शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८९१ - नकबजनी चोरी

भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७३।०५।१६

०७०-CR-०१३६

 

मुद्दाः नकबजनी चोरी

 

पुनरावेदक / वादी : सुजन ढुंगानाको जाहेरीले नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला आप्रा गा.वि.स. वडा नं. ३ बस्ने नगेन्द्र खनालसमेत

 

अनुसन्धानको क्रममा लेखाई दिएको व्यहोरालाई नै सर्वोत्तम प्रमाण मानी त्यसैको आधारमा प्रतिवादीहरूलाई सजाय गर्न मिल्दैन । सो अनुसन्धानको क्रममा लेखाइएको व्यहोरा आफैँमा निष्पक्ष प्रमाण हुन सक्दैन । त्यस्ता साक्षी प्रमाणलाई प्रतिवादीहरूले समेत परीक्षण गर्न मौका पाएको खण्डमा मात्र सोलाई विश्‍वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने । 

(प्रकरण नं. ४)

 

पुनरावेदक / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्र थापा

प्रत्यर्थी / प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर : 

सम्बद्ध कानून :  

 

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्यायाधीश श्री सुष्मालता माथेमा 

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री केशरीराज पण्डित

माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल

 

फैसला

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ:-

मिति २०६१।६।१८ का बिहान राति २:३० बजेको समयमा चोरहरू आई घरको गारो भत्काई भित्र पसी मोटरसाइकलको हेण्डल लक तोडी चोरी गरी लगेको कुरा बिहान उठेपछि मात्र थाहा पाएको हो । उक्त मोटरसाइकल खोजतलास गर्दा फेला पार्न नसकेकोले मोटरसाइकल पता लगाई पाउँ भनी सुजन ढुंगानाको मिति २०६१।६।१८ को जाहेरी दर्खास्त ।

काठमाडौं जिल्ला महाँकाल गा.वि.स. वडा नं. ७ स्थित जाहेरवाला सुजन ढुंगानाको घरभित्र राखिएको ठाउँबाट बा.१६प. ९०१० नं. को मोटरसाइकल हराएको भन्‍नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६१।३।१८ मा बा.१६प.९०१० नं. को मोटरसाइकल घरबाटै चोरी भएको भनी जाहेरी दर्खास्त दिएपश्‍चात् चोरी गर्ने व्यक्तिहरूको खोजी गर्ने क्रममा नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित, किशोर अधिकारी, विनोद पण्डितसमेतले चोरी गरेको यकिन हुन आएकोले निज विनोद पण्डितसमेतलाई पक्राउ गरी चोरीको महलअनुसार कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको सुजन ढुंगानाको मिति २०६१।७।१२ को जाहेरी दरखास्त ।

मिति २०६१।६।१८ को राति सुजन ढुंगानाको नाउँमा रहेको बा.१६प.९०१० नं. को मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी बिक्री वितरणको सरसल्लाहको लागि मोटरसाइकल कोटेश्‍वर चोकको उत्तर पूर्वतर्फको बसस्टपको पार्किङको सडक पेटीमा राखी नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित उभिरहेको अवस्थामा फेला पारी पक्राउ गरी दाखिला गर्न ल्याएका भन्‍ने प्रहरी प्रतिवेदन तथा बरामदी मुचुल्का ।

मिति २०६१।६।१७ को राति अर्थात् मिति २०६१।६।१८ को १:०० बजेको समयमा म महेश दुलाल, किशोर अधिकारीसमेत ३ जना किशोर अधिकारीको घरबाट चप्‍पल कारखाना गई सो स्थानमा राजु पण्डित, विनोद पण्डित अर्को नाम थाहा नभएको व्यक्तिसँग भेट भई जाहेरवालाको घरमा गई म, विनोद पण्डित र महेश दुलाल बाहिर बसी कोही आउँछ कि भनी घर बाहिर बस्यौं । अन्य नाम थाहा नभएको मानिस जाहेरवालाको घरभित्र पसी उक्त घरको ४ इन्चको गाह्रोसमेत तोडी जाहेरवालाको घरमा भएको बा.१६प.९०१० नं. को मोटरसाइकल निकाली सोही स्थानबाट ५०० मिटरसम्म डोर्‍याई उक्त मोटरसाइकल बिक्री गरी पैसा बाँडी लिने सहमतिमा म महेश दुलाल र किशोर अधिकारी मोटरसाइकल चढी किशोर अधिकारीको घरमा गयौं, पछि विनोद पण्डितले मोटरसाइकल किन्‍ने मानिस लिई आउँछु भनेकोले मोटरसाइकल देखाउन कोटेश्‍वर चोकमा लाँदा प्रहरीद्वारा पक्राउमा परी आएको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादी नगेन्द्र खनालले अनुसन्धानको क्रममा गरेको बयान ।

मिति २०६१।६।१७ को राति अर्थात् मिति २०६१।६।१८ को १:०० बजेको समयमा म, नगेन्द्र खनाल, किशोर अधिकारीसमेत ३ जना किशोर अधिकारीको घरबाट चप्‍पल कारखाना गई सो स्थानमा राजु पण्डित, विनोद पण्डित अर्को नाम थाहा नभएको व्यक्तिसँग भेट भई जाहेरवालाको घरमा गई म, विनोद पण्डित र महेश दुलाल कोही आउँछ कि भनी घर बाहिर बस्यौं । अन्य नाम थाहा नभएको मानिस जाहेरवालाको घरभित्र पसी उक्त घरको ४ इन्चको गाह्रोसमेत तोडी जाहेरवालाको घरमा भएको बा.१६प.९०१० नं. को मोटरसाइकल निकाली सोही स्थानबाट ५०० मिटरसम्म डोर्‍याई उक्त मोटरसाइकल बिक्री गरी पैसा बाँडी लिने सहमतिमा म, नगेन्द्र खनाल र किशोर अधिकारी मोटरसाइकल चढी किशोर अधिकारीको घरमा गयौं, पछि विनोद पण्डितले मोटरसाइकल किन्‍ने मानिस लिई आउँछु भनेकोले मोटरसाइकल देखाउन कोटेश्‍वर चोकमा लाँदा प्रहरीद्वारा पक्राउमा परी आएको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादी महेश दुलालले अनुसन्धानको क्रममा गरेको बयान ।

विनोद अधिकारीले एउटाको घरबाट मोटरसाइकल ल्याउनु पर्छ जानुपर्छ है भनेकाले मिति २०६१।६।१७ को बेलुका अं. २४:०० बजेको समयमा विनोद पण्डितसमेत भई चोरी गरेका हौं भन्‍नेसमेत व्यहोराको प्रतिवादी राजु पण्डितले अनुसन्धानको क्रममा गरेको बयान ।

मिति २०६१।७।१८ दिन जाहेरवालाको मोटरसाइकल चोरी भएको हो । सो मोटरसाइकल खोजतलास गर्दै जाँदा त्यसको नम्बर परिवर्तन गरी बिक्री गर्न हिँडेको बेला मोटरसाइकलसहित मानिसहरू पक्राउ परेका हुन् भनी जाहेरवालाले भनेपछि थाहा पाएको हो भन्नेसमेत व्यहोराको पारस कोइरालाले अनुसन्धानको क्रममा गरिदिएको कागज ।

मिति २०६१।७।१८ मा जाहेरवालाको मोटरसाइकल चोरी भएको कुरा पारस कोइरालाले भनेपछि थाहा पाएको हो । पछि उक्त मोटरसाइकल सहित मानिसहरू समेत पक्राउ परेका हुन् भनी थाहा पाएँ भन्नेसमेत व्यहोराको निराजन भट्टराइले अनुसन्धानको क्रममा गरेको कागज ।

मिति २०६१।६।१८ को बिहान राति २:३० बजेको समयमा प्रतिवादीहरू किशोर अधिकारी, नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित र विनोद पण्डितले जाहेरवालाको घरमा गई पर्खाल भत्काई बा.१६प. ९०१० नं. को मोटरसाइकल चोरी गरी लिएको हुँदा प्रतिवादीहरूको कार्य चोरीको महलको १ र ३ नं. बमोजिमको कसुर देखिन आएकोले प्रतिवादीहरू नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित र विनोद पण्डितलाई सोही महलको १४(१) नं. बमोजिम सजाय हुन तथा प्रतिवादीहरू महेश दुलाल र नगेन्द्र खनालको उमेर १५ वर्ष भन्‍ने देखिँदा निजहरूलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय हुने र जाहेरवालाको मोटरसाइकल बा.१५प.३३५४ जाहेरवालालाई फिर्ता दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको अभियोग माग दाबी ।

मेरो कोठासँगै मासु पसल गरी बस्ने किशोर अधिकारीले दोकान लोकन्थलीमा सर्ने भएकोले हामी सामान ओसार्न गयौं । बेलुका फर्कंदा ढिलो भएकोले किशोर अधिकारीले मोटरसाइकल लिई जाउँ भनेकोले नगेन्द्र खनाल र म मोटरसाइकलमा आउँदा लोकन्थलीमा चेक हुँदा हामीसँग कागजपत्र नभएकोले प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकल किशोर अधिकारीले आफ्नै हो भन्थ्यो पछि चोकीमा आएपछि उसको मोटरसाइकल होइन रहेछ भन्‍ने थाहा भयो । राजु पण्डितलाई पछि समातेको हो, उक्त मोटरसाइकल मैले चोरी गरेको होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी महेश दुलालले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

म र साथी महेश दुलाल, किशोर अधिकारीको पसल सार्न सहयोग गर्न लोकन्थली गयौं, फर्कंदा ढिलो भएकोले र गाडी नपाएकोले किशोरले उसको मोटरसाइकल लिएर जाउ भनी दियो । महेशले मोटरसाइकल चलायो म पछाडि बसेर आउँदा लोकन्थलीमा चेकिङमा पर्दा हामीसँग कागजात लाइसेन्स केही नभएकोले प्रहरीले पक्राउ गरेको हो । पछि किशोरको मोटरसाइकल होइन रहेछ भन्‍ने थाहा पाएँ, किशोरले मेरो मोटरसाइकल भन्थ्यो, उसले कहाँबाट ल्यायो थाहा भएन । मैले मोटरसाइकल चोरेको होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादी नगेन्द्र खनालले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

म एक ड्राईभर पदमा बैंकमा जागिर खाने व्यक्ति, मलाई असोज २२ गते राति घरबाट ८:३० बजे सोधपुछको लागि भनी सिभिलमा गएका प्रहरीले ल्याएर चार हात खुट्टा आँखामा पट्टी बाँधेर कुटे । तैंले कतिवटा मोटरसाइकल चोरी गरिस् भनी एक रात इन्स्पेक्टरको कोठामा राखी भोलिपल्ट वडा प्रहरी कार्यालय, ठिमीमा पठाई मलाई प्रहरीले कुटपिट गरेर चोरी मुद्दा लगाएको हो । जाहेरवालालाई म चिन्दिन, विनोद पण्डित मेरो भाइ हो ऊ बसुन्धारामा कोठामा बस्छ, हाल ऊ कहाँ छ थाहा छैन भन्‍नेसमेत व्यहोराको प्रतिवादी राजु पण्डितले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

प्रतिवादी राजु पण्डितलाई मिति २०६१।६।२२ मा प्रहरीले निजको घर धापासीबाट पक्राउ गरेको हो । निज कृषि विकास बैंकमा काम गर्ने व्यक्ति भएकोले निजलाई मोटरसाइकल चोरी गरी रहनु पर्ने कुनै आवश्यकता नै छैन भन्नेसमेत व्यहोराको प्रतिवादी राजु पण्डितका साक्षी शिवराम थापाले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

राजु पण्डितलाई प्रहरीले निजको घर धापासीबाट पक्राउ गरेको हो । निज मोटरसाइकल चोरी गरी रहने खालका मानिस होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादी राजु पण्डितका साक्षी रामु पण्डितले काठमाडौं जिल्ला अदालतमा गरेको 

बकपत्र ।

यो मोटरसाइकल किशोर अधिकारीले प्रतिवादीलाई दिएको हो । कोठाको समान सार्दा फर्कने बेलामा ढिलो भएको हुँदा निजले दिएको 

हो । सो मोटरसाइकल लिएर आउँदा कुनै कागज पत्र नभएकोले चेक जाँच गर्दा प्रहरीले लोकन्थलीबाट समातेको हो । प्रतिवादीले मोटरसाइकल चोरी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी महेश दुलालको साक्षी हरि दुलालले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

महेश दुलाल र नगेन्द्र खनालले किशोर अधिकारीलाई कोठा सार्न गएकोमा सो दिन ढिलो भएकोले निज किशोर अधिकारीले आफूले प्रयोग गरिरहेको मोटरसाइकल निज प्रतिवादीहरूलाई दिएकोमा सो मोटरसाइकल लिएर आइरहेको बेला कागज नभएकोले चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रतिवादी नगेन्द्र खनालले मोटरसाइकल चोरी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी नगेन्द्र खनालले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६२।८।१३ मा काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीहरू महेश दुलाल, नगेन्द्र खनाल र राजु पण्डितले अभियोगबाट सफाई पाउने ठहरेको र विनोद पण्डितको हकमा प्रस्तुत मुद्दा तामेलीमा रहेकोमा निज प्रतिवादी विनोद पण्डितका नाउँमा समाह्वान जारी गरी अ.बं. ११० नं. समेतको रीत पुर्‍याई तामेल गरी गराई निजको हकमा र अन्य प्रतिवादीहरूको हकमा समेत जो जे बुझ्नु पर्ने आवश्यक हुन्छ बुझी सबुद प्रमाणहरूको विवेचना र मूल्याङ्कन गरी सबै प्रतिवादीहरूलाई सुरूको तारेख तोकी प्रस्तुत मुद्दाको सुरू मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्‍ने पुनरावेदन अदालत, पाटनबाट फैसला भई पुनः मिति २०६४।९।२० मा जिल्ला अदालत दर्ता भई कारवाही अगाडि बढेकोमा प्रतिवादी विनोद पण्डितका नाउँमा म्याद मिति २०६४।१०।४ मा निजको घर दैलोमा तामेल भएकोमा निजले सोको म्याद गुजारी बसेको मिसिल सामेल रहेको ।

प्रतिवादीमध्येका राजु पण्डितलाई आफ्नो कोठाबाट पक्राउ गरी लगेको देखिएको र प्रतिवादी महेश दुलाल र नगेन्द्र खनालको साथबाट चोरीको मोटरसाइकल बरामदसम्म भएकोमा सो मोटरसाइकल किशोर अधिकारीले चलाउन दिएको भनी कसुरमा इन्कार रही गरेको बयान साक्षीबाट समेत समर्थित भइरहेको अवस्थामा निजहरूले चोरी गरी प्रयोग गरेको भन्‍ने पुष्टि हुने ठोस प्रमाणको अभावमा वादी दाबी पुग्न नसकी सफाई पाउने ठहर्छ, प्रतिवादीमध्येका विनोद पण्डितको हकमा निजका नाममा जारी भएको म्याद गुजारी बसेको देखिँदा निज हाजिर वा पक्राउ भएका बखत कारवाही गर्ने गरी चोरीको १०(१) नं. बमोजिम मुलतबी राखी दिने ठहर्छ भन्‍नेसमते व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०६५।१।१८मा भएको फैसला ।

प्रतिवादीहरूले अधिकारप्राप्‍त अधिकारीसमक्षको बयानमा साबिती बयान गरेको र जाहेरवालाले प्रतिवादीहरूको नामसमेत लेखाई जाहेरी दिएको अवस्थामा जाहेरवाला र बरामदी मुचुल्काका मानिस अदालतमा बकपत्र गर्न आउन नसक्दैमा दसीका सामानसहित पक्राउ परेका प्रतिवादीहरूले इन्कारी बयान दिँदैमा सफाई नपाउने हुँदा सुरूको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा पर्न आएको पुनरावेदन पत्र ।

प्रतिवादीहरूले मोटरसाइकल चोरी गरेकोमा साबिती भई मौकामा अधिकारप्राप्‍त अधिकारीसमक्ष बयान र निज प्रतिवादीहरूबाट चोरीको मोटरसाइकल बरामद भएको बरामदी मुचुल्कासमेतको परिप्रेक्ष्यमा सफाई दिने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि प्रत्यर्थी झिकाउनु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको आदेश ।

प्रतिवादीहरूले चोरी गरेको देख्‍ने प्रत्यक्षदर्शी साक्षी कोही देखिएको छैन । प्रतिवादीहरू आरोपित कसुरमा इन्कार रहेका छन् । चोरीको मोटरसाइकलसहित पक्राउ परेका महेश र नगेन्द्रले आफ्नो साथमा चोरीको मोटरसाइकल रहन आएको अवस्था स्पष्‍ट गरेका छन् । चोरीको मोटरसाइकल प्रतिवादी महेश र नगेन्द्रको साथबाट बरामद भएकोबाट सो चोरी कार्य यी प्रत्यर्थी प्रतिवादीहरूले गरेका रहेछन् कि भनी आशंका गर्न सकिने हुन्छ । तर त्यस्तो आशंकाको भरमा मात्र फौजदारी अभियोग स्थापित हुन सक्ने हुँदैन । शंकाको सुविधा अभियुक्तले 

पाउँछ । चोरीको मोटरसाइकल आफूहरूसँग बरामद हुनुपर्ने कारण भनी प्रतिवादीहरूले देखाएको कारण असत्य हो र यी प्रतिवादीहरूले नै जाहेरवालाको मोटरसाइकल चोरी गरेका रहेछन् भनी शंकारहित तवरले विश्‍वस्त हुन सकिने सम्मको वस्तुनिष्‍ठ प्रमाण वादी पक्षबाट पेस हुन सकेको पाइएन । यस स्थितिमा प्रतिवादी महेश दुलाल, नगेन्द्र खनाल र राजु पण्डितले अभियोग दाबीबाट सफाई पाउने ठहराएकोसमेत काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट भएको फैसला ।

जाहेरवालाले मिति २०६१।८।४ को दिन अदालतमा आई चोरीको मोटरसाइकल सनाखत गरी, चोरी गरी मोटरसाइकल लिई हिँड्ने प्रतिवादीहरूको नामसमेत किटानीसाथ लेखाई दिएको देखिन्छ । चोरीको सामान साथमा लिई हिँडेका प्रतिवादीहरूले किशोर अधिकारीले दिएको मोटरसाइकल भनी उल्लेख गरे तापनि उक्त व्यक्ति देखाउन, पक्राउन तथा नजिकै पसलको सामान बोकेको भनी दाबी गर्नेले निजको पसलसमेत देखाउन नसकेको अवस्थामा आफ्नो साथबाट बरामद भएको मोटरसाइकल आफूहरूले चोरेको होइन भन्‍ने प्रतिवादीहरूको अप्रमाणित बयान तथा चोरी गरेको देख्‍ने प्रत्यक्षदर्शी नभएको भन्‍ने हचुवा निर्णयाधार आधार लिई प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, पाटनको उक्त फैसलामा मुलुकी ऐन, चोरीको महलको दफा १ र ३ नं. को कानूनको व्याख्याको गम्भीर त्रुटि भएकोले मुद्दा दोहर्‍याई हेरी अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारले यस अदालतमा परेको निवेदन पत्र ।

यसमा प्रतिवादीहरू महेश र नगेन्द्र खनालका साथबाट जाहेरवालाको चोरी भएको भनिएको मोटरसाइकल विना कागजात बरामद भएको 

देखिन्छ । बरामद भएको मोटरसाइकल आफूहरूले बिक्री गरी आएको रकम बाँड्ने उद्देश्यले उक्त मोटरसाइकल लिएर जाने सिलसिलामा पक्राउ परेको पाइन्छ । सजायबाट छुट पाउँ भन्‍ने प्रतिवादीले प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम सोको प्रमाण पुर्‍याउने भार निज प्रतिवादीमा रहने हुँदा निजले सो दायित्व पूरा गरेको देखिएन । मोटरसाइकल चोरी भएको अवस्थामा यी प्रतिवादीहरूलाई पुनरावेदन अदालत, पाटनले अभियोग दाबीबाट सफाई दिने ठहर्‍याएको फैसलामा मुलुकी ऐन, चोरीको महलको १ र ३ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ७(क) र २७(१), ५४ र मुलुकी ऐन, अ.बं. १८४क, १८५ र ने.का.प. २०६७ अंक ८ नि.नं. ८४४४ पृष्‍ठ १३९६ मा प्रतिपादित सिद्धान्तका समेतको त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम निस्सा प्रदान गरिएको छ भन्‍नेसमेत व्यहोराको यस अदालतबाट भएको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापाले जाहेरवालाको चोरी भएको मोटरसाइकलको नम्बर परिवर्तन गरेको अवस्थामा प्रतिवादीहरूबाट बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको हुँदा उक्त मोटरसाइकल प्रतिवादीहरूले बेची खाने उद्देश्यले चोरी गरेको प्रमाणित भइरहेको छ । प्रतिवादीहरूले उक्त मोटरसाइकल बेची खाने उद्देश्यले चोरेको भनी निजहरूको  अनुसन्धानको क्रममा  भएको बयान व्यहोराबाट पनि प्रष्ट भइरहेको अवस्थामा निज प्रतिवादीहरूको इन्कारी बयानको आधारमा मात्र निजहरूलाई सफाई दिने गरी भएको फैसलामा प्रमाणको उचित मूल्याङ्कन नभएको हुँदा सो फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ, छैन? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित र विनोद पण्डितले जाहेरवालाको घरमा गई पर्खाल भत्काई बा.१६प.९०१० नं. को मोटरसाइकल चोरी गरेकोले चोरीको महलको १३ नं. को कसुरमा १४(१) नं. बमोजिम सजाय मागदाबी गरी अभियोग पत्र दायर भएको देखियो । प्रतिवादीहरू नगेन्द्र खनाल, महेश दुलाल र राजु पण्डितले अनुसन्धानको क्रममा आरोपित कसुर स्वीकार गरी बयान गरे पनि अदालतमा आरोपित इन्कार रही बयान गरेकोमा निज प्रतिवादीहरूले आरोपित कसुरबाट सफाई पाउने ठहर्‍याई भएको सुरू फैसला पुनरावेदन अदालतबाट सदर हुने ठहरेकोमा सोउपर वादीको यस अदालतमा दोहोर्‍याई पाउँ निवेदन परी निस्सा प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।

३. प्रस्तुत मुद्दाको अनुसन्धान कार्य सुजन ढुंगानाको मिति २०६१।६।१८ को जाहेरी दरखास्त परेपछि प्रारम्भ भएको पाइन्छ । मिति २०६१।७।१२ मा प्रतिवादीहरू महेश दुलाल, नगेन्द्र खनाल र राजु पण्डितबाट चोरीको उक्त बा.१६प.९०१० नं. को YBX यामाहा मोटरसाइकल बरामद भएको खानतलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ । बरामदी मुचुल्का तयार भएकै मितिमा जाहेरवालाले यी प्रतिवादीहरूलाई समेत किटान गरी अर्को जाहेरी दिएका छन् । प्रतिवादी नगेन्द्र खनाल, महेश दुलाल र राजु पण्डितले अनुसन्धानको क्रममा बयान गर्दा आरोपित कसुरमा स्वीकार रही बयान गरेका छन् । अदालतमा आई प्रतिवादी महेश दुलालले निजको कोठासँगै मासु पसल गरी बस्ने किशोर अधिकारी मासु पसल लोकन्थली सार्न लाग्दा सामान सार्न गएको बेला ढिलो भएकोले निज किशोर अधिकारीले मोटरसाइकल लिएर जाउ भनी आफ्नो मोटरसाइकल दिएकोले नगेन्द्र खनाल र निज चढेर आएकोमा निजहरूसँग कुनै कागज नभएकोले पक्राउ गरेको हो भनी बयान गरेको देखिन्छ । सोही व्यहोरालाई समर्थन हुने गरी नगेन्द्र खनालले समेत बयान गरेको देखिन्छ । त्यस्तै अर्का प्रतिवादी राजु पण्डित पनि आरोपित कसुरमा इन्कार रही प्रहरीले अनुसन्धानको क्रममा कुटपिट गरेको कुरासमेत लेखाएको देखिन्छ । अनुसन्धानको क्रममा कागज गर्ने निराजन भट्टराई र पारस कोइरालाले मोटरसाइकल चोरी भएको थाहा पाएको भनी लेखाएको देखिए पनि कसले चोरेको हो भन्‍ने कुरा लेखाउन सकेको देखिँदैन । यसका साथै यी कागज गर्ने मानिसहरू घटनाको प्रत्यक्षदर्शी रहेको देखिँदैन । अनुसन्धानको क्रममा कागज गर्ने मानिसहरूले सोलाई पुष्‍ट्याईं हुने गरी अदालतमा उपस्थित भई बकपत्र गरेकोसमेत पाइँदैन । प्रतिवादीहरूले अदालतसमक्ष गरेको इन्कारी बयानलाई प्रतिवादीहरूका साक्षीले समर्थन हुने गरी अदालतसमक्ष बकपत्र गरिदएका छन् । 

४. प्रतिवादीहरूबाट बरामद भएको भनिएको मोटरसाइकल प्रतिवादीहरूको सँगसाथमा कसरी आयो भनी हेर्दा प्रतिवादीहरू नगेन्द्र खनाल र महेश दुलाल निजहरूका साथी किशोर अधिकारीको मासु पसल सार्न जाँदा फर्कने बेलामा ढिलो भएकोले निजले आफ्नो सँगसाथमा भएको मोटरसाइकल लिएर जान भनेकाले मोटरसाइकल प्रतिवादीहरू नगेन्द्र खनाल र महेश दुलालले लिएर आएको अवस्था देखिन्छ । त्यस्तै प्रतिवादी राजु पण्डितलाई प्रहरीले बरामदी मुचुल्कामा उल्लेख गरेको दिन पक्राउ नगरी मिति २०६१।६।२२ मा निजको घरबाट पक्राउ गरेको कुरा निजको बयान एवं साक्षीहरूले अदालतमा गरेको बकपत्रबाट देखिएको तर बरामदी मुचुल्कामा बसेका साक्षीहरूले अदालतमा उपस्थित भई बकपत्रसमेत नगरेकोले उक्त बरामदी मुचुल्का पनि शंकास्पद रहेको देखियो । अनुसन्धानको क्रममा लेखाई दिएको व्यहोरालाई नै सर्वोत्तम प्रमाण मानी त्यसैको आधारमा प्रतिवादीहरूलाई सजाय गर्न मिल्दैन । सो अनुसन्धानको क्रममा लेखाइएको व्यहोरा आफैँमा निष्पक्ष प्रमाण हुन सक्दैन । त्यस्ता साक्षी प्रमाणलाई प्रतिवादीहरूले समेत परीक्षण गर्न मौका पाएको खण्डमा मात्र सोलाई विश्‍वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू नगेन्द्र खनाल र महेश दुलालको साथबाट उक्त चोरीको मोटरसाइकल बरामद भएको भनी बरामदी मुचुल्काबाहेक अन्य कुनै प्रमाणबाट निज प्रतिवादीहरूले उक्त मोटरसाइकल चोरेको भनी प्रमाणित भएको देखिँदैन । तर उक्त बरामदी मुचुल्का पनि शंकास्पद रहेको एवं यी प्रतिवादीहरूले उक्त मोटरसाइकल निजहरूको सँगसाथबाट बरामद हुनुको कारणसमेत आफ्नो अदालतसमक्षको बयानमा उल्लेख गराएको एवं सो बयान व्यहोरा निजहरूको साक्षीबाट पुष्टिसमेत भएको अवस्थामा शंकास्पद बरामदी मुचुल्कालाई नै कसैलाई कसुरदार ठहर गर्न पर्याप्त प्रमाण मान्न मिल्दैन ।

५. यसरी प्रस्तुत वारदातको प्रत्यक्षदर्शी कोही नभएको जाहेरवाला आफैँ पनि प्रत्यक्षदर्शी नभएको, मिति २०६१।७।१२ मा तयार भएको भनिएको बरामदी मुचुल्का पनि शंकास्पद देखिएको, प्रतिवादीहरू नगेन्द्र खनाल र महेश दुलालको साथबाट बरामद भएको मोटरसाइकल निजहरूसँग आउनु पर्ने अवस्था निजहरूले आफ्नो अदालतमा भएको बयानमा उल्लेख गरिसकेको देखिएकोले निजहरू उपर लगाइएको अभियोग शंकारहित तवरले प्रमाणित हुन आएको देखिएन । फौजदारी मुद्दाको प्रतिवादीहरू उपर लगाइएको आरोप शंकारहित तवरले पुष्टि नभएको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसलालाई अन्यथा मान्‍न मिलेन । अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्‍ने वादीको जिकिर एवं यस अदालतबाट मिति २०७०।३।२६ मा मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान गर्दा उल्लेख भएको आधारसँग सहमत हुन सकिएन ।

६. तसर्थ माथि विवेचित आधार कारण एवं प्रमाणबाट वादी दाबी नपुग्ने गरी प्रतिवादीहरू राजु पण्डित, महेश दुलाल र नगेन्द्र खनालले सफाई पाउने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।३।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु । 

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृत: रामु शर्मा

इति संवत् २०७३ साल भदौ १६ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु