शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८९५ - अपहरण तथा कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७४।०५।२७

 

मुद्दाः- अपहरण तथा कर्तव्य ज्यान

 

०७१-CR-११३६

पुनरावेदक / प्रतिवादी : प्रमोद महतो कहारको श्रीमती जिल्ला बारा गा.वि.स. भगवानपुर वडा नं.१ घर भई हाल कारागार पर्सा वीरगञ्‍जमा थुनामा रहेकी रेणुदेवी कहार

विरूद्ध

प्रत्यर्थी / वादी : सियारामप्रसाद यादवको जाहेरीले नेपाल सरकार

 

०७१-CR-१३९६

पुनरावेदक / वादी : सियारामप्रसाद यादवको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : बारा जिल्ला, भगवानपुर गा.वि.स.वडा नं.९ बस्ने रामचन्द्र कहारसमेत

 

कुनै श्रृङ्खलाबद्ध वारदात भएको अवस्थामा कुनै एउटा कसुरमा सजाय ठहर गर्दैमा अन्य ऐनको प्रयोजन पूरा हुँदैन । प्रत्येक ऐनअनुसारको कसुर ठहर हुन्छ वा हुँदैन भनी अदालतले अभियोग दाबीअनुसारका सबै प्रश्नको निरूपण गर्नुपर्दछ । ठूलो सजाय हुने खत वा कसुर ठहर हुँदैमा अन्य कसुरका सम्बन्धमा सजाय ठहर गर्नबाट पन्छिन नमिल्ने ।

मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. को व्यवस्था सजाय ठहर भइसकेपछि कैद ठेक्ने सम्बन्धमा अपनाउने विधि सम्बन्धित हुनसक्ने कैदको हद कायम गर्ने सम्मको व्यवस्था हो । ज्यान र अपहरण गरी दुवै कसुर ठहर गरिएको कारणबाट दण्ड सजायका महलको ४१ नं. विपरीत हुँदैन । ठहर भएको कैद असुल गर्ने (कैद ठेक्ने) सन्दर्भमा भने उक्त ४१ नं. मा रहेको प्रावधानको अनुशरण गरिनुपर्ने । 

(प्रकरण न. ५)

 

पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, विद्वान् अधिवक्ता शोभा कार्की

प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् अधिवक्ता रामाशिषप्रसाद यादव

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल

माननीय न्यायाधीश श्री सरिता शर्मा

 

फैसला

न्या. ईश्‍वरप्रसाद खतिवडा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतको क्षेत्राधिकारमा रहेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

मिति २०६७।११।३० गते बेलुका १७:०० बजेको समयमा जिल्ला बारा, भगवानपुर गा.वि.स. वडा नं. ९ बस्ने सियाराम प्रसाद यादवको छोरी वर्ष १ कि राधिकाकुमारी हराई बेपत्ता भएकोमा मिति २०६७।१२।१५ गतेका दिन जिल्ला बारा, हर्दिया गा.वि.स. वडा नं. १ स्थित थलही खोलामा मृतक राधिका कुमारीको लास सडी गली दुर्गन्धित अवस्थामा फेला परेको भन्ने व्यहोराको घटनास्थल लास जाँच मुचुल्का । 

जिल्ला बारा भगवानपुर गा.वि.स. वडा नं. ९ बस्ने प्रमोद महतो कहारको श्रीमती रेणुदेवी कहारको घर कोठाको खाटमुनि नयाँ माटोले खाल्टो पुरेको, खन्दा सजिलोसँग आउँने गरेको, भित्रबाट गन्ध आइरहेको, खाल्टो नजिकै खुर्पा १, विषादीको बट्टासमेत बरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

मिति २०६७।११।३० गतेका दिन म जाहेरवालाको छोरी वर्ष १ कि राधिका कुमारी आफ्नै घर आँगनमा खेलिरहेको अवस्थामा प्रतिवादी रेणुदेवीसमेतले मिली उठाई प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीता देवी, रेणुदेवी र रामाज्ञाप्रसाद यादवसमेतको राय सल्लाहमा कर्तव्य गरी मारी मृतक लास खोलामा फाली दिएको अवस्थामा मिति २०६७।१२।१५ गते मृतक लास फेला परेकोले कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको सियारामप्रसाद यादवको जाहेरी दरखास्त ।

मिति २०६७।११।२८ गतेका दिन जाहेरवालाको श्रीमती चन्दनियादेवीसँग मेरो मोबाइलको विषयलाई लिई वादविवाद हुँदा चन्दनिया देवीले मेरो कपाल तानी कुटपिट गरेकी र निजको श्रीमान् जाहेरवाला सियाराम यादवले गाली गलौज गरेकोले मैले सोही कुराको रिसइवी राखी मिति २०६७।११।३० गतेका दिन बेलुका १७:०० बजे जाहेरवालाको छोरी राधिकाकुमारीलाई आँगनबाट उठाई ल्याई आफ्नो घरमा विषादी सेवन गराई टाउकोमा खुर्पाले प्रहार गरी कर्तव्य गरी मारी घरभित्र खाटमुनि खाल्टोमा पुरी ४ दिनपछि मृतक लास निकाली घर परिवारका प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवीको राय सल्लाहमा मृतक लास वृजकिशोर र रामज्ञा यादवले खोलामा लगी फालेको हो भन्नेसमेत व्यहोराको रेणुदेवी कहारको बयान कागज । 

मृतक राधिका कुमारी यादवको मृत्यु Head Injury बाट भएको भन्ने शव परीक्षण प्रतिवेदन ।

मिति २०६७।११।२८ गते बेलुकाको समयमा मसँग प्रतिवादी रेणुदेवीको मोबाइलको विषयलाई लिएर वादविवाद हुँदा मैले कपाल तानी कुटपिट गरेको, श्रीमान्‌ले गाली गलौज गरेको, पञ्चायतीमा माफी मगाएकोले निज प्रतिवादी रेणुदेवीले ममाथि रिस राखी मिति २०६७।११।३० गतेका दिन मेरो छोरी वर्ष १ को राधिकाकुमारी यादवलाई घर आँगनबाट उठाई अपहरण गरी आफ्नो घरमा ल्याई प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीता देवी, रेणुदेवीसमेतका बीच राय सल्लाहले विषादी सेवन गराई कर्तव्य गरी मारी मृतक लास रामाज्ञाप्रसाद यादवले समेत मिली खोलामा फालेको अवस्थामा फेला परेको हो भन्नेसमेत व्यहोराको मृतककी आमा चन्दनीदेवी यादवको 

कागज । 

मिति २०६७।११।३० गते अन्दाजी १६:४० बजेको समयमा जाहेरवालाकी छोरी राधिकाकुमारी आफ्नै घर आँगन अगाडि खेलिरहेको र प्रतिवादी रेणुदेवी कहार आफ्नै घर अगाडि सडकमा उभिरहेको अवस्थामा देखेको हुँ । पछि जाहेरवालाको छोरी हराई बेपत्ता भएकोमा तत्काल खोजतलास गर्दा फेला नपरेकोले पछि मिति २०६७।१२।१५ गते राधिका कुमारीको लास खोलामा फेला परेको, रेणुदेवीको घरभित्र खाटमुनि गाडेको खाल्टो रहेको र सोबाट गन्ध आइरहेकोले प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीता देवी, रेणुदेवीसमेतको मिलेमतो राय सल्लाहमा राधिका कुमारीलाई उठाई ल्याई कर्तव्य गरी मारेको बुझिन आएको भन्नेसमेत व्यहोराको घटना विवरण कागज । 

मिति २०६७।११।२८ गतेका दिन जाहेरवालाको श्रीमती चन्दनिया देवी र प्रतिवादी रेणुदेवी कहारबीच मोबाइलको विषयमा वादविवाद एवं झगडा हुँदा चन्दनिया देवीले रेणुदेवीलाई कुटपिट गरेको कारण रिसइवी लिई प्रतिवादी रेणुदेवी कहारले मिति २०६७।११।३० गते प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवीको रायसल्लाहमा जाहेरवालाको छोरी वर्ष १ कि राधिका कुमारीलाई घरबाट उठाई अपहरण गरी ल्याई निजहरूको राय सल्लाहमा कर्तव्य गरी मारी मृतक लास प्रतिवादी वृजकिशोर महतो र रामाज्ञाप्रसाद यादवले खोलामा लगी लास फालिदिएको हो भन्नेसमेत व्यहोराको मधुप्रसाद यादवसमेतले गरेको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी रेणुदेवी कहारले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक राख्नेको महलको १ नं. र ज्यानसम्बन्धी महलको १ नं. तथा १३(३) नं. अनुसारको कसुर गरेको हुँदा सो कसुरमा निजलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. र ९ नं. अनुसार र ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार समेत सजाय गरी पाउन तथा रामचन्द्र कहार, वृजकिशोर महतो, सीता देवी र रामाज्ञाप्रसाद यादवसमेतले अपहरण गर्ने कार्यमा दुरूत्साहन तथा आदेश दिई मार्ने कार्यमा षड्यन्त्रसमेत गरेको देखिँदा निजहरूलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ४ नं. ले हुने सोही महलको ३ नं. अनुसार सजाय गरी ऐ. ९ नं. अनुसार थप सजाय तथा ज्यानसम्बन्धी महलको १६ नं. अनुसार समेत सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र मागदाबी । 

मैले जाहेरवालीको छोरीलाई मारेको होइन । मिति २०६७।११।३० गते म घर गाउँमा 

थिइन । गाउँबाट टाढा गोठमा दाउरा लिन गएकोमा फर्की आउँदा जाहेरवालीको छोरी हराएको हल्ला खल्ला सुनेको हो । मैले अपहरण गरेको होइन । मेरो जेठाजु वृजकिशोर महतोको मोबाइल जाहेरवालीको पत्‍नी चन्दनियादेवीले चोरी लगेकोमा जेठाजु वृजकिशोर निजकी पत्‍नी सीतादेवीले जाहेरवालाको पत्‍नीसँग झैझगडा गरेका थिए । सोही रिसइवीबाट अपहरण गरी मारेको कुरा मैले थाहा पाएको हो । जाहेरवालीकी छोरीलाई वृजकिशोर, सीता देवी, सञ्जु देवीसमेतले अपहरण गरी मारेको हो, मैले होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रेणुदेवी कहारले सुरू बारा जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६७।११।३० गतेमा रौतहटको सहबैठवा गा.वि.स. वडा नं. ५ मा विगन महतो कहार कहाँ गएको हुँ । त्यहाँ बिहान १० बजे पुगेको थिएँ । मैले जाहेरवालीको छोरीलाई अपहरण गरी कर्तव्य गरी मारेको होइन । मैले अपराध गरेको नहुँदा मलाई सजायसमेत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामचन्द्र महतो कहारले सुरू बारा जिल्ला अदालतमा गरेको बयान ।

प्रतिवादी वृज किशोर, सीता देवी, रामाज्ञाप्रसाद यादवसमेतले तामेल भएको म्याद गुजारी बसेको ।

मेरी श्रीमतीसँग मोबाइलको विषयमा रेणुदेवी र सीतादेवीको झगडा भएको थियो । मेरी छोरीलाई कसले मारेका हुन् थाहा छैन । रेणुदेवी उपर शंकाका आधारमा जाहेरी दिएको हुँ । नदी किनारामा छोरीको लास फेला परेको, निधारमा चोट थियो भन्नेसमेत व्यहोराको जाहेरवाला सियाराम प्रसाद यादवले सुरू बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

मेरी छोरी घरबाट हराएकी र नदीको छेउमा लास भेटेको हो । रेणुदेवीसँग झगडा भएको 

थियो । रेणुदेवीले मारेको हो भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस चन्दनिया देवी यादवले सुरू बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

राधिकाकुमारीलाई कसले अपहरण गरी मारेका हुन् मलाई थाहा छैन । चन्दनिया र रेणुदेवीबीच मोबाइलका विषयमा झगडा भएको थियो भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने महादेव राउत अहिरले सुरू बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

राधिकाकुमारीलाई कसले अपहरण गरी मारेका हुन् मलाई थाहा छैन । अनुसन्धानका क्रममा भएको कागजमा रहेको व्यहोरा मेरो होइन भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने सुनित राउतले सुरू बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६७।११।३० गते प्रतिवादी रामचन्द्र महतो मेरो घरमा आई मिति २०६७।१२।५ गते आफ्नो घरमा फर्किएका हुन् । निजउपरको दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामचन्द्र महतोका साक्षी नन्दलाल महतोकहारले सुरू बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

रामचन्द्र महतो मिति २०६७।११।३० गते आफ्नो घरमा नभई ससुराली गएका थिए । निजउपरको अभियोग दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्र. रामचन्द्र महतोको साक्षी बिजुली महतोले सुरू बारा जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीमध्येको वृजकिशोर महतो, सीता देवी कहार, रामाज्ञाप्रसाद यादव फरार हुँदा निजहरूका हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी राखी दिने, राधिकादेवीलाई प्र. रेणुदेवीले कर्तव्य गरी मारेको देखिँदा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने 

ठहर्छ । अपहरण तथा शरीरबन्धकतर्फ सजाय गरिरहनु परेन । प्रतिवादीमध्येका रामचन्द्र कहारका हकमा अभियोग मागदाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको बारा जिल्ला अदालतबाट मिति २०६९।३।७ मा भएको फैसला ।

म र मेरो पति वृजकिशोर महतो ०६७।११।३० गते घरमा खानपिन गरी अन्दाजी १०/११ बजे दिउँसो फुपू बिरामी परेको खबर पाई फुपू कहाँ गा.वि.स. पिप्राढी वडा नं. ७ रामएकवाल फुफाको घरमा गएका हौ । त्यहाँ बसी फुपूको हेर विचार दबाईसमेत गरेका थियौँ । ५/६ दिन त्यहीँ बसी चैत्र ६ गते ०६७ सालमा घर फर्की आएका हौ । हामी दुवै पति पत्‍नी सँगसँगै गई आएका हौँ । मैले जाहेरवालाको छोरीलाई अपहरण गरी कर्तव्य गरी मारेको होइन र मैले मार्न सरसल्लाहसमेत दिएको होइन । के कसरी मारे मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सीता देवी कहारले सुरू अदालतमा गरेको बयान ।

अभियोग पत्र व्यहोरा सुनी पाएँ, ०६७।११।३० गते बिहान म र मेरो पत्‍नी सीता देवी कहार खानपिन गरी १०×११ बजे पिप्राढी वडा नं. ७ रामएकवाल फुफाको पत्‍नी हाम्रो फुपू बिरामी परेको खबर पाई त्यहाँ गएका हौँ । फुपूकहाँ नै ५/६ दिन बसी बिरामी परेको हेर विचार गरी मिति २०६७।१२।६ गते घर फर्की आएका हौं । मैले जाहेरवालाको छोरीलाई सरसल्लाह गरी अपहरण गरी कर्तव्य गरी मारेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन छैन । के कसले मारी खोलामा फाले भन्ने कुरा गाउँघरमा म फुपू कहाँबाट घर आएपछि थाहा पाएको हुँ । जाहेरवालाले के कारणले ममाथि यो जाहेरी दिए मलाई थाहा छैन । अन्य कागजको सम्बन्धमा मलाई थाहा छैन । म गाउँ घरमा नभएकोले थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी वृजकिशोर महतो कहारले सुरू अदालतमा गरेको बयान ।

मिति २०६७।११।३० गतेका दिन म आफ्नो घरमा बिहानदेखि खेतमा काम गरी बेलुका घरमा आई खानपिन गरी घरमा सुतेको हुँ । मैले कसैको छोरा छोरीलाई अपहरण गरी कर्तव्य गरी मारेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन छैन । मउपरको अभियोग झुठा 

हो । रेणुदेवी कहारले के लेखाए लेखाएन निजै जानुन् । निजले गरेको बयान झुठा हो । मैले कुनै अपराध गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन छैन भन्नेसमेत व्यहोराको रामाज्ञाप्रसाद यादवले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीहरू मिति २०६७।१२।३० गते बारा जिल्ला पिप्राडी गा.वि.स. वडा नं. ७ मा आफ्नो फूपुको घरमा गएका र मिति २०६७।१२।६ गते मात्र फर्की आएका हुन् । निजहरू उपरको अभियोग दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी वृजकिशोर महतो र सीता देवीका साक्षी भुखलकुमार साहले गरेको बकपत्र ।

मिति २०६७।११।३० गते बेलुका ५ बजे प्रतिवादी आफ्नै घरमा थिए । म पनि त्यहीँ थिएँ । जाहेरवालाकी छोरीको कसले हत्या गरेका हुन् मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्र. रामाज्ञा यादवको साक्षी रामकृत राय यादवले गरेको बकपत्र ।

प्रतिवादीहरू मिति २०६७।११।३० गते आफ्नो फूपुको घर पिपराढी गएका थिए । चैत्र ६ गते मात्र घरमा फर्किएका हुन् । अपहरण तथा हत्यामा निजहरूको हात छैन भन्नेसमेत व्यहोराको प्रतिवादी वृजकिशोर महतो र सीता देवी कहारको साक्षी प्रमोदकुमार महतोले गरेको बकपत्र ।

राधिकादेवीलाई प्र. रेणुदेवी बाहेकका अन्य प्रतिवादीहरू उपरको अभियोग पुष्टि हुने निश्चयात्मक सबुत प्रमाणको अभावमा अभियोग दाबी पुग्न 

सक्दैन । आरोपित कसुरबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्‍ने व्यहोराको सुरू बारा जिल्ला अदालतको मिति २०७०।०१।०३ गतेको फैसला । 

रेणुदेवी कहारलाई कर्तव्य गरी ज्यान मारेकोतर्फ सजाय ठहर भएपनि शरीर बन्धक तथा अपहरणतर्फ केही नबोलिएको सुरू फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्मको सुरू फैसला उल्टी गरी अपहरण तथा शरीरबन्धक लिनेको महलको ३ र ९ नं. बमोजिम सजाय गरिपाऊँ । जाहेरवालाको श्रीमती चन्दनिया देवी र प्रतिवादी रेणुदेवी कहारबीच मोबाइलको विषयमा भएको विवाद र कुटपिटसमेतको रिसइवीबाट रेणुदेवी कहार र निजको परिवारका सदस्यहरू समेतले जाहेरवालाको वर्ष १ कि छोरी राधिकालाई बन्धक बनाई हत्या गरेको भन्‍ने कुरा प्रतिवादी रेणुदेवी कहारको घर कोठाको प्रकृति, निजको मौकाको र अदालतको पोलसहितको साबिती बयान, शव परीक्षण रिपोर्टसमेतबाट षड्यन्त्र र सो हत्या गर्नमा संलग्नता रहेको पुष्टि भएको अवस्था छ । प्रतिवादीमध्येकी रेणुदेवी एक जनाले मात्रै मौकामा कसुर स्वीकार गरी बयान गरेको र निजले अदालतमा अन्य प्रतिवादी वृजकिशोर र सीतादेवीसमेतले कर्तव्य गरी मारेको हो भनी पोलसहितको बयान गरेकी छन् । जाहेरवाला र प्रतिवादी घर आँगन जोडिएका छिमेकी भएको देखिएको र घटना विवरणका मानिसहरू महादेव राउतसमेतले प्रतिवादी र जाहेरवाला पक्षबीच मोबाइलको विषयमा झगडा भएको हो भनेको र सोही झगडाको रिसइवीबाट आफूहरूले जाहेरवालाको छोरी राधिकालाई अपहरण गरी हत्या गरेको भनी रेणुदेवीले मौकामा र अदालतमा गरेको बयानलाई समर्थित हुन आएको र मिति २०६९।३।७ को फैसलाले सो तथ्यलाई स्वीकार गर्दै रेणुदेवी कहारलाई सर्वस्वसहित जन्म कैदको सजाय गरिएकोमा अन्य प्रतिवादीलाई सफाई दिने गरी भएको हदसम्मको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडामा परेको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

प्रहरीमा गरिएको बयान डरत्रास पारी लेखिएको बयानमा सहिछाप गराएका हुन् । अदालतमा म प्रतिवादी कसुरमा ईन्कार छु । मृतकलाई मैले प्रहार गरेको, विष खुवाएको भन्ने कुरा प्रमाणित 

छैन् । जाहेरवाला सो घटनाको प्रत्यक्षदर्शी होइनन् । म पुनरावेदक प्रतिवादीसँग जाहेरवालाको मोबाइल सम्बन्धमा रिसइवी थियो भन्‍ने कुरा निजको भनाई बाहेक अन्य कुनै प्रमाणबाट देखिएको छैन । त्यसमा पनि मोबाइलका निहुँमा नाबालक बच्चाको नै ज्यान लिने अवस्था हुँदैन । म पुनरावेदकले अपहरण गरी शरीर बन्धक बनाएको होइन तथा कर्तव्य नगरेको हुँदा म प्रतिवादीलाई सर्वस्वसहित जन्म कैद हुने ठहर गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्‍नेसमेत व्यहोराको रेणुदेवी कहारको पुनरावेदन पत्र । 

यसमा दोहोरो पुनरावेदन परेको र मिसिल संलग्न प्रमाणहरूको समुचित मूल्याङ्कन नभइरहेको सन्दर्भमा प्रमाण मूल्याङ्कनको रोहबाट सुरूको फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन गर्ने प्रतिवादीको हकमा दुवै पक्षको पुनरावेदन सुनाई पुनरावेदन नगर्ने प्रतिवादीहरूका हकमा म्याद जारी गरी झिकाई नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।०१।२३ को आदेश । 

प्रस्तुत मुद्दामा हामी प्रतिवादीहरूले जाहेरवालाकी छोरीलाई अपहरण गर्ने कार्यमा दुरूत्साहन तथा मार्ने कार्यमा षड्यन्त्र गरेको भन्ने कुरा स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणद्वारा पुष्टि भएको अवस्था नहुँदा हामी प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको रामचन्द्र महतो कहार, वृजकिशोर महतो, सीता देवी कहार, रामाज्ञा प्रसाद यादवसमेत जना ४ को लिखित प्रतिवाद ।

प्रतिवादीमध्येकी रेणुदेवी कहारलाई कर्तव्य ज्यानतर्फको अभियोग मागदाबीबमोजिम सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाई दिने गरी भएको बारा जिल्ला अदालतको मिति २०६९।३।९ र २०७०।१।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तर अभियोग मागदाबीबमोजिम अपहरण तथा शरीर बन्धकको महलको ३ र ९ नं. बमोजिम सजाय तोक्ने र ऐ.ऐ. को १२ नं. बमोजिम क्षतिपूर्तिसमेत भराउनु पर्नेमा सो गरेको नदेखिँदा सो हदसम्म सुरू बारा जिल्ला अदालतको उक्त फैसला केही उल्टी हुने ठहरिई उक्त महलको ३ नं. बमोजिम कैद वर्ष ८ र जरिवाना रू. एकलाख र ऐ.९ नं. बमोजिम थप २ वर्ष कैद एवंम् ऐ. १२ नं. बमोजिम जाहेरवालाले प्रतिवादी रेणुदेवीबाट क्षतिपूर्तिबापत रू.५००।– भराई लिन पाउनेसमेत ठहर्छ । अन्य प्रतिवादीहरूलाई समेत सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र अभियोग दाबीबाट सफाई पाउँ भन्‍ने प्रतिवादी रेणुदेवी कहारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।०९।०१ को फैसला ।

विवादको जरिया म पुनरावेदक प्रतिवादी उपरको होइन भन्ने कुरा जाहेरी व्यहोरावाट प्रष्ट भइरहेको अवस्थामा सो जाहेरी व्यहोरालाई फैसला हुँदाको अवस्थामा गम्भिरतापूर्वक नहेरिएको,मृतकको लास अर्को गा.वि.स. सम्म भगवानपुर गा.वि.स.बाट लगी फ्याँक्न सक्ने अवस्था म पुनरावेदक प्रतिवादीको नरहेको र सो कुरालाई वादी नेपाल सरकारले ठोस सबुद प्रमाणबाट प्रमाणित गर्न सकेको अवस्था नरहेको, प्रहरिसमक्ष गरिएको साबिती बयान अन्य स्वतन्त्र प्रमाणबाट प्रमाणित हुन नसकेको, घटनास्थल प्रकृति मुचुल्काअनुसारको खाल्डो म पुनरावेदक प्रतिवादीले कहिले खनेको हो र सो खाल्डो खन्दा अन्य परिवारका सदस्यहरूको भूमिका के रहेको थियो भन्ने बारेमा कुनै विश्लेषण नगरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रेणुदेवी कहारले यस अदालतमा गरेको पुनरावेदन जिकिर ।

वृजकिशोर कहारको मोबाइल मृतकको आमाले चोरी गरेको भनी वृजकिशोर कहारले लगाएको आरोपमा मृतकको आमा, बाबु र जेठाजु वृजकिशोर र निजको श्रीमती सीतादेवीबीच झगडा भएको थियो भनी प्रतिवादी रेणुदेवीले अदालतमा गरेको बयानको स.ज. ४ मा लेखाएको, प्रतिवादी रेणुदेवीलाई घरमा एक्लै छाडी अन्य प्रतिवादीहरू वारदातपश्चात् फरार भई जाहेरवालासमेतलाई Hostile बकपत्र गराएपछि रेणुदेवी कहार र रामचन्द्र कहारको हकमा मिति २०६९।३।७ मा फैसला भइसकेपछि मुलतबीमा रहेका प्रतिवादी वृजकिशोर, सीतादेवी र रामाज्ञाप्रसाद यादव अदालतमा आई बयान गर्दा कसुरमा इन्कारी भएकै कारण साधारण तारेखमा राख्ने गरी सुरूले आदेश गरेपनि सो आदेशउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, हेटौंडामा निवेदन पर्दा मिसिल संलग्न प्रमाणको रोहबाट प्रतिवादी सीतादेवी र वृजकिशोर महतो कहारलाई पुर्पक्षको लागि थुनामा राखी कारवाही गर्नु भनी मिति २०६९।१०।२५ मा पुनरावेदन अदालतबाटै आदेश भएको र त्यसपछि प्रतिवादीहरू वृजकिशोर र सीतादेवी फरार रही आफ्ना साक्षी प्रमाण केही दिन नसकेको, मौकामा कसुरमा साबित हुने प्रतिवादी रेणुदेवी कहारले अदालतमा बयान गर्दा वारदातमा जेठाजु वृजकिशोर, ससुरा रामचन्द्र, सीतादेवी संलग्न रही राधिकादेवीको हत्या गरी आफू सुत्ने पलङमुनि खाडल खनी गाडिएको र ४ दिनपछि जेठाजुसमेतले खाडलबाट झिकी थलही खोलामा लगी फालेको भनी गरेको बयानबाट उक्त वारदातमा प्रतिवादी ५ जनाकै संलग्नता रहे भएको पुष्टि हुँदाहुँदै जेठाजु, ससुरा, सासुसमेत रहे भएको एकासगोलको घरमा घरकी सबैभन्दा कम उमेरकी प्रतिवादी रेणुदेवीले जेठाजुको मोबाइल चोरी गरेको रिसइवी लिई जाहेरवालाको छोरी अपहरण गरी ल्याई एक्लै मारी दबाएको सगोलका अन्य सदस्यको त्यसमा कुनै हात नरहेको भनी प्रतिवादी जना ४ लाई सफाई दिने गरी भएको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादी रेणुदेवी कहारलाई अभियोग माग दाबीबमोजिम सजाय गरे पनि अन्य प्रतिवादी वृजकिशोर, रामचन्द्र, सीतादेवी र रामाज्ञाप्रसाद यादवलाई सफाई दिने गरी भएको फैसला सो हदसम्म उल्टी गरी सफाई पाउने प्रतिवादीहरू जना ४ लाई समेत अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले यस अदालतमा गरेको पुनरावेदन जिकिर ।

यसमा प्रतिवादी रेणुदेवी कहार उपर एउटै वारदातमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा चलेकोमा पुनरावेदन अदालत, हेटौंडाबाट कर्तव्य ज्यान मुद्दामा सजाय भइसकेपछि उही वारदात लिएर चलेको अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय गरेको सो अदालतको मिति २०७१।९।१ को फैसला मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. को विपरीत भएको देखिएको र वादी प्रतिवादी दुवैले पुनरावेदन गरेको देखिँदा मुलुकी ऐन, अ.वं.२०२ नं. को प्रयोजनार्थ प्रतिवादी रेणुदेवी कहारको पुनरावेदन परेको हकमा वादी नेपाल सरकारलाई पेसीको सूचना दिनु र वादी नेपाल सरकारको पुनरावेदन परेको हकमा सो पुनरावेदन पुनरावेदक प्रतिवादीहरूलाई सुनाई सफाई पाएका प्रतिवादीहरू रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवी कहार र रामाज्ञाप्रसाद यादवलाई झिकाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७४।२।१८ मा भएको आदेश ।

जाहेरवाला सियाराम प्रसाद यादवले हामी प्रतिवादीहरूलाई समेत विपक्षी बनाई जाहेरी दिए तापनि निजले बकपत्र गर्दा आफ्नो जाहेरी व्यहोरालाई समर्थन नगरी छोरी राधिकाकुमारी यादवलाई कर्तव्य गरी क-कसले मारेका हुन् थाहा भएन, शंकाको आधारमा रेणुदेवीलाई पक्राउ गराएको हो शंकाको आधारमा किटानी जाहेरी दिएको थिएँ, तिनीहरूको काम होइन भनी बकपत्र गरेको छ । प्रतिवादी रेणुदेवी सुत्ने गरेको घर कोठाबाट बरामद भएको भनिएको चिजवस्तुको कानूनबमोजिम बरामदी मुचुल्का खडा नभएको, मृतककी आमा चन्दनिया देवी यादवले अदालतसमक्ष बकपत्र गर्दा अनुसन्धानका क्रममा हामीहरू उपर लगाएको आरोपलाई खण्डन गर्दै छोरीलाई कसले मारेको हो मलाई थाहा छैन भनी बकपत्र गरेकी, घटना विवरण कागज गर्ने सुनित राउत अहिर र महादेव राय यादवले मृतकलाई निज प्रतिवादीहरूले मारेको होइन भनी अदालतसमक्ष बकपत्र गरेको छ । राम्रोसँग हिँड्न, बोल्न नसक्ने अवस्थाको वर्ष १ को नाबालक राधिकाकुमारीलाई नजिकै रहेको जाहेरवालाको घर आँगनबाट एउटी महिलाले उठाई ल्याई कर्तव्य गरी मार्ने कुरा असम्भव नरहेको, सहअभियुक्त रेणुदेवीले केवल अदालतमा हामी प्रतिवादी उपर लगाइएको अभियोग दाबीभन्दा बाहिर गई फरक ढंगले कसुर गरेको भनी पोल गरेको आधारमा मात्र हामी प्रतिवादीहरूलाई कसुरदार ठहराई सजाय गर्न सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू समेतबाट मिल्ने नहुँदा माथि उल्लिखित आधारहरू समेतबाट हामी प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई दिने सुरू बारा जिल्ला अदालतबाट भएको फैसला र सो फैसलालाई सदर हुने ठहराई पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण नभई कानून तथा न्यायसङ्गत भएको हुँदा सो फैसलालाई नै सदर गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू रामचन्द्र महतो कहार, वृजकिशोर महतो कहार, सीतादेवी कहार र रामाज्ञाप्रसाद यादवको संयुक्त लिखित प्रतिवाद । 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको सुरू तथा रेकर्ड मिसिलसमेत अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले जाहेरवालाकी श्रीमती र प्रतिवादी रेणुदेवीबीच मोबाइलको विषयमा झगडा परेको भन्ने देखिएको, सोही रिसइवीबाट १ वर्षकी राधिकादेवीलाई निजको घरबाट अपहरण गरी आफ्नो घरमा ल्याई अन्य प्रतिवादीहरूको सल्लाह र सहयोगमा हत्या गरी घर कोठाभित्र खाल्डो खनी गाडी सोबाट गन्ध आउन थालेपछि नदीमा लगी फालिएको भनी प्रतिवादी रेणुदेवीले अनुसन्धानको क्रममा र अदालतमा समेत बयान गरेको, राधिकाको टाउकोमा परेको चोटको कारण मृत्यु भएको भन्ने देखिएको, घटनास्थलबाट विषको डिब्बा, खुर्पासमेत भेटिएको अवस्थामा एकैघरका सबै व्यक्तिहरूको मिलेमतोबाट नै उक्त वारदात पुष्टि भएको देखिन आएकोमा रेणुदेवीलाई मात्र कसुरदार ठहर गरी अन्यलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण भएकाले अन्य प्रतिवादीहरूलाई समेत अभियोग मागदाबीबमोजिम नै सजाय हुनुपर्दछ भनी बहस जिकिर गर्नुभयो । पुनरावेदक प्रतिवादी रेणुदेवी कहारका तर्फबाट उपस्थित वैतनिक वकिल विद्वान्‌ अधिवक्ता श्री शोभा कार्कीले प्रतिवादी कसुर गरेकोमा अदालतमा ईन्कार छिन्, घटनाका प्रत्यक्षदर्शी कोही पनि छैनन्, जाहेरवालालगायतले अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीलाई किटान गरी पोल गर्न सकेका छैनन्, सामान्य झगडामा नाबालिकालाई कर्तव्य गरी मारेको होला भनी अनुमानसमेत गर्न नमिल्ने हुँदा प्रतिवादीलाई कसुरदार ठहर गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो । अन्य प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री रामाशिष प्रसाद यादवले जाहेरवाला तथा घटना विवरणका मानिसहरूले अदालतमा बकपत्र गर्दा मौकाको व्यहोरा पुष्टि गराउन सकेका छैनन्, प्रतिवादीहरू वारदात भनिएको मिति समयमा घरमा नरहेको भनी गरेको ईन्कारी बयान निजहरूको साक्षीबाट पुष्टि भएको छ, १ वर्षकी बच्चीलाई नजिकै रहेको जाहेरवालाको घर आँगनबाट एउटी महिलाले उठाई ल्याई कर्तव्य गरी मार्ने कुरा असम्भव नरहेको अवस्थामा ज्यान जस्तो गम्भीर अपराधमा अनुमानका आधारमा परिवारका अन्य सदस्यको पनि संलग्नता छ भनी कसुरदार ठहर गर्न नमिल्नेसमेत हुँदा प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवी कहार र रामाज्ञाप्रसाद यादवका हकमा भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

अब यसमा पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला मिलेको छ छैन ? प्रतिवादी रेणुदेवी कहार तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. सर्वप्रथमत: प्रतिवादी रेणुदेवीको पुनरावेदन जिकिरका सन्दर्भमा निर्णयतर्फ विचार गर्दा मेरी छोरी १ वर्षकी राधिका कुमारी आफ्नै घर आँगनमा खेलिरहेको अवस्थामा प्रतिवादी रेणुदेवीसमेतले उठाई अन्य प्रतिवादीसमेतको राय सल्लाहमा कर्तव्य गरी मारी मृतकको लास खोलामा फाली दिएको अवस्थामा मिति २०६७।१२।१५ गते मृतक लास फेला परेको भन्‍नेसमेत व्यहोराको मृतकका वावुको किटानी जाहेरी दरखास्त परेको देखिन्छ । थलही खोलामा मृतक राधिका कुमारीको लास सडी गली दुर्गन्धित अवस्थामा फेला परेको भन्‍ने घटनास्थल लास जाँच मुचुल्का रहेको छ । प्रतिवादी रेणुदेवी कहारको घर कोठाको खाटमुनि नयाँ खाल्टो पुरेको, खन्दा सजिलोसँग आउने गरेको, भित्रबाट गन्ध आइरहेको, खाल्टो नजिकै खुर्पा १, विषादीको बट्टासमेत बरामद भएको भन्‍ने घटनास्थल मुचुल्का रहेको देखिन्छ । प्रतिवादी रेणुदेवी कहारले अनुसन्धान अधिकारीसमक्ष जाहेरवालाकी श्रीमतीसँग मोबाइलको विषयमा वादविवाद हुँदा जाहेरवालाकी श्रीमतीले कपाल तानी कुटपिट गरेकी र जाहेरवालाले गाली गलौज गरेकोले सोही कुराको रिसइवी राखी जाहेरवालाकी छोरी मृतक राधिका कुमारीलाई म एक्लैले आँगनबाट उठाई ल्याई घरमा विषादी सेवन गराई टाउकोमा खुर्पाले प्रहार गरी कर्तव्य गरी मारी खाटमुनि खाल्टोमा पुरी ४ दिनपछि मृतक लास निकाली घर परिवारको अन्य प्रतिवादीसमेतको राय सल्लाहमा मृतक लास प्रतिवादी मध्येका वृजकिशोर र रामाज्ञाले खोलामा फालेको हो भनी मृतक बालिकालाई अपहरण गरी मारी फालेकोमा साबित रही बयान गरेको देखिन्छ । अदालतसमक्षको बयानमा आफू कसुरमा इन्कारी रही अन्य प्रतिवादीहरूलाई पोल गरी बयान गरेको पाइन्छ । मिसिल संलग्न रहेको शव परीक्षण प्रतिवेदनबाट राधिका कुमारीको मृत्यु Head Injury बाट भएको भन्ने देखिन्छ । मृतककी आमा चदनीयाले अदालतसमक्षको बकपत्रमा रेणुदेवीसँग मोबाइलको विषयमा झगडा भएको थियो । रेणुदेवीले मेरी छोरीलाई मारेको हो भनी बकपत्र गरेकोसमेत पाइयो ।

३. प्रतिवादी रेणुदेवी कहारले अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा ईन्कार रहे पनि राधिकाकुमारीको हत्या भएको कुरा उल्लेख गरेको देखिन्छ । निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा सिलसिलाबद्धरूपमा प्रत्येक घटनाक्रम खुलाई आरोपित कसुरमा साबित भई व्यहोरा लेखाएको देखियो । प्रतिवादी रेणुदेवीको उक्त साबिती बयान घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, Autopsy Report समेतका प्रमाण कागजातहरूबाट समर्थित भएको छ । प्रतिवादी रेणुदेवी सुत्ने कोठामा दुर्गन्ध हुनु, खाल्डो खनेको र पुरेको अवस्था देखिनु, बालिकाको मृत्यु टाउकोमा परेको चोटबाट भएको देखिनु, टाउकोमा खुर्पाले प्रहार गरेको भनी प्रतिवादी रेणुदेवीले बयान गर्नुसमेतको अवस्थातर्फ विचार गर्दा निजले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान अन्य भरपर्दो, विश्वसनीय र स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखियो । तसर्थ निज प्रतिवादी रेणुदेवीले गरेको उल्लिखित बयान प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाण लाग्ने नै देखिन आयो । यसरी प्रतिवादी रेणुदेवी उपरको अभियोग प्रमाणद्वारा शंकारहित तवरबाट पुष्टि भइरहेको देखिँदा निजलाई कर्तव्य गरी ज्यान मारेको कसुरदार ठहर गरेको फैसला मनासिब नै देखियो । यस अवस्थामा घटनाको प्रत्यक्षदर्शीको रूपमा नरहेका जाहेरवालाले सुरूमा शंकासम्म व्यक्त गरी दिएको जाहेरी दर्खास्त प्रतिकूलको बकपत्र गरेको भन्नेसम्मको आधारमा प्रतिवादीलाई निर्दोष ठहर गर्नु मनासिब हुँदैन । 

४. प्रतिवादी रेणुदेवी कहार उपर अपहरण तथा शरीर बन्धकको कसुरमा समेत सजायको मागदाबी रहेको र पुनरावेदन अदालतले ठहरसमेत गरेको देखिन्छ । जाहेरवालाकी केवल एक वर्ष उमेरकी अवोध बालिकालाई निजको घर आँगनमा खेलिरहेको ठाउँबाट उठाई लगेको, आफ्नो कोठामा पुर्‍याएको, कब्जामा राखेको र त्यसपछि हत्या गरेको देखिएको छ । अर्काको नाबालक छोराछोरीलाई छलकपटपूर्ण तवरबाट उठाई लैजाने र कब्जामा राख्ने कार्यलाई अपहरण गरी शरीर बन्धक लिएको कार्य मान्नुपर्दछ । मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको १ नं. मा "कसैले ........नाबालक र मानसिकरूपमा अस्वस्थ व्यक्तिलाई निजको हितको निमित्त निजको बाबु, आमा र संरक्षणको मन्जुरीबाहेक कुनै ठाउँमा लैजान हुँदैन । सो गरे अपहरण गरेको मानिनेछ" भन्ने व्यवस्था रहेको छ । ऐ. को ३ नं. मा कसैलाई ज्यान लिने उद्देश्यले यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचासहजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ । उल्लिखित कानूनी प्रावधानतर्फ दृष्टिगत गर्दा प्रतिवादी रेणुदेवीले राधिका कुमारीलाई अपहरण गरी लगेर आफ्नो कब्जामा राखेपछि हत्या गरेको घटनाक्रम भएकोले सो कार्यलाई अपहरण तथा शरीर बन्धक लिने कसुर मान्नु पर्ने देखियो । तसर्थ अपहरण तथा शरीर बन्धक लिएको कसुर ठहर गरेको पुनरावेदन अदालतको फैसला मनासिब नै देखिन आयो ।

५. यस अदालतबाट मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने आदेश हुँदा प्रतिवादीउपर एउटै वारदातमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा चलेकोमा पुनरावेदन अदालत, हेटौंडाबाट कर्तव्य ज्यान मुद्दामा सजाय भइसकेपछि उही वारदातको विषयलाई लिएर चलेको अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय गरेको फैसला मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. को विपरीत भएको देखिएको भन्ने आधार ग्रहण गरेको सन्दर्भमा पनि कानूनको प्रयोगसम्बन्धी केही प्रसङ्ग उल्लेख गर्नु आवश्यक देखियो । वारदात एउटै भए पनि भिन्न / भिन्न कानून आकर्षित हुने एकभन्दा बढी कसुर भएको हुन सक्तछ । उदाहरणका लागि अपहरण गरी बन्धक बनाउने, जबरजस्ती करणी गर्ने, साथमा रहेको गरगहना खोसी लिने र अन्तत: ज्यान मार्ने गरी एउटै आपराधिक श्रृङ्खलामा चार वटा फरक / फरक ऐनका प्रावधान आकर्षित हुने अवस्था रहन्छ । कुनै श्रृङ्खलाबद्ध वारदात भएको अवस्थामा कुनै एउटा कसुरमा सजाय ठहर गर्दैमा अन्य ऐनको प्रयोजन पूरा हुँदैन । प्रत्येक ऐनअनुसारको कसुर ठहर हुन्छ वा हुँदैन भनी अदालतले अभियोग दाबीअनुसारका सबै प्रश्नको निरूपण गर्नुपर्दछ । ठूलो सजाय हुने खत वा कसुर ठहर हुँदैमा अन्य कसुरका सम्बन्धमा सजाय ठहर गर्नबाट पन्छिन मिल्दैन । मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. को व्यवस्था सजाय ठहर भइसकेपछि कैद ठेक्ने सम्बन्धमा अपनाउने विधि सम्बन्धित हुन सक्ने कैदको हद कायम गर्ने सम्मको व्यवस्था हो । ज्यान र अपहरण गरी दुवै कसुर ठहर गरिएको कारणबाट दण्ड सजायका महलको ४१ नं. विपरीत हुँदैन । ठहर भएको कैद असुल गर्ने (कैद ठेक्ने) सन्दर्भमा भने उक्त ४१ नं. मा रहेको प्रावधानको अनुशरण गरिनु पर्दछ । तसर्थ प्रस्तुत विषयमा अ.बं. २०२ नं. बमोजिम आदेश गर्दा उल्लेख गरिएको आधारसँग सहमत हुन सकिएन ।

६. अब अन्य प्रतिवादीहरू रामचन्द्र महतो कहार, वृजकिशोर महतो कहार, सीतादेवी कहार र रामाज्ञाप्रसाद यादवलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा जाहेरवालाको श्रीमती चन्दनियादेवीसँग मोबाइलको विषयमा वादविवाद हुँदा निजले प्रतिवादी रेणुदेवीको कपाल तानी कुटपिट गरेकी र निजको श्रीमान् जाहेरवाला सीयाराम यादवले गाली गलौज गरेकाले सोही कुराको रिसइवी राखी एक्लैले जाहेरवालाको छोरी राधिकालाई आँगनबाट उठाई ल्याई आफ्नो घरमा विषादी सेवन गराई टाउकोमा खुर्पाले प्रहार गरी कर्तव्य गरी मारी घरभित्र खाटमुनि खाल्टोमा पुरी ४ दिनपछि मृतकको लास निकाली घरपरिवारका अन्य प्रतिवादी रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवी र रामाज्ञा यादवले खोलामा लगी फालेको भनी प्रतिवादी रेणुदेवी कहारले अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखियो । निजले बयान गर्दा लास दबाउने कार्यमा अन्य प्रतिवादीहरूको संलग्नता रहेको तथ्य प्रष्ट खुलाई पोल गरेको पाइन्छ । प्रतिवादी रेणुदेवीले अन्य प्रतिवादीहरू उपर पोल गरी अदालतसमक्ष समेत बयान गरेको देखिन्छ । बालिकाको हत्या गरी घरभित्र खाल्डो खनी गाडेको र त्यसको दुर्गन्ध फैलिएपछि घर परिवारमा रहेका अन्य प्रतिवादीहरूले समेत थाहा पाई लास दबाउने लुकाउने र आपराधिक दायित्वबाट बच्ने उद्देश्यले प्रतिवादीहरूले लास लगी थलही खोलामा फालेको तथ्य प्रमाणित भएको छ । घटनाक्रम तथा लासको अवस्था, कोठाभित्र बालिकालाई खाल्डो खनी गाडेको ठाउँको प्रकृतिलगायतका प्रमाणतर्फ विचार गर्दा एउटै घरमा रहेका यी रामचन्द्र कहारसमेतका प्रतिवादीहरूको लास दबाउने, लुकाउने कार्यमा संलग्नता रहेको तथ्य पुष्टि भएको छ । वारदातपश्चात् फरार रहेका उल्लिखित प्रतिवादीहरूले पछि अदालतमा बयान गर्दा कसुरमा ईन्कार रहेकोसम्मकै आधारमा निजहरूलाई निर्दोष मान्न सकिने देखिँदैन । ज्यानसम्बन्धी महलको ४ नं. मा ".......लास जाँच भई नसक्दै दबाउनका मतलबले लास जलाउने, गाडने, फाल्ने वा सो कुरा गर्न लाउनेलाई अरू कानूनले हुने सजायमा सो गरेबापत छ महिना थपी कैद गर्नुपर्छ" भन्ने व्यवस्था रहेको देखिन्छ । यस प्रावधानबमोजिम कर्तव्य गरी मारिएको मानिसको लास दबाउने उद्देश्यले लास फाल्ने कार्यमा प्रतिवादीहरू रामचन्द्र कहार, वृज किशोर महतो, सितादेवी कहार र रामाज्ञाप्रसाद यादवसमेतको संलग्नता रहेको देखिन आएकोले निजहरूले ज्यानसम्बन्धीको ४ नं. बमोजिमको सम्म कसुर गरेको देखियो । सोबाहेक ज्यान मार्न वचन दिने, अपहरण गर्ने, शरीर बन्धक राख्नेलगायतका अभियोग दाबीबमोजिमको कसुर यी रामचन्द्र कहारसमेतका ४ जना प्रतिवादीले गरेको भन्ने प्रमाणबाट पुष्टी हुन आएको पाइएन ।

७. अत: उपर्युक्त विवेचित आधार, कारणबाट प्रतिवादी रेणुदेवी कहारलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ८ वर्ष कैद र एकलाख रूपैयाँ जरिवाना, नाबालिकालाई अपहरण गरेको हुँदा ऐ. महलको ९ नं. बमोजिम थप २ वर्ष कैद र ऐ. को १२ नं. बमोजिम रू. ५००।– क्षतिपूर्ति भराई दिने ठहर गरेको हदसम्म पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१/९/१ को फैसला मनासिब देखिँदा सो हदसम्म सदर हुने ठहर्छ । प्रतिवादीहरू मध्येका रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवी कहार तथा रामाज्ञाप्रसाद यादवलाई सफाई दिएको हदसम्म पुनरावेदन अदालत, हेटौंडाको उक्त फैसला केही उल्टी भई निजहरू चारजनालाई कर्तव्य गरी मारिएको मानिसको लास दबाउने उद्देश्यले लास फाल्ने कार्यमा संलग्न रहेको कसुरमा ज्यानसम्बन्धी महलको ४ नं. बमोजिम जनही ६ महिना कैद र रू. १०।– का दरले जरिवानासमेत हुने ठहर्छ । सो हदसम्म बाहेक वादी नेपाल सरकारको तथा प्रतिवादी रेणुदेवी कहारसमेतको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी रेणुदेवी कहारलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ८ वर्ष कैद र एकलाख रूपैयाँ जरिवाना, ऐ. महलको ९ नं. बमोजिम थप २ वर्ष कैद र ऐ.को १२ नं. बमोजिम रू.५००।- क्षतिपूर्ति जाहेरवालालाई भराइदिने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१/०९/०१ को फैसला सदर हुने ठहर भएको हुँदा सोहीबमोजिम कैद, जरिवाना तथा क्षतिपूर्तिको लगत राखी कानूनबमोजिम असुल गर्नू ---------१

प्रतिवादीहरू मध्येका रामचन्द्र कहार, वृजकिशोर महतो, सीतादेवी कहार तथा रामाज्ञाप्रसाद यादवलाई सफाई दिएको हदसम्म पुनरावेदन अदालत, हेटौंडाको उक्त फैसला केही उल्टी भई निजहरू चार जनालाई ज्यानसम्बन्धी महलको ४ नं. बमोजिम जनही ६ महिना कैद र रू.१०।- का दरले जरिवानासमेत हुने ठहरेकाले निज प्रतिवादीहरूमध्ये रामचन्द्र कहार पुर्पक्षका लागि मिति २०६८/१२/०६ देखि मिति २०६९/०३/०६ सम्म थुनामा रही मिति २०६९/०३/०७ मा थुनामुक्त भएको हुँदा निजको हकमा थुनामा रहेको अवधि कट्टा गरी बाँकी अवधिको मात्र र अन्य प्रतिवादीहरूको हकमा माथि ठहरेबमोजिमको कैद र जरिवानाको लगत कसी असुल उपर गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू -------------२

यो फैसलाको जानकारी सम्बन्धित कारागार कार्यालयमार्फत पुनरावेदक प्रतिवादी रेणुदेवी कहारलाई दिनू ----------------------------------३

दायरीको लगत कट्टा गरी मिसिल नियमानूसार अभिलेख शाखामा बुझाइदिनू -----४

 

उक्त रायमा सहमत छु ।

न्या. सपना प्रधान मल्ल

 

इजलास अधिकृत: विकास श्रेष्ठ

इति संवत् २०७४ साल भाद्र २७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु