निर्णय नं. ९८४४ - कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
फैसला मिति : २०७३।०८।२९
०६९-CR-०८५२
मुद्दा: कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका देवेन्द्र पुडासैनी
विरूद्ध
प्रत्यर्थी / वादी : कृष्णप्रसाद पुडासैनीको जाहेरीले नेपाल सरकार
फौजदारी दायित्वको वर्गीकरणअन्तर्गत मनसाय सापेक्ष दायित्व (Mens Rea relative Liability) एक हो । जसमा आपराधिक कार्य (Actus Reus) र आपराधिक मनसाय (Mens Rea) दुवैको समायोजनमा हुने अपराधहरू मनसाय सापेक्ष दायित्व हुन् । तर निरपेक्ष दायित्व (Strict Liability) यसको अपवाद हो । आपराधिक मनसायबिना गरेको कार्य अपराध हुँदैन (Act alone does not amount to guilt, it must be accompanied by mens rea) भन्ने फौजदारी दायित्वको सर्वमान्य सिद्धान्तसमेत रहेको
पाइन्छ । मानसिक विचलन भएको अथवा मानसिकरूपमा अस्वस्थ भएको व्यक्तिले गरेको आपराधिक कार्यमा आपराधिक दायित्वबाट उन्मुक्तिको प्रतिरक्षाको आधार
बन्दछ । यसको कारण उसले गरेको कार्य या त उसले आफूले गरिरहेको छु भन्ने जानकारी राख्दैन या त आफूले गरेको कार्य गलत हो भन्ने जानकारी राख्दैन । यसैकारण स्वतन्त्र इच्छा (Free will) र स्वायत्त (Autonomy) सोचबाट निजले काम गरेको हुँदैन भन्ने मान्यता सर्वत्र स्वीकार्य विषय बनेको पाइने ।
विवेक प्रयोग गर्न सक्ने, आफूले गरेको कार्यको जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले पूर्वयोजना बनाई स्वतन्त्र इच्छाबाट, स्वायत्त किसिमको स्वेच्छापूर्वक गरेको आपराधिक कार्यमा मात्र दायित्ववान् बनाउन सकिने ।
(प्रकरण नं. ५)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू विजयप्रसाद मिश्र, धर्मराज पौडेल र नवराज तिमिल्सिना
प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता रामकुमार थापा
अवलम्बित नजिर :
ने.का.प. २०४५, अंक ७, नि.नं.३५३१
ने.का.प. २०४४, अंक १, नि.नं.२९७८
ने.का.प. २०४२, अंक ५, नि.नं.२३५५
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या.श्री विष्णुप्रसाद कोइराला
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टीका बहादुर हमाल
माननीय न्यायाधीश श्री रामचन्द्र यादव
फैसला
न्या. हरिकृष्ण कार्की : पुनरावेदन अदालत, पाटनको मिति २०६९।८।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं.८ महाँकालस्थित पूर्व कृष्णप्रसाद पुडासैनीको घर, पश्चिम नरेश मानन्धरको घर र उत्तर दक्षिण बागमती खोला यति चार किल्लाभित्र रहेको कृष्णप्रसाद पुडासैनीको घरदेखि पश्चिम तर्फ २०० मिटर टाढा बागमती खोलाको पानी मिति २०६६/५/२३ गतेका दिन अं.११.३० बजेको समयमा देवेन्द्र पुडासैनीले दिव्यनी पुडासैनी र सारिका पुडासैनीलाई फालेको स्थान रहेको, दिव्यनी पुडासैनीको दाहिने हात भाँच्चिएको अवस्थामा मानिसहरूले उद्धार गरेको र सारिका पुडासैनीलाइ उक्त बागमती खोलाले बगाई हराई बेपत्ता भएको भन्ने घटना स्थल प्रकृति मुचुल्का ।
मिति २०६६/५/२३ गतेका दिन ११.३० बजेको समयमा प्रतिवादी देवेन्द्र पुडासैनीले आफ्नै छोरीहरू वर्ष ७ कि दिव्यनी पुडासैनी र वर्ष ४ कि सारिका पुडासैनीलाई बागमती खोलामा फाल्दा सारिका पुडासैनी बगाई बेपत्ता भएकी र दिव्यनी पुडासैनीको हात भाँच्चिएर घाइते भएको अवस्थामा मानिसहरूले उद्धार गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको कृष्ण प्रसाद पुडासैनीको जाहेरी दरखास्त ।
मिति २०६६/५/२३ गते बिहान सारिका पुडासैनी र म मेरो बाबु देवेन्द्र पुडासैनीसँग घरमा बसिरहेका थियौ । सो बिहान अं. ११:३० बजेको समयमा बाबुले मलाई र बहिनीलाई खोलामा नुहाउन जाउँ भनी बागमती खोलामा लगी बाबुले पहिले बहिनी सारिका पुडासैनीलाई उचाली बागमती खोलाको पानीमा फ्यालिदिए बहिनीलाई खोलाले बगाएर लग्यो, बाबुले मलाई पनि उचाली खोलामा फालेका थिए । खोला छेउको ढुङ्गामा पछारिएर मेरो दाहिने हात भाँच्चिएको छ । शरीरमा पनि घाउ चोट भएको हो । त्यसपछि उक्त खोलामा पौडी खेल्न आएका मानिसहरूले उठाई उपचारको लागि लगेका हुन् भन्नेसमेत व्यहोराको दिव्यनी पुडासैनीको मौकाको कागज ।
बाबुले जग्गा पास नगरी दिएकोमा मलाई रिस उठिरहेको थियो । मैले छोरीहरू दिव्यनी पुडासैनी र सारिका पुडासैनीलाई खोलामा लगी फालिदिएको
हुँ । सानी छोरी सारिका पुडासैनीलाई खोलाले बगाई लगेको हो । निजको मृत्यु भयो होला । ठूली छोरी दिव्यनी पुडासैनीको हात भाँच्चिएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र पुडासैनीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
प्रतिवादी देवेन्द्र पुडासैनीले दुवै छोरीहरू दिव्यनी पुडासैनी र सारिका पुडासैनीलाई मार्ने उद्देश्यले खोलामा लगी फालिदिएको भन्ने थाहा पाएका हौं । निज देवेन्द्र पुडासैनीलाई कानूनबमोजिम कारवाही होस् भन्नेसमेत व्यहोराको कुमार सिंखडा, गोविन्द्रप्रसाद पुडासैनी र रमेश सिंखडाको एकै मिलानको छुट्टाछुट्टै कागज ।
प्रतिवादी देवेन्द्र पुडासैनीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं.तथा सोही महलको १५ नं. बमोजिम कसुर अपराध गरेको हुँदा निज प्रतिवादी देवेन्द्र पुडासैनीलाई सोही महलको १३(३) र १५ नं. बमोजिम सजाय हुन माग दाबी लिइएको छ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मैले ज्यान मार्ने नियतले छोरीहरू सारिका र दिव्यनीलाई खोलामा फालिदिएको होइन । बुबाले सम्पत्ति नदिएको झोक र मेरो दिमागी बिमारले गर्दा मैले छोरीहरूलाई बागमती खोलामा बगाई दिएको हुँ । मलाई कानूनअनुसार जे हुनुपर्दछ होस् भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र पुडासैनीको अदालतको बयान ।
प्रतिवादी देवेन्द्र पुडासैनीलाई थुनामा राखी मुद्दाको कारवाही गर्नु भन्ने सुरू अदालतको मिति २०६६/६/२१ को आदेश ।
मेरी नातिनी सारिकालाई कसले मारे थाहा भएन । जाहेरीमा भएको व्यहोरा र सही छाप मेरो नै हो । जाहेरी दरखास्त अरूले लेखेको हो मैले लेखेको होइन भन्नेसमेत व्यहोराको जाहेरवाला कृष्णप्रसाद पुडासैनीको बकपत्र ।
देवेन्द्र पुडासैनीले छोरीहरू खोलामा फालेको हो भन्ने सुनेको हुँ, निजले फालेको हो होइन थाहा भएन, निज प्रतिवादी देवेन्द्रले मानसिक रोगसम्बन्धी दबाई खाइरहेको थियो भन्नेसमेत व्यहोराको बुझिएका रमेश सिंखडाको बकपत्र ।
घटना मैले देखेको होइन । देवेन्द्र पुडासैनीले छोरीहरूलाई बोकेको र चिप्लिएर लडेको भन्ने सुनेको हो । देवेन्द्र पुडासैनीको मानसिक अवस्था पहिलेदेखि नै ठिक थिएन भन्नेसमेत व्यहोराको बुझिएका कुमार सिंखडा, गोविन्दप्रसाद पुडासैनीको बकपत्र ।
बुबा देवेन्द्र, म र बहिनी ढुङ्गामा चिप्लिएर लडेको हो । मलाई दुखेर रून थालेँ त्यसपछि अरू के भयो थाहा भएन भन्नेसमेत व्यहोराको पीडित दिव्यनी पुडासैनीको बकपत्र ।
प्रतिवादी देवेन्द्र पुडासैनीलाई मैले परीक्षण गर्दा एक प्रकारको मानसिक रोग (Psychosis) लागेको थियो र सो रोगको लागि विभिन्न खाले औषधिहरू दिइएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र पुडासैनीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा. प्रदिप मान सिंहको बकपत्र ।
यसमा प्रतिवादी देवेन्द्र पुडासैनीले छोरीहरू दिव्यनी र सारिका पुडासैनीलाई बागमती खोलामा फाल्दा सारिकालाई बगाई लैजादा बेपत्ता भएको भन्ने जाहेरी र आफूले छोरीहरूलाई खोलामा फालेको भनी मौकामा बयान गर्ने यी प्रतिवादीले आफू मानसिक रोगी भएको कारण छोरीहरूलाई खोलामा बगाएको हुँ भनी अदालतमा बयान गरे पनि स्वास्थ्य परीक्षण गर्ने डाक्टर प्रदिप मान सिंहको बकपत्रबाट प्रतिवादी आफूले गरेको कामको परिणाम थाहा पाउन नसक्ने अवस्थामा बिमारी थिए भन्ने पुष्टि नभएको र मौकामा बुझिएका प्रतिवादीको छोरी दिव्यनीलाई बुझ्दा चिप्लेर लडेको हो भने पनि मौकाको घटनास्थलबाट चिप्लिएर लडेको भन्ने नदेखिँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) र १५ नम्बरबमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा आरोपित कसुरमा हुने ठूलो सजाय गर्नुपर्ने हुँदा ऐ. को १३(३) नं. अनुसार सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भनी मिति २०६८/७/२ गते श्री काठमाडौं जिल्ला अदालतबाट भएको फैसला ।
यसमा प्रतिवादी देवेन्द्र पुडासैनी मानसिक रोगको बिरामी भएको भन्ने कुरा प्रतिवादीले खाएको औषधि र डाक्टरले गरेको बकपत्रसमेतबाट पुष्टि भइरहेको र छोरी नाताकी दिव्यनीले चिप्लेर लडेको हो भनी गरेको बयानलाई समेत बेवास्ता गरी प्रतिवादीको दिमाग ठीक नभएको भनी जाहेरवालासमेतले बकपत्र गरेको र स्वयम् प्रतिवादीको बिरामी अवस्थासमेतलाई बेवास्ता गरी प्रतिवादीले छोरीहरू दिव्यनी र सारिकालाई बागमती खोलामा फाल्दा सारिका बेपत्ता भएको भन्ने आधारमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा चलाई ठूलो मुद्दामा सजाय गरेको सुरू जिल्ला अदालतको फैसला फौजदारी न्याय सिद्धान्त एवं दण्ड सजायको १ नम्बर र प्रमाण ऐन २०३१ को दफा २३ विपरीत भई बदर भागी भएकोले पुनर्विचार गरी कसुरबाट उन्मुक्ति पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
मौकाको जाहेरी, जाहेरवालाको बकपत्र, प्रतिवादीले मौकामा र अदालतमा गरेको बयान पीडित भनिएकी घाइते दिव्यनीले मौकामा गरेको कागज, घटनास्थल मुचुल्का, मौकामा बयान गर्ने कुमार सिंखडा, गोविन्दप्रसाद पुडासैनी र रमेश सिंखडाको बकपत्रसमेतबाट प्रतिवादी आफ्नो कामको परिणाम नै थाहा नपाउने अवस्थाका भन्ने नदेखिएको र अभियोग दाबीबमोजिमको कसुर गरेकै देखिँदा अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) र १५ नं. अनुसारको कसुर गरेको यी प्रतिवादीलाई आरोपित कसुरमा ठूलो सजाय गर्नुपर्ने हुँदा ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।७।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।८।१९ को फैसला ।
वादीको अभियोग दाबी मिसिल संलग्न प्रमाण कागजबाट पुष्टि नभएको, वादीका साक्षीको रूपमा रहेका जाहेरवाला र बुझिएका व्यक्तिले पनि मलाई मानसिक रोग लागी औषधोपचार गरेको कुरा उल्लेख गरेको, आफ्ना सन्तानलाई उर्लिरहेको बागमतीको भेलमा लगी फाल्नु पर्ने अवस्था र कुनै कारण नरहेको, मिसिलबाट आपराधिक कार्य र आपराधिक मनसाय रहेको नदेखिएको, आपराधिक कार्य र आपराधिक मनसायविना अपराध हुने कानून नरहेको, म आफैँ मानसिक रोगले ग्रस्त रही हाल पनि उपचार गरिरहेको अवस्थामा मैले कसुर गरेको भन्ने पुष्टि हुने प्रमाणसमेत नरहेको र कसुरसमेत नगरेकोले सुरू तथा पुनरावेदन अदालत, पाटनबाट मलाई सर्वश्वसहित जन्मकैद हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर उल्टी गरी अभियोग दाबीबाट मलाई उन्मुक्ति दिलाई सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र पुडासैनीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा डा. प्रदीपमान सिंहको बकपत्रमा प्रतिवादी देवेन्द्र पुडासैनीलाई मानसिक रोग (Psychosis) लागेको थियो भन्ने व्यहोरा उल्लेख गरी लेखाई दिएकोमा सोको विवेचना नगरी अभियोग माग दाबीबमोजिम कसुर ठहर गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।८।१९ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई प्रस्तुत पुनरावेदन पत्रको नक्कलसहित पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।३।१९ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री विजयप्रसाद मिश्र, श्री धर्मराज पौडेल र श्री नवराज तिमिल्सिनाले पुनरावेदक / प्रतिवादी मानसिक रोगले आक्रान्त रहेको कुरा मिसिल संलग्न प्रमाणबाट देखिन्छ । मानसिक रोगको कारण २०६० सालदेखि औषधि सेवन गरी आएको, सो कुरा पुनरावेदन जिकिर तथा बयानमा मात्र उल्लेख गरेको नभई निजको स्वास्थ्य परीक्षण गर्ने डा. प्रदिपमान सिंहले मिति २०६७।१२।१७ मा काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बकपत्रसमेतले पुष्टि गरेको हुँदा मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार कानूनतः मगज बिग्रेको वा बौलाएको व्यक्तिले गरेको कामको परिणाम जानकारी नहुने भएकोले सजाय गर्न नमिल्ने हुँदा अभियोग दाबीबाट सफाई दिलाई न्याय इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत
गर्नुभयो । वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रामकुमार थापाले प्रतिवादी देवेन्द्र पुडासैनीले अनुसन्धानको क्रममा बयान गर्दासमेत मलाई बाबुआमाले जग्गा पास नगरिदिएकोले साह्रै रिस उठिरहेको थियो, मिति २०६६।५।२३ गते बिहान अ. ११.३० बजेको समयमा मलाई साह्रै रिस उठी छोरीहरू दिव्यनी पुडासैनी र सारिका पुडासैनीलाई घरबाट काठमाडौं जिल्ला सुन्दरीजल-८ महाँकाल्थित बागमती खोलामा लगी दुवै छोरीहरूलाई फ्याँकिदिएको हुँ । सानी छोरी सारिका पुडासैनीलाई खोलाले बगाई लगेको हो, निजको मृत्यु भयो होला, ठूली छोरी दिव्यनी पुडासैनीको हात भाँच्चिएको थियो भनी कसुरमा साबित भई व्यहोरा लेखाएको अवस्था एकातर्फ छ भने अर्कातर्फ उक्त कार्य मानसिक रोगको कारणले भए गरेको हो भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि नभएको हुँदा अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
विद्वान् कानून व्यवसायीको बहस बुँदालाई समेत मध्येनजर राख्दै मिसिल संलग्न प्रमाण कागजको अध्ययन गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६९।८।१९ मा भएको फैसला मिले नमिलेको के हो ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन ? त्यस विषयमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा, प्रतिवादी देवेन्द्र पुडासैनीले मिति २०६६।५।२३ गतेका दिन अ. ११.३० बजेको समयमा काठमाडौं जिल्ला सुन्दरीजल गा.वि.स. वडा नं. ८ महांकालस्थित बागमती खोलामा आफ्नै छोरी दिव्यनी पुडासैनी र सारिका पुडासैनीलाई मार्ने नियतले फ्याँकेकोमा सारिका पुडासैनीलाई बागमती खोलाले बगाई मृत्यु भई लास बेपत्ता भएको र दिव्यनी पुडासैनीको दाहिने हात भाँच्चिएको अवस्थामा उद्धार भई ज्यान बाँचेको भन्ने निर्विवाद पुष्टि भएको हुँदा यी प्रतिवादी देवेन्द्र पुडासैनीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. तथा सोही महलको १५ नं. बमोजिमको कसुर अपराध गरेको हुँदा सोही महलको १३(३) र १५ नं. बमोजिम सजाय हुन मागदाबी लिई अभियोग पत्र प्रस्तुत भएको पाइन्छ । अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) र १५ नं. अनुसारको कसुर गरेको या यी प्रतिवादीलाई आरोपित कसुरमा ठूलो सजाय गर्नुपर्ने हुँदा ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।७।२ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।८।१९ को फैसलाउपर प्रतिवादीको तर्फबाट परेको प्रस्तुत पुनरावेदन निर्णयार्थ पेस भएको रहेछ ।
यिनै प्रतिवादीका बाबु कृष्णप्रसाद पुडासैनीले दिएको जाहेरीमा देवेन्द्र पुडासैनीले आफ्नी छोरीहरू दिव्यनी र सारिका पुडासैनीलाई बागमती खोलामा फाल्दा सारिकालाई बगाई लगेकोले लाससमेत प्राप्त नभएको र दिव्यनीको हात भाँच्चिएको अवस्थामा उद्दार भएको भन्ने देखिन्छ । प्रतिवादी देवेन्द्र पुडासैनीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा छोरीहरूलाई खोलामा फालेको भनी बयान गरेका र सो बयानलाई समर्थन गर्दै आफ्नो बिरामीको कारणले गर्दा छोरीहरूलाई खोलामा बगाई दिएको भनी अदालतमा समेत बयान गरेको देखिन्छ । साथै घटनास्थल मुचुल्काका मानिसहरू कुमार सिंखडासमेतले मौकामा गरिदिएको घटना विवरण कागजमा यी प्रतिवादीले आफ्नी छोरीहरूलाई खोलामा फालेको भनी लेखाएको र अदालतमा बकपत्र गर्दा प्रतिवादीको मानसिक अवस्था ठीक नभएको भनी बकपत्र गरेको देखिएको हुँदा यी प्रतिवादी देवेन्द्र पुडासैनीले आफ्नी छोरीहरू दिव्यनी र सारिका पुडासैनीलाई बागमती खोलामा फालेकोमा विवाद देखिएन । सोही कारणबाट सारिका पुडासैनी खोलाले बगाई बेपत्ता भएको स्थापित हुन आयो ।
कुनै कसुरको अभियोग लागेको व्यक्ति कसुरदार हो वा होइन भन्नेबारे सबुत प्रमाणको आधारमा ठहर गर्नु अदालतको पहिलो कर्तव्य हुन आउँछ भने दोषी ठहर भएको अवस्थामा निजलाई सजाय गर्नु उपयुक्त हुन्छ, हुन्न वा कस्तो र कति सजाय दिन उपयुक्त हुन्छ भन्ने निर्णय गर्नु दोस्रो कर्तव्य हुन आउँछ । प्रस्तुत मुद्दामा यी प्रतिवादीलाई सजाय गर्नु उपयुक्त हुन्छ या हुन्न भन्ने विषयमा निरूपण गर्नका लागि यी प्रतिवादीले भने अनुरूप दिमागी हालत ठिक छ या छैन ? यस सम्बन्धमा हाम्रो कानूनी व्यवस्था के छ ? भनी हेर्नुपर्ने हुन्छ ।
२. पहिलो प्रश्नतर्फ विचार गर्दा, यी प्रतिवादी देवेन्द्र पुडासैनीको अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दाकै अवस्थामा सानैदेखि मलाई टाउको दुख्ने रोग थियो । औषधि खाँदै आइरहेको थिएँ । अलि बढी दुख्ने, दिमागले काम नगर्ने भएको करिब २ महिना जति भयो, औषधि सेवन गरिरहेको छु । मैले दिसा पिसाब कहिले काहीँ खाने गरेको छु भनी उल्लेख गरेका छन् भने अदालतमा बयान गर्दा कसुरमा साबित रही मेरो दिमागी अवस्था र बुबाले सम्पत्ति नदिएको झोंकमा दुवै छोरीहरूलाई खोलामा फालिदिएको हुँ भनी उल्लेख गरेका छन् । यी प्रतिवादीको यो कथनलाई जाहेरवाला निजका बाबु कृष्णप्रसाद पुडासैनीले अदालतमा बकपत्र गर्दा समर्थन जनाउँदै निज छोराको मानसिक अवस्था राम्रो थिएन । निज देवेन्द्र पुडासैनी २०६० सालदेखि नाङ्गै हिँड्ने, जताततै हिँड्ने, आफ्नै सुरमा हिँड्ने, निजलाई मानसिक रोगसम्बन्धी उपचार गराई दबाई खुवाउँदै गरेको हो । औषधि पनि खान नमान्ने, औषधि मुखमा जिब्रोमा राख्ने अनि फाल्ने गरेको भनी उल्लेख गरिदिएका छन् । त्यसैगरी अनुसन्धानको क्रममा कागज गर्ने कुमार सिंखडा, गोविन्दप्रसाद पुडासैनी र रमेश सिंखडाले अदालतमा आई बकपत्र गर्दा धेरै पहिलादेखि देवेन्द्र पुडासैनीको मानसिक अवस्था ठीक थिएन । मानसिक रोगसम्बन्धी औषधि खाँदै आएका थिए भनी एकै मिलानको बकपत्र गरेको पाइन्छ ।
३. यी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई नै विचार गरेर अनुसन्धान अधिकारीले मानसिक अस्पताल, पाटनमा परीक्षणका लागि पठाएकोमा मिति २०६३/५/३१ मा मानसिक अस्पतालले परीक्षण गरी Psychosis भएको भनी उल्लेख गरेको पाइन्छ । तत्पश्चात् काठमाडौं जिल्ला अदालतको आदेशानुसार मिति २०६६/८/१४ मा कारागार कार्यालय, डिल्लीबजारबाट मानसिक अस्पताल पठाई मानसिक अस्पतालबाट परीक्षण गरी उपचार गरेको र दबाई लेखिदिएको उक्त अस्पतालबाट जारी OPD CARD बाट देखिएको छ । उक्त कार्डबाट मिति २०६७/१०/२७ सम्म महिनैपिच्छे परीक्षण गरी औषधिलाई निरन्तरता दिएको पनि देखिएको छ । यसको साथै मिति २०६०/९/३ देखि मिति २०६६/२/२७ सम्म निरन्तर उपचाररत रहेको तथ्य Nepal Medical College Teaching Hospital, Attarkhel बाट जारी OPD CARD बाट स्थापित भएको छ र सो OPD CARD यस अस्पतालबाट जारी भएको भनी उक्त अस्पतालले मिति २०६७/११/५ मा काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्रबाट देखिएको छ । यी प्रतिवादीको उपचारमा रहेका डा. प्रदिपमान सिंहले अदालतमा आई बकपत्र गर्दा बिरामीको लक्षणहरूमा शंका गर्ने, रिसाउने, विभिन्न शारीरिक सिकायत गर्ने प्रवृत्ति देखिएको थियो । हिँडीरहने, राति राम्रोसँग नसुत्ने, आफ्नो जिम्मेवारी बहन नगर्ने, उसलाई एक किसिमको मानसिक रोग (Psychosis) लागेको थियो । सो रोगको लागि विभिन्न खाले औषधिहरू दिइएको थियो । त्यसपछि समय समयमा
आउनुहुन्थ्यो । कहिले राम्रो हुने र कहिले च्याप्ने हुन्थ्यो भनी उल्लेख गरेका छन् । जाहेरवाला र अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूले अदालतमा आई गरेको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार र डाक्टरले गरेको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा २३ अनुसार प्रमाणको लागि ग्राह्य हुने नै देखियो ।
४. यसप्रकार प्रतिवादी देवेन्द्र पुडासैनीको अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयान, जाहेरवाला कृष्णप्रसाद पुडासैनीले अदालतमा गरेको बकपत्र, अनुसन्धानको क्रममा कागज गर्ने गोविन्दप्रसाद पुडासैनी, रमेश सिंखडा र कुमार सिंखडाले अदालतमा आई गरेको बकपत्र, डा. प्रदिपमान सिंहले अदालतमा आई गरेको बकपत्र, यी प्रतिवादीको घटना घट्नुभन्दा करिब ६ वर्ष अगाडिदेखि घटना घटेको लगत्तै र घटना घटेको करिब एक वर्षसम्मको परीक्षण र उपचारको विवरणबाट यी प्रतिवादी देवेन्द्र पुडासैनी मानसिकरूपमा अस्वस्थ रहेको स्थापित हुन आयो ।
५. फौजदारी दायित्वको वर्गीकरणअन्तर्गत मनसाय सापेक्ष दायित्व (Mens Rea relative Liability) एक हो । जसमा आपराधिक कार्य (Actus Reus) र आपराधिक मनसाय (Mens Rea) दुवैको समायोजनमा हुने अपराधहरू मनसाय सापेक्ष दायित्व हुन् । तर निरपेक्ष दायित्व (Strict Liability) यसको अपवाद हो । आपराधिक मनसायविना गरेको कार्य अपराध हुँदैन (Act alone does not amount to guilt, it must be accompanied by mens rea) भन्ने फौजदारी दायित्वको सर्वमान्य सिद्धान्तसमेत रहेको पाइन्छ । मानसिक विचलन भएको अथवा मानसिकरूपमा अस्वस्थ भएको व्यक्तिले गरेको आपराधिक कार्यमा आपराधिक दायित्वबाट उन्मुक्तिको प्रतिरक्षाको आधार बन्दछ । यसको कारण उसले गरेको कार्य या त उसले आफूले गरिरहेको छु भन्ने जानकारी राख्दैन या त आफूले गरेको कार्य गलत हो भन्ने जानकारी राख्दैन । यसैकारण स्वतन्त्र इच्छा (Free will) र स्वायत्त (Autonomy) सोचबाट निजले काम गरेको हुँदैन भन्ने मान्यता सर्वत्र स्वीकार्य विषय बनेको छ । Smith and Hogan को अनुसार It recognises that the imposition of criminal punishment should be reserved for those who are rational and responsible beings (Smith and Hogan’s Criminal Law, १३th edition, David Ormerod P.२८७). त्यसैगरी Pillai का अनुसार "The basis for the acceptance of insanity as an excusatory defence is that it is assumed that the offender does not have malice aforethought. He does not have a normal mind. As such he does not voluntarily commit the proscribed act…. It is held that these offenders are not morally blame worthy. It is assumed that they do not know what they are doing or what is wrong and lack the “Free will” and the autonomy which the law presuppeses (General Principles of criminal law, K.N. Chandrasekharan Pillai, 2nd ed. Eastern Book Company P. 401). यी दुवै कथनबाट विवेक प्रयोग गर्न सक्ने, आफूले गरेको कार्यको जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले पूर्वयोजना बनाई स्वतन्त्र इच्छाबाट, स्वायत्त किसिमको स्वेच्छापूर्वक गरेको आपराधिक कार्यमा मात्र दायित्ववान् बनाउन सकिन्छ भन्ने पुष्टि गर्दछ । The accused is not criminally responsible if his unlawful act was the product or mental disease of mental defect भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त रहेको छ ।
६. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा, मुलुकी ऐन दण्ड सजायको १ नं. मा "कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतवात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन..." भनी स्पष्टरूपमा उल्लेख भएको पाइन्छ । यो कानूनी व्यवस्थाअनुसार सजायबाट उन्मुक्ति दिँदा सर्वोच्च अदालतबाट निम्नबमोजिम सिद्धान्त प्रतिपादन गरेको पाइन्छः
(क) अस्पतालको जाँच प्रतिवेदनबाट प्रतिवादीको होस ठेगाना नभई मानसिक सन्तुलन ठीक नभएको भन्ने उल्लेख गरेको, निज प्रतिवादीका बाबु प्रहरीमा कागज गर्दा छोरा बौलाएको भन्ने कागज गरिदिएको र सोही व्यहोरा अधिकांश सरजमिनका मानिसहरूले समेत लेखी अदालतमा आई बकपत्रसमेत गरिदिएबाट निज प्रतिवादीको होस ठेगान नभई मानसिक सन्तुलन ठीक नभएको प्रमाणित हुन आएकोले दण्ड सजायको १ नं. बमोजिम निजलाई कुनै प्रकारको सजाय नहुने (ने.का.प. २०४५, अंक ७, नि.नं. ३५३१)
(ख) आफ्नो मानसिक सन्तुलन ठिक भई होस भएको अवस्थामा गृहस्थ जीवनको सर्वोपरी जीवन सहारा आफ्नो श्रीमतीलाई मार्नसम्मकै व्यवहार गरी घाइते पार्नुको साथै बालक छोरामाथि आघातित क्षति गरी मार्न सक्नु र आफ्नो प्राण रक्षाको मुख्य साधनको लागि राखेको अन्नपात धन पैसा र बास बस्ने घरसमेतमा आगो लगाई नष्ट भ्रष्ट पार्नु इत्यादि दुर्भिक्ष प्रक्रिया होस भएको कुनै मानव जातिबाट घट्न सक्ने सम्भाव्य घटना हो भन्न र होस भएकै अवस्थामा यी घटना घटेका हुन् भनी ठहर्याउन मिल्ने स्थिति जाहेरीदेखि लिएर बुझिएको साक्षी सरजमिन तथा घाइते भई बचेकी अभियुक्त श्रीमती समेतका घटना घटेका क्रमको बकाई लेखाई समेत आधार प्रमाणबाट समेत मुलुकी ऐन दण्ड सजायको १ नं. बमोजिम अभियुक्तलाई सजाय नगर्ने गरी गरेको इन्साफ मिल्ने देखिँदा मनासिब ठहर्ने (ने.का.प. २०४४, अंक १, नि.नं. २९७८)
(ग) सामान्य व्यक्तिले कुनै अपराध गर्छ भने सो अपराध लुकाउने छिपाउने र त्यस्तो आरोपबाट आफू बच्न प्रयास गर्छ । तर प्रस्तुत मुद्दामा उपर्युक्त लेखिएबमोजिम अभियुक्तले पूर्वयोजना नबनाई श्रीमतीलाई मार्ने कुनै मनसाय नराखी एक्कासी पढिरहेको सुकसागरको किताब फाली बन्चरोले प्रहार गरी मारेको देखिन आउँछ । मारी सकेपछि आफू बच्ने प्रयास नगरी झन् स्वास्नीलाई मारेँ भनी निज अभियुक्तले हल्ला गरेको भन्ने देखिन्छ । उक्त कार्य गर्न निजले कसैको सल्लाह सहमति लिएको पनि देखिँदैन (ने.का.प. २०४२, अंक ५, नि.नं. २३५५)
७. यी प्रतिवादी देवेन्द्र पुडासैनीले मुलुकी ऐन, दण्डसजायको महलको १ नं. अनुसार आफूले गरेको आपराधिक दायित्वबाट उन्मुक्ति पाउँछन् या पाउँदैनन् भनी उक्त कानूनी व्यवस्था सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त र फौजदारी न्यायको मान्य सिद्धान्तको कसीमा राखेर हेर्दा निज प्रतिवादी २०६० सालदेखि मानसिक रोगको उपचारमा रहेको रेकर्डबाट देखिएको छ भने घटना घटेको एक हप्तामा गरेको परीक्षणबाट समेत निज मानसिक रोगी भएको, मानसिक अस्पतालले पुष्टि गरेको छ । त्यसैगरी सोपश्चात् पनि निरन्तर उपचार गरिरहेको देखिन्छ । निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कहिलेकाहीँ आफूले दिसा खाने गरेको भन्ने कथन निजका बाबु जेहरवाला कृष्णप्रसाद पुडासैनीको नाङ्गो हिँड्ने, जताततै हिँड्ने, आफ्नो सुरमा हिँड्ने, औषधि खान नमान्ने भन्ने कथन र परीक्षण गर्ने डा. प्रदिपमान सिंहको हिँडीरहने, राती नसुत्ने, जिम्मेवारी बहन नगर्ने भन्ने कथनले यी प्रतिवादी मानसिक रोगबाट ग्रसित भई आफूले गरेको कार्यको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा रहेका थिए भन्ने पुष्टि भएको छ । अनुसन्धान अधिकारीले आफ्नो हिरासतमा रहेको अवस्थामा परीक्षण गराउँदा मानसिक अस्पतालले Psychosis भएको छ भनी Detailed evaluation का लागि Admission गर्नु आवश्यक रहेको र Psychometric Test का लागि TUTH महाराजगञ्ज पठाउनु पर्ने भनेकोमा Admission गराउने र Psychometric Test गराई स्वस्थ रहेको भनी प्रमाणित गराउन सकेको पनि पाइएन । यसको साथै छोरीहरूलाई मार्ने विषयमा कतै कसैसँग सल्लाह गरेको, पूर्वयोजना बनाएको भन्ने मिसिल संलग्न कागजबाट देखिएको छैन, छोरीहरूलाई मार्नुपर्नेसम्मको कारण र आसय पनि मिसिल संलग्न कागजातबाट देखिँदैन । अभियोग पत्रमा उल्लिखित बाबुले अंश नदिएको कारणबाट छोरीहरूलाई मारेको भन्नेतर्फ हेर्दा, एउटा सामान्य समझ भएको व्यक्तिले बाबुले अंश नदिएको कारणबाट आफ्नो अबोध नाबालक छोरीहरूलाई मर्नेसम्मको परिणाम निस्कने गरी बाढी आएको खोलामा फ्याँक्छ भन्ने अनुमान गरी निस्कर्षमा पुग्न मनासिब देखिँदैन ।
८. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी घटना हुँदाको अवस्थामा मानसिक अवस्था ठीक नभई असन्तुलन भएको र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक सन्तुलन गुमाएको व्यक्ति मान्नु पर्ने देखिँदा दण्ड सजायको १ नं. अनुसार यी प्रतिवादी देवेन्द्र पुडासैनीले सजायबाट उन्मुक्ति पाउने नै देखियो । यी प्रतिवादी देवेन्द्र पुडासैनीलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६९।८।१९ को फैसला उल्टी भई यी पुनरावेदक/प्रतिवादी देवेन्द्र पुडासैनीले मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार आरोपित सजायबाट उन्मुक्ति पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदक / प्रतिवादी देवेन्द्र पुडासैनीले मुलुकी ऐन, दण्ड सजायको १ नं. अनुसार आरोपित कसुरबाट उन्मुक्ति पाउने ठहरेकाले यी प्रतिवादीलाई थुनामुक्त गर्ने सम्बन्धमा सम्बन्धित कारागारलाई पत्राचार भएको मिसिल संलग्न पत्रबाट देखिएकोले अरू केही गरिरहनु परेन-१
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदक / प्रतिवादी देवेन्द्र पुडासैनीले मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार आरोपित कसुरबाट उन्मुक्ति पाउने ठहरेकाले निजको हकको सुरूको लगत अब नरहने हुँदा सो लगत कट्टा गरिदिनु भनी सुरूमा लेखि पठाई दिनु --------------------------------------------------२
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु ---------३
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद चालिसे
इजलास अधिकृत : विद्याराज पौडेल
इति संवत् २०७३ साल मंसिर २९ गते रोज ४ शुभम् ।