निर्णय नं. ९८१८ - अंश
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।१२।०९
०६६-CI-०३८४
मुद्दा: अंश
पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला पोखरा उप.म.न.पा.वडा नं. १५ बस्ने धनबहादुर भण्डारीसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : कास्की जिल्ला, पोखरा उप.म.न.पा.वडा नं. १५ ढुङ्गेसाँगु तल्लो सिमलबोट घर भएकी विष्णु भण्डारी भनी वादीको पुनरावेदन पत्र र पुनरावेदन अदालत पोखराको फैसलामा लेखिएको भए तापनि सो नभई कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं. ७ डाँडागाउँ घर भई हाल ऐ.ऐ. पोखरा उप म.न.पा.वडा नं. १० रामबजार डेरा गरी बस्ने विष्णुकुमारी पराजुली
नागरिकताको प्रमाण पत्र भनेको राज्यले नागरिक भएको आधारमा दिइने पहिचानको दस्तावेज हो । नागरिकताले राज्य र नागरिकको सम्बन्धलाई जोडने कार्य गरी त्यस्तो सम्बन्धको प्रमाणित गर्ने हुँदा केवल नागरिकताको प्रमाण नाता कायम गर्ने दस्तावेज हुन सक्तैन । नागरिकतामा कसैको बाबुको नाम मात्र उल्लेख भएको आधारमा कसैलाई विवाहित वा अविवाहित भनी छुटयाउने आधार हुन नसक्ने ।
वादी विष्णुकुमारीको नागरिकता निकाल्ने क्रममा सोको लागि भर्नुपर्ने फारम निज आफैँले भरिदिएको भन्ने कुरालाई स्वीकार गरेको देखिएको छ । निजले तत्पश्चात वादीको नाममा नागरिकता निकाल्न इन्कार गरेको अवस्थामा वादीले राज्यबाट प्राप्त हुने सुविधा र लाभका लागि पनि नागरिकता आवश्यक हुने अवस्थामा आफ्नो पिताको सहयोगमा नागरिकता लिने कुरा स्वभाविक नै हुन जान्छ । त्यसका अतिरिक्त बाबुको नामबाट नागरिकता लिएकै आधारमा कुनै महिला विवाहित वा अविवाहित छुट्याउने आधार हुन नसक्ने र उक्त नागरिकतामा विवाहित भनी उल्लेख नभएकै आधारमा कुनै महिला अविवाहित रहेको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. ३)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू शारंगा सुवेदी र शान्तीसिंह भण्डारी, विद्वान् अधिवक्ताहरू ईश्वरीप्रसाद भट्टराई, नवराज थपलिया र ममता बास्कोटा भट्टराई
प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू शेरबहादुर के.सी., भिमार्जुन आचार्य, रामचन्द्र पौडेल र सुधा खतिवडा
अवलम्बित नजिर :
ने.का.प.२०३७, नि.नं.१३४१
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को २३(४)
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार बटाजु
पुनरावेदन तहमा फैसला गर्नेः-
मा.न्यायाधीश श्री खेमराज शर्मा
मा.न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला
न्या. सपना प्रधान मल्ल : पुनरावेदन अदालत, पोखराको मिति २०६३/४/२२ को फैसलाउपर प्रतिवादीका तर्फबाट तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :
ससुरा जगतबहादुर भण्डारीका २ श्रीमतीमा जेठी सरस्वती भण्डारी-१ कान्छी कलावती भण्डारी-१ समेत २ जना भएकोमा जेठी सरस्वतीबाट-२ छोरा दुर्गाबहादुर-१, कृष्णबहादुर-१ तथा कान्छी कलावतीबाट छोरा धनबहादुर भण्डारी-१ छोरी द्रौपति भण्डारी-१ समेत जना २ छोरा छोरीको जायजन्म भएकोमा छोरी द्रौपतीको विवाह दान भई अन्य अंशियारको अंशबन्डासमेत भइसकेको छ । विपक्षी पति धनबहादुर भण्डारी आई.एन.एफ (I.N.F.) को कर्मचारी भएकोले जागिरका सिलसिलामा निज र मेरोबीच चिनजान परिचय भई हामीबीच प्रेम सम्बन्ध कायम रही आएकोमा मिति २०५०/०९/२६ गतेका दिन विपक्षीले आफ्नै बुढीऔला काटी रगत निकाली मेरो सिउँदोमा सिन्दुर स्वरूप रगत र सिन्दुरसमेत लगाई दिएपछि विपक्षी पतिले मलाई श्रीमतीको रूपमा स्वीकार गरी मलाई कास्की पो. उ. म. न. पा वडा नं. १० रामबजार डेरामा राख्नु भयो । विपक्षी पतिले २०५८ साल मार्ग महिनामा पोखरा ढुङ्गेसाधु तल्लो सिमलबोट स्थित घरमा लानु भयो । घरमा विपक्षी पतिकी अर्की श्रीमती गिता भण्डारी र छोराहरूसमेत रहेभएको जानकारी भयो । विपक्षी पति धनबहादुर की जेठी श्रीमती धना भण्डारीसमेत भएको र निजतर्फ १ छोरा र १ छोरीको जाय जन्म भई छोरीको विवाहदानसमेत भएको जानकारी भयो । केही समय हाम्रो परिवारमा सौहार्दपूर्ण वातावरण श्रृजना भयो । समय बित्दै जाँदा विपक्षी पतिकै सल्लाहले घरमा नबसी फेरी रामबजारमा नै डेरा लिई बसी आएकीमा २०६१/०७/०६ गतेको दिन विपक्षी सौता दिदी डेरामा आई धाक धम्की पूर्ण दुर्व्यवहार गरेकीले मिति २०६१/०७/०८/१ मा शान्ति सुरक्षा गरिपाउँ भनी वडा प्रहरी कार्यालयमा निवेदन दिए, यसरी प्रहरीमा निवेदन दिएपश्चात विपक्षी पतिसमेतले मलाई रेखदेख संरक्षण नदिएको, मलाई कि खान लाउन दिनुहोस नत्र अंश दिनुहोस भनी विपक्षी पतिसँग अनुरोध गर्दा जानेको गर अंशसमेत दिन्न भनेकाले अन्याय परी अदालतको शरणमा आएको
छु । हामी जम्मा ६ अंशियार छौं । जेठी सौता दिदी धना भण्डारीले पहिले नै पुन: विवाह गरीसक्नु भएको छ । तसर्थ बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षीहरू जिम्मा नै भएकाले मुलुकी ऐन, अंश बन्डाको २०, २१, २२, २३, २४ नं. बमोजिम विपक्षीहरू बाटै बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी मागी विवाह हुन बाँकी छोराहरूको विवाह खर्चसमेत पर सारी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी ६ भागको १ भाग अंश दिलाई पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।
विपक्षी वादी कास्की जिल्ला भरतपोखरी गा.वि.स. डाँडागाउँ बस्ने डण्डपाणि पराजुलीकी अविवाहिता छोरी हुनुहुन्छ । विपक्षीसँग म धनबहादुर भण्डारीको विवाह भएको होइन । अंश पाउँ भन्ने वादी दाबी झुठ्ठा हो । निजसँग जागिरको सिलसिलामा चिनजान भएको हो । विपक्षी २०५८ साल मार्ग महिनामा पत्नी र सौताको रूपमा हाम्रो घरमा आई बसेको भन्ने वादी दाबीसमेत झुठ्ठा हो । निज त्यस अवस्थामा र हालसम्म पनि पोखरा १०, रामबजारमा निजको दाजु कृष्ण पराजुलीसमेतका परिवारसँगै डेरामा बस्ने गर्नु
हुन्छ । विपक्षी वादीले हाम्रो मित्रवत व्यवहारको नाजायज फाइदा उठाउने उद्देश्यबाट हामीसँग अस्वाभाविक चाल चलन गर्न थाल्नु भयो । हामीसँग ऋण सापट भनी पटकपटक पैसा माग्नेसमेतका कार्य विपक्षीबाट भए । विपक्षीले २०६० सालको आखिरीदेखि कहिले फोनबाट ज्यानै लिनेसम्मको डरधाक धम्की दिने कहिले गुण्डा केटाहरू लगाई बाटोमा कुटपिट गर्न लगाउने जस्ता कार्य गरी हामीलाई दु:ख हैरानी दिँदै आउनु भएको हो । विपक्षीबाट हाम्रो जिउधनको खतरा भएपछि शान्ति सुरक्षा पाउनका लागि २०६१/०९/०६ मा म प्रतिवादी गिता भण्डारीले द.नं. ७५ मा जिल्ला प्रहरी कार्यालय, कास्कीमा निवेदन दर्ता गरेको थिएँ । म धनबहादुर भण्डारीले पनि निज विपक्षीका विरूद्धमा २०६१/११/०९ मा दर्ता नं. ९१६७ मा शान्ति सुरक्षा पाउनको लागि निवेदन दर्ता गराएको थिएँ । यसरी विपक्षीले डरधाक धम्की दिने दु:ख हैरानी दिने गरेकीमा को कस्को उक्साहटमा लागी सम्मानित अदालतसमक्ष झुठ्ठा व्यहोरा उल्लेख गरी अंश मुद्दा दायर गर्नुभएको रहेछ । जेठी श्रीमती धनमायाले दोस्रो विवाह गरी म धनबहादुरसँग लोग्ने स्वास्नीको नाता सम्बन्ध विच्छेद गरेकी हुन् । जेठी पत्नीको कोखबाट छोरी रचना र छोरा जीवन भण्डारीको जन्म भएका हो । गिता भण्डारीको कोखबाट छोरा रवी भण्डारी र छोरा आशिष भण्डारीको जन्म भएको छ । २०४४ सालमा बाबु आमासमेत सँग अंश लिई छुट्टि भिन्न भई जिम्मेवारी पूर्ण तवरले घर व्यवहार चलाई बसेको मैले विपक्षीसँग विवाह गर्नुपर्ने कुनै कारण र आवश्यकता नै छैन । वादीको कथन आफैँमा अपत्यारिलो हुँदा झुठ्ठा
हो । विपक्षी हामी अंशियार नाताकी व्यक्ति नहुँदा हामीले निजलाई अंश दिनुपर्ने होइन । झुट्ठा फिराद खारेज गरी विपक्षी वादी लाई मुलुकी ऐन, अंश बन्डाको महलको ३४ नं. बमोजिम सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको धनबहादुर भण्डारी र गिता भण्डारीको संयुक्त प्रतिउत्तर पत्र ।
वादी विष्णु भण्डारी, मेरो श्रीमान धनबहादुरकी श्रीमती होइनन् । यी वादी अविवाहिता हुन् । यिनी दण्डपाणी पराजुलीको छोरी हुन् । यिनी कहिल्यै पनि मेरो श्रीमानको श्रीमती बनी घरमा आएकी होइनन् । वादीको फिराद तथा बयान सम्पूर्ण झुठ्ठा
हो । यी वादी मेरो श्रीमान्को श्रीमती नहुदा मसँग सौता दिदीको नाता कायम हुने होइन । हामीसंग अंश पाउने होइन भन्नेसमेत व्यहोराको गिता भण्डारीले अ.बं. ८० नं. बमोजिम नाता कामयतर्फ गरेको बयान ।
प्रतिवादी धनबहादुर भण्डारीले मलाई नोकरी दिने भनी धेरै प्रलोभन देखाई मैले इन्कार गर्दा पनि आफ्नो बुढीऔंला काटी रगतको सिन्दुर मेरो सिउँदोमा लगाई श्रीमती स्वीकार गर्नुभएको थियो । पृथ्वीचोक स्थित ममता होटलमा राखी हामीबीच श्रीमान् श्रीमतीको सम्बन्ध स्थापित भएको
थियो । त्यसपछि पटकपटक श्रीमानको इच्छाअनुसार शारीरिक सम्बन्ध स्थापित भयो । केही समय डेरामा राखी २०५८ सालमा मलाई विपक्षीले घरमा लानु
भयो । केही समय मिलाएर राख्नु भयो । पछि मलाई खान लगाउन नदिने अश्लील शब्दहरू प्रयोग गर्ने गर्नुभएकोले पछि फेरी मेरो लागि कोठा खोजी रामबजारमा ल्याई राख्नु भएको थियो । मेरो नागरिकता बनाई दिनुहोस भन्दा नबनाई दिनु भएकोले मैले माइतीबाट नागरिकता बनाएकी हुँ । त्यसैले यी प्रतिवादी धनबहादुरसँग लोग्ने र प्र. गिता भण्डारीसँग सौता दिदीको नाता कायम गरी कानूनबमोजिम अंश पाउँ भन्नेसमेत वादी विष्णु भण्डारीले अ.बं. ८० नं. बमोजिम नाता कायमतर्फ गरेको बयान ।
वादी मेरी श्रीमती होइनन् । वादीले २०६१ सालमा नागरिकता लिँदासमेत मेरो विवाह भएको छैन भनी बाबुको नाम राखी माइती तर्फबाट नागरिकता लिएकी छन् । यी वादी मेरी श्रीमति नहुँदा श्रीमती नाता कायम हुने होइन । यी वादीले मसँग अंश पाउने
होइनन् । वादी दाबी एवं बयान सम्पूर्ण झुट्ठा हो भनी प्रतिवादी धनबहादुर भण्डारीले अ.बं. ८० नं. बमोजिम नातामा गरेको बयान ।
वादी प्रतिवादीका साक्षीले गरेको बकपत्र मिसिल संलग्न रहको । विष्णु कुमारी पराजुलीले जिल्ला प्रशासन कार्यालय, कास्कीमा ना.प्र. पत्र बनाउँदा पेस गरेको कागजातको प्रतिलिपि मिसिल संलग्न रहेको ।
प्रयाप्त एवं विश्वासयोग्य प्रमाणको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम गर्न नमिल्ने भनी ने.का.प. ०५२ अंक ६ नि.नं. ६०३१ मा समेत सिद्धान्त प्रतिपादित भइरहेको हुँदा प्रस्तुत मुद्दामा वादी विष्णु भण्डारीलाई पति धनबहादुर भण्डारीको स्वास्नी कायम गर्न मिलेन । लोग्ने स्वास्नीको नाता कायम नहुने ठहर भएकोले वादीले प्रतिवादीहरूबाट अंश पाउँ भन्ने दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू कास्की जिल्ला अदालतको मिति २०६३/०४/२२ को फैसला ।
सुरू कास्की जिल्ला अदालतको फैसलामा चित्त बुझेन । मेरो वादी दाबीलाई मेरा साक्षीहरू, फोटो र पत्रसमेतले पुष्टि गरी रहेकोमा सो प्रमाणहरूलाई इन्कार गर्दै भएको सुरू फैसला त्रुटिपूर्ण छ । उनाउ व्यक्तिलाई त्यसै मैले मेरो लोग्ने हो भन्नु पर्ने सम्मको कारण विपक्षीहरूले देखाउन नसकेको अवस्था, दशौ वर्ष पति पत्नी भई बसेको कुरालाई स्पष्ट गर्दै फिराद गरेको र मेरो दाबीलाई साक्षीहरूले पुष्टि गरेको समेत अवस्थामा उनाउ व्यक्तिउपर मैले कुनै दाबी नगरेको तथ्य मिसिलबाट उजगार भइरहेको अवस्थामा आकर्षित नै नहुने नजिर मेरा विरूद्ध प्रमाण लगाई मलाई हराई गरिएको फैसला त्रुटिपूर्ण छ । अत: मेरो पुनरावेदन जिकिरको मूल्याङ्कन गरी र मिसिल संलग्न प्रमाणको न्यायिक विवेचना गरी सुरू कास्की अदालतको मिति २०६३/०४/२२ को फैसला बदर गरी विपक्षी प्रतिवादी धनबहादुर भण्डारीसँग पुनरावेदीकाको पत्नी नाता कायम गरी विपक्षी प्रतिवादीहरूबाट तायदाती फाँटवारी लिई मेरो फिराद दाबीबमोजिम ६ भागको १ भाग अंश छुट्याई मलाई दिलाई न्याय इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको वादी विष्णु भण्डारीको पुनरावेदन पत्र ।
यसमा वादी प्रतिवादीको संयुक्त फोटो पेस भएकोसमेत सन्दर्भमा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागी प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखरा संयुक्त इजलासबाट मिति २०६४/०२/१६ मा भएको आदेश ।
यसमा पुनरावेदक, वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू शारंगा सुवेदी र शान्तीसिंह भण्डारीले गर्नुभएको बहससमेत सुनि विचार गर्दा वादीले पेस गरेको मिति २०५०/१०/०५ को पत्रलाई प्रतिवादीले आफ्नै हस्ताक्षरको हो भनी स्वीकार गरेको देखिएको, सो पत्रको लेख व्यहोराबाट निजहरू बीचको सम्बन्ध लोग्ने स्वास्नीको होइन भन्ने आभाष नभएको, वादीले पेस गरेको फोटोहरू स्वभाविकरूपमा खिचिएका हुन भन्ने प्रतिवादीको स्वीकारोक्ति रहेको, वादीका साक्षीहरूले गरेको बकपत्रबाट निजहरूले विवाह गरी लोग्ने स्वास्नीको रूपमा रहेको भन्ने देखिएको वादीले नागरिकता लिँदा पतिको नाम लेखाउन नसक्ने कारणहरू दिएकी र अबला नारीको हकमा उक्त कारण अस्वभाविक होइन भन्ने पनि नदेखिएको अतिरिक्त निजले सिन्दुर पोते लगाएको फोटो नागरिकतामा राख्नु पर्ने कारण एवं उनाउ व्यक्तिलाई पति हो भनी आफ्नो चरित्रलाई लाञ्छित गर्नुपर्ने कारण प्रतिवादीले स्पष्टरूपमा दिन खुलाउन नसकेको जस्ता प्रमाणहरूबाट वादीलाई प्रतिवादी धनबहादुर भण्डारीले प्रेम विवाह गरी शारीरिक सम्पर्क स्थापित गरी स्वास्नी बनाएको होइन रहेछ भन्ने नदेखिँदा निजहरू बीच लोग्ने स्वास्नीको नाता कायम हुने देखियो ।
निजहरू बीच लोग्ने स्वास्नीको नाता कायम हुने अवस्था परिलक्षित भएको हुँदा वादीले प्रतिवादीबाट अंशसमेत पाइसकेको अवस्था नहुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी मुलुकी ऐन, अंश बन्डाको २०, २१, २२ र २३ नं. बमोजिम वादी, प्रतिवादीबाट तायदाती फाँटवारी लिई एक अर्कालाई सुनाई नपुग कोर्ट फी कानूनबमोजिम लिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखरा संयुक्त इजलासको मिति २०६५/०२/१३ को आदेश ।
पुनरावेदन अदालत, पोखराका आदेशानुसार माग भएको तायदाती फाँटवारी पुनरावेदक, वादी विष्णु भण्डारी र प्रत्यर्थी, प्रतिवादी धनबहादुर भण्डारी र गिता भण्डारीले दाखिला गरी मिसिल संलग्न रहेछ ।
यसमा पुनरावेदक वादीले तायदाती फाँटवारी दिँदा सासु कलावती भण्डारी पनि रहेको र निजका नाउँमा सम्पत्ति पनि छ भन्ने हुँदा निजलाई बुझ्नु पर्ने देखिँदा अ.बं. १३९ नं. बमोजिम निजलाई झिकाउन वादीबाट वतन खुलाई ७ दिने म्याद दिई झिकाई आएपछि निजका नाउँमा भएको सम्पत्ति बन्डा हुने नहुने सम्बन्धमा प्रतिक्रिया लिई बन्डा नहुने कारण र प्रमाण भए सो पेस गराई अन्य अंशियार भएमा निजहरूको नाम वतनसमेत निजबाट खुलाई निजहरूलाई समेत अ.बं. १३९ नं. बमोजिम झिकाई निजहरूका नाउँमा भएको सम्पत्तिको विवरण खुलाई पेस भएका तायदाती एक अर्कालाई सुनाई पुरानो मुद्दा हुँदा चाँडो कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखरा संयुक्त इजलासको मिति २०६५/०८/०४ को आदेश ।
यसमा मिति २०६५/०८/०४ को आदेशानुसार बुझिई आज कागज गर्ने कलावती भण्डारीले आफू २०४४/११/१३ मा अंश बुझेको भरपाई पारित गरी अंश लिई छुट्टिभिन्न भई बसेको, सगोलको बन्डा गर्नुपर्ने सम्पत्ति आफू जिम्मा नभएको र अरू आफूसँग सगोलका अंशियार नभएको भनी कागज गरेको भए तापनि पुनरावेदक वादी विष्णु भण्डारीले मिति २०६५/०५/२३ मा दिएको तायदातीउपरको उजुरी निवेदनमा यी कागज गर्ने कलावती भण्डारीका नाउँमा बन्डा गर्ने सम्पत्ति छ भनी जिकिर लिएको देखिँदा निजलाई तारेखमा राखी कानूनबमोजिम गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखरा संयुक्त इजलासको मिति २०६५/०९/२१ को आदेश ।
यसमा कारणीसरह देखिएकी कलावती भण्डारीले कागज गर्दा जिल्ला अदालत कास्कीमा दु.फौ. १०८ को जालसाजी मुद्दासमेत रहेको भनी कागजबाट देखिँदा उक्त मुद्दाहरू सम्बन्धित जिल्ला अदालतबाट झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखरा संयुक्त इजलासको मिति २०६५/१०/२६ को आदेश ।
वादी प्रतिवादीबीच २०६५/०२/१३ मा नाता कायम हुने गरी भएको आदेशअनुरूप प्रमाणहरूसमेतको मूल्याङ्कनबाट निज प्रतिवादी धनबहादुर भण्डारी र वादी विष्णु भण्डारीबीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्छ । सो ठहर्नाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी निज प्रतिवादीबाट तापादातीमा उल्लिखित पोखरा उपमहानगरपालिका वडा नं. १५ मा पर्ने कि.नं. १५४६ को ०-५-०-० (पाँच आना) जग्गा र सोमा बनेको खुल्न आएको घरसमेतको ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्छ । तायदातीमा देखाइएको ऋणका सम्बन्धमा पेस भएको विवरण अनुसार २०६४/०९/२४ मा मुद्दा परिसकेपछि मात्र ऋण लिएको देखिँदा पछि ठहरेबमोजिम हुने नै हुँदा हाल ऋण वादीलाई बन्डा हुने अवस्था देखिँदैन । यसरी जिल्ला अदालत कास्कीले वादीले अंश नपाउने ठहर्याई गरेको मिति २०६३/०४/२२ को फैसला उल्टी हुने ठहर्छ । बुझिएकी कलावती भण्डारी अघिनै छुट्टी सकेकी देखिँदा त्यसतर्फ वादीको दाबी पुग्ने देखिँदैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखराको मिति २०६६/०२/५ को फैसला ।
विपक्षी वादी र म प्रतिवादी धन बहादुर भण्डारीबीच लोग्ने स्वास्नीको नाता कायम हुने र हामी प्रतिवादीहरूबाट वादीले अंशसमेत पाउने ठहर गरी भएको पुनरावेदन अदालत, पोखराको फैसलामा चित्त बुझेन । बादीका साक्षी कसैले पनि वादी र प्रतिवादी धनबहादुरबीच विवाह भएको मैले देखेको हो भन्न लेखाउन सक्नु भएको छैन । वादीले आफ्नो फिराद पत्रमा विवाह पछि २०५८ सालमा धनबहादुरको घरमा गई परिवारसँग सौहार्द पूर्णरूपमा बसेको भन्ने उल्लेख गर्नुभएको छ । हामीले प्रतिउत्तर पेस गरेपछि र सत्य तथ्य खुलेको र प्रमाणबाट विवाह भएको घरमा गई बसेको कुरा झुठ्ठा देखिएपछि त्यस पछिको बयान र पुनरावेदन पत्रमा समेत आफ्नो कथनलाई फेरेर २०६० सालमा नागरिकता प्रमाण पत्र लिँदासम्म पनि हाम्रो विवाह प्रकाशित भएको थिएन भन्नु भएको देखिन्छ । हामी प्रतिवादीहरूको प्रतिउत्तर जिकर र बयानहरूलाई समर्थन हुनेगरी हाम्रा साक्षीहरूले वादी र प्रतिवादी धनबहादुर भण्डारीबीच लोग्ने स्वास्नीको नाता सम्बन्ध नभएकोले वादीलाई प्रतिवादीहरूले अंश दिनुपर्ने होइन भनी बकपत्र गर्नुभएको छ । वादी आफैँले र निजका माइला दाजु कुलप्रसाद पराजुलीले पनि २०६० सालमा वादीले नागरिकता प्रमाण पत्र लिदा वादीको हालसम्म विवाह भएको छैन भनि अविवाहित भएको पति नभएको व्यहोरा उल्लेख गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले दिएको नागरिकता प्रमाण पत्रमा पनि पति छैन भन्ने जनाइएको छ । प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसार कुनै पनि निहु र बहाना देखाएर निजले खण्डन गर्न पाउने होइनन, यसमा विवन्धनको सिद्धान्त लागू हुन्छ । पुनरावेदन अदालत, पोखराबाट भएको उक्त फैसला ने.का.प. २०५२, अंक ७, नि.नं. ६०४६, पृष्ठ ६४७ मा प्रकाशित सम्मानित श्री सर्वोच्च अदालतबाट प्रतिवादित “पर्याप्त एवं विश्वास योग्य पक्का प्रमाणको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम गर्न न्यायिक दृष्टिले मिलेन देखिँदैन” भन्ने सिद्धान्तको समेत विपरीत भएकोले प्रतिवादीहरूबाट वादीले अंशसमेत पाउने ठहरे गरी भएको श्री पुनरावेदन अदालत, पोखराको मिति २०६६/०२/०५ को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी विपक्षी वादीको दाबी नपुग्ने ठहर गरी सुरू कास्की जिल्ला अदालतको फैसला सदर कायम राखी न्याय इन्साफ पाउँ भन्ने पुनरावेदक प्रतिवादी धनबहादुर भण्डारीसमेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा वादीको मिति २०६१/०२/१५ मा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट नेपाली नागरिकताको प्रमाण पत्र लिँदा पिताको नाउँ दण्डपाणी पराजुली उल्लेख गरेको पतिको नाउँ उल्लेख नभएको, नागरिकताको प्रमाण पत्र पाउन दिएको दरखास्तको पछाडीपट्टी निजको माइला दाजु कुलप्रसाद पराजुली र स्वयम् वादीले सो मिति २०६०/०२/१३ सम्म अविवाहित रहेको भनि उद्घोष गरेकोसमेतका प्रमाण पेस हुँदाहुँदै पनि सोको मूल्याङ्कन नगरी वादी र प्रतिवादी धनबहादुरबीच लोग्ने स्वास्नीको नाता कायम हुने गरी भएको पुनरावेदन अदालत, पोखराको फैसलामा अ.बं. १८४ क, १८५, १८९, प्रमाण ऐन २०३१ को दफा ३, ६(ङ), ५४ को प्रतिबन्धात्मक वाक्यांशको त्रुटि भएको देखिई सो फैसला फरक पर्न सक्ने हुनाले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०६९/०२/३१ को आदेश ।
यसमा वादीले प्रतिवादी आफ्नो पति भएकोले अंश दिलाई पाउँ भनी दाबी गरेकोमा वादी आफ्नो पत्नी नभएको भनि वादीलाई अंश दिन इन्कार गरेको देखिएकोले प्रस्तुत विवादमा नाता सम्बन्धसम्बन्धी विवाद रहेकोले प्रस्तुत विवाद मेलमिलापबाट निरूपण गर्न बढी वाञ्छनीय र उपयुक्त हुने देखिँदा ४५ दिनभित्र मेलमिलाप गराई पठाउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५ घ बमोजिम दुवै पक्षलाई तारेख तोकी यस अदालतको मेलमिलाप केन्द्रमा पठाई दिनु भन्नेसमेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०७१/०७/१९ को आदेश ।
पुनरावेदन धनबहादुर भण्डारीसमेत प्रत्यर्थी विष्णुकुमारी पराजुली भएको संवत् २०६६ सालको ०६६-CI-०३८४ को अंश चलनसमेत मुद्दामा मेलमिलाप गराउन मलाई मिति २०७१/०६/२८ मा मेलमिलापकर्ताको रूपमा कार्य गर्न तोकिएअनुसार पक्षहरूसँग छलफल हुँदा पक्षहरूको बिचमा मिलापत्र नहुने गरी टुंगो लागेको हुँदा प्रतिवेदन पेस गरेको भन्नेसमेत व्यहोराको मेलमिलापकर्ता रामप्रसाद भट्टराईको मिति २०७१/१०/२६ को प्रतिवेदन ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी धनबहादुर भण्डारीसमेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री ईश्वरीप्रसाद भट्टराई, श्री नवराज थपलिया र श्री ममता बास्कोटा भट्टराईले पुनरावेदक प्रतिवादी धनबहादुर भण्डारीले सुरू कास्की जिल्ला अदालतमा मुलुकी ऐन, अ.बं. ८० नं. बमोजिम बयान गर्दा उक्त चिठ्ठीको हस्ताक्षर मेरो होला जस्तो छ, यदि मेरो भएमा पनि सम्बोधन अरू कसैलाई गरेको हुनुपर्छ वादीलाई लेखेको चिठ्ठी होइन भन्नुभएको छ त्यस पत्रमा वादीलाई सम्बोधन गरी लेखिएको पनि छैन । उक्त पत्र लोग्नेले स्वास्नीलाई लेखेको पत्र हो भन्ने आभास दिने खालको छैन । उक्त पत्र पुनरावेदक प्रतिवादीको विरूद्धमा प्रमाण लाग्ने लिखत हुन सक्दैन । पेस भएका फोटोहरू मध्ये वादी विष्णु पराजुली र प्रतिवादी धनबहादुर भण्डारी स्वभाविकरूपमा साथै बसेर खिचेको फोटो होइन, आधुनिक प्रविधिबाट २ अलगअलग फोटोहरूलाई एकै ठाउँमा राखी फोटोबाट फोटो तयार गरिएको फोटो हो । स्वयम् वादीले २०६० सालमा नागरिकता प्रमाण पत्र लिँदा आफू अविवाहित छु भनी कागज गरेकी र बाबुको नाम राखी माइतीतर्फबाट नागरिकता लिएकी छिन । प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसार निजलाई बिवन्धन को सिद्धान्त लागू हुन्छ । प्रयाप्त एवं विश्वासयोग्य प्रमाणको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम गर्न नमिल्ने भनी ने.का.प. २०५२ अंक ६ नि.नं. ६०३१ मा समेत सिद्धान्त प्रतिपादन भइरहेको हुँदा पुनरावेदन अदालत, पोखराबाट मिति २०६६/०२/०५ मा भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दाबी नपुग्ने ठहर गरेको सुरू कास्की जिल्ला अदालतको मिति २०६३/०४/२२ को फैसला सदर हुनुपर्दछ भनि प्रस्तुत गर्नुभएको बहस जिकिर सुनियो ।
प्रत्यर्थी वादी विष्णु भण्डारीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री शेरबहादुर के.सी.,श्री भिमार्जुन आचार्य, श्री रामचन्द्र पौडेल र श्री सुधा खतिवडाले २०५० सालमा कुमार पराजुलीमार्फत प्रतिवादी विष्णु भण्डारी र धनबहादुर भण्डारीबीच चिनजान भएको हो । तत्पश्चात् प्रतिवादी धनबहादुर भण्डारीले यी वादी विष्णु भण्डारीलाई जागिर लगाई दिन्छु भन्ने प्रलोभनमा पारी २०५०/०९/२६ गतेका दिन पोखराको पृथ्वी चोक स्थित ममिता होटलमा बोलाई हाकिम साहेब यहाँ आउनु हुन्छ जागिरको बारेमा कुरा गरौला भनी बोलाई रोकी राखी सोही होटलको कोठामा आफनो बुढी औंला काँटी रगतको सिन्दुर विष्णु पराजुलीको सिउँदोमा लगाई श्रीमती स्वीकार गर्नुभएको हो । बाबुको नाम राखी माइतीतर्फबाट नागरिकता निकाल्दैमा नाता छैन भन्न मिल्दैन । वादीले पेस गरेको मिति २०५०/१०/५ को पत्रलाई प्रतिवादी धनबहादुर भण्डारीले आफ्नै हस्ताक्षरको पत्र हो भनि मुलुकी ऐन, अ.बं. ८० नं. बमोजिम नातामा गरेको बयानमा स्वीकार गरेका
छन् । वादीले २०५०/०९/२६ मा सिउदोमा रगत हाली स्वास्नी बनाएको हो भनी दाबी लिएको कुरासँग निजले पेस गरेको २०५०/१०/५ को पत्र व्यहोरामा “पौष २६ गतेको विषयले अलि समस्या पारेको” भन्ने कुरा २०५०/०९/२६ को विवाहलाई भनेको हो । वादीले पेस गरेका फोटोहरू स्वभाविकरूपमा खिचिएका फोटोहरू हुन् । यसरी यी वादीलाई प्रतिवादी धनबहादुर भण्डारीले प्रेम विवाह गरी स्वास्नी बनाएका हुँदा निज प्रतिवादी धनबहादुर भण्डारी र वादी विष्णुबीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर गरी ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्याएको पुनरावेदन अदालत, पोखराको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पोखराको फैसला मिलेको छ, वा छैन? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा विपक्षी पति धनबहादुर भण्डारी र मेरोबीच विगत २०५० सालदेखि चिनजान परिचय भई सोही समयबाट हामीबीच प्रेम सम्बन्ध कायम रही आएकोमा २०५०/०९/२६ गतेका दिन विपक्षी पतिले आफ्नै बुढी औंला काटी रगत निकाली मेरो सिउँदोमा सिन्दुर स्वरूप रगत र सिन्दुरसमेत लगाई दिएपछि विपक्षी पतिले मलाई श्रीमतीको रूपमा स्वीकार गरी विवाह गर्नुभएको हुँदा ६ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादीको फिराद दाबी भएकोमा विपक्षी वादीसँग म धनबहादुर भण्डारीको विवाह भएको होइन । अंश पाउँ भन्ने वादी दाबी झुठ्ठा हो भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्याएको सुरू फैसलाउपर पुनरावेदन अदालत, पोखरामा वादीको पुनरावेदन परेकोमा सुरू फैसला उल्टी भई ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्याएको पुनरावेदन अदालत, पोखराको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
३. पुनरावेदक प्रतिवादी धनबहादुर भण्डारीले नातामा इन्कार गरे पनि आफ्नो प्रतिउत्तर पत्रमा वादीसँग जागिरको सिलसिलामा चिनजान भएको तथ्य स्वीकार गरेको पाइन्छ । त्यसै गरी यी प्रतिवादी धनबहादुर भण्डारीले मुलुकी ऐन, अ.बं. ८० नं. बमोजिमको बयान गर्दा यी वादीले २०६१ सालमा नागरिकता लिँदा मेरो विवाह भएको छैन म अविवाहित हुँ भनी बाबुको नाम राखी माइतीतर्फबाट नागरिकता लिएकी छन् । यसरी नागरिकता र जागिर खाँदा अविवाहित लेखाएपछि हाल आएर विवाहित भनी लिएको दाबीसँग सहमत हुन नसक्ने भनी पुनरावेदक प्रतिवादीले जिकिर लिए तापनि नागरिकताको प्रमाण पत्र भनेको राज्यले नागरिक भएको आधारमा दिइने पहिचानको दस्तावेज हो । नागरिकताले राज्य र नागरिकको सम्बन्धलाई जोड्ने कार्य गरी त्यस्तो सम्बन्धको प्रमाणित गर्ने हुँदा केवल नागरिकताको प्रमाण नाता कायम गर्ने दस्ताबेज हुन सक्तैन । नागरिकतामा कसैको बाबुको नाम मात्र उल्लेख भएको आधारमा कसैलाई विवाहित वा अविवाहित भनी छुटयाउने आधार हुन सक्तैन । प्रस्तुत मुद्दाको सन्दर्भमा प्रतिवादी धनबहादुरले अदालतमा गरेको बयानको स.ज. ३ मा वादी विष्णुकुमारीको नागरिकता निकाल्ने क्रममा सोको लागि भर्नुपर्ने फारम निज आफैँले भरिदिएको भन्ने कुरालाई स्वीकार गरेको देखिएको छ । निजले तत्पश्चात् वादीको नाममा नागरिकता निकाल्न इन्कार गरेको अवस्थामा वादीले राज्यबाट प्राप्त हुने सुविधा र लाभका लागि पनि नागरिकता आवश्यक हुने अवस्थामा आफ्नो पिताको सहयोगमा नागरिकता लिने कुरा स्वभाविक नै हुन जान्छ । त्यसका अतिरिक्त बाबुको नामबाट नागरिकता लिएकै आधारमा कुनै महिला विवाहित वा अबिवाहित छुट्याउने आधार हुन नसक्ने र उक्त नागरिकतामा विवाहित भनी उल्लेख नभएकै आधारमा कुनै महिला अविवाहित रहेको भनी मान्न मिल्ने नहुँदा प्रतिवादीको जिकिर न्यायोचित देखिँदैन ।
४. प्रत्यर्थी वादी विष्णु भण्डारीले पुनरावेदक प्रतिवादी धनबहादुर भण्डारीले २०५०/०९/२६ मा मेरो सिउँदोमा रगत र सिन्दुर हाली स्वास्नी बनाएको हो भनी दाबी लिई सबुद प्रमाणको रूपमा पेस गरेका फोटोहरू मिसिल संलग्न रहेको देखिन्छ । बहसको क्रममा सक्कल पत्रसमेत पेस भएको देखिन्छ । वादीका साक्षीहरूले विष्णु भण्डारी प्रतिवादी धनबहादुर भण्डारीको स्वास्नी हुन भनी बकि लेखाई दिएको अवस्था छ । निज वादी विष्णु भण्डारीले मुलुकी ऐन, अ.बं. ८० नं. बमोजिमको बयान गर्दा विपक्षी धनबहादुरले मलाई धेरै प्रलोभन देखाई मैले इन्कार गर्दा पनि आफ्नो बुढी औंला काटी रगतको सिन्दुर मेरो सिउँदोमा लगाई श्रीमती स्वीकार गर्नुभएको हो । त्यसपश्चात् निजको इच्छाअनुसार मलाई ठाउँ-ठाउँमा बोलाई इच्छाअनुसार करणी गर्नु हुन्थ्यो भनी आफ्नो व्यहोरा लेखाई दिएकी छन् । वादीले बयानको क्रममा पेस गरेको २०५०/१०/०५ को चिठ्ठीको हस्ताक्षरलाई प्रतिवादी धनबहादुर भण्डारीले प्रतिउत्तर बयान गर्दा उक्त चिठ्ठीको हस्ताक्षर मेरै होला जस्तो छ भनी तथ्य स्वीकार गरी बयान गरेको पाइन्छ । उक्त २०५०/१०/५ को पत्रमा पौष २६ गतेको विषयले अलि समस्या पारेको थियो । घरमा मुस्कील साथ सफाई पेस गरे। तसर्थ २/४ दिन अलि सतर्कता अपनाउनु परेको छ भनी उल्लेख भएको उक्त पत्रको बहसको क्रममा पेस गरेको सक्कलबाट देखियो । पत्रको सो व्यहोराबाट पनि यी वादी र प्रतिवादीबीचमा २०५०/९/२६ मा विवाह भएको रहेछ र सोही विवाहलाई सम्बोधन गरेको रहेछ भनी बुझ्नुपर्ने हुन आयो । त्यसै गरी वादीले पेस गरेका फोटोहरू हामी २ जना म र प्रतिवादी धनबहादुर काठमाडौं गई जोमसोम होटलमा बास बस्दा आफैँंले क्यामरा लगी दुवै जनाले खिचेको हो । उक्त फोटो म र धनबहादुरको हो भनी बयानमा लेखाई दिएकी छन् । उक्त फोटोको स्वरूप हेर्दा स्वभाविकरूपमा नै खिचिएका कुनै उपकरणको मद्दतले फोटो जोडिएको भन्ने
देखिँदैन । उक्त फोटोहरूलाई प्रतिवादी धनबहादुर भण्डारीले खण्डन गर्न सकेका छैनन् । प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार अदालतले कुनै व्यक्तिको अर्को कुनै व्यक्तिसँग कुनै नाता सम्बन्ध छ वा छैन भन्ने कुरा यकिन गर्नु परेमा त्यस्तो नाता वा सम्बन्धको विशेष जानकारी हुन सक्ने स्थितिमा भएका व्यक्तिको राय प्रमाणमा लिन हुन्छ भन्ने कानूनी व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा कुमारप्रसाद पराजुली वादी विष्णु भण्डारी र प्रतिवादी धनबहादुर भण्डारी दुवै जना लाई राम्रोसँग चिन्ने जान्ने स्थितिमा रहेका व्यक्ति भएका निजले बकपत्र गर्दा वादी विष्णु भण्डारीले दाबीबमोजिम आफ्नो अंश छुट्याई लिन पाउनु पर्छ भनि लेखाई दिएको भन्ने कुराको प्रमाणिक महत्त्व अरू साक्षीहरूको भनाई भन्दा बढी हुन्छ र प्रमाणमा सरोकार हुन्छ । नाता सम्बन्ध कायम गर्ने कुरामा प्रमाण ऐन, २०३१ को २३(४) अनुसार सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्ति भएको प्रमाणमा सरोकार हुने सिद्धान्त ने.का.प. २०३७ नि.नं. १३४१मा प्रतिपादन भएको छ । एक नारीले बिनाकारण उनाउ व्यक्तिलाई पति हो भनि आफ्नो चरित्र माथि लाञ्छित गर्ने कुरा आउँदैन । यसरी फिराद दाबीलाई अन्य प्रमाणहरू जस्तै वादीका साक्षीहरू, फोटो, पत्रसमेतले पुष्टि गरिरहेको सन्दर्भमा पुनरावेदन जिकिर र पुनरावेदकतर्फका विद्वान् अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन सकिएन । यी वादी विष्णु भण्डारी र प्रतिवादी धनबहादुर भण्डारीबीच लोग्ने स्वास्नीको नाता देखिएकाले वादीले प्रतिवादी धनबहादुर भण्डारीबाट अंश पाउने नै देखिन आयो ।
५. यस अवस्थामा प्रस्तुत मुद्दामा वादी दाबी नपुग्ने ठहर्याएको सुरू फैसला उल्टी गरी पेस भएको प्रमाणसमेतको मूल्याङ्कनबाट प्रतिवादी धनबहादुर भण्डारी र वादी विष्णु भण्डारीबीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्याई ६ भागको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्याएको पुनरावेदन अदालत, पोखराको फैसलालाई अन्यथा भन्न मिलेन ।
६. तसर्थ माथि उल्लिखित आधार प्रमाणसमेतबाट सुरू कास्की जिल्ला अदालतको मिति २०६३/०४/२२ को फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६६/०२/०५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.डा. आनन्दमोहन भट्टराई
इजलास अधिकृत : विदुरकुमार उपाध्याय
इति संवत् २०७३ साल चैत ९ गते रोज ४ शुभम् ।