निर्णय नं. ९८८३ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
फैसला मिति : २०७४।०९।१३
०७३-NF-००२५
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट, गाउँ विकास समिति लज्याङ वडा नं. ६ घर भई हाल कारागार कार्यालय काठमाडौं अन्तर्गत केन्द्रीय महिला कारागारमा थुनामा रहेकी लाक्पा देकी लामा (शेर्पा)
विरूद्ध
विपक्षी वादी : छिरिङ लाबु लामाको जाहेरीले नेपाल सरकार
अपराधीलाई दिइएको सजायबाट भविष्यमा समाजमा अरूले त्यस्तै प्रकृतिको कसुर नगरून् र समाज भयमुक्त रहोस् भन्ने दण्डको उद्देश्य भएपनि सजाय पाएको अभियुक्तले सजाय व्यतितपश्चात् समाजमा पुनर्स्थापित हुने अवस्थासमेत गराउनुपर्ने भन्ने दण्डको आधुनिक मान्यता स्थापित भएको पाइने ।
न्यायकर्ताले न्याय पार्ने उद्देश्य लिई सजायको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । यान्त्रिकरूपबाट अधिकतम सजाय गरेमा न्यायको उद्देश्य परास्त हुन जाने ।
अपमानित मनोदशामा रहेकी प्रतिवादीबाट घट्न गएको यस्तो वारदातमा अ.बं.१८८ बमोजिम ७ (सात) वर्ष सजाय हुन मानवीय र न्यायिक दृष्टिकोणबाट उपयुक्त हुने ।
(प्रकरण नं. ८)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद ढुंगेल
विपक्षी / वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गणेशबाबु अर्याल
अवलम्बित नजिर :
ने.का.प. २०६१, अंक ६, नि.नं.७३९९
सम्बद्ध कानून :
मुलुकी ऐन, अ.बं.१८८ नं.
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री भोजराज शर्मा
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय
यस अदालतमा फैसला गर्नेः
मा.न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) बमोजिम पुनरावलोकनको अनुमतिका लागि परेको निवेदनमा यस अदालतबाट पुनरावलोकनको अनुमति प्राप्त भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः-
म जाहेरवाली मृतक सार्की लामाको कान्छी श्रीमती हुँ, प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) सार्की लामाको जेठी श्रीमती हुन् । निज काठमाडौं जिल्ला जोरपाटी ३ स्थित बस्दै आएकी थिइन् । म तथा श्रीमान् सार्की लामा काठमाडौं स्वयम्भू स्थितमा बस्दै आएका थियौं । श्रीमान् कहिले प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) को कोठामा जाने गर्नुहुन्थ्यो । जोरपाटीस्थित निज लाक्पा देकी लामा (शेर्पा) को कोठामा गएको अवस्थामा श्रीमान्लाई निज प्रतिवादीले कुटपिट गर्ने गर्दथे । मिति २०६८।१।२३ गतेका बेलुका श्रीमान् सार्की लामा जोरपाटीस्थित प्रतिवादीको कोठामा आउनुभएको थियो । सो बेलुका राति अ.२३.०० बजेतिर फोनमार्फत श्रीमान् तातो तेलले डढेर घाइते भएको र स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भनेपछि मसमेत तत्काल स्तुपा सामुदायिक अस्पतालमा आई हेर्दा श्रीमान् तेलले टाउकोसमेतमा जलेर घाइते अवस्थामा देखेँ । श्रीमान्सँग सोधपुछ गर्दा लाक्पा देकी लामा (शेर्पा) ले तातो तेल खन्याई दिएको हो भन्नुभयो । घटनाबारेमा बुझ्दा श्रीमान् र श्रीमान्को दिदी ठुली लामा र अक्कलमान मोक्तानसमेत निज लाक्पा देकी लामा (शेर्पा) को कोठामा गएका र लाक्पा देकी लामा (शेर्पा) ले खाने तेल तताएर श्रीमान् सार्की लामालाई टाउकोबाट खन्याई दिएको र श्रीमान् घाइते भई उपचार गराउन अस्पताल आएका रहेछन्, श्रीमान्को उपचार हुँदाहुँदै मिति २०६८।१।२४ गतेका बेलुका मृत्यु भएको हुँदा निज लाक्पा देकी लामा (शेर्पा) लाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको छिरिङ लाबु लामाको जाहेरी दरखास्त ।
मृतक सार्की लामाको टाउको पछाडि भागबाट कपालसमेत जलेको, कपाल घुम्रिएको, टाउको पछाडिबाट दायाँबायाँ कान हुँदै दायाँबायाँ गालाको छाला जलेर निलोकालो डाम भएको, मुखसम्म छाला जलेको, छातिको भाग तथा दायाँ कुममाथि घाँटी छेउमा छाला जलेको निलोकालो डाम देखिएको, छातीमा २x२ से.मी. मा छाला पिल्सिएको, दायाँ हातको पाखुरा नाडी, पाखुरा हत्केला तथा औंलाहरूमा छाला कालोनिलो, जलेको डाम र फोकाहरू उठेको, मृतकको टाउको पछाडिदेखि तल गर्धन ढाडसम्मको भाग छाला डढेको निलोकालो डाम बायाँ खुट्टाको घुँडाको पाङ्ग्रामा २ से.मी. गोलाईमा छाला पिल्सेको भन्नेसमेत व्यहोराको लासजाँच प्रकृति मुचुल्का ।
हामीहरू अक्कलमान तामाङ र ठुलीमाया लामाको सार्की लामा क्रमशः मामा र भाइ नाता पर्दछ । हामीहरू मिति २०६८।१।२३ गतेका दिन गाउँबाट काठमाडौं सार्की लामालाई भेट्न आएका थियौं । निजको जेठी श्रीमती जोरपाटी ३ स्थितमा बस्छिन्, कान्छी श्रीमती स्वयम्भू स्थितमा
बस्छिन् । मिति २०६८।१।२३ गतेका बेलुका हामीहरूलाई सार्की लामाले निजको जेठी श्रीमतीको कोठा जोरपाटी ३ स्थितमा लिएर गएका थिए । बेलुका अं २३.०० बजेतिर हामीहरू कोठामा आइपुगेका
थियौं । कोठामा लाक्पा देकी लामा (शेर्पा) खाना बनाउँदै थिइन् । निजले तरकारी छैन भनेपछि सार्की लामा तरकारी किन्न बाहिर जान लाग्दा बाहिर पानी परिरहेको कारण छाता माग्यो । छाता छैन भनेपछि सार्की लामा त्यतिकै बाहिर गई कुखुराको मासु तरकारी लिएर आएका थिए । निज सार्की लामाले त्यत्रो छाता कता हालिस् भनेर लाक्पा देकीलाई गाली गर्न थाले । दुवै जनाबीच भनाभन भई विवाद भयो र झगडासमेत
भयो । सार्की लामाले लाक्पा देकीलाई लातीसमेतले हाने यसरी झगडा नगर्नु भनेर मैले गालीसमेत गरेँ । केहीबेर झगडा भएन, लाक्पा देकी कोठाबाहिर निस्केर गएका थिए, बाहिरबाट १ थान पोका खाने तेल ल्याएर आई किचनमा ताप्केमा हाली तताउँदै थिइन् । हामी सोही किचन कोठामा बसिरहेका थियौं । बुहारीले तरकारी पकाउन लागेकी होला भनेर त्यति वास्ता गरेनौं । सार्की लामा आफ्नै सुरमा कराउँदै थिए । सो अवस्थामा निज लाक्पा देकी लामा (शेर्पा) ले तातेको ताप्केको तेल ताप्केसहित उठाएर किचनको ढोकातिर गएकी थिइन् । निज ढोकातिर नगई एक्कासी फर्केर सार्की लामा भएको ठाउँमा आई लाक्पा देकी लामा (शेर्पा) ले हातमा बोकेकी ताप्केमा भएको तातो खाने तेल सार्की लामाको टाउकोबाट शरीरको भागमा खन्याई दियो । सोही तेलका थोपाहरूले म अक्कलमान तामाङलाई समेत पोलेको छ, सार्की लामा तेलले पोलेपछि कराउँदै बाहिर निस्केर गए, रातिको समयमा कहाँ गएको हो भन्ने हामीलाई थाहा भएन, स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको कुरा भोलिपल्ट थाहा भयो । उपचारको क्रममा निज सार्की लामाको मिति २०६८।१।२४ गतेका बेलुका अं. २२.०० बजेतिर मृत्यु भएको हो । यसरी लाक्पा देकी लामा (शेर्पा) ले सार्की लामालाई तातो खाने तेल तताएर टाउकोबाट शरीरमा खन्याई दिई सोही पीडाबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको एकै मिलानको अक्कलमान तामाङ र ठूलीमाया लामाको कागज ।
काठमाडौं जिल्ला जोरपाटी ३ पुरानो अरब बैंक स्थितमा रहेको नाम्ग्याल शेर्पाको ३ तला भएको पक्की घरको भुइँ तलाको फ्ल्याटमा लाक्पा देकी लामा (शेर्पा) ले भाडामा लिई निज लाक्पा देकी लामा (शेर्पा) समेतका परिवार बस्ने गरेको सोमध्ये उत्तर पूर्वको किचन कोठामा हेर्दा दक्षिणतर्फको भित्तामा बेसिन भएको सिमेन्टको किचन स्लाब रहेको, सो स्लाबमाथि सिलिण्डर पाइपसमेत जडान भएको ग्याँस चुलो रहेको, सो चुलोमाथि सिलिङमा काठको समाउने बिँड भएको फ्राइप्यान रहेको, किचनभित्र २ फिट उचाईको काठको र्याक रहेको सो किचन कोठामा फेला परेको फ्राइप्यान प्रहरीले उठाएको, सोही कोठाभित्र मिति २०६८।१।२३ गतेका बेलुका लाक्पा देकी लामा (शेर्पा) ले सार्की लामालाई खाने तेल तताएर टाउकोबाट शरीरमा खन्याई दिई घाइते भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
सार्की लामा मेरो श्रीमान् हो । जाहेरवाली छिरिङ लाबु लामा मेरो श्रीमान्को कान्छी श्रीमती हुन् । म तथा मेरो छोराछोरिसहित काठमाडौं जिल्ला जोरपाटी ३ स्थितमा डेरा गरी बस्दै आएका थियौं । श्रीमान् र जाहेरवाली स्वयम्भू स्थितमा बस्दै आउनु भएको थियो । श्रीमान् कहिलेकाहीँ मेरो कोठामा आउने गर्नुहुन्थ्यो । मिति २०६८।१।२३ गतेका बेलुका अं. ७ बजेतिर श्रीमान्ले फोन गर्नुभयो र कोठामा पाहुना लिएर आउँछु भनेकाले मैले खाना पकाएर बसेँ । बेलुका अं. ७.३० बजेतिर श्रीमान् जेठी सासु ठुलीमाया तामाङ र अर्का निजको ज्वाइँ नाता पर्ने आउनुभयो । तरकारी नभएको हुँदा श्रीमान्लाई मासु तरकारी लिएर आउनु भनेँ । बाहिर पानी परिरहेको हुँदा छाता खोइ भन्नु भयो । मैले छैन भने श्रीमान् पानीमा भिजेर जानुभयो र केहीबेरमा कुखुराको मासु लिएर आउनुभयो । खाने तेल कम भएको हुँदा मैले पनि बाहिर पसलबाट खाने तेल एक (१) पोका लिएर आएँ । मासुलाई रोष्ट गरी पकाएँ । मासु थालमा तारेर राखेँ । फ्राइप्यानमा रोष्ट गरेर बाँकी रहेको तेल किचनको पश्चिमतर्फ र्याकमाथि राखेकी थिएँ । श्रीमान्ले तेत्रो छाता खोइ त ? भनी मलाई निहुँ खोज्यो, हामीबीचमा विवाद भयो, श्रीमान्ले मलाई पिट्नु भयो, मैले पनि लाता मुक्काले हानेँ । हामीबीच लछारपछार हुँदा जेठी सासुले झगडा नगर भन्नुभयो । म किचनको पूर्वतर्फको भुइँमा सिलौटामा अचार पिस्दै थिएँ । त्यस बेलामा किचनको पश्चिममा र्याकमाथि रहेको काठको मुस्लो निकाल्ने क्रममा सो मुस्लो नजिकै राखेको फ्राइप्यानको तेल घोप्टीयो र तातो तेल श्रीमान्को टाउको र शरीरमा पर्यो । श्रीमान् अत्तालिएर उपचार गर्न जानुभयो । कुन अस्पताल गए तत्काल थाहा भएन । पछि फोन गर्दा सम्पर्क भएन । भोलिपल्ट स्तुपा सामुदायिक अस्पताल उपचार गराएको थाहा पाएँ, सो अस्पतालमा जाँदा जाहेरवालीसमेत आएका रहेछन् । श्रीमान्को उपचार भइरहेको थियो । मिति २०६८।१।२५ गते पुनः म श्रीमान्लाई भेट्न भनी सो अस्पतालमा जाँदा श्रीमान्को अघिल्लो बेलुका नै मृत्यु भएको रहेछ भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) को बयान ।
लाक्पा देकी लामा (शेर्पा) समेतका परिवार मेरो घरको भुइँतलामा पूरै फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । निजको श्रीमान् सार्की लामा कहिले काहीँ आउने जाने गर्दा रहेछन् । निज काठमाडौं जिल्ला स्वयम्भू स्थितमा कान्छी श्रीमतीसँग बस्दा रहेछन् । मिति २०६८।१।२३ गतेका बेलुका म आफ्नै घरमा माथिल्लो तलामा कोठामा थिए, सो बेलुका अं. ११ बजेतिर हेर्दा केही देखिन र तल भुइँ तलातिर केटा मान्छे आत्तिएर कराएको सुनेँ के रहेछ भनी बाहिर हेर्दा केही देखिन र तल भुइँतलामा आई हेर्दा लाक्पा देकी लामाको कोठा अगाडि प्यासेजमा ठूलीमाया तामाङ थियो । अर्का एकजना भाइ ट्वाइलेट बाथरूमबाट निस्कँदै थियो । लाक्पा देकी लामा पनि देखिन के भयो भनी सोध्दा निजहरूले लाक्पा देकी लामाले सार्की लामालाई खाने तेल तताएर खन्याई दियो भनेर
भनिन् । म किचनमा गई हेर्दा किचनमा चूलोमा एकातर्फ ग्याँस बलिरहेको थियो र मैले ग्याँस निभाएँ, त्यसपछि मैले पनि सामान्य होला भनेर रातिको समयमा हल्ला नगर्नुहोस् भनी आफ्नो कोठातिर आएर सुतेँ । भोलिपल्ट बिहान हल्ला खल्ला सुनेँ बेलुका लाक्पा देकी लामाले एक पोका खाने तेल तताएर सार्की लामालाई टाउकोबाट शरीरमा खन्याई दिएको र सार्की लामा घाइते भई उपचार गर्न स्तुपा सामुदायिक अस्पताल गएका रहेछन् । उपचार गराउँदा गराउँदै निजको मिति २०६८।१।२४ गतेका बेलुका मृत्यु भएको रहेछ भन्नेसमेत व्यहोराको नाम्ग्याल शेर्पाको कागज ।
म काठमाडौं जिल्ला स्वयम्भू स्थित सार्की लामाको घरको भुइँतला कोठामा भाडामा बस्दै आएको छु । मिति २०६८।१।२३ गतेका बेलुका राति अं. ११ बजेतिर सार्की लामाको कान्छी श्रीमती छिरिङ लाबु लामाले श्रीमान् तेलले जलेर बौद्ध स्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारार्थ छ रे मेरो साथी जाउँ भनेपछि मसमेत जाहेरवालीसँग बौद्ध स्थित स्तुपा सामुदायिक अस्पतालमा आएँ । अस्पतालमा ईमरजेन्सीमा सार्की लामा उपचार गराई रहेको
थियो । टाउकोसमेतमा तातो तेलले पोलेर घाइते भएको थियो । घटना कसरी भएको हो भनी सोध्दा लाक्पा देकी लामाले बेलुका राति खाने तेल तताएर खन्याई दियो भनेर भन्नुभयो । त्यसपछि घटनाका बारेमा बुझ्दा मिति २०६८।१।२३ गतेका बेलुका काठमाडौं जिल्ला जोरपाटी ३ स्थित लाक्पा देकी लामा (शेर्पा) को कोठामा निजले सार्की लामालाई तातो तेल खन्याई दिएको रहेछ, तेलले पोली उपचार गर्न उक्त अस्पतालमा आएका रहेछन् । उपचार गराउँदै मिति २०६८।१।२४ गतेका बेलुका मृत्यु भएको हो भन्नेसमेत व्यहोराको डोमा लामाको कागज ।
सार्की लामाको मृत्युको कारण Scalds भन्ने पोष्टमार्टम रिपोर्ट ।
मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का, चश्मदिद गवाह ठूलीमाया लामा र अक्कलमान तामाङको कागज, घटनास्थल प्रकृति मुचुल्का अक्कलमान तामाङको घाउजाँच केस फारम रिपोर्ट, नाम्ग्याल शेर्पा र डोमा शेर्पाको कागज र पोष्टमार्टम रिपोर्टसमेतका तथ्य आधार प्रमाणहरूबाट प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) ले मिति २०६८।१।२३ गतेका बेलुका निजको आफ्नै किचन कोठामा सार्की लामासँग विवाद, झगडा गरी मनमा रिसइवी लिई सार्की लामाको ज्यान लिने मनसायले १ प्याकेट खाने तेल फ्राइप्यानमा तताई सो तातो खाने तेलले सार्की लामाको टाउकोदेखि शरीरमा समेत खन्याई उक्त तातो तेलले पोली जली सार्की लामा गम्भीर घाइते भएकोमा उपचार गराउँदा गराउँदै निजको मिति २०६८।१।२४ गतेका बेलुका अं. २२.०० बजे मृत्यु भएकोले निज प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) ले गरेको उक्त कसुरजन्य कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. मा परिभाषित १३(३) बमोजिमको कसुर अपराध हुँदा निज प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई सोही ऐन महलको १३(३) बमोजिम सजाय हुन मागदाबी लिई सक्कल मिसिल र प्रतिवादीलाई यसै अभियोग पत्रसाथ प्रस्तुत गरिएको व्यहोरा अनुरोध गरिएको छ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
जाहेरी दरखास्त सुनी पाएँ सोको व्यहोरा झुठा हो मेरो साँचो व्यहोरा यो छ कि मिति २०६८।१।२३ गतेका दिन बेलुका मेरो कोठामा पाहुना आएकाले कुखुराको मासुको रोष्ट बनाई बाँकी रहेको तातो तेल र्याकमा राखेकी थिएँ । मेरो लोग्ने सार्की लामाले मलाई लट्ठीले कुट्न खोजी र्याकबाट लट्ठी निकाल्दा उक्त तेल उनको शरीरमा पर्न गई निज घाइते भएका हुन् । त्यसपछि मैले निजको शरीरमा चिसो पानी खन्याई दिएपछि उनी बौद्ध स्तुपामा उपचार गर्न गई सोको भोलिपल्ट निज सार्की लामाको मृत्यु भएको हो । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान सुनी पाएँ सोमा भएको सहिछाप र बयान व्यहोरा मेरो हो । अभियोग पत्र पढी बाची सुनी पाउँदा सुनी पाएँ सोमा उल्लेख भएअनुसारको मैले केही गल्ती कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) ले सुरू अदालतसमक्ष गरेको बयान ।
मिसिल संलग्न तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी कसुरदार होइनन् भन्न सकिने अवस्था नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल पुर्पक्षको लागि यी प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई मुलुकी ऐन, अ.बं.१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिने गरी मुलुकी ऐन अ.बं. १२४(ग) नं. बमोजिम यो आदेश पर्चा गरी दिएँ भन्नेसमेत व्यहोराको मिति २०६८।२।२० को थुनछेक आदेश ।
प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) ले मृतक सार्की लामालाई तेल तताएर निज मृतकको टाउकोमा तातो तेल खन्याई मारेको होइन, त्यसमा मलाई विश्वास
लाग्दैन । प्रतिवादी र मृतकबीच राम्रो सम्बन्ध थियो । निजहरूबाट झगडा भएको थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) का साक्षीहरू डोमाडिकी शेर्पा र पेम्बा शेर्पाले अदालतमा आई गरेको एकै मिलानको बकपत्र कागज ।
मृतक सार्की लामाले प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई कुटपिट गर्न खोज्दा सार्की लामा दराजमा ठोक्किन गई दराजमाथि कराईमा राखिएको तातो तेल निज सार्की लामाको टाउकोमा घोप्टन गई पोलेपछि भाइ आफैँ भागी उपचार गर्न अस्पताल गएको हो । रिसको झोँकमा मिति २०६८।१।२५ मा मैले कागज लेखाएको हो । सोमा भएको सहिछाप मात्र मेरो हो के-के लेखी सही गराए मलाई थाहा छैन भन्नेसमेत व्यहोराको घटना विवरण कागजका साक्षी ठूलीमाया तामाङले गरेको बकपत्र कागज ।
प्रतिवादीको कर्तव्यबाटै मृतकको मृत्यु भएको देखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । घटनाको अवस्था परिस्थिति तथा पूर्वरिसइवी नभएकोसमेतका आधार प्रमाणबाट यी प्रतिवादीलाई उपर्युक्तबमोजिम हदैसम्मको सजाय गर्दा चर्को हुने भई घटी सजाय हुनुपर्ने उचित देखेकोले कैद वर्ष ७ मात्र हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।५।२१ को फैसला ।
र्याकमाथि तताएर राखिएको तातो तेल पोखिएर मृतकको टाउकोमा पर्न गएको हो । यो वारदात कर्तव्य नभई दुर्घटना भएको कुरा मिसिल संलग्न कागजातबाट पुष्टि भइरहेको घटना र तथ्यको सही विवेचना तथा विश्लेषण नगरी मलाई कसुरदार ठहर गर्ने गरी भएको सुरू अदालतको फैसला फौजदारी कानून न्याय तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएकोले बदर गरी न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा दिएको पुनरावेदन जिकिर ।
यसमा मृतक सार्की लामाको मृत्यु कर्तव्यबाट भएको हो वा होइन भन्ने सम्बन्धमा प्रतिवादी लाक्पा डिकी लामा शेर्पा अनुसन्धान तथा अदालतमा समेत कसुरमा इन्कार रहेकी र प्रत्यक्षदर्शी भनिएकी मृतककी दिदी ठूलीमाया तामाङले अदालतसमक्ष गरेको बकपत्रसमेतको प्रमाणको मूल्याङ्कनको रोहमा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।५।२१ गतेको फैसला फरक पर्नसक्ने देखिँदा छलफलको निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०७०।४।२९ को आदेश ।
माथि उल्लिखित जाहेरीको व्यहोरा, लास जाँच प्रकृति मुचुल्का, घटनास्थल मुचुल्का र अनुसन्धानको क्रममा बुझिएका ठूलीमाया तामाङसमेतले गरेको कागजसमेतबाट मृतकको मृत्यु तातो तेल टाउको तथा शरीरको भागमा पर्न गई उपचारको क्रममा सोही कारणबाट स्तुपा सामुदायिक अस्पतालमा भएको भन्ने कुरामा विवाद देखिएन । अब उक्त घटना के कसरी घट्न गएको रहेछ, मृतकलाई यी प्रतिवादीले टाउकोमा तातो तेल खन्याई दिएको कारण उक्त घटना भएको हो होइन भन्नेतर्फ विचार गर्दा, मृतक र प्रतिवादी श्रीमान् श्रीमती भएको कुरामा विवाद देखिँदैन । मृतकका प्रतिवादीसहित दुई श्रीमती भएको र प्रतिवादी जेठी श्रीमती भएको कुरामा पनि विवाद देखिँदैन । वारदात भएको दिन अर्थात् मिति २०६८।१।२३ गतेका दिन मृतक यी प्रतिवादी बसेको कोठामा गएको भन्ने कुरामा पनि विवाद देखिँदैन । उक्त कोठामा घटना घट्दाको समयमा अक्कलमान तामाङ र ठूलीमाया तामाङ पनि रहे भएको भन्ने देखिन्छ । प्रतिवादीले अनुसन्धानको क्रममा र अदालतमा समेत बयान गर्दा उक्त वारदातको दिन आफ्नो कोठामा जेठी सासु र निजको ज्वाईं आएका, घरमा खाना पकाई राखेकी थिएँ । तरकारी ल्याइदिनुस् भनी श्रीमान्लाई भनेपछि पानी परेकोले पानीमा रूझ्दै श्रीमान्ले तरकारी कुखुराको मासु लिएर आउनुभयो । मैले आफैँ गएर एक लिटर तेल रोष्ट बनाउन ल्याए, रोष्ट बनाएँ । उभ्रेको तातो तेल किचनमा भएको काठको र्याकमाथि
राखेँ । श्रीमान्ले मलाई छाता किनेको कता राखिस् भन्दा सोही विषयमा धकेला धकेल मुक्कामुक्की भयो । म अचार पिस्न लागेको बेलामा मृतकले आज कि यसलाई मार्छु कि छोरालाई मार्छु भनी फ्राइप्यानसहितको सो तेल मृतकको टाउकोमा घोप्टियो । चिसो पानी
छर्केँ । त्यसपछि श्रीमान् उपचार गराउन भनी
निस्के । केहीबेरमा मैले जाहेरवाला कता हुनुहुन्छ भनी फोन गरेँ । जाहेरवालीले के मतलब भनी राखी
दियो । भोलिपल्ट श्रीमान्लाई फोन गर्दा स्तुपा सामुदायिक अस्पतालमा उपचार गराउँदै छु भन्नुभयो । जाहेरवाली र निजका आफन्त पनि
थिए । मलाई श्रीमान्सँग भेट गर्न दिएन । भोलिपल्ट मिति २०६८।१।२५ गते अस्पतालमा जाँदा ऐ. २४ गते बेलुका नै श्रीमान्को मृत्यु भएको रहेछ भनी बयान गरेको पाइन्छ । प्रतिवादीको उक्त बयानबाट पनि मृतकको मृत्यु तातो तेल टाउकोमा पर्न गएको कारणबाट नै भएको हो भन्ने देखिन्छ । अस्पतालबाट झिकाइएको मिसिल संलग्न कागजबाट पनि मृतकको मृत्यु तातो तेलले पोलेको कारणले उपचार हुँदाहुँदै मृत्यु भएको हो भन्ने देखिन्छ ।
मृतकको मृत्यु प्रतिवादीले नै तातो तेल टाउकोमा खन्याएको कारणले भएको हो वा प्रतिवादीको बयानमा उल्लेख गरे जस्तो फ्राइप्याननजिक राखेको आलु कुट्ने मुस्लो तान्ने क्रममा फ्राइप्यानसहितको मृतकको टाउकोमा घोप्टिएको कारणले भएको हो भन्नेतर्फ विचार गर्दा घटनास्थल तत्काल रहेका मानिसहरूले मौकामा माथि उल्लेख गरेअनुसार गरेको कागजबाट यी प्रतिवादीले नै तेल खन्याएको भन्ने देखिन्छ । मिति २०६८।१।२३ मा तातेको तेल टाउकोमा परेको कारण ऐ. २४ गते मृतकको मृत्यु भएको कुरामा विवाद देखिँदैन ।
घटनास्थलको प्रकृति, लास जाँच प्रकृति मुचुल्का, मौकामा घटना देख्ने व्यक्तिहरूले गरेको माथि तथ्य खण्डमा उल्लिखित कागजहरूबाट यी प्रतिवादीले नै मृतकको टाउकोमा तातो तेल खन्याई दिएको भन्ने नै पुष्टि हुन आएको देखिँदा सुरू जिल्ला अदालतले यी प्रतिवादीलाई कसुरदार ठहर गर्दा उल्लेख गरेको आधार प्रमाणलाई अन्यथा भन्न मिल्ने देखिन आएन । सुरू जिल्ला अदालतले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम ७ वर्ष मात्र सजाय गर्नको लागि राय लगाएको तर्फ विचार गर्दा यी प्रतिवादी र मृतकका बीचमा तत्काल झगडा पर्न गएको भन्ने माथि उल्लिखित तत्काल वारदातस्थलमा भएका मानिसहरूले गरिदिएको कागजबाट देखिन्छ । वारदात हुनुभन्दा अगाडि मासु पकाई खान खोजेको अवस्था देखिन्छ । लोग्ने स्वास्नीको बीचमा मृतक लोग्नेलाई मार्नु नै पर्नेसम्मको अवस्था मिसिलबाट देखिएको छैन । तैपनि मार्ने व्यक्ति यी प्रतिवादी नै हो भन्ने माथि विवेचित आधार प्रमाण र परिस्थितिबाट देखिएकोले अपराध हुँदाको सम्पूर्ण अवस्थालाई विचार गर्दा कसुरदार यी प्रतिवादीलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुनेजस्तो देखी सुरू जिल्ला अदालतले अ.बं. १८८ नं. बमोजिम ७ वर्ष मात्र कैद हुनका लागि लगाएको रायलाई परिवर्तन गर्नुपर्ने अवस्था
देखिएन । यसरी माथि उल्लेख गरेअनुसार सुरू जिल्ला अदालतबाट भएको फैसलालाई परिवर्तन गर्नुपर्ने सम्मको अवस्था देखिएन । पुनरावेदक प्रतिवादीले कसुरमा इन्कारी छु, अदालतमा वादी पक्षले प्रमाण पेस गर्न सकेको छैन । सुरूको फैसला नमिलेकोले बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको माथि तथ्य खण्डमा उल्लिखित लिएको जिकिरतर्फ हेर्दा यी प्रतिवादीको पति मृतक तातो तेलकै कारण मरेकोमा विवाद छैन । परिस्थितिजन्य प्रमाणबाट त्यो तातो तेल यी प्रतिवादीले नै खन्याएको भन्ने देखिन आएको
छ । मौकामा कागज गर्ने व्यक्तिहरूले त्यही कुरा भनेका छन् । निजहरूको मौकाको कागजलाई विश्वास गर्नपर्ने अवस्था देखिएको छ । जाहेरवालीले अदालतमा बकपत्र गर्न नआए पनि ती चश्मदिद गवाह नभएको हुँदा र अन्य प्रमाणको आधारमा कसुर ठहर भएकोले यी प्रतिवादीको माथि उल्लिखित पुनरावेदन जिकिर र निजको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताले गर्नुभएको बहस जिकिरसँग सहमत हुन सकिएन ।
तसर्थ, माथि विवेचना गरिएको जाहेरीको व्यहोरा, लास जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, मौकामा बुझिएका मानिसले गरेको कागज, यी प्रतिवादीले स्वीकार गरेका तथ्यसमेतका आधार प्रमाणबाट सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम ७ वर्षको कैद हुनको लागि राय लगाई गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०७०।८।१८ को फैसला ।
प्रस्तुत मुद्दामा म पुनरावेदिका प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) को वारदातमा कुनै संलग्नता छैन भनी घटनाको यथार्थ सत्य विवरण मौकामा नै बयान क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको र अदालतसमक्ष बयान गर्दासमेत सोही यथार्थ सत्य साँचो व्यहोरा खुलाई बयान गरेको अवस्था छ । मबाट उक्त वारदातमा मृतकको ज्यान लिने किसिमको कुनै कार्य भएको थिएन, छैन । उक्त वारदातमा मैले मृतकलाई तेल खनाएको भन्ने कुरा कुनै प्रमाणले पुष्टि छैन । उक्त घटना एक दुःखद् दुर्घटना मात्र हो । सो दुर्घटनापश्चात् मृतकलाई तेलले पोलेकोमा उक्त पोलेको ठाउँहरूमा मैले हत्तपत्त चिसो पानी हालिदिएको अवस्था थियो । यदि मृतकलाई मैले मार्ने नियतले तेल खनाएको भए मृतकलाई पोलेको ठाउँमा किन चिसो पानी हाली माया दया दर्साउने थिएँ र सोतर्फ न्यायकर्ताले ध्यानदृष्टि दिएको पुर्याएको अवस्था
छैन । तरकारी पकाई बाँकी रहेको र्याकमा राखिएको तेलमा मृतक आफैँ ठोक्किएर उक्त तेल निजको टाउको तथा शरीरमा आफैँ पोखिएकोमा सोतर्फ विचार नगरी मृतकलाई मार्नकै लागि तेल तताएको र खन्याई दिएको भन्ने हचुवा र अनुमानको भरमा न्यायकर्ता भावनामा बगी एकाङ्की भई आत्मनिष्ट किसिमले सुरूको फैसलालाई यथावत् सदर गरेको पुनरावेदन अदालत, पाटनको उक्त फैसला कानून, व्यवहार र न्यायका मान्य सिद्धान्तसमेतको विपरीत रहेको छ ।
प्रस्तुत मुद्दामा पुनरावेदिका प्रतिवादीलाई प्रहरीले पक्राउ गरी ल्याएको अवस्था नभई म आफैँ नै महानगरीय प्रहरी वृत्त बौद्धमा पतिको अवस्था बुझ्न गएको थिएँ । यदि मैले मृतकलाई नियतवश उक्त वारदात घटाएको भए म भाग्ने उम्कने थिएँ । त्यहाँ जाहेरवाली सौताले जाहेरी दिई निजले नै मलाई प्रस्तुत मुद्दामा षड्यन्त्रपूर्वक फसाइएको कुरा बुझिएका व्यक्ति ठूलीमाया तामाङले अदालतमा उपस्थित भई गरेको बकपत्रबाट समेत पुष्टि भएको अवस्था एकातिर छ भने अर्कोतिर निज जाहेरवालीलाई बकपत्रका लागि अदालतबाट पटकपटक अ.बं. ११५ नं. बमोजिम झिकाउँदासमेत निज उपस्थित नभएको र अदालतबाट निजलाई रू.५०।– जरिवानासमेत हुनुले पनि सो जाहेरी झुट्ठा भएको पुष्टि हुन्छ । मृतकले सामान्य कुरामा विवाद गरेको र उक्त विवादमा सामान्य भनाभन भएको र त्यहाँ भएका पाहुनाले झगडा नगर भनेपछि आफू चुप लागेर अचार पिस्न बसेकोमा मादक पदार्थसमेत सेवन गरेका मृतक नै किचन र्याकमा रहेको आलु पिस्ने मुस्लोले मलाई पिट्नका लागि झिक्ने क्रममा आफैँ एक्कासी ठोक्किई फ्राइप्यानमा तरकारी पकाएर बाँकी रहेको तातो तेल पोखिन गई मृतकलाई पोली उपचारका लागि निज स्वयं नै बौद्ध पीपलबोट स्थित स्तुपा सामुदायिक अस्पताल गएको हो जुन कुरा मैले मौकामा र अदालतमा समेत बयानमा खुलाएको छु । अभियोग दाबीबमोजिम निज मृतकलाई मार्नकै लागि भनी मैले पूर्व तयारीका साथ बजारबाट तेल ल्याई तताई मृतकको शरीरमा खनाई दिएको होइन । जुन कुरा सरासर झुट्ठा हो । जाहेरी दरखास्तमा जे भन्यो त्यो नै एक मात्र प्रमाण होइन । त्यसलाई मात्र प्रमाणमा लिन नमिल्ने भनी धेरै सिद्धान्तहरू प्रतिपादन भएका छन् । मृतकलाई मार्नुपर्नेसम्मको कुनै मनसाय, पूर्वरिसइवी, तयारिसमेत केही छैन । सो कुरा पुष्टि हुने कुनै ठोस, वस्तुनिष्ठ प्रमाण अभियोजन (वादी) पक्षले पेस दाखिला गर्न सकेको अवस्था
छैन । सो पुष्टि गर्ने दायित्व प्रमाण ऐन, २०३१ को दफा २५ ले वादीको हुने प्रष्ट कानूनी व्यवस्था छ । मौकामा बुझिएका व्यक्तिले गरेको कागजलाई प्रमाणमा लिन मिल्दैन किनकी उक्त कागज गर्ने व्यक्तिले अदालतमा आई बकपत्र गरेको अवस्था छैन । केवल शंकाको भरमा किचेनको र्याक र मानिसको हाइटलाई तुलना गरी दाँजी हचुवा किसिमले सतहीरूपमा तेल पोखिन नसक्ने भनी अनुमान गरी घटनाको समग्र अवस्था र परिस्थितिको समेत समुचित मूल्याङ्कन र विश्लेषण नै नगरी हचुवाका आधारमा अभियोग दाबीबमोजिमको हदैसम्मको सजाय सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।५।२१ मा भएको फैसलालाई नै यथावत सदरै गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०७०।८।१८ मा भएको फैसला त्रुटिपूर्ण भएको प्रष्टै हुँदा उक्त फैसला उल्टी भई अभियोग दाबीबाट सफाई पाउनु पर्दछ ।
म निर्दोष व्यक्तिमाथि जाहेरवाली सौताले आफ्नो प्रतिशोध साँध्नका लागि हचुवाका भरमा मेरो विरूद्धमा रिसइवीकै कारणले जाहेरी दिएको र उक्त जाहेरी व्यहोरालाई अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गरेकी छैन । त्यसैगरी प्रत्यक्षदर्शीका रूपमा रहेको बुझिएका मानिसहरू मध्येकी ठूलीमाया तामाङले अदालतमा उपस्थित भई वारदातमा मैले मृतकलाई तातो तेल हालेको होइन भनी प्रष्टरूपमा गरेको बकपत्रबाट खुलाएको कुरासमेतको परिस्थितिजन्य प्रमाणतर्फ न्यायकर्ताले ध्यानदृष्टि नै नदिई केवल यान्त्रिक किसिमले भावनामा बगी मानवीय संवेदना एवं विवेकपूर्ण किसिमले न्यायको रोहमा फैसला गर्नुपर्नेमा मुद्दाको तथ्य तथा प्रमाणहरूको समुचित मूल्याङ्कन नै नगरी म जस्तो अबला, निर्दोष महिलालाई कर्तव्य ज्यान जस्तो गम्भीर फौजदारी मुद्दामा ऐनबमोजिम हदैसम्मको सजाय गर्ने गरी भएको फैसला नै यथावत् सदर भएको पुनरावेदन अदालत, पाटनबाट भएको फैसलासमेत मिलेको छैन ।
प्रस्तुत मुद्दामा मेरातर्फका साक्षीहरू तथा चश्मदिद गवाहकीरूपमा रहेकी ठूलीमाया लामाले बकपत्र गर्दा प्रष्टरूपमा मृतकलाई मैले नै तेल खनाई दिएको नभई मृतक स्वयम् नै किचेनको र्याकमा राखेको तातो तेल घोप्टिई मृतकलाई पोलेको र दुर्घटना भएको सत्य यथार्थ कुरालाई न्यायकर्ताबाट मनन नगरी बेवास्ता भएको अर्थात् उक्त वारदातमा चश्मदिद गवाहको रूपमा रहेकी ठूलीमाया तामाङको बकपत्रसमेतको प्रत्यक्ष प्रमाणलाई अवमूल्यन भई मलाई कर्तव्य ज्यान जस्तो गम्भीर संगीन फौजदारी अपराधमा अनुमान र हचुवाकै भरमा कसुरदार ठहर गरी हदैसम्मको सजाय गर्नु न्याय, कानून तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भई त्रुटिपूर्ण, कानून प्रतिकूलको उक्त फैसलाहरू उल्टी गरी प्रस्तुत पुनरावेदन जिकिरबमोजिम उक्त अभियोग दाबीबाट सफाई दिलाई पाउनु पर्दछ ।
अतः प्रस्तुत मुद्दामा म पुनरावेदिका प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेको, घटनाको व्यहोरा अधिकारप्राप्त अधिकारी तथा सम्मानित अदालतसमक्ष समेत तथ्यमा कुनै फरक नपारी कसुरमा पूर्ण इन्कार रही बयान गरेको, मेरो उक्त इन्कारी बयान गरेको कुरालाई मेरातर्फका साक्षी तथा चश्मदिद गवाहका रूपमा उक्त मितिका दिन मृतकसँग पाहुना लाग्न आएकी ठूलीमाया तामाङसमेतले अदालतसमक्ष उपस्थित भई बकपत्र गरी मृतक मेरो भाइ हुन्, निज आफैँ नै र्याकमा ठोक्किएको र तेल घोप्टिई निज मृतकलाई पोली उक्त दुर्घटना भई दुःखद् निधन भएको भनी गरेको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण नै नगरी मलाई हदैसम्म सजाय गर्ने गरेको फैसला नमिलेको, जाहेरी दिने जाहेरवाली पटकपटक अदालतबाट बोलाउँदासमेत अटेर गरी सत्य कुरा खुल्ने डरले बकपत्रका लागि अदालतमा उपस्थित भएकोसमेत अवस्था छैन । अदालतमा उपस्थित नभएकै कारण निजलाई रू.५०।– जरिवानासमेत भएको अवस्था छ । मृतकलाई मार्ने नियत भएको भए घटनापश्चात् तत्काल निज मृतकलाई चिसो पानी खन्याई दिएको अवस्था छ । तसर्थ मिसिल संलग्न सम्पूर्ण कुराहरूले मैले नै वा मेरै कर्तव्यबाट मृतक पतिको मृत्यु भएको भन्ने कुनै ठोस सबुद प्रमाणको अभावमा केवल शंका तथा अनुमानकै भरमा न्यायकर्ता कठोर बनी फैसला गरेको अवस्था छ, जुन त्रुटिपूर्ण अन्यायपूर्ण छ । माथिका प्रकरणमा लिएका जिकिरहरू तथा शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेत विपरीत भएको काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।५।२१ मा भएको फैसलालाई यथावतै सदर कायम गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०७०।८।१८ मा भएको फैसला कानून, फौजदारी न्यायका मान्य सिद्धान्तहरू प्रतिकूलको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई दिलाई न्याय पाउँ भन्ने व्यहोराको प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) को पुनरावेदन जिकिर ।
प्रस्तुत मुद्दामा प्रतिवादीले मृतकउपर तातो तेल खन्याई दिएको भन्ने व्यहोरा लेखाउने ठूलीमाया तामाङले अदालतमा बकपत्र गर्दा मृतक सार्की लामाले प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई कुटपिट गर्न खोज्दा सार्की लामा दराजमा ठोक्किन गई दराजमाथि कराईमा राखिएको तातो तेल निज सार्की लामाको टाउकोमा घोप्टन गई पोलेपछि भाइ आफैँ भागी उपचार गर्न अस्पताल गएको हो । रिसको झोँकमा मिति २०६८।१।२५ मा मैले कागज लेखाएको हो । सोमा भएको सहिछाप मात्र मेरो हो के-के लेखी सही गराए मलाई थाहा छैन भनी लेखाउनु भएकी हकमा माथि नै भनियो र्याकमा रहेको तेल मृतकको टाउको आदि माथिल्लो भागमा पोखिने कुरा परिस्थितिजन्य प्रमाण र स्वाभाविक अनुमानयोग्य छैन । मौकाको कागज रिसको झोँकमा लेखाएकी भन्ने निज ठूलीमायाको जिकिरको हकमा कोसँग कुन कुरामा रिस उठ्यो सो खुल्दैन । मृतककै कारणले तेल खसेको भए मृतकसँग पो रिस उठ्नु पर्थ्यो । त्यस्तो अवस्थामा प्रतिवादी विरूद्ध कागज किन गर्नु पर्यो विचारणीय छ । साक्षी ठूलीमायाको कागज घटनाक्रमसँग सिलसिलाबद्धरूपमा आबद्ध छ जबकि निजको बकपत्र घटनाक्रमसँग बिलकुल मेल खाँदैन । यस अवस्थामा सुरू र पुनरावेदन अदालतले झैं यो अदालत पनि निजको बकपत्रलाई अविश्वसनीय मान्दछ ।
प्रतिवादीको मौकाको र करिब करिब सोही मिलानको अदालतको बयानमा श्रीमान् अत्तालिएर उपचार गर्न जानुभयो कुन अस्पताल गए तत्काल थाहा भएन । पछि फोन गर्दा सम्पर्क भएन । भोलिपल्ट स्तुपा सामुदायिक अस्पताल उपचार गराएको थाहा पाएँ, सो अस्पतालमा जाँदा जाहेरवालीसमेत आएका रहेछन् । श्रीमान्को उपचार भइरहेको थियो । मिति २०६८।१।२५ गते पुनः म श्रीमान्लाई भेट्न भनी सो अस्पतालमा जाँदा श्रीमान्को अघिल्लो बेलुका नै मृत्यु भएको रहेछ भनी उल्लेख भएको व्यहोराबाट मृतकउपर तातो तेल परेपछि प्रतिवादीले मृतकको उपचारमा कुनै चासो लिएकी देखिँदैन ।
मिसिलका यी सबै वस्तुस्थितिले प्रतिवादी विरूद्धको अभियोग दाबीलाई प्रमाणित गरेको र सो प्रमाणहरू असङ्गत रहेको भनी प्रतिवादीले प्रतिप्रमाण गुजार्न सकेको नदेखिएकोले पुनरावेदन अदालत, पाटनसमेतको फैसला उल्टी गरी सफाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । प्रतिवादीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०७०।८।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
जहाँसम्म घटनाको अवस्था, परिस्थिति तथा पूर्वरिसइवी नभएको समेतका आधार प्रमाणबाट यी प्रतिवादीलाई कैद वर्ष ७ मात्र हुने ठहर्छ भन्ने सुरू र पुनरावेदन अदालतले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम व्यक्त गरेको रायको सवाल छ मुलुकी ऐन अ.बं. १८८ नं. आकर्षित हुनुपर्छ भन्ने प्रतिवादीले वारदात घट्ने एक वा महत्त्वपूर्ण कारण मृतकको व्यवहार भएको कुराको पुष्टि गर्नु अनिवार्य हुन्छ । वारदात घट्नुमा मृतकको गल्ती र पीडित त्यसबाट निर्णायक हिसाबले प्रभावित भएको पनि देखिनै पर्छ । मृतकको गल्ती र प्रतिवादीको प्रतिक्रियाबीच सन्तुलन मिल्नु पनि आवश्यक हुन्छ । पति पत्नीका बीचमा घरायसी कुरामा सोधपुछ र विवाद हुने कामकुरा सामान्य व्यवहारभित्र पर्छ । त्यसक्रममा यदाकदा झगडा र कहिलेकाहीँ शारीरिक कुटपिट पनि हुन सक्छ । तर त्यसको प्रतिक्रिया यो हदसम्म हुनु
भएन । मृतकले प्रतिवादीलाई कुटपिट आदि गरी हेरविचार नगरेको र प्रतिवादीले सबैथोक सहेर बसेकी देखिँदैन । यिनी अलग्ग फ्ल्याट लिएर बसेकी छिन् । विवादको क्रममा यीनले पनि मृतक श्रीमान्लाई कुटेकी छिन् । कुरा बराबरीमा थियो । प्रतिवादीबाट मृतकउपर छलपूर्वक तातो तेल खन्याउने काम हुनु भनेको धोखा हो । आपराधिक मनसाय हो । तातो तेलले जिउ पोलेपछिको पीडाको वर्णन शब्दबाट हुँदैन । यो भनेको निक्कै यातनापूर्ण मृत्यु हो । त्यसपछि पनि प्रतिवादीले मृतकलाई कुनै हेरविचार गरेकी देखिँदैन । अन्तिम समयसम्म मृतकलाई आफूले तातो तेल खन्याएकी होइन आफैँं पोखिएको हो भनी अदालतलाई ढाँट्ने काम भएको छ । के आधारमा राय लगाउने? अतः प्रतिवादीलाई कैद वर्ष ७ हुने भनी पुनरावेदन अदालत, पाटनसमेतले व्यक्त गरेको रायसँग सहमत हुन सकिएन भन्ने यस अदालतबाट मिति २०७२।८।७ मा भएको फैसला ।
म प्रतिवादीले अनुसन्धान र अदालतसमक्ष भएको यथार्थ व्यहोरा खुलाई बयान गरेको मैले मृतकलाई तेल खन्याएको भन्ने कुनै प्रमाणबाट पुष्टि भएको छैन । मासु रोष्ट गरी बचेको बाँकी तेल र्याकमा राखेको अवस्थामा तेल आफैँ पोखिएर पोलेको शरीरमा मैले चिसो पानी हालिदिएको अवस्थालाई विचार नै नगरी मृतकउपर छलपूर्वक तातो तेल खन्याउने काम हुनु भनेको धोखा हो । आपराधिक मनसाय हो र यातनापूर्ण मृत्यु हो भनी कसुर ठहर गरी पुनरावेदन अदालतबाट फैसला भई अ.बं. १८८ नं. बमोजिम ७ वर्ष कैद गर्ने गरी भएको फैसलालाई उल्टी गरी सफाई पाउनु
पर्दछ । चश्मदिद गवाहको रूपमा रहेकी ठुलीमाया लामाले बकपत्र गर्दा मृतक स्वयम् नै किचेन र्याकमा ठोकिँदा तातो तेलले पोलेको भनी गरेको बकपत्रलाई प्रमाणमा लिनुपर्नेमा नलिएको, मेरो कर्तव्यबाट मृतक पतिको मृत्यु भएको भन्ने प्रमाण केही नभएको, वादी पक्षले प्रमाण पुर्याउन नसकेको अवस्थामा शंकाको सुविधा प्रतिवादीले पाउने फौजदारी न्यायको सिद्धान्तविपरीत मलाई कसुरदार ठहर गरी भएको सम्मानित अदालतको मिति २०७२।८।७ को फैसला उल्टी गरी सफाई पाउन पुनरावलोकनको अनुमति पाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावलोकनको निवेदन ।
यसमा मौकामा कागज गर्ने ठुलीमाया तामाङले अदालतमा बकपत्र गर्दा प्रतिवादी लाक्पा देकी लामा शेर्पाले बयान गरेको कुरालाई नै समर्थन हुने गरी बकपत्र गरिदिएको र जाहेरवालीलाई अ.बं. ११५ नं. बमोजिम झिकाउँदासमेत अदालतमा आई बकपत्र गरी आफ्नो जाहेरी व्यहोरालाई समर्थन गर्न सकेको अवस्था देखिँदैन भने अन्य वस्तुनिष्ठ प्रमाणबाट वादीको दाबी प्रमाणित भएको अवस्थासमेत विद्यमान नदेखिँदा राम अयोध्या सहनीको जाहेरीले नेपाल सरकार विरूद्ध फटक भन्ने अनुप सहनीसमेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०६५, अंक ४ नि.नं. ७९५३) मा प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिएकोले साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) र प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ११(१)(ख) को अवस्था विद्यमान रहेकोले पुनरावलोकनको अनुमति प्रदान गरिएको छ । विपक्षीलाई सोको सूचना दिई नियमबमोजिम गर्नु भन्ने यस अदालतबाट मिति २०७३।१०।१४ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।
पुनरावेदिकाका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेलले मृतक र्याकमा ठोक्किँदा र्याकमा रहेको तातो तेल पोखिएर निजको टाउकोसमेतमा परेबाट निजको मृत्यु भएको भनी प्रतिवादीले मौकामा र अदालतमा बयान गर्नु भएकी छ । प्रतिवादी र्याकमा ठोक्किएबाट निजको टाउको लगायतको अंगमा तातो तेल परेको भनी अदालतमा गरेको बकपत्रसमेतबाट वादीले अभियोग दाबीलाई शंकारहित तवरबाट प्रमाणित गर्न सकेको छैन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा पुनरावेदिका प्रतिवादीलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैद गरेको सुरू अदालतको फैसला र त्यसलाई सदर गरेको पुनरावेदन अदालत, र यस अदालतबाट सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहरी भएको फैसला उल्टी गरी पुनरावेदिकालाई सफाई दिलाई पाउँ भनी बहस गर्नुभयो । प्रत्यर्थी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री गणेशबाबु अर्यालले प्रतिवादीले आफ्नो श्रीमान्लाई कुखुराको रोष्ट बनाउन भनेर श्रीमान्ले ल्याइदिएको तेल तताई श्रीमान्लाई खन्याएको तथ्य स्थापित भएको छ । प्रतिवादीले जिकिर लिए जस्तै र्याकबाट तातो तेल पोखिई श्रीमान्लाई पोलेको अवस्था भए यी प्रतिवादीले आफैँले उपचार गराउन लग्नु पर्नेमा सो गरेको नदेखिएको, वारदातको भोलिपल्ट हस्पिटल पुगेको भने पनि उपचारमा संलग्न रहेको अवस्था नदेखिँदा यस अदालत संयुक्त इजलासबाट कसुरदार ठहर गरी भएको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
सुरू र पुनरावेदन अदालतले अभियोग दाबीबमोजिम प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसुरमा सोही १३(३) नं. बमोजिम सजाय गरी ७ वर्ष कैद हुने भनी व्यक्त भएको राय सदर नभई यस अदालतबाट कसुर ठहर गरी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरी अ.बं.१८८ नं. बमोजिम रायसँग सहमत हुन सकिएन भनी भएको फैसलाउपर पुनरावलोकनको निवेदनमा अनुमति प्राप्त भई पेस भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
प्रस्तुत मुद्दामा प्रतिवादी लाक्पा देकी (सार्की लामा) मृतकको जेठी श्रीमती भएकी, मृतक कान्छी श्रीमतीसाथ आफ्नो घर स्वयम्भूमा रहेका र प्रतिवादी जोरपाटीमा डेरा लिई बालबच्चासहित छुट्टै बसेकी, मिति २०६८।१।२३ गते बेलुकी १९.३० बजेतिर सार्की लामा जोरपाटी स्थित प्रतिवादीको कोठामा पाहुनासहित आएका र अं. २३ बजेतिर तातो तेलले पोलेको कारण उपचार हुँदाहुँदै भोलिपल्ट निजको मृत्यु भएकोमा विवाद छैन । यस सम्बन्धमा प्रतिवादी लाक्पा देकी लामा(शेर्पा) ले मृतकको ज्यान लिने मनसायले १ प्याकेट खाने तेल फ्राइप्यानमा तताई सो तातो खाने तेलले सार्की लामाको टाउकोदेखि शरीरमा समेत खन्याई मारेकी भन्ने वादीको अभियोग दाबी
देखिन्छ । फ्राइप्यानमा रोष्ट गरेर बाँकी रहेको तेल किचनको पश्चिमतर्फ र्याकमाथि राखेकी थिएँ । श्रीमान्ले छाता खोइ त भनी निहुँ खोजेपछि विवाद भएको, श्रीमान्ले मलाई पिट्नु भयो, मैले पनि लात मुक्काले हाने । हामीबीच लछारपछार हुँदा जेठी सासुले झगडा नगर भन्नुभयो । त्यसबेलामा मृतकले किचनको पश्चिममा र्याकमाथि रहेको काठको मुस्लो निकाल्ने क्रममा सो मुस्लो नजिकै राखेको फ्राइप्यानको तेल घोप्टियो र तातो तेल श्रीमान्को टाउको र शरीरमा पर्यो भन्ने प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) को मौकाको र अदालतको बयान देखिन्छ ।
मादक पदार्थसमेत सेवन गरेका मृतकले किचन र्याकमा रहेको आलु पिस्ने मुस्लो पुनरावेदिकालाई पिट्नका लागि झिक्ने क्रममा आफैँ एक्कासी ठोक्किई फ्राइप्यानमा तरकारी पकाएर बाँकी रहेको तातो तेलले मृतकलाई पोलेकोमा उक्त पोलेको ठाउँहरूमा आफूले हत्तपत्त चिसो पानी हालिदिएको, आफूले उक्त वारदात घटाएको भए भाग्नु उम्कनु पर्नेमा आफैँं महानगरीय प्रहरी वृत्त, बौद्धमा पतिको अवस्था बुझ्न गएकी, प्रत्यक्षदर्शी ठूलीमाया तामाङले मृतक मेरो भाइ हुन्, निज आफैँ नै र्याकमा ठोक्किएको र तेल घोप्टिई निज मृतकलाई पोली उक्त दुर्घटना भई दुःखद् निधन भएको भनी अदालतमा गरेको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण नगरेको, जाहेरवालीलाई बकपत्रका लागि अदालतबाट पटकपटक अ.बं. ११५ नं. बमोजिम झिकाउँदासमेत निज उपस्थित नभएको र अदालतबाट निजलाई रू.५०।– जरिवाना भएको, मृतकलाई मार्नुपर्नेसम्मको कुनै मनसाय, पूर्वरिसइवी, तयारिसमेत केही नभएको, केवल शंकाको भरमा किचेनको र्याक र मानिसको हाइटलाई तुलना गरी तेल पोखिन नसक्ने भनी हचुवाका आधारमा प्रतिवादी विरूद्ध निष्कर्ष निकाली सर्वस्वसहित जन्मकैदको सजाय गरेको यस अदालत संयुक्त इजलासको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई दिलाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर देखिन्छ ।
अब अभियोग दाबीबमोजिम यी प्रतिवादीले आफ्नै श्रीमान् सार्की लामा (मृतक) को टाउकोमा तातो तेल खन्याई दिएको कारणबाट मृत्यु भएको हो वा यी प्रतिवादीको मौका र अदालतको बयान तथा पुनरावेदन जिकिरबमोजिम तातो तेल रहेको र्याकमा मृतक ठोक्किन गई सो तेल पोखिई निजको टाउकोलगायतको ठाउँमा पोली सो कारणबाट मृतकको मृत्यु भएको हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. यी प्रतिवादीको मौकाको बयानमा "फ्राइप्यानमा रोष्ट गरेर बाँकी रहेको तेल किचनको पश्चिमतर्फ र्याकमाथि राखेकी थिएँ । श्रीमान्ले छाता खोइ त ? भनी मलाई निहुँ खोज्यो, हामीबीचमा विवाद भयो, श्रीमान्ले मलाई पिट्नु भयो, मैले पनि लाता मुक्काले हानेँ । हामीबीच लछारपछार हुँदा जेठी सासुले झगडा नगर भन्नु भयो । म किचनको पूर्वतर्फको भुइँमा सिलौटामा अचार पिस्दै थिएँ । त्यसबेलामा किचनको पश्चिममा र्याकमाथि रहेको काठको मुस्लो निकाल्ने क्रममा सो मुस्लो नजिकै राखेको फ्राइप्यानको तेल घोप्टियो र तातो तेल श्रीमान्को टाउको र शरीरमा पर्यो" भनी भएको घटनाक्रमलाई उल्लेख गरेको देखिन्छ ।
३. प्रतिवादीले आफ्नो श्रीमान्लाई सामान्य झगडाको कारण शरीरमा तातो तेल खन्याएको कारण उपचार हुन नसकी मृत्यु भएको भन्ने जिकिर भएकोमा तेल आफूले खन्याएको नभई मलाई कुट्ने मनसायले मुस्लो झिक्ने क्रममा फ्राइपेनको तेल पोखिई जिउमा परी पोलिएको जिकिर प्रतिवादीले लिएकोमा किचन कोठामा सिमेन्टको किचन स्लाब रहेको, सो स्लाबमाथि सिलिण्डर पाइपसमेत जडान भएको ग्याँस चुलो रहेको, सो चुलोमाथि सिलिङमा काठको समाउने बिँड भएको फ्राइप्यान रहेको, किचनभित्र २ फिट उचाईको काठको र्याक रहेको सो किचन कोठामा फेला परेको फ्राइप्यान प्रहरीले उठाएको भन्ने वस्तुस्थिति मुचुल्काबाट देखिँदा र्याकमा भुइँबाट २ फिटको उचाईमा रहेको तेल घोप्टिई टाउको र जिउमा पर्ने सम्भावना विश्वासयुक्त रहेको देखिएन ।
४. मिसिल संलग्न मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा "टाउको पछाडि भागबाट कपालसमेत जलेको, कपाल घुम्रिएको, टाउको पछाडिबाट दायाँबायाँ कान हुँदै दायाँबायाँ गालाको छाला जलेर निलोकालो डाम भएको, मुखसम्म छाला जलेको, छातीको भाग तथा दायाँ कुममाथि घाँटी छेउमा छाला जलेको निलोकालो डाम देखिएको, छातीमा २x२ से.मी. मा छाला पिल्सिएको, दायाँ हातको पाखुरा नाडी, पाखुरा हत्केला तथा औंलाहरूमा छाला कालोनीलो, जलेको डाम र फोकाहरू उठेको, मृतकको टाउको पछाडिदेखि तल गर्धन ढाडसम्मको भाग छाला डढेको नीलोकालो डाम बायाँ खुट्टाको घुडाको पाङ्ग्रामा २ से.मी. गोलाईमा छाला पिल्सेको" समेतको लास जाँच मुचुल्कामा र शव परीक्षण प्रतिवेदनमा देखिँदा मृतकको शरीरमा भएका घा खत २ फिटको र्याकमा रहेको तेल पोखिँदा मृतकको टाउकोमा पर्ने होइन कि खुट्टा आदि शरीरको तल्लो भागमा तेल पोखिने सम्भावना रहन्छ तर तेल मृतकको शरीरको टाउकोलगायतको माथिल्लो भागमा खसेको देखिन्छ ।
५. प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) ले तातो तेल खन्याई दिएको हो भनी श्रीमान्सँग सोधपुछ गर्दा भन्नुभयो भन्ने मृतककी कान्छी पत्नी छिरिङ लाबु लामाको जाहेरी दरखास्त देखिन्छ । लाक्पा देकीले १ थान पोका खाने तेल ल्याएर आई किचनमा ताप्केमा हाली तताउँदै थिइन् । सार्की लामा आफ्नै सुरमा कराउँदै थिए । सो अवस्थामा निज लाक्पा देकी लामा (शेर्पा) ले तातेको ताप्केको तेल ताप्केसहित उठाएर किचनको ढोकातिर गएको एक्कासी फर्केर सार्की लामा भएको ठाउँमा आई हातमा बोकेकी ताप्केमा भएको तातो खाने तेल सार्की लामाको टाउकोबाट शरीरको भागमा खन्याई दियो सोही तेलका थोपाहरूले म अक्कलमान तामाङलाई समेत पोलेको छ, सार्की लामा तेलले पोलेपछि कराउँदै बाहिर निस्केर गए, रातिको समयमा कहाँ गएको हो भन्ने हामीलाई थाहा भएन, स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको कुरा भोलिपल्ट थाहा भयो भन्नेसमेत व्यहोराको एकै मिलानको अक्कलमान तामाङ र ठूलीमाया लामाको कागज व्यहोरा रहेको
छ । मिति २०६८।१।२३ गते बेलुका अं.११ बजेतिर भुइँ तलातिर केटा मान्छे आत्तिएर कराएको सुनेँ के रहेछ भनी बाहिर हेर्दा केही देखिनँ र तल भुइँतलामा आई के भयो भनी सोध्दा ठूलीमाया तामाङ र अर्का एकजना भाइ देखेँ । लाक्पा देकी लामा पनि देखिइन् के भयो भनी सोध्दा निजहरूले लाक्पा देकी लामाले सार्की लामालाई खाने तेल तताएर खन्याई दियो भनेर भने भन्नेसमेत व्यहोराको घरधनी नाम्ग्याल शेर्पासमेतको मौकामा गरिदिएको कागजबाट समेत यी प्रतिवादीले नै मृतकलाई तातो तेल खन्याइ दिएको भन्ने तथ्य स्थापित भएको देखियो ।
६. आफू मौका र अदालतमा इन्कार रहेकी, सो इन्कारी प्रत्यक्षदर्शी ठूलीमायाको बकपत्रबाट समर्थित भएको, जाहेरवालीलगायत वादीका साक्षीले मौकाको भनाईलाई अदालतमा बकपत्र गरी समर्थन गर्नुपर्नेमा बकपत्र गर्न अनुपस्थित रहेको र मौकामा कागज गर्ने व्यक्तिहरू मध्ये ठूलीमायाबाहेक अरू व्यक्ति बकपत्र गर्न नआएको र ठूलीमायाले पनि मौकाको कागजविपरीत बकपत्र गरेकीले शंकाको सुविधा पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर रहेपनि मौकामा वारदातस्थलमा रहेका अकलमानले यी प्रतिवादीले मृतकको जिउमा तेल खन्याई दिएको र सो तेल आफ्नो जिउमा समेत परेको व्यहोराको कागज गरेकोमा अकलमानको शारीरिक जाँच हुँदा तेलबाट पोलिएको देखिएको मिसिल संलग्न रहेको घा जाँच प्रतिवेदनबाट देखिँदा निजको बकपत्र नभएपनि तेलबाट पोलिएको देखिई वारदातको पुष्ट्याई भएको देखिँदा केबल जाहेरवालीले अदालतमा उपस्थित भई मौकामा गरेको कागजलाई बकपत्र गरी पुष्टि गर्न नसकेको भन्ने यस अदालतको पुनरावलोकनको अनुमति प्रदान गरेको आदेश र प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
७. यी प्रतिवादीले तातो तेल खन्याइ दिएकै कारण मृतकको मृत्यु भएको तथ्यको पुष्ट्याईं भएकोले माथि विवेचना गरिएको जाहेरीको व्यहोरा, लास जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, मौकामा बुझिएका मानिसले गरेको कागज, यी प्रतिवादीले स्वीकार गरेका तथ्यसमेतका आधार प्रमाणबाट यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।८।७ मा प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेको फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
८. यी प्रतिवादीउपर आफ्नै श्रीमान्लाई खाना पकाउने बेलामा भएको सामान्य झगडाबाट तातो तेल खन्याई दिएको कारण श्रीमान्को मृत्यु भएको देखिई कसुर ठहर भएको र कसुरबमोजिम सजाय गर्दा सजाय चर्को पर्न जान्छ कि भन्नेतर्फ समेत दृष्टि दिनुपर्ने देखिन आयो । अपराधीलाई सजाय गर्नु दण्डको उद्देश्य हो । अपराधीलाई दिइएको सजायबाट भविष्यमा समाजमा अरूले त्यस्तै प्रकृतिको कसुर नगरून् र समाज भयमुक्त रहोस् भन्ने दण्डको उद्देश्य भएपनि सजाय पाएको अभियुक्तले सजाय व्यतितपश्चात् समाजमा पुनर्स्थापित हुने अवस्थासमेत गराउनुपर्ने भन्ने दण्डको आधुनिक मान्यता स्थापित भएको छ । यी प्रतिवादी आफ्नो ५ जना छोराछोरी लिई अलग्गै बसी जीवन निर्वाह गरेको र श्रीमान् कान्छी श्रीमतीसहित अलग्गै बसेको र वारदातका दिन श्रीमान् आफैँं पाहुनासहित आई खाना बनाउने समयमा भएको सामान्य झै-झगडाको विषयमा उत्पन्न विवादमा पाहुनाहरूकै अगाडि श्रीमतीलाई लात्तीसमेतबाट कुटपिट गरेको र त्यसपछि पनि छाता हराएको भनी गाली गर्दै बसेकोमा रिस थाम्न नसकी तातो तेल श्रीमान्लाई खन्याई दिएको कारण मृत्यु भएको देखिँदा प्रतिवादीले आफ्नो श्रीमान् पहिलेदेखि मार्नुपर्नेसम्मको कारण र मनसाय रहेको नदेखिएको, पूर्वरिसइवी पनि नदेखिएको, मृतकले कुटपिट गरेको कुरा प्रतिवादीको शारीरिक जाँचबाट पुष्ट्याईं भएको र दण्ड निर्धारण सम्बन्धमा यस अदालतबाट स्थापित भएका मापदण्डमा अपराध हुनुपर्ने परिस्थिति, पीडित पक्षको मनोभावना, विगतको आपराधिक प्रवृत्ति भए नभएको, कसैको बहकाउ वा दबाबमा अपराध नगरे नगरेको... लगायतका अवस्था हेर्नुपर्ने भनी शान्ति वि.क. विरूद्ध नेपाल सरकार भएको (ने.का.प. २०६१, अंक ६, नि.नं.७३९९) कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्तसमेतका आधारमा यी प्रतिवादीको माथि विवेचित आधारसमेत र निजको ५-५ जना सन्तान भएको र सन्तानको पालनपोषणको जिम्मेवारिसमेत यी प्रतिवादीको जिम्मामा रहेका मानवीय दृष्टिकोणसमेत अवलम्बन गरी सजाय निर्धारण गर्नुपर्ने हुँदा मुलुकी ऐन, अदालती बन्दोबस्त महलको १८८ नं. बमोजिम कैद वर्ष सात (७) हुने निष्कर्षमा पुगेको जिल्ला अदालत र पुनरावेदन अदालतका माननीय न्यायाधीशहरूको रायसँग असहमत हुन सक्ने देखिन आएन । सजाय कम गर्न नमिल्ने भनी यस अदालतका माननीय न्यायाधीशहरूको रायसँग यो इजलास सहमत हुन सकेन । न्यायकर्ताले न्याय पार्ने उद्देश्य लिई सजायको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । यान्त्रिकरूपबाट अधिकतम सजाय गरेमा न्यायको उद्देश्य परास्त हुन जान्छ । श्रीमान् (मृतक) ले अर्को विवाह गरी प्रतिवादीमाथि सौता थपेको छ भने बाहिरबाट आएका पाहुनाका अगाडि छाता हराएको भनी कुटपिट गर्नुका साथै गालीसमेत गरेको कारणबाट प्रस्तुत वारदात घटेको कुरा मिसिल संलग्न कागजातबाट देखिन आएको छ । अपमानित मनोदशामा रहेकी प्रतिवादीबाट घट्न गएको यस्तो वारदातमा अ.बं. १८८ बमोजिम ७ (सात) वर्ष सजाय हुन मानवीय र न्यायिक दृष्टिकोणबाट उपयुक्त नै भएकोले अ.बं.१८८ नं.ले प्रतिवादीलाई कैद वर्ष ७ (सात) हुने ठहर्छ । अरू कुरामा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी लाक्पा देकी लामा (शेर्पा) लाई सर्वस्वसहित जन्मकैद हुने ठहरी अदालती बन्दोबस्त महलको १८८ नं. बमोजिम कैद वर्ष सात (७) हुने ठहरेकोले निजलाई सात वर्ष कैद हुन्छ । निज प्रतिवादी मिति २०६८।१।२५ गतेदेखि थुनामा बसेको देखिँदा सोही मितिबाट कैद गणना गरी ७ वर्ष पुगेपछि थुनामुक्त हुने गरी कैद पुर्जी दिनु र काठमाडौं जिल्ला अदालतको फैसलाको तपसिल खण्डको लगत नं. १ मा राखेको लगत कट्टा गरी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनू..१
नक्कल माग्ने सरोकारवालालाई लाग्ने दस्तुर लिई नक्कल दिनू ...........२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ...............३
उक्त रायमा हामी सहमत छौं ।
न्या. दीपककुमार कार्की
न्या. केदारप्रसाद चालिसे
इजलास अधिकृतः ईश्वरीप्रसाद भण्डारी
इति संवत् २०७४ साल पुस १३ गते रोज ५ शुभम् ।