शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७३० - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७२।११।०९

०७१-RC-०१०२

 

मुद्दा : कर्तव्य ज्यान

 

वादी : धन कुमारी राईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : धनकुटा जिल्ला आखिँसल्ला गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय धनकुटामा कैदमा रहेको फिच्चु भन्ने राम कुमार राई

 

वस्तुत: जोखिमी हतियार खुकुरी प्रहार गरी हत्या गरेको कुरा प्रतिवादी स्वयम्‌ले मौका तथा अदालतमा स्वीकार गरेको, सो तथ्यलाई मिसिल संलग्न प्रत्यक्षदर्शी अनिषा राईको बकपत्र शव परीक्षणसमेतबाट पुष्टि भइरहेको र नाबालकले केही भनेको भन्ने आधारमा सामान्य सहनशीलता (normal degree of tolerance) नअपनार्इ नाबालकउपर जोखिमी हतियारले संवेदनशील अंगमा निर्ममतापूर्वक पटक पटक प्रहार गरेको कार्य मनसायपूर्वक देखिन आएकोले रिस उठी थाम्न नसकी मारेको भन्ने प्रतिवादीको प्रतिरक्षाको आधार बन्न नसक्ने ।

(प्रकरण नं. ४)

 

वादीको तर्फबाट :

प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने : 

मा.जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला

पुनरावेदन तहमा फैसला गर्ने :

मा.का.मु.मुख्य न्या. श्री शम्भुबहादुर खड्का

माननीय न्यायाधीश श्री विदुरविक्रम थापा

 

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर रहेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

मेरो छोरा वर्ष ११ को मनके भन्ने मनकुमार राई घरबाट पानी लिन भनी आँखिसल्ला ५ स्थित नेवार धारामा गई पानी लिई आउँदा धारामाथि चेप्ला खोला नजिक आई पुगेको र वर्ष ११ कि अनिशा राई पनि पानी लिन सोही स्थानमा पुगेको अवस्थामा विपक्षी फिच्चु भन्ने रामकुमार राई त्यही ठाउँमा आई मेरो छोरालाई खुकुरीले काट्न थालेपछि अनिशा राई त्यहाँबाट डरले भागी घरमा आई निजको आमा बुबालाई सुनाएपछि अनिशाको आमाको नन्दकुमारी राईले मलाई खबर गरेपछि म नन्दकुमारी, भाइ यज्ञबहादुरसमेत छोरा खोज्दै घटनास्थलमा पुग्दा छोरालाई धारिलो हतियारले काटी खाडलमा छाडी विपक्षी भागिसकेको रहेछ र छोरालाई त्यहाँबाट उपचारका लागि धनकुटा अस्पतालमा ल्याउँदा छोराको मृत्यु भइसकेको रहेछ । छोरालाई अस्पतालको लास घरमा राखी जाहेरी गर्न आएकी छु । निज विपक्षी तथा निजका बाबु सपरिवारसँग जग्गाको सिमाना भएको हुँदा निजहरूले म तथा मेरो परिवारलाई खुकुरीले चाना चाना पारी काटी दिन्छु, मारी दिन्छु, अपुतालीसमेत बनाइ दिन्छु भन्ने गरेका हुँदा विपक्षीहरू साँध सिमानासम्बन्धी रिसइवीको कारणले नै मेरो छोरालाई काटी मारेको हो भन्नेसमेत व्यहोराको धनकुमारी राईको जाहेरी दरखास्त ।

निधारमाथि दाहिने साइडको निधारमाथि चल्ली, दाहिने कान तथा दाहिने गालासमेतमा धारिलो हतियारले काटेको भित्रको हड्डीसमेत काटिएको चोट देखिएको भन्ने मृतक मनके भन्ने मनकुमार राईको लासजाँच प्रकृति मुचुल्का ।

जिल्ला धनकुटा आँखिसल्ला गा.वि.स.वडा नं. ५ स्थित चेप्लाकुवा जाने गोरेटो बाटोमा रहेको ढुङ्गा तथा माटोमा प्रसस्त रगत जमेको देखिएको, उक्त माटो प्रहरीले उठाई लगेको र सो ठाउँमा प्लास्टिकको जर्किन पेप्सीको बोतल, जग, डोकोसमेत रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।

जिल्ला धनकुटा आँखिसल्ला गा.वि.स.वडा नं. ५ वस्ने अभियुक्तको बाबु वीरबहादुर राईको घरभित्र रहेको काठको खाटमुनिबाट रगत जस्तो रातो पदार्थ लागेको दापसहितको खुकुरी थान-१ प्रहरीले बरामद गरी लगेको हो भन्ने व्यहोराको बरामदी मुचुल्का ।

मिति २०७०।१।२५ गते बिहान अन्दाजी १०.०० बजे म घरमा खाना खाएर काठको दाप भएको खुकुरी कम्मरमा भिरी घरदेखि तल सल्लेरी जंगलमा थाक्रा काट्न भनी जादा बाटोमा पुगे पछि थाक्रा काट्न जान अल्छी लागेपछि दिनभरि बाटोमा पर्ने काका प्रदिप राईको घरमा टि.भि. हेरी बसी बेलुका साँझ अन्दाजी ५.०० बजे फर्की आउने क्रममा आँखिसल्ला ५ स्थित चेप्ला खोलामा आइपुग्दा मन के भन्ने मनकुमार राई गेलेनमा पानी बोकी आउँदै गरेको भेटी निजलाई राम्रै मुखले पानी लिएर आएको हो ? भनी सोध्दा निजले जेसुकै ल्याउ रन्डीका बान तलाई के खाँचो भन्दै मलाई गाली गरेको र पानी बिसाई आएर मसँग झगडा गर्दै मेरो अनुहारमा कोतरी दिएको हुँदा मलाई रिस उठी मैले बोकेको खुकुरी निकाली मन के भन्ने मनकुमार राईको चल्नीमा एकचोटी हिर्काए पछि निज भुइँमा लडेपछि दाहिने गालासमेतमा पुनः ४ पटक हाने पछि निज बेहोस भएकोले घटनास्थलको नजिकै रहेको खाल्डोमा लडाई दिई खुकुरी आफैँले बोकी घरमा लगी घरभित्र खाटमुनि राखी भाग्दै गर्दा प्रहरीले मलाई पक्राउ गरेको हो । निज जाहेरबालीसमेतसँग जग्गाको साँध सिमानाको विषयमा झै-झगडा परिरहन्थ्यो र उल्लिखित वारदातसमेतमा जाहेरबालीको छोरा मनकुमार राईले मैले राम्रै मुखले सोधी खोजी गर्दा पनि अनावश्यक निहुँ खोजेको हुँदा पहिलेको रिसइवीसमेत सम्झिई रिस थाम्न नसकी खुकुरीले हिर्काइ काटेको 

हो । बरामद भएको खुकुरी मैले वारदातमा काट्न प्रयोग गरेको खुकुरी नै हो हेर्दा चिनेँ भन्नेसमेत व्यहोराको प्रतिवादी फिच्चु भन्ने रामकुमार राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७०।१।२५ गते बेलुका अन्दाजी १७.०० बजेको समयमा पानी लिन जान भनी डोकोमा गाग्री प्लाष्टिकको भाडा लिई हाम्रो घरको बाटो हुँदै मृतक मनकुमार राई आएपछि मैले पनि पेप्सीको बोतल, जरकिन लिई मृतकसँगै पानी लिन नेवार धारामा गई पानी भरी बेलुका अन्दाजी १७.५० बजेतिर घर फर्की चेप्लाखोलामा पुग्दा मुखमा कोठे सर्ट बाँधेको मानिस हामी नजिकै आएर मनकुमार राईसँग वादविवाद गर्न थाले । म अलि अगाडि गए र किन आउनु भएन भनी पछाडि हेर्दा मलाई ठूलो स्वरमा हातमा बोकेको खुकुरी हल्लाई जाउ भन्ने इसारा गरे पछि म घरमा गएर मनकुमार राईलाई हातमा खुकुरी बोकेको मानिसले बाटोमा छेकेर राखेको छ । मलाई खुकुरीले जाउ भन्यो भनी मेरो बुबा आमा तथा मृतकको आमालाई भनेपछि म, मेरो आमा, बुबा र मृतकको आमासमेत भई खोजी गर्न जादा मनकुमार राईलाई गालासमेतमा काटी बाटोको गहिरो खाडलमा फालेको अवस्थामा भेटी तत्काल उपचार गर्न लान भनी ल्याउँदै गर्दा मृत्यु भएको हो छिमेकी रामकुमार राईले धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको मा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वर्ष ११ कि अनिशा राईले मौकामा गरेको कागज ।

टाउको र अनुहारबाट अत्याधिक मात्रामा रक्तस्राव भएको कारणबाट मृत्यु (Cause of death Hypovolaemic shock due to hemorrhage due to trauma over face and head) भएको हो भन्ने नाबालक मनकुमार राईको शव परीक्षण 

प्रतिवेदन ।

मिति २०७०।०१।२५ गते बेलुकी साँझको समयमा मेरो छोरी अनिशा राई र छिमेकी जाहेरबालीको छोरा मनकुमार राई पानी लिन भनी नेवार धारामा गएकोमा मनिषा राई पानी लिई डराउँदै स्याँस्याँ हुदै दौडिएर घरमा आएपश्चात्‌ मैले के भयो भनी सोध्दा १ (एक) जना मानिसले हातमा खुकुरी बोकी आई मनकुमार राई दाइलाई बाटोमा रोक्यो र मलाई खुकुरी देखाई जाऊ भनेपछि मैले निजको अनुहार हेर्दा रामकुमार राई जस्तो लाग्यो, मलाई पनि  काट्ला जस्तो डर लागी म हतार हतार भागी घरमा आएकी हुँ भनी सुनाएपश्चात्‌ मैले जाहेरबालीसमेतलाई सुनाई जाहेरबाली, म र मेरो श्रीमती समेत भई खोजतलास गर्दै जादा चेप्ला खोला नजिक बाटो छेउको खाल्डोमा निज जाहेरबालीको छोरा मनकुमार राईलाई धारिलो हतियारले काटी रगतपच्छे अवस्थामा फाली दिएको अवस्थामा फेलापारी तत्काल उपचारार्थ अस्पताल लादा मृत्यु भएको हो । निज मृतक मनकुमार राईको ३/४ पुस्ता अगाडिको जिजुबाजेबाट रामकुमार राईको जिजुबाजेले घर नजिकै रहेको जग्गा खरिद गरी भोगचलन गर्दै आएकोमा हाल सो जग्गा मुल्यवान भएकोले सो जग्गाको विषयमा निज रामकुमार राईको घर परिवार र निज मृतक मनकुमार राईको घर परिवार बीच झै-झगडा भई रहने गर्दथ्यो । सोही रिसइवीको कारण निज रामकुमार राईले निज मनकुमार राईलाई बाटोमा ढुकी खुकुरीले हिर्काई कर्तव्य गरी मारेका हुदा निज प्रतिवादीलाई हदैसम्मको कारवाही गरिपाउँ भन्ने व्यहोराको यज्ञकुमार राईको मौकाको कागज ।

जाहेरबालीको छोरा मनकुमार राई धाराबाट पानी लिन भनी मेरै घरको बाटो हुँदै आएकाले मेरो छोरी अनिषा राई पनि सँगै पानी लिन धारामा गए र मेरो छोरी अनिशा राई धाराबाट आत्तिएर घर फर्की आएपश्चात्‌ मेरो श्रीमान्‌ले निज छोरीलाई के भो नानी भन्दै सोध्दा रामकुमार राईले हातमा खुकुरी बोकी निज मनकुमार राईलाई बाटोमा छेकेका छन् मलाई उता जा भनी इसारा गरेकाले म डराएर घरमा आएकी हुँ भनी बताएपश्चात्‌ मेरो श्रीमानले जाहेरबालीसमेतलाई खबर गरी हतारहतार खोजतलास गर्दै जादा निज मनकुमार राईलाई टाउँको तथा गालामा काटी रगतपच्छे अवस्थामा बाटो नजिकको खाल्डोमा फालेको अवस्थामा फेलापारी तत्तकाल उपचारार्थ अस्पताल लाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो निज प्रतिवादीउपर कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको नन्दकुमारी राईको मौकाको कागज ।

मिति २०७०।०१।२५ गते बेलुकी साँझको समयमा म काम विशेषले छिमेकीको घरमा जाँदै गर्दा बाटोमा प्रतिवादी रामकुमार राईलाई हातमा नाङ्गो खुकुरी बोकेर घोप्टो अनुहार पारी अतालिँदै हिडिरहेको अवस्थामा निजले हल्लाउँदै बोकेको नाङ्गो खुकुरीको टुप्पोले झण्डै मेरो जिउमा घोप्यो र मैले किन हातमा नाङ्गो खुकुरी हल्लाउँदै बौलाहा जस्तो गरी हिडेको दापमा राखेर हिड्नुनी भनी आफनो राई भाषामा सम्झाउँदासमेत निज रामकुमार राई नबोली सरासर हिँडेर तलतिर गएपछि निज रामकुमार राईले जाहेरबालीको छोरा मनकुमार राईलाई काटेर कर्तव्य गरी मारेका हुन भन्ने सुनी थाहा पाएको हुँ निज रामकुमार राई र मृतक मनकुमार राईको घर परिवारबीच जग्गाको विषयमा झै-झगडा भई रहने गर्थ्यो । सोही रिसइवीको कारण निज प्रतिवादीले जाहेरबालीको छोरा मनकुमार राईलाई धारिलो हतियारले काटी कर्तव्य गरी मारेका हुँदा निज प्रतिवादीउपर कारवाही गरिपाउँ भन्ने व्यहोराको गंगामाया राईको मौकाको कागज ।

मिति २०७०।०१।२५ गते बेलुकी साँझको समयमा निज रामकुमार राई आत्तिए जस्तो गरी मेरो घरमा आई मसँग निजको दिदी र दाजुको फोन नम्बर मागी मैले निजको दिदी र दाजुको नम्बर कागजमा लेखिदिए र निजले मलाई आज मैले मनके भन्ने मनकुमार राईलाई सिध्याई दिए । मेरो मोबाइल कता गयो, तेरो मोबाइल दे मोबाइल पछि फिर्ता गरी दिन्छु भनेपश्चात्‌ मैले मेरो मोबाइल दिए र निज मेरो घरबाट हिडे म डरले ढोका थुनी सुते, भोलिपल्ट बिहान निज जाहेरबालीको छोरा र मनकुमार राईलाई निज रामकुमार राईले खुकुरीले हिर्काएर कर्तव्य गरी मारेका हुन् भन्ने सुनी थाहा पाएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कडा कारवाही गरियोस भन्ने व्यहोराको निमा लोङगवा राईको कागज ।

मिति २०७०।१।२५ गतेका दिन म गाई वस्तु चराउन गोठालो गएको थिए । प्रतिवादी रामकुमार राई मेरो घरमा टिभी हेर्न आएका थिए भन्ने सुनी थाहा पाएको हुँ । मेरो भेटघाट भएन बेलुका १८:१५ बजेको समयमा जाहेरवालाको छोरा मन कुमार राईलाई निज प्रतिवादी रामकुमार राईले खुकुरीले हिर्काई घाइते बनाई फरार भएका छन भन्ने सुनी थाहा पाई मसमेत घटनास्थलमा गई हेर्दा निज घाइतेलाई उपचारार्थ अस्पताल लगी सकेका थिए र निज घाइतेको बाटोमा नै मृत्यु भएको हो निज प्रतिवादीउपर कारवाही गरिपाउँ भन्ने व्यहोराको प्रदिप राईको कागज ।

अभियुक्त प्रतिवादी फिच्चु भन्ने रामकुमार राईले २०७०।१।२५ गते बेलुका १८:१५ बजेको समयमा जाहेरवालाको छोरा मनकुमार राईलाई घर परिवारसँगको जग्गाको विवाद एवं रिसइवी लिई निज नाबालकलाई साथमा बोकी रहेको खुकुरीले टाउको तथा अनुहारमा समेत पटकपटक काटी कर्तव्य गरी मारेको पुष्टि हुन आएको हुँदा निज फिच्चु भन्ने रामकुमार राईले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं. बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई ऐ. ऐनको १३ (१) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदाबी ।

मृतकको आमाले मलाई र मेरो परिवारलाई देवी, देवताको भाकल, जग्गासम्बन्धमा बारम्बार झै-झगडा गर्ने र मलाईसमेत गाली गर्ने गर्नुहुन्थ्यो । उक्त दिन १०:३० तिर खुकुरी लिएर घोचा काटेर आउँदा निज मनकुमारलाई ठूलो गाउँमा भेटी निज पानी लिएर आउँदै गर्दा के ल्याएको भनी सोध्दा मलाई रिसले के ल्याएको देखिस् भनी गाली गरेको स्वरमा भनेको हुँदा मलाई रिस उठी समालिन नसक्दा मेरो हातमा भएको खुकुरीले निजको घाँटीमा प्रहार गरे र निज भुइँमा पछारिएपश्चात्‌ फेरि २ पटक प्रहार गरी मैले हत्या गरेको हो भन्नेसमेत व्यहोराको अभियुक्त प्रतिवादी फिच्चु भन्ने रामकुमार राईले सुरू अदालतमा गरेको बयान ।

यी प्रतिवादी फिच्चे भन्ने रामकुमार राईले मेरो छोरा वर्ष ११ को मनकुमार राईलाई मिति २०७०।१।२५ गते बेलुका अन्दाजी ६:०० बजेको समयमा पानी लिई फर्कंदै गर्दा बाटामा पर्ने चिप्ले खोलामा खुकुरीले गाला, टाउकोसमेतमा काटी छोडी गएपछि पानी लिन गएकी अनिशा राईले रामकुमारले मनकुमारलाई काटेको छ भनेपछि घटनास्थल गई हेर्दा रगतपच्छे देखी उपचारको लागि लाँदै गर्दा बाटोमा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरबाली धनकुमारी राई, अनिशा राई र यज्ञकुमार राईले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी रामकुमार राईले मौका तथा अदालतसमक्षको बयानमा घटना वारदातको बारेमा स्वीकार गर्दै मृतकको परिवारसँग पहिले देखि नै रिसइवी रहेको । घटना वारदातमा पनि मृतकले आफूलाई रिस उठाएकोले साथमा बोकेको खुकुरी प्रहार गरी मारेको भनी बयान गरेको । मृतकको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण अनुहार र टाउकोको चोटको कारणबाट भएको पाइन्छ । मृतक मनकुमार राईको परिवारसँग यी प्रतिवादीको पहिलेदेखि नै रिसइवी रहेको थियो भनी स्वयम्‌ जाहेरबाली र यी प्रतिवादीले समेत स्वीकार गरेको पाइन्छ । मृतक बालक अवस्थाको मान्छेउपर यी प्रतिवादीले बिना रिसइवी खुकुरी प्रहार गरी मार्नुपर्ने कारण थिएन । तसर्थ यी प्रतिवादीले पूर्व रिसइवीको कारण खुकुरी प्रहार गरी मनकुमारको हत्या गरेको तथ्य मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन आएकोले निजलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्व जन्मकैदको सजाय हुने ठहर्छ भनी सुरू धनकुटा जिल्ला अदालतबाट मिति २०७०।३।१७ मा भएको फैसला ।

मृतकको परिवारसँग मेरो कुनै पूर्व रिसइवी थिएन । मृतकलाई मार्नु पर्ने कुनै कारण पनि थिएन । घटना वारदातको समय बाटोमा मृतकसँग भेट भई पानी ल्याएको भनी सोध्दा निजले मलाई अपशब्द प्रयोग गरी मेरो अनुहारमा कोतार्न आएकोले रिस उठी आफ्नै साथमा भएको खुकुरीले प्रहार गरी मारेको हुँ । निजलाई मार्ने मेरो कुनै पूर्व योजना तथा रिसइवी थिएन । सो कुरालाई आफ्नो मौकाको बयानमा उल्लेख गरेको छु । सो तथ्यलाई सुरू अदालतले फैसला गर्दाका बखत कुनै वास्ता नगरी पूर्ण अपराधको रूपमा ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिमको कठोर सजाय गर्ने गरी भएको सुरू धनकुटा जिल्ला अदालतको मिति २०७०।३।१७ को फैसला त्रुटिपूर्णको हुँदा बदर गरी हक इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी फिच्चु भन्ने रामकुमार राईको पुनरावेदन अदालत, धनकुटामा लिएको पुनरावेदन जिकिर ।

जोखिमी हतियार खुकुरी प्रहार गरी हत्या गरेको कुरा मौका तथा अदालतको बयानमा स्वीकार गरेको र जाहेरबालीको किटानी जाहेरी तथा बकपत्र र चश्मदित गवाह अनिषा राईको मौकाको कागज तथा अदालतको बकपत्र, शव परीक्षण प्रतिवेदनसमेतबाट धारिलो हतियार प्रहार गरी मारेको कुरा पुष्टि हुन आएकोले पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धीको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‌याई सुरू धनकुटा जिल्ला अदालतबाट मिति २०७०।३।१७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।१०।८ को फैसला ।

प्रतिवादी फिच्चु भन्ने राम कुमार राईको पुनरावेदन अदालतको फैसलाउपर पुनरावेदन परेको नदेखिएको र पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।१०।८ को फैसलाबमोजिम प्रस्तुत मुद्दा साधकको रूपमा दर्ता हुन आएको पाइयो ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी साधकको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरियो ।

जाहेरबालीको छोरा वर्ष ११ को मनके भन्ने मनकुमार राईलाई धाराबाट खानेपानी लिई घरतर्फ आइरहेको अवस्थामा मिति २०७०।१।२५ गते साँझ १८:०० बजेको समयमा यी प्रतिवादी फिच्चु भन्ने रामकुमार राईले घर परिवारसँगको जग्गाको विवाद एवं रिसइवी लिई निजले बोकी ल्याएको धारिलो खुकुरी टाउको तथा अनुहारमा पटकपटक प्रहार गरी कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसुरमा सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा सुरू धनकुटा जिल्ला अदालतले अभियोग दाबीबमोजिम प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको फैसला पुनरावेदन अदालत, धनकुटाले सदर गरेकोमा प्रतिवादीको तर्फबाट पुनरावेदन नपरेको र साधकको रोहबाट प्रस्तुत मुद्दा दर्ता हुन आएकोले साधकको रोहबाट हेरी पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको छ, छैन ? भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. मृतक वर्ष ११ को मनके भन्ने मनकुमार राईलाई खानेपानी लिई आउँदै गरेको अवस्थामा मिति २०७०।१।२५ गते बेलुका अं. ६ बजेको समयमा प्रतिवादी फिच्चु भन्ने रामकुमार राईले धारिलो हतियार खुकुरीले काट्न थालेपछि सँगै गएकी अनिषा राई त्यहाँबाट डरले भागेकी र निज राम कुमारले संवेदनशील अंग टाउकोमा काटी मारी दिएको हुँदा ज्यानसम्बन्धी महलको कसुर गरेकोमा सजाय गरिपाउँ भन्ने धनकुमारी राईले प्रतिवादीउपर किटानी जाहेरी दिएकोमा सो कुरालाई पुष्टि गरी अदालतमा बकपत्र गरेको पाइन्छ । लासजाँच प्रकृति मुचुल्कामा दाहिने निधारमाथि चल्नीमा ५ इन्च चौडाइ १ इन्च लम्बाइ र १ इन्च गहिरो धारिलो हतियारले काटेको चोट देखिएको हड्डीसमेत काटिएको अवस्था देखिएको, दाहिने गालामा २ इन्च गहिरो ६ इन्च लम्बाइ १½ इन्च चौडाइ भएको धारिलो हतियारले काटीभित्रको हड्डीसमेत काटेको चोट देखिएको, चिउँडोको दाहिने भागदेखि दाहिने कान मुनिको भागसम्म ७ इन्च लम्बाइ ३ इन्च चौडाइ २ इन्च गहिरो धारिलो हतियारले काटेको चोट भएको देखिएको भन्ने उल्लेख भएको देखिन्छ । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Hypovolemic shock due to hemorrhage due to trauma over face and head भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । मृतक मनकुमार राईलाई प्रतिवादी फिच्चु भन्ने रामकुमार राईले खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको हो भनी घटना विवरण कागज गर्ने चश्मदिद गवाह अनिषा राईले अदालतमा समेत उपस्थित भई बकपत्र गरेको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयानमा जाहेरवालाको छोरा मृतक मनके भन्ने मनकुमार राई प्लास्टिकको ग्यालेनमा खानेपानी बोकी घरतर्फ जाँदै गर्दा मैले निजलाई पानी लिएर आएको भनी राम्रै वचनले सोध्दा निजले जेसुकै ल्याउँ रन्डीका बाहान तँलाई के खाँचो, भन्दै मलाई गाली गर्यो, पानी बिसाई मसँग झगडा गर्न आई मेरो अनुहारमा कोतरी दियो मलाई रिस उठेर मैले बोकेको खुकुरी निकाली निज मनके भन्ने मनकुमार राईको दाहिने चल्लीमा धारपट्टिबाट एक चोटी हिर्काए र निज भुँइमा लडेपश्चात्‌ निजको दाहिने गालामा खुकुरीको धारपट्टिबाट चार पटक हानेँ निज बेहोस भएपश्चात्‌ घटनास्थल नजिकै रहेको सानु खाल्डोमा लडाई घर गएँ, निजलाई म आफैँले काटी मारेको हो भनी आरोपित कसुर गरेको तथ्यमा साबित रही बयान गरेको पाइन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा पनि मनकुमार राईले के ल्याएको देखिस् भनी गाली गरेको स्वरमा भनेको हुँदा रिस उठी सम्हालिन नसक्दा मेरो हातमा भएको खुकुरी निजको घाँटीमा प्रहार गरे र निज भुइँमा पछारिएपश्चात्‌ फेरि दुइपटक प्रहार गरी मैले हत्या गरेको हो । मैले रिसको झोकमा मनकुमार राईलाई काटेर मारेको हो भनी कर्तव्यको कसुर गरेकोमा साबित भएको देखिन्छ । मृतक मनके भन्ने मन कुमार राईलाई मारेको तथ्यमा मौका तथा अदालतमा प्रतिवादी फिच्चु भन्ने रामकुमार रार्इ साबित नै रहेको र सो साबिती बयानलार्इ जाहेरी दरखास्त, प्रत्यक्षदर्शी अनिषा राईको अदालतको बकपत्र, लासजाँच मुचुल्का, शवपरीक्षण प्रतिवेदनसमेतले समर्थित भएकोले यी प्रतिवादी फिच्चु भन्ने रामकुमार रार्इले मृतकलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको कुरा निर्विवादरूपमा पुष्टि भएको पाइन्छ ।

३. अब प्रतिवादी फिच्चु भन्ने रामकुमार रार्इलार्इ के कुन कसुरमा के कुन सजाय हुने हो भनी हेर्दा यी प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी हिर्काई मारेको भन्ने प्रतिवादीको अदालतको बयान व्यहोरामा उल्लेख गरेका छन् तथापि यी प्रतिवादीले मौकामा तथा अदालतसमक्ष बयान गर्दा जग्गासम्बन्धमा बारम्बार जाहेरबाली घर परिवारसँग बारम्बार झैझगडा भएको कुरालाई स्वीकार गर्दै मृतक गाली गरेको स्वरमा बोली निहुँ खोजेकोले पहिलेको रिसइवी सम्झी रिस थाम्न नसकी मारेको भनी बयान गरेको पाइन्छ । मृतक नाबालक रहेबाट हतियारसमेत बोकी हिँडेका जवानी अवस्थाका प्रतिवादी फिच्चु भन्ने रामकुमार रार्इसँग निज नाबालक मृतकले निहुँ खोज्ने अवस्थाको देखिँदैनन् । घटनाका प्रत्यक्षदर्शी अनिषा राईले गरेको मौकाको कथन व्यहोरा तथा अदालतको बकपत्रमा पनि मृतकले प्रतिवादीसँग निँहु खोजेको भन्ने 

देखिँदैन । त्यस्तै मृतकले के ल्याएको देखिनस् भनी गाली गरेको स्वरमा जवाफ दिएको हुँदा रिस उठी सम्हालिन नसकी हानेको भन्ने प्रतिवादीको भनाइ रहे पनि मृतकको शरीरमा परेका चोटहरू सामान्य देखिँदैनन् भने प्रहार भएको हतियार जोखिमी हतियार खुकुरी देखिन्छ । त्यस्तै  प्रतिवादीले हातमा भएको खुकुरीले मृतकको घाँटीमा प्रहार गरी निज भुँइमा पछारिएपश्चात्‌ पनि २ पटक प्रहार गरी हत्या गरेको भन्ने देखिन आएकाले मृतकउपरको प्रहार पनि निर्ममतापूर्वकका देखिन्छन् । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा "ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले खुकुरी जस्तो जोखिमी हतियारले नाबालक अवस्थाका मृतकलाई पटकपटक प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको देखिँदा यस किसिमका जोखिमी हतियारको प्रयोग र नाबालकउपरको निर्ममतापूर्वक हत्या ज्यानसम्बन्धीको १४ नं. भित्र पर्ने देखिन आउँदैन । नाबालक माथि भएको यस किसिमका क्रुर साङ्घातिक र बाबुआमासँगको रिसइवीमा गरेको हत्या देखिन आएकोले यी प्रतिवादीलाई कम सजाय हुनु कुनै पनि आधार, कारण र औचित्यता देखिँदैन । 

४. वस्तुत: जोखिमी हतियार खुकुरी प्रहार गरी हत्या गरेको कुरा प्रतिवादी स्वयम्‌ले मौका तथा अदालतमा स्वीकार गरेको, सो तथ्यलाई मिसिल संलग्न प्रत्यक्षदर्शी अनिषा राईको बकपत्र शव परीक्षणसमेतबाट पुष्टि भइरहेको र नाबालकले केही भनेको भन्ने आधारमा सामान्य सहनशीलता (normal degree of tolerance) नअपनार्इ नाबालकउपर जोखिमी हतियारले संवेदनशील अङ्गमा निर्ममतापूर्वक पटकपटक प्रहार गरेको कार्य मनसायपूर्वक देखिन आएकोले रिस उठी थाम्न नसकी मारेको भन्ने प्रतिवादीको प्रतिरक्षाको आधार बन्न सक्दैन ।

५. अतः माथि विवेचित कारण र आधारहरूबाट यी प्रतिवादी रामकुमार राईले नाबालक अवस्थाका मृतक मनके भन्ने मनकुमार राईलाई कर्तव्य गरी मारी ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर गरेको कुरा पुष्टि भएको हुँदा यी प्रतिवादी फिच्चु भन्ने रामकुमार राईलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‌याई सुरू धनकुटा जिल्ला अदालतबाट मिति २०७०।३।१७ मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।१०।८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । यो मिसिलको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृतः हर्कबहादुर क्षेत्री

इति संवत्‌ २०७२ साल फागुन ९गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु