निर्णय नं. ९७९१ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७३।८।१४
मुद्दाः कर्तव्य ज्यान
०६९-CR-०९२५
पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको हरिबहादुर विश्वकर्मा
विरूद्ध
प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार
०६९-CR-०९५०
पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको राजकुमार वि.क.
विरूद्ध
प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार
०६९-CR-०९५१
पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको प्रेमबहादुर स्याङ्तान
विरूद्ध
प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार
०७०-CR-००५५
पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार पर्सा वीरगञ्जमा थुनामा रहेकी वर्ष ४० की साइलीमाया विश्वकर्मासमेत
विरूद्ध
प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार
०७०-CR-०९४९
पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको काजी भन्ने हरिबहादुर विश्वकर्मा
विरूद्ध
प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीहरूसमेत मिली बोक्सीको आरोपमा चरम र निर्मम यातना दिएका छन् । ह्यामर, काँटी, लाठी, कैँची जस्ता हतियार तथा लाठी, लात, मुक्काको प्रयोग गरी यातना दिने कार्य भएको छ । सिस्नु लगाइएको छ, कपाल खौरिएको छ, मानव मलमूत्र खुवाइएको एवं शरीरभरी दलिएको छ । मानवलाई दिने निकृष्ठ र पशुवत यातना यो भन्दा अरू के हुनसक्छ ? सामान्य मानिसको समझ (reasonable person test) बाट हेर्दा यस्तो चरम यातना दिँदा यातना पाउनेले सहन सक्दैन, उसको मृत्यु हुनसक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । रातैभरी एउटी महिलालाई सबै मिली कुटपिट यातना दिने कार्य गर्दा ज्यानसम्बन्धीको ५ नं.मा उल्लेख भएजस्तो आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था प्रस्तुत वारदातमा देखिन नआएको हुँदा भवितव्य कसुर कायम हुनुपर्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।
(प्रकरण नं.१०)
कुनै पनि मानिसमाथि बोक्सीको आरोप लगाउने कार्य कानूनले निषिद्ध गरेको छ भने सो प्रकृतिको आरोप लगाई मानिसको कपाल काट्ने, मानव मलमूत्र खुवाउने, कुटपिट गर्ने, यातना, प्रताडित गर्ने जस्ता कार्य अमानवीयसमेत भएकोमा दुईमत हुन सक्दैन । मानव समाजमा अन्धविश्वासको रूपमा रहेको बोक्सा बोक्सी जस्तो मान्यता निर्मूल गर्न कानून बनाएर मात्र प्रयाप्त हुँदैन । यस्तो क्रियाकलाप विरूद्ध कडा दण्ड नीतिसमेत अपनाउन आवश्यक रहेकोले सोहीअनुरूप कठोर सजाय पनि गर्न आवश्यक हुने ।
(प्रकरण नं.११)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय सानुमैया डंगोल र विमला यादव
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३), १३(४)
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टेक नारायण कुँवर
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री बम कुमार श्रेष्ठ
फैसला
न्या. ओमप्रकाश मिश्र : मिति २०६७।२।२ को बिहान अं. ५ बजेको समयमा काजी भन्ने हरिबहादुर विश्वकर्मा, निजको श्रीमती साइलीमाया विश्वकर्मा, निजको छोरा राजकुमार विश्वकर्मा, देवमाया लामा, प्रेमबहादुर स्याङ्तानसमेतले मेरी श्रीमती निरमाया स्याङ्तानलाई बोक्सीको आरोप लगाई मेरै घरमा कपाल काट्ने, सिस्नो लगाउने, मानिसको दिसा पिसाब खुवाउने, कुटपिट गर्नेलगायतको कार्य गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको पूर्णसिंह स्याङ्तानको जाहेरी दरखास्त ।
जिल्ला मकवानपुर, गा.वि.स. डाँडाखर्क, वडा नं. ७, सानो डाँडाखर्कस्थित पूर्णसिंह स्याङ्तानको घरको पिँढीमा सेतो कपडाले छोपी राखेको लासको वरिपरी फलामको हम्मर, कैंची, सिस्नो, दिसा पिसाबको घोलसहितको कचौरा, लठ्ठी र काटेको कपालसमेत छरिएको अवस्थामा रहेको, मृतक निरमाया स्याङ्तानको लासको टाउकाको कपाल काटेको, शरीरभरी मानिसको मलमूत्र लागेको, रातो, नीलो डामहरू रहेको, नाक मुखबाट रगत बगिरहेको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लास प्रकृति मुचुल्का ।
टाउकोको चोटको कारण निरमाया स्याङ्तानको मृत्यु भएको भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
जाहेरवालाको कुहिनोसमेतमा घिसारेको घाउ चोट रहेको भन्नेसमेत व्यहोराको जाहेरवाला पूर्णसिंह स्याङ्तानको घाउजाँच केस फाराम ।
मेरो छोरी निरमाया स्याङ्तानलाई कर्तव्य गरी मारेको भन्ने जानकारी पाई मिति २०६७।२।२ को बिहान छोरीको घरमा जाँदा छोरी मृत अवस्थामा रहेकी, घटनास्थल वरिपरि कैंची, काटेको कपाल, सिस्नो, दिसापिसाब, लठ्ठीसमेत छरिएको अवस्थामा रहेको देखेको हुँदा छोरीको मृत्युको सम्बन्धमा बुझ्दा सोधपुछ गर्दा रामबहादुर स्याङ्बो, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान, देवमाया लामा, जीवन मोक्तान, इन्द्रबहादुर मोक्तान, जोगबहादुर स्याङ्तानसमेत भई मेरो छोरी निरमायालाई बोक्सीको आरोप लगाई मिति २०६७।२।१ को बेलुकादेखि निजकै घरमा कपाल काट्ने, सिस्नो लगाउने, दिसापिसाब खुवाउने, कुटपिट गर्ने कार्य गरी रातै भरी यातना दिएको कारणबाट मिति २०६७।२।२ को बिहान अं. ५ बजे छोरीको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सुनमाया घलानको कागज ।
जाहेरवाला पूर्णसिंह स्याङ्तानको श्रीमती निरमाया स्याङ्तानलाई बोक्सीको आरोप लगाई काजी भन्ने हरिबहादुर विश्वकर्मा, साइलीमाया विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान, देवमाया लामा, जीवन मोक्तान, इन्द्रबहादुर मोक्तान, जोगबहादुर स्याङ्तान, रामबहादुर स्याङ्वोसमेतले मिति २०६७।२।१ को बेलुकादेखि २०६७।२।२ को बिहानसम्म सिस्नो लगाउने, मानिसको दिसापिसाब खुवाउने, कुटपिट गर्ने कार्य गरी कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिसहरूले गरिदिएको एकै मिलानको घटना विवरण कागज ।
जाहेरवालाको श्रीमती निरमायाले साइलीमाया विश्वकर्मालाई जाँडमा बोक्सी लगाई खान दिएको कारण बिरामी भएँ भनी बताएकी हुँदा मसमेत भई निज निरमायालाई निजकै घरमा बोक्सीको आरोपमा मिति २०६७।२।१ को बेलुका अं. ५ बजेदेखि भोलिपल्ट बिहान अं. ४.३० बजेसम्म बोक्सी कायल गराउन भनी सिस्नो लगाउने, मानिसको दिसा खुवाउने, कपाल काट्ने, कुटपिट गर्नेलगायतको कार्य गर्दागर्दै निरमायाको मृत्यु भएको हो । निरमायालाई बोक्सीको आरोपमा कारवाही गर्नुपर्छ भनी मानिस जम्मा गर्ने, कारवाही सुरू गर भनी बचन दिने पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्वो हुन् र निरमायालाई पहिला हात छाड्ने म हुँ । मैले निजको कपाल समाती टाउको पटकपटक भुँइमा ठोक्काएको र किला ठोक्नु पर्यो भनी सानो बन्चरो मगाएको हो । हरिबहादुर, राजकुमार र प्रेमबहादुरले कपाल काटेको, निर्ममरूपमा लाठी, लातमुक्कासमेतले टाउको, छातीसमेतमा प्रहार गरेको हो । कुटपिट यातना दिने अन्य व्यक्तिहरू जोगबहादुर स्याङ्तान, जीवन मोक्तान र अन्तरे भन्ने इन्द्रबहादुर मोक्तान हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी देवमाया लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरी श्रीमती साइलीमाया विश्वकर्मालाई निरमाया स्याङ्तानले जाँडमा भेद गरी बोक्सी लगाई दिएकीले मिति २०६७।२।१ को बेलुका मसमेत निरमायाको घरमा भेला जम्मा भई सो विषयमा निरमायासँग सोधपुछ गर्दा इन्कार गरेकी हुँदा म, साइलीमाया वि.क, राजकुमार वि.क, देवमाया लामा, प्रेमबहादुर स्याङ्तान, पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बो, जोगबहादुर स्याङ्तान, जीवन मोक्तान, अन्तरे भन्ने इन्द्रबहादुर मोक्तानसमेत भई निज निरमायाको कपाल काट्ने, सिस्नो लगाउने, दिसापिसाब खुवाउने, कुटपिट गर्ने लगायतको यातना दिएको हो । कायल नभएको कारण रातैभरी कुटपिट यातना दिएको हो । मलगायत सबै जनाले टाउको लगायत स्थानमा प्रहार गरेको कारण २०६७।२।२ को बिहान ५ बजे निरमायाको मृत्यु भएको हो । सबैभन्दा पहिले बचन दिने रामबहादुर, हात छाड्ने देवमाया हो भन्नेसमेत व्यहोराको प्रतिवादी काजी भन्ने हरिबहादुर विश्वकर्माले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको
बयान ।
मसमेतले जाहेरवालाको श्रीमती निरमाया स्याङ्तानलाई बोक्सीको आरोप लगाई निजकै घरमा दिसा पिसाब खुवाउने, कपाल काट्ने, सिस्नो लगाउने, कुटपिट गर्ने लगायतको कार्य गरी कर्तव्य गरी मारेको हो । सबैभन्दा पहिला देवमायाले कपालमा समाती घुमाउने, लछारपछार गर्ने, टाउको ठोक्काउने, सिस्नो लगाउने, मानव मलमूत्र खुवाउने कार्य गरेको हो । त्यसपछि राजकुमार र मैले पटकपटक सिस्नु लगाउने काम गरेको हो । हरिबहादुर, राजकुमार र म भई कपाल काटी, लठ्ठी, लात, मुक्कासमेतले टाउको छातीलगायतमा प्रहार गरेको हो । देवमाया, हरिबहादुर, राजकुमार र मसमेतले मार्नुपर्छ भनी सल्लाह गरी बेहोस नहुँदासम्म यातना दिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर स्याङ्तानले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरी आमा साइलीमाया विश्वकर्मालाई निरमाया स्याङ्तानले जाँडमा भेदगरी बोक्सी लगाई दिएकी हुन् भनी मेरो आमाले भनेकीले मिति २०६७।२।१ को बेलुका मसमेत निरमायाको घरमा भेला जम्मा भई सो विषयमा निरमायासँग सोधपुछ गर्दा इन्कार गरेकी हुँदा निजलाई मार्नुपर्छ भनी हरिबहादुर, साइलीमाया, प्रेमबहादुर, देवमाया र मसमेत भई सल्लाह गरी बेहोस नभएसम्म यातना दिने, कुटपिट गर्ने गरेको कारण निरमायाको मृत्यु भएको हो । निजको कपाल काट्ने, सिस्नो लगाउने, दिसापिसाब खुवाउने, कुटपिट गर्ने लगायतको यातना दिँदा २०६७।२।२ को बिहान ५ बजे निरमायाको मृत्यु भएको हो । सोकार्यमा जोगबहादुर, रामबहादुर, जिवन, अन्तरे भन्ने इन्द्रबहादुरसमेत संलग्न छन् भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार विश्वकर्माले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको
बयान ।
निरमाया स्याङ्तानले मलाई २०६६ साल कार्तिकमा जाँड खान दिएकी र सो जाँड खाएपछि म बिरामी भएको हुँदा जाँडमा बोक्सी लगाई दिएकी कारण बिरामी भएको हो भनी सोही विषयमा छलफल गर्नुपर्यो भनी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बोले मसमेतलाई मिति २०६७।२।१ को साँझ जाहेरवालाको घरमा बोलाएको हो । त्यहाँ भेला जम्मा भएकामध्ये देवमाया लामाले कपालमा समाती टाउको जमीनमा ठोक्काएको र पछि कपाल काटेपछि पनि कुटपिट गरेको, हरिबहादुर वि.क., राजकुमार वि.क., प्रेमबहादुर स्याङ्तान, जोगबहादुर स्याङ्तान, अन्तरे भन्ने रामबहादुर स्याङ्बो, जीवन मोक्तान र इन्द्रबहादुर मोक्तानले निरमायालाई केरकार गर्ने, कपाल काट्ने, सिस्नो लगाउने, दिसा पिसाब खुवाउने, कुटपिट गर्ने कार्य गर्दागर्दै भोलिपल्ट मिति २०६७।२।२ बिहान अं. ५ बजेको समयमा निरमायाको मृत्यु भएको हो, म घटनास्थलमा भए तापनि मैले कुटपिट केही गरिनँ बरू यसरी अति भयो नगर भनेको हो । बचन दिने रामबहादुर स्याङ्बो, पहिला हात हाल्ने देवमाया हुन् । अन्यले कपाल काट्ने सिस्नो लगाउने, दिसा खुवाउने, कुटपिट गर्ने गरेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी साइलीमाया वि.क. ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
निरमाया स्याङ्तानले साइलीमायालाई जाँडमा बोक्सी लगाई दिएकी कारण बिरामी भएको हो भनी सोही विषयमा छलफल गर्नुपर्यो भनी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बोले मसमेतलाई मिति २०६७।२।१ को साँझ जाहेरवालाको घरमा बोलाई निजकै आदेशमा मसमेत देवमाया लामा, हरिबहादुर वि.क., साइलीमाया वि.क., रामबहादुर वि.क., प्रेमबहादुर स्याङ्तानले निरमायालाई केरकार गर्ने, कपाल काट्ने, सिस्नो लगाउने, दिसा पिसाब खुवाउने, कुटपिट गर्ने कार्य गर्दागर्दै भोलिपल्ट बिहान अं. ५ बजेको समयमा निरमायाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी जीवन मोक्तानले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
निरमाया स्याङ्तानले साइलीमायालाई जाँडमा बोक्सी लगाई दिएकी कारण बिरामी भएको विषयमा छलफल गर्नुपर्यो भनी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बोले मसमेतलाई मिति २०६७।२।१ गते साँझ जाहेरवालाको घरमा बोलाई निजकै आदेशमा देवमाया लामा, हरिबहादुर वि.क., साइलीमाया वि.क., राजकुमार वि.क., प्रेमबहादुर स्याङ्तान र मसमेतले निरमायालाई केरकार गर्ने, कपाल काट्ने, सिस्नो लगाउने, दिसा पिसाब खुवाउने, कुटपिट गर्ने कार्य गर्दागर्दै भोलिपल्ट मिति २०६७।२।२ को बिहान अं. ५ बजेको समयमा निरमायाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी जोगबहादुर स्याङ्तानले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
निरमाया स्याङ्तानले साइलीमायालाई जाँडमा बोक्सी लगाई दिएको विषयमा छलफल गर्नुपर्यो भनी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बोले मसमेतलाई मिति २०६७।२।१ को साँझ जाहेरवालाको घरमा बोलाएको र निजकै आदेशमा देवमाया लामा, हरिबहादुर वि.क., साइलीमाया वि.क., राजकुमार वि.क., प्रेमबहादुर स्याङ्तान र मसमेतले निरमायालाई केरकार गर्ने, कपाल काट्ने, सिस्नो लगाउने, दिसा पिसाब खुवाउने, कुटपिट गर्ने कार्य गर्दागर्दै भोलिपल्ट बिहान अं. ५ बजेको समयमा निरमायाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी इन्द्रबहादुर मोक्तानले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।२।१ को बेलुका अं.७ बजेको समयमा जाहेरवालाको घरमा मानिसहरू जम्मा भएको र हल्ला गरेको सुनी निजको घरमा जाँदा अन्तरे भन्ने रामबहादुर स्याङ्बो, अन्तरे भन्ने इन्द्रबहादुर मोक्तान, जीवन मोक्तान, जोगबहादुर स्याङ्तान, काजी भन्ने हरिबहादुर वि.क., साइलीमाया वि.क., राजकुमार वि.क., प्रेमबहादुर स्याङ्तान, देवमाया लामासमेतले निरमाया स्याङ्तानलाई बीचमा राखी घेरा हाली साइलीमायालाई बोक्सी लगाएको आरोप लगाई केरकार गरिरहेकोमा रोक्न खोज्दा रोक्न नसकी आफूलाई नै कुट्लान् भन्ने डरले घर गई भोलिपल्ट बिहान निज निरमाया मरिन् भनी गाउँमा हल्ला भएकोले जाँदा निजको मृत्यु भइसकेको देखी लासलाई सेतो कपडाले छोपेको र निजको माइती एवं प्रहरीमा खबर गरेको हो भन्ने सुकबहादुर घलान एवं निरमाया तामाङलाई अमानवीय तवरले ह्यामर, लाठी, हात, लात मुक्काले हानी, सिस्नुपानी लगाई, कपाल खौरी, दिसापिसाब खुवाई, कपाल काटी, रातभरी यातना दिई मारेका हुन् भन्ने सुनेको र घटनास्थलमा जाँदा ह्यामर, लाठी, दिसापिसाब घोलेको कचौरा, काटिएको कपाल, सिस्नुसमेत यत्रतत्र छरिएका, मृत शरीरभरी दिसापिसाब दलिएको अवस्थामा देखेको भनी सुकबहादुर घलान, युवराज लामा र दीपक योन्जनले गरेको घटना विवरण कागज ।
प्रतिवादी काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, देवमाया लामा र प्रेमबहादुर स्याङ्तानसमेतले निरमाया स्याङ्तानलाई बोक्सीको आरोपमा रातभरी विविध यातनासमेत दिई निजको शरीर थिलथिलो पारी टाउकोसमेतमा हम्मर, लाठीबाट गम्भीर चोट पुर्याई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुर अपराध गरेकोमा निज प्रतिवादीहरूलाई ऐ. को १३(३) नं. अनुसार सजाय गरिपाऊँ । प्रतिवादी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्तानले सो वारदात घटाउन उक्साउने तथा आदेश वचन दिने कार्य गरी सोही महलको १ नं. अनुसारको कसुर गरेकोमा निज प्रतिवादीलाई ऐ. को १३(४) नं. अनुसार सजाय गरिपाऊँ । प्रतिवादी साइलीमाया विश्वकर्माले मृतक निरमायाको ज्यान मार्ने कार्यमा प्रथम शुत्राधार भई मुख्य भई बचन दिई सोही महलको १ नं. को कसुर अपराध गरेमा निजलाई ऐ. को १३(४) अनुसार सजाय गरिपाऊँ । प्रतिवादी इन्द्रबहादुर मोक्तान, जोगबहादुर स्याङ्तान र जीवन मोक्तानसमेतले मृतक निरमायालाई बोक्सीको आरोपमा घेरा हाली केरकार गरी निजको कपाल मुड्ने, सिस्नो लगाउने कार्यमा संलग्न भई निजको जिउमा हात हाली मार्नेमा संयोग पारी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. को कसुर अपराध गरेकोमा निज प्रतिवादीहरूलाई सोही महलको १३(४) नं. अनुसार सजाय गरी उल्लिखित सबै प्रतिवादीहरूले बोक्सीको आरोपमा मृतक निरमायालाई अमानवीय व्यवहार गरी निर्दयी र निर्मम एवम् क्रूर यातनासमेत दिई मुलुकी ऐन, अदलको महलको १० (ख) नं. को कसुर गरेकोमा सोही महलको १०ख नं. मा उल्लिखित सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मिति २०६७।२।१ मा म आमा समूहको बैठकमा गएकोमा निज निरमाया पनि सोही बैठकमा आएकी र निजले मलाई बोक्सी भनी मानिस जम्मा गर्ने भनी काजी भन्ने हरिबहादुर विश्वकर्माले भनेको छ, मसँग तपाई पनि जाउँ भनी मलाई घरमा लगेकी हो । निजको घरमा हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान, साइलीमाया विश्वकर्मा, रामबहादुर स्याङ्वो थिए । सबैजना जम्मा भई हरिबहादुर विश्वकर्माले निज निरमायाले मेरो श्रीमतीलाई विष दिएर बिरामी पारेकी हुँदा निजलाई के गर्ने भनी गाउँलेहरूलाई भनेपछि कसैले गाउँबाट निकाल्नुपर्छ भने, कसैले कपाल काटी छाडिदिनु पर्छ भने, हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तानले कैंची ल्याई निजको कपाल काटी दिए । हामीहरू हेरी बसिरह्यौं । निरमाया र निजको श्रीमान् पूर्णसिंह स्याङ्तान घरभित्र पसी आफैँं विष खाएपछि निजहरू छट्पटाउन थालेपछि सबै जम्मा भएका गाउँलेहरूले समाउन लाग्दालाग्दै पीडित मृतकको पिँढीको डिलमा टाउको ठोक्किई मृत्यु भयो । सो समयमा जीवन मोक्तान, जोगबहादुर स्याङ्तान, इन्द्रबहादुर मोक्तानसमेत उपस्थित
थिए । मृतकको श्रीमान्लाई उपचार गरेपछि ठीक भएको हो । मैले कुटपिट गरेको, बोक्सी भनी अपशब्द बोलेको छैन । मार्ने कार्यमा मेरो संलग्नतासमेत नहुँदा अभियोगदाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी देवमाया लामाले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।२।१ दिउँसो ५ बजेको समयमा म आफ्नो घरमा रहेको अवस्था निरमाया र निजको श्रीमान् मेरो घरमा आई तपाइँको श्रीमतीले निरमायालाई बोक्सीको आरोप लगाएको विषयमा छलफल गर्न हाम्रो घरमा जानुपर्यो भनी भनेपछि गएँ । निजको घरमा देवमाया, प्रेमबहादुर स्याङ्तान, राजकुमार विश्वकर्मा, साइलीमाया विश्वकर्मा थिए । बिहान ४:३० बजेतिर निरमाया र निजको श्रीमान्ले भित्र गई फारकम खाएपछि बाहिर निस्केपछि निज निरमाया बलेसीमा आई घोप्टो परेर बसेकीमा भैंसीको गोबर, तेल र नुन राजकुमार र म भएर समाएर ख्वाएको हो । उसको श्रीमान्लाई पनि खुवाएकोमा निजलाई निको भयो । काँटी, हम्मर, कैंची र लाठी मेरो छोरो राजकुमारले ल्याएको हो । कसैले चुटेन । मेरो श्रीमती २०६६ साल कार्तिकदेखि बिरामी परेकी थिइन् । मेरो श्रीमतीले निरमायालाई बोक्सीको आरोप लगाएको विषयमा छलफल भएको हो । निरमायाको कपाल देवमायाले समाती मैले काटेको र देवमायाले निजको कपाल समाती पटकपटक जमीनमा टाउको ठोक्काई दिएको एवं सिस्नु लगाएको हो । बोक्सी हो कारवाही गर्नुपर्छ भनी सुरूमा रामबहादुर स्याङ्बोले भनेको हो । श्रीमती बिरामी पर्दा बिसेक नभएपछि बोक्सी लगाएको भन्नेमा विश्वास भयो र बोक्सी कबोल गर्दछन् कि भनेर हम्मरसमेत लगेको हो, कुटपिट गरेको छैन । निज निरमायाले मेरो श्रीमतीलाई बोक्सी लगाई दिएको
हो । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी काजी भन्ने हरिबहादुर विश्वकर्माले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।२।१ मा निरमायाले गाउँको मानिसहरू भेला जम्मा गरेको र मेरो आमासमेतलाई बोलाउनु भएकोमा मेरो आमालाई जाँडमा सेतो पाउडर मिसाएको हो भनी भनिन् र हामीले यो विष खाएको भए सोही बेलामा असर गर्नुपर्ने हो । अहिले किन पेट दुखेको भनी भन्दा निज आवेशमा आई मैले भेदेर यस्तो गरेको भनी भनेपछि यो बोक्सी हो, बोक्सीलाई चुल्ठो काटेपछि बोक्सी लाग्दैन भनेपछि देवमाया लामाले चुल्ठो समाई कैंची लिई चुल्ठो काट्न लागेपछि मैले, मेरो बुबा हरिबहादुर विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानले निजको कपालको चुल्ठो काटी दियौं । सो बखत जीवन मोक्तान, जोगबहादुर स्याङ्तान, इन्द्रबहादुर मोक्तान, रामबहादुर स्याङ्बोसमेत गाउँका धेरै मानिससमेत थिए । कपाल काटिसकेपछि निज निरमाया भित्र गई विष सेवन गरी बाहिर आई घोप्टो परी बसिन् । केही बेरमा उठी आफैँं लडेको हुँदा मसमेतले दही, गोबर, तेल मिसाई विष काट्न भनी खान दियौं । केहीबेर पछि निजको मृत्यु भयो । निजलाई कसैले पनि पिट्ने, मलमूत्र ख्वाउने कार्य गरेनन् । निज आफैँं विष सेवन गरी मरेकी हुन् । कैँची कपाल काट्न ल्याएको हो, हतौडी र किला तर्साउन ल्याएको हो । गाउँलेहरूले बोक्सी भनेपछि आफैँं विष सेवन गरी मरेकी हुँदा अभियोग मागदाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार विश्वकर्माले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।२।१ बेलुका ६ बजेको समयमा म आफ्नो घरमा रहेको अवस्था, निरमाया र निजको श्रीमान् मेरो घरमा आई तपाइँले मलाई बोक्सी भन्नुभयो रे, सो विषयमा छलफल गर्न मेरो घरमा जाउँ भनी भनेबाट म त्यहाँ जाँदा मेरो श्रीमान्, मेरो छोरा राजकुमार, देवमाया लामा, प्रेमबहादुर स्याङ्तान, जीवन मोक्तान, जोगबहादुर, इन्द्रबहादुर मोक्तान, पञ्च अन्तरे भन्नेसमेत थिए । त्यहाँ भेला भएकामध्ये देवमाया लामा र प्रेमबहादुर स्याङ्तानले यो बोक्सी हो भनी मृतक निरमायाको कपालमा समाई भुइँमा पछारी दिएको र निजको कपालसमेत काटिदिएको हो । सिस्नोले देवमायाले एकपटक हिर्काएको
हो । म निरमायाको घरको अलि पर बसेर हेरिरहेको थिएँ । रामबहादुर स्याङ्बोले निरमायाले बोक्सी लगाएको भन्नु भनी मलाई सिकाएको भएपनि मैले भनिन । कुटपिट गरेको हो, देवमायाले चुल्ठोमा समाई झार्दाखेरी लडेको हो । मैले कुट्नु हुँदैन भनेको हो । बिरामी भएको कारण छुटाउन जान सकिन । निरमाया र निजको श्रीमान् घरभित्र पसी मेटासिट खाई बाहिर निस्किए । त्यसपछि घोप्टो परेर बलेंसीमा निरमाया बसेकीले विष काट्नको लागि तेल, नुन, साबुन ख्वाएको देखेँ । अरूले के के ख्वाए मैले देखिन, म परै थिएँ । निको नभएपछि निरमायाको मृत्यु भएको हो । निजको श्रीमान्लाई निको भयो । निजलाई कुटपिट गरेको छैन, दिसा पिसाब ख्वाएको याद गरिनँ । मलाई सजाय हुने नहुने के हो थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी साइलीमाया विश्वकर्माले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।२।१ मा आमा समूहको बैठक थियो । रामबहादुर स्याङ्बोले निरमायाले साइलीमाया विश्वकर्मालाई भेद हालेर दिएको र सो विषयमा छलफल गर्नु पर्यो भनेपछि निरमाया र निजको श्रीमान भई साइलीमायालाई बोलाई ल्याई गाउँलेहरूले सोध्दा जाँडमा यो औषधी दिएको भनी १ पोका सेतो पाउडर ल्याउनुभयो । सोही विषयमा वादविवाद हुँदा देवमाया लामाले यो बोक्सीलाई चुल्ठो काट्नुपर्छ कपालको चुल्ठोमा समाई आँगनमा ल्याएपछि ल काट भनी कैंची दिएको हुँदा मैले चुल्ठो काटेँ । त्यसपछि हरिबहादुर विश्वकर्मा र राजकुमार विश्वकर्माले कपाल काटेपछि देवमाया लामाले मृतकलाई सिस्नोको मुठोले शरिरभित्र कपडा उठाई लगाइन् । मृतक रोई कराएको अवस्थामा निज देवमायाले मानिसको दिसा पिसाब घोलेर मृतकको मुखमा खुवाइन् । मृतकले नमानेपछि मृतकको शरीरमा खन्याई दिएकी हुन् । जीवन मोक्तान, जोगबहादुर स्याङ्तान, इन्द्रबहादुर मोक्तानसमेत थिए तर छुटाउन प्रयास गरेनन् । साइलीमाया पर
थिइन् । मृतकलाई कुटपिट गरेको छैन । सिस्नो लगाएपछि भित्र पसी विष सेवन गरी मुख छोपी बाहिर आइन् । हामीहरूले निजलाई बचाउनको लागि साबुनपानी, तेल, गाईको गोबरसमेत खुवाई बान्ता गराउन कोसिस गर्दा-गर्दैको अवस्थामा निजको मृत्यु भएको हो । मृतकलाई कुटपिट गरी मारेको होइन । ह्यामर, काँटी, सिस्नु र दिसापिसाब मैले र राजकुमारले ल्याएको हो । मैले कपाल काट्ने कामसम्म गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर स्याङ्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।२।१ बेलुका ५ बजेतिर म समूहको ऋण तिर्न भनी सोही गाउँको स्कुलमा गई ऋण तिरिसकेपछि निरमायाको घरमा छलफल गर्नुछ भनी जाहेरवाला पूर्णसिंहले भने । के को छलफल भन्दा साइलीमाया विश्वकर्माले मेरो श्रीमतीलाई बोक्सी भनी भनेकी छिन्, जाउँ भनी भनेपछि म, जोगबहादुर स्याङ्तान, इन्द्रबहादुर मोक्तानसमेत गई हेर्दा गाउँको अन्य मानिसहरूसमेत भेला भएका
रहेछन् । साइलीमाया विश्वकर्मासमेत आएपछि निरमायालाई साइलीमाया विश्वकर्माले मलाई औषधी हाली खान दिएको हुँदा बिरामी भएको भनी भनेपछि गाउँलेहरूले के औषधी हालिदिएको भनी सोधपुछ गर्दा निजले केही पनि नभनेपछि देवमायाले मृतकको कपालमा समाई भुइँमा टाउको ठोक्काई दिई यो बोक्सी हो, यसको चुल्ठो काट भनेपछि मैले मानिसलाई त्यस्तो अमर्यादित काम गर्न हुन्न भन्दा मलाई तँ पनि बोक्सीपट्टिको मानिस होस् भनी राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान, हरिबहादुर विश्वकर्माले भनेपछि कैंची ल्याई देवमायाले कपालको चुल्ठो समाउने, हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानले कपाल काटी सिस्नु लगाइदिए र मानिसको दिसापिसाब घोली शरीरमा खन्याई दिए । सो समयमा साइलीमाया अलि पर बसिरहेकी थिइन् । जोगबहादुर स्याङ्तान, इन्द्रबहादुर मोक्तानसमेत उक्त समयमा
थिए । रातको समय हुँदा म, इन्द्रबहादुर र जोगबहादुर घर जाउँ भनी घर गयौं । त्यहाँ देवमाया लामा, हरिबहादुर विश्वकर्मा, साइलीमाया विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान तथा निरमाया र निजको श्रीमान् पूर्णसिंह स्याङ्तान मात्र थिए । भोलिपल्ट बिहान ६ बजेतिर मात्र निरमायाको मृत्यु भयो भन्ने सुनेको हुँ । मैले मृतकलाई कुटपिट गरेको, मार्नुपर्छ भनेको होइन, मलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी जीवन मोक्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।२।१ का दिन गाउँमा बचत समूहको बैठक थियो । त्यस बैठकमा निरमाया र निजको श्रीमान्ले हरिबहादुर विश्वकर्माको श्रीमती साइलीमाया विश्वकर्माले बोक्सीको आरोप लगाएकोले सो विषयमा छलफल गर्नुपर्यो भनी गाउँको समूहमा भेला भएका मानिसहरूलाई भनी हरिबहादुरको श्रीमती, हरिबहादुर, निजको छोरा एवं थुप्रै गाउँलेहरूसमेत भई निरमायाको घरमा सो विषयमा छलफल भयो । हामी प्रतिवादी बनाइएका मध्ये म, जीवन, साइलीमाया, हरिबहादुर वि.क., राजकुमार वि.क., देवमाया लामा, प्रेमबहादुर स्याङ्तान, इन्द्रबहादुरबाहेक अरू एकदुई घण्टा बसी घर गए । यो बोक्सी हो भनी देवमायाले निरमायाको कपाल समाती लडाएको र प्रेमबहादुर, हरिबहादुर विश्वकर्मा, राजकुमारले निरमायाको कपाल काटिदिएको हो । मैले यस्तो गर्न हुँदैन भन्दा मानेनन् । मृतकलाई मैले कुटपिट गरेको छैन, सिस्नोपानी लगाएको पनि देखिन । राति २/३ बजेको समयमा मृतक निरमायालाई लडाई देवमाया, हरिबहादुर, प्रेमबहादुर र राजकुमारले कपाल काटेर शरीरभरी दिसा छरिदिएपछि निज निरमाया पानी खान्छु भनी घरभित्र जाँदा घरभित्रबाट विष सेवन गरी मुखमा कपडाले छोपेर बाहिर पिँडीमा आई बसेपछि निजले विष खाएको हो भनेर हरिबहादुर, राजकुमार र प्रेमबहादुरले गोबर, तेल, नुन, दही खुवाई दिएको हो । बिहान ४/५ बजेको समयमा निरमाया त्यहीं मरेको हो, कुटपिट गरेको होइन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी जोगबहादुर स्याङ्तानले सुरू मकवानपुर जिल्ला अदालत गरेको बयान ।
मिति २०६७।२।१ मा निरमायाले साइलीमाया विश्वकर्मालाई भेद गरी बिरामी भएकोसम्बन्धमा छलफल गर्न भनी गाउँलेहरू जम्मा भएको हुँदा म पनि गएको थिएँ । बोक्सी भनी निरमायालाई बकाउन भनी गाउँलेहरूले छलफल गरिरहँदा देवमायाले मृतकलाई चुल्ठोमा समाई भुइँमा निहुराई हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तानले कपाल काटिदिएपछि निजहरू चारजनाले मानिसको मलमूत्र खुवाई सिस्नोसमेत लगाई दिए । म पछाडि उभिरहेको थिएँ । मैले मानिस मर्न सक्छ, नकुट, यस्तो सिस्नु लगाउने, दिसा ख्वाउने काम राम्रो होइन भनी भन्दा निजहरूले मलाई तँ पनि बोक्सीको मान्छे होस् भनी कराएको हुँदा म घरमा गएँ । जीवन, इन्द्रबहादुर, रामबहादुर स्याङ्बो पनि थिए । भोलिपल्ट निरमायाको मृत्यु भयो भन्ने कुरा सुनी थाहा पाएको हो । आई हेर्दा बुझ्दा निज आफैँ विष खाई मरेको भनी भन्थे । मैले निजलाई कुटपिट गरेको, बोक्सी भनेको, मार्न आदेश दिएकोसमेत नहुँदा अभियोग मागदाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी इन्द्रबहादुर मोक्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मेरो श्रीमतीलाई बोक्सीको आरोप लगाई पहिला देवमायाले कपालमा समाती मुन्ट्याई, घोक्र्याई पिटेको, त्यसपछि हरिबहादुर विश्वकर्माले सिस्नुपानी लगाएर हानेको र दिसा ल्याई घोलेर देवमायाले ख्वाएको, हरि विश्वकर्माले कपाल काटी राजु विश्वकर्मा, प्रेमबहादुर स्याङ्तानसमेतले कपाल मुन्डन गरी दिएको, प्रेमबहादुरले पनि दिसा पिसाब ख्वाएको, साइलीमायाले बोक्सीको आरोप लाएको हो । त्यसपछि मेरो श्रीमती निरमाया बेहोस भएको, म पनि बेहोस
भएछु । बोक्सीको आरोपमा कुटपिट भएर मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला पूर्णसिंह स्याङ्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मृतकलाई बोक्सीको आरोप लगाई मानव मलमूत्र खुवाई सिस्नु लगाई, कपाल काटी, कुटपिटसमेत गरी हाल थुनामा रहेका प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्ने कुरा सुनेर जाँदा घटनास्थलमा सिस्नुको थुप्रो, दिसा पिसाबले मुखभरी लेपी दिएको, लाठीहरू पनि थियो । मृतकको मृत्यु भइसकेको थियो, कपाल काटिएको, टाउको, हात, पाखुरामा निलडाम रहेको र मुखबाट रगत बगिरहेको थियो । मृतकलाई प्रतिवादी देवमाया, हरि विश्वकर्मा, साइली विश्वकर्मासमेतका ५ जना मानिसहरू मिली कुटपिट गरी दिसापिसाब ख्वाई बेहोस बनाई मृत्यु भइसकेको रहेछ भन्नेसमेत व्यहोराको घटना विवरणमा कागज गर्ने मानिसहरू दिपक योन्जन र सुनमाया घलानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको छुट्टाछुट्टै बकपत्र ।
प्रतिवादी साइलीमाया विश्वकर्मा पहिलादेखि नै बिरामी भएकी थिइन् । जाहेरवालाको श्रीमतीलाई बोक्सीको आरोप लगाएको विषयमा छलफल भयो । सबै समूहका मानिसहरू थिए, देवमायाले मृतकलाई मानव मलमूत्र ख्वाएकी थिइन् । साइलीमाया विश्वकर्मा, इन्द्रबहादुर मोक्तानसमेतले यस्तो मलमूत्र ख्वाउने, कुटपिट गर्नु हुँदैन भनेका थिए । मृतकको मृत्यु २०६७।२।१ को भोलिपल्ट बिहान ६ बजेतिर भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी साइलीमाया विश्वकर्मासमेतका साक्षी माइलीमाया स्याङ्तानले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी जीवन मोक्तान निर्दोष हुँदा अभियोगदाबीबाट सफाई पाउनु पर्दछ । बोक्सीको आरोपमा छलफल हुँदा निज आएका रहेछन् । निजले कसैलाई केही भनेका र केही गरेको मैले देखिन भन्नेसमेत व्यहोराको प्रतिवादी जीवन मोक्तानका साक्षी सुकबहादुर घलानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
म घटनास्थलमा थिएन । प्रतिवादी हरी र राजकुमारले आरोपित कसुर गरे नगरेको विषयमा मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी काजी भन्ने हरिबहादुर विश्वकर्मासमेतका साक्षी गणेश विश्वकर्माले सुरू अदालतमा गरेको बकपत्र ।
जोगबहादुर छलफलमा गएको मात्र
हो । उसले मृतकलाई केही पनि गरेको छैन । सफाई पाउनुपर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी जोगबहादुर स्याङ्तानको साक्षी वीरबहादुर स्याङ्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रेमबहादुरले निरमायाको कपालसम्म काटिदिएको हो, उसले मारेको होइन, सफाई पाउनु पर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर स्याङ्तानका साक्षी रामबहादुर स्याङ्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू जोगबहादुर स्याङ्तान, जीवन मोक्तान र प्रेमबहादुर स्याङ्तानलाई जाहेरवालाले बोक्सी भनेको सम्बन्धमा छलफल गर्न बोलाएकोमा घटनास्थलमा गई कुरा सुनेर बसेको हो । प्रेमबहादुरले कपालसम्म काटेको हो । हातपात कुटपिट नगरेकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी जीवन मोक्तान, प्रेमबहादुर स्याङ्तान, जोगबहादुर स्याङ्तानका साक्षी सूर्यबहादुर स्याङ्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
फरार प्रतिवादी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बोका हकमा अ.बं. १९० नं. बमोजिम मुल्तबीमा राखिदिएको छ । प्रतिवादीहरू मध्ये देवमाया लामा, हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रतिवादी प्रेमबहादुर स्याङ्तानको हकमा अभियोग दाबीअनुसारको कसुर अपराध गर्नमा सक्रिय संलग्नता रहेको प्रमाणबाट पुष्टि हुन आएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. को कसुरमा सोही महलको १३(३) नं.अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अर्का प्रतिवादी साइलीमाया विश्वकर्मालाई ज्यानसम्बन्धीको १ नं. र १३ (४) नं. अनुसारको कसुर गरेको प्रमाणित हुन आएकोले सोही ऐनको १३(४) नं. अनुसार जन्मकैद हुने ठहर्छ । अन्य प्रतिवादीहरू जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तानको हकमा घटनास्थलमा उपस्थित रहेको तथ्यमा समर्थित भएको तर अरू कुरा केही नगरी हेरिरहेको भन्ने पुष्टि हुन आएकोले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ (३) नं. अनुसार जनही १ वर्ष ८ महिना कैद सजाय हुने ठहर्छ । प्रतिवादीहरू मध्येका देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान र साइलीमाया विश्वकर्मालाई अदलको १०ख नं. मा उल्लिखित कसुरसमेत गरेको कारणबाट मृतकको मृत्यु भएको देखिएको हुँदा प्रतिवादीहरू मध्येका देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान र साइलीमाया विश्वकर्मालाई सोही अदलको महलको १०ख नं. बमोजिम जनही २ वर्ष कैद र रू. २५,०००।- जरिवानासमेत हुने ठहर्छ । अन्य प्रतिवादीहरू जोगबहादुर स्याङ्तान, जीवन मोक्तान र इन्द्रबहादुर मोक्तानलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय हुने ठहर भएको परिप्रेक्ष्यमा अदलको १०ख नं. को अभियोगदाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६८।१०।२ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा आरोप लगाइएको म प्रतिवादीले मार्न वचन दिएको मिसिलमा कहींँकतैबाट नदेखिएको परिप्रेक्ष्यमा तथ्य, प्रमाण, कानून र नजिरसमेत नहेरी प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा मुलुकी ऐन, अ.बं. १८४ नं., १८५ नं. समेतको व्यवस्थाविपरीत गरिएको फैसला उल्टी गरी अभियोगदाबीबाट सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी साइलीमाया विश्वकर्माको पुनरावेदन पत्र ।
सुरू मकवानपुर जिल्ला अदालतबाट प्रमाणको सही मूल्याङ्कन नगरी, वादी पक्षले प्रमाणको भार पूरा नगरेको अवस्थामा पनि मलाई आरोपित कसुरमा बिना आधार सर्वस्वसहित जन्मकैद र थप २ वर्ष कैद तथा रू. २५,०००।- जरिवानासमेत हुने ठहर्याएको फैसला संविधान, कानून, नजिर र न्यायका मान्य सिद्धान्तसमेतको प्रतिकूल भई त्रुटिपूर्ण हुँदा बदर गरी अभियोगदाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी हरिबहादुर विश्वकर्माको पुनरावेदन पत्र।
प्रतिवादी जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तान अभियोग दाबीअनुसारका कसुरदार हुन् भनी गडाउ गर्ने प्रमाण सह-अभियुक्तको पोल, सुनमायासमेतको मौकाको कागज र बकपत्र, मौकाको साबिती बयान आदिहरूबाट पुष्टि भइरहेको तथ्यलाई नहेरी प्रतिवादीको कसुरबाट बच्ने उद्देश्यले गरिएको इन्कारी बयानमा भर गरी कर्तव्य ज्यानको कसुरमा कम सजाय गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । यसैगरी यी उल्लिखित प्रतिवादीहरूलाई अदलको महलको १०ख नं. को कसुरबाट सफाई दिएको फैसला विरोधाभाषपूर्ण रहनुको अलावा अदलको १०ख नं. को कसुरमा यी प्रतिवादीहरूको संलग्नता पुष्टि गर्ने प्रमाणहरू (जाहेरी दरखास्त र जाहेरवालाको बकपत्र) सबै प्रतिवादीहरूको मौकाको साबिती बयान, मौकामा कागज गर्ने तथा घटना विवरण मुचुल्काका मानिसहरूको भनाई एवं बकपत्र, जाहेरवालाको घाजाँच केस फाराम, घटनास्थल एवं लास प्रकृति मुचुल्का आदितर्फ नहेरी, लाग्ने प्रमाण नलगाई प्रमाण ऐन, २०३१ को दफा ८, १०, १८ र ५४ को त्रुटि गरी भएको फैसला यी प्रतिवादीहरूका हकमा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
अभियोगमा उक्साउने तथा आदेश दिनेमा रामबहादुर स्याङ्बो हो भन्ने दाबी छ । निजमाथिको अभियोग मिसिलबाट प्रस्ट छ । मैले कुनैपनि कार्य गरी ज्यान मार्नमा सहयोग पुर्याएको छैन । यस्तो अवस्थामा सुरूले म आमा समूहको महिलाउपर आकृष्ट नहुने दाबी लिई मलाई अन्य प्रतिवादीसरह राखी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय तथा मुलुकी ऐन, अदलको १०ख नं. बमोजिमको कुनैपनि कसुर मबाट नभएको हुँदा उक्त ऐनबमोजिमसमेत मलाई सजाय भएको ठहर फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी देवमाया लामाको पुनरावेदन पत्र ।
मेरो प्रहारले नै निरमायाको मृत्यु भएको ठहर भएको फैसलामा मेरो बिमती हो । निजलाई मार्नको लागि म पुनरावेदकले कुनैपनि हतियार प्रयोग गरेको छैन । मेरै प्रहारबाट निजको मृत्यु भएको भनी निष्कर्षमा पुग्ने कुनैपनि प्रमाण मिसिलमा छैनन् । जाहेरवालाले सो घटनाका बारेमा प्रस्ट उल्लेख गरी पुष्टि गर्न नसकेको हुँदा सुरू मकवानपुर जिल्ला अदालतबाट भएको फैसला नमिलेको हुँदा बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार विश्वकर्माको पुनरावेदन पत्र ।
म प्रतिवादीको प्रस्तुत मुद्दाको वारदातको कुन कार्यले गर्दा निरमायाको मृत्यु भएको हो भन्ने कुरा उल्लेख छैन । मार्ने कार्यमा मैले खेलेको भूमिका नै प्रस्टरूपमा उल्लेख नगरी सगोलमा दाबी गरिएको अभियोगबमोजिमको सजाय हुने अवस्था हुँदैन । जाहेरवालाले जाहेरी दिँदाको अवस्थामा म पुनरावेदकको नाम विरूद्ध खण्डमा उल्लेखसम्म गरेको कारणले मात्र सो जाहेरी किटानी हुने भन्ने
हुँदैन । सो हुनको लागि किटानी जाहेरीमा नाम उल्लेख भएको व्यक्तिले सो घटना वारदातमा के कुन कार्य गरी निरमायालाई मार्ने कार्य गरेँ सो कुनैपनि कुरा उल्लेख नभएको हुँदा सो जाहेरीलाई किटानी भनी फैसला गर्न मिल्ने अवस्था हुँदैन । जाहेरवालाको जाहेरी र सोअनुसारको बकपत्रलाई किटानीको संज्ञा दिई मलाई सजाय गर्न मिल्ने अवस्था नभएकोले सुरू फैसला बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर स्याङ्तानको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीहरू जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तानसमेतले मौकामा बयान गर्दा आफूसमेत भई मानिस बोलाई वारदातस्थलमा निरमायाको मृत्यु हुँदाको अवस्थासम्म उपस्थित रहेको, तर बोक्सीको आरोपमा निजलाई यातना दिने कार्य रोक्न कुनै प्रयास नगरेको र मृत्यु भइसकेपछि वारदातस्थलबाट भागी गएको भन्नेसमेतको व्यहोरा खुलाई बयान गरेको देखिएको, आफूसमेत आरोपित कसुरमा साबित भई बयान गर्ने अन्य प्रतिवादीहरू देवमाया लामाको मौकाको बयानको स.ज. २०, काजी भन्ने हरिबहादुर विश्वकर्माको मौकाको बयानको स.ज. २०, काजी भन्ने हरिबहादुर विश्वकर्माको मौकाको बयानको स.ज. ९, प्रतिवादी प्रेमबहादुर स्याङ्तानको मौकाको बयानको स.ज. २०, प्रतिवादी राजकुमार विश्वकर्माको मौकाको बयानको स.ज. २१ मा उल्लिखित व्यहोराले जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तानसमेतको संलग्नता देखिएको, प्रतिवादीहरू देवमाया लामा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान, जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तानसमेतको अदालतसमक्ष भएको बयानको स.ज. ३ मा उल्लिखित व्यहोरासमेतबाट सबै प्रतिवादीहरूको संलग्नता देखिएकोमा निज प्रतिवादीहरू जोगबहादुर, इन्द्रबहादुर र जीवन मोक्तानउपर मुलुकी ऐन, अदलको १०ख नं. को अभियोगदाबी नपुग्ने र निजहरूलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम मात्र सजाय हुनेसमेत ठहर्याई सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६८।१०।२ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिँदा प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।९।३ को आदेश ।
प्रत्यर्थी प्रतिवादीहरू जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तानसमेतले पुनरावेदन अदालत, हेटौंडामा पेस गरेको लिखित प्रतिवाद पत्र मिसिल संलग्न रहेको ।
प्रतिवादी साइलीमाया विश्वकर्मालाई ज्यानसम्बन्धी महलको १३(४) नं. तथा अदलको १०ख नं. बमोजिम र प्रतिवादी जोगबहादुर स्याङ्तान, जीवन मोक्तान र इन्द्रबहादुर मोक्तानलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला मनासिब नै देखियो । प्रतिवादीहरू देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको सो हदसम्म मकवानपुर जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई प्रतिवादीहरू देवमाया लामा, हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्मकैद र अदलको १०ख नं. ले दुई वर्ष कैद र रू. २५,०००।– जरिवानासमेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।११।२२ को
फैसला ।
प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी पक्षले शंकारहित रूपमा निर्विवादित ठोस सबुद प्रमाणबाट अभियोग दाबी पुष्टि गर्न सकेको छैन । प्रस्तुत मुद्दामा वादी पक्षले म प्रतिवादीउपर ज्यानसम्बन्धी महलको १ र १३(३) को अभियोग लगाएपनि निरमायासँग म प्रतिवादीको ज्यानै मार्नुपर्ने सम्मको रिसइवी रहेको तथा मार्नेसम्मको कार्य गरेको हो भनी तथ्ययुक्त र विश्वसनीय तवरबाट प्रमाण गुजार्न सकेको छैन।मिसिल संलग्न कागजातहरूबाट अधिकारप्राप्त अधिकारीसमक्ष गराइएको बयानलाई समर्थन र पुष्टि नभएको अवस्थामा प्रमाणमा ग्रहण गर्न
मिल्दैन । जाहेरवालाले आफूउपर लागेको लाञ्छना सहन नसकी आफैँं गाउँ समाजका व्यक्तिहरू बोलाई छलफल गराएको र छलफलबाट केही नभएपछि प्रतिवादीहरूले कायल गराउन यातना दिएको भन्ने व्यहोरा उल्लेख गरी कारवाही गरिपाउँ भन्ने सुरू जाहेरी व्यहोराबाटै देखिन्छ । केवल जाहेरीकै व्यहोराअनुसार घटनामा उपस्थित रहेको कारण मात्र दर्साइएको शंकाजन्य अभिव्यक्तिले मात्र ज्यान जस्तो गम्भीर अपराधमा दोषी कायम गर्न मिल्दैन । प्रति व्यक्ति प्रति प्रमाण एवं प्रत्यक्ष प्रमाणको अभावमा अनुमानित कथाको श्रृङ्खलाले मात्र दोषी करार गर्ने आधार बन्न सक्दैन भने घटना घटेको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसुर प्रमाणित पनि हुन सक्दैन । प्रस्तुत मुद्दामा अन्तरिम संविधानले प्रत्याभूत गरेका पक्राउ परेको व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने र आफ्नो कानून व्यवसायीद्वारा पुर्पक्ष गर्न पाउने एवं असमर्थ पक्षलाई निःशुल्क कानूनी सेवा पाउने हक म पुनरावेदकले अनुसन्धानको सिलसिलामा चरणमा उपभोग गर्न नपाएको अवस्था छ ।
सहअभियुक्तको पोल बयान र अनुसन्धान अधिकारीसमक्षको गैरन्यायिक साबितीबाहेक म पुनरावेदक प्रतिवादीले आरोपित कसुर गरेको देखिने कुनैपनि सबुत प्रमाण मिसिल संलग्न छैन । त्यसैगरी म पुनरावेदक प्रतिवादीको विरूद्ध बयान दिने सह-अभियुक्तलाई जिरह गर्न पाएको छैन । प्रमाण ऐन, २०३१ को दफा १० र ३७(२) अनुसार घटना घटदा घटनास्थलमा उपस्थित नरहेका घटनाको बारेमा पछि थाहा पाएका व्यक्ति सुकबहादुर घलान र दिपक योञ्जनसमेतको भनाई प्रमाणमा ग्रहण गर्न मिल्दैन । जाहेरवाला पूर्णसिंह स्याङ्तानले अदालतको बकपत्रमा समेत म प्रतिवादीको कसुर कायम हुनसक्ने कथन छैन । त्यसैगरी लोकलाजका कारण जाहेरवाला र निरमायाले घरभित्र प्रवेश गरी विषजन्य वस्तु सेवन गरेका कारण मृत्यु भएको भनी भन्नुका साथै जाहेरवालाले अदालत बकपत्रमा समेत आफू ३ घण्टासम्म बेहोस भएका भन्ने कथनबाट मृत्यु शारीरिक हस्तक्षेपको कारण हो वा विष सेवनबाट भएको भन्ने शंकास्पद अवस्थामा मृत्युको कारण यकिन नै नगरी लास परीक्षण गर्ने चिकित्सकलाई बुझ्दै नबुझी मलाई आरोपित कसुरमा बिना आधार सर्वस्वसहित जन्मकैद र अदलको महलको १०ख नं. बमोजिम २ वर्ष थप कैद र रू. २५,०००।– जरिवाना ठहर गर्ने गरी भएको फैसला र सो फैसलालाई केही उल्टी (जन्मकैद) र थप कैद र जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हरिबहादुर वि.क. को पुनरावेदन पत्र ।
म पुनरावेदकले आफूलाई लगाइएको अभियोगमा पूर्णरूपमा इन्कार रही बयान गरेको छु । घटनामा मेरो संलग्नता देखिने ठोस सबुद प्रमाण रहेको अवस्था छैन । मेरो मौकाको बयान मैले भनेबमोजिम लेखिएको होइन । मैले कसुर अपराधमा साबित भएर गरेको भनेको बयानमा समेत म आफूले निरमायालाई मार्नको लागि यस किसिमको भूमिका खेलेको थियो भन्ने कुरा खुलेको छैन । कुनै अन्य प्रतिवादीसमेतले सो कुरा देखाउन सकेको छैन । मृतक निरमायाको पति जाहेरवालाले जाहेरीमा अभियोजित कसुर अपराधमा मेरो के कस्तो संलग्नता थियो भनी उल्लेख गर्न सकेको अवस्था छैन । जाहेरवालाको सुरू अदालतमा गरेको बकपत्रमा राजु वि.क. ले कपाल काटीदिएको देखेको हो सो पछि म बेहोस भएकोले त्यसपछि के के भयो थाहा भएन भनी उल्लेख गरेको अवस्था छ । मेरो घटनास्थलमा भएको उपस्थितिको कुराले मात्र मलाई सजाय हुने अवस्था हुँदैन । घटना सम्बन्धमा केही कुराहरूको बारेमा स्वीकार गर्नु र उल्लेख गर्नु मात्रले अभियोजित सबै कुरा साबित भएको भनी मान्न मिल्ने अवस्था हुँदैन । हामी अत्यन्त सामान्य चेतनास्तर भएका मानिसहरू हौं । अझ पनि हाम्रो समाजमा भूतप्रेत र बोक्सी जस्ता कुरामा विश्वास गरी आएको विद्यमान सामाजिक अवस्थाको परिप्रेक्ष्यमा घटना घटेको छ । म पुनरावेदकले निरमायालाई मार्नुपर्ने कुनैपनि कारण, अवस्था, रिसइवी, मनसाय र योजना रहे भएको अवस्था छैन । घटनाको बारेमा भएको आफ्ना कुराहरू सत्य तथ्यरूपमा राख्नाले सजाय हुने अवस्था भएको छ । सहअभियुक्त साइलीमाया वि.क. पोललाई फैसलाको आधार बनाइएको सम्बन्धमा मेरो आमा निज साइलीमाया वि.क. बिरामी भएको कारण वारेमा निज निरमाया रहेको भन्ने भ्रम र अन्धविश्वासको जड कारणबाट सबै मिली छलफल गर्ने क्रममा बोक्सी बकाउने प्राचिनतम पद्धतिअनुरूप घटना भएको अवस्था निरमायाको मृत्यु भएको कुरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. अनुसार भवितव्य कसुर आकर्षित हुनुपर्ने हो । मुद्दाको अनुसन्धानको क्रममा बुझिएका मानिसहरू मृतकको आमा सुनमाया घलानले आफू घटनाको प्रत्यक्षदर्शी नभएकी भनी र मौकामा कागज गर्ने दिपक योन्जनले पनि सोहीअनुसारको कागज गरेको र अन्य मौकामा बुझिएका मानिसहरू अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्थासमेत नहुँदा सो प्रमाणलाई मेरो विरूद्धमा लिन मिल्ने
हुँदैन । मेरो साक्षी सूर्यबहादुर स्याङ्तानले अदालतमा उपस्थित भई गरेको बकपत्रबाट मेरो इन्कारीलाई समर्थन गरेको अवस्था छ । अदलको १०ख ले २ वर्ष कैद र रू. २५,०००।– जरिवानासमेत हुने ठहर्याएको सुरू फैसलालाई विवेचना नगरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा उल्टी गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार वि.क. को पुनरावेदन पत्र ।
म पुनरावेदक प्रतिवादीले आफूलाई लगाइएको अभियोगमा पूर्णरूपमा इन्कार रही बयान गरेको छु । घटनामा मेरो संलग्नता देखिने कुनैपनि ठोस सबुद प्रमाण रहे भएको अवस्था छैन । मेरो मौकाको बयान मैले भनेबमोजिम लेखिएको होइन । साबिती भनिएको बयानमा समेत म आफूले मृतकलाई मार्नको लागि यस किसिमको भूमिका खेलेको थियो भन्ने कुरा खुलेको छैन । कुनै अन्य प्रतिवादीसमेतले सो कुरा देखाउन सकेको अवस्था छैन । मृतक निरमायाका पति जाहेरवालाले जाहेरीमा म पुनरावेदकको अभियोजित कसुर अपराधमा के कस्तो संलग्नता थियो भनी उल्लेख गर्न सकेको अवस्था छैन । निज जाहेरवालाको बकपत्रमा प्रेमबहादुर स्याङ्तानले कपाल काटी दिएको र दिसा खुवाउने कामसेमत गरेको थियो । सोपछि म बेहोस भएछु । त्यसपछि के के भयो थाहा भएन भनी उल्लेख गरेको पाइन्छ । मेरो घटनास्थलमा उपस्थितिले मात्र मलाई सजाय हुने अवस्था
हुँदैन । घटना सम्बन्धमा केही कुराहरूको बारेमा मान्नु स्वीकार गर्नु र उल्लेख गर्नु मात्रले अभियोजित सबै कुरा साबित भएको भनी मान्न मिल्ने अवस्था हुँदैन । हामी अत्यन्त सामान्य चेतनाको स्तर भएका मानिस हौं । म पुनरावेदक प्रतिवादीले निरमायालाई मार्नुपर्ने कारण, रिसइवी, मनसाय र योजना खुलेको छैन । घटनाको बारेमा भएको आफ्ना कुराहरू सत्य तथ्यरूपमा राख्नाले सजाय हुने अवस्था भएको
छ । बोक्सीसम्बन्धी भ्रम र अन्धविश्वासको कारणबाट छलफल गर्ने क्रममा बोक्सी बकाउने प्राचिनतम पद्धति अनुरूप घटना भएको अवस्थामा निरमायाको मृत्यु भएको कुरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. अनुसारको कसुरसम्म कायम हुनुपर्ने हो । मउपरको दाबी निर्विवादरूपमा प्रमाणित भएको अवस्था छैन । मुद्दाको अनुसन्धानको क्रममा बुझिएका मानिसहरू मृतकको आमा सुनमाया घलानले आफूले घटना नदेखेको र भोलिपल्ट थाहा पाएको भनी कागज र बकपत्र गरेको अवस्था छ । मौकामा कागज गर्ने दिपक योन्जनले पनि सोहीअनुसारको कागज गरेको र अन्य मौकामा बुझिएका मानिसहरू अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्था छैन । मेरो साक्षी सूर्यबहादुर स्याङ्तानले अदालतमा उपस्थित भई गरेको बकपत्रबाट मेरो इन्कारीलाई समर्थन गरेको अवस्था
छ । साथै अदलको १०ख ले २ वर्ष कैद र रू. २५,०००।– जरिवानासमेत हुने ठहर्याएको सुरू फैसलालाई कुनै विवेचना नगरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा उल्टी गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर स्याङ्तानको पुनरावेदन पत्र ।
हामी पुनरावेदकहरूले आफूलाई लगाइएको अभियोगमा पूर्णरूपमा इन्कार रही बयान गरेका
छौं । मिसिल संलग्न प्रमाणहरूमा घटनामा हामीहरूको संलग्ना देखिने कुनैपनि ठोस सबुद प्रमाण रहे भएको अवस्था छैन । हामीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान हामीले भनेबमोजिम नलेखिएको र सो बयानको आधारमा मात्र हामीलाई अभियोग दाबीबमोजिम सजाय हुने अवस्था हुँदैन । हामीले कसुर अपराधमा साबित भएर गरेको भनेको बयानमा समेत मार्नमा हाम्रो कस्तो भूमिका थियो भन्ने कुरा खुलेको छैन । यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०६७ अंक ८ पृष्ठ १३२१ नि.नं. ८४३३ मा प्रतिपादन भएको नजिर सिद्धान्तविपरीत फैसला भएको प्रस्ट छ । कुनै अन्य प्रतिवादीसमेतले सो कुरा देखाउन सकेको अवस्था नहुँदा हामीलाई अभियोग दाबीबमोजिमको सजाय हुन सक्ने अवस्था हुँदैन । जाहेरवाला मृतक निरमायाका पतिले दिएको जाहेरीमा हामीहरूको अभियोजित कसुर अपराधमा कस्तो संलग्नता थियो भनी उल्लेख गर्न सकेको अवस्था छैन । हामीहरूको घटनास्थलमा भएको उपस्थितिको कुराले मात्र मलाई सजाय हुने अवस्था हुँदैन । घटना सम्बन्धमा केही कुराहरूको बारेमा स्वीकार गर्नु र उल्लेख गर्नु मात्रले अभियोजित सबै कुरा साबित भएको भनी मान्न मिल्ने अवस्था हुँदैन । अज्ञानता र अन्धविश्वासको कारण भएको सामान्य किसिमको घटनामा निरमायाको मृत्यु हुनु नै हामी पुनरावेदकको दुर्भाग्य हो । घटनाको बारेमा सत्य तथ्य व्यहोरा राख्नाले हामीलाई सजाय हुने अवस्था भएको छ । प्रतिवादीमध्येकै साइलीमाया वि.क.को मौका र अदालतसमक्षको पोललाई फैसलाको आधार बनाइएको सम्बन्धमा निज साइली माया वि.क. आफैँ बिरामी परेको कारण निज निरमाया थिइन् भन्ने अन्धविश्वासको कारणबाट सबै मिली छलफल गर्ने क्रममा बोक्सी बकाउने प्राचिनतम पद्धतिअनुरूप घटना भएको अवस्थामा निरमायाको मृत्यु भएको कुरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. आकर्षित हुनुपर्ने हो । हामी पुनरावेदकउपरको दाबी निर्विवादरूपमा प्रमाणित गरी पुष्टि हुन सकेको छैन । मुद्दाको अनुसन्धानको क्रममा बुझिएका मानिसहरू मृतकको आमा सुनमाया घलान प्रत्यक्षदर्शी होइनन् । म पुनरावेदक प्रतिवादी साइलीमाया विश्वकर्माको साक्षी माइलीमायाले सुरू मकवानपुर जिल्ला अदालतमा उपस्थित भई गरेको बकपत्रमा प्रतिवादी साइलीमाया वि.क.ले मानिसलाई कुटपिट गर्न र मलमुत्र खुवाउन हुँदैन भनी भनेको हो कुटपिट नगरेको हुँदा यी प्रतिवादीहरूले अभियोगदाबीबाट सफाई पाउनु पर्छ भनी बकपत्र गरेबाट मेरो इन्कारीलाई समर्थन गरेको अवस्था छ । अदलको १०ख ले २ वर्ष कैद र रू. २५,०००।– जरिवानासमेत हुने भनी सजायतर्फ नहेरी फैसला भएको अवस्था हुँदा सो आधारमा उक्त फैसला पनि मिलेको नहुँदा उल्टी गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू साइलीमाया वि.क. र देवमाया लामाको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी हरिबहादुर वि.क. को तर्फबाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ताद्वय श्री सानुमैया डंगोल र श्री विमला यादवले वादी पक्षले अभियोगदाबी निर्विवादरूपले पुष्टि गर्न नसकेको, मौकाको बयान एवं भनाई पुष्टि हुन सक्ने स्वतन्त्र प्रमाणको अभाव रहेको एवं अदलको १०ख नं. बमोजिम सजाय भएतर्फ विवेचनासमेत नभएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी बहस प्रस्तुत गर्नुभयो ।
मिसिल संलग्न कागजात प्रमाण एवं विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर सुनी हेर्दा प्रस्तुत मुद्दामा सुरू फैसला केही उल्टी हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ,
छैन ? तथा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा काजी भन्ने हरिबहादुर विश्वकर्मा, साइलीमाया विश्वकर्मा, राजकुमार विश्वकर्मा, देवमाया लामा, प्रेमबहादुर स्याङ्तानसमेतले निरमाया स्याङ्तानलाई बोक्सीको आरोप लगाई कपाल काट्ने, सिस्नो लगाउने, दिसापिसाब खुवाउने, कुटपिट गरी मारेको भन्ने जाहेरी रहेको प्रस्तुत मुद्दामा काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, देवमाया लामा र प्रेमबहादुर स्याङ्तानलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा १३(३) नं. बमोजिम सजाय, प्रतिवादी पञ्च अन्तरे भन्ने रामबहादुर स्याङ्बोलाई ऐ. १ नं. को कसुरमा १३(४) नं. अनुसार सजाय, प्रतिवादी साइलीमाया विश्वकर्मालाई ऐ. १ नं. को कसुरमा १३(४) नं. अनुसार सजाय, प्रतिवादी इन्द्रबहादुर मोक्तान, जोगबहादुर स्याङ्तान र जीवन मोक्तानलाई ऐ. १ नं. को कसुरमा १३(४) नं. अनुसार सजाय गरी सबै प्रतिवादीहरूलाई मुलुकी ऐन अदलको महलको १०ख नं. को कसुरमा १०ख नं. अनुसारसमेत सजाय गरिपाउँ भन्ने अभियोग दाबी देखियो । फरार प्रतिवादी रामबहादुर स्याङ्बोको हकमा मुल्तबीमा राखिदिने, प्रतिवादीहरू देवमाया लामा, हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने, प्रतिवादी साइलीमायाँ विश्वकर्मालाई ऐ. १ र १३(४) नं. अनुसार जन्मकैदको सजाय हुने, अन्य प्रतिवादीहरू जीवन मोक्तान, जोगबहादुर स्याङ्तान र इन्द्रबहादुर मोक्तानलाई ऐ. १७(३) नं. अनुसार जनही १ वर्ष ८ महिना कैद सजाय हुने, प्रतिवादीहरू देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान र साइलीमाया विश्वकर्मालाई मुलुकी ऐन अदलको १०ख नं. अनुसार जनही २ वर्ष कैद र रू. २५,०००।– जरिवाना हुने ठहर भई मकवानपुर जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसला केही उल्टी भई प्रतिवादीहरू देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको हदसम्म नमिलेकोले निजहरूलाई जनही ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद र अदलको १०ख नं. ले २ वर्ष कैद र रू. २५,०००।– जरिवानासमेत हुने ठहर्याई पुनरावेदन अदालत, हेटौंडाबाट फैसला भएको पाइयो । सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरू हरिबहादुर विश्वकर्मा, प्रेमबहादुर स्याङ्तान, राजकुमार वि.क., साइलीमाया विश्वकर्मा र देवमाया लामाको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो । प्रतिवादी काजी भन्ने हरिबहादुर विश्वकर्माको तर्फबाट कारागार कार्यालय मकवानपुर मार्फत ०६९-CR-०९४६ र ०६९-CR-०९२५ मा दुइवटा पुनरावेदन पत्र दर्ता हुन आएको भएपनि एउटै फैसलाउपर उसै प्रतिवादीको दुइवटा पुनरावेदन दर्ता भएपनि पुनरावेदन जिकिर मूलरूपमा दुवैमा एउटै रहेको परिप्रेक्ष्यमा निजको तर्फबाट पहिले दायर भएको मिति २०७०।२।१३ (०६९-CR-०९२५) पुनरावेदन पत्रलाई नै आधिकारिक मानी प्रस्तुत मुद्दामा विश्लेषण गरिएको छ ।
३. प्रस्तुत घटना वारदात सम्बन्धमा संक्षेपमा हेर्दा निरमाया स्याङ्तानलाई बोक्सीको आरोप लगाई प्रतिवादीहरूले कुटपिट गरी, सिस्नु लगाई, कपाल काटी, दिसापिसाबसमेत खुवाई चरम यातना दिई मारेको भन्ने मुख्य आरोप देखिन्छ । घटनास्थल एवं लास प्रकृति मुचुल्का हेर्दा टाउकाको कपाल काटेको, शरीरभरी मानिसको मलमूत्र लागेको, अनुहार एवं आँखाहरू फुलेको कालो भएको, नाक मुखबाट रगत बगेको, कान कालो भएको, ओठ निलो भएको, दायाँ स्तनमा निलडाम रहेको, पेटमा बिस्तारै थिच्दा नाक मुखबाट ह्वालह्वाल्ती रगत आएको, घटनास्थलमा लासको वरपर फलामको हम्मर, कैंची, सिस्नो, दिसापिसाबको घोलसहितको कचौरा, लठ्ठी र काटेको कपालसमेत छरिएको अवस्थामा रहेको भन्ने
देखिन्छ । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण “टाउकोमा लागेको चोट” भन्ने उल्लेख भएको
पाइन्छ । यसबाट निज निरमाया स्याङ्तानको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा कुनै विवाद रहेको नदेखिँदा के कुन प्रतिवादी वा व्यक्तिहरूको संलग्नतामा प्रस्तुत वारदात घटाइएको हो तथा पुनरावेदक प्रतिवादीहरूको के कस्तो संलग्नता रहेको थियो वा थिएन भन्ने सम्बन्धमा हेर्नुपर्ने देखियो ।
४. पुनरावेदक प्रतिवादी काजी भन्ने हरिबहादुर विश्वकर्माको हकमा हेर्दा निजले आफ्नो पुनरावेदन जिकिरमा आफूउपर लगाएको अभियोग शंकारहित तवरले पुष्टि हुन नसकेको मार्नुपर्नेसम्मको पूर्व रिसइवी, योजना आदिको अभाव रहेको, आफू अनुसन्धानको क्रममा कानून व्यवसायीको सल्लाहबाट वञ्चित भएको, सहअभियुक्तको पोल एवं अनुसन्धान अधिकारीसमक्षको गैरन्यायिक साबितीबाहेक अन्य कुनै ठोस सबुद प्रमाण विद्यमान नरहेको, प्रत्यक्षदर्शीबाहेक अन्य व्यक्तिहरूको भनाईलाई आधार मानी भएको फैसला मिलेको छैन भन्ने मुख्य व्यहोरा उल्लेख भएको पाइन्छ । यी पुनरावेदक प्रतिवादीउपर किटानी जाहेरी परेको देखिन्छ । अनुसन्धानका क्रममा बयान गर्दा यी पुनरावेदकले निरमाया स्याङ्तानलाई कुटपिट यातना दिने कार्यमा आफू संलग्न रहेको, आफूले लाठी, हात मुक्कासमेतले टाउको, छाती, पेटलगायत शरीरको विभिन्न भागमा प्रहार गरेको, दिसा पिसाब खुवाएको, सिस्नु लगाएको, ह्यामरले किला ठोक्न भय त्रास देखाएको, कपाल काट्ने, सिस्नो लाउने काम गरी रातैभरी कुटपिट गर्दा बिहान ४:३० बजे बेहोस भई अं. ५ बजे मृत्यु भएको भनी घटना वारदातको सिलसिलेवाररूपमा उल्लेख गरेको पाइन्छ । अदालतसमक्षको बयानमा निज आफू कुटपिट गरेकोमा इन्कार भएपनि आफ्नो घरबाट ह्यामर, लाठी, किला कैंचीलगायतका सामाग्री लिई गएको एवं आफूसमेतले निज निरमायालाई बोक्सीको आरोपमा समाती गोबर, तेल एवं नून खुवाएको, कपाल काटीदिएको भनी घटना वारदातमा साबित भई बयान गरेको पाइन्छ । घटना वारदातको प्रत्यक्षदर्शी साक्षी जाहेरवाला पूर्णसिंह स्याङ्तानले अदालतसमक्ष बकपत्र गर्दा जाहेरी व्यहोरालाई समर्थन हुनेगरी निज निरमायालाई यी पुनरावेदकसमेतले कपाल समाती काटी, घोक्र्याई, मुन्ट्याई पिटेको, सिस्नु लगाएको, दिसापिसाब खुवाएको र पछि आफ्नी श्रीमती बेहोस भएपछि आफूपनि बेहोस भएको भनेर घटना वारदातको अमानवीय एवं दर्दनाक दृष्य उल्लेख गरी लेखाई दिएको पाइन्छ । प्रतिवादी साइलीमाया वि.क.समेतको साक्षी माइलीमाया स्याङ्तानले अदालतसमक्ष बकपत्र गर्दा निज निरमायालाई बोक्सीको आरोप लगाएको, सो सम्बन्धमा रातैभरी छलफल भएको र सो दौरान बोक्सीको आरोपमा मानव मलमूत्र खुवाएको, सिस्नु लगाएको, कुटपिट गरेको भनी लेखाइ दिएको अवस्था छ । घटना वारदातका प्रत्यक्षदर्शी मानिसहरू मौकामा कागज गर्ने सुकबहादुर घलानसमेतका व्यक्तिहरूले यी प्रतिवादीसमेतको संलग्नतामा उक्त घटना वारदात घटाइएको भनी व्यहोरा उल्लेख गरिदिएको
पाइन्छ । प्रतिवादीहरू देवमाया लामा, राजकुमार वि.क., साइलीमाया वि.क., प्रेमबहादुर स्याङ्तान, जीवन मोक्तान, जोगबहादुर स्याङ्तान, अन्तरे भन्ने इन्द्रबहादुर मोक्तानसमेतले यी प्रतिवादीसमेत भई घटना वारदात गराएको, निज निरमायालाई बोक्सीको आरोपमा सिस्नो लाएको, मानव मलमूत्र खुवाएकोसमेत व्यहोरा उल्लेख गरी अदालतसमक्ष बयान गरिदिएको समेतका आधार प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादी निज निरमायालाई बोक्सीको आरोपमा कुटपिट गर्ने, यातना दिने, मानव मलमूत्र खुवाउनेसमेतका अमानवीय क्रियाकलापमा प्रत्यक्षरूपमा सक्रियतापूर्वक संलग्न रही निज निरमायालाई मार्ने कार्य गरेको देखियो ।
५. पुनरावेदक प्रतिवादीहरू साइलीमाया विश्वकर्मा र देवमाया लामाको संयुक्त पुनरावेदन जिकिर हेर्दा निजहरूले मुख्यरूपमा घटनामा हाम्रो संलग्नता देखिने प्रमाणको अभाव रहेको, जाहेरीका आधारमा मात्र कसुरदार ठहर गर्न नमिल्ने, मार्ने मनसाय र पूर्वरिसइवी, पूर्वयोजना आदि नभएको, अज्ञानता र अन्धविश्वासका आधारमा सामान्य किसिमको घटनामा मृत्यु हुन गएको, आफूउपरको अभियोगदाबी निर्विवादरूपमा पुष्टि हुन नसकेको हुँदा सुरू एवं पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी जिकिर लिएको पाइन्छ । यी पुनरावेदकहरू उपर किटानी जाहेरी परेको अवस्था छ । अनुसन्धानका क्रममा बयान गर्दा यी पुनरावेदकहरूले निज निरमाया स्याङ्तानलाई बोक्सीको आरोपमा कुटपिट, यातना दिई, सिस्नु लगाई, मानव मलमूत्र खुवाएको तथा कपाल मुडेको समेतका कार्य गरी मारेको भनी घटनावारदातको सिलसिलेवाररूपमा उल्लेख गरिदिएको पाइन्छ । यी पुनरावेदकहरू मध्ये देवमाया लामाले आफूले सर्वप्रथम सिस्नु लगाएको, दिसा खुवाएको, कपाल समाती पटकपटक जमीनमा ठोकाएको र निज बेहोस नहुँदासम्म कुटपिट गरेको भनी उल्लेख गरेको देखिन्छ भने साइलीमाया विश्वकर्माले आफूलाई जाँडमा बोक्सी लगाई खुवाएको कारणबाट आफू बिरामी परेको विषयमा निरमायालाई बोक्सीको आरोपमा कुटपिट, यातना दिँदा, मानव मलमूत्र खुवाउँदा, आफू घटनास्थलमा उपस्थित रहेको भनी प्रत्यक्षरूपमा कसुरमा आफ्नो संलग्नता इन्कार गरेपनि मौकामा एवं अदालतसमक्ष बयान गर्दा प्रतिवादीहरू हरिबहादुर विश्वकर्मासमेतले निज निरमायालाई बोक्सीको आरोपमा चरम यातना दिई मार्ने कार्यमा संलग्न रहेको भन्ने व्यहोरा लेखाएको पाइन्छ । मौकामा कागज गर्ने सुकबहादुर घलानसमेतका व्यक्तिहरूले यी पुनरावेदकहरूसमेतको चोट प्रहार एवं चरम यातनाका कारण निज निरमायाको मृत्यु भएको भन्ने व्यहोरा लेखाइदिएको अवस्था छ । जाहेरवाला पूर्णसिंह स्याङ्तानले जाहेरी व्यहोरालाई समर्थन हुनेगरी बकपत्र गरिदिएको देखिन्छ । घटना विवरणमा कागज गर्ने सुनमाया घलानले अदालतसमक्ष बकपत्र गर्दा यी पुनरावेदक प्रतिवादीहरू देवमाया लामा एवं साइलीमाया वि.क.समेतको चोट प्रहार एवं यातनाबाट निरमायाको मृत्यु भएको भन्ने व्यहोरा लेखाइदिएको देखिन्छ । यी प्रतिवादी साइलीमायासमेतको साक्षी माइलीमाया स्याङ्तानले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादी देवमायाले निज निरमायालाई मानव मलमूत्र खुवाएको, साइलीमाया वि.क.समेतका व्यक्तिहरू रातैभरी घटनास्थलमा थिए भनी उल्लेख गरिदिएको अवस्थासमेतका आधार प्रमाणहरूबाट निज निरमायालाई बोक्सीको आरोपमा मानव मलमूत्र खुवाई कुटपिट यातना दिई मार्ने कार्यमा यी पुनरावेदक प्रतिवादीहरूको संलग्नता प्रस्टरूपमा देखिन आउँछ ।
६. अर्का पुनरावेदक राजकुमार वि.क.को हकमा हेर्दा निजले आफू अभियोग दाबीमा इन्कार रहेको, आफ्नो विरूद्ध ठोस सबुद प्रमाणको अभाव रहेको, मार्नुपर्नेसम्मको पूर्वयोजना, रिसइवी नरहेको, भ्रम र अन्धविश्वासको कारणबाट घटना घट्न गएको अवस्थामा ज्यानसम्बन्धी महलको ५ नं. आकर्षिक हुने भनी जिकिर लिएको पाइन्छ, यी प्रतिवादीउपर किटानी जाहेरी रहेको देखिन्छ । अनुसन्धानका क्रममा बयान गर्दा यी पुनरावेदकले निज निरमाया स्याङ्तानलाई आफ्नो आमालाई बोक्सी लगाएको आरोपमा कुटपिट यातना दिने, मलमूत्र खुवाउने, सिस्नो लगाउनेसमेतका कार्यमा आफूसमेत मुख्य भूमिकामा रहेको र उक्त कार्य २०६७।२।१ को बेलुकादेखि भोलिपल्ट बिहान निज बेहोस नहुँदासम्म जारी रहेको भनी घटना वारदातको बारेमा छर्लङ्ग हुनेगरी बयान गरिदिएको अवस्था देखिन्छ । मौकामा बयान गर्ने अन्य सबै प्रतिवादीहरूले यी पुनरावेदकसमेत भई निज निरमायालाई बोक्सीको आरोपमा मलमूत्र खुवाई, कुटपिट गरी, चरम यातना दिई मारेको भनी लेखाई दिएको पाइन्छ । अदालतसमक्ष बयान गर्दासमेत यी प्रतिवादी स्वयम्ले बोक्सीको आरोपमा निज निरमायालाई आफूसमेतले चुल्ठो काटी दिएको कुरा स्वीकारे गरेको पाइन्छ । प्रतिवादी प्रेमबहादुर स्याङ्तानले घटनास्थलमा फेला परेको निज निरमायालाई यातना कुटपिट गर्न प्रयोग भएको भनिएको ह्यामर, कैंची, मानव मलमूत्रसमेत आफू र यी पुनरावेदक राजकुमार भई ल्याएको भनी उल्लेख गरेको पाइन्छ । प्रतिवादी साइलीमाया वि.क.समेतको साक्षी माइलीमाया स्याङ्तानले अदालतसमक्ष बकपत्र गर्दा निज निरमायालाई बोक्सीको आरोपमा कुटपिट गरी यातना दिएको एवं मानव मलमूत्र खुवाएको कुरा स्पष्टरूपमा उल्लेख गरी लेखाइ दिएको पाइन्छ । जाहेरवाला पूर्णसिंह स्याङ्तानले जाहेरी व्यहोरालाई समर्थन हुनेगरी अदालतसमक्ष बकपत्र गरिदिएको अवस्थासमेतबाट यी प्रतिवादीसमेतको संलग्नतामा निज निरमायालाई कुटपिट गरी, चरम यातना दिई, मानव मलमूत्रसमेत खुवाई मारेको कुरा पुष्टि हुन आयो ।
७. अर्का पुनरावेदक प्रेमबहादुर स्याङ्तानको हकमा हेर्दा निजले आफू अभियोग दाबीमा इन्कार रही बयान गरेको, आफू विरूद्ध कुनै ठोस सबुद प्रमाण नरहेको, मार्नुपर्नेसम्मको पूर्वरिसइवी एवं पूर्वयोजना केही नरहेको, बोक्सी बकाउने प्राचीनतम पद्दतिअनुरूप भ्रम र अन्धविश्वासका कारण घटना घटेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ नं. को कसुर कायम हुनुपर्ने भन्ने जिकिर लिएको देखिन्छ । यी पुनरावेदक प्रतिवादीउपर किटानी जाहेरी परेको अवस्था छ । अनुसन्धानका क्रममा बयान गर्दा यी पुनरावेदकले आफूसमेत भई निरमाया स्याङ्तानलाई बोक्सीको आरोपमा कुटपिट यातना दिई, मानव मलमूत्र खुवाई सोही कारणबाट निजको मृत्यु भएको भनी घटना वारदातको यथार्थ चित्रण गरिदिएको अवस्था छ । निजले अदालतसमक्षको बयानमा समेत आफूसमेत भई निज निरमायालाई बोक्सीको आरोपमा केरकार गरेको, सिस्नु लगाएको, कपाल मुडेको समेतका कार्य गरेको भनी उल्लेख गरेको पाइन्छ । निज निरमायालाई यातना दिन कुटपिट गर्न प्रयोग भएका भनिएका ह्यामर, कैंची, मानव मलमूत्रसमेत यी प्रतिवादी स्वयम्समेतको संलग्नतामा ल्याइएको भन्ने निज स्वयम्को बयानबाट देखिन्छ । मौकामा एवं अदालतसमक्ष बयान गर्ने अन्य प्रतिवादीहरूले समेत घटना वारदातमा यी पुनरावेदक प्रतिवादीको संलग्नता रहेको भनी उल्लेख गरिदिएको पाइन्छ । जाहेरवालाले जाहेरी व्यहोरा समर्थन हुनेगरी अदालतसमक्ष बकपत्र गरिदिएको एवं प्रतिवादी साइलीमाया वि.क.समेतका साक्षी माइलीमाया वि.क.ले आफ्नो बकपत्रमा निज निरमायालाई बोक्सीको आरोपमा मानव मलमूत्र खुवाएको एवं कुटपिट यातना दिएको कुरा आफूले देखेको भनी लेखाइदिएको अवस्थासमेतबाट निज निरमायालाई बोक्सीको आरोपमा अमानवीय तवरले कुटपिट यातना दिई मानव मलमूत्रसमेत खुवाई मार्ने कसुरमा यी पुनरावेदक प्रतिवादीसमेत संलग्न रहेको अवस्था देखियो ।
८. अब माथि उल्लेख भएबमोजिम सबै पुनरावेदक प्रतिवादीहरूले आफ्नो पुनरावेदन जिकिरमा उल्लेख गरेको प्रायः समान विषयहरू सम्बन्धमा प्रकाश पार्नुपर्ने देखियो । निजहरूले आफूहरू विरूद्ध ठोस सबुद प्रमाणको अभाव रहेको, कसुरमा इन्कार रहेको, अदलको १०ख नं.बमोजिम गरेको सजाय सम्बन्धमा पुनरावेदन अदालतले विश्लेषण नगरेको, मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. को कसुर आकर्षित हुनुपर्ने भन्ने जिकिर लिएको पाइन्छ । कुनैपनि व्यक्तिलाई बोक्सा बोक्सीको आरोप लगाउने कार्य आफैँंमा अन्धविश्वास एवं कुप्रथाको रूपमा लिनुपर्छ । माथि यी पुनरावेदक प्रतिवादीहरूका सम्बन्धमा गरिएको अलगअलग विवेचनाबाट निज निरमायालाई बोक्सीको आरोप लगाई अमानवीय एवं पशुवत्रूपमा चरम यातना दिई मानव मलमूत्र खुवाएको भन्ने कुरा यी पुनरावेदकहरू सबैको हकमा निजहरूको संलग्नता पुष्टि भइसकेको छ । प्रमाण भनेको विवादको विषयमा कुनै कुरा खण्डन वा समर्थन गर्ने साधन हो, यसले विवादित विषयको सत्यता पहिचान गर्छ, मुद्दाको सम्बन्धमा के साँचो के झुट्ठो भनी हेर्ने माध्यम वा ऐना नै प्रमाण हो र प्रस्तुत घटनामा यी पुनरावेदकहरू सबैको व्यक्तिगत संलग्नता ऐना जस्तै छर्लङ्ग छ । घटनास्थल एवं लास प्रकृति मुचुल्कामा उल्लिखित लासको प्रकृति एवं घटनास्थलमा भेटिएका यातना दिन प्रयोग भएका हयामर, लाठी, मानव मलमूत्र, सिस्नुलगायतका सामाग्री एवं यी प्रतिवादीहरूको मौकाको तथा अदालतसमक्षको बयानमा पूर्णरूपमा तादात्म्यता भेटिन्छ । मौकामा कागज गर्ने मानिसहरूले उल्लेख गरेको घटना विवरण एवं व्यहोरा, अदालतमा उपस्थित भई बकपत्र गर्ने जाहेरवालालगायतका वादी पक्षका साक्षीहरू एवं माथि विश्लेषण गरिएबमोजिम प्रतिवादी स्वयम्का साक्षीहरू समेतले घटनाको वास्तविकता एवं सत्यता प्रस्ट पारेको अवस्था छ । यी पुनरावेदक प्रतिवादीहरूको उक्त वारदातमा आफ्नो संलग्नता नरहेको वा आफू घटनास्थलमा नरहेको भन्ने त्यस्तो कुनै जिकिर पनि नभएको अवस्थामा घटना वारदातलाई पुष्टि गर्ने यस्ता तथ्यगत एवं वस्तुगत प्रमाणहरूको विद्यमानता रहेको प्रस्तुत मुद्दामा आफूहरू विरूद्ध ठोस सबुद प्रमाणको अभाव रहेको भन्ने पुनरावेदकहरूको जिकिर अत्यन्त भ्रामक एवं कपोलकल्पित रहेको देखिन्छ ।
९. अदलको १०ख नं.बमोजिम गरेको सजाय सम्बन्धमा पुनरावेदन अदालतले विश्लेषण नगरेको भन्ने पुनरावेदकहरूको पुनरावेदन जिकिर रहेको देखिन्छ । प्रतिवादीहरू देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानलाई मुलुकी ऐन अदलको महलको १०ख नं.बमोजिम जनही २ वर्ष कैद र रू.२५०००।–जरिवानासमेत हुने ठहर भएको पाइन्छ । उक्त १०ख नं.मा कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने काम गरेमा... तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनी उल्लेख भएको पाइन्छ । माथि गरिएको विश्लेषणबाट यी पुनरावेदकहरूले निज निरमायालाई बोक्सीको आरोपमा निर्मम र अमानवीय यातना दिएको र सोही चोट पीडाबाट निजको मृत्यु भएको भन्ने देखिएको सन्दर्भमा उक्त नं.बमोजिम सजाय गर्ने गरेको फैसला मिलेको देखिन आयो ।
१०. जहाँसम्म प्रस्तुत वारदात मुलुकी ऐन ज्यानसम्बन्धीको ५ नं. को कसुर कायम हुनुपर्ने भने जिकिरको प्रश्न छ सो सम्बन्धमा हेर्दा ज्यानसम्बन्धीको ५ नं. मा ज्यान लिने इबिलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्नेजस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत वारदातमा यी पुनरावेदक प्रतिवादीहरूसमेत मिली बोक्सीको आरोपमा चरम र निर्मम यातना दिएका छन् । ह्यामर, काँटी, लाठी, कैँची जस्ता हतियार तथा लाठी, लात, मुक्काको प्रयोग गरी यातना दिने कार्य भएको छ । सिस्नु लगाइएको छ, कपाल खौरिएको छ, मानव मलमूत्र खुवाइएको एवं शरीरभरी दलिएको छ । मानवलाई दिने योभन्दा निकृष्ठ र पशुवत् यातना यो भन्दा अरू के हुन सक्छ ? सामान्य मानिसको समझ (reasonable person test) बाट हेर्दा यस्तो चरम यातना दिँदा यातना पाउनेले सहन सक्दैन, उसको मृत्यु हुनसक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । रातैभरी एउटी महिलालाई सबै मिली कुटपिट यातना दिने कार्य गर्दा ज्यानसम्बन्धीको ५ नं.मा उल्लेख भएजस्तो आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था प्रस्तुत वारदातमा देखिन नआएको हुँदा भवितब्य कसुर कायम हुनुपर्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
११. कुनैपनि मानिसमाथि बोक्सीको आरोप लगाउने कार्य कानूनले निषिद्ध गरेको छ भने सो प्रकृतिको आरोप लगाई मानिसको कपाल काट्ने, मानव मलमूत्र खुवाउने, कुटपिट गर्ने, यातना, प्रताडित गर्ने जस्ता कार्य अमानवीयसमेत भएकोमा दुईमत हुन सक्दैन । मानव समाजमा अन्धविश्वासको रूपमा रहेको बोक्सा बोक्सी जस्तो मान्यता निर्मूल गर्न कानून बनाएर मात्र प्रयाप्त हुँदैन । यस्तो क्रियाकलाप विरूद्ध कडा दण्डनीतिसमेत अपनाउन आवश्यक रहेकोले सोहीअनुरूप कठोर सजाय पनि गर्न आवश्यक छ । प्रस्तुत मुद्दाका प्रतिवादीहरूले कुटपिट गर्ने, सिस्नु लगाउने, कपाल काट्ने, दिसापिसाब खुवाउने जस्तो कार्य गरेको कारणबाट शारीरिक र मानसिकरूपमा चरम यातना पाई निरमायाको मृत्यु भएको देखिएबाट यी प्रतिवादीहरू प्रति दयाभाव प्रदर्शन गर्नु मानवीय मूल्य र मान्यता विरूद्ध हुने हुनाले प्रतिवादी साइलीमाया विश्वकर्मालाई ज्यानसम्बन्धी महलको १३(४) नं. तथा अदलको १०ख नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला सदर हुने, प्रतिवादीहरू देवमाया लामा, काजी भन्ने हरिबहादुर विश्वकर्मा, राजकुमार विश्वकर्मा र प्रेमबहादुर स्याङ्तानलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको हदसम्म मकवानपुर जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्मकैद र अदलको १०ख नं. ले दुई वर्ष कैद र रू. २५,०००।– जरिवानासमेत हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।११।२२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इजलास अधिकृत: आत्मदेव जोशी
इति संवत् २०७३ साल मङ्सिर ४ गते रोज ३ शुभम् ।