निर्णय नं. ९७९४ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७३।११।८
०७०-CR-११४५
मुद्दा : सवारी ज्यान
पुनरावेदक / वादी : पारूग वलीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, ठुले धादिङ गाउँ विकास समिति वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी बराल पेट्रोल पम्प नजिक बस्ने सेरपु लामा
कुनै पनि सवारी चलाउने व्यक्तिले सवारी चालक अनुमतिपत्र लिनुपर्ने गरी ऐनमा भएको उक्त व्यवस्था ऐच्छिक नभई अनिवार्यरूपमा पालना गर्नुपर्ने व्यवस्था हो । सार्वजनिक सडकमा सवारी चलाउने ज्ञान र सीप नभई कुनै पनि सवारी चलाउनु हुँदैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले लिखित र प्रयोगात्मक परीक्षणबाट सफल भएका उम्मेदवारलाई सवारी चालक अनुमतिपत्र प्रदान गर्ने कानूनी व्यवस्था गरेको देखिन्छ । तसर्थ लिखित र प्रयोगात्मक परीक्षणमा उत्तीर्ण भई सवारी चालक अनुमतिपत्रको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिमा सवारी चलाउने ज्ञान र सीप भनी कानूनतः अनुमान गर्नु पर्ने ।
सवारी चालक अनुमतिपत्र नै नभएका व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको कानूनद्वारा निषेधित कार्य हो । कानूनद्वारा निषेधित कार्य गरी सवारी चलाउने अनुमति नै प्राप्त नगरेको व्यक्तिले सवारी चलाई सो सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सोकार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको मान्नुपर्ने ।
(प्रकरण नं.४)
कुनै पनि सवारी साधन चलाउन सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ को व्यवस्था र दफा १६१(२) को लापरवाहीपूर्वक सवारी चलाउँदा मानिस मर्न गएमा हुने सजायसम्बन्धी व्यवस्था एक अर्कामा अन्तर्सम्बन्धित रहेको पाइन्छ । यस अवस्थामा दफा ४५ बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने हुँदा लापरवाहीपूर्वक सवारी चलाई मानिसको ज्यान मरेमा ऐनको दफा १६१(२) आकर्षित हुने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
नेकाप २०७० फागुन, नि.नं.९०७३, पृ.१३२७
सम्बद्ध कानून :
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२)
सुरू तहमा फैसला गर्ने :
माननीय जिल्ला न्या. श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री रामचन्द्र यादव
फैसला
न्या. पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा निवेदन परी दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
मृतक गणेशप्रसाद ओझाको बायाँ खुट्टाको कुर्कुच्चाभन्दा माथि गोली गाँठो नजिक नली खुट्टाको हाड भाँच्चिएर बाहिर निस्की दुई टुक्रा भएको, टाउकोमा दायाँपट्टी कानभन्दा माथि कन्चटको भागमा थिल थिल अवस्थामा रहेको भित्र टाउकोमा हाड फुटेको भन्नेसमेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।
मिति २०६५।८।१२ गते बेलुका राति अं. २३.०० बजेको समयमा मेरो बुबा खाना खाने होटलमा खाना खान पैदल जाँदै गरेको अवस्थामा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलस्थित मूल सडकमा प्रतिवादी सेरपु लामाले चलाएको विपरीत दिशाबाट आएको बा. ९ प. ६८३५ नं. को मोटरसाइकल लापरवाहीपूर्वक चलाई ल्याई बुबालाई ठक्कर दिई घाइते भएकोमा बुबाको काठमाडौं मेडिकल कलेज सिनामंगल काठमाडौंमा मृत्यु भएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको पारूग वली ओझाले दिएको जाहेरी दरखास्त ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ९ सिनामंगलमा बा. ९ प. ६८३५ नं. को मोटरसाइकल लडिरहेको, हेडलाइट कभर फुटेको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
मैले चलाएको मोटरसाइकलले ठक्कर दिई घाइते भएको कारण गणेशप्रसाद ओझाको मृत्यु भएको हो । वारदातको बेला मैले ३ बोतल बियर खाएको
हुँ । मैले कुनै पनि सवारी साधन चलाउने इजाजत्रपत्र प्राप्त गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सेरपु लामाले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी सेरपु लामाको मुखबाट मादक पदार्थ गन्ध आउँछ । निजले मादक पदार्थ रक्सी सेवन गरेको छ भन्नेसमेत व्यहोराको बीर अस्पताल काठमाडौंको पत्र ।
हामीहरूले घटनास्थलमा सडक पार गरी आफ्नो साईडमा आइसकेको अवस्थामा प्रतिवादी सेरपु लामाले लापरवाहीपूर्वक चलाई ल्याएको मोटरसाइकलले गणेशप्रसाद ओझालाई ठक्कर दिई मृत्यु भएको हो भन्नेसमेत व्यहोराको घटनाको प्रत्यक्षदर्शीहरू राजेन्द्रकुमार गौतम र गंगामणी शर्माले गरेको एकै मिलानको छुट्टाछुट्टै कागज ।
गणेशप्रसाद ओझा र सेरपु लामा सडकमा लडिरहेको अवस्थामा देखेको हुँ । तत्काल म आत्तिएर हिँडेको हुँ र गणेशप्रसाद ओझाको मृत्यु भएछ भन्नेसमेत व्यहोराको पारस लामाले गरेको कागज ।
मिति २०६५।१२।८ गतेका दिन मादक पदार्थ अल्कोहल सेवन गरी लापरवाहीपूर्वक बा. ९ प. ६८३५ नं. को मोटरसाइकल चलाई गणेशप्रसाद ओझालाई ठक्कर दिई निजको मृत्यु भएको भन्ने देखिँदा निज प्रतिवादी सेरपु लामाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र (४) बमोजिमको कसुर अपराधमा निज प्रतिवादी सेरपु लामालाई सोही ऐनको दफा १६१(२) र (४) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी ।
प्रतिवादीले सवारी चालक अनुमतिपत्र नलिएको अवस्थामा मोटरसाइकल चलाएको एवं घटनाको स्वरूप, प्रकृति एवं परिस्थिति र प्रतिवादीले गरेको कसुरको मात्राको आधारमा प्रतिवादी सेरपु लामालाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) अनुसार ५ (पाँच) महिना कैद र रू. २,०००।– (दुई हजार) जरिवाना हुने ठहर्छ । साथै प्रतिवादीले सवारी चालक अनुमतिपत्र नलिई मोटरसाईकल चलाएको देखिँदा ऐ. ऐनको दफा १६०(२)(क) अनुसार रू.२,०००।– (दुई हजार रूपैया) जरिवाना हुने ठहर्छ । प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) र (४) बमोजिम सजाय गरिपाउँ भन्ने हदसम्म वादी नेपाल सरकारको अभियोग दाबी नपुग्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६६।११।५ को फैसला ।
प्रतिवादीले मादक पदार्थसमेत खाई चालक अनुमतिपत्र बिना सवारी चलाउने जस्ता दुवै कार्य लापरवाहीपूर्ण हुनुका साथै कानूनतः निषेधित भई रहेको कसुर अपराधको अवस्थातर्फ कुनै विवेचना नै नगरी अभियोग दाबीको कसुर ठहर नभएको हदसम्मको सुरू फैसला न्यायोचित नभई सो हदसम्म बदरभागी
छ । अतः अभियोग दाबीभन्दा कम सजाय ठहर भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीको सवारी चालक अनुमति नभएको तथा घटना हुँदाको दिन दिउँसो मादक पदार्थ वियर सेवनसमेत गरेको थिएँ भनी प्रतिवादीले बयानमा स्वीकार गरिरहेको अवस्थामा लापरवाहीको कारण घटना भएको होइन भनी वादी पक्षले लिएको सजायको अभियोग माग दाबीबाट घटाई सजाय गरेको सुरूको फैसला प्रमाण मूल्याङ्कनको सन्दर्भमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।
प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम कसुर गरेकोले निजलाई सोही ऐनको सोही दफाबमोजिम ५ महिना कैद र रू.२,०००।– जरिवानासमेत हुने ठहर्याई भएको काठमाडौं जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१२।१९ को फैसला ।
प्रतिवादीले लापरवाहीपूर्वक सवारी चलाएको कारण मृतकको मृत्यु भएको भनी किटानी जाहेरी परेको, सवारीको रफ्तारको ४०-५० कि.मी. रहेको चालक अनुमतिपत्र नभएको तथ्य निर्विवाद रहेको, निजले मादक पदार्थ खाई सवारी चलाएको भनी मौका र अदालतमा समेत बयान गरेको जस्ता तथ्य प्रमाण हुँदाहुँदै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र (३) को गलत व्याख्या एवम् प्रयोग गरी प्रतिवादीलाई दाबीभन्दा घटी सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी
छ । मिसिल संलग्न दुर्घटना प्रतिवेदन प्रतिवादीको मौकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, निजको मौकाको बयानलगायतका मिसिल प्रमाणको समुचित मूल्याङ्कन नगरी जाहेरवालाको बकपत्र नभएको भन्ने आधार ग्रहण गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा १८, २७ र ५४ को पालनामा गम्भीर त्रुटिपूर्ण छ । साथै चालक अनुमतिपत्र नलिई सवारी चलाउने कार्य नै लापरवाहीपूर्ण क्रिया भएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६२(२) अनुसार कै कसुर कायम भई सोही दफा बमोजिम कैद तथा दफा १६१(४) अनुसार थप जरिवाना हुने भनी ने.का.प. २०६५, अंक ८, पृष्ठ २४ समेतमा सर्वोच्च अदालतबाट नजिर प्रतिपादन भएकोमा उक्त फैसलामा प्रतिपादित सिद्धान्तसमेतको पालनामा गम्भीर त्रुटिपूर्ण छ । तसर्थ न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा प्रतिवादी सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको भन्ने निज स्वयम्को बयानमा स्वीकार गरेको देखिन्छ । सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनु सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को विपरीत देखिनुको अतिरिक्त त्यसरी सवारी चलाउनु स्वयम्मा नै लापरवाहीपूर्ण क्रिया भएकोले उक्त ऐनको दफा १६१(२) को कसुर कायम हुने भनी ने.का.प. २०६५, अंक ८, पृष्ठ २४ मा यस अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भइरहेकोमा प्रतिवादीलाई उक्त ऐनको दफा १६१(३) बमोजिम कसुर कायम गरी सजाय गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा उक्त सिद्धान्त तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को समेतको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहर्याई हेर्न निस्सा प्रदान गरी दिएको छ भन्ने मिति २०७०।१०।२४ मा यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले प्रतिवादीसँग सवारी चालक अनुमतिपत्र नभएको तथ्य निर्विवादित छ । निजले मादक पदार्थ सेवन गरी सवारी चलाएकोसमेत देखिन्छ । सवारी गति पनि ४०-५० कि.मी. प्रतिघण्टा रहेको अवस्था छ । सवारी चालक अनुमतिपत्र नभई सवारी चलाउनु नै स्वयम्मा लापरवाहीपूर्ण क्रिया हो । सोबाहेक पनि निजले मादक पदार्थ सेवन गरेको, तिव्र गतिमा सवारी चलाएको जस्ता क्रियाले चरम लापरवाहीको अवस्था देखिएको छ । यस्तो अवस्थामा पनि प्रचलित कानूनको गलत ब्याख्या गरी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालना नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी बहस गर्नुभयो ।
यसमा प्रतिवादीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाई मृतकलाई ठक्कर दिई निजको मृत्यु भएकोले निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६(१) (२) बमोजिम सजाय हुन र बिना लाइसेन्स सवारी चलाएकोले ऐ. को उपदफा (४) बमोजिम थप सजाय गरी पाउन मागदाबी लिई अभियोगपत्र दायर भएको रहेछ । सवारी चालक अनुमतिपत्र नभएकै कारणले मात्र लापरवाहीपूर्वक सवारी चलाएको मान्न सकिने अवस्था नदेखिएको र मोटरसाइकल चलाउँदा दुर्घटना भई मृतकको मृत्यु भएको देखिएकोले प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम ५ महिना कैद र २,०००।– जरिवाना हुने ठहर्याई भएको सुरू जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको देखियो । प्रतिवादीको सवारी चालक अनुमतिपत्र नभएको तथ्य निर्विवादित भएको, निजले मादक पदार्थसमेत सेवन गरी सवारी चलाएको देखिएको र सवारीको गति पनि तिव्र रहेको अवस्था हुँदाहुँदै प्रतिवादीलाई अभियोग मागदाबीभन्दा कम हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम सजाय गरेको फैसला प्रचलित कानून र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भएकोले दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा निवेदन परी दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको रहेछ ।
यसप्रकारको तथ्य रहेको प्रस्तुत मुद्दामा प्रतिवादीले मोटरसाईकल चलाई सडकमा हिँडिरहेको मानिसलाई ठक्कर दिई निजको मृत्यु हुन गएको क्रिया लापरवाहीपूर्ण हो होइन ? लापरवाही नठहर्याई प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिमको कसुर कायम गरी प्रतिवादीलाई सोही दफाबमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ
छैन ? सोही विषयमा प्रस्तुत मुद्दामा निर्णय दिनुपर्ने देखिन आएको छ ।
२. यस सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२) मा निम्नानुसारको कानूनी व्यवस्था रहेको देखिन्छ ।
दफा ४५ - कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउनु हुँदैन ।
दफा १६१(२) - कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्नसक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।
३. प्रस्तुत मुद्दामा प्रतिवादी सेरपु लामाले चलाएको बा. ९ प. ६८३५ को मोटरसाइकलले गणेशप्रसाद ओझालाई ठक्कर दिई निजको मृत्यु भएको तथ्यमा विवाद देखिन्न । यी प्रतिवादीसँग सवारी चालक अनुमतिपत्र नभएको तथ्यमा पनि विवाद
छैन । वारदातको बेला आफूले ३ वोतल वियर खाएको हुँ भनी प्रतिवादीले वारदातको दिन वियर खाएको तथ्यलाई समेत स्वीकार गरी मौका र अदालतमा बयान गरेको र प्रतिवादी सेरपु लामाले मादक पदार्थ सेवन गरेको भन्ने वीर अस्पताल काठमाडौंको पत्रबाट देखिएकोले प्रतिवादीले मादक पदार्थसमेत सेवन गरी मोटरसाइकलको तथ्यसमेत स्थापित हुन आएको छ ।
४. यसप्रकार निज प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ ले गरेको चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउन नपाइने उल्लिखित कानूनी व्यवस्थाको उल्लङ्घन गरी चलाएको मोटरसाइकलको ठक्करबाट मृतकको मृत्यु भएको नं.१ यसरी सवारी चालक अनुमतिपत्र नै नभएका व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको कानूनद्वारा निषेधित कार्य हो । कानूनद्वारा निषेधित कार्य गरी सवारी चलाउने अनुमति नै प्राप्त नगरेको व्यक्तिले सवारी चलाई सो सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सोकार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको मान्नुपर्ने हुन्छ ।
५. कुनै पनि सवारी साधन चलाउन सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ को माथि उल्लिखित व्यवस्था र दफा १६१(२) को लापरवाहीपूर्वक सवारी चलाउँदा मानिस मर्न गएमा हुने सजायसम्बन्धी व्यवस्था एक अर्कामा अन्तर्सम्बन्धित रहेको पाइन्छ । यस अवस्थामा दफा ४५ बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने हुँदा लापरवाहीपूर्वक सवारी चलाई मानिसको ज्यान मरेमा ऐनको दफा १६१(२) आकर्षित हुन्छ ।
६. नेपाल सरकार विरूद्ध राजकुमार तामाङसमेत भएको सवारी ज्यान मुद्दामा यस अदालतको पूर्ण इजलासबाट भएको फैसलामा “सवारी चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने गरेको कार्य लापरवाहीयुक्त मान्नुपर्ने” भनी
(ने.का.प. २०७० फागुन, नि.नं. ९०७३, पृ.१३२७) सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।
७. तसर्थ उपरोक्त कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित उल्लिखित सिद्धान्तसमेतको आधारबाट प्रतिवादी सेरपु लामाले मोटरसाइकल चलाउने सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सार्वजनिक सडकमा मोटरसाइकल चलाउदा गणेशप्रसाद ओझालाई ठक्कर दिई निजको मृत्यु भएको र निज प्रतिवादीको उक्त कार्य लापरवाहीपूर्वकको भई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसुर देखिन आयो । तसर्थ प्रतिवादी सेरपु लामालाई उक्त ऐनको दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा दफा १६१(३) बमोजिम सजाय गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१२।१९ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सेरपु लामालाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम दुई वर्ष कैद सजाय हुने ठहर्छ । निजले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको कारण मानिसको मृत्यु भएकाले उक्त ऐनको दफा १६१(४) बमोजिम थप दुई हजार रूपैयाँ जरिवानासमेत हुन्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६८।१२।१९ को फैसला केही उल्टी भई प्रतिवादी सेरपु लामालाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको दुई वर्ष कैद र सोही ऐनको दफा १६१(४) बमोजिम थप दुई हजार रूपैयाँ जरिवानासमेत हुने ठहरेकोले सुरू काठमाडौं जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहाय दफा १ मा उल्लेख भएबमोजिमको कैद जरिवानाको लगत कायम नरहने भएकोले कट्टा गरी निज प्रतिवादीका नाउँमा देहाएबमोजिमको कैदको लगत कसी असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू -----------------------------------------------१
प्रतिवादी लागेको कैद पुर्पक्षको लागि थुनामा बसेको कट्टा गर्नुपर्ने दिन असुल गर्न पर्ने बाँकी कैद
सेरपु लामा २ वर्ष २४ दिन १ वर्ष ११ महिना ६ दिन
जरिवानाको हकमा सुरू जिल्ला अदालतमा प्रतिवादीले पुर्पक्षको लागि मिति २०६६।१।७ मा र.नं. ८७५ बाट रू. ५०,०००।– धरौटी राखेको देखिँदा निजलाई लागेको जरिवाना रू. २,०००।- सोही धरौटीबाट कटाई सदर स्याहा गर्नु र बाँकी धरौटी रू. ४८,०००।- निजबाट असुल गर्न बाँकी कैद असुल भएपछि निज प्रतिवादीलाई नियमानुसार गरी फिर्ता दिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखि पठाउनू -----------------------------२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइ दिनू ----------------------------------------३
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृतः आनन्दराज पन्त
इति संवत् २०७३ साल फाल्गुन ८ गते रोज १ शुभम् ।