शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८५५ - उत्प्रेषण / परमादेश

भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

आदेश मिति : २०७४।०५।०४

०७२-WO-०००७

 

विषय : उत्प्रेषण / परमादेश

 

निवेदक : तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं. ४ बस्ने रन्जित बोहोरा

विरूद्ध

विपक्षी : काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मुख्य कार्यालय, त्रिपुरेश्वर मार्ग, काठमाडौंसमेत

 

वैकल्पिक उम्मेदवारको सूची राखिनुको औचित्य र सन्दर्भ भन्‍ने नै योग्यता क्रमको सिफारिसमा परेका अघिल्ला उम्मेदवार निश्‍चित समयभित्र सम्बन्धित पदमा नरहेमा वा सो पद रिक्त भएमा सोही पदमा अर्को परीक्षा लिइरहनु नपर्ने र वैकल्पिक उम्मेदवारलाई क्रमैसँग सिफारिस गर्नुपर्दछ भन्‍ने नै हुने ।

सुरू नियुक्त हुने कर्मचारीलाई परीक्षणकालमा राखिनुको अर्थ सो अवधिभित्र उक्त उम्मेदवार कतिपय कारणले अयोग्य ठहरिन सक्छ वा अन्य कतिपय कारणले नियुक्ति सिफारिस भएको पद सो अवधिभित्र रिक्त हुन 

सक्छ । यसरी सो अवधिभित्र उम्मेदवार अयोग्य ठहरिएको अवस्थामा वा पद रिक्त भएको अवस्थामा प्रतिक्षा सूचीमा रहेका वैकल्पिक उम्मेदवारलाई नै सिफारिस गर्नुपर्ने । 

(प्रकरण नं. ४)

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ को १७(२) ले नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा भन्‍ने प्रावधान तथा विनियमावलीको विनियम १८(१) को परीक्षणकालको व्यवस्थालाई सान्दर्भिक तथा स्वर्णीम व्याख्या गर्नुपर्ने हुन्छ, जसले गर्दा एउटै पदमा तत्कालै पटक पटक परीक्षा लिई रहनु नपरोस् भनी वैकल्पिक उम्मेदवारको सिफारिस गर्ने कानूनी व्यवस्था र पद्धतिलाई समेत परिपोषित गर्ने । 

(प्रकरण नं. ५)

 

निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बच्चु सिंह खड्का

विपक्षीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ को विनियम १७(२)

 

आदेश

न्या.दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम्‌ ठहर यसप्रकार छ :- 

विपक्षी काठमाडौं उपत्यका खानेपानी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम स्थापित भएको नेपाल सरकारको पूर्ण स्वामित्व भएको लिमिटेड कम्पनी हो । विपक्षी लिमिटेडको पदपूर्ति समितिले “खुल्ला तथा समावेशी  प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सूचना” भनी मिति २०६९।११।१९ को गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकोमा सो सूचनाको विज्ञापन नं. ३९।०६९।०७० को “ओभरसियर” पद (पद संख्या २) मा म निवेदकको योग्यता पुगेको हुँदा खुल्ला प्रतियोगितामा सहभागी हुनको लागि मैले सो सूचनाको अधिनमा रही दरखास्त फारम भरी परीक्षामा सहभागी भई लिखित परीक्षा उत्तीर्ण भएको र अन्तर्वार्तासमेत दिई मिति २०७१।०५।१० को गोरखापत्रमा त्यसको परिणाम प्रकाशित भएको र सो परिणामअनुसार निवास गुरागाई र गणेशकुमार मल्ल योग्यताक्रम १ र २ मा छनौट हुनु भएको र म निवेदक वैकल्पिक सूचीको पहिलो नम्बरमा परेको अवस्था थियो । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ (छैटौं संशोधनसहित) को विनियम १७(२) मा “रिक्त पदमा नियुक्तिको लागि सिफारिस भएको व्यक्तिलाई सिफारिस भएको मितिले एक महिनाभित्र नियुक्ति गर्ने अधिकारीले पदको कार्य विवरणसहित नियुक्ति पत्र दिई सक्नुपर्नेछ तर सिफारिस भएको सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र पनि उम्मेदवारले नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति पत्र लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा यस्ता उम्मेदवारको नाम योग्यताक्रमबाट हटाइएको सूचना प्रकाशित गरी निजको सट्टा प्रतिक्षा सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति दिन सक्नेछ” भन्ने व्यवस्था छ । त्यस्तै गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ (छैटौं संशोधनसहित) को विनियम १८(१) मा “कम्पनीको स्थायी पदमा पहिलो पटक नियुक्ति गर्दा सबै तहमा एक वर्षसम्म परीक्षणकालमा राखिनेछ, तर महिला कर्मचारीको हकमा ६ महिनासम्म परीक्षणकालमा राखिनेछ” र विनियम १८(२) मा “परीक्षणकालमा रहेका कुनै कर्मचारीको सेवा सन्तोषजनक नभएमा त्यस्तो कर्मचारीलाई कुनै पनि बखत कम्पनीको सेवाबाट हटाउन सकिनेछ र त्यसरी हटाउन यस विनियमावलीबमोजिम कुनै कार्यविधि पूरा गर्नु आवश्यक पर्ने छैन” भन्ने व्यवस्था भएबाट परीक्षणकाल एक वर्षसम्म वैकल्पिक उम्मेद्‍वार (प्रतिक्षा सूचीमा रहे भएको व्यक्ति) नियुक्तिको लागि योग्य रहने हुन्छ ।

यसरी मिति २०७१।०५।१२ मा ओभरसियर पदमा छनौट भएका दुई जना उम्मेद्वार निवास गुरागाईं र गणेशकुमार मल्लमध्ये गणेशकुमार मल्लले नियुक्ति पत्र बुझेको ४/५ दिनपछि नै ओभरसियर पदवाट राजीनामा दिएको हुँदा म निवेदक वैकल्पिक सूचीको पहिलो उम्मेदवार रहे भएको कारण स्वतः उक्त रिक्त पदमा नियुक्ति पाउने पहिलो हकदार हुँ । लोक सेवा नियमावली, २०६७ को नियम ३४ख मा “नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारको सिफारिस भएको मितिले एक वर्षभित्र मृत्यु भई वा निजले नियुक्ति लिएको पदबाट राजीनामा दिई वा निजको अन्य पदमा नियुक्ति भई निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा वैकल्पिक उम्मेदवारको सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रमअनुसार नियुक्तिको लागि सिफारिस गर्नेछ” भन्ने व्यवस्थासमेत छ । म निवेदक २०७१।०५।१२ को गोरखापत्रमा नतिजा प्रकाशित गरिएको सूचनाको योग्यताक्रम अनुसार वैकल्पिक सूचीको पहिलो नम्बरमा परेको हुँदा म निवेदकले नियुक्ति पाउनु पर्ने कुरामा कुनै विवाद हुन सक्दैन ।

यसरी विपक्षी काठमाडौं उपत्यका खानेपानी लिमिटेड कम्पनीले खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धमा मिति २०६९।११।१९ मा सार्वजनिक सूचना प्रकाशित गरी सो सूचनाको विज्ञापन नं. ३९।०६९।०७० को ओभरसियर पदको खुल्ला प्रतियोगितामा २०७१।०५।१२ को गोरखापत्रमा नतिजा प्रकाशित भएको र सो नतिजाअनुसार निवास गुरागाई र गणेशकुमार मल्ल योग्यताक्रम अनुसार छनौट हुनुभएको र म वैकल्पिक सूचीको पहिलो नम्बरमा भएको आधार र कारणबाट गणेशकुमार मल्लले राजीनामा दिएपछि मैले स्वतः उक्त रिक्त पदमा नियुक्ति पाउनु पर्ने भनी विपक्षीहरूसँग अनुरोध निवेदन गरेकोमा आजभोलि आजभोलि भनी आलटाल गरी राजीनामा दिएको प्रमाण पत्र नदिई एक वर्षको समय व्यतित गर्न खोजेकोले बाध्य भई सम्मानित अदालतको शरणमा आएको छु ।

माथिका प्रकरणहरूमा उल्लिखित तथ्य र कानूनको आधारमा विपक्षीहरूको उक्त काम कारवाहीबाट मलाई नेपालको अन्तरिम संविधानको धारा १२(३) (च),१३ द्वारा प्रद्धत्त मौलिक हक, कानूनद्वारा प्रदत्त कानूनी हकसमेत हनन हुन गएको र ती हकहरू प्रचलन गराउने अन्य कुनै वैकल्पिक एवम्‌ प्रभावकारी उपचारको बाटोसमेत केही नभएको हुनाले बाध्य भई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम प्रस्तुत रिट निवेदन लिई सम्मानित अदालतको शरणमा उपस्थित भएको छु । अतः सम्मानित अदालतबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम असाधारण अधिकार क्षेत्र ग्रहण गरी विपक्षीहरूले म निवेदक (वैकल्पिक उम्मेदवार) लाई नियुक्ति नदिने किसिमले मेरो विरूद्धमा संविधान र कानून प्रद्धत्त हकहितको प्रतिकूल हुने गरी कुनै निर्णय गरेको भए सो निर्णय एवम्‌ पत्रचारहरू लगायतका सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशले बदर गरी म वैकल्पिक उम्मेदवार (प्रतिक्षा सूचीमा) रहे भएको व्यक्तिलाई उल्लिखित तवरबाट खाली भएको ओभरसियर पदमा नियुक्ति पत्र दिनु भन्नेसमेत व्यहोराको परमादेशलगायत अन्य जो चाहिने उपयुक्त  आज्ञा आदेश जारी गरिपाऊँ ।

प्रस्तुत मुद्दाको अन्तिम किनारा लाग्न समय लाग्ने भएको कारण उक्त खाली भएको ओभरसियर पदमा मिति २०७२।०५।११ पछि खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने सम्भावना रहेको, यसरी पदपूर्ति गरेमा म रिट निवेदक (वैकल्पिक उम्मेदवार) ले नियुक्ति पाउने सम्भावना टर्न गई अन्यायपूर्ण र गैरकानूनी कार्यले प्रश्रय पाई म रिट निवेदकलाई अपूरणीय क्षति हुन जाने हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ (१) बमोजिम विपक्षीहरूको नाउँमा प्रस्तुत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उक्त तवरबाट खाली भएको ओभरसियर पदपूर्ति गर्ने कार्य नगर्नु नगराउनु, सो पद खाली राख्नु भन्नेसमेत व्यहोराको अन्तरिम आदेशसमेत जारी गरिपाउँ भन्‍नेसमेत व्यहोराको रिट निवेदन पत्र ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानूनबमोजिमको आधार र कारण भए यो आदेशको सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको एकप्रति प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि नियमबमोजिम पेस गर्नू । 

निवेदकले अन्तरिम आदेशको समेत माग गरेको सम्बन्धमा विचार गर्दा तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था निवेदन व्यहोराबाट नदेखिएको र निवेदकको माग दाबी रिट निवेदनमा पूर्ण सुनुवाइ गर्दा सम्बोधन हुने विषय हुँदा निवेदन मागअनुसार अन्तरिम आदेश जारी गर्न परेन भन्‍ने व्यहोराको यस अदालतको मिति २०७२।४।१५ को आदेश ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएको दर्ता नं. ९८४।०६३।०९।०९ को स्वायत्त लिमिटेड कम्पनी हो । यस कम्पनीको आफ्नै प्रबन्धपत्र, नियमावली र कर्मचारी प्रशासन विनियमावली, २०६४ (छैठौं संशोधनसहित) छ । यस कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था नभई नेपाल सरकार, स्थानीय निकाय र निजी क्षेत्रका संघ संस्थाहरूको शेयर लगानीको Public Private Partnership मा बनेको PPP मोडलको लिमिटेड कम्पनी हो । रिट निवेदकले भने जस्तो लोक सेवा आयोग ऐन वा ऐ नियमावली यसमाथि लागू हुने होइन ।

रिट निवेदकले भने जस्तै निज रिट निवेदक वैकल्पिक उम्मेदवारको पहिलो नम्बरमा रहेको उम्मेदवार हो । तर यस कम्पनीको कर्मचारी प्रशासन विनियमावली, २०६४ को १७(२) मा “रिक्त पदमा नियुक्तिको लागि सिफारिस भएको व्यक्तिलाई सिफारिस भएको मितिले एक महिनाभित्र नियुक्ति गर्ने अधिकारीले पदको कार्य विवरणसहित नियुक्तिपत्र दिई सक्नुपर्ने तर सिफारिस भएको सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र पनि उम्मेदवारले नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति पत्र लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा यस्ता उम्मेदवारको नाम योग्यताक्रमबाट हटाइएको सूचना प्रकाशित गरी निजको सट्टा प्रतिक्षा सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति दिन सक्नेछ” भन्‍ने व्यवस्था छ । खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सूचनाको मिति २०७१।५।१० मा परिणाम प्रकाशित भई सो परिणामबमोजिम निवास गुरागाईं र गणेशकुमार मल्ल योग्यताक्रम नं.१ र २ मा छनौट भई मिति २०७१।५।२० बमोजिम नियुक्ति लिई कार्य गर्न थालिएकोमा गणेशकुमार मल्लले मिति २०७१।५।३० मा आफ्नो पदबाट राजीनामा गरेकोमा सो राजीनामा मिति २०७१।५।२९ देखि लागू हुने गरी मिति २०७१।६।१२ मा स्वीकृत भएको हो । त्यसैले यसमा कम्पनीको क.प्र.वि. २०६४ को १७(२) को अवस्था विद्यमान छैन ।

नियुक्ति पाएर कार्य गरिसकेको कर्मचारीले आफ्नो पदबाट राजीनामा गरी मिति २०७१।५।२९ देखि खाली रहेको पदमा विपक्षी निवेदकले लगभग १० महिनापछि विलम्ब गरी मिति २०७२।३।२१ मा नियुक्तिका लागि निवेदन दिनुलाई कर्मचारी प्रशासन विनियमावलीको १८(१) मा “कम्पनीको स्थायी पदमा पहिलो पटक नियुक्ति गर्दा सबै तहमा एक वर्षसम्म परीक्षणकालमा राखिने छ, तर ...........” र १८(२) मा “परीक्षणकालमा रहेको कुनै कर्मचारीको सेवा सन्तोषजनक नभएमा त्यस्तो कर्मचारीलाई कुनै पनि बखत कम्पनीको सेवाबाट हटाउन सकिनेछ र त्यसरी ...” भन्‍ने व्यवस्था भएबाट परीक्षणकाल एक वर्षसम्म वैकल्पिक उम्मेदवार नियुक्तिको लागि योग्य रहने छ भनी आफूखुशी व्याख्या गरी आफ्नो निवेदनको विलम्बलाई ढाकछोप गर्न खोजेको देखिन्छ । तर कम्पनीको क.प्र.वि.२०६४ को दफा १२ (क)(१) मा नयाँ सृजना भएको वा रिक्त दरबन्दी सामान्यता नौ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्नेछ भन्‍ने व्यवस्थाबाट सो पदमा पूरानो प्रक्रियाबाट पदपूर्ति गर्ने अवस्था नै समाप्‍त भइसकेको छ । राजीनामा पश्चात्‌ खाली रहेको पदमा विपक्षी निवेदकले आफू वैकल्पिक उम्मेदवार रहेकोले नियुक्ति पाउँ भनी मिति २०७२।३।२१ मा निवेदन दिएको छ । सो निवेदन माथि हामीले कुनै निर्णय गर्न नपाउँदै हतारिएर मिति २०७२।४।७ मा सम्मानित सर्वोच्‍चमा रिट दायर गरेको देखिन्छ । यसबाट विपक्षीको रिट हतास मनस्थितबाट सृजित भन्‍ने स्पष्ट झल्किएको छ । विपक्षीले आफूले निवेदन दिएपछि सोमा सम्बन्धित निकायबाट निर्णय नहुँदासम्म पर्खनु पर्ने हो र निर्णयउपर चित्त नबुझेको अवस्थामा मात्र पुनरावेदन वा रिट क्षेत्रमा प्रवेश गर्ने निज निवेदकको कानूनी अधिकार विद्यमान हुँदाहुँदै हतास मनस्थिति लिएर रिट क्षेत्रमा प्रवेश गर्नु सम्मानित अदालत, कम्पनी र स्वयम्‌को पनि समयको वर्वाद गर्नु हो । अतः यसरी विपक्षीले माथि प्रकरण प्रकरणमा उल्लेख गरेबमोजिम गलतरूपमा कानूनी व्यवस्थामा टेकेर, कानूनको आफूखुशी व्याख्या गर्दै हतास मनस्थितिले रिट निवेदन दिएकोले सो निवेदन खारेज गरिपाउँ भन्‍नेसमेत व्यहोराको काठमाडौं उपत्यका खानेपानी लिमिटेडसमेतको तर्फबाट परेको लिखित जवाफ ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान्‌् वरिष्ठ अधिवक्ता श्री बच्‍चु सिंह खड्‍काले सिफारिसमा परेका उम्मेदवारले कम्पनीको विनियमावलीको विनियम १७(२) को म्यादमा पद छाडेको अवस्था र १ वर्षको परीक्षणकालभित्रै भएकोसमेत अवस्थामा वैकल्पिक १ नं. मा रहेको निवेदकलाई नियुक्त गर्नुपर्नेमा नगरी आलटाल गरेकोले निजलाई नियुक्त गर्नु भनी परमादेशको आदेश जारी गरिपाउँ भनी गर्नुभएको बहस सुनी मिसिल अध्ययन गरी विचार गर्दा निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा, मिति २०६९।११।१९ को गोरखापत्रमा प्रकाशित सूचनाको विज्ञापन नं. ३९/०६९/०७० को ओभरसियर पद संख्या २ मा लिखित परीक्षा, अन्तरवार्ता भई गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम यी निवेदक वैकल्पिक सूचीमा पहिलो नम्बरमा परेको भन्‍ने कुरामा विवाद देखिँदैन । नियुक्ति पाउने सिफारिसको योग्यताक्रमको २ नं. मा रहेका गणेशकुमार मल्लले मिति २०७१।५।२० मा नियुक्ति बुझिलिई २०७१।५।३० मा राजीनामा दिएको भन्‍ने तथ्य लिखित जवाफबाट समेत खुलेको देखिएको छ । यसरी निज गणेश कुमार मल्लले परिणाम प्रकाशित भएको एक महिनाभित्र तथा नियुक्ति बुझेको १५ दिनभित्रै राजीनामा दिएको देखिन्छ ।

३. काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ को विनियम १७(२) को व्यवस्था हेर्दा “.. सिफारिस भएको सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र पनि उम्मेदवारले नियुक्तिपत्र लिन नआएमा वा नियुक्तिपत्र लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा यस्ता उम्मेदवारको नाम योग्यता क्रमबाट हटाइएको सूचना प्रकाशित गरी निजको सट्टा प्रतिक्षा सूचीमा रहेको उम्मेदवारलाई योग्यता क्रमअनुसार नियुक्ति दिनसक्ने छ” भन्‍ने व्यवस्था गरेको देखियो । त्यस्तै गरी सोही विनियमावलीको विनियम १८(१) मा “कम्पनीको स्थायी पदमा पहिलो पटक नियुक्ति गर्दा सबै तहमा एक वर्षसम्म परीक्षण कालमा राखिने छ...” भन्‍ने व्यवस्थासमेत गरेको देखिन्छ । नयाँ कर्मचारीको नियुक्ति सिफारिस, परीक्षणकाल र सोही नतिजाबमोजिमका वैकल्पिक उम्मेदवारले पाउने अवसरको परिप्रेक्ष्य्यमा उल्लिखित विनियमावली, २०६४ को विनियम १७(२) र १८(१)(२) को व्यवस्थालाई एकैसाथ एक अर्काका पूरकको रूपमा समेत लिनुपर्ने देखिन्छ । 

४. वैकल्पिक उम्मेदवारको सूची राखिनुको औचित्य र सन्दर्भ भन्‍ने नै योग्यताक्रमको सिफारिसमा परेका अघिल्ला उम्मेदवार निश्‍चित समयभित्र सम्बन्धित पदमा नरहेमा वा सो पद रिक्त भएमा सोही पदमा अर्को परीक्षा लिइरहनु नपर्ने र वैकल्पिक उम्मेदवारलाई क्रमैसँग सिफारिस गर्नुपर्दछ भन्‍ने नै हो । प्रस्तुत विवादको सन्दर्भमा कुन अवधिलाई वैकल्पिक सिफारिस गरिन सक्ने अवधि मान्‍ने भनेर हेर्दा सर्वप्रथम सिफारिस भएको उम्मेदवार उपस्थित हुनु पर्ने म्यादलाई र परीक्षण कालको अवधिलाई नै हेर्नुपर्दछ । यहाँ पहिलो अर्थात् सिफारिस भएको उम्मेदवार हाजिर हुने म्यादमा उपस्थित भइसकेकोले सोको प्रश्‍न बाँकी रहेन । अब परीक्षण कालको अवधिको सम्बन्धमा हेर्नुपर्ने हुन्छ । सुरू नियुक्त हुने कर्मचारीलाई परीक्षण कालमा राखिनुको अर्थ सो अवधिभित्र उक्त उम्मेदवार कतिपय कारणले अयोग्य ठहरिन सक्छ वा अन्य कतिपय कारणले नियुक्ति सिफारिस भएको पद सो अवधिभित्र रिक्त हुन सक्छ । यसरी सो अवधिभित्र उम्मेदवार अयोग्य ठहरिएको अवस्थामा वा पद रिक्त भएको अवस्थामा प्रतिक्षा सूचीमा रहेका वैकल्पिक उम्मेदवारलाई नै सिफारिस गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादको सन्दर्भमा हेर्दा  नियुक्तिका लागि सिफारिस भएका गणेशकुमार मल्लले नियुक्ति बुझिलिएको १५ दिनभित्रै राजीनामासमेत गरेकोले उक्त पद रिक्त हुन आएको अवस्था छ । यसै विषयसँग सान्दर्भिक सैद्धान्तिक आधार रहेको लोक सेवा आयोग नियमावली, २०६७ को नियम ३४ को व्यवस्थासमेतले नियुक्तिको सिफारिस भएको उम्मेदवारको पद कुनै कारणबाट १ वर्षभित्र रिक्त हुन आएमा वैकल्पिक उम्मेदवारको सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रम अनुसार सिफारिस गर्नुपर्ने गरी व्यवस्था गरेको देखिन्छ ।

५. निवेदकलाई वैकल्पिक सूचीमा राखिएको पदमा नियुक्तिको सिफारिस भएका उम्मेदवार हाजिर भएर राजीनामा दिई १५ दिनभित्र पद रिक्त भइरहेकै अवस्था छ । संस्थाको विनियमावली, २०६४ को १७(२) ले नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा भन्‍ने प्रावधान तथा विनियमावलीको विनियम १८(१) को परीक्षणकालको व्यवस्थालाई सान्दर्भिक तथा स्वर्णीम व्याख्या गर्नुपर्ने हुन्छ, जसले गर्दा एउटै पदमा तत्कालै पटक पटक परीक्षा लिई रहनु नपरोस् भनी वैकल्पिक उम्मेदवारको सिफारिस गर्ने कानूनी व्यवस्था र पद्धतिलाई समेत परिपोषित गर्दछ । अतः परीक्षणकालको अवधिभित्रै तथा नियुक्ति बुझेकोसमेत १५ दिनभित्रै नियुक्ति सिफारिस भएका उम्मेदवारले नियुक्ति पाएको पद रिक्त भएको र यी रिट निवेदक रन्जित बोहरा वैकल्पिक योग्यता क्रमको पहिलो नम्बरमा रहेको देखिएकोले निजले नियमानुसार सिफारिस भएको “ओभरसियर” पदमा नियुक्ति पाउनु पर्ने देखिएको हुँदा निज निवेदकलाई नियमानुसार गरी नियुक्ति पत्र दिनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई दिनू । प्रस्तुत मुद्दाको दायरीकको लगत कट्टा गरी अभिलेख शाखामा बुझाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृत: सुमनकुमार न्यौपाने

इति संवत् २०७४ साल भदौ ४ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु