निर्णय नं. ९८८० - घुस रिसवत लिई भ्रष्टाचार गरेको

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।०९।०४
०७१-CR-१०८९
मुद्दः घुस रिसवत लिई भ्रष्टाचार गरेको
पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा, खाँदवारी नगरपालिका वडा नं. १ बस्ने भरध्वज थापाका छोरा वर्ष ५७ का रामबहादुर थापा
विरूद्ध
विपक्षी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत पदमबहादुर राउतको प्रतिवेदनले नेपाल सरकार
०७१-CR-१०८८
पुनरावेदक / प्रतिवादी : जिल्ला मकवानपुर, हेटौंडा नगरपालिका वडा नं. ५ बस्ने तोयनाथ अर्यालयका छोरा वर्ष ४९ को ना.सु. केदार प्रसाद अर्याल
विरूद्ध
विपक्षी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत पदमबहादुर राउतको प्रतिवेदनले नेपाल सरकार
प्रमाण ऐन, २०३१ को दफा ३ मा “अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ” भन्ने व्यवस्था रहेको
छ । यस व्यवस्थाअनुसार ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ब कुराको प्रमाण बुझ्न सकिने देखिन्छ । सम्बद्ध कुरा भन्नाले मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्दछ । प्रस्तुत मुद्दामा प्रमाणको रूपमा पेस गरिएको सि.डी.बाट देखिएको अन्य दृष्यबाट रिसवत् लिने दिने कार्य भएको तथ्य खुल्न आएको छ । आरोपित कसुर गरेको तथ्य समर्थित हुने व्यहोरा सि.डी. मा रहेको देखिएकाले यसलाई सम्बद्ब प्रमाण होइन भन्न नमिल्ने ।
प्रमाण ऐन, २०३१ को दफा ९ मा "पक्षले अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ" भन्ने व्यवस्था रहेको छ । पक्षले बोली वचनद्वारा, लेखेर, ईशाराद्वारा वा आचरणद्वारा पनि कुनै कुरा व्यक्त गरेको हुन सक्तछ । यसरी व्यक्त गरेको कुरा यदि प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) मा व्यवस्थित प्रावधानहरूको प्रतिकूल देखिँदैन भने त्यस्तो कुरालाई प्रमाणमा लिन मिल्ने नै देखिने ।
(प्रकरण नं. ५)
विद्युतीय माध्यमबाट संकलन गरिएका कुराहरूलाई व्यवस्थित र नियमन गर्ने सम्बन्धमा कानूनले थप प्रष्ट मार्ग निर्देशन गर्नु आवश्यक छ । यस पक्षमा खासगरी प्रमाण लिने कुरामा केही अप्रष्टता रहेको कारणबाट द्विविधा उत्पन्न हुन सक्ने अवस्था पनि रहेको छ । तर यसको तात्पर्य सि.डी. लगायत विद्युतीय माध्यमबाट संकलित प्रमाणलाई मुद्दामा प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन भन्ने अवश्य होइन । विज्ञान र प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास र थपिएका अनेकौ नवीनतम् आयामहरूलाई न्याय निरूपणका सन्दर्भमा अदालतले अनदेखा गर्न नहुने ।
(प्रकरण नं. ७)
पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, विद्वान् अधिवक्ता कुमुदकुमार भट्टराई
विपक्षी वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा ३, ९, २२, २७(२)
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)
सुरू तहमा फैसला गर्ने :
अध्यक्ष मा.न्या. श्री मोहनरमण भट्टराई
सदस्य मा.न्या. श्री भुपेन्द्रप्रसाद राई
सदस्य मा.न्या. श्री नरेन्द्रकुमार शिवाकोटी
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालतको मिति २०७१।८।२४ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको उजुरी निवेदन
महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट चोरी मुद्दाको अनुसन्धानको सिलसिलामा उत्तम खड्का भन्ने व्यक्ति पक्राउ परेका रहेछन् । निजलाई हाजिर जमानीमा छाडिदिने भनी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापाले उत्तम खड्काको दिदी नाता पर्ने व्यक्ति भगवती खड्कासँग रकम माग गरेको भन्ने विषयको सूचना हाम्रो संस्थामा प्राप्त भएको थियो । त्यसपश्चात् वास्तविक व्यहोरा बुझ्न भगवती खड्कासँगै जिल्ला सरकारी वकिल कार्यालय गई रामबहादुर थापा र ना.सु. केदार प्रसाद अर्यालसँग भेटी कुरा गर्दा तपाइँको मानिसलाई हाजिर जमानीमा छाड्न मिल्छ तर त्यसको लागि तपाइँले रकम दिनुपर्छ भनेका थिए । राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीसँग घुस रिसवत मागेको हुँदा निजलाई घुस रिसवत दिई काम गराउने उद्देश्य नभएकोले घुस रिसवत माग गर्ने व्यक्तिलाई कारवाही गर्न उपयुक्त हुने लागेको हुँदा सो कुराको जानकारी यस आयोगमा गराएको छु । निजले हामीसँग रकमको बारेमा कुराकानी गर्दा रू.५० हजारमा काम मिलाई दिने सहमति भएको हुँदा निजलाई दिनका लागि यस आयोगबाटै रू.५०,०००।– (पचास हजार मात्र) नगदै हाम्रो संस्थालाई उपलब्ध गराई पाउँ हामीबाट निजले घुस रिसवत लिएको अवस्थामा फेला पारेमा निजलाई दशी प्रमाणसहित पक्राउ गरी कारवाही गरिपाऊँ ।
संलग्न कर्मचारीहरूसँगको वार्तालाप तथा दृश्यसहितको सि.डि. समेत यसैसाथ संलग्न राखेको छु । सि.डि. बाट समेत सम्पूर्ण व्यहोरा छर्लङ्ग हुने
छ । भ्रष्ट कर्मचारीहरूलाई कारवाही गरिपाउँ भनी मिति २०७१।०३।१९ गते भ्रष्टाचार विरूद्धको अभियान नेपाल नामक संस्थाका अध्यक्ष संजयकुमार झाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको उजुरी निवेदन ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापासमेतले चोरी मुद्दामा पक्राउ परेका उत्तम खड्कालाई छुटाउनका लागि घुस रिसवत मागेको हुँदा कारवाही गरिपाउँ भनी भ्रष्टाचार विरूद्धको अभियान नेपाल नामक संस्थाका अध्यक्ष संजयकुमार झाले यस आयोगमा निवेदन दिएको हुँदा निवेदकसँग समन्वय गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापालगायतका कर्मचारीहरूले घुस रिसवत लिएको पाइएमा निजहरूलाई दसी प्रमाणसहित पक्राउ गरी यस आयोगमा दाखिला गर्ने प्रयोजनको लागि तपाइँहरूलाई खटाई पठाइएको छ । यस आयोगबाट निवेदकलाई उपलब्ध गराइएका हजार दरका थान ५० नोटहरूको फोटोकपीसमेत तपाइँहरूलाई उपलब्ध गराइएको छ । सम्बन्धित कर्मचारीबाट सो नोटहरू बरामद भएमा रीतपूर्वक बरामद गरी सो नोटहरूको फोटोकपीमा समेत सनाखत गराउनु होला भनी प्र.नि. कोमल शाहसमेतको टोलीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटाई पठाएको व्यहोराको
पत्र ।
संजयकुमार झाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रू.१०००।– दरका ५० थान नोट बुझी मिति २०७१।३।२० मा गरिदिएको भरपाई ।
आयोगबाट बुझी लगेको रू.५०,०००।– मध्ये रू.२५,०००।– यसै निवेदनसाथ यस आयोगमा फिर्ता गरेको छु भन्नेसमेतको जानकारी पत्रसाथ रू.२५,०००।– संजय झाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फिर्ता गरेको ।
खानतलासी बरामदी मुचुल्का
उपर्युक्तअनुसारको रू.२५,०००।– लेनदेन भएपछि खटिएर गएका कर्माचारीबाट जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. १, बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालयको भुइँतल्लाको अभियोग फाँट कोठा नं. ९ मा सोही कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापा, सहायक जिल्ला न्यायाधिवक्ता अनिल कार्की र ना.सु. केदारप्रसाद अर्यालसमेतलाई फेला पारिएकोमा ना.सु. केदारप्रसाद अर्यालको शरीर खानतलासी गर्दा निजको नामको संकेत नं. ११५३९४ को कर्मचारी परिचय पत्र र आयोगबाट दिई पठाएको नम्बर उल्लेख भएको रू.१०००।– दरका नोटहरू थान २५ फेला परेको खानतलासी बरामदी मुचुल्का ।
प्र.नि. कोमल शाहसमेतको प्रतिवेदन
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापासमेतले चोरी मुद्दामा पक्राउ परेका उत्तम खड्कालाई छुटाउनका लागि घुस रिसवत मागेको हुँदा कारवाही गरिपाउँ भनी भ्रष्टाचार विरूद्धको अभियान नेपाल नामक संस्थाका अध्यक्ष संजयकुमार झाले यस आयोगमा निवेदन दिएको हुँदा निवेदकसँग समन्वय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापालगायतका कर्मचारीहरूलाई घुस रिसवत लिएको पाइएमा निजहरूलाई दसी प्रमाणसहित पक्राउ गरी यस आयोगमा दाखिला गर्नका लागि हामी प्रतिवेदक कर्मचारीहरूलाई खटाई पठाइएकोमा मिति २०७१।०३।२० गते निवेदक संजयकुमार झासँग समन्वय गरी गएकोमा सो दिन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापाले निवेदकबाट रकम नलिई अर्को दिन लिने भनी फिर्ता पठाएकोमा पुनः आज मिति २०७१।०३।२२ गते रकम लिनका लागि निवेदक संजयकुमार झालाई बोलाएको भनी निजले हामीलाई जानकारी गराएपश्चात् सो कार्यालयमा हामी प्रतिवेदक कर्मचारीहरू जाँदा सोही कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्यालसमेतलाई सोही कार्यालयमा फेला पारी निजहरूको शरीर खानतलासी गर्दा ना.सु. केदारप्रसाद अर्यालको साथबाट यस आयोगबाट निवेदकलाई उपलब्ध गराइएका नोटहरूमध्येका थान २५ गरी जम्मा रू.२५,०००।– (पच्चीस हजार) र निजको नामको कर्मचारी परिचय पत्र बरामद भएको हुँदा कानूनबमोजिम सोही स्थानमा बरामदी मुचुल्का खडा गरी सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्यालसमेतलाई पक्राउ गरी यसै प्रतिवेदनसाथ दाखिला गरेका छौ भन्नेसमेत व्यहोराको प्र.नि. कोमल शाहसमेतको प्रतिवेदन ।
प्र. रामबहादुर थापाको अनुसन्धानको क्रममा भएको बयान कागज
म जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा कार्यरत छु । मेरो पद सहायक जिल्ला न्यायाधिवक्ता हो । मेरो पदको प्रकृतिअनुसार म बहस पैरवी गर्ने, बयान गराउने, अभियोग पत्र तयार गर्ने र बकपत्र गराउने जस्ता कार्यहरू गर्छु । सूर्य भट्टराईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी उत्तम खड्कासमेत भएको चोरी मुद्दा मैले नै हेरिरहेको छु र सो मुद्दाको अभियोग पत्र मिति २०७१।०३।२० मा काठमाडौं जिल्ला अदालतमा पेस गरिएकाले हाल विचाराधीन अवस्थामा छ । उक्त चोरी मुद्दामा पक्राउ परेका उत्तम खड्कालाई मैले हाजिर जमानीमा छाडिदिने भनी भगवती खड्कासँग कुनै रकम कलम माग गरेको छैन । निज भगवती खड्कालाई म चिन्दिन । हाजिर जमानीमा छाड्ने काम प्रहरीको हो उजुरी निवेदनसहित आयोगमा प्राप्त भिडियो म एक राष्ट्रसेवक कर्मचारीलाई फसाउने पूर्वयोजनाअनुसार प्राप्त भएको हुन सक्छ । मैले उजुरीमा उल्लिखित व्यक्तिको हकमा कानूनबमोजिम कार्य सम्पन्न गरेको छु । कसैसँग सौदाबाजी गरेको छैन । सौदाबाजी गरेको भए तापनि मलाई फसाउने नियतले गरेको हुन
सक्छ । मैले कसैसँग कुनै रकम कलम माग गरेको
छैन । निज निवेदकले मेरो अफिसभन्दा बाहिरी समयमा आई मेरो कोठामा प्रवेश गरी निजले नै रकमको कुरा गर्दा मैले तपाइँको मुद्दा अदालतमा पेस भइसक्यो, जे निर्णय हुन्छ, अदालतबाटै हुन्छ भन्दासमेत अटेर गरी मैले पर्दैन भन्दाभन्दै पनि रकम कलम दिने, मलाई फसाउने नियत राखी भिडियोसमेत खिचेको हुन सक्छ । अदालतमा प्रस्तुत भइसकेको मुद्दामा मेरो कुनै भूमिका हुँदैन । मैले सेवाग्राहीबाट रकम माग गरेको छैन । मबाट आयोगबाट उपलब्ध गराइएको पैसा बरामद भएको पनि छैन । सेवाग्राही मेरो कोठामा प्रवेश गरेपछि निजले रकम जवरजस्तीरूपमा केदारप्रसाद अर्याललाई थमाई दिएको हो । मैले केदारजीलाई रकम लिनु र सेवाग्राहीलाई रकम दिनुसमेत भनेको छैन । निजले जबरजस्ती रकम थमाई गन्ती गर्न लगाई हामी दुवै जनालाई फसाउने डिजाइनअनुसार रकम लिन लगाएको हो । न्याय अन्याय छुट्टयाई पाऊँ । निवेदनका साथ प्राप्त भिडियोका आवाज र दृश्यहरू मेरै हुन् । मलाई फसाउने, बदनाम गराउने पूर्वयोजना मुताबिक सो भिडियो खिचिएको हो । यसउपर सम्मानित आयोगबाट न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको रामबहादुर थापाको अनुसन्धानको क्रममा भएको बयान कागज ।
केदारप्रसाद अर्यालको अनुसन्धानको क्रममा भएको बयान कागज
म जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा नायव सुब्बाको पदमा कार्यरत छु र सो पदमा रहेर मैले प्रहरी वृत्त र परिसरबाट अनुसन्धान कार्य सम्पन्न गरी आएका मुद्दाहरू दर्ता गरी कार्यालय प्रमुखसमक्ष पेस गरी सम्बन्धित सरकारी वकिललाई बुझाउने, अदालतबाट प्राप्त पेसी मुद्दाहरू जनाई पेस गर्न चिठ्ठी पत्रहरू तयार गर्नेसमेतका कार्यहरू गर्छु । सूर्य भट्टराईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी उत्तम खड्कासमेत भएको चोरी मुद्दामा मैले अभियोग पत्र तयार भई आएपछि चलानी गरी मुद्दा अदालतमा पठाएको हो । सो मुद्दामा प्रतिवादी उत्तम खड्कालाई छाडिदिने भनी रकम माग गरेको भन्ने सम्बन्धमा मलाई केही थाहा छैन । मिति २०७१।०३।२२ गते बिहान उजुरीकर्ता रामबहादुर थापाभन्दा केही समयपछि करिब ९:०० बजे तिर आएको र रामबहादुर सरको कोठामा बसेकोमा मलाई रामबहादुर सरले बोलाउनु भएकोमा म गएको र निजले सोध्दा तपाइँको काम गर्ने उहाँ नै हो भनेको हो । रामबहादुर सरले मलाई वहाँले के भन्नुहुन्छ भन्ने बित्तिकै निज व्यक्तिले रू.१,०००।– दरका २५ थान नोट दिई गन्न लगाई राख्नुहोस् भनी बाहिर निस्कनु भएकोमा केही क्षणमै टोली आई मेरो साथबाट रकम बरामद गरेको हो । उक्त रकम मैले निजसँग मागेको पनि होइन, बार्गेनिङ्ग पनि गरेको होइन, फसाउने नियतले निज लागिरहेका रहेछन् । मैले सेवाग्राहीबाट पैसा लिनु हुँदैन थियो । तर मलाई रामबहादुर थापा सरको कोठामा उजुरीकर्ताबाट जबरजस्ती पैसा छाडी निज गई टोली आई पक्राउ गरेको हो । भिडियोमा देखिएका दृष्य र सुनिएका आवाज मेरो हो, तर उक्त आवाज फसाउने नियतले खिचेका
रहेछन् । म एक सामान्य कर्मचारी हुँ । मलाई सुनियोजितरूपमा फसाइएको हुँदा आयोगबाट न्यायोचित छानबिनको आशा गरेको भन्नेसमेत व्यहोराको केदारप्रसाद अर्यालको अनुसन्धानको क्रममा भएको बयान कागज ।
उसुरी कर्ता संजयकुमार झाको अनुसन्धानको क्रममा भएको बयान
मिति २०७१।०३।१९ गतेको भ्रष्टाचार विरूद्धको अभियान नेपाल नामक संस्थाको तर्फबाट परेको उजुरी निवेदनको व्यहोरा र दस्तखत मेरो
हो । भगवती खड्कालाई म चिन्छु । उनी हाम्रो संस्था भ्रष्टाचार विरूद्धको अभियान नेपालको एक सदस्य
हुन् । चोरी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका उत्तम खड्कालाई हाजिरी जमानीमा छोड्नका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापाले मसँग रू.५०,०००।– घुस मागेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रू.५०,०००।– बुझी लगेको भरपाईमा भएको सहिछाप मेरो
हो । उक्त रकम मैले आयोगबाट लगेको हुँ । मिति २०७१।०३।२० गते शुक्रबारका दिन निज रामबहादुर थापाले ना.सु. केदारप्रसाद अर्याललाई आफ्नो कक्षमा बोलाएर सल्लाह गरी मसँग रू.५०,०००।– बुझिलिन भनेका थिए । तर उक्त दिन कार्यालयमा सेवाग्राही तथा सुरक्षाकर्मी प्रहरीहरूको बाक्लो उपस्थितिले गर्दा रकम लिएनन् । मलाई भोलिपल्ट शनिबार दिनको ४ बजे कार्यालयमा आउनु यहाँ सुब्बा साहवलाई पनि बोलाउँछु, बिदाको दिनमा यहाँ मान्छेहरू आउँदैनन्, भनी रामबहादुर सरले भनेका थिए । शनिबार दिनको करिब ४ बजे मैले रामबहादुर थापाको मोबाइल नं. ९८५२०६०२३४ मा फोन गर्दा आफन्तको मृत्यु भएका कारण भेट्न नसक्ने र तपाइँ भोलि बिहान ८:०० बजे रकम लिएर मेरो कार्यालयमा आउनुस् भने । आइतबार बिहान म कार्यलयमा ८:०० बजे
पुगेF । त्यसपछि रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्यालले तपाइँको मान्छेलाई यहाँबाट छाड्न मिलेन, मुद्दा अदालतमा पठाइसकेको छु, जसरी भएपनि साधारण तारेखमा छुटाइदिन्छु भने । त्यसको लागि रामबहादुर थापाले पहिला तय भएको रकम रू.५०,०००।– को आधा रू.२५,०००।– मा कुरो टुङ्गो लगाए । निजले सो रकम ना.सु. केदारप्रसाद अर्याललाई बुझाउन भने । म ना.सु. को कक्षमा रकम दिन गएँ, निजले मलाई सोधे सरले कति रकम भन्नु भएको छ? मैले रू.२५,०००।– मा तय भएको
भने । निज केदार प्र.अर्यालले रामबहादुर थापाको कक्षमा आई रामबहादुर थापाको अगाडि नै रू.२५,०००।– गनेर लिएको हो । बाँकी रू.२५,०००।– रकम मैले रीतपूर्वक अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फिर्ता गरेँ भन्नेसमेत व्यहोराको भ्रष्टाचार विरूद्धको अभियान नेपाल नामक संस्थाका अध्यक्ष तथा निवेदक संजयकुमार झाको अनुसन्धानको क्रममा भएको
बयान ।
विशेष अदालत, काठमाडौंमा दायर भएको आरोप पत्र
अनुसन्धानको क्रममा संकलित उजुरी निवेदन, खानतलासी बरामदी मुचुल्का प्रतिवादीद्वय रामबहादुर थापा र केदारप्रसाद अर्यालले आयोगसमक्ष गरेको बयान, निवेदक संजयकुमार झाले आयोगसमक्ष गरेको बयान, उजुरी निवेदनसाथ प्राप्त भिडियो सि.डि. समेतलाई गहन अध्ययन गरी हेर्दा सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापाले चोरी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका उत्तम खड्कालाई हाजिरी जमानीमा छाडिदिने र त्यसबापत रू.५०,०००।– घुस रिसवत माग गरेको भनी भ्रष्टाचार विरूद्धको अभियान नेपाल नामक संस्थाका अध्यक्ष संजयकुमार झाले मिति २०७१।०३।१९ मा यस आयोगमा दिएको निवेदनका आधारमा निजलाई आयोगबाटै रू.५०,०००।– उपलब्ध गराई निजका साथमा घुस रिसवत लेनदेन गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी दाखिला गर्नको लागि आयोगबाट प्र.नि. कोमल शाहसहितको टोलीलाई खटाई पठाइएकोमा मिति २०७१।०३।२२ गतेका दिन सरकारी वकिल कार्यालयमै रिसवत लिइसकेको अवस्थामा आयोगबाट खटिएको टोलीले निजको साथबाट उक्त रकम र निजको नामको कर्मचारी परिचय पत्र रीतपूर्वक बरामद गरी निजलाई समेत आयोगमा दाखिला गरेको
देखिन्छ । निवेदक संजयकुमार झासँग रामबहादुर थापाले रू.५०,०००।– घुस रिसवत माग गरेको तर पछि आएर रू.२५,०००।– मा सहमत भएको र सो रकम ना.सु. केदारप्रसाद अर्याललाई दिनु भनेको तथ्य निज निवेदकले आयोगमा गरेको बयान तथा निवेदनसँग प्राप्त भएको भिडियो क्लीपबाट खुल्न आएको छ । सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्यालले आयोगसमक्ष बयान गर्दा कसुरमा इन्कार रहे तापनि निज ना.सु. केदारप्रसाद अर्यालको साथबाट रू.२५,०००।– बरामद भएको कुरालाई स्वीकार गरेको देखिन्छ । उत्तम खड्कालाई हाजिरी जमानीमा छाडिदिनका लागि सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापाले रू.५०,०००।– घुस रिसवत माग गरेकोले घुस रिसवत माग गरेको रकम दिनका लागि आयोगबाट रकम उपलब्ध गराई पाउँ भनी संजयकुमार झाले आयोगमा उजुरी गरी आयोगबाटै मुचुल्कामा उल्लेख भएका नम्बर र दरका जम्मा रू.५०,०००।– बुझी लिई गएकोमा सोही नम्बर र दरका ५० थान नोटमध्ये २५ थान ना.सु. केदारप्रसाद अर्यालको शरीर खानतलासी गर्दा बरामद भई आएको देखिन आएबाट सो रकम रामबहादुर थापाले निजलाई दिनु भनेको खुलेकाले निज प्रतिवादीद्वय रामबहादुर थापा र केदारप्रसाद अर्यालले सो घुस रिसवत बाँडीचुँडी खाने नियत राखी लिएको प्रष्ट हुन्छ । प्रतिवादीहरूबाट भएको इन्कारी बयान तथ्यपरक नभई संलग्न प्रमाण र तथ्यको आधारमा निजहरूबाट उल्लिखित कसुर भएको पुष्टि भइरहेको अवस्था छ । यसरी आरोपित व्यक्तिहरूको बयान, निवेदकको बयान तथा निवेदनसहित प्राप्त भिडियो सि.डि. र बरामदी दशी प्रमाणका आधारमा सरकारी वकिल कार्यलय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्याल दुवैले सेवाग्राहीबाट घुस रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएको हुँदा निज रामबहादुर थापा र केदारप्रसाद अर्याललाई बिगो रू.२५,०००।– (पच्चीस हजार) कायम गरी सोही ऐनको दफा ३(१) को खण्ड (क) द्वारा व्यवस्थित हदैसम्मको सजाय गरी पाउन सादर अनुरोध गरिन्छ र निजहरूलाई यसै आरोप पत्रसाथ पेस गरिएको छ । साथै केदारप्रसाद अर्यालबाट बरामद भएको रू.२५,०००।– निवेदक संजयकुमार झाले यस आयोगमा लिखित उजुरी दिई घुस रिसवत दिनका लागि आयोगबाट बुझिलिएको रकम भएको हुँदा उक्त रकम आयोगलाई नै फिर्ता पाउन समेत अनुरोध गरिन्छ भन्नेसमेत व्यहोराको मिति २०७०।३।२७ मा विशेष अदालत, काठमाडौंमा दायर भएको आरोप पत्र ।
प्रतिवादी रामबहादुर थापाको अदालतमा गरेको बयान
म २०७०।११।२२ गते बाट जिल्ला सरकारी वकिल कार्यालय, बबरमहल काठमाडौंमा शा.अ. पदमा कामकाज गर्दै आइरहेको छु । सुर्य भट्टराईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गगन मानन्धरसमेत भएको चोरी मुद्दाका जाहेरवाला तथा प्रतिवादीहरूलाई चिन्दिन । उक्त चोरी मुद्दा मैले २०७१।३।२० मा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र पेस गरेको हो । मैले उक्त मुद्दामा पक्राउ परेका उत्तम खड्कालाई हाजिरी जमानीमा छुटाई दिने भनी कुनै रकम कलम माग गरी लिएको छैन । मैले निवेदकलाई रकम दिनु र ना.सु. केदारप्रसाद अर्याललाई पैसा लिनुसमेत भनेको होइन छैन । उजुरीकर्ताले उल्लेख गरेको उत्तम खड्काको दिदी भगवती खड्का भन्ने महिलालाई म चिन्दिन, निजसँग रकम कलमको कुरा भएको छैन । आरोप पत्रसाथ पेस भएको भिडियो क्लीपहरू देखाउँदा हेरेँ, सुनेँ । सो भिडियो दृश्यमा भएको तस्विरसम्म मेरो हो । सोमा भएको शब्द आवाज मेरो होइन, मलाई फसाउने नियतले सो शब्द को कसले रेकर्ड गरेका हुन् मलाई थाहा छैन । बरामदी मुचुल्कामा उल्लिखित नगद तथा परिचय पत्र मेरो शरीर साथबाट बरामद गरिएको होइन । अभियोग फाँटबाट डर त्रास धम्की दिई ना.सु. केदारप्रसाद अर्याललाई बरामदी मुचुल्कामा सहिछाप गर्न लगाएका हुन् । उजुरीकर्ता संजय झाले गरेको बयान व्यहोरा सबै झुठ्ठा आरोप र कपोलकल्पित कुराहरू मात्र हुन । अनुसन्धानको क्रममा मलाई मानसिक दबाबमा पारी उक्त भिडियोमा भएको शब्द आवाज मेरो हो भनी जबरजस्ती लेखाएका हुन् । म निर्दोष, इमान्दार, कर्तव्यनिष्ठ र नोकरी अवधिसमेत सकिनै लागेको व्यक्तिलाई झुठ्ठा आरोप लगाएको हुँदा उचित न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर थापाको अदालतमा गरेको बयान ।
प्रतिवादी केदारप्रसाद अर्यालले विशेष अदालतमा गरेको बयान
म करिब १ वर्ष अघि जि.स.व.का. काठमाडौंको ना.सु.पदमा सरूवा भई आएको हुँ । मिति २०७१।३।१९ को संजयकुमार झाको उजुरी निवेदनमा उल्लिखित मानिसलाई हाजिर जमानीमा छाडिदिने सम्बन्धमा मैले निजसँग रकम मागेको पनि छैन, लिएको पनि छैन, उजुरी झुठ्ठा हो । मिति २०७१।३।२२ गते बिहान म कार्यालयमा कामकाज गरिरहेको अवस्थामा उजुरीकर्ता रामबहादुर थापा सरको कोठामा आई बसी गफ गरी जाँदा मलाई जबरजस्तीरूपमा निज व्यक्तिले पैसा गन्नुस् भनी दिई रू.२५,०००।– (पच्चीस हजार रूपैयाँ) छाडि गएकोमा केही क्षणमै टोलिहरू कार्यालयभित्र प्रवेश गरी रामबहादुर सरलाई म कार्यरत कोठामा ल्याई जबरजस्ती उक्त पैसा बरामद गरी बरामदी मुचुल्कामा सहिछाप गर्न लगाई लिई गएको हो । मेरो मानिस छोड्ने हैसियत र अधिकार पनि होइन छैन । उजुरवालाले के कारणबाट मेरो नामसमेत उल्लेख गरेका हुन् मलाई थाहा छैन । मिसिलसाथ पेस भएको भिडियोमा देखिएको तस्विर मेरो हो, आवाज मेरो होइन । मलाई फसाउने नियतले योजनावद्धरूपमा रकम मेरो हातमा थमाई थमाउने बित्तिकै बरामद गरी मलाई पक्राउ गरिएको हो । मलाई मानसिक दबाब दिई अनुसन्धानमा बयान दिन बाध्य पारेका हुन, सहिछाप मेरो आफ्नै हो । मलाई फसाउने नियतले कानूनको कार्यविधिसमेत पूरा नगरी झुठ्ठा आरोप लगाइएको हुँदा खारेज गरी न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी केदारप्रसाद अर्यालले विशेष अदालतमा गरेको बयान ।
विशेष अदालतको मिति २०७१।३।२९ को आदेश
प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादीहरू रामबहादुर थापा र केदारप्रसाद अर्यालबाट विशेष अदालत ऐन, २०५९को दफा ७(घ) बमोजिम जनही रू.२५,०००।– (पच्चीस हजार रूपैयाँ) धरौट माग गरिएको छ । सो धरौट रकम नगदै वा सो खाम्ने जेथा जमानी दिनसके लिई तारेखमा राखी सो दिन नसकेमा कानूनबमोजिम सिधा खाने गरी अ.बं. १२१ नं. अनुसार थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने गरी मुलुकी ऐन अ.बं. १२४(ग) नं. अनुसार यो आदेश पर्चा गरिदिएको छ । आरोप पत्रसाथ दाखिला भएको रकम धरौटीमा आम्दानी बाँध्नु र प्रतिवादी चुक्ता भइसकेकोले आरोपपत्रमा उल्लेख भएका साक्षीहरू विशेष सरकारी वकिल कार्यालयमार्फत र प्रतिवादीका साक्षी प्रतिवादीहरूबाटै उपस्थित गराई काठमाडौं जिल्ला अदालतमा कारवाही चलेको चोरी मुद्दाको मिसिल छलफल पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनु र मिसिल संलग्न सि.डि.को संवादको लेखबद्ध भएको लिखत प्रतिवादीहरूलाई सनाखत गराई सो व्यहोरा स्वीकार गरे सोही व्यहोरा जनाई राख्नु र स्वीकार नगरे दुवै पक्षको रोहबरमा उक्त सि.डि. लेखबद्ध गरी मिसिल सामेल गर्नु भन्ने विशेष अदालतको मिति २०७१।३।२९ को आदेश ।
प्र.रामबहादुर थापाका साक्षी राजाराम घिमिरेको बकपत्र
प्रतिवादी रामबहादुर थापा राम्रो चालचलन भएको सहयोगी र मिलनसार मानिस हुनुहुन्छ । म सोही कार्यालयमा कार्यरत रहेको हुँदा उहाँले आजसम्म कामको सिलसिलामा कोही कसैसँग रकम मागेको मलाई थाहा छैन । उक्त भिडियो र आवाज सबै कृतिम हो, प्रतिवादी रामबहादुर थापाको होइन, प्रतिवादी रामबहादुर थापालाई षड्यन्त्रपूर्वक संजयकुमार झाले उजुरी दिएको हो, प्र. रामबहादुर थापाले कुनै रिसवत घुस नलिएको हुँदा निजप्रतिको झुठ्ठा आरोप हो । निज निर्दोष हुँदा सफाई पाउनु पर्दछ भन्नेसमेत व्यहोराको प्र.रामबहादुर थापाका साक्षी राजाराम घिमिरेको बकपत्र ।
प्रतिवादी केदारप्रसाद अर्यालका साक्षी राम थापाले विशेष अदालतमा गरेको बकपत्र
प्रतिवादी केदारप्रसाद अर्याल अनुशासित कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुन् । उहाँ दैनिकरूपमा बिहान चाँडै आई काम गर्नुहुन्थ्यो । प्रस्तुत मुद्दामा निजको कुनै संलग्नता छैन, योजनाबद्धरूपमा निजलाई फसाउने उद्देश्यले यो घटना गराएकोले कसुरबाट सफाई हुनुपर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी केदारप्रसाद अर्यालका साक्षी राम थापाले विशेष अदालतमा गरेको बकपत्र ।
वादीका साक्षी अनिल कार्कीले गरेको बकपत्र
मिति २०७१।३।२२ गते भएको बरामदी मुचुल्काको मेरो अगाडी भएको सहिछाप मेरै हो । उक्त दिन बिहान करिब ८ बजे म कार्यालयमा आई सो दिनको अदालती मुद्दाहरूको अध्ययन गरी बसेको थिएँ, साथीहरू रामबहादुर, केदार र अन्य स्टाफहरू पनि आइसक्नु भएको थियो । करिब ८.४५ बजेतिर अर्को कोठामा निकै होहल्ला सुनी के रहेछ भनी हेर्दा त्यहाँ १५/२० व्यक्तिहरूले रामबहादुर थापा र केदार अर्याललाई घेरी टि.भि. क्यामेरा खिचिरहेका थिए, अगाडिको टेबलमा रूपैयाँ थियो, मैले टोलीसँग परिचय माग्दा हामी अख्तियारबाट आएका हौं भन्नुभयो । मैले कार्यालय प्रमुखलाई जानकारी गराएँ । को कसको साथबाट रकम बरामद भएको हो मैले देखिन, उक्त पैसा के कुन तरिकाले कसबाट आएको हो मलाई थाहा छैन भन्नेसमेत व्यहोराको वादीका साक्षी अनिल कार्कीले गरेको बकपत्र ।
वादीका साक्षी रविन ढुङ्गेलले विशेष अदालतमा गरेको बकपत्र
मिति २०७१।३।२२ को खानतलासी बरामदी मुचुल्कामा भएको सहिछाप मेरो हो, उक्त बरामदी मुचुल्का मलाई पढीबाची सुनाइएको थिएन, समाचार संकलन गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको हुँदा मलाई अन्य जानकारी भएन, म क्यामरा पर्सन होइन उक्त भिडियो मैले खिचेको होइन भन्नेसमेत व्यहोराको वादीका साक्षी रविन ढुङ्गेलले विशेष अदालतमा गरेको बकपत्र ।
वादीका साक्षी अक्कल बहादुर कुवँरले अदालतमा गरेको बकपत्र
मिति २०७१।३।२२ गतेको खानतलासी बरामदी मुचुल्कामा भएको सहिछाप मेरै हो । उक्त बरामदी मुचुल्का पढीबाची सुनाइएको थियो । बरामदी रकम मागेर दिएको हो वा जबरजस्ती दिएको हो मलाई कुनै जानकारी छैन । सगरमाथा टेलिभिजन अफिसले मलाई सो स्थानमा पठाएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी अक्कलबहादुर कुँवरले अदालतमा गरेको बकपत्र ।
वादीका साक्षी कृष्णजङ्ग शाहले गरेको बकपत्र
मिति २०७१।३।२२ को खानतलासी बरामदी मुचुल्कामा भएको सही मेरो हो । उक्त दिन बिहान म अफिसमा पुग्दा अपरिचित ८।१० जना व्यक्तिहरूलाई देखेपछि सोधपुछ गर्दा उनीहरूले अख्तियारबाट आएको भनी आफ्नो परिचय दिए, अफिसको ९ नं. कोठामा पुग्दा टेबलमा पैसा थियो, पैसा बरामद भएको मैले देखेको होइन, कार्यालय प्रमुखको नाताले रोहबरमा बसिदिनुस् भनेकोले मुचुल्काको रोहबरमा सहिछाप गरिदिएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी कृष्णजङ्ग शाहले गरेको बकपत्र ।
उजुरीकर्ता संजयकुमार झाले गरेको बकपत्र
मिति २०७१।३।१९ मा दिएको उजुरी भ्रष्टाचार विरूद्धको अभियान नेपालबाट मैले नै संस्थागतरूपमा गरेको हुँ उक्त उजुरीसँग दृश्यसहितको सि.डि. पेस गरेको छु र २०७१।३।२४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भएको बयान पनि मेरै हो । चोरी मुद्दामा उत्तम खड्कालाई हाजिरी जमानीमा छाड्न काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका रामबहादुर थापाले घुस मागिरहेको छ भनी भगवती खड्काले मेरो संस्थामा मिति २०७१।३।१८ गते उजुरी दिएको हो । उक्त मुद्दामा मसँग भएको घुस रिसवत र रकमबारे भएको कुराकानी सबैको भिडियोदृश्य अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको छु । सरकारी वकिल रामबहादुर थापा आफैँले घुस रिसवत मागेका भन्ने भिडियो दृश्यबाट प्रष्ट
हुन्छ । प्रतिवादीहरूसँग मेरो चिनजान र कुनै रिसइवी थिएन । मिति २०७१।३।२२ गते बिहान ८ बजे म रकम लिई अख्तियारको टोलीसँगै जाँदा सरकारी वकिल कार्यालयमा भित्र सरकारी वकिल रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्याल दुवै जना थिए, रामबहादुर थापाले उत्तम खड्काको मुद्दा अदालतमा पेस भइसक्यो । तपाइँले रू.२५,०००।– दिए तपाइँको मान्छेलाई म साधारण तारेखमा निकाली दिन्छु, बहस मैले नै गर्ने हो, रकम ना.सु. केदारप्रसाद अर्याललाई दिनुहोस् भनेकाले रिसवत रकम मैले ना.सु. केदारप्रसाद अर्याललाई रामबहादुर थापाकै अगाडि दिए । त्यसपछि अख्तियारको टोली आएर बरामद गरेको हो, पछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त मुद्दा अनुसन्धान गरी अदालतमा पेस गरेको छ भन्नेसमेत व्यहोराको उजुरीकर्ता संजयकुमार झाले गरेको
बकपत्र ।
प्रतिवादी रामबहादुर थापा र केदारप्रसाद अर्यालले गरेका जिरह
अदालतको आदेशानुसार प्रमाण स्वरूप प्राप्त सि.डि. लेखबद्ध गरी मिसिल सामेल रहेको । सिडिमा उल्लिखित १ देखि ८ नं. सम्मका संवादहरू मेरो होइनन्, उजुरीकर्ताले फसाउने उद्देश्यले बनावटी दृश्य तथा संवादहरू तयार गरेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर थापा र केदारप्रसाद अर्यालले गरेका जिरह ।
विशेष अदालत, काठमाडौंको मिति २०७१।८।२४ को फैसला
प्रतिवादीहरू रामबहादुर थापा र केदारप्रसाद अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को कसुर गरेको देखिएकाले निज प्रतिवादीहरूलाई ऐ.ऐनको दफा ३(१)(क) बमोजिम जनही १(एक) महिना कैद र जनही रू.२५,०००।– (पच्चीस हजार) जरिवानासमेत हुने ठहर्छ भन्ने विशेष अदालत, काठमाडौंको मिति २०७१।८।२४ को फैसला ।
प्रतिवादी रामबहादुर थापाको पुनरावेदन पत्र
मैले बयान गर्दा भिडियोमा देखाइएको दृश्य र आवाजहरू आफूहरूको भएको भनी आफ्नो स्वेच्छाले स्वीकार गरेको होइन । अदालतमा बयान गर्दा सवाल ११, १२ को जवाफमा आवाज मेरो
होइन । सुनियोजित रूपमा फसाउनका लागि खिचिएको हो । सोमा भएको आवाज मेरो होइन भनी स्पष्टरूपमा उल्लेख गरेको छु साथै सवाल १६ को जवाफमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयानमा भिडियो क्लीपका आवाजहरू अनुसन्धान अधिकृतले दबाब दिई आफ्नै हो भनी लेख्न बाध्य पारेका
हुन् । आवाज कसको हो थाहा छैन । प्रमाणको रूपमा पेस भनिएको सि.डि. उजुरीकर्ता संजय कुमार झाले आफैँ निर्माण गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेका हुन् । भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाहेक अन्य कसैले पनि मुद्दाको अनुसन्धान र प्रमाण संकलन गर्न सक्दैन । मैले उजुरकर्ता अथवा भगवती खड्काबाट कुनै काम गर्नको लागि घुस रिसवत रकम मागेको छैन । बरामदी मुचुल्कामा जबरजस्ती सहिछाप गर्न लगाएको हो । उजुरकर्ताबाट प्रमाणस्वरूप दाखिल भएको सि.डि बनाउने र पेस गर्ने कानूनी अधिकार विपक्षीलाई नभएको अवस्थामा त्यस्तो प्रमाणले कानूनी मान्यता पाउँदैन । मैले भ्रष्टाचारजन्य कुनै कसुर गरेको
छैन । मउपरको आरोप दाबी झुठ्ठा हो भनी समग्रमा मैले कसुर नगरेको हुँदा अभियोग दाबीबाट सफाई पाउँ भनी बयान गरेको र सो बयानलाई मेरो साक्षीहरू विदुर खड्का र राजाराम घिमिरेले म निर्दोष भएको कुराको बकपत्र गरेका छन् । उजुरकर्ताले मसमेतले हाजिर जमानीमा छाड्नको लागि घुस रिसवत माग गरेको भन्ने आरोप लगाएको भए तापनि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा मिति २०७१।३।२० मा नै दायर भइसकेको अवस्थामा मैले सो मुद्दामा हाजिर जमानीमा छोड्नको लागि रकम माग गरेको भन्ने कुरा पूर्णरूपमा झुठ्ठा रहेको प्रष्ट नै छ । तसर्थ विशेष अदालतको मिति २०७१।८।२४ मा भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी वादीको आरोप मागदाबीबाट मलाई फुर्सद गरिपाउँ भन्ने प्रतिवादी रामबहादुर थापाको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी केदारप्रसाद अर्यालको यस अदालतमा परेको पुनरावेदन पत्र
उजुरकर्ता संजय झाले काल्पनिकरूपमा भगवती खड्का भन्ने व्यक्ति खडा गरी मलाईसमेत जसरी भएपनि फसाउनको लागि मात्र षड्यन्त्र गरेको भन्ने कुरा स्वतः पुष्टि भइरहेको छ । मैले अभियुक्त उत्तम खड्काको दिदीसँग घुस मागेको भए सो कुराको उजुरी निज भगवती खड्काले नै दिने थिइन्, तर निजको उपस्थिति निजको नाम उल्लेख भएको बाहेक सम्पूर्ण मिसिलमा कहीँकतै पनि देखिँदैन । घुस दिने कुरा भएको मुख्य व्यक्ति भगवती खड्कालाई अख्तियारले समेत नबुझी हचुवाको भरमा निवेदन उजुर दर्ता गरेको छ । मैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान गर्दासमेत मलाई उजुरकर्ताले सुनियोजितरूपमा फसाएको भन्ने कुरा स्पष्टरूपमा उल्लेख गरेको छु । मैले अख्तियारमा बयान गर्दा भिडियोमा देखाइएको दृश्य र आवाजहरू आफूहरूको भएको भनी आफ्नो स्वेच्छाले स्वीकार गरेको होइन । अदालतमा बयान गर्दा सवाल १४ को जवाफमा षड्यन्त्र गरेर खिचिएको हुन सक्छ, आवाज मेरो होइन, सुनियोजितरूपमा फसाउनका लागि मेरो भूमिका नभएको अवस्थामा खिचिएको हो भनी स्पष्टरूपमा उल्लेख गरेको छु । घटना घटेको भनिएको दिनभन्दा २ दिन पहिले नै काठमाडौं जिल्ला अदालतमा चोरी मुद्दा दायर भइसकेको छ । यस्तो अवस्थामा अदालतमा दायर भइसकेको मुद्दामा मैले कुनै बदनियत नराखेको प्रष्ट देखिँदा देखिँदै पनि मलाई दोषी ठहर गर्न मिल्ने हुँदा मलाई दोषी ठहर्याएको विशेष अदालतको मिति २०७१।८।२४ फैसला उल्टी बदर गरी अभियोग मागदाबीबाट सफाई पाउँ भन्ने प्रतिवादी केदारप्रसाद अर्यालको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक तथा साप्ताहिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी केदारप्रसाद अर्यालको तर्फबाट वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले पक्ष केदारप्रसाद अर्यालको मुद्दा चलाउने हैसियत र अधिकार छैन । चोरी मुद्दाका अभियुक्त उत्तम खड्काकी दिदीसँग यी प्रतिवादीले हाजिरी जमानीमा छाड्नको लागि घुस रिसवत मागेको छैनन् । भ्रष्टाचार पुष्टि हुनको लागि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ले तोकेको सर्त पूरा हुनुपर्दछ । तर प्रस्तुत मुद्दामा त्यस्तो सर्त पूरा नभएको, चोरी मुद्दा मिति २०७१/३/२० मा दायर भएको अवस्था छ । उजुरकर्ताले उक्त २० गते नै पैसा लिई दिनको लागि गएको भन्ने उल्लेख हुँदा धरौट लिनेलगायतका कार्य अदालतले गर्ने हुँदा यी प्रतिवादीलाई फसाउन योजनाबद्ध षड्यन्त्र रचेको
हो । तसर्थ यी प्रतिवादीलाई कसुरदार ठहर गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर होस् भनी बहस जिकिर प्रस्तुत गर्नुभयो । प्रतिवादी रामबहादुर थापाको तर्फबाट विद्वान् अधिवक्ता श्री कुमुदकुमार भट्टराईले भ्रष्टाचार पुष्टि हुनको लागि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ले तोकेको सर्त पूरा
हुनुपर्दछ । तर प्रस्तुत मुद्दामा त्यस्तो सर्त पूरा भएको छैन । चोरी मुद्दा मिति २०७१/३/२० मा दायर भएको छ । धरौट लिने कार्य अदालतको हो । प्रतिवादीलाई फसाउने काम भएको छ । तसर्थ यी प्रतिवादीलाई कसुरदार ठहर नगरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपदर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब यसमा प्रतिवादीहरूले आरोपित भ्रष्टाचारको कसुर गरेको हुन वा होइनन? विशेष अदालतको फैसला मिलेको छ छैन? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता पदमा रहेका प्रतिवादी रामबहादुर थापा र ना.सु. केदारप्रसाद अर्यालले चोरी मुद्दामा थुनामा रहेका उत्तम खड्कालाई हाजिरी जमानीमा छोडिदिने भनी निजकी दिदी भगवती खड्कासँग घुस मागेको भनी निज प्रतिवादीहरूका विरूद्ध उजुरवाला संजय झाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको पाइयो । सो उजुरीअनुसार आयोगबाट रामबहादुर थापालाई दिन भनी संजय झाले बुझिलिएको रू.१,०००/- दरका नोट २५ थान प्रतिवादी केदारप्रसाद अर्यालबाट बरामद भएको भन्ने मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिएको छ । सो बरामदी मुचुल्कामा पुनरावेदक प्रतिवादीहरू रामबहादुर थापा र केदारप्रसाद अर्यालसमेत रोहबरमा बसेको देखिन्छ । पुनरावेदक प्रतिवादीहरूमध्ये केदारप्रसाद अर्यालले अधिकारप्राप्त अनुसन्धान अधिकारीसमक्षको बयानमा उजुरवालाले रू.२५,०००/- गन्नुस् भनी दिई छाडी गएकोमा केही क्षणमा नै अख्तियारको टोली कार्यालयभित्र प्रवेश गरी उक्त रकम बरामद भएको हो भनी लेखाई दिएको पाइन्छ । प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रमाणमा पेस भएको भिडियोमा देखिएका दृश्य आफ्नो भएको कुरासमेत स्वीकार गरेको देखियो ।
३. पुनरावेदक प्रतिवादीहरूको आफूहरूलाई अनाहकमा फसाउने उद्देश्यले उजुर गरेको भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा उजुरीकर्ता संजय झाले यी पुनरावेदकहरूलाई फसाउनुपर्ने कुनै कारण वा पूर्वरिसइवी रहेको थियो भन्ने कुरा खुल्न आएको
पाइएन । प्रमाणको रूपमा पेस भएको सि.डि. तर्फ दृष्टिगत गर्दा पुनरावेदक प्रतिवादी रामबहादुर थापाकै कार्यकक्षमा प्रतिवादी केदारप्रसाद अर्यालले आरोपपत्रमा उल्लेख भएको रकम पटक पटक गन्ती गरी खल्तीमा राखेको देखिन आउँछ । प्रतिवादी केदारप्रसाद अर्यालले गरेको बयानबाट रकम निजको साथबाट बरामद भएको कुरा स्वीकार गरेको
देखिन्छ । उक्त बयान व्यहोरा निजको विरूद्ध प्रमाणमा लाग्ने हुन्छ । प्रमाण ऐन, २०३१ को दफा ९(१) मा “मुद्दमा कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी प्रतिवादी केदारप्रसाद अर्यालले आफ्नो साथबाट रू. २५,०००/- रकम भएको हो भनी स्वीकार गरेको कुरा निजका विरूद्ध प्रमाणमा लाग्ने नै देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(२) बमोजिम कसुर सजायबाट छुट वा कम हुनुपर्छ भन्ने जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजैमा रहन्छ । बरामदी मुचुल्काबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट उपलब्ध गराइएका नोटहरू बरामद भएको देखिएको छ र सो तथ्यलाई मिसिल संलग्न रहेको सिडिमा भएको श्रव्यदृश्यले पुष्टि गरेको छ । कुनै निर्दोष प्रयोजनले सो बरामदी रकम प्रतिवादीको साथमा रहन पुगेको भन्नेतर्फ कुनै तथ्यगत व्यहोरा खुल्न आएको देखिँदैन । बरामदी मुचुल्का, सि.डि. बाट देखिएको सव्य दृश्यलगायतका स्वतन्त्र प्रमाणबाट प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान समर्थित भएको देखियो ।
४. उजुरीकर्ता संजय झाले अदालतमा बकपत्र गर्दा “रामबहादुर थापाले उत्तम खड्काको मुद्दा अदालतमा पेस भइसक्यो, तपाइँले रू.२५,०००/- दिए तपाइँको मानिसलाई म साधारण तारिखमा निकाली दिन्छु, बहस मैले नै गर्ने हो, रकम केदारप्रसाद अर्याललाई दिनुहोस् भनेकोले रिसवत रकम मैले ना.सु. केदारप्रसाद अर्याललाई रामबहादुर थापाकै अगाडी
दिएँ । त्यसपछि अख्तियारको टोली आएर बरामद गरेको हो” भनी किटानीसाथ व्यहोरा लेखाएको पाइयो । यसबाट रिसवत रकम लिने कार्य प्रतिवादीहरू रामबहादुर थापा र केदारप्रसाद अर्याल दुवैको मिलेमतोमा भएको रहेछ भन्ने देखिन आउँदछ । अदालतबाट बुझिएका अनिल कार्की, रविन ढुंगेल, अक्कलबहादुर कुँवर र कृष्णजङ्ग शाहसमेतका बरामदी मुचुल्कामा बस्ने व्यक्तिहरूले बरामदी मुचुल्कामा भएको सहिछाप आफ्नो भएको स्वीकार गरी बकपत्र गरेका छन् । प्रतिवादीहरू कार्यरत कार्यालयका प्रमुख (जिल्ला न्यायाधिवक्ता) समेतको रोहबरमा गरिएको बरामदी मुचुल्कामा उल्लेख भएको व्यहोरामा विश्वास गर्न नसकिने कुनै मनासिब आधार र कारण प्रस्तुत हुन आएको देखिँदैन । यसबाट प्र. रामबहादुर थापाको कार्य कक्षमा निजकै उपस्थिति र रोहबरमा रिसवत लिने दिने कार्य भएको र रकम बरामद गरिएको तथ्य पुष्टि भएको देखिन्छ ।
५. सि.डी. निर्माण गर्ने र प्रमाणमा लगाउने सम्बन्धमा पुनरावेदक प्रतिवादीहरूले लिएको जिकिरतर्फ पनि केही विवेचना हुन आवश्यक
देखिन्छ । श्रव्य दृश्यलगायत विद्युतीय माध्यमबाट छायाङ्कन वा अभिलेखीकरण गर्ने प्रक्रिया तथा सोसम्बन्धी प्रमाण बुझ्ने सम्बन्धमा प्रचलित कानूनले प्रष्ट र किटानी व्यवस्था गरेको छैन भन्नेतर्कका आधारमा बरामद भएको सि.डी. लाई प्रमाणमा लिन मिल्दैन भन्ने प्रतिवादीहरूले जिकिर लिएको
पाइयो । यस सम्बन्धमा रहेको कानूनी व्यवस्थातर्फ दृष्टिगत गर्दा प्रमाण ऐन, २०३१ को दफा ३ मा “अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ” भन्ने व्यवस्था रहेको छ । यस व्यवस्थाअनुसार ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको प्रमाण बुझ्न सकिने देखिन्छ । सम्बद्ध कुरा भन्नाले मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्दछ । प्रस्तुत मुद्दामा प्रमाणको रूपमा पेस गरिएको सि.डी. बाट देखिएको अन्य दृष्यबाट रिसवत लिने दिने कार्य भएको तथ्य खुल्न आएको छ । आरोपित कसुर गरेको तथ्य समर्थित हुने व्यहोरा सि.डी. मा रहेको देखिएकाले यसलाई सम्बद्ध प्रमाण होइन भन्न
मिल्दैन । यसका अतिरिक्त प्रमाण ऐन, २०३१ को दफा ९ मा "पक्षले अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ" भन्ने व्यवस्था रहेको छ । पक्षले बोली वचनद्वारा, लेखेर, ईशाराद्वारा वा आचरणद्वारा पनि कुनै कुरा व्यक्त गरेको हुन
सक्तछ । यसरी व्यक्त गरेको कुरा यदि प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) मा व्यवस्थित प्रावधानहरूको प्रतिकूल देखिँदैन भने त्यस्तो कुरालाई प्रमाणमा लिन मिल्ने नै देखिन्छ । यस मुद्दाका सन्दर्भमा प्रमाणमा पेस हुन आएको सि.डी. उक्त दफा ९(२)(क) विपरीत हुने गरी अर्थात् यी प्रतिवादीहरूलाई निजहरूको इच्छा विरूद्ध कार्य गर्न बाध्य पारी अथवा सचेत अवस्थामा नरहेको कुराको अनुचित लाभ लिई सि.डी. तयार गरिएको थियो भन्ने तथ्य खुल्न आएको
देखिएन । सि.डी. मा रहेको व्यहोरा र मिसिल प्रमाणबाट देखिएको समग्र परिस्थितिबीच स्वभाविक र सार्थक सामन्जस्यता रहेको देखिन्छ । तसर्थ प्रमाण ऐन, २०३१ को दफा ९ मा रहेको प्रावधानका दृष्टिले पनि उक्त सि.डी.मा रहेको व्यहोरालाई प्रमाणमा ग्रहण गर्न मिल्ने नै देखियो ।
६. प्रमाण ऐन, २०३१ को दफा २२ अनुसार साक्षीले अदालतसमक्ष सनाखत गरेको मुद्दासँग सम्बन्धित जुनसुकै दशी वा चीजवस्तु प्रमाणमा लिन हुन्छ । सि.डी. पनि एक प्रकारको दशी हो । उक्त सि.डी. बाट देखिएको विवरण मुद्दासँग सम्बन्धित नै देखिएको छ । सो सि.डी.मा देखिएको तस्वीर आफ्नो हो भनी पक्ष (प्रतिवादीहरू) ले अदालतसमक्ष बयान गर्दासमेत स्वीकार गरेको देखिन्छ । उजुरीकर्ता (साक्षी) सञ्जय झासमेतले अदालतमा गरेको बकपत्रबाट सि.डी. को सन्दर्भ समर्थित हुन पुगेको देखिन्छ । तसर्थ प्रमाणमा आएको सि.डी. लाई दशी प्रमाणको रूपमा ग्रहण गर्न सकिने देखिन आयो ।
७. विद्युतीय माध्यमबाट संकलन गरिएका कुराहरूलाई व्यवस्थित र नियमन गर्ने सम्बन्धमा कानूनले थप प्रष्ट मार्ग निर्देशन गर्नु आवश्यक छ । यस पक्षमा खासगरी प्रमाण लिने कुरामा केही अप्रष्टता रहेको कारणबाट द्बिविधा उत्पन्न हुनसक्ने अवस्था पनि रहेको छ । तर यसको तात्पर्य सि.डी. लगायत विद्युतीय माध्यमबाट संकलित प्रमाणलाई मुद्दामा प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन भन्ने अवश्य
होइन । विज्ञान र प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास र थपिएका अनेकौ नवीनतम् आयामहरूलाई न्याय निरूपणका सन्दर्भमा अदालतले अनदेखा गर्नु हुँदैन । समसामयिक जीवन पद्धतिका अभिन्न अंगको रूपमा रहेको प्रविधिको उपयोग रहरको विषय मात्र नभएर सामाजिक सन्दर्भको वास्तविकता पनि बनेको पाइन्छ । त्यसैले विद्युतीय माध्यमबाट संकलित प्रमाण ग्रहण गर्ने कुरालाई परम्परागत लिखित वा मौखिक प्रमाणको संकुचित अर्थमा बुझी सीमित दायरामा विश्लेषण गर्नु उचित हुँदैन । प्रमाण ऐन, २०३१ को दफा ३, दफा ९ तथा दफा २२ को सिर्जनशील व्याख्या र प्रयोग आवश्यक छ । उल्लिखित प्रावधानबमोजिम सि.डी. लगायतका विद्युतीय माध्यमबाट संकलित प्रमाणलाई ग्रहण गर्न सकिने नै देखिन्छ । तसर्थ सि.डी. को व्यहोरालाई प्रमाणमा ग्रहण गरिएको सम्बन्धमा पुनरावेदक प्रतिवादीहरूले उठाएको प्रश्न मनासिब देखिएन । माथि विवेचित प्रमाणहरूबाट प्रतिवादीहरूले उत्तम खड्का भन्ने व्यक्तिलाई हाजिर जमानीमा छुटाई दिने भनी रू.२५,०००/- रिसवत लिएको तथ्य प्रमाणित भएको देखियो ।
८. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) मा “राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सोसम्बन्धी कुनै काम गर्न वा गरिदिएबापत वा नगर्न वा नगरिदिएबापत वा आफ्नो ओहदा वा सोसम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलहिजा वा अनिष्ट गर्न वा गराई दिएबापत वा नगर्न वा नगराई दिएबापत आफ्नो वा अरू कसैको निमित्त रिसवत लिएमा वा लिन मन्जुर गरेमा देहायबमोजिमको रिसवत लिनेलाई वा लिन मन्जुर गर्नेलाई कसुरको मात्राअनुसार देहायबमोजिम कैद र बिगोबमोजिम जरिवाना हुनेछ । रिसवत लिइसकेको भए सो रिसवतसमेत जफत हुनेछ” भन्ने प्रावधान रहेको छ । सो दफा ३(१) को देहाय (क) मा पच्चीस हजार रूपैयाँसम्म बिगो भएमा तीन महिनासम्म कैद" हुने व्यवस्था रहेको देखिन्छ । सोही प्रावधानबमोजिम प्रतिवादीहरूलाई जनही एक महिना कैद र पच्चीस हजार रूपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना हुने ठहर गरेको विशेष अदालतको फैसला मनासिब नै देखिन आयो ।
९. अतः माथि विवेचित आधार, कारण एवं प्रमाणबाट प्रतिवादीहरू उपरको अभियोग शंकारहित तवरबाट प्रमाणित भएको देखिएकाले पुनरावेदक प्रतिवादीहरू रामबहादुर थापा र केदारप्रसाद अर्याललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम जनही १(एक) महिना कैद र जनही रू.२५,०००/- (पच्चीस हजार रूपैयाँ) जरिवानासमेत हुने ठहर गरेको विशेष अदालत, काठमाडौंको मिति २०७१/८/२४ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू रामबहादुर थापा र केदारप्रसाद अर्यालको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत : शकुन्तला कार्की
इति संवत् २०७३ साल पौष ४ गते रोज २ शुभम् ।