शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९०६ - ज्यान मार्ने उद्योग

भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७४।१।६

०६८-CR-१३६३

 

मुद्दाः ज्यान मार्ने उद्योग

 

पुनरावेदक / वादी : मीना राईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : संखुवासभा जिल्ला मत्स्यपोखरी गा.वि.स. वडा नं. २ तथा हाल ऐ. जिल्ला दिदिङ गा.वि.स. वडा नं. ६ घर भई कारागार कार्यालय खाँदबारीमा थुनामा रहेका गणेश राई

 

ज्यान मार्ने उद्योगको कसुर कायम हुनका लागि मार्ने नियतले प्रहार गरेको र उक्त प्रहारबाट मर्नेसम्मको कार्य भएको देखिने हुनुपर्दछ । यस आधारमा हेर्दा ज्यान मार्ने उद्योग मुद्दा ज्यान मर्नुअगाडिको अपूर्ण अपराधको सम्बन्धमा आकर्षित हुने । 

उद्योगको कार्य त्यस्तो अवस्था हो जुन कुनै तत्त्व वा वस्तुले बीचमा हस्तक्षेप वा बाधा खडा नगरेको भए त्यहाँ पूर्ण अपराध हुने निश्‍चित थियो । उद्योग अपराधको त्यस्तो चरण हो जहाँ मनसाय, सोअनुसारको तयारी र अपराधको लागि साधन र स्रोतको परिचालन गरिएको अवस्थामा समेत सोचेअनुसारको काम वा परिणाम निस्कीसकेको हुँदैन । उद्देश्यमूलक ढंगबाट गरिएको आपराधिक कार्यको निश्‍चित श्रृंखला जसमा अवरोधको अवस्थाको कारण ज्यान मर्न नपाएको अवस्था नै आपराधिक उद्योगको रूपमा रहने । 

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७

 

सुरू तहमा फैसला गर्नेः- 

मा. जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला 

सुरू तहमा फैसला गर्नेः-

मा. मुख्य न्या. श्री गोविन्द कुमार उपाध्याय

माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का

 

फैसला

न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।१०।०३ को फैसलाउपर पुनरावेदक वादीको नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मिति २०६८।१।११ गते बिहान मेरो श्रीमती मीना राई घरमा भाँडाकुँडा सफा गर्दैको अवस्थामा गणेश राई के कहाँबाट आई भाँडाकुँडा लात्ताले हानी यत्रतत्र छरिदिएकोले किन यसो गरेको भन्दा पूर्वरिसइवी र मार्ने मनसायले आफूले बोकेको खुकुरी निकाली शरीरको विभिन्‍न भागमा काटी ज्यान मार्ने उद्योग गरेकोले घाउ जाँच गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको जाहेरवालाको श्रीमान् बुद्धिमान तामाङको मिति २०६८।१।१२ को निवेदन ।

मिति २०६८।१।११ गते बिहान म घरमा खाना पकाई मेरो श्रीमान्‌ बाल बच्चालाई खान दिई श्रीमान्‌ घरभित्र नै बसिरहेको अवस्थामा म भाँडाकुँडा माझी सरसफाई गरिरहेकी थिएँ । एक्‍कासी गणेश राई मैले भाँडा माझ्ने ठाउँमा आई भाँडा लात्ताले हिर्काई यहाँ मेरो जग्गा पर्छ भनी मलाई हप्काई दप्काई गर्दा मैले यसो नगर भन्दा निजले साथमा भिरेको खुकुरी निकाली मलाई प्रहार गरी म भाग्दा टाउकोको पछाडि कुमको बायाँ भाग पट्टिसम्म हानी काटी घाइते बनाई ज्यान मार्नेसम्मको कार्य गरेकोले विपक्षीलाई पक्राउ गरी कानूनबमोजिम विपक्षीलाई कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको मीना राईको मिति २०६८।१।१२ को जाहेरी दरखास्त ।

जाहेरवाली मीना राई र म मत्स्यपोखरी-२ को ऐलानी जग्गामा घर बनाई केही वर्ष अगाडिदेखि छिमेक भई बसेका थियौं । जाहेरवालीले प्रायजसो मेरो घरको पेटीमा भाँडाकुँडा सुकाउने, जाँडका घ्याम्पाहरू राख्‍ने गर्थिन् । मिति २०६८।१।११ गते बिहान म घरको बरण्डामा सरो फेर्छु तिम्रो सामानहरू हटाउभन्दा सार्वजनिक जग्गामा घर बनाई बसेको हटाउँदिन भनेपछि मैले उक्त सामान हटाइदिन खोजेको थिएँ सो समयमा जाहेरवालीको श्रीमान्‌ बुद्धिमान तामाङ कराउँदै म भएको छेउमा आएको हुँदा जाहेरवालीले जाँड छान्‍न राखेको डेक्चीले मेरो पछाडि पिठ्यूँमा र बायाँ हातको कुइनामा कित्लीले हानेपछि मलाई रिस उठी रिस थाम्न नसकी मैले कम्मरमा भिरेको खुकुरी निकाली एकपटक हान्दा लामो खुकुरी भएको हुँदा बायाँपट्टिको टाउको तथा कुममा चोट लागेको हो । सो वारदात मैले मात्र गरेको हुँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी गणेश राईले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको मिति २०६८।१।१४ को बयान ।

मिति २०६८।१।११ गते मेरी भाउजू मीना राईलाई प्रतिवादी गणेश राईले खुकुरीले काटी ज्यान मार्ने उद्योग गरेको भन्‍ने सुनी थाहा पाई ऐ. २२ गते खाँदबारी आई हेर्दा भाउजूको जिउ शरीरमा गम्भीर घाउ चोट देखियो । त्यसरी जोखिम धारिलो हतियार खुकुरी प्रहार गरी ज्यानमार्ने उद्योग गर्ने जोसुकै भएपनि कडा कानूनी कारबाही गर्नुपर्छ भन्‍नेसमेत व्यहोराको मौकामा कागज गर्ने कर्णबहादुर तामाङले मिति २०६८।१।२३ मा गरेको कागज ।

जाहेरवाली मीना राई र प्रतिवादी गणेश राई एकै साँधको ऐलानी जग्गामा घर बनाई बसेका हुन् । मीना राईले गणेश राईको घर जग्गामा भाँडा सुकाई दिने, जुठो पानी ढोका आँगनमा फालिदिने र घाइते मीना राईको श्रीमान् बुद्धिमान तामाङसमेतले गणेश राईको घरको खाँबो काटी दिएकोमा गाउँमै छलफल भई मिलापत्र भएको थियो । यस्तैमा मिति २०६८।१।११ गते दिनको १०:३० बजेको समयमा मीना राईले जुठा भाँडा माझी पानी निज गणेश राईको घर जग्गामा फालिदिँदा सो काम नगर बहिनी भनी अनुरोध गर्दा निजलाई एक्‍कासी नराम्रो शब्द प्रयोग गरी गाली बेइज्जत गर्दा सो व्यवहार सहन नसकी गणेश राईले आफूले भिरेको खुकुरीले हानेको हो भन्‍ने सुनेको हुँ सोही घरको सिमाना सम्बन्धमा गणेश राई र मीना राईको पूर्वरिसइवी थियो भन्‍नेसमेत व्यहोराको चित्रबहादुर राईले मौकामा गरेको मिति २०६८।१।२५ को कागज ।

मिति २०६८।१।११ गते बिहान ९:३० बजे तिर गणेश राईले निजको छिमेक बुद्धिमान तामाङको श्रीमती मीना राईलाई खुकुरीले काटी निज मीना राई गम्भीर घाइते भई उपचारार्थ खाँदबारी ल्याएको मैले थाहा पाएको हुँ । जे जुन कारण भएपनि निज गणेश राईले खुकुरी प्रहार गर्नु हुने थिएन । सो घटना गाउँलेले थाहा नपाएको भए मार्ने नै रहेछन् भन्‍नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने राजेशकुमार राईसमेत ५ जनाको मिल्दो जुल्दो व्यहोराको मिति २०६८।१।२५ को वस्तुस्थिति मुचुल्का ।

मिति २०६८।१।११ गते बिहान जाहेरवाली आफ्नो घरमा भाँडा माझी रहेको अवस्थामा प्रतिवादी गणेश राई के कहाँबाट आई भाँडा यत्रतत्र छरी गाली गलौज अपशब्द गर्दै पूर्वरिसइवी मनसायले आफूले भिरी राखेको सांघातिक धारिलो हतियार निकाली जाहेरवालीको शरीरको विभिन्‍न भागमा प्रहार गर्दा बचाउका लागि हारगुहार गरेपछि गाउँका मानिसहरूको मद्दतबाट ज्यान बाँच्न गई प्रतिवादी गणेश राईले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १५ नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादी गणेश राईलाई सोही ऐनको १५ नं. अनुसार सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय, चैनपुरको मिति २०६८।१।२८ को अभियोग पत्र ।

मिति २०६८।१।११ गते म मेरो घरको सरो भाँचिएकोले जंगलबाट सरो काटी ल्याई घरमा सरो फेर्दै थिएँ । एक्‍कासी जाहेरवाली मेरो घरमा आई निजले जाँड छान्‍न प्रयोग गर्ने स्टिलको डेक्चीले मेरो बायाँ हातमा हिर्काई घाउसमेत बनाई अन्य जिउ शरीरमा समेत कुटपिट गरेको हुँदा मैले आफ्नो ज्यान बचाउनका लागि आफ्नो साथमा भिरेको खुकुरी निकाली एक पटक निजको बायाँ पातामा हानेको हुँ । ज्यानमार्ने नियतले प्रहार गरेको होइन निजले पहिला पनि मैले बनाएको घर भत्काई घरको बरण्डाको खाँबोसमेत काटिदिएको र मलाई सो ठाउँबाट खेदाउन खोजेको हुँदा मैले तर्साउनका लागि खुकुरी प्रहार गरेको हुँ । मैले अभियोग माग दाबीबमोजिमको कसुर गरेको नहुँदा झुठ्ठा अभियोग दाबीबाट सफाई पाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी गणेश राईले मिति २०६८।१।२८ मा सुरू अदालतमा गरेको बयान ।

मलाई प्रतिवादी गणेश राईले मार्न खुकुरीले काटी ज्यानमार्ने उद्योग गरेका हुन् मार्नु पर्नेसम्मको पूर्वरिसइवी केही थिएन काटेको ठाउँमा दुखिरहेको 

छ । काटेको हात हालसम्म चलिरहेको छैन भन्‍नेसमेत व्यहोराको जाहेरवाली मीना राईले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

उक्त मिति समयमा म वारदातस्थलमै थिएँ । घटना घटेपछि हामी सबैले पक्रेर प्रतिवादीलाई प्रहरीमा पठाएका हौं । उक्त मितिमा पीडितलाई प्रतिवादीले खुकुरीले काटेको हो । निजहरूबीच पूर्वझगडा भएको मलाई थाहा छैन भन्‍नेसमेत व्यहोराको घटनास्थल मुचुल्कामा बस्ने टेकबहादुर तामाङले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

मिति २०६८।१।१२ मा भएको बरामदी मुचुल्कामा भएको व्यहोरा र सही मेरै हो कथित वारदातको दिन समयमा म आफ्नै मामली घर खाँदबारीमा थिएँ । बरामद भएको खुकुरी के कस्को साथबाट बरामद भएको थियो मलाई थाहा भएन तर प्रहरीमा म पुगेपछि मुचुल्कामा तँ पनि बस् भनेकोले सहीसम्म गरेको हुँ भन्‍नेसमेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने क्षितिज राईले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

जाहेरवाली मीना राईलाई प्रतिवादीले ज्यान मार्ने उद्योगले काटेको, कुटपिट गरेको मैले देखिन, के कसरी चोट पटक लागेको हो मलाई थाहा छैन भन्‍नेसमेत व्यहोराको प्रतिवादीका साक्षी सीता राईले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

मिति २०६८।१।२५ को मौकाको कागजको व्यहोरा आज यस अदालतबाट पढी बाची सुनाउँदा सुनी पाएँ । सो कागजमा भएको व्यहोरा र सहिछाप मेरै हो उक्त मितिको मौकाको कागज खाँदबारीको प्रहरी थानामा भएको हो । मैले त्यही बसी सहिछाप गरी दिएको हो भन्‍नेसमेत व्यहोराको मौकामा कागज गर्ने तथा प्रतिवादीको साक्षी चित्रबहादुर राईले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

मिति २०६८।१।२५ को वस्तुस्थिति मुचुल्कामा भएको व्यहोरा र सहिछाप मेरै हो । उक्त वारदात भएको आँखाले नै देखेको हुँ, अरूबाट थाहा पाएको होइन । वारदातस्थलमा म स्वयं, मीना राई, जयकुमारी राई, बुद्धिमान तामाङ, पीडितको श्रीमान्, प्रतिवादी गणेश राईसमेत थिए भन्‍नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने जम्मुदिप राई, गोवर्धन नेपाली र जयकुमारी राईले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

मेरी श्रीमती मीना राई घरमा भाँडा माझी बसेको अवस्थामा किन मेरो जग्गामा भाँडा माझेको भनी भाँडाहरू लात्ताले हानी यत्रतत्र पारेको अवस्थामा भाँडा बटुल्दा निजले साथमा राखेको खुकुरी प्रहार गरेका हुन् भन्‍नेसमेत व्यहोराको घटनास्थल 

मुचुल्कामा बस्ने बुद्धिमान तामाङले सुरू अदालतमा गरेको मिति २०६८।२।२३ को बकपत्र ।

किटानी जाहेरी, मौकामा कागज गर्ने जयकुमारी राईसमेतको बकपत्र, प्रतिवादीको स्वीकारोक्ति, प्रत्यक्षदर्शी गोवर्धन नेपालीसमेतले अदालतसमक्ष गरिदिएको बकपत्रसमेतबाट प्रतिवादीले उक्त मितिमा पीडित मिना राईउपर पुरानो रिसइवीसमेतका कारणले जोखिमी धारिलो हतियार खुकुरी अति संवेदनशील भागमा प्रहार गरेको देखिँदा मार्ने नै नियतले खुकुरी हानेको र मौकैमा अन्य व्यक्तिहरूको अवरोध र प्रतिवादीलाई समातेको कारण उपचार भई ज्यान बचेको देखिएकोले प्रतिवादी गणेश राईले दाबीबमोजिम ज्यानमार्ने उद्योग गरेको ठहर्छ । प्रतिवादी गणेश राईलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम कैद वर्ष ७ (सात) हुने ठहर्छ भन्‍नेसमेत व्यहोराको सुरू संखुवासभा जिल्ला अदालतको २०६८।३।२० को फैसला ।

म पुनरावेदक र पीडितबीच ज्यानै लिनुपर्नेसम्मको रिसइवी थियो भन्‍ने तथ्यलाई पुष्टि गर्ने कुनै संयन्त्र प्रयोग भएको पाइँदैन र त्यस्तो थिएन पनि । मेरो निजलाई मार्ने कुनै आपराधिक मनसाय नरहेको र तयारीपूर्वक बाटो गौंडा ढुकेर काम नगरेको र निजलाई ताकेर संवेदनशील अंगमा एकपटक प्रहार गरेको 

होइन । मुलुकी ऐनले सम्बन्धमा गरेको उद्योगको  परिभाषा तथा ने.का.प. २०३९, पृष्‍ठ ३०५ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल फैसलामा उद्योगको परिभाषा एवं प्रतिपादित नजिरहरूको अत्मासात नगरी भएको फैसला त्रुटिपूर्ण छ । ज्यानमार्ने उद्योगको कसुर ठहर गर्न किटानी जाहेरी मात्र खम्बीर प्रमाणको रूपमा स्थापित हुन सक्दैन । बुझिएको व्यक्तिहरूको बयान तथा बकपत्र एकै मिलानको नभई परस्पर विरोधाभाषपूर्ण छ । सम्मानित सर्वोच्‍च अदालतबाट ने.का.प. २०५१ भाग ३६ अंक ४ नि.न.४८९० पृष्‍ठ २२६ महेन्द्र राजबम विरूद्ध अजबहादुरको जाहेरीले श्री ५ को सरकार भएको ज्यानमार्ने उद्योग मुद्दामा व्याख्या भई प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल फैसला भएको छ । तसर्थ अभियोजन पक्षले शंकारहित तवरबाट दाबी प्रमाणित गर्न नसकेको, मनसाय र योजनाको अभाव रहेको, बुझिएको व्यक्तिहरूको विरोधाभाषपूर्ण बकपत्र व्यहोरा, ज्यानसम्बन्धी महलको १५ नं. तथा प्रतिपादित नजिरको व्याख्यात्मक त्रुटि गरी मलाई ७ वर्ष कैद सजाय हुने ठहर्‍याई भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोपित कसुरबाट पूर्ण सफाइ पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी गणेश राईको कारागार कार्यालय, संखुवासभा खाँदबारीमार्फत पुनरावेदन अदालत, विराटनगरमा दर्ता भएको पुनरावेदन पत्र ।

यसमा जाहेरवाली र निजको पतिले प्रतिवादीलाई कित्लीले हानेको प्रतिकार स्वरूप आफूबाट वारदात भएको भन्‍ने प्रतिवादीको मौकाको कागज र घा जाँच फारमबाट घाउ मार्नेसम्मको रहेको भन्‍ने कुरा प्रस्ट हुन नसकेको परिप्रेक्ष्यमा वादी दाबी पुग्‍ने ठहर्‍याई न्यूनतम हदभन्दा पनि बढी सजाय गरेको सुरू फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी वादीलाई झिकाइ नियमबमोजिम पेस गर्नु भन्‍ने व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।८।१९ को विपक्षी झिकाउने आदेश ।

प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा समेत बयान गर्दा आफूले मार्ने नियतले खुकुरी प्रहार गरेको होइन, तर्साउनको लागि खुकुरी प्रहार गरेको भनी लेखाइदिएको, स्वयं जाहेरवालीले बकपत्र गर्दा प्रतिवादीसँग मार्नेसम्मको रिसइवी नभएको भनी लेखाएका, पीडित र प्रतिवादीबीच कुनै तेस्रो तत्त्वको उपस्थितिका कारण पीडित जाहेरवाली बच्न सकेको भन्ने अवस्था पनि नदेखिएको तथा पीडितलाई लागेको घाउ चोटबाट पनि मर्नेसम्मको कार्य प्रतिवादीले गरेको देखिन नआएकोले प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको १५ नं. बमोजिमको ज्यान मार्ने उद्योगको कसुर वारदात देखिन नआएको अवस्थामा सोही नम्बरबमोजिम कसुर ठहर गरी ७ वर्ष कैदको सजाय गर्ने गरी भएको संखुवासभा जिल्ला अदालतको मिति २०६८।३।२० को फैसला मिलेको नदेखिँदा उल्टी भई सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा २७ बमोजिम वारदात कुटपिटमा परिणत हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।१०।३ को फैसला ।

प्रतिवादी र जाहेरवालाबीच घरको सीमानाका सम्बन्धमा पुरानो इवी रहेको तथ्यलाई स्वयं प्रतिवादीले स्वीकार गरेको, खुकुरी जस्तो घातक हतियारले पीडितलाई खेदीखेदी प्रहार गरेको, पीडितको गुहार सुनी गाउँले तथ स्वयं पीडितको पतिसमेत बचाउनको लागि घटनास्थलमा जाँदा प्रतिवादी भागी गएको तथ्य स्पष्टरूपमा स्थापित भएको अवस्थामा बाह्‍य तत्त्वको उपस्थिति नै नरहेको भन्ने गलत तर्क गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिने गरी पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६८।१०।३ मा भएको फैसला विद्यमान कानून र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको विपरीत हुँदा उक्त त्रुटिपूर्ण फैसला उल्टी गरी सुरू फैसला सदर गरिपाउँ भनी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पेस भएको पुनरावेदन पत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको मिसिल संलग्न कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा सुरू फैसला उल्टी गर्ने गरी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला मिलेको छ वा छैन? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन? निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा प्रतिवादी गणेश राईले पीडित मीना राईउपर खुकुरी प्रहार गरी ज्यान जान सक्नेसम्मको काम गरी तेस्रो पक्षको हस्तक्षेपबाट ज्यान जान नपाएको हुँदा निज आरोपितलाई कानूनबमोजिम कारबाही गरी पाउन स्वयं पीडितको जाहेरी परी कारबाही आरम्भ भएको देखिन्छ । सुरू अदालतबाट अभियोग दाबीबमोजिम कसुर ठहर गरी फैसला भएकोमा पुनरावेदन अदालतबाट उक्त फैसला उल्टी गरी आरोपित प्रतिवादीलाई सफाई दिएउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी सुनुवाइको लागि इजलाससमक्ष पेस हुन आएको देखियो ।

३. प्रतिवादी गणेश राईले आफूले पीडितलाई ज्यान मार्ने नियतले प्रहार गरेको नभई सामान्य विवादको क्रममा पीडितले मउपर डेक्ची तथा कित्लीले आक्रमण गरेपछि तत्काल आवेशमा आई एकपटक मात्र आफूले घाइतेउपर प्रहार गरेको तथ्यमा साबित भई बयान गरेको देखिन्छ । जिल्ला अस्पतालको घाउ जाँच केस फारममा पीडितको बायाँ कुममा ७x३ से.मी. र टाउको पछाडि गर्धनमा २ से.मी. को घाउ एवं दायाँ कुममा घर्षण देखिएको भनी निज पीडितको शारीरिक अवस्थाको उल्लेख गरिदिएको देखिन्छ । यस आधारमा पीडितउपर प्रतिवादी गणेश राईले खुकुरीको चोट छाडी पीडितको शरीरमा घाउ चोट लाग्न गएको तथ्य विवादरहित रूपमा स्थापित हुन आयो ।

४. मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. मा "ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍न वा मार्नको लागि जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई बचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यस कानूनी व्यवस्थाअनुसार ज्यान मार्ने उद्योगको कसुर कायम हुनका लागि मार्ने नियतले प्रहार गरेको र उक्त प्रहारबाट मर्नेसम्मको कार्य भएको देखिने हुनुपर्दछ । यस आधारमा हेर्दा ज्यान मार्ने उद्योग मुद्दा ज्यान मर्नुअगाडिको अपूर्ण अपराधको सम्बन्धमा आकर्षित हुने देखिन्छ । उद्योगको कार्य त्यस्तो अवस्था हो जुन कुनै तत्त्व वा वस्तुले बीचमा हस्तक्षेप वा बाधा खडा नगरेको भए त्यहाँ पूर्ण अपराध हुने निश्‍चित थियो । उद्योग अपराधको त्यस्तो चरण हो जहाँ मनसाय, सोअनुसारको तयारी र अपराधको लागि साधन र स्रोतको परिचालन गरिएको अवस्थामा समेत सोचेअनुसारको काम वा परिणाम निस्की सकेको 

हुँदैन । उद्देश्यमूलक ढंगबाट गरिएको आपराधिक कार्यको निश्‍चित श्रृंखला जसमा अवरोधको अवस्थाको कारण ज्यान मर्न नपाएको अवस्था नै आपराधिक उद्योगको रूपमा रहने देखिन्छ । ज्यान मार्ने उद्योग हुनका लागि मूलरूपमा ज्यान मार्नको लागि गरिने मनसायपूर्वकको तयारी त्यसअनुसार भएको कार्यका क्रममा आक्रमणकारी र घाइतेका बीचमा तेस्रो पक्षको उपस्थितिको कारण घाइतेउपर ज्यान  जानेसम्मको प्रहार हुन नसकेको अवस्था तथा घाइतेको समयमा नै उचित उपचार हुनसकेको कारण ज्यान मर्न नपाएको अवस्थामा उक्त कसुरले ज्यान मार्ने उद्योगको कसुरको स्थान प्राप्त गर्ने देखिन्छ ।

५. उपर्युक्त परिवेशमा प्रस्तुत ज्यान मार्ने उद्योग मुद्दामा आरोपित प्रतिवादीले अनुसन्धान एवं अदालतमा समेत आफूले घाइतेउपर मार्ने मनसायले खुकुरी प्रहार गरेको होइन भनी लेखाएका र स्वयं जाहेरवाली पीडितले अदालतमा बयान गर्दा पनि मार्नेसम्मको रिसइवी प्रतिवादीसँग थिएन भनी लेखाएको र पीडितलाई लागेको घाउ चोटको अवस्था पनि ज्यानै जाने प्रकृतिको गम्भीर अवस्थाको भएको नदेखिँदा प्रतिवादीबाट पीडितलाई मर्ने अवस्थासम्मको आक्रमण भएको थियो भनी मान्न सकिएन । अदालत र मौकामा कागज गर्ने व्यक्तिले समेत वारदात हुँदाको समयमा बाह्‍य हस्तक्षेप गरी प्रतिवादीको आक्रमणबाट पीडितलाई बचाएको व्यहोरा उल्लेख नगरी आक्रमण भई घाइते पारेको अवस्थामा पीडितलाई उपचारको लागि लगेको र पीडकलाई पक्राउ गरी प्रहरीलाई बुझाएको भन्ने देखिँदा वारदातको समयमा तेस्रो पक्षको हस्तक्षेप रहेको भनी मान्न सकिएन ।

६. प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा समेत बयान गर्दा आफूले मार्ने नियतले खुकुरी प्रहार गरेको होइन, तर्साउनका लागि मात्र एकपटक प्रहार गरेको भनी लेखाइदिएका, स्वयं जाहेरवालीले आफ्नो बकपत्रमा मार्नेसम्मको रिसइवी रहेको भनी नलेखाएकी, पीडित घाइतेउपर आक्रमण हुँदा आरोपित र पीडितबीच तेस्रो तत्त्वको उपस्थिति भएको कारण ज्यान बाँच्न गएको भन्ने देखिन नआएको र घाइतेको घाउ जाँच केस फारमले समेत निजको घाचोट गम्भीर प्रकृतिको रहेको भनी नदेखाएको अवस्थामा प्रतिवादीको कसुर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. अन्तर्गतको नदेखिएको अवस्थामा सुरू फैसला उल्टी गर्ने पुनरावेदन अदालत, धनकुटाको फैसला न्यायोचित नै देखिन आयो ।

७. तसर्थ माथि विभिन्न प्रकरणमा विवेचित आधार र कारणबाट प्रतिवादी गणेश राईको घाइते मीना राईउपर भएको प्रहार मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. अन्तर्गतको कसुर अपराध नदेखिएको अवस्थामा सुरू अदालतबाट कसुरदार ठहर गर्ने गरी भएको फैसला उल्टी गरी प्रस्तुत मुद्दालाई सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा २७ बमोजिम कुटपिटतर्फ परिणत हुने ठहर्‍याई भएको पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।१०।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. अनिलकुमार सिन्हा 

 

इजलास अधिकृत : चन्द्रप्रकाश तिवारी

इति संवत् २०७४ साल वैशाख ६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु