शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८०८ - दर्ता फारी गरिपाऊँ

भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिपकराज जोशी

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७३।०९।२१

०७१-CI-०२५४

 

मुद्दाः- दर्ता फारी गरिपाऊँ ।

 

पुनरावेदक / प्रतिवादी : जिल्ला पाँचथर फाक्तेप गा.वि.स. वडा नं. ८ बस्ने माहासिंको छोरा जयकुमार राई 

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला पाँचथर फाक्तेप गा.वि.स. वडा नं. ८ बस्ने माहासिंको छोरी पदमकुमारी राई 

 

वादी तथा प्रतिवादी दिदी भाइ नाताको भएको र संयुक्त नाममा रहेको कि.नं. ७१ जग्गा सगोलको भएकोले अन्य अंशियारमा समेत अंश लाग्नु पर्छ भनी प्रतिवाद गरेको देखिएकोमा अंश भाग पाउनको लागि कानूनबमोजिमको अंशियार नाताभित्रको पर्नैपर्ने हुन्छ । प्रतिवादीको प्रतिउत्तर लेखबाटै समेत पनि २०२८ सालभन्दा पहिले नै वादीको विवाह भइसकेको र २०२८ सालमा सम्बन्ध विच्‍छेद गरेको भन्‍ने देखिएकोले वादी र प्रतिवादी अंशियार नाताभित्रका पर्छन् भनेर भन्‍न सकिने अवस्था पनि रहेन । प्रस्तुत पृष्ठभूमिमा संयुक्त दर्ताको जग्गाको हक स्वामित्वका सम्बन्धमा प्रमाण ऐन २०३१ को दफा ६(क) मा उल्लिखित एकाघर सँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्‍ने कानूनी व्यवस्था प्रस्तुत विवादमा आकार्षित हुने अवस्था नरहने । 

(प्रकरण नं. ३)

विवादित जग्गा वादी र प्रतिवादी दुई जनाको नाउँमा दर्ता रहेको र निजहरूले नै भोग चलन गरी आएको भन्‍ने स्थापित तथ्य देखिएको तथा वादी र प्रतिवादी अंशियारभित्रको नरहेको अवस्थामा वादी र प्रतिवादीको बराबर हक लाग्ने भई विवादित कि.नं. ७१ को जग्गाबाट वादीले आधी दर्ता फारी लिन पाउने नै देखिने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्रुतीकुमारी रेग्मी तथा किरण कुमारी गुप्ता

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१ को दफा ६(क), ६(ख)

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेलपुनरावेदन तहमा फैसला गर्नेः

मा.मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय

मा.न्यायाधीश श्री उदय प्रकाश चापागाई

 

फैसला

न्या. दिपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०७०।९।१४ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

म फिरादी विपक्षीका स्वर्गिय पिता माहासिंह राईको छोरी भई हामी दिदी भाइ नाताको भएकोले सगोलमा जग्गा खरिद गरी लिने भई पाँचथर फाक्तेप गा.वि.स वडा नं.४ बस्ने मलहाङ लिम्बु, जसबीर लिम्बु, सनकबहादुर लिम्बु, हंशबीर लिम्बुसमेत ४ जनाको नाममा सगोल दर्ता भएको पाँचथर फाक्तेप गा.वि.स. वडा नं.८ क कि.नं.७१ रो २०–१–१–३ को जग्गा थैली रू.३५००।– मा दर्तावालाहरूबाट मिति २०३४।६।२ मा म फिरादी र विपक्षीले सगोलबाटै खरिद गरी लिई हाम्रा नाममा सगोल दर्ता कायम रहेको उक्त कि.न.७१ को जग्गाबाट आधा २ खण्डको १ खण्ड म फिरादीको हक स्वामित्व कायम भएको जग्गा हुँदा म फिरादी र विपक्षीका नाममा सगोल दर्ता कायम रहेको कि.नं.७१ को जग्गा सगोलबाटै म फिरादी र विपक्षी मिलेमतोबाट भोग गरी आएकोमा म फिरादी वृद्ध अवस्था र रोगी भएकोले खेतीको काम गर्न नसक्ने भई सगोलबाट जग्गा कमाई गर्न समस्या परेको र सगोलबाट हामीले कमाई गरी आएको धेरै वर्ष भएको हुँदा दर्ता फारी गरी आ–आफ्नो भागको जग्गा आ–आफ्नै नाममा ल्याई कमाई गर्न र अन्य व्यवहार गर्नसमेत सजिलो नहुने भएकाले दर्ता फारी गरौं भनी म फिरादीले विपक्षीलाई पटक पटक अनुरोध गर्दासमेत दर्ता फारी गर्न जरूरत छैन, म दर्ता फारी गर्दिन, तिम्रो जान्दो गर्नु भनी दर्ता फारी गर्न ईन्कार गरी नकारात्मक जवाफ दिई मुलुकी ऐन, अंशबन्डाको महलको ३५ नं.मा लेखिएअनुसारको कार्य गरी अन्याय गरेकाले म फिरादी र विपक्षीको नाममा सगोल दर्ता कायम रहेको कि.न.७१ रो २०–१–१–३ को जग्गामध्ये २ खण्डको १ खण्ड मेरो भाग दक्षिणतर्फ रो १०–०–२–३ को जग्गा दर्ता फारी गरी मेरा नाममा दा.खा. नामसारीसमेत गरिपाउँ भन्ने व्यहोराको मिति २०६९।१।२९ को फिराद पत्र ।

फिरादी र म दिदी भाइ नाताका भई फाक्तेप गा.वि.स.वडा नं.८ क कि.न.७१ को रो.२०–१–१–३ को जग्गा हामी वादी प्रतिवादीको गोश्‍वारा हो । हाम्रा पिता महासिंहले अगाडि नै जग्गा दाताहरूलाई जग्गा खरिद गर्ने बापतको रकम रू.३५००।– दिई पास गर्न बाँकी हुँदा २०२६ सालमा पिताको देहान्त भएको र दाजु परदेश गएको र आमा सोझी भएकीले फिरादी दिदी नै हाम्रो घरमा हर्ताकर्ता भई घर व्यवहार समालेकी र दिदी २०१५ सालमा कुटुम्ब घर गए तापनि व्यवहार गरी खान नसकी माईतीमा नै बसी २०२८ सालमा सम्बन्ध विच्छेद गरी हामीसँगै बसेका थियौं । सगोलमा रहँदा २०३४ सालमा अगाडि बुबाले थैली तिरेको जग्गा पास गरी लिने क्रममा दाजुहरू घरमा नभएको हुँदा दिदी फिरादी र म प्रतिवादीको नाममा राजीनामा गरी सगोलमा राखेका हौं । हाम्रा पिताले मुल्य तिरी खरिद गरी पास गर्न मात्र बाँकी जग्गा हामी दिदी भाइको नाममा पास गरी लिए तापनि जेठा दाजु रत्‍नबहादुर, म प्रतिवादी जयकुमार, कान्छो भाइ कृष्णकुमार, दिदी अविवाहिता सरस्वतीसमेतको अंश हक लाग्ने हुँदा हामी अंशियारबीचमा सगोलमा रहेको सम्पत्ति अंशबन्डा भएको छैन । पिताले किनेको पास गर्न बाँकी रहेको हाम्रा नाममा पास गरी दिएको कि.नं.७१ को जग्गा हो । यसरी अंशबन्डा नभएको अंशियार धेरै हुनाले हामी दिदी भाइ २ जनाको बीचमा उक्त जग्गाको दर्ता फारी हुने होइन । सो जग्गा सबै अंशियारहरू बीच अंशबन्डा नभई २ जनाको मात्र कित्ता फोर गर्न पाउने होइन । उक्त जग्गा बन्डा नहुँदासम्म सगोलमा नै राखी पाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र ।

वादी पदमकुमारी र प्रतिवादी जयकुमार राईका नाममा सगोलमा दर्ता रहेको फाक्तेप वडा नं.-८ क कि.नं.७१ को रो २०–१–१–३ मध्ये आधा आधा गरी वादी र प्रतिवादीलाई २ भाग लगाई २ भागमध्ये १ भाग दक्षिणतर्फबाट वादीले दर्ता फारी गरी दा.खा.नामसारी गरी लिन पाउने हो भन्नेसमेत व्यहोराको वादीका साक्षी सन्तबहादुर राईले सुरू अदालतमा गरेको बकपत्र ।

वादी प्रतिवादी गरी पाँच अंशबन्डा हुनुपर्ने, जेठा रत्‍नबहादुर, माईला जयकुमार, कान्छा कृष्णकुमार, बहिनी सरस्वती, वादी पदमकुमारी गरी ५ जना अंशियार भएकोले कि.न.७१ को जग्गा २०२६ साल अगावै बुबा आमाले नै खरिद गरी सकेको पास गर्न बाँकी रहेको अवस्थामा माहासिंहको मृत्यु भएको कारणले भाइ जयकुमार र वादी पदमकुमारीको नाममा दर्तासमेत गरेको हो । पाँच जनाकै अंशको जग्गा हुँदा वादी र प्रतिवादीले मात्र दर्ता फारी गरी खान पाउने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी गणेशबहादुर चेम्जोङले सुरू अदालतमा गरेको 

बकपत्र ।

वादी प्रतिवादी २ जनाले मात्र दर्ता फारी लान पाउँदैन, वादी प्रतिवादीका बाबु आमाको पैतृक सम्पत्तिबाट उक्त जग्गा खरिद गरेको हो । त्यसैले जम्मा अंशियार ५ जना छन् । वादी पदमकुमारीसमेतको ५ अंश भाग लाग्ने हुँदा वादीले दर्ता फारी गरी लिन नपाउने हो भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी चन्द्रबहादुर चेम्जोङले सुरू अदालतमा गरेको बकपत्र ।

वादी प्रतिवादी २ जनाले मात्र दर्ता फारी गरी लान पाउने होइन । जम्मा ५ भाग अंश लाग्नु पर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी टिकाचन्द्र चेम्जोङले सुरू अदालतमा गरेको बकपत्र ।

यसमा वादी विवाहिता दिदी भएकी तथा २०२६ साल अगावै नगद तिरेको जग्गा पास नगरी २०३४ सालमा पास भएको भन्ने कुरा युक्तियुक्त देखिएन भने बिना प्रयोजन विवाहिता दिदी र प्रतिवादीको नाममा राजीनामाबाट आएको जग्गाको लिखतले नै तत्काल नगद तिरी किनेको भन्ने व्यहोरा देखाएको समेतले आधा वादीकै भएको देखियो । त्यसैले दाबीको जग्गा वादी र प्रतिवादीको नाममा देखिएपछि प्रमाण ऐन, २०३१ को दफा ६(ख) समेतले वादीको आधा हक रहेको देखिएकै हुँदा दाबी बमोजिमको कि.न.७१ को २०–१–१–३ जग्गा आधी दक्षिणतर्फबाट वादीले दर्ता फोर गरी एकलौटी दर्ता गराई लिन पाउने ठहर्छ भन्ने सुरू पाँचथर जिल्ला अदालतबाट मिति २०६९।७।२३।५ मा भएको फैसला ।

दाबीको जग्गा विपक्षी दिदी आफू एक्लैले खरिद गरेको भए मेरो नामसहित सगोलमा हुने थिएन, दिदीसँग पनि रकम थिएन, हामी दुईजनाको रकमबाट खरिद नगरेको हुँदा घरको पैतृक रकमबाटै हो भन्ने प्रस्टै भएको छ । अन्य अंशियारहरूको पनि अंश भाग लाग्ने हुँदा अरू अंशियारहरू पैतृक सम्पत्तिबाट वञ्चित हुने अवस्था आएको र २०३४ साल भन्दा अगाडि रू.३५००।– गाउँ घरको अवस्थामा निकै ठूलो रकम हो, कुन स्रोतबाट प्राप्त गरेको भन्नेसमेत खुलाउन नसक्नाले पनि हाम्रा पिताकै आर्जनबाट जम्मा गरेको भन्ने पुष्टि भएको, विपक्षी र मसमेतको नाममा अन्य अंशियारले पाँचथर जिल्ला अदालतमा अंश चलन मुद्दासमेत दायर गरी विचाराधीन अवस्थामा छ । प्रतिपादित नजिरहरूसमेतका आधारमा कि.नं.७१ रो.२०–१–१–३ कित्ता फोर भई विपक्षीको नाममा दक्षिणतर्फबाट आधा कायम हुने गरी भएको फैसला उल्टाई बदर गरी सुरूको प्रतिउत्तर जिकिरबमोजिम न्याय दिलाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र । 

संयुक्त दर्ताको जग्गा फोड गर्दा दुवै पक्षलाई मर्का नपर्ने गरी रोकपोक नरम गरम मिलाई दर्ताफारी गर्नुपर्ने हुन्छ । सुरू अदालतले त्यसतर्फ ध्यान नदिई वादीको मागबमोजिम दक्षिणतर्फबाट दर्ताफारी हुने ठहराएको फैसलाको सो हदसम्मको अंशलाई न्याय र कानूनसम्मत मान्न मिल्ने देखिएन । तसर्थ दाबीको किनं ७१ को २०-१-१-३ क्षेत्रफलको जग्गा रोकपोक नरमगरम मिलाई दर्ता फोड हुने ठहर गर्नुपर्नेमा दक्षिणतर्फबाट आधी जग्गा दर्ताफोड हुने ठहराएको हदसम्मको पाँचथर जिल्ला अदालतको मिति २०६९।७।२३।५ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई उक्त आधी जग्गा रोकपोक नरमगरम मिलाई वादीले दर्ताफोड गरी लिन पाउने ठहर्छ । अरू सुरू फैसला सदर हुने ठहर्छ । वादी दाबी पुग्नु पर्ने होइन भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्‍नेसमेत व्यहोराको पुनरावेदन इलामको मिति ०७०।९।१४ को फैसला । 

पुनरावेदन अदालतबाट विपक्षीको अंशियारहरूको समेत अंश हक नलाग्ने गरी भएको हदसम्म सो फैसला मनासिब नै छ । दर्ता फारी गर्दा रोक पोक नरम गरमा मिलाउनु भन्‍ने हदसम्मको फैसला त्रुटिपूर्ण छ । विवादित कि.नं. ७१ को जग्गाको दक्षिणतर्फबाट धेरै अघिदेखि म फिरादीले भोग गर्दै आएको मल जल गरी विरूवा हुर्काएको र कच्ची घरसमेत बनाई त्यसमा बसोबास गरेको हुँ यसरी सल्लाहले नै भोग चलन गरी आएको दक्षिणतर्फ कै जग्गा मैले फारी दर्ता गरी पाउनु पर्नेमा नरमगरम मिलाई दर्ता फोड हुने ठहर्‌याएको फैसला केही उल्टी गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री श्रुतीकुमारी रेग्मी तथा किरण कुमारी गुप्‍ताले वादी प्रतिवादीको सल्लाहबमोजिम लामो समय देखी वादीले भोग गरी आएको र घरसमेत बनाई बसेको तर्फको जग्गा नै वादीले पाउने गरी फैसला हुनुपर्नेमा नरम गरम मिलाउने गरी भएको हदसम्मको पुनरावेदन अदालतको फैसला केही उल्टी हुनुपर्छ भनी गर्नु भएको बहस सुनी मिसिल अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत इलामको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा, जिल्ला पाँचथर गा.वि.स. फाक्तेप वडा नं. ८ क कि.नं. ७१ को २०-१-१-३ जग्गा वादी प्रतिवादीको नाउँमा संयुक्त दर्ता रहेकोमा दर्ता फारी दक्षिणतर्फबाट आधी जग्गा दर्ता गरी पाउन वादीको फिराद परेकोमा सगोलको जग्गा भएकोले सबै अंशियारको भाग लाग्ने हो वादीले मात्र आधी पाउने होइन भनी प्रतिउत्तर परेको र दाबीबमोजिम वादीले दक्षिणतर्फबाट आधी जग्गा दर्ता फारी गरी पाउने ठहर गरी सुरू फैसला भएकोमा पुनरावेदन अदालतबाट दर्ता फारी गरेकोसम्म सुरू फैसला सदर गरी दक्षिणतर्फबाट दिन नमिल्ने नरम गरम मिलाई दर्ता हुने गरी केही उल्टी गरी भएको फैसलाउपर वादीपक्षको चित्त नबुझी यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. वादी तथा प्रतिवादी दिदी भाइ नाताको भएको र संयुक्त नाममा रहेको कि.नं. ७१ को २०-१-१-३ को जग्गाको व्यवहार मिलाउन दर्ता फारी गरी आधी आफ्नो नाउँमा गरी पाउन वादी पक्षको फिराद परेको देखिन्छ । प्रतिवादीले उक्त जग्गा सगोलको भएकोले अन्य अंशियारमा समेत अंश लाग्नु पर्छ भनी प्रतिवाद गरेको देखिएकोमा अंश भाग पाउनको लागि कानूनबमोजिमको अंशियार नाताभित्रको पर्नै पर्ने हुन्छ। प्रतिवादीको प्रतिउत्तर लेखबाटै समेत पनि २०२८ सालभन्दा पहिले नै वादीको विवाह भइसकेको र २०२८ सालमा सम्बन्ध विच्‍छेद गरेको भन्‍ने देखिएकोले वादी र प्रतिवादी अंशियार नाताभित्रका पर्छन् भनेर भन्‍न सकिने अवस्था पनि रहेन । प्रस्तुत पृष्ठभूमिमा संयुक्त दर्ताको जग्गाको हक स्वामित्वका सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ६(क) मा उल्लिखित एकाघर सँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्‍ने कानूनी व्यवस्था प्रस्तुत विवादमा आकार्षित हुने अवस्था रहेन ।

४. प्रमाण ऐन, २०३१ को दफा ६(ख) मा उल्लिखित कानूनी व्यवस्था हेर्दा “दुई वा सोभन्दा बढी व्यक्तिहरूको भोग चलनमा रहेको सम्पत्तिमा ती व्यक्तिहरू सबैको बराबर हक छ भनी अदालतले अनुमान गर्ने छ” भन्‍ने व्यवस्था रहेको देखिन्छ । यसबाट दुई वा सोभन्दा बढी व्यक्तिहरूको भोग चलन भएको खण्डमा जो जति व्यक्ति छन् ती सबैको बराबर हकलाग्ने अवस्था प्रस्टै देखिन्छ । विवादित जग्गा वादी र प्रतिवादी दुई जनाको नाउँमा दर्ता रहेको र निजहरूले नै भोग चलन गरी आएको भन्‍ने स्थापित तथ्य देखिएको तथा वादी र प्रतिवादी अंशियारभित्रको नरहेको अवस्थामा वादी र प्रतिवादीको बराबर हक लाग्ने भई विवादित कि.नं. ७१ को जग्गाबाट वादीले आधी दर्ता फारी लिन पाउने नै देखिन्छ ।

५. संयुक्त दर्तामा भएको जग्गाको दक्षिणतर्फबाटै आफ्नो नाउँमा दर्ता हुनुपर्छ भन्‍ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा विवादित जग्गाको उक्त भागमा वादीको नियमित भोग रहेको अथवा आपसी सहमतिले घर निर्माण गरेको कुनै तथ्ययुक्त वस्तुगत आधार प्रमाण रहेको नदेखिएको अवस्थामा हचुवाको भरमा कुनै एकातर्फबाट मात्र वादीलाई दर्ता गरी दिने गरी ठहर गर्न नमिल्ने भएकोले कि.नं. ७१ को दक्षिणतर्फबाट दर्ता फारी वादीको नाउँमा दर्ता हुने ठहराएको हदसम्मको सुरू अदालतको फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी गरी जग्गाको रोकपोक नरमगरम मिलाई वादीले दर्ता फोड गरी लिन पाउने ठहर गरेको पुनरावेदन अदालत इलामको मिति २०७०।९।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी अभिलेख शाखामा बुझाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत: सुमनकुमार न्यौपाने

इति संवत्् २०७३ साल पौष २१ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु