शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८३६ - कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल 

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई

फैसला मिति : २०७३।०८।१६

०७२-CF-०००६

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : रामेछाप राकाथुम गा.वि.स. वडा नं. १ बस्ने केदार माझी

विरूद्ध

विपक्षी / प्रतिवादी : कामसिंह माझीको जाहेरीले नेपाल सरकार

कस्तो प्रकृतिको वारदातलाई भवितव्य मान्नुपर्ने हो त भन्ने सन्दर्भमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ५ नं. मा भएको व्यवस्थालाई समेत हेर्न सकिन्छ । उक्त व्यवस्थालाई हेर्दा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्लाजस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भनी उल्लेख भएको र त्यसलाई सोही महलको ६ नं. मा थप स्पष्ट पार्दै देहाय १-५ सम्म एउटा कामको लागि सावधानीसँग हातहतियार उठाएकोमा केही व्यहोराले अर्कालाई लागेमा, होस नपुर्‍याई वा हेलचेक्र्याईं गरी कुनै काम गरी भवितव्य परेमा, रक्षा शिक्षाको क्रममा कुटपिट गर्दा भवितव्य परेकोमा भवितव्य हुनेजस्ता अवस्थाको बारेमा उल्लेख गरेको 

देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थासमेतका आधारमा हेर्दा प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भुइँमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भुइँमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था देखिन नआउने । 

(प्रकरण नं. ९)

अ.बं. १८८ मा उल्लिखित प्रावधान समेतका आधारमा कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सामान्यतः अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याईं (Justification) गर्नुपर्ने । 

(प्रकरण नं. ११)

 

पुनरावेदक वादीको तर्फबाट : 

विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ताद्वय कृष्णजिवि घिमिरे र रेवतीराज त्रिपाठी

अवलम्बित नजिर :

ने.का.प. २०६१, नि.नं.७३९९

ने.का.प. २०६३, नि.नं.७७५२

ने.का.प. २०६९, नि.नं.८८५३

सम्बद्ध कानून :

मुलुकी ऐन, अ.बं.१८८ नं.

 

सुरू फैसला गर्नेः-  

मा.जि.न्या.श्री कैलास के.सी.

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.न्या.श्री टिकाबहादुर हमाल

मा.न्या. श्री मिहिरकुमार ठाकुर

सर्वोच्च अदालतमा फैसला गर्नेः 

मा.न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

 

फैसला

न्या. जगदीश शर्मा पौडेल : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम घ बमोजिम पूर्ण इजलासको दायरीमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

रामेछाप जिल्ला काराथुम १ खैरनीस्थित पूर्व सिंचाई कुलो, पश्चिम सुनकोशी नदी, उत्तर मोटर बाटो र दक्षिण टोकलापुरको खेतको चार किल्लाभित्र टाउकोमा पछ्‌यौरा, कानमा टप, नाकमा बुलाकी, घाँटीमा पोतेसमेत लगाएकी महिला पूर्व खुट्टा, पश्चिम टाउको  मृत अवस्थामा रहेको, निजले प्रयोग गरेको जाँड खाने बटुका, जाँड छान्ने झुल, प्लाष्टिकको बाल्टीन, डोको, नाम्लोसमेत सोही ठाउँमा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का र सोही स्थानमा २ इन्च मोटाई १.२५ से.मी. लम्बाई भएको र्‍याफ्टीङ चलाउने बहाना बरामद भएको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का । 

मिति २०६६।६।१ गते दिउँसो १२ बजेको समयमा राकाथुम १ स्थित खैरनी सुनकोशी नदी किनारामा मेरी श्रीमती वर्ष ६३ की चमेली माझी जाँड बेची रहेकीमा ऐ. घर भई हाल सिन्धुली कुशेश्वर १ दुम्जा बस्ने केदार माझीले श्याम माझीसँग झगडा गरी मेरी श्रीमती रहेको चौतारोमा पुगी डुङ्गा चलाउने बहानाले मेरी श्रीमतीलाई टाउको तथा पेटमा प्रहार गरी घटनास्थलमा नै श्रीमतीको मृत्यु भएकोले निज केदार माझीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराका मृतकका पति कामसिंह माझीको जाहेरी । 

Cause of death is due to cervical injury massive internal herorrhage भन्ने पोष्टमार्टम रिपोर्ट । 

मिति २०६६।६।१ गते बिहान ११ बजेको समयमा म सिन्धुलीस्थित घरबाट राकाथुमस्थित घरतर्फ आउने क्रममा सुनकोशीमा डुङ्गा तरी रामेछापतर्फ आएपछि मलाई डुङ्गा चलाउने श्याम माझीले मुख छोडी ढुंगाले हानेपछि निजलाई कुटपिट गरी निजको डुङ्गाको बहाना बोकी सो ठाउँबाट अं. ५० मिटर टाढा रहेको पिपलको चौतारोमा पुग्दा मृतक त्यहीँ रहिछिन् र निजले मलाई तिमीहरू किन झगडा गरेको भन्दा मलाई रिस उठी मैले बोकेको बहानाले निज मृतक चमेली माझीको टाउकोमा हान्दा सोही ठाउँमा लडिन् र पुनः निजको पेटमा हान्दा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी केदार माझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६६।६।१ गते दिउँसो ११ बजे म र केदार माझी राकाथुमतर्फ आउने क्रममा सुनकोशी नदी डुङ्गाबाट तरी रामेछापतर्फको किनारमा पुग्नासाथ श्याम माझी र केदार माझीबीच झगडा हुँदा निज केदारले श्यामलाई कुटपिट गर्‍यो र मैले छुट्याई दिई म आफ्नो खेततर्फ लागेँ । केदार माझी डुङ्गाको बहाना बोकी पिपलबोटतिर लागे, दिउँसो १२ बजेको समयमा पिपलबोट चौतारीमा मृतक र केदार माझीको बीचमा विवाद भई केदारले निज मृतकलाई बहानाले हानेको देखी दौड्दै जाँदा मृतक बेहोस अवस्थामा थिइन् र तत्कालै मृत्यु भएको हो भन्नेसमेत व्यहोराको रामबहादुर माझीले अनुसन्धानमा गरी दिएको कागज । 

जाहेरीमा उल्लिखित मिति र समयमा म सुनकोशीमा डुङ्गा तान्ने काम गरिरहेको अवस्थामा प्रतिवादी केदार माझीले मसँग विवाद गरी मलाई कुटपिट गरी बेहोस  पारी केही पर रहेकी मेरी हजुरआमा नाता पर्ने चमेली माझीलाई डुङ्गा चलाउने बहानाले हिर्काई मारेछन्, मलाई उपचार गराई घरमा ल्याएपछि निजले कर्तव्य गरी मारेको कुरा थाहा पाएको हो भन्ने श्यामबहादुर माझीले अनुसन्धानमा गरेको कागज । 

मिति २०६६।६।१ गते केदार माझीले चमेली माझीलाई मार्‍यो भन्ने हल्ला सुनी हेर्न गई बुझ्दा केदार माझीले मृतक चमेलीलाई डुङ्गा चलाउने बहानाले टाउको र पेटमा हानी मारेको कुरा तत्काल थाहा पाएको हो भनी सुरेश माझीले र देवचन्द्र माझीले अनुसन्धानमा गरी दिएको कागज । 

मिति २०६६।६।१ गते केदार माझी र श्याम माझीको बीचमा झगडा भयो र त्यसको केही समयपछि केदार माझीले चमेली माझीलाई डुङ्गा चलाउने बहानाले कुट्यो भनेको सुन्नासाथ त्यहाँ जाँदा प्रतिवादीले मृतकलाई बहानाले हानेको देखी नकुट भन्दै दौड्दै जाँदा मृतक चमेलीको घटनास्थल नै मृत्यु भइसकेको रहेछ । कुटपिट गरी मार्नुपर्ने कारण थाहा भएन भनी मेघबहादुर माझी, रामबहादुर माझी, कर्णबहादुर माझीसमेतले गरी दिएको घटनाविवरण कागज । 

घटनास्थल लास जाँच मुचुल्का, बरामदी मुचुल्का, जाहेरी दरखास्त, पोष्टमार्टम रिपोर्ट प्रतिवादीको बयान, अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको कागजसमेतका आधार प्रमाणबाट प्रतिवादी केदार माझीले मिति २०६६।६।१ मा रामेछाप जिल्ला राकाथुम १ खैरनीघाटस्थित पिपलबोट भन्ने स्थानमा जाँड बेचिरहेकी मृतक चमेली माझीलाई डुङ्गा चलाउने बहानाले कुटपिट गरी निज मृतक चमेली माझीको घटनास्थलमा नै मृत्यु भएको तथ्य सिद्ध हुन आएकोले निज प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय होस् भन्ने अभियोग पत्र । 

मैले मिति २०६६।६।१ गते डुङ्गा चलाउने बहानाले जाँड बेचिरहेकी चमेली माझीलाई रामेछाप राकाथुम १ स्थित खैरनी घाटमा एक पटक टाउकोमा र एक पटक पेटमा हान्दा सोही स्थानमा नै मृतक चमेली माझीको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी केदार माझीको अदालतमा भएको बयान । 

यस अदालतको मिति २०६६।६।२५ को आदेशानुसार प्रतिवादी केदार माझी पुर्पक्षको निमित्त थुनामा रहेको र यस अदालतबाट पटक पटक आदेश हुँदासमेत साक्षी बकपत्रको लागि उपस्थित नभएको । 

प्रतिवादी केदार माझीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर गरेकोमा निजलाई सोही महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ र उक्त ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने चित्तमा लागेकोले निजलाई १० वर्ष मात्र कैदको सजाय हुनुपर्ने देखी अ.बं. १८८ नं. बमोजिम आफ्नो रायसहित साधक जाहेर गर्नु भन्ने मिति २०६६।१२।१२ को रामेछाप जिल्ला अदालतको फैसला । 

मृतकलाई कर्तव्य गरी मार्नुपर्ने कुनै पूर्व कारण र योजनावद्ध कार्य गरेको भनी नदेखाई हचुवा तवरबाट ज्यानसम्बन्धीको १३(३) नं. को कसुर गरेको ठहर्‍याउन नमिल्ने हुँदा सुरू फैसला गर्दा कुनै विचार गरिएको छैन । न्यायिक मनको अभाव रहनुका साथै तथ्य, कानून र प्रतिपादित सिद्धान्तसमेत प्रतिकूल रही त्रुटिपूर्ण रहेकोले सुरू फैसला बदर गरी इन्साफ गरी न्याय गरिपाउँ भन्ने प्रतिवादी केदार माझीको पुनरावेदन पत्र । 

प्रतिवादीको प्रहरी र अदालतसमक्ष भएको कसुरमा साबिती बयान लास जाँच मुचुल्का तथा अटोप्सी रिपोर्टसमेतबाट समर्थित भएको हुँदा प्रतिवादी केदार माझीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गरी प्रतिवादीको मृतकसँग पूर्वरिसइवी रहेको भन्ने नदेखिएको र मृतकले प्रतिवादीलाई सन्केका हुन् भनेकीले रिस उठी काठको बहानाले मृतकलाई प्रहार गर्दा मृतकको मृत्यु भएको वारदातको परिस्थितिलाई विचार गर्दा सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद सजाय हुने भनी रायसमेत व्यक्त गरेको रामेछाप जिल्ला अदालतको मिति २०६६।१२।१२ को फैसला मिलेकै देखिँदा सदर हुने र अ.बं. १८६ नं. बमोजिम साधक जाहेरी गर्नेसमेत ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।१।२८ को फैसला । 

यस अदालतबाट प्रतिपादित सिद्धान्तहरू र अ.बं. १८८ मा उल्लिखित प्रावधानसमेतका आधारमा कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भई अ.बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याईं (Justification) हुनुपर्नेमा प्रस्तुत मुद्दामा सुरू र पुनरावेदन तहका अदालतले आफूले उपर्युक्त अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्दा मनासिब आधारहरूको उल्लेखन गरेको पनि नपाइएको र ज्यानसम्बन्धी महलको ५ नं. बमोजिम उक्त वारदात भवितव्यजस्तो पनि नदेखिई मृतकलाई टाउकोलगायत पेटमा पटकपटक प्रहार गरी मृतकको मृत्यु भएको देखिएसमेतका आधार र कारणबाट यी प्रतिवादी केदार माझीलाई ठहर भएको सजाय घटाउनुपर्ने अवस्था नदेखिँदा अ.बं. १८८ नं. बमोजिम दश वर्ष मात्र कैद सजाय हुनुपर्ने भनी सुरूको रायलाई सदर गरेको पुनरावेदन अदालतको रायसँग सहमत हुनसक्ने अवस्था देखिएन । प्रतिवादी केदार माझीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरी अ.बं. १८८ नं. बमोजिम उक्त सजाय चर्को पर्ने भनी १० वर्ष मात्र कैद सजाय गर्ने गरी व्यक्त गरेको रायसमेतलाई सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।१।२८ को फैसला ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गरेको हदसम्म सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको यस अदालतको संयुक्त इजलासबाट साधकको रोहमा मिति २०६९/१२/२३ मा भएको फैसला ।

मृतकसँग पूर्वरिसइवी साँध्न भनी पूर्वतयारी गरेको भन्ने पनि देखिँदैन । मृतकले बेमतलबमा गाली गरेको कारण तत्काल रिस थाम्न नसकी आवेगमा आई हातैमा हतियार भएको अवस्थामा छेक्न खोज्दा लाग्न गई मृतकको मृत्यु भएकोतर्फ विचार नै पुगेको देखिँदैन । यो नसोचिएको आकस्मिक घटना भएको कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेको छ । जाहेरवाला, बरामदी मुचुल्काका मानिसहरू मौकामा कागज गर्ने व्यक्तिहरू पोष्टमार्टम गर्ने डाक्टर घटनास्थल तथा लास जाँच मुचुल्काका व्यक्तिहरूलाई समेत अदालतमा झिकाई बुझिएको अवस्था छैन । प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी पनि मिसिलबाट खुलेको छैन । त्यसैगरी प्रतिवादीले मृतकलाई कर्तव्य गरी मार्नुपर्नेसम्मको कुनै कारण खुल्न नसकेको मार्नका लागि पूर्वतयारी योजनासमेत केही नभएको मनसायको नितान्त अभाव रहेको उद्योग दुरूत्साहन र षड्यन्त्र जस्तो कुनै घटना नदेखिएको अवस्थामा हचुवाका भरमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) बमोजिम सजाय गरेको मिलेको नहुँदा भवितव्य अथवा ज्यानसम्बन्धीको १४ नं बमोजिमको व्यवस्थालाई समेत विचारै नगरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

साधकको रोहमा फैसला नहुँदै पुनरावेदन परेको अवस्थामा साधकको रोहमा नभई पुनरावेदनको रोहमा इन्साफ गर्नुपर्नेमा साधकको रोहमा फैसला भइसकेपछि आज पुनरावेदनको रोहमा पेसी चढेको देखिँदा पुनरावेदनको रोहमा इन्साफ (फैसला) गर्न यस संयुक्त इजलासबाट नमिल्ने देखिएबाट पूर्ण इजलासबाट उक्त पुनरावेदनको सम्बन्धमा निर्णय हुन उपयुक्त देखिएकोले संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (घ) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७३/१/८ मा यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सुचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा विपक्षी वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ सहन्यायाधिवक्ताद्वय श्री कृष्णजिवी घिमिरे र श्री रेवतीराज त्रिपाठीले पुनरावेदन अदालतले मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्दा मनासिब आधारहरूको उल्लेख गरेको पनि पाइँदैन । ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम उक्त वारदात भवितव्यजस्तो पनि देखिएको छैन । मृतकलाई टाउकोलगायत पेटमा पटक पटक प्रहार गरी मृतकको मृत्यु भएको देखिएको अवस्थामा मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको छैन सजाय घटाउने गरी भएको राय बदर हुनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ सहन्यायाधिवक्ताहरूले गर्नुभएको बहस जिकिरसमेत सुनी मिसिल संलग्न प्रतिवादीको पुनरावेदन पत्रसहितका मिसिल कागजातहरूसमेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादीले अभियोग दाबीबाट सफाई पाउनुपर्ने हो होइन पुनरावेदन अदालत, जनकपुर तथा यस साधकको रोहमा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी केदार माझीले चमेली माझीलाई डुंगा चलाउने बहानाले कुटपिट गरी निज चमेली माझीको घटनास्थलमा नै मृत्यु भएकाले प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय होस् भन्ने अभियोग मागदाबी भएको प्रस्तुत भएकोमा सुरू रामेछाप जिल्ला अदालतबाट प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय ठहर गरी अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायको रायसमेत व्यक्त गरेकोमा पुनरावेदन अदालतबाट सो कैद सजाय र रायसमेत सदर भएकोमा साधकको रोहमा दायर भई यस अदालतको संयुक्त इजलासबाट फैसला हुँदा प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय ठहर गरेको फैसला सो हदसम्म मिलेकै देखिएको र मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्न मनासिब देखिएको भनी व्यक्त राय मिलेको नदेखिएको भनी फैसला भएकोमा साधकको रोहमा फैसला नहुँदै पुनरावेदन परेको अवस्थामा साधकको रोहमा नभई पुनरावेदनको रोहमा इन्साफ गर्नुपर्नेमा साधकको रोहमा फैसला भइसकेपछि पूर्ण इजलासबाट उक्त पुनरावेदनको सम्बन्धमा निर्णय हुन उपयुक्त देखिएको भनी यस अदालतको संयुक्त इजलासबाट आदेश भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (घ) बमोजिम यस इजलासमा निर्णयार्थ पेस हुन आएको देखियो ।

३. मिति २०६६।६।१ गते दिउँसो १२ बजेको समयमा राकाथुम १ स्थित खैरनी सुनकोशी नदी किनारामा मेरी श्रीमती वर्ष ६३ की चमेली माझी जाँड बेची रहेकीमा ऐ. घर भई हाल सिन्धुली कुशेश्वर १ दुम्जा बस्ने केदार माझीले श्याम माझीसँग झगडा गरी मेरी श्रीमती रहेको चौतारोमा पुगी ढुङ्गा चलाउने बहानाले मेरी श्रीमतीलाई टाउको तथा पेटमा प्रहार गरी घटनास्थलमा नै श्रीमतीको मृत्यु भएकोले निज केदार माझीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भनी प्रतिवादीका उपर किटानी जाहेरी परेको देखिन्छ । पोष्टमार्टम रिपोर्ट हेर्दा मृतकको मृत्युको कारण Cause of death is due to cervical injury massive internal herorrhage भन्ने देखिन आएको छ भने घटनास्थलमा २ इन्च मोटाई १.२५ से.मी. लम्बाई भएको र्‍याफ्टीङ चलाउने बहाना बरामद भएको देखिन्छ भने प्रस्तुत वारदातमा यी प्रतिवादीबाहेक अन्य कुनै व्यक्तिको संलग्नता नदेखिई एक्लो यी प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको तथ्य यी प्रतिवादीको अनुसन्धानको क्रममा भएको साबिती बयान र निजले अदालतमा आएर गरेको साबिती बयानबाट पुष्ट्याईं भएको देखिन्छ । 

४. कुटपिट गरी मृतकको मृत्यु भएको हो भन्ने प्रतिवादीको साबिती बयान तथा वारदात हुनुपूर्व श्याम माझीसँगको यी प्रतिवादीको झगडाको प्रत्यक्ष साक्षी जसले श्याम माझीसँगको झगडामा दुवैलाई छुट्याइदिने र यस वारदातका पनि प्रत्यक्ष साक्षी रहेको रामबहादुर माझीले अनुसन्धानको क्रममा र अदालतसमेतमा आई यी प्रतिवादीको बहानाको प्रहारद्वारा मृतकको मृत्यु भएको हो भनी लेखाई दिएको अवस्था र प्राथमिक स्वास्थ्य चौकी, मन्थलीको शव परीक्षण प्रतिवेदनमा "Bleeding From nostrils भन्ने र Bruises on lt. thigh. २० c.m. Long bruise on left chest and abdomen s/o impression of blunt long weapon भन्नेसमेत उल्लेख भएको देखिँदा यी प्रतिवादीकै एकल प्रहारबाट मृतकको मृत्यु भएको भन्ने तथ्य स्थापित हुन आई प्रतिवादी उपरको किटानी जाहेरी पुष्टि हुन आएको देखिन्छ ।

५. प्रतिवादी केदार माझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान हेर्दा मिति २०६६।६।१ गते बिहान ११ बजेको समयमा म सिन्धुलीस्थित घरबाट राकाथुमस्थित घरतर्फ आउने क्रममा सुनकोशीमा डुङ्गा तरी रामेछापतर्फ आएपछि मलाई डुङ्गा चलाउने श्याम माझीले मुख छोडी ढुंगाले हानेपछि निजलाई कुटपिट गरी निजको डुङ्गाको बहाना बोकी सो ठाउँबाट अं. ५० मिटर टाढा रहेको पिपलको चौतारोमा पुग्दा मृतक त्यहीँ रहिछिन् र निजले मलाई तिमीहरू किन झगडा गरेको भन्दा मलाई रिस उठी मैले बोकेको बहानाले निज मृतक चमेली माझीको टाउकोमा हान्दा सोही ठाउँमा लडिन् र पुनः निजको पेटमा हान्दा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोरा उल्लेख गरेको देखिन्छ भने श्याम माझी र केदार माझीबीच झगडा हुँदा छुट्याई दिई खेततिर लागेको र पिपलबोट चौतारीमा मृतक र केदार माझीको बीचमा विवाद भई केदारले निज मृतकलाई बहानाले हानेको देखी दौडदै जाँदा मृतक बेहोस अवस्थामा थिइन् र तत्कालै मृत्यु भएको हो भनी रामबहादुर माझीले अनुसन्धानमा र सो भनाईलाई समर्थन हुने गरी अदालतमा गरिदिएको बकपत्र, शवपरीक्षण प्रतिवेदन (Autopsy Report) ले समेत मृतकको टाउको, छाती र पेटमा चोट पुग्ने गरी भएको प्रहार र मस्तिष्कको चोटको कारण भएको आन्तरिक रक्तस्रावको कारणबाट मृतकको मृत्यु भएको भनी उल्लेख गरेको देखिएबाट यी प्रतिवादी निर्दोष रहेछन् भन्न मिल्ने देखिएन । यी प्रतिवादीकै एकल प्रहारको कारणबाट मृतकको मृत्यु भएको देखिएको अवस्थामा यी प्रतिवादी केदार माझीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको मिति २०६६।१२।१२ को सुरू रामेछाप जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।१।२८ को फैसला यस अदालतको संयुक्त इजलासबाट मिति २०६९/१२/२३ मा भएको फैसला मिलेकै देखिन आयो । 

६. खासगरी सुरू रामेछाप जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय ठहर गरी सो सजाय चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद सजाय हुने गरी व्यक्त गरेको रायलाई पुनरावेदन अदालत, जनकपुरबाट पनि सदर भएको देखिन्छ भने यस अदालतको संयुक्त इजलासबाट उक्त राय मनासिब नभएको भनी फैसला भएको 

देखिन्छ । यस अदालतको संयुक्त इजलासको फैसलाले उक्त वारदातको जरियाको रूपमा रहेको यस वारदातपूर्वको कुटपिटलाई लिएको देखिन्छ । सुनकोशी नदी डुंगाबाट तरेपछि श्यामबहादुर माझी र यी प्रतिवादी केदार माझीका बीच कुटपिट भई श्यामबहादुर माझी घाइते भएका र यी प्रतिवादीसँग गएका रामबहादुर माझीले सो वारदातमा श्यामबहादुर माझी र यी प्रतिवादीलाई छुट्याई दिएपछि यी प्रतिवादीले श्यामबहादुर माझीको बहाना बोकेर अन्दाजी ५० मिटर अघि आई चौतारीमा जाँड बेच्दै गरेकी मृतक चमेली माझीसँग उक्त श्यामबहादुर माझीसँगको कुटपिटको सम्बन्धमा कुरा हुँदा विवाद भई यी प्रतिवादीले श्यामबहादुर माझीकी हजुरआमा नातापर्ने ६३ वर्षिया चमेली माझीको टाउकोमा बहानाले प्रहार गरेको र त्यो प्रहारबाट निज मृतक चमेली भुइँमा ढलेपछि पुनः सोही बहानाले पेटमा हानेपछि मृतकको मृत्यु भएको कुरालाई यी प्रतिवादीले अनुसन्धानको क्रममा स्वीकार गरेको र पछि अदालतसमेतमा उपस्थित भई त्यसलाई समर्थन गरी बयान गरेको र प्रतिवादीसँगै रहेका रामबहादुर माझीसमेतले पनि यी प्रतिवादीले मृतकलाई बहानाले प्रहार गरेको देखी दौडदै जाँदा मृतक बेहोस अवस्थामा भएको र तत्कालै मृतकको मृत्यु भएको भनी अनुसन्धानमा गरिदिएको कागजले पनि उक्त वारदातमा यी प्रतिवादीको संलग्नता र निजको प्रहारले मृतकको मृत्यु भएको कुरालाई पुष्ट्याईं गरिरहेको देखिन्छ । 

७. यस सन्दर्भमा अ.बं. १८८ नं. को व्यवस्थालाई हेर्दा "ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्नेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्‍याई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ" भनी उल्लेख भएको देखिन्छ । वारदातको घटनाक्रमलाई हेर्दा मृतक चमेलीसँग सम्बन्धित वारदातपूर्व पनि यी प्रतिवादीले श्यामबहादुर माझीलाई बहानाले हिर्काई घाइते बनाएको, मृतकलाई सामान्य विवादको क्रममा बहानाले टाउकोमा हिर्काएको र टाउकोमा हिकाई सो प्रहार सहन नसकी मृतक भुइँमा ढलेपछि पुनः पेटमा बहानाले हिर्काएको तथ्य पुष्टि भएको देखिन्छ । अर्कोतर्फ जाहेरी व्यहोराअनुसार मृतकको उमेर ६३ वर्ष देखिएको र यस्ती ६३ वर्षकी वृद्धालाई टाउकोमा प्रहार गरी ढलेपछि पनि क्रूरतापूर्वक पुनः पेटमा बहानाले प्रहार गरी मृतकको मृत्यु भएको देखिएबाट उक्त वारदातको अवस्थालाई भवितव्य हो कि भनी शंका गर्न सकिने अवस्था पनि देखिएन । 

८. अ.बं. १८८ नं. मा भएको व्यवस्थाअनुसार कसुरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने भई घटी सजाय हुनुपर्ने देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्‍याई आफ्ना चित्तले देखेको कारणसहितको राय व्यक्त गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उपर्युक्त व्यवस्थानुसार सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि भवितव्य हो कि भन्नेसम्मको शंकाको अवस्था विद्यमान हुनुपर्छ । राय व्यक्त गर्दा मूलतः भवितव्य हो कि भन्नेसम्मको शंकाको अवस्था विद्यमान भएको मुद्दामा मात्र घटी सजाय गर्नुपर्ने कारणसहितको राय व्यक्त गर्नुपर्ने गरी यससम्बन्धी व्यवस्थालाई सीमित गरिएको पाइन्छ । 

९. अब, कस्तो प्रकृतिको वारदातलाई भवितव्य मान्नुपर्ने हो त भन्ने सन्दर्भमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा भएको व्यवस्थालाई समेत हेर्न सकिन्छ । उक्त व्यवस्थालाई हेर्दा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्लाजस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भनी उल्लेख भएको र त्यसलाई सोही महलको ६ नं. मा थप स्पष्ट पार्दै देहाय १-५ सम्म एउटा कामको लागि सावधानीसँग हातहतियार उठाएकोमा केही व्यहोराले अर्कालाई लागेमा, होस नपुर्‍याई वा हेलचेक्र्याईं गरी कुनै काम गरी भवितव्य परेमा, रक्षा शिक्षाको क्रममा कुटपिट गर्दा भवितव्य परेकोमा भवितव्य हुनेजस्ता अवस्थाको बारेमा उल्लेख गरेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थासमेतका आधारमा हेर्दा प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भुइँमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भुइँमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था देखिन आएन । 

११. यसका साथै यसै अदालतबाट शान्ति वि.क. विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६१ नि.नं. ७३९९) प्रतिपादित सिद्धान्तअनुसार अ.बं. १८८ नं. को प्रयोगका सम्बन्धमा समान प्रकृतिको अपराध र समानस्तरका अपराधी भएको मुद्दामा फरक सजाय निर्धारण गर्नु नहुने र एकरूपता कायम गर्न मार्गदर्शनका रूपमा १४ वटा आधारहरूको निर्धारण गरिएको देखिन्छ । यसैगरी नेपाल सरकार विरूद्ध जुगत सदासमेत भएको मुद्दामा (ने.का.प. २०६३, नि.नं. ७७५२) थप केही आधारहरू उल्लेख गरिएको छ भने वीरमान लुङ्गेली (मगर) विरूद्ध नेपाल सरकार भएको मुद्दामा (ने.का.प. २०६९, नि.नं. ८८५३) चित्तमा लाग्ने कुरा मनोगत नहुने भएकोले चित्तमा लागेकोले सजाय घटाइयो भन्नु अ.बं. १८८ नं. को लागि पर्याप्त नहुने भन्ने कुरालाई स्वीकार गरिएको देखिन्छ । 

११. यस अदालतबाट प्रतिपादन भएका उपर्युक्त सिद्धान्तहरू र अ.बं. १८८ मा उल्लिखित प्रावधानसमेतका आधारमा कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सामान्यतः अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्याईं (Justification) गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा सुरू र पुनरावेदन तहका अदालतले आफूले उपर्युक्त अ.बं. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्दा मनासिब आधारहरूको उल्लेख गरेको नदेखिनुका साथै मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम उक्त वारदात भवितव्यजस्तो पनि नदेखिएको र मृतकलाई टाउकोलगायत पेटमा पटक पटक प्रहार गरी मृतकको मृत्यु भएको देखिएसमेतका आधार र कारणबाट यी प्रतिवादी केदार माझीलाई ठहर भएको सजाय घटाउनुपर्ने अवस्था नदेखिएकोले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम दश वर्ष मात्र कैद सजाय हुनुपर्ने भनी सुरूको रायलाई सदर गरेको पुनरावेदन अदालतको रायसँग सहमत हुन नसकेको यस अदालतको संयुक्त इजलासको मिति २०६९/१२/२३ को फैसलालाई समेत अन्यथा गर्नुपर्ने देखिएन । 

१२. तसर्थ माथि विवेचना गरिएका आधार कारण र प्रमाणहरू समेतबाट प्रतिवादी केदार माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८/१/२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन अदालत, जनकपुरले मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने व्यक्त गरेको राय मान्य नहुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

 

उक्त रायमा हामी सहमत छौं । 

न्या. ईश्वरप्रसाद खतिवडा

न्या.डा. आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत: रामप्रसाद बस्याल

इति संवत् २०७३ साल मङ्सिर १६ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु