शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७९६ - कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक:

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७३।१२।२५।६

०७३-RC-००२८

 

मुद्दा : कर्तव्य ज्यान

 

वादी : भक्तपुर जिल्ला, तत्कालीन चित्तापोल गाउँ पञ्चायतका प्रधानपञ्च गोकर्ण बहादुर कार्कीको जाहेरीले वादी नेपाल सरकार

विरूद्ध

प्रतिवादी : भवानी शोभराजको छोरा २० एभेन्यू डि, इभ्री ७५०१३ प्यारिस फ्रान्स घर भई हाल कारागार शाखा जगन्नाथ देवल, काठमाडौंंअन्तर्गत केन्द्रीय कारागार थुनामा रहेका चार्ल्स गुरूमुख शोभराज

 

कर्तव्यवाला पत्ता लागेको अवस्थामा २० वर्षपछि पनि मुद्दा चल्ने ज्यानसम्बन्धी महलको २० नं. को व्यवस्थाले नै स्पष्टरूपमा बोली राखेकै छ । यस्तो अवस्थामा कर्तव्य भएको २० वर्षपछि मुद्दा चल्न नसक्ने भन्ने जिकिर ज्यानसम्बन्धी महलको २० नं. को मनसाय प्रतिकूल भई सो जिकिरसँग सहमत हुन नसकिने ।

(प्रकरण नं.१०)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता दशरथ पंगेनी

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता लोकभक्त राणा, विद्वान्‌ अधिवक्ताहरू शकुन्तला थापा, रामबन्धु शर्मा र विद्वान्‌ वैतनिक अधिवक्ता किरण कुमारी गुप्ता

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३), २० नं.

 

सुरू तहमा फैसला गर्ने :

माननीय जिल्ला न्या. श्री नागेन्द्रलाल कर्ण

पुनरावेदन तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती

माननीय न्यायाधीश श्री नारायण प्रसाद शाह

 

फैसला

न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधकको रोहमा पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मिति २०३२ साल पौष ६ गते म आफ्नो गाउँ पञ्चायतको कामकाज गर्दै रहेको अवस्थामा ६ नं. वडा सदस्य भरत राना मगरले पलासे अरनिको राजमार्गको ढलमा कहाँको के नाम गरेको व्यक्ति के परिवन्धबाट मरेको छ भनी खबर गरेकोले मसमेत गई हेर्दा निज मृतकको जिउमा लुगा नभई सर्वाङ्ग नाङ्गो अवस्थामा मुख नचिनिने गरी आगोले डढेको,घाँटीमा रगतसमेत देखिएको मृतकको लास भेटिएकोले के कति परिबन्धबाट मारी यहाँ फालेको हो ? जाँचबुझ गरी कानूनबमोजिम गरिपाउँ भनी मिति २०३२।९।६ गतेको जिल्ला भक्तपुर, चित्तापोल गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च गोकर्ण बहादुर कार्कीले दिएको दर्खास्त ।

जिल्ला भक्तपुर, तत्कालीन चित्तापोल गाउँ पञ्चायत वडा न.६ स्थित अरनिको राजमार्गदेखि दक्षिण गाउँ जाने बाटो, उत्तर सडकको ढलमा पुर्व टाउको पश्चिम खुट्टा भई उत्तानो परी लडेको टाउकोमा रहेको कपाल डढेको, कान दुवै आगोले खाई छाला डढेको, नाकको दुवै प्वालबाट रगत आएको, आँखा दुवै बन्द रही आगोले खाएको, निधारको दुवै आँखामाथि चोट लागेको, जुँगा डढेको, घाँटीमा किलकिलेनिर सेरिएको काटेको घाउ प्वाल देखिएको, बायाँ हात जिउले थिचेको, दाहिने हात बाँधिएको, औंला आगोले डढेको, नारीमा कपडाले बाँधेको डढेको कपडा देखिएको, पाइन्ट आदि आगोले खाई केही भाग देखिएको, कट्टिमा डढेको अण्डरवयरको कपडा भएको, दुवै कट्टिमा छाला डढेको, पिसाब फेर्ने ठाउँमा आगोले हड्डी र छाला डढेको, दाहिने पिँडौलामा तिघ्रामा धेरैजसो भाग आगोले खाएको, बाँया पट्टीको तिघ्रा पिडौला र कुरकुच्चामा आगोले खाएको, लास ओल्टाई पल्टाई हेर्दा टाउकोमा पछाडिपट्टी केही भाग कैलो रंङको र सो कपालमा रगत लागेको,पछाडि पिठ्यूमा रगतको दाग लागी लासले थिचेको,देव्रेपट्टिको नाडीमा कपडाले बाँधेको र धेरैजसो कपडा डढेको, औंला प्राय: सबै डढेको, पछाडि दुवै फिलामा दिसा लागेको र निजले लगाएको अण्डरवयर केही भाग डढेको कपडा टाँसिएको, दाहिने खुट्टाको घुँडानिर हाड देखिने गरी डढेको, दुवै खुट्टाको औंलाहरू सग्लै देखिएको, लासले थिची राखेको ठाउँमा घाँटीबाट बगेको रगत जमेको, हेर्दा विदेशी जस्तो देखिने कहाँ बस्ने के नाम गरेको व्यक्ति भन्ने सम्बन्धमा यकिन नभएको भन्नेसमेत व्यहोराको मिति २०३२।९।६ गतेको घटनास्थल एवं लास जाँच प्रकृति मुचुल्का ।

सम्भवत: मृत्युको कारण घाँटी काटिएर रेस्पोरेटरी फेलियर भएर हुन सक्छ । (Probably the cause of death might be due to respiratory failure due to cut throat) भन्ने व्यहोराको भक्तपुर अस्पतालको मिति २०३२।९।७ गतेको लासजाँच रिपोर्ट।

First met Connie and Laurent friday (१९th) on Saturday (२०th) in their hotel room. They were talking about travel and buying things in India. They bothhad a number of jewels and stones which they bought in India. Laurent had a very expensive ruby which he carried with his money. Connie talked of selling the jewels in the U.S.A. The next days I saw Connie a few times in the hotel or on the street. Connie evidently stayed in the hotel most of the time.

Monday afternoon, I had tea with Connie, Kirsty and Jan in the United Restaurant. Connie talked about meeting an Oriental jeweler and his French Wife. They visited in their room at the Solty Oberio Hotal where the jeweler told her the jewels were not very good. She said she was going to return them when she returned to India.In conclusion, Kirsty and Jan and myself identified the bodies and jewelry found which belonged to Connie (US). I identified Laurent (Can) by the size of the body (६’६”) भन्ने व्यहोराको (c२६०९९८३-usa)kent c anschutz ले सन २४/१२/७५ मा गरेको सनाखत कागज ।

भक्तपुर जिल्ला, पलाँसेको ढलमा एकजना अमेरिकन जस्तो जिउमा कुनै लुगा नभएको अनुहारसमेत नचिनिने गरी प्रेट्रोल हाली आगो लगाई डढाएको जस्तो शरीरको अधिकांश भाग डढेको मृतकको लास रहेको, निज मृतकलाई कहाँ बस्ने के नाम गरेको कसले घटनास्थलमा नै वा अन्यत्र ठाउँमा मारी ल्याई फालेका हुन् थाहा भएन । निज मृतकको शरीरमा कुनै लुगा नभएको, शरीर सर्वाङ्ग नाङ्गो र निजको हतियारले काटेको घाउसमेत थियो भन्नेसमेत व्यहोराको बुझिएका लाल बहादुर बस्नेतसमेतले गरी दिएको मिति २०३३।३।२६ गतेको सरजमिन

मुचुल्का ।

भक्तपुर जिल्ला, साँगा पलासे भन्ने ठाउँमा विदेशी मानिस मारी आगो लगाई फालेको सम्बन्धमा निज मर्ने व्यक्ति क्यानाडा निवासी लरेन्ट आरमण्ड क्यारियरे (Laurent armond carriere) हुन् भन्ने पत्ता लागेको तर को कसले मारी आगो लगाई फाली दिएको हो भन्ने सम्बन्धमा कतैबाट खुल्न नआएको र पछि खुल्न आएका बखत कारवाही चलाउने गरी तामेलीमा राखी पाउन भक्तपुर जिल्ला अदालतमा दाखिल गरेको प्रहरी प्रतिवेदन ।

भक्तपुर जिल्ला, साँगा पलाँसे भन्ने ठाउँमा विदेशी मानिस मारी आगो लगाई फालेको सम्बन्धमा निज मर्ने व्यक्ति क्यानाडा निवासी लरेन्ट आरमण्ड क्यारियरे (Laurent armond carriere) हुन् भन्ने पत्ता लागेको तर को कसले मारी आगो लगाई फाली दिएको हो भन्ने सम्बन्धमा कतैबाट खुल्न नआएको र खुल्न आएका बखत कारवाही चलाउने गरी मिसिल तामेलीमा राखी दिने भन्नेसमेत व्यहोराको मिति २०३३।९।२२ गतेको भक्तपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश श्री हरिजंङ सिजापतीको आदेश ।

I.C.P.O Paris, feb. १९७३ file no ९४०/७२ control no A ८४४३ मा sobhraj hotchand bhawnani charles का नाममा जारी भएको green corner notice मा निज शोभराजको finger print,photo तथा केशको विवरणसमेत Interpol  Secretariat  General (महासचिव)फ्रान्सबाट मिति २२ Aug, २००५ मा प्रमाणित गरी पठाएको विवरण ।

काठमाडौं जिल्ला, झोंछेस्थित ओरन्टियल लजका प्रोप्राइटरसँग बुझ्दा मिति २०३३।८।२८ गते अमेरिकी नागरिक कोनिजो व्रोन्ची (miss Connie jo bronizch) र सोको तीन दिनपछि क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent armond carriere) भन्ने व्यक्ति उक्त होटलमा आई बसेकोमा मिति २०३२।९।५ गते लरेन्ट धुलिखेलसम्म घुम्न जान्छु भनी हिँडेको र त्यसको २ दुई दिनपछि कोनिजो पनि लरेन्ट आरमण्ड क्यारियरे (Laurent armond carriere) लाई भेट्छु भनी धुलिखेलतर्फ गएको भनी बताएको, भक्तपुर साँगामा लरेन्ट आरमण्ड क्यारियरे (Laurent armond carriere) लाई एलेन गोटियर भनिने चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh), मनिलेक्लर्क भनिने मेरिएण्ड्रे लुसिलेक्लर्क (Marie Andre Lucie Leclerc) भारतीय नागरिक अजय चौधरीसमेतका जना ३ तिन व्यक्ति भई हत्या गरी मारी फालेकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुन र लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) लाई  कर्तव्य गरी मारेको घटनास्थल चित्तापोल गाउ पञ्चायत भक्तपुर जिल्लाभित्र परेको हुँदा निज लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) लाई कर्तव्य गरी मारेतर्फ उपरोक्त अभियुक्तहरू उपर सम्बन्धित अदालतमा मुद्दा दायर गरिनेछ भन्नेसमेत व्यहोराको मिति २०३३।६।५ गते काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रहरी प्रतिवेदन ।

मिति २०३२।९।६ गते तदअनुसार २१ डिसेम्बर १९७५ का दिन भक्तपुर साँगा भन्ज्याङ सडक किनारमा पछि सनाखत हुन आएका क्यानडा निवासी लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) र मिति २०३२।९।८ गते तदअनुसार २३ डिसेम्बर १९७५ मा अमेरिकी नागरिक सुश्री कोनिजो व्रोन्ची (Miss Connie Jo Bronizch) को लास मुख नचिनिने गरी डढाई फाली दिएको फेला परेको, दुवै मृतकहरू काठमाडौंको झोछेंस्थित ओरेन्टल लजको कोठा न.९ मा सँगै बसेको, दुवै जना मृतकको हकमा मृतकको साथमा आएका अन्य विदेशी पर्यटकहरूसँग सोधखोज गर्दा दुवै जना बहुमुल्य पत्थरहरू संकलन गर्न अभिरूची राख्ने र निजहरूको साथमा केही बहुमुल्य पत्थरहरू रहेको थियो । विदेशी पर्यटकहरू मध्ये अष्ट्रेलियन नागरिक सुश्री कृष्टीर सुश्री जेनकाले मृतक कोनिजो व्रोनजी (Connie Jo Bronizch) तत्काल सोल्टी ओभराय होटलमा बस्ने एक जना भियतनामी पर्यटकसँग आफ्नो चिनजान भएको र उक्त युवक पनि बहुमुल्य पत्थरमा अभिरूची राख्ने भन्ने कुरा बताएकी थिइन् । उक्त भियतनामी युवकसँग आरामदायी कार छ भन्ने कुरा पनि मृतक कोनीजो (Connie jo) ले आफ्ना दुईजना साथीहरूलाई बताएकी र समय समयमा उक्त युवकसँग भेट गर्न जाने भन्ने कुरा गरेको पनि निज कृष्टी र जेनकाबाट थाहा हुन आएको

थियो । यही आधारमा सोल्टी होटलमा गई भियतनामी भनिएको युवकको खोजतलास गर्दा भियतनामी कुनै पनि पर्यटक होटलमा नबसेको तर हिन्द चाईना अनुहारसँग मिल्दो एक युवक र निजको साथ एक युरोपियन केटी डिसेम्बर १८ तारेख देखि रहेको, उक्त होटलबाट डिसेम्बर २४ तारेखका दिन होटल मल्लमा सरी २५ तारेखको दिन पुन: सोल्टी होटलको कोठा नं.४१५ मा बसेको थाहा हुन आयो । उक्त दुवै जनालाई गई हेर्दा भियतनामी जस्तो देखिने युवकले आफ्नो नाम हेनरिकस बेन्टाजा (Hennricus Bintanja) र केटीले आफ्नो नाम कुकी हेम्कर (Cockie Hemker) भएको, आफू दुवै जनालाई हलैण्ड नागरिक बताएका थिए । अनुसन्धानको क्रममा खोजतलास गर्दै जाँदा निज हेनरिकस बेन्टाजा (Hennricus Bintanja) ले १९ डिसेम्बर १९७५ का दिन काठमाडौं स्थित गोरखा ट्राभल्सबाट ५००१ नम्बरको निजी ड्याटसन सेतो कार भाडामा लिएको,२३ डिसेम्बरका दिन कुकी हेङकर एक्लै गई गोरखा ट्राभल्समा उक्त कार फिर्ता गरेको भन्ने कुरा गोरखा ट्राभर्ल्सबाट बुझिन आएको । उक्त कार फिर्ता गर्दा सोकारमा गोल्डेन फ्रेम र कालो सिसा भएको चस्मा १, जिन्सको टोपी, लेन्स क्लिनरसमेत छुटेको,उक्त कारको पछाडि डिकीमा एउटा जिन्सको पाईन्ट फेला परेको, उक्त पाईन्ट सम्बन्धमा हेनरिक बेन्टान्जा (Hennricus Bintanja) सँग सोधपुछ गर्दा मेरो होइन भनी बयान दिएका थिए । यसैबीच एयरपोर्ट एमिग्रेशनमा गई एराईभल (arrival) तथा डिपास्चर लिष्ट चेक (Departure list check) गर्दा मृतक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) २३ डिसेम्बरका दिन बैंकक गई २४ डिसेम्बरका दिन पुन: काठमाडौं आएको देखियो । लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond  Carriere) लेभरेको Emarkation card / disembarkation को हस्ताक्षर तथा ओरेन्टल लजमा गरिएको हस्ताक्षर विशेषज्ञकोमा जाँच गर्दा फरक देखियो । यसैबीच हेनरिकस बेन्टाजा (Hennricus Bintanja) र कुकि हेम्करसँग सोधपुछ जारी नै रहेकोमा २८ डिसेम्बरका दिन निजहरूलाई पुन सोधपुछ गर्न होटलमा जाँदा निजहरूले बस्ने गरेको कोठा नं.४१५ मा गई बोलाउँदा कोही नबोलेकोले जबरजस्ती ढोका खोलीभित्र पस्दा कोठामा कोही पनि नभएको तर तिन सुट्केश जुत्ता तथा अरू कपडाहरू त्यही भएको, उक्त होटलमा छोडिएका मालसामान मध्ये नाईलनको मनिब्याग बरामद हुन आएको, मे १९७६ मा मृतक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को दाजु गिलोर एम क्यारियरे (Gilor M. Carriere) काठमाडौंमा आई मृतक शवको फोटो, देखिएको कपडाको टुक्रा,५००१ नं.को निजी कारमा भेटिएको, चस्मा, जिन्सको टोपी, निलो जिन्स पाईन्ट र हेनरिकस बेन्टाजा बसेको होटल सोल्टी कोठा न.४१५ बाट बरामद भएको निलो नाईलनको मनिब्याग, कालो नाईलन जिपर, कालो पलाष्टिक क्लिप र निलो कम्बर पेटी मेरो भाइ लरेन्ट आरमण्ड क्यारियरे (Laurent ArmondCarriere) को हो भनी मे २ तथा २१ को दिन सनाखत गर्दछ । सोल्टी होटलको रजिस्ट्रेसन कार्ड न.६४४९ मा एलेन गोटियर (Allen Gauthier) उर्फ बेन्टाजाले लेखिएको अक्षर तथा हस्ताक्षर २३ डिसेम्बर १९७५ का दिन लरेन्ट आरमण्ड क्यारियरे (Laurent ArmondCarriere)को नामबाट बैंकक जाँदा र भोलिपल्ट फर्की काठमाडौं आउँदा भरेका लिखतका अक्षरहरू विशेषज्ञका अनुसार समान अर्थात् एउटै व्यक्तिले लेखेको छ भनी निर्विवाद छ भन्नेसमेत व्यहोरा उल्लेख भएको छ । उक्त कुराहरू तत्कालीन प्रहरी महानिरिक्षक अच्युत कृष्ण खरेलले मिति २०५३।१२।१४ मा लरेन्ट आरमण्ड क्यारियरे (Laurent ArmondCarriere) समेतको हत्या काण्डमा गृह मन्त्रालयमा दिएको प्रतिवेदन र एस.पी चन्द्र विर राईले पेस गरेको प्रतिवेदनसमेतमा उल्लेख भएको, प्रतिवादी चार्ल्स शोभराज गुरूमुख डिसेम्बर १९७५ मा बैंककबाट काठमाडौं आई सोल्टी होटलमा हेनरिकस बेन्टाजा (hennricus bintanja) को नामबाट बसेका, मृतक कोनिजोसँग एउटै कोठामा बस्ने क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को भक्तपुर साँगामा मिति २०३२।९।६ गते लास फेला परेको निजको नाईलनको मनिब्याग निज प्रतिवादी बसेको होटल ओभरायको रूम न.४१५ बाट बरामद भएको र निज लरेन्टको टोपी चस्मा,जिन्सको पाईन्ट, यी प्रतिवादीले गोरखा ट्राभल्सबाट भाँडामा लिई चलाएको ५००१ नं.को सेतो कारबाट बरामद भएको, सो गाडी मिति २०३२।९।५ गतेदेखि ८ गतेसम्म विदेशीले भाँडामा लिएको भन्ने ड्राईभर पुर्णबहादुर महर्जनको कागजबाट देखिन आएको, मृतक कोनिजोको लास एकान्त ठाउमा ऐ.८ गते बिहान लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) कै लास फेला परेको स्थानतर्फ जाने बाटोमा भेटिएको र सोही दिन अर्थात् मिति २०३२।९।८ गतेका दिन ११:३० बजे बैंकक जाने प्लेनबाट निज प्रतिवादी लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को नाउँबाट बैंकक गई भोलिपल्ट काठमाडौं फर्किएको, मृतक कोनिजो ब्रोन्ची (Connie jo Bronizch)को डाँयरीमा यी प्रतिवादीको नाम, थर, ठेगाना उल्लेख हुनु नपर्ने, मृतक कोनिजो (Connie jo) भियतनामी व्यक्तिसँग भेटघाट गर्न सोल्टी ओभरायमा जाने गरेको भनी किष्ट्री मारिन मेक्मिलनले (Kirsty Marion Macmillan) भनेकी हुँदा मृतक कोनिजो व्रोन्जी (Miss Connie Jo Bronizch) सँग प्रतिवादीको काठमाडौंमा भेटघाट प्रत्यक्ष सम्बन्ध भएको देखिने हुँदा प्रतिवादीले वारदातको समयमा आफू अन्यन्त्र रहेको प्रमाण दिन नसकेको हुँदा निजले लिएको Plea of Alibi नै निजको विरूद्धमा प्रमाण लाग्ने भएको, यस हत्या सम्बन्धमा सोधपुछ हुँदा सामानहरू होटलमा छाडी यी प्रतिवादी ट्याक्सी लिई रोडको बाटो हुदै भारततर्फ भागी गएको, हत्या गर्ने र हत्या गरी सकेपछि मृतकलाई नचिनिने गरी जलाउने आपराधिक कार्यविधि तरिका (Modus Operandi) मा समानता देखिन आएको, हत्या गर्न विदेशी पर्यटकलाई छनौट गरी हत्या गर्ने कार्यमा समानता रहेको तथा उल्लिखित तथ्यहरू एक आपसमा आबद्ध रहेकोसमेतका उल्लिखित विवेचना गरिएका परिस्थितिजन्य प्रमाणहरूसमेतबाट प्रतिवादी चार्ल्स शोभराज गुरूमुखले अमेरिकी नागरिक कोनिजो व्रोनची (Connie jo Bronizch) लाई कर्तव्य गरी मारेको ठहर्छ । सो ठहर्नाले मुलुकी ऐन, २०२० को ज्यानसम्बन्धीको महलको१३(३) नं.अनुसार प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०६१।४।२८ गतेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला ।

प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) ले १९७५ डिसेम्बरमा आफू नेपाल नआएको भन्ने कुरा स्थापित नभई सो समयमा प्रतिवादी नेपालमा रहेको प्रमाणित र पुष्टी भएको, मृतक कोनिजो व्रोन्ची (Connie jo Bronizch) सँगै एउटै कोठामा ओरेन्टल लजको कोठा न.९ मा बसेको क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को मनिब्याग प्रतिवादी बसेको होटल सोल्टी ओभरायको कोठा न.४१५ मा फेला पर्नुको साथै प्रतिवादीले भाडामा लिई चलाएको गोरखा ट्राभर्ल्सको सेतो ५००१ नम्बरको कारबाट लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को चस्मा र जिन्सको पेईन्ट बरामद भएको,मृतक कोनिजो व्रोनची (Connie jo Bronizch) को डायरीमा यी प्रतिवादीको नाम उल्लेख भएको र यसरी लरेन्ट आरमण्ड क्यारियरे (Laurent ArmondCarriere) का सामान निजले भाडामा लिएको कारबाट बरामद भएको, मृतक कोनिजो व्रोन्चीको डायरीमा यी प्रतिवादीको नाम र ठेगाना उल्लेख हुनाको कारण प्रतिवादीले खुलाउन नसकी निजसँग सम्बन्ध सम्पर्क नै नभएको भन्ने निजको बयान मिथ्या साबित भएको तथा हत्या सम्बन्धमा तत्काल यी प्रतिवादीसँग सोधपुछ हुँदा र होटल छाड्दा खबर दिनु भनेको कुरालाई बेवास्था गरी सामान होटलमा छाडी मोटर बाटो हुँदै भारततर्फ लागेको र बहुमुल्य पत्थर सम्बन्धमा मृतकसँग भेटघाट सम्बन्ध भएको कुरा पुष्टि भएकोबाट बहुमुल्य पत्थरकै प्रलोभनमा समेत परी प्रतिवादीले मृतक कोनिजो व्रोन्ची (Connie jo Bronizch) को हत्या गरेको कुरा परिस्थितिजन्य प्रमाणबाट खम्बिर भएको देखिँदा, गेष्ट रजिस्ट्रेसन कार्ड र पासपोर्टमा रहेको दस्तखत एकै व्यक्तिको हुन सक्ने भन्ने विशेषज्ञको राय भई २००३ मा मात्रै नेपाल आएको भन्ने बयान विश्वासयोग्य नदेखिइ गेष्ट रजिस्ट्रेसन कार्डबाट १९७५ डिसेम्बरमा प्रतिवादी नेपालमा रहेको पुष्टि भएको र बहुमुल्य पत्थर सम्बन्धमा मृतकसँग प्रतिवादीको भेटघाट हुने गरेको भन्ने देखिएको समेतका परिस्थितिजन्य प्रमाणको विवेचना गरी प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई कसुरदार ठहर गरी ज्यानसम्बन्धी महलको १३(३)अनुसार सर्वश्वसहित जन्म कैद गर्ने गरी गरेको मिति २०६१।४।२८ को काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको  मिति २०६२।४।२० गतेमा पुनरावेदन अदालत, पाटनको संयुक्त इजलासबाट भएको

फैसला ।

हेनरिकस बेन्टाजाको नामले बसेको एलेन गोटियर भन्ने व्यक्ति र चार्ल्स शोभराज गुरूमुख (Charles Shbhraj Gurumukh) भन्ने व्यक्ति एउटै रहेको र निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) को कार्य र व्यवहारको उपर्युक्त तथ्यहरू मालाकार कडीको रूपमा आबद्ध भई निजले अभियोग दाबीबमोजिम कोनिजो व्रोनचीको (Connie jo Bronizch) हत्या गरेको भनी परिस्थितिजन्य प्रमाणहरूबाट स्थापित हुन आएको देखिएकोले अभियोग दाबीबमोजिम निजले कसुर अपराध गरेको भनी कसुरदार ठहराई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्म कैदको सजाय गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतले मिति २०६१।४।२८ गतेमा गरेको फैसलालाई सदर गर्ने गरी गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६२।४।२०को फैसलामा तथ्यको विवेचना, प्रमाणको मुल्याङ्कन, अपराधको निर्धारण र सजायको उद्‌घोषणसमेतबाट कुनै त्रुटि विद्यमान रहेको नदेखिँदा सो फैसला सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको मिति २०६७।४।१४ गतेको फैसला ।

मेरो तीनपुस्ते नाम, थर, उपनाम, पेसासमेतको उत्तर बताउन आवश्यक

ठान्दिन । म फ्रान्सदेखि अबुदाबी हुँदै नेपाल आएको हुँ । देशको भ्रमण गरेको सम्बन्धमा भन्न आवश्यक ठान्दिन । म पहिलो चोटी १ सेप्टेम्बर २००३ मा ३० दिने व्यवसायिक भिषा प्रयोग गरी नेपाल आएको हुँ । २७/१ नम्बरको (Disembarcation card) देखाउँदा देखेँ, हेरे, चिनेँ । उक्त कार्डमा रहेका अक्षरहरू मैले लेखेका होइनन् र उक्त कार्डमा रहेको दस्तखत चाहीँ मेरो हो । म उक्त समयमा गार्डेन होटलमा बसेको

हुँ । ट्याक्सीवालाले होटल ओभरायमा नलगी गार्डेन होटलमा लगेको हुँदा सोही होटलमा बसेको हुँ । सोल्टी होटलको ६४४९ नं. गेष्ट रजिस्ट्रेसन कार्ड र मल्ल होटलको ०११९ गेष्ट रजिस्ट्रेसन कार्डको प्रतिलिपि देखेँ हेरेँ उक्त कार्डहरू कोनिजो व्रोनची (Connie jo Bronizch) सँग सम्बन्धित काठमाडौं जिल्ला अदालतमा चलेको केशसँग सम्बन्धित छन् । काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालतको फैसलालाई U.N.Human Right Committee ९९ session on २७ july ०१० को views/order ले खारेज गर्दै ICCPR को उल्लङ्‌घन पारिएको प्रस्ट पारिएको छ । (Article१०,१४ and १५) जसको कारणले ICCPR को Article-२ अनुसार उक्त मुद्दा पुनरालोकन गर्न आदेश दिएको छ । नेपाल सरकारले सो विषयमा १२ मार्च २०१२ मा चार्ल्स शोभराज गुरूमुखले नेपाली भाषामा पुनरावलोकनको लागि निवेदन दिएर पुनरावलोकन गर्न सकिन्छ भनी जवाफ पठाएको पाइन्छ । काठमाडौं जिल्लामा चलेको कोनिजोको मुद्दा अन्तिम नलागे सम्म उक्त मुद्दाको फैसलालाई आधार मानी प्रश्न सोधिरहनु उपर्युक्त देखिँदैन । मैले लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) लाई मारी फालेको भन्ने कहीँकतै कुनै आदेशमा उल्लेख नभएको,म उक्त घटनामा संलग्न पनि नरहेको, काठमाडौं प्रहरीले कोनिजोको मुद्दामा अभियोग तयार गर्दा भक्तपूरको घटनासमेत उल्लेख गर्नु उसको अधिकार क्षेत्रभित्र पर्दैन । भक्तपुर प्रहरीले को कसले मारी फालेको भन्ने उल्लेख नगरेको र जिल्ला अदालत भक्तपुरसमेतले कसले मारेको यकिन नभएको भनी मिति २०३३।९।२२ मा फैसला गरेको । प्र.ना.नि.नन्दराम श्रेष्ठसमेतले डि.एस.पि.कार्यालय, काठमाडौंमा पेस गरेको प्रतिवेदनमा कोनिजो व्रोनची (Connie jo Bronizch) लाई लरेन्ट आरमण्ड क्यारियर (Laurent Armond Carriere) ले हत्या गरी भागेको भन्ने उल्लेख भएको, मृतक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को लास सम्बन्धमा निजको आफन्त र क्यानेडियन दुतावाससमेत लाई जानकारी नगराइ भियाना कन्भेन्सनको विपरीत जलाउन दिएको, मैले उक्त घटना घटाएको होइन । उक्त घटनाको बारेमा मलाई थाहा छैन । कोनिजो व्रोनची (Connie jo Bronizch) क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere)भारतीय अजय चौधरीसमेतलाई चिन्दिन, देखेको र भेटेको समेत छैन । तर मेरी एण्ड्रेलुसी लेक्लर्क (Marie Andre Lucie Leclec) चिन्दछु । निजलाई भारतमा भेटेको हुँ । बैंकक पोष्टमा छापिएको पत्रिका मैले देखेको छैन । यी सबै फोटोकपी भएकोले यसमा केही थाहा

छैन । विभिन्न CDs, DVD का बारेमा Police station is not a movie house  त्यसैले मलाई केही भन्नु छैन । विभिन्न किताबहरू तथा cd dvd हरू police story,charge sheet accusation को लागी बनेका हुन् । यी कुनै अदालतको final verdict को आधारमा नबनाएकोले त्यस्ता किताबहरू र dvd हरू अदालतमा प्रमाणको रूपमा लिइँदैन । मृतक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को ब्याग ओरन्टल होटलको कोठा नं.९ मा रहेको, निजको हत्या सम्बन्धमा भक्तपुर र काठमाडौंको प्रहरीले होटल म्यानेजरलगायत कोही कसैसँग अनुसन्धान गरेको नदेखिएको, जबकी लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere)र कोनिजो व्रोनचीसँगै उक्त होटलको एउटै कोठामा बस्दथे । मृतक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) को लासजली दाहसंस्कार गर्दासमेत भक्तपुर प्रहरीलाई मृतक को हो थाहा

थिएन । यस भन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाएको छैन भनी लेखिएको ठिक साच्चो छ फरक पर्दैन भनी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) को दोभाषे अधिवक्ता (प्र.प्र.न.२२४८) शकुन्तला थापाको रोहबरमा भएको चार्ल्स शोभराजको मिति २०७०।११।१६ गतेको अनुसन्धानका क्रममा भएको बयान ।

मिति २०३२।९।६ गते म आफ्नै घर चित्तापोलमा थिएँ । उक्त दिन जिल्ला भक्तपुर, चित्तापोल गाउँ पञ्चायत वडा नं. ६ स्थित अरनिको सडकको ढलमा जलेको मृत मानिस फेला परेको भन्ने जानकारी पाई मसमेत घटनास्थलमा गई हेर्दा पूर्व टाउको, पश्चिम खुट्टा भई उत्तानो परेको, टाउको कपाल जलेको, शरीरको अधिकांश भाग जलेको, ठाउँठाउँमा घाउचोट निलडाम रही रगत निस्केको विदेशी जस्तो मानिसको हत्या गरी मानिसको लास फ्याँकेको देखेको हुँ । सो सम्बन्धमा पछि मृतक क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent ArmondCarriere)को हत्या गर्नेमा फ्रान्सेली नागरिक चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh), भारतीय नागरिक अजय चौधरी, क्यानेडियन नागरिक मेरी अन्डरे लेक्लर्क हुन भन्ने थाहा पाएको हुँ । अमेरिकी नागरिक कोनिजो व्रोनजी (Connie jo Bronizch) र लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere) एउटै होटलमा बसेका, दुवै सँग बहुमुल्य पत्थर रहेको बुझिएकोले सोही कारणले उक्त घटना निज चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) समेतले घटाएकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको बुझिएका कृष्णहरी बस्नेतसमेतले मिति २०७०।१२।३ गते गरी दिएको कागज ।

घटना मेरो घर नजिकै पर्दछ । मिति २०३२।९।६ गते बिहान मलगायत घरका अन्य सदस्य गहुँ छर्नको लागी घटनास्थलको बाटो हुदै खेतमा जानलाग्दा ढलमा विदेशी जस्तो, शरीरको अंधिकांश भाग जलेको, ठाउ ठाउँमा निलडाम घाउचोटसमेत रही रगत निस्किएको अवस्थाको मृत लास देखी तत्कालीन चित्तापोल गाउपञ्चायतका प्रधानपञ्च गोकर्णबहादुर कार्कीलाई खबर गरेको हुँ । मैले सो समयमा देखेको मृतक लास र हाल मिसिल संलग्न गरिएको लासको फोटो एकै व्यक्तिको हो । हाल मृतक क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent ArmondCarriere) लाई हत्या गर्नमा फ्रान्सेली नागरिक चार्ल्स शोभराज गुरूमुख रहेको कुरा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको बुझिएका भरत राना मगरसमेतले मिति २०७०।१२।५ गते गरी दिएको कागज ।

मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल तथा लासजाँच मुचुल्का, सर्जमिन मुचुल्का, लासजाँच रिपोर्ट, मृतक लासको सनाखत कागज, भक्तपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी प्रतिवेदन, भक्तपुर जिल्ला अदालतको आदेश, मिति २०३३।६।५ गतेको तत्कालीन प्र.ना.उ. कार्यालय काठमाडौंका प्र.नि. विश्वलाल श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा दायर गरेको प्रहरी प्रतिवेदन, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाबाट मिति २०३३।४।२० मा सुपुर्दगीका लागि गृह सचिवलाई लेखेको पत्र, सम्मानित काठमाडौं जिल्ला अदालतको अमेरिकी नागरिक कोनिजो व्रोनची (Connie jo Bronizch) को हत्यासम्बन्धी फैसला, सो फैसला सदर गरी पुनरावेदन अदालतबाट मिति २०६२।४।२० मा भएको फैसला र सो फैसलालाई सदर गरी सम्मानित सर्वोच्च अदालतबाट मिति २०६७।४।१४ मा भएको फैसला, प्रतिवादी चार्ल्स शोभराज गुरूमुखले जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरमा गरेको बयान, बुझिएका मानिसहरूले गरी दिएको कागज, मिसिल साथ पेस गरिएका विभिन्न पत्रिकाका प्रतिलिपिहरू तथा चार्ल्स शोभराजका बारेमा लेखिएका विभिन्न पुस्तकहरूसमेतका संकलित आधार प्रमाणहरूसमेतबाट मिति २०३२।९।६ गते तदनुसार २१ डिसेम्बर १९७५ का दिन प्रतिवादी चार्ल्स शोभराज गुरूमुखसमेत भई क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere)लाई हत्या गरी जलाई भक्तपुर जिल्ला चित्तापोल गाउ पञ्चायत वडा नं.६ स्थित अरनिको सडकको ढलमा लिङ्गसमेत पहिचान हुन नसक्ने गरी फालेको भन्ने पुष्टि हुन आएकोले प्रतिवादी चार्ल्स शोभराज गुरूमुख, मेरी एण्ड्रेलुसी लेक्लर्क (Marie Andre Lucie Leclec), भारतीय नागरिक अजय चौधरीसमेतको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नम्बर र १३(३) नम्बर विपरीतको कसुर अपराध भएकोले निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई सोही महलको १३(३) नम्बरबमोजिम सजाय गरी पाउन निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख हाल केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको हुँदा सम्मानित अदालतबाटै झिकाई बयानलगायतका कारवाही गरिपाउँ र भारतीय नागरिक प्रतिवादी अजय चौधरी र क्यानेडियन नागरिक मेरी एण्डे लुसी लेक्लर्क (Marie Andre Lucie Leclec) को हकमा पछि नाम, थर, वतन खुल्न आएका बखत वा पक्राउ परेका बखत कानूनबमोजिम पूरक अभियोग पत्र पेस गरिने भन्नेसमेत व्यहोराको मिति २०७०।१२।१९।४ गतेको अभियोग पत्र ।

मलाई प्राप्त कागजातहरू मध्ये अभियोग पत्रसमेतका संलग्न १०० पृष्ठका कागजातहरू प्राप्त गरेको ३९९ पृष्ठ मैले प्राप्त गरेको छैन।अदालती बन्दोबस्तको १२७ नं. बमोजिमको बयान गराउनु पूर्व मलाई अभियोग पत्रसमेत संलग्न सम्पूर्ण कागज उपलब्ध गराई मतलब सम्झाई कागज सुनाई सोधनी हुनु पर्नेमा सो नभएकोले म बयान दिनका लागि तयार छैन । तसर्थ मलाई अभियोग पत्रको सम्पूर्ण कागजात उपलब्ध गराइयोस् । म विरूद्ध लागेको अभियोगबारे थाहा पाउन सकुँ र बयानका लागी तयार हुन सकुँ । जबसम्म मलाई अभियोग पत्रसमेतका सम्पूर्ण कागजात उपलब्ध गराइँदैन तबसम्म म बयान दिनका लागि तयार छैन । जुन सम्बन्धमा ICCPR को धारा १४(३)(a)(b)अनुसार उक्त प्रावधान मान्न नेपाल सरकारसमेत बाध्य रहन्छ । मलाई बयान गर्न बाध्य नगरियोस । ICCPR को धारा १४(३) (a)(b)(f)  नं. लागू नभएसम्म बयान दिन बाध्य छैन । अनुवादक परिवर्तन गर्न मैलै ईङ्लिसमा निवेदन दिई सकेकोले अर्को अनुवादक सम्बन्धमा टुङ्गो नलागेसम्म म बयान दिन चाहन्न । अनुवादकले Compliance शब्दको appropriate अनुवाद नगरेकोले competent अनुवादकको व्यवस्था गर्ने गरी competent अनुवादक नियुक्त गरिपाउँ । त्यसैले म निजले गरेको अनुवादमा विश्वास गर्दैन । म विदेशी नागरिक भएकोले competent अनुवादक एवं आधिकारिक अनुवादक नभएसम्म बयान दिन चाहन्न । म नेपाली बुझ्दिन । मैले मिति ०७१।२।१२ को आदेशबमोजिम अदालतमा उपस्थित भई अभियोग पत्र र संलग्न १०० पृष्ठ कागजात बुझेको हो तर पुर्ण अभियोग पत्रसँग संलग्न कागजातहरूको अनुवादित प्रति प्राप्त नभएकोले म केही भन्न

सक्दिन । मेरो बयान सम्बन्धमा अनुवादकबाट अंग्रेजी भाषामा अनुवादित कागजबाहेक म अरू कुरा बुझ्दिन भन्नेसमेत व्यहोराको अग्रेजी भाषामा व्यक्त गरेकोलाई नेपाली भाषामा उल्था गरिएको, मिति २०७१।२।२९ मा सुरू अदालतमा प्रतिवादी चार्ल्स शोभराजले इजलाससमक्ष गरेको बयान कागज ।

मिसिल संलग्न तत्काल प्राप्त कागजातहरू समेतबाट आरोपित कसुरमा यी प्रतिवादीसमेतको संलग्नता रहेको कुरामा विश्वास गर्नुपर्ने अवस्था देखिएकोले प्रतिवादीउपर ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्म कैदको मागदाबी भएको र अ.बं.को ११८(३) नं. बमोजिम नेपालमा बसोबास नभएको व्यक्तिको हकमा ६ महिनाभन्दा बढी सजाय हुन सक्ने अपराधको कसुर गरेको हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेकोले सोहीअनुसार प्रस्तुत मुद्दामा पुर्पक्षको लागि थुनामा राख्न अ.बं.को १२४ ग बमोजिम यो पर्चा खडा गरिदिएको छ । अ.बं.को १२१ नं. बमोजिम थुनुवा पुर्जी साथै प्रस्तुत थुनछेकको प्रतिलिपि पाउने गरी कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौंमा पठाई दिनु भन्ने मिति २०७१।३।१ को थुनछेक आदेश ।

मिति २०३२।९।६ का दिन भक्तपुर जिल्ला, चित्तापोल गा.वि.स.वडा नं.६ मा सडकको नजिक कल्वोर्टको छेउमा नालीमा नचिनेको व्यक्तिको लास रहेको, मैले देखेर सो बखतका जाहेरवाला गोकर्णबहादुर कार्की प्रधानपञ्च भएकोले निजलाई सो जानकारी दिएको थिएँ । उक्त लास देखेको समयमा म घरबाट खेतीतर्फबाट हुँदै जाँदै गरेको अवस्थामा खोल्सीमा लास जस्तो देखी हेर्दा कालो जलेको जस्तो नचिनिने अवस्थामा रहेको धुँवा लागेको जस्तो रहेको थियो । देख्दा नेपाली होइन, विदेशी जस्तो देखिएको

थियो । उक्त मितिहरूमा भएका कागजमा भएको व्यहोरा सहीछाप मेरो नै हो । सो मरेको व्यक्तिलाई प्रतिवादीले मारेको र विदेशी रहेछ भन्ने पछि थाहा पाएको हो । मृतकलाई मार्ने अपराधीलाई कारवाही हुनुपर्दछ भन्नेसमेत व्यहोराको बुझिएका तथा लासजाँच प्रकृति मुचुल्का मानिस भरत राना मगरले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०३२।९।६ को लासजाँच घटनास्थल मुचुल्कामा उक्त लासको यथार्थ विवरण खुलाई त्यहाँको अवस्थाबमोजिम मसमेतले खुलाई दिई सहीछापसमेत गरी दिएको थिए । सो सम्बन्धमा २०३३ साल मा सरजमिनसमेत भएकोले सोमा भएको व्यहोरा लेखाई सहीछाप गरी दिएको छु । मिति २०३२।९।६ का दिन भक्तपुर जिल्ला, चित्तापोल गा.वि.स.वडा न.६ को पलासे भन्ने ठाउँमा सडकको नाली जस्तो खोल्सीमा डढेको अवस्थामा लास रहेको देखेको हुँ, को कसले मारे भन्ने कुरा तत्काल थाहा पाइएन । पछि मर्ने र मार्ने दुवै नागरिक विदेशी हुन अरे भन्ने सुनेको

थिए । उक्त मृतकलाई मार्ने अपराधी जोसुकै भए पनि कडा कारवाही हुनुपर्दछ भन्नेसमेत व्यहोराको सरजमिन तथा लासजाँच प्रकृति मुचुल्काका मानिस बाबुकाजी बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।१२।४ मा अनुसन्धानको क्रममा गरिएको कागजको व्यहोरा सहीसत्य साँचो

हो । उक्त मृतकको लास क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरे (Laurent Armond Carriere)को रहेको र निजलाई चार्ल्स सोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) भन्ने फ्रान्सेली नागरिकसमेतले हत्या गरी जलाई घटनास्थलमा फालेको भन्ने थाहा पाएको हुँ भनी कागजको व्यहोरामा लेखाई सही गरेको हो । मृतकलाई मार्ने अपराधी जोसुकै भए पनि त्यस्ता व्यक्तिलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा कागज गर्ने साधुराम रानामगरले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०३२।९।६ मा भएको उक्त घटनास्थल लासजाँच प्रकृति मुचुल्कामा भएको व्यहोरा र सहीछाप मेरो हो । घटनास्थलमा लास डढेको, कालोमोसो दलेको जस्तो अवस्थामा थियो । अपराध गर्नेलाई कारवाही हुनुपर्दछ भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा कागज गर्ने मानिस अर्जुन महतले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०३२।९।६ मा भक्तपुर जिल्ला, पलासे भन्ने ठाउँमा सडकको नालीमा लास डढेको कालो अवस्थामा रहेको र उक्त घटनास्थलबाट मसमेतले लास बोकी प्रहरीले भनेको स्थानमा पुर्‌याई दिएको र मुचुल्कासमेत बनाई मसमेतले सो मुचुल्कामा सहीछाप गरेकोले उक्त मितिको मुचुल्काको व्यहोरा सहीछाप मेरो नै हो । मृतकको लास डढेको अवस्थामा रहेकोले कसको लास हो भन्ने पहिचान गर्न नसकेको र को कसले मारेको हो भन्नेसमेत सुनेको थाँहा पाएको छैन भन्नेसमेत व्यहोराको लासजाँच प्रकृति मुचुल्काका मानिस कमलबहादुर बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।

मृतक कोनिजो व्रोन्ची (Connie jo Bronizch) तथा मृतक लरेन्ट (Laurent) सँगै प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) समेत बहुमुल्य पत्थर कारोबारसँग सम्बन्धित भई प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh), काठमाडौंको सोल्टी होटलको कोठा नं.४१५ मा बसेको अनुसन्धानको क्रममा काठमाडौं बाहिर जाँदा प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) ले जानकारी गराउनु पर्नेमा नगराई होटलबाट भागी गाडीको बाटो भई भारततर्फ गएको र सो कुरा भारतमा निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) ले गरेको बयानमा समेत खुल्न आएको देखिएको, काठमाडौं जिल्ला अदालतमा चलेको कर्तव्य ज्यान मुद्दाकी मृतक कोनिजो व्रोन्चि (Connie jo Bronizch) र मृतक लरेन्ट (Laurent) को हत्याको प्रकृति एउटै भएको, मृतकको हत्या संगठित अपराधको प्रकृतिबाट योजनाबद्धरूपमा गरिएको देखिएको, मृतक लरेन्ट (Laurent) को पासपोर्ट प्रयोग गरी  काठमाडौंबाट बैंकक जाँदा र फर्कंदा एयरपोर्टमा भएको embarkation card तथा disembarkation card कार्ड र निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) को पासपोर्टमा भएको हस्ताक्षर विशेषज्ञका अनुसार समान देखिएको भन्ने उल्लेख भएकोछ । उल्लिखित परिस्थिति जन्य प्रमाणसमेतका आधारमा प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) सन २००३ सेप्टेम्बर १ मा नेपालमा आएको नभई सन १९७५ मा नै नेपालमा रहेको भन्ने पुष्टि भई काठमाडौं जिल्ला अदालतबाट मृतक कोनिजो व्रोन्ची (Connie jo Bronizch) लाई कर्तव्य गरी मारेको मुद्दामा सर्वश्चसहित जन्म कैद हुने गरी भएको मिति २०६१।४।२८ को फैसला पुनरावेदन अदालतबाट मिति २०६२।४।२० मा सुरू सदर भई सम्मानित सर्वोच्च अदालतसमेतबाट तथ्यको विवेचना भई सुरू जिल्ला अदालतको फैसला सर्वोच्च अदालतबाट समेत मिति २०६७।४।१४।६ मा सदर गरी फैसला भई अन्तिम भइसकेकोले मृतक कोनिजो व्रोन्ची (Connie jo Bronizch) र यी मृतक आरमण्ड लरेन्ट क्यारियरे (Laurent Armond Carriere) को हत्या गरी सकेपछि मृतकहरूलाई नचिनिने गरी जलाउने अपराधिक कार्यविधि तरिका (Modus operandi)मा समानता रहेकोसमेतका उल्लिखित तथ्यहरूको विवेचित परिस्थिति जन्य प्रमाणबाट प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh)ले मृतक आरमण्ड लरेन्टक्यारियरे (laurent armond carriere) लाई कर्तव्य गरी मारेको कुरा पुष्टि भएको हुँदा प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) लाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहर्छ भन्ने व्यहोराको सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१।०६।०१ मा भएको फैसला ।

यसमा म पुनरावेदकउपर मिति २०६०।०६।२८ मा जाली राहादानी मुद्दा चलाई अध्यागमन ऐन, २०४९ दफा ५(१) (२) बमोजिमको कसुरमा ऐ. को दफा १०(१) बमोजिम १ वर्ष कैद र रू. २०००।– जरिवाना हुने ठहर्‌याई यसै पुनरावेदन अदालत, पाटनबाट भएको फैसलालाई सदर गर्ने गरी मिति २०६७।०४।२६ मा पु.नं. ०६६-CR-००१६) सर्वोच्च अदालतबाट फैसला भयो । मउपर २०६६ सालमा स.फौ.पु.नं. ३३५३ को कर्तव्य ज्यान मुद्दामा मिति २०६७।०४।१४ मा सर्वश्वसहित जन्म कैदमध्ये क्यानेडियन नागरिक लरेनट क्यारियोलाई कसले मारेको हो, भन्ने सम्बन्धमा अनुसन्धान हुँदा पत्ता लाग्न नसकेपछि खुल्न आएका बखत कारवाही चलाउने गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०३३।०९।२० मा तामलीमा राखी दिने ठहर्छ भनी फैसला भएको छ । सो फैसलाउपर ३७ वर्षपछि तामेलीबाट जगाई मउपर पूरक अभियोग पत्र गरी प्रस्तुत कर्तव्य ज्यान मुद्दा चलाईएको ठाडै कानूनविपरीत छ । मउपर प्रस्तुत मुद्दा बद्‌नियतपूर्ण चलाइएको हो । माथि पकरण नं. (२) मा उल्लिखित मुद्दाहरू मउपर दायर गरिएको बेलामै प्रस्तुत मुद्दा पनि चलाउन सकिन्थ्यो । वास्तवमा म उपर यो मुद्दा चलाउन नमिल्ने भएकोले सो बेला यस मुद्दा नचलाइएको हो । मलाई लागेको कैद आधी भन्दा बढी भइसकेको र मेरो वृद्धावस्था एवं कारणहरूबाट समेत मलाई बाँकी कैद मिनाहा गरी म रिहा हुन सक्ने सम्भावना देखेर जसरी भए पनि मलाई थुनामै राख्नुपर्छ भन्ने कलुषित भावना एवं बद्‌नियत राखी यो मुद्दा मउपर पछि चलाइएको प्रस्टै छ । एकैसाथ अनुसन्धान गरी मुद्दा चलाउन सकिनेमा पहिले एउटा मुद्दामा मात्र अनुसन्धान गरी मुद्दा चलाई पछि मौका हेरी अरू मुद्दा चलाउन नमिल्ने भन्ने कानूनी सिद्धान्त सर्वोच्च अदालतबाट प्रतिपादित भई ने.का.प. २०६६ नि.नं. ८२२१ पृ.सं. १४८३ अंक (९) मा प्रकाशित भएको छ । यस कानूनी सिद्धान्तको परिप्रेक्ष्यबाट हेर्दा मउपर हदम्यादसमेत नघाई हाल अर्को कर्तव्य ज्यान मुद्दा चलाइएको कार्यबाट मउपरको प्रवृत्त भावना छर्लङ्ग हुन्छ । प्रस्तुत मुद्दामा सुरू भक्तपुर जिल्ला अदालतले नेपाल अन्तरिम संविधान, २०६३ को धारा २४(८), (९) द्वारा प्रदत्त न्यायसम्बन्धी हक एवं नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धि १९६६ (ICCPR) को धारा १४(३) समेत विपरीत मलाई  Fair Trial प्रदान गरेन । अभियोग पत्रलगायत मिसिलको सम्पूर्ण कागजातहरूको अंग्रेजी भाषामा उल्था गरी मलाई उपलब्ध गराइएन । भक्तपुर जिल्ला अदालतमा मेरो बयान लिइने अवस्थामा मात्र मलाई दोभाषे उपलब्ध गराइँदैमा Fair Trial को सिद्धान्त अवलम्बन गरिएको मान्न सकिँदैन । प्रथमतः मलाई सम्पूर्ण अनुवादित कागजातहरू उपलब्ध गराइनु पर्दछ भने त्यसपछि ती अनुवादित कागजातहरू हेर्ने उचित समय पनि मलाई दिइनुपर्दछ । सयौं पृष्ठहरू भएको मिसिलको आंशिक कागजात मात्र उपलब्ध गराइनु पर्याप्त हुन्न (ICCPR) को धारा १४(३) (ख) बमोजिम तैयारीको लागि उचित एवं प्रर्पाप्त समयको पनि आवश्यकता पर्दछ । यी सबै कुराहरूबाट मलाई वञ्चित गरियो । यसको अलावा मैले नियुक्त गरेका कानून व्यवसायीहरू हुँदाहुँदै भक्तपुर जिल्ला अदालतबाट जबरजस्ती तवरबाट मेरो इच्छाविपरीत मेरो हकमा वैतनिक कानून व्यवसायी नियुक्त गरियो (ICCPR) को धारा १४(३) (घ) मा सम्बन्धित प्रतिवादीको कानून व्यवसायी नभएको अवस्थामा मात्र वैतनिक कानून व्यवसायी उपलब्ध गराउने व्यवस्था गरिएको छ । जरबजस्ती वैतनिक कानून व्यवसायी राख्ने Fair trial को सिद्धान्तविपरीत रहेको छ । तसर्थः सुरू भक्तपुर जिल्ला अदालतबाट भएको मिति २०७१।०६।०१ को फैसला कत्ति पनि नमिल्नुको अतिरिक्त कानूनी त्रुटिपूर्ण भएको हुँदा सो फैसला बदर गरी पूर्णरूपले सफाई दिलाई न्याय पाउँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीले आरोपित कसुर गरेमा इन्कार रही अधिकार प्राप्त अधिकारीसमक्ष बयान गरेका आफूउपर लागेको अभियोगसम्बन्धी कागजातको अनुवादित प्रति नपाएको भनी अदालतमा बयान गर्न इन्कार रहेका एवं मिति २०३२।०९।०६ मा लास फेला परेका Laurent Armond Carriere लाई कर्तव्य गरी मारेको भन्ने विषयको मुद्दामा यसैले मारी फालेको हो भनी खुलाउन नसकेको हुँदा पछि खुल्न आएका बखत कारवाही चलाउने गरी हाललाई कोही कसैउपर कारवाही चलाउन नपर्ने नचलाउने गरी हाललाई कोही कसैउपर कारवाही चलाउन नपर्ने देखिँदा मिसिल तामेलीमा राखी दिने ठहरी भक्तपुर जिल्ला अदालतबाट मिति २०३३।२२।०४ मा आदेश भई रहेकोमा मिति २०७।१२।१९ मा दायर पूरक अभियोग पत्रको आधारमा प्रतिवादीलाई सजाय गर्ने गरेको सुरू फैसला ज्यानसम्बन्धीको महलको २० नं. को व्याख्याको सन्दर्भमा फरक पर्न सक्ने देखिँदा मुलुकी अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०७२।०३।१५ को आदेश ।

मिति २०३२।०९।०६ गते हेनरीकस विन्टाजाको नामले बसेको एलेन गोटियर भन्ने प्रतिवादी चार्ल्स शोभराज गुरूमुखसमेत भई क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरेलाई घाँटी काटी हत्या गरी जलाई भक्तपुर जिल्ला चित्तापोल गा.पं. वडा नं. ६ स्थित अरनिको राजमार्गको ढलमा लिङ्गसमेत पहिचान हुन नसक्ने गरी फालेको भन्ने अभियोग दाबी समर्थित हुन आएको देखिँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गरेको सुरू भक्तपुर जिल्ला अदालतको फैसला अन्यथा नदेखिँदा प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थः प्रतिवादी चार्ल्स शोभराज गुरूमुखले आरोपित कसुर गरेको ठहर्‌याई निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गर्ने गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०७१।०६।०१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०७२।०८।०८ को पुनरावेदन अदालत, पाटनको फैसला ।

प्रतिवादी चार्ल्स गुरूमुख शोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय ठहर गर्ने गरी भएको फैसला साधक जाँचको लागि यसै साथ पठाइएको छ भन्ने पुनरावेदन अदालत, पाटनको च.नं. ११५ मिति २०७३।५।१ को पत्र ।

यसमा मृतक लरेन्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) भन्नेको कर्तव्यबाट मृत्यु भएको सम्बन्धमा निजलाई कसले मारी आगो लगाई फाली दिएको हो भन्ने कतैबाट खुल्न नआएको भन्नेसमेत व्यहोरा उल्लेख गरी भक्तपुर जिल्ला अदालतबाट उक्त मुद्दा मिति २०३३।९।२२ मा तामेलीमा राख्ने आदेश भएकोमा सो मुद्दामा प्रतिवादी चार्ल्स गुरूमुख शोभराजउपर मिति २०७०।१२।१९ मा अभियोग पत्र दायर भएको देखिँदा पुनरावेदन अदालत, पाटनको मिति २०७२।८।८।३ को फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २० नं. को व्याख्यात्मक प्रश्न समावेश भई फरक पर्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई छलफलको लागि सूचना दिई नियमानुसार गर्नुहोला भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७३।१०।४।३ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ साधकको रोहमा इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरियो । वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले प्रहरी प्रतिवेदन दर्ता भई अदालतले तामेलीमा राखेको हुँदा हदम्याद जाँदैन । मुद्दा तत्काल दर्ता भएको छ । अदालतले तामेलीमा राख्दा पछि ठहरेबमोजिम हुने गरी तामेलीमा राखिएको छ । अनुसन्धानबाट प्रतिवादी कर्तव्यवाला देखिएका छन् । तसर्थ अभियोग दाबीबमोजिम सजाय हुने गरी पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्छ भनी तथा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा, विद्वान्‌ अधिवक्ताहरू श्री शकुन्तला थापा, रामबन्धु शर्मा र विद्वान्‌ वैतनिक अधिवक्ता श्रीकिरण कुमारी गुप्ताले प्रतिवादी कसुरमा साबित भएको छैन । ३७ वर्षपछि मुद्दा चल्न सक्दैन । तामेलीमा राख्दा पछि ठहरेबमोजिम हुने गरी लेखिए पनि ज्यानसम्बन्धीको २० नं. मा जे लेखिएको छ । त्यही अनुसार हुनुपर्छ । हदम्याद कानूनी प्रश्न हो अदालतले हेर्नुपर्छ । नत्र वास्तविक न्यायको अनुभुति हुँदैन । तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

अब पुनरावेदन अदालत, पाटनबाट यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला मिले नमिलेको सम्बन्धमा साधकको रोहबाट निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यी प्रतिवादीको कर्तव्यबाट लरेन्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) भन्नेको मृत्यु हुन गएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नम्बर र १३(३) नम्बरविपरीतको कसुर अपराध भएकोले निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई सोही महलको १३(३) नम्बरबमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा क्यानेडियन नागरिक लरेनट क्यारियोलाई कसले मारेको हो, भन्ने सम्बन्धमा अनुसन्धान हुँदा पत्ता लाग्न नसकेपछि खुल्न आएका बखत कारवाही चलाउने गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०३३।०९।२० मा तामलीमा राखी दिने ठहरी फैसला भएकोमा अनुसन्धानको क्रममा काठमाडौं बाहिर जाँदा प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) ले जानकारी गराउनु पर्नेमा नगराइ होटलबाट भागी गाडीको बाटो भई भारततर्फ गएको र सो कुरा भारतमा निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) ले गरेको बयानमा समेत खुल्न आएको देखिएको, काठमाडौं जिल्ला अदालतमा चलेको कर्तव्य ज्यान मुद्दाकी मृतक कोनिजो व्रोन्चि (Connie jo Bronizch) र मृतक लरेन्ट (Laurent)को हत्याको प्रकृति एउटै भएको, मृतकको हत्या संगठित अपराधको प्रकृतिबाट योजनाबद्धरूपमा गरिएको देखिएको, मृतक लरेन्ट (Laurent) को पासपोर्ट प्रयोग गरी काठमाडौंबाट बैंकक जाँदा र फर्कंदा एयरपोर्टमा भएको Embarkation card तथा Disembarkation card र निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख (Charles Shobhraj Gurumukh) को पासपोर्टमा भएको हस्ताक्षर  विशेषज्ञका अनुसार समान देखिएको भन्ने उल्लेख भएबाट तामेलीमा रहेको उक्त मुद्दा जगाई पूरक अभियोग पत्र दर्ता भई निज प्रतिवादीउपर मुद्दाको कारवाही सुरू भएको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा वारदातको मिति र समयमा आफू वारदातस्थलमा नभएको र उक्त कर्तव्य आफूले नगरेको भनी कसुरमा इन्कार रही बयान गरेको

देखिन्छ ।

३. भक्तपुर जिल्ला, साँगा पलासे भन्ने ठाउँमा विदेशी मानिस मारी आगो लगाई फालेको सम्बन्धमा निज मर्ने व्यक्ति क्यानडा निवासी लरेन्ट आरमण्ड क्यारियोर (Laurent Armond Carriere) हुन् भन्ने पत्ता लागेको तर कसले मारी आगो लगाई फाली दिएको हो भन्ने सम्बन्धमा कतैबाट खुल्न नआएको र पछि खुल्न आएका बखत कारवाही चलाउने गरी तामेलीमा राखी पाउन भक्तपुर जिल्ला अदालतमा प्रहरी प्रतिवेदन दायर भएकोमा को कसल् मारी आगो लगाई फालिदिएको हो भन्ने सम्बन्धमा कतैबाट खुल्न नआएको र खुल्न आएका बखत कारवाही चलाउने गरी मिसिल तामेलीमा राखी दिने भनी मिति २०३३।०९।२२ मा भक्तपुर जिल्ला अदालतबाट आदेश भएको देखिन्छ । काठमाडौंं जिल्ला झोँछे स्थित ओरिन्टियल लजका प्रोपाइटरसँग बुझ्दा मिति २०३३।०८।२८ गते अमेरिकी नागरिक कोनिजो ब्रोन्ची (Miss connie Bronizch) र सोको ३ दिनपछि क्यानेडियन नागरिक लेरेन्ट आरमण्ड क्यारियोर (Laurent Armond Carriere) भन्ने व्यक्ति उक्त होटलमा आई बसेकोमा मिति २०३२।०९।०५ गते लरेन्ट धुलिखेलसम्म घुम्न जान्छु भनी हिँडेको र त्यसको २ दिनपछि कोनिजो पनि लरेन्ट आरमण्ड क्यारियोरलाई भेट्छु भनी धुलिखेलतर्फ गएको भनी बताएको, भक्तपुर साँगामा लरेन्ट आरमण्ड क्यारियोरलाई एलेन गोटियर भनिने चार्ल्स शोभराज गुरूमुख (Charles sobhraj gurumukh) मनि लेल्कर्क भनिने मेरिएण्ड्रे लुसीलेल्कर्क (Marie Andre lucie leclerc) भारतीय नागरिक अजय चौधरीसमेतका जना ३ व्यक्ति भई हत्या गरी मारी फालेकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुन र लेरेन्ट आरमण्ड क्यारियोरलाई कर्तव्य गरी मारेको घटनास्थल चित्तापोल गाउँ पञ्चायत भक्तपुर जिल्लाभित्र परेको हुँदा निज लरेन्ट आरमण्ड क्यारियोरलाई मारेतर्फ उपरोक्त अभियुक्तहरू उपर सम्बन्धित अदालतमा मुद्दा दायर गरिनेछ भन्नेसमेत व्यहोराको मिति २०३३।०६।०५ मा काठमाडौंं जिल्ला अदालतमा प्रहरी प्रतिवेदन पेस भएको र प्रतिवादी चार्ल्स शोभराज गुरूमुख मेरी एण्ड्रे लुसी लेल्कर्क र भारतीय नागरिक अजय चौधरीले क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियोरलाई सुनियोजित तरिकाबाट सावधानी पूर्वक संगठितरूपमा हत्या गरी निजको पहिचान र लिङ्गसमेत नखुल्ने गरी जलाई भक्तपुर साँगा अरनिको राजमार्ग छेउमा फाली ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेकाले अजय चौधरी र मेरी एण्ड्रे लुसी लेल्कर्कको हकमा नाम, थर, वतन खुली आएका बखत वा पक्राउ परेका बखत कानूनबमोजिम पूरक अभियोग पत्र पेस गर्ने गरी प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई सोही ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरी पाउन र निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुख हाल केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेकाले झिकाई बयान गरिपाउँ भन्ने व्यहोराको भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग पत्र मिति २०७०।१२।१९ मा दायर भई प्रतिवादी चार्ल्स शोभराज गुरूमुखले मृतक आरमण्ड लरेन्ट क्यारियोरलाई कर्तव्य गरी मारेको ठहर्‌याई निज प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी मिति २०७१।०६।०१ मा सुरू भक्तपुर जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सो फैसलामा चित्त नबुझाई प्रतिवादी चार्ल्स शोभराज गुरूमुखको पुनरावेदन दायर भई उक्त पूरक अभियोग पत्र ज्यानसम्बन्धी महलको २० नं. को हदम्याद नघाई दायर गरिएको स्थिति रहेबाट आफूलाई कसुरदार कायम गरी सजाय गर्ने गरेको भक्तपुर जिल्ला अदालतको फैसला कानूनसम्मत नभएकाले आफूलाई सफाई दिइनुपर्छ भनी जिकिर लिइएकोमा पुनरावेदन अदालत, पाटनबाट सुरू जिल्ला अदालतको फैसला सदर भएको देखियो ।

४. प्रस्तुत मुद्दाको वारदातका सन्दर्भमा विचार गर्दा कर्तव्यवाला यही हो भनी सुरूमा प्रस्ट कसैउपर पोल नभई मुद्दा २०३३ साल मै तामेलीमा रहेको भन्ने देखिएपनि सो तामेली आदेशमा मृतक क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियोरको मृत्यु कर्तव्यबाट भएको देखिएको भन्ने आधारमा अभियुक्त कोही खुल्न नआएको अवस्था रहेको भन्ने उल्लेख गर्दै कर्तव्यवाला खुल्न आएमा पछि कारवाही गर्ने गरी तामेलीमा राखिएको पाइएको र सो तामेली आदेश भएपश्चात् काठमाडौंं जिल्ला अदालतमा चलेको अमेरिकी नागरिक कोनि ब्रोन्चीको ज्यान मरेको २०६० सालको स.वा.फौ.नं. ३१६/९०१ को कर्तव्य ज्यान मुद्दामा भएको अनुसन्धानबाट प्रस्तुत वारदातका मृत व्यक्ति लरेन्ट आरमण्ड क्यारियोरको ज्यान मार्नमा समेत यी प्रतिवादी चार्ल्स शोभराज गुरूमुखको संलग्नता रहेको देखाई निज प्रतिवादीलाई भारतबाट सुपुर्दगी माग गरिएको भन्ने देखिएबाट कर्तव्यको उजुरी सुरूमै परेको प्रस्तुत ज्यान मुद्दाको केही समयको अनुसन्धान पछि कर्तव्यवाला यी पुनरावेदक प्रतिवादी चार्ल्स शोभराज गुरूमुखसमेत हुन् भनी खुलिसकेको अवस्था रहेको पाइँदा वारदातको २० वर्षपछि आफूउपर मुद्दा चल्नै नसक्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । सुरूमै मृतक लरेन्ट आरमण्ड क्यारियोरको मृत्यु कर्तव्यबाट भएको भनी उजुरी परेको र पछि मुद्दा तामेलीमा रहेपछिको  अनुसन्धान तहकिकातबाट कर्तव्यवाला यीनै पुनरावेदक प्रतिवादी चार्ल्स शोभराज गुरूमुख खुल्न आएको देखिँदा निज उपर दायर भएको पूरक अभियोगपत्र ज्यानसम्बन्धि महलको २० नं. मा उल्लिखित हदम्यादभित्र नै दायर भएको पाइएको भन्ने सुरू भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलालाई अन्यथा भन्न मिलेन ।

५. मृतक लरेन्ट आरमण्ड क्यारियोरको ज्यान मरेको वारदातका सम्बन्धमा यी प्रतिवादीको संलग्नता रहे नरहेको सन्दर्भमा हेर्दा यी प्रतिवादीले अदालतमा बयान गर्दा आफू कसुरदार नभई निर्दोष रहेको भन्ने कुराको स्पष्टरूपमा जिकिर लिन सकेको नपाइएको बरू विभिन्न बहाना बनाई सोधिएको जवाफ दिन अनिच्छुक रहँदै पटक पटक बयान गर्न अदालतबाट दिइएको मौकाको दुरूपयोग गर्दै वारदातसँग सम्बन्धित विषय वस्तुको बारेमा जवाफ नदिई बसेको देखियो भने अर्कोतर्फ निजको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्रमा समेत स्पष्टरूपमा आरोपित कसुर आफूले नगरेको वा आफू निर्दोष रहेको भनी आधार कारण खुलाई जिकिर लिन नसकी मुद्दा हदम्यादभित्र दायर नभएको, आफ्नो सुनुवाई निस्पक्षरूपमा नभएको, अर्को ज्यान मुद्दाबाट लागेको सजाय भुक्तान हुन लागेका बखत आफूलाई यो मुद्दा दुराग्रहीरूपमा चलाइएको भन्नेसम्मका कुराहरूको जिकिरसम्म लिइएको पाइयो ।

६. मिति २०३२।०९।०६ गते सर्वाङ्ग नाङ्गै अवस्थामा डढी घाँटीमा रगतसमेत देखिई मृत अवस्थाको लास भेटिएकोले घटनास्थल तथा लास प्रकृति मुचुल्कामा मृतकको शरीर पूरै भाग आगोले डढेको, घाँटी शेरिएको दाहिने हात बाँधिएको, पिसाब फेर्ने ठाउँमा आगोले हड्डी र छालासमेत डढेको विदेशी जस्तो देखिने कहाँ बस्ने के नाम गरेको व्यक्ति भन्ने सम्बन्धमा यकिन नभएको भन्ने व्यहोरा उल्लेख भएकोमा भक्तपुर अस्पतालको लास जाँच पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण घाँटी काटिएर श्वास प्रश्वास अवरूद्ध भई भएको हुनसक्छ भनी चिकित्सकले राय दिएको एवं मृतक लरेन्ट आरमण्ड क्यारियोरका दाजु गिल्स एम क्यारियोर (M. GillesCarriere) काठमाडौंं आई शवको फोटो, लासमा देखिएको कपडाको टुक्रा, ५००१ नं. को कारमा भेटिएको चस्मा, टोपी, निलो जिन्स प्यान्ट र बेन्टाजा हेनरी बसेको होटल सोल्टीको कोठा नं. ४१५ बाट बरामद भएको मनी ब्याग नाईलनको जिपर फिलिप कम्मर पेटी मेरो भाइ लरेन्ट आरमण्ड क्यारियोरको हो भनी सनाखत गरेबाट मृतक लरेन्ट आरमण्ड क्यारियो रहेको र निजको मृत्यु स्वाभाविक रूपले भएको नभई घाँटी काटी जलाई कर्तव्यबाट भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट समेत पुष्टि भएको देखिन्छ । साथै निज प्रतिवादी विभिन्न नाममा विभिन्न स्थानमा गई बसी अपराध गरेको भन्नेसमेत देखिन्छ ।

७. हिन्द चिन अनुहारसँग मिल्ने एक युवकसँग युरोपियन केटीसमेत रहेको सोल्टी होटलको कोठा नं. ४१५ मा बसेको युवकले आफ्नो नाम हेनरिक बेन्टाजा तथा केटीले आफ्नो नाम कुकी हेम्कर बताएको, १९ डिसेम्बर १९७५ मा ५००१ नं. को कार भाडामा लिई ऐ. २३ तारिखका दिन फिर्ता गरेको उक्त कारमा गोल्डेन फ्रेम र कालो सिसा भएको चस्मा, जिन्स पाइन्ट छुटेकोमा हेनरिक बेन्टाजासँग सोध्दा डिकी नखोलेको बताएको, हेनरिक बेन्टाजालाई बाहिर जाँदा जानकारी गराउने भनी भनिएकोमा २८ डिसेम्बरका दिन निज बस्ने ४१५ नं. को कोठामा बोलाउँदा कोही नबोलेकोले ढोका खोली पस्दा कोही नभएको मनी ब्याग जिफर आदि बरामद भएको, कारबाट बरामद भएको चस्मा, पेटी, पाइन्ट तथा सोल्टी होटलको कोठा नं. ४१५ बाट बरामद भएको मनी ब्याग कम्मर पेटीसमेत मृतक लरेन्टका दाजु एम क्यारियोरले सनाखत गरेको, बैंककमा नशालु पदार्थ खुवाई ग्याँस लिन हाली आगो लगाई मारेको समाचार आएकोमा यहाँको अपराधको प्रकृति र त्यहाँको अपराधको प्रकृति एउटै भएको, बैंककमा प्रकाशित हुने बैंकक पोष्टको उक्त हत्याकाण्डमा एलियन गोटियर (Allen Gauthies) जो काठमाडौंमा हेनरिक बेन्टाजाको नामले बसेका थिए । निज कुकी हेमकर तथा अजय चौधरीसमेतको फोटो प्रकाशित भएको र दिल्लीमा एलेन गोटियर पक्राउ परेकोमा एलेन गोटियरको वास्तविक नाम चार्ल्स शोभराज भएको भन्ने थाहा भएको भारतमा प्रहरीसमक्ष बयान गर्दा नेपाल पाकिस्तान, भारत, बैंककमा विभिन्न नामले बस्ने गरेको र मृतक लरेन्ट आरमण्ड क्यारियोरसमेतको हत्या गरेको भनी उल्लेख गरिएको पाइयो ।

८. प्रतिवादी Marie Andree lucie leclerc ले भारतीय अधिकारीसमक्ष गरेको बयानमा क्यानेडियन नागरिक लरेन्ट आरमण्ड र अमेरिकी केटीसँग मन्दिरनजिक भेट भई यी प्रतिवादी चार्ल्स शोभराजले कुराकानी गरेका, पछि राति पनि निज जोडीलाई भेट्न भनी यी प्रतिवादीसमेत गएको उल्लेख गरेकी छन् । मृतक कोनी जो ब्रोन्जिको डायरीमा Mr. A. Gautier, Kanit house APT. ५०४,७७/५, saisalasang tel.८६/२८४-५०४ or ५०३ Bangkok उल्लेख भएको सोको फोटोबाट देखिन आएको सो A.Gautier भन्ने व्यक्ति यीनै प्रतिवादी भएको भन्ने निजले भारतमा गरेको बयानबाट देखिन्छ भन्ने काठमाडौंं जिल्ला अदालतबाट मिति २०६१।०४।२८ मा भएको कर्तव्य ज्यान मुद्दाको फैसलामा समेत उल्लेख भएको

पाइन्छ ।

९. मृतक लरेन्ट आरमण्ड क्यारियोर र कोनी जो ब्रोन्जिचसँगै प्रतिवादी चार्ल्स शोभराज गुरूमुख काठमाडौंंको सोल्टी होटलको कोठा नं.४१५ मा बसेका, अनुसन्धान अधिकारीको निगरानीमा रहेका प्रतिवादी चार्ल्स शोभराज काठमाडौंं बाहिर जाँदा जानकारी गराउनु पर्नेमा नगराई होटलबाट भागी गाडीको बाटोबाट भारततर्फ गएका  र सो कुरा भारतीय अधिकारीसमक्ष निजले गरेको बयानमा खुलाएको पाइएको, यी प्रतिवादीले अनुसन्धानका क्रममा गरेको बयानमा लरेन्ट आरमण्ड क्यारियोरलाई चिन्दिन भनेपछि लरेन्ट आरमण्ड क्यारियोर र कोनी जो ब्रोन्जिचसँगै एउटै होटलमा बस्थे भनी व्यहोरा लेखाएको पाइएको, काठमाडौंं जिल्ला अदालतमा चलेको कर्तव्य ज्यान मुद्दाकी मृतक अमेरिकी नागरिक कोनी जोब्रोन्जिच र प्रस्तुत मुद्दाका मृतक लरेन्टको हत्याको प्रकृति समान देखिएको, मृतक लरेन्टको पासपोर्ट प्रयोग गरी काठमाडौंंबाट बैंकक जाँदा र फर्कंदा एयरपोर्टमा भएको Embarkation card तथा Disembarkation card र प्रतिवादी चार्ल्स शोभराज गुरूमुखको पासपोर्टमा भएको हस्ताक्षर समान रहेको भन्ने विशेषज्ञको राय रहेको यी प्रतिवादी चार्ल्स शोभराजले भारतीय अधिकारीसमक्ष बयान गर्दा आफूले कोनिजो ब्रोन्जिचसमेतको नेपालमा हत्या गरी मोटर बाटो हुँदै भारत आएको भनी स्वीकार गरेको र निजको उक्त भारतीय अधिकारीका समक्ष भएको बयानलाई प्रमाणमा लिन मिल्ने भनी यीनै प्रतिवादीउपर काठमाडौंं जिल्ला अदालतमा चलेको २०६० सालको स.वा.फौ.नं. ३१६।९०१ को कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलामा उल्लेख भएको पाइएको समेतका माथि उल्लिखित परिस्थितिजन्य प्रमाणहरूको विश्लेषणबाट मिति २०३२।०९।०६ गते हेनरीकस विन्टाजाको नामले बसेको एलेन गोटियर भन्ने प्रतिवादी चार्ल्स शोभराज गुरूमुखसमेत भई क्यानेडियन नागरिक लरेन्ट आरमण्ड क्यारियरेलाई घाँटी काटी हत्या गरी जलाई भक्तपुर जिल्ला चित्तापोल गा.पं. वडा नं. ६ स्थित अरनिको राजमार्गको ढलमा लिङ्गसमेत पहिचान हुन नसक्ने गरी फालेको भन्ने अभियोग दाबी समर्थित हुन आएको देखिँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गरेको सुरू भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला अन्यथा देखिएन ।

१०. मृतक लरेन्ट आरमण्ड क्यारियोरको ज्यान मरेको वारदातका सम्बन्धमा तत्काल नै मुद्दा दायर भएको देखिन्छ । अदालतबाट तामेलीमा राख्दा पनि को कसले मृतक लरेन्ट आरमण्ड क्यारियोरलाई मारी आगो लगाई फालेको भन्ने सम्बन्धमा कतैबाट खुल्न आएका बखत कारवाही चलाउने गरी तामेलीमा राखी दिने भन्ने भएबाट पछि प्रतिवादी कर्तव्यवाला देखिएपछि मुद्दा चलाउन मिल्दैन भन्न मिल्दैन । सोही सम्बन्धमा ज्यानसम्बन्धीको २० नं. को व्यवस्थाअनुसार “ कर्तव्य परि ज्यान मरेको मुद्दामा कसुरदार आफैँ साबित भई पोलेकोमा बाहेक कर्तव्यको उजुर परेकोमा तहकिकातबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा २० वर्षपछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएका २ वर्षपछि कसैउपर मुद्दा चल्न सक्दैन ।” भन्ने व्यवस्था रहेको छ । यसको अर्थ अनुसन्धानबाट कर्तव्यवाला देखिएपछि पनि मुद्दा चलाउन मिल्दैन भनी कानूनको व्याख्या गर्नु कानूनको मक्सद हुन सक्दैन । प्रमाणहरूको मालाकार श्रृंखलाबाट अपराधी घोषित व्यक्तिलाई निश्चित समयपछि मुद्दा नलाग्ने भन्ने

हुँदैन । लरेन्ट आरमण्ड क्यारियोर (Laurent Armond Carriere) को कर्तव्यबाट मृत्यु भएकोमा द्विविधा छैन । निज Laurent को कर्तव्यमा परी ज्यान मरेको भनी तत्काल उजुर परेको अवस्था

छ । अनुसन्धान तहकिकातबाट कर्तव्यवालाको स्पष्ट पहिचान भएको छ । कर्तव्यवाला पत्ता नलागेको भन्ने अवस्था प्रस्तुत मुद्दामा विद्यमान देखिँदैन । कर्तव्यवाला पत्ता लागेको अवस्थामा २० वर्षपछि पनि मुद्दा चल्ने सो ज्यानसम्बन्धी महलको २० नं. को व्यवस्थाले नै स्पष्टरूपमा बोलि राखेकै छ । यस्तो अवस्थामा कर्तव्य भएको २० वर्षपछि मुद्दा चल्न नसक्ने भन्ने प्रतिवादी तर्फका विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिर ज्यानसम्बन्धी महलको २० नं. को मनसाय प्रतिकूल भई सो बहस जिकिरसँग सहमत हुन सकिएन । सोही विषयमा प्रतिवादीले म कसुरदार होइन भनि वस्तुनिष्ठ प्रमाणहरू प्रस्तुत गरी पुष्टि गर्न सकेको अवस्था पनि छैन । अदालतसमक्ष प्रमाण प्रस्तुत गर्ने र बयान गर्ने समयमा विभिन्न असान्दर्भीक बहाना बनाई निज प्रतिवादी पन्छिने काम गरेको देखिन्छ । साथै सो सम्बन्धमा प्रतिबादी आफूले पुनरावेदन गरी विवाद ल्याएको स्थिति पनि छैन ।

११. तसर्थः उल्लिखित आधार र कारणबाट मृतकको मृत्यु यी प्रतिवादीसमेतको कर्तव्यबाट भएको देखिएको र प्रतिवादीको इन्कारी बयानलाई अन्य स्वतन्त्र प्रमाणसमेतबाट पुष्टि हुन नसकेको अवस्थामा यी प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०७२।८।८ को फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. तेजबहादुर के.सी.

 

इजलास अधिकृत : सुमन पाण्डे

इति संवत् २०७३ साल चैत २५ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु