निर्णय नं. १५२९ - उत्प्रेषण

निर्णय नं. १५२९ ने.का.प. २०३९ अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको रिट नं. १०७४
आदेश भएको मिति : २०३९।१।१४ मा
निवेदक : ल.पु.न.पं.वडा नं.१४ जोम बहाल बस्ने गोविन्दबहादुर सिल्पकार
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने नरेन्द्रलक्ष्मी सिल्पकार ल.पु.न.पं.का बैठक
बिषय : उत्प्रेषण
(१) पक्ष बिपक्षले दावी गरेको कुराबाट तेरो मेरोको प्रश्न उपस्थित भएकोमा न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम तेरो मेरोमा उजुर गर्न अदालतमा जान सुनाउनु पर्नेमा सो बमोजिम नगरी वादी दावी खारेज गर्ने गरी गरेको निर्णय उक्त ऐनको अनुकूल देखिन नआएकोले उत्प्रेषणको आदेश जारी गरी ल.पु.न.पं.ले ०३७।१२।२ मा र ल.पु.न.पं.बैठकले ०३८।३।९।३ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ९)
आदेश
न्या.हरगोविन्द सिंह प्रधान
१. विपक्षी बैठकले ०३७।१२।२४।२ को निर्णय सदर गर्ने गरी गरेको ०३८।३।९।३ को निर्णय बदर गरी पाउँ भनी दिएको नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा यस प्रकार छ :
२. ल.पु.ओम बहाल टोलको पूर्व पश्चिम उत्तर मोहडा भएको २ नाले चार तल्ला लम्बाई फिट २० फुट १९ को मेरो घर भएको र सो देखि पूर्व पट्टी बलरामसँग किनेको विपक्षीको घर भएकोमा मेरो घरको पूर्व पट्टीको गार्हो मेरो एकलौटी भएको गार्होलाई आफ्नो गाहारो बनाई मेरो घरको गाहारो मिची सो गाहारोदेखि मेरो घरको छाना माथि १ फुट जति निजको घरको छाना पश्चिम पट्टी १ फुट निकाली बिना नक्साबाट घर बनाउन लागेको बिना नक्साबाट १ तल्ला थपी बनाउन लागेको घर रोक्का गरी पाउँ भन्ने समेत गोविन्दको उजुरी दर्खास्त परी जारी भएको म्याद भित्र ०३४।३।२४।६ को स्वीकृती अनुसार बिग्रेको झ्याल फेरि झिंगटीको छाना कर्कटपाताको छानो राखी बनाएका १ फुट जति निकाली बनाएको होइन भन्ने समेत व्यहोराको लिखितजवाफ परेको हुँदा यसमा वादीले बिना नक्साले घर बनाएको भन्ने समेत व्यहोराको उजुरी दर्खास्त दिई आफ्नो हक भोगको गाहारो भन्ने विपक्षीमा केही निस्सा प्रमाण पेश गर्न नसकेको र लिखितजवाफ अनुसार प्रतिवादीले ०३४।३।२४।६ मा इजाजत लिई झिंगटी छाना झिकी कर्कटपाता राखी झ्याल सम्म मर्मत गरी बनाएको भनी लिखितजवाफ पर्न आएको हुँदा वादी दावी अनुसारको गाहारो वादीको कायम गर्न सम्बन्धीत अदालतमा उजुर गर्न जानु पर्नेमा यस पञ्चायतमा उजुर दिनु भएकोले परेको उजुरी दर्खास्तबाट कारवाही गरी रहन नपर्ने गरी उजुरी दर्खास्त खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ल.पु.न.पं.मुद्दा समितिको ०३७।१२।२४।२ को निर्णय पर्चा ।
३ ओभरसियर जाँच्न पठाई नयाँ बनाएको ठहरे न.पं.ऐनको ५३ दफाले भत्काउनुपर्नेमा सो नबोली निर्णयगरेको गैरकानूनी हुँदा सुरुकोइन्साफ उल्टाइपाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन ।
४. उक्त खारेज गर्ने गरी गरेको निर्णय पर्चा मनासिव भएकोले सदर गरी फैसला गरी दिएँ भन्ने समेत व्यहोराको नगर पञ्चायत बैठकको ०३८।३।९।३ को फैसला ।
५. जुन विवाद उठेका गाहारोमा मेरो घरको धुरी अडेका छ निदाल अडेका छ चोटा तल्लामा पानी निदाल अडाई रोकेको छ । छेंडी तल्लामा विपक्षीको घर पछी बनाएको हुँदा सो किलासमा मेरो तर्फ जाने ढोका छ । छिंडी भई सो गाहारोमा विश्कर्मा देवता र गणेश देवताको मूर्तिहरु राखिएको छ । त्यस कारण मेरो एकलौटी किलासलाई विपक्षले पनि एकलौटी भनी विवाद उठाएपछि नगर पञ्चायत ऐनको दफा ४९(२) ले अदालतमा गई निर्णय भई आएपछि ठहरे बमोजिम गर्ने सो नक्सा पास नगरी बनाएको छाना न.पं.ऐन दफा ५३ बमोजिम भत्काई दिने वा जरिवाना गर्ने अथवा हक बेहकको निर्णय भई आएपछि ठहरे बमोजिम गर्ने भनी मूल्तवी राख्नु पर्नेमा यस्तो उजुरी कुनै ऐन नै नदेखाई खारेज गरेको कानूनी त्रुटि छ । नक्सा पास नगरी घर बनाएको भन्ने उजुरी भएपछि त्यस तर्फ केही नबोली न.पं.ऐन दफा ५३ बमोजिम जाँच गराई निर्णय गर्नु पर्ने नगरी निर्णय गरेको र ०३६ माघ महिनामा सुरु उजुर गरेको र विपक्षी बैठकले सुरुको इन्साफ सदर गरी ०३८।३।९ मा अदालतमा उजुर गर्न जानु पर्नेमा न.पं.मा उजुर दिन आएकोले खारेज हुने ठहर्छ भनेबाट मेरो दावी अबाटोबाट आएको जस्तो गरी गरेकोमा अब घर बनाउनेको ११ नं.ले १ बर्ष नाघी सकेकोले म अबाटोबाट आएको छैन । कारण नक्सा पास नगरी मिची बनाएमा न.पं.को ऐन दफा ५३ बमोजिम मेरो उजुर परेको र न.पं.ऐन ४९ (२) बमोजिम हक बेहकमा म्याद भित्र उजुरी गरी आए पछि नक्सा पास नगरी बनाए तर्फ यसो गर्ने भनी निर्णय लेखी मुल्तवी राख्नु पर्नेमा नगरी उल्टो मेरो उजुर नै नलाग्ने गरी खारेज गरेकोले अन्य उपचार नहुँदा कानूनी हक र नेपालको संविधानको धारा १० र ऐ.को धारा ११(२)(ङ) ऐ.धारा १५ को संवैधानिक हक समेत हनन हुने गरी अनाधिकार गैरकानूनीसँग निर्णय गरेकोले ऐ.को धारा १६ तथा ७१ अनुसार विपक्षीले गरेको ०३७।१२।२ को निर्णय र सो सदर गर्ने गरेको ०३८।३।९।३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानून बमोजिम निर्णय गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्नेसमेत व्यहोराको रिटनिवेदन ।
६. विपक्षीहरुबाट लिखितजवाफ झिकाई पेशगर्नु भन्ने सिं.बे.को आदेशानुसार ललितपुर नगर पञ्चायत बैठकको नाउँको सूचना ०३८।५।१९मा बुझी लिखितजवाफ नदिई बसेको रहेछ ।
७. निवेदकको जिकिर अनुसारको छाना पश्चिमपट्टि निज तर्फ निकाली मैले नबनाएको कुरा ल.पु.न.पं.को मिसिलबाटै अवगत हुनेछ । घर रहेको विवरण यस प्रकार छ : मेरा पिता काजिमानको विजा पुनतीमा पूर्व मोहडा उत्तर दक्षिण लंगको २ नाले ९ कवले घर र सो घरको उत्तरतर्फबाट पश्चिम तर्फ जोडिएको उत्तर मोहडा पूर्व पश्चिम लंग २ नाले ३ कवले घर र सो घरबाट दक्षिण पट्टी जोडिएको १ नाले घर समेत थिए । पिताजीका ३ छोरा र २ छोरी भएकोमा छोरामा काजीलाल, न्हुछेलाल, बललाल र छोरीमा १ जनकमाया २ नरेन्द्रलक्ष्मी भएको । उल्लिखित घर बण्डा हुँदा बललालको भागमा परेको पूर्व मोहडाको २ नाले ९ कवले घर मध्ये उत्तर पट्टीको २ कवले घर निजसँग ०१४।८।३।२ मा र निजैसँग योग्यलालले खरीद गरी लिएको घर मध्ये मैले लिएको सो ३ कवल घर देखि दक्षिणपट्टि जोडिएको २ नाले घर कवल १ निज योग्यलालसँग ०३४।६।२३।२ मा मैले फार्छे गरी लिई भोग चलन गरी आएको छु । लिखतहरुमा पश्चिम किल्ला सोही अनुसार लेखिएको छ । लिखतमा पश्चिम किल्ला विपक्षीको गाहारो भनी लेखिएको छैन । मैले घर खरीद गरी लिएको कुरामा विपक्षी स्वयं सावित भई विरोध गर्नु भएको छैन । सो बाट पनि सो गाहारोलाई आफ्नो भन्न नपाउने कुरा प्रष्ट छ । सो घर पहिले मेरा पिताजी एकै व्यक्तिको र पछि बण्डाबाट पाउने व्यक्तिको हक भोग चलनमा रहे अनुसार मेरा दाताहरुसँग मैले खरीद गरी भोग चलन गरी आएकोमा सो मेरो गाहारोमा विपक्षीको धुरी बलो अडेको छ भनी फत्तुर कुरा उल्लेख गर्नु भएको छ । सो घरको छानाबाट बर्षादमा पानी चुहिई मुसीहरु र ठाउँ ठाउँको दलिन औ बुईगल तलाको झ्यालको काठहरु समेत सडी गली जिर्ण भई घर भत्कन लागेकोले छाना र झ्याल समेत जिर्णोेद्वार गरी नबनाई नहुने अवस्था परेकोले झिंगटी छाना झिकी कर्कट पाताको छाना राखी साविक बमोजिम बनाउन ल.पु.न.पं.बाट ०३४।३।२४ मा इजाजत पत्र लिई बनाई तयार भएको अढाई बर्षपछि बिना नक्साले मेरो गारो मिची तला थपी घर बनाउन लागे भनी गरेको उजुरी आधारहिन गैरकानूनी छ । विपक्षका लेखाई अनुसार तला थपी गाहारो मिची निजका तर्फ छाना निकाली बिना नक्सा घर बनाएको समेत कुनै कुरा होईन जिर्णोद्वार गरी झिंगटी झिकी कर्कटपाताको छाना राखी साविक बमोजिम बनाउन न.पं.ऐन दफा ४६ (१) ले नक्सा पास गराई रहन नपर्ने कुरा प्रष्ट छ र न.पं.बाट इजाजतपत्र लिई बनाएकोमा न.पं.ऐन दफा ४९(२) ले सुनाई रहन पर्ने अवस्था नै छैन । हाल सर्भे हुँदा कि.नं.७९३।७९४ मा मेरा नाउँमा नापी भएकोमा विवादको गारोलाई विपक्षी र उहाँका भाइहरु समेत ६ जनाले हाम्रो गाहारो भनी उजुर गरेकोमा नापी टोलीबाट क्षेत्रीय जाँच हुँदा सो गाहारोमा मेरो दलिन अडेको देखी सो घर मेरै कायम गरी दिने भनी ०३८।४।३ मा मेरा नाउँमा बोधार्थ समेत प्राप्त भएको छ । उक्त लेखिए अनुसार न.पं.बाट भएका निर्णयहरु कानूनी नभएकोले सरोकार नभएका अनधिकृत विपक्षले दिएको निवेदनबाट कारवाही चल्न नसक्ने हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नरेन्द्रलक्ष्मीको लिखितजवाफ ।
८. निवेदक तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यको र विपक्षी नरेन्द्रलक्ष्मी तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री कालीराज जोशीले गर्नु भएको बहस समेत सुनियो । मुख्यत : निवेदकका निवेदन जिकिर अनुसारको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिन पर्ने हुन आएको छ ।
९. ल.पु.न.पं.समेतले गरेको निर्णय बदर गरी परमादेशको आदेश समेत जारी गरी पाउँ भनी निवेदकको भनाई भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यस तर्फ उक्त पञ्चायतबाट भएको निर्णय हेर्दा मेरो घरको गाहारोमा विपक्षीले आफ्नो घर बनाएको हुनाले रोक्का गरी पाउँ भनी निवेदकले दिएको उजुरी निवेदनमा निवेदकको गाहारोमा घर बनाएको होईन भनी विपक्षीको जिकिर भएकोमा वादीले आफ्नो दावी कायम गराउन अदालतमा उजुर गर्न जानु पर्छ भनी वादी दावी खारेज गर्ने गरी ल.पु.न.पं.ले गरेको निर्णय उपर पुनरावेदन परी ल.पु.न.पं.बैठकले सोही निर्णयलाई कायम गरेको देखिन्छ । पक्ष विपक्षले दावी गरेको कुराबाट तेरो मेरोको प्रश्न उपस्थित भएकोमा न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम तेरो मेरोमा उजुर गर्न अदालतमा जान सुनाउन पर्नेमा सो बमोजिम नगरी वादी दावी खारेज गर्ने गरी गरेको निर्णय उक्त ऐनको अनुकूल देखिन नआएकोले उत्प्रेषणको आदेश जारी गरी ल.पु.न.पं.ले ०३७।१२।२ मा र ल.पु.न.पं.बैठकले ०३८।३।९।३ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यसमा कानून बमोजिम गर्नु भनी ल.पु.न.पं.का नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । नियम बमोजिम गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०३९ साल बैशाख १४ गते रोज ३ शुभम् ।