निर्णय नं. ९८४३ - परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
आदेश मिति : २०७४।०१।१२
०७१-WO-०९५२
मुद्दा : परमादेश
निवेदक : अछाम जिल्ला, मष्ठावण्डाली गा.वि.स.वडा नं.६ घर भई हाल सरस्वती निकेतन मा.वि., टेकुमा प्रा.वि.तह स्थायी शिक्षक पदमा कार्यरत तप्तबहादुर रावतसमेत
विरूद्ध
विपक्षी : नेपाल सरकार, शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत
कानूनले दिएको सुविधा उपभोग गर्न नपाएको खण्डमा त्यस्ता व्यक्तिले कानूनी उपचारको खोजी गर्नु स्वाभाविक नै हुने ।
शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकको विज्ञापन गरी सो विज्ञापनअनुसार आवेदन दिई परीक्षामा सम्मिलित भई परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक पदमा नियुक्तिसमेत पाइसकेका निवेदकहरूलाई विपक्षी जिल्ला शिक्षा कार्यालयले कार्यालयमा हाजिरसमेत गराई सकेकोमा निवेदकहरू नियुक्ति भएको पदमा अन्य अस्थायी व्यक्ति कार्यरत रहेको भन्ने आधारमा शिक्षक कर्मचारीले नियुक्ति भई कार्यालयमा हाजिर भएपश्चात् निजहरूले नियमानुसार पाउने तलब भत्ताको सुविधाबाट वञ्चित गर्नु शिक्षा नियमावली, २०५९ को नियम १००, १०१(१), १०४(१) र (२) समेतको प्रतिकूल हुने ।
(प्रकरण नं. ४)
नियुक्ति पाएका स्थायी शिक्षकलाई सम्बन्धित विद्यालयमा हाजिर गराउन नसक्नु र स्थायी शिक्षकको दरबन्दीमा स्थायी शिक्षक नियुक्ति भइसकेपछि पनि अस्थायी शिक्षकलाई अवकाश दिन नसक्नु र त्यस्ता अस्थायी शिक्षकलाई तलब भत्ता खुवाउनु विपक्षीहरूको कमजोरी
हो । राज्यका निकायले गरेको कमजोरीको कारण नागरिकले कानूनबमोजिम प्राप्त गर्ने हक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थालाई स्वाभाविक मान्न नमिल्ने ।
(प्रकरण नं. ४)
निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता कलमबहादुर खत्री
विपक्षीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
शिक्षा नियमावली, २०५९ को नियम १००, १०१(१), १०४(१)
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८
आदेश
न्या. केदारप्रसाद चालिसे : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:
हामी निवेदकहरूले शिक्षक सेवा आयोगबाट शिक्षक सेवाको स्थायी पदपूर्तिको लागि लिइएको परीक्षा पास गरी प्रा.वि., नि.मा.वि. र मा.वि. तहको स्थायी शिक्षकको नियुक्ति पाई विपक्षी जिल्ला शिक्षा कार्यालयमा उपस्थित भएका र सम्बन्धित विद्यालयमा हाजिर हुन जानु भनी लेखी पठाएकोमा सम्बन्धित विद्यालयले तत्काल हाजिर गराउन कठिनाई भएको व्यहोरा विपक्षी जिल्ला शिक्षा कार्यालयलाई लेखी पठाएपछि हामीहरूलाई विपक्षी जिल्ला शिक्षा कार्यालयले आफैँले तलब भत्ता दिने गरी जिल्ला शिक्षा कार्यालयमा हाजिर गराई हाजिर भएको अवधिको तलब भत्ता आज भोलि दिन्छु भनी अलमल गरी हालसम्म पनि हामीहरूले पाउनु पर्ने मासिक तलब र चाडपर्व खर्च विपक्षीहरूले नदिएकाले हाम्रो रोजगारीसम्बन्धी संवैधानिक हकमा आघात पुगेकाले प्रस्तुत रिट निवेदन गरेका छौं । शिक्षा नियमावली, २०५९ को नियम १०० मा शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि नेपाल सरकारले तोकी दिएबमोजिम तलब र भत्ता पाउने छ भन्ने कानूनी व्यवस्था छ भने नियम १०१(१) मा शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने भए सोसमेत पाउने छ भन्ने व्यवस्था गरेको छ । त्यसै गरी सोही नियमावलीको नियम १०४(१) र (२) मा शिक्षकले आफ्नो धर्म, संस्कृति, परम्पराअनुसार मनाउने चाडपर्वको लागि आफूले खाई पाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउने छ भन्ने कानूनी व्यवस्था छ । यो कानूनी व्यवस्थाबमोजिम हामी रिट निवेदकहरू जिल्ला शिक्षा कार्यालयमा हाजिर भई काम गरेको दिनदेखि कानूनबमोजिम पद बहाली गरेको हुँदा हामीहरूले काम गरेको अवधिको तलब, भत्ता र चाडपर्व खर्चसमेत माग गर्दा विपक्षी जिल्ला शिक्षा कार्यालयले विपक्षी शिक्षा विभाग र शिक्षा मन्त्रालयसमेतमा पत्राचार गरेपनि भुक्तानी नदिएको हुँदा उक्त कार्य नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८, शिक्षा नियमावली, २०५९ को नियम १००, १०१ र १०४ को विपरीत भएकोले हामी रिट निवेदकहरूले काम गरेको अवधिको पाउनु पर्ने निवेदन पत्रको प्रकरण नं. ३ मा उल्लिखित तलब भत्ता दिनु, दिन लगाउनु भनी अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम विपक्षीहरूका नाममा परमादेशलगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन पत्र ।
यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? यो आधार र कारण खुलाई यो आदेश प्राप्त भएको मितिले बाटका म्यादबाहेक १५(पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु साथै विवादमा समावेश भएको विषयवस्तु निवेदकहरूको तलबसँग सम्बन्धित भएकोले सर्वोच्च अदालत नियमावली,२०४९ को नियम ६३(३)(च५) बमोजिम प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिनु भन्ने यस अदालतको मिति २०७२।३।२ को आदेश ।
विपक्षीहरू शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नियुक्ति वा बढुवाको लागि सिफारिस भई जिल्ला शिक्षा कार्यालय, काठमाडौंको मिति २०७१।४।२१ निर्णयानुसार विभिन्न विद्यालयहरूमा नियुक्ति गरी पद बहाल गर्न पठाएको देखिन्छ । निवेदकहरूलाई जिल्ला शिक्षा कार्यालयले नियुक्ति गरी पद बहाल गर्न पठाउने र हाजिर गराई पठन पाठनमा लगाउने काम सम्बन्धित विद्यालय व्यवस्थापन समितिको हो । विभिन्न बहाना बनाई मौखिकरूपमै विद्यालयहरूले खटिएका शिक्षकलाई बहाल नगराई जिल्ला शिक्षा कार्यालयमै फिर्ता पठाएको हुँदा योग्यता परीक्षा उत्तीर्ण गरी नियुक्त भएका शिक्षकलाई त्यतिकै राख्न तत्कालीन अवस्थामा असान्दर्भिक र नियुक्त शिक्षकहरूको मानमर्दन हुने महसुस गरी पदबहाल गराउने क्रममा जिल्ला शिक्षा कार्यालयमा उपस्थितसम्म गराइएको हो । शिक्षकहरूको पदबहाली विद्यालयमा मात्र हुने व्यवस्था प्रष्ट छ । शिक्षा नियमावली, २०५९ को नियम १००(१) मा शिक्षकले आफ्नो पद बहाल गरेको मितिदेखि नेपाल सरकारले तोकी दिएबमोजिम तलब र भत्ता पाउने छ भन्ने प्रष्ट व्यवस्था गरेको हुँदा विपक्षीहरूले विद्यालयमा पद बहाल भएदेखिको तलब भत्ता पाएका छन् । विपक्षीहरूले पद बहाली नै नभएको अवस्थामा तलब भत्ता माग गर्नु असान्दर्भिक देखिन्छ । चाडपर्व खर्चका सम्बन्धमा शिक्षा नियमावली, २०५९ को नियम १०४ को उपनियम (१) र (२) मा व्यवस्था भएबमोजिम हुनेछ । जिल्ला शिक्षा कार्यालयले पद बहाल गराउन हरसम्भव प्रयास गरी सबै शिक्षकहरूलाई सम्बन्धित विद्यालय व्यवस्थापन समितिको मार्फत पद बहाली गराई सकिएको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिले पद बहाल नगराएको समयमा शिक्षा कार्यालयमा उपस्थितसम्म गराइएकोले त्यसरी उपस्थितसम्म भएको समयमा अध्यापनको काम पनि नगरेकाले पद बहाली नभएको अवस्थाको तलब सुविधा माग गर्नु बद्नियत पूर्ण देखिन्छ । तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकार, शिक्षा मन्त्रालयको लिखित जवाफ ।
विपक्षीहरू शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नियुक्तिको लागि सिफारिस भई आएका व्यक्तिहरू भएको हुँदा जिल्ला शिक्षा कार्यालयले विपक्षीहरूलाई विभिन्न विद्यालयहरूमा नियुक्ति गरी पद बहाल गर्न पठाइएकोमा विभिन्न बहाना बनाई मौखिकरूपमै विद्यालयहरूले पद बहाल नगराएको हुँदा नियुक्त भएका शिक्षकहरूलाई बाटामै राख्न तत्कालीन अवस्थामा असान्दर्भिक र मानमर्दन हुने महसुस गरी पद बहाल गराउने क्रममा जिल्ला शिक्षा कार्यालयमा उपस्थित गराई क्रमशः विद्यालयसम्म पद बहाल गराउँदै गई सम्पूर्ण शिक्षकहरूलाई विद्यालयमा पद बहाल गराई सकिएको छ । शिक्षा नियमावली, २०५९ को नियम १००(१) मा शिक्षकले आफ्नो पद बहाल गरेको मितिदेखि नेपाल सरकारले तोकी दिए बमोजिम तलब र भत्ता पाउने छ भन्ने प्रष्ट व्यवस्था गरेको हुँदा विपक्षीहरूले विद्यालयमा पद बहाल भएदेखिको तलब भत्ता पाएका छन् । विपक्षीहरूले पद बहाली नै नभएको अवस्थामा तलब भत्ता माग गर्नु असान्दर्भिक
देखिन्छ । चाडपर्व खर्चका सम्बन्धमा शिक्षा नियमावली, २०५९ को नियम १०४ को उपनियम (१) र (२) मा व्यवस्था भएबमोजिम हुनेछ । पद बहाली नभएको अवस्थाको तलब सुविधा जिल्ला शिक्षा कार्यालयलाई नै विपक्षी बनाई माग गर्नु बद्नियतपूर्ण कदम
देखिन्छ । विपक्षीको माग शिक्षा ऐन, नियमविपरीत रहेको हुँदा खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको जिल्ला शिक्षा कार्यालयको लिखित जवाफ ।
विपक्षीहरू शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नियुक्ति वा बढुवाको लागि सिफारिस भई जिल्ला शिक्षा कार्यालय, काठमाडौंले विभिन्न विद्यालयहरूमा नियुक्ति गरी पद बहाल गर्न पठाएकोमा विभिन्न बहाना बनाई मौखिकरूपमै विद्यालयहरूले खटिएका शिक्षकलाई बहाल नगराई जिल्ला शिक्षा कार्यालयमै फिर्ता पठाएको हुँदा केही समय जिल्ला शिक्षा कार्यालयमा उपस्थित गराई सम्बन्धित विद्यालयमा हाजिर हुन गएका हुन् । निवेदकहरूले निवेदनमा उल्लेख गरेको अवधिको तलब भत्ता र चाडपर्व खर्च सम्बन्धित विद्यालयका अस्थायी शिक्षकले भुक्तानी पाइसकेको कारण निजहरूले जिल्ला शिक्षा कार्यालयमा हाजिर भएको भनिएको अवधिको तलब पाउन सक्ने अवस्था छैन । शिक्षा विभागबाट जिल्ला शिक्षा कार्यालयमा कुल स्वीकृत दरबन्दीको वार्षिक एकमुष्ठ तलब, भत्ता तथा चाडपर्व खर्चको अख्तियारी जाने गर्दछ । निज शिक्षकहरूको मागबमोजिमको तलब भत्ता र चाडपर्व खर्च भुक्तानी दिने हो भने एकै दरबन्दीमा केही समय २ जना शिक्षकलाई दोहोरो तलब भत्ता तथा चाडपर्व खर्च भ्क्तानी हुन गई आर्थिक अनियमितता हुन जाने हुन्छ । स्थायी नियुक्ति पाएका शिक्षक विद्यालयमा हाजिर हुन पठाउने र हाजिर भएपश्चात् हाजिर भएको मितिदेखि नै तलब भत्ता उपलब्ध गराउनु जिल्ला शिक्षा कार्यालयको दायित्वभित्र पर्ने भएकोमा निज शिक्षकहरूलाई आ-आफ्नो विद्यालयको आ-आफ्नो विद्यालयमा हाजिर हुन जाने वातावरण सृजना नगरेको कारण जिल्ला शिक्षा कार्यालयमा उपस्थित भएको अवधिको तलब भत्ता भुक्तानी गर्न शिक्षा नियमावली, २०५९ को नियम १७९ र प्रचलित आर्थिक ऐन तथा नियमले समेत नमिल्ने भएको कारणले प्रस्तुत रिट खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको शिक्षा विभागको लिखित जवाफ ।
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा छलफलको क्रममा इजलासबाट विपक्षीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सरकारी वकिललाई उपस्थितिको लागि पटकपटक जानकारी गराउँदा उपस्थित नभएको र निवेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कलमबहादुर खत्रीले यी निवेदकहरूलाई जिल्ला शिक्षा कार्यालय, काठमाडौंले स्थायी नियुक्ति गरेपछि सम्बन्धित विद्यालयले पद बहाली गराई हाजिर नगराएका कारण जिल्ला शिक्षा कार्यालय, काठमाडौंमा नै हाजिर गराई राखेको तर तलब भत्ता र चाडपर्व खर्च उपलब्ध नगराएकाले निवेदन मागबमोजिम तलब भत्ता उपलब्ध गराउनु भनी परमादेशको आदेश जारी हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बहस जिकिर रहेको प्रस्तुत रिट निवेदनमा मिसिल कागज अध्ययन गरी हेर्दा, शिक्षा नियमावली, २०५९ को नियम १०० मा शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि नेपाल सरकारले तोकी दिएबमोजिम तलब र भत्ता पाउने, नियम १०१(१) मा शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने भए सोसमेत पाउने तथा नियम १०४(१) र (२) मा शिक्षकले आफ्नो धर्म, संस्कृति, परम्पराअनुसार मनाउने चाडपर्वको लागि आफूले खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउने कानूनी व्यवस्था छ । यो कानूनी व्यवस्थाबमोजिम हामी रिट निवेदकहरू जिल्ला शिक्षा कार्यालयमा हाजिर भई काम गरेको दिनदेखि कानूनबमोजिम पद बहाली गरेको हुँदा हामीहरूले काम गरेको अवधिको तलब, भत्ता र चाडपर्व खर्चसमेत भुक्तानी नदिएको हुँदा उक्त कार्य नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८, शिक्षा नियमावली, २०५९ को नियम १००, १०१ र १०४ को विपरीत भएकोले हामी रिट निवेदकहरूले काम गरेको अवधिको पाउनु पर्ने निवेदनपत्रको प्रकरण नं. ३ मा उल्लिखित तलब भत्ता दिनु, दिन लगाउनु भनी अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम विपक्षीहरूका नाममा परमादेशलगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदनपत्र, विपक्षी निवेदकहरूले आफू नियुक्त भएको विद्यालयमा हाजिर भई पद बहाली गरी पठन पाठन गरेको दिन देखि तलब भत्ता र चाडपर्व खर्च पाउने तथा सम्बन्धित विद्यालयमा बहाली हुन नदिई केही समय जिल्ला शिक्षा कार्यालयमा हाजिर गराइएको र सो अवधिलाई निजहरू आफनो पदमा पद बहाली भएको नमानिने हुँदा मागबमोजिम आदेश जारी हुनु पर्ने होइन, रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको लिखित जवाफ रहेको देखियो ।
उपर्युक्त बहस जिकिर र तथ्य रहेको प्रस्तुत रिट निवेदनमा मिसिल कागज अध्ययन गरी हेर्दा, निवेदकहरूको मागबमोजिम परमादेशको आदेश जारी हुनुपर्ने हो वा होइन, सो विषयमा निर्णय दिनुपर्ने
देखियो ।
२. सो सन्दर्भमा हेर्दा, यी निवेदकहरू शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भई जिल्ला शिक्षा कार्यालय काठमाडौंबाट विभिन्न विद्यालयमा नियुक्ति पाई पद बहाली गर्न सम्बन्धित विद्यालयमा जाँदा पद बहाली गर्न नदिएपछि जिल्ला शिक्षा कार्यालय काठमाडौंमा फिर्ता भई जिल्ला शिक्षा कार्यालयले हाजिर गराई राखेको कुरामा विवाद देखिँदैन । पदस्थापन भएको सम्बन्धित विद्यालयमा हाजिर भएपछि मात्र यी निवेदकहरूले तलब भत्ता र चाडपर्व खर्च पाउने भन्ने विपक्षीहरूको जिकिर शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ विपरीत समेत हुने देखिन्छ । यी निवेदकहरू मध्ये जिल्ला शिक्षा कार्यालय काठमाडौंमा हाजिर रहेको देहायको अवधिमा देहायबमोजिमको तलब भत्ता र चाडपर्व खर्चसमेत गरी देहायको रकम भुक्तानी पाउन बाँकी रहेको भन्ने निवेदनपत्रको प्रकरण नं. ३ बाट देखिन्छ ।
सि.नं. नाम, थर पद काम गरेको अवधि तलब रकम चाडपर्व खर्च कुल जम्मा
१ तप्तबहादुर रावत प्रा.शि. २ महिना ३ दिन ३९,३३३।- १७,७३०।- ५७,०६३।-
२ शम्भु थपलिया प्रा.शि. २ महिना १७ दिन ४८,०७४।- १७,७३०।- ६५,८०४।-
३ सृजना पोखरेल प्रा.शि. ३ महिना ९ दिन ६२,४३३।- १७,७३०।- ८०,१६३।-
४ किरण अधिकारी प्रा.शि. ३ महिना ९ दिन ६२,४३३।- १७,७३०।- ८०,१६३।-
५ गिरीराज न्यौपाने प्रा.शि. ४ महिना ८ दिन ७९,९१५।- १७,७३०।- ९७,६४५।-
६ राजु प्रसाद भुसाल प्रा.शि. ३ महिना १८ दिन ६७,४२८।- १७,७३०।- ८५,१५८।-
७ जीवन खड्का प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
८ पृथ्वी कुमार मगर प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
९ विष्णु प्रसाद कटेल प्रा.शि. २ महिना ९ दिन ४३,०७९।- १७,७३०।- ६०,८०८।-
१० रछाने लोहार प्रा.शि. १ महिना २४ दिन ३३,७१४।- १७,७३०।- ५१,४४४।-
११ प्रियंका चौधरी प्रा.शि. २ महिना २५ दिन ५३,०६८।- १७,७३०।- ७०,७९८।-
१२ प्रेमा सुब्बा प्रा.शि. २ महिना १८ दिन ४८,६९८।- १७,७३०।- ९६,४२८।-
१३ नारायण दुवे प्रा.शि. २ महिना १३ दिन ४५,५७६।- १७,७३०।- ६३,३०६।-
१४ किरण पाण्डे प्रा.शि. ३ महिना ८ दिन ६१,१८५।- १७,७३०।- ७८,९१५।-
१५ मेघनाथ दंगाल प्रा.शि. १ महिना २६ दिन ३४,९६३।- १७,७३०।- ५२,६९३।-
१६ सीतादेवी ढकाल प्रा.शि. ३ महिना १८ दिन ६७,४२८।- १७,७३०।- ८५,१५८।-
१७ सविता अधिकारी प्रा.शि. ३ महिना ३ दिन ५८,०६३।- १७,७३०।- ७५,७९०।-
१८ सर्मिला बुढाथोकी प्रा.शि. २ महिना १९ दिन ४९,३२३।- १७,७३०।- ६७,०५३।-
१९ उमा सापकोटा प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
२० संजिदा नस्रिन प्रा.शि. ३ महिना २३ दिन ७०,५५०।- १७,७३०।- ८८,२८०।-
२१ सृजना पौडेल प्रा.शि. २ महिना १५ दिन ४६,८२५।- १७,७३०।- ६४,५५५।-
२२ रमेश कुमार खड्का प्रा.शि. १ महिना २७ दिन ३५,५८७।- १७,७३०।- ५३,३१७।-
२३ लोकेन्द्र बहादुर चन्द प्रा.शि. २ महिना २३ दिन ५१,८२०।- १७,७३०।- ६९,५५०।-
२४ बुध्दिसागर अधिकारी प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
२५ कञ्चन झा प्रा.शि. ३ महिना २४ दिन ७१,१७४।- १७,७३०।- ८८,९०४।-
२६ कल्पना अधिकारी प्रा.शि. २ महिना २३ दिन ५१,८२०।- १७,७३०।- ६९,५५०।-
२७ राम बहादुर श्रेष्ठ प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
२८ बिन्दु कु.राना प्रा.शि. ३ महिना ११ दिन ६३,०५८।- १७,७३०।- ८०,७८८।-
२९ सन्तोषी त्रिपाठी प्रा.शि. ४ महिना ७ दिन ७९,२९०।- १७,७३०।- ९७,०२०।-
३० कल्पना पौडेल रेग्मी प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
३१ नविता झा प्रा.शि. २ महिना २९ दिन ५५,५६६।- १७,७३०।- ७३,२९६।-
३२ अतुलराज जोशी प्रा.शि. ३ महिना १४ दिन ६४,९३१।- १७,७३०।- ८२,६६१।-
३३ जमुना श्रेष्ठ प्रा.शि. २ महिना ९ दिन ४३,०७९।- १७,७३०।- ६०,८०८।-
३४ सपना श्रीवास्तव प्रा.शि. ३ महिना २३ दिन ७०,५५०।- १७,७३०।- ८८,२८०।-
३५ जितेन्द्रबहादुर खड्का प्रा.शि. ४ महिना १२ दिन ८२,४१२।- १७,७३०।- १,००,१४२।-
३६ विमलापोखरेल दाहाल प्रा.शि. ३ महिना १ दिन ५६,८१४।- १७,७३०।- ७४,५४४।-
३७ प्रेमलता तोलाङ्गी प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
३८ रमा कुमारी नेपाली प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
३९ विर्सना पौडेल प्रा.शि. ४ महिना २१ दिन ८८,०३१।- १७,७३०।- १,०५,७६१।-
४० मञ्जु भट्टराई प्रा.शि. २ महिना ३ दिन ३९,३३३।- १७,७३०।- ५७,०६३।-
४१ कुमार हुमागाई प्रा.शि. २ महिना १३ दिन ४५,५७६।- १७,७३०।- ६३,३०६।-
४२ अस्मिता क्षेत्री प्रा.शि. ३ महिना १० दिन ६२,४३३।- १७,७३०।- ८०,१६३।-
४३ निर्मला खनाल प्रा.शि. ३ महिना २४ दिन ७१,१७४।- १७,७३०।- ८८,९०४।-
४४ कौशलराज चौधरी प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
४५ रमिला ढुङ्गेल प्रा.शि. ३ महिना २४ दिन ७१,१७४।- १७,७३०।- ८८,९०४।-
४६ करूण रैला प्रा.शि. २ महिना १३ दिन ४५,५७६।- १७,७३०।- ६३,३०६।-
४७ मन्दिरा विष्ट प्रा.शि. ३ महिना १२ दिन ६३,६८२।- १७,७३०।- ८१,४१२।-
४८ सीता घिमिरे दाहाल प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
४९ सृजना आचार्य प्रा.शि. २ महिना ३ दिन ३९,३३३।- १७,७३०।- ५७,०६३।-
५० दुर्गा पन्थी अर्याल प्रा.शि. २ महिना १४ दिन ४६,२०१।- १७,७३०।- ६३,९३१।-
५१ प्रमिला सापकोटा प्रा.शि. ३ महिना १६ दिन ६६,१७९।- १७,७३०।- ८३,९०९।-
५२ साबित्री सापकोटा (घर्तीमगर) प्रा.शि. २ महिना ३ दिन ३९,३३३।- १७,७३०।- ५७,०६३।-
५३ रामाकान्तप्रसाद यादव प्रा.शि. ३ महिना ११ दिन ६३,०५८।- १७,७३०।- ८०,७८८।-
५४ वसन्तराज जोशी प्रा.शि. १ महिना २८ दिन ३६,२११।- १७,७३०।- ५३,९४१।-
५५ बालकल्याणी सुवेदी प्रा.शि. १ महिना २६ दिन ३४,९६३।- १७,७३०।- ५२,६९३।-
५६ मेनुका पराजुली प्रा.शि. २ महिना १३ दिन ४५,५७६।- १७,७३०।- ६३,३०६।-
५७ मञ्जु अर्याल प्रा.शि. ३ महिना १ दिन ५६,८१४।- १७,७३०।- ७४,५४४।-
५८ पुजा कु. श्रीवास्तव प्रा.शि. ४ महिना ५ दिन ७८,०४२।- १७,७३०।- ९५,७७२।-
५९ मंगल मेहता प्रा.शि. २ महिना ११ दिन ४४,३२८।- १७,७३०।- ६२,०५८।-
६० कुमारी सवनम प्रा.शि. ३ महिना ५६,१९०।- १७,७३०।- ७३,९२०।-
६१ तुलसा गुरागाई प्रा.शि. २ महिना २५ दिन ३९,३३३।- १७,७३०।- ७०,७९८।-
६२ कमला घिमिरे प्रा.शि. २ महिना ११ दिन ४४,३२८।- १७,७३०।- ६२,०५८।-
६३ धर्मेन्द्र मेहता प्रा.शि. २ महिना २१ दिन ५५,५७१।- १७,७३०।- ७३,३०१।-
६४ उत्तमहरि अधिकारी प्रा.शि. २ महिना ११ दिन ४४,३२८।- १७,७३०।- ६२,०५८।-
६५ कमला न्यौपाने प्रा.शि. १ महिना २८ दिन ३६,२११।- १७,७३०।- ५३,९४१।-
६६ कमला कु. भजुरी प्रा.शि. २ महिना २ दिन ३८,७०९।- १७,७३०।- ५६,४३९।-
६७ कविता चौलागाई प्रा.शि. १ महिना २८ दिन ३६,२११।- १७,७३०।- ५३,९४१।-
६८ गीता मरासिनी प्रा.शि. १ महिना २२ दिन ३२,४६५।- १७,७३०।- ५०,१९५।-
६९ यनकुमारी गुरूङ प्रा.शि. १ महिना ५ दिन २१,८५२।- १७,७३०।- ३९,५८२।-
७० गोमा महता प्रा.शि. १ महिना ५ दिन २१,८५२।- १७,७३०।- ३९,५८२।-
७१ कान्छानोरू शेर्पा प्रा.शि. १ महिना ५ दिन २१,८५२।- १७,७३०।- ३९,५८२।-
७२ शिवा पौडेल प्रा.शि. १ महिना ५ दिन २१,८५२।- १७,७३०।- ३९,५८२।-
७३ ईश्वरी सापकोटा प्रा.शि. ४ महिना १५ दिन ८४,२८५।- १७,७३०।- १,०२,०१५।-
७४ कविता पन्थी प्रा.शि. ० महिना १८ दिन ११,२३८।- १७,७३०।- २८,९६८।-
७५ सुवास बुढा प्रा.शि. १ महिना २२ दिन ३२,४६५।- १७,७३०।- ५०,१९५।-
७६ बिष्णु कु.बुढा प्रा.शि. १ महिना २० दिन ३१,२१७।- १७,७३०।- ४८,९४७।-
७७ सन्तोष पौडेल प्रा.शि. १ महिना १९ दिन ३०,५९०।- १७,७३०।- ४८,३२०।-
७८ तीर्थमाया छन्त्याल प्रा.शि. ० महिना १८ दिन ११,२३८।- १७,७३०।- २८,९६८।-
७९ शोभा बलामी प्रा.शि. ३ महिना ८ दिन ६१,१८५।- १७,७३०।- ७८,९१५।-
८० साबित्री श्रेष्ठ प्रा.शि. ० महिना २७ दिन १६,८५७।- १७,७३०।- ३४,५८७।-
८१ सिला ढकाल प्रा.शि. १ महिना २६ दिन ३४,९६३।- १७,७३०।- ५२,६९३।-
८२ सीता भट्ट प्रा.शि. ० महिना २२ दिन १३,७३५।- १७,७३०।- ३१,४६५।-
८३ हेमा पन्त प्रा.शि. १ महिना २१ दिन ३१,८१४।- १७,७३०।- ४९,५४४।-
८४ बन्दना कु.श्रेष्ठ प्रा.शि. ० महिना २९ दिन १८,१०६।- १७,७३०।- ३५,८३६।-
८५ छायाँ कु. पाठक प्रा.शि. ० महिना २९ दिन १८,१०६।- १७,७३०।- ३५,८३६।-
८६ पार्वती ज्ञवाली प्रा.शि. १ महिना २२ दिन ३२,४६५।- १७,७३०।- ५०,१९५।-
८७ सर्मिला अर्याल प्रा.शि. ४ महिना १६ दिन ८४,९०९।- १७,७३०।- १,०२,६३९।-
८८ सन्तोषी वि.क. प्रा.शि. ३ महिना ८ दिन ६१,१८५।- १७,७३०।- ७८,९१५।-
८९ राम कु. पौडेल प्रा.शि. ४ महिना २ दिन ७६,१६९।- १७,७३०।- ९३,८९९।-
९० बिनोद कु. ओझा प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
९१ संगीता परियार प्रा.शि. १ महिना २६ दिन ३४,९६३।- १७,७३०।- ५२,६९३।-
९२ इन्दिरा शर्मा प्रा.शि. २ महिना १२ दिन ४४,९५२।- १७,७३०।- ६२,६८२।-
९३ गायत्री दंगाल प्रा.शि. १ महिना २८ दिन ३६,२११।- १७,७३०।- ५३,९४१।-
९४ मञ्जु घिमिरे प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
९५ प्रतिभा भट्टराई प्रा.शि. ० महिना ३० दिन १९,८००।- १७,७३०।- ३७,५३०।-
९६ जीवन नेपाली प्रा.शि. १ महिना ११ दिन २५,५९८।- १७,७३०।- ४३,३२८।-
९८ अजय कुमार मण्डल प्रा.शि. ३ महिना १४ दिन ६४,९३१।- १७,७३०।- ८२,६६१।-
९९ टिकादेवी पौडेल प्रा.शि. १ महिना १२ दिन २६,२२२।- १७,७३०।- ४३,९५२।-
१०० सुनिल कु.शाह प्रा.शि. ० महिना २३ दिन १४,३६०।- १७,७३०।- ३२,०९०।-
१०१ हरिन्द्र कु.महतो प्रा.शि. १ महिना २६ दिन ३४,९६३।- १७,७३०।- ५२,६९३।-
१०२ गोपालप्रसाद धमला प्रा.शि. २ महिना २९ दिन ५५,५६६।- १७,७३०।- ७३,२९६।-
१०३ मिनमाया राना प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
१०४ प्रतिभा श्रेष्ठ प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
१०५ सजन हुँका प्रा.शि. २ महिना २७ दिन ५४,३१७।- १७,७३०।- ७२,०४७।-
१०६ वृजनन्दनप्रसाद साह प्रा.शि. ३ महिना १८ दिन ६७,४२८।- १७,७३०।- ८५,१५८।-
१०७ साबित्री घिसिङ प्रा.शि. ३ महिना १० दिन ६२,४३३।- १७,७३०।- ८०,१६३।-
१०८ लक्ष्मीमाया गाम्देन प्रा.शि. १ महिना १७ दिन २९,३४४।- १७,७३०।- ४७,०७४।-
१०९ सविता अधिकारी प्रा.शि. १ महिना ११ दिन २५,५९८।- १७,७३०।- ४३,३२८।-
११० मैया अर्याल (थापा) प्रा.शि. ३ महिना १ दिन ५६,८१४।- १७,७३०।- ७४,५४४।-
१११ तिला कार्की (के.सी.) प्रा.शि. १ महिना १७ दिन २९,३४४।- १७,७३०।- ४७,०७४।-
११२ चपला ढकाल प्रा.शि. १ महिना १० दिन २४,९७३।- १७,७३०।- ४२,७०३।-
११३ बदरीनारायणप्रसाद गुप्त प्रा.शि. २ महिना ० दिन ३७,४६०।- १७,७३०।- ५५,१९०।-
११४ मिनामाया न्यौपाने प्रा.शि. ३ महिना २ दिन ५७,४३९।- १७,७३०।- ७५,१६९।-
११५ राज रोक्का प्रा.शि. १ महिना २८ दिन ३६,२११।- १७,७३०।- ५३,९४१।-
११६ पवित्रा शर्मा प्रा.शि. १ महिना ३ दिन २१,७८०।- १७,७३०।- ३९,५१०।-
११७ गोकुल पोख्रेल प्रा.शि. ३ महिना ११ दिन ६३,०५८।- १७,७३०।- ८०,७८८।-
११८ चन्द्रकुमारी चौलागाई प्रा.शि. १ महिना २६ दिन ३४,९६३।- १७,७३०।- ५२,६९३।-
११९ बाबुराम शर्मा प्रा.शि. १ महिना २९ दिन ३६,८३६।- १७,७३०।- ५४,५६६।-
१२० रूपक के.सी. प्रा.शि. ० महिना २२ दिन १३,७३५।- १७,७३०।- ३१,४६५।-
१२१ सृजना झा प्रा.शि. २ महिना २६ दिन ५३,६९३।- १७,७३०।- ७१,४२३।-
१२२ शिलु ढुङ्गाना प्रा.शि. २ महिना २५ दिन ५३,०६८।- १७,७३०।- ७०,७९८।-
१२३ मुनाहरि कार्की प्रा.शि. ० महिना २७ दिन १६,८५७।- १७,७३०।- ३४,५८७।-
१२४ मिरा महर्जन प्रा.शि. २ महिना ३ दिन ३९,३३३।- १७,७३०।- ५७,०६३।-
१२५ सहिकुमार लिम्बु प्रा.शि. २ महिना ३ दिन ३९,३३३।- १७,७३०।- ५७,०६३।-
१२६ सारदा कुमारी पौडेल नि.मा.शि. ६ महिना ५ दिन १,५६,६३३।- २४,४००।- १,८१,०३३।-
३. तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८ मा रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी हकलाई मौलिक हकको रूपमा राखी प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम रोजगारीको हक हुनेछ भन्ने व्यवस्था गरेको छ । शिक्षा नियमावली, २०५९ को नियम १०० मा शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि नेपाल सरकारले तोकी दिएबमोजिम तलब र भत्ता पाउने, नियम १०१(१) मा शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने भए सोसमेत पाउने तथा नियम १०४(१) र (२) मा शिक्षकले आफ्नो धर्म, संस्कृति, परम्पराअनुसार मनाउने चाडपर्वको लागि आफूले खाइ पाइ आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउने कानूनी व्यवस्था रहेको देखिन्छ ।
४. विधिको शासन (Rule of Law) मा कुनै पनि कार्य संविधान तथा कानूनले निर्देशन गरेअनुरूप वा कानूनबमोजिम मात्र हुन्छ । कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति वा निकायले संविधान, ऐन, नियमबमोजिमको कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । कानूनले दिएको सुविधा उपभोग गर्न नपाएको खण्डमा त्यस्ता व्यक्तिले कानूनी उपचारको खोजी गर्नु स्वाभाविक नै हुन्छ । यी निवेदकहरू विधिसम्मत रूपमा शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा सहभागी भई परीक्षा उत्तीर्ण गरी नियुक्तिको लागि जिल्ला शिक्षा कार्यालय, काठमाडौंमा सिफारिस भई स्थायी शिक्षक पदमा नियुक्ति प्राप्त गरेका व्यक्तिहरू देखिन्छन् । नियुक्ति पाएका निवेदकहरू पद बहाली गर्न सम्बन्धित विद्यालयमा जाँदा त्यहाँ पद बहाली हुन नदिएपछि जिल्ला शिक्षा कार्यालय, काठमाडौंमा फिर्ता भएको र जिल्ला शिक्षा कार्यालय, काठमाडौंले तत्काल निजहरूलाई पद बहालीको वातावरण बनाउन नसकेपछि सोही कार्यालयमा हाजिर गराएको भन्ने निवेदनसाथ पेस गरेको जिल्ला शिक्षा कार्यालय, काठमाडौंबाट प्रमाणित हाजिरीबाट देखिन्छ । सो कुरालाई विपक्षीहरूले आफ्नो लिखित जवाफमा पनि स्वीकार गरेको समेत देखिन्छ । यसरी स्थायीरूपमा नियुक्ति भई नियमितरूपमा कार्यालयमा हाजिर भएका निवेदकहरूलाई निजहरूले नियमानुसार पाउने अवधिको तलब, भत्ता र चाडपर्व खर्चसमेतबाट वञ्चित गर्न मिल्ने देखिँदैन । निवेदकहरू नियुक्ति भएको दरबन्दीमा कार्यरत अस्थायी शिक्षकहरूलाई भुक्तानी दिएको कारण दोहोरो भुक्तानी दिन नमिल्ने भन्ने विपक्षीहरूको लिखित जवाफ संविधान एवं कानूनसम्मत देखिँदैन । शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकको विज्ञापन गरी सो विज्ञापनअनुसार आवेदन दिई परीक्षामा सम्मिलित भई परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक पदमा नियुक्तिसमेत पाइसकेका निवेदकहरूलाई विपक्षी जिल्ला शिक्षा कार्यालयले कार्यालयमा हाजिरसमेत गराई सकेकोमा निवेदकहरू नियुक्ति भएको पदमा अन्य अस्थायी व्यक्ति कार्यरत रहेको भन्ने आधारमा शिक्षक कर्मचारीले नियुक्ति भई कार्यालयमा हाजिर भएपश्चात् निजहरूले नियमानुसार पाउने तलब भत्ताको सुविधाबाट वञ्चित गर्नु शिक्षा नियमावली, २०५९ कोनियम १००, १०१(१), १०४(१) र (२) समेतको प्रतिकुल हुन्छ । नियुक्ति पाएका स्थायी शिक्षकलाई सम्बन्धित विद्यालयमा हाजिर गराउन नसक्नु र स्थायी शिक्षकको दरबन्दीमा स्थायी शिक्षक नियुक्ति भइसकेपछि पनि अस्थायी शिक्षकलाई अवकाश दिन नसक्नु र त्यस्ता अस्थायी शिक्षकलाई तलब भत्ता खुवाउनु विपक्षीहरूको कमजोरी हो । राज्यका निकायले गरेको कमजोरीको कारण नागरिकले कानूनबमोजिम प्राप्त गर्ने हक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थालाई स्वाभाविक मान्न मिल्दैन । निवेदकहरूलाई विधिसम्मतरूपमा नियुक्ति गरी नियमितरूपमा हाजिर गराई काम काज गराएपछि निजहरूले काम गरेको अवधिको तलब, भत्ता र चाडपर्व खर्च नदिनु काम गरेबापत उचित ज्याला पाउने भन्ने श्रमसम्बन्धी विधिशास्त्रीय अवधारणाको विपरीत समेत हुने देखिन्छ । संविधान, शिक्षा ऐन र शिक्षा नियमावलीअनुरूप यी निवेदकहरूले काम गरेको अवधिको तलब, भत्ता र चाडपर्व खर्च पाउने निवेदकहरूको कानूनी अधिकार रहेको र निवेदकहरूले नियुक्ति पाई कार्यालयमा हाजिर भएपश्चात् निवेदकहरूलाई निजहरूले पाउने तलब भत्ता एवं अन्य सुविधा उपलब्ध गराउनु पर्ने कानूनी कर्तव्य विपक्षीहरूको रहेको देखिएकाले निवेदन मागबमोजिम आदेश जारी गर्नुपर्ने अवस्था देखिन आयो ।
५. तसर्थ माथि विवेचित तथ्य, प्रमाण र कानूनका आधारमा निवेदकहरूलाई जिल्ला शिक्षा कार्यालय, काठमाडौंमा हाजिर गराएको मितिदेखि निजहरू आफ्नो दरबन्दी भएको विद्यालयमा पदस्थापन भई हाजिर नभएसम्म जिल्ला शिक्षा कार्यालय, काठमाडौंमा हाजिर भएको अवधिको शिक्षा नियमावली, २०५९ को नियम १००, नियम १०१(१) तथा नियम १०४(१) र (२) बमोजिम तलब, भत्ता र चाडपर्व खर्च दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी दिएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत आदेशको जानकारी विपक्षीहरूलाई दिई प्रस्तुत निवेदनको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद चालिसे
इजलास अधिकृत : शिवलाल पाण्डेय
इति संवत् २०७४ साल वैशाख १२ गते रोज ३ शुभम् ।