निर्णय नं. ९८१४ - क्षतिपूर्ति

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खड्का
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति :२०७३।१२।२१
०६८-CI-१५५५
मुद्दा : क्षतिपूर्ति
पुनरावेदक / प्रतिवादी : बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ स्वयम्भु, सिद्धिचरण मार्ग, घर नं. २६०/१९ घर भई वीर अस्पतालमा कार्यरत प्रा. डा. बुलन्द थापा
विरूद्ध
प्रत्यर्थी / वादी : सगरमाथा अञ्चल, उदयपुर जिल्ला, त्रियुगा नगरपालिका वडा नं. १२ धर्मपुर घर भई हाल बागमती अञ्चल, काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं. ३४ बस्ने सुष्मा थापा
चिकित्सकलाई सेवाग्राहीहरूले दैवीशक्तिको रूपमा ग्रहण गरी व्यवहार गर्ने तर चिकित्सकबाट प्राप्त हुने सेवा भने व्यापारतर्फ परिणत भई दृष्टिकोण र व्यवहारमा फरकपन आई चिकित्सा सेवामा नै गम्भीर असर पर्न गएको देखिन्छ । चिकित्सा सेवा व्यापार होइन र सौदाबाजीको व्यवहार गर्नुपर्ने पेसा पनि होइन । चिकित्सकहरूले बिरामीहरूलाई पर्याप्त परामर्श नगर्ने, आफ्नो लगानी रहेको ल्याबमा पठाई बराबर परीक्षण गर्न लगाउने, पूर्ण परीक्षण नै गरी शल्यक्रिया गर्ने तथा तुरून्त एन्टिबायोटिक चलाउने गरेको पाइन्छ । प्रायः शल्य चिकित्सकहरूबाट त तुरून्तै चिरफार नगरी नहुने, जतिसक्दो चाँडो चिरफार गर्नुपर्ने भनी दबाब सृजना गरी मनोवैज्ञानिकरूपले असर पार्ने जस्ता व्यवहारबाट हाम्रो चिकित्सा सेवाले प्रदान गर्न खोजेको सेवा ज्यादै संवेदनशील विषय बन्न गएको पाइने ।
(प्रकरण नं. ७)
चिकित्सकले गलत सेवा प्रदान गरेको वा लापरवाहीपूर्ण कार्य गरेको कारणबाट उपभोक्तालाई असर वा हानि नोक्सानीको पुग्न गएको अवस्थामा क्षतिपूर्ति पाउनु पीडित उपभोक्ताको कानूनी अधिकार पनि हो । केही चिकित्सकको लावरवाही र गलत उपचारको कारणले चिकित्सा सेवाप्रति पर्न गएको नकारात्मक सोचलाई नजरअन्दाज गर्नसमेत सकिँदैन । कुनै चिकित्सकले लापरवाही तथा गलत सेवा प्रदान गरी उपभोक्तालाई क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति भराउने कानूनी व्यवस्थासहित उपभोक्ता संरक्षण ऐन जारी भएको पाइन्छ । सोही उपभोक्ता संरक्षण ऐनअनुसार क्षतिपूर्तितर्फ दाबी लिएको अवस्थालाई न्यायोचितरूपबाट हेरिनु
पर्ने ।
चिकित्सकले लापरवाही गरेको वा गलत उपचार गरेको अवस्थामा पनि अरू चिकित्सकले गलत तथा लापरवाही भएको भनी प्रतिवेदन दिन इन्कार गर्ने वा प्रतिवेदन नै दिन नचाहने कारणले उपभोक्ता मारमा परेको र गलत तथा लापरवाही गर्नेले उन्मुक्ति पाउँदै जाँदा यस्तो नराम्रो प्रवृत्तिले प्रोत्साहन पाउने नभई चिकित्सा सेवामा नकारात्मक असर पर्न जाने हुन्छ । अब यस्तो गम्भिर मर्कालाई न्यायको रूपबाट विचार नगर्दा सर्वदा उपभोक्तालाई चर्को मार पर्न जाने हुन्छ जसको कारणबाट धन र स्वास्थ्यको समेत अपूरणीय क्षति हुन जाने ।
(प्रकरण नं. १२)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान्् अधिवक्ता लोकभक्त राना
विपक्षी / वादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू विष्णुप्रसाद लामिछाने, कहरसिंह खड्का र नरबहादुर खड्का
अवलम्बित नजिर :
सम्बद्ध कानून :
उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२
सुरू निर्णय गर्ने अधिकारी :–
प्र.जि.अ. श्री भोलाप्रसाद शिवाकोटी
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री यज्ञप्रसाद बस्याल
मा.न्या. श्री सुष्मालता माथेमा
फैसला
न्या. पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदक प्रतिवादीका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
मेरो दायाँ खुट्टाको घुँडाभन्दा पछाडि बढेको मासुको स्वास्थ्य परीक्षण गराउन मिति २०६२।७।६ मा भरतपुर स्थित वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुग्यौं । एक्सरे गर्न लगाएर त्यसको रिपोर्ट हेरेर एम.आर.आई. गर्नुपर्छ, काठमाडौंमा गएर गर्नुस् भनेकोले काठमाडौं आएर छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कात्तिक १० गते एम.आर.आई. गराएँ । त्यसको तीन दिनपछि रिपोर्ट लिन जाँदा मासुमा ट्युमर बढेको रहेछ सामान्य अप्रेशन गरेर हटाउनु पर्छ भनी डा. शिवबहादुर बस्नेतले वीर अस्पतालमा डा. बुलन्द थापालाई रेफर लेटर दिएकाले वीर अस्पताल
आयौं । मिति २०६२।७।१३ गते डा. बुलन्द थापाले मलाई भर्ना गर्नुभयो । भोलिपल्ट पिसाब र रगत जाँच गराएँ । डा.थापा राउण्डमा आउँदा नयाँ केश छ, अप्रेशन गर्न फोटो लिनु भन्नुभयो । कात्तिक १५ गतेदेखि २९ गतेसम्म डा. थापा आउनु भएन । चिकित्सकहरूलाई मेरो अप्रेशन किन नगरेको भनी सोध्दा डा. बुलन्द थापा नआई अप्रेशन गर्न मिल्दैन भनेर मलाई डिस्चार्ज गरियो । त्यसपश्चात मंसिर २ गते काठमाडौं मेडिकल कलेजमा जचाउँन गयौं । काठमाडौं मेडिकल कलेजमा फेरी एम.आर.आई. गराउनु पर्छ भनेकोले दुई चोटी एम.आर.आई. किन गराउनु भनी हामी फेरी वीर अस्पतालमा गयौं । त्यहाँ डा. बुलन्द थापासँग फेरी भेट भयो । भर्ना हुनुपर्छ भन्नुभयो र म २०६२।८।४ गते वीर अस्पतालमा पुनः भर्ना भएँ । मिति २०६२।८।१० गते मेरो खुट्टामा बढेको मासुको भागबाट सानो मासुको टुक्रा Biopsy जाँचको लागि झिकेर अप्रेशन गर्नु पर्ने नपर्ने रिपोर्ट आएपछि थाहा हुन्छ भनियो । मिति २०६२।८।१७ गते Biopsy Report आएपछि अप्रेशन गर्नुपर्छ भनी २०६२।८।२४ गते मलाई अप्रेशन गर्ने कोठामा लगी डा. बुलन्द थापाले अप्रेशन
गर्नुभयो । अप्रेशन गरेको भोलिपल्ट मेरो दाँया खुट्टा नचलेकोले डाक्टरलाई सोधेँ । उहाँले ६ हप्तापछि चल्छ भन्नुभयो । त्यसको भोलिपल्ट मंसिर २६ गते मेरो अप्रेशन गर्ने डा. बुलन्द थापा राउण्ड जाँचमा आउँदा मैले खुट्टा चलेन भन्दा तिम्रो मासुको डल्लो झिकिएको छ, त्यसैले ६ हप्ता पछि चल्छ भन्नुभयो । मेरो खुट्टा एकदमै चिसो हुन्थ्यो र सिधा नभई लत्रिएको थियो । सपोर्ट दिनुपर्छ भनेकोले किनेर ल्याई सपोर्ट दिएर राखिएको थियो । २०६२।८।२६ गते बेलुकादेखि मेरो दाँया खुट्टाको बुढी औंलामा कालो दाग देखा पर्यो । मैले नर्सलाई देखाउँदा नर्सले एक डाक्टरलाई बोलाएर ल्याउँदा केही होइन खुट्टा चिसो भएर यस्तो भएको हो, तातो पार्नुपर्छ भन्नुभयो र भोलिपल्ट पनि त्यहीँ जवाफ आयो । मिति २०६२।८।२८ गते बेलुकादेखि मेरो दाँया खुट्टाको पैताला र पाँचवटै औंलामा कालो दाग देखा परिसकेको थियो । अर्को एक डाक्टरलाई देखाउँदा नसा जाम भएको छ, खुट्टा नकाटी हुँदैन भन्नुभयो र मलाई हेपाडीन भन्ने औषधि दिन थालियो । बुबाले डा.बुलन्द थापालाई सोध्दा अप्रेशन गरेर हटाइएको मासु जाँच्न लगिएको छ । रिपोर्ट आएपछि खुट्टा काट्नु पर्ने, नपर्ने थाहा हुन्छ भन्नुभयो । मिति २०६२।९।२ गते रिपोर्ट आएपछि त्यो रिपोर्ट हेरेर डा.बुलन्द थापाले खुट्टा काट्नु पर्दैन, ६ हप्तापछि ब्लड सर्कुलेसन हुन थाल्छ, अनि ठीक हुन्छ भनेर हिड्नुभयो । मिति २०६२।९।७ गते डा.थापा आएर मलाई हेपाडीन खाई राखेको छ भन्नुभयो । मैले खुट्टा देखाउँदा हेरिसकेको छु भनेर त्यस दिनबाट मेरो स्वास्थ्य उपचारमा संलग्न डा. बुलन्द थापा हिड्नु भएको फेरी आउनु भएन । मेरो दाहिने खुट्टाको तलको भाग पैतालादेखि कालो हुँदै माथि बढ्दै थियो । बुबाले डा. दामोदर पोख्रेललाई बोलाएर ल्याउँदा Gangrene भएको हो, खुट्टा छिट्टै काट्नुपर्छ भनी डा. पोख्रेलले गाडी लिएर लिन पठाउँदा पनि डा. बुलन्द थापा आउनु भएन। डा. बुलन्द थापा नआएपछि दिनेश कार्कीको घरमा भेट्न जाँदा म भोलि आउँछु भनेर डा. रविन्द्रमार्फत अप्रेशनको सामान किन्न सूची दिइयो । अप्रेशन गर्नु अघि हेपाडीन बन्द गरियो । त्यतिखेर मेरो खुट्टाको कालो दाग धेरै माथि आइसकेको थियो । डा. बुलन्द थापा नआएकोले दुई पटक अप्रेशन रोकियो । एकजना बिरामीको चिनजानमार्फत स्वास्थ्य मन्त्रालयको सचिवलाई ल्याएर २०६२।९।२५ गते एउटा युनिट बनाएर २०६२।९।२९ गते डा. अशोक बज्राचार्यको युनिटले अप्रेशन गरेर मेरो दाँया खुट्टाको घुँडा मुनी काटियो । खुट्टा काटेको केही दिनपछि कालो दाग काटेको ठाउँमा देखा परी मास्तिर सर्न थालेकोले डाक्टर आएर फेरी तिम्रो खुट्टा काट्नुपर्छ भनी २०६२।१०।१६ गते दोस्रो पटक घुँडाभन्दा माथि मेरो खुट्टा काटियो । मिति २०६२।११।१६ गते म डा. बुलन्द थापालाई नभेटी जान्नभन्दा मलाई जबरजस्ती त्यहाँबाट डिस्चार्ज गरियो । Neurofibroma Tumor जसले शरीरलाई त्यति ठूलो हानि नोक्सानी नगर्ने र सामान्य अप्रेशन गरेर हटाउन सकिनेमा विपक्षीद्वारा ट्युमर अप्रेशन गर्ने क्रममा असावधानिका कारण Deep Profundus Artery Vessel काटिएको कारणले पीडितको खुट्टा Gangrene हुँदै आएको अवस्थालाई बेवास्ता गरिनु, कुनै परीक्षण बिनै Thrombosis भयो भनी Exact Site पत्ता नलगाई हचुवाको भरमा दुई चोटी Amputation गरिनु, बिरामीको औंलामा Gangrene भएको देखिना साथ औंला मात्र काटेर उपचार हुन सक्थ्यो कि भन्नेतर्फ ध्यान नदिई ६ हप्तामा ठिक हुने झुट्ठो आश्वासन दिनु, कार्यक्षमताको अभाव देखिनु र चिकित्सकबाट बिरामी पूरै उपेक्षित हुनु जस्ता त्रुटिहरू भएका कारण महत्त्वपूर्ण चिकित्सकीय कर्तव्यको रूपमा रहेको ड्युटी अफ केयरको गम्भिर उल्लङ्घन भएकोले विपक्षीबाट प्रत्यक्ष र अप्रत्यक्ष ठूलो हानि नोक्सानी पर्न गएकोले उपभोक्ता अधिकार हनन् गरेकोले उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा १८(ङ)(२), २२, २३ बमोजिम उक्त हानि नोक्सानी पुगेको सम्पत्ति रू.९,२०,०००। विपक्षीहरूबाट दिलाई भराई विपक्षीहरूलाई हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जिल्ला क्षतिपूर्ति समितिमा सुष्मा थापाले मिति २०६२।१२।९ मा पेस गरेको निवेदन ।
मसमेतले उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ७, ९, १० र यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियमविपरीत काम कारवाही गरेको मध्ये कम्तीमा कुनै एक कसुर गरेको अधिकारप्राप्त निकायबाट कायम नभएसम्म क्षतिपूर्ति दाबी गर्न मिल्ने होइन । उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ र २४ बमोजिम क्षतिपूर्ति समितिलाई केबल हानि नोक्सानी पुग्न गएको रकम यकिन गरी क्षतिपूर्ति दिलाउने अधिकार रहेको
छ । उक्त ऐनअन्तर्गतको कसुर कायम गर्ने अधिकार रहेको छैन । विपक्षीको दाँया खुट्टाको तिघ्रा पछाडिको ट्युमर मैले अप्रेशन गरी निकाल्दा Deep profundus artery vessel काटेको होइन । Deep profundus artery vessel भनेको तिघ्राको अगाडि पट्टि हुन्छ । Inguinal ligament (काई) को १.५ इन्च तल Femoral artery बाट निस्केको भई यसको Tranches तिघ्राको अगाडि पट्टि नै हुन्छ । पछाडि पट्टि हुँदैन । विपक्षीलाई घोप्टो पारेर तिघ्रा पछाडिको भागमा रहेको Neurofibroma Tumor निकाल्न अप्रेशन गर्दा Deep profundus artery vessel काटिने अवस्था नै हुन्न र काटिएको पनि थिएन । Deep profundus artery vessel काटिएको भए रक्तश्राव भई तिघ्राको मसल तुरून्तै कालो निलो हुने र कुहिएर जाने हुन्थ्यो । विपक्षीको तिघ्रामा यस्तो कुनै लक्षण देखा परेको थिएन । Deep profundus artery vessel काटिएको स्थितिमा खुट्टा नचल्ने हुन्छ । विपक्षीको Tumor Neurofibroma नसाबाट निस्कने Tumor हो । विपक्षीको तिघ्रा पछाडि रहेको सो Tumor मा Scitic nerve जेलिएको थियो । सो Scitic nerve अति होसियारपूर्ण पन्छाउँदै Tumor निकालिएको हो । Tumor को कारणबाट सो Scitic nerve तन्किएको थियो। सो तन्किएको Scitic nerve आफ्नो पूर्वावस्थामा आउन २ हप्तादेखि ६ महिनासम्म लाग्ने हुन्छ । अप्रेशन अगाडि विपक्षीको Distal neuron vascular status मा Blood circulation volume कम थियो । Tumor वरिपरि नसाहरू फुलेर नीलो भएको थियो । विपक्षीलाई अप्रेशन ठूलो हुन्छ, ३–४ घण्टा समय लाग्ने, अप्रेशनमा खुट्टा काट्नसमेत पर्ने सम्भावना हुन्छ भने जानकारी गराएको र विपक्षीको लिखित Consent पनि लिइएको
थियो । औंला कालो, चिसो हुँदैमा औला मात्र काटी हाल्न मिल्दैन । Demarcation Line नआई काट्न हुन्न र यस्तो Demarcation Line ७ देखि १० दिनभित्र देखा पर्ने हुन्छ । मैले Vascular surgeon लाई रेफर गरेपश्चात सम्बन्धित Vascular surgeon ले विपक्षीलाई Clinically examine गरी Thrombosis of the right tibial artery नभएर Poplitial artery काे Thrombasis भएको किटान गर्नुभएको हो र Demarcation Line देखिए पछि मात्र खुट्टा काट्नु पर्ने हुन आएको हो । Neuro praxia status २ हप्ता देखि ६ महिनासम्म रहन सक्ने हुँदा करिब ६ हप्ता पछि विपक्षीको खुट्टा चल्न सक्ने भनी अनुमान गरिएको हो । म वीर अस्पतालमा हाजिर रहँदा मैले आवश्यकता अनुसार Follow-up गरेको हुँ । मिति २०६६।९।१० देखि २०६२।१०।९ सम्म बिरामी विदामा रहेको थिएँ । म बिरामी विदामा रहेको अवस्थामा पनि मैले आफ्नो युनिटको चिकित्सकहरूलाई विपक्षीको केशमा फोनमार्फत आवश्यक सहयोगसमेत गरेको थिएँ । Vascular surgeon लाई रेफर भइसकेको थियो । निजबाट Follow-up भइरहेको र उपचार भइरहेको थियो । प्रस्तुत मुद्दामा मलगायत वीर अस्पताललाई विपक्षी बनाइएको र सम्बन्धित अन्य चिकित्सकलाई विपक्षी बनाइएको छैन । अप्रेशन गर्दा आवश्यक पर्ने Suture material मैले व्यक्तिगतरूपमा उपलब्ध गराएको थिएँ । आवश्यक Saline water र antibiotics समेत Chritine clinic नामको सामाजिक संस्थाले विपक्षीलाई उपलब्ध गराएको र विपक्षी General bed मा रहनु भएको हुँदा अप्रेशन, अनुसन्धान, अरू चार्जहरू निःशुल्क हुन्छ । यस स्थितिमा क्षति वास्तविक नरहेको, विपक्षीलाई उपचार गर्दा मैले आफ्नो कर्तव्य पूर्णरूपले निर्वाह गरेको हुँदा दाबी खारेज गरिपाउँ भन्नेसम्त व्यहोराको प्रतिवादी बुलन्द थापाको प्रतिउत्तर पत्र ।
निवेदक सुष्मा थापाको घुँडाभन्दा माथि पछाडिको भागमा ट्युमर भएकोले उपचारको लागि वीर अस्पताल गई डा. बुलन्द थापालाई देखाउँदा अप्रेशन गर्ने सल्लाह दिनु भई अप्रेशन भएपछि खुट्टा चलाउन नभई डा. बुलन्द थापालाई देखायौं । निजले उक्त खुट्टा क्रमशः निलो हुँदै जान्छ भनेपछि निज डाक्टरलाई देखाउँदा क्रमशः ठीक हुन्छ भन्दै रहनु भएको र २ दिनदेखि आउनै छाड्नु भयो । अर्को टिमले हेर्न नमानेको र खुट्टै नचल्ने भएपछि अर्को टिमको डाक्टरले पुनः हेरेपछि खुट्टा काट्नु पर्ने अवस्था भई हाल खुट्टा काटी बस्नु भएको छ । यसरी डा.बुलन्द थापाको लापरवाहीले गर्दा सुष्मा थापाले खुट्टा जस्तो महत्त्वपूर्ण अंग गुमाउनु परेको हुँदा उजुरी दिएको हो । निजले क्षतिपूर्ति पाउनु पर्ने माग गरेको हो भन्ने निवेदक सुष्मा थापाको साक्षी लक्ष्मी खड्काले जिल्ला क्षतिपूर्ती समिति, काठमाडौंमा गरेको बकपत्र ।
निवेदक सुष्मा थापाको दायाँ खुट्टा पछाडिको भागमा मासुको डल्लो पलाएकोमा अप्रेशन गरी मासुको डल्लो फाल्ने क्रममा खुट्टाको नशा नै काटिन गई खुट्टा नचल्ने अवस्थामा पुगेको र पछि सोही नशा काटिएको कारणले खुट्टा नै काटेर फालिएको अवस्था देखिँदा उपचारमा भएको लापरवाहीका कारण निवेदकलाई मानसिक, भौतिक तथा शारीरिक क्षति पुगेको र अपाङ्ग भएर बाँच्नु पर्ने अवस्थासमेतलाई दृष्टिगत गरी उपचारमा संलग्न डाक्टर बुलन्द थापाबाट दाबीबमोजिम रू.९,२०,०००।- र चलन चल्तीको ब्याजसमेत क्षतिपूर्ति भराउने ठहर्छ भन्नेसमेत व्यहोराको जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंको मिति २०६६।२।१४ को निर्णय ।
जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंबाट भएको निर्णयमा निष्कर्षमा पुगिएको आधार र कारण के हुन् निर्णयमा खुलाइएको छैन । प्रस्तुत मुद्दामा न्यायिक मनको प्रयोग भएको छैन । वीर अस्पताल र म गरी दुई जनाबाट क्षतिपूर्ति माग गरिएकोमा मबाट मात्र रू.९,२०,०००।- विपक्षीलाई दिलाउने निर्णय गरिएको छ । प्रतिउत्तरपत्रमा उठाएका जिकिरको खण्डन गरिएको छैन । अर्धन्यायिक निकायले निर्णय गर्दा न्यायिक मनको प्रयोग गर्नुपर्दछ भन्ने कानूनी सिद्धान्तहरू सर्वोच्च अदालतबाट प्रतिपादित भएको
छ । उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा १८(ङ)(२), २२, २३ समेतमा क्षतिपूर्तिको अलावा ब्याज भराउने व्यवस्था गरिएको छैन । ब्याजसमेत भराउने गरी निर्णय भएको, विशेषज्ञको राय माग गरिएकोमा सम्बन्धित विशेषज्ञले यकिन राय दिन नसकेको स्थितिमा सो नबुझी हचुवा निर्णय गरेको छ । मेरो जिकिर खण्डन नगरी मैले लापरवाही गरेको ठहर्याएको ठाडै हचुवा, आधारहिन एवं पूर्वाग्रही रहेको हुँदा जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंबाट भएको मिति २०६६।२।१४।५ को निर्णय त्रुटिपूर्ण भएको हुँदा सो निर्णय बदर गरी मेरो प्रतिउत्तर एवं पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रा.डा. बुलन्द थापाले पुनरावेदन अदालत, पाटनमा पेस गरेको पुनरावेदन
पत्र ।
यसमा के कस्तो आधार र कारणले गर्दा उपचारमा लापरवाही भएको हो? सोको विश्लेषण र मूल्याङ्कन नगरी भएको जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंको निर्णय प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को दफा ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।
पीडितलाई मानसिक भौतिक तथा शारीरिक क्षति पुगेको र अपाङ्ग भएर बाँच्नुपर्ने अवस्थासमेतलाई दृष्टिगत गरी उपचारमा संलग्न डा. बुलन्द थापाबाट निवेदकको दाबीबमोजिम रू. ९,२०,०००/- क्षतिपूर्ति भराउने निर्णय मनासिब देखिन्छ । निवेदकले ब्याजको मागदाबी नलिएको अवस्थामा क्षतिपूर्ति समितिले चलनचल्तीको ब्याजसमेत क्षतिपूर्ति भराउने भनी मिति २०६२/२/१४ मा गरेको हदसम्मको निर्णय मिलेको नदेखिँदा सो हदसम्म निर्णय बदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८/१२/१३ को फैसला ।
पुनरावेदन अदालत, पाटनले हाम्रो अस्पतालको Function पद्दति नबुझी हचुवाको भरमा फैसला गरेको छ । प्रस्तुत मुद्दामा न्यायिक मनको प्रयोग भएको छैन । वीर अस्पताल र म गरी दुई जनाबाट क्षतिपूर्ति माग गरिएकोमा मबाट मात्र रू.९,२०,०००।- विपक्षीलाई दिलाउने भराउने निर्णय भएको छ । विशेषज्ञको राय माग गरिएकोमा सम्बन्धित विशेषज्ञले यकिन राय दिन नसकेको स्थितिमा स्वयम् जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंले नबुझी हचुवा निर्णय गरेको प्रस्टै हुँदाहुँदै पुनरावेदन अदालत, पाटनले मेरो जिकिर खण्डन नगरी मैले लापरवाही गरेको ठहर्याएको समेत ठाडै हचुवा, आधारहिन एवं पूर्वाग्रही रहेको हुँदा पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६८/१२/१३ को फैसला पूर्णतः कानूनी त्रुटिपूर्ण भएको हुँदा सो फैसला बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको डा. बुलन्द थापाले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।
सुरूबाट मुद्दाको कारवाहीका सिलसिलामा विशेषज्ञको राय उपलब्ध गराउन नेपाल मेडिकल काउन्सिलमार्फत लेखिएकोमा उपलब्ध रायमा विशेषज्ञ भनेको चिकित्सकले आफ्नो कुनै राय नै व्यक्त नगरी आफूले राय दिन नसक्ने भनी विशेषज्ञ समिति गठन गर्न अनुरोध गरिएकोमा त्यसतर्फ कुनै थप कारवाही भएको देखिँदैन । प्रतिवादीको गम्भिर लापरबाही वा त्रुटियुक्त उपचारको कारण निवेदकले क्षति बेहोर्नु परेको हो, होइन भन्ने सम्बन्धमा वैज्ञानिक र प्रमाणिक विश्लेषण हुन जरूरी हुनेमा सो गरेको नदेखिएको र निवेदकले प्रतिवादी डा. बुलन्द थापाका अतिरिक्त वीर अस्पताललाई समेत विवक्षी बनाई दाबी गरिएको अवस्थामा वीर अस्पतालको हकमा कुनै इन्साफ बोलेको पनि देखिएन । यस अवस्थामा पुनरावेदन अदालतबाट समेत भएको कारवाही एवम् निर्णय त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार गर्नु भनी यस अदालतबाट भएको आदेश ।
प्रस्तुत विवादमा जिल्ला क्षतिपूर्ती समितिले मिति २०६६।२।१४ मा गरेको सक्कल निर्णय पुस्तिका झिकाई नियमअनुसार पेस गर्नु भनि यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी बुलन्द थापाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री लोकभक्त रानाले प्रस्तुत मुद्दाको विषय कानून व्यवसायी र अदालतबाट समाधान हुने विषय होइन । यो Complex Matter भएकोले विशेषज्ञ टोली गठन गरी राय लिई निष्कर्षमा पुग्नुपर्ने हुन्छ । विशेषज्ञको राय बिना फैसला गर्दा न्याय
पर्दैन । जहाँसम्म मेरो पक्षले आफू बिदामा बस्दा बिरामीलाई अन्य कुनै विशेषज्ञ डाक्टरको जिम्मा नलगाएको भन्ने सवाल छ, वीर अस्पताल सरकारी अस्पताल हो । त्यहा विशेषज्ञहरूको समूह हुन्छ । Duty Doctor हुन्छ । आफ्नो पालामा अप्रेसन गरेको बिरामीको बारेमा बिदा बस्दा लिखितरूपमा अर्को डाक्टरलाई भन्दै पर्छ भन्ने होइन । दायाँ खुट्टाको घुँडा पछाडिको भागमा मासुको डल्लो पलाएकोमा उक्त डल्लो फाल्दा तिघ्रामा हुने नशा काटिने कुरा आउँदैन । नशा काटिएमा तुरून्तै रगत निरन्तर बग्न गई शरीर कालो निलो हुन्छ । निवेदकको Tumor भएकोले खुट्टा नचलेको हो । अतः जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंबाट भएको निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला बदर गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान्् अधिवक्ताहरू श्री विष्णुप्रसाद लामिछाने, श्री कहरसिंह खड्का र श्री नरबहादुर खड्काले प्रतिवादी डाक्टर बुलन्द थापाले पीडित लाई अपरेसन गर्ने क्रममा लापरबाहीपूर्ण व्यवहार गरी कर्तव्य पालनको क्रममा बिरामी प्रति पुरा गर्नुपर्ने कुनै पनि दायित्व निर्वाह गरेको अवस्था छैन । पीडित सुष्मा थापाको दाया घुडा पछाडी बढेको मासुको डल्लो अपरेसन गर्ने क्रममा खुट्टामा Gangrene भएको अवस्थालाई प्रतिवादी डाक्टरले बेवास्ता गरेका छन् । कुनै परिक्षण बिना पीडित को खुट्टाको अपरेसन गर्नुपर्ने निर्णयमा पुगेका प्रतिवादी डाक्टरले सोही अपरेसनको कारण उत्पन्न जटिल र संवेदनशिल अवस्थालाई उपेक्षा गरी लामो बिदामा बसेका छन् । आफूले उपचार गरेको बिरामीको स्वास्थ्य अवस्थाको नियमित Follow Up गर्नुपर्नेमा सो नगरी आफू लामो बिदामा बस्दासमेत अर्को सहकर्मी डाक्टरलाई जिम्मा नदिई लापरबाहीपूर्ण व्यवहार देखाएका छन् । यसकारण पीडितलाई क्षतिपुर्ति दिने ठहर गरी भएको जिल्ला क्षतिपुर्ति समिति काठमाडौंको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
विद्वान् अधिवक्ताहरूको उपरोक्त बहस सुनी जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने विषयमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, पीडितको दायाँ खुट्टाको पछाडिको भागमा मासुको डल्लो पलाएकोमा अप्रेसन गरी मासुको डल्लो फाल्ने क्रममा खुट्टाको नशा नै काटिन गई खुट्टा नचल्ने अवस्थामा पुगेको र पछि सोही नशा काटिएको कारणले खुट्टा नै काटेर फालिएकोले क्षतिपूर्ति दिलाई विपक्षी प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी पीडित सुष्मा थापाले जिल्ला क्षतिपूर्ति समिति, काठमाडौमा निवेदन दिएको
देखियो । पीडितको उपचारमा भएको लापरवाहीका कारण मानसिक, भौतिक तथा शारीरिक क्षति पुगेको र अपाङ्ग भएर बाँच्नुपर्ने अवस्थासमेतलाई दृष्टिगत गरी उपचारमा संलग्न डाक्टर बुलन्द थापाबाट दाबी बमोजिमको रू.९,२०,०००।– र चलन चल्तीको ब्याजसमेत क्षतिपूर्ति भराउने ठहर्याई जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंबाट निर्णय भएको
देखियो । सोही निर्णयउपर प्रतिवादीका तर्फबाट निर्णय बदर गरिपाउँ भनी पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनबाट उक्त निर्णयलाई केही उल्टी गरी चलन चल्तीको ब्याज भराउने गरी गरिएको निर्णयको हदसम्म उल्टी गरी रू.९,२०,०००।– क्षतिपूर्ति भराउने निर्णयलाई सदर गरी फैसला भएको
देखिन्छ । सोही फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन गरी प्रस्तुत मुद्दा दायर हुन आएको देखियो ।
३. जिल्ला क्षतिपूर्ति समितिले पीडितलाई क्षतिपूर्ति भराउने ठहर्याई निर्णय गर्दा न्यायिक मनको प्रयोग नगरेको, वीर अस्पतालसमेतबाट क्षतिपूर्ति माग गरिएकोमा मबाट मात्र दिलाउने निर्णय भएको नमिलेको, विशेषज्ञको राय माग गरिएकोमा विशेषज्ञले राय दिन नसकेको स्थितिमा सो नबुझी गरेको हचुवा निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भन्ने नै मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
४. मिसिल अध्ययन गरी हेर्दा पीडित सुष्मा थापाले दायाँ खुट्टाको घुँडाभन्दा पछाडि बढेको मासुको डल्लालाई विरेन्द्र अस्पताल स्वास्थ्य परीक्षण गराउँदा त्यहाँबाट वीर अस्पतालका डा. बुलन्द थापालाई रेफर लेटर दिएपछि सोहीअनुसार पीडितको खुट्टाको मासुको डल्लोको Biopsy जाँच गरेपछि पीडितको डा. बुलन्द थापाद्वारा मिति २०६२।८।२४ गते अप्रेसन गरिएको देखिन्छ । त्यसको दुई दिनपछि डा. बुलन्द थापा राउण्ड जाँचमा आएको अवस्थामा पीडितले खुट्टा चलेन भनेको र अरू डाक्टरहरूलाई पनि देखाएकोमा त्यसलाई डाक्टरले स्वाभाविकरूपमा लिई ६ हप्तामा खुट्टा चल्छ भनी भनिएको देखियो । अपरेसन पछि विस्तारै खुट्टामा कालो दाग देखा पर्दै आएकोले मिति २०६२।९।२ गते र मिति २०६२।९।७ गते डा. थापाले हेरेको देखिन्छ । पीडितको दाहिने खुट्टाको औंलाको भागदेखि कालो हुँदै माथि बढ्दै आएकोले मिति २०६२।९।२९ मा डा. अशोक बज्राचार्यको युनिटले अप्रेसन गरेर दायाँ खुट्टाको घुँडा मुनि काटिएको तथा केही दिनपछि कालो दाग काटेको ठाउँबाट देखा परी माथितिर सर्न थालेपछि मिति २०६२।१०।१६ मा दोस्रो पटक अपरेसन गरी घुँडाभन्दा माथिदेखि पीडितको खुट्टा काटिएको देखिन्छ ।
५. प्रस्तुत मुद्दामा मुख्यरूपमा पीडितको खुट्टा गुम्नुमा प्रतिवादीको लापरवाही थियो वा थिएन र उपचारको क्रममा सावधानी अपनाएको थियो वा थिएन भन्ने विषयमा केन्द्रित रहनुपर्ने देखियो । पीडित सुष्मा थापाको घुँडाभन्दा पछाडिको भागमा Neurofibroma Tumor निकाल्नको लागि अप्रेसन गर्ने युनिटको नेतृत्व गर्ने टिममा डा. बुलन्द थापा नै रहेको
देखिन्छ । अप्रेसनपश्चात उक्त युनिटको इन्चार्जको हैसियतले बिरामीको जाँच परीक्षण र निगरानी गर्ने कर्तव्य युनिट इन्चार्जको हुने देखिन्छ । डा. बुलन्द थापाले पीडितको उपचारको क्रममा निरन्तर जाँच परीक्षण गरेको भन्ने मिसिल संलग्न तथ्यबाट
देखिँदैन । निजले आफूले पीडितको उपचारमा सावधानी अपनाएको र पटक-पटक उपस्थित भई निरन्तर चेक जाँच गरेको भनी पुष्टि गर्न सकेको देखिँदैन । स्वास्थ्य उपचारमा संलग्न युनिट इन्चार्जले आफू लामो समय बिदामा बस्दा अर्को डाक्टरलाई सम्पूर्ण विवरणसहित त्यसको जिम्मेवारी सुम्पिएको नदेखिएको साथै बिरामीले बारम्बार आफ्नो अवस्थाको बारेमा सोधी रहँदा र खुट्टा नै नचल्ने भएपछि सो जानकारी गराउँदासमेत गम्भीरतापूर्वक लिएको भन्ने मिसिलसंलग्न प्रमाणबाट देखिन आएन ।
६. उपचारमा संलग्न चिकित्सकले बिरामीको उपचारको सम्बन्धमा पर्याप्त समय दिई उपचारसँग सम्बन्धित आवश्यक परीक्षण गराउनु पर्ने, उचित परामर्श गर्नुपर्ने, पूर्णरूपले परीक्षण गरेर मात्र शल्यक्रिया गर्नुपर्ने, शल्यक्रिया पछि प्रदान गर्नुपर्ने उचित सेवा प्रदान गर्नुपर्ने, रोगको सही निदान गरी शल्यक्रिया गर्ने, चिकित्सकले शल्यक्रिया गरी शल्यक्रियापश्चात आवश्यक अन्य कुरामा विचार गर्नुपर्नेमा उपरोक्त कार्यहरू नगरेको कारणबाट बिरामीले यातना भोग्नु परेको परिस्थितिलाई नकार्न सकिने अवस्था
देखिँदैन । चिकित्सा पेसामा संलग्न व्यक्तिहरूमा मानवीय संवेदनशीलता हराउँदै गई बिरामीप्रति सरल र उचित व्यवहार नदेखाएको कारणबाट तथा बिरामीहरूलाई प्रदान गर्नुपर्ने सेवामा पर्याप्त समय नदिने प्रवृत्तिको विकास भइरहेको अवस्थामा सोही व्यवहारको शिकार पीडिता भएको देखिन्छ ।
७. नेपाली समाजमा चिकित्सकलाई देवताको रूपमा हेरिने परम्परा रहेको पाइन्छ । तर, सोको विपरीत चिकित्सकको बिरामी प्रतिको संवेदिनशीलतामा कमी आएको देखिन्छ । चिकित्सकलाई समाजले देवता माने तापनि त्यसैको आडमा आफूले जे गर्दा पनि वात लाग्दैन भन्ने सोचबाट अभिप्रेरित भई बिरामीप्रति गर्नुपर्ने व्यवहारमा परिवर्तन आएको कारणबाट नागरिकले स्वास्थ्य सेवामा पाउनु पर्ने उचित व्यवहारबाट टाढा हुँदै गएको देखिन्छ । चिकित्सकलाई सेवाग्राहीहरूले दैविशक्तिको रूपमा ग्रहण गरी व्यवहार गर्ने तर चिकित्सकबाट प्राप्त हुने सेवा भने व्यापारतर्फ परिणत भई दृष्टिकोण र व्यवहारमा फरकपन आइ चिकित्सा सेवामा नै गम्भीर असर पर्न गएको देखिन्छ । चिकित्सा सेवा व्यापार होइन र सौदावाजीको व्यवहार गर्नुपर्ने पेसा पनि होइन । कतिपय चिकित्सकहरूले बिरामीहरूलाई पर्याप्त परामर्श नगर्ने, आफ्नो लगानी रहेको ल्याबमा पठाई बराबर परीक्षण गर्न लगाउने, पूर्ण परीक्षण नै गरी शल्यक्रिया गर्ने तथा तुरून्त एन्टिबायोटिक चलाउने गरेको पाइन्छ । प्रायः शल्य चिकित्सकहरूबाट त तुरून्तै चिरफार नगरी नहुने, जतिसक्दो चाँडो चिरफार गर्नुपर्ने भनी दबाब सृजना गरी मनोवैज्ञानिकरूपले असर पार्ने जस्ता व्यवहारबाट हाम्रो चिकित्सा सेवाले प्रदान गर्न खोजेको सेवा ज्यादै संवेदनशील विषय बन्न गएको छ । यस परिप्रेक्ष्यमा चिकित्सकहरू सचेत भई मानविय संवेदनशिलता प्रति गम्भिर हुनुपर्ने र स्वास्थ्य उपचार जस्तो कार्यमा कुनै प्रकारको स्वार्थ निहित नभई सेवाभावको भावनाबाट प्रेरित भई सेवा प्रदान गर्नु आजको आवश्यकता र जनचाहना पनि हो ।
८. प्रतिवादीले आफ्नो प्रतिउत्तर पत्रमा बिरामीको Doppler Study वा कुनै अनुसन्धान वा परीक्षण नगरी कालो दाग (Gangrene) देखा पर्नु Thrombosis of the Right Artery को समस्याले भएको हो भनी कसरी पत्ता लाग्यो भन्ने प्रश्नमा निजले Vascular Surgeon लाई Refer गरेपश्चात सम्बन्धित Vascular Surgeon ले विपक्षीलाई Clinically Examine गरी Thrombosis of the Right Tibial Artery नभएर Poplitial Artery को Thrombosis भएको किटान गर्नु भएको हो र Demarcation Line देखिएपछि मात्र खुट्टा काट्नुपर्ने हुन गएको हो भनी उल्लेख गरेको देखिन्छ । बिरामीको अवस्थाको संवेदनशीलता अध्ययन गरी निरोधात्मक र उपचारात्मक विधि अपनाउनुपर्ने हुन्छ । खुट्टामा कालो दाग देखिएपछि के कारणले गर्दा त्यस्तो दाग देखिन गयो भन्ने विषयलाई गम्भीर अध्ययन गरी त्यसको असर कम गर्नेतर्फ यी पुनरावेदक प्रतिवादी डाक्टरले चासो राखी कुनै पहल गरेको पनि मिसिल संलग्न कागजातबाट देखिन आएन ।
९. नेपालको संविधानको भाग ३ धारा ४४ मा उपभोक्ताको हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ । जसको उपधारा (१) मा “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ” भन्ने र उपधारा (२) मा “गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने” प्रावधान रहेको देखिन्छ । उपरोक्त संवैधानिक प्रावधानअनुरूप प्रत्येक नागरिकलाई गुणस्तरिय सेवा प्राप्त हुने हक रहेको र त्यस्तो सेवा लिने क्रममा क्षति पुगेको अवस्थामा क्षतिपूर्ती पाउने हक प्रत्येक नागरिकलाई रहने व्यवस्था रहेको देखिन्छ ।
१०. प्रस्तुत मुद्दामा पीडित बिरामीलाई उपचारपश्चात् Gangrene देखिएको भनिएको
छ । सो रोग सामान्यतयाः Weakened Immune System, Vascular Diseases, Smoking, Diabetes, Injury or Surgery (Mistake) को कारणबाट हुने गर्छ । यो रोग Dry, Wet, Gas, Internal र Fournter's गरी ५ प्रकारका
हुन्छन् । तर ४० प्रतिशत Wet Gangrene Surgery (अप्रेसन) हुँदा पर्याप्त ध्यान नपुर्याएको कारणबाट संक्रमण (Infection) द्वारा हुने र ५० प्रतिशत भने गम्भीर प्रकृतिको चोटपटकसमेतको कारणबाट हुन सक्छ । उपरोक्त कारणहरूबाट Gangrene रोग भई हालेमा अनुसन्धानात्मक Tools (X-Ray वा CT वा MRI वा अन्य) द्वारा शरीरको कुनै ठाउँ वा भागमा के कस्तो संक्रमण छ भनी यकिन गर्न सक्नुपर्ने हुन्छ । Histopathology Test गर्न Prescribe गरेबमोजिम प्राप्त रिपोर्टमा “...... Necrosis or Features of Malignant Pherpthype identitied.....” भनी डा. अशोक जोशी, Consultant Pathologist को मिति ११/२३/२००४ को पत्रबाट केवल Neurofibroma छ भन्ने निचोड उल्लेख गरेको पाइन्छ ।
११. जबकी प्रस्तुत रिपोर्टहरूका आधारमा (Gas वा Nercrosis वा दुवै) सम्बन्धित अंगको Cell / Tissue को अनुसन्धानद्वारा यथास्थिति पत्ता लगाई थप उपचार वा अप्रेशनको तयारी गर्नुपर्नेमा सो प्रक्रिया अपनाएको भन्ने मिसिल संलग्न कागजातबाट दैखिँदैन । पीडितको उपचारपश्चात् के कारणबाट दायाँ खुट्टामा कालो देखिँदा आयो भन्नेतर्फ यकिन नगरी यकिन रिपोर्टको आधार बिना Gangrene भएको भनी पटक-पटक अप्रेसन गरी पीडितको दायाँ खुट्टा नै गुमाउनु परेको अवस्था देखिन्छ । यसबाट पीडितको उपचारमा संलग्न प्रतिवादी डाक्टर बुलन्द थापाले Duty पालनाको क्रममा आफूले निर्वाह गर्नुपर्ने सामान्य चिकित्सकिय धर्मको पालना नगरेको कारण पीडितको खुट्टा काट्नु परी जिवनभर अपाङ्ग भएर बाच्नु पर्ने स्थितीको सिर्जना भएको देखियो ।
१२. पीडितको उपचारको क्रममा प्रतिवादी डाक्टरबाट भएको कमी, कमजोरी र निज प्रतिवादीले पूर्ण सावधानी नअपनाएको कारणले गर्दा पीडितले आफ्नो संवेदनशील अंग नै गुमाउनु परेको अवस्थामा मानसिक, भौतिक तथा शारीरिक क्षति भएकोले क्षतिपूर्ति स्वरूप रू.९,२०,०००।– माग गरेको देखिन्छ । उक्त माग दाबीबमोजिम पीडितलाई भएको क्षति र पीडितले जिवनभर अपाङ्ग भएर बाँच्नुपर्ने आवस्थासमेतलाई दृष्टिगत गरी जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंको मिति २०६६।२।१४ को निर्णयले पीडितलाई रू. ९,२०,०००।– र चलन चल्तीको ब्याजसमेत क्षतिपूर्ति भराउने निर्णय गरेको देखियो । नेपालमा निशुल्क स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा अंगिकार गरिएको अवस्थामा सहज, सुलभ र गुणस्तरीय सेवा प्राप्त गर्नु नागरिकको हक हो भने त्यस्तो सेवा प्रदान गर्नु चिकित्सकको कर्तव्य पनि हो । कहिले काहीँ केही चिकित्सकको सामान्य त्रुटिबाट पवित्र सेवाको रूपमा रहेको समग्र चिकित्सा सेवामा प्रतिकूल असर पर्न गएको देखिन्छ । यो सेवा जिम्मेवार हुन नितान्त आवश्यक पनि छ । कहिले काहीँ चिकित्सकहरूबाट गैर जिम्मेवारपूर्ण व्यवहारको प्रदर्शन गर्नु, नियमन र नियन्त्रणको उचित व्यवस्थापन नहुनु, असर पुगेका उपभोक्ता तथा सेवाग्राहीले स्वच्छ सुनुवाई गरिने तथा उचित क्षतिपूर्तिको व्यवस्था नभएकै कारणबाट चिकित्सा सेवामा प्रतिकुलता देखिन गएको हो । चिकित्सकले गलत सेवा प्रदान गरेको वा लापरवाहीपूर्ण कार्य गरेको कारणबाट उपभोक्तालाई असर वा हानि नोक्सानीको पुग्न गएको अवस्थामा क्षतिपूर्ति पाउनु पीडित उपभोक्ताको कानूनी अधिकार पनि हो । केही चिकित्सकको लावरवाही र गलत उपचारको कारणले चिकित्सा सेवाप्रति पर्न गएको नकारात्मक सोचलाई नजरअन्दाज गर्नसमेत
सकिँदैन । कुनै चिकित्सकले लापरवाही तथा गलत सेवा प्रदान गरी उपभोक्तालाई क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति भराउने कानूनी व्यवस्थासहित उपभोक्ता संरक्षण ऐन जारी भएको पाइन्छ । सोही उपभोक्ता संरक्षण ऐनअनुसार क्षतिपूर्तितर्फ दाबी लिएको अवस्थालाई न्यायोचितरूपबाट हेरिनु पर्ने नै हुन्छ । त्यसरी दाबी लिएको अवस्थामा चिकित्सकले लापरवाही गरेको वा गलत उपचार गरेको अवस्थामा पनि अरू चिकित्सकले गलत तथा लापरवाही भएको भनी प्रतिवेदन दिन इन्कार गर्ने वा प्रतिवेदन नै दिन नचाहने कारणले उपभोक्ता मारमा परेको र गलत तथा लापरवाही गर्नेले उन्मुक्ति पाउँदै जाँदा यस्तो नराम्रो प्रवृत्तिले प्रोत्साहन पाउने नभई चिकित्सा सेवामा नकारात्मक असर पर्न जाने हुन्छ । अब यस्तो गम्भिर मर्कालाई न्यायको रूपबाट विचार नगर्दा सर्वदा उपभोक्तालाई चर्को मार पर्न जाने हुन्छ जस्को कारणबाट धन र स्वास्थ्यको समेत अपूरणीय क्षति हुन जान्छ ।
१३. उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ ले “... क्षतिपूर्तिको निमित्त परेको उजुरीउपर छानबिन गरी क्षतिपूर्ति समितिले उपभोक्तालाई हानि नोक्सानी पुग्न गएको ठहर गरेमा हानि नोक्सानीको आधारमा क्षतिपूर्तिबापतको रकम उपभोक्ता वा निजको हकवालालाई दिलाउने” भन्ने प्रावधान उल्लेख भएको देखिन्छ । उक्त प्रावधानअनुरूप उपभोक्ताले भोग्नु परेको हानि नोक्सानीको आधारमा क्षतिपूर्ति पाउन सक्ने कानूनी व्यवस्था भएको देखिन्छ । तथापि यस उपभोक्ता संरक्षण ऐन, २०५४ ले पीडितलाई क्षतिपूर्ति भराउँदा सोको ब्याजसमेत भराउनु पर्ने भन्ने व्यवस्था गरेको देखिँदैन । यसको साथै पीडित निवेदकले क्षतिपूर्ति माग गर्दा सोको ब्याजसमेत भराइ पाउनेतर्फ कुनै माग गरेको पनि देखिँदैन । यस्तोमा क्षतिपूर्तिको सन्दर्भमा पीडित लाई ब्याजसमेत भराउनेतर्फ केही बोली रहनु पर्ने देखिएन ।
१४. वीर अस्पतालसमेतबाट क्षतिपूर्ति माग गरिएकोमा मबाट मात्र क्षतिपूर्ति दिलाउने निर्णय भएको नमिलेको भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा प्रस्तुत मुद्दामा पीडितको अपरेसनको क्रममा वीर अस्पतालको कारणबाट कुनै लापरबाही भएको कुरा मिसिल संलग्न तथ्यहरूबाट पुष्टि हुन आएको देखिँदैन । वीर अस्पतालको कारणबाट पीडितको उपचारमा लापरबाही भएको भन्ने कुरा प्रमाणित हुने तथ्यहरू यी प्रतिवादीबाट पेस हुन सकेको पनि नदेखिँदा वीर अस्पतालबाट समेत पीडित लाई क्षतिपूर्ति भराउनु पर्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१५. विशेषज्ञको राय माग गरिएकोमा विशेषज्ञले राय दिन नसकेको स्थितिमा सो नबुझी गरेको हचुवा निर्णय गरेको भन्ने पुनरावेदन जिकिरको सन्दर्भमा हेर्दा प्रस्तुत मुद्दामा विशेषज्ञको राय माग भई मेडिकल काउन्सिलको च.नं. ५६/०६५-०६६ मिति २०६५/४/१७ को पत्रबाट जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रेषित विशेषज्ञको रायमा ठोस आधार र कारण उल्लेख नगरी पीडितको खुट्टा दोस्रो पटक अपरेसन गरी काटिएको र यस विषयमा थप यकिन गर्नको लागि विशेषज्ञ सर्जनहरूको कमिटी गठन गर्नुपर्ने कुरा उल्लेख गरेको देखियो । पीडितको उपचारको क्रममा खुट्टा गुमाउनु परेको तथ्यमा विवाद देखिँदैन । निज पीडितको खुट्टामा प्रतिवादी डाक्टरबाट अपरेसन भए पछि के कति कारणले कालो हुँदै गयो भन्नेतर्फ यकिन नगरी पटक-पटक अपरेसन गरी खुट्टा काटिएको कुरा प्रमाणित भइरहेको हुँदा विशेषज्ञ सर्जनहरूको कमिटी गठन नगरेकै आधारबाट मात्र प्रतिवादी डाक्टरले उन्मुक्ति पाउन सक्ने स्थिति रहेको देखिँदैन । यसर्थ विशेषज्ञको राय नबुझी निर्णय गरेको भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१६. जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंले पीडितको उपचारको क्रममा निजको अंगमा गम्भीर हानि नोक्सानी भई दायाँ खुट्टासमेत गुमाउनु परेको अवस्थामा उपचारमा लागेको खर्च र अपाङ्ग हुनु परेकोले जीवन निर्वाह गर्नका लागि न्यूनतम रकमसमेत गरी रू.९,२०,०००।– माग गरेकोमा सो हदसम्म क्षतिपूर्ति समितिको निर्णय मनासिब देखिन्छ । जहाँसम्म चलन चल्तीको ब्याजसमेत भराउने गरी निर्णय भएको हदसम्म नमिलेको भनी बदर गर्ने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट भएको फैसलामा कानूनी त्रुटि रहेको देखिएन ।
१७. अतः माथि विवेचित आधार र कारणहरूबाट निवेदन मागबमोजिम पीडितलाई रू. ९,२०,०००।- (रू.नौ लाख बीस हजार मात्र) र चलन चल्तीको ब्याजसमेत प्रतिवादी डाक्टर बुलन्द थापाबाट भराउने गरी जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंको मिति २०६६।२।१४ को निर्णयमा चलन चल्तीको ब्याज भराउने हदसम्म बदर गरी पीडितलाई रू. ९,२०,०००।- क्षतिपूर्ति भराउने निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१२।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. मीरा खड्का
इजलास अधिकृत : कपिलमणि गौतम
इति संवत् २०७३ साल चैत २१ गते रोज २ शुभम् ।