निर्णय नं. १५२६ - अंश

निर्णय नं. १५२६ ने.का.प. २०३९ अङ्क १
फुलबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३७ सालको दे.फू.नं. २५
फैसला भएको मिति : २०३९।१।१४
निवेदिका : जि.मोरङ्ग कञ्चनबारी गा.पं.वडा न.४ मा बस्ने श्री उमादेवी पोखरेल
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने लेखनाथ पोखरेल समेत
मुद्दा : अंश
(१) वादीको उमेर ३५ बर्ष नाघी सकेको र विवाह भएको २००३ सालबाट विवाह भएको १५ बर्ष समेत नाघी सकेको देखिन्छ । यस स्थितिमा वादी लोग्नेसँग बाट अंश पाउने अवस्था पुगी सकेको देखिएको र २०३२।१०।२६ का दिन घरबाट निकाला गरी दिएको भन्ने वादी दावी भएको देखिँदा वादीले लोग्नेबाट आफूले पाउने आफ्नो अंश भाग अंशबण्डाको १०, १०(क) र लोग्ने स्वास्नीको महलको ४ नं.र निजको लोग्ने जीवित छ भन्ने प्रतिवादीबाट प्रमाणित हुन नआएकोले प्रमाण ऐन, २०३१ को दफा ३२ बमोजिम समेत वादीले अंश भाग दाबी गर्न पाउन सक्ने देखिन्छ।
(प्रकरण नं. १३)
निवेदिका तर्फबाट : विद्वान व.अधिवक्ता श्री बासुदेव ढुङ्गाना, र विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
फैसला
न्यायाधीश गजेन्द्रकेशरी बास्तोला
१. डिभिजनबेञ्चबाट ०३६।१०।१४।२ मा भएको निर्णय फुलबेञ्चबाट दोहर्याई पाउँ भन्ने निवेदिकाको निवेदनमा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आए अनुरुप प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : ससुरा जिवनाथका ५ (पाँच) भाइ छोरामा प्रतिवादी लेखनाथ माहिला, साहिला मेरो लोग्ने मोहनप्रसाद, गुणराज, हरिकुमार तथा जेठा छोरा तोपनाथ हुन्। लोग्ने मोहनप्रसाद ४ सालमा परदेश जानु भएको आजसम्म बेपत्ता हुनुहुन्छ । सासु ससुरा तथा म समेत प्रतिवादी लेखनाथसँगै सगोलमा बसी आएको ०३२।१०।२६ मा घरेलु झगडा परी घरबाट निकाला गरी दिएकोले मेरो लोग्नेको १ भाग अंश दिनुहोस् भनी भन्दा मलाई थाहा नदिई श्रेस्ता मिलाई सकेको छु भनी प्रतिवादी लेखनाथ समेतले भनेको हुँदा खसम बेपत्ता हुनु भएकोले मुख्य दाम काम गर्ने ससुरा जिवनाथको लेखनाथ हुँदा निज लेखनाथबाट तायदाती लिई ५ भागको १ भाग मेरा पतिले पाउने अंश दिलाई जिम्मा लगाई पाउँ भन्ने समेत उमादेवीको फिरादपत्र ।
३. वादीको लोग्ने बेपत्ता भए पनि आसामको अजन्ता ठाउँमा गोठ पाली बसेको छ । घरमा सगोलमा बस्न नसक्दा ०२४।८।३ मा परदेश जानेको समेत अंश गरी लिखत खडा गरी पास समेत गरेको छ । वादीको लोग्नेको भागको जग्गाको आयस्ता बाली वादीले मोहीहरुबाट बुझी भरपाई गरी दिएका छन् । ०२४ सालमा नै मानु छुट्टिई भिन्न भई बसेको हुँदा २०३२।१०।२६ मा घरबाट निकाला गरे भन्ने वादी दावी झुठ्ठा हो । मेरा उपर वादीको फिराद लाग्न नसक्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत लेखनाथको प्रतिवादी ।
४. परदेशमा गएको छोराहरुको भाग समेत बराबर मिलाई चल सम्पत्ति घरसारमा नै बुझी लिई बण्डापत्र खडा गरी पास भएको हो । वादीको लोग्नेको भागमा परेको जग्गाको बाली वादी उमादेवीले नै खाएकी छन्, निजको लोग्ने मोहनप्रसाद बेपत्ता भएको छैन, आसामको अजन्ता भन्ने ठाउँमा बसेको हुँदा वादीको फिराद लाग्न नसक्ने भन्ने समेत प्रतिवादी जिवनाथको प्रतिउत्तरपत्र ।
५. बाबुसँग छुट्टिई भिन्न भएको जेठाजुसँग अंशमा दावी लाग्न नसक्ने समेत हुँदा वादीको अंश पाउँ भन्ने दावी खारेज हुन्छ भन्ने समेत मोरङ्ग जिल्ला अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पू.क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
७. विपक्षीमध्ये मु.जिवनाथका पाँच (५) छोरामध्ये साँहिला मेरो पति मोहनप्रसादसँग २००३ सालमा मेरो विवाह भएको केही समय पछि पति भारततर्फ जानु भएको आजसम्म बेपत्ता भए पनि घरमै बसी आएको छु । २०३२।१०।२६ मा घरेलु झगडा परी घरबाट निकाला गरेकोले पति भागको आजसम्म सगोलमा बसी आएको पूँजिको आधारमा अंशको तायदातीले ५ भागको एक भाग मेरा पतिले पाउने अंश मेरा जिम्मा गरी पाउँ भन्ने समेत फिराद दावीबाट देखिन आयो । वादीको पति मोहनप्रसाद बेपत्ता भएको भनेकोमा प्रतिवादीहरुले पनि स्वीकारै गरेको प्रतिउत्तर लेखबाट देखिन आई वादीले आफ्नो पतिको भागमा वादी बमोजिम दावी गरी कानूनले निषेध गरेको देखिँदैन । तसर्थ सुरुबाट वादी दावी खारेज गर्ने ठहराएको मिलेन । सुरु मोरङ जिल्ला अदालतको फैसला बदर गरिएको छ । ऐन बमोजिम कारवाई ठहर किनारा गरी दिनु भनी उपस्थित दुवै पक्षलाई तारेख तोकी मिसिल सुरु मोरङ जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३५।५।२६।२ को फैसला ।
८. उक्त निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई डिभिजनबेञ्च समक्ष पेश हुँदा आफ्ना बाबु जिवनाथबाट आफ्नो अंश भाग लिई भिन्न भई बसेका यी वादीको जेठाजु नाताका प्रतिवादी पं.लेखनाथ उपर यी वादी उमादेवीको लोग्ने लेखनाथको भाइ मोहनप्रसाद जीवित छँदैका अवस्थामा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नं.ले दावी लाग्न सक्ने देखिँदैन । तसर्थ माथि उल्लेख भएबमोजिम पू.क्षे.अ.बाट ऐन बमोजिम कारवाई किनारा गरी दिनु भनी उपस्थित दुवै पक्षलाई तारेख तोकी मिसिल मोरङ जिल्ला अदालतमा पठाई दिने ठहराएको इन्साफ त्रुटिपूर्ण हुने ठहर्छ भन्ने डिभिजनबेञ्चको ०३६।१०।१४।२ को फैसला ।
९. डिभिजनबेञ्चको निर्णय दोहर्याई पाउँ भनी न्यायिक समिति मार्फत बिन्तिपत्र पर्दा सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मुलुकी ऐन अंशबण्डाको १० नं., लोग्ने स्वास्नीको ४ नं.तथा प्रमाण ऐन, ०३१ को दफा ३२ समेतको प्रतिकूल हुँदा नेपालको संविधानको धारा ७२ (ख) अन्तर्गत मुद्दा दोहर्याउन सिफारिस जाहेर गर्ने ठहर्छ भन्ने समेत न्यायिक समितिको पर्चामा उल्लेख भएको रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना, विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा डिभिजनबेञ्चको ०३६।१०।१४।२ को निर्णय मिलेको छ, छैन निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा यो वादी उमादेवीको लोग्ने लेखनाथको भाइ मोहनप्रसाद जीवित छँदैको अवस्थामा मुलुकी ऐन अ.बं.८२ नं.ले दावी लाग्न सक्दैन भनी डिभिजनबेञ्चबाट निर्णय गरेको देखिन आयो।
१२. २००३ सालमा पति मोहनप्रसाद साथ विवाह भएकोमा केही समय पछि मेरा पति भारततर्फ जानु भएको के कहाँ जानु भई आजसम्म बेपत्ता हुनुहुन्छ तापनि म आफ्नो घरमा गई बसी रही आएकी छु । ०३२।१०।२६ को दिन घरेलु झगडा गरी घरमा बस्न दिन्न निस्कि जा भनी घरबाट निकाला गर्दा सगोलका जेठाजू, ससुरा जिवनाथसँग मेरा पति मोहनप्रसादको भाग अंश दिनोस् भनी दुवै जनालाई करुणामय पुकार गर्दा ससुराले पनि यसै गरी तेरो अंशको व्यवस्था मिलाउँछु भनी नभन्नु भएको र जेठाजु लेखनाथले तँलाई सो भागबाट बञ्चित गराउँछु भनी भन्नु भएकोले फिराद गर्न आएकी छु । अंशबण्डाको १० नं.बमोजिम विवाह भएको १५ बर्ष र ३५ बर्षको उमेर पुगी सकेको हुँदा अंशबण्डाका २१ नं.बमोजिम अंश भाग दिलाई पाउँ भन्ने मुख्य वादी जिकिर देखिन आयो ।
१३. अंशबण्डाको १० (क) हेर्दा यसै महलको १० नम्बरमा जुनसुकै कुरा लेखिएको भए पनि विवाह भएको कम्तिमा १५ बर्ष र उमेर कम्तिमा ३५ बर्ष पुगी सकेकी स्वास्नी मानिसले चाहेमा लोग्ने सित अंश लिई भिन्न बस्न पाउँछ भन्ने व्यवस्था गरेको पाइन्छ ।वादीको उमेर ३५ बर्ष नाघी सकेको र विवाह भएको २००३ साल बाट विवाह भएको १५ बर्ष समेत नाघी सकेको देखिन्छ । यस स्थितिमा वादी लोग्नेसँग बाट अंश पाउने अवस्था पुगी सकेको देखिएको र २०३२।१०।२६ का दिन घरबाट निकाला गरी दिएको भन्ने वादी दावी भएको देखिँदा वादीले लोग्नेबाट आफूले पाउने आफ्नो अंश भाग अंशबण्डाको १०, १०(क) र लोग्ने स्वास्नीको महलको ४ नं.र निजको लोग्ने जीवित छ भन्ने प्रतिवादीबाट प्रमाणित हुन नआएकोले प्रमाण ऐन, २०३१ को दफा ३२ बमोजिम समेत वादीले अंश भाग दाबी गर्न पाउन सक्ने देखिन्छ । वादीले विपक्षी बनाएकाहरु को कसबाट के कति अंश पाउने भन्ने कुराको अहिले निर्णय गर्नु पर्ने अवस्था नभएकोमा डिभिजनबेञ्चबाट मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नं.ले दावी लाग्न नसक्ने भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले सुरु जिल्ला अदालतले वादी दावी खारेज गर्ने ठहराएको मिलेन । सुरु मोरङ जिल्ला अदालतको फैसला बदर गरिएको छ । ऐन बमोजिम कारवाई ठहर किनारा गरी दिनु भनी गरेको इन्साफ त्रुटिपूर्ण भनी डिभिजनबेञ्चबाट ०३६।१०।१४।२ मा भएको निर्णय कानूनसंगत नभएकोले पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ नै मनासिव ठहर्छ । कानून बमोजिम ठहर गर्न तारेखमा रहेका पक्षहरुलाई तारेख तोकी मिसिल सुरु मोरङ जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा हामीहरुको सहमती छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् ०३९ साल बैशाख १४ गते रोज ३ शुभम् ।