निर्णय नं. ९८०० - हाडनाता जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई
फैसला मिति : २०७४।१।१७
०७३-RC-००२७
मुद्दा : हाडनाता जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम डी कुमारको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला कपिलवस्तु भलवाड गाउँ विकास समिति वडा नं.२ भलवाड बस्ने धनबहादुर दमाईको छोरा जीवन दमाई (परियार)
विभिन्न कलममा भएको कैद गणना गर्दा २० वर्ष वा सो भन्दा बढी हुनु र जन्मकैदको सजाय हुने ठहर हुनु एउटै कुरा होइन । खण्ड कायम गरी कैद गर्नु पर्दा वा जन्मकैद बापत कैद ठेक्नु पर्दा अपनाउने मापदण्डको रूपमा सम्म जन्मकैद बापत २० वर्ष कैद हुने भन्ने व्यवस्था गरिएको देखिन्छ । विभिन्न कलमको कैद गणना गर्दा २० वर्ष हुने भयो भन्ने कुरालाई नै जन्मकैद भन्नु तार्किक दृष्टिकोण नहुने ।
प्रचलित नेपाल कानूनले सबैभन्दा बढी कैद तोक्नु पर्ने गम्भीर प्रकृतिको कसुरका लागि जन्मकैद हुने व्यवस्था गरेको देखिन्छ । यो एउटा कसुरमा हुने सजायको व्यवस्था हो । फरक फरक कसुरमा भएको सजाय अवधि गणना गर्दा २० वर्ष वा सो भन्दा बढी कैद हुने अवधि देखिँदैमा त्यसलाई जन्मकैदको सजाय भन्न नमिल्ने ।
प्रतिवादीलाई जबरजस्ती करणी महलको ३(१) नं. ले १० वर्ष र हाडनाता करणीको महलको १ नं. ले थप १० वर्ष कैद गरेको अवस्था छ । यस अवस्थामा पुनरावेदनको माध्यमबाट नै इन्साफ परीक्षण हुन
सक्तछ । तर प्रतिवादीले सुरू फैसला उपर पनि पुनरावेदन गरेको नदेखिई पुनरावेदन अदालतले साधकको रोहमा सुनुवाई गरेको पाइयो । यसपछि पुनः साधक जाहेर गरी यस अदालतमा पठाएको देखियो । यसरी पुनरावेदन अदालतको फैसला उपर साधक जाहेर गरी रहनु पर्ने र साधकको रोहबाट हेर्न मिल्ने देखिँदैन । यस विषयमा सम्बन्धित पक्ष (प्रतिवादी)ले नै पुनरावेदन गरेको हुन आवश्यक थियो । तर त्यसो गरेको
पाइएन । तसर्थ प्रस्तुत मुद्दा साधकको रोहमा हेर्न नमिल्ने भएको र सम्बन्धित पक्षको पुनरावेदनसमेत परेको नदेखिँदा मुद्दाको तथ्यमा प्रवेश गरी ईन्साफ गर्न नमिल्ने ।
(प्रकरण नं.२)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राजेन्द्र सिंह भण्डारी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता नारायण देवकोटा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन, २०७३ को दफा १०(२)
सुरू तहमा फैसला गर्नेः
माननीय न्या. श्री अच्युतप्रसाद भण्डारी
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल
माननीय न्यायधीश श्री नीलम पौडेल
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
आफ्नै ७ वर्षकी छोरीलाई करणी गरेको जानकारी प्राप्त हुन आएकोले निज जीवन परियारलाई फेलापारी पक्राउ गरी ल्याएको छु, कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.स.नि.राजेन्द्र प्रसाद चौधरीको प्रतिवेदन ।
जिवन परियारको श्रीमती पोइला गएपछि निजको छोरी परिवर्तित नाम एम कुमारीलाई मैले रेखदेख गर्दै आएकोमा मिति २०७०।१२।२५ गतेका दिउसो नातिनी साथीहरूसँग खेल्न गएकोमा जीवन परियारले वोलाई झाडीमा लगी जबरजस्ती करणी गरेको कुरा नातिनी आत्तिदै आएपछि निजको साथिले सोध्दा बताएकी र अनु परियारले रगतसमेत धोर्इ दिएकोले निजलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको परिवर्तित नाम डि कुमारको जाहेरी दरखास्त ।
जिल्ला कपिलवस्तु भलवाड गा.वि.स.वडा नं.२ स्थितमा रहेको नर्सरी भित्रको झाडीभित्र जीवन परियारले पीडित परिवर्तित नाम एम कुमारीलाई जबरजस्ती करणी गरेको स्थान रहेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।
म उक्त वारदात मिति २०७०।१२।२५ मा घर नजिक जंगलमा साथीहरू वन्दना, अप्सरा, सुष्मा वि.क.समेत भई खेल्न गएकोमा नर्सरीमा काम गर्न गएका बुबाले बोलाएकोले गएकोमा बावुले झाडी भित्र लगी भुईमा पल्टाई मैले लगाएको कपडा माथि फर्काइ आफूले लगाएको कपडा खोली मेरो खुट्टा च्यापी मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्नेले घोची जबरजस्ती पसाउनु भयो र दुख्यो भन्दा पनि नछाडी काम गरी सकेपछि कसैलाई भनेमा पिट्छु भनि छाडेका र म घरतर्फ फर्की रगत लागेको धुन धारामा जाँदा सृजना खनालसमेत भेट भई निजलाई उक्त कुरा बताएको र अनु परियारले कपडा पखाली दिनु भएको हो भन्नेसमेत व्यहोराको पीडित परिवर्तित नाम एम कुमारीले गरेको कागज ।
परिर्विर्तत नाम एम कुमारीको शारीरीक परिक्षण प्रतिवेदनमा No sign of struggle like abrasion,contusion & bite mark are present र Hyem rupture भएको भन्नेसमेतको परिवर्तित नाम एम कुमारीको शारीरीक परिक्षण प्रतिवेदन ।
प्रतिवादी जीवन परियारको शारीरिक परिक्षण प्रतिवेदनमा निजले करणी गरेको पाइँदैन । निजको लिंगबाट विर्य स्खलन भएको पाइँदैन, लिंगको वरिपरी योनि रस लागेको पाइँदैन, संर्घषका संकेतहरू पाइँदैन भन्नेसमेत व्यहोराको प्रतिवादी जीवन परियारको शारीरिक परिक्षण प्रतिवेदन ।
मेरो श्रीमती पोइला गएपछि मेरो सानो छोरी परिवर्तित नाम एम कुमारीलाई मेरो बुबाले रेखदेख गर्दै आउनु भएकोमा कहिलेकाहीँ मसँगसमेत बस्दै आएकोमा उक्त वारदात मितिका दिन दिउँसो खोलातिर काम गर्न जाँदै गर्दा छोरीलाई केटाकेटीसँग खेल्दै गरेको देखी बोलाई केही पर लगी घर जानु भनी काममा गएको हुँ, करणी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी जीवन परियारको बयान ।
परिवर्तित नाम एम कुमारी र हामीसमेत गाउँ नजिकैको नर्सरीमा खेली रहेकोमा निजको बुबा हामी भएको ठाउँमा आई एम कुमारीलाई बोलाई जंगलतर्फ लैजानु भएकोमा केही बेरपछि निज रातो पिरो हुँदै आएकोले सोध्दा बुबाले मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फर्नेले घोची छिराएकोले दुखेको छ भनी बताएकी थिइन् भन्नेसमेत व्यहोराको बुझिएका अप्सरा सुनार, सृजना खनाल, सुष्मा परियार र बन्दना लोहार बि.क.ले गरेको झण्डै एकै मिलानको पृथक पृथक कागज ।
परिवर्तित नाम एम कुमारीलाई आफ्नै बाबु प्रतिवादी जीवन परीयारले जबरजस्ती करणी गरेको थाहा पाएको भन्नेसमेत व्यहोराको बुझिएका सन्त बहादुर सुनारले गरेको कागज ।
परिवर्तित नाम एम कुमारीलाई आफ्नै बाबुले जबरजस्ती करणी गरेको थाहा पाई सो दिन रात परेकोले भोलिपल्ट मिति २०७०।१२।२६ गते गई हेर्दा साप्रा र कपडामा रगत लागेको देखी धोइ दिएकी हुँ भन्नेसमेत व्यहोराको बुझिएका अनु परियारले गरेको कागज ।
परिवर्तित नाम एम कुमारीलाई आफ्नै बाबु प्रतिवादी जीवन परियारले जबरजस्ती करणी गरेको कुरा थाहा पाई गर्इ पीडितलाई सोध्दा जबरजस्ती करणी गरेको बताएकी हुन् भन्नेसमेत व्यहोराको हर्क बहादुर वि.क., रोम बहादुर खत्री र कमल वेल्वासेले गरेको झण्डै एकै मिलानको पृथक पृथक वस्तुस्थिति मुचुल्का ।
परिवर्तित नाम एम कुमारीको जन्म मिति २०६४।६।१० मा भएको भन्ने निजको जन्म दर्ता प्रमाण पत्र ।
मिति २०७०।१२।२५ गतेको दिउसो नर्सरी वनमा खेलिरहेकी ६ वर्ष ६ महिना १५ दिनकी पीडित परिवर्तित नाम एम कुमारीलाई आफ्नै बाबु प्रतिवादी जीवन दमाई परियारले बोलाई नर्सरी भित्रको झाँडीमा लगी जबरजस्ती करणी गरी प्रतिवादी जीवन दमाई परियारले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं र ३ नं को देहाय (१) बमोजिमको कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादी जीवन दमाई परियारलाई उक्त ऐन, उक्त महलको ३ नं.को देहाय (१) बमोजिम सजाय हुन तथा प्रतिवादी जीवन दमाई परियारले आफ्नै छोरी परिवर्तित नाम एम कुमारीलाई जबरजस्ती करणी गरी निज प्रतिवादी जीवन दमाई परियारले जबरजस्ती करणीको महलको २ नं. बमोजिमको कसुर अपराध गरेको प्रमाणित भएकोले निज प्रतिवादी जीवन दमाई परियारलाई हाडनातामा करणी गर्नेको महलको १ नं. बमोजिम थप सजायसमेत हुन र पीडित परिवर्तित नाम एम कुमारीलाई प्रतिवादी जीवन दमाई परियारबाट जबरजस्ती करणी महलको १० नं.र १०ग. नं. बमोजिम मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई दिनसमेतको मागदाबी लिई पेस भएको अभियोग पत्र ।
मिति २०७०।१२।२५ गते बिहान म बालुवा गिट्टी भर्नको लागि खोलामा गएको थिएँ । १२.०० बजे ट्याक्टर साहुको घरमा खाना खाई पुन: खोलामा बालुवा गिट्टी लोड गर्ने काम गरी साँझ ७ बजे घर फर्केको हुँ । मेरो श्रीमती २ वर्ष अगाडि पोइल गएपछि मेरा २ सन्तान १ छोरा ८ वर्षको र १ छोरी ६ वर्षकी मसँगै बस्दै आएका छन् । मेरो घर र ससुराली घर नजिकै भएकोले मामा घर जाने आउने गर्दथे । त्यसदिन छोरा म घरमा, छोरी मामा घर गएकी थिइ । मैले मेरो छोरीलाई केही गरेको छैन । आफ्नो प्राणभन्दा प्यारी छोरीलाई त्यस्तो गलत कार्य गर्ने कुरा नै हुँदैन । मलाई रिसको बदला लिन मेरो सासुले मलाई फसाएकी हुन् । म निर्दोष हुँदा सफाई पाउनु पर्छ भन्ने प्रतिवादी जिवन दमाई परियारले सुरू अदालतमा गरेको बयान ।
म घरनजिकै रहेको बगैँचामा साथीसँग खेल्दै थिएँ । मेरो बाबाले बोलाउनु भयो । मलाई झाडीमा लानुभयो । मेरो र आफ्नो कट्टु खोली मात्तिनु भयो । त्यसपछि बाबा टेक्टर भएतिर जानु भयो म मावलीमा गए भन्नेसमेत व्यहोराको पीडित परिवर्तित नाम एम कुमारीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।१।१ गते प्रहरीमा गरेको कागजको सहीछाप मेरो हो । परिवर्तित नाम एम कुमारीको बुबाले नराम्रो काम गर्नुभयो भनी मलाई भनेकी थिइन् भन्नेसमेत व्यहोराको वादीका साक्षी सृजना खनालले सुरू अदालतमा गरेको बकपत्र ।
जीवन परियाले बलात्कार गरेछन् भनी नातीसमेतका बच्चाहरूबाट सुनेको हुँ । नातिनीको शारीरिक परीक्षण गराउने काममा आएको थिएँ भन्नेसमेत व्यहोराको जाहेरवाला परिवर्तित नाम डि कुमारले सुरू अदालतमा गरेको बकपत्र ।
आफ्नै बाबुले नराम्रो काम गरेछ भनेपछि मलाई थाहा भएको हो । निजले लगाएको कपडा अघिल्लो दिन धोइसकेका रहेछन् । मैले पनि हल्का दाग देखी धोइदिएको हुँ । गाउँका मानिसले प्रहरी बोलाई पिपरामा पीडित एम कुमारीलाई लगी गएका हुन् भन्नेसमेत व्यहोराको वादीका साक्षी अनु परियारले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले अदालतसमक्ष कसुरमा इन्कार रही बयान गरेको भए तापनि अधिकार प्राप्त अधिकारीसमक्ष जबरजस्ती करणी गरेको हैन भनी वारदातस्थलमा आफू रहेको र छोरीसँग भेट भएको उल्लेख गरी बयान गरेका, जबरजस्ती करणी मुद्दामा वारदातको प्रमाणको पहिलो कडी मानिने पीडित एम कुमारी जसले आफ्नो बाबु यी प्रतिवादीले आफूलाई बोलाई झाडीभित्र लगी भुइँमा पल्टाई मैले लगाएको कपडा माथि फर्काई आफूले लगाएको कपडा खोली मेरो खुट्टा च्यापी मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्नेले घोची जबरस्ती पसाउनु भयो र दुख्यो भन्दा पनि नछाडी काम गरी सकेपछि कसैलाई भनेमा पिट्छु भनि छाड्नु भएको श्रृजना खनालसँग बाटोमा भेट भई निजलाई सबै कुरा बताएकी र अनु परियारले कपडा पखाली दिनु भएको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज गरी अदालतसमक्ष बुबाले बोलाई आफूलाई झाडीमा लग्नु भई मेरो कट्टु खोल्नु भयो र आफ्नो कट्टुसमेत खोली मात्तिनु भयो भनी बयान गरेको पाइन्छ । पीडित ६ वर्ष की नाबालिकाले आफ्नो बाबुले आफ्नो इच्छाविपरीत हुने करणीमा आफ्नो सतित्व नष्ट गर्न लाग्नु भयो भनि बचाउको लागि हरसम्भव प्रयत्न गर्ने र विरोध गर्ने जस्ता कुराहरू गर्न सक्ने हुँदैन । एउटा अवोध बालिकाले आफूमाथि बाबुद्वारा भएको नृशंस एवम पासविक अपराधको जस्ताको तस्तै स्वभाविकरूपमा भनेको भनाईलाई अन्यथा भन्ने अवस्था पनि देखिँदैन । Victim ले बताएका कुराहरूलाई अन्यथा भन्न सकिने अवस्था छैन । Direct and original प्रमाणको रूपमा Victim ले बताएका कुरा प्रमाणमा लिनुपर्ने भन्ने प्रतिपादित नजिर (ने.का.प. २०६४ पेज ८६ नं. ७८१० राकेश कुमार सिंह हिमाली गोलेको जाहेरीले नेपाल सरकार मुद्दा जबरजस्ती करणी) समेतबाट देखिन्छ । यी प्रतिवादी जीवन परियारको श्रीमती पोइल गएपछि परिवर्तित नाम पीडित एम कुमारीलाई मैले रेखदेख गर्दै आएकोमा मिति २०७०।१२।२५ गते दिउँसो नातिनी साथीहरूसँग खेल्न गएको अवस्थामा निजका बाबु जीवन परियारले बोलाई झाडीमा लगि जबरजस्ती करणी गरेको कुरा नातिनी आत्तिदै आएपछि निजको साथीले सोध्दा बताएकी र अनु परियारले रगतसमेत धोइ पखाली गरी दिएसमेतबाट यी प्रतिवादीलाई आवश्यक कार्यवाही गरिपाउँ भन्ने जाहेरी रही जाहेरवालाले अदालतसमक्ष जाहेरीमा उल्लिखित कुरा नातीसमेतका बच्चाहरूबाट सुनी जाहेरी दिएको हुँ भनी प्रतिवादीकै सहोदर बाबु परिवर्तत नाम डि कुमारले बकपत्र गरेको पाइन्छ । परिवर्तित नाम एम कुमारीले हामीहरूसँग बुबाले मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्नेले घोची दिएकाले दुखेको छ भनि बताएकी थिइन भनी बुझिएका अप्सरा सुनार, श्रृजना खनाल, सुस्मा परियार, वन्दना लोहार वि.क.समेतले कागज गरी श्रृजना परियारले सोही मिलानको बकपत्र अदालतसमक्ष गरेको पाइन्छ । पीडितलाई सोध्दा आफूलाई बुबाले जबरजस्ती करणी गरे भनि बताएकीले थाहा पाएको भन्ने वस्तुस्थितिका हर्कबहादुर वि.क.समेतले एकै मिलानको कागज गरी दिएको पाइन्छ । पीडित परिवर्तित नाम एम कुमारीको शारीरिक परीक्षण प्रतिवेदन हेर्दा No sign of struggle like abrasion,contusion & bite mark are present र Hymem rapture अर्थात् हाइमन च्यातिएको भन्ने पाइन्छ । यसरी माथि वर्णित किटानी जाहेरी, पीडितको कागज एवं बकपत्र, प्रतिवादीका बाबु एवं जाहेरवालाको बकपत्र, बुझिएका मानिसहरूको भनाई एवं बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदन आदिसमेत एक अर्कासँग मालाकाररूपमा मिल्न भिड्न आएकाले अदालतको इन्कारी बयानलाई मात्र आधार मानी प्रतिवादीलाई सफाई दिन मिलेन प्रतिवादीले आरोपित कसुर गरेकोले जबरजस्ती करणी महलको ३(१) नं. बमोजिम १० वर्ष कैद सजाय हुने र आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको देखिँदा हाडनाता करणी महलको १ नं. बमोजिम थप १० वर्ष कैद सजायसमेत हुने तथा रू.२५०००।- क्षतिपूर्ति यी प्रतिवादीबाट पीडितलाई भराई दिनेसमेत ठहर्छ भन्ने सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।३।५ को फैसला ।
यसमा प्रस्तुत मुद्दाका प्रतिवादी जीवन दमार्इ परियारलार्इ कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।३।५ का फैसलाले २० (बीस) वर्ष कैद र रू.२५,०००।- क्षतिपूर्ति भरार्इ पाउने ठहरी फैसला भएकोले सो फैसलाको तपसिल खण्डमा पुनरावेदन परे पुनरावेदनको रोहबरमा पुनरावेदन नपरे पुनरावेदन पर्ने अवस्थापछि साधक जाहेरीको लागि यो फैसलासहितको सक्कल मिसिल श्री पुनरावेदन अदालत, बुटवलमा पठार्इ दिने भन्नेसमेत उल्लेख भएको सो फैसलाउपर प्रतिवादीका नाममा मिति २०७१।३।३१ मा पुनरावेदन म्याद तामेल भएका मितिले ऐनका म्यादभित्र निजको पुनरावेदन पत्र पर्न आएको नदेखिएकोले अब निज प्रतिवादीको हकमा प्रस्तुत मुद्दा सुरू फैसलामा उल्लेख भएबमोजिम साधक दर्ता गरी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको २०७२।१।२७ को आदेशबमोजिम प्रस्तुत मुद्दा साधकको रोहबाट दर्ता भएको ।
प्रतिवादीले मौकामा तथा अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कारी भई बयान गरेपनि पीडितले मौकामा कागज गर्दा साथीहरू बन्दना, अप्सरा, सुष्मासमेत भई खेलेको बेला बाबाले नर्सरीमा काम गर्नु भएकोमा बोलाएपछि म नर्सरीतिर लागेपछि निजले झाडीभित्र लगी भुइँमा पल्टाई मैले पिसाब फेर्ने ठाउँमा बुबाको पिसाब गर्नेले घोची जबरजस्ती पसाउनु भयो भनी आफूलाई प्रतिवादी जीवन परियारले जबरजस्ती करणी गरेको कुरा सिलसिलाबद्ध तरिकाले लेखाएको साथै निज पीडितले अदालतमा बकपत्र गर्दासमेत मौकाको कागजको समर्थन गर्दै बाबाले मेरो कट्टु खोली आफ्नो कट्टु पनि खोल्नुभयो र मात्तिनु भयो भनी बकपत्र गरेको देखियो । मौकाको बयानमा छोरीलाई बोलाई केही परसम्म लगी सम्झाई घरमा जान भनी पठाएको थिए भनी गरेको बयानले वारदात स्थलमा निज प्रतिवादीको उपस्थिति थियो भन्ने बुझिन्छ । जाहेरवालाले आफ्नो मौकाको जाहेरीलाई समर्थित जनाउँदै छोरी माथि बुबा नाता पर्ने जिवनले बलात्कार गरेछ भन्ने सुनेको हुँ भनी बकपत्र तथा पिडितको स्वास्थ्य परिक्षण प्रतिवेदनसमेतबाट प्रतिवादी जीवन दमाई परियारले आफ्नो ७ वर्षभन्दा कम उमेरकी छोरीलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले सुरू अदालतबाट निज प्रतिवादीलाई जबरजस्ती करणीको ३(१) नं. बमोजिम १० वर्ष र हाडनाता करणीको महलको १ नं. बमोजिम थप १० वर्ष गरी २० वर्ष कैद गर्ने र पिडितलाई रू. २५,०००।–क्षतिपूर्तिसमेत भराई दिने गरी भएको सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको २०७२।३।८ को फैसला ।
प्रतिवादी अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा समेत कसुरमा इन्कार रही बयान गरेको र पीडितको बकपत्र खम्बिर नहुनुका साथै घाउ चोटसमेत नदेखिएको हुँदा सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।३।५ को फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, बुटवलबाट मिति २०७२।३।८ मा भएको फैसला फरक पर्न सक्ने भएकोले छलफलका लागि मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७३।८।६ गतेको आदेश ।
नियमानुसार आजको दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारीले प्रतिवादी जीवन दमाई परियारलाई सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको अवस्था छ भनी र प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री नारायण देवकोटाले तल्ला अदालतबाट भएको फैसला विचारणीय रहेको भनी बहस गर्नुभयो ।
प्रस्तुत मुद्दाको मिसिल कागजातहरू अध्ययन गरी हेर्दा पीडित परिवर्तित नाम एम कुमारीलाई निजको आफ्नै बाबु प्रतिवादी जीवन दमाई परियारले जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलार्इ मुलुकी ऐन जबरजस्ती करणीको ३(१) नं. र हाडनाता करणीको १ नं. बमोजिम थप सजायसमेत गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग दाबी भएको प्रस्तुत मुद्दामा सुरू अदालतबाट प्रतिवादीलार्इ जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र हाडनाता करणी महलको १ नं. बमोजिम थप १० वर्ष कैदसमेत गरी २० वर्ष कैद हुने ठहरी फैसला भएको देखियो ।
पुनरावेदन अदालत, बुटवलले उक्त फैसलालाई साधकको रोहमा जाँच गर्दा सुरू कपिलवस्तु जिल्ला अदालतले गरेको फैसला मनासिब देखिएको भनी सदर गर्ने गरी २०७२।३।८ मा फैसला गरेको देखियो । उक्त फैसलाउपर साधक जाँचका लागि यस अदालतमा मिसिल प्राप्त भई मिति २०७३।५।२० को आदेशले साधकमा दर्ता भएको रहेछ ।
२. अब पुनरावेदन अदालत, बुटवलले गरेको फैसलाको सम्बन्धमा साधकको रोहमा पेस भएको प्रस्तुत मुद्दाको सन्दर्भमा विचार गर्दा प्रतिवादी जीवन दमाई परियारलाई जबरजस्ती करणी महलको ३(१) नं. बमोजिम १० वर्ष र हाडनाता करणीका महलको १ नं. बमोजिम थप १० वर्ष गरी २० वर्ष कैद हुने ठहर गरी सुरू तथा पुनरावेदन अदालतले फैसला गरेको देखियो । सोउपर यस अदालतमा साधकको रोहमा पेस हुन आएको पाइयो । मुलुकी ऐन, अदालती बन्दोबस्तको १८६ नं. बमोजिम पुनरावेदन सुन्ने अदालतले सर्वस्वसहित जन्मकैद वा जन्मकैद हुने ठहराएको मुद्दामा साधकको रोहमा सुनुवाई हुनसक्ने देखिन्छ । न्याय प्रशासन ऐन, २०७३ को दफा १०(२) बमोजिम उच्च अदालतले जन्मकैदको सजाय हुने ठहर्याएको मुद्दामा मात्र साधक जाहेर गरिनु पर्ने हुन्छ । पूर्ववर्ती कानून न्याय प्रशासन ऐन, २०४८ मा समेत सोहीबमोजिमको प्रावधान रहेको देखिन्छ । विभिन्न कलममा भएको कैद गणना गर्दा २० वर्ष वा सोभन्दा बढी हुनु र जन्मकैदको सजाय हुने ठहर हुनु एउटै कुरा होइन । खण्ड कायम गरी कैद गर्नु पर्दा वा जन्मकैदबापत कैद ठेक्नु पर्दा अपनाउने मापदण्डको रूपमा सम्म जन्मकैदबापत २० वर्ष कैद हुने भन्ने व्यवस्था गरिएको देखिन्छ । विभिन्न कलमको कैद गणना गर्दा २० वर्ष हुने भयो भन्ने कुरालाई नै जन्मकैद भन्नु तार्किक दृष्टिकोण हुँदैन । प्रचलित नेपाल कानूनले सबैभन्दा बढी कैद तोक्नु पर्ने गम्भीर प्रकृतिको कसुरका लागि जन्मकैद हुने व्यवस्था गरेको देखिन्छ । यो एउटा कसुरमा हुने सजायको व्यवस्था हो । फरक फरक कसुरमा भएको सजाय अवधि गणना गर्दा २० वर्ष वा सोभन्दा बढी कैद हुने अवधि देखिँदैमा त्यसलाई जन्मकैदको सजाय भन्न मिल्दैन । प्रस्तुत मुद्दामा यी प्रतिवादी जीवन दमाई परियारलाई जबरजस्ती करणी महलको ३(१) नं. ले १० वर्ष र हाडनाता करणीको महलको १ नं. ले थप १० वर्ष कैद गरेको अवस्था छ । यस अवस्थामा पुनरावेदनको माध्यमबाट नै इन्साफ परीक्षण हुन सक्तछ । तर प्रतिवादीले सुरू फैसलाउपर पनि पुनरावेदन गरेको नदेखिई पुनरावेदन अदालत, बुटवलले साधकको रोहमा सुनुवाई गरेको पाइयो । यसपछि पुनः साधक जाहेर गरी यस अदालतमा पठाएको देखियो । यसरी पुनरावेदन अदालत, बुटवलको फैसलाउपर साधक जाहेर गरी रहनु पर्ने र साधकको रोहबाट हेर्न मिल्ने देखिँदैन । यस विषयमा सम्बन्धित पक्ष (प्रतिवादी)ले नै पुनरावेदन गरेको हुन आवश्यक थियो । तर त्यसो गरेको पाइएन । तसर्थ प्रस्तुत मुद्दा साधकको रोहमा हेर्न नमिल्ने भएको र सम्बन्धित पक्षको पुनरावेदनसमेत परेको नदेखिँदा मुद्दाको तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिलेन । साधकको लगतमा दर्ता गरेको दायरी खारेज हुन्छ । साधक दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृतः टेकनाथ गौतम
इति संवत् २०७४ साल वैशाख १७ गते रोज १ शुभम् ।