शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८७९ - जबरजस्ती करणी

भाग: ५९ साल: २०७४ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खड्का

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

फैसला मिति : २०७४।०४।२२

०६७-CR-०७२७

 

मुद्दा :- जबरजस्ती करणी

 

पुनरावेदक / वादी : पट्टु वि.क. (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुर्खेत अवलचिङ्ग गा.वि.स. वडा नं. ६ सातमुल बस्ने वासुदेव सावद

 

वारदातको दिन आफूलाई सो वारदातमा नभई अन्य ठाउँमा छु भनी देखाउने व्यक्तिले त्यस ठाउँमा भएको सबुत गुजार्नु पर्ने । 

(प्रकरण नं. ३)

जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुने । 

पीडितले अदालतमा समेत आई आफूउपर घटेको घटनाको सम्बन्धमा सविस्तार वर्णन गरी मौकामा दिएको जाहेरीलाई समर्थित हुने गरी बकपत्र गरिदिएको तथा पीडितको शरीरको विभिन्‍न भागहरूमा निलडामहरू भएको भन्ने पीडितको तत्काल भएको शारीरिक परीक्षण रिर्पोटमा उल्लेख भएबाट करणी गर्ने कार्यमा पीडितको मन्जुरी नभएको पुष्टि हुन्छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हुने । 

(प्रकरण नं. ५)

 

पुनरावेदक वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता लोकराज पराजुली

प्रत्यर्थी प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

ने.का.प. २०३९, अंक ३, नि.नं.१५४२

ने.का.प. २०४५, अंक १०, नि.नं. ३६१३

ने.का.प. २०७१, अंक ११, नि.नं.९२८३

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१ को दफा १०(१)

न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)

 

सुरू तहमा फैसला गर्ने:-

मा.जिल्ला न्यायाधीश श्री कृष्णबहादुर थापा

पुनरावेदन तहमा फैसला गर्ने:-

मा.का.मु.मुख्य न्या. श्री विश्‍वनाथ जोशी

माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र

 

फैसला

न्या. मीरा खड्का : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) अन्तर्गत निवेदन परी निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यसप्रकार रहेको छ :-

मिति २०६४।५।२१ गते राति अं. १२:०० बजेको समयमा सुर्खेत अवलचिङ्ग गा.वि.स. वडा नं. ६ सातमुल बस्ने वर्ष ४२ का वासुदेव सावद दियालो माग्ने बहानामा मेरो घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई मेरो कोठाभित्र प्रवेश गरी सरासर मेरो कोठामा गई मेरो खाटमा पल्टिई आज म यहीँ सुत्दछु भनेपछि मैले यहाँ नसुत आफ्नो घरमा गईहाल भनेँ । त्यसपछि विपक्षी प्रतिवादीले मलाई बाहिर गईहाल भन्ने तँ को होस् तँलाई आज म छाड्दिन भनी मलाई खाटमा पल्टाई कुटपिटसमेत गरी हारगुहार गर्न नदिई जबरजस्ती करणी गरी भागी गएकाले निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको पीडित पट्टु वि.क. (परिवर्तित नाम) को किटानी जाहेरी दरखास्त ।

जबरजस्ती करणी भएको छैन भन्‍न नसकिने, शरीरको विभिन्‍न भागहरूमा निलडामहरू भएको भन्‍ने पीडित पट्टु वि.क. (परिवर्तित नाम) को स्वास्थ्य परीक्षण रिपोर्ट ।

जिल्ला सुर्खेत अवलचिङ्ग गा.वि.स. वडा नं. ६ स्थित नैनसिंह वि.क.को २ तले चार कोठे फुसको छानो भएको घरको बीच तलाको बीचको कोठामा मिति २०६४।५।२१ गते राति अं. १२:०० बजेको समयमा सुर्खेत अवलचिङ्ग- ६ बस्ने वासुदेव सावदले ऐ. ऐ. बस्ने वर्ष ३९ की पीडित पट्टु वि.क. (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको घटनास्थल चार किल्ला मुचुल्का ।

वारदात मिति र समयमा म आफ्नो घरमा नै थिएँ । सो वारदातको सम्बन्धमा सो वारदात मितिको भोलिपल्ट सुनी थाहा पाएअनुसार मिति २०६४।५।२१ गते राति अं. १२:०० बजेको समयमा जाहेरवाली आफ्नो घरमा सुतिरहेको अवस्थामा प्रतिवादी वासुदेव सावद दियालो माग्ने बहानामा जाहेरवालीको घरमा गई ढोका ढकढकाई हानी जबरजस्ती ढोका खोल्न लगाई जाहेरवालीलाई जबरजस्ती समाती खाटमा पल्टाई हारगुहार गर्न नदिई कुटपिटसमेत गरी जबरजस्ती करणी गरी भागी गएको भन्‍ने कुरा सुनी थाहा पाए पश्‍चात् तत्काल जाहेरवालीको घरमा जाँदा जाहेरवालीबाट समेत सो वारदातको बारेमा सुनी थाहा जानकारी हुन आएको र जाहेरवालीको शरीरका विभिन्न अङ्गमा संघर्षको चिह्नहरू समेत देखिएको, निज प्रतिवादी आचरण व्यवहारसमेत ठीक नभएकोले निज प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेकोमा पूर्ण विश्‍वास लाग्छ भन्‍नेसमेत व्यहोराको नेत्रबहादुर वि.क., गंगाबहादुर राना र चित्रबहादुर वि.क. समेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको एकै मिलानको कागज ।

प्रतिवादी वासुदेव सावदलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर गरेकोमा सोही महलको ३ नं. को देहाय ५ बमोजिम सजाय हुन र सोही १० नं. बमोजिम प्रतिवादीबाट पीडित जाहेरवालीलाई मनासिब क्षतिपूर्ति दिलाई भराई पाउन साथै प्रतिवादी हालसम्म फरार रहेबाट निजका नाउँमा वारेण्ट तथा म्याद पुर्जी जारी हुन अनुरोध छ भन्‍नेसमेत व्यहोराको अभियोग मागदाबी ।

जाहेरवालीलाई मैले जबरजस्ती करणी गरेको हैन, अभियोग मागदाबी झुठ्ठा हो । २०६४ असार महिनामा खेतीपाती लगाई सकेर सोही असार २५ गते सुर्खेत छिन्चु गा.वि.स. वडा नं. ७ बस्ने शेरबहादुर सावद र मसमेत ४ जनासँगै भारतको अल्मोडाको बनकोट भन्‍ने ठाउँमा गएका थियौं । सोही ठाउँमा असारको २९ गते पुगी ढुङ्गा, इँटा सरिया बोक्ने काम गरेर २०६४ साल असोज महिनासम्म बसी कमाई कजाई गरी सोही असोज २६ गतेमात्र म आफ्नो घरमा आएको हुँ ।२०६३ सालको जेठ महिनामा जाहेरवालीलाई रू.१५००।- सापट दिएको थिएँ मेरी श्रीमतीले म भारतमा गएको बेला सोही पैसा फिर्ता माग्दा जाहेरवाली र मेरी श्रीमतीबीच झैझगडा भएछ । पैसा ठग्ने नियतले झुठ्ठा जाहेरी दिएका हुन् भन्‍नेसमेत व्यहोराको प्रतिवादी वासुदेव सावदले सुरू अदालतमा गरेको बयान ।

मेरा श्रीमान्‌ घरमा नभई म एक्लै सुतिरहेको अवस्थामा प्रतिवादी आगो माग्ने भनी मेरो घरको ढोका ढकढकाएको र मैले आगो छैन म ढोका खोल्दैन भनी भन्दा जबरजस्ती मेरो ढोका फोडी मलाई समाती मेरो छातीमा लात्तीले हानी भुइँमा पल्टाई जबरजस्ती करणी गरी निज प्रतिवादी आफ्नो घरमा गई फरार भएका हुन् भन्‍नेसमेत व्यहोराको पट्टु वि.क.ले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी वासुदेव सावद र हामी शेरबहादुर सावद, अम्मरबहादुर राना र देवबहादुर सावदसमेत मिति २०६४।३।२९ गते भारतको अल्मोडा भन्‍ने ठाउँमा वनकोट भन्‍ने ठाउँमा पुगी कमाई काज गरी बस्यौं र केही समय त्यहीँ मजदुरी गरी सँगसँगै २०६४।६।२६ गते नेपाल फर्किएका हौं, प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेका होइनन्, जाहेरवालीको जाहेरी दरखास्त झुठ्ठा हो भन्‍नेसमेत व्यहोराको प्रतिवादीका साक्षी देवबहादुर सावद, अम्मरबहादुर राना, शेरबहादुर सावदसमेतले गरेको एकै मिलानको बकपत्र ।

मिति २०६४।५।२१ गते प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेको मैले आँखाले देखिन, भोलिपल्ट घटनास्थलमा त गएँ म कोठामा गई हेरिन घटना घटेको कुरा थाहा पाएको हुँ । घटना वारदात हुनुभन्दा अगाडि प्रतिवादी आफ्नै घर गाउँमा थिएँ । मैले आफ्नै आँखाले देखेको हुँ भन्‍नेसमेत व्यहोराको बुझिएका मानिस चित्रबहादुर वि.क.ले सुरू अदालतमा गरिदिएको बकपत्र ।

प्रतिवादीले आरोपित कसुर गरेको भन्‍ने पुष्टि हुन नसकेकाले प्रतिवादी वासुदेव सावदले अभियोग मागदाबीबाट सफाई पाउने ठहर्छ भन्‍ने सुर्खेत जिल्ला अदालतको मिति २०६५।१२।२५ को फैसला ।

प्रतिवादीले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्‍ने किटानी जाहेरी, घटनास्थल मुचुल्का र सोलाई पुष्टि हुने गरी अदालतमा समेत गरेको बकपत्रसमेतलाई प्रमाणमा ग्रहण नगरी ढोका फुटेको नदेखिएको भनी तथा देख्‍ने सुन्‍ने साक्षी पेस नभएको साथै घरको अन्य परिवारले थाहा पाउनुपर्ने भन्‍ने आधार लिई पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको समेत मूल्याङ्कन नगरी गरिएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि हुन नसकेको भनी प्रतिवादी वासुदेव सावदले आरोपित कसुरबाट सफाई पाउने ठहराएको सुरू सुर्खेत जिल्ला अदालतको मिति २०६५।१२।२५ को फैसला मनासिबै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६।८।८ को फैसला । 

मिति २०६४।५।२१ गते राति अं. १२:०० बजेको समयमा मदिरा सेवन गरी प्रतिवादी वासुदेव सावदले पीडित पट्टु वि.क. (परिवर्तित नाम) आफ्नो घरमा एक्लै भएको अवस्थामा पारी पीडितको घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई कोठाभित्र प्रवेश गरी पट्टु वि.क.लाई कुटपिट गरी हारगुहारसमेत गर्न नदिई जबरजस्ती करणी गरेकोमा निज पट्टु वि.क.ले प्रतिवादीउपर मौकामा किटानी जाहेरी दिएकी, सोहीअनुसारको घटनास्थल मुचुल्का भएको, जाहेरवालीले अदालतमा आई जाहेरीलाई समर्थन गरी बकपत्र गरेकी, घटनास्थलमा गई प्रत्यक्ष रूपमा वारदातस्थल हेर्ने चित्रबहादुर वि.क.ले प्रतिवादी वासुदेव सावदले पीडित जाहेरवाला पट्टु वि.क.लाई जबरजस्ती करणी गरेका हुन् भनी बकपत्र गरिदिएको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी भएको छैन भन्‍न नसकिने, शरीरको विभिन्‍न भागमा निलडामहरू देखिएको भनी उल्लेख भएको अवस्थामा प्रतिवादीको कोरा इन्कारी बयानलाई आधार बनाई निजलाई अभियोगबाट सफाई दिने गरी पुनरावेदन अदालत, सुर्खेतबाट भएको फैसला कानून र न्यायसङ्गत छैन । जबरजस्ती करणी मुद्दामा पीडितको भनाई र विशेषज्ञको रायलाई मूल आधार गराई फैसला गर्नुपर्नेमा त्यसलाई उपेक्षा गरी गरिएको पुनरावेदन अदालत, सुर्खेतको उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने निवेदन पत्र ।

जाहेरवालाले प्रतिवादीले आफूलाई कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको कुरा घटनाको तत्कालपछि व्यक्त गरेको र निजको शारीरिक परीक्षण गर्दा निजको शरीरमा विभिन्‍न निलडाम र खत रहेको कुरा निजलाई जाँच गर्ने डाक्टरको प्रतिवेदनबाट देखिएको तथा निजले जाहेरीमा व्यक्त गरेको सोही तथ्यलाई अदालतमा समेत साक्षीसरह उपस्थित भई व्यक्त गरेको देखिएको अवस्थामा घटनाको प्रत्यक्षदर्शी स्वयम् पीडित व्यक्ति हुने अवस्थामा पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१) को खण्ड (क) र (ख) बमोजिम प्रमाणमा लिनुपर्नेमा सो प्रमाण कानूनअनुरूप मूल्याङ्कन नगरी प्रतिवादीको इन्कारी बयान र निजका साक्षीको मौखिक कथनलाई मात्र आधारभूत प्रमाण मानी प्रतिवादीलाई कसुरबाट सफाई दिने ठहर्‍याएको पुनरावेदन अदालत, सुर्खेतको फैसला अ.बं. १८४(क) नं. तथा प्रमाण ऐन, २०३१ को दफा १०(१) को खण्ड (क) र (ख) तथा दफा ३ र ५४ समेतको व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्‍ने यस अदालतबाट भएको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले पुनरावेदन अदालत, सुर्खेतबाट फैसला हुँदा प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि हुन नसकेको भनी प्रतिवादी वासुदेव सावदले आरोपित कसुरबाट सफाई पाउने ठहराई सुरू सुर्खेत जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी गरेको फैसला कानून र न्यायसङ्गत छैन । मिति २०६४।५।२१ गते राति पीडित परिवर्तित नाम पट्टु वि.क. को छोरा तिजको नाच हेर्न गएको र श्रीमान् भारततर्फ गएकोले निज एक्लै आफ्नो घरमा रहेको अवस्था पारी प्रतिवादी वासुदेव सावदले मदिरा सेवन गरी निज पीडितको घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई कोठाभित्र प्रवेश गरी पट्टु वि.क.लाई कुटपिट गरी हारगुहारसमेत गर्न नदिई जबरजस्ती करणी गरेकोमा निज पट्टु वि.क.ले प्रतिवादीउपर मौकामा किटानी जाहेरी दिएकी र सुरू अदालतमा आई सो जाहेरीलाई समर्थन गरी बकपत्र गरेकी छन् । त्यस्तै गरी घटनास्थलमा गई प्रत्यक्षरूपमा वारदातस्थल हेर्ने चित्रबहादुर वि.क.ले प्रतिवादी वासुदेव सावदले पीडित जाहेरवाली परिवर्तित नाम पट्टु वि.क.लाई जबरजस्ती करणी गरेका हुन् भनी बकपत्र गरिदिएको र जाहेरवालीको मिति २०६४।५।२४ मा भएको घा-जाँच प्रतिवेदनमा शरीरको घाँटी, देब्रे कुहिना, दायाँ घुँडामा निलडामहरू भएको भन्नेसमेत उल्लेख भएको अवस्थामा पीडितको भनाई र विशेषज्ञको रायलाई मूल आधार गराई फैसला गर्नुपर्नेमा त्यसलाई उपेक्षा गरी प्रतिवादीको कोरा इन्कारी बयानलाई आधार बनाई निजलाई अभियोगबाट सफाई दिने गरी पुनरावेदन अदालत, सुर्खेतबाट भएको फैसला बदर गरी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको हुँदा निजलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

प्रस्तुत मुद्दामा प्रतिवादीलाई अभियोगबाट सफाई दिने ठहर गरेको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६/०८/०८ को फैसला मिलेको छ, छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६४।५।२१ गते रातिको समयमा घरमा म एक्लै रहेको समयमा प्रतिवादी वासुदेव सावद दियालो माग्ने बहानामा मेरो घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई मेरो कोठाभित्र प्रवेश गरी मलाई पल्टाई कुटपिटसमेत गरी हारगुहार गर्न नदिई जबरजस्ती करणी गरी भागी गएकाले निजलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भनी पीडित परिवर्तित नाम पट्टु वि.क. को जाहेरीको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान कार्य सुरू भएको देखिन्छ । पीडित परिवर्तित नाम पट्टु वि.क. लाई कुटपिट गरी जबरजस्ती करणी गरेको कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर हुँदा सो कार्यमा संलग्न प्रतिवादी वासुदेव सावदलाई सोही महलको ३ (५) नं. बमोजिम सजाय हुन माग दाबी लिई अभियोगपत्र दायर भएकोमा जिल्ला अदालत, सुर्खेतले प्रतिवादीले आरोपित कसुर गरेको भन्‍ने पुष्टि हुन नसकेकाले प्रतिवादी वासुदेव सावदले अभियोग मागदाबीबाट सफाई पाउने ठहर्छ भनी फैसला गरेको देखियो । सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परी पुनरावेदन अदालत, सुर्खेतले जिल्ला अदालत सुर्खेतको फैसला सदर गरेकोमा वादी नेपाल सरकारले चित्त नबुझाई उक्त पुनरावेदन अदालतको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) समेतको अवस्था विद्यमान रहेको हुँदा मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा निवेदन गरेकोमा यस अदालतबाट निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनमा दर्ता भएको देखियो ।

३. पीडित परिवर्तित नाम पट्टु वि.क. वारदात भएको मितिमा रातिको समयमा घरमा एक्लै रहेको समयमा प्रतिवादी वासुदेव सावद दियालो माग्ने बहानामा निजको घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई निजको कोठाभित्र प्रवेश गरी निजलाई खाटमा पल्टाई निजले प्रतिकार गर्दा घाँटी अठ्याई छाती र पेटमा लात्तीले हानी प्रतिकार गर्न नसक्ने अवस्थामा पुर्‍याई कुटपिटसमेत गरी हारगुहार गर्न नदिई जबरजस्ती करणी गरी भागी गएको भन्ने कुरा घटनाको तत्काल पछि दिएको जाहेरीबाट देखिन्छ । निज पीडित परिवर्तित नाम पट्टु वि.क. को शारीरिक परीक्षणबाट शरीरको विभिन्‍न भागहरू घाँटी, देब्रे कुहिना, दायाँ घुडामा निलडामहरू भएको, निजलाई जबरजस्ती करणी भएको छैन भन्‍न नसकिने भन्‍ने उल्लेख गरेको पाइन्छ । मौकामा फरार रहेका प्रतिवादी बासुदेव सावदको अदालतमा भएको बयान हेर्दा वारदात मिति २०६४।५।२१ गतेभन्दा अगावै मिति २०६४।३।२५ गते भारतको अल्मोडामा गई सोही सालको असोज २६ गते मात्र घर आएको हुँदा वादी दाबीबमोजिमको अपराध गरेको छैन भनी इन्कारी बयान दिएको पाइन्छ । वारदातको दिन आफूलाई सो वारदातमा नभई अन्य ठाउँमा छु भनी देखाउने व्यक्तिले त्यस ठाउँमा भएको सबुत गुजार्नु पर्छ । तर प्रतिवादी वासुदेव सावदले त्यसरी आफू भारत अल्मोडामा रहे भएको कुराको विश्वसनीय र भरपर्दो सबुत दिन सकेको देखिँदैन । अर्कोतर्फ पीडित जाहेरवालीले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीले निजलाई जबरजस्ती करणी गरेपश्चात् करिब ६ महिनासम्म भागी गाउँघरमा समेत देखा नपरेको भनी लेखाई दिएको पाइन्छ । त्यस्तै गरी  अनुसन्धानका सिलसिलामा घटना विवरण कागज गरिदिने चित्रबहादुर वि.क. ले घटना हुनुभन्दा अगाडी प्रतिवादी आफ्नै घर गाउँमा थिए भनी बकपत्र गरेको पाइन्छ । यी पीडितसमेतले प्रतिवादीलाई झुठ्ठै पोल गरी किटानी जाहेरी दिनुपर्ने र बकपत्र गर्नुपर्ने अन्य कुनै विश्वासयोग्य कारण देखिँदैन । यी तथ्यहरूबाट प्रतिवादीले वारदात मितिमा आफू भारतमा रहेको भनी अन्यत्र रहेको (Alibi) को जिकिर लिए तापनि प्रतिवादीको उक्त जिकिर अन्य कुनै भरपर्दो वस्तुगत तथ्यबाट पुष्टि हुन आएको देखिँदैन ।

४. प्रतिवादीले वारदातको समयमा आफू अन्यत्र रहेको भनी लिएको जिकिर (Alibi) प्रमाणमा लिने सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दाका सन्दर्भमा पटकपटक व्याख्या गरिएको देखिन्छ । दुःखन सहनी मलाहसमेत वि. श्री ५ को सरकार (ने.का.प. २०३९, अङ्क ३, निर्णय नं. १५४२) भएको मुद्दामा “वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैँंले प्रमाणित गर्नुपर्ने हो । त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरूद्ध लाग्ने” भनी व्याख्या गरिएको पाइन्छ । त्यस्तै गरी “फौज्दारी कसुरमा एलिवि (Alibi) त्यतिखेर शंकारहित तवरले पुष्टि हुनसक्छ जतिखेर आरोपित कसुर पुष्टि गर्ने अन्य प्रमाणको अभाव रहेको हुन्छ ।अतः आरोपित कसुर पुष्टि गर्ने प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कुनै अस्तित्व रहन नसक्ने” भनी श्री ५ को सरकार वि. विलास महतो सुडीसमेत (ने.का.प. २०४५, अङ्क १०, निर्णय नं. ३६१३) भएको मुद्दामा व्याख्या भएको देखिन्छ । टीकाराम राईसमेत वि. नेपाल सरकार (ने.का.प. २०७१, अंक ११, नि.नं. ९२८३) भएको मुद्दामा “आफू अन्यत्र रहेको भनी अन्यत्रको दाबी लिनेले कानूनतः आफू त्यसरी अन्यत्र रहेको पुष्टि गर्नुपर्ने हुन्छ । केवल लगाइएको आरोपबाट सफाई पाउने उद्देश्यले मात्र अन्यत्र रहेको थिएँ भन्ने कुरा तर्कयुक्त र स्वीकार्य हुन नसक्ने”  भनी व्याख्या गरिएको पाइन्छ । यसरी भएका व्याख्या र कायम गरिएका सिद्धान्तहरूका दृष्टिले विचार गर्दासमेत प्रस्तुत मुद्दाका प्रतिवादीले वारदातको समयमा आफू भारत अल्मोडामा रहेको भनी लिएको जिकिर निजले तथ्ययुक्त प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिँदा वारदातको बखत अन्यत्र छु भनी निजले लिएको (Alibi) को जिकिरसँग सहमत हुन सकिएन ।

५. जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य 

हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुन्छ । प्रतिवादी वासुदेव सावद दियालो माग्ने बहानामा पीडितको घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई निज पीडितकै घरमा सुत्न खोजेको देखिन्छ । पीडितले सुत्न दिन्न भनेपछि तँलाई आज म छाड्दिन भनी पीडितलाई पल्टाई कुटपिट गरी जबरजस्ती गरेको देखिएकोले प्रतिवादीको पीडित परिवर्तित नाम पट्टु वि.क.लाई करणी गर्ने मनसाय रहेको तथ्य स्पष्ट हुन्छ । प्रस्तुत मुद्दामा पीडितले रातको समयमा आफू घरमा एक्लै रहेको अवस्थामा प्रतिवादीले आफ्नो इच्छाविपरीत करणी गर्न लागेको र आफ्नो सतित्व रक्षाको लागि बिरामी अवस्थामा पनि हरसम्भव प्रयत्न गरेको वा विरोध गरेको भनी  किटानी जाहेरी दिएको देखिन्छ । पीडितले अदालतमा समेत आई आफूउपर घटेको घटनाको सम्बन्धमा सबिस्तार वर्णन गरी मौकामा दिएको जाहेरीलाई समर्थित हुने गरी बकपत्र गरिदिएको तथा पीडितको शरीरको विभिन्‍न भागहरूमा निलडामहरू भएको भन्ने पीडितको तत्काल भएको शारीरिक परीक्षण रिर्पोटमा उल्लेख भएबाट करणी गर्ने कार्यमा पीडितको मन्जुरी नभएको पुष्टि हुन्छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हो । प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम पट्टु वि.क.ले प्रतिवादीउपर किटानी जाहेरी दिएको र सो किटानी जाहेरीलाई समर्थन गरी अदालतमा बकपत्र गरिदिएको देखिन्छ । जबरजस्ती करणी जस्तो फौजदारी अपराधमा पीडित व्यक्तिले व्यक्त गरेको कुरा महत्त्वपूर्ण प्रमाण हो । पीडित स्वयम् घटनाको वा वारदातको चश्मदित् गवाह पनि हो । एकातिर यी पीडित एक विवाहिता महिलाले आफूमाथि जबरजस्ती करणी नगरेको भए यी प्रतिवादीलाई किटान गरी जाहेरी दिनुपर्ने कुनै कारण वा परिस्थिति पनि 

छैन । साथै, विवाहिता महिलाको पारिवारिक एवं  दाम्पत्य जीवनमा नै गम्भिर असर पर्न सक्ने जबरजस्ती करणी जस्तो जघन्य अपराधमा आफूलाई पीडित देखाई स्वयम्‌ले यी प्रतिवादीउपर किटानी जाहेरी दिनुपर्ने र सोही जाहेरीको व्यहोरालाई समर्थन गर्ने गरी अदालतमा उपस्थित भई बकपत्र गरिदिनु पर्ने अरू कुनै कारण पनि विद्यमान देखिँदैन । त्यस्तै गरी अनुसन्धानका सिलसिलामा घटना विवरण कागज गरिदिने चित्रबहादुर वि.क.ले घटना विवरण कागजमा लेखिएको व्यहोरालाई समर्थन गर्ने गरी अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ । यस्तो अवस्थामा प्रतिवादी वासुदेव सावदले पीडित परिवर्तित नाम पट्टु वि.क.लाई जबरजस्ती करणीको कसुर गरेको प्रमाणित हुन आयो ।

६. जाहेरवालीले रातको समयमा घरमा आफू एक्लै बिरामी अवस्थामा रहे भएको समयमा प्रतिवादी दियालो माग्ने निहुँमा आई आफूलाई कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको कुरा घटनाको तत्काल पछि व्यक्त गरेको देखिन्छ । पीडितको शारीरिक परीक्षण गर्दा निजको शरीरमा विभिन्‍न निलडाम र खत रहेको कुरा निजलाई जाँच गर्ने डाक्टरको प्रतिवेदनबाट देखिइरहेको अवस्था छ । त्यस्तैगरी पीडितले जाहेरीमा व्यक्त गरेको तथ्यलाई अदालतमा समेत साक्षीसरह उपस्थित भई व्यक्त गरेको देखिएको अवस्थामा घटनाको प्रत्यक्षदर्शी स्वयम्‌ पीडित व्यक्ति हुने अवस्थामा पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१) को खण्ड (क) र (ख) बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको प्रत्यक्षदर्शी स्वयम्‌ पीडित पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हो । यस्तो स्थितिमा प्रत्यक्षदर्शी पीडितले व्यक्त गरेको कुरा तथा पीडितको शारीरिक परीक्षणमा उल्लिखित कुरालाई प्रमाणमा नलिई प्रतिवादीको इन्कारी बयान र निजका साक्षीको मौखिक कथनलाई मात्र आधारभूत प्रमाण मानी प्रतिवादीलाई कसुरबाट सफाई दिन मिल्ने देखिँदैन । 

७. अतः माथि विवेचित आधार, कारण तथा प्रमाणहरूबाट प्रतिवादीलाई कसुरबाट सफाई दिने ठहर्‍याएको सुरू सुर्खेत जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६६।८।८ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी वासुदेव सावदलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(५) नं. अनुसार ५ (पाँच) वर्ष कैदको सजाय हुने र ऐ. को १० नं. अनुसार पीडितले रू.२५,०००।- (पच्चीस हजार रूपैयाँ) क्षतिपूर्तिसमेत प्रतिवादीबाट भराई पाउने ठर्हछ । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, सुर्खेतबाट भएको  मिति २०६६।८।८ को फैसला उल्टी भई प्रतिवादी वासुदेव सावदलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. अनुसार ५ (पाँच) वर्ष कैदको सजाय हुने ठहरी फैसला भएकाले सो कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू सुर्खेत जिल्ला अदालतमा लेखी पठाइ दिनू ....................१ 

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको १० नं. अनुसार प्रतिवादीबाट पीडित परिवर्तित नाम पट्टु वि.क. ले रू. २५,०००।- (पच्चीस हजार रूपैयाँ) क्षतिपूर्ति भराई पाउने ठहरी फैसला भएकाले उक्त क्षतिपूर्ति पाउँ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई निवेदन दिए कुनै दस्तुर नलिई कानूनबमोजिम भराई दिनु भनी सुरू सुर्खेत जिल्ला अदालतमा लेखी पठाइ दिनू ...........२

प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई फैसलाको प्रति विद्युतीय अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइ दिनू ....................................................३

 

उक्त रायमा सहमत छु ।

न्या. विश्‍वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत : शिवप्रसाद पराजुली

इति संवत् २०७४ साल श्रावण २२ गते रोज १ शुभम्  ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु