूको हस्ताक्षर भएको देखिँदैन । यसैगरी सो लिखतबमोजिम वादीलाई दिने भनेको कि.नं. ६७१, ३१५ लगायतका विभिन्न कित्ता जग्गाहरूको लिखतबमोजिमको क्षेत्रफलको जग्गा वादीका नाउँमा दा.खा. नामसारी भइसकेको पनि देखिँदैन । उक्त लिखतबमोजिम दा.खा. भई वादीका नाममा जग्गा गएको भनी सबुद प्रमाणसहित प्रतिवादीहरूले दाबी खण्डित गर्न सकेको देखिएन ।

७. वस्तुतः उल्लिखित मिति २०३३।११।१६ को लिखतमा परेको सहिछाप आफ्नो भएपनि सोको कार्यान्वयन नभएको र लिखतबमोजिम आफूले कुनै सम्पत्ति नपाएको भनी वादीले अ.बं. ७८ नं. अनुसार बयान गर्दा उल्लेख गरेको 

देखिन्छ । अंशियारहरूबीच अंशबन्डा गर्ने प्रयोजनका लागि वादीको अंश भाग छुट्याएको भनिएको सो लिखतको प्रकृतिलाई अवलोकन गर्दा एकातर्फ कागज जाँचको महलअनुसार कानूनको रीत पुगेको देखिँदैन भने अर्कोतर्फ रजिस्ट्रेसनको १ नं. बमोजिम रजिस्ट्रेसन पनि भई नसकेको र अंशबन्डाको ३० नं. बमोजिम कार्यान्वयनसमेत भएको देखिँदैन । लिखतमा उल्लिखित तथ्यहरूले कानूनी रूप धारणा गर्न सो लिखतमा उल्लिखित सर्तहरू पूरा हुनुपर्दछ । तर प्रस्तुत लिखत कार्यान्वयन नभएकाले उक्त लिखतले कानूनी मान्यता र औचित्यसमेत प्राप्त गर्न सक्ने देखिएन ।

८. ने.का.प. २०५२ अंक २ नि.नं. ५०४७ मा प्रकाशित निवेदक प्रतिवादी चिजकुमार श्रेष्ठसमेत विपक्षी मु.स. गर्ने भोला श्रेष्ठसमेत भएको अंश मुद्दामा यस अदालत बृहद् पूर्ण इजलासबाट “मुलुकी (सातौं संशोधन) ऐन, २०३४।९।२७ द्वारा संशोधित अंशबन्डाले महलको ३० नं. बमोजिम २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुटिएको स्थिति देखिनको लागि बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो भाग शान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराई सकेको वा बन्डाबमोजिम आ-आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको हुनुपर्ने, यो यो पैतृक सम्पत्ति वादी प्रतिवादीहरूले आ-आफ्नो नाममा दाखिल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्नसमेत सकेको नदेखिँदा अंशबन्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरू छुट्टि भिन्न भएको भनी अर्थ गर्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादित भएको पाइन्छ ।

९. त्यस्तै ने.का.प. २०६८ अंक ९ नि.नं. ८६७९ मा प्रकाशित पुनरावेदक उमादेवी ढुंगेलसमेत विपक्षी धनकुमारी ढुंगेलसमेत भएको अंश चलन मुद्दामा यस अदालत पूर्ण इजलासबाट “कानूनले नै घरसारमा भएको बन्डापत्रको लिखतले कानूनी मान्यता प्राप्त गर्ने पूर्वावस्थाहरू उल्लेख गरिदिएको अवस्थामा तिनीहरूको विद्यमानताबेगर कार्यान्वयनमा नै नआएको लिखतको आधारमा अंशबन्डा भएको भन्ने निष्कर्षमा पुग्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

१०. माथि उल्लिखित अंशबन्डाको महलको ३० नं. मा भएको कानूनी व्यवस्था एवम् यस अदालत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा प्रस्तुत मुद्दामा विवादमा आएको मिति २०३३।११।१६ को लिखतले अंशबन्डाको ३० नं. को पूर्वास्थामा पूरा नगरी कार्यान्वयनमा आएकोसमेत नदेखिएकोले सोही लिखतको आधारमा अंशबन्डा भएको भन्न मिल्ने आएन । यस्तो अवस्थामा वादीले मिति २०३३।११।१६ मा नै अंश छोडपत्रको कागज गरेकाले सो मितिलाई नै मानो छुट्टिएको मिति मान्नुपर्छ भन्ने प्रतिउत्तर जिकिरसँग सहमत हुन सक्ने अवस्था भएन ।

११. वस्तुतः घरसारमा भएको अंश छोडपत्रको लिखतबाट स्वतः मानो छुट्टिएको मिति यकिन हुन सक्तैन । कुनै न कुनैरूपमा त्यस्तो घरसारको लिखत वास्तविक व्यवहारबाट नै कार्यान्वयन भएको औपचारिकरूपबाट देखिनु पर्ने हुन्छ ।

१२. सामान्यतया अंश हुँदा चल सम्पत्तिको हकमा हात हातै बुझी लिए भन्ने व्यहोरा उल्लेख गर्ने गरिन्छ । अंश गर्दा लेखिने त्यस्तो कुराले औपचारिक ढाँचासम्म निभाउनको लागि पनि व्यक्त गरिने 

हुन्छ । चल सम्पत्तिको यथार्थ विवरण नाप, तौल, गन्ती गरी छुट्याइएको र त्यस्तो लिखत निर्विवाद रहेको अवस्थामा त्यस्तो लिखतको प्रमाणिकता छुट्टै हुन जान्छ । वस्तुतः पारित नभएको घरसारमा भएको अंश बुझेको भरपाईमा उल्लिखित सम्पत्ति हात हातै बुझी लिएको भन्ने व्यहोराबाट सो अंश भरपाई कार्यान्वयन भइसकेको भन्न मिल्दैन ।

१३. मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलअनुसार पारित भएको हुनुपर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको घरायसी अंश छोडपत्रको लिखतले मानो छुट्टिएको मिति निर्धारण गर्न सक्तैन । घरसारको अंश बुझेको भरपाइअनुसार कार्यान्वयन भई अंशबन्डा भई गएको घर जग्गा दर्ता भएको र दुवै पक्षले स्वीकार गरेको अवस्थामा त्यस्तो घरायसी लिखतबाट मानो छुट्टिएको मितिको बारेमा निष्कर्षमा पुग्न मद्दत गर्न सक्दछ ।

१४. व्यवहारमा अंश प्राप्त गर्न नसकेको घरायसी लिखतले अंश जस्तो मुद्दामा मानो छुट्टिएको विषयमा महत्त्वपूर्ण प्रमाणको रूप लिन सक्दैन । घरायसी लिखतअनुसार कार्यहरू नभएपछि सो लिखत गर्नुभन्दा अघिको स्थितिमा कुनै परिवर्तन नभई पूर्ववत् अवस्थामा नै रहन जान्छ ।

१५. माथि विवेचना गरिएको तथ्य, यस अदालतले प्रतिपादन गरेको सिद्धान्त एवम् मानो छुट्टिएको मिति यकिन खुल्न नआएको अवस्थामा फिराद परेको अघिल्लो दिनलाई नै मानु छुट्टिएको मिति मान्नु पर्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा फिराद परेको अघिल्लो दिनलाई मानु छुट्टिएको दिन मानी सोपूर्वको सबै पैतृक सम्पत्ति सगोलकै ठहर्ने हुँदा सो सम्पत्तिहरूबाट बन्डा लाग्ने नै देखियो ।

१६. जहाँसम्म यस अदालतबाट ने.का.प. २०५० वैशाख पृष्ठ ५ मा उल्लिखित नजिरमा घरसारमा बन्डा गरेको लिखतलाई मान्यता दिएको छ भन्ने बहस जिकिर छ सो सम्बन्धमा हेर्दा त्यस्तो लिखतमा सहमत जनाएको अवस्थामा कानूनी मान्यता पाउने भएपनि प्रस्तुत मुद्दामा अ.बं. ७८ नं. को प्रयोजनका लागि भएको बयानबाट पनि वादीले ०३३।११।१६ को लिखतलाई सहमति जनाएको नदेखिएको र सो लिखतबमोजिमको दा.खा. नामसारी नभई कार्य सम्पन्न नभएकाले उक्त नजिर सान्दर्भिक नदेखिएको हुँदा प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन । 

१७. अब के कुन कित्ता जग्गामा वादीले प्रतिवादीबाट अंश पाउने हो भन्ने माथि उल्लेख भएको प्रश्न सम्बन्धमा विचार गर्दा तायदातीको सम्पत्तिबाट अंश पाउने भएपनि वादी प्रतिवादीले तायदातीमा उल्लेख गरेको विभिन्न कित्ताका जग्गाहरूका सम्बन्धमा सगोलको पैतृक सम्पत्ति हो वा स्व-आर्जनको हो भन्ने विवाद रहेको हुँदा सोतर्फ विवेचना गर्नुपर्ने हुन आयो । सो सम्बन्धमा हेर्दा तायदातीमा उल्लिखित कि.नं. ५८० को जग्गा ०३६।४।२० मा राजमार्गमा परेको भन्ने व्यहोरा प्रमाणित भई मालपोत कार्यालय, भक्तपुरको च.नं. ३१३२ मिति २०५९।१०।९ को पत्र मिसिल संलग्न देखिँदा सो तर्फ केही गरिरहन परेन । यसैगरी प्रतिवादी विश्वरामको श्रीमती सुककुमारी श्रेष्ठले रामबहादुर श्रेष्ठबाट मिति २०४९।१२।२६ मा हालैको बकसपत्र प्राप्त गरेको कि.नं. १४५२ बाट कित्ताकाट भई कायम भएको कि.नं. १५२९ को जग्गा निजी आर्जनको भई बन्डा लाग्ने देखिएन र सो सम्बन्धमा पुनरावेदन जिकिरसमेत नदेखिँदा थप केही बोली रहनु परेन ।

१८. जहाँसम्म चितवन जिल्ला, नारायणगढ न.पा. वडा नं. २ को कि.नं. २३२ को जग्गा विष्णुभक्तले सुकुम्बासीका हैसियतले प्राप्त गरेको हुँदा सोमा बन्डा लाग्ने होइन भन्ने प्रतिउत्तर जिकिरका सम्बन्धमा विचार गर्दा सो जग्गा निजले त्यसरी प्राप्त गरेको कुनै प्रमाण पेस हुन आएको नदेखिनुका अतिरिक्त कुल क्षे.फ. ०-०-१६ को सो जग्गा जयबहादुर सुवाल भन्ने व्यक्ति र विष्णुभक्तले साझामा खरिद गरी लिई मिति २०५४।१०।२२ को निर्णयले विष्णु भक्तको मृत्युपश्चात्‌ निजका छोराहरू विश्वराम र मदन श्रेष्ठको नाउँमा आधिजग्गा अर्थात्‌ ०-०-८ मात्र नामसारी भएको र जयबहादुरको आधा भाग अलग गरिएको भन्ने व्यहोराको मालपोत कार्यालय चितवनको पत्र मिसिल संलग्न रहेको देखिन्छ । सुकुम्बासीको हैसियतबाट दुई जना व्यक्तिको नाउँमा संयुक्त जग्गा प्राप्त हुन सक्ने अवस्था नै रहँदैन । यसरी सुकुम्बासीका हैसियतले प्राप्त गरेको भन्ने प्रमाण पेस हुन नसकेको अवस्थामा सगोलका अंशियारले खरिद गरेको सो जग्गा पनि सगोलकै देखिएकाले बन्डा लाग्ने नै देखियो ।

१९. यसका अलावा प्रतिवादीहरू महेन्द्र मास्केका नाउँको कि.नं. ५५५, ५८२, ५५९, ५५८ र ५७४ तथा नानीमाया मास्केका नाउँको कि.नं. १३३ र ५७९ को जग्गाहरू निजले स्वआर्जन गरी खरिद गरेकाले बन्डा लाग्ने होइन भन्ने जिकिरका सम्बन्धमा हेर्दा उक्त जग्गाहरू आफ्नो निजी ज्ञान सिपले कमाएको धनले खरिद गरेको स्व.आर्जनको सम्पत्ति हो भन्ने युक्तियुक्त र भरपर्दो प्रमाण पेस गर्न सकेको देखिँदैन । तसर्थ सो जग्गाहरू सगोलकै देखिन्छ । यस सन्दर्भमा कानूनी व्यवस्था हेर्दा प्रमाण ऐन, २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघर सँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने व्यवस्था गरेको सन्दर्भमा आफ्नो ज्ञान सिपले आर्जन गरेको प्रमाण पेस गर्न नसकेको प्रस्तुत जग्गाहरू पनि सगोलकै देखिँदा बन्डा लाग्ने नै 

देखिन्छ ।

२०. माथि उल्लेख गरिएका जग्गाहरूका अलावा सगोल वा निजी आर्जनको विवाद नरहेका र पुनरावेदन अदालत, पाटनबाट समेत बन्डा लाग्ने ठहर भएका वादी प्रतिवादीले तायदातीमा उल्लेख गरेको र सुरू भक्तपुर जिल्ला अदालतको फैसलामा उल्लिखित सम्पूर्ण घरजग्गाहरू समेत सगोलकै देखिँदा सोमा पनि बन्डा लाग्ने ठहर्छ । तसर्थ माथि विवेचित आधार कारणबाट फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदातीमा उल्लिखित सम्पत्तिको बन्डा लाग्ने ठहरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला न्याय र कानूनको रोहमा न्यायोचित नै रहेको अवस्थामा सो फैसला उल्टि हुने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको मिति २०६४।१।४ को फैसला मिलेको नदेखिँदा उल्टि हुने ठहर्छ । सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६१।३।३१ को फैसलाबमोजिमको तायदातीमा उल्लिखित सम्पत्तिको ६ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भई तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिको ६ भागको एक भाग अंश वादीले पाउने ठहरेको पुनरावेदन अदालत, पाटनको फैसलाको तपसिल खण्डको व्यहोरा कायम नरहने हुँदा सुरू फैसलाअनुसारकै लगत कायम गर्नु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनू -------------------------------------१

माथि ठहरेबमोजिम सुरू जिल्ला अदालतको फैसलामा उल्लिखित तायदातीबमोजिमको सम्पत्तिबाट ६ भागको १ भाग वादीले अंश पाउने ठहरेकाले मुलुकी ऐन, अदालती बन्दोबस्तको ४६ नं. को म्यादभित्र वादीको दरखास्त परे अढाई दस्तुर लिई बन्डा छुट्याई दिनु भनी भक्तपुर जिल्ला अदालतमा लेखी पठाई  

दिनू --------------------------------------------------२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू -----------------------३

 

उक्त रायमा सहमत छु ।

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत: इन्द्रबहादुर कठायत

इति संवत् २०७२ साल भदौ १ गते रोज ४ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु