शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१८८ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज..रा.

फैसला मिति : २०७१।२।२५।१

०६६–CR–०८०२

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : सल्यान जिल्ला, खलङ्गा गा.वि..वडा नं.६ स्यानीपनेरी घर भै हाल कारागार कार्यालय, तुलसीपुरमा कैदमा रहेका चक्रबहादुर डाँगी

विरूद्ध

प्रत्यर्थी/वादी : भूपेन्द्र देवकोटाको जाहेरीले नेपाल सरकार

 

§  प्रतिवादीको कार्य निरन्तर नभई पहिले हातले घाँटी थिचेको पछि हँसिया झिकेर तार काटेको त्यसपछि मात्र मृतकको घाँटीमा बेरी कसेको देखिएको वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम निर्धारित तत्कालको आवेश प्रेरित हत्याको वर्गमा पर्न नसक्ने ।

(प्रकरण नं. )

§  वारदात हुँदा प्रतिवादी पूर्व रिसइबि लिई अथवा पूर्व मनसाय लिई मृतकको घरमा गएको अवस्था नदेखिएको, मृतकले नै बोलाएर यी प्रतिवादी मृतकको घरमा गएको देखिएको, निजले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीलाई सहयोग गरेको देखिएको, घटनाको वस्तुस्थिति, घटना घट्दाको समग्र परिस्थिति तथा वारदात हुँदा प्रतिवादीको उमेरसमेतलाई विचार गर्दा निज प्रतिवादीलाई ऐनबमोजिम हुने हदैसम्मको सजाय गर्दा चर्को हुने देखिएको र मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिम १५ वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत परिपूर्ति हुने ।

(प्रकरण नं. )

 

वादीको तर्फबाट : विद्वान्वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा अधिवक्ता त्रिलोक बस्नेत

प्रतिवादीको तर्फबाट : विद्वान्‍  उपन्यायाधिवक्ता पुष्कर सापकोटा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(), १४ नं.

मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं.

सुरू तहमा फैसला गर्ने :

            मा.न्या.श्री मोहम्मद जुनैद आजाद

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री बीरसिंह महरा

            मा.न्या.श्री भीमबहादुर बोहरा

 

फैसला

न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत तुलसीपुर, दाङको मिति २०६६।१०।६ को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ठहर यस प्रकार छ ।

म कामको सिलसिलामा काठमाडौं गएको अवस्थामा घरमा एक्लै भएकी मेरी श्रीमती तारिका देवकोटाको मिति २०६४।४।३२ गते राति मृत्यु भएको छ भनी दाजु उपेन्द्रले टेलिफोनबाट जानकारी दिनुभएअनुसार मिति २०६४।५।२ गते घरमा आईपुग्दा श्रीमतीको घाँटीमा पासो लागेको, नीलडामसमेत देखी मृत अवस्थामा देखी कसैले कर्तव्य गरी मारेको शङ्का लागेकाले पछि प्रतिवादी फेला परेमा पछि छुट्टै जाहेरी पेस गर्ने छु भन्नेसमेत व्यहोराको भूपेन्द्रबहादुर देवकोटाको मिति २०६४।५।३ गतेको जाहेरी दरखास्त ।

मिति २०६४।५।२ गतेको घटनास्थल तथा लास जाँच मुचुल्का मिसिल सामेल रहेको ।

म सरकारी कामले काठमाडौंमा भएको अवस्थामा मेरी जेठी श्रीमती तारिका देवकोटा मात्र एक्लै घरमा भएको अवस्थामा २०६४।४।३२ गते राति भान्सा कोठामा मृत अवस्थामा फेला परेकीले कसैले कर्तव्य गरी मारेको जस्तो लागी प्रहरीसमक्ष प्रारम्भिक जाहेरी दिएको र पछि खोजतलास गर्दै जाँदा सल्यान जिल्ला, खलङ्गा गा.वि..वडा नं.६ बस्ने चक्रबहादुर डाँगी घटना हुँदाका राति घरमा थियो भन्ने कुरा गाउँघरबाटै सुनी थाहा पाएको र घरभित्र हेर्दा श्रीमतीलाई मैले दिएको रू.,०००।नगद र २ तोलाको सुनको बाला, ४ आनाको मङ्गलसूत्र, ९ आनाको नौगेडी, ८ आनाको लटकन, ४ आनाको सुनको औंठीसमेत फेला नपरेकोले उक्त सम्पत्ति लिने खाने उद्देश्यले निज चक्रबहादुर डाँगीले मेरी श्रीमती तारिका देवकोटालाई कर्तव्य गरी मारी उक्त धनमालसमेत लगी गएको हुँदा कानूनबमोजिम गरी पाउँ भन्नेसमेत व्यहोराको भूपेन्द्रबहादुर देवकोटाले दिएको मिति २०६४।५।३ गतेको दोस्रो जाहेरी दरखास्त । मिति २०६४।५।२ को शवपरीक्षण प्रतिवेदन मिसिल सामेल रहेको ।

श्रीमती अमृता डाँगीको घर खानतलासी गर्दा कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत व्यहोराको मिति २०६४।५।५ गतेको घर खानतलासी मुचुल्का ।

मिति २०६५।४।३२ गते बाटोमा हिड्दै गर्दा तारिका देवकोटाले बोलाएकाले खाना खाई निजको घरमा जाँदा निजले मेरो बारीको घाँस लैजाउ त्यसको सट्टा मलाई गोवर दिनु भनी सल्लाह गरी सकेपछि निजकै घरको टि.भी.हेरी रहेको मौकामा उपेन्द्र देवकोटाको घरमा एस.एल.सी.परीक्षा दिन बसेकी पुष्पा नाम गरेकी केटी आएकी थिइन् । त्यसपछि साँझ ७ बजेतिर म दयाराम नेपालीको घरमा गएर आउँछु भनी त्यहाँबाट हिड्न लाग्दा मलाई रक्सी ल्याई देऊ भनेकी थिइन् । म पछि पुनः तारिका देवकोटाको घरमा जाँदा किन रक्सी ल्याएनौ भनी सोध्दा म आफू नखाने भएकोले ल्याइन भन्दा पाए त खान्थिस् कुकुरको मूत भनेकी र एकछिनसम्म निजकै ओछ्यानमा बसी टि.भी.हेर्यौं । त्यसपछि निजले २ गिलास रक्सी खाई फेरि पनि मलाई रक्सी ल्याइनस् तँलाई बाघले खाओस् भनी गाली गर्न थालेपछि मलाई खपी नसक्नु रिस उठी निजको घाँटी समाती दबाउन लाग्दा जुरूक्कै उठेकीले मैले नजिकको फलामे हँसियाले बिजुलीको तार काटी सोही बिजुलीको तारले निजको घाँटी कसी म एक्लैले कर्तव्य गरी मारेको हुँ । उक्त घटना घटाएपछि निजलाई सुताइ झ्यालबाट निस्की भाग्न लाग्दा सुनको मङ्गलसूत्र देखी उक्त मङ्गलसूत्र र २ वटा चुरोट लिएर गएको हुँ । उक्त मङ्गलसूत्र मेरो घरमाथि सल्लाको मूढामुनि लुकाएको छु, पोते चुडालेर झ्याङमा फालेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रबहादुर डाँगीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

प्रतिवादीले लुकाएको भनिएको मृतकको सुनको मङ्गलसूत्र थान१ र सोको कालो पोतेसमेत बरामद भएको भन्नेसमेत व्यहोराको मिति २०६४।५।६ को बरामदी मुचुल्का ।

प्रतिवादीले वारदातमा प्रयोग गरेको भनिएको फलामे हँसिया थान, भूपेन्द्रबहादुर देवकोटाको भान्सा कोठाबाट बरामद भएको भन्ने मिति २०६४।५।६ को बरामदी मुचुल्का ।

बरामद भएको आँसी तथा सुनको मङ्गलसूत्र देखें चिनें । उक्त आँसी र ४ आनाको मङ्गलसूत्र मेरै हो भन्नेसमेत व्यहोराको जाहेरवाला भूपेन्द्रबहादुर देवकोटाको सनाखत कागज ।

म एस.एल.सी.पूरक परीक्षा दिनका लागि सल्यान जिल्ला खलङ्गा६ स्थित उपेन्द्र देवकोटाको घरमा डेरा गरी बसेकी थिएँ । उक्त मिति २०६४।४।३२ का दिन साँझ अं.७ बजेतिर जाहेरवालाको घरमा जाँदा जाहेरवालाकी श्रीमती र प्रतिवादी सँगसँगै थिए । मैले एकछिन टि.भि.हेर्न लाग्दा प्रतिवादीले आफूखुसी चेनल लगाई डिस्टर्व गरेकाले म आफ्नो डेरामा गएकी हुँ । खाना खाइसकेपछि राति ८:४५ बजेतिर ट्वाइलेट जान बाहिर निस्कदा मृतकको घरमा मानिस बोलेको आवाज सुनेकी थिएँ । भोलिपल्ट बिहान मात्र निज तारिका देवकोटाको मृत्यु भएको कुरा अरूबाट सुनी थाहा पाएकी हुँ । निज प्रतिवादीले नै मृतकलाई कर्तव्य गरी मारेको शङ्का लाग्छ भन्नेसमेत व्यहोराको पुष्पा बोहराको मौकाको कागज ।  

मिति २०६४।५।१ गते बिहान म तारिका देवकोटाको घरमा दूध पुर्याउन आउँदा भान्सा कोठा बन्द भएकाले मैले धकेल्दा ढोका आफैँ खुलेको र ढोकाभित्र चिम्टा खसेको आवाज आएकोले घरभित्र हेर्दा श्रीमती तारिका देवकोटालाई मृत अवस्थामा देखेकी हुँ भन्नेसमेत व्यहोराको झुमाकुमारी डाँगीको मौकाको कागज ।

म काठमाडौं जाँदा श्रीमती तारिकालाई रू.,०००।घर खर्च दिई गएको थिएँ । मिति २०६४।५।३ मा तारिकाको लास सद्गत गरी सकेपछि घरमा खोजतलास गर्दा फेला नपरेकोले जाहेरीमा उल्लिखित धनमाल हराएको भनी लेखाइ दिएकोमा सुनका गहनाहरूको जम्मा मूल्य रू.५७,०००।र नगद रू.,०००।गरी जम्मा रू.६२,०००।को धनमाल लिने खाने उद्देश्यले प्रतिवादीले मृतकलाई मारेको हो भन्ने जाहेरवालाले मूल्य किटान गरी दिएको कागज ।

मिति २०६४।४।३२ गते साँझको समयमा निज प्रतिवादी चक्रबहादुर डाँगी मेरो घरमा आई केही समय आपसी कुरा गरी फिर्ता भई गएका हुन् । मिति २०६४।४।३२ गते राति नै श्रीमती तारिका देवकोटाको मृत्यु भएको र निज प्रतिवादी चक्रबहादुर डाँगीले नै निज तारिका देवकोटालाई मारी निजसँग भएको धनमाल लिन खानका लागि नै कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको दयाराम नेपालीले मौकामा गरेको घटना विवरण कागज ।

मिति २०६४।४।३२ गते राति म आफ्नो घरमा थिएँ । रातिको समयमा म बाहिर जाँदा जाहेरवालाको घरभित्र मानिस बोलिरहेको सुनेको हुँ । मिति २०६४।५।१ गते बिहान निज जाहेरवालाकी जेठी श्रीमती तारिका देवकोटाको मृत्यु भएको जानकारी पाई घरभित्र हेर्दा मृत अवस्थामा देखी जाहेरवालालाई टेलिफोनबाट जानकारी दिएको हुँ । निज चक्रबहादुर डाँगी वारदात हुँदाको अवस्थामा जाहेरवालाकै घरमा भएको हुँदा निजले नै मृतकलाई कर्तव्य गरी मारेको पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको उपेन्द्रबहादुर देवकोटाले गरेको मौकाको घटना विवरण कागज ।

श्रीमती तारिका देवकोटा मेरो देवरानी हुन् घरमा एक्लै बस्ने गरेकी थिइन्। प्रतिवादी चक्रबहादुर डाँगी छिमेकी भएकोले आउने जाने गर्दथ्यो । उक्त मिति २०६४।४।३२ गते राति मैले केही थाहा पाइनँ । भोलिपल्ट बिहान झुमा डाँगीले देवरानी तारिकाको मृत्यु भएको जानकारी दिएपछि घटनास्थलमा गई हेर्दा मृत अवस्थामा देखी मेरो श्रीमान्लाई जानकारी दिएपछि निजले जाहेरवालालाई टेलिफोन गर्नु भएको हो । मेरै घरमा डेरा गरी बस्ने पुष्पा बोहराले वारदातको दिन साँझ प्रतिवादी चक्रबहादुर डाँगी जाहेरवालाको घरमा थियो भनेकी र तारिकाले लाउने गरेको मङ्गलसूत्र बरामद हुन आएकोले पनि निज प्रतिवादीले नै मृतकलाई कर्तव्य गरी मारेको पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको तुलसीदेवी देवकोटाको मौकाको घटना विवरण कागज ।

जाहेरवाला मेरो बुबा र मृतक मेरी आमा हुन् । म जनकपुर अस्पतालमा स्टाफ नर्समा कार्यरत, बहिनी सुष्मा कोइराला भरतपुर अस्पतालमा स्टाफ नर्समा कार्यरत र मेरी सौतेनी आमा शारदा भरतपुर क्याम्पसमा अध्ययन गर्ने भएकोले आमा एक्लै घरमा हुनुहुन्थ्यो । मिति २०६४।४।३२ गते आमाको मृत्यु भएको खबर पाएपछि २०६४।५।२ गते घरमा आइपुग्दा मृत अवस्थामा देखेकी हुँ । मेरी आमालाई निज प्रतिवादीले नै कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको निसा देवकोटाको घटना विवरण कागज ।

म भरतपुर अस्पतालमा स्टाफ नर्समा कार्यरत भएकीले भरतपुरैमा थिएँ । मिति २०६४।५।१ गते आमाको मृत्यु भएको खबर पाएपछि घरमा आउँदा आमालाई भान्सा कोठामा मृत अवस्थामा देखेकी हुँ । जाहेरीमा उल्लिखित धनमाल प्रतिवादीले लगेको र सो धनमाल खाने पचाउने उद्देश्यले नै निज प्रतिवादीले मेरी आमालाई कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको सुष्मा देवकोटाले मौकामा गरेको घटना विवरण कागज ।

मृतक तारिका देवकोटा सासुआमा हुनुहुन्छ । २०६४।५।१ गते निजको मृत्यु भएको खबर पाई श्रीमतीसमेत भई घरमा आउँदा सासु आमालाई मृत अवस्थामा देखेको हुँ । सासुआमाको धनमाल खाने पचाउने उद्देश्यले नै प्रतिवादीले कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने राजु मिश्रले गरेको मौकाको घटना विवरण कागज ।

प्रतिवादी चक्रबहादुर डाँगी वारदात हुँदाका दिन जाहेरवालाकै घरमा थियो भनी पुष्पा बोहराले भनेको हुँदा निज प्रतिवादीले नै मृतक तारिका देवकोटालाई मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको लोचन देवकोटा, मोहनसिंह के.सी., खिमबहादुर भण्डारी, रविन देवकोटासमेतले गरिदिएको घटना विवरण कागज ।

जाहेरवालाको जाहेरीमा उल्लिखित मङ्गलसूत्रलगायतका सुनका गरगहनाको प्रतितोला तयारी गहनाको मूल्य रू.१६,०००।का दरले रू.५७,०००।हो भन्नेसमेत व्यहोराको सुनचाँदी व्यवसायी मोहन करालाको मूल्य कायम कागज ।     

जाहेरी दरखास्त, लास प्रकृति मुचुलक, शव परीक्षण प्रतिवेदन, प्रतिवादीका साबिती बयान, मौकामा बुझिएका मानिससमेतले गरी दिएको घटना विवरण कागजलगायतका मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादीले मृतकको गहना पैसा लिने खाने उद्देश्यले मृतकलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले निजले ज्यानसम्बन्धीको महलको १ नं. तथा चोरीको महलको ४ नं. बमोजिम कसुर गरेको हुँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३() नं. र चोरीको महलको १४() नं. अनुसार हदैसम्मको सजाय गरी चोरीको महलको १०() नं. अनुसार जाहेरीमा उल्लिखित बिगो

रू.६२,०००।निज प्रतिवादीबाट जाहेरवालालाई दिलाइ भराइ पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।

मृतक तारिका देवकोटाको घरमा उक्त दिन घाँसको बारेमा कुराकानी गर्न गएको थिएँ । मृतक तारिका देवकोटाले घाँसको सट्टा मल दिनुपर्छ भनेर सर्त राख्नुभएको थियो । म मृतकको घरमा बसी रहेको थिएँ । मलाई टि.भी खोल भनेर मृतक तारिकाले भनेकाले मैले टि.भी.खोलेँ । त्यसै क्रममा एकजना पुष्पा नाम गरेकी केटी आई टि.भी.हेरेर बसेको समयमा मृतक तारिकाले मलाई रक्सी ल्याएर आइज भन्नुभयो । मैले रक्सी खाँदैन त्यसै कारण मैले तपाईंलाई रक्सी ल्याउँदैन, म दयाराम नेपालीको घरमा मेरो दूधको पैसा ल्याउँछु भनेर गएँ । त्यसपछि मृतक तारिकाले रक्सी ल्याएस् भनेर भन्नुभयो । मसँग पैसा पनि थिएन । त्यसैले रक्सी ल्याउँदिन भनी म घरतिर गएको हुँ । मैले मृतकलाई कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रबहादुर डाँगीले सल्यान जिल्ला अदालतमा गरको बयान ।  

मृतक तारिका देवकोटालाई प्रतिवादीले नै कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वादीका साक्षी जाहेरवाला भूपेन्द्र देवकोटा, मौकामा कागज गर्ने उपेन्द्र देवकोटा, पुष्पा बोहरा, तुलसीदेवी देवकोटा, दयाराम नेपाली, लोचन देवकोटा, रविन देवकोटा, खिमबहादुर भण्डारी, शंकरबहादुर विष्ट, तारा थापा, डम्बरबहादुर भण्डारी, पुतली सिंह, मोहन सिंह के.सी.ले सल्यान जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको मिसिल संलग्न प्रमाण कागजबाट पुष्टि हुन आएकोले निज प्रतिवादी चक्रबहादुर डाँगीलाई ज्यानसम्बन्धीको महलको १३() नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । चोरी गरेकोमा रू.६२,०००।को बिगो देखाइ असुल गराइ पाउँ भन्ने अभियोग दावी भए पनि रू.,०००।को मङ्गलसूत्रमात्र बरामद भएको देखिएको हुँदा रू.,०००।पर्ने मङ्गलसूत्र चोरी गरेको ठहर्छ । रू.६२,०००।बराबरको नगद तथा गरगहना चोरी गरेको भन्ने सो हदसम्म वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने सल्यान जिल्ला अदालतको मिति २०६४।११।२१ गतेको

फैसला ।

वारदात भएको भनिएको दिन साँझ म मृतकको घरमा गएको र मृतकसँग घाँसको बारेमा कुराकानी भएको हो । त्यहाँबाट दयाराम नेपालीको घरमा गई फिर्ता आउँदा मलाई तारिकाले रक्सी किन ल्याइनस् भनी रिसाउँदा मैले नखाने भएकोले ल्याइन भनी जवाफ दिई घरतर्फ गएको हुँ । मैले कसुर गरेको होइन भनी सुरूमा बयान गरेको छु । प्रहरीमा बयान गराउँदा मलाई पढी बाँची नसुनाइ एकतर्फीरूपमा जबर्जस्ती सहीछाप गराएका हुन् । म तारिकाको घरमा गएको कुरालाई मात्र मेरो कसुर प्रमाणित गर्ने आधार बनाउन मिल्दैन । म बाहेक अरू कुनै व्यक्तिले नै कर्तव्य गरी मारेको सम्भावना हुँदा मलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको सुरू फैसला नमिलेको हुँदा बदर गरी अभियोग माग दावीबाट फुर्सद दिलाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रबहादुर डाँगीले पुनरावेदन अदालत, तुलसीपुर दाङमा दायर गरेको पुनरावेदनपत्र ।

            प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, प्रतिवादीले मार्नुपर्नेसम्मको इविलाग, मनसाय रहेको नभई तत्काल आवेगमा आई मारेको भन्ने भनाइ रहेको सन्दर्भमा ज्यानसम्बन्धीको महलको १३() नं. आकर्षित हुने नहुने भन्ने प्रतिवादीलाई हुने सजाय सम्बन्धमा विचार गर्नुपर्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पुरावेदन सरकारी वकिल कार्यालय, तुलसीपुरलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत तुलसीपुर, दाङबाट मिति २०६६।१।७ मा भएको आदेश ।

प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३() नं.अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्याई मिति २०६४।११।२१ मा सुरू सल्यान जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत तुलसीपुर, दाङबाट मिति २०६६।१०।६ मा भएको फैसला ।

मैले मौकाको बयान गर्दा साबित भई बयान गरेको छैन । मृतकसँग कुनै रिसइबि पनि थिएन । मलाई अनावश्यक गाली गर्दा तत्काल उठेको रिसबाट घटना घटेको हो भनी सुरूमा बयान गरेको छु । मेरो बयानलाई गलत अर्थ लगाई गरेको सुरू सल्यान जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत तुलसीपुर, दाङको फैसला कानून तथा न्यायिक सिद्धान्तको प्रतिकूल छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गतका घटनालाई १३() नं. बमोजिमको ठहर्याइएको उक्त फैसला बदर गरी उल्टी गरी अभियोग दावीबाट फुर्सद दिलाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदन ।

यसमा प्रतिवादी र मृतकबीच पूर्व रिसइबि नभएको र मृतकको कुराले प्रतिवादीले रिस थाम्न नसकेको कारणले वारदात भएको देखिने अवस्थामा समेत मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() अनुसार सजाय गरेको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि पेस गर्नु भन्ने यस अदालतबाट भएको मिति ०७०।९।९ को आदेश ।

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनाली तथा अधिवक्ता श्री त्रिलोक बस्नेतले यी प्रतिवादीको मृतकसँग पूर्व रिसइबिसमेत छैन, वारदातको प्रकृति हेर्दा तत्काल रिसको आवेगमा आई सोही रिसको कारणले नजिकै रहेको हँसियाले तार काटी सोही तारले घाँटी चिथी मारेको अवस्था देखिन्छ । घटनाको चश्मदीद गवाह नभएको व्यक्तिको कथनलाई आधार बनाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिमको वारदात ठहर्याएको हुँदा उक्त फैसला त्रुटिपूर्ण छ भनी तथा प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‍  उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटाले प्रतिवादीले ज्यान मात्र मारेको होइन मृतको गहना सुनसमेत लुटी लगेको अवस्था छ । वारदात हुँदा प्रतिवादीले पहिले हातले मृतकको घाँटी थिचेको त्यसपछि हँसिया लिई तार काटी सो तारले घाँटी थिचेको अवस्था छ । वारदातको यस्तो कार्य प्रकृतिलाई तत्कालको आवेगबाट घटेको वारदातको रूपमा लिन मिल्दैन भनी गर्नुभएको बहससमेत सुनी मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत तुलसीपुर, दाङको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

. निर्णयतर्फ विचार गर्दा, मृतक तारिका देवकोटाको घाँटीमा पासो लगाइ मारेको अवस्था घटनास्थल लास जाँच मुचुल्काबाट देखिन आएको र शव परीक्षण प्रतिवेदनमा Cause of death consistent with strangulation भनी घाँटी कसेको कारणबाट मृत्यु भएको भन्ने खुल्न आएको देखिन्छ । प्रतिवादी चक्रबहादुर डाँगीले मेरी श्रीमतीको गहना र सुन लिनका निमित्त कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भनी भूपेन्द्रबहादुर देवकोटाले मिति २०६४।५।३ मा जोहरी दिएको पाइयो । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतकले नै बोलाएर निजको घरमा गएको र मृतकले भनेबमोजिम रक्सी नल्याएको कारणले मृतकले आफूलाई गाली गरेको हुँदा रिस उठी हातले घाँटी थिचेको र मृतक उठेको हुँदा बलोमा रहेको हँसिया झिकी बिजुलीको तार काटी त्यसैले घाँटी कसी मारेको हुँ र किलामा झुण्ड्याएको मृतकको मङ्गलसूत्रसम्म लिई गएको हुँ भनी बयान गरेको पाइन्छ । उक्त मङ्गलसूत्र प्रतिवादीले बयानमा खुलाएको स्थानबाट बरामद भएको र सोलाई प्रतिवादीले अदालतमा सनाखतसमेत गरिदिएको अवस्था छ । बुझिएका पुष्पा बोहरासमेतले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादी वारदातको दिन मृतकको घरमा भएको हुँदा निजले मारेको हुनुपर्छ भनी बकपत्र गरिदिएको अवस्था छ भने जाहेरवालासमेतले यी प्रतिवादीले ज्यान मारेका हुन्भनी बकपत्र गरिदिएकोसमेतको अवस्था देखिन्छ ।

. प्रस्तुत वारदात मिति २०६४।४।३२ गते रातिको समयमा घटेको अवस्था छ, वारदातको दिन साँझ प्रतिवादी मृतकको घरमा रहेको भन्ने कुरा कागज गर्ने पुष्पा बोहराबाट पुष्टि भएको छ, आफू वारदातको साँझ मृतकको घरमा भएको भन्ने कुरा प्रतिवादीले बयान गर्दा स्वीकार गरेको देखिन्छ, निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा तत्काल रिस उठेको कारण तारले घाँटी कसी मारेको हो भन्नेसमेतको व्यहोरा खुलाई दिएकोमा सोलाई शव परीक्षण प्रतिवेदनले पुष्टि गरी रहेको अवस्था देखिन्छ । प्रतिवादीको अदालतको बयान बरामदी मुचुल्काका व्यक्ति, बुझिएका व्यक्ति तथा जाहेरवालाको बकपत्रसमेतले यी प्रतिवादीको वारदातमा संलग्नता रहेको कुरालाई पुष्टि गरी रहेको हुँदा प्रतिवादीको कर्तव्यले नै मृतकको मृत्यु भएको पुष्टि हुन आउँछ । जहाँसम्म आवेशमा आई ज्यान मारेको भन्ने प्रतिवादीको जिकिर छ त्यसतर्फ विचार गर्दा, प्रतिवादीले मृतकलाई ज्यान मार्ने क्रममा पहिले हातले घाँटी थिचेको भन्ने देखिएको त्यसपछि बलोमा रहेको हँसिया झिकेर नजिकै रहेको बिजुलीको तार काटेको र सोही तारले मृतकको घाँटीमा बेरी कसी मारेको भन्ने देखिन्छ ।    

. यसबाट प्रतिवादीको कार्य निरन्तर नभई पहिले हातले घाँटी थिचेको, पछि हँसिया झिकेर तार काटेको, त्यसपछि मात्र मृतकको घाँटीमा बेरी कसेको देखिएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम निर्धारित तत्कालको आवेश प्रेरित हत्याको वर्गमा प्रस्तुत वारदात पर्न नसक्ने देखिएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गर्ने गरेको सुरू सल्यान जिल्ला अदालतको फैसला सदर ठहर गर्ने गरी भएको पुनरावेदन अदालत तुलसीपुर, दाङको मिति २०६६।१०।६ को फैसला सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन ।

. यसमा वारदात हुँदा निज प्रतिवादी पूर्व रिसइबि लिई अथवा पूर्व मनसाय लिई मृतकको घरमा गएको अवस्था नदेखिएको, मृतकले नै बोलाएर यी प्रतिवादी मृतकको घरमा गएको देखिएको, निजले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीलाई सहयोग गरेको देखिएको, घटनाको वस्तुस्थिति, घटना घट्दाको समग्र परिस्थिति तथा वारदात हुँदा प्रतिवादीको उमेरसमेतलाई विचार गर्दा, निज प्रतिवादीलाई ऐनबमोजिम हुने हदैसम्मको सजाय गर्दा चर्को हुने देखिएको र मुलुकी ऐन, .बं.१८८ नं. बमोजिम १५ वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत परिपूर्ति हुने देखिएकोले प्रतिवादी चक्रबहादुर डाँगीलाई मुलुकी ऐन, .बं.१८८ नं. बमोजिम कैद वर्ष १५ हुन्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी चक्रबहादुर डाँगीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको १८८ नं. बमोजिम १५ वर्ष कैद हुने ठहरेकोले सोहीबमोजिमको लगत राखी कैद असुल गर्नु भनी सुरूमा लेखी पठाइदिनू --

फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू --

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज..रा.

 

इति संवत् २०७१ साल जेठ २५ गते रोज १ शुभम् ।

इजलास अधिकृत : सुमनकुमार न्यौपाने

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु