शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८८९ - अपहरण तथा शरीर बन्धक

भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७४।०५।०४

 

मुद्दाः- अपहरण तथा शरीर बन्धक

 

०७१-CR-१३८७

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं. १३ मा घर भई हाल कारागार कार्यालय पर्सा वीरगञ्जमा कैदमा बसेको पन्नालाल सहनी 

विरूद्ध

प्रत्यर्थी / वादी : अशोक अग्रवालको जाहेरीले नेपाल सरकार 

 

०७१-CR-१५६८

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ को हाल कारागार कार्यालय, पर्सा वीरगञ्जमा कैदमा रहेको कुनाल अग्रवाल 

विरूद्ध

प्रत्यर्थी / वादी : अशोक कुमार अग्रवालको जाहेरीले नेपाल सरकार 

 

०७१-CR-१६२१

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा.नं.१४ हाल वडा नं.१३ घर भई कारागार कार्यालय पर्सामा कैदमा रहेको राजन बाबु बानिया 

विरूद्ध

प्रत्यर्थी / वादी : अशोक अग्रवालको जाहेरीले नेपाल सरकार 

 

०७३-CR-०१०९

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ घर भई कारागार कार्यालय पर्सामा कैदमा रहेको सिकेन्दर यादव 

विरूद्ध

प्रत्यर्थी / वादी : अशोक अग्रवालको जाहेरीले नेपाल सरकार 

 

अपहरण तथा शरीर बन्धक लिने अपराध संगठित तवरले हुने गरकोले त्यस्तो अपराधमा प्रायः एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन्छ । यस्ता प्रकृतिको अपराधमा विभिन्न व्यक्तिहरूको विभिन्न भूमिका हुन सक्ने र मुख्य वारदात घटाउने स्थलमा वास्तविकरूपमा वारदातमा संलग्न व्यक्तिहरू भन्दा कम संख्यामा व्यक्तिहरू उपस्थित भई वारदात घटाएको हुने । तर यस्तो वारदातमा घटनास्थलमा नदेखिने व्यक्तिहरूको भूमिका गौण वा सहायक नहुने । निजहरूको भूमिका वारदात स्थलमा देखिने व्यक्तिहरूको जत्तिकै वा अझै महत्त्वपूर्ण हुने । 

(प्रकरण नं. १२)

अपहरणसम्बन्धी अपराध मानवता विरूद्धको अपराध भएको र त्यस प्रकृतिको अपराधमा संलग्न व्यक्तिहरूको पृथकपृथक भूमिका रहने हुँदा वारदात स्थलबाट पक्राउ नपर्दैमा कसुरमा संलग्न रहेको छैन भनी निष्कर्षमा पुग्न नमिल्ने ।

अपहरित नाबालकलाई उद्धार गर्ने क्रममा भएको गोली हानाहानबाट दुईजनाको मृत्यु भई नाबालकको उद्धार गरी ल्याइएको तथ्य प्रहरी कर्मचारीहरूको बकपत्रबाट समर्थित भइरहेकोमा जाहेरवाला र पीडितको बकपत्र नहुँदैमा कसुर नै स्थापित नभएको भन्न नमिल्ने । 

(प्रकरण नं. १४)

 

पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामाशिष यादव र वैतनिक अधिवक्ता शोभा कार्की

प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमा पराजुली

अवलम्बित नजिर :

सम्बद्ध कानून :  

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री अमृतबहादुर बस्नेत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य

माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा

 

फैसला

न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भई यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- 

मेरो नाति वर्ष ८ को श्‍लोक अग्रवाल मिति २०६९।१०।१३ को बेलुका ५ बजेतिर वीरगञ्ज १३ स्थित टाउन हल नजिक बालमन्दिरमा खेल्ने क्रममा हराएकोले उसको साथीहरू तथा आफ्ना आफन्त, साथी, नातेदारकहाँ सोधपुछ गर्दासमेत कहीँ कतै नरहेकोले हराएको हुँदा खोजतलास गरिपाउँ भन्‍नेसमेत व्यहोराको गोवर्धनलाल अग्रवालले जिल्ला प्रहरी कार्यालय, पर्सामा मिति २०६९।१०।१४ मा दिएको निवेदन ।

जिल्ला पर्सा, भेडिहारी गा.वि.स., वडा नं.९ स्थित रामनाथ गिरीको घरआँगनमा अर्धचेतन अवस्थामा रहेको अन्दाजी वर्ष २५ को घाइते व्यक्तिको दाहिने हातले समाती राखेको अवस्थामा कटुवा बन्दुक नाल-१ र निजले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीमा गोली ३ राउण्ड साथै अर्धचेतन अवस्थामा रहेको अन्दाजी वर्ष २२ को घाइते अर्को व्यक्तिको दाहिने हातले समाती राखेको अवस्थामा कटुवा बन्दुक नाल-१ र निजले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा गोली राउण्ड २ फेला पारी घरको कोठाको कुनामा पीडित श्‍लोक अग्रवाललाई फेला पारेको भन्‍नेसमेत व्यहोराको घटनास्थल तथा बरामदी मुचुल्का ।

अशोक अग्रवालको छोरा वर्ष ८ को श्‍लोक अग्रवाललाई अपहरणकारीले अपहरण गरी बन्धक बनाई राखेको भन्‍ने सूचनाको आधारमा मेरो कमाण्डको टोलीले मिति २०६९।१०।२२ को बिहान ४ बजेको समयमा जिल्ला पर्सा, भेडिहारी गा.वि.स., वडा नं.९ गदियानी टोलमा पुग्दा एक्‍कासी गोली फायर गरेकोले प्रहरीले पनि गोली फायर गर्दै अगाडि बढ्दै जाँदा केही व्यक्तिहरू सो घरबाट निस्की भाग्न सफल भएका र दुईजनालाई घरआँगनमा घाइते अवस्थामा तथा एकजना महिला र एकजना पुरूषलाई समेत घरआँगनमा फेला पारेको हो । फेला पारेको महिला तथा पुरूष सोही घरधनी रामनाथ गिरीको श्रीमती रम्भा देवी र छोरा अजय गिरी भनी बताएको, घाइतेहरू दुवैजनाको साथबाट गोली फायर भई खोका चेम्बरमा अड्किएको अवस्थामा रहेको कटुवा बन्दुक नाल-२ र गोली राउण्ड-५ समेत फेला परेको, सो घरको कोठाभित्र अपहरित श्‍लोक अग्रवाल फेला परेको हो । पीडित तथा पक्राउ परेका व्यक्तिहरूबाट खुल्न आएका श्‍लोक अग्रवाललाई अपहरण गर्ने कार्यमा संलग्न रहेका कुनाल अग्रवाल, राजनबाबु बानिया, पन्‍नालाल सहनी, सिकिन्दर यादव, रम्भादेवी गिरी र अजय गिरिसमेतलाई पक्राउ गरी बरामद हतियार र गोलीसमेत दाखिला गरेको छु भन्‍नेसमेत व्यहोराको प्र.नि. मनोहरप्रसाद भट्टले जिल्ला प्रहरी कार्यालय, पर्सामा पेस गरेको प्रतिवेदन ।

मेरो छोरा वर्ष ८ को श्‍लोक अग्रवाल मिति २०६९।१०।१३ दिनको १७:३० बजेबाट हराएकोमा निजलाई अपहरणकारीले अपहरण गरी बन्धक बनाई राखेकोले मिति २०६९।१०।२२ को बिहान ४ बजे प्रहरीले छोरालाई सकुशल उद्धार गरी ल्याएको 

हो । छोरालाई उद्धार गर्न प्रहरी टोली पर्सा जिल्लाको भेडियारी गा.वि.स., वडा नं. ९ मा पुग्दा अपहरणकारीले प्रहरीलाई गोली फायर गरेकोले प्रहरीतर्फबाट पनि गोली फायर भएकोमा केही अपहरणकारी भाग्न सफल भएका र दुईजनालाई घाइते अवस्थामा हातहतियारसहित फेला पारेको, घरधनी रम्भादेवी गिरी र निजकै छोरा अजय गिरिसमेतलाई नियन्त्रणमा लिएको छ । पीडित छोरालाई सकुशल उद्धार गरी ल्याएको भन्‍ने थाहा पाई आई छोरालाई भेटी बुझ्दा छोरालाई अपहरण गर्नेमा रम्भा देवी, अजय गिरी, कुनाल अग्रवाल, राजनबाबु बानिया, पन्नालाल सहनी, सिकिन्दर यादवसमेतको संलग्नता रहेको भन्‍ने बुझिएकोले कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको अशोक अग्रवालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको जाहेरी दर्खास्त ।

मिति २०६९।१०।१३ का दिन वीरगञ्ज स्थित घर अगाडि बाल मन्दिरको कम्पाउण्डमा खेली कपडा फेर्न घरमा गएको अवस्थामा काका कुनाल अग्रवालले एरोप्लेन किनी दिन्छु भनी मलाई ठाकुर राम क्याम्पसको लेडिज होस्टल पछाडिसम्म पुर्‍याई सो ठाउँमा भएका दुईजना मानिसलाई देखाई तिमीलाई यिनीहरूले एरोप्लेन किनी दिन्छन्, तिमी यिनीहरूसँग जाउँ भनी काका साइकल चढी घरतिर आउनु भएको हो । मलाई मोटरसाइलको बीचमा राखी दुवैजना मोटरसाइकलमा चढी लिएर गएको र साँझपख एउटा घरको छेउ बाटोमा पुर्‍याई एकजना निलो पाइन्ट लगाउने पुरूष व्यक्तिलाई जिम्मा दिई यसको काकालाई लिएर आउँछु भनी दुवै जना फर्की आएका हुन् । निलो पाइन्ट लगाउने मानिसले मलाई नजिकै रहेको घरमा लिएर जाँदा सो घरमा ३ जना पुरूष र एक जना महिला थिए । मैले उनीहरूलाई एरोप्लेन किनिदिनु भनेकोमा काका आउँछ, भोली बिहानै तिमीलाई एरोप्लेन किनी दिन्छु, रोए गोली हानी दिन्छु भनी सानो बन्दुकसमेत देखाएका थिए । चाउचाउ दिएकोले चाउचाउ खाँदाखाँदै टेबलेट भेटेकोले निकाली फाली दिई सोही घरमा सुतेकोमा भोलिपल्ट मेरो आमा बुबासँग पैसा माग्नुछ, आमा बुबाको सम्पर्क नम्बर माग्दा मलाई याद नभएकोले ठुलोबुबाको ९८०४२२९८१० नं. को नम्बर बताई दिएको हुँ । सो घरमा रहेकी महिलाले खाना पकाई दिने गरेकी थिइन् । मिति २०६९।१०।२२ का दिन एक्‍कासी गोली फायर भएको आवाज सुनी कुनामा लुकी बसेकोमा प्रहरी पुगी मलाई उद्धार गरी लिई आएको हो भन्‍नेसमेत व्यहोराको पीडित श्‍लोक अग्रवालले अनुसन्धानको क्रममा गरेको कागज ।

अपहरण भएको श्‍लोक अग्रवाललाई रम्भादेवी गिरीको घरमा बन्धक बनाई राखेको अवस्थामा मिति २०६९।१०।२२ गते अपहरणमुक्त गराउने क्रममा आँगनमा फेला परेको पुरूष व्यक्तिहरूको उपचारको क्रममा मृत्यु भएको, लासहरू मध्ये एउटा लास रम्भादेवी गिरीको छोरा संजय गिरीको र अर्को लास विनेश महरा (राम) को हो, हेरी चिनी सनाखत गरी दिएँ भन्‍नेसमेत व्यहोराको प्रतिवादीहरू राजनबाबु बानिया, अजय गिरी, रम्भादेवी गिरी, सिकिन्दर यादव, पन्नालाल सहनी र कुनाल अग्रवालले गरेको सनाखत कागज ।

मिति २०६९।१०।१३ का दिन मेरो छोरा संजय गिरी र एकजना केटाले बच्चा लिई मेरो घरमा आएकोले मैले "को हो? किन ल्याएको?" भन्दा हामीहरू मिली वीरगञ्जबाट माडवारीको छोरा उठाई ल्याएकोले यसलाई यहाँ बन्धक बनाई राखी यसको आमा बुबासँग पैसा मागी पैसा दिएपछि छोडी दिने र पैसा बाँडी लिने खाने भन्‍ने सल्लाह भएको छ । यो बच्चालाई खाना बनाई दिने काम तिम्रो भएकोले तिमीले पैसा पाउँछ्यौ भनेकोले मैले पनि श्‍लोक अग्रवाललाई मिति २०६९।१०।१३ को साँझदेखि मेरो घरमा बन्धक बनाई राख्दा खाना बनाई दिएको हुँ । मिति २०६९।१०।२२ का दिन बिहान म सुतिरहेको बेलामा गोली पड्केको आवाज सुनी उठी बाहिर आउँदा मेरो छोरा सञ्जय गिरी तथा छोराको साथीसमेतलाई घाइते अवस्थामा देखेकी हुँ । निजहरूको साथबाट प्रहरीले कटुवा बन्दुक र गोलीसमेत बरामद गरी बच्चाको उद्धार गरी मलाईसमेत पक्राउ गरी ल्याएको हो । घाइते छोरा र निजको साथी विनेश महराको उपचारको क्रममा मृत्यु भएको भन्‍ने कुरा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी रम्भादेवी गिरीले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

म भिष्वा बजारमा डेरा कोठा लिई त्यहीँ बसी उ.मा.वि. भिष्वा, पर्सामा ९ कक्षामा पढ्छु । मिति २०६९।१०।२१ राति ८ बजेतिर घरमा आउँदा आमा, दाई संजय गिरी, अर्को एकजना पुरूष व्यक्ति र सानो बच्चासमेत रहेकोले मैले यो बच्चा कसको हो ? किन ल्याई राखेको? भन्दा आमा, दाई र अर्को पुरूष व्यक्तिले यो बच्चाको बारेमा तिमीले जानकारी लिनुपर्ने आवश्यकता छैन भनी भनेकोले थप कुरा बुझ्न सकिन । खाना खाई सुतेकोमा मिति २०६९।१०।२२ को बिहान ४:०० बजे अँध्यारोमा एक्‍कासी गोली फायर भएको आवाज सुनी उठ्दा दाई संजय र उसको साथीले हान हान भन्दै ढोकातिर भागी दौड्दै गर्दा गोली फायर गरी बाहिर निस्किँदै गरेको देखी म डरले घरको कुनामा लुकी बसेँ । गोली फायर बन्द भएपछि बाहिर आउँदा आमा रम्भादेवी पनि घर बाहिर आई पुगेकी थिइन् । प्रहरीले आमा र मलाई नियन्त्रणमा लिएका 

हुन् । दाई संजय गिरी र निजको साथी घाइते अवस्थामा घर आँगनमा थिए । निजहरूको हातबाट प्रहरीले कटुवा बन्दुक गोलीसमेत बरामद गरी घरभित्र भएको बच्चालाई उद्धार गरी ल्याएका हुन् । प्रहरीले सोधपुछ गर्दा ती बच्चा श्‍लोक अग्रवाल रहेको भन्‍ने थाहा पाएको हुँ । निज बच्चालाई मिति २०६९।१०।१३ देखि दाई संजय गिरिसमेतले अपहरण गरी बन्धक बनाई राखेको भन्‍ने कुरा पछि मात्र थाहा पाएको हुँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी अजय गिरीले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

जाहेरवालाको छोरा श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाई राखेको वारदातमा म, पन्नालाल सहनी, राजनबाबु बानिया, कुनाल अग्रवाल, रम्भादेवी गिरी तथा संजय गिरी, विनेश महरा, सुरेश राम, विनोद राम र मोहन वर्णवालसमेतको संलग्नता छ । हामी साथीहरूले मिति २०६९।९।२० मा वीरगञ्ज स्थित बौद्धीमाई मन्दिरमा बसी सल्लाह गरी निज श्‍लोक अग्रवाललाई अपहरण गरी लगी बन्धक बनाई राखी फिरौती रकम लिई छाड्ने र पैसा बाँडी लिने खाने भनी योजना बनाई मिति २०६९।१०।१३ मा अपहरण गरी लिई गएको हो । अपहरण गर्दा मैले प्रहरीको गतिविधि बुझ्ने काम गरेको हुँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी सिकिन्दर यादवले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

साथीहरू कुनाल अग्रवाल, पन्नालाल सहनी, सुरेश राम, विनोद राम, विनेश महरा, मोहन वर्णवाल, सिकिन्दर यादव, संजय गिरी र मसमेत मिति २०६९।९।२० तिर बौद्धीमाई मन्दिरनिर बसी वीरगञ्जबाट कुनै पैसावाला मानिस अपहरण गरी फिरौती रकम लिई बाँडी खाने भन्‍ने कुराको योजना बनाएका हौं । मिति २०६९।१०।२ मा पनि हामी सबैजना सोही मन्दिरमा बसी कुनाल अग्रवालको भतिजो श्‍लोक अग्रवाललाई अपहरण गर्ने भनी सबै जनाबीच कुरा भई बच्चालाई घरबाट ल्याउने काम कुनालले गर्ने, पन्नालाल र मैले संजय गिरीको घरसम्म पुर्‍याउने, संजय गिरी र विनेश महराले बच्चालाई बन्धक बनाई राख्‍ने, अरू साथीहरूले प्रहरीको गतिविधिबारे बुझी खबर गर्ने, सुरेश रामले सो काम गर्न आवश्यक पर्ने कटुवा बन्दुक गोली तयार गर्ने भनी सल्लाह गरी सोही दिन मोहन वर्णवालको घरमा सबै जना बसी सल्लाह गरी आ-आफ्नो सम्पर्क नम्बर दिई लिई सबैजना तयारीमा बस्नु भनी घरमा गएको हौं । मिति २०६९।१०।६, ऐ.१० गते र ऐ.१२ गते पनि प्रयास गर्दा काम हुन नसकेकोले ऐ.१३ गते बिहान १०/११ बजेतिर पन्नालालले बौद्धीमाई मन्दिरमा आउनु भनी सबैजना बसी कुरा हुँदा आज काम भएन भने श्‍लोक अग्रवाल भोली भारत जाँदै छ, आज जसरी पनि काम गर्नुपर्छ भनी सल्लाह गरी बसेका थियौं । सो दिनको पौने चार बजेतिर पन्नालाल र कुनाल अग्रवालले मलाई फोन गरी मोटरसाइकल लिई ठाकुरराम क्याम्पस पछाडि ज्योतीनगर पुलमा आउनु भनेकोले म सो ठाउँमा पुग्दा पन्नालाल पनि साइकलमा पुगेको र कुनाल अग्रवालले श्‍लोकलाई पैदल लिई सो ठाउँमा आई पुगेको हुँदा पूर्व सल्लाह योजनाबमोजिम कुनाल अग्रवालले श्‍लोक अग्रवाललाई राम्रो एरोप्लेन किनी दिनु भनी हामीलाई जिम्मा लगाई निज कुनाल फर्किएका थिए । पन्नालालले श्‍लोक अग्रवाललाई मोटरसाइकलमा लगी संजय गिरीको घर छेउमा पुर्‍याई विनेश महरा र संजय गिरीलाई जिम्मा लगाउँदा पनि एरोप्लेन किनी दिँदै गर्नु यसको अंकल कुनाललाई लिई आउँछु भनी फर्की आएको हो । मेरो काम श्‍लोक अग्रवाललाई संजय गिरीको घरसम्म पुर्‍याउने जिम्मा रहेकोले पुर्‍याई घरमा आई बसेको हो । मिति २०६९।१०।२२ को बिहान श्‍लोक अग्रवाललाई प्रहरीले उद्धार गर्दा संजय गिरी र विनेश महरा घाइते भई उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले संजयको आमा र भाइ तथा मलाईसमेत पक्राउ गरी ल्याएको 

हो । श्‍लोक अग्रवाललाई अपहरण गरी मेरो आफ्नै ना.२३ प. ७०३३ नं. को मोटरसाइकलमा राखी लगेको हो । श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाई राखी रू.२५/३० लाख रूपैयाँसम्म फिरौती रकम माग्ने जिम्मा सुरेशराम र विनोदरामसमेतलाई दिएको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादी राजनबाबु बानियाले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको 

बयान ।

श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाई राख्‍ने कार्यमा पन्नालाल सहनी, राजनबाबु बानिया, सिकिन्दर यादव, रम्भा देवी गिरी, संजय गिरी, विनेश महरा, सुरेश राम, विनोद राम, मोहन वर्णवाल र मसमेतको संलग्नता छ । म तथा पन्नालालसमेतले कुनै पैसावाला व्यक्तिलाई अपहरण गरी बन्धक बनाई राखी पैसा लिई बाँडी खाने सल्लाह गरी निज पन्नालालले कुनै पैसावाला छ भने पत्ता लगाउनु भनेकोले मिति २०६९।९।२९ मा दाई अशोक अग्रवालको घरमा पुगी भेटघाट गरी आउँदा निज पन्नालालले तिम्रो दाईकै छोरा उठाई लगेपछि राम्रो पैसा आउँछ, दाईको छोरा उठाउन सजिलो पनि हुन्छ, कुनै सामान किनी दिन्छु भने बच्चा साथमा आई हाल्छ, घर बाहिर ल्याउने काम तिम्रो, अरू काम हामी गरी हाल्छौं भन्‍ने कुरा गरेका थिए । सोहीअनुसार मिति २०६९।१०।६, ऐ.१० गते, ऐ.१२ गते समय नमिलेकोले ऐ. १३ गते दिनको पौने चार बजेतिर श्‍लोक अग्रवाललाई मैले राम्रो एरोप्लेन किनाई दिन्छु भनी लिई गई पन्नालाल र राजनबाबुसँग फोन सम्पर्क गरी ठाकुरराम क्याम्पस पछाडि ज्योतिनगर पुल छेउमा पुर्‍याउँदा पन्नालाल र राजनबाबु आई पुगेकोले उनीहरूसँग भएको सल्लाहअनुसार श्‍लोकलाई अंकलहरूले राम्रो एरोप्लेन किनी दिन्छन् भनी मोटरसाइकल चढाई पठाई म घरमा आई बसेको हो । मैले श्‍लोकलाई घरबाट लिई गई उनीहरूको जिम्मा लगाएको हुँ । पैसा माग्नेलगायतका सबै काम पन्नालाल, सुरेश राम, विनोद रामसमेतको भएकोले त्यसपछि के कसो गरे मलाई थाहा भएन । श्‍लोक अग्रवाललाई बन्धक बनाई राखी रू.२५/३० लाखसम्म रकम मागी लिई बाँडी लिने खाने भनेको थियो । मिति २०६९।१०।२२ मा प्रहरीले भतिजोलाई उद्धार गरी ल्याएपछि मलाईसमेत पक्राउ गरी ल्याएको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादी कुनाल अग्रवालले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

वीरगञ्जका कुनै पैसावाला व्यक्तिलाई अपहरण गरी बन्धक बनाई पैसा लिनुपर्छ, पत्ता लगाउँदै गर्नु भनी मैले कुनाल अग्रवाललाई भनेकोमा दाईकै छोरा अपहरण गरौं भनी बौद्धीमाई मन्दिरमा बसी सबै साथीहरूबीच सल्लाह भएकोले कुनाल अग्रवालले श्‍लोक अग्रवाललाई सिर्सियाखोला एरियासम्म पुर्‍याउने, सो ठाउँबाट म र राजन बानियाले संजय गिरीको घरमा पुर्‍याउने, संजय गिरी र विनेश रामले श्‍लोक अग्रवाललाई सुरक्षित राख्‍ने, हतियारको व्यवस्था सुरेशराम र मसमेतले गर्ने, अरू साथीहरूले अपहरण गर्दा प्रहरीको गतिविधि बुझ्ने र फिरौती रकम माग्ने भन्‍ने सल्लाह भई आ-आफ्नो सम्पर्क नम्बर लिई दिई जिम्मेवारी तोकिएको थियो । मिति २०६९।१०।६, ऐ.१० र ऐ.१२ गते पनि तयारी भई अपहरण गर्ने योजना बनाएकोमा ती दिन कुनाल अग्रवालले बच्चा ल्याउन नसकेकोले मिति २०६९।१०।१३ गते १०/११ बजेतिर सबैजना बौद्धीमाई मन्दिरमा जम्मा भई मोहन वर्णवालको घरमा बसी छलफल गरी आज उठाएनौं भने भोलि श्‍लोक अग्रवालसमेत भारत जाने हुँदा आज जसरी पनि उठाउने भन्‍ने तयारी गरी करिब ४ बजेतिर कुनाल अग्रवालले मलाई फोन गरी राजनबाबु बानिया र तिमी छिटो आउ भनी भनेकोले राजन र म फोन सम्पर्क गर्दै ज्योतिनगर पुलमा पुग्दा कुनालले श्‍लोक अग्रवाललाई लिई आएको हुँदा पूर्व सल्लाह अनुसार एरोप्लेन किनी दिन्छु भनी मोटरसाइकलमा राखी म र राजनबाबुले लिई संजय गिरीको घर छेउमा पुर्‍याउँदा निज संजय गिरी, विनेश महरासमेत आई पुगेकोले निजहरूलाई पनि एरोप्लेन किनी दिनु भनी जिम्मा लगाई आएको हो । श्‍लोक अग्रवाललाई अपहरण गरी २५/३० लाख फिरौती रकम मागी बाँडी लिने खाने भनी कुरा भएको हो । पैसा माग्ने र हतियार गोलीसमेतको व्यवस्था निज सुरेश रामसमेतले नै जिम्मा लिएको थियो भन्‍नेसमेत व्यहोराको प्रतिवादी पन्नालाल सहनीले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका, वडा नं.१३ स्थित राजनबाबु बानियाको घरको प्यासेजबाट ना.२३ प ७०३३ नं. को मोटरसाइकल बरामद भएको भन्‍नेसमेत व्यहोराको बरामदी मुचुल्का ।

मिति २०६९।१०।१३ दिनको १७:०० बजेको समयमा जाहेरवालाको छोरा वर्ष ८ को श्‍लोक अग्रवाललाई कुनाल अग्रवाल, पन्नालाल सहनी, सिकिन्दर यादव, संजय गिरी, विनेश महरा चमार, विनोद राम, सुरेश राम, मोहन वर्णवालसमेतले अपहरण गरी रम्भादेवीसमेतले बन्धक बनाई राख्‍न सहयोग गरेकोमा मिति २०६९।१०।२२ को बिहान प्रहरी पुगी दोहोरो फायर भई संजय गिरी र विनेश रामसमेत घाइते भएकोमा निजहरूको नेशनल मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएको भन्‍ने थाहा पाएको हुँ । निज प्रतिवादीहरू अवैध हातहतियार साथमा राखी अपहरण गर्ने कार्यमा संलग्न भई हिँड्ने व्यक्तिहरू भएकोले निजहरू उपर कारवाही हुनुपर्छ भन्‍नेसमेत व्यहोराको श्यामप्रसाद कुर्मी, दिपेन्द्र कुमार खेतान र हरिकिशोर चौरसियाले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

मिति २०६९।१०।१३ का दिन अपहरण भएको श्‍लोक अग्रवालको उद्धार गर्न प्र.नि. मनोहरप्रसाद भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०६९।१०।२२ को बिहान ४:०० बजे जिल्ला पर्सा, भेडिहारी गा.वि.स. वडा नं.९ मा पुग्दा एक्‍कासी गोली फायर गरेकोले जवाफी गोली फायर गर्दै क्रोलिङ गर्दै रम्भादेवी गिरीको घर आँगनमा पुग्दा २ जनालाई घाइते अवस्थामा हातमा कटुवा बन्दुक, गोली तथा गोलीका खोकासमेत फेला पारी बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई सो घरबाट रम्भादेवी गिरी र अजय गिरीलाई नियन्त्रणमा लिई श्‍लोक अग्रवालको उद्धार गरेको हो भन्‍नेसमेत व्यहोराको प्र.ज.बोधबहादुर तामाङ र सुर्यबहादुर थापाले गरेको घटना विवरण कागज ।

मिसिल संलग्न गोवर्धनलाल अग्रवालको निवेदन, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, जाहेरी दरखास्त, श्‍लोक अग्रवालको कागज, लासजाँच मुचुल्का, प्रतिवादीहरूको सनाखत कागज, प्रतिवादीहरूको बयान कागज, बरामदी मुचुल्का, वस्तुस्थिति मुचुल्कासमेतका आधार प्रमाणबाट प्रतिवादीहरू कुनाल अग्रवाल, सिकिन्दर यादव, राजनबाबु बानिया, पन्नालाल सहनी, सुरेश राम, विनोद राम, मोहन वर्णवाल, रम्भादेवी गिरी र अजय गिरिसमेतले जाहेरवालाको नाबालक छोरा वर्ष ८ को श्‍लोक अग्रवाललाई अपहरण गरी लगी बन्धक बनाई राखी मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १,२ र ३ नं. को कसुर अपराध गरेकोमा निज अपहरणकारीमध्ये अजय गिरी र विनेश महराको उद्धारको क्रममा दोहोरो भिडन्तमा परी मृत्यु भएकोले निजहरूको हकमा मुलुकी ऐन, १७६ नं. आकर्षित हुने हुँदा कुनै दाबी लिई रहनु परेन । अन्य प्रतिवादीहरू कुनाल अग्रवाल, सिकिन्दर यादव, राजनबाबु बानिया, पन्नालाल सहनी, सुरेश राम, विनोद राम, मोहन वर्णवाल, रम्भादेवी गिरी र अजय गिरिसमेतले धेरैजना मिली संगठित तवरले नाबालक श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाएकोले निजहरूलाई सोही महलको ३ नं. अनुसार सजाय र ७ नं. र ९ नं. बमोजिम थप सजायसमेत गरी सोही महलको १२ नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई 

पाऊँ । साथै फरार रहेका प्रतिवादीहरू मोहन वर्णवाल, सुरेश राम र विनोद रामउपर अदालतबाट कानूनबमोजिम म्याद जारी गरिपाउँ भन्‍नेसमेत व्यहोराको अभियोग पत्र ।

मिति २०६९।१०।२१ का दिन मैले नचिनेका मानिसहरूले एकजना बच्चालाई मेरो घरमा ल्याई छोडी गएका थिए । त्यसको भोलिपल्ट मिति २०६९।१०।२२ को बिहान प्रहरी आई मलाईसमेत पक्राउ गरी लगेका हुन् । जाहेरी व्यहोरा झुठा हो । जाहेरवालाको छोरालाई अपहरण गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन । दाबीको कसुर मैले नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी रम्भा देवीले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६९।१०।२२ का दिन मेरो घरबाट प्रहरीले मलाई पक्राउ गरेको हो । मेरो दाईले बच्चा अपहरण गरी घरमा राखेको कुरा मलाई थाहा 

थिएन । म २०६९।१०।२१ को राति घरमा आई बसेको हो । उक्त घटनाबारे मलाई केही थाहा थिएन । भोलिपल्ट बिहान प्रहरी आई मलाईसमेत पक्राउ गरी ल्याएको हो । को-को व्यक्ति मिली के उद्देश्यले बच्चा अपहरण गरी घरमा ल्याई राखेको हो मलाई थाहा 

छैन । मैले अपहरण गरेको छैन । मउपरको जाहेरी व्यहोरा झुठा भएकोले मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी अजय गिरीले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

मलाई आजभन्दा ३२ दिन अगाडि वीरगञ्जको प्रगतिनगरबाट पक्राउ गरेको हो । किन पक्राउ गरेको हो थाहा छैन । मउपरको किटानी जाहेरी झुठा हो । अभियोग दाबीबमोजिमको कसुर मैले नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी पन्नालाल सहनीले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६९।१०।२२ को दिन आदर्श नगरबाट मलाई प्रहरीले पक्राउ गरेको हो । किन पक्राउ गरेको हो थाहा छैन । जाहेरी व्यहोरा गलत हो । मैले श्‍लोक अग्रवाललाई अपहरण गरेको छैन । अभियोग दाबीबमोजिमको कसुर मैले नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी सिकेन्द्र यादवले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६९।१०।२२ का दिन बिहान ७ बजे मेरो आफ्नै घरबाट मलाई प्रहरीले पक्राउ गरेकोले किन पक्राउ गरेको हो मलाई थाहा छैन । जाहेरी व्यहोरा झुठा हो । वारदात मिति र समयमा म आफ्नो पसल खोली बसेको थिएँ । वारदातमा मेरो कुनै संलग्नता नभएकोले मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी राजनबाबु बानियाले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

मलाई मेरो आफ्नै घरबाट प्रहरीले पक्राउ गरेकोले पक्राउ गरेको बारे मलाई थाहा छैन । जाहेरी व्यहोरा झुठा हो । पन्नालाल सहनी र राजनबाबु बानियासमेतलाई मैले चिनेको छैन । उक्त वारदातमा मेरो संलग्नता छैन । अभियोग दाबी झुठा भएकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कुनाल अग्रवालले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

प्रतिवादी मोहन वर्णवाल, विनोद राम र सुरेश रामको नाममा सुरू अदालतबाट जारी भएको म्याद प्रतिवादी मोहन वर्णवालको नाममा मिति २०७०।१।४ मा तथा प्रतिवादी विनोद राम र सुरेश रामको नाममा मिति २०७०।२।२९ मा तामेल भएको तामेली समाह्वान म्याद ।

जाहेरवालाको छोरा श्‍लोक अग्रवाललाई अपहरणकारीले अपहरण गरी लगेको हो होइन मलाई थाहा छैन भन्‍नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका श्यामप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

श्‍लोक अग्रवाललाई अपहरणकारीहरूले अपहरण गरी प्रतिवादी रम्भादेवीको घरमा बन्धक बनाई राखेका थिए । मसमेतको टोलीले निज श्‍लोक अग्रवाललाई अपहरणमुक्त गरेको हो भन्‍नेसमेत व्यहोराको प्रतिवेदक प्र.ना.नि. मनोहरप्रसाद भट्टले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

श्‍लोक अग्रवाललाई अपहरणकारीहरूले अपहरण गरी प्रतिवादी रम्भादेवीको घरमा बन्धक बनाई राखेका थिए । मसमेतको टोलीले निज श्‍लोक अग्रवाललाई अपहरणमुक्त गरेको हो भन्‍नेसमेत व्यहोराको मौकामा कागज गर्ने सूर्यबहादुर थापाले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६९।१०।२२ को बिहान म भेडियाहीमा अपहरण भएको बच्चालाई उद्धार गर्न गएको थिएँ । बच्चाको नाम मलाई याद भएन भन्‍नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने बोधबहादुर तामाङले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

जाहेरवालाको छोरा श्‍लोक अग्रवाललाई अपहरणकारीले अपहरण गरी लगेको हो होइन मलाई थाहा छैन भन्‍नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका व्यक्ति हरिकिशोर चौरसियाले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

यी प्रतिवादी अपहरण गर्ने बन्धक बनाउने जस्ता कार्य गर्ने खालका मानिस होइनन् भन्‍नेसमेत व्यहोराको प्रतिवादी राजनबाबु बानियाका साक्षी रामायण दासले पर्सा जिल्ला अदालतमा गरेको  बकपत्र ।

प्रतिवादी कुनाल अग्रवालले जाहेरवालाको छोरा श्‍लोक अग्रवाललाई अपहरण गरेका होइनन् भन्‍नेसमेत व्यहोराको प्रतिवादी कुनाल अग्रवालको साक्षी राजबहादुर प्रसादले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी रम्भादेवी आफ्नो घर गृहस्थी गर्ने खालकी मानिसहरू हुन् । अपहरण गरी शरीर बन्धक बनाउने कार्य गरेकी छैनन् भन्‍नेसमेत व्यहोराको प्रतिवादी रम्भादेवी र अजय गिरिसमेतका साक्षी रामउद्देश्य गिरीले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सिकेन्द्र यादव अपहरण गर्ने कार्यमा संलग्न छैनन् भन्‍नेसमेत व्यहोराको प्रतिवादी सिकेन्द्र यादवका साक्षी लक्ष्मण साहले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी पन्नालाल सहनीले अपहरण गरी जाहेरवालाको छोरालाई लगेको होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी पन्नालाल सहनीका साक्षी राधे सहनीले पर्सा जिल्ला अदालतमा गरेको बकपत्र ।

यसमा प्रतिवादीहरू सुरेश राम, विनोद राम र मोहन वर्णवाल अदालतबाट म्याद जारी हुँदासमेत हाजिर हुन नआई फरार रहेको देखिँदा वारदातमा निजहरूको संलग्नता नरहेको भए निजहरू फरार हुनुपर्ने अन्य कुनै कारण देखिँदैन । प्रतिवादीहरूले श्‍लोक अग्रवालको बाबुसँग फिरौती रकम मागी सो बाँडी खाने भनी निजहरू बीच भएको योजना, सल्लाह र सहमति र सहयोगबाट संगठितरूपमा निजहरूले गर्नुपर्ने कामको जिम्मेवारीबमोजिम मिति २०६९।१०।१३ मा ललाई फकाई श्‍लोक अग्रवाललाई अपहरण गरी लगी प्रतिवादी रम्भादेवीको घरमा राखेको अवस्थामा मिति २०६९।१०।२२ का दिन प्रहरीले श्‍लोक अग्रवालको उद्धार गरेको भन्‍ने तथ्य पुष्टि हुन आएकोले प्रतिवादीहरू कुनाल अग्रवाल, राजनबाबु बानिया, पन्नालाल सहनी, सिकेन्द्र यादव, रम्भादेवी गिरी, सुरेश राम, विनोद राम र मोहन वर्णवाललले मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं. बमोजिमको कसुर गरेको ठहर्छ । निजहरूलाई सोही महलको ३ नं. बमोजिम जनही ७(सात) वर्ष कैद र रू.५०,०००।- (पचास हजार) जरिवाना हुने साथै निजहरूले वर्ष ८ को नाबालक श्‍लोक अग्रवालालाई संगठितरूपमा अपहरण गरी बन्धक बनाएको देखिन आएकोले निजहरूलाई सोही महलको ७ नं. र ९ नं. बमोजिम २।२ वर्षका दरले जनही ४ (चार) वर्ष थप कैदसमेत हुने ठहर्छ र सोही महलको १२ नं. बमोजिम श्‍लोक अग्रवाल अपहरण भएको मिति २०६९।१०।१३ देखि निजले अपहरणबाट छुटकारा पाएको मिति २०६९।१०।२२ सम्मको जम्मा दिन १० को प्रतिदिन रू.५००।- का दरले हुन आउने जम्मा रू.५०००।- (पाँच हजार) जनही प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिबापत दिलाई भराई दिने ठहर्छ । अर्का प्रतिवादी अजय गिरीले कसुरमा इन्कार रही बयान गरेको अवस्था र जाहेरी दरखास्तमा निजको नाम विरूद्ध खण्डमा उल्लेख भए तापनि निजको भूमिकाको बारेमा केही उल्लेख हुन सकेको देखिएन । अपहरित बालक श्‍लोक अग्रवालले गरेको कागजबाट निजलाई अपहरण गर्ने कार्यमा यी प्रतिवादीको संलग्नता रहे भएको भन्‍ने देखिन 

आएन । अन्य प्रतिवादीहरूले गरेको बयानमा अपहरण गर्ने योजना, सहमति, सल्लाह र अपहरण कार्यमा समेत यी प्रतिवादीको संलग्नता रहेको भनी यी प्रतिवादीलाई पोल गरेको पनि नदेखिएकोले यी प्रतिवादीलाई कसुरदार ठहर गर्नु न्यायोचित हुने नदेखिँदा प्रमाणको अभावमा प्रतिवादी अजय गिरीले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्‍नेसमेत व्यहोराको पर्सा जिल्ला अदालतबाट भएको फैसला ।

कुनै व्यक्तिउपर अभियोग लगाउनु मात्र कसुरदार ठहर गर्न र साजय गर्नको लागि पर्याप्‍त 

हुँदैन । सो कुरा स्वतन्त्र, ठोस तथा शंकारहित प्रमाणहरूबाट पुष्टि हुनुपर्छ । प्रस्तुत मुद्दामा म प्रतिवादी पन्नालाल सहनीले जाहेरवालाको नाबालक छोरा श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाई राखेको भन्‍ने कुरा कुनै सबुद प्रमाणबाट प्रमाणित छैन । मिति २०६९।१०।१४ का दिन गोवर्धनलाल अग्रवालले खोजतलास गरिपाउँ भनी दिएको निवेदनमा म प्रतिवादी पन्नालाल सहनीसमेतले श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाई राखेको कुरा उल्लेख नगरी मेरो नाति वर्ष ८ को श्‍लोक अग्रवाल हराएको भनी उल्लेख गरेको र निज गोवर्धनलाल अग्रवाल अदालतमा साक्षीको रूपमा उपस्थित नभएको हुँदा प्रमाणको रूपमा ग्रहण गर्न नसकिने सो निवेदनसमेतलाई आधार लिइएको 

छ । मिति २०६९।१०।२२ को घटनास्थल खानतलासी तथा बरामदी मुचुल्काबाटै पनि श्‍लोक अग्रवाल फेला परेको घर मेरो नभएको उक्त घर गाउँमा म नरहेको, नभएको, बरामद भएको कटुवा बन्दुक तथा गोली मेरो नभएको, श्‍लोक अग्रवाललाई मैले अपहरण नगरेको, निज श्‍लोक अग्रवाललाई मैले उक्त गाउँ घरसम्म नपुर्‍याएको तथा मैले बन्धक नबनाएको भन्‍ने कुरा स्पष्ट हुँदाहुँदै सो घटनास्थल खानतलासी तथा बरामदी मुचुल्कालाई मेरो विरूद्धमा प्रमाण लिइएको छ । मिति २०६९।१०।२२ प्र.नि. मनोहरप्रसाद भट्टले दिनुभएको प्रतिवेदन तथा निजले अदालतमा गरेको बकपत्रमा श्‍लोक अग्रवाललाई अपहरण गर्ने वारदातमा पन्नालाल सहनीसमेत संलग्न रहेको भनी उल्लेख गरे तापनि उनको त्यस प्रतिवेदन तथा बकपत्रलाई प्रमाणमा लिन मिल्दैन । किनकी उनी प्रत्यक्ष प्रमाण होइनन् । प्रस्तुत मुद्दामा जाहेरवालाको छोरा श्‍लोक अग्रवाललाई मैले अपहरण गरी बन्धक बनाई राखेको वा अन्य कुनै किसिमले उक्त वारदातमा मेरो संलग्नता रहेको भन्‍ने कुरा यी प्रतिवेदकले प्रत्यक्षरूपमा देखेको, सुनेको वा थाहा पाएको हो भनी लेख्‍न लेखाउन नसकेकोले उक्त प्रतिवेदन तथा बकपत्रलाई मेरो विरूद्धमा प्रमाणमा लिन नमिल्ने हुँदा मलाई कसुरदार ठहर गरी सुरू अदालतबाट भएको फैसला उल्टी गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी पन्नालाल सहनीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

मउपर लगाइएको अभियोग दाबी प्रमाणित हुने कुनै पनि स्वतन्त्र प्रमाण वादी पक्षले प्रस्तुत मुद्दामा दाखिल गर्न सकेको छैन । मिति २०६९।१०।१३ का दिन बेलुका ५ बजे श्‍लोक बालमन्दिरमा खेल्ने क्रममा हराएको भनी मौखिक सूचना जिल्ला प्रहरी कार्यालय, पर्सामा मिति २०६९।१०।१४ मा जाहेरवालाको पिता गोवर्धन अग्रवालले निवेदन दिनुभएको थियो । मिति २०६९।१०।२२ मा श्‍लोक अग्रवालको पिताले जाहेरी दरखास्त दिँदा श्‍लोक अग्रवाल घरबाट अपहरण भएको भन्दै मसमेतको नाम उल्लेख गरेका छन् । मौकामा जाहेरवालाको पिताले दिनुभएको निवेदन र पछिबाट अर्थात् विलम्ब गरी नवौं दिनमा जाहेरवालाले दिएको जाहेरी दर्खास्तमा उल्लिखित व्यहोरा परस्पर एक आपसमा बाझिएको, त्यस्तो बाझिएको जाहेरीको आधारले दोषी ठहर गर्न मिल्दैन । त्यसैले सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी कुनाल अग्रवालको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

प्रतिवादी अजय गिरीकै घरमा बालकलाई अपहरण गरी १० दिनसम्म राखेको देखिन्छ । १० दिनसम्म निजको घरमा पीडित बालकलाई राख्दा निजलाई अपहरण गरेको तथा बन्धक बनाई राखेको सम्बन्धमा थाहा जानकारी रहेको भन्‍ने स्पष्ट देखिएको छ । निजका आमा तथा दाजुसमेत मिली अपहरण गरी राखेको देखिई सकेपछि निजलाई सो बारेमा केही थाहा जानकारी नहुने भन्‍ने कुरा विश्‍वासलायक देखिँदैन । निज मौकामा घटनास्थलबाट पक्राउ परेको देखिएको तथा मौकाको घटनास्थल मुचुल्काको रोहबरमा बसी सहिछापसमेत गरेको देखिन्छ । निजसमेत उपर किटानी जाहरी परेको देखिई अपहरित बालक श्‍लोक अग्रवालको कागजबाट समेत मलाई पक्राउ गर्नेमा यी प्रतिवादीको समेत संलग्नता रहेको भन्‍ने व्यहोरा लेखाई दिएको समेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट निज प्रतिवादीको समेत नाबालक श्‍लोक अग्रवाललाई अपहरण गर्ने कार्यमा संलग्न रहेको भन्‍ने प्रमाणित भएको अवस्थामा निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिने गरी भएको फैसला बदरभागी रहेको छ । यी प्रतिवादी अजय गिरी र कसुर ठहर भएका प्रतिवादीहरू समानस्तरका कसुरदार रहेको देखिएको अवस्थामा अन्य प्रतिवादीहरूलाई सजाय गरी समानस्तरका यी प्रतिवादीलाई अन्य प्रतिवादीहरू सरह सजाय गर्नुपर्नेमा सो नगरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टी गरी निजलाई समेत कसुरदार ठहर गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

जाहेरी दर्खास्त, पीडित श्‍लोक अग्रवालको कागज र अधिकारप्राप्‍त अधिकारीसमक्ष भएको भनिएको बयान कागजलाई आधार लिई मलाईसमेत कसुरदार ठहर गरी फैसला गरिएको छ । सो जाहेरी अन्य कुनै प्रमाणबाट पुष्टि भएको छैन । श्‍लोक अग्रवाललाई मैले अपहरण गरेको वा शरीर बन्धक बनाई राखेको भनी उक्त जाहेरीमा उल्लेख भएकोसमेत छैन । प्रहरीमा भएको साबितीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन । म प्रतिवादीले अभियोग दाबीअनुसारको कुनै कसुर अपराध नै गरेको होइन भनी अदालतसमक्ष ईन्कार रही बयान गरेको छु । मेरो ईन्कारी बयान वादी पक्षकै साक्षीले गरेको बकपत्रबाट प्रमाणित भइरहेको 

छ । मलाई सफाई दिने गरी फैसला गर्नुपर्नेमा सो नगरी कैद र जरिवाना गरी मबाट क्षतिपूर्तिसमेत भराई दिने ठहर्‍याएको सुरूको फैसला त्रुटिपूर्ण छ । सनाखत कागजलाई मेरो विरूद्धमा प्रमाणमा ग्रहण गर्न 

मिल्दैन । काकाले श्रिसियाको पुलसम्म पुर्‍याएपछि एरोप्लेन किनी दिन्छु भनी मोटरसाइकलमा राखेको र घरसम्म लाने व्यक्तिमध्येका यिनी पनि हुन् भनी सनाखत कागजमा उल्लेख भए पनि सो कुरा अन्य प्रमाणबाट पुष्टि भएको छैन । उक्त सनाखत कागज अ.बं. को १७३ नं. विपरीत छ । श्‍लोक अग्रवाल बरामद भएको कोठामा मेरो उपस्थिति भएको वा सो घर कोठाबाट म पक्राउ परेको वा मेरो ना.२३ प.७०३३ नं. को मोटरसाइकल बरामद भएको भन्‍ने कुरा खानतालसी तथा बरामदी मुचुल्काबाट देखिँदैन । जाहेरी पर्नुभन्दा पूर्व गोवर्धन अग्रवालले मिति २०६९।११।१४ मा दिनुभएको निवेदनमा मेरो नाउँ उल्लेख छैन । पीडित श्‍लोक अग्रवालले मिति २०६९।१०।२२ मा गरेको कागजमा मेरो नाउँ उल्लेख नभएको हुँदा मलाई कसुरदार ठहर गरेको सुरू फैसला उल्टी गरी सफाई पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी राजनबाबु बानियाको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

जाहेरवालाको छोरा श्‍लोक अग्रवालको अपहरण अपराधमा मेरो संलग्नता थिएन । मेरो संलग्नता भएको भनी कसैले भनेको पनि छैन । नाबालकलाई अपहरण गर्ने कार्यमा म संलग्न रहे भएको प्रमाणबाट पुष्टि भएको छैन । अपहरण कार्यलाई सघाउ पुर्‍याउने किसिमको कुनै कुकृत्य मैले गरेको छैन । बच्चा ल्याई राख्‍नु पर्ने कारण मलाई नबताई राखेकोले मैले बच्चालाई खाना बनाई खुवाएको 

थिएँ । खानाबाट बच्चाको स्वास्थ्यमा प्रतिकूल असर नपरेको, बच्चालाई कुटेको, दुःख दिएको, रूपैयाँ मगाउ भनी भनेको छैन । मैले कसुर गरेको भनी कुनै साक्षीले पनि नभनेकोले अपहरण कार्यमा जानिजानी मेरो संलग्नता भएको देखिने आधार प्रमाण नभई मलाई कसुरदार ठहर्‍याउने गरी सुरूबाट भएको फैसला न्यायोचित नहुँदा उल्टी गरी आरोपित कसुरबाट सफाई पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी रम्भादेवी गिरीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र । 

प्रस्तुत मुद्दामा सर्वप्रथम अनुसन्धान अधिकृतले मिति २०६९।१०।२२ मा जिल्ला पर्सा गा.वि.स. भेडिहारी वडा नं. ९ स्थित खडा गरेको घटनास्थल, खानतलासी तथा बरामदी मुचुल्कामा म प्रतिवादीको उपस्थिति छैन र मेरो रोहबरमा भएको पनि होइन । पीडित भनिएका नाबालक वर्ष ८ को श्‍लोक अग्रवालले मलाई अपहरण गरी बन्धक बनाई राख्‍ने कार्यमा मेरो संलग्नता रहेकोमा विश्‍वास लाग्छ भनी शंकाको आधारमा देखाएका मात्र छन् । सो सनाखत कागजमा निज नाबालकलाई सनाखत नै नगराई सहिछाप गर्न भन्दा मैले सहिछाप गर्न इन्कार गर्दा मलाई प्रहरी हिरासतमा कुटपिट गरी म पढ्ने लेख्‍ने व्यक्तिको हात समाती बुढी औंलाको ल्याप्चे लगाइएको छ । सो कथित सनाखत कागज कुन दर्जाको प्रहरी कर्मचारी वा कुन प्रहरी कर्मचारीले तयार गरेको हो उल्लेख नभएबाट सो सनाखत कागज सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १६(१) को विपरीत बेरीतको सनाखत कागज हो । श्‍लोक अग्रवालले जिल्ला अदालतमा उपस्थित भई बकपत्र गरे नगरेकोतर्फ समेत मूल्याङ्कन नै नगरी अभियोग दाबीबमोजिम म प्रतिवादीलाई सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रस्तुत मुद्दामा बेरीतको गैरकानूनी सनाखतको कागजको आधारमा अनुसन्धान अधिकृतले मलाई हिरासतमा राखी अधिकारप्राप्‍त अधिकारीसमक्ष म प्रतिवादी सिकेन्दर यादवलगायत अन्य सम्पूर्ण प्रतिवादीहरूलाई बयान नै नगराई निर्ममतापूर्वक कुटपिट गरी कागजमा जबरजस्ती सहिछाप गराइएको छ । पीडित भनिएका नाबालक वर्ष ८ को श्‍लोक अग्रवालसँग अनुसन्धान अधिकृतले मिति २०६९।१०।२२ मा घटना विवरणको कागज गराउँदा म प्रतिवादी सिकेन्दर यादवको उक्त अपहरण गर्ने कार्यमा यो यस्तो कार्य गरेको थियो वा निजको उपस्थिति यस प्रकारको थियो भनी भन्‍न र लेखाउन नसकेकोबाट म प्रतिवादी सिकेन्दर यादव निर्दोष रहेको प्रमाणित छ । मलाईसमेत कसुरदार ठहर गरिएको सुरू फैसला नमिलेको हुँदा मेरो हकमा उल्टी गरी सफाई पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी सिकेन्दर यादवको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

प्रतिवादीहरूले सामुहिक योजना र कार्यविभाजन तथा कार्यान्वयनका साथ ८ वर्षीय नाबालक श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाउने कसुर गरेकोमा अधिकारप्राप्‍त अधिकारीसमक्ष साबित भई परस्पर पोल गर्ने प्रतिवादीहरूको मौकाको साबितीलाई प्रतिवेदकसमेतका व्यक्तिहरूको बकपत्रले समर्थन गरिरहेको देखिन आएकोले प्रतिवादीहरू रम्भादेवी गिरी, कुनाल अग्रवाल, राजनबाबु बानिया, पन्नालाल सहनी, सिकेन्द्र यादव, सुरेश राम, विनोद राम तथा मोहन वर्णवालले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्‍याई निजहरूलाई जनही ११ (एघार) वर्ष कैद तथा रू.५०,०००।- (पचास हजार रूपैयाँ) जनही जरिवाना हुने र पीडितले यी प्रतिवादीहरूबाट जनही रू.५,०००।- (पाँच हजार रूपैयाँ) क्षतिपूर्ति भराई लिन पाउने ठहर्‍याई प्रतिवादीमध्येका अजय गिरीलाई मात्र अभियोग दाबीबमोजिमको कसुरबाट सफाई दिने गरेको पर्सा जिल्ला अदालतको फैसला न्यायको रोहमा मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला ।

जाहेरवालाको नाबालक छोरा श्‍लोक अग्रवाललाई अपहरण गरी लगी बन्धक बनाई राखेको घटना वारदातमा म प्रतिवादीको संलग्नता रहेको भन्‍ने कुरा वादी नेपाल सरकारले कुनै सबुत प्रमाणबाट "अदालतमा" पुष्टि गर्न सकेको छैन । श्‍लोक अग्रवाल फेला परेको घर मेरो नभएको, उक्त घर गाउँमा म नरहेको, नभएको उक्त घर गाउँमा म प्रकाउ नपरेको, बरामद भएको कटुवा बन्दुक तथा गोली मेरो नभएको, श्‍लोक अग्रवाललाई मैले अपहरण नगरेको, निज श्‍लोक अग्रवाललाई मैले उक्त गाउँ घरसम्म नपुर्‍याएको तथा मैले बन्धक नबनाएको भन्ने कुरा स्पष्ट छ । उक्त वारदातमा मेरो संलग्नता रहेको भन्‍ने कुरा प्रतिवेदकले प्रत्यक्षरूपमा देखेको, सुनेको वा थाहा पाएको हो भनी लेख्‍न लेखाउन सकेका छैनन् । जाहेरवाला साक्षीका रूपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई बकपत्र गरी समर्थन गरेको स्थिति विद्यमान नभएकोले उक्त जाहेरी दरखास्तको व्यहोराले अपराध पुष्टि गर्ने प्रमाणिक महत्त्व ग्रहण गर्न सक्दैन । घटना विवरण कागज तथा सनाखत कागज गर्ने व्यक्ति श्‍लोक अग्रवाल अदालतमा उपस्थित भई आफ्नो सो मौकामा व्यक्त गरेको कुरालाई समर्थन गर्ने गरी बयान बकपत्र गर्न सकेको अवस्था छैन । यस स्थितिमा उक्त पीडितको घटना विवरण कागज तथा सनाखत कागजमा उल्लिखित कुराले म प्रतिवादीसमेतको विरूद्धमा प्रमाणमा लगाउन नमिल्ने प्रष्ट छ । त्यस्तै गरी मुद्दाको वारदात स्थापित हुनु र प्रतिवादी उपरको कसुर प्रमाणित हुनु भनेको अलगअलग विषय भएकोले पीडित श्‍लोक अग्रवाललाई प्रतिवादी रम्भा देवीको घरबाट प्रहरीले फेला पारेको भन्‍ने तथ्यमा विवाद नभए तापनि सो तथ्यले म प्रतिवादीसमेतले योजना बनाई सल्लाह सहमति गरी फिरौती रकम लिने उद्देश्यले श्‍लोक अग्रवाललाई अपहरण गरी लगि बन्धक बनाई राखेको भन्‍ने कुरा पुष्टि हुँदैन । अनुसन्धानको क्रममा भएको बयान व्यहोरा प्रहरी आफैँले लेखेर मलाई डराई धम्काई जबरजस्ती सहिछाप गराएको हो । प्रहरीले यस्तै गरी अन्य प्रतिवादीहरूले पनि मसमेतलाई पोल गरी कसुरमा साबित भई आफ्नो स्वेच्छाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान नगरेकोले म प्रतिवादी पन्नालाल सहनीसमेतलाई कसुरदार ठहर्‍याई सजाय दिने गरी  भएको फैसला न्याय तथा कानूनको विपरीत भई त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पन्नालाल सहनीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

श्‍लोक अग्रवाललाई अपहरण गरेको वारदातमा म संलग्न नरहेको, प्रस्तुत मुद्दामा अनुसन्धानको सिलसिलामा तयार भएका लिखतहरू कुनै पनि स्वतन्त्र एवं वस्तुनिष्ठ प्रमाणबाट मउपरको अभियोग प्रमाणित भएको छैन । सबुद प्रमाणको समुचितरूपमा मूल्याङ्कन एवं विवेचनासमेत नगरी फौजदारी न्यायका सिद्धान्त एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हचुवा र अनुमानको भरमा अनुसन्धान अधिकारीद्वारा जबरजस्ती गराइएको साबितीलाई आधारमानी मउपर लाग्नै नसक्ने  मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको १ नं. र ३ नं. बमोजिमको कसुर ठहर्‍याई भएको फैसला कानूनसम्मत नरहेकोले उक्त फैसला उल्टी गरी मलाई अभियोगबाट सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी कुनाल अग्रवालको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रस्तुत वारदातको जाहेरी दरखास्त, पीडितले अनुसन्धानको क्रममा गरेको कागज तथा अनुसन्धान अधिकारीसमक्ष भएको बयान मिसिल संलग्न अन्य कुनै कागजबाट प्रमाणित भएको 

छैन । श्‍लोक अग्रवाललाई मैले अपहरण गरेको वा शरीर बन्धक बनाई राखेको भनी उक्त जाहेरीमा उल्लेख भएकोसमेत छैन । प्रहरीमा भएको साबितीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन । म प्रतिवादीले अभियोग दाबीअनुसारको कुनै कसुर अपराध नै गरेको होइन भनी अदालतसमक्ष ईन्कार रही बयान गरेको सो मेरो ईन्कारी बयान वादी पक्षकै साक्षीले गरेको बकपत्रबाट पुष्टि प्रमाणित भइरहेको छ । सनाखत कागजमा पीडितलाई मोटरसाइकलमा राखी मसमेतले लगेको भन्‍ने कुरा देखाइए पनि सो पुष्टि छैन । के कति नम्बरको मोटरसाइकलमा लगिएको हो सो सनाखत कागजबाट खुल्दैन । पीडित भनी नामाकरण गरिएका श्‍लोक अग्रवाल बरामद भएको कोठामा मेरो उपस्थिति भएको वा सो घर कोठाबाट म पक्राउ परेको वा मेरो ना.२३ प ७०३३ नं. को मोटरसाइकल बरामद भएको भन्‍ने कुरा खानतलासी तथा बरामदी मुचुल्काबाट देखिँदैन । सहअभियुक्तहरूको पोल अन्य प्रमाणबाट पुष्टि भएको छैन । निज प्रतिवादीहरू अदालतमा बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्षको बयान हाम्रो होइन । प्रहरीले जबरजस्ती सहिछाप गराएका छन् भनी अदालतमा इन्कारी बयान गरेका रहेछन् । मेरो ना.२३ प.७०३३ नम्बरको मोटरसाइकल मेरो घरबाट र मलाई पनि मेरै घरबाट पक्राउ गरिएको कुरा मिति २०६९।१०।२८ मा भएको खानतलासी तथा बरामदी मुचुल्काबाट प्रमाणित छ भने मोटरसाइकलमा राखी पीडितलाई पुर्‍याएको भनी मउपर आरोप लगाएपनि सो आरोप वादी पक्षले शंकारहित तवरबाट पुष्टि प्रमाणित गर्न नसकेको हुँदा पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राजनबाबु बानियाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दामा बेरीतको गैरकानूनी सनाखतको कागजको आधारमा अनुसन्धान अधिकृतले मलाई हिरासतमा राखी अधिकारप्राप्त अधिकारीसमक्ष मलगायत अन्य सम्पूर्ण प्रतिवादीहरूलाई बयान नै नगराई निर्ममतापूर्वक कुटपिट गरी जबरजस्ती सहिछाप गराएको हो । पीडित भनिएका नाबालक वर्ष ८ को श्‍लोक अग्रवालसँग अनुसन्धान अधिकृतले मिति २०६९।१०।२२ मा घटना विवरणको कागज गराउँदा म प्रतिवादी सिकेन्दर यादव उक्त अपहरण गर्ने कार्यमा यो यस्तो कार्य गरेको थियो वा निजको उपस्थित यस प्रकारको थियो भनी भन्न र लेखाउन सकेका छैनन् । म प्रतिवादी सिकेन्दर यादवले निज नाबालक वर्ष ८ को श्‍लोक अग्रवालको अपहरण कार्यमा के काम गरेको जसबाट अभियोग दाबी समर्थित भइरहेको छ भनी फैसलामा वा अभियोग दाबीमा समेत उल्लेख नभए पनि गोश्‍वारारूपमा अन्य प्रतिवादीहरूलाई सजाय गर्दा म निर्दोष व्यक्तिलाई समेत अभियोग दाबीबमोजिम सजाय भएको रहेछ । वस्तुनिष्ठ सबुत प्रमाणको अभावमा गैरकानूनी तवरबाट प्रस्तुत मुद्दाका अभियोग दाबीबमोजिम मलाई कैद र जरिवानाको सजाय हुने गरी भएको फैसला कानून तथा न्यायको सर्वमान्य सिद्धान्तसमेत विपरीत भएकोले बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सिकेन्दर यादवले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज अध्ययन गरियो । प्रतिवादी पन्नालाल सहनीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री रामाशिष यादव र वैतनिक अधिवक्ता श्री शोभा कार्कीले प्रतिवादी पन्नालाल सहनीले के कस्ता अपराध गरेका हुन् भनी अभियोग दाबीबाट देखिँदैन । पीडितले अदालतमा आएर बकपत्र गर्न सकेको अवस्थासमेत छैन । मौकामा कागज गर्ने प्रहरी जवानहरू अदालतमा उपस्थित भई बकपत्र गर्दा पन्नालाल सहनीलाई वारदात स्थलमा देखेको छैन । निजलाई त्यहाँबाट पक्राउ गरेको होइन भनी लेखाएका छन् । पीडितले प्रतिवादीलाई सनाखत गरेको भनी देखाइएको कागज कानूनको रीत पुर्‍याई गरेको देखिँदैन । यसरी वस्तुनिष्ठ प्रमाणको अभावमा निज प्रतिवादीलाई सजाय गर्ने गरी भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादी पन्नालाल सहनीले आरोपित कसुरबाट सफाई पाउने पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित रहनु भएका विद्वान्‌ सहन्यायाधिवक्ता श्री रमा पराजुलीले प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा आरोपित कसुरमा साबित रही एक अर्कालाई पोल गर्दै बयान गरेका रहेछन् । बालक श्‍लोक अग्रवाललाई अपहरण गरेपश्‍चात् प्रतिवादी रम्भादेवी गिरीको घरमा लगेर राखेको अवस्थामा प्रहरीले उद्धार गर्न जाँदा दोहोरो झडपमा फायरिङ हुँदा संजय गिरी र विनेश रामलाई गोली लागि उपचारको क्रममा निजहरूको मृत्यु भएको थियो । संजय गिरी प्रतिवादी रम्भादेवी गिरीको छोरा हुन् । पीडितले प्रतिवादी रम्भादेवीसमेतलाई पहिचान गरेको व्यहोरासाथ आफू अपहरण पर्दादेखि मुक्त हुँदासम्मको घटना क्रममा उल्लेख गरी कागज गरेकोसमेतबाट प्रतिवादीहरूले आरोपित कसुर गरेको देखिएकोले पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला मिलेको छ, छैन? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? साही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू कुनाल अग्रवाल, सिकिन्दर यादव, राजनबाबु बानिया, पन्नालाल सहनी, सुरेश राम, विनोद राम, मोहन वर्णवाल, रम्भा देवी गिरी र अजय गिरीसमेतले वर्ष ८ को श्‍लोक अग्रवाललाई अपहरण गरी लगी बन्धक बनाई राखी मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १,२ र ३ नं. को कसुर गरेकोमा निज प्रतिवादीहरूलाई सोही महलको ३ नं. अनुसार सजाय गरी ऐजनको ७ नं. र ३ नं. अनुसार थप सजाय हुन माग दाबी लिई अभियोग पत्र दायर भएको रहेछ । प्रतिवादीहरू रम्भादेवी गिरी, सिकिन्दर यादव, राजनबाबु बानिया, कुनाल अग्रवाल, पन्नालाल सहनीले आरोपित कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गरेपछि अदालतमा उपस्थित भई बयान गर्दा आरोपित कसुरमा इन्कार रहेका छन् । पर्सा जिल्ला अदालतबाट प्रतिवादीहरू कुनाल अग्रवाल, राजनबाबु बानिया, पन्नालाल सहनी, सिकेन्द्र यादवसमेतले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. र ३ नं. बमोजिमको कसुर गरेकोले सोही ३ नं. बमोजिम ७ वर्ष कैद र रू.५०,०००।- जरिवाना तथा ऐजनको ७ नं. र ९ नं. बमोजिम २/२ वर्षका दरले जनही ४ वर्ष थप कैद सजाय हुने रू.५,०००।- जनही प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति भराइदिने ठहरी फैसला भएकोमा सोउपर पुनरावेदन परी पुनरावेदन अदालत, हेटौंडाबाट जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएको मा सोउपर प्रतिवादीहरू सिकेन्द्र यादव, पन्नालाल सहनी, राजन बाबु बानिया र कुनाल अग्रवालको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. गोवर्धनलाल अग्रवालले मिति २०६९।१०।१४ मा वर्ष ८ को श्‍लोक अग्रवाल मिति २०६९।१०।१३ देखि हराएको र फेला नपरेकोले खोजतलास गरिपाउन जिल्ला प्रहरी कार्यालय, पर्सामा निवेदन दिएको देखिन्छ । प्रहरीले खोजतलास गर्दै जाँदा भएको फायरिङमा गोली लागि संजय गिरी र विनेश महराको मृत्यु भएको र सोही ठाउँ जिल्ला पर्सा गा.वि.स. भेडीहारी वडा नं. ९ स्थित रामनाथ गिरीको खपडाको छानो इँट्टाको पर्खाल भएको घरको पूर्व उत्तरपट्टीको कोठामा पीडित बच्चा श्‍लोक अग्रवाल फेला परेको भने खान तलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ । बच्चा बरामद भएपछि अशोक अग्रवालले प्रतिवादीहरूको नामसमेत उल्लेख गरी मिति २०६९।१०।१३ मा प्लेन किनिदिन्छु भनी अपहरण गरी लगेका हुन् भनी जाहेरी दिएका छन् । पीडित श्‍लोक अग्रवालले एरोप्लेन किनिदिन्छु भनी ठाकुर राम बहुमुखी क्याम्पस पछाडि लगी अर्को व्यक्तिको जिम्मा लगाई त्यहाँबाट बन्धक बनाई राखेको ठाउँ पर्सा जिल्लाको भेडीहारी गा.वि.स.को ९ नं. वडा गदियानी टोलमा ल्याई पुर्‍याएको हो भनी आफ्नो व्यहोरा लेखाएका छन् । यसरी खोजतलास गर्न दिएको निवेदन, खानतलासी तथा बरामदी मुचुल्का, जाहेरी दर्खास्त तथा पीडितको कागजसमेतबाट वर्ष ८ को नाबालक श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाएको वारदात स्थापित भएको छ ।

४. उक्त वारदातमा यस अदालतमा पुनरावेदन गर्ने प्रतिवादीहरूको के कस्तो संलग्नता रहेको छ भन्‍ने सन्दर्भमा हेर्दा, प्रतिवादीहरू राजनबाबु बानिया, पन्नालाल सहनी, सिकिन्दर यादव र कुनाल अग्रवाल पीडित श्‍लोक अग्रवाल फेला परेकै दिन मिति २०६५।१०।२२ मा पक्राउ परेको देखिन्छ । पीडित श्‍लोक अग्रवालका बुबा अशोक अग्रवालले जाहेरी दिँदा कुनाल अग्रवालले छोरालाई एरोप्लेन किनी दिने बहानामा मिति २०६९।१०।१३ मा घरबाट लगी वीरगञ्‍ज स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडि पुर्‍याएर प्रतिवादीहरू राजनबाबु बानिया र पन्नालाल सहनीसमेतको जिम्मा लगाएको निजहरूले पर्सा जिल्ला गा.वि.स. भेडियारी वडा नं. ९ गादियानी टोल पुर्‍याएपछि अर्को अपहरणकारीको जिम्मा लगाएको ती अपहरणकारीले प्रतिवादी रम्भादेवी गिरी र अजय गिरीको घरमा लगी बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्धार गर्दा दुई जना अपहरणकारीलाई गोलीसमेत लागेको थियो भनी उल्लेख गरेका छन् ।

५. प्रतिवादीहरूलाई पीडित बालकले अनुसन्धानको क्रममा यी प्रतिवादीहरूसमेत निजलाई अपहरण गर्ने कार्यमा संलग्न रहेको भनी प्रतिवादीहरूलाई सनाखत गरिदिनुका साथै अनुसन्धानको क्रममा कागज गर्दा मिति २०६९।१०।१३ का दिन काका नाता पर्ने कुनाल अग्रवाल एरोप्लेन किनी दिन्छु भनी वीरगञ्ज स्थित ठाकुर राम बहुमुखी क्याम्पसको लेडिज होस्टेल पछाडि पुर्‍याएपछि एक जना मोटरसाइकल र एक जना साइकलमा चढी आएका मान्छेहरूको जिम्मा लगाई यिनीहरूले एरोप्लेन किनी दिन्छन्, म घरमा गएर पैसा लिएर आउँछु भनी साइकल लिएर गएछ । अर्को मोटरसाइकल लिएर आएको मान्छेले मोटरसाइकल चलाएको र साइकल लिएर आएको मान्छे पछाडि बसी बीचमा मलाई राखी लिएर गए । तिनीहरूले पनि मलाई मुक्त गराइएको ठाउँमा पुर्‍याई एक जना निलो पाइन्ट लगाएको व्यक्तिलाई जिम्मा लगाई एरोप्लेन किनी देउ हामी यसको काकालाई लिएर आउँछौं भनी गए । ती केटाले नजिकै भएको घरमा लिएर गएको र रोइस् कराइस् भने गोली मारिदिन्छु भनी सानो बन्दुकसमेत देखाएको थियो । मिति २०६९।१०।२२ मा प्रहरीले उद्धार गरेको थियो । मलाई बन्धक बनाई राखेको घरमा भएकी महिलाको नाम रम्भादेवी गिरी र निजका छोरा अजय गिरीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो भनी वारदातको सिलसिलेवार तरिकाले वर्णन गर्दै कागज गरिदिएका छन् । 

६. प्रतिवादी सिकेन्द्र यादवले प्रतिवादीहरू कुनाल अग्रवाल, पन्नालाल सहनी, राजनबाबु बानिया र निजसमेत भई श्‍लोक अग्रवाललाई अपहरण गर्ने योजना बनाएको र अपहरणको दिन निजले आफ्नो घरमा बसी प्रहरीको गतिविधि हेरेको भनी आरोपित कसुरमा साबित रही अनुसन्धानको क्रममा बयान गरेका छन् । प्रतिवादी राजनबाबु बानियाले श्‍लोक अग्रवाललाई अपहरण गरी बन्धक बनाई राखेको वारदातमा मलगायत पन्नालाल सहनी, सिकिन्दर यादव, कुनाल अग्रवाल र पन्नालाल सहनीले पनि आरोपित कसुर स्वीकार गरी एक अर्कालाई पोल गर्दै बयान गरेको देखिन्छ । पीडित श्‍लोक अग्रवाललाई उद्धार गर्न खटिएका प्रहरी कर्मचारीहरूले खोजतलास गर्दै जाँदा जिल्ला पर्सा गा.वि.स. भेडिहारी वडा नं. ९ स्थित प्रतिवादी रम्भादेवी गिरीको घरमा पीडितलाई बन्धक बनाई राखेको भनी सुराकी पाई उद्धार गर्न जाँदा प्रहरी टोलीउपर नै फायरीङ्ग खोलेकोले प्रहरीले समेत आत्म सुरक्षाको लागि फायरीङ्ग गर्दा प्रहरीको गोली लागि सञ्जय गिरी र विनेस महरा घाइते भएकोमा निजहरूको उपचारको क्रममा मृत्यु भएको मिसिल संलग्न कागजबाट देखिन्छ । रम्भादेवी गिरीको घरबाट निजलाई र अजय गिरीलाई नियन्त्रणमा लिई पीडित बालक श्‍लोक अग्रवाललाई उद्धार गरेको हो भनी उद्धारमा खटेका प्रहरी कर्मचारीहरूले घटना विवरण कागज गरिदिएका छन् । 

७. प्रतिवादीहरू कुनाल अग्रवाल, सिकिन्दर यादव, पन्नालाल सहनी र राजनबाबु बानियाले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार गरेको देखिन्छ । मिसिल संलग्न प्रतिवादीहरूका साक्षीहरूले निजहरूको अदालतसमक्ष भएको इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्र गरेको देखिए पनि पीडितलाई उद्धार गर्ने बेला पक्राउमा परेकी अर्का प्रतिवादी रम्भादेवी गिरीले आफ्नो घरबाट पीडित बालकलाई प्रहरीले फेला पारेको हो भनी बयान गरेको 

देखिन्छ । त्यस्तै पीडितको उद्धारमा खटिएका सुरक्षाकर्मीहरू मनोहरप्रसाद भट्ट र सूर्यबहादुर थापाले अदालतमा उपस्थित भई बकपत्र गर्दा श्‍लोक अग्रवाललाई रम्भादेवी गिरीको घरबाट उद्धार गरिएको सोही क्रममा अपहरणकारी र सुरक्षाकर्मी बीच दोहोरो गोली हानाहान हुँदा २ जना अपहरणकारी घाइते भएको र उपचारको क्रममा मृत्यु भएको तथा प्रतिवादीहरू रम्भा गिरी र निजका छोरा अजय गिरीलाई तत्काल नियन्त्रणमा लिएको हो भनी लेखाई दिएको देखिन्छ ।

८. पीडित नाबालक श्‍लोक अग्रवाललाई प्रतिवादी रम्भादेवी गिरीको घरबाट फेला पारी प्रहरीबाट उद्धार गरिएको तथ्यमा विवाद भएन । पीडितलाई फेला पारेकै बखत प्रतिवादी रम्भादेवी गिरी र अजय गिरीलाई पक्राउ गरी ल्याएको कुरा प्रतिवादी रम्भा देवीले अनुसन्धानको क्रममा एवं अदालतमा समेत स्वीकार गरेर बयान गरेको देखिन्छ । यद्यपि निज अदालतमा बयान गर्दा आफू आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । निजले अनुसन्धानको क्रममा बयान गर्दा आरोपित कसुर स्वीकार गर्दै यी पुनरावेदक प्रतिवादीहरूलाई समेत पोल गरिदिएको देखिन्छ । पीडित श्‍लोक अग्रवालले अनुसन्धानको क्रममा कागज गर्दा प्रतिवादी कुनाल अग्रवालले निजलाई घरबाट लिएर गएको र वीरगञ्ज स्थित ठाकुर राम बहुमुखी क्याम्पसको लेडिज होस्टेल पछाडि लगी अन्य दुई जना व्यक्तिको जिम्मा लगाएको भनी लेखाएका 

छन् । प्रतिवादी कुनाल अग्रवालले आरोपित कसुरमा इन्कार रही अदालतमा बयान गरेपनि अनुसन्धानको क्रममा कसुरमा साबित रहेका छन् । अनुसन्धानको क्रममा भएको सो बयान जबरजस्ती गराइएको हो भन्‍ने कुराको प्रमाण निजले पेस गर्न सकेका छैनन् । यसका अतिरिक्त निज आरोपित कसुर नगरेको भए जाहेरवाला र पीडित बालकले निजलाई किटान गरी जाहेरी दिनु र अनुसन्धानको क्रममा कागज गर्नुको अन्य कुनै कारण मिसिल संलग्न कागज प्रमाणबाट देखिँदैन ।

९. त्यस्तै प्रतिवादी सिकिन्दर यादव प्रतिवादी कुनाल अग्रवालले पीडितलाई निजको घरबाट लिएर गइरहेको अवस्थामा चोकमा बसी प्रहरी आए नआएको निगरानी गरेर बसेका थिए भन्‍ने कुरा कुनाल अग्रवालको अनुसन्धानको क्रममा भएको बयानबाट देखिन्छ । यी प्रतिवादीले पनि अनुसन्धानको क्रममा बयान गर्दा सो कुरा स्वीकार गरेका छन् । अदालतमा इन्कार रही अनुसन्धानको उक्त बयान प्रहरीले पहिलेदेखि तयार गरेर राखेको र सहिछाप मात्र गराएको हो भनी जिकिर लिएका छन् । तर अधिकारप्राप्त अधिकारीसमक्षको साबित डर त्रासबाट भएको कुरालाई प्रमाणित गर्न कुनै प्रमाण पेस गर्ने सकेको देखिँदैन ।

१०. प्रतिवादीहरू पन्नालाल सहनीसमेतले कुनाल अग्रवालले श्‍लोक अग्रवाललाई ठाकुरराम क्याम्पसको लेडिज होस्टेल पछाडि ल्याएपछि मोटर साइकलमा राखी संजय गिरीको घरसम्म पुर्‍याएको भनी निजहरूको अनुसन्धानको क्रममा भएको बयान पीडित श्‍लोक अग्रवालको अनुसन्धानको क्रममा भएको कागज एवं अशोक अग्रवालको जाहेरी दरखास्त व्यहोराबाट समर्थित भएको देखिन्छ । यी प्रतिवादीहरूले अनुसन्धानको क्रममा भएको उक्त बयान आफ्नो इच्छाविपरीत भएको हो भनी अदालतसमक्ष बयान गर्दा उल्लेख गरेको भएपनि उक्त बयान इच्छाविपरीतको हो भन्ने तथ्यलाई प्रमाणित गर्ने कुनै प्रमाण प्रस्तुत गरेको पाइँदैन ।

११. यसरी मिसिल संलग्न जाहेरी दरखास्त, बरामदी मुचुल्का, पीडित अग्रवालको कागज, घटना विवरण कागज, प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको बयानसमेतबाट मिति २०६९।१०।१३ मा श्‍लोक अग्रवालको अपहरण भएको, प्रहरीले मिति २०६९।१०।२२ को दिन पर्सा जिल्ला भेडिहारी गा.वि.स. वडा नं. ९ गदियानी टोल स्थित प्रतिवादी रम्भादेवी गिरीको घरबाट श्‍लोक अग्रवाललाई उद्धार गरिएको र उद्धारको क्रममा भएको दोहोरो भिडन्तमा प्रतिवादी रम्भादेवी गिरीको छोरा संजय गिरी र विनेश राम प्रहरीको गोली लागि घाइते भई उपचारको क्रममा मृत्यु भएको तथ्य स्थापित भएको छ । उक्त वारदातमा प्रतिवादी कुनाल अग्रवालले श्‍लोक अग्रवाललाई घरबाट ल्याई प्रतिवादीहरू पन्नालाल सहनी र राजनबाबु बानियाको जिम्मा लगाएको निज प्रतिवादीहरूले पीडित बालकलाई संजय गिरीको घरसम्म पुर्‍याएको देखिएबाट प्रतिवादीहरूले पूर्वयोजना एवं तयारीका साथ नाबालक श्‍लोक अग्रवाललाई संगठितरूपमा अपहरण गरी ल्याई बन्धक बनाएको देखियो । सो कार्यमा प्रतिवादी सिकिन्दर यादवले प्रहरी आए नआएको निगरानी गरी बसेको देखिन्छ ।

१२. प्रतिवादी सिकिन्दर यादवले यस अदालतमा पुनरावेदन गर्दा आफू वारदात स्थानमा उपस्थित नभएका पीडितले आफूलाई सनाखत गर्न नसकेको प्रहरीले वारदात स्थलबाट आफूलाई पक्राउ गर्न नसकेकोले आफू निर्दोष रहेको भनी जिकिर लिएको देखिन्छ । अपहरण तथा शरीर बन्धक लिने अपराध संगठित तवरले हुने गरकोले त्यस्तो अपराधमा प्रायः एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन्छ । संगठितरूपमा गरिने यस्ता अपराधहरूमा संलग्न सबै व्यक्तिहरू एकैचोटी वारदात स्थलमा देखापर्नु आवश्यक हुँदैन । यस्ता प्रकृतिको अपराधमा विभिन्न व्यक्तिहरूको विभिन्न भूमिका हुनसक्ने र मुख्य वारदात घटाउने स्थलमा वास्तविकरूपमा वारदातमा संलग्न व्यक्तिहरू भन्दा कम संख्यामा व्यक्तिहरू उपस्थित भई वारदात घटाएको हुन्छन् । तर यस्तो वारदातमा घटनास्थलमा नदेखिने व्यक्तिहरूको भूमिका गौण वा सहायक हुँदैन । निजहरूको भूमिका वारदातस्थलमा देखिने व्यक्तिहरूको जत्तिकै वा अझै महत्त्वपूर्ण हुन्छ । मिसिल संलग्न कागजबाट पनि यी प्रतिवादी वारदात स्थलमा कहीँ पनि उपस्थिति रहेको देखिँदैन तर निजले सुराकी बसी प्रहरी आएको नआएको हेरी अन्य प्रतिवादीहरूलाई सोको सूचना दिन बसेको देखिन्छ ।

१३. प्रतिवादी कुनाल अग्रवालले यस अदालतमा पुनरावेदन गर्दा आफू वारदातमा संलग्न नभएको भनी जिकिर लिए पनि पीडित नाबालकले नै निज प्रतिवादीले पीडितलाई घरबाट लगी पन्नालाल सहनी र राजनबाबु बानियाको जिम्मा लगाएको 

देखिन्छ । निज प्रतिवादीले पनि अनुसन्धानको क्रममा भएको बयान आफ्नो स्वेच्छाले नभई कुटपिट गरी सहिछाप गराएका हुन् भनी जिकिर लिए पनि सोलाई प्रमाणित गर्ने प्रमाणहरू पेस गर्न सकेका 

छैन । प्रतिवादीहरू पन्नालाल सहनी र राजनबाबु बानिया पीडितलाई कुनाल अग्रवालबाट लिई पर्सा जिल्ला भेडिहारी गा.वि.स. वडा नं. ९ स्थित रम्भादेवी गिरीको घरमा पुर्‍याएको देखिएबाट प्रस्तुत वारदातमा यी पुनरावेदक प्रतिवादीहरूले संगठितरूपमा कार्य विभाजन गरी पीडित वर्ष ८ को श्‍लोक अग्रवालको अपहरण गरेको देखिन आयो ।

१४. आरोपित कसुरमा इन्कारी रही अदालतमा बयान गर्ने कुनाल अग्रवाल, पन्नालाल सहनी, सिकेन्द्र यादवसमेतका प्रतिवादीहरू मौकामा पक्राउ नपरेका र पीडित नाबालक श्‍लोक अग्रवाल र जाहेरवालाको अदालतमा बकपत्र हुन सकेको नपाइए पनि प्रतिवादीहरू कसुरमा अधिकारप्राप्त अधिकारीसमक्ष साबित रही बयान गरेको रहेछन भने सो साबिती स्वेच्छाबाट नभएको सम्बन्धमा कुनै प्रमाण निजहरूबाट प्रस्तुत भएको पाइँदैन । अपहरणसम्बन्धी अपराध मानवता विरूद्धको अपराध भएको र त्यस प्रकृतिको अपराधमा संलग्न व्यक्तिहरूको पृथकपृथक भूमिका रहने गरेको हुँदा वारदात स्थलबाट पक्राउ नपर्दैमा कसुरमा संलग्न रहेको छैन भनी निष्कर्षमा पुग्न मिल्दैन । अपहरित नाबालकलाई उद्धार गर्ने क्रममा भएको गोली हानाहानबाट दुईजनाको मृत्यु भई नाबालकको उद्धार गरी ल्याइएको तथ्य प्रहरी कर्मचारीहरूको बकपत्रबाट समर्थित भइरहेकोमा जाहेरवाला र पीडितको बकपत्र नहुँदैमा कसुर नै स्थापित नभएको भन्न मिल्दैन ।

१५. सजाय सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा, मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा अपहरण गर्ने वा शरीर बन्धक लिने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुईलाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । यसका अतिरिक्त सोही महलको ७ नं. मा संगठितरूपमा त्यस्तो काम गर्ने व्यक्तिलाई थप दुई वर्ष कैद तथा ९ नं. मा त्यस्तो कसुर महिला वा नाबालक विरूद्ध भएमा थप दुई वर्ष सजाय गर्नुपर्ने व्यवस्था रहेको छ । प्रस्तुत वारदातमा प्रतिवादीहरू दुई जनाभन्दा बढी भई संगठित रूपमा ८ वर्षको नाबालकलाई अपहरण गरेको र बन्धक बनाई मिति २०६९।१०।१३ देखि २०६९।१०।२२ सम्म प्रहरीले उद्धार नगरून्जेलसम्म बन्धक बनाई राखेको देखिएकोले मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.को अतिरिक्त ऐजनको ७ र ९ नं. समेत आकर्षित हुने देखियो ।

१६. अब यी प्रतिवादीहरूलाई हुने सजायतर्फ विचार गर्दा, प्रतिवादी राजनबाबु बानियाको यस अदालतमा पुनरावेदन परेपछि निज कैदमा रहेको कारागार कार्यालयमा पेसीको जानकारी पठाउँदा कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौंबाट प्रतिवादी राजनबाबु बानियाको मिति २०७३।१०।१८ मा वीर अस्पतालमा मृत्यु भएको भनी जानकारी प्राप्त भएकोले निजको हकमा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १७६ नं.ले खतबात नलाग्ने हुँदा निजको हकमा केही गरिरहनु परेन । प्रतिवादीहरू कुनाल अग्रवाल, पन्नालाल सहनी र सिकिन्दर यादव क्रमश २०,१९ र १८ वर्षका रहेका छन् । निजहरूले यसभन्दा अगाडि पनि कुनै अपराध गरेको नदेखिएकाले निजहरू पटके अपराधी रहेको 

देखिँदैन । यसका साथै निजहरूले पीडितसँग क्रूरतापूर्वक व्यवहार गरेको वा पीडितलाई कुटपिटसमेत गरेको देखिँदैन । बन्धक बनाएर राखेको ठाउँमा प्रहरी उद्धार गर्न जाँदा प्रतिकार गर्ने व्यक्तिहरूमा निजहरूको संलग्नता रहेको नदेखिएको हुँदा मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. ले तोकेको न्यूनतम् सजाय अर्थात् ७ वर्ष कैद र रू.५०००।- जरिवाना गर्दासमेत यी प्रतिवादीहरूलाई सजायको मात्रा पर्याप्त हुन गई कानूनको मनसायसमेत पूरा हुने देखिन्छ । यसको अतिरिक्त दुईजनाभन्दा बढी व्यक्ति भई संगठितरूपमा वारदात घटाएकोले ऐजन महलको ७ नं. बमोजिम थप दुई वर्ष कैद तथा प्रस्तुत वारदात ८ वर्षको नाबालक विरूद्ध घटाइएकोले ऐजन महलको ९ नं. बमोजिम थप २ वर्ष कैद गरी जम्मा कैद वर्ष ११ तथा पीडित श्‍लोकलाई मिति २०६९।१०।१३ देखि २०६९।१०।२२ सम्म जम्मा १० दिन बन्धक बनाई राखेकोले ऐजन महलको १२ नं. बमोजिम निजलाई पुग्न गएको शारीरिक तथा मानसिक क्षतिसमेतलाई विचार गर्दा प्रतिदिन रू.५००।- का दरले हुन आउने रू.५०००।- प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिबापत भराई दिएको फैसलालाई अन्यथा गरिरहन परेन । आरोपित कसुरबाट सफाई पाउनु पर्दछ भनी प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१७. तसर्थ, माथि विवेचित आधार कारण एवं प्रमाणबाट पुनरावेदक प्रतिवादीहरू कुनाल अग्रवाल, सिकेन्दर यादव, पन्नालाल सहनीसमेतले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्‍याई निजहरूलाई जनही ११ (एघार) वर्ष कैद तथा जनही रू.५०,०००।- जरिवाना हुने र पीडितले प्रतिवादीहरूबाट रू.५०००।- क्षतिपूर्ति भराई लिन पाउने ठहर्‍याई पर्सा जिल्ला अदालतबाट भएको फैसलालई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१०।१३ को फैसला यस अदालतमा पुनरावेदन गर्ने प्रतिवादीहरू कुनाल अग्रवाल, पन्नालाल सहनी र सिकेन्दर यादवको हकमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. सपना प्रधान मल्ल

 

इजलास अधिकृतः रामु शर्मा

इति संवत् २०७४ साल भदौ ४ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु