निर्णय नं. ९७९२ - लागु औषध अपराध

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
फैसला मिति : २०७३।८।६
मुद्दा : लागु औषध अपराध ।
०६८-CR-०२२७
पुनरावेदक / प्रतिवादी : झापा जिल्ला दमक नगरपालिका वडा नं.१३ घर भई हाल क्षेत्रीय कारागार कार्यालय, सुनसरी, झुम्कामा थुनामा रहेका सुमन शाही
विरूद्ध
प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार
०६८-CR-०२२८
पुनरावेदक / प्रतिवादी : झापा जिल्ला टागनडुब्बा गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेका विशाल तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार
कानूनको व्याख्या गर्दा त्यसबाट पर्न जाने प्रभाव प्रति न्यायकर्ता सदैव गम्भीर रहन पर्ने देखिन्छ । कानूनको यान्त्रिक व्याख्या गर्दा त्यसबाट अनपेक्षित परिणाम निस्कन गई न्यायबाट वञ्चित हुनुपर्ने अवस्थातर्फ पनि न्यायकर्ताले ध्यान पुर्याउन जरूरी हुन्छ । कानून र न्यायको समायोजन हुन नसके प्रतिवादीले न्याय प्राप्त गर्ने अवस्था नै रहन्न । अतः न्यायकर्ताले यस विषयमा गम्भीर भई न्याय सम्पादन गर्न वाञ्छनीय हुन्छ । तथ्यगत रूपबाट लागु औषधको कुलतमा लागेकालाई लागु औषधको कारोबारीको रूपमा सजाय गर्दा न्यायको भावना नै मर्न जाने हुँदा विवेकशील भई न्याय गर्नु न्यायकर्ताको मुलभूत र अन्तरनिहित कर्तव्य भएकोमा द्विविधा हुन नसक्ने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ),(ङ) र (च), दफा १४(१)(ज)
सुरू तहमा फैसला गर्नेः-
माननीय जिल्ला न्या. श्री शालिग्राम कोइराला
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
माननीय न्यायाधीश श्री रेवन्त बहादुर कुँवर
फैसला
न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-
मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १३ बस्ने सुमन शाहीको घर कोठामा लागु औषध छ भन्ने खबर प्राप्त भई घरमा खान तलासी गर्दा सुमन शाहीको कोठामा अवैध लागु औषध फेनारगन ३६ थान, लुपिजेसिक ३९ थान, डाईजिपाम् ३५ थान फेला पारी बरामद गरी बरामदी मुचुल्कासहित सुमन शाही र विशाल तामाङसमेतलाई पक्राउ गरी दाखेल गरेको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १० स्थित बजार एरियामा ऐ.ऐ.१३ बस्ने सुमन शाही र ऐ.ऐ.बस्ने विशाल तामाङसमेतले लागु औषध इन्जेक्सन लगाई मातेर तरबार बोकी सर्वसाधारण मानिसलाई आतंकित पार्दै हिँडेको भन्ने खबर पाई उक्त स्थानमा जाँदा निज सुमन शाही र विशाल तामाङ कत्ती बोकी हिँडिरहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा आफूहरूले लागु औषधको इन्जेक्सन लगाएको बताएको हुँदा निजहरूले बताएअनुसार निज सुमन शाहीको घर कोठा खान तलासी गर्दा ११० थान लागु औषध फेला परेकाले निज सुमन शाही र विशाल तामाङलाई पक्राउ गरी दाखेल गरेको भन्ने प्रहरी प्रतिवेदन ।
मेरो दाजु सुमान शाही पहिलादेखि नै लागु औषध सेवन गरी हिँड्ने गर्दथे निज सुमन शाही र विशाल तामाङ लागु औषध सेवन गरी मिति २०६५।७।१७ गते राति हो हल्ला गर्दै हिँडिरहेको अवस्थामा फेला पारी निजहरूले कोठामा लुकाई राखेको लागु औषध डाइजेपाम, लुपिजेसिक, फेनारगनसमेत गरी ११० थान फेलापारी बरामद गरी निज सुमन र विशाल तामाङलाई पक्राउ गरी प्रहरीले लगेको भन्नेसमेत व्यहोराको सुरज शाहीले गरेको कागज ।
मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १३ बस्ने सुमन शाही र विशाल तामाङ लागु औषध इन्जेक्सन लगाई कत्ती बोकी डिसकस गरी रहेको अवस्थामा प्रहरी टोलीले थाहा पाई प्रहरी भेन लिई आएर निज प्रतिवादी सुमन शाही र विशाल तामाङले लुकाई राखेको लागु औषध बरामदी मुचुल्काअनुसारको बरामद गरी प्रतिवादीहरूलाई समेत पक्राउ गरी लगेको हो, निज प्रतिवादी पहिलादेखि नै लागु औषध सेवन गरी हिँड्ने मानिसहरू हुन् भन्नेसमेत व्यहोराको मनोज बोगटीको कागज ।
बरामद भई आएको लागु औषध म र सुमन शाही भई भारतको पानी ट्याङ्कीबाट खरिद गरी ल्याई सिरिन्जमा लगाई इन्जेक्सन लगाउने गर्दथ्यौं विगत धेरै वर्षदेखि हामीले लागु औषध प्रयोग गर्दै आएको
हो । उक्त वारदात मिति र समयमा मसमेत लागु औषध इन्जेक्सन प्रयोग गरी रहेको अवस्थामा प्रहरीले फेला पारी ११० थान लागु औषध डाईजिपाम, लुपिजेसिक र फेनारगनसमेत बरामद गरी लगेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विशाल तामाङको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।
बरामद भई आएको लागु औषध म र मेरो साथी विशाल तामाङ भई भारतको पानी ट्याङ्कीबाट खरिद गरी ल्याई सिरिन्जमा लगाई इन्जेक्सन लगाउने गर्दथ्यौं विगत धेरै वर्षदेखि हामीले लागु औषध प्रयोग गर्दै आएको हो उक्त वारदात मिति र समयमा समेत लागु औषध इन्जेक्सन प्रयोग गरी रहेको अवस्थामा प्रहरीले फेला पारी ११० थान लागु औषध डाइजेपाम, लुपिजेसिक र फेनारगनसमेत बरामद गरी लगेको हो । भन्नेसमेत व्यहोराको प्रतिवादी सुमन शाहीले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १३ बस्ने सुमन शाही र विशाल तामाङ लागु औषध इन्जेक्सन लगाई बाहिर निस्कँदै गर्दा प्रहरी भेन आई निजहरू बस्ने कोठा खान तलासी गर्दा लागु औषध डाईजिपाम, लुपिजेसिक र फेनारगनसमेत ११० बरामद गरी निजहरूले पुनः लगाउन तयार पारेको लागु औषध सिरिन्जसमेत बरामद गरी प्रतिवादीहरूलाई समेत पक्राउ गरी लगेको हो भन्नेसमेत व्यहोराको सुन्दर शाहीको कागज ।
प्रतिवादी सुमन शाही र विशाल तामाङको साथबाट लागु औषध डाइजेपाम, लुपिजेसिक, फेनारगनसमेतबाट नमूनाको लागि निकाली बाँकी लागु औषध झापा जिल्ला अदालतको प्राङ्गणमा जलाई नष्ट गरिएको हो । भन्नेसमेत व्यहोराको लागु औषध नष्ट मुचुल्का ।
मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १३ बस्ने सुमन शाही र विशाल तामाङ लागु औषध सेवन गर्ने मानिसहरू हुन् । निजहरूले उक्त वारदात मिति र समयमा लागु औषध डाइजेपाम, लुपिजेसिक, फेनारगनसमेत ११० थान फेला पारेको र निजहरूले लगाउन तयार पारेको लागु औषधसहितको सिरिन्जसमेत फेला पारी निज प्रतिवादीहरूलाई पक्राउ गरी लगेको भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
बरामद भई आएको लागु औषध डाइजेपाम, लुपिजेसिक, फेनारगन, नाइट्रोजन टेप्लेटहरू परीक्षण गर्दा लागु औषध भएको पाइयो भन्नेसमेत व्यहोराको समेत केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला महाराजगञ्ज, काठमाडौंको परीक्षण रिपोर्ट ।
प्रतिवादी सुमन शाही र विशाल तामाङले अवैध लागु औषध डाइजेपाम, लुपिजेसिक, फेनारगन र नाइट्रोसन ट्याब्लेट सञ्चय, खरिद बिक्री ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रमाणित भएकोले प्रतिवादीहरू सुमन शाही र विशाल तामाङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ)(ङ)(च) र (छ) अनुसारको कसुर अपराधमा ऐ.ऐनको दफा १४(१) (ज) र (झ) अनुसार सजाय हुने तथा ऐ.ऐनको दफा १८(१) अनुसार जाहेरवाला प्रहरी प्रतिवेदकलाई पुरस्कार दिने व्यवस्था हुनसमेत मागदाबीसहितको अभियोगपत्र ।
प्रतिवादीमध्येका विशाल तामाङलाई पहिलादेखि नै चिन्दछु । मैले पहिले पनि लागु औषध सेवन गर्दथेँ । पछि सुधार केन्द्रमा बसी छाडेको
थिएँ । मिति २०६५।७।१७ गते प्रतिवादीमध्येका विशाल तामाङले बरामदी लागु औषध ल्याएको रहेछ । निज र म भई मेरो घरमा नै उक्त लागु औषध दुवै जनाले सेवन गर्यौं । बाँकी लागु औषध कहाँ राख्ने भनेर मैले मेरो घरमा राखी दिएको हो । मैले ल्याएको होइन । निज विशाल तामाङले के कहाँबाट ल्याए मलाई थाहा
भएन । मैले सेवनसम्म गरेको हो । बेचबिखन ओसारपसार गर्ने गरेको होइन छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सुमन शाहीले अदालतमा गरेको बयान ।
म उक्त लागु औषध सेवन गर्छु । इन्जेक्सन लिन्छु, डाइजेपाम, फेनारगन र लुपिजेसिक १।१ सि.सि. मिसाएर एक डोज बनाइन्छ । यता दमकतिर उक्त एक डोजको रू.२५०।– लिइन्छ । इण्डियामा रू.५०।– मा पाइन्छ । त्यसैले मैले इण्डियाबाट रू.४,०००।– मा किनेर मैले ल्याएको हो । केवल खानका लागि मात्र । बिक्री वितरण गर्न होइन । मिति २०६५।७।१७ गते म र मेरो साथी सुमन शाही मिली सुमन शाही कै घरमा बसी लागु औषध खाई बाँकी त्यहीँ राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । म सेवन गर्ने व्यक्ति हुँ । बिक्री वितरण गर्ने होइन । तत्काल नपाउने र महंगो पर्ने भएकाले ल्याई राखेको हो । सुमन शाहीको घरमा म र सुमन शाहीले सेवन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विशाल तामाङले अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा मुलुकी ऐन अ.बं. ११८ नं. को देहाय (२) नं. अनुसार प्रतिवादीहरू सुमन शाही र विशाल तामाङलाई पुर्पक्षको निमित्त कानूनबमोजिम थुनामा राख्नु भनी जिल्ला कारागार कार्यालय झापालाई लेखी पठाउनु र प्रतिवादीहरू चुक्ता भइसकेकाले जाहेरवालासहितको मानिस र प्रतिवादीहरूका साक्षीसमेत बुझी नियमानुसार पेस गर्नु भनी मिति २०६५।८।२५ मा भएको आदेश ।
प्रतिवादीहरू विशाल तामाङ र सुमन शाही यस मुद्दामा पक्राउ पर्नु अघि कहिल्यै पनि लागु औषधको कारोबारमा संलग्न रहेको वा लागु औषध सेवन गर्ने व्यक्तिहरूका रूपमा चिनिएका थिएनन् । मेरो हेराइमा यी दुवै भाइहरू इमान्दार, अध्ययनशील विद्यार्थीको रूपमा देखेको थिएँ, निजहरूको मुख्य व्यवसाय अध्ययन नै हो । प्रहरीले पक्राउ गरेपछि मात्रै साथीभाइहरूको कुलतमा परेर लागु औषध सेवन गरे भन्ने सुनेको हो तर गाउँघरमा यी भाइहरू कहिल्यै पनि यस्तो लागु औषधको कारोबारमा संलग्न रहेको थाहा छैन । बरामद भएको लागु औषध सञ्चय गरी क्रमिकरूपमा आफैँमा खाने उद्देश्य रहेको हुन सक्छ भनी प्रतिवादी सुमन शाही र विशाल तामाङका साक्षी रूपक पौडेलले गरेको बकपत्र ।
प्रतिवादीहरू विशाल तामाङ र सुमन शाही यस मुद्दामा पक्राउ पर्नु अघि कहिल्यै पनि लागु औषधका कारोबारमा संलग्न रहेको वा लागु औषध सेवन गर्ने व्यक्तिहरूका रूपमा चिनिएका थिएनन् । यी दुवै भाइहरू इमान्दार, अध्ययनशील विद्यार्थी हुन् । यिनीहरू आफ्नो घरमा बुबा आमालाई समेत कामकाज सघाउने गर्छन् यी भाइहरू ध्रूवतारा स्पोटिङ्ग क्लव दमकबाट फुटबल, क्रिकेटलगायतका खेलहरू खेल्ने गर्दथे । प्रहरीले पक्राउ गरेपछि मात्रै साथी भाइको कुलतमा परेर लागु औषध सेवन गरे भन्ने सुनेको हो तर गाउँउपरमा यी भाइहरू कहिल्यै पनि यस्तो लागु औषध सेवन गरेको र कारोबारमा संलग्न रहने व्यक्ति होइनन् भनी प्रतिवादी सुमन शाही र विशाल तामाङका साक्षी कुमार राईले अदालतमा गरेको बकपत्र ।
मिति २०६५।७।१९ गतेको घटना विवरण कागजको व्यहोरा सहिछाप मेरो हो । बरामद भएको लागु औषध प्रतिवादीहरूले के प्रयोजनको लागि के कुन ठाउँबाट कति ल्याएका हुन् मलाई थाहा छैन भनी घटना विवरण कागज गर्ने मनोज बोगटीले अदालतमा गरेको बकपत्र ।
बरामद हुँदाको समयमा म त्यहाँ थिइन, सहिछाप मेरो नै हो । बरामद भएको लागु औषध यी प्रतिवादीहरूले के कुन उद्देश्यले ल्याएका हुन यसबारेमा मलाई केही थाहा छैन भनी बरामदी मुचुल्काका साक्षी सुमित्रा राईले अदालतमा गरेको बकपत्र ।
मिति २०६५।७।१७ मा मैले दिएको प्रतिवेदनको व्यहोरा र सहिछाप मेरो हो । उक्त मितिमा प्रतिवादीहरूलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा दमक बजार एरियाबाट पक्राउ गरी लागु औषध लुपिजेसिक, डाइजेपाम र फेनारगनसमेत बरामद गरेको हो । बिक्री वितरण गर्ने प्रयोजनको लागि नभई व्यक्तिगतरूपमा सेवन गर्न लिइएको भनी बताएअनुसार सुमन शाहीको घरबाट बरामद गरेको हो भनी प्रतिवेदक शिवप्रसाद निरौलाले अदालतमा गरेको बकपत्र ।
यसमा प्रतिवादीहरूले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा कसुरमा साबित भई सेवन गर्ने भनी दाबी लिएको भए तापनि बरामद भएको लागु औषधको मात्रा र लागु औषधको प्रकारलाई हेर्दा सेवन गर्ने मात्र नदेखिई बिक्री वितरण सञ्चय गर्ने भन्ने देखिन आउँदा यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ)(ङ) र (च) को अपराध गरेको ठहर्नाले उक्त ऐनको दफा १४ को उपदफा (१) को (ज) र (झ) अनुसार यी प्रतिवादीहरूलाई जनही वर्ष ५ कैद र रू.१,००,०००।– (एक लाख) जरिवानासमेत हुने ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६६।५।९।३ को फैसला ।
बरामद भएका लागु औषधको सन्दर्भमा १ एम.पूल बराबर २, एम.सि. हुने जम्मा ११० एम्पूल भएकोमा जम्मा २२० एम.एल.लागु औषध बरामद भएकोमा प्रतिवादी विशाल तामाङले बयान गर्दा ३ वटा डाइजेपाम, फेनारगन र लुपीजेसिक बराबर एक डोज हुने र प्रति दिन ३ डोज लगाउने कुरा सुमन शाहीले उल्लेख गरेको जम्मा २ दिनका लागि मात्र प्रर्याप्त देखिन्छ तसर्थ उक्त परिणाम केवल सेवन गर्न मात्र ल्याएको हो । बिक्री वितरण गर्न ल्याएको होइन, भन्ने कुरामा कुनै प्रमाणले पुष्टि नगरेको हुँदा सुरू फैसला बदरभागी छ, अभियोग दाबीबाट अलग फुर्सद गराई पाउँ भन्ने व्यहोराको प्रतिवादीहरू सुमन शाही र विशाल तामाङको पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक प्रतिवादीले लागु औषध बिक्री वितरण गरेको भन्ने नदेखिएको अवस्थामा सुरूको फैसला फरक पर्न सकिने देखिँदा छलफल निमित्त अदालती बन्दोबस्तको २०२ नं. र पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६६।८।३० को आदेश ।
यी दुवै जना प्रतिवादीहरूको बयानअनुसार नै अभियोगपत्रमा उल्लिखित लागु औषध बरामद भएको देखिन्छ । अदालतमा बयान गर्दा प्रतिवादी सुमन शाहीले आफ्नो घरमा लागु औषध बरामद भएको कुरालाई स्वीकार गरेकै देखिन्छ । प्रतिवादी विशाल तामाङले खरिद गरी ल्याएको कुरालाई स्वीकार गरेकै देखिन्छ । घरमा रहे भएको कुरालाई स्वीकार गरेपछि सञ्चय गरेको होइन भन्न मिल्ने देखिएन । खरिद गरी ल्याएको भन्ने कुरा पनि स्वीकार गरेको देखियो । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को उपदफा (च) मा लागु औषध खरिद गर्न सञ्चय गर्न हुँदैन भन्ने व्यवस्था भएको देखिन्छ । त्यस्तोमा ऐ.ऐनको दफा १४ (झ) आकर्षित हुने नै देखियो । प्रतिवादीहरूले सेवन मात्र गर्ने गरेको भनेको आधारमा मात्र निजहरू अभियोग दाबीअनुसारको कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले झापा जिल्ला अदालतले यी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार कसुर गरेको ठहर गरी ५ वर्ष कैद र एकलाख जरिवाना हुने गरी गरेको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । निज प्रतिवादीहरूको पुनरावेदन जिकिर र निजहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन सकिएन । माथि उल्लिखित गरेअनुसार लागु औषध खरिद गरी ल्याएको र घरमा राखी सञ्चय गरेको भन्ने प्रस्ट देखिएकोले यस अदालतको संयुक्त इजलासबाट २०६६।८।३० मा झगडिया झिकाउने आदेश गर्दा लिएको आधारसँग सहमत हुन सकिएन । तसर्थ यी माथि उल्लिखित आधार प्रमाणबाट सुरू जिल्ला अदालतबाट मिति २०६६।५।९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।२९ को फैसला ।
मिसिल संलग्न प्रमाणको उचित एवं न्यायिक ढंगबाट विश्लेषण गरी प्रमाणबाट अभियोग दाबी पुष्टि हुन्छ भने मात्रै कसुरदार कायम गरिने हो । प्रस्तुत मुद्दामा अभियोजन पक्षले अभियोजन पत्रमा बिक्री वितरणसमेतको दाबी गरेकै भरमा उक्त कसुर कायम हुन सक्ने अवस्था रहँदैन । विपक्षी नेपाल सरकारकै गवाह (साक्षी) प्रतिवेदक शिव प्रसाद निरौलाको बकपत्रबाट समेत लागु औषध सेवन गरिरहेको अवस्थामा फेला परेका, बिक्री प्रयोजनको होइन भनी लेखाई दिएबाट उक्त अभियोग दाबी वस्तुनिष्ठ आधार प्रमाणबाट वादी पक्षले पुष्टि गर्न नसकोले प्रतिवादीको जिकिर नै सत्य रहेछ भनी मान्नुपर्ने हुन्छ । म निवेदक प्रतिवादीसमेतले लागु औषध आफ्नै घरमा सेवन गर्दै पक्राउ परेको भन्ने कुरा बरामदी मुचुल्कालगायतका प्रमाणले पुष्टि गरिसकेपश्चात लागु औषध कसैलाई बिक्री वितरण गर्न लागेको भन्न नमिल्ने भई त्यस्तो अवस्थामा दुर्व्यसनीसम्म ठहर्याउन मिल्ने भन्ने संवत् २०६४ सालको फौ.पु.नं. ०६१६ सीता गुरूङ विरूद्ध नेपाल सरकार फैसला मिति २०६५।३।२५ सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधार कारणबाट मिसिल संलग्न प्रमाणबाट अभियोग दाबीबमोजिम बिक्री वितरण कसुर स्थापित नभई म निवेदक प्रतिवादीको सेवनको जिकिर पुष्टि हुँदाहुँदै अभियोग दाबीबमोजिम कसुरदार कायम गरी भएको मिति २०६६।५।९ गतेको सुरू झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।२९ गतेको फैसलामा प्रमाणको मूल्याङ्कन, न्यायिक मनको अभाव रही मुलुकी ऐन, अ.बं. १८४(क), १८५, प्रमाण ऐन, २०३१ को दफा ३,२५,५४, लागु औषध (नियन्त्रण) ऐन, २०३३ कोदफा ४,१४(१)(ज) (झ) को व्याख्यामा गम्भिर त्रुटि हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) को अवस्था विद्यमान रहेकाले दोहोर्याई हेरी उक्त दुवै फैसला उल्टी गरिपाउँ भन्ने पुनरावेदक सुमन शाही र विशाल तामाङको यस अदालतमा परेको छुट्टाछुट्टै पुनरावेदन पत्र ।
यसमा प्रतिवादीहरूले बरामदी लागु औषध आफूहरूले सेवन गर्ने उद्देश्यले ल्याएको र सोही अवस्थामा फेला परेको भनी अनुसन्धानका क्रममा साबिती रही बयान गरेको अवस्था देखिन्छ । प्रतिवादीहरूको कसुर स्थापित गर्दा उक्त बयान व्यहोरा र बरामद भएको लागु औषधको परिमाणसमेतको वस्तुनिष्ठ आधारमा मूल्याङ्कन गरिनु पर्नेमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को खण्ड (ज) र (झ) बमोजिम प्रतिवादीहरूलाई बिक्री वितरण सञ्चयतर्फ सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।२९ को फैसलामा प्रमाणको मूल्याङ्कन र लागु औषध (नियन्त्रण) ऐनको उक्त दफा १४ को खण्ड (ज) र (झ) को व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । प्रस्तुत निवेदन पुनरावेदनको लगतमा दर्ता गरी सम्बन्धित मिसिलहरू र प्रत्यार्थीहरूसमेत झिकाई नियमानुसार गरी पेस गर्नु भनी यस अदालतको मिति २०६८।४।१५ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।
२. यसमा पुनरावेदन अदालत, इलामबाट भएको फैसला मिलेको छ छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भई त्यसतर्फ विचार गर्दा, यी प्रतिवादीहरू उपर लागु औषध डाइजेपाम, लुपिजेसक, फेनारगन र नाइट्रोजन ट्याबलेटसमेत खरिद बिक्री ओसारपसारमा संलग्न रहेको प्रमाणित भएकोले लागु औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ (घ), (ङ), (च), (छ) अनुसारको कसुर अपराधमा ऐ.ऐनको दफा १४(१)(ज) र(झ) अनुसार सजायको मागदाबीसहित अभियोग पत्र दायर भएकोमा सुरू झापा जिल्ला अदालतबाट यी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ), (ङ) र (च) को कसुरमा ऐ. ऐनको दफा १४ को उपदफा १ को (ज) र (झ) अनुसार जनही ५ वर्ष कैद र १,००,०००।– (एक लाख) जरिवाना हुने ठहर्याई फैसला भएको पाइयो ।
३. उक्त फैसलाउपर यी प्रतिवादीहरूको पुनरावेदन अदालत, इलाममा पुनरावेदन परेकोमा उक्त अदालतबाट पनि सुरू झापा जिल्ला अदालतको मिति २०६६।५।९ को फैसला सदर हुने ठहर्याई फैसला भएको दखियो । पुनरावेदन अदालत, इलामबाट भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भनी निवेदन पर्न आएकोमा उक्त निवेदनमा यस अदालतबाट मिति २०६८।४।१५ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको देखियो ।
४. सुमन शाहीको घरमा लागु औषध सेवन गर्दा गर्दैको अवस्थामा पक्राउ परेको कुरा बरामदी मुचुल्कालगायतका प्रमाणहरूले पुष्टि गरिरहेको अवस्थामा अभियोग दाबीअनुरूप बिक्री वितरणको कसुरमा हामी प्रतिवादीहरू सुमन शाही र विशाल तामाङलाई कसुरदार कायम गरी भएको सुरू झापा जिल्ला अदालतको फैसलालाई सदर गरी पुनरावेदन अदालत, इलामबाट भएको फैसला त्रुटि पूर्ण हुँदा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी फैसला उल्टी गरिपाउँ भनी पुनरावेदकहरूले जिकिर लिएको देखियो ।
५. प्रतिवादी सुमन शाहीको घर कोठामा लागु औषध फेनारगन ३६ थान लुपिजेसिक ३९ थान, डाइजेपाम ३५ थान फेला पारी बरामदी मुचुल्कासहित सुमन शाही र विशाल तामाङलाई पक्राउ गरी दाखेल गरेको भन्ने प्रहरीको प्रतिवेदनबाट देखिन्छ । प्रतिवादीहरू विशाल तामाङ र सुमन शाहीले बरामद भएको लागु औषध आफूहरूले भारतको पानी टंकीबाट खरिद गरी ल्याई सिरिन्जमा राखी इन्जेक्सन लगाउने गर्दथ्यौं, विगत धेरै वर्षदेखि हामीले लागु औषध प्रयोग गरी आएको हो । वारदात मिति र समयमा समेत लागु औषध इन्जेक्सन प्रयोग गरी रहेको अवस्थामा प्रहरीले फेला पारी ११० थान लागु औषध डाइजेपाम, लुपजेसिक र फेनारगनसमेत बरामद गरेको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा पनि बरामद भएको लागु औषध सेवन गर्ने गरेको स्वीकार गरी बिक्री वितरण ओसारपसारको कसुर इन्कार गरेको देखिन्छ । प्रतिवादीहरूका साक्षी कुमार राई र रूपक पौडेलले पनि प्रतिवादीहरूले लागु औषधको कारोबारमा लागेको थाहा छैन । साथी भाइको लहैलहैमा सेवनसम्म गरे होलान् भनी बकपत्र गरिदिएको पाइयो । प्रतिवेदक शिवप्रसाद निरौलाले पनि अदालतमा आई यी प्रतिवादीहरूलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा दमक एरियाबाट पक्राउ गरेको हो । बिक्री वितरण गर्ने प्रयोजनको लागि नभई व्यक्तिगतरूपमा सेवन गर्न लिएको भनी बताएअनुरूप सुमन शाहीको घरबाट बरामद गरेको भनी बकपत्र गरिदिएको पाइन्छ ।
६. यसरी मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीहरू लागु औषध सेवन गर्दा गर्दैका अवस्थामा प्रतिवादी सुमन शाहीको घरबाट पक्राउ परेको
देखिन्छ । प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयानमा सेवनमा साबित भई बिक्री वितरणको कसुरमा इन्कार रहेका
छन् । प्रतिवेदकले पनि यी प्रतिवादीहरू बिक्री वितरणको कसुरमा संलग्न थिए भनी बकपत्र गरिदिएको पाइँदैन । लागु औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ को खण्ड (घ)(ङ)(च) र (छ) को कसुर गरेको भनी यी पुनरावेदक प्रतिवादीहरू उपर दाबी लिएको
देखिन्छ । उक्त खण्डहरूमा लागु औषध बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, खरिद गर्ने सञ्चय गर्ने राख्ने वा ओसार पसार गर्ने, र गाँजाबाहेक अन्य लागु औषध सेवन गर्ने कार्य निषेध गरेको देखिन्छ । बरामद भएको लागु औषध गाँजाबाहेकको लागु औषध रहेको देखिन्छ । यी पुनरावेदक प्रतिवादीहरूले उक्त खण्ड (छ) मा उल्लिखित गाँजाबाहेकको बरामद भएको लागु औषध सेवन गर्ने कसुर गरेको तथ्य स्वीकार गरेको देखिन्छ । सो खण्ड (छ) बाहेक माथि उल्लेख भएको खण्ड (घ)(ङ)र(च) को कसुर कायम हुन लागु औषधको कारोबार गर्ने उद्देश्यबाट लागु औषधको बिक्री, निकासी पैठारी खरिद, सञ्चय ओसार पसार गर्ने कार्य गरेको हो भन्ने प्रमाणबाट स्थापित हुनुपर्ने देखिन्छ । कानूनको व्याख्या गर्दा त्यसबाट पर्न जाने प्रभावप्रति न्यायकर्ता सदैव गम्भीर रहन पर्ने देखिन्छ । कानूनको यान्त्रिक व्याख्या गर्दा त्यसबाट अनपेक्षित परिणाम निस्कन गई न्यायबाट वञ्चित हुनुपर्ने अवस्थातर्फ पनि न्यायकर्ताले ध्यान पुर्याउन जरूरी हुन्छ । कानून र न्यायको समायोजन हुन नसके प्रतिवादीले न्याय प्राप्त गर्ने अवस्था नै रहन्न । अतः न्यायकर्ताले यस विषयमा गम्भीर भई न्याय सम्पादन गर्न वाञ्छनीय हुन्छ । तथ्यगत रूपबाट लागु औषधको कुलतमा लागेकालाई लागु औषधको कारोबारीको रूपमा सजाय गर्दा न्यायको भावना नै मर्न जाने हुँदा विवेकशील भई न्याय गर्नु न्यायकर्ताको मुलभूत र अन्तरनिहित कर्तव्य भएकोमा द्विविधा हुन सक्दैन । अब प्रस्तुत मुद्दामा भएको तथ्य र प्रमाणको विश्लेषण गर्दा यी पुनरावेदक प्रतिवादीहरूले लागु औषधको कारोबार गर्ने उद्देश्यबाट बरामद भएको लागु औषध खरिद गरी राखेको भन्ने देखिँदैन । बरामद भएको निषेधित वस्तुहरू मिलाएर एकै पटक सिरिन्जबाट शरीरमा इन्जेक्सन लगाउने गरेको भन्ने देखिएकाले बरामदी लागु औषध सेवनको लागि मात्रा मिलाउँदा एक पटक सेवन गर्न तीनै थरी प्रयोग हुने अवस्था देखिएकाले बरामदी लागु औषधको मात्रा ठूलो परिणामको रहेको भन्ने पनि देखिँदैन । बरामद भएको लागु औषध सेवन प्रयोजनकै लागि राखेको भन्ने कुरा यी पुनरावेदकहरू लागु औषधको इन्जेक्सन लगाएको अवस्थामा पक्राउ परेको भन्ने र सिरिन्जसमेत बरामद भएबाट पुष्टि हुन्छ । उल्लिखित आधार प्रमाणबाट यी पुनरावेदक प्रतिवादीहरू लागु औषधको दुर्व्यसनी रहेको भन्ने प्रमाणित
हुन्छ । निजहरूले निषेधित लागु औषध कारोबार गर्ने उद्देश्यबाट खरिद गरी घरमा राखेको भन्ने तथ्य प्रमाणित नभएकोले यी प्रतिवादीहरूको हकमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (झ) मा उल्लेख भएको सजायको व्यवस्था आकर्षित हुने देखिन आएन । प्रतिवादी अनुसन्धान अधिकारी र अदालतसमक्षको बयानमा सेवनमा साबित रहेका र बरामदी लागु औषध सिरिन्जसहित फेला परेकोसमेतको उल्लिखित आधार प्रमाणबाट प्रतिवादीहरूले माथि लेखिएबमोजिम लागु औषध (नियन्त्रण) ऐनको दफा ४ को खण्ड (छ) को कसुर गरेको देखिन आयो । सो कसुर गर्नेका हकमा सोही ऐनको दफा १४ को (१) (ज) मा उल्लेख भएको नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको प्राकृतिक वा कृत्रिम लागु औषध वा मनोद्विपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थसमेतको दुव्यर्सन गर्नै व्यक्तिलाई दुई महिनासम्म कैद वा दुइहजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेकोले यी पुनरावेदक प्रतिवादीहरूका हकमा सो व्यवस्था आकर्षित हुने देखियो ।
७. तसर्थ माथि विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को १(ज) अनुरूप सजाय हुनुपर्नेमा सोही ऐनको दफा १४ को (ज) र (झ) अनुसार सजाय गरेको पुनरावेदन अदालत, इलामको मिति २०६७।१।२९ को फैसला मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१) (ज) बमोजिम प्रतिवादीहरूलाई जनही २ महिना कैद र जरिवाना रू. २०००।– (दुई हजार) जरिवाना हुने ठहर्छ । अरू तपसिलबमोजिम
गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, इलामको फैसला केही उल्टी भई प्रतिवादी सुमन शाही र विशाल तामाङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम जनही २ महिना कैद र रू २०००।– जरिवाना हुने ठहरेको र उक्त कैद, जरिवानाको लगत प्रतिवादीहरू थुनामा बसी व्यतित गरिसकेकोले केही गरी रहनु परेन ---१
यसमा प्रतिवादीहरू मध्ये विशाल तामाङ प्रस्तुत फैसला अगावै प्रस्तुत मुद्दाको रोहबाट छुटी जाने देखिएकोले केही गरिरहनु परेन, अर्का प्रतिवादी सुमन शाहीको हकमा निज कारागार कार्यालय तेह्रथुमको मिति २०७०।८।२६ को पत्रले प्रस्तुत मुद्दाबाट थुनामुक्त भइसकेको देखिँदा केही गरी रहनु परेन ----२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू -------------------------३
उक्त रायमा सहमत छु ।
न्या. ओमप्रकाश मिश्र
इजलास अधिकृत: मुकुन्द आचार्य
इति संवत् २०७३ साल मङ्सिर ६ गते रोज २ शुभम् ।