निर्णय नं. ९८५६ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र
माननीय न्यायाधीश श्री मीरा खड्का
फैसला मिति : २०७४।०१।०५
०७१-CR-०८७५
मुद्दाः जबरजस्ती करणी ।
पुनरावेदक / प्रतिवादी : काभ्रे जिल्ला बालुवापाटी गा.वि.स. वडा नं. ५ नगरकोट घर भई हाल कारागार कार्यालय काठमाडौंअन्तर्गत केन्द्रीय कारागारमा थुनामा रहेका वर्ष २५ का विजय सुन्दास
विरूद्ध
विपक्षी / वादी : रामेछाप जिल्ला भलाजोर गा.वि.स. वडा नं. ६ घर भई हाल का.जि.म.न.पा. वडा नं. १८ मा बस्ने वर्ष ४१ की मञ्जु नेपालीको जाहेरीले नेपाल सरकार
जबरजस्ती करणी जस्तो अपराधमा न्यायको रोहबाट न्यायको लागि संवेदनशील हुनुपर्ने हो तर पनि अति संवेदनशील भई एकतर्फी रूपमा विचार गर्दा न्याय मर्न जाने हुँदा विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी न्यायमा पुग्नु पर्ने ।
पीडितको बकपत्र कसुरमा मुख्य कडी भए पनि सो बकपत्रको पुष्ट्याईं शंकारहित रूपबाट नभएमा बकपत्रलाई यान्त्रिक रूपबाट प्रमाणको रूपमा ग्रहण गरी सजाय गर्नु विवेकयुक्त मान्न नसकिने ।
प्रतिवादीले मौकामा गरेको बयानमा जबरजस्ती करणीको उद्योगमा साबितै रहेको देखिएकोमा ततिम्बा बयान गराई जबरजस्ती करणीको कसुरमा साबिती गराएको देखिन्छ जबकि ततिम्बा बयान गराउँदा अगाडि स्पष्ट नभएका कुरामा मात्र सोधी प्रष्ट गराउनुपर्दछ भन्ने कानूनी व्यवस्था भएकोमा प्रतिवादीलाई अघि नै स्पष्टसँग उल्लेख गरेको कसुरसँग असम्बन्धित कसुरमा साबित गराएको देखिन्छ जुन कुरा कानून र न्यायसम्मत हुन आउँदैन । तसर्थ उपर्युक्त विवेचनाबाट प्रतिवादीले जबरजस्ती कगणी गरेको नभई जबरजस्ती करणीको उद्योगसम्म गरेको तथ्य समर्थित भएको देखिने ।
(प्रकरण नं. ९)
पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता चन्द्रबहादुर बस्नेत
विपक्षी वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्याम भट्टराई
अवलम्बित नजिर :
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)
जबरजस्ती करणीको महलको १ र ३(३) नं.
सुरू तहमा फैसला गर्नेः
मा.न्यायाधीश श्री विष्णुप्रसाद कोइराला
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेछ:-
म जाहेरवालीको छोरी हाल नाम परिवर्तन परिवर्तित "परिसर-ष" लाई प्रतिवादी विजय सुन्दासले का.जि.म.न.पा. वडा नं. १८ नरदेवी स्थित मेरो कोठामा कोही नभएको मौका पारी छोरीको संवेदनशील अंगमा हात हाल्ने गरेको र मिति २०६९।१।३ गते बिहान ११:०० बजेको समयमा छोरी मात्र कोठामा भएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भनी निज छोरीले भनेकी र वरिपरिका मानिसहरूबाट थाहा पाएको हुँदा निज प्रतिवादी विजय सुन्दासलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग महलअनुसार हदैसम्म कारवाही गरिपाउँ भन्ने व्यहोराको मञ्जु नेपालीको जाहेरी दरखास्त ।
का.जि.म.न.पा. वडा नं. १८ नरदेवी स्थित पूर्वमा श्याम महर्जनको घर, पश्चिममा आयुर्वेदिक अस्पताल, उत्तरमा नरेन्द्रप्रसाद भुलको घर र दक्षिणमा बसन्त महर्जनको घर यति चारकिल्ला रहेको अमिरमान शाक्यको ५ तले घरको माथिल्लो तलामा पूर्व मोहडामा जाहेरवाली मञ्जु नेपालीको कोठा रहेको उक्त कोठाभित्र हेर्दा पूर्वपट्टी सुत्ने बेड रहेको, उक्त कोठाभित्र प्रतिवादी विजय सुन्दासले १३ वर्षकी "परिसर-ष" लाई जबरजस्ती करणी गर्न खोजेको भन्ने चार किल्लासहितको घटनास्थल मुचुल्का ।
म का.जि.म.न.पा. वडा नं. १८ नरदेवीमा बुबा, आमा र भाइसँग बस्छु, प्रतिवादी विजय सुन्दासलाई मेरो बुबाले चिन्नु हुँदो रहेछ । निज प्रतिवादी मेरो बुबासँग अ.१ महिना अगाडि हाम्रो कोठामा आउँदा चिनजान भएको हो । म कक्षा १ को परीक्षा सकिएकोले कोठामा नै बसिरहेको अवस्थामा ३/४ दिन अगाडि निज प्रतिवादी हाम्रो कोठामा
आयो । भाइ अभिषेक नेपालीलाई गाली गरी कोठा बाहिर निकाली दियो । म पनि निस्कन खोज्दा निस्कन
दिएन । मसँग मेरो घर जानुपर्छ, तिमीलाई म बुढी बनाउँछु भनी फकाई त्यस दिन रू. २० पनि दियो । यसै क्रममा मिति २०६९।१।३ गते बिहान अं. ११:०० बजेको समयमा म र मेरो भाइ कोठामा बसिरहेको समयमा निज प्रतिवादी कोठामा आई भाइलाई पैसा दिई बाहिर पठाई कोठाको ढोका लगाएर मेरो संवेदनशील अंगमा हात हाली मलाई गलैंचामाथि लडाई मेरो कपडा जबरजस्ती खोली करणी गर्न खोज्दा म चिच्याएको सुनी वरपरका मानिसहरूले थाहा पाएकोले निज प्रतिवादी विजय सुन्दास कोठाबाट भागी गएका हुन् । निज प्रतिवादीले मलाई जबरजस्ती करणी उद्योग गरेको हो भन्नेसमेत व्यहोराको पीडित "परिसर-ष" ले गरेको कागज ।
जाहेरवाली मञ्जु नेपालीको कोठा र मेरो पसल नजिकै भएकोले विगत ३ महिनादेखि पीडित "परिसर-ष" र मेरो चिनजान भएको हो, निजको बुबा र मेरो राम्रो चिनजान भएकोले निजहरूको कोठामा म आउने जाने गर्दथेँ । निज पीडितको भाइले मसँग साइवर जान पैसा माग्ने गर्दथे र मैले दिने गर्दथेँ । मिति २०६९।१।३ गते बिहान मेरो पसलमा पीडित "परिसर-ष" आएकी थिइन् । निज र मसँगै होटलमा गएर खाजा खाई आ-आफ्नो कोठामा गएका हौं, पछि म फेरी पीडितको कोठामा जाँदा कोठा बन्द थियो । मैले ढोका धकेलेरभित्र पसेँ, मलाई छ्याङ लागेको हुँदा मैले निज पीडितलाई जिस्क्याउने, संवेदनशील अंगहरूमा चलाउने गर्दा निज अप्ठ्यारो मानी नचलाउनुस् भन्दै थिइन् । निजको हातमा समाई कस्सेर तान्दा निजले आत्तिएर बुबालाई भनी दिन्छु भनेपछि मैले निजलाई छाडी गएको हो । निजलाई मैले धाक धम्की दिएको छैन । तर जबरजस्ती करणी गर्ने उद्देश्यले निजको संवेदनशील अंगहरूमा छुने, किस खाने कार्य गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विजय सुन्दासले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
पीडित "परिसर-ष" को जन्म मिति २०५४ असोज रहेको भन्ने व्यहोराको कंकेश्वरी नि.मा.वि.को पत्र ।
प्रतिवादी विजय सुन्दास मेरो बुबासँग कोठामा आएपछि पटकपटक बुबा आमा नभएको समयमा आइरहन्थ्यो । मलाई रू.१०।- / २०।- दिई पसलमा जाउँ भन्थ्यो र जान्न भन्दा गाली गरी मलाई निकाली ढोका लगाई बस्थ्यो । मिति २०६९।१।३ गते बुबा आमा काममा गएपछि म र दिदी कोठामा ढोका बन्द गरी बसिरहेकोमा प्रतिवादीले ढोका बेस्सरी घचेटीभित्र आई मलाई रू.१० ।- दिई बाहिर निकाली दियो । म फर्केर आउँदा ढोका लगाइएको थियो । दिदी मलाई छोडीदिनु भनी कराई रहेकी थिइन् । दिदीले धेरै बेरपछि ढोका खोल्दा दिदीको कपाल खोलेको, कपडाहरू लथालिङ्ग थियो । निजले मेरो दिदी "परिसर-ष" लाई जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भन्ने व्यहोराको अभिषेक नेपालीको कागज र सोही व्यहोरासँग मेल खाने गरी युनारायण दमाई र सरिता नेपालीको कागज ।
निज पीडितको स्वास्थ्य सामान्य छ । कन्याजाली पुरानो च्यातिएको छ । निजको शरीरमा कतै घाउचोट पटक छैन भन्ने व्यहोराको प्रसुती गृह थापाथलीको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मिति २०६९।१।२ गते दिउँसो अ. १३:०० बजेको समयमा मेरो भाइ बाहिर खेल्न गएको थियो । म एक्लै कोठामा पढेर बसिरहेको अवस्थामा प्रतिवादी मेरो कोठामा आई मेरो दुवै हात समाई भुइँमा लडाई मैले लगाएको सुरूवाल र पेन्टी खोली उसले लगाएको पाइन्ट र पेन्टी खोली ममाथि चढी निजको लिङ्ग मेरो योनिमा घुसाई म चिच्याउँदा पनि जबरजस्ती करणी गरियो । मलाई धेरै बेरसम्म दुःखी रह्यो । निज प्रतिवादीले यो कुरा बुबा आमालाई भनिस् भने तेरो बुबा आमालाई मारिदिन्छु भनेकोले मैले कसैलाई पनि भनिन । निजले जबरजस्ती करणी गर्दा मेरो योनिबाट रगत पनि आएको थियो । आमाले थाहा पाउनु हुन्छ भनेर पेन्टी धोइसकेकी थिएँ । भोलिपल्ट मिति २०६९।१।३ गते पनि ११:०० बजेको समयमा निजले मलाई जबरजस्ती करणी गर्दा म चिच्याएको वरपरका मानिसले सुनेपछि निज प्रतिवादी भागी गएको हो । निज प्रतिवादी विजय सुन्दासले मलाई जबरजस्ती करणी गरेको हो । निज प्रतिवादीलाई जबरजस्ती करणीको महलअनुसार कारवाही गरिपाउँ भन्ने व्यहोराको पीडित "परिषर-ष" ले गरिदिएको कागज ।
मेरो छोरी "परिसर-ष" ले मिति २०६९।१।३ गते कोठामा कोही नभएको मौकामा प्रतिवादी विजय सुन्दासले जबरजस्ती करणी गर्न खोजेको भनी बताएको हुँदा मैले सोही शिर्षकमा जाहेरी दरखास्त लेखी पेस गरेको थिएँ । तर उक्त मुद्दा दर्ता भएपछि केही दिन पछाडी छोरीले मलाई एक्लै भएको समयमा निज प्रतिवादीले मिति २०६९।१।२ र ऐ. ३ गते जबरजस्ती करणी गरेको र सोही दिनदेखि मलाई पिसाब फेर्ने ठाउँमा एकदमै पोली रहेको छ भनिन् अनि मैले यो कुरा पहिला किन नभनेको भनी सोध्दा बुबाले कुट्नु हुन्छ, गाली गर्नुहुन्छ भनी डरले नभनेको र कागज गर्दासमेत नबताएको हुँ भनी छोरीबाट प्रष्ट खुल्न आएको र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनमा समेत छोरीको कन्याजाली च्यातिएको छ भनी खुली आएको हुँदा तत्काल मैले दिएको जाहेरी दरखास्तको मुद्दा शिर्षक जबरजस्ती करणी उद्योग परिवर्तन गरी निज प्रतिवादी विजय सुन्दासलाई जबरजस्ती करणी मुद्दामा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली मञ्जु नेपालीले गरिदिएको कागज ।
पीडितको बुबासँग चिनजान भएपछि म निजको कोठामा जाँदा पीडितलाई चिनेको थिएँ । मिति २०६९।१।२ गते अं. १३:०० बजेको समयमा म निज पीडितको कोठामा गई निजलाई गलैंचामाथि सुताई निजले लगाएको सुरूवाल र पेन्टी खोली मैले लगाएको आफ्नो पाइन्ट र पेन्टी खोली निज पीडितमाथि चढी जबरजस्ती करणी गरेँ । निजले मलाई दुख्यो भनेपछि छाडी दिएँ । ऐ.३ गते जबरजस्ती करणी गर्ने मनसायले निजको कोठामा गई जबरजस्ती करणी गर्न लाग्दा निज पीडित कराई वरपरका मानिसहरूले थाहा पाएपछि मैले छोडी गएको हुँ, मेरो बयानको क्रममा जाहेरी दरखास्तलगायतका मिसिल संलग्न कागजातहरूबाट निज पीडितले मलाई जबरजस्ती करणी उद्योग मात्र भएको हो भन्ने व्यहोरा उल्लेख भएको थियो । त्यसैले त्यहीबमोजिम बयान गरेको भए तापनि मैले निज "परिसर-ष" लाई जबरजस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विजय सुन्दासले गरेको ततिम्बा बयान ।
प्रतिवादी विजय सुन्दासको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(३) नं. बमोजिमको कसुर अपराध भएको हुँदा निज प्रतिवादी विजय सुन्दासलाई सोही जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम सजाय हुन र सोही महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउनसमेतको मागदाबी लिई सक्कल मिसिल र पक्राउ प्रतिवादी विजय सुन्दासलाई यसै अभियोग पत्र साथ प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध छ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी ।
मिति २०६९।१।२ र ३ मा जाहेरवालीको घरमा गएको होइन । ऐ. १ गते बेलुका जाहेरवालाका श्रीमान्सँग पैसा माग्न गएको थिएँ । उनी नसामा रहेकोले काम भएन । मिति २०६९।१।८ गते र ऐ. २० मा मौकामा भएको बयानमा गरेको सहिछाप मेरै हो । म पढेलेखेको मानिस नहुँदा मेरो बयानमा लेखाएको व्यहोरा मलाई नसुनाएको हुँदा के लेखियो मलाई थाहा छैन । मैले पीडित र निजको भाइलाई पैसा दिएको
होइन । मैले अभियोग बमोजिमको कसुर नगरेकोले अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विजय सुन्दासले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादीलाई कानूनबमोजिम सिधा खान पाउने गरी अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई अ.बं. ११८ को देहाय २ बमोजिम थुनामा राख्न पठाइदिनु भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।१।३१ गते भएको आदेशानुसार प्रतिवादी हालसम्मै थुनामा नै रहेको मिसिल संलग्न प्रमाणबाट देखिएको ।
निज प्रतिवादीको आचरण राम्रो रहेको छ । सानोतिनो सिलाई कटाईको व्यवसाय गरेर परिवार चलाउँदै आएका छन् । जाहेरवालीको लोग्ने र विजय सुन्दासको बीचमा लेनदेनको विषयमा बाटोमा भनाभन हुँदा कुटपिट भएको हो । मञ्जु नेपालीको भाइले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवैलाई लग्यो, मञ्जुको श्रीमान्लाई प्रहरीले छोडेछ । भोलिपल्ट यस्तो झुट्ठा जाहेरी गरेको रहेछन् । "परिसर-ष" ले पटक पटक गरेको कागज विल्कुल झुट्ठा हो । झुट्ठा जाहेरी, झुट्ठा कागजसमेतबाट लगाइएको अभियोग पत्रसमेत झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी विजय सुन्दासका साक्षी उजेली परियारले गरेको बकपत्र ।
मैले मिति २०६९।१।४ गते दिएको जाहेरी दरखास्त र मिति २०६९।१।२० गतेमा गरेको कागजमा भएको व्यहोरा ठीक साँचो हो । म घरमा नभएको अवस्थामा कोठाबाट छोरालाई बाहिर निकालेर प्रतिवादीले छोरीलाई जबरजस्ती करणी गरेका हुन् । प्रतिवादीले लगातार ३ दिनसम्म उक्त कसुर गर्दै आएको प्रत्यक्ष त छोराले देखेको रहेछ । छोराले भनेपछि मैले जाहेरी दिएकी हुँ । छोरीलाई सोध्दा सबै कुरा बताएपछि चेक गराउन थापाथली हस्पिटलमा लगेपछि प्रतिवादीले मेरो छोरीलाई जबरजस्ती करणी गरेको पुष्टि भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला मञ्जु नेपालीले गरेको बकपत्र ।
मिति २०६९।१।५ मा गरेको कागजमा भएको व्यहोरा ठीक साँचो हो । बुबाआमा काममा गएको बेलामा बिहान १० बजेतिर प्रतिवादी हाम्रो घरमा आएर भाइलाई बाहिर पठायो र मेरो टिसर्ट जबरजस्ती खोली मेरो मुख हातले थुनी मलाई गलैंचामा लडायो र मलाई खुट्टाले थिची मेरो छाती चलायो मैले पाइन्टको फस्नर खोल्न नमान्दा मारिदिन्छु भन्यो र मेरो पाइन्ट खोली मलाई आधा घण्टा जबरजस्ती करणी गर्यो । ममीलाई मामालाई सुनायौ भने ममीलाई पनि मामालाई पनि मारिदिन्छु भन्यो । यस्तो गर्न मानेनौ भने तिमीलाई मारेर तिम्रो सानो ममीलाई लैजान्छु भन्यो । भोलिपल्ट मलाई करणी गर्न खोज्दा खोज्दै कोठाको तलतिरको आन्टीले म कराएको सुनेर अरू सबैलाई खबर गरेपछि उ निस्केर गएको हो भन्नेसमेत व्यहोराको पीडित "परिसर-ष" ले गरेको बकपत्र ।
मिति २०६९।१।१० गते महानगरीय प्रहरी परिसर, महिला बालबालिका सेवा केन्द्र कालीमाटीमा पेस गरेको स्वास्थ्य परीक्षण प्रतिवेदनमा भएको सहिछाप र व्यहोरा मेरै हो भन्नेसमेत व्यहोराको विशेषज्ञ डाक्टर अमिला श्रेष्ठले गरेको बकपत्र ।
मिति २०६९।१।१० गते महानगरीय प्रहरी परिसर, महिला बालबालिका सेवा केन्द्र कालीमाटीमा पेस गरेको स्वास्थ्य परीक्षण प्रतिवेदनमा भएको सहिछाप र व्यहोरा मेरै हो । निजको स्वास्थ्य अवस्था सामान्य नै थियो । कन्याजाली पुरानो च्यातिएको
थियो । अन्य व्यहोरा उक्त मितिको प्रतिवेदनमै उल्लेख छ भन्नेसमेत व्यहोराको विशेषज्ञ डाक्टर उषा श्रेष्ठले गरेको बकपत्र ।
यसमा प्रतिवादीको मौकाको ततिम्बा बयान, किटानी जाहेरी, पीडितको मौकाको कागज व्यहोरा, मौकामा वारदातस्थल देख्ने र थाहा पाउने पीडितको भाइ अभिषेक नेपालीले गरेको कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, मौकाको व्यहोरा पुष्टि हुने गरी पीडित जाहेरवालीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूले गरेको बकपत्रसमेतबाट कसुर पुष्टि हुन आएको देखिँदा प्रतिवादी विजय सुन्दासलाई जबरजस्ती करणीको महलको ३(३) अनुसार ६।०।० (छ वर्ष) कैद र पीडितले प्रतिवादीबाट ऐ. महलको १० नं. अनुसार चालिस हजार क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।२।१६ मा भएको फैसला ।
मिति २०६९।१।४ मा जाहेरवालीले जबरजस्ती करणी उद्योग मुद्दामा जाहेरी दिएकी हुन् । मैले जाहेरवालीको छोरीलाई कुनै किसिमको यौन सम्पर्क नगरेको हुँदा मेरो विरूद्धमा जबरजस्ती करणीको झुट्ठा अभियोग पत्र दायर भएको छ । जबरजस्ती करणीको जाहेरी नै नपरेको र जाहेरवाली निजको छोरी र मेरो ततिम्बा बयानलाई पुष्टि गर्न अनुसन्धान नभएको, प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादीले मलाई जबरजस्ती करणी गरेको भनी पुष्टि गर्न नसकेको, जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, जाहेरीलाई अन्य स्वतन्त्र आधार प्रमाणबाट पुष्टि भएको हुनुपर्छ भन्ने नजिर प्रतिपादन भएको, "परिसर-ष" को स्वास्थ्य परीक्षण रिपोर्टमा निजको स्वास्थ्य सामान्य रहेको, निजको कन्याजाली पुरानो च्यातिएको र निजको शरीरमा कहीँकतै घाउ चोट पटक लागेको नदेखिएको भन्ने रहेको, Modie’s Medical Jurisprudence अनुसार पीडितको शरीरमा जबरजस्ती करणी हुने अवस्थामा बचाउनका लागि प्रतिकारात्मक चिह्नहरू स्वास्थ्य परीक्षणबाट नदेखिएको र म पुनरावेदकको स्वास्थ्य परीक्षणमा No sign of sexual abuse seen at present condition भनी उल्लेख गरिएको आधार कारणबाट सुरू अदालतको फैसला प्रमाण ऐन, २०३१ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका विरूद्धमा भई त्रुटिपूर्ण छ । उक्त फैसला बदर गरी म पुनरावेदकलाई आरोपित कसुरबाट पूर्णरूपमा सफाई दिलाई न्याय पाउँ भन्नेसमेत पुरावेदक प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन
जिकिर ।
प्रतिवादी उपरको किटानी जाहेरी, पीडित तथा जाहेरवालीले अनुसन्धानको क्रममा गरिदिएको कागजलाई पुष्टि हुने गरी अदालतमा गरेको बकपत्र, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूले अदालतमा उपस्थिति भई गरिदिएको बकपत्र, मौकामा वारदातको बारेमा थाहा पाउने पीडितका भाइ अभिषेक नेपालीले गरेको कागज र प्रतिवादीले अनुसन्धानको प्रथम चरणमा जबरजस्ती करणीको उद्योग गरेको भन्ने तथ्यमा साबित भई गरेको बयान तथा निजले पीडितको स्वास्थ्य परीक्षणपश्चात् अनुसन्धानको क्रममा ततिम्बा बयान गर्दा पीडितलाई जबरजस्ती करणी गरेको तथ्यमा साबिती भई गरेको बयानसमेतका आधार प्रमाणहरूबाट यी प्रतिवादीले आरोपित जबरजस्ती करणीको कसुर गरेको तथ्य पुष्टि भएको देखिँदा निजलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ६ वर्ष कैद हुने र सोही महलको १० नं. बमोजिम निज प्रतिवादीबाट पीडितलाई रू. ४०,०००।- क्षतिपूर्ति भराई दिने समेत ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।२।१६ को फैसला न्यायको रोहमा मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०७१।१।९ को फैसला ।
मेराउपर जाहेरवालीले जबरजस्ती करणीको उद्योगमा किटानी जाहेरी दरखास्त दिई सो अनुरूप नै जाहेरवाली र पीडितसमेतले मौकामा कागज गरेको अवस्थामा पुन: जाहेरी व्यहोरामा फरक पर्ने गरी पीडित र जाहेरवालीले जबरजस्ती करणी गरेको भन्ने व्यहोरा लेखाई पुनः मलाई ततिम्बा बयान गराई मलाई जबरजस्ती करणीको कसुरमा साबित गराई डर त्रास देखाई जबरजस्ती सहिछाप गराएका र सोहीअनुरूप गलत किसिमले अभियोग लगाई उक्त गलत अभियोगको आधारमा मेरो विरूद्धमा भएको मिति २०७०।२।१६ को काठमाडौं जिल्ला अदालतको फैसलालाई बदर गरी मलाई सफाई दिने गरी फैसला गर्नु पर्नेमा सो नगरी सुरू फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को (क) र (ख) को अवस्था विद्यमान भएको हुँदा मुद्दा दोहोर्याई हेरी उक्त पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी सफाई पाउने गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विजय सुन्दासको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा सुरू जाहेरी दरखास्त र पीडितको मौकाको कागज तथा प्रतिवादीले मौकामा गरेको पहिलो बयानसमेतका संकलित सबुद प्रमाणबाट जबरजस्ती करणी उद्योगमा तहकिकात भएकोमा कन्याजाली च्यातिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको आधारमा जबरजस्ती करणीतर्फ अनुसन्धान भई अभियोग पत्र दायर भएबाट वादी दाबीका आधारहरू परस्पर विरोधी तथा शंकास्पदसमेत देखिन आई प्रमाण ऐन, २०३१ को दफा २५ ले निरोपित प्रमाणको भारलाई वादीले शंकारहित तवरबाट प्रमाणित गर्न सकेको भन्न मिल्ने देखिँदैन । यस्तो अवस्थामा सुरूले यी निवेदक प्रतिवादीलाई जबरजस्ती करणीको कसुरदार कायम गरी सजाय गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २५ र दफा ५४ को त्रुटि देखिन आई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) को अवस्था विद्यमान देखिँदा मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरिदिएको छ । सम्बन्धित मिसिल र विपक्षीलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०७१।९।१७ मा भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री चन्द्रबहादुर बस्नेतले प्रतिवादीउपर सुरूमा जबरजस्ती करणीको उद्योगमा जाहेरी दरखास्त परेको र पीडितले पनि आफूलाई प्रतिवादीले करणी गर्ने प्रयास गरेको भनी मौकामा कागज लेखाएकोमा पछिबाट पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पुरानो कन्याजाली च्यातिएको भन्ने उल्लिखित भएको कारणबाट जबरजस्ती करणीतर्फ पुन: अनुसन्धान भई सोहीअनुरूप जाहेरवाली र पीडितको कागज गराई प्रतिवादीलाई समेत डरत्रासमा पारी पढेर नसुनाई जबरजस्तीसँग करणी गरेकोमा साबित गराई ततिम्बा बयान गराएको हुँदा जाहेरी दरखास्तको व्यहोरा प्रतिकूल जबरजस्ती करणीतर्फको अभियोग माग दाबी लिई अभियोग पत्र दायर गरिएको र सोअनुरूप भएको सुरू फैसला तथा सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसलासमेत त्रुटिपूर्ण हुँदा उक्त पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी यी प्रतिवादीलाई सफाई दिनुपर्दछ भनी गर्नुभएको बहस तथा विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री श्याम भट्टराईले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी मौकामा गरेको कागजमा तथा अदालतसमक्ष गरेको बकपत्रमा समेत उल्लेख गरेबाट प्रतिवादीले जबरजस्ती करणीको कसुर गरेको भन्ने समर्थित भएको देखिँदा जबरजस्ती करणीको अभियोगमा प्रतिवादीलाई सजाय ठहर गरेको सुरू फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला मनासिब नै हुँदा सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्य, निवेदन जिकिर र बहस बुँदासमेत भएको प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ६ वर्ष कैद र सोही महलको १० नं. बमोजिम पीडितलाई प्रतिवादीबाट रू.४०,०००।- क्षतिपूर्तिसमेत भराई दिने ठहर गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०७१।१।९ गते भएको फैसला मिले नमिलेको के छ ? र प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने नसक्ने के हो ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीउपर पीडित "परिसर-ष" लाई जबरजस्ती करणी गरेकोले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(३) नं. बमोजिमको कसुर अपराधमा सोही महलको ३(३) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्तिसमेत भराइदिने भन्ने अभियोग माग दाबी रहेकोमा प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ६ वर्ष कैद र १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई रू.४०,०००।- क्षतिपूर्तिसमेत भराई दिने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०७१।१।९ मा भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीका तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी सो निवेदनमा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदन दर्ता भएको देखिन आयो ।
३. प्रतिवादी विजय सुन्दासले मेरी छोरी वर्ष १३ की नाम परिवर्तित "परिसर-ष" लाई ०६९।१।३ गतेका दिन बिहान ११:०० बजे कोठामा एक्लै रहेको अवस्थामा जबरजस्ती करणी गर्न खोजेको भनी छोरी र वरिपरिका मानिसहरूबाट थाहा पाएकी हुँदा निजलाई जबरजस्ती करणी उद्योगमा कारवाही गरिपाउँ भनी जाहेरवाली मञ्जु नेपालीले प्रतिवादीउपर किटानी जाहेरी दिएको देखिन्छ । प्रतिवादीले मिति २०६९।१।३ गतेका दिन बिहान ११:०० बजेको समयमा भाइ र म आफ्नै कोठामा भएको अवस्थामा प्रतिवादी कोठामा आई भाइलाई बाहिर जान लगाई मलाई भुइँमा सुताई मेरो संवेदनशील अंगमा हात लगाई मेरो कपडा खोली जबरजस्ती करणी गर्न खोज्दा म चिच्याएकीले बाहिरका मानिसहरूले थाहा पाई के भयो भनी हल्ला गर्दा निज प्रतिवादी भागेका हुन् भनी पीडित "परिसर-ष" ले मौकामा कागज गरेको
देखिन्छ । प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा आफूले पीडितलाई जबरजस्ती करणी गर्ने उद्देश्यले निजको संवेदनशील अंगहरूमा छुने किस खाने कार्य गरेकोमा निजले बुबालाई भनिदिन्छु भनेकीले मैले छाडिदिएको हुँ भनी लेखाएको पाइन्छ ।
४. मौकामा कागज गर्ने सरिता नेपाली, युनारायण दमाई र अभिषेक नेपालीले प्रतिवादी विजय सुन्दासले पीडित "परिसर-ष" लाई जबरजस्ती करणीको प्रयास गरेका हुन् भनी लेखाएको देखिन आयो । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको स्वास्थ्य सामान्य छ, कन्याजाली पुरानो च्यातिएको छ, शरीरमा कुनै घाउचोट छैन भनी प्रसुति गृह थापाथलीको परीक्षण प्रतिवेदनबाट देखिन
आएको ।
५. मिति २०६९।१।२ गते दिउँसो अं. १३:०० बजेको समयमा म एक्लै कोठामा रहेको अवस्थामा प्रतिवादी कोठामा आई मलाई समाती भुइँमा लडाई निजको लिङ्ग मेरो योनिमा घुसाई म चिच्याउँदा पनि जबरजस्ती करणी गरिरह्यो । निजले यो कुरा कसैलाई नभन्नु भनेकाले मैले दुखे पनि कसैलाई भनेकी थिइन, भोलिपल्ट २०६९।१।३ गते बिहान ११:०० बजेको समयमा पनि पुनः कोठामा आई मलाई जबरजस्ती करणी गरेकोमा म चिच्याएपछि बाहिरका मानिसहरूले थाहा पाई हो हल्ला गर्दा निज भागेका हुन् मैले प्रतिवादीले करणी गरेको भनी भनेमा सो कुरा आमाले बुबालाई पनि भन्नुहुन्छ र बुबाले गाली गर्नुहुन्छ भन्ने डरले मैले आमालाई प्रतिवादीले जबरजस्ती करणी गर्न खोजेका थिए भनी भनेकी छु भनी पीडित "परिसर-ष" ले मिति २०६९।१।२० मा पुनः कागज गरेको देखिन्छ ।
६. मेरी छोरी "परिसर-ष" ले मिति २०६९।१।३ गते कोठामा कोही नभएको मौकामा प्रतिवादी विजय सुन्दासले जबरजस्ती करणी गर्न खोजेको भनी बताएकी हुँदा मैले सोही शिर्षकमा जाहेरी दरखास्त लेखी पेस गरेकी दर्ता भएकोमा केही दिनपछि छोरीले मलाई एक्लै भएको समयमा निज प्रतिवादीले मिति २०६९।१।२ र ऐ. ३ गते जबरजस्ती करणी गरेको र सोही दिनदेखि मलाई पिसाब फेर्ने ठाउँमा पोलिरहेको छ भनिन् अनी मैले यो कुरा पहिला किन नभनेको भनी सोध्दा बुबाले कुट्नु हुन्छ गाली गर्नुहुन्छ भनी डरले नभनेकी र कागज गर्दासमेत नबताएकी हुँ भनी छोरीबाट प्रष्ट खुल्न आएको र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनमा समेत छोरीको कन्याजाली च्यातिएको छ भनी खुली आएको हुँदा तत्काल मैले दिएको जाहेरी दरखास्तको मुद्दा शीर्षक जबरजस्ती करणी उद्योग परिवर्तन गरी निज प्रतिवादी विजय सुन्दासलाई जबरजस्ती करणी मुद्दामा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली मन्जु नेपालीको मिति २०६९।१।२० मा पुनः मौकामा कागज गरेको पाइन्छ ।
७. पीडितको बुबासँग चिनजान भएकोले निजको कोठामा जाँदा पीडितलाई चिनेको थिएँ, मिति २०६९।१।२ गते अं. १३:०० बजेको समयमा म निज पीडितको कोठामा गई निजलाई गलैंचामाथि सुताई निजले लगाएको सुरूवाल र पेन्टी खोली मेरो पाइन्ट र पेन्टी खोली निज पीडितमाथि चढी जबरजस्ती करणी गरे । निजले मलाई दुख्यो भनेपछि छाडिदिएँ । ऐ. ३ गते जबरजस्ती करणी गर्ने मनसायले निजको कोठामा गई जबरजस्ती करणी गर्न लाग्दा निज पीडित कराई वरपरका मानिसहरूले थाहा पाएपछि मैले छोडी गएको हुँ, मेरो बयानको क्रममा जाहेरी दरखास्तलगायतका मिसिल संलग्न कागजातहरूबाट निज पीडितले मलाई जबरजस्ती करणी उद्योग मात्र भएको हो भन्ने व्यहोरा उल्लेख भएको थियो । त्यसैले त्यहीबमोजिम बयान गरेको भए तापनि मैले निज "परिसर-ष" लाई जबरजस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विजय सुन्दासले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको ततिम्बा बयान देखिन आयो ।
८. यसप्रकार प्रतिवादीउपर सुरूमा जबरजस्ती करणीको उद्योगमा किटानी जाहेरी परी अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने क्रममा पीडितले पनि सुरूमा उद्योगतर्फ कै व्यहोरा उल्लेख गरी कागज लेखाएकोमा स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको पुरानो कन्याजाली च्यातिएको छ भन्ने उल्लेख भएबाट जाहेरवाली र पीडितको अनुसन्धान अधिकारीले पुनः कागज गराउँदा निजहरूले प्रतिवादीले जबरजस्ती करणी गरेका भनी लेखाएकाले सोअनुरूप प्रतिवादीको पुनः ततिम्बा बयान हुँदा प्रतिवादीले समेत पीडितलाई जबरजस्ती करणी गरेको भनी साबिती बयान लेखाएको देखिन्छ । तत्पश्चात् प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. र ३(३) नं. बमोजिमको कसुर अपराधमा सोही महलको ३(३) नं. बमोजिम सजाय गरी १० नं. बमोजिम पीडितलाई प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराइ दिनेसमेतको मागदाबी लिई अभियोगपत्र दायर हुन आएको
देखिन्छ । प्रतिवादीले अदालतसमक्षको बयानमा आफूले अभियोग माग दाबीबमोजिमको कसुर नगरेको भनी इन्कारी बयान गरेको देखिन्छ । प्रतिवादीउपर सुरूमा जबरजस्ती करणीको उद्योगमा किटानी जाहेरी दर्ता भई सोअनुरूप अनुसन्धान प्रक्रिया सुरू हुँदा पीडितले समेत प्रतिवादीले आफूउपर जबरजस्ती करणी गर्ने प्रयास गरेका भन्ने व्यहोरा लेखाएको देखिन्छ भने प्रतिवादीले समेत पीडितलाई करणी गर्ने प्रयास गरेको भन्ने व्यहोरा उल्लेख गरी बयान गरेको पाइन्छ । यसर्थ जबरजस्ती करणीको उद्योगतर्फ किटानी जाहेरी परी सोही व्यहोरा समर्थित हुने गरी पीडितबाट मौकामा गरेको कागज व्यहोरा तथा प्रतिवादीको मौकाको बयानसमेतबाट प्रतिवादीले सुरू तथा पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी अभियोग दाबीबाट सफाई दिलाई पाउँ भनी लिएको जिकिरसँग सहमत हुन सकिएन ।
९. जबरजस्ती करणी जस्तो अपराधमा न्यायको रोहबाट न्यायको लागि संवेदनशील हुनुपर्ने हो तर पनि अति संवेदनशील भई एकतर्फीरूपमा विचार गर्दा न्याय मर्न जाने हुँदा विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी न्यायमा पुग्नुपर्ने हुन्छ । प्रतिवादीउपर सुरूमा करणी उद्योगतर्फ किटानी जाहेरी दर्ता भई सोही अनुरूप पीडितले मौकामा कागजसमेत गरेकोमा प्रतिवादीले समेत जबरजस्ती करणीको उद्योगमा साबितै रही बयान गरेकोमा जाहेरवाली तथा पीडितले मौकामा पुनः गरेको कागजबाट प्रतिवादीउपर जबरजस्ती करणी गरेका हुन् भन्ने व्यहोरा लेखाएबाट सोअनुरूप जबरजस्ती करणीको अभियोग प्रतिवादीउपर लगाइएकोमा अदालतसमक्षको बकपत्रमा समेत पीडितले जबरजस्ती करणीको अभियोग समर्थित हुने गरी बकपत्र गरेको देखिन्छ । पीडितको बकपत्र प्रस्तुत कसुरमा मुख्य कडी भएपनि सो बकपत्रको पुष्ट्याईं शंकारहित रूपबाट नभएमा बकपत्रलाई यान्त्रिकरूपबाट प्रमाणको रूपमा ग्रहण गरी सजाय गर्नु विवेकयुक्त मान्न सकिँदैन किनकी प्रतिवादी उपर जबरजस्ती करणीको उद्योगमा किटानी जाहेरी परी अनुसन्धान प्रक्रिया सुरू भएपश्चात् सुरूमा पीडितले समेत जबरजस्ती करणीको उद्योगको वारदात समर्थित हुने गरी कागज लेखाएको पाइन्छ जुन कुरालाई मौकामा कागज गर्ने अभिषेक नेपाली, सरिता नेपाली र युनारायण दमाईको मौकाको कागज व्यहोराले समेत समर्थित गरेको पाइन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पुरानो कन्याजाली च्यातिएको भन्ने उल्लेख भएकोमा मिति २०६९।१।२ तथा ३ गतेको वारदातबाट च्यातिएको भए परीक्षण गर्दा दुख्ने पोल्ने जस्ता लक्षण देखिने हुँदा दाबी गरेको मितिको वारदातमा च्यातिएको भन्ने कुरा तर्कसम्मतरूपबाट प्रमाणित भएको पाइएन । यसरी पीडितको कन्या जाली दाबीअनुसार मिति २०६९।१।२ र मिति २०६९।१।३ को करणीबाट च्यातिएको भन्ने कुरा कहिँकतैबाट प्रमाणित हुन आएको अवस्था नहुँदा फौजदारी न्यायको सिद्धान्त मुताबिक शंकाको सुविधा प्रतिवादीले पाउने नै देखिन आयो । प्रतिवादीले मौकामा गरेको बयानमा जबरजस्ती करणीको उद्योगमा साबितै रहेको देखिएकोमा ततिम्बा बयान गराई जबरजस्ती करणीको कसुरमा साबिती गराएको देखिन्छ जबकि ततिम्बा बयान गराउँदा अगाडि स्पष्ट नभएका कुरामा मात्र सोधी प्रष्ट गराउनुपर्दछ भन्ने कानूनी व्यवस्था भएकोमा प्रतिवादीलाई अघि नै स्पष्टसँग उल्लेख गरेको कसुरसँग असम्बन्धित कसुरमा साबित गराएको देखिन्छ जुन कुरा कानून र न्यायसम्मत हुन आउँदैन । तसर्थ उपर्युक्त विवेचनाबाट प्रतिवादीले जबरजस्ती कगणी गरेको नभई जबरजस्ती करणीको उद्योगसम्म गरेको तथ्य समर्थित भएको देखियो ।
१०. यसर्थ उपर्युक्त विवेचित आधार प्रमाणहरूबाट प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. अनुसार ६ वर्ष कैद र १० नं. बमोजिम पीडितलाई प्रतिवादीबाट रू.४०,०००।- क्षतिपूर्ति भराइदिने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०७१।१।९ को फैसला नमिलेकोले उल्टी भई प्रतिवादीले जबरजस्ती करणीको उद्योगसम्म गरेको ठहर्छ, सो ठहर्नाले मुलुकी ऐन, जबरजस्ती करणीको ५ नं. बमोजिम प्रतिवादीलाई ३ वर्ष कैद सजाय हुने ठहर्छ । जबरजस्ती करणीको उद्योग ठहरेकोले क्षतिपूर्ति भराई रहनु परेन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
पुनरावेदन अदालत, पाटनको मिति २०७१।१।९ को फैसला उल्टी भई प्रतिवादी विजय सुन्दासलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बमोजिम ३ वर्ष कैद हुने ठहरेकाले निजको हकमा सुरू काठमाडौं जिल्ला अदालतबाट राखेको कैदको लगत कट्टा गरी प्रतिवादी २०६९।१।४ देखि कैदमा रहेको देखिएकोले निजलाई यस अदालतबाट ठहरेको कैद वर्ष ३ को सजाय भुक्तान भइसकेको देखिँदा अन्य मुद्दाबाट निजलाई थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दाको कैदबाट आजै मुक्त गरिदिनु भनी सुरू जिल्ला अदालत र सम्बन्धित कारागार शाखामा लेखी पठाइदिनू -----१
प्रतिवादी विजय सुन्दासलाई जबरजस्ती करणीको उद्योग गरेको ठहरेकाले सुरू जिल्ला अदालतले राखेको क्षतिपूर्ति भराइ दिने लगत कट्टा गर्नुभनी सुरू अदालतमा लेखिपठाइदिनू --------------------------२
प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू -------------------------३
उक्त रायमा सहमत छु ।
न्या. मीरा खडका
इजलास अधिकृत: कृष्णप्रसाद अधिकारी
इति संवत् २०७४ साल वैशाख ५ गते रोज ३ शुभम् ।