निर्णय नं. ९८१२ - जबरजस्ती करणी
![](https://nkp.gov.np/assets/front/images/nkp_watermark.png)
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री मीरा खड्का
फैसला मिति : २०७३।१०।१८
२०६८-CR-१२९४
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : दिलबहादुरको छोरा जिल्ला भोजपुर मुलपानी गा.वि.स.वडा नं.१ घर भई हाल क्षेत्रीय कारागार शाखा झुम्कामा थुनामा रहेका कुमार गुरूङ
विरूद्ध
प्रत्यर्थी / वादी : माया गुरूङको जाहेरीले नेपाल सरकार
समयको अन्तरालपछि अदालतमा भएको बकपत्रमा पीडित र जाहेरवालाले प्रतिवादीलाई फाइदा पुग्ने गरी वा सजायबाट उन्मुक्ति दिने कुनै लोभ लालच वा प्रभाव वा दबाबसमेतमा परी वा माफी दिने सोच बनाई आफ्नै मौकाको भनाईलाई खण्डन गरेपनि पीडितको स्वास्थ्य परीक्षणले वारदात स्थापित भइरहेको अवस्थामा पीडितको मौकाको भनाईलाई प्रमाणमा लिन मिल्ने ।
(प्रकरण नं. ५)
फौजदारी मुद्दामा अभियुक्तबाट आरोपित कसुर भएको हो होइन भन्ने तथ्यगत सबुदहरूको आधारमा निष्कर्षमा पुगी निर्णय गर्नुपर्ने हुन्छ । हाम्रो समाजमा सामाजिक र पारिवारिक स्थितिको कारणले प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिने नियतले स्वयम् पीडितलगायत कसैले अदालतमा आई मौकाको बयानविपरीत इन्कारी बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ता त्यसतर्फ सजग हुनुपर्दछ । मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी प्रतिवादीले कसुर गरेको हो होइन भनी निष्कर्षमा पुग्नु पर्ने ।
निरपराध ठहर हुने गरी कसैले प्रतिवादीका हकमा बयान दिएको आधारबाट मात्र प्रतिवादीलाई उन्मुक्ती दिन नमिल्ने ।
पीडितले मौकामा बयान गर्दा करणी गरेको भन्ने प्रतिवादीउपर पोल गर्दै साबिती बयान गर्ने र अदालतसमक्ष होइन भनी इन्कारी बयान गरेकै आधारमा कसुर ठहर हुने र नहुने भन्नु भन्दा पहिले फरक फरक अभिब्यक्तिका बयानमा उल्लिखित अन्तरनिहित वस्तुस्थितिलाई विश्लेषण गर्दै निष्कर्षमा पुग्नु पर्ने ।
प्रस्तुत मुद्दा गम्भिर प्रकृतिको भएको र यस्ता मुद्दामा प्रतिवादीले साक्षीहरूलाई आश, त्रास वा प्रलोभनमा पारी अनुसन्धानका क्रममा मौकामा दिएको बयानमा अन्यत्र मोड्न Hostile बनाउन खोज्दछन् । Hostile भएकै आधारमा प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिन नमिल्ने ।
मिसिल संलग्न रहेका प्राप्त प्रमाणहरूबाट प्रतिवादीले कसुर गरेको स्थापित हुन आएको स्थितिमा पीडित जाहेरवालाले प्रतिवादीले कसुर गरेको होइन भनी बकपत्र गरी दिँदैमा मिसिलबाट स्थापित तथ्यलाई अन्यथा गर्न नमिल्ने ।
अपराध हुँदाको परिस्थिति, समय र पक्षको भनाई र मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी कसुर भएको हो वा होइन भनी यकिन गरी कसुर गर्ने प्रतिवादीलाई सजाय दिनु न्यायको मान्य सिद्धान्त हुने ।
(प्रकरण नं. ७)
आफ्नै श्रीमतीले पतिउपर र आफ्नै छोरीले बाबुउपर आफूहरूको भविष्यमाथि प्रश्न उठ्ने गरी अनाहकमा मौकामा उजुर गरे होलान भनी अनुमान गर्न
मिल्दैन । अदालतसमक्ष बकपत्र गर्दा इन्कारी बयान गरेकै आधारमा अन्य प्रमाण नहेरी कसुरबाट उन्मुक्ती दिनु न्यायसङ्गत पनि नहुने ।
जबरजस्ती करणी अपराधमा चश्मदिद गवाह पीडितनै हुन्छन् । पीडितले मौकामा ब्यक्त गरेको कुरा नै सत्य हुन्छ किनकी त्यसबेला आफूलाई परेको पीडा मानसपटलबाट हटेको नहुने ।
(प्रकरण नं. ११)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता भूपाल बस्नेत
प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल
अवलम्बित नजिर :
ने.का.प.२०६१, अंक ७, नि.नं.७४११, पृ.८९३
ने.का.प.२०६६, अंक ६, नि.नं.८१७९, पृ.१०३८
सम्बद्ध कानून :
मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको १ नं.
सुरू फैसला गर्नेः-
माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती
पुनरावेदन तहमा फैसला गर्नेः-
मा.न्यायाधीश श्री गिरिराज पौड्याल
मा.न्यायाधीश श्री नरेन्द्र कुमार सिवाकोटी
फैसला
न्या. सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
मेरी जेठी सौताको तर्फबाट जन्मिएकी छोरी वर्ष १३ की नाबालिका सर्मिला गुरूङ (नाम परिवर्तन) लाई मेरो श्रीमानले मिति ०६७।८।१० मा कुटपिट गरेको छोरी रोएकोले कोठाबाट निकाली अर्को कोठामा सुताएको थिएँ । सोको भोलिपल्ट छोरी आफन्तको घरमा गएकी बेलामा बाबुले करणी गरेको भन्ने सुनाए र मैले पनि सुनी छोरीसँग बुझ्दा बाबुले जबरजस्ती करणी गरेको भन्ने कुरा भनेकीले निज प्रतिवादीउपर आवश्यक कारवाही गरिपाउँ भनी माया गुरूङको जाहेरी दरखास्त ।
मिति ०६७।८।१० गते राति बुबा प्रतिवादी कुमार गुरूङ म सुतेको ठाउँमा आई आफूले लगाएको लुगा खोली चुपचाप हल्ला गरेमा मारिदिन्छु भनी एकहातले मुख थिची मैले लगाएको पाइन्ट र पेन्टी खोली दिई आफ्नो ठाडो लिङ्ग मेरो योनिमा पसाई जबरजस्ती करणी गरी विर्यसमेत झारी छाडेका हुन् भन्ने पीडित सर्मिला गुरूङ (नाम परिवर्तन) ले गरेको कागज ।
मिति ०६७।८।१० गते बेलुकी ९/१० बजेतिर म मेरो छोरी सर्मिला गुरूङसँग टि.भी. हेरी बसेको थिएँ । मलाई यौन उत्तेजना भएकोले मैले सबै आफ्ना लुगा खोली छोरीलाई बोल्न कराउनसमेत नदिई उसले लगाएको लुगा खोली मेरो ठाडो लिङ्ग निजको योनिमा जबरजस्ती छिराई जबरजस्ती करणी गरी आफ्नो ओछ्यानमा सुतेको हो भन्ने प्रतिवादी कुमार गुरूङको बयान ।
मिति ०६७।८।१० गते राति पीडित सर्मिला गुरूङ (नाम परिवर्तन) लाई विरूद्ध खण्डका प्रतिवादी कुमार गुरूङले जबरजस्ती करणी गरेको कुरा निज पीडितले नै भनेकोले थाहा पाएको हो भन्ने वस्तुस्थिति मुचुल्का ।
मिति ०६७।८।१० गते राति पीडित नाबालिका सर्मिला गुरूङ (नाम परिवर्तन) र निजकै बाबु प्रतिवादी कुमार गुरूङले टि.भी. हेरी बसेको अवस्थामा प्रतिवादीलाई यौन उत्तेजना भएको अवस्थामा छोरी सर्मिला गुरूङलाई हल्ला गरेमा मारी दिन्छु भनी धम्की दिई दबाबमा पारी जबरजस्ती करणी गरी जबरजस्ती करणीको महलको १ र ३(२) बर्खिलाप कसुर गरेको देखिँदा ऐ. महलको ३(२) बमोजिम सजाय हुन र ऐ. ऐनबमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति दिलाई पाउँ साथै पीडित र प्रतिवादी बाबु छोरी नाताका देखिँदा हाडनाता करणीको १ नं. र २ नं. बमोजिम थप सजाय हुनसमेत अनुरोध गरिन्छ भन्ने अभियोग पत्र ।
मेरी जेठी पत्नीतर्फकी छोरी सर्मिला गुरूङ (नाम परिवर्तन) रात विरात जहाँ मन लाग्यो त्यही हिँड्ने कहिले २/४ दिनसम्म पनि घर नआउने हुँदा मैले छोरीलाई सम्झाई बुझाउने गर्दा सो कारण मसँग रिसाउने गर्दथिन । ०६७।८।१० गते राति छोरीलाई सम्झाउँदा पनि नमानेकीले मैले २/४ थप्पड लगाएकोमा भोलिपल्ट पाँचकन्या गएर मलाई बाबुले करणी गरेको भनी हल्ला गरी झुठा जाहेरी मेरी पत्नीलाई दिन लगाइन मैले जबरजस्ती करणी गरेको होइन भन्ने प्रतिवादी कुमार गुरूङले अदालतमा गरेको बयान ।
जाहेरवाली माया गुरूङ प्रतिवादीका साक्षी रेनु गुरूङ पीडित सर्मिला गुरूङसमेतले अदालतमा बकेको बकपत्र ।
प्रतिवादीले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको हुँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम कैद वर्ष १० र हाडनाता करणीको १ नं. बमोजिम थप सजाय कैद वर्ष १० समेत सजाय हुने र जबरजस्ती करणीको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई रू.१०,०००- क्षतिपूर्तिसमेत भराई पाउने ठहर गरी सुनसरी जिल्ला अदालतबाट मिति ०६८।३।२८ मा भएको फैसला ।
स्वयम् जाहेरवाली र पीडितले समेत जबरजस्ती करणी भएको होइन भनी अदालतमा बकपत्र गरेको, विशेषज्ञको रायबाट तथ्यगत प्रमाणले समेत म प्रतिवादीको निर्दोषिता पुष्टि गरिरहेको अवस्थामा सुरू जिल्ला अदालतबाट प्रतिवादीलाई सजाय हुने ठहर गरी गरेको फैसला त्रुटिपूर्ण, उल्टीयोग्य भएकोले सुरू फैसला उल्टी गरी मलाई सफाई पाउने गरी इन्साफ पाउँ भनी सुरू जिल्ला अदालतको फैसलामा चित्त नबुझाई कुमार गुरूङले मिति ०६८।४।२५ गते पुनरावेदन अदालत, विराटनगरमा दायर भएको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक प्रतिवादी कुमार गुरूङले पीडितलाई जबरजस्ती करणी गरेको हैन छैन भनी पीडित र जाहेरवालीले अदालतसमक्ष बकपत्र गरेको सन्दर्भमा प्रमाण मूल्याङ्कनको रोहमा सुरूको फैसला फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ को नियम ४७ बमोजिम छलफलको लागी प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको आदेश ।
यसमा जाहेरवाली माया गुरूङको जाहेरी (सूचना) को प्रकरण ५ मा उल्लेख गरिएकी जिल्ला सुनसरी पाँचकन्या गा.वि.स. वडा नं.५ स्थित खैरेनी बस्ने सिर्जना गुरूङलाई वादी पक्षबाट उपस्थित गराई दिनु भनी मिति किटान गरी झिकाई प्रतिवादीको रोहबरमा बकपत्र गराउन नियमानुसार पेस गर्नु भन्ने यस अदालतको ०६८।९।१७ को आदेश ।
प्रतिवादी कुमार गुरूङ र पीडिता शर्मिला गुरूङ (परिवर्तित) का बीच बाबु छोरीको नातासम्बन्ध रहेको तथ्यमा विवाद देखिन आएन । प्रतिवादी पिताले निजकै छोरीलाई हाडनातामा पर्ने गरी जबरजस्ती करणी गरेको भनी प्रस्तुत मुद्दा दायर भएको देखिन्छ । पुनरावेदक प्रतिवादी अदालतमा कसुरमा इन्कार रहेको देखिए पनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुरमा पूर्ण साबित रही बयान कागज गरेको देखिन्छ । पिडिताको मौकाको कागज र प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको भनाइमा घटनाको सम्बन्धमा परस्पर मेल खाएको अवस्था देखिएको
छ । पिडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा Labia Minora मा Bilateral abrasion र Hymen Torn भन्ने व्यहोरा उल्लेख भएबाट पिडितालाई करणी भएको लक्षणहरू खुल्न आएको छ । चिकित्सकले तयार गरेको case history मा पनि पिताले जबरजस्ती करणी गरेको बताएकी थिइन भन्ने व्यहोरासमेत उल्लेख भएको देखिन्छ । अदालतसमक्ष बकपत्र गर्दा पिडिता र निजकी सौतेनी आमा जाहेरवाली माया गुरूङले प्रतिवादी निर्दोष रहेको मान्न मिल्ने अवस्था देखिएन । प्रतिवादीले पिडिता छोरीलाई जबरजस्ती करणी गरेको भनी निज विरूद्ध निजकै श्रीमती माया गुरूङको किटानी जाहेरी परेको पिडितको निजउपरको मौकाको किटानी पोल भएको र पिडिताको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट खुल्न आएको व्यहोराबाट प्रतिवादी निर्दोष रहेको मान्न मिल्ने देखिन नआएकोले प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको ठहर्याइ प्रतिवादीलाई आरोपित कसुरमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. र हाडनाता करणीको महलको १ नं. बमोजिम सजाय गर्ने गरी सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६८।०३।२८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।११।०३ को फैसला ।
पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसलामा चित्त बुझेन । उक्त अदालतबाट सुरू सुनसरी जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्दा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० क नं. मा भएको व्यवस्थाअनुसार पीडित स्वास्नी मानिसको बयान गराउँदा महिला प्रहरी कर्मचारी र महिला प्रहरी कर्मचारी नभएमा समाजसेवीको रोहवरमा अन्य प्रहरी कर्मचारीले गराउन सक्ने कानूनी प्रावधानको पालना गरिएको स्थिति नभएको कुरालाई हेरिएको छैन । निज नाम परिवर्तित (सर्मिला गुरूङ) को अदालतमा भएको बकपत्रमा आफू माथि जबरजस्ती करणीको घटनासम्म नभएको प्रतिवादी निर्दोष रहेको व्यहोरा उल्लेख गरेको अवस्था छ । स्वास्थ्य परीक्षण प्रतिवेदनमा समेत करणी भएको भन्न सकिने राय दिएको अवस्था
छैन । मैले अदालतमा बयान गर्दा पूर्णत इन्कार रही गरेको बयानलाई साक्षी रेनु गुरूङले गरिदिएको बकपत्रले पुष्टि गरेको छ । तथ्यगत प्रमाणसमेतबाट निर्दोष देखिरहेको अवस्थामा प्रमाणको कुनै विश्लेषण नै नगरी भएको पुनरावदेन अदालत, विराटनगरको फैसला त्रुटिपूर्ण बदर योग्य हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादी निज कुमार गुरूङको यस अदालतमा दायर पुनरावेदन पत्र ।
यसमा पीडितको बकपत्रको रोहमा पुनरावेदन अदालत, विराटनगरको फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू भन्ने यस अदालतबाट मिति २०७२।१०।६।४ मा भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भूपाल बस्नेतले सौतेनी मामला रहेको र हेरचार नपुगेको हुनसक्ने कारणबाट आवेशमा आई जाहेरी दरखास्त दिएको हुनसक्छ । जाहेरवाला छोरी / पत्नीले अदालतमा आई बकपत्र गरिदिँदा कसुरमा इन्कार रही बकपत्र गरिदिएको अवस्था छ । आफूले जन्म दिएको छोरीलाई त्यस्तो काम गरे होलान भनी अनुमान गर्न पनि सकिन्न । बल प्रयोग भएको भन्ने अवस्था शोभनिय छैन । अधिकतम सजाय गर्नु नै मात्र पर्याप्त छैन भनी प्रतिपादित सिद्धान्तअनुरूप वैकल्पिक जिकिर लिएको छु भनी बहस गर्नुभयो । त्यसैगरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले प्रतिवादी मौकामा कसुरमा साबित रहेका छन् । हाडनाताभित्रको घटना भएकोले मौकामा दिएको साबिती किटानी बयानविपरीत अदालतमा इन्कारी बयान गरेको अवस्था छ । पारिवारिक र सामाजिक दबाबका कारण यस्तो भएन होला भन्न सकिन्न । जेठी श्रीमतीको छोरी पीडित हुन् । कान्छी श्रीमतीले जाहेरी दिएको अवस्था छ । पीडित नाबालिक रहेकी र बाबुकै संरक्षणमा हुर्कनु पर्ने अवस्थामा बाबुसँग संघर्ष वा प्रतिवाद गर्न सक्ने कुरा पनि भएन । घा जाँच केश फाराम प्रतिवेदनबाट जबरजस्ती करणी भएको अवस्था देखिन्छ । अदालतमा Hostile भएकै आधारमा मात्र कसुरदारले सजायबाट मुक्ती पाउने अवस्था छैन । जबरजस्ती करणीको घटना स्थापित भएको अवस्थामा प्रतिपादित नजिर सिद्धान्तसमेतबाट पुनरावेदन अदालत, विराटनगरको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा प्रतिवादी कुमार गुरूङले छोरी नाताकी नाम परिवर्तित (सर्मिला गुरूङ) लाई जबरजस्ती करणी गरेको हुँदा हदैसम्मको कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त रहेकोमा कसुरमा साबित रही बयान गर्ने निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(२) नं. तथा हाडनाता करणी गर्नेको महलको १ नं. बर्खिलाप कसुर हुँदा सोही महलको १ नं., ३(२) नं. बमोजिम सजाय हुन र ऐजन महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेतको अभियोगपत्र पेस भएकोमा सुरू सुनसरी जिल्ला अदालतबाट निज प्रतिवादीलाई कसुरदार ठहर गरी भएको सजाय उपर प्रतिवादीको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनमा समेत सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला सदर भएकोमा चित्त नबुझी निज प्रतिवादी कुमार गुरूङको यस अदालतमा पुनरावेदन पत्र दायर हुन आएको देखियो । तत्सन्दर्भमा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०६७।८।१० गते राति ७:३० बजेको समयमा बाबुले आफूलाई जबरजस्ती करणी गरेको व्यहोरा आफन्त नातापर्ने सिर्जना गुरूङकोमा गई सुनाएको र निजबाट थाहा पाई छोरीसँग बुझ्दा करणी भएको भन्ने थाहा पाएकाले निज कुमार गुरूङलाई हदैसम्मको कारवाही गरिपाउँ भनी माया गुरूङले दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादी कुमार गुरूङले मौकामा बयान गर्दा पीडितलाई करणी गरेको कुरा स्वीकार गरी बयान गरेको देखिन्छ । अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको देखिन्छ ।
३. उक्त जाहेरी व्यहोरालाई समर्थन हुने गरी पीडित नाम परिवर्तित (सर्मिला गुरूङ) ले घटना विवरण खुलाई करणी भएको भनी अनुसन्धान अधिकृतसमक्ष मौकामा निजले घटना विवरण कागज गरी दिएको पाइन्छ भने अदालतसमक्ष बकपत्र गर्दा सो व्यहोरा इन्कार गरी बकपत्र गरिदिएको पाइन्छ ।
४. मिसिलबाट प्रतिवादी कुमार गुरूङ पीडित सर्मिला गुरूङ (परिवर्तित नाम) का बीच बाबु छोरीको नाता सम्बन्ध रहेको तथ्यमा विवाद
देखिएन । प्रतिवादी कुमार गुरूङले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार रही बयान गरे तापनि अनुसन्धान अधिकृतसमक्ष मौकामा बयान गर्दा कसुरमा साबिती रही बयान गरेको देखिन्छ ।
५. पीडितको मिसिल संलग्न शारीरिक जाँच प्रतिवेदनमा Labia Minora मा Bilateral abrasion र Hymen Torn भनी उल्लेख भएको र पीडित र जाहेरवालाले अदालतसमक्ष गरेको बकपत्रमा करणीको घटना नै नभएको भनी उल्लेख गरिदिएकोमा सोतर्फ केही विवेचना नै नगरी र मिसिल संलग्न तथ्यगत प्रमाणसमेतबाट म निर्दोष रहेको प्रमाणित हुँदा मलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ भन्ने प्रतिवादीको जिकिरतर्फ हेर्दा नाम परिवर्तित पीडिता सर्मिला गुरूङकी सौतेनी आमा मायाँ गुरूङले प्रतिवादीको विरूद्ध किटानी जाहेरी दिएको देखिन्छ । मौकामा कागज गर्दा पीडित र जाहेरवालाले प्रतिवादीले कसुर गरेको हो भनी व्यहोरा लेखाई दिएको
पाइन्छ । निजहरूले अदालतमा उपस्थित भई बकपत्र गर्दा आफ्नो मौकाको भनाइमा इन्कार रही वारदात नै नभएको भनी आफ्नै मौकाको भनाईलाई खण्डन गरी व्यहोरा लेखाएको पाइन्छ । पीडितले अदालतमा आई खण्डन गरेको आफ्नो मौकाको भनाईलाई प्रमाणमा लिन मिल्छ मिल्दैन भन्ने सम्बन्धमा विचार गर्दा यी पीडितको मौकामा कागज हुँदा जाहेरवाला मायाँ गुरूङसमेत रोहवरमा बसेको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Labia Minora मा Bilateral abrasion र Hymen Torn भनी उल्लेख भएको हुँदा पीडितसँग करणी भएको अवस्था देखिएको छ, वारदात नै नभएको अवस्थामा छोरी र श्रीमतीले बाबु लोग्ने विरूद्ध यस्तो सङ्गिन आरोप लगाउनु पर्ने अवस्था हुँदैन, समयको अन्तरालपछि अदालतमा भएको बकपत्रमा पीडित र जाहेरवालाले प्रतिवादीलाई फाइदा पुग्ने गरी वा सजायबाट उन्मुक्ती दिने कुनै लोभ लालच वा प्रभाव वा दबाबसमेतमा परी वा माफी दिने सोच बनाई आफ्नै मौकाको भनाईलाई खण्डन गरेपनि पीडितको स्वास्थ्य परीक्षणले वारदात स्थापित भइरहेको अवस्थामा पीडितको मौकाको भनाईलाई प्रमाणमा लिन मिल्ने हुन्छ । यस सम्बन्धमा नेपाल कानून पत्रिका २०६१, अङ्क ७, नि.नं ७४११, पृष्ठ ८९३ मा प्रकाशित श्री ५ को सरकार विरूद्ध श्याम माझी भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सबुदहरूको आधारमा निर्णय गर्ने कुरा हो, अपराधीलाई बचाई दिने नियतले स्वयम् पीडितलगायत कसैले बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताको निर्णय दिँदा कसैले सफाई दिने बयान दिँदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरूद्ध बयान दिँदैमा अपराधी ठहरिनै पर्ने भन्न सकिन्न । व्यक्तिको बयानलाई सबुदैको रूपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने भन्ने सिद्धान्त प्रतिपादन भएको छ । यसैगरी नेपाल कानून पत्रिका २०६६ अङ्क ६, नि.नं. ८१७९, पृष्ठ १०३८ मा प्रकाशित श्री ५ को सरकार विरूद्ध नारायणबहादुर राउत भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट पहिला अनुसन्धान अधिकारीसमक्ष जबरजस्ती करणी भएको हो भनी कागज गरिदिएको र सो कुरा प्रतिवादीको बयानलगायतका अन्य प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी पीडित तथा अन्य व्यक्तिले बकपत्र गरेको आधारमा मात्र प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय प्रतिवेदन (Medical Report) को प्रतिकूल हुनेगरी जबरजस्ती करणी भएको होइन भन्ने निष्कर्षमा पुग्न नसकिने भन्ने सिद्धान्त प्रतिपादन भएको छ । प्रस्तुत मुद्दामा १३ वर्षीया पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Labia Minora मा Bilateral abrasion र Hymen Torn भनी उल्लेख भई सो स्वास्थ्य परीक्षण प्रतिवेदनबाट वारदात स्थापित भइरहेको अवस्था हुँदा यी प्रतिवादीले पीडित र जाहेरवालाले अदालतसमक्ष गरेको बकपत्रमा करणीको घटना नै नभएको भनी आफ्नो मौकाको भनाईलाई खण्डन गरेको कार्यबाट फाइदा पाउनसक्ने अवस्था हुँदैन ।
६. पीडितले आफ्नै पितालाई भविष्यसम्म सामाजिक लाञ्छना व्यहोर्नु पर्ने गरी करणी जस्तो गम्भिर प्रकृतिको आरोप लगाउनु पर्ने कुनै कारण पनि देखिँदैन । मौकामा बयान गर्दा आमासँग साथ लागि बयान गर्ने पीडित र आफ्नै पतिलाई आरोपित कसुरमा सजाय माग गर्ने जाहेरवालीले पछि अदालतमा आई इन्कारी बयान गर्नुलाई सामाजिक परिवेश र बदलिँदो अवस्थाको उपज मान्नु पर्ने हुन्छ । छोरी /पत्नीले आफ्नै बाबु / पतिउपर पोल गरी उजुरी दिने, र कागज गरिदिएको व्यहोरा चिकित्सकसमक्षसमेत सोही कुरा उल्लेख गरेको देखिएबाट मौकामा गरेको कागजलाई बकपत्र गर्दा अन्यथा भनी प्रतिवादीलाई सजायबाट मुक्ति दिने उद्देश्यले गरेकोसम्म देखिँदा ती कुरा प्रमाणयोग्य हुन्छन् भन्न मिल्दैन ।
७. फौजदारी मुद्दामा अभियुक्तबाट आरोपित कसुर भएको हो होइन भन्ने तथ्यगत सबुदहरूको आधारमा निष्कर्षमा पुगी निर्णय गर्नुपर्ने हुन्छ । हाम्रो समाजमा सामाजिक र पारिवारिक स्थितिको कारणले प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिने नियतले स्वयम् पीडितलगायत कसैले अदालतमा आई मौकाको बयानविपरीत इन्कारी बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ता त्यसतर्फ सजग हुनुपर्दछ । मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी प्रतिवादीले कसुर गरेको हो होइन भनी निष्कर्षमा पुग्नु पर्छ । निरपराध ठहर हुने गरी कसैले प्रतिवादीका हकमा बयान दिएको आधारबाट मात्र प्रतिवादीलाई उन्मुक्ती दिन मिल्दैन । पीडितले मौकामा बयान गर्दा करणी गरेको भन्ने प्रतिवादीउपर पोल गर्दै साबिती बयान गर्ने र अदालतसमक्ष होइन भनी इन्कारी बयान गरेकै आधारमा कसुर ठहर हुने र नहुने भन्नुभन्दा पहिले फरक फरक अभिब्यक्तिका बयानमा उल्लिखित अन्तरनिहित वस्तुस्थितिलाई विश्लेषण गर्दै निष्कर्षमा पुग्नुपर्दछ । प्रस्तुत मुद्दा गम्भीर प्रकृतिको भएको र यस्ता मुद्दामा प्रतिवादीले साक्षीहरूलाई आश, त्रास वा प्रलोभनमा पारी अनुसन्धानका क्रममा मौकामा दिएको बयानमा अन्यत्र मोड्न Hostile बनाउन
खोज्दछन् । Hostile भएकै आधारमा प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिन मिल्दैन । मिसिल संलग्न रहेका प्राप्त प्रमाणहरूबाट प्रतिवादीले कसुर गरेको स्थापित हुन आएको स्थितिमा पीडित जाहेरवालाले प्रतिवादीले कसुर गरेको होइन भनी बकपत्र गरिदिँदैमा मिसिलबाट स्थापित तथ्यलाई अन्यथा गर्न मिल्दैन । अपराध हुँदाको परिस्थिति, समय र पक्षको भनाई र मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी कसुर भएको हो वा होइन भनी यकिन गरी कसुर गर्ने प्रतिवादीलाई सजाय दिनु न्यायको मान्य सिद्धान्त हो ।
८. यस सम्बन्धमा कानूनी व्यवस्था कस्तो छ पीडिताले गरिदिएको इन्कारी बयानको महत्त्व कस्तो हुन्छ भन्नेतर्फ हेर्दा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. मा "कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ" र सोही महलको २ नं. मा "हाडनाताकी स्वास्नी मानिसको जबरजस्ती करणी गरेमा यस ऐनबमोजिमको सजायमा हाडनातामा करणीमा गर्नेको महलमा लेखिएको सजायसमेत थपी सजाय हुन्छ । जन्मकैदको सजाय पाउनेमा भने जबरजस्ती करणीबापतको सजाय थप हुँदैन" भन्ने व्यवस्था रहेको देखियो । त्यसैगरी ऐजन महलको ३(२) नं. मा "जबरजस्ती करणी गर्नेलाई दश वर्ष वा सोभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म" सजाय हुनेछ भन्ने उल्लेख भएको देखियो ।
१०. त्यसैगरी मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको १ नं. मा "आफूलाई जन्माउने आमाको करणी गर्नेलाई जन्मकैद हुन्छ । आफ्ना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफूले जन्माएका छोरीको करणी गर्नेलाई दश वर्ष कैद हुन्छ ।" भन्ने व्यवस्था रहेको पाइयो ।
११. प्रस्तुत मुद्दामा प्रतिवादी कुमार गुरूङले मौकामा घटनाको विस्तृत विवरण उल्लेख गर्दै जबरजस्ती करणी गरेकोमा साबित भई बयान गरेको पाइन्छ । अदालतमा इन्कारी बयान गरे तापनि सो अन्यथा हो भनी प्रमाणित गराउन कुनै प्रमाण पेस गर्न सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको निजको बयान मिसिलबाट अन्यथा प्रमाणित हुन सकेको छैन । आफ्नै श्रीमतीले पतिउपर र आफ्नै छोरीले बाबुउपर आफूहरूको भविष्य माथि प्रश्न उठ्ने गरी अनाहकमा मौकामा उजुर गरे होलान भनी अनुमान गर्न मिल्दैन । अदालतसमक्ष बकपत्र गर्दा इन्कारी बयान गरेकै आधारमा अन्य प्रमाण नहेरी कसुरबाट उन्मुक्ती दिनु न्यायसङ्गत पनि हुँदैन । जबरजस्ती करणी अपराधमा चश्मदिद गवाह पीडितनै हुन्छन् । पीडितले मौकामा व्यक्त गरेको कुरा नै सत्य हुन्छ किनकी त्यसबेला आफूलाई परेको पीडा मानसपटलबाट हटेको हुँदैन । यस्तो अवस्थामा उल्लेख गरिदिएको तथ्य मिसिल संलग्न अनुसन्धानको क्रममा वा संकलन भएका प्रमाणहरूले प्रमाणित हुन्छ भने बकपत्र गर्दा पीडितले आफ्नो पीडा बिर्सी घटना घटेको होइन भनी उल्लेख गरेपनि माथि उल्लिखित तथ्यबाट सो प्रमाण ग्रहण योग्य हुँदैन । मिसिलबाट प्रतिवादी कुमार गुरूङ पीडितको बाबु भएको, आफ्नै श्रीमतीले किटानी जाहेरी दरखास्त दिएको, पीडिता नाबालक रहेकी, पीडितले आफू सौतेनी आमा र बाबुको संरक्षणमा भविष्यमा जीवन गुजार्न पर्ने अवस्था देखिँदा परिस्थितिलाई सम्झी मौकामा गरेको बयानलाई अन्यथा भनी इन्कार गरेकै आधारमा प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिन मिल्दैन । प्रतिवादीले पीडित छोरीलाई जबरजस्ती करणी गरेको भनी निज विरूद्ध निजकै श्रीमती माया गुरूङको मौकामा किटानी जाहेरी परेको, पीडित सर्मिला गुरूङ (नाम परिवर्तन) को निजउपरको मौकाको किटानी पोल भएको र पीडितको स्वास्थ्य परिक्षण प्रतिवेदनमा Labia Minora मा Bilateral Abrasion र Hymen Torn भएको बाट पीडित नाबालिकलाई जबरजस्ती करणी भएको र सो कार्य यी प्रतिवादीले गरेको भन्ने प्रमाणित भएको देखिँदा र सो प्रमाणहरू अन्यथा हुन भनी प्रतिवादीले प्रमाणित गर्न नसकेबाट प्रतिवादी निर्दोष रहेको मान्न मिल्ने
देखिएन ।
१२. तसर्थ, माथि विवेचित कानूनी व्यवस्था, आधार र प्रमाणबाट प्रतिवादी कुमार गुरूङलाई आरोपित कसुरमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम १० वर्ष कैदको सजाय हुने र निज प्रतिवादीले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको देखिन आएकोले निजलाई जबरजस्ती करणीको महलको २ नं. बमोजिम हाडनाता करणीको महलको १ नं. बमोजिम थप सजाय कैद वर्ष १० र जबरजस्ती करणीको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई रू.१०,०००।– क्षतिपूर्तिसमेत दिलाई दिने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६८।३।२८ मा भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६८।११।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावदेन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. मीरा खड्का
इजलास अधिकृत: नगेन्द्र केशरी पोखरेल
इति संवत् २०७३ साल माघ १८ गते रोज ३ शुभम् ।