शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८०२ - निर्णय दर्ता बदर हक कायम

भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

माननीय न्यायाधीश श्री मीरा खड्का

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७३।१०।२७

०७२-DF-००१५

 

मुद्दाः निर्णय दर्ता बदर हक कायम ।

 

पुनरावेदक / वादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.१८ बस्ने हेरादेवी बज्राचार्यसमेत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.११ बस्ने पूर्णलाल महर्जनसमेत

 

साबिकको नापीमा दर्ता बाँकी रहन गएका जग्गाको हक स्वामित्व निरूपण गर्दा सो नापीमा खडा भएका फिल्डबुकमा लेखिएका व्यहोराहरू महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने देखिन आउँछ । फिल्डबुकमा लेखिने व्यहोरा सो जग्गाको स्वामित्वको सम्बन्धमा कालान्तरसम्ममा विवादको यकिन गर्ने प्रमाण मानिन्छ । त्यसैले फिल्डबुकलाई सो जग्गाको स्वामित्व निर्धारण गर्ने प्रमाणको रूपमा लिनु नै श्रेयष्कर हुने । 

(प्रकरण नं. ९)

अवैध दर्ताको आधारमा भएको लिखत स्वतः अवैध, दुषित र बदरभागी हुन जाने हुन्छ । प्रतिवादीहरूले विवादित जग्गा मिति २०५३।११।१४ मा मोही कृष्णबहादुरको सहयोगमा आफ्नो नाउँमा दर्ता गराई २०५३।११।१९ मा कृष्णबहादुरलाई नै बकसपत्र गरी हक हस्तान्तरण गरेको देखिन्छ । साबिक ३९३ को हाल रै.नं. १४ को लगतलाई समेत आफ्नो नाउँमा दर्ता गराई जग्गा हस्तान्तरण गरेको देखिँदा त्यस्तो दर्ताले कानूनी मान्यता पाउने भन्न मिल्ने नदेखिने । 

(प्रकरण नं. १३)

फिल्डबुकमा उल्लेख भएको उही व्यहोरा विपक्षी जग्गाधनीहरूको हकमा प्रमाणमा ग्राह्य हुने र पुनरावेदक वादीहरूको हकमा भुलवश लेखिएको भनी नजरअन्दाज गर्न नमिल्ने । 

(प्रकरण नं. १३)

सार्वजनिक सूचना प्रकाशन गर्नु भनेको असर पर्नेको हक त्यसै हनन् नहोस् भन्‍नेतर्फको सुनिश्चिततासम्म हो तथापि सम्बन्धित पक्षले सार्वजनिक सूचनाको जानकारी पाएको कुरा अन्य प्रमाणबाट पुष्टि हुनु पर्दछ । त्यसरी प्रमाणित नगरेसम्म त्यो सूचनालाई आधार बनाई हक पुग्ने पक्षको हक हनन् गर्न नमिल्ने । 

(प्रकरण नं. १३)

मुलुकी ऐन जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. ले काम कारवाहीको जानकारी पाएको मितिबाट हदम्याद सुरू हुने नभनी दर्ता भएको थाहा पाएको मितिबाट ६ महिनाभित्र नालेस नदिए लाग्न सक्तैन भन्‍ने व्यहोरा उल्लेख गरेको देखिएबाट समेत फिराद वादी हदम्यादविहीन भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १३)

 

पुनरावेदक / वादी : विद्वान्‌ अधिवक्ता प्रेमसिंह धामी

प्रत्यर्थी / प्रतिवादी : विद्वान्‌ अधिवक्ता योगराज सुवेदी,  रक्षबहादुर क्षेत्री

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः-

मा.न्यायाधीश श्री जनार्दनबहादुर खड्का

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री रणबहादुर बम

माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे

सर्वोच्च अदालतमा फैसला गर्नेः- 

मा.न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

मा.न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

 

फैसला

न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को क्षेत्राधिकारभित्रको भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

हामीहरूका ससुरा तथा बाजे वीरनरसिं गुभाजु (बज्राचार्य) तथा विपक्षीहरूका पितासमेतको नाममा नापनक्सा भई हामीहरूको संयुक्त हक भोगको निर्विवादरूपमा हक रहेको विवादित जग्गाहरूमा विपक्षीहरूले साबिक मोही चनवीरको छोरालाई हातमा लिई निजलाई नै जग्गा दिने सर्तमा लोभमा पारी आफ्नो पिता चनवीरले फिल्डबुकमा उल्लेख गरेको कुरालाई भुलले नाम लेखिन गएको भनी बयान गराई मिति २०५३।११।१४ मा जग्गा दर्ता गर्ने निर्णय गराई मिति २०५३।११।१९ मा नै निज मोहीको छोरालाई नै हालैदेखिको बकसपत्रबाट जग्गा हक हस्तान्तरण गरिदिएका छन् । विवादित जग्गाको मोही चनवीर महर्जनले फिल्डबुकमा मात्र नभई मोहीले भर्ने २ नं. अनुसूचीमा समेत जग्गाधनी वीरनरसिं भनी उल्लेख गरिदिएका छन् । यसरी फिल्डबुकमा उल्लिखित कुरालाई २ नं. अनुसूचीसमेतबाट पुष्ट्याईं भइरहेको अवस्थामा मालपोत कार्यालय, ललितपुरले सो कुराको कुनै वास्ता नगरी हचुवाको भरमा गरेको निर्णय त्रुटिपूर्ण छ । यसरी ससुरा तथा बाजे वीरनरसिं गुभाजु (बज्राचार्य) को निर्विवाद हक रहेको ललितपुर जिल्ला, टिकाथली गाउँ विकास समिति वडा नं.१(क) कि.नं.१६५ क्षेत्रफल २-२-३-०, ऐ.ऐ. वडा नं १(ग) कि.नं.४४ क्षेत्रफल ०-२-०-०, ऐ ऐ कि.नं.४५ क्षेत्रफल १-१५-०-०, ऐ.ऐ. कि.नं.४७ क्षेत्रफल ०-३-०-० समेतका जग्गाहरू विपक्षी प्रतिवादीहरूका नाममा मात्र एकलौटीरूपमा दर्ता गर्ने गरी मिति २०५३।११।६ मा गरेको जग्गा दर्ता समितिको सिफारिस र सोको आधारमा मिति २०५३।११।१४ मा मालपोत कार्यालय, ललितपुरले गरेको निर्णयमा ३ भागको १ भाग हामीहरूको हक जतिको निर्णय र सो निर्णयको आधारमा भएको दर्तासमेत बदर गरी हामीहरूको हक कायम गरी चलनसमेत चलाई पाउँ भन्‍ने मिति २०६०।५।३१ को फिरादपत्र ।

फिराद दाबीमा सर्भे नाप नक्सा हुँदा किसानको व्यहोरामा यो जग्गा ललितपुर ओमबहाल बस्ने वीरनरसिं, मंगलाल र किसलालसमेत ३ जनाको हो । ३ मुरी ९ पाथी धान तिरी आएको छु भनी मोही चनवीरले फिल्डबुकमा लेखिदिएका छन् भन्‍ने उल्लेख गरेको छ । साबिक रसिदमा त्यसरी ३ जना संयुक्त दर्ताको भनी उल्लेख गर्न सकेको छैन । साबिक दर्ता जग्गाभन्दा हाल नापीमा नरघटी नरबढी हुने कुरा स्वभाविकै छ र मोहीले जुनसुकै व्यहोराबाट फिल्डबुकमा लेखिदिए पनि दर्ता स्रेस्ताबेगर मोहीले लेखिदिएकै आधारबाट संयुक्त जग्गा दर्ता हुने होइन । विवादित जग्गामा वादीहरूको समेत हक लाग्ने जग्गा हो भने यसै लगाउको लिखत बदर मुद्दामा मोहीले २०५९ सालसम्म बाली बुझाई आएको छ भन्‍ने उल्लेख छ सो कुरा पत्यारलायक छैन किनभने विवादित जग्गा मसमेतले दर्ता गरी कृष्णबहादुरलाई हालैदेखिको बकसपत्र पारित गरी हक हस्तान्तरण गरी दिई सकेपछि सो विवादित जग्गाको बाली विपक्षीहरूलाई बुझाउने कुरै आउँदैन । विवादित जग्गामै विपक्षीहरूको ३ भागको १ भाग जग्गा पर्छ भन्‍ने कुरा विना प्रमाण भन्न मिल्दैन । वादीहरूको दाबी झुठ्ठा हो मेरो सबुद प्रमाण बुझी हक इन्साफ गरी वादी दाबीबाट अलग फुर्सद गराई पाउँ भन्‍ने प्रतिवादी सूर्यमान महर्जनको प्रतिउत्तरपत्र । 

विपक्षी वादीको सम्पूर्ण दाबी झुठ्ठा हो । विवादित जग्गामा विपक्षीहरूको कुनै हक छैन । वादीहरूलाई विवादित जग्गा कहाँ पर्छ, कुन व्यक्तिले भोग चलन गरी राखेको छ, कति मूल्य पर्छ, जग्गाको अवस्था के छ, कुन बाली भन्‍ने सामान्य जानकारीसमेत नभएका बिलकुलै असम्बन्धित उनाउ व्यक्तिहरू हुन । सो कुरा २०२२ सालमा नापी भएको जग्गा वीरनरसिं भनिएका व्यक्तिका नाउँबाट नाउँसारी दर्ता गर्न निवेदन नदिएबाट र जग्गा पजनीको २(क) नं. बमोजिम नामसारी हुने जग्गा हो भन्नसम्म पनि नसकेबाट स्पष्ट हुन्छ । साबिक क्षेत्रफल २-८-० बाट हालको क्षेत्रफल ४-६-३ दर्ता गरेकोमा विपक्षीले प्रश्न उठाउने कानूनी र नैतिक आधार छैन । विवादित जग्गाहरू साबिकमा भन्दा नरबढी हुन गएकोसम्म हो । नरबढी हुँदैमा विपक्षीको हक लाग्ने होइन । विवादित जग्गाहरू हामीहरूको पिताहरूकै साबिक लगतबाट भिडी दर्ता हुने हाम्रो मात्र पैतृक सम्पत्ति हो । तत्कालीन मोहीको भूलबस उनाउ व्यक्ति वीरनरसिं नाम उल्लेख हुन गएको मात्र हो । हामीले २०५३।११।१४ मा जग्गा दर्ता गरी मिति २०५३।११।१९ मा मोही कृष्णबहादुरलाई हालैदेखिको बकसपत्र गरी हक हस्तान्तरण गरेको 

हो । सो सम्बन्धमा आफ्नो सम्पत्ति जसलाई जसरी हक हस्तान्तरण गरे पनि आफ्नो खुशी हुने हुँदा हामीले मोहीलाई बकस दिएका हौं । तसर्थ हामीहरूकासमेत नाउँमा विवादित जग्गा दर्ता गर्ने गरी भएको मालपोत कार्यालय, ललितपुरको मिति २०५३।११।१४ को निर्णय र सो निर्णयको आधारमा भएको दर्ता कानूनबमोजिम नै भएको हुँदा विपक्षीहरूको फिराद खारेज गरिपाउँ भन्‍ने व्यहोराको प्रतिवादीहरू हरिशंकर महर्जन र पूर्णलाल महर्जनको संयुक्त प्रतिउत्तर पत्र ।

फिराद दाबीको जग्गा वादीहरूकै हकभित्रको जग्गा भए २०२१ सालको नापीमा उपस्थित भई जग्गा दर्ता गर्न सक्नुपर्नेमा गरेको छैन । सोपश्चात् गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दासमेत वादीहरूले दाबी गर्न नसकेको साथै आफ्नो जग्गा भए मोहीबाट बाली बुझेको भरपाई हुनुपर्ने सो पनि छैन । मोही कृष्णबहादुर महर्जनले पिता चन्द्रवीर महर्जनको नाममा मोही कायम भएको उल्लिखित जग्गा पिता २०२९ सालमा परलोक भएपछि मैले नै जग्गा जोतभोग गरी आएको छु । फिल्डबुकमा लेखिएको वीरनरसिं गुभाजु उक्त जग्गाको जग्गाधनी नभई भूलले मात्र लेखिन गएको हो । साबिक जग्गाधनी किसलाल र मंगललाल मात्र हुन् भनी उल्लेख गरेको, सर्जमीनका व्यक्तिहरूले समेत नापीको समयमा भूलले उक्त जग्गाको जग्गाधनी वीरनरसिं लेखन गएको हो । वास्तविक जग्गाधनीहरू मंगललाल महर्जन र किसलाल महर्जन हुन् भनी लेखाएका र सोही आधारमा प्रतिवादीहरूका नाममा दर्ता गर्ने गरी मिति २०५३।११।६ मा समितिको सिफारिस र सोही आधारमा मिति २०५३।११।१४ मा मालपोत कार्यालय, ललितपुरले गरेको निर्णय कानूनसम्मत रहे भएको देखिएकोले उक्त निर्णय बदर गरिपाउँ भन्‍ने वादी दाबी पुग्न सक्दैन भन्‍ने ललितपुर जिल्ला अदालतको मिति २०६१।११।१९ को फैसला । 

विवादित टिकाथली गा.वि.स. वडा नं.१(क) कि.नं १६५, ऐ.वडा नं.१(ग) कि.नं. ४४, ४५ र ४७ का जग्गामा हाम्रा ससुरा तथा बाजे वीरनरसिं गुभाजुको हक मेटिने गरी विपक्षीहरूको नाममा मात्र दर्ता गर्ने गरी मिति २०५३।११।६ मा गरेको समितिको सिफारिस र सोको आधारमा मिति २०५३।११।१४ मा मालपोत कार्यालय, ललितपुरले निर्णय गरेको छ । सो निर्णय अनुसार भएको जग्गामा हाम्रो ससुरा तथा बाजेको हक हिस्सा ३ भागको १ भाग बदर गरी हामीहरूको हक कायम गरिनुपर्नेमा प्रमाणको मूल्याङ्कन तथा विवेचना नै नगरी वादी दाबी नपुग्ने ठहर्‍याई भएको फैसला अ.बं.१८४(क), १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशसमेत विपरीत हुँदा बदर गरी हाम्रो फिराद दाबीअनुसार गरिपाउँ भन्‍ने व्यहोराको वादीहरूको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

दाबीको जग्गा वीरनरसिं गुभाजुसमेतको हकको हो भनी नापीको समयमा नै मोहीले लेखाई दिएको फिल्डबुकबाट देखिन आएको अवस्थामा वादीको स्रेस्ता भिडाई यकिन नगरी वादी दाबी पुग्न नसक्ने ठहर गरेको सुरू फैसला फरक पर्नसक्ने हुँदा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थीहरूलाई झिकाई पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, पाटनको मिति २०६३।२।२५ को आदेश ।

वादीले दाबी लिएका हाल कायम कि.नं.१६५, ४४, ४५ र ४७ का विवादित जग्गाहरू वादी दाबीअनुसार साबिक लगत दथुटोल ३९३ नं. को हाल रै.नं.१४ भित्रको भन्‍ने कुराको तथ्ययुक्त कागज प्रमाण पेस गर्न सकेको देखिँदैन । नापी हुँदा क्षेत्रीय किताबको कैफियत महलमा साबिक मोही चनवीर ज्यापुले यो जग्गा ललितपुर वँ बहाल बस्ने वीरनरसिंह गुभाजु भन्‍नेसमेत ३ जनाको हो भनी जनाई दिएकै आधारमा विवादित जग्गा वादीसमेतको संयुक्त दर्ताको हो भनी मान्न मिल्ने देखिँदैन । जग्गा कमाउने साबिक मोहीका छोरा कृष्णबहादुर महर्जनले सम्बन्धित मालपोत कार्यालयमा गरेको बयानमा नापी हुँदा बाबुको भूलले गर्दा किसानको व्यहोरा वीरनरसिं गुभाजु भनी नामसम्म उल्लेख गरेका हुन् । उक्त जग्गाका जग्गाधनी किसलाल र मंगललाल हुन् । किसलालको हक खाने पूर्णलाल र मंगललालको हक खाने हरिशंकर, सूर्यमान मात्र हुन् भनी मिति २०५२।१०।४ मा द.नं.१४५८० मा लेखिदिएको देखिन्छ । उक्त जग्गाको जग्गाधनी वादीहरूका ससुरा र बाजेसमेत जग्गाधनी भई साबिक मोही चनवीर महर्जन ज्यापु वा कृष्णबहादुर महर्जनका बीचमा कुत कबुलियत भई बाली तिरोभरो भएको भन्‍ने कुरा पुष्टि हुने आधिकारिक लिखतसमेत वादी पक्षले पेस गर्न सकेको देखिएन ।  

२०२१ सालमा नापी भएको जग्गालाई मौकैमा वादी पक्षका ससुरा बाजे तथा पति पितासमेतले आफ्ना नाउँमा दर्ता गराई स्रेस्ता कायम गर्न सकेको अवस्था पनि छैन । विवादित जग्गा २०५३।११।१४ मा नै मालपोत कार्यालय, ललितपुरबाट आधा जग्गा पूर्णलाल महर्जनका नाउँमा र आधा जग्गा सूर्यमान महर्जन र हरिशंकर महर्जनका नाउँमा दर्ता गर्ने निर्णय भई सो जग्गाहरू मिति २०५३।११।१९ मा हालैदेखिको बकसपत्रद्वारा कृष्णबहादुर महर्जनलाई हक हस्तान्तरण भइसकेको भन्‍ने देखिन आयो । वादी पक्ष मिति २०६०।५।३१ मा मात्र अर्थात् प्रतिवादी पक्षका नाउँमा दर्ता भईसकेको धेरै वर्षपछि विवादित जग्गाको निर्णय बदर गरी हामीहरूको हक कायम गरिपाउँ भन्‍ने वादी दाबी तथ्ययुक्त ठोस सबुद प्रमाणहरूको अभावमा पुग्न सक्ने देखिएन । विवादित जग्गाको दर्ता बदर गरी हक कायम गरिपाउँ भन्‍ने वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्‌याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६१।११।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसला ।

ललितपुर जिल्ला, टिकाथली गाउँ विकास समिति वडा नं.१(क) कि.नं.१६५, ऐ. ऐ. वडा नं.१(ग) कि.नं.४४, ४५, ४७ समेत जग्गा हामीहरूका ससुरा तथा बाजे वीरनरसिं गुभाजु (बज्राचार्य) तथा विपक्षीहरूका पितासमेतको जग्गा प्रतिवादी र नापीको समयमा जग्गाधनी उपस्थित नभई मोहीले जग्गाधनीका नाममा नाप नक्सा गराई संयुक्त मोठ स्रेस्ता खडा भएका जग्गाहरू हुन् । वास्तविक जग्गा कमाउन लिने मोहीले नै स्पष्‍टसँग यी यी व्यक्ति जग्गाधनी हुन् भनेर लेखाई दिइसकेको अवस्थामा मोही चनवीर ज्यापुका छोरा कृष्णबहादुर महर्जनले मंगललाल र किसलाललाई मात्र जग्गाधनी भनेको भरमा जग्गाधनी विपक्षीहरू हुन् भन्न सकिँदैन । साबिकका मोहीले फिल्डबुकको किसानको व्यहोरामा स्पष्टसँग वीरनरसिं गुभाजुको जग्गा हो भनी उल्लेख गरेको कुरालाई ललितपुर जिल्ला अदालत र पुनरावेदन अदालत, पाटनबाट फैसला गर्दा सो कुरातर्फ ध्यान दिइएन । को को जग्गाधनी हो भनेर पुष्‍ट्‍याईं गर्ने प्रमुख आधार प्रमाणलाई विचारै नगरी फैसला गरिएको छ ।

मालपोत कार्यालय, ललितपुरबाट वडा नं.१८ मा म्याद जारी हुँदा वडा नं.१८ मा नबहाल भन्‍ने ठाउँ नभएको भनी म्याद फिर्ता भएको छ भने पुनः वडा नं.२० नबहालमा पर्छ भनी त्यहाँ म्याद जारी गर्दा घर फेला नपरेको भनी फिर्ता भएको छ । म्याद टाँस भएको भन्‍ने कुरा नै गलत हो त्यही माथि फिल्डबुकमा नबहाल लेखिएको नभई वँबहाल (ओनबहाल) बस्ने वीरनरसिं गुभाजु भनी लेखिएको छ । ओनबहाल वडा नं.१८ मा पर्दछ सो ठेगानामा म्याद जारीसमेत भएको छैन। सार्वजनिक सूचना प्रकाशित हुँदा हक दाबी नगर्दैमा हाम्रो हक जान सक्दैन । सार्वजनिक सूचना प्रकाशित हुँदैमा थाहा पाएको भन्न नमिल्ने भनी ने.का.प.२०५० अंक ११ पृष्ठ ६७१ मा कानूनी सिद्धान्त प्रतिपादन भएको छ । यी प्रतिवादीहरूले वास्तविक ठेगाना नदेखाई गलत ठेगाना देखाई हाम्रो हक जाने गरी हाम्रो हक लाग्ने जग्गा दुषित दर्ता गराएको हुनाले मालपोत कार्यालयको मिति २०५३।११।१४ को निर्णय बदर गर्नुपर्नेमा हामीलाई हराई भएको फैसला त्रुटिपूर्ण छ ।

हामीले साबिक लगत दथुघोलको ३९३ लगत रै.प. भई हाल रै.नं.१४ को योदे १-१-० को खलासँग भिड्ने भनी स्पष्ट उल्लेख गरी दाबी लिएका छौं भने बरू प्रतिवादीहरूले आफ्नो प्रतिउत्तरपत्रमा आफ्नो यो साबिक लगतअन्तर्गत फलानो खलासँग भिड्ने जग्गा हो भनी कुनै जिकिर गर्न सकेका 

थिएनन् । हामीले फिरादपत्रमा स्पष्ट साबिक लगत ३९३ नं. को रसिदसँग भिड्ने भनी दाबी लिएपछि हामीले पेस गरेको लगतसँग नभिड्ने हो भने कुन लगतसँग भिड्ने हो त्यो कुरा खुलाउनु पर्नेमा प्रतिवादीहरूले कुनै लगत नै देखाउन नसकेका अवस्थामा हामीले तथ्ययुक्त कागज प्रमाण पेस गर्न नसकेको भन्‍ने आधार वस्तुनिष्ठ छैन । 

वास्तविक जग्गा जोत्‍ने मोही चनवीरले सर्भे नापी हुँदा जग्गाधनीहरू उपस्थित नभएकाले आफू मोही र जग्गाधनीहरू वीरनरसिं गुभाजुसमेत ३ जना हुन् भनी लेखाई दिएका छन । साबिकदेखि जग्गा जोत्‍नेले वास्तविक कुरा लेखाई सकेको अवस्थामा त्यस बखत १२ वर्ष भएका कृष्णबहादुरले २०५३ सालमा जग्गा दर्ता गर्ने क्रममा भूलबाट लेखिन गएको भन्‍ने भनाई बिलकुल गलत छ । मोही चनविरले भनेको कुरालाई त्यसको हक खाने व्यक्तिले होइन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले विवन्धन लाग्छ। प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा ३(ग) अनुसार स्वयम्‌ जग्गा कमाउने साबिक मोहीले भनेको कुरालाई प्रमाणमा नलिई पछि हकप्राप्त भएका मोहीका छोराले अन्य जग्गावालाहरूसँग मिलेमतो गरी व्यक्त गरेको कुरा प्रमाणमा लिई भएको फैसला प्रमाणको मूल्याङ्कन नगरी भएको छ । जहाँसम्म कबुलियतनामा तथा भरपाइको कुरा छ मोहीले २०२१ सालभन्दा अगाडिदेखि कमाएको र २ नं. अनुसूचीसमेत प्रकाशित भएको हुनाले कबुलियतनामा हुने कुरा भएन भने एक अर्काको विश्वासले गर्दा बाली बुझेको दोहोरो भरपाई लिने गरेका थिएनौं । त्यहि माथि जग्गा कसको हो भन्‍ने कुराको ठोस प्रमाण भनेको साबिक रसिद पेस गरेका छौं । नापीकै समयमा वीरनरसिं गुभाजुको समेत हक भएको भनी नापी भई फिल्डबुक तथा स्रेस्तासमेत हाम्रो बाजे तथा ससुरा वीरनरसिं गुभाजुको नाममा तयार भएको छ । केवल मोहीको छोराको भनाईको आधारमा जग्गाधनी कायम हुने होइन ।

यी प्रतिवादीहरूका हकदारहरूले पनि नापीको समयमा दर्ता गराएका थिएनन् सबैको समानरूपमा स्रेस्ता खडा भएको थियो । यसरी स्रेस्ता कायम भएको जग्गा मालपोत ऐन, २०३४ को दफा ७(२) तथा मुलुकी ऐन जग्गा पजनीको २ तथा २(क) बमोजिम जहिलेसुकै दर्ता नामसारी गर्न 

सकिन्छ । सर्वोच्च अदालतबाट मोठ स्रेस्तालाई प्रमाणमा लिनुपर्ने भनी ने.का.प.२०३० नि.नं.७१९ पृष्ठ १८, ने.का.प.२०४२ नि.नं. २२६४ पृष्ठ १३७ को नजिर सिद्धान्तबाट समेत उक्त मितिमा भएका फैसला सर्वोच्च अदालतबाट प्रतिपादन भए गरेका नजिर सिद्धान्तविपरीत छ । हामीहरूले जालसाजी मुद्दा दायर नगरेको अवस्थामा सो कुराको यकिन गरी निर्णय गर्नुपर्नेमा बहसमा उठाएको कुरालाई आधार लिई हाम्रो दाबी नपुग्ने गरी भएको फैसला मिलेको छैन । 

हामीहरूको हक मार्ने नियतले स्वयम्‌ कृष्णबहादुरसमेत समावेश भई दर्ता गराई आफ्नो नाममा कायम गरेका अवस्थामा हक हस्तान्तरण हुँदैमा हाम्रो हकमा असर पर्न सक्दैन । विपक्षीहरूबीच मिति २०५३।११।१९ मा भएको हालैदेखिको बकसपत्र लिखत बदर मुद्दासमेत परेको थियो सोतर्फ हेरिएन । एकाको जग्गा अर्काले दर्ता गरे गराएमा मुलुकी ऐन जग्गा पजनीको १७ नं. तथा जग्गा मिच्नेको १८ नं. बमोजिम थाहा जानकारी पाएको मितिले ऐनका म्यादभित्र नालेस गरेका छौं । प्रतिवादीहरूले हाम्रो हक जाने गरी मिति २०५३।११।१४ मा दर्ता गराई गुपचुप गरी बसी लिनुदिनुसमेत गरेको कुरा थाहा पाएपछि ऐनका म्यादभित्र नालेस गरेका हौं । ढिलो नालेस गर्दैमा दाबी नपुग्ने भन्न मिल्ने होइन ।

विपक्षीहरूका जग्गाका मोही र हामीहरूका जग्गाका मोही एकै व्यक्ति भएका कारणले मोहीले संयुक्तरूपमा कमाएका हुँदा सोही व्यहोरा फिल्डबुकमा लेखाई दिएका हुन् । यसरी फिल्डबुकमा स्पष्टसँग भएको व्यहोरा उल्लेख भइरहेको अवस्थामा अन्य जग्गाधनीहरूसँग मिली मोहीको छोराले झुट्ठा कुरा लेखिदिएको कुरालाई अदालतबाट प्रमाणमा लिई वादी दाबी नपुग्ने भन्नु गलत हो । विपक्षीहरूले के कसरी गल्ती व्यहोरा लेखिन गएको हो भन्‍ने कुराको कुनै ठोस प्रमाणले प्रमाणित गर्न सकेका छैनन् । हालका मोही कृष्णबहादुरलाई हातमा लिई यी विपक्षीहरूले झुट्ठा बयान गर्न लगाएका छन् । विवादित जग्गाहरू हाम्रो बाजे तथा ससुरा वीरनरसिंह गुभाजु तथा विपक्षीहरूका पिताको नाममा संयुक्त नापी भएको जग्गा हो भन्‍ने कुरा विपक्षीहरूले जग्गा दर्ता गर्ने क्रममा पेस गरेको साबिक लगतबाट पनि पुष्टि हुन्छ किनभने विपक्षीहरूले छुट जग्गा नामसारी गरिपाउँ भनी मिति २०५२।८।१९ मा दिएको निवेदनमा रै.नं.३२५ तर्पना १।।S रै.नं.३३२ पौताल १S।। र रै.नं.१ बाट १ रोपनी गरी जम्मा साबिक क्षेत्रफल २-१२-२ जग्गाबाट विवादित जग्गा क्षेत्रफल ४-६-३-० जग्गा भिड्ने भनी निवेदन दिएका र रै.नं.३३२ को जग्गा अर्कैको नाममा दर्ता गरी सकेकोले उक्त जग्गा नभिड्ने भनी रै.नं.३२५ र रै.नं.१ को साबिक क्षेत्रफल २-१-०-० जग्गासँग क्षेत्रफल 

४-६-३-० जग्गा भिडाई दर्ता गराइएको छ । यसरी विपक्षीहरूले भिड्दै नभिड्ने रसिद भिडाउने कोसिस गर्नका साथै साबिकको क्षेत्रफलभन्दा हालको क्षेत्रफल लगभग दोब्बरभन्दा बढी दर्ता गरेका छन् । विपक्षीले झुट्ठा कुरा उल्लेख गरी झुट्ठा बयान गर्न लगाई हामीहरूको हकमा आघात पुग्ने काम गरेकोले मालपोत कार्यालयको निर्णय बदर हुने गरी फैसला गर्नुपर्नेमा हाम्रो दाबी नपुग्ने गरी फैसला भएकोले ललितपुर जिल्ला अदालतबाट मिति २०६१।११।१९ मा भएको फैसलालाई सदर हुने गरी पुनरावेदन अदालत, पाटनले मिति २०६३।११।८ मा गरेको फैसला दोहोर्‌याई हेरी उल्टी गरी वादी दाबीबमोजिम मालपोत कार्यालय, ललितपुरले गरेको निर्णयमा ३ भागको १ भाग हामीहरूको हकको जति निर्णय र सो निर्णयको आधारमा भएको दर्तासमेत बदर गरी हामीहरूको हक कायम गरी चलनसमेत चलाई पाउँ भन्‍ने वादीको यस अदालतमा परेको निवेदन पत्र ।

यसमा मालपोत कार्यालय, ललितपुरको मिति २०६१।१०।२१ मा प्राप्त हुन आएको वादीले प्रमाण दिएको साबिक लगत रैकर नं.१४ को पा.द. मा १-४-०-० जग्गा निवेदक वादीका पति पिता वीरनरसिंहका नाउँमा दर्ता लगत कायम भएको देखिन आयो र सर्भे नापीमा वादी दाबीको कि.नं.१६५, ४४, ४५ र ४७ को जग्गाको फिल्डबुकको कैफियत महलमा यो जग्गा ललितपुर इ.नबहाल बस्ने वीरनरसिंह गुभाजु र ललितपुर बल्खु बस्ने मंगल ज्यापु र ऐ. बस्ने भिरालाल ज्यापुसमेत ३ जना जग्गाधनी जनिएको अवस्थामा वादी दाबी नपुग्ने ठहराएको सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६१।११।१९ मा भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र अ.बं.१८४क नं. को त्रुटि विद्यमान देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमबमोजिम गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६६।९।२९ को आदेश ।

ललितपुर जिल्ला, टीकाथली गाउँ विकास समिति वडा नं.१क कि.नं.१६५ क्षेत्रफल २-२-३-०, ऐ.ऐ. वडा नं.१ग कि.नं.४४ क्षेत्रफल 

०-२-०-०, ऐ.ऐ. कि.नं.४५ क्षेत्रफल १-१५-०-०, ऐ.ऐ. कि.नं.४७ क्षेत्रफल ०-३-०-० समेतका सबै जग्गाहरू नापी गराउने चनविर महर्जन वादी दाबीका जग्गाहरूको जोताहा मोही रहेको निज मोहीले किसानको महलमा यो जग्गा लपु वँ बहाल बस्ने वीरनरसिं गुभाजुसमेत तीन जनाको हो भनी उल्लेख गरेको, वादीले साबिक दथुघोल ३९३ लगतको जग्गा रै.प. भई हाल रै.नं.१४ को योदे १-१-० को खलासँग भिड्ने भनी स्पष्ट उल्लेख गरी सोको प्रमाणसमेत मिसिल सामेल रहेको स्थितमा उपरोक्त जग्गाहरू विपक्षी प्रतिवादीहरूका नाममा मात्र दर्ता हुने ठहराएको मालपोत कार्यालय, ललितपुरको मिति २०५३।११।१४ को निर्णयसमेतबाट वादीहरूको हकको ३ भागको १ भागमा असर परेको देखिँदा वादी दाबीबमोजिम ३ भागको १ भाग जग्गाको दर्ता बदर गरी हककायम गरी चलनसमेत चलाई दिलाई दिनुपर्नेमा वादी दाबी पुग्न नसक्ने ठहराएको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसला उल्टी भई उल्लिखित जग्गाको वादीहरूको हकको ३ भागको १ भाग दर्ता निर्णय बदर भई वादीहरूको हक कायम हुने र त्यसमा वादीहरूले चलनसमेत पाउने ठहर्छ भन्नेसमेत व्यहोराको यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको मिति २०७२/९/५ को राय । 

प्रतिवादीहरू पूर्णलाल महर्जन, सूर्यमान महर्जन र हरिशंकर महर्जनको नाममा दर्ता नामसारी गर्ने मालपोत कार्यालयबाट निर्णय भएको लामो समयपछि आई वादीहरूको हक नै कायम हुन नसक्ने जग्गा हुँदा वादी दाबी खारेज गर्ने गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । उक्त फैसला उल्टी गरी वादी दाबी पुग्ने ठहराएको माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको रायसँग सहमत नभएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.को मिति २०७२/९/५ को राय । 

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री प्रेमसिंह धामीले विवादित कि.नं.१६५, ४४, ४५ र ४७ को जग्गाको फिल्डबुकको कैफियत महलमा जग्गाधनी वादीका ससुरा / बाजे वीरनरसिंह गुभाजुसमेतको नाम उल्लेख भएको छ । यो जग्गा ल.पु. दथुल ३९३ को रै.नं.१४ अन्तर्गतको जग्गा हो । सर्भे नापीमा दर्ता छुट हुन गएकोले छुट जग्गा दर्तामा साबिक लगतलाई पहिलो प्रमाणका रूपमा मानिन्छ । मोठ स्रेस्तामा वीरनरसिंह गुभाजु, किसलाल र मंगललालको नाउँमा दर्ता बाँकी रहेको भन्ने मिति २०५३/११/१४ को मालपोत कार्यालयको निर्णय पर्चामा समेत उल्लेख भएबाट साबिक जग्गाधनी वीरनरसिंह गुभाजुसमेत भएकोमा विवाद छैन । वादी प्रतिवादीको बाजे / ससुराको संयुक्त नाउँमा रहेको उक्त जग्गा प्रत्यर्थीहरूले एकलौटीरूपमा दर्ता गर्न मिल्ने होइन । २०२१ सालमा नापी भएको जग्गालाई मौकैमा वादी पक्षका ससुरा बाजे तथा पति पितासमेतले आफ्ना नाउँमा दर्ता गराई स्रेस्ता कायम गर्न नसकेको भन्ने आधारमा वादी दाबी पुग्न नसक्ने ठहराएको ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी हुने ठहर गरी माननीय न्यायाधीश गोविन्दकुमार उपाध्यायबाट व्यक्त राय सदर हुनुपर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो । 

त्यसैगरी प्रत्यर्थी प्रतिवादी हरिशंकरका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री योगराज सुवेदीले विवादित जग्गाहरू प्रतिवादीहरूले दुषित दर्ता गराएको होइन । वीरनरसिंको ठेगाना मिलेको छैन । नबहाल र वबहाल एउटै ठाउँ होइन । उक्त जग्गाहरू प्रतिवादीको भोगको जग्गा हो । मालपोत ऐन, २०३४ को दफा ७(२) बमोजिम छुट जग्गा प्रतिवादीहरूको नाउमा दर्ता हुन आएको हो । विवादित जग्गामा वादीको हक कायम हुने होइन भनी र प्रत्यर्थी प्रतिवादी कृष्णबहादुर महर्जनको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री रक्षबहादुर क्षेत्रीले मोही कृष्णबहादुरले वास्तविक व्यहोरा लेखाई कानूनबमोजिम प्रतिवादीहरूको नाउँमा नामसारी दर्ता भई निर्विवाद हकभोग भइरहेको जग्गा भएकोले त्यस्तो जग्गा जहिलेसुकै हक हस्तान्तरण गर्न पाउने नै हुँदा यी प्रतिवादी जग्गाधनीले प्रतिवादीमध्येका मोही कृष्णबहादुरलाई हालैदेखिको बकसपत्र लिखत गरी हक हस्तान्तरण गरेका हुन् । विपक्षी वादीहरू अंशियार हकवाला पनि होइनन् । जग्गाधनीले मोहीलाई मिति २०५३।११।१९ मा हालैदेखिको बकसपत्रबाट दिइसकेको जग्गाका सम्बन्धमा २०६० सालमा दायर गरेको मुद्दा हदम्याद नाघी दायर भएको आधारमा वादी दाबी नपुग्ने ठहर्‌याई सुरू अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलालाई सदर गर्ने गरी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.बाट व्यक्त राय सदर हुनुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो ।

उपरोक्त बहस जिकिर सुनी मिसिल संलग्न प्रमाण कागजात एवं तथ्यहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसला उल्टी भई विवादित जग्गामा वादीहरूको हकको ३ भागको १ भाग दर्ता निर्णय बदर भई वादीहरूको हक कायम हुने भनी यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायबाट व्यक्त राय तथा पुनरावेदन अदालतको फैसलालाई सदर कायम गरी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. बाट व्यक्त रायमध्ये कुन राय उपयुक्त हुन्छ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो । 

२. निर्णयतर्फ विचार गर्दा हामीहरूको ससुरा तथा बाजेसमेतको ३ भागको १ भाग हक पुग्ने ललितपुर जिल्ला, टीकाथली गाउँ विकास समिति वडा नं.१क कि.नं.१६५ क्षेत्रफल २-२-३-०, ऐ.ऐ. वडा नं.१ग कि.नं.४४ क्षेत्रफल ०-२-०-०, ऐ.ऐ. कि.नं.४५ क्षेत्रफल १-१५-०-०, ऐ.ऐ. कि.नं.४७ क्षेत्रफल 

०-३-०-० समेतका सबै जग्गाहरू विपक्षी प्रतिवादीहरूका नाममा दर्ता गर्नका लागि जग्गा दर्ता समितिले मिति २०५३।११।६ मा गरेको सिफारिसअनुसार मालपोत कार्यालय, ललितपुरले मिति २०५३।११।१४ को निर्णयबाट दर्ता गरेको हुँदा ३ भागको १ भाग हाम्रो हक पुग्ने जग्गाको दर्ता बदर गरी हककायम गरी चलनसमेत चलाई पाउँ भन्‍ने फिराद दाबी रहेको र विवादित जग्गा हामीहरूले दर्ता गरी कृष्णबहादुरलाई हालैदेखिको बकसपत्र पारित गरी हक हस्तान्तरण गरी दिई सकेपछि सो विवादित जग्गाको बाली विपक्षीहरूलाई बुझाउने भन्ने हुँदैन । उक्त जग्गामा विपक्षीहरूको ३ भागको १ भाग जग्गा पर्छ भन्‍ने कुरा विना प्रमाण भन्न मिल्दैन । उक्त जग्गाको फिल्डबुकमा तत्कालीन मोहीको भूलबस उनाउ व्यक्ति वीरनरसिंको नाम उल्लेख हुन गएको मात्र हो । हामीले २०५३।११।१४ मा जग्गा दर्ता गरी मिति २०५३।११।१९ मा मोही कष्णबहादुरलाई हालैदेखिको बकसपत्र गरी हक हस्तान्तरण गरेको हो। हामीहरूकासमेत नाउँमा विवादित जग्गा दर्ता गर्ने गरी भएको मालपोत कार्यालय, ललितपुरको मिति २०५३।११।१४ को निर्णय र सो निर्णयको आधारमा भएको दर्ता कानूनबमोजिम नै भएको हुँदा विपक्षीहरूको फिराद खारेज गरिपाउँ भन्‍ने व्यहोराको प्रत्यर्थीहरू पूर्णलाल महर्जन, हरिशंकर महर्जन र पूर्णलाल महर्जनको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर गरी ललितपुर जिल्ला अदालतबाट मिति २०६१।११।१९ मा भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट मिति २०६३।११।८ मा फैसला भएको देखियो ।

३. उक्त फैसलाउपर वादीले मुद्दा दोहोर्‌याई पाउँ भनी निवेदन दिएकोमा यस अदालतको संयुक्त इजलासबाट मुद्दा दोहोर्‌याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको देखियो । 

४. मोही कृष्णबहादुर महर्जनले पिता चन्द्रवीर महर्जनको नाममा मोही कायम भएको उल्लिखित जग्गा पिता २०२९ सालमा परलोक भएपछि मैले नै जग्गा जोतभोग गरी आएको छु । फिल्डबुकमा लेखिएको वीरनरसिं गुभाजु उक्त जग्गाको जग्गाधनी नभई भूलले मात्र लेखिन गएको हो । साबिक जग्गाधनी किसलाल र मंगललाल मात्र हुन् भनी उल्लेख गरेको, सर्जमीनका व्यक्तिहरूले समेत नापीको समयमा भूलले उक्त जग्गाको जग्गाधनी वीरनरसिं लेखन गएको हो । वास्तविक जग्गाधनीहरू मंगललाल महर्जन र किसलाल महर्जन हुन् भनी लेखाएका र सोही आधारमा प्रतिवादीहरूका नाममा दर्ता गर्ने गरी मिति २०५३।११।१४ मा मालपोत कार्यालय, ललितपुरले गरेको निर्णय कानूनसम्मत रहे भएको भनी वादी दाबी नपुग्ने ठहर्‌याएको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला नमिलेकाले उल्टी भई विवादित जग्गामा वादीहरूको हकको ३ भागको १ भाग दर्ता निर्णय बदर भई हक कायम हुने ठहर्छ भनी यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायबाट राय व्यक्त भएको देखिन्छ । प्रतिवादीहरू पूर्णलाल महर्जन, सूर्यमान महर्जन र हरिशंकर महर्जनको नाममा दर्ता नामसारी गर्ने मालपोत कार्यालयबाट निर्णय भएको लामो समयपछि आई वादीहरूको हक नै कायम हुन नसक्ने जग्गा हुँदा वादी दाबी खारेज गर्ने गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसलालाई सदर कायम गरी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. बाट राय व्यक्त भई रायबाझी भएको प्रस्तुत मुद्दा निर्णयार्थ पूर्ण इजलाससमक्ष पेस हुन आएको पाइयो ।

५. यसमा मूलतः विवादित जग्गाको साबिक स्रोतका सन्दर्भमा विचार गर्नुपर्ने देखिन आयो । विवादित जग्गाहरू साबिक लगत दथुघोल ३९३ नं. हाल रै.नं.१४ भित्रको हो भनी पुनरावेदक दाबीको फिराद दाबी रहेको देखियो । विवादित जग्गाको क्षेत्रीय किताबको कैफियत महलमा साबिक मोही चनवीर ज्यापुले यो जग्गा ललितपुर वँ बहाल बस्ने वीरनरसिंह गुभाजुसमेत जना ३ को हो भनी उल्लेख गरेको व्यहोरा उक्त जग्गाको फिल्डबुकबाट देखिन आयो ।

६. उक्त जग्गाको मोही कृष्णबहादुर महर्जनले पिता चन्द्रवीर महर्जनको नाममा मोही कायम भएको उल्लिखित जग्गा २०२९ सालमा पिता परलोक भएपछि मैले नै जोत भोग गरी आएको छु । फिल्डबुकमा लेखिएको वीरनरसिं गुभाजु उक्त जग्गाको जग्गाधनी नभई भूलले मात्र लेखिन गएको हो । साबिक जग्गाधनी किसलाल र मंगललाल मात्र हुन्, किसलालको हक खाने पूर्णलाल र मंगललालको हक खाने हरिशंकर, सूर्यमान हुन् भनी उल्लेख गरेको देखिन्छ भने उक्त जग्गा नापी हुँदा फिरादीका ससुरा तथा बाजे वीरनरसिं गुभाजु (बज्राचार्य) तथा विपक्षीहरूका पितासमेत अनुपस्थित रहेकाले जग्गा कमाउने मोहीले वीरनरसिंसमेतका नाममा नापनक्सा गराई संयुक्त मोठ स्रेस्ता खडा भएको भन्ने देखिन्छ । पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीहरूको जग्गामा साबिकदेखि चनविर ज्यापु मोही रहेको कुरामा विवाद देखिँदैन । विवादित जग्गा साबिक लगत दथुघोलको ३९३ रै.प. भई हाल रै.नं.१४ को योदे १-१-० को खलासँग भिड्ने भन्ने वादी दाबीलाई खण्डन हुने गरी सो जग्गा अन्य कुनै लगतसँग भिड्ने हो भन्ने लिखत प्रमाण प्रत्यर्थी प्रतिवादीहरूले देखाउन सकेको पाइँदैन । 

७. मिसिल संलग्न मालपोत कार्यालय, ललितपुरको मिति २०७०/६/१५ च.नं. १५०३ को पत्रबाट साबिक दथुघोल मौजा पोता विर्ता ३९३ को लगतबाट परिणत भई रै.नं.१४ कायम भएको र उक्त लगतमा विभिन्न खलाहरू कायम भई वभिन्न व्यक्तिहरूका नाउँमा दर्ता भएको भन्ने लेखिआएको देखिन्छ । उक्त पत्रसाथ प्राप्त प्रतिलिपि हेर्दा साबिक दथुघोल ३९३ नं.को लगतमा वीरनरसिंसमेतका नाउँमा दर्ता भएको हुँदा.... भनी उल्लेख भएको र हाल कायम भएको रै.नं. १४ साबिक ३९३ हो भन्ने कुरा उक्त प्रतिलिपिबाट देखिन आउँछ ।

८. व्यक्ति विशेषको हक पुगेको निजको साबिक लगतको जग्गा नापी भएपछि दर्ता गर्नको लागि सबभन्दा महत्त्वपूर्ण र पहिलो कुरा जग्गा नापी हुँदा तयार हुने स्रेस्ता फिल्डबुक हो । यी जग्गा दर्ता गराउने चनविर वादी दाबीका जग्गाहरूको २०२१ सालदेखि नै जोताह मोही रहेको र निजको शेषपछि निजको छोराहरू निरन्तररूपमा विवादका जग्गाको मोही कायम भएको तथ्यमा विवाद देखिँदैन । विवादित जग्गा नापी हुँदाका बखत उक्त जग्गा नापी गराउने मोही चनविरले उक्त जग्गाका जग्गाधनी वीरनरसिंसमेत जना ३ रहेको र उक्त जग्गा आफूले कमाई सो जग्गाको आयस्ता जग्गाधनीलाई बझाउँदै आएको भनी फिल्डबुकमा उल्लेख गरेको 

पाइन्छ । विवादका जग्गाको स्वामित्व निर्धारणको स्रोतको रूपमा रहेको उक्त जग्गाको फिल्डबुकमा उल्लिखित व्यहोरा मोहीले नि:सर्त र सहजरूपमा वास्तविक व्यहोरा खुलाई उल्लेख गरेको तथ्य स्वाभाविक नै देखिन आउँछ । विवादित जग्गाको मोहीले वास्तविक व्यहोरा खुलाई फिल्डबुकमा उद्‌घोष गरेको तथ्यलाई निजको शेषपछि मोही कायम हुन आएको निजको छोरा कृष्णबहादुरले फिल्डबुकमा बुबाले उल्लेख गरेको जग्गाधनीको व्यहोरा भुलवश उल्लेख भएको भन्ने निजको भनाईलाई प्रमाणिक महत्त्व दिन मिल्ने देखिएन । निजको उक्त भनाईलाई सत्यमानी मोही चनविरको भनाईको प्रतिकूल अवधारणा बनाई विवादित जग्गामा पुनरावेदक वादीहरूको हक नरहने भन्न न्यायको रोहमा मनासिब हुँदैन । जग्गाको विवादको निरूपणमा फिल्डबुकको प्रमाणले सर्वाधिक महत्त्व राख्ने हुन्छ । यसका साथै कतिपय अवस्थामा सो प्रमाण निर्णायक हुने गर्दछ । 

९. यसरी साबिकको नापीमा दर्ता बाँकी रहन गएका जग्गाको हक स्वामित्व निरूपण गर्दा सो नापीमा खडा भएका फिल्डबुकमा लेखिएका व्यहोराहरू महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने देखिन आउँछ । फिल्डबुकमा लेखिने व्यहोरा सो जग्गाको स्वामित्वको सम्बन्धमा कालान्तरसम्ममा विवादको यकिन गर्ने प्रमाण मानिन्छ । त्यसैले फिल्डबुकलाई सो जग्गाको स्वामित्व निर्धारण गर्ने प्रमाणको रूपमा लिनु नै श्रेयष्कर हुन्छ । दाबीका जग्गाहरू नापी गराउने चनवीर वादी दाबीका जग्गाहरूका जोताहा मोही रहेकोमा कुनै विवाद छैन । निज चनवीरले फिल्डबुकको किसानको व्यहोरामा यो जग्गा लपु वँ (व न) बहाल बस्ने वीरनर्सिं गुभाजु र लपु बल्खु बस्ने मंगललाल ज्यापु, किसलाल ज्यापुसमेत ३ जनाको हो । मैले सगोलमा कमाई ३ मुरी ९ पाथी धान तिरी आएको छु भनी विवादित जग्गाहरूको जग्गाधनी वादीहरूका ससुरा तथा बाजे वीरनरसिं गुभाजु (बज्राचार्य) समेतका व्यक्तिहरू रहेको र आफूले निजहरूलाई ३ मुरी ९ पाथी धान तिरी आएकोसमेतका कुरा उल्लेख गरेको फिल्डबुकबाट देखिन्छ । यसबाट उक्त विवादित जग्गामा फिल्डबुकमा उल्लेख भएका जग्गाधनी सबैको बराबरी हक रहने कुरामा विवाद रहँदैन । फिल्डबुकमा उल्लेख भएका वीरनरसिं गुभाजु वादीहरूका ससुरा बाजे होइनन् वा वीरनरसिं भन्‍ने व्यक्तिको अस्तित्व थिएन भन्‍ने कुनै प्रमाण प्रत्यर्थीहरूबाट पेस भएको देखिँदैन । वीरनरसिंसमेत विवादित जग्गाहरूको जग्गाधनी रहेको कुरा नाप जाँचको स्रेस्ता फिल्डबुकबाट देखिन्छ ।

१०. वादीले उल्लेख गरेको साबिक दथुघोल ३९३ नं. को हाल रै.नं.१४ को लगतको योदे १-१-० को खला दाबीका जग्गाहरूको ३ खण्डको १ खण्ड देखिन्छ । प्रतिवादीहरूले रै.नं.३२१ तपेना १।।ऽ, रै.नं.३३२ पौताल ।ऽ।। र रै.नं.१ बाट १ रोपनी गरी जम्मा २-१२-२ जग्गाबाट ४-६-३-० जग्गा भिड्ने भनी मिति २०५२।८।१९ मा निवेदन दिएका तर बेखालालका नामको रै.नं.३३२ पौताल जग्गा मिति २०३५।३।२८ को निर्णयले बेखालालको नाम खारेज गरी कि.नं.२४०, ३४ र ३५ मा भिडाई जोगलाल, हेराकाजीमा नामसारी दर्ता भएकोले सो नभिड्ने भनी रै.नं.३२१ र रै.नं.१ को २-८-०-० सँग मात्र भिडाई साबिकभन्दा बढी जग्गा दर्ता गराएको देखिन आउँछ । साबिक ३९३ नं. को हाल रै.नं.१४ को लगत दाबीको जग्गा होइन अरू जग्गासँग भिड्ने भन्‍ने पुष्टि हुने आधार प्रत्यर्थीहरूबाट पेस भएको देखिँदैन । 

११. यसरी जग्गामा हक पुग्नका लागि आवश्यक नाप जाँच, लगत जस्ता प्रमाणहरू हेर्दा नाप जाँचबाट विवादित जग्गाहरूमा वीरनरसिंको हक देखिएको, वीरनरसिंको हकको लगत रहेको, सो लगत भिडेको र वादीहरू निज लगतवालाका हकवाला भएकोसमेतका निर्णायक लिखत प्रमाणहरूबाट उक्त जग्गाहरूमा पुनरावेदक वादीसमेतको हक नरहने भन्न मिल्ने देखिँदैन । 

१२. जहाँसम्म २०५३ सालमा भएको दर्ताउपर लामो समयपछि मुद्दा पर्न आएको भन्ने जिकिर रहेको छ सो सन्दर्भमा मुलुकी ऐन जग्गा पजनी र जग्गा मिच्नेको महलको कानूनी व्यवस्था अवलोकन गर्नुपर्ने देखियो । उक्त कानूनी व्यवस्था हेर्दा एकाको हकको जग्गा अर्कोले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस नदिए लाग्न सक्तैन भनी मुलुकी ऐन जग्गा पजनीको १७ नं. मा र अरू जग्गाको कुरामा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस नदिए लाग्न सक्तैन भनी जग्गा मिच्नेको महलको १८ नं. मा हदम्यादको व्यवस्था गरेको देखिन्छ । मालपोत कार्यालयले प्रत्यर्थी प्रतिवादीहरूको नाउँमा विवादित जग्गा दर्ता गर्ने गरी भएको निर्णय आफूहरूले मिति २०६०।४।१ मा मात्र थाहा पाएको भन्‍ने वादी दाबी रही मिति २०६०।५।३१ मा फिराद परेको देखिन्छ । विवादित जग्गा प्रतिवादीहरूले दर्ता गराएको जानकारी वादीलाई सो मितिमा नभई यो यस मितिमा भएको भन्ने कुनै लिखत प्रमाण प्रतिवादीहरूबाट पेस भएको देखिँदैन । वादी दाबी खण्डन हुने प्रत्यक्ष प्रमाणको अभावमा हदम्याद नाघी अर्थात् दर्ता र लिखत भएको धेरै वर्षपछि वादी अदालतमा आएको भन्ने पुनरावेदन जिकिर कानून र न्यायसम्मत देखिँदैन । 

१३. त्यसैगरी विवादित जग्गाहरू मिति २०५३।११।१९ मा प्रतिवादी कृष्णबहादुर महर्जनलाई हालैदेखिको बकसपत्र भइसकेको र त्यसको धेरै वर्षपछि नालेस परेको भन्‍ने जिकिर देखिन्छ त्यस्तो जिकिर वैध दर्ताअनुसार भएको लिखतको हकमा मात्र आकर्षित हुन्छ । प्रतिवादीहरूको अवैध दर्ताको आधारमा भएको लिखत स्वतः अवैध, दुषित र बदरभागी हुन जाने हुन्छ । प्रतिवादीहरूले विवादित जग्गा मिति २०५३।११।१४ मा मोही कृष्णबहादुरको सहयोगमा आफ्नो नाउँमा दर्ता गराई २०५३।११।१९ मा कृष्णबहादुरलाई नै बकसपत्र गरी हक हस्तान्तरण गरेको देखिन्छ । साबिक ३९३ को हाल रै.नं. १४ को लगतलाई समेत आफ्नो नाउँमा दर्ता गराई जग्गा हस्तान्तरण गरेको देखिँदा त्यस्तो दर्ताले कानूनी मान्यता पाउने भन्न मिल्ने देखिएन । विवादित जग्गा मोहीले २०२१ सालभन्दा अगाडिदेखि कमाएको र २ नं. अनुसूचीसमेत प्रकाशित भएको भन्ने 

देखिन्छ । चनवीर महर्जन वादी दाबीका जग्गाहरूका जोताहा मोही रहेको र निजले विवादित जग्गाको जग्गाधनी वीरनरसिंसमेत रहेको भनी लेखाएको कुरालाई निजका छोरा कृष्णबहादुर महर्जनले भुलवश वीरनरसिंको नाम लेखिन गएको भनी उल्लेख गरेको देखिन्छ । निज कृष्णबहादुरले प्रतिवादीहरूका नाउँमा जग्गा दर्ता गर्ने कार्यमा सहयोग गर्नुका अतिरिक्त विवादित जग्गा प्रतिवादीको नाउँमा दर्ता भए लगत्तै आफ्नो नाउँमा उक्त जग्गाको हालैदेखिको बकसपत्र गरे गराएको देखिन्छ । फिल्डबुकमा उल्लेख भएको उही व्यहोरा विपक्षी जग्गाधनीहरूको हकमा प्रमाणमा ग्राह्य हुने र पुनरावेदक वादीहरूको हकमा भुलवश लेखिएको भनी नजरअन्दाज गर्न मिल्ने हुँदैन । जग्गा दर्ताका अवस्थामा उल्लेख भएको ठेगानामा जारी भएको म्याद वादीका ससुरा बाजेको वास्तविक वतन उल्लेख नभएको कारण निजहरूलाई थाहा जानकारी नहुँदा सार्वजनिक सूचना प्रकाशित भएकोमा सार्वजनिक सूचना प्रकाशित भएको मितिलाई सम्बन्धित पक्षले स्वतः थाहा पाएको मिति कायम गर्न मिल्दैन । सार्वजनिक सूचना प्रकाशन गर्नु भनेको असर पर्नेको हक त्यसै हनन् नहोस् भन्‍नेतर्फको सुनिश्चिततासम्म हो तथापि सम्बन्धित पक्षले सार्वजनिक सूचनाको जानकारी पाएको कुरा अन्य प्रमाणबाट पुष्टि 

हुनुपर्दछ । त्यसरी प्रमाणित नगरेसम्म त्यो सूचनालाई आधार बनाई हक पुग्ने पक्षको हक हनन् गर्न मिल्दैन । मिसिल संलग्न संकलित कागज प्रमाणबाट विवादित जग्गाको जग्गाधनी वादीको बाजे ससुरासमेत जना ३ भएको तथ्य उजागर भइरहेको स्थितिमा प्रतिवादीहरूले उल्लेख गरेको गलत वतनमा म्याद जारी गरी म्याद तामेल हुन नसकेको भनी सूचना प्रकाशित गरी उपस्थित नभएको भन्ने आधार लिएको देखिन्छ । त्यसमा पनि सो सार्वजनिक सूचना प्रकाशित हुँदा वादी दाबीको जग्गा प्रतिवादीहरूको नाममा दर्ता भइसकेको अवस्था ‍छैन । मुलुकी ऐन जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. ले काम कारवाहीको जानकारी पाएको मितिबाट हदम्याद सुरू हुने नभनी दर्ता भएको थाहा पाएको मितिबाट ६ महिनाभित्र नालेस नदिए लाग्न सक्तैन भन्‍ने व्यहोरा उल्लेख गरेको देखिएबाट समेत फिराद वादी हदम्यादविहीन भन्न मिल्ने देखिँदैन । 

१४. अतः माथि उल्लिखित तथ्य कानूनी व्यवस्था र विवेचित आधार र कारणसमेतबाट ललितपुर जिल्ला, टीकाथली गाउँ विकास समिति वडा नं.१क कि.नं.१६५ क्षेत्रफल २-२-३-०, ऐ.ऐ. वडा नं.१ग कि.नं.४४ क्षेत्रफल ०-२-०-०, ऐ.ऐ. कि.नं.४५ क्षेत्रफल १-१५-०-०, ऐ.ऐ. कि.नं.४७ क्षेत्रफल ०-३-०-० समेतका सबै जग्गाहरू विपक्षी प्रतिवादीहरूका नाममा मात्र दर्ता हुने ठहराएको मालपोत कार्यालय, ललितपुरको मिति २०५३।११।१४ को निर्णयसमेतबाट वादीहरूको हकको ३ भागको १ भागमा असर परेको देखिँदा वादी दाबीबमोजिम ३ भागको १ भाग जग्गाको दर्ता बदर गरी हककायम गरी चलनसमेत चलाई दिलाई दिनुपर्नेमा वादी दाबी पुग्न नसक्ने ठहराएको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।८ को फैसला मिलेको नदेखिँदा उल्टी भई उल्लिखित जग्गाको वादीहरूको हकको ३ भागको १ भाग दर्ता निर्णय बदर भई वादीहरूको हक कायम हुने र त्यसमा वादीहरूले चलनसमेत पाउने देखिँदा यस अदालतका माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायबाट व्यक्त भएको राय कायम हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।  

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम ललितपुर जिल्ला, टीकाथली गाउँ विकास समिति वडा नं.१क कि.नं.१६५ क्षेत्रफल २-२-३-०, ऐ.ऐ. वडा नं.१ग कि.नं.४४ क्षेत्रफल ०-२-०-०, ऐ.ऐ. कि.नं.४५ क्षेत्रफल १-१५-०-०, ऐ.ऐ. कि.नं.४७ क्षेत्रफल 

०-३-०-० का जग्गाहरूको ३ भागको १ भाग दर्ता बदर भई पुनरावेदक वादी  हेरादेवी बज्राचार्यसमेतको हक कायम हुने र सो जग्गामा वादीहरूले चलनसमेत चलाई पाउने ठहरी फैसला भएकोले सो जग्गामा हक कायम गरी चलनसमेत चलाई पाउँ भनी वादीहरूको दरखास्त पर्न आए लाग्ने दस्तुर लिई चलन चलाई दिनु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखी पठाईदिनू ........१

पुनरावेदक वादीले फिराद गर्दा राखेको कोर्ट फी रू.४४१८।- र पुनरावेदन अदालतमा पुनरावेदन गर्दा  राखेको सोको १५ प्रतिशतले हुने रू.६६२।७० पैसा कोर्ट फी ऐन, २०१७ को दफा १५ बमोजिम वादीले प्रतिवादीबाट भराई लिन पाउने हुँदा सोकोर्ट फी रकम भराई पाउँ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई ऐनका म्यादभित्र वादीको दरखास्त पर्न आए केही दस्तुर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखी पठाई दिनू ............................................................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ...........३

 

उक्त रायमा सहमत छौं ।

न्या. मीरा खड्का

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृत : दिलीपराज पन्त

इति संवत् २०७३ साल माघ २७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु