निर्णय नं. ९८५८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
फैसला मिति : २०७३।१०।०२
०६८-CR-०५५४
मुद्दाः- कर्तव्य ज्यान ।
पुनरावेदक वादी : दुर्गाप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी प्रतिवादी : कालिकोट जिल्ला, ओदानक गा.वि.स. वडा नं.२ बस्ने स्यानु सिंहको छोरा हिक्मत सिंहसमेत
प्रतिवादीहरू उपरको कसुर प्रमाणित हुन यो यो प्रतिवादीहरूको यस्तो यस्तो संलग्नतामा यसरी वारदात हुन गएको हो भनी स्पष्ट रूपले देखिनुपर्ने हुन्छ । संकलित प्रमाणहरू एक आपसमा समर्थित रही शंकारहित देखिनु पर्दछ । यस्तो नदेखिई संकलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण देखिई प्रतिवादीहरूले कसुर गरेको हो भन्ने ठोस प्रमाणको अभाव भएमा कसुरदार ठहर्याउन नमिल्ने ।
जाहेरी दरखास्त आफैमा कुनै स्वतन्त्र प्रमाण नभएकोले अन्य प्रमाणहरूबाट पुष्टि नभएसम्म जाहेरी दरखास्तको कुनै प्रमाणिक मूल्य नहुने ।
राजनीतिक मतभेद रहँदैमा मार्नेसम्मको मनसाय नै रहन जान्छ भनेर भन्न मिल्दैन । यस्तो प्रतिवादीहरू उपरको कसुर वादीले निसन्देह रूपमा प्रमाणित गर्न नसकेको अवस्थामा कसैको मनोगत अर्थात् शंकाका भरमा मात्र व्यक्त गरेका कुरालाई आधार बनाई दोषी ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. ६)
पुनरावेदक वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता दशरथ पंगेनी
प्रत्यर्थी प्रतिवादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं.
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री डिल्लीरमण तिवारी
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री पवनकुमार शर्मा
माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
आदेश
न्या.हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
मिति २०६६/०४/२२ गते बेलुका मेरो घरमा आगो बाल्न लागेको समयमा मातृका सिंह, नेत्र सिंह, कमल सिंह, मनोज भन्ने मनराज सिंह, हिक्मत सिंहसमेत १०/१५ जनाको जत्था आई बाहिर निस्की हामी तँलाई मार्न आएका हौं भनी ममाथि हमला गरेपछि मेरो श्रीमती रोइकराई गर्दा निजहरू घर बाहिर गएपछि म झ्यालबाट बाहिर निस्की भागी दाजु कुलानन्द काफ्लेको घरमा गएकोमा विपक्षीहरू पनि त्यही ठाउँमा आई दाजुलाई हानेपछि म र मेरो परिवार भागेपछि किन भगाइस् भनी बुबा महानन्द काफ्लेलाई कुटपिट गरी मारी लास बेपत्ता गरेका र भोलिपल्ट घटनास्थलमा जाँदा बुबाको टोपी र स्टकोट मात्र फेला परेको हो अन्यायीहरूलाई कारवाही गरिपाउँ भन्ने दुर्गाप्रसाद काफ्लेको जाहेरी दरखास्त ।
मिति २०६६/०४/२३ गते जिल्ला कालिकोट ओदानकु गा.वि.स. वडा नं.३ बस्ने मातृका सिंह समेतको १०/१५ जनाको जत्थाले मेरो श्रीमतीलाई कुटपिट गरी मेरो घरमा भएका सम्पूर्ण धनमाल लुटी लिएकोले क्षतिपूर्ति भराई अपराधीहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको गान्टे सुनारको निवेदन ।
कालिकोट ओदानुक गा.वि.स. वडा नं.३ बस्ने मातृका सिंह समेतका १०/१५ जनाको जथ्थाले मिति २०६६/०४/२२ गते राति ९:३० बजेको समयमा म कुलानन्द काफ्लेको निधारमा चक्कु प्रहार गरी बाबा महानन्द काफ्लेलाई कुटपिट गरी बेपत्ता गराएकाले निज महानन्द काफ्ले हालसम्म फेला नपरेकाले निजको खोजतलास गरी अपराधीहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको कुलानन्द काफ्ले कृष्णकला काफ्लेको निवेदन ।
मिति २०६६/०४/२२ गते अं. १० बजेतिर जिल्ला कालिकोट ओदानकु गा.वि.स. वडा नं. ३ बस्ने मातृका सिंहसमेतका १०/१५ जनाले ऐ.ऐ. बस्ने वडा नं. १ बस्ने दुर्गाप्रसाद काफ्ले लाई हमला गरी बेपत्ता बनाएपछि मेरो घरमा आई मलाई कुटपिट गरेकाले घाउजाँच केश फाराम गरिपाउँ भन्ने मनशोभा वि.क.को निवेदन ।
मिति २०६६/०४/२५ गते दिएको कर्तव्य ज्यान मुद्दाको जाहेरीमा मिति २०६६/०४/२२ गतेको घटनामा प्रत्यक्ष संलग्न रहेको ओदानकु गा.वि.स.वडा नं.३ बस्ने विरेन्द्रबहादुर सिंहको नाम छुटेको हुनाले निजलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको दुर्गाप्रसाद काफ्लेको निवेदन ।
कृष्णलाल काफ्ले, कुलानन्द काफ्ले र मनशोभा वि.क.को घाउ जाँच केश फाराम प्राप्त भएको रहेछ ।
कालिकोट ओदानकु-१ बाहुनगाउँ स्थित पूर्व लालमणी काफ्लेको जग्गा पश्चिम कुलानन्दको बारी उत्तर रवि परियारको जग्गा दक्षिण कुलानन्द काफ्लेको बारी यी ४ किल्लाभित्र कुलानन्द काफ्लेको चार कोठे घर सो घरको मूल ढोकादेखि अं. ३.५ मिटरको दुरीमा कालो रंगको स्टकोट र रातो रंगको उनीको टोपी सोही घरको भान्सा कोठामा रगत जस्तो रातो टाटो र यत्रतत्र गाग्रो र डोको छरिएको मिति २०६६/०४/२२ गते राति ९:३० बजे ऐ.ऐ.वडा नं.३ बस्ने मातृका, नेत्र, कमल, विरेन्द्र र हिक्मत सिंहले दुर्गाप्रसाद काफ्ले र महानन्द काफ्लेलाई कुटपिट गरी महानन्द काफ्लेलाई बेपत्ता पारेका हुन् भन्ने घटनास्थल मुचुल्का ।
मिति २०६६/०४/२२ गते राति अं.११ बजेको समयमा महानन्द काफ्ले, दुर्गाप्रसाद काफ्ले, सुनकेसा काफ्ले, गाण्टे सुनार र भोटे वि.क.लाई कुटपिट गरेको सुनेका हौं राति भएको हुनाले कसले कुटपिट गरेको थाहा हुन सकेन । महानन्द काफ्लेलाई बेपत्ता पारे भन्ने सुनेका हौं । हाल निजलाई खोज तलास गर्दा फेला पारेका छैनन भन्नेसमेत व्यहोराको करिब करिब एकै मिलानको सुनकेसा काफ्ले, डिल्ली परियार र भदे दमाईको घटना विवरण कागज ।
जिल्ला कालिकोट ओदानकु गा.वि.स वडा नं. २ स्थित पश्चिम भीमबहादुर सिंहको खेत पूर्व, उत्तर र दक्षिण जिल्ली खोला यी चार किल्लाभित्र खोलाको पश्चिम किनारमा रहेको दुई ठूला ढुंगाको खोचमा उत्तर टाउको दक्षिण खुट्टा भई नाङ्गो अवस्थामा रहेको मृतक महानन्द काफ्लेको घटनास्थल जाँच मुचुल्का ।
मिति २०६६/०४/२२ गते अं.९:३० बजेको समयमा मातृका सिंह, हिक्मत सिंह लगायतका ५ जना केटा आई कुलानन्द काफ्लेसमेतलाई कुटपिट गरेका हुन भोलिपल्ट महानन्द काफ्लेलाई खोजतलास गर्न गएका हौं मिति २०६६/०५/०३ गते जिल्ली खोलामा मृत अवस्थामा लाश छ भन्ने थाहा भयो । मृतक महानन्द काफ्लेलाई उल्लिखित अपराधीहरूले कर्तव्य गरी मारी उक्त स्थानमा लगी फालेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको कृष्णकलाको घटना विवरण कागज ।
मिति २०६६/०५/०५ गते cause of death due to cervical bone dislocation leading to spinal cord injury लेखेको लास पोष्टमार्टम रिपोर्ट ।
उल्लिखित मितिमा मैले झैझगडा गरेको पनि होइन मृतक महानन्द काफ्लेलाई मैले कर्तव्य गरी मारेको पनि होइन जाहेरवाला र मेरो राजनीतिक विचार फरक भई पहिला झगडा भएको रिसइवीको कारणले जाहेरी दिएको हुनुपर्छ भन्ने व्यहोराको प्रतिवादी मातृका सिंहले अनुसन्धानको क्रममा गरेको बयान कागज ।
मिति २०६६/०४/२२ गते म मेरै घरमा
थिएँ । अर्को दिन बिहान २३ गते नेत्रसिंह, कमला सिंह, हिक्मत सिंहसँग भेट हुँदा चिलखाया भन्ने स्थानबाट फर्की आउँदा हिजो राति दुर्गाप्रसाद काफ्ले, कुलानन्द काफ्ले र गाण्टे वि.क.सँग झगडा भयो भनी निजहरूले भनेकाले सुनी थाहा पाएको छु अरू मलाई थाहा छैन भन्ने व्यहोराको प्रतिवादी मनोज भन्ने मनराज सिंहले अनुसन्धानको क्रममा गरेको बयान ।
मिति २०६६/०४/२२ गतेको झगडा सम्बन्धमा थाहा भएन । मिति २०६६/०५/०३ गते दाउरा उतार्न भनी जिल्ली खोलामा गएको बेला मान्छेको खुट्टाको पैंताला मात्र धमिलो पानीमा देखेकोले गाउँघरका मानिस र प्रहरीलाई खबर गरेका हौं भन्नेसमेत व्यहोराको एकै मिलानको सकुरा सिंह, उब्जी सिंह र भिमबहादुर सिंहको घटना विवरण
कागज ।
मिति २०६६/०४/२२ गते राति खाना खाई सुत्न कोठामा गएको अवस्थामा मानिसहरूको होहल्ला सुनेपछि के रहेछ भनी हेर्न जाँदा २/४ जनाले मेरो ससुरा महानन्द काफ्लेलाई कुटपिट गर्दै तेरो छोराले के गर्छ, तँलाई पनि मार्छौं भन्ने मुखमा रूमाल बाँधेकाले कुट्ने व्यक्तिहरूलाई चिन्न सकिएन सोर (स्वर) मातृका सिंहको जस्तो थियो । सो समयमा ससुरालाई मार्न लागे भनी चिच्याउँदा मलाई लखेटी रातभरी गोठमा सुतेको हुँ भोलिपल्ट ससुराको खोजतलास गर्दा नभेटिएका र मिति २०६६/०५/०३ गते जिल्ली खोलामा ससुरा महानन्द काफ्लेको मृतक अवस्थामा लास फेला परेको निजको मृत्यु निज कुटपिट गर्ने व्यक्तिले नै गरेका हुन् भन्ने व्यहोराको सुनकेशा काफ्लेले गरेको घटना विवरण कागज ।
मिति २०६६/०४/२२ गते राति ९:३० बजेको समयमा ओदानकु ३ बस्ने मातृका सिंहसमेतका केटाहरू मेरो घरमा आई म, मेरो श्रीमती, दाजु र भाउजूसमेतलाई कुटपिट गरी बुबा महानन्द काफ्लेलाई कुटपिट गरी मारी खोलामा फाल्ने प्रतिवादीहरूलाई भगाई फरार गराउने जिल्ला कालिकोट सुकाटीया १ बस्ने कुर्मराज शाही र ऐ. गेला ६ बस्ने प्रेमबहादुर शाहीलाई कानूनी कारवाही गरिपाउँ भन्ने एकै मिलानको दुर्गाप्रसाद काफ्लेको निवेदन तथा कुलानन्द काफ्लेको घटना विवरण कागज ।
प्रतिवादी मातृका सिंह, नेत्र सिंह, कमल सिंह, हिक्मत सिंह, तुलबहादुर सिंह, मनोज भन्ने मनराज सिंहसमेतले दुर्गाप्रसाद काफ्लेसमेतलाई कुटपिट गरी निजका बुबा महानन्द काफ्लेलाई कर्तव्य गरी मारी लास खोलामा लगी निजहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर अपराध गरेकाले निजहरू उपर २५ नं. बमोजिम सजाय हुनाका साथै फरार प्रतिवादीहरूका नाममा म्याद जारी गरी कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी ।
मिति २०६६/०४/२२ गते म मेरै घरमा सुतिरहेको थिएँ । उक्त राति एक जना बीरबहादुर सिंहले झगडा भएको कुरा सुनाई निज गएपछि हामी जहान सुत्यौं । सुतेको १५ मिनेटपछि प्रतिवादी नेत्र, हिक्मत, विरेन्द्र र कमल सिंह मेरो घरमा आएपछि तिमीहरू कहाँबाट आयौ? झगडा गर्ने को हो? भनी सोध्दा हामीहरू हौं सामान्य झैझगडा भनाभन भएको हो भनेकाले निजहरूलाई झगडा गर्नु हुँदैन भनी सम्झाई बुझाई एक एक चोट हानी सुताएको
हुँ । जाहेरवालासमेतको षड्यन्त्रले मलाई फसाउन झुट्टा जाहेरी दिएका हुन् । म निर्दोष छु भन्नेसमेत व्यहोराको प्रतिवादी मातृका सिंहले सुरू कालिकोट जिल्ला अदालतमा गरेको बयान ।
वारदातको समयमा म मेरै घरमा सुतेको थिएँ । उक्त घटनामा म संलग्न छैन । मृतक महानन्द काफ्लेको कस्को कर्तव्यबाट मृत्यु भएको हो सो विषयमा मलाई थाहा छैन । अभियोग माग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मनोज भन्ने मनराज सिंहले सुरू अदालतमा गरेको बयान ।
मलाई राजनीतिक पूर्वाग्रहीले मलाई प्रतिवादी बनाएका हुन् मलाई अभियोग माग दाबीबाट सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको एकै मिलानको प्रतिवादी प्रेमबहादुर शाही र कुर्मराज शाहीले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६/०४/२२ गतेका दिन म नेत्रबहादुर सिंह, कमलबहादुर सिंह, विरेन्द्रबहादुर सिंह चिलखाया भन्ने ठाउँमा जात्रा हेर्न गएका थियौं । यस मुद्दाका अन्य प्रतिवादीहरूसँग भेट भएन । मृतक महानन्द काफ्लेलाई निजैका छोरा बुहारीले आफैँ मारी खोलामा फाली हामीहरूलाई झुट्टा जाहेरी दिएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी हिक्मतबहादुर सिंहले सुरू अदालतमा गरेको बयान ।
वारदातको मितिको रातिमा म हिक्मत सिंह, नेत्र सिंह, विरेन्द्र सिंहसँग निज जाहेरवाला र निजका दाजु कुलानन्दसँग धामी धुमेलो गर्ने ठाउँमा भेट भई सामान्य झगडा भएको हो । निजका बाबु महानन्द काफ्लेसँग मेरो भेट भएको होइन निज महानन्दको मृत्यु निजका छोरा र २/४ जना माओवादीबाट भएको हुनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी कमलबहादुर सिंहले सुरू अदालतमा गरेको बयान ।
वारदातको मितिमा जाहेरवालासँग सामान्य झगडा भएपछि यस मुद्दाका अन्य प्रतिवादी मातृका सिंहको घरमा आई सबै कुरा बताउँदा निजले हामीलाई पिटी झगडा गर्नु हुँदैन भनी सम्झाई आफ्नै घरमा सुताएका हुन् । मृतक महानन्द काफ्लेलाई मैलेसमेत कर्तव्य गरी मारेको भन्ने जाहेरी झुट्टा हो भन्नेसमेत व्यहोराको एकै मिलानको प्रतिवादी विरेन्द्रबहादुर सिंह र नेत्र सिंहले सुरू अदालतमा गरेको बयान ।
जाहेरी दरखास्त बारे मलाई केही थाहा
छैन । मैले अभियोग मागबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी तुलबहादुर सिंहले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६/०४/२२ गते म कुलानन्द काफ्लेको घरको गोठमा सुतेको थिएँ । मैले प्रहरीमा गरेको कागज मेरो स्वेच्छाले गरेको होइन के लेखे थाहा भएन । उक्त दिन झगडा भएको थाहा भएन भन्नेसमेत व्यहोराको डिल्ली परियारले गरेको बकपत्र ।
वारदातको दिन देवता हेराउने ठाउँमा अलि अलि विवाद भएको हो । महानन्द काफ्लेको मृत्यु सम्बन्धमा मलाई केही थाहा छैन भन्ने व्यहोराको प्रतिवादी मातृका सिंहको साक्षी रणबहादुर सिंहले गरेको बकपत्र ।
वारदातको मितिमा हिक्मत, नेत्र, विरेन्द्र र कमल सिंह र दुर्गाप्रसाद काफ्लेबीच देवता हेराउने विषयमा सामान्य विवाद भएको हो । मृतकलाई मारेको होइन भन्नेसमेत व्यहोराको प्र. तुलबहादुर सिंहका साक्षी धनबहादुर सिंहले गरेको बकपत्र ।
वारदातको मितिमा देवता हेराउने विषयमा प्रतिवादी र जाहेरवालाबीच सामान्य विवाद भएको हो । महानन्द काफ्लेको मृत्यु सम्बन्धमा थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी कमलबहादुर, नेत्र र हिक्मत सिंहका साक्षी बलबहादुर सिंह र लालमणी काफ्लेले गरेको बकपत्र ।
मिति २०६६/०४/२२ गते राति प्रतिवादी मातृका सिंह, विरेन्द्र सिंह, नेत्र सिंह, मनराज सिंह, तुल सिंह र हिक्मत सिंहसमेत एक्कासी मेरो घरमा आई झगडा गरेकाले हामी भागी बाँच्न सफल भएका हौं । मेरा बुबालाई यी प्रतिवादीले मारेका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाला दुर्गाप्रसाद काफ्ले र मौकामा कागज गर्ने पुष्पकला शाही (काफ्ले) ले गरेको करिब एकै मिलानको बकपत्र ।
प्र. प्रेमबहादुर शाही र कुर्मराज शाही दुवै जनालाई कुनै सजाय हुनुपर्ने होइन । यिनी दुवै जना प्रतिष्ठित व्यक्ति भएकाले उहाँहरूको चरित्र हत्या गर्ने उद्देश्यका साथ अभियोग पत्र लगाइएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कर्मराज शाही र प्रेमबहादुर शाहीका साक्षी चित्रबहादुर सिंहले गरेको बकपत्र ।
मातृका सिंहले मेरो टाउकोमा चक्कुले हानेपछि हामी भागी गयौं । बुबा महानन्द काफ्ले खलामा थिए, उनलाई निज प्रतिवादीहरूले पिटिरहेका थिए । भोलिपल्ट आउँदा बुबालाई भेटाउन सकिएन भन्नेसमेत व्यहोराको मौकामा बुझिएका मानिस कुलानन्द काफ्लेले गरेको बकपत्र ।
वारदातको मितिको राति म, प्रतिवादी मातृका सिंह र अली सिंह तिनै जना मातृका सिंहको घरमा सुतेका हौं । प्र. मातृका सिंहले महानन्द काफ्लेलाई कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मातृका सिंहका साक्षी जर्मकला काफ्लेले गरेको बकपत्र ।
मिसिल संलग्न आधार कारण र परिस्थितिजन्य प्रमाणहरूबाट यी प्रतिवादीहरू निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिँदैन । त्यसैले मृतक महानन्द काफ्लेलाई प्रतिवादी नेत्रबहादुर सिंह, कमलबहादुर सिंह, हिक्मतबहादुर सिंह विरेन्द्रबहादुर सिंहले मारी खोलामा फालेको भन्ने पुष्टि हुन आएकोले अभियोग माग दाबीबमोजिम कसुर गरेको ठहर्छ । उक्त कसुरमा प्र. हिक्मतबहादुर सिंहलाई मु. ऐन. ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्र. नेत्रबहादुर सिंह, वीरेन्द्रबहादुर सिंह, कमलबहादुर सिंहलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ (३) नं. बमोजिम दश वर्ष कैद हुने ठहर्छ । अन्य प्रतिवादीमध्ये प्र. मातृका सिंह, तुल ब. सिंह र मनराज सिंहले मृतक महानन्द काफ्लेको मृत्युमा संलग्न भएको र प्रतिवादी प्रेमबहादुर शाही र कुमेराज शाहीले अरू प्रतिवादीहरूलाई भगाएको भन्ने कुरा कहीँकतैबाट खुल्न नआएको केबल जाहेरवाला र निजका परिवारहरूको भनाइलाई मात्र आधार विश्वास मानी अभियोग माग दाबीबमोजिम कसुर अपराध ठहर्याउन न्याय, कानूनसङ्गत नहुने हुँदा निजहरूको अभियोग माग दाबीबाट सफाई पाउने ठहर्नुका साथै प्रतिवादी हिक्मतबहादुर सिंहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम हुँदैसम्मको सजाय गर्दा चर्को पर्न जाने चित्तले देखेको हुँदा मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम तजबिजी सजाय कैद वर्ष १० (दश) मात्र हुनुपर्ने भनी राय जाहेर गरेको छु भन्नेसमेत व्यहोराको मिति २०६७/११/१७ को सुरू कालिकोट जिल्ला अदालतको फैसला ।
मिसिल संलग्न निर्दोष रहेको कुरालाई विवेचना विश्लेषण र मूल्याङ्कन नै नगरी भ्रामक र काल्पनिक कथा वस्तुको आधारमा सम्पन्न गरिएको उक्त फैसला बदरभागी भएकोले हाम्रा निर्दोषिताका सबुद प्रमाणहरूलाई उचित ढङ्गले मूल्याङ्कन गरी सो फैसलालाई उल्टी बदर गरी हामीलाई पूर्ण रूपले सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्र. विरेन्द्र सिंह, हिक्मत सिंह, कमल सिंह र नेत्र सिंहको कारागार कार्यालय, कालिकोटमार्फत दर्ता भएको मिति २०६७/१२/२१ को पुनरावेदन पत्र ।
कालिकोट जिल्ला अदालतले वादीका साक्षी प्रमाणहरूको कुनै मूल्याङ्कन नै नगरी केबल प्रतिवादीहरू इन्कार रहेको भन्ने आधारमा मात्र विरूद्ध खण्डमा उल्लिखित प्रतिवादी मातृका सिंह, मनराज सिंह, तुलबहादुर सिंहलाई र ढिलो उजुरी परेको र प्रतिवादीहरू अदालतमा हाजिर भएका भनी कुर्मराज शाही र प्रेमबहादुर शाहीलाई सफाई दिएको फैसला प्रमाणको मूल्याङ्कनमा त्रुटि हुँदा उक्त मिति २०६७/११/१७ को फैसला सो हदसम्म बदर गरी निजहरूलाई समेत अभियोग माग दाबीबमोजिम सजाय गरी पाउन भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन सरकारी वकिल कार्यालय, जुम्लाको मिति २०६७/१२/२३ को पुनरावेदन पत्र ।
प्रतिवादीहरू नेत्रबहादुर सिंह, कमलबहादुर सिंह, हिक्मतबहादुर सिंह र विरेन्द्रबहादुर सिंहले अभियोग माग दाबीबमोजिम कसुर गरेको ठहर्याई १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरी मिति २०६७/११/१७ मा गरेको सुरू फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी बदर भई पुनरावेदक प्रतिवादीहरू नेत्रबहादुर सिंह, कमलबहादुर सिंह, हिक्मतबहादुर सिंह र विरेन्द्रबहादुर सिंहले पुनरावेदन जिकिरअनुसार अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ । अन्य प्रतिवादी मातृका सिंह, मनोज भन्ने मनराज सिंह, तुलबहादुर सिंह, कर्मराज शाही र प्रेमबहादुर शाहीका हकमा मिसिल संलग्न प्रमाणको मूल्याङ्कन गरी अभियोग माग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला मिलेकै देखिँदा सो हदसम्म सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, जुम्लाको मिति २०६८/०३/१४ को फैसला ।
प्रतिवादीहरू र जाहेवालाहरू बीच राजनीतिक मतभेद रहेको, एक आपसमा झगडा भएको र झगडापश्चात् प्रतिवादीहरू एकै ठाउँमा जम्मा भई सुतेको कुरालाई स्वयम् प्रतिवादीहरूको बयानबाट पुष्टि हुन आउँछ । कुलानन्द काफ्लेको निधारमा चोट भएको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिन
आउँछ । मृतकलाई कुटपिट गरी मारेको भन्ने तथ्य पोष्टमार्टम रिपोर्टको मृतकको मेरूदण्डमा गम्भिर चोट लागी मृत्यु भएको भन्ने तथ्यबाट समेत पुष्टि हुन
आउँछ । त्यस्तै प्रतिवादीहरूले मृतकलाई योजनाबद्धरूपमा कुटपिट गरी हत्या गरी लास बेपत्ता पारेको कुरा घटनास्थल मुचुल्कामा बरामद भएको इस्टकोट, टोपी र दागसमेतबाट पुष्टि हुन आएको छ । यस्तो अवस्थामा सुरू फैसला उल्टी गरी प्रतिवादीहरूलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत जुम्लाको फैसला त्रुटिपूर्ण भएकोले प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले प्रतिवादीहरू उपर किटानी जाहेरी परेको
छ । प्रतिवादीहरू र मृतक पक्षबीच राजनीतिक कारणले पूर्वाग्रह रहको र दुवै पक्षबीच झगडा कुटपिटसमेत भएको तथ्यलाई स्वयम् प्रतिवादीहरूले स्वीकार समेत गरेका छन् । सो कुरा अन्य बुझिएका व्यक्तिको भनाईबाट र कुलानन्द काफ्लेको निधारमा चोट लागेको भन्ने निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत पुष्टि हुन जान्छ । यस्तो अवस्थामा सुरू फैसला केही उल्टी गरी प्रतिवादीहरूलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी अभियोग दाबीअनुसार प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । यसरी बहससमेत सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा सुरू फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. यसमा प्रतिवादीहरू मातृका सिंह, नेत्र सिंह, कमल सिंह, हिक्मत सिंह, विरेन्द्र सिंह, तुलबहादुर सिंह र मनोज भन्ने मनराज सिंहसमेतले दुर्गाप्रसाद काफ्लेसमेतलाई कुटपिट गर्नुका साथै निजका ७८ वर्षीय बुबा महानन्द काफ्लेलाई कुटपिट गरी कर्तव्य गरी मारी लास खोलामा लगी फाली मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. बमोजिमको कसुर गरेकोले निजहरू उपर ऐ. १३(३) नं. अनुसारको सजायको माग दाबी लिई र प्रतिवादीहरू मध्येका कुर्मराज शाही र प्रेमबहादुर शाहीले ज्यान मारेको चाल पाई कसुरमा संलग्न उल्लिखित प्रतिवादीहरूलाई भगाई फरार गराएकोले निजहरूलाई ऐ. २५ नं. अनुसार सजाय गरिपाउँ भनी अभियोग पत्र दायर भएको पाइन्छ । सुरू कालिकोट जिल्ला अदालतबाट प्रतिवादीमध्येका मातृका सिंह, तुलबहादुर सिंह, मनराज सिंह, प्रेमबहादुर शाही र कुर्मराज शाहीलाई अभियोग दाबीबाट सफाई पाउने ठहर्याई, प्रतिवादीमध्येका हिक्मतबहादुर सिंहलाई अभियोग दाबीअनुसारको कसुरमा सर्वोश्व सहित जन्मकैद हुने र प्रतिवादीमध्येका नेत्रबहादुर सिंह, बिरेन्द्रबहादुर सिंह, कमल बहादुर सिंहलाई अभियोग दाबीबमोजिमको कसुरमा नाबालक देखिएकोले १० वर्षमात्र कैद सजाय हुने ठहर्याई फैसला भएको पाइयो । सो फैसलाउपर हिक्मतबहादुर सिंह, विरेन्द्रबहादुर सिंह, कमलबहादुर सिंह र नेत्रबहादुर सिंहको सफाई पाउनु पर्ने भनी र वादी नेपाल सरकारको सबै प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी पुनरावेदन परी पुनरावेदन अदालत, जुम्लाबाट सुरू फैसला केही उल्टी भई सबै प्रतिवादीहरूले अभियोग दाबीबाट सफाई पाउने ठहर्याई फैसला भएको देखिन आयो । उक्त फैसलाउपर वादी नेपाल सरकारको प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन परी आज इजलाससमक्ष पेस हुन आएको छ ।
३. यसमा मिति २०६६/०४/२२ गते प्रतिवादीहरू मध्येका कुर्मराज शाही र प्रेम बहादुर शाहीबाहेकका अन्य प्रतिवादीहरू मेरो घरमा आई मार्छु भनी धम्की दिएकोले म झ्यालबाट बाहिर निस्की दाजु कुलानन्द काफ्लेको घरमा जाँदा निजहरू त्यहीँ गई दाजुलाई हानेपछि म र मेरो परिवार भाग्दा छोरालाई किन भगाइस् भनी बुबा महानन्द काफ्लेलाई कुटपिट गरी मारेकोले कारवाही गरिपाउँ भनी दुर्गाप्रसाद काफ्लेको मिति २०६६/०४/२५ को जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको पाइएको छ । त्यस्तै मृतक महानन्द काफ्लेलाई मार्ने प्रतिवादीहरूलाई भगाई ज्यान मारेको कुरा दबाउने कुर्मराज शाही र प्रेमबहादुर शाहीलाई कारवाही गरिपाउँ भनी मिति २०६६।५।२५ मा निज दुर्गा प्रसाद काफ्लेले प्रहरीमा निवेदन दिएको पाइन्छ । निजले सोही जाहेरी व्यहोराको समर्थन हुने गरी अदालतमा बकपत्र गरिदिएको पाइएको छ । जाहेरवालाका दाजु कुलानन्द काफ्लेले र कृष्णकला काफ्लेले पनि जाहेरी व्यहोरासँग मिल्ने भिड्ने गरी प्रहरीसमक्ष निवेदन गरेको भएपनि कुलानन्द काफ्लेले अनुसन्धानका क्रममा कागज गर्दा प्रतिवादी मातृका सिंहले टर्च बाली देखाएको भनी लेखाई दिएका र अदालतमा गरेको बकपत्रमा चक्कुले हानेको भनी परस्पर बाझिने गरी लेखाई दिएको पाइएको छ । निजको बकपत्रमा मातृका सिंहले मेरो टाउकोमा चक्कुले हानेपछि हामी भागी
गयौं । बुबा महानन्द काफ्ले खलामा उनलाई पिटिरहेका थिए । भोलिपल्ट आउँदा बुबालाई भेटाउन सकिएन भन्नेसमेत उल्लेख छ ।
४. घटना विवरणका डिल्ली परियारसमेतका व्यक्तिहरूले उक्त राति मृतक महानन्द काफ्लेसमेतका व्यक्तिलाई कुटपिट गरी मृतकलाई बेपत्ता पारेको सुनेको मात्र हो अन्य कुरा केही थाहा छैन भनी लेखाई दिएको पाइएको छ । सकुरा सिंह, उब्जी सिंह र भिमबहादुर सिंहले घटना विवरण कागजमा झगडाका सम्बन्धमा आफूहरूलाई थाहा नभएको र खोलामा गएको बेला मानिसको पैताला देखिएकोले प्रहरीमा खबर गरेको हो भनी लेखाई दिएका छन् । यसै गरी मृतककी बुहारी सुनकेशा काफ्लेले उक्त राति खाना खाई सुत्न कोठामा गएको अवस्थामा हो हल्ला सुनेपछि हेर्न जाँदा २/४ जनाले मेरो ससुरा महानन्द काफ्लेलाई कुटपिट गर्दै थिए मुखमा रूमाल बाँधेकाले कुट्ने व्यक्तिहरूलाई चिन्न सकिएन स्वर मातृका सिंहको जस्तो थियो । म ससुरालाई मार्न लागे भनी चिच्याउँदा मलाई लखेटेकाले म रातभरी गोठमा सुतेको हुँ । भोलिपल्ट ससुराको खोजतलास गर्दा नभेटिई मिति २०६६/०५/०३ गते जिल्ली खोलामा निजको लास फेला परेको हो । कुटपिट गर्ने व्यक्तिहरूले नै मृतकलाई कर्तव्य गरी मारेका हुन् भन्ने व्यहोरा घटना विवरण कागजमा लेखाई दिएको पाइएको छ । प्रतिवादीमध्येका मातृका सिंह र मनराज सिंहले आफूहरूको घटनामा कुनै संलग्नता नरहेको र केबल राजनीतिक पूर्वाग्रहका कारण मात्र आफूउपर जाहेरी दिएको भनी कसुरमा इन्कार रही अनुसन्धानका क्रममा बयान गरिदिएको देखियो । निजहरूले अदालतमा बयान गर्दा पनि सोही अनुसन्धानको बयानको समर्थन हुने गरी लेखाई दिएको देखिन्छ । अदालतको म्यादमा हाजिर भएका अन्य प्रतिवादीहरू हिक्मतबहादुर सिंह, कमलबहादुर सिंह, विरेन्द्रबहादुर सिंह, तुलबहादुर सिंह, नेत्रबहादुर सिंह, प्रेमबहादुर शाही र कुर्मराज शाहीले पनि कसुरमा इन्कार रहेर नै अदालतमा बयान गरिदिएको पाइएको छ । प्रतिवादीहरूका साक्षीहरूले पनि मृतकको मृत्युमा प्रतिवादीहरूको कुनै संलग्नता नरहेको केबल देवता हेराउने स्थानमा जाहेरवालासमेतसँग सामान्य भनाभन भएको भनी बकपत्रमा लेखाई दिएका छन् । घटना विवरण कागजका डिल्ली परियारले आफूलाई झगडा भएको विषयमा केही थाहा नभएको भनी अदालतमा बकपत्र गरिदिएको पाइयो ।
५. यसरी यी प्रतिवादीहरू उपर कसुर गरेको भनी किटानी जाहेरी परेको देखिएपनि जाहेरीमा मृतकलाई प्रतिवादीहरूले के कसरी को कस्ले कस्तो चोट पुर्याए भनी खुलाउन सकेको पाइएन । जाहेरीमा जाहेरवालाले आफू भागेर गएपछि आफ्नो बुबालाई प्रतिवादीले कुटपिट गरेको भन्ने उल्लेख छ । यसबाट यी जाहेरवालाले कुटपिट गरी मारेको आफैले नदेखी केबल आशंकाका आधारमा मात्र उक्त कुरा लेखाई दिएको देखिन आउँछ । त्यस्तै पोष्टमार्टम रिपोर्टबाट पनि मृतकको शरीरमा कुटपिट गरेको कुनै घाउँ चोट निलडाम देखिएको भन्ने उल्लेख भएको छैन । मिति २०६६/०४/२५ गते जाहेरी दिएकोमा ऐ. २६ गते वारदातमा विरेन्द्रबहादुर सिंहको समेत संलग्नता रहेकोले निजलाई समेत कारवाही गरिपाउँ भनी जाहेरवालाले निवेदन दिएको र पुनः १ महिना पछि मिति २०६६/०५/२५ मा आएर कसुरदारलाई भगाएको भनी कुर्मराज शाही र प्रेमबहादुर शाहीउपर पनि निवेदन दिएको पाइयो । यसरी पटक पटक जाहेरी दिएबाट पनि जाहेरी घटनाको बारेमा यथार्थ जानकारी पाई दिएको हो भनी भन्न सकिँदैन । घटनास्थल मुचुल्काबाट पनि यी प्रतिवादीहरूको नै वारदातमा संलग्नता रहे भएको देखिने कुनै चिजवस्तु फेला परेको भन्ने उल्लेख छैन । जाहेरवालाका दाजु कुलानन्द काफ्लेले अनुसन्धानको कागजमा मातृका सिंहले टर्च लगाएको भनी र अदालतमा गरेको बकपत्रमा चक्कुले हानेको भनी परस्पर बाझिने गरी लेखाई दिएको र आफू भागी गएपछि बुबालाई कुटपिट गरेको दोस्रो दिन खोज्दा बुबा नभेटिएकोले यी प्रतिवादीहरूले नै मारेको भनी केबल शंकाका आधारमा मात्र लेखाई दिएको पाइयो । मौकामा बुझिएकी मृतकको बुहारी सुनकेशा काफ्लेले पनि कुटपिट गरेको देखेको भनी लेखाए पनि मुखमा रूमाल बाधेकोले को-को ले कुटपिट गरे भनी भन्न नसकिने भनी लेखाई दिएबाट पनि यी प्रतिवादीहरूको नै वारदातमा संलग्नता रहेको भनी यकिन भन्न सकिने देखिँदैन । मौकामा बुझिएका अन्य व्यक्तिले पनि झगडा भएको भन्ने केवल सुनेको सो बारेमा आफूलाई केही थाहा नभएको भनी लेखाइदिएबाट वारदातका बारेमा निजहरूलाई पनि कुनै जानकारी नभई केवल हल्लाका आधारमा मात्र लेखाई दिएको प्रस्ट हुन जान्छ । प्रतिवादीहरू पनि अनुसन्धानमा र अदालतमा कसुर गरेकोमा पूर्ण इन्कार रहेको र निजको इन्कारी बयान निजका साक्षीहरूबाट समेत समर्थित रहेको
देखिन्छ । यस प्रकार मिसिलमा प्रतिवादीको कसुर पुष्टि हुने कुनै प्रत्यक्ष प्रमाण तथा वारदात यी यी व्यक्तिको संलग्नतामा, यस कारण र यसरी भएको हो भनी यकिन भन्न सक्ने व्यक्ति तथा प्रमाणको अभाव रहेको पाइन्छ ।
६. प्रतिवादीहरू उपरको कसुर प्रमाणित हुन यो यो प्रतिवादीहरूको यस्तो यस्तो संलग्नतामा यसरी वारदात हुन गएको हो भनी स्पष्टरूपले देखिनुपर्ने हुन्छ । संकलित प्रमाणहरू एक आपसमा समर्थित रही शंकारहित देखिनु पर्दछ । यस्तो नदेखिई संकलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण देखिई प्रतिवादीहरूले कसुर गरेको हो भन्ने ठोस प्रमाणको अभाव भएमा कसुरदार ठहर्याउन मिल्दैन । प्रस्तुत मुद्दामा मिसिल संलग्न कागज प्रमाणहरूबाट जाहेरी दरखास्तको व्यहोरा कुनै वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । जाहेरी दरखास्त आफैमा कुनै स्वतन्त्र प्रमाण नभएकोले अन्य प्रमाणहरूबाट पुष्टि नभएसम्म जाहेरी दरखास्तको कुनै प्रमाणिक मूल्य हुँदैन । प्रस्तुत मुद्दामा जाहेरी दरखास्तको व्यहोरा पुष्टि हुन सक्ने शंकारहित प्रमाणको विद्यमानता रहेको पाइदैन । यी प्रत्यर्थी प्रतिवादीहरूले अभियोग दाबी अनुसारको कसुर गरेको भनी यकिनरूपमा बुझिएका कुनै व्यक्तिले पनि भन्न सकेको पाइँदैन । केबल प्रतिवादीहरूसँग राजनीतिक पूर्वाग्रह रहेको र हल्लाका आधारमा मात्र यी प्रतिवादीहरू उपर कसुरको आशंका गरिएको देखिन्छ । मृतकका छोरा कुलानन्द काफ्लेको अदालत र अनुसन्धानको भनाई परस्पर बाझिएको
छ । प्रतिवादीहरूको मृतकलाई मार्नेसम्मको कुनै रिसइबी रहेको पनि मिसिलबाट देखिँदैन । राजनीतिक मतभेद रहँदैमा मार्नेसम्मको मनसाय नै रहन जान्छ भनेर भन्न मिल्दैन । यस्तो प्रतिवादीहरू उपरको कसुर वादीले नि:सन्देहरूपमा प्रमाणित गर्न नसकेको अवस्थामा कसैको मनोगत अर्थात् शंकाका भरमा मात्र व्यक्त गरेका कुरालाई आधार बनाई दोषी ठहर गर्न नमिल्ने हुँदा पुनरावेदन अदालत जुम्लाबाट प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसलालाई अन्यथा मान्न मिलेन ।
७. अतः माथि विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीहरूले कसुर गरेको देखिने शंकारहित प्रमाणको मिसिलमा अभाव रहेकोले सुरू कालिकोट जिल्ला अदालतबाट मिति २०६७/११/१७ मा भएको फैसला केही उल्टी हुने ठहर्याई सबै प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाई दिने गरी पुनरावेदन अदालत, जुम्लाबाट मिति २०६८/०३/१४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा
इजलास अधिकृत:- यदुराज शर्मा
इति संवत् २०७३ साल माघ २ गते रोज १ शुभम् ।