शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८१३ - अंश दिलाई पाउँ

भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खड्का

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

फैसला मिति : २०७३।१०।२१

०७२-CI-०८३९

 

विषयः अंश दिलाई पाउँ ।

 

पुनरावेदक / वादी : जिल्ला ताप्‍लेजुङ, खोक्लिङ गा.वि.स. वडा नं. ६ बस्ने देवीकुमारी कटुवाल

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला ताप्‍लेजुङ, फुङलिङ गा.वि.स. वडा नं. ४ बस्ने बलबहादुर कटुवालको हक खाने छोरा ऐ.ऐ. बस्ने अजयकुमार कटुवाल 

 

मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसार अंशियार कायम भएपछि अंशियारहरूका बीचमा जिय जियकै अंश छुट्याउनु पर्ने कानूनी व्यवस्था रहेको अवस्थामा बन्डा गर्नुपर्ने सम्पत्ति नरहेको भन्ने आधारमा अंशियार नै कायम नरहने भन्ने अर्थ गर्न पनि नमिल्ने । 

(प्रकरण नं. ३)

 

पुनरावेदक / वादीको तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्यायाधीश श्री पशुपति आचार्य

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य

माननीय न्यायाधीश श्री रामचन्द्र राई

 

फैसला

न्या. मीरा खड्का : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०७१।२।२८ को फैसलाउपर दोहोर्‌याई पाउन निवेदन परी दोहोर्‌याउने निस्सा भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार रहेको छः-

विपक्षी पति बलबहादुर कटुवालका २ वटी पत्‍नीमा जेठी साबित्री कटुवाल र कान्छी म देवी कटुवाल हुँ । जेठीतर्फबाट जायजन्म भएको जेठा टंक कटुवाल र कान्छा मदन कटुवाल हुन् । म फिरादीतर्फबाट जायजन्म भएका छोरा विपक्षीमध्येका अजयकुमार कटुवाल र छोरी इन्दिरा हुन् । जेठी साबित्री कटुवाल र निजतर्फका छोराहरू छुट्टि भिन्नभई आ-आफ्नो खेति पाति व्यहोरी खाई आएका छन् भन्ने सुनेकी 

छु । दुवैतर्फका छोरा छोरीहरूका विवाह भइसकेको छ । अंशबन्डा गर्नुपर्ने अंशियारहरूमा विपक्षीहरू पति बलबहादुर कटुवाल, छोरा अजयकुमार कटुवाल र म फिरादी देवी कटुवालसमेत ३ जना हौं । हामी ३ अंशियारका बीचमा हालसम्म अंशबन्डा भएको छैन । जेठी सौता साबित्री कटुवाल र निजका छोराछीरीसमेत ल्याई एकासगोलमा राख्‍न खोजेका कारण विपक्षी पतिसँग वादविवाद हुन गई विपक्षी पति तथा जेठी सौता र निजतर्फको छोराहरूसमेत मिली मलाई शारीरिक तथा मानसिक यातना सहित खान लाउन नदिई मिति २०५७।८।१५ गते घरबाट निकाला गरेको हुँदा हालसम्म माइतीको शरणमा बस्दै आएकी छु । उक्त मिति २०५७।८।१५ गतेलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डा गर्नुपर्ने वादी प्रतिवादीहरूमा विपक्षी पति बलबहादुर कटुवाल विपक्षी छोरा अजयकुमार कटुवाल र म फिरादी देवी कटुवालसमेत ३ जना सगोलका अंशियार भएकोले मुलुकी ऐन, अंशबन्डाको २१, २२, २३ र २४ समेतका आधारमा वादी प्रतिवादीबाट चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।

प्रतिवादीहरूका नाममा अदालतबाट जारी भएको इतलायनामा म्याद मिति २०६८।७।२७ मा तामेल भएकोमा प्रतिउत्तर पत्र नफिराई प्रतिवादीहरूले सुरू म्यादै गुजारी बसेका ।

यी वादीलाई प्रतिवादी बलबहादुर कटुवालले २, ३ वर्ष अगाडिनै घरबाट निकाला गरेका हुन् । फुङलिङ गा.वि.स. वडा नं. ४ को कि.नं. १८०१ को जग्गा वादीले अंश पाउनु पर्छ भन्नेसमेत व्यहोराको वादीका साक्षी धनप्रसाद ओझाले सुरू अदालतमा गरेको बकपत्र ।

वादी प्रतिवादी अंशियार भएको तथ्यमा विवाद देखिँदैन । दुवैबीच मानो छुट्टिएको वा अंशबन्डा भएको प्रमाणसमेत देखिँदैन । वादी प्रतिवादीबीच अंशबन्डा हुने नै देखियो । वादीका एकमात्र साक्षीले वादी दाबीलाई समर्थन गरी बकपत्र गरेकोले प्रतिवादीबाट तायदाती पेस नभएको, वादीबाट तायदाती फाँटवारी माग हुँदा वादी प्रतिवादीसँग कुनै सम्पत्ति नरहेको भनी स्वयम्‌ वादीले नै स्वीकार गरी तायदाती फाँटवारी पेस गरेको देखिँदा वादी प्रतिवादीसँग कुनै सम्पत्ति नरहेको अवस्थामा अंशबन्डा गरी रहनु पर्ने अवस्था र स्थितिसमेत नरहेकाले अंश पाउँ भन्ने वादी दाबी हाल नपुग्ने ठर्हछ भन्ने सुरू ताप्‍लेजुङ जिल्ला अदालतको मिति २०७०।२।८ गतेको फैसला ।

म पुनरावेदिकाले मेरो पति स्वर्गीय बलबहादुर कटुवालका नाउँमा दर्ता रहेको मेरोसमेत अंश भाग लाग्ने जिल्ला ताप्‍लेजुङ फुङलिङ गा.वि.स.वडा नं. ४ को कि.नं. १८०१ को क्षेत्रफल ०-१-२-१ को जग्गा र त्यसमा भएको ४ तले घरसमेत मेरो अंश हक मार्ने नियतले निज बलबहादुर कटुवालले नेपाल बैंङ्क लिमिटेड शाखा ताप्लेजुङमा दृष्टिबन्धक राखेका रहेछन् । त्यसैगरी चित्रकुमारी मादेन, बलराम भारती, लालबहादुर शिवाले मेरो पतिका विरूद्धमा लेनदेनमा फिराद पत्र दर्ता गरी त्यसमा निजहरूले उक्त बैङ्कको कर्जा तिरी सो मेरो भाग लाग्ने जग्गा लिलाम गरी लिएछन् विपक्षीहरू मिली गरेको कार्य पूर्ण जालसाज भएकाले ती लिखतलाई बदर वातेल गरी जालसाज घोषित गरी सो सम्पत्ति बन्डा गरिपाउँ भनी तायदातीमा उल्लेख भएको छ । मेरो अंश जस्तो नैसर्गिक अधिकारबाट मलाई वञ्चित गर्न माथि उल्लेख गरिएको जग्गा नेपाल बैंङ्क लिमिटेडमा दृष्टिबन्धक रहेकोमा सो बैंङ्कको ऋण बलराम भारतीसमेत ४ जनाले मेरो जानकारी बेगर ऋण तिरी सो जग्गा, घर ताप्‍लेजुङ जिल्ला अदालतबाट लिलाम गर्ने प्रक्रिया नै गैरकानूनी हुँदा उक्त लिलाम कार्य बदर गरी त्यही सम्पत्तिबाट मैले बन्डा पाउने गरी सुरूबाट फैसला हुनुपर्नेमा सो कार्यविधि नगरिएको हुँदा सुरू फैसला बदर गरी उक्त जग्गाबाट घर जग्गा बन्डा गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन पत्र ।

वादी प्रतिवादी सगोलको अंशियार भई अंशबन्डा भएको नदेखिए पनि वादी प्रतिवादी दुवै पक्षका नाममा कुनै सम्पत्ति नरहेको परिप्रेक्ष्यमा अंशबन्डा गर्नुपर्ने सम्पत्ति नदेखिएकोले वादी दाबी हाल नपुग्ने ठहराएको सुरू फैसला अन्यथा हुन सक्ने नदेखिएकोले, दाबीअनुसार अंश पाउनु पर्छ भन्ने पुनरावेदन जिकिरसमेतसँग सहमत हुन सकिएन । अतः वादी प्रतिवादीसँग सम्पत्ति नरहेको देखिँदा हाल अंश पाउँ भन्ने वादी दाबी नपुग्ने ठहर्छ भनी सुरू ताप्‍लेजुङ जिल्ला अदालतबाट मिति २०७०।२।८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक, वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०७१।२।२८ को फैसला ।

पति बलबहादुर कटुवालको श्रीमती नाताको अंशियार भएको र छोरासमेतको अंशियार देखिएको अवस्थामा अंशियार कायम गरी कानूनबमोजिम जिय जियैको अंश लाग्ने गरी फैसला गर्नुपर्नेमा सो नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकोले दोहोर्‌याई हेर्ने निस्सा प्रदान गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।

यसमा वादी प्रतिवादी अंशियार देखिएको र निजहरूका बीचमा अंश बन्डा भई नसकेको अवस्थामा वादी प्रतिवादीसँग सम्पत्ति नरहेको भन्ने आधारमा वादी दाबी पुग्न नसक्ने ठहर्‌याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको मिति २०७१।२।२८ को फैसलामा मुलुकी ऐन, अशबन्डाको १, २ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको व्याख्यात्मक त्रुटि देखिँदा मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत व्यहोराको यस अदालतबाट भएको मिति २०७२।६।१८ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन? निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा, यी पुनरावेदिका बलबहादुर कटुवालकी श्रीमती रहे भएको र निजहरूबाट जाय जन्मभएको १ छोरा प्रतिवादी अजय कटुवाल रहेकोले तीन भागको एक भाग अंश पाउँ भन्ने  फिराद दाबी रही वादीका साक्षीले समेत सो कुरा समर्थन गरी बकपत्र गरिदिएकोमा हाल तायदातीबाटै बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नदेखिएकोले वादी दाबी नपुग्ने ठहराई सुरू जिल्ला अदालतबाट फैसला भई सो फैसलालाई पुनरावेदन अदालतबाट सदर गर्ने गरी फैसला भएउपर वादी पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. वादीले पति र छोरा अंशियार देखाई ३ भागको १ भाग अंश माग गरी फिरादपत्र दायर गरेकोमा प्रतिवादीले प्रतिउत्तर नफिराई बसेको देखिएको र अंबन्डा हुन बाँकी रहेको भन्ने वादीका साक्षीको बकपत्रबाट समेत देखिन आएको आधारमा यी पुनरावेदक वादी तथा प्रतिवादी एकासगोलका अंशियार भएकोमा विवाद देखिँदैन । यी वादी र प्रतिवादी सगोलका अंशियार रहेपनि निज अंशियारहरूका बीच अंश बन्डा भएको भन्ने पनि नदेखिएको अवस्था छ । यसरी वादी प्रतिवादी एकासगोलका अंशियार देखिएको र ३ अंशियारबीच अंशबन्डा हुनुपर्छ भनी फिराद दाबी भएकोमा फिरादपत्र परेपछि वादीका पति बलबहादुर कटुवालको मृत्यु मिति २०६८।११।१५ मा भएको मिसिलबाट देखियो । वादीले पेस गरेको तायदाती फाँटवारीबाट वादी प्रतिवादीको नाउँमा कुनै सम्पत्ति दर्ता नरहेको भनी उल्लेख भएको देखिएको छ । मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसार अंशियार कायम भएपछि अंशियारहरूका बीचमा जिय जियकै अंश छुट्याउनु पर्ने कानूनी व्यवस्था रहेको र प्रस्तुत अवस्थामा बन्डा गर्नुपर्ने सम्पत्ति नरहेको भन्ने आधारमा अंशियार नै कायम नरहने भन्ने अर्थ गर्न पनि मिल्दैन ।

४. वादी प्रतिवादीहरूका बीचमा अंश बन्डा भई नसकेको र ३ अंशियारमध्ये वादीका पति बलबहादुर कटुवालको मुद्दा चल्दाकै अवस्थामा मृत्यु भइसकेको देखिँदा २ अंशियार मात्र कायम रहेको देखिन्छ । प्रस्तुत अवस्थामा कायम भएका २ अंशियारमा २ भागको १ भाग अंश वादीले पाउने गरी अंशियार ठहर गर्नुपर्नेमा दाबी नपुग्ने ठहर्‍याई भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, इलामबाट भएको मिति २०७१।२।२८ को फैसला नमिलेको हुँदा उल्टी भई वादीले २ भागको १ भाग अंश पाउने ठहर्छ । हाल बन्डा गर्नुपर्ने सम्पत्ति केही नदेखिएकोले बन्डा छुट्याउनु पर्ने सम्पत्ति देखिएको अवस्थामा कानूनबमोजिम गर्ने गरी हाल बन्डा छुट्याइ रहनु परेन । अरूमा तपसिलबमोजिम गरी प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइ दिनू ।

तपसिल

वादीले फिराद गर्दा राखेको कोर्टफी रू.१००।– प्रतिवादीबाट भराई पाउने हुँदा सोबमोजिम भराई पाउँ भनी यसै सरहदको जेथा देखाई कोर्ट फी ऐन, २०१७ को दफा १५ बमोजिम वादीको दरखास्त पर्न आएमा कुनै दस्तुर नलिई भराईदिन लगत राख्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनु .....................१

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः सुमन कुमार न्यौपाने 

इति संवत्् २०७३ साल माघ २१ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु