निर्णय नं. ९९०२ - नामसारी दर्ता बदर दर्ता

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री मीरा खड्का
फैसला मिति : २०७३।९।२५
२०६६-CI-०३५९
मुद्दाः नामसारी दर्ता बदर दर्ता
पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२० बस्ने हेरादेवी ताम्राकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१५ बस्ने सुरेन्द्र तुलाधरसमेत
सारभूत कानूनले सुरक्षित गरेको हक अधिकारको प्राप्ति उचित कार्यविधिको पालनामा निर्भर गर्दछ । मुद्दाको रोहमा कानूनमा उल्लिखित कार्यविधिको अनुशरण एवम् प्रयोग गर्ने दायित्व मुद्दाका पक्षमा रहने हुन्छ । उल्लिखित कार्यविधिको पालना नगरी त्यस्तो हक अधिकार दाबीको कुनै औचित्य
रहँदैन । दाबी गर्नु मात्र अधिकारप्राप्तिको प्रयाप्त आधार हुन सक्दैन । औचित्य नै कायम हुन नसक्ने दाबीको तथ्यभित्र प्रवेश गरी अदालतले आफ्नो श्रम र स्रोत प्रयोग गर्नसमेत नमिल्ने ।
(प्रकरण नं.८)
मुद्दाको सिलसिलामा जसले जुन कुरामा दाबी वा माग गरेको हुन्छ निजको मृत्युपश्चात् उक्त दाबीमा निजको हक पुग्ने दैयादारले आफ्नो हक पुग्ने सम्बन्ध कायम नगरेसम्म सो वस्तुमा स्वतः निजको हक सृजना हुन सक्दैन । देवानी मुद्दामा पक्षको निधन पछि निजको सम्पत्तिमा आफ्नो हक स्थापित गर्न चाहने पक्षले मुद्दा सकार गर्नु अनिवार्य हुने ।
(प्रकरण नं.९)
मद्दा गर्ने पक्षको नै मृत्यु भइसकेपछि सो मुद्दाबाट सृजित हुने लाभ वा बेहोर्नु पर्ने दायित्व लिने व्यक्तिले मुद्दा सकार नगरेसम्म मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णयमा पुग्नुको अर्थ रहँदैन । यस्तो अवस्थामा अ.बं.१८५ क को कानूनी व्यवस्था आकर्षित हुने भन्ने होइन । अ.बं.६२(३) र ७० नं. को कानूनी व्यवस्थाले मुद्दाका पक्षको मृत्यु भएपछि निजको हकदारले उक्त मुद्दा सकार गर्नु नै पर्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विश्वराज भट्टराई र हरिबहादुर खड्का
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अ.बं.६२(३)
मुलुकी ऐन, अ.बं.७०
पुनरावेदनमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला
न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
मेरी आमा धनमाया तुलाधरले वहाँकी आमा ज्ञानीमाया तुलाधरबाट शेषपछिको बकसपत्र पाउने भई दर्ता स्रेस्ता कायम भएको का.जि. नगर १२ कि.नं.१६० को क्षेत्रफल ०-१-३-३ जग्गा र सो जग्गामा बनेको घर तथा का.जि.साङ्ला गा.वि.स.वडा नं.६(घ) कि.नं.९२ को क्षेत्रफल ३-१३-३-० जग्गासमेतको घरजग्गा मलाई मिति २०४७।८।२० मा मालपोत कार्यालय डिल्लीबजारबाट र.नं.३२२८ख को शेषपछिको बकसपत्र लिखत रजिष्ट्रेशन पारित गरिदिनु भएकोले उहाँको मिति २०५९।१।१६ मा स्वर्गारोहण भएबाट लेखिएको घरजग्गा मैले दा.खा.दर्ता गरिपाउन मालपोत कार्यालय डिल्लीबजारमा मिति २०६२।४।२७ मा निवेदन प्रस्तुत गरेकीमा मालपोत कार्यालयबाट सो निवेदनउपर कारबाही हुने क्रममा मेरो शेषपछिको बकसपत्र लिखत र मोठ स्रेस्ता बुझ्दा मेरो शेषपछिको बकसपत्र लिखत सदर कायम रहेको अवस्थामा मैले शेषपछिको बकसपत्र पाएको घरजग्गामध्ये का.जि.नगर १२ कि.नं.१६० को क्षेत्रफल ०-१-३-३ को घरजग्गा विक्षीले र.नं.७०५५ मिति २०५६।१२।९ को हा.ब. लिखतबमोजिम आफ्नो नाममा दर्ता गराएको र का.जि.साङ्ला गा.वि.स.वडा नं.६(घ) कि.नं.९१ को क्षेत्रफल ३-१३-२-० जग्गा ऐजन मालपोत कार्यालय डिल्लीबजारको नाममसारी मि.नं.१४६७ मिति २०६२।४।११ को निर्णयले इन्द्रलाल तुलाधरसमेतका नाममा नामसारी दर्ता भएको भन्ने मोठ व्यहोरा प्राप्त हुन आएको आधार देखाई मेरो निवेदनलाई तामेलीमा राख्ने गरी मिति २०६२।४।२० मा निर्णय आदेश भएकोले सोही मितिमा उक्त निर्णय तथा सो निर्णयले औंल्याएको मि.नं.१४६७ मिति २०६२।४।११ को नामसारी निर्णयको नक्कल र र.नं.७०५५ मिति २०५६।१२।९ को हा.ब.लिखतको नक्कल सारी लिई थाहा जानकारी हुन आएकाले नामसारी दर्ता बदरतर्फ छुट्टै फिराद लिई उल्लिखित र.नं.७०५५ मिति २०५६।१२।९ को हा.ब. लिखतका सम्बन्धमा दिने दाता आमा धनमाया तुलाधर स्वर्गारोहण हुनु भएकाले वहाँलाई विपक्षी बनाउन नपर्ने भएबाट पाउने विपक्षीलाई यो फिराद गर्न आएको छु । मेरो शे.ब. लिखत हालसम्म कुनै कसैबाट बदर गरी गराई लिन नसकी सदर कायम रहेको अवस्थामा उक्त लिखत बदर नहुँदै सोही शे.ब. लिए दिएको घरजग्गा दोहोरो पारी मुलुकी ऐन लेनदेन व्यवहारको २५ नं. विपरीत हा.व. दिन र लिन नपाउने प्रष्ट हुँदाहुँदै मेरो शे.व.लिखतलाई सदर कायम राखी विपक्षीले मिति २०५६।१२।९ मा हा.ब.गरिलिएको र.नं.७०५५ को हा.ब.लिखत बदरभागी छ । यस्तो कानूनले मान्यता प्राप्त गर्न नसक्ने लिखत बदर गरी गराई मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. एवं सर्वोच्च अदालत बुलेटिन, २०५५ पूर्णाङ्क १४४४ पृष्ठ १० मा प्रतिपादित सिद्धान्तअनुसार हदम्याद नलाग्ने हुँदा मालपोत कार्यालयबाट तामेली निर्णय भएको मितिले ३५ दिनभित्रै यो फिराद गर्न आएको छु । अतः विपक्षीले आमा धनमाया तुलाधरबाट मेरो शे.ब.लिखत बदर नगराई सदर कायम भएको अवस्थामा मिति २०५६।१२।९ मा गराई लिएको हा.ब. लिखत र सो लिखतको आधारमा भएको दर्तासमेत बदर गरी म फिरादीको मिति २०४७।८।२० र.नं.३२२८(ख) शे.ब. लिखत सदर कायम राखी मुलुकी ऐन जग्गा पजनीको २, २क, रजिष्ट्रेशनको ३२(क) अनुसार मेरो नाममा दा.खा. दर्ता हुने इन्साफ गराई पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।
आमा धनमायाको विपक्षी विवाहित छोरी र म एकाघर सगोलका छोरा भई हामी आपसमा अंशबन्डा हुन बाँकी अवस्थामा बयोवृद्ध भई स्वर्गारोहण हुनु भएको हो । जसमा आमाले आफूखुशी गर्न पाउने उहाँको निजी श्रीसम्पत्ति जो कोहीलाई पनि लिँदा वा दिँदा एकाघर सगोलका छोरालाई संरक्षक नराखी लिखत गरी गराई लिन नपाउने अनिर्वायरूपमा म एकाघर सगोलको छोरालाई संरक्षक राखेर मात्र लिखत गरिदिनुपर्नेमा विवाद रहँदैन । दोस्रो आमाको निजी आर्जन नै भएको अवस्था र आमाको सक्षमता भए रहेको अवस्था भई त्यस्तो आमाको सम्पत्ति विवाहिता छोरीले मात्र पाउने छोराले नपाउने भन्ने कुनै कानूनले बन्देज लगाएको अवस्था छैन । बयोवृद्धा आमाले हामी एकाघर सगोलका हकदारलाई लिखत साक्षी एवं संरक्षण नराखी शे.ब. दिन लिन पाउने होइन । शे.ब. लिखत हुँदा दिनेको जीवनकालमा पालन पोषण, औषधी उपचार र पछिसम्म पालन पोषण, उपचार, काजक्रियालगायतका सबै काम गर्ने सर्तअनुरूप काम गरिएको अवस्थामा मात्र शे.ब. लिखत गराई लिने हो । तर उक्त कुरा सो लिखतमा उल्लेख
छैन । ती सबै काम म एकाघरको छोराले गरिआएको छु । विपक्षीले आफ्नो शे.ब. लिखत आमा धनमायाको मिति २०५९।१।१६ मा स्वर्गारोहण भएपछि सो मितिले दान बकसको ५ नं. को हदम्यादभित्र शे.ब. क्रियाशील गराई लिई सक्नुपर्नेमा सो समय अवधिभित्र लिन नसकेको अवस्था छैन । त्यस्तो विपक्ष स्वयंले क्रियाशील गराई लिन नसकेको लिखतको आधारमा कानूनबमोजिम आमाको नाउँमा दर्ता रहेको जग्गा हामी हकदारको नाउँमा पालन पोषण गर्ने छोराले आफूसमेतको हक लाग्ने सम्पत्ति आफ्नो नाउँमा नामसारी गराई लिनु स्वभाविक हो । यसरी मेरा नाउँमा मालपोत कार्यालय डिल्लीबजारबाट स्व. आमाका नाउँमा दर्ता भएको का.जि. साङला गा.वि.स.वडा नं.६(घ) कि.नं.९१ को क्षेत्रफल ३-१३-२-० जग्गा मिति २०६२।४।११ मा हामी हकदारका नाउँमा नामसारी गर्ने गरी भएको निर्णय बदर हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी इन्द्रलाल तुलाधरको प्रतिउत्तर पत्र ।
विपक्षीको फिरादपत्र बिलकुलै झुट्टा र आधारहीनरूपमा दायर हुन आएको अवस्था
छ । विपक्षीले प्राप्त गरेको भनेको र.नं.३२२८ मिति २०४७।८।२० को सक्कल लिखत हेर्न सुन्न पाएका बखत अ.बं.७८ नं. बमोजिम नामाकरण गर्ने नै छौं । विपक्षीले प्राप्त गरेको लिखतमा उल्लिखित सर्त एकातिर पूरा गर्नुभएको छैन सबै काम हामीले नै पूरा गरेका हौं । धनमायाको मृत्यु मिति २०५९।१।१६ मा भएका मितिले ३ वर्षभित्र उजुरी नपरेको हुँदा सर्वप्रथम खारेजभागी
छ । मृतक धनमायाका सबैभन्दा नजिकका हकदार पनि हामी हौं । हाम्रै घरमा बसेकी हामीले हेरविचार, स्याहार सम्भार गरेकी मृतक धनमायाको सम्पूर्ण काजक्रिया पिण्ड पानीसमेत हामीले नै गरिआएका छौं । निजको अपुताली खाने हामीबाहेक अरू कोही नभएबाट हामी प्रतिवादी तीनजनाका नाउँमा कानूनको रिट पुर्याई का.जि. साङ्ला गा.वि.स.वडा नं.६(घ) कि.न.९१ को जग्गा दर्ता दा.खा. भएको हो । यसरी विपक्षीले शे.ब. गरी लिएपछि गर्नुपर्ने दायित्व सबै हामीले नै गरेको र शे.ब. गरी दिने धनमायाको मृत्यु भएपछि लामो समयपछि पर्न आएको फिरादपत्र कानूनको दृष्टिमा नै खारेजभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका शान्तिदेवी तुलाधर र सुरेन्द्र तुलाधरको संयुक्त प्रतिउत्तर पत्र ।
विपक्षीले दाबी लिनु भएको का.जि.का.म.न.पा.वडा नं.१२ को कि.नं.१६० को क्षेत्रफल ०-१-३-३- को घर जग्गा मेरी बज्यै धनमाया तुलाधरको नामको निजको एकलौटी दर्ता हकको निजले आफूखेशी गर्न पाउने सम्पत्ति भएको र निजबाट मिति २०५६।१२।९ मा र.नं.७०५५ को हा.ब. लिखत कानूनबमोजिम पारित गरी म प्रतिउत्तरवाला नातिलाई हक हस्तान्तरण गरिदिनुभएको हो । यसरी निजले आफ्नो जीवनकालमा नै उक्त कित्ता घरजग्गा पूर्णरूपमा हक स्वामित्व टुटाई बकस गरी मलाई दिनुभएको र सोपश्चात्को मिति २०५९।१।१६ मा निज धनमाया परलोक भएको अवस्था विद्यमान छ । उक्त घरजग्गा मेरो नाउँमा हक हस्तान्तरण हुँदाकै अवस्थामा उक्त घरजग्गाको दर्ता हक स्रेस्ता कायम भई मेरो पूर्ण भोगचलन स्वामित्वमा त्यति बेलादेखि नै रहिरहेको भन्ने कुरासमेत स्पष्ट छ । आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेका मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले २ वर्षभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने प्रष्ट कानूनी व्यवस्था छ । विपक्षीले दाबी गर्नुभएको घरजग्गा मैले मिति २०५६।१२।९ मा लिखत रजिष्ट्रेशन पारित गरी हक हस्तान्तरण गरी लिई दा.खा. दर्ता गरी सोको धनी पुर्जासमेत प्राप्त गरी सोही मितिदेखि नै हालसम्म सोही घरमा नै बसोबास गरिआएको छु । विपक्षीलाई शे.ब. दिएको कारणले सो सम्पत्ति शे.ब. दिनेले आफू जीवित छँदै हक टुटाई अन्यलाई दिन पाउँदैन भनी कानूनले रोक लगाएको अवस्थासमेत नभए नरहेको हुँदा यहाँ जुनसुकै अवस्थामा पनि मैले हक हस्तान्तरण गरिलिएको कार्य कानूनसम्मत छ । तसर्थ यीनै आधारबाट विपक्षीले फिरादपत्र दाबी गर्दा लिनुभएको कानूनी आधार लेनदेन व्यवहारको २५, ४० नं. तथा दुवै हक टुटाई गरी लिएको राजीनामाको लिखत सम्बन्धमा बोलिएको यस मुद्दामा पटक्कै सान्दर्भिक नभएकोले विपक्षीले उल्लेख गरेको नजिरसमेत आकर्षित हुने होइन विपक्षीको फिराद खारेजभागी छ भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर ।
यसमा मिसिल संलग्न आधार प्रमाणबाट वादीले दा.खा. गर्न पाउने जग्गा प्रतिवादीहरूले नामसारी गरिलिएको देखिँदा वादी दाबीबमोजिम मालपोत कार्यालयको मिति २०६२।४।११ को निर्णयबमोजिम भएको नामसारी दर्ता बदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६४।१।२३ को फैसला ।
वादीको दाता बज्यै धनमायाको मृत्यु मिति २०५९।१।१६ मा भएपछि सो मितिले दान बकस महलको ५ नं. को हदम्यादभित्र शे.ब. क्रियाशील गराई लिई सक्नुपर्नेमा सो समयभित्र लिइसकेको अवस्था छैन भने अर्कोतर्फ शे.ब. गराउँदा एकासगोलका अंशियार हकदारहरूको सहमतिबिना साक्षी संरक्षकसमेत नराखी गरिएको कार्यबाट म पुनरावेदकसमेतको हक स्वतः समाप्त भएर जाने अवस्था नहुँदा सोतर्फ विचार नगरी भएको सुरू काठमाडौं जिल्ला अदालतको इन्साफ उल्टी गरी मालपोत कार्यालयको मिति २०६२।४।११ को निर्णयअनुसार कानूनसम्मत तरिकाले कानूनी रीत पुर्याई म पुनरावेदकसमेतको संयुक्त नाममा भएको नामसारी दर्ता बदर गरी विपक्षीको हकदम्यादविहीन फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको मिति २०६४।७।२९ को पुनरावेदन पत्र ।
धनमाया तुलाधर मेरो आमा हुनुभएको र हामी आमा छोराको बीचमा अंशबन्डा नभई एकाघर सगोलमा नै रहेको अवस्थामा मिति २०५९।१।१६ मा आफ्नै कालगतिले निधन भएको हो । यस अवस्थामा उहाँको हक खाने हकदार छोरा म पुनरावेदक हुँ । उहाँको अचल घरजग्गा सम्पत्ति जग्गा पजनीको २क नं. अनुसार मेरो नाउँमा नामसारी दा.खा. हुने हो । विपक्षीले कानूनले तोकेको २ वर्षे हदम्यादभित्र कार्यान्वयन गराउन सकेको पाइँदैन । प्रस्तुत विवादको लिखत बकसपत्र हुँदा जग्गा पजनीको २(क) र रजिष्ट्रेशन महलको ३२(क) नं. आकर्षित हुने
होइन । तसर्थ सुरूको त्रुटिपूर्ण इन्साफ बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको मिति २०६४।८।४ को पुनरावेदन पत्र ।
यसमा यसै लगाउको पुनरावेदक हेरादेवी ताम्राकार र प्रत्यर्थी रविरत्न तुलाधर भएको दे.पु.नं.९४०/२३२३ को लिखत दर्ता बदर दर्ता मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावीसमेत भएको हुँदा प्रस्तुत मुद्दामा समेत छलफलका लागि अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०६५।५।४ मा भएको आदेश ।
मुलुकी ऐन दान बकसको ५ नं. मा भएको व्यवस्था हेर्दा “आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस गरिदिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र नालिस नदिए लाग्न सक्दैन” भन्ने व्यवस्था गरेबाट आमाको निधनपछि २ वर्ष हदम्यादैभित्र वादीले आफ्नो नाउँमा कायम गराउनु पर्नेमा सो हदम्यादको अभावमा प्रस्तुत फिराद पर्न आएको देखिएको र वादीले यसरी यस फिरादबाट उपचार पाउन सक्ने अवस्था नदेखिँदा मुद्दाको तथ्यभित्र प्रवेश गरिरहनु परेन । हदम्यादको अभावमा खारेज गर्नुपर्नेमा वादी दाबीअनुसार दा.खा. गरी दर्ता गरिपाउने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।१।२३ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनबाट भएको फैसला ।
पुनरावेदन अदालतले फैसला गर्दा आमाको मिति २०५९।१।१६ मा निधन भएपछि आफ्नो शेषपछिको बकसपत्रबाट प्राप्त सम्पत्ति आफ्नो नाममा दा.खा. गर्न प्रस्तुत फिराद मिति २०६२।४।२४ मा दिएको देखिन्छ भन्ने आधार लिएको छ । जबकि म पुनरावेदक वादीले आमा धनमाया तुलाधरको नाममा निजको आमा ज्ञानीमाया तुलाधरबाट शे.ब. पाएको मालपोत कार्यालय काठमाडौंको मिति २०४४।११।१३ को निर्णयले आमा धनमाया तुलाधरको नाममा नामसारी दर्ता भएको का.जि. साङ्ला गा.वि.स.वडा नं.६(घ) कि.नं.९१ को क्षेत्रफल ३-१३-२-० जग्गासमेत म पुनरावेदक वादीलाई मिति २०४७।८।२० मालपोत कार्यालय डिल्लीबजार र.नं.३२२८(ख) बाट शेषपछिको बकसपत्र प्राप्त गरेकोमा आमा धनमाया तुलाधर मिति २०५९।१।१६ मा परलोक भई २०५९ सालको बालीदेखि उक्त कि.नं.९१ को जग्गा कमाउने मोही रेवती ढकालको परिवारले सालिन्दा बाली बुझाउँदै आएको र मिति २०४७।८।२० को शे.ब. बमोजिम उक्त कि.नं.९१ को जग्गा नामसारी दा.खा. दर्ता गर्न मालपोत कार्यालयमा मिति २०६२।४।१७ मा निवेदन गरेको हो । कि.नं.९१ को जग्गा मालपोत कार्यालय डिल्लीबजारको मिति २०६२।४।११ को निर्णयले विपक्षीहरूको नामसारी दा.खा. दर्ता गर्ने निर्णय भएकोले म वादीको निवेदन मिति २०६२।४।२० मा तामेली राख्ने भएको निर्णय तथा विपक्षीहरूको नाममा नामसारी दा.खा. दर्ता गर्ने गरेको मिति २०६२।४।११ को निर्णय दर्ता बदर गरिपाउँ भनी मिति २०६२।४।२४ मा मुलुकी ऐन जग्गा पजनीको २, २(क), १७, जग्गा मिच्नेको १८, रजिष्ट्रेशनको ३२(क) नं. को दाबी भएकोमा हदम्याद नभएको भनी सुरूको फैसला उल्टी गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।१।२१ गतेको फैसला जग्गा पजनीको २, २(क), १७, जग्गा मिच्नेको १८ नं. समेतको कानूनी त्रुटि गरी गरेको फैसला बदर गरिपाऊँ ।
प्रस्तुत मुद्दा दान बकसको ५ नं. अनुसार हदम्यादको अभावमा खारेज गर्नुपर्नेमा सो नगरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भनी पुनरावेदन अदालतबाट फैसला भएको छ । विपक्षीहरूको नाममा मालपोत कार्यालय डिल्लीबजारबाट उक्त विवादित कि.नं.९१ को जग्गा मिति २०६४।४।११ मा भएको निर्णय दा.खा. दर्ता बदर गरिपाउँ भन्ने वादी दाबी रहेको मुद्दामा मुलुकी ऐन दान बकसको ५ नं. को असम्बद्ध कानूनी हदम्याद लगाई सुरूको फैसला उल्टी गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा दान बकसको ५ नं. को कानूनी त्रुटि र सम्मानित सर्वोच्च अदालतबाट (ने.का.प.२०६३ नि.नं.७६७७ अंक ४ पृष्ठ ४१८ पूर्ण इजलजास) शत्रूधनप्रसाद शर्मा (कुर्मी) विरूद्ध मुमताज जोलाहासमेत भएको मुद्दामा प्रतिपादित सिद्धान्तसमेत विपरीत भएकोले गरेको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरिपाउन अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।१।२१ गतेको फैसला बदर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।१।२३ गतेको फैसला सदर गरिपाउँ भन्ने हेरादेवी ताम्राकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा वादीले शेषपछिको बकसपत्र पाएको जालसाजी ठहर नभई सद्दे कायम रहेको देखिएको, त्यस्तो लिखतको जग्गा प्रतिवादीहरूले नामसारी गरी लिएको देखिएको भई रजिष्ट्रेशनको महलको ३२क नं. को सन्दर्भमा समेत पुनरावेदन अदालत, पाटनले इन्साफ नगरी हदम्यादको आधारमा दाबी नै खारेज गर्ने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको आदेश ।
यसमा प्रस्तुत मुद्दा मिलापत्रको लागि मेलमिलाप केन्द्रमा पठाइएकोमा मेलमिलाप गराउन तोकिएको समय अपर्याप्त भएकोले थप समय पाउँ भनी मेलमिलापकर्ताले निवेदन दिई साधसोधको निमित्त पेस भएको देखिँदा मेलमिलापको लागि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५घ(३) बमोजिम ३० (तीस) दिनको समय थप गरिदिएको छ भन्ने यस अदालतको आदेश ।
यसमा पुनरावेदकको मृत्यु भइसकेको भनी प्रत्यर्थीतर्फबाट निवेदन पर्न आएकोले सो निवेदनसाथ पेस भएको मृत्यु दर्तासम्बन्धी प्रमाणपत्रको सत्यता सम्बन्धमा सम्बन्धित गा.वि.स. को कार्यालय बुझी नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विश्वराज भट्टराई र श्री हरिबहादुर खड्काले पुनरावेदकले प्राप्त शे.ब. लिखत आमा धनमायाको मिति २०५९।१।१६ मा निधन भएपछि सो मितिले दान बकसको ५ नं. को हदम्यादभित्र क्रियाशील गराई सक्नु पर्नेमा सो गराउन सकेको
छैन । आमाको नाउँमा दर्ता भएको जग्गा मेरो पक्षले आफ्नो नाउँमा नामसारी दर्ता भएको कानूनबमोजिमको निर्णय एवं दर्ता बदर हुने होइन । पुनरावेदक वादीको निधन भइसकेको र प्रस्तुत मुद्दा निजको हकदारले सकार नगरी बसेको हुँदा पुनरावेदन अदालतबाट भएको फैसला कायम हुनुपर्ने भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्तानुसारको बहस जिकिर सुनी विचार गर्दा पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।१।२१ मा भएको फैसला मिले नमिलेको के हो र पुनरावेदकको पुनरावेदन जिकिर कानूनसम्मत छ छैन भन्ने विषयमा निर्णय गर्नुपर्ने देखियो ।
यसमा विवादित कि.नं. ९१ को जग्गा जग्गाधनीको छोरा इन्द्रलाल तुलाधर र बुहारी शान्तीदेवीले नामसारी गरी आफ्नो नाममा दर्ता गरेउपर पुनरावेदक हेरादेवी ताम्राकारको उक्त नामसारी निर्णय दर्ता बदरतर्फ मिति २०६२।४।२४ मा फिराद परेकोमा फिराद दाबी पुग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखियो । उक्त फैसलाउपर चित्त नबुझी प्रतिवादी इन्द्रलाल तुलाधरको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनबाट मुलुकी ऐन दान बकसको ५ नं. को हदम्यादको अभावमा मुद्दाको तथ्यभित्र प्रवेश गर्न मिलेन सुरूको फैसला उल्टी हुन्छ भनी मिति २०६६।१।२१ मा भएको फैसलामा वादी हेरादेवी ताम्राकारको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी हेरादेवी ताम्राकारले मिति २०६६।७।२४ मा यस अदालतमा पुनरावेदनपत्र दर्ता गरी निजको छोरा राजेशमान ताम्राकार प्रस्तुत मुद्दामा वारिसको हैसियतले तारेखमा बसी पुर्पक्ष गरी आएकोमा निज वारिस छोराको मृत्यु भएकोले निजको सट्टा दिलिपकुमार भट्टराईलाई वारिस मुकरर गरेको भनी वारिसनामा दिई निजले मुद्दाको पुर्पक्ष गर्दै आएको देखिन्छ । पुनरावेदक हेरादेवीको समेत मिति २०७१।१।२७ मा मृत्यु भएको भन्ने मिसिल संलग्न काठमाडौं महानगरपालिकाबाट प्राप्त मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपिबाट देखियो । मुद्दा पुर्पक्षको सिलसिलामा निज वारिससमेतले मिति २०७१।९।८ देखि अदालतले तोकेको तारेख गुजारी बसेको मिसिलबाट देखिन आयो ।
३. यसरी प्रस्तुत मुद्दामा वारिस भई बसेको पुनरावेदक हेरादेवी ताम्राकारको वारिस निजको छोरा राजेशमानको मृत्यु पुनरावेदक हेरादेवीभन्दा पहिले नै भएको र निजको मृत्युपश्चात् मुकरर भएको वारिस दिलिपकुमार भट्टराईले समेत तारेख गुजारी बसेको अवस्था देखियो ।
४. उपर्युक्त तथ्यगत स्थित रहेको प्रस्तुत मुद्दामा तत्सम्बन्धी कार्यविधिगत कानूनी व्यवस्थाको अवलोकन गर्न सान्दर्भिक देखियो ।
५. मुलुकी ऐन अ.बं.६२(३) नं. मा “मुद्दाका म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा सो कारण परेको मितिले बाटाका म्यादबाहेक ३५ दिनभित्र निजका दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्न अड्डामा निवेदन दिएमा म्याद तारेख थामी मुद्दा सकार गराई दिनुपर्छ” भन्ने देखिन्छ ।
६. मुलुकी ऐन अ.बं.७० मा “अख्तियारनामा लेखी अर्कालाई वारिस दिएकोमा जसको झगडा हो उसैले वा ऊ मरेपछि उसका दैयादारले आफैँ सकार गर्न वा अर्को वारेस राख्न पाउनेछ” भन्ने देखिन्छ ।
७. अ.बं.६२(३) मा उल्लिखित कानूनी व्यवस्थाअनुसार मुद्दामा हाजिर हुनुपर्ने व्यक्ति मरेमा, बौलाहा वा बेपत्ता भएमा निजको दैयादारले ३५ दिनभित्र मुद्दा सकार गर्न अड्डामा उपस्थित भई निवेदन दिनुपर्ने र यसरी निवेदन दिएमा म्याद तारेख थामी मुद्दा सकार गराई दिनुपर्ने बाध्यात्मक कार्यविधि तोकेको पाइयो । उक्त कानूनी व्यवस्थाअनुसार मुद्दाका पक्षको मृत्यु भएपछि निर्धारित म्यादभित्रै अड्डामा आई कानूनबमोजिम मुद्दा सकार नगरी बसेमा मुद्दाको अस्तित्व कायम रही रहने वा चलिरहने भन्न मिल्ने देखिएन ।
८. त्यसैगरी मुद्दामा पक्षको मृत्यु भएपछि निजको दैयादारले मुद्दा सकार गर्न सक्ने सुविधा अ.बं.७० नं. समेतले प्रदान गरेको देखियो । कानूनले प्रदान गरेको सुविधाप्रति बेवास्ता गर्ने पक्षलाई उपचारको मार्ग नहुने र उपचार प्राप्त गर्न यथोचित कार्यविधिको अवलम्बन गर्नुपर्ने व्यवस्थालाई नजरअन्दाज गर्न मिल्ने
देखिएन । सारभूत कानूनले सुरक्षित गरेको हक अधिकारको प्राप्ति उचित कार्यविधिको पालनामा निर्भर गर्दछ । मुद्दाको रोहमा कानूनमा उल्लिखित कार्यविधिको अनुशरण एवं प्रयोग गर्ने दायित्व मुद्दाका पक्षमा रहने हुन्छ । उल्लिखित कार्यविधिको पालना नगरी त्यस्तो हक अधिकार दाबीको कुनै औचित्य रहँदैन । दाबी गर्नु मात्र अधिकारप्राप्तिको प्रयाप्त आधार हुन सक्दैन । औचित्य नै कायम हुन नसक्ने दाबीको तथ्यभित्र प्रवेश गरी अदालतले आफ्नो श्रम र स्रोत प्रयोग गर्नसमेत मिल्दैन । प्रस्तुत मुद्दामा पुनरावेदक हेरादेवीको मिति २०७१।१।२७ मा मृत्यु भएको भन्ने देखिन्छ । निजको मृत्युपूर्व नै निजले मुद्दामा मुकरर गरेको वारेस निजको छोरा राजेशमान ताम्राकारको मृत्यु भएपछि हेरादेवीले मिति २०६९।१२।२९ मा दिलिपकुमार भट्टराईलाई वारेस मुकरर गरेको
देखिन्छ । निज वारेसले अदालतबाट तोकिपाएको मिति २०७१।९।८ को तारेख गुजारी बसेपछि पुनरावेदक हेरादेवीको दैयादारले मुलुकी ऐन अ.बं.६२(३) नं. बमोजिम ३५ दिनभित्र मुद्दा सकार गर्नुपर्नेमा सो गरेको देखिँदैन ।
९. मुद्दामा पक्षले तारेख गुजार्नु र पक्षको मृत्यु भएपछि हकदारले मुद्दा सकार नगरी राख्नु नितान्त फरक विषय हो । सकार गर्नुको अर्थले कुनै सम्पत्ति माथि हित समावेश भएको व्यक्तिले सो सम्पत्ति स्वीकार गर्नु वा सो सम्पत्ति माथिको स्वामित्व ग्रहणलाई इंगित गर्दछ । अर्को अर्थमा कुनै वस्तु माथिको सम्बन्ध कायम राख्ने कडीलाई संकेत गर्दछ । मुद्दाको सिलसिलामा जसले जुन कुरामा दाबी वा माग गरेको हुन्छ निजको मृत्युपश्चात् उक्त दाबीमा निजको हकपुग्ने दैयादारले आफ्नो हक पुग्ने सम्बन्ध कायम नगरेसम्म सो वस्तुमा स्वतः निजको हक सृजना हुन सक्दैन । देवानी मुद्दामा पक्षको निधनपछि निजको सम्पत्तिमा आफ्नो हक स्थापित गर्न चाहने पक्षले मुद्दा सकार गर्नु अनिवार्य हुन्छ ।
१०. म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति तोकिएको मितिमा अड्डामा हाजिर नभएमा त्यस्तो व्यक्तिको मुद्दा डिसमिस हुने व्यवस्था अ.बं.१७९ र १८५(क) मा रहेको देखिन्छ । प्रस्तुत मुद्दामा सो अवस्था नभई मुद्दाको पक्षको नै मृत्यु भई निजको दैयादारले मुद्दा सकार नगरी बसेको अवस्था देखिन्छ । मद्दा गर्ने पक्षको नै मृत्यु भइसकेपछि सो मुद्दाबाट सृजित हुने लाभ वा बेहोर्नु पर्ने दायित्व लिने व्यक्तिले मुद्दा सकार नगरेसम्म मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णयमा पुग्नको अर्थ रहँदैन । यस्तो अवस्थामा अ.बं.१८५(क) को कानूनी व्यवस्था आकर्षित हुने भन्ने होइन । अ.बं.६२(३) र ७० नं. को कानूनी व्यवस्थाले मुद्दाका पक्षको मृत्यु भएपछि निजको हकदारले उक्त मुद्दा सकार गर्नु नै पर्ने देखिन्छ ।
११. अतएव: पुनरावेदक हेरादेवी ताम्राकारको मृत्यु भएको लामो समयसम्म निजको दैयादारले मुद्दा सकार गरेको नदेखिँदा निजको तर्फबाट परेको पुनरावेदनपत्रको तथ्यभित्र प्रवेश गरी रहन परेन । यस्तो अवस्थामा पुनरावेदन पत्रको औचित्य नै समाप्त हुने देखिँदा प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. मीरा खड्का
इजलास अधिकृतः दिलीपराज पन्त
इति संवत्् २०७३ साल पुस २५ गते रोज २ शुभम् ।